पिताले गर्भाधानपूर्व मदिरा सेवन गर्दा भ्रूणमा कस्तो असर पर्छ ?


आमाले मदिरