`

दोरम्बा पहिरोमा मृत्यु हुनेको संख्या ६ पुग्यो,  चार बेपत्ता

मन्थली (रामेछाप) । रामेछापको दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा ६ जनाको मृत्यु भएको छ भने अन्य चार जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार  पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र उनका १८ महिनाका छोरा आयुष,  ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु भएको हो । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन ।

गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिएको जानकारीअनुसार गएराति पहिरो खसेको हो । घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए  पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ ।

रिपब्लिक पार्टी अफ ईन्डियाले नेपाललाई दुई वटा एम्बुलेन्स दिने

विष्णुप्रसाद गौतम, मुम्बई, भारत । रिपब्लिक पार्टी अफ ईन्डियाले नेपालको सामाजिक, आर्थिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने भएको छ । भारतीय केन्द्रीयमन्त्री एवं रिपब्लिक पार्टी अफ ईन्डियाका अध्यक्ष रामदास आठवालेले एक कार्यक्रममा यस्तो बताएका हुन् ।

उनका सल्लाहकार सचिव घनश्याम चिरान्करले नेपाल र नेपालीको लागि आफ्नो पार्टी र सस्थाबाट फाउन्डेसनमार्फत सहयोग गर्ने बताएको जानकारी दिए । उनले काठमाडौंस्थित भारतीय दूतावासमार्फत आफ्ना फाउन्डेसनबाट दुईवटा एम्बुलेन्स उपलब्ध गराइने बताए ।

त्यसक्रममा भारतको मुम्बईमा केही नेपाली संघ संगठनका पदाकारीहरुले केन्द्रीय मन्त्री रामदासलाई भेटी शुभकामनासमेत दिएका थिए । जसमा भारती कामगार सेना अध्यक्ष राज ठाकुर , भारतीय मजदुर युनियनका महासचिव दीपक सिलाललगायत थिए ।

रामेछापको दोरम्बामा पहिरोमा परी दुई जनाको मृत्यु, एक घाइते

मन्थली । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार  पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र उनका १८ महिनाका छोरा आयुषको मृत्यु भएको हो । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन ।

गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिएको जानकारीअनुसार गएराति पहिरो खसेको हो । घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ ।

यसैबीच, पुष्पलाल राजमार्गअन्तर्गत चरीकोट–मन्थली सडक बाढीका कारण अवरुद्ध भएको छ ।

साफ यू–२० च्याम्पियनसिपको फाइनल पुग्न नेपाल र भुटान भिड्दै

काठमाडौं । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुदै छन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल आज दिउँसो ३ बजेदेखि शुरु हुने छ ।

यस प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनल खेल्दै छ । नेपालले समुह चरणमा श्रीलंकालाई १–० ले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै भुटान भने समुह बी मा उपविजेता भन्दै सेमिफाइनलमा खेल्दै छ ।

भुटानले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो भने भारतसँग १–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुने छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।

नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १५ जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी

रामेछापको दोरम्बामा पहिरोमा परी दुई जनाको मृत्यु, केही बेपत्ता

मन्थली । रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा शनिबार राति भीषण पहिरो गएको छ । मध्यरातमा लेकखर्कमा पहिरोमा गएको हो । पहिरोले तीन घर बगाएको छ ।

पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने केही बेपत्ता रामेछापका प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिएका छन् । पहिरोले वडा नम्बर २ र ३ जोड्ने ढाईगाउँ खोलाको पुल पनि बगाएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

धनगढीमा देउवा निवास अगाडि शंकास्पद झोला फेला

सुदूरपश्चिम । कैलालीको धनगढीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी प्रमुख पदमबहादुर विष्टले एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए ।

उक्त वस्तु के हो भन्ने कुरा नखुलेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलालीमा सर्पको डसाइबाट दुई जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम । कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलिया गाउँमा गएराति ओछ्यानमा सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ । बालिकाकी हजुरआमा अन्दाजी ७२ वर्षीया रिजु घर्तीमगरलाई सर्पले डसेको र उनको उपचार भइरहेको छ ।

मूलढोकामा रहेको प्वालबाट राति घरभित्र पसेको करेत नामक सर्पको डसाइबाट स्थानीय पाँच वर्षीया बालिका लिजा र ६ वर्षीया काजल घर्तीमगरको मृत्यु भएको वडाध्यक्ष आशाराम डगौरा थारूले जानकारी दिए ।

करेतले पहिले ओछ्यानमा सुतेका दुवै बालिकालाई शरीरका दुई–तीन ठाउँमा डसेपछि बालिकाकी हजुरआमा रिजुको काँधमा डसेको थियो । शरीरमाथि हिँडिरहेको थाहा पाएपछि वृद्धा रिजुले सोही सर्पलाई हातले समातेर फ्याँक्ने बेला उनको हातमा समेत डसेको घटनास्थल पुगेका डगौरा थारूले बताए ।

“सुतिरहेका बालिकालाई सर्पले डसेको रहेछ भन्ने थाहा नहुँदा घाइते भएकी वृद्धालाई मात्र राति नै नेपाली सेनाको कैलालीको बडैपुरस्थित सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो”, वडाध्यक्ष डगौरा थारूले भने, “पछि दुई बालिकाले घरमा अचानक बान्ता गर्न थालेपछि उनीहरूलाई पनि सोही सर्पले डसेको थाहा भएको हो ।”

घाइते वृद्धालाई सर्पदंश उपचार केन्द्रबाट थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ । मृतक बालिका घरमा आफ्ना हजुरआमा र हजुरबासँगै बस्ने गरेका थिए ।

बालिकाको बुबाको पहिले नै निधन भइसकेको र आमा कामको खोजीमा जिल्ला बाहिर रहेको बताइएको छ । गर्मीयाममा खासगरी तराईका जिल्लामा विषालु सर्पको डसाइले धेरै व्यक्तिको मृत्यु हुने गरेको छ ।

सर्पले डसेपछि घरमै झारफुक गराउने र अन्तिम अवस्थामा मात्रै अस्पताल लैजाने कतिपय समुदायको प्रवृत्तिले सर्पको टोकाइका बिरामीको मृत्यु हुने गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठ बताउँछन् ।

अस्पतालमा सर्पको डसाइका बिरामीको निःशुल्क उपचार हुने गरेको छ । खानाको खोजीमा मानिसको घर वरिपरि आइपुग्ने सर्प काठ, इँटा वा ढुङ्गाको थुप्रो, दुलो, झाडी भएको ठाउँमा लुकेर बस्ने गर्छ । घरवरिपरि सरसफाइ गर्नमा लापरवाही गर्दा लुकेर बसेको सर्पले मानिसलाई डस्ने जोखिम रहन्छ । हिउँदयाममा जमिनमुनि लुकेर बस्ने सर्प गर्मीयाममा जमिनको सतहमा निस्किने गर्दछ ।

सर्पको टोकाइबाट हुनसक्ने जोखिम कम गर्न धनगढी क्षेत्रमा उपमहानगरपालिका कार्यालयको प्रहरी टोली (रेस्क्यू टोली) ले नगरवासीको घरपरिसरमा फेला पर्ने सर्पलाई समातेर जङ्गलमा लगेर छाड्ने गरेको छ । टोलीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र खड्काले यो वर्षमात्र नगरपालिका क्षेत्रभित्र विभिन्न व्यक्तिको घरपरिसरबाट सात सयभन्दा बढी सर्प समातेर सुरक्षित रूपमा जङ्गलमा छोडिएको जानकारी दिए ।

सुनकोशीमा कार खस्यो, थप विवरण आउन बाँकी

काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ । कारमा सवारमध्ये एकजना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ ।

नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको कार आज करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।

भारतीय वायु सेनाको जहाजमार्फत पठाइयो तनहुँ दुर्घटनाका मृतकको शव

भरतपुर । तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट शनिबार अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो ।

मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ पठाइएको छ ।

मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षानिखिल खड्से भरतपुर आएकी थिइन् । मृतक यात्रुका शव शुक्रबार राति आँबुखैरेनीबाट भरतपुर ल्याइएको प्रजिअ यादवले बताए ।

उनका अनुसार पशुपतिनाथ दर्शन गर्न जाँदै गरेको भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान तनहुँको आबुखैरेनी नजिकै सडकबाट मस्र्याङ्दी नदीमा खस्दा २७ पर्यटकको मृत्यु भएको हो । मृतकमध्ये १५ महिला, ११ पुरुष  र एकजना चार वर्षीया बालिका रहेकी छन् । घाइते हुनेमा छ पुरुष र १० महिला छन् ।

प्रहरीका अनुसार बसमा ४३ जना सवार थिए । घाइतेहरूको काठमाडौँमा उपचार भइरहेको छ । मृतक र घाइते भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका रहेका प्रजिअ यादवले जानकारी दिए ।

पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एसटी ७६२३ नम्बरको बस आँबुखैरेनी नजिकैबाट मस्र्याङ्दीमा खसेको थियो । दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भारत सरकारका राज्यमन्त्री खड्सेलाई भरतपुर विमानस्थलमा भेटी  घटनाप्रति दःुख व्यक्त गरेका थिए ।

धार्मिक पर्यटनका लागि अन्तरदेशीय पूर्वाधार र आवागमनको सुदृढीकरणमा सहकार्य गर्न पर्यटनमन्त्रीको आव्हान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरि अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवद्र्धनका साथै विश्वभरका आगन्तुकहरुलाई नेपालका धार्मिक स्थलहरुको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आह्वान गरेका छन् ।

भारतको गुजरतामा आयोजित आठौं धर्म–धम्ब सम्मेलनलाई शुक्रबारसाँझ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले नेपालका पशुपतिनाथ हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपा दुई देशबीचका साझा सम्पदाहरु रहेको उल्लेख गर्दै नेपालमा यस सम्मेलनको भावना प्रतिविम्बित हुने खालको आध्यामिक अनुभुति गर्न सकिने उल्लेख गरे । उनले सम्मेलनका सहभागीहरुलाई नेपाल भ्रमणमा आउन निम्तोसमेत दिएका छन् ।

भूटान श्रीलङ्का लगायतका देशका मन्त्रीहरु र अन्य देशका धार्मिक विचारकहरुको ठूलो संख्यामा सहभागिता रहेको सम्मेलनमा मन्त्री पाण्डेले एकता र विविधता नै हाम्रो परम्पराको आधारभूत मान्यता भएको बताए ।

उनले शान्ति र करुणको प्रतिकको रुपमा नेपालमा धर्म र धम्मका सिद्धान्तहरु सदियौंदेखि व्यवहारमा रहेको कुरामा जोड दिए ।

उनले भने, ‘हाम्रा मनमोहक हिमाल, पवित्र तीर्थस्थलहरु तथा सांस्कृतिक सम्पदाहरुले ब्रम्हाण्डीय शक्ति र दैवीय उपस्थितिको झल्को दिई रहेका छन् तसर्थ नेपाल प्रकृति र दैवीय शक्तिको जीवित उदाहरण हो ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतमा हाम्रा आध्यात्मिक सम्पदाहरुको संरक्षण प्रवद्र्धन गर्ने निर्णय गरेको छु भन्दै उनले भने,’म हाम्रो संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माणका लागि अन्तर देशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवद्धनका साथै विश्वभरका आगन्तुकहरुलाई हाम्रा धार्मिक स्थलहरुको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आव्हान गर्दछु । सायद यहीनै धर्म–धम्म परम्पारको वास्तविक अर्थ प्रतिको योगदान हुने छ ।’

भारत फाउन्डेसनले गुजरात विश्वविद्यालय, अहमदाबादसँगको सहकार्यमा गुजरातको अहमदाबादमा आठौं सम्मेलनको नारा ‘धर्म र धम्ममा ब्रह्माण्ड विज्ञान’ रहेको छ ।

सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि धर्म–धम्म परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ ।आठौं अन्तर्राष्ट्रिय धर्म धम्म सम्मेलनमा १८ देशका तीनसय भन्दा बढी विज्ञ तथा प्राज्ञको सहभागिता रहेको अनुमान छ ।

उद्योगमन्त्री भण्डारीद्वारा चोभार बन्दरगाहको निरीक्षण

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चोभारस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन् । शनिबार बिहान उनले बन्दरगाहमा रहेका सवारी साधन पार्किङको अवस्था, गोदाम व्यवस्थापन, कार्यालय व्यवस्थापनलगायतको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा उनले बन्दरगाहलाई अझै बढी चलायमान बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

पाँच वर्षका लागि निजी क्षेत्रसँगको साझेदारीमा संचालन भैरहेको बन्दरगाहले न्युनतम तीन करोड रकम राजश्व संकलन गर्ने सहमति भएपनि उक्त अवधीमा ८ देखी १० करोड रकमसम्म राजश्व संकलन गर्ने लक्ष्य रहेको बन्दरगाहका कार्यकारी निर्देशक आशिस गजुरेलले जानकारी दिए ।

अहिले फास्ट ट्रयाकको अभावमा समेत बन्दरगाहले अपेक्षा अनुसारको प्रतिफल दिइरहेको उनको दावी छ ।

पार्टीलाई ०६४ कै अवस्थामा फर्काउन सम्भव छः प्रचण्ड

काठमाडौैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई २०६४ कै अवस्थामा फर्काउन सम्भव रहेको बताएका छन् ।

शनिबार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिको ८ औं भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेले आफूहरुलाई ३२ सीटे भनेर हेपेको भन्दै आगामी निर्वाचनमा २०६४ सालको नतिजा ल्याउने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले ६४ को निर्वाचनमा भोट हाल्ने मतदाताको लिष्ट बनाएर घरघरमा जानुपर्ने बताए । उनले भने,‘६४ मा हामीलाई भोट हाल्नेको लिष्ट बनाएर मतदाताको घरघरमा गएर आत्मसमीक्षा गर्नुपर्छ । अनि ६४ मा भोट हाल्ने मतदाताको छोराछोरी कहाँछन् उनीहरुको पनि लिष्ट बनाएर उनीहरुसँग सम्पर्क गर्नुपर्यो र तिनलाई पनि अपील गर्नुपर्यो ।’

अध्यक्ष प्रचण्डले ६४ को हैसियतमा पुगेमा अहिले संख्या देखाएर आफूहरुलाई सत्ता बाहिर पार्नेहरु कहिल्यै सत्तामा नफर्किने बताए । प्रचण्डले माओवादी पार्टी फुटाउने प्रतिक्रियावादीहरुको षड्यन्त्र पूरा नहुने बताए ।

उनले भने, ‘अब हाम्रो पार्टी कसैले फुटाउन सक्दैन । बरु फुटेर गएकाहरु एकजुट भएर भ्रष्टाचारीलाई देखाइन्छ । जनयुद्धका बेला पनि हाम्रो पार्टी फुटाउने षड्यन्त्र प्रतिक्रियावादीहरुले गरेकै हुन् । तर अब सम्भव छैन । किनकी पार्टी छाडेर गएका साथीहरुसँग हाम्रो वार्ता चलिरहेको छ । टेन्सन नलिनुहोला ।’

प्रचण्डले विगतमा जनयुद्ध गर्दाका मिलिसिया र कार्यकर्ता पनि कहाँ छन् खोजी गर्नुपर्ने बताए ।

उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनबाट पारित भएपछि माओवादीलाई ढुक्क भएको बताए । उनले विधेयक पास भएसँगै माओवादीको टाउकोमाथि झुुण्डिएको तरबार हटेको बताए ।

उनले भने, ‘अब तपाईं हाम्रो टाउकोमा तरबार झुण्ड्याएको जस्तो थियो, त्यो तरबार हट्यो, अब डराउनुपर्ने अवस्था छैन ।’

यो सरकारसँग आस र भर दुबै गर्नुः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न आग्रह गरेका छन् ।

फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा शनिबार आयोजित ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ मा युवा सहभागीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले युवा सचेत नभएसम्म सोचे जसरी देशमा विकासको गति अघि बढाउन नसकिने उल्लेख गर्दै युवा नै देश निर्माणका सम्पूर्ण शक्ति भएको बताए । अनुकूल वातावरण भए विदेशमा रहेका नेपाली युवा पनि स्वदेश फर्कने प्रधानमन्त्री ओलीको विश्वास थियो ।

युवालाई स्वदेशमै शिक्षा र रोजगारीका अवसरमा जोड्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले सरकारले स्टार्टअपका कार्यक्रम सुरु गरेको र निजी क्षेत्रबाट पनि १० हजारभन्दा बढी रोजगारीका अवसर सृजना गर्ने जानकारी गराए ।

राजनीतिक सङ्घर्षको यात्राका सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले जेलनेल र दुःख भोगेर स्वतन्त्रता र लोकतन्त्रका लागि गरेको कामबाट हरेक नेपालीमा आत्मविश्वास र आत्मबल बढाउने विश्वास व्यक्त गरे ।

समाजमा बलात्कारजस्ता आपराधिक घटना रोक्न हरेक व्यक्ति र समाज आफै आचरणयुक्त हुनुुपर्ने र कुनै त्यस्ता घटना भएमा कानुनको कडाइपूूर्वक पालना गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विष्णु माझीको ‘आइन आमा यो तीजमा’

काठमाडौं । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । माझीको ‘आइन आमा यो तीजमा’ बोलको गीत शनिबार सार्वजनिक भएको हो ।

गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् भने सुन्दरमणिले नै निर्देशन गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन् ।

दाङको टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि विभिन्न दलका नेताहरुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका अगुवाले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री निवासमा शनिबार भएको भेटमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल, सङ्घीय सांसदहरु दीपक गिरी र मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरीलगायत थिए ।

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले  विमानस्थल स्तरोन्नतिका साथै लमही–घोराही–तुल्सीपुर सडक विस्तारमा सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न रास्वपाद्वारा प्रदर्शनी

काठमाडौँ । स्वदेशी उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पुर्याउने ध्येयले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वनस्थली चमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा स्वदेशी उत्पादनको प्रदर्शनी आयोजना गरेको छ ।

‘आत्मनिर्भर नेपाल अभियान’ अन्तर्गत आयोजित प्रदर्शनीमा विभिन्न ३०  प्रदर्शनी कक्ष छन् ।  यसमा कृषि सामग्री, खेतीबाली, स्वदेशी खाद्यान्न, प्राङ्गारिक मल, हस्तकलाका सामग्री, जडिबुटी तथा वनस्पति, अल्लो र गाँजाका कपडालगायत सामग्री छन् । 

सो अवसरमा रास्वपाका उद्योग विभाग प्रमुख एवं सांसद गणेश पराजुलीले उद्यमीले गरिरहेका प्रयासलाई प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पुर्याउन प्रदर्शनी आयोजना गरिएको बताए ।  उनले भने, “ उत्पादन बृद्धि गरेर आत्मनिर्भरमात्र होइन सम्भावना भएसम्म निर्यात पनि गरौँ भनेका हौँ ।”

स्वदेशमा सम्भावना र उत्पादन भएका वस्तुलाई प्रवर्द्धन गर्न, उत्पादन गरेका वस्तुको बजार खोज्न, उत्पादन गर्ने प्रविधि विकास गर्न र प्रविधि तथा बजार हुँदाहुँदै पनि नीतिगत समस्या छ भएमा पनि पहल गर्न यो प्रयास गरिएको सांसद पराजुलीले बताए । प्रदर्शनीले स्वदेशी उत्पादनको बजारीकरणमा एवं उद्यमीलाई प्रोत्साहन समेत हुने अपेक्षा लिइएको छ ।   

सर्लाहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ । ब्रह्मपुरी–२ का ६ वर्षीय अङ्कित साहको पोखरीमा डुबेर मृत्यु भएको हो । 

घर नजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनलाई  स्थानीयले तत्कालै पोखरीबाट बाहिर निकाले पनि बचाउन भने नसकिएको उनले बताए । 

डब्लुएचओद्वारा एमपक्स नियन्त्रणको योजना घोषणा

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एमपोक्स भाइरसको नयाँ अधिक सङ्क्रामक ‘क्लेड१बी’ भेरियन्ट नियन्त्रणका लागि आगामी छ महिनामा कम्तिमा १३ करोड ५० लाख अमेरिकी डलर लागतको प्रकोप नियन्त्रण योजना घोषणा गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले डब्ल्यूएचओका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै भने, ‘एमपोक्सको नियन्त्रण सम्भव छ भन्ने कुरा स्पष्ट छ, तर यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ ।’

यो छ महिना अवधिको प्रकोप नियन्त्रण योजनाका लागि १३ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने उनले बताए ।

एमपक्सको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै गत हप्ता डब्लुएचओले यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

अमेरिकाद्वारा युक्रेनलाई थप सैन्य सहायताको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा कियभका लागि १२ करोड ५० लाख डलर मूल्यको थप सैन्य सहयोगको घोषणा गरेका छन् ।

बाइडेनले युक्रेनका लागि सैन्य सहायताको घोषणा गर्दा आफुलाई गर्व लागेको विज्ञप्तिमार्फत जनाएका छन् ।

सहयोगमा युक्रेनको महत्वपूर्ण पूर्वाधारको रक्षा गर्न हवाई रक्षा मिसाइल समावेश छन् । अमेरिकाले रूसको विकसित रणनीति विरुद्ध रक्षा गर्न ’काउन्टर–ड्रोन’ उपकरण र ’एन्टी–आर्मर’ मिसाइल, युक्रेनी सैनिकको प्रतिरक्षाका लागि गोलाबारुद लगायत मोबाइल रकेट प्रणाली सहयोग गरेको जनाएको छ ।

बाइडेनले अमेरिका युक्रेनी स्वतन्त्र जनताको साथमा रहेको उल्लेख गरे । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सैन्य सहायताको घोषणाको प्रशंसा गर्दै युक्रेनमा विशेष गरी हवाई रक्षाको तत्काल आवश्यकता रहेको सामाजिक सञ्जाल एक्समार्फत बताए ।

अमेरिकाले युक्रेनलाई एक प्रमुख सैन्य समर्थक भई सन् २०२२ फेब्रुअरीमा रूसले आक्रमण सुरु गरेदेखि ५५ अर्ब डलर भन्दा बढी हतियार, गोला बारुद र अन्य सुरक्षा सहायता प्रदान गरिसकेको छ ।

बाढीले विस्थापित करिब तीन लाख बङ्गलादेशी आपतकालीन आश्रय स्थलमा

भारी वर्षाले निम्त्याएको बाढीका कारण विस्थापित भएका करिब तीन लाख बङ्गलादेशी नागरिकले आपतकालीन आश्रयमा शरण लिइरहेको विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् ।

भारी मनसुनी वर्षाका कारण यस हप्ताको सुरुदेखि बङ्गलादेश र भारतमा कम्तीमा ४२ जनाको मृत्यु भएको स्रोतले जनाएको छ ।

आफ्नो घर पूर्ण रूपमा डुबानमा परेकाले आश्रय स्थलमा बस्नु परेको भारतको त्रिपुरा राज्यको सीमा नजिकैको सबैभन्दा बढी प्रभावित जिल्लाका बासिन्दा लुफ्टन नाहरले फेनीको राहत आश्रय स्थलबाट बताए ।

सयौँ नदीहरूले घेरिएको बङ्गलादेशमा पछिल्लो समय बारम्बार बाढीले जनजीवन प्रवाभित पारिरहेको छ ।

बाढीका कारण राजधानी ढाकालगायत मुख्य बन्दरगाह सहर र चटगाँवबीचको राजमार्ग तथा रेलवेहरू क्षतिग्रस्त हुदाँ बाढी प्रभावित जिल्लामा पुग्न गाह्रो भएको छ भने व्यापारिक गतिविधिमा पनि बाधा पुगेको छ ।

बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र कोक्स बजार हो, जहाँ छिमेकी म्यानमाका करिब दश लाख रोहिंग्या शरणार्थीहरूको बसोबास रहेको छ ।

विपद् व्यवस्थापन मन्त्रालयका सचिव मोहम्मद कामरुल अनुसार बङ्लादेशमा बाढीका करण थप १८ जनाको मृत्यु भएको छ । उनले बाढीका कारण ४५ लाख मानिसको जनजीवन प्रभावित भएको र तीमध्ये दुईलाख ८५ हजार मानिसहरु आपतकालीन आश्रयमा बसिरहेका बताए ।

भ्रष्टाचारको अनुसन्धानमा हदम्याद नराख्न माग गर्दै बालुवाटारमा प्रदर्शन

काठमाडौं । भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल गर्न मागसहित युवाहरुले बालुवाटार घेराउ गरेका छन् । अब बोल्छ नेपाल लेखिएको ब्यानरसहित विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै उनीहरूले शनिबार बालुवाटारमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले भ्रष्टाचारीलाई जोगाउने नियतले ५ वर्षे हदम्याद ल्याउन लागिएको भन्दै यसको खारेजीको माग गरेका छन् ।

त्यस्तै विभिन्न प्रकरणलाई अघि बढाई यथाशीघ्र निष्पक्ष अनुसन्धान गर्नुपर्ने, सबै नेताहरूको सम्पत्ति छानबिनका लागि स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्ने लगायतका उनीहरूको माग छ ।

उनीहरूले विद्युत प्राधिकरणले विभिन्न उद्योगबाट उठाउनुपर्ने बक्यौता असुल गर्न पनि माग गरेका छन् ।

भलिबल संघद्वारा काभा महिला लिग उपविजेता टोलीका खेलाडीहरुलाई नगदसहित सम्मान

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले काभा भलिबलमा सहभागी खेलाडी, टिम अफिसयल र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

शनिबार काठमाडौंमा कार्यक्रमको आयोजना गरी काभा भलिबलमा सहभागी खेलाडीहरूलाई नगदसहित सम्मान गरेको हो । माल्दिभ्समा सम्पन्न काभा यु–२० भलिबल तेस्रो स्थान हासिल गरेको नेपाली महिला भलिबल खेलाडीहरू, प्रशिक्षक र टिम ब्यवस्थापकलाई समान १५ हजारले सम्मान गरेको हो ।

यस्तै भुटानमा सम्पन्न काभाबीच भलिबलमा रजत पदक जितेको पुरुष टिमका दुई खेलाडी मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारलाई नगद ३० हजार तथा सोही प्रतियोगितामा महिलातर्फ स्वर्ण पदक विजेता महिला भलिबल टिमकी कमला पुन र मनिषा चौधरीलाई जनही ६० हजार तथा प्रशिक्षक उपेष विष्टलाई ४० हजार नगदसहित सम्मान गरेको हो ।

यस्तै, काठमाडौं सम्पन्न काभा वुमेन्स नेसन्स लिगमा रजतपदक विजेता महिला भलिबल टिमका खेलाडी र प्रशिक्षकलाई जनही एक लाख दुई हजारसहित सम्मान गरिएको छ ।

उक्त प्रतियोगिताका प्रशिक्षक, टिम व्यवस्थापक र फिजियोलाई ८२ हजार नगद पुरस्कार प्रदान गरिएको छ । काठमाडौंमा सम्पन्न काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल खेलमा भारतसँग ३–२ को सेटमा पराजित हुँदै च्याम्पियन बन्न असफल भएको थियो ।

बस दुर्घटनाबारे भारतका युवा मामिलामन्त्रीलाई गृहमन्त्रीको ब्रिफिङ

काठमाडौं । २७ भारतीय नागरिकको ज्यान जाने गरी भएको बस दुर्घटनाको विषयमा शनिबार गृह मन्त्रालयले भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा शनिबार बिहान गृहमन्त्री रमेश लेखकले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार भएको यात्रु बस दुर्घटनाबाट भएको क्षति, उद्दार तथा घाइतेहरुको उपचारबारे भारतीय राज्यमन्त्री खड्सेलाई जानकारी गराएका छन् ।

शुक्रबार पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए ।

गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खड्सेले त्रिभुवन शिक्षण अस्पतालमा रहेका घाइतेहरुको अवस्थाका बारेमासमेत अस्पताल पुगेर जानकारी लिएका थिए ।

त्यसपछि मन्त्रालयमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै गृमन्त्री रमेश लेखकले दुःखद घटना भएको बताए ।
उनले मृतकका आफन्तलाई समवेदना व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।

‘घाइतेहरुको उपचारका कुनै कसर बाँकी राख्दैनौ ।’ मन्त्री लेखकले भने,’घटना लगत्तै सुरक्षा निकाय र स्थानीय प्रशासन उद्दारमा खटिएको थियो ।’

त्यसैगरी भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्सेले दुर्घटनापछि नेपाल सरकारबाट उद्दारदेखि उपचारसम्म भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गरिन् ।

उनले घाइतेहरुको उपचारमा चिकित्सकहरुले देखाएको सक्रियताको प्रशंसा गरिन् । ‘दुर्घटना परी केही मेरै आफन्तको पनि मृत्यु भएको छ ।’ उनले भनिन्उ’द्दारमा खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद ।’

गृह मन्त्रालयका अनुसार घाइते मध्ये तीन जनाको आइसियु र अन्यको सामान्य कक्षमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ ।

शुक्रबार घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । सो बसमा ४३ जना यात्रु सवार थिए ।
त्यसैगरी मृतकहरुको चितवनको भरतपुर अस्पतालमा शव परीक्षण भइरहेको छ ।

गृहमन्त्री लेखकसँगको भेटपछि भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्से चितवनस्थित भरतपुर अस्पताल जाने कार्यक्रम तय भएको छ । शव परीक्षणपछि शवहरु भारतीय पक्षको जिम्मा लगाउने र भारतीय पक्षले विमानबाट शव भारत लैजाने तयारी गरिरहेको छ ।

मध्यपुरथिमिमा महाकाली नाचको रौनक

रमेश गिरी, भक्तपुर ।  मध्यपुरथिमि नगरपालिका क्षेत्रमा परम्परागत बाजा र देवीदेवताको नाच प्रदर्शन भइरहेको छ।गाईजात्राको भोलिपल्ट  द्वितीयादेखि पच्चमी अर्थात शनिबार रातिसम्म तीन दिन र चार रात टोलटोलमा विभिन्न देवी देवताका मुकुण्डो धारण गरेको हातमा विभिन्न देवी देवताले बोक्ने हतियार बोकेर नील बाराही, भैरव र महाकाली विभिन्न देवी देवताका प्रतीक देवगणका नाचिरहेका छन् ।

सदियौँदेखि चल्दै आएको यी जात्रा एवं नाचहरु कहिले र कसको पालादेखि सञ्चालनमा आयो भन्ने यकिन तथ्य नभेटिए पनि पुर्खौदेखि तान्त्रिक शक्ति र दस्तावेजका आधारमा मन्त्र एवं तचन्त्रको आधामार दैवी शक्तिलाईै ऊर्जावान बनाइ नाचिदै आएको छ।

मध्यपुरथिमिमा नाचिने नील बाराही नाच देशमा जस्तोसुकै सङ्कट आउँदा पनि नरोकिएको र पुस्तौँदेखि पुस्तान्तरण हुँदै चल्दै आएको भए पनि भैरव तथा महाकाली नाचभने धेरै वर्ष रोकिदै पुन चल्दै आएका छन् । यद्यपि केही वर्षयता भने यी नाचले पनि निरन्तरता भने पाइरहेका छन्।

परापूर्वकालमा भूत, प्रेत, पिचासलगायतका राक्षसी शक्तिले यहाँका बासिन्दालाई दैनिक दुःख दिने, मार्ने, खाने गरेपछि दैवी शक्रिलाई उजागर गरेर तान्त्रिकले तन्त्र विद्याद्धारा मध्यपुरथिमि भित्रका तीन देश अर्थात, बोडे, नगदेश र थिमिमा यी नाचहरु नचाउन थालेपछि भूत, प्रेत, पिसाचहरु आउन छाडेको र यहाँका बासिन्दा सुरक्षित रहेको किम्बदन्ती रहदै आएको छ । दैवी शक्तिको आधारमा नाचिनै आएका यी नाचहरु बोडे देशमा नील बाराही, नगदेशमा महाकाली र थिमिमा भैल अर्थात भैरब नाच प्रर्दशन गरिने गरिन्छ ।

ठूलो शक्ति पीठको रुपमा मानिने मध्यपुरथिमिको बोडेको प्रसिद्ध नीलबाराही मन्दिरलाई आधार मान्दै अनवरतत रुपमा युगौदेखि चल्दै आएको नीलबाराही नाचले रात बिहान केही नभनी बोडेबासीलाई जगाइ रहेको छ ।

बोडेमा भाद्र द्वितीयादेखि पञ्चमीसम्म नीलबाराही नाच चार दिन तीन रातसम्म यहाँको टोल टोलमा प्रर्दशन गर्ने गरिन्छ । नाचमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार द्वारपाल दुई र गणेश चार गरी १९ देवगणले नाच नाच्ने गर्दछन् । देवता १९ जना, गुरु ६ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने ९ जनाको नाचमा प्रतक्ष्य संलग्नता रहने गर्दछ ।

बोडेको लाकुछेँ अर्थात देवता घरबाट सुरु भई लाछी, लाछकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुन: खासी टोल भएर लाकुछेंमा आएर मुकुण्डो निकाले पछि समापन हुने स्थानीय दीलकृष्ण प्रजापतिले जानकारी दिनु भयो । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने र यहाँका बासिन्दाले पूजा एवं दान दक्षिणा दिने परम्परा रहेको उनले बताए ।

दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बाँधिएर नाच्नु पर्ने नीलवाराही नाच कहिलेदेखि सुरु भएको भत्रेबारे यकिन तथ्य फेला नपरे पनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको हुनुपर्ने मध्यपुरथिमि नगरपालिकाका वडा नं। ८ का वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापा श्रेष्ठले बताए।

विगत २६ वर्षदेखि पोङ्गा पुजामा सहभागि हुदै आउनु भएका ४५ वर्षीय रोमन धों श्रेष्ठ आफ्नो पुर्खाको आठ पुस्ता अगाडिदेखि नील बाराही नाचमा सहभागिता रहदै आएको बताउदै उनले देवगण फेरिदाँ पनि पोङ्गा पूजाको कोटा नफेरिने बताए । नाचमा सहभागि हुने देवगणको मृत्यु भएमा वा नीलबाराही देवीको दैवी शक्तिले बाहेक अरु अबस्थामा देवगण फेर्न नपाईने प्रचलन छ।

नाच अवधिभर देवगणले खान हदैन, भुईमा बस्न हुदैन, कसैसँग बोल्न हुदैन, घामपानीमा छाता ओड्न हदैन, दिशा पिसाब गर्न हुदैन र जुत्तासमेत लगाउन हुदैन, नाच नाच्नेहरुले निकै कडा नियमको पालना गर्नु पर्छ । देवगणले मुकुण्डो लायर घण्टौसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि काँही बस्न पाईदैन, बस्नै परे पनि ज्वकालु (सहयोगी)को काखमा या जिउमा अडेसलगाएर बस्नुपर्छ ।

त्रनाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुदैन । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउँछ भन्ने जनविश्वास अझै रहेको छ । जात्रामा काटमार समेत गर्नु हुदैन । परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास अझै रहेको छ । नाच अबधीभर राती टोलटोलमा नाचने र बिहानदेखि पूजा गर्नेको भीड लाग्छ ।

मल्लकालदेखि सुरु भएर प्रत्येक वर्ष मध्यपुर थिमिमा गाईजात्राको भोलिपल्टदेखि लगातार चाररात मनाईने प्रसिद्ध ऐतिहासिक एवं तान्त्रिक शक्ति बोकेको भैरबनाचले यतिखेर मध्यपुरथिमिमा रौनकता थपेको छ ।

मध्यपुरथिमि‐५ ताहनानीबाट यसवर्ष निकालिएको भैरब नाच अर्थात भैल प्याँख भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार रात मध्यपुरथिमि क्षेत्रभर नचाईएको छ । थिमि भैलः प्याखँमा न्हापाँ भैल (अघिल्लो भैरव) एक, लिपाँ भैल(पछिल्लो भैरव)एक, ज्यापुंगः एक, न्हापाँ दागीँ (अघिल्लो दागीँ) एक र लिपाँ दागीँ (पछिल्लो दागीँ) एक जना गरी कुल पाँच जना देवीदेवता रहन्छ ।

यसवर्ष थिमि भैलः प्याखँमा कृशल प्रजापतिले ज्यापुंग, अशोक प्रजापतिले न्हापा भैलः, बालमुकुन्द प्रजापतिले लिपा भैलः, आयुष प्रजापतिले न्हापाँ दाँगी, साहिल प्रजापतिले लिपा दाँगीको भूमिका निर्वाह गरिरहेका छन् ।

धाँ बाजा, भुस्या, मुवाली र पुँगा बाजाको तालमा तहाननी द्यः छें बाट सुरु भएको भैल प्याँख थिमिको बिभिन्न टोलमा नचाईएको र हरेक दिन राती ९ बजेपछि सुरु भइ रातभर नाच्ने थिमि भैलः ताहननी व्यवस्थापन समितिका उपाध्यक्ष बलराम प्रजापतिले बताए ।

यसैगरी मध्यपुरथिमि‐७ नगदेशमा पाँच वर्षपछि परम्परागत एवम् मौलिक महाकाली प्याखँ (नाच) प्रदर्शन भएको छ । कूल १६ देवीदेवता रहने यस नाचमा महाकाली १, महादेवी १, महालक्ष्मी १, देवी १, वेताल ४, भुत भैरव २, कवाँ २, ख्याक २, माक २, सिंह १ रहन्छन ।

यसवर्ष महाकालीको भूमिकामा प्रनिश ज्यापु, महादेवीमा अविरल कोजु, महालक्ष्मीमा बिक्की डंगोल, सिंहमा रोनित तको, बेतालमा अविन कालु, शैलेश ज्यापु, रोनप बाडे र विप्लप साझ्या, भूत भैरवमा निरोज बाडे र दिपेश बाडे, कवाँमा एरिन अवाल र क्षितिज बाडे, ख्याकमा रोजिन सलाजू र रिदेश तको, माकमा अभियान तको र अविक अवालले देवगण बनेर महाकालीमा मुहाली बाजा, नायखिँ, धाँ बाजा, तः, मृदङ, भुस्याय्, छुस्याय्लगायतको बाजाको संयुक्त तालमा नाचिरहेका छन् ।

मध्यपुरथिमिलाई भुतप्रेत, पिचाश र दानवी शक्तिबाट जोगाउन यस्ता परम्परागत धार्मिक आस्था बोकेको महाकाली, भैलः (भैरव), लाय्कु भैलः प्याखँ प्रत्येक वर्षको परम्परा शुरु भएको भैल नाचका गुरु अर्जनु श्रेष्ठ बताउँछन्। नाच हेर्न काठमाडौं उपत्यका र काभ्रेबाटसमेत आउने गरेका छन् ।

संसदीय छानबिन समितिमा आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु : सभापति लामिछाने

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । 

भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए ।

‘आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो’, उनले भने, ‘त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रुपमा हेरेको छु ।’ 

सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिएका थिए । उनले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताए । ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तिको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको उनको भनाइ थियो । 

‘मैले त्यहाँ हेरेर, जानेर र बुझेरै काम गरेको थिएँ । छोडेर गएको डेढ वर्षपछि विभिन्न अनुसन्धानबाट जानकारी आएपछि मात्र थाहा भएको कुरा हो । त्यतिखेर थाहा भएको कुरा होइन । त्यतिखेरै आएको भए त्यतिखेरै थाहा हुन्थ्यो । कतिपय कुरा जतिखेर उजागर हुन्छ त्यतिखेरै हेरिन्छ”, सभापति लामिछानेले भने,‘उजागर नहुँदा त्यसबारेमा थाहा नहुनु स्वभाविक हो ।’

सभापति लामिछानेले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले लगाएको आरोपबारे समयले बताउँदै जाने उल्लेख गरे ।  

एनआरएनए अमेरिकाद्वारा ‘नागरिकता आयोग’ गठन

टेक्सास (अमेरिका) । गैरआवासीय नेपाली सङ्घ अमेरिकाले नागरिकता आयोग २०२४ गठन गरेको छ । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनको पक्षमा पैरवी गर्न सङ्घका अध्यक्ष डा.अर्जुन बञ्जाडेको अध्यक्षतामा नागरिकता आयोग गरिएको प्रवक्ता राजन पन्तले बताए ।

गैरआवासीय नेपाली सङ्घ अमेरिकाद्वारा गठन गरिएको नागरिकता आयोगका सदस्यमा क्रमशः डा.अम्बिका अधिकारी, पूर्ण अधिकारी, डा.रुद्र अर्याल, दिक्षा बस्नेत, हरिबोल भण्डारी, आनन्द विष्ट, खगेन्द्र जीसी, रतन झा, गौरीराज जोशी, डा श्याम कार्की, प्रल्हाद केसी, तिलक केसी, डा.विष्णुमाया परियार, डा.दामोदर पौडेल, डा.केशव पौडेल, डा.आमोद पोखरेल, शिव राई, सुनील साह, डा पुरु श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, तारा सिग्देल, बुद्धी सुवेदी, मोहन थापा, सञ्जय थापा, रविना थापा, सुमन तिम्सिना तथा सदस्य सचिवमा गोपेन्द्र भट्टराई रहेको सङ्घले जनाएको छ ।

नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरे पनि आवश्यक ऐन कानून निर्माण नगर्दा गैरआवासीय नेपालीहरुले नेपाल सरकारका सेवा लिनका लागि निकै झन्झट व्यहोर्नुपरिरहेको छ ।

गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र आवश्यक ऐन कानुन निर्माणका लागि रचनात्मक दबाव र वकालत गर्न आवश्यक देखिएकाले नागरिकता आयोग गठन गरिएको प्रवक्ता पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्दै गैरआवासीय नेपालीहरुले विगत लामो समयदेखि नेपाली नागरिकताको निरन्तरता खोजिरहेका छन् ।

लामो समयदेखिको दबाबका कारण नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भए पनि आवश्यक ऐन कानुन निर्माण हुन नसक्दा गैरआवासीय नेपाली नागरिकता पूर्णरुपमा कार्यान्वयनमा आउन सकिरहेको छैन ।

एनआरएनए गैरआवासीय नेपालीहरूको प्रतिनिधिमूलक संस्था भएकाले गैरआवासीय नेपाली नागरिकताका लागि पूर्ण कार्यान्वयनको पक्षमा वकालत गर्ने निर्णय गरिएको गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा.बञ्जाडेले बताए ।

आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यकः मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यक रहेको बताएका छन्।

शनिबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न कर्मचारीले जिम्मेवार ढंगले कार्यसम्पादन गर्नुपर्ने बताए।

‘ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको अधिकतम सदुपयोग गरेर मुलुकले राखेको आर्थिक विकासको लक्ष्य प्राप्ति पूरा गर्न सकिन्छ। यसका लागि कार्यक्षेत्रमा खटिने कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ,’ उनले भने।

मन्त्री खड्काले मन्त्रालयभित्र एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुने प्रक्रिया स्वभाविक भएकाले आफ्नो दायित्व निर्वाह गर्नेगरी नतिजामुखी काम गर्नुपर्ने बताए। उनले भने, ‘जनतामा छाएको निराशालाई चिर्न जरुरी छ।’

उनले विगतमा भएका पूर्वाधार निर्माणलाई पूरा गर्ने काममा जुट्नुपर्ने बेला आएको बताए। ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्नेगरी कर्मचारीले काम गर्नुपर्ने बताए।

उनले आयोजनाको टेण्डर प्रक्रियालाई चाँडो टुङ्याएर अगाडि बढे तोकेभन्दा चाँडो काम सम्पन्न हुने उल्लेख गरे।

ऊर्जासचिव गोपालप्रसाद सिग्देलले विद्युत् उत्पादन हुनसक्ने सिँचाइका आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्नतर्फ लाग्नुपर्ने बताए। उनले स्थानीय सरकार र प्रदेश सरकारबाट नदी दोहन हुने तर संरक्षण नहुँदा ठूलो विपद्का घटना घटेको बताए।

जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले बजेटको सुनिश्चितता भएमा समयमा नै आयोजना सम्पन्न हुने बताए। उनले किसानको खेतमा पानी नपुगे लक्ष्य हासिल नहुने भएकाले लक्ष्य प्राप्तिका लागि काम गर्नुपर्ने बताए। उनले राष्ट्रिय गौरवका आयोजनालाई आफ्नो प्रगति विवरण १५/१५ दिनमा बुझाउन निर्देशन दिए।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले उत्पादकत्व बढाउनका लागि राष्ट्रिय गौरवका आयोजनालाई तीव्र गतिमा सम्पन्न गर्नुपर्ने बताए। उनले आयोजना निर्माणमा देखिएका समस्या समाधानमा विभागले काम गर्ने उल्लेख गरे।

खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन्।

अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता भएका छन्।

शनिबार बिहान साढे ७ बजे गुरुङलाई कागुवा खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए।

अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवादेखि बिदामा घर फर्किँदै गरेका गुरुङ खोला तर्ने क्रममा कागुवा बगाउँदा बेपत्ता भएका हुन्। बेपत्ता भएका गुरुङको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीयसहित तीन हजार बढी मजदुर कार्यरत छन्। अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ।

आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौं रुपैयाँ पाउनेछ। आयोजना बनाउन रु एक खर्ब १५ अर्ब लाग्ने अनुमान गरिएको छ।

कायरोमा जारी गाजा युद्धविराम वार्तामा प्रगति भइरहेको अमेरिकी दावी

संयुक्त राज्य अमेरिकाले इजिप्टको सीमामा इजरायली सेनाको उपस्थिति प्रमुख अवरोधका रुपमा देखापरेपछि गाजा युद्धविराम वार्ताको पछिल्लो चरणमा प्रगति भएको बताएको छ ।

“युद्धविराम वार्ताको पछिल्लो चरणमा प्रगति भएको छ। अब दुबै पक्ष एकजुट भएर सम्झौता कार्यान्वयन गर्न आवश्यक छ“, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भने ।

युद्धविरामका लागि जारी कुटनितिक पहल असफल भएको हल्ला गलत रहेको र बिहीबारबाट सुरु भएको प्रारम्भिक वार्ता रचनात्मक प्रकृतिको भएको उनले बताए ।

एक इजिप्टियन स्रोतले इजिप्ट र कतारी गुप्तचर प्रमुखहरूले पनि वार्तामा भाग लिइरहेको एएफपीलाई जानकारी दिएको छ ।

“आइतबारदेखि सुरु हुने विस्तृत चरणको वार्ताको तयारीका लागि मध्यस्थकर्ताबीच कायरोमा छलफल भइरहेको छ”, स्रोतले भन्यो । “वासिङ्टनले मध्यस्थकर्तासँग इजरायल र हमासबीचको अन्तर कम गर्न र योजना कार्यान्वयन गर्ने संयन्त्रका लागि नयाँ प्रस्तावहरूबारे छलफल गरिरहेको छ।”

ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी र कतारी अमिर शेख तमीम बिन हमद अल–थानीसँग टेलिफोनमा आगामी वार्ताका बारेमा छलफल गरेका थिए ।

इजिप्टलगायत मध्यस्थकर्ताले गाजामा जारी १० महिनाभन्दा बढीको युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्न महिनौंदेखी पहल गरिरहेका छन् ।

लमजुङमा एघार सय ५० पशुमा कृत्रिम गर्भाधान

लमजुङ । लमजुङमा एक वर्षमा एक हजार एक सय ५० पशुमा कृत्रिम गर्भाधान गराएको छ। आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा किसानले पालेका यतीका पशुमा कृत्रिम गर्भाधान गराइएको भेटिरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. सुनिल न्यौपानेले बताए।

उनका अनुसार यसमा सबैभन्दा बढी भैँसी र कम बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ। पाँच सय ८८ भैंसी, पाँच सय ५९ गाई र तीन बाख्रालाई कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको केन्द्रले जनाएको छ।

कार्यालयमार्फत २७ तथा अन्य गर्भाधान केन्द्रमार्फत एक सय हजार एक सय २३ पशुमा सो सेवा लागू गरिएको थियो। क्व्होलासोथार गाउँपालिका र दुधपोखरी गाउँपालिकाबाहेक अन्य छ स्थानीय तह र कार्यालय गरी सात स्थानबाट कृत्रिम गर्भाधान सेवा उपलब्ध हुँदै आएको छ।

कृत्रिम गर्भाधान सबैभन्दा धेरै मध्यनेपाल नगरपालिकाबाट र कम मस्र्याङ्दी गाउँपालिकाबाट हुने गरेको छ। कृत्रिम गर्भाधान सेवा दिनका लागि १७ जना कृत्रिम गर्भाधान कर्ता खटाइएको केन्द्रका निमित्त प्रमुख न्यौपानेले बताए।

त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७९/८० मा एक हजार सात सय ६२ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो। यसमा नौ सय ४४ गाई, आठ सय १६ भैंसी र दुई बाख्रालाई कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको उक्त कार्यालयले जनाएको छ। कार्यालयमार्फत २२ तथा अन्य गर्भाधान केन्द्रमार्फत एक हजार सात सय ४० पशुमा सो सेवा लागू गरेको थियो।

आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा दुई हजार एक सय ८५ पशुमा कृत्रिम गर्भाधान गराएको थियो। एक हजार ९८ गाई, एक हजार ७२ भैंसी र १५ बाख्रालाई कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको थियो। कार्यालयमार्फत ५५ तथा अन्य गर्भाधान केन्द्रमार्फत एक हजार एक सय ३० पशुमा सो सेवा लागू गरेको थियो।

आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा दुई हजार एक सय सात पशुमा कृत्रिम गर्भाधान गराएकामा एक हजार ४३ गाई, एक हजार ३२ भैंसी र ३२ बाख्रालाई कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ।

कार्यालयमार्फत एक सय सात तथा अन्य गर्भाधान केन्द्रमार्फत दुई हजार पशुमा उक्त सेवा लागू गरेको थियो। प्रजननका लागि भाले पालिराख्नु नपर्ने, विदेशबाट आयातित तथा उच्च उत्पादन क्षमता भएका भालेको बीर्य प्रयोग ग्रामीणस्तरमा नै गर्न सकिने भएकाले कृत्रिम गर्भाधान सेवा प्रदान गर्न थालिएको केन्द्रका निमित्त प्रमुख न्यौपानेको भनाइ छ।

गाउँगाउँमा उक्त सेवा पुगेसँगै कृषक थप उत्साहित भएका छन्। विगतमा परम्परागत रुपमा पशुमा गर्भाधारण गर्दै आएता पनि पछिल्लो समय ब्याड राँगा पाउन मुश्किल भएको र यो सेवा आइपुगेपछि गाई, भैंसी, बाख्रामा कृत्रिम गर्भाधान गर्न थालिएको जिल्लाका किसानको भनाइ छ।

कृत्रिम गर्भाधानबाट जन्मेका बच्चालाई गर्भ नतुहिने, रोग नलाग्ने, जन्मेको बच्चा मर्ने सम्भावना कम हुनुका साथै त्यसबाट जन्मेका पशु बढी दूधालु हुने भएकाले पशु नश्ल सुधार कार्यक्रम प्रभावकारी बन्दै गएको कार्यालय निमित्त प्रमुख न्यौपानले बताए।

जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमणबाट तीन जनाको मृत्यु, चार घाइते

पश्चिमी जर्मनीको सोलिनजेन सहरमा शुक्रबार आयोजित एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले संदिग्ध आक्रमणकारीको खोजी जारी राखेको बताएको छ । “अहिलेसम्म आतङ्ककारीबारे कुनै विस्तृत विवरण छैन, प्रहरीले फोटो र भिडियोसहित अनलाईन पोर्टलमार्फत शुक्रबार राती भएको आक्रमणको जानकारी खोजिरहेको छ”,डुसेलडोर्फ सहरका एक प्रहरी प्रवक्ताले भने ।

आक्रमणको लगत्तै विशेष प्रहरी बलको टोली हेलिकप्टरसहित घटनास्थलमा पुगेको थियो ।आक्रमणकारीले “मानिसहरूलाई अन्धाधुन्ध छुरा प्रहार गरेको” बिल्ड दैनिकले जनाएको छ ।

सोलिनजेन सहरको ६५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित महोत्सवमा यो आक्रमण भएको हो । सोलिनजेनका मेयर टिम–ओलिभर कुर्जबाचले घटनाबाट सम्पूर्ण सहर स्तब्ध भएको बताए ।

“हामी सबै मिलेर सहरको वार्षिकोत्सव मनाउन चाहन्थ्यौं तर अहिले यस अप्रिय घटनामा मृत्यु हुनेप्रति शोक व्यक्त गरिरहेका छौ”, कुर्जबाचले भने ।

कुर्जबाचले घटनास्थलमा गरेको कामको लागि आपतकालीन सेवालाई धन्यवाद दिनुभयो र आक्रमणको प्रत्यक्षदर्शीप्रति सहानुभूति प्रकट गरेका छन् ।

साउन महिना भारतबाट  ७७ अर्बको बस्तु आयात हुँदा  सात अर्ब ५७ करोडको निर्यात

काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना नेपालले कुल  एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा  एक खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले  एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाखको मात्रै निर्यात गरेको हो । 

विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलना चालु आर्थिक वर्षको पहिलो महिनामा आयात शून्य दशमलव ६७ प्रतिशतले घटेको छ भने निर्यात नौ दशमलव ६३ प्रतिशतले घटेको छ । गत साउन महिनामा नेपालले भारतसँग मात्र  ७० अर्ब १० करोड ४२ लाख बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ । 

चालु आर्थिक वर्षको पहिलो महिना भारतबाट  ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको आयात हुँदा  सात अर्ब ५७ करोड ८८ लाखको निर्यात भएको हो ।

नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुकसँग यस अवधिको व्यापार घाटा २४ अर्ब ३८ करोड ४७ लाख बराबर छ ।

गत साउनमा चीनबाट २४ अर्ब ५४ करोड २३ लाखको आयात हुँदा  १५ करोड ७६ लाख बराबरको मात्रै निर्यात भएको हो । कतार, युक्रेन, अस्ट्रेलिया, बहराईन, मलेसियालगायतका मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ ।

चालु आवको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरुमध्ये १३  मुलुकसँग भने व्यापार नाफा छ । सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग  १८ करोड ३४ लाख ६६ हजार बराबर व्यापार नाफा देखिएको हो । अफगानिस्तान, बेल्जियम, रुस, मौसिरसलगायत मुलुकसँग व्यापार नाफा देखिएको छ ।

नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन् । गत एक महिनामा मात्र नेपालले ६ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल,  पाँच अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल र  चार अर्ब ८२ करोड ६६ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।

त्यस्तै, साउनमा  तीन अर्ब ४६ करोड ६३ लाख बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालले बढी निर्यात गरेका वस्तुहरुमा भने कार्पेट, चिया, स्टील, धागोलगायत छन् । गत साउनमा नेपालले एक अर्ब ११ करोड ७५ लाख बराबरको कार्पेट निर्यात गरेको छ ।

तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतका युवा राज्यमन्त्री काठमाडौँमा

काठमाडौँ ।  भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न काठमाडाँै आइपुगेकी छन् ।

उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिइरहेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको  यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्यहाँ उपचार भइरहेको छ । सो दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो ।

घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ यात्रा गरिरहेका थिए । 

यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको  शव परीक्षण भइरहेको छ । शव परीक्षणपछि भारत पठाइने चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

७५ जिल्लामा डेङ्गी सङ्क्रमण, तीनजनाको मृत्यु

काठमाडौँ । वर्खायाम लागेसँगै डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको जानकारी दिए । 


७५ जिल्लामा पाँच हजार एक सय १९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यसवर्ष हालसम्म तीन जना डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।


पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ । 

काठमाडौँ जिल्लामा चार सय २१, भक्तपुर ५८ र ललितपुर ७९ जनामा  डेङ्गी सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो । 


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तगा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न आग्रह गरेको छ ।


सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।  यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ६७ जना पुगेका छन् । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, मकवानपुर र कैलाली हैजाका बिरामी भेटिएको बताए ।  


उनका अनुसार ललितपुरमा ४७ काठमाडौँमा नौ, कैलालीमा आठ, प्यूठान दुई, मकवानपुर एक जनामा हैजा पुष्टि भएको छ । हैजा अति सङ्क्रामक र शिघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ । 

विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो, स्वीकार्य छैनः शिक्षामन्त्री भट्टराई

भरतपुर ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन् ।

शनिबार बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गरिन् ।

‘विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो’, उनले भनिन्, ‘हरेक क्षेत्रमा गृहमन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो ।’

विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको उल्लेख गर्दै उनले भनिन्, ‘गुण्डागर्दी र अपराधिकरण चरित्र हो । त्यस्ता प्रवृत्तिविरुद्ध सुरक्षा माग गरिएको हो । यस्ता गतिविधिमा राजनीतिक संरक्षण हुनु हुँदैन ।’  मन्त्री भट्टराई नवलपुरमा हुने कार्यक्रममा सहभागी हुन यहाँ आएकी हुन् । 

केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको पूर्ण बैठक 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार बस्ने भएको छ ।

पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । नेताहरूको योगदान, कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा मङ्गलबारसम्म बस्ने जनाइएको छ ।

पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय रहेकामा दुई सय ५१ केन्द्रीय सदस्यको सपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई सपथ गराएर जिम्मेवारी तोकिनेछ । केही नेताहरुको जिम्मेवारी हेरफेर गरिनेछ ।

केन्द्रीय संरचनाहरुको निर्माण र विविध विषयमा छलफल गर्न पार्टीले केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको नेता पाण्डेयले जानकारी दिए ।

पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ । बैठकले क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा छलफल गर्ने छ ।

पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।

मोटरसाइकल दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन

सर्लाही । मोटरसाइकल दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरका पूर्ववडाध्यक्ष ४३ वर्षीय अरविन्दकुमार यादवको निधन भएको छ ।

बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा शुक्रबार राति भएको दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन भएको प्रहरीले जनाएको छ ।

कविलासी नगरपालिकाको पिपरीयाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजे एक साइकलमा ठोक्किएर दुर्घटना भएको र उनको घटनास्थलमै निधन भएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिए ।

पूर्ववडाध्यक्ष यादवले चलाएको मोटरसाइकले एउटा साइकललाई ठक्कर दिएको प्रहरी उपरीक्षक सिंहले बताए । “साइकल, चप्पल र मोबाइलको खोल घटनास्थलमै रहेको तर साइकल चालक फरार छ”, उनले भने,“पूर्ववडाध्यक्षको घटनास्थलममै मृत्यु भएपछि साइकल चालक डराएर फरार भएको हुनसक्छ ।” 

साइकल चालकको खोजी तथा दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । यादवको टाउकाको पछाडि भागमा गम्भीर चोट लागेको छ । 

नेकपा (एमाले) जिल्ला कमिटीका सदस्य रहेका  यादव २०७४ को निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

पिताले गर्भाधानपूर्व मदिरा सेवन गर्दा भ्रूणमा कस्तो असर पर्छ ?

आमाले मदिरा पिउँदा शिशुमा कस्तो असर पर्छ भन्ने कुराले मात्र चर्चा पाइरहँदा बाबुले गर्ने मदिराको सेवनको विषय लामो समयसम्म छायामा परिराख्यो। एउटा नयाँ अध्ययनले त्यसमा परिवर्तन ल्याउन सक्ने देखिन्छ। पचास वर्षभन्दा धेरै समयदेखि वैज्ञानिकहरुले गर्भवतीले मदिरा पिउँदा हुन सक्ने जोखिमबारे सतर्क गराउँदै आएका छन्।

भर्खरैको एउटा अनुसन्धानले आमाले हप्तामा एक पटक मात्र मदिरा सेवन गर्दा पनि शिशुको मस्तिष्कको विकास, संज्ञानात्मक कार्य तथा व्यवहार र अनुहारको आकारलाई असर गर्न सक्ने देखाएको छ। दशकौंदेखिका जनस्वास्थ्य अभियानहरूले गर्भवती आमाले यति मदिरा पिउन हुन्छ भनेर कुनै सुरक्षित मात्रा तोक्न सकेका छैनन्।

वैज्ञानिकहरू शिशुको जन्मपूर्व मातापिताले मदिरा पिउँदा विभिन्न समस्याहरू निम्तिन सक्छन् भन्नेबारे सहमत देखिन्छन्। यसले स्नायुतन्त्रको विकाससम्बन्धी समस्यादेखि अनुहारमा देखिने समस्याहरू पनि सामान्यतया: मदिराको सेवन सम्बन्धी ‘फिटल अल्कोहल स्पेक्ट्रम डिसअर्डरस्’ (एफएएसडी) सँग जोडिन्छ। यसले व्यवहारजन्य, संज्ञानात्मक, सिकाइसम्बन्धी र ढिलो बोल्नेजस्तो समस्या पनि निम्त्याउँछ।

यसले व्यापक असरसहित विस्तारित क्षेत्र समेट्ने भएकाले र एफएएसडी पनि त्यसैको हिस्सा भएकाले आजभोलि यसलाई ‘फिटल अल्कोहल सिन्ड्रोम’ एफएएस भन्न थालिएको छ। आमाले मदिरा पिउँदा हुने जोखिमका बारेमा राम्ररी अध्ययन भए पनि एफएएसडीको अर्को प्रभावकारी पक्ष अर्थात् बाबुले पिउँदा हुने असरको विषय भने छायामा परेको छ।

प्रजननबारे भएका अध्ययनहरू ‘असाध्यै महिलाकेन्द्रित वा मातृकेन्द्रित छन्। हामीले खासै पुरुषको पाटोमा मेहनत गरेका छैनौँ,’ टेक्सस् ए एण्ड एम विश्वविद्यालयमा यही विषयमा अनुसन्धान गर्दै आएका डिभेलपमेन्ट फिजियोलोजिस्ट माइकल गोल्डिङ भन्छन्।

गोल्डिङजस्ता अनुसन्धानकर्ताहरूले पुरुषको भूमिकाबारे लामो समयदेखि अनुमान गर्दै आएका थिए। ‘वर्षौँदेखि हामीले महिलाहरूका विभिन्न कथा सुनेका थियौँ। उनीहरू मैले गर्भवती हुँदा कहिल्यै पिइनँ, तैपनि मेरो शिशु एफएएस प्रभावित छ, मेरो पार्टनरले असाध्यै पिउँथ्यो भन्थे,’ गोल्डिङले भने। तर त्यस्ता कहानीलाई ढाँटे वा पिएको कुरा बिर्से होलान् भनेर गम्भीरताका साथ लिइएन।

हालैको एउटा सोधले भने रोचक र अहिलेसम्मको बुझाइलाई नै उल्टोपाल्टो बनाइदिने गरी ती आमाहरू सही थिए की भन्ने सम्भावना उजागर गरेको छ। पिताले गर्भाधानपूर्व मदिरा सेवन गर्दा भ्रूणमा असर पर्छ भन्ने कुरा जटिल लाग्न सक्छ। तर हालैका जनसाङ्ख्यिक अध्ययनहरूले पिताले मदिरा सेवन गर्दा शिशुको स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्ने देखाएका छन्।

सन् २०२१ मा चीनमा पाँच लाख जोडीलाई सुपरिवेक्षण गरी गरिएको अध्ययनले गर्भाधानपूर्व पिताले मदिरा पिउँदा र आमाले कत्ति पनि नपिएको खण्डमा समेत शिशुमा तालु चिरिने, जन्मजात मुटु रोग तथा पाचनसम्बन्धी समस्या अधिक देखियो।

अर्को जनसाङ्ख्यिक अध्ययनका क्रममा जन्मजात मुटुरोग भएका ५००० बालबालिकाहरूलाई त्यस्तो समस्या नभएका त्यति नै सङ्ख्याका बालबालिकासँग दाँजिएको थियो। त्यसमा समग्र जोखिम कम देखिए पनि मदिरा पिउने पुरुषका सन्तानलाई जन्मजात मुटुसम्बन्धी समस्या हुने जोखिम लगभग तीन गुणाले धेरै हुने देखियो।

यसमा गर्भाधान हुनुभन्दा तीन महिना अघिदेखि दैनिक ५० एमएल मदिरा पिउने र कत्ति पनि नपिउनेबीच तुलना गरिएको थियो। महत्त्वपूर्ण कुराचाहिँ जन्मजात हुने समस्या तुलनात्मक रूपमा कमै छ। उदाहरणका लागि, सन् २०२१ मा चीनमा गरिएका जन्मजात समस्यासम्बन्धी अध्ययनमध्ये सबैभन्दा गम्भीर रूपमा देखिएको तालु चिरिने समस्या १६४,१५१ बालबालिकामध्ये १०५ जनामा मात्रै देखियो जसका पिता मदिरा पिउँथे।

तर नपिउनेको तुलनामा पिउने पुरुषको शिशुमा यस्तो समस्या हुने जोखिम १.५ प्रतिशतले अधिक देखियो। “हाम्रो सोधले बाबु हुँदै गरेकाहरूलाई भ्रूणसम्बन्धी जोखिमलाई कम गर्न आफ्नो पिउने बानी परिवर्तन गर्नेतर्फ प्रोत्साहित गर्नुपर्ने सुझाउँछ किनकि ३१ प्रतिशत मदिरा पिउने दरले जन्मजात हुने समस्यालाई ह्वात्तै बढाइदिने देखियो,” शोधकर्ताहरूले लेखेका छन्।

सन् २०२४ को एउटा अध्ययनले गर्भाधानपूर्व पुरुषले मदिरा पिउँदा त्यसले भ्रूणको विकासमा असर परेको देखाएको छ। यद्यपि मदिराकै सेवनले यी समस्या निम्तिएका हुन् वा अप्रत्यक्ष रूपमा जोडिएका मात्रै हुन् भनेर भन्न मुस्किल छ। जबकि दुवै अध्ययनका अनुसन्धानकर्ताहरूले जटिल कारकहरूलाई नियन्त्रण गरेका छन्। उदाहरणका निम्ति, पुरुषले धुम्रपान गर्छ कि गर्दैन? हरेक सम्भावित सहयोगी क्रियालाई ध्यान दिन सम्भव हुँदैन। ‘मानवीय अध्ययन असाध्यै जटिल हुन्छ। त्यसमा धेरै जटिल कारकहरू हुन्छन्,’ गोल्डिङ भन्छन्, ‘व्यक्तिको खानपान कस्तो छ, कसरत गर्छ कि गर्दैन आदि धेरै कुराहरू छन् जसले यसलाई असाध्यै कठिन बनाउँछन्।’

मुसामा परीक्षण
त्यसो त ‘र्‍यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल’ (आरसीटी) भनिने अनियमित नियन्त्रित परीक्षण वैज्ञानिक अनुसन्धानको एउटा उत्तम मानक मानिन्छ। तर मदिरा सेवन र गर्भावस्थासम्बन्धी अध्ययनको हकमा यसलाई विकल्पका रूपमा लिन सकिँदैन। सन्तानलाई हुन सक्ने सम्भावित जोखिमका बाबजुद केही पुरुषलाई गर्भाधानअघि मदिरा पिउने सुझाव दिनु नैतिक नै रहेछ भने पनि सामान्यतया: मदिराबाट टाढा रहनेहरूले पिउन थाल्ने सम्भावना छैन। त्यस्तै नियमित मदिरा पिउनेहरूले यही अध्ययनकै हिस्सा बन्नका निम्ति पूर्ण रूपमा पिउन छाड्छन् भन्ने पनि छैन। तर जनावरहरूमा र खासगरी मुसामा यो परीक्षण गर्न सकिन्छ। गोल्डिङले त्यसै गरे।

सबैभन्दा पहिले उनको समूहले मानिसमा देखिने एफएएसडीसँग जोडिएका शारीरिक विकारहरूलाई मुसामा मापन गर्‍यो। त्यसमा आँखा सानो हुने र टाउकोको आकार सानो हुनेजस्ता कुराहरूलाई विचार गरियो। त्यसपछि उनीहरूले मुसाहरूलाई विभिन्न समूहमा बाँडे। त्यसमा गर्भवती माउलाई मात्रै मदिरा दिने, गर्भाधानपूर्व भालेलाई मात्रै दिने र दुवैलाई दिने समूह बनाइयो। पछि तिनका सन्तानका विशेषताहरूको तुलना गर्दा उनीहरूले एउटा प्रष्ट विषय हात पारे।

पोथी मुसाले गर्भावस्थामा मदिरा सेवन गर्दा उसका सन्तानमा देखिएका एफएएसडीसम्बन्धी केहि शारीरिक लक्षणलाई अपेक्षित ठान्न सकिएला। तर भालेपोथी दुवैले मदिरा सेवन गर्दा तिनका सन्तानका अनुहारको रौँको ढाँचामा र समग्र वृद्धिमा केही खराबी देखियो। अचम्मको कुराचाहिँ पोथीको तुलनामा भालेले मदिरा सेवन गरेको मामिलामा मानवमा देखिने एफएएसडीसम्बन्धी असरजस्तै बङ्गाराका असामान्यता, दाँतको दूरी, आँखाको आकार र स्थान आदिमा त्यसको असर अतिरिक्त स्पष्ट भएको पाइयो।

परिणाम देखेर गोल्डिङ छक्क परे। ‘मैले विद्यार्थीलाई पुन: परीक्षण गर्न भनेँ,’ उनले हाँस्दै भने। त्यसपछि गरिएका प्रत्येकपटकका परीक्षणमा उनीहरूले उस्तै परिणाम प्राप्त गरेका छन्। सन् २०२४ को जुलाईमा उनको समूहले मुसाका भालेपोथीलाई मदिरा दिँदा तिनका सन्तानमा परेको असरलाई महत्त्व दिँदै दुईवटा सोध प्रकाशित गरेको छ। एउटा अध्ययनले मदिरा सेवन गरेका भालेपोथीबाट जन्मिएका मुसाको मस्तिष्क र कलेजोमा सेलुलर एजिङ भनिने कोषिकासम्बन्धी समस्या बढेको देखायो।

माइथोकोन्ड्रिअल डिस्फङ्सन भनिने रासायनिक उर्जासम्बन्धी समस्याका कारण त्यसो भएको हुन सक्ने ठानिएको छ। भालेपोथीमध्ये कसले मदिरा सेवन गरेको हो भन्ने कुरालाई ध्यान नदिइ गरिएको अध्ययनका क्रममा दुवैले मदिरा सेवन गरेको मामिलामा भने स्पष्ट परिणाम देखिएको थियो।

यो परिणामले सायद एफएएसडी भएका मानिसहरू अस्पताल भर्ना हुनुपर्ने दर उच्च हुनु र उनीहरूको औषत आयु पनि सामान्य जनसङ्ख्याको तुलनामा ४२ प्रतिशत मात्रै हुनुको कारणलाई व्याख्या गर्न सक्छ। गोल्डिङको समूहले भालेले सेवन गरेको मदिराको मात्राअनुसार मुसाको अनुहारको संरचना बदलिनेसमेत पत्ता लगाएका छन्। ‘मुख्य कुराचाँहि पुरुषले मदिरा सेवन गर्दा सन्तानमा हो/होइनमा भन्न सकिने प्रभावमात्रै पर्ने होइन। यसले शिशुमा तह–तहको असर पार्छ। यसको अर्थ धेरै मदिरा सेवन गर्दा धेरै खराब असर देखिन्छ भन्ने हो,’ उनले भने।

मुसाका भालेपोथीले मदिरा सेवन गर्दा तिनको सन्तानमा ‘एफएएसडी’ जस्तो असर देखिएको पत्ता लगाउने गोल्डिङ एक मात्र अनुसन्धानकर्ता होइनन्। अरु अनुसन्धानहरूले पनि मदिरा नदिइएका भाले मुसाका तुलनामा दिइएकाको सन्तानमा वृद्धिसम्बन्धी समस्या, मेटाबोलिक समस्या (खानालाई उर्जामा परिणत गर्ने रासायनिक प्रक्रिया) र आनुवांशिक अभिव्यक्तिमा समस्या देखाएका छन्।

क्यालिफोर्निया रिभरसाइड विश्वविद्यालका मनोविज्ञान विषयका प्राध्यापक केली हफम्यानले पनि मदिराको सम्पर्कमा आउने भाले मुसाको सन्तानमा प्रायश: विशेष नकारात्मक परिणाम आउने पत्ता लगाएकी छन्।

गर्भाधानपश्चात् पोथीलाई अल्कोहल दिँदा भने गहिरो प्रभाव देखिएन। ‘यसले ती शिशुहरू (प्रत्यक्ष रूपमा) मदिराको सम्पर्कमा थिएनन् भन्ने देखाउँछ,’ हफम्यान भन्छिन्। उनले मुसाका सन्तानको निओर्कोटेक्सेस्(मष्तिस्कको एउटा हिस्सा उच्च कार्यावस्थामा हुने अवस्था)को तस्बिर देखाइन्।

मदिरा नदिइएका नियन्त्रित मुसाका आधारभूत सोमाटोसेन्सरी कोर्टेक्स (जुङ्गाबाट सन्देश प्राप्त गर्दा मष्तिस्कले प्रतिक्रिया जनाउने प्रक्रिया) र आधारभूत दृष्यात्मक कोर्टेक्स प्रष्ट भेद हुने गरी अलग क्षेत्रमा थिए। तिनीहरूबीच प्रष्ट सीमा देखिन्थ्यो र एकअर्कासँग खप्टिएका थिएनन्।

पोथीलाई नदिइएको तर भालेलाई मदिरा दिइएकाको मामिलामा उनीहरूको क्षेत्र एकदम फरक देखिन्थ्यो। ‘तिनीहरू सबै मिश्रित छन्,’ हफम्यान भन्छिन्।

तिनीहरूको मष्तिस्कमात्र अलग तरिकाले व्यवस्थित होइन, तिनीहरूको व्यवहार र मोटर स्किल भनिने शरीरको कार्य गर्ने सीप पनि पृथक थियो। मदिरा सेवन गर्ने भालेको सन्तानको गलत कदम चाल्ने र लड्ने सम्भावना अधिक देखिन्थ्यो र हिँडडुल गर्ने झिँझो मान्नुका साथै ‘स्पिनिङ बार’ मा अडिने तरिका सिक्न पनि समय लगाउँथे।

‘तिनीहरू समान दरमा सुधार ल्याउन सक्दैनथे,’ हफम्यान भन्छिन्, ‘तिनीहरूको सिकाइको गति थोरै कम थियो। मेरो विचारमा थोरै अति सक्रियता र शरीरको कार्य गर्ने सीपमा भएको सेन्सरी मोटोर इन्टेग्रेसन भनिने स्नायु र मांशपेशीसम्बन्धी समन्वयात्मक समस्याका कारण यस्तो भएको हुनुपर्छ।’

मुसाका बच्चाहरू गर्भाशयमा छँदा मदिराको प्रत्यक्ष सम्पर्कमा नआएको भए पनि एपिजेनेटिक्स भनिने आनुवांशिकीमा हुने एक प्रकारको परिवर्तनले भूमिका खेलेको हुन सक्दछ। मदिराले शुक्राणुको डीएनए मिथाइलेसन (एक प्रकारको रासायनिक प्रतिक्रिया) लाई खलबल्याइदिन सक्ने र भ्रूणको आनुवांशिक अभिव्यक्तिमा परिवर्तन ल्याउन सक्ने अध्ययनहरूले देखाएका छन्।

गोल्डिङले मदिरा दिइएका मुसाका शुक्राणुमा भ्रूणको विकासलाई प्रभावित गर्ने किसिमको परिवर्तन देखिने प्रमाण भेटेका छन्। उनी र उनका साथीहरूले दीर्घकालीन रूपमा मदिरा सेवन गर्दा शुक्राणुको आरएनए नामक विरासतमा प्राप्त हुने आनुवांशिक सामग्रीको अनुपात बदलिने पत्ता लगाएका हुन्।

मातापिताले मदिरा सेवन गर्दा उत्पन्न हुन सक्ने आनुवांशिक प्रभाव अनुसन्धानका निम्ति एउटा नयाँ क्षेत्र हो। तर धुम्रपानको असरले निम्त्याउने परिणामहरू राम्रोसँग दस्तावेजीकरण गरिएका छन्। मानिस वा मुसा; दुवै मामिलामा धुम्रपानले वंशाणुगत आनुवांशिक सामग्रीमा पर्ने प्रभाव दर्शाउने राम्रा प्रमाणहरू छन्।

धुमपान गर्ने पुरुषको सन्तानमा जन्मजात खराबी देखिने सम्भावना हुन्छ। त्यसमा ल्यूकेमिआदेखि अति मोटोपनजस्ता समस्या देखिने सम्भावना बढी हुन्छ र सम्भवत: त्यसमा एपिजेनेटिक्स भनिने आनुवांशिकीमा देखिने परिवर्तनले भूमिका खेलेको हुन सक्दछ।

पुरुषले सेवन गर्ने मदिराले खेल्ने भूमिकाको तुलनामा आमाले गर्ने सेवनले भ्रूणको विकासमा ठूलो भूमिका खेल्छ भन्नेमा धेरै शोधकर्ताहरू सहमत छन्। अष्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नीकी बाल रोग विशेषज्ञ तथा प्राध्यापक एलिजाबेथ इलियट भन्छिन्, “महिलाको रगतमा भएको मदिरा सालको माध्यम भएर सिधै भ्रूणमा पुग्छ, त्यसैले यसले भ्रूणको विकासमा प्रत्यक्ष प्रभाव पार्छ।”

उनले लामो समयदेखि एफएएसडीबारे अनुसन्धान गर्दै आएकी छिन् र एफएएसडीसम्बन्धी हालैको एउटा शैक्षिक समीक्षा सामग्रीको वरिष्ठ सह-लेखक पनि हुन्। “यसले मस्तिष्क र अनुहारको विकास निर्धारण गर्ने मस्तिष्कको भागलाई असर गर्छ। यसले यी सबै अंग प्रणालीहरू, फोक्सो, मुटु, कान र आँखा तथा अन्यको विकासमा असर पार्छ।”

मुसामा गरिएको परीक्षणको सन्देश के हो
निश्चय नै मानिसहरू मुसा होइनन्। मुसामा गरिएका अनुसन्धानले हामीलाई मानव प्रक्रियाहरूको सन्दर्भमा के भइरहेको हुन सक्छ भन्नेबारे केही अवधारणा दिन सक्छन् र दिएका पनि छन्। तर यसको मतलब निश्चित रूपमा यसै भइरहेको छ भन्ने होइन। हामीले कुनै निश्चितताका साथ पुरुषले मदिरा सेवन गर्दा हुन जाने प्रभाव निर्धारण गर्नुअघि धेरै अनुसन्धान गर्न आवश्यक छ।

तथापि पुरुषले गर्ने मदिरा सेवनले खेल्न सक्ने भूमिकालाई बेवास्ता गर्न नहुने इलियट तथा अन्य बताउँछन्। अनुसन्धान जारी रहँदै गर्दा सार्वजनिक स्वास्थ्य अभियानहरूले यसलाई अझ प्रत्यक्ष रूपमा सम्बोधन गर्नुपर्ने उनको धारणा छ।

‘यो हानिकारक मात्रै छैन, पिताले मदिरा सेवन गर्नुका फाइदा पनि हुन सक्छन्। यदि पुरुषले मदिरा पिउँछन् भने गर्भावस्थाका बेला तिनले गर्भवती महिलालाई पनि (पिउनका निम्ति) प्रभावित तुल्याइराखेका हुन्छन्,’ इलियट भन्छिन्, ‘यदि यसलाई सम्बोधन गर्ने हो भने सबैलाई फाइदा हुन सक्छ।’

अहिलेसम्मका अध्ययनले यदि पुरुषले (महिलाले होइन) आफ्नो पार्टनरले गर्भधारण गर्न सक्ने थाहा पाउँदा पाउँदैको अवस्थामा कति मदिरा सेवन गर्दा ‘सुरक्षित हुने’ बताउँछन् ?  हामीसँग त्यो तथ्याङ्क छैन। तर गोल्डिङ कहिलेकाँहीमात्रै मदिरा पिउनु सम्भवत: उपयुक्त हुने बताउँछन्। यदि पिताले शिशुको स्वास्थमा फरक पार्ने कसरत तथा उत्तम खानपानजस्ता अन्य कारकहरूमा ध्यान दिँदै मदिराको सेवनको मात्रालाई घटाउँछ भने त्यो राम्रो हो। तथापि उनले थपे, ‘मेरा छोराहरू हुन्थे भने म तिनलाई पूर्ण रूपमा मदिरा बन्द गर्न सुझाउथेँ।’

मातापिताले मदिरा सेवन गर्दा पर्ने स्पष्ट प्रभाव अझै प्रकाशमा आएको छैन, तथापि अनुसन्धानकर्ताहरू एउटा कुरामा सहमत छन्। ‘महिलालाई अधिक बोझ बोकाइन्छ,’ गोल्डिङ भन्छन्, ‘तर भ्रूणको विकासमा पुरुषको स्वास्थ्यको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका छ। शिशुको स्वास्थ्यको ख्याल राख्नु र साथ दिनु दुवै पक्षको जिम्मेवारी हो।’

अमान्डा रुगेरी
बीबीसी

रुकुम पूर्वको यार्सागुम्बा पाइने पुपाल लेक

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित समुद्री सतहदेखी चार हजार पाँच सय मिटरमा अवस्थित बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने क्षेत्र पुपाल लेक । जेठदेखी भदौ महिनासम्म हरियो देखिने यो क्षेत्र आठ महिना हिउँले ढाकिने गर्दछ ।

तस्बिर : कुलदीप न्यौपाने / रासस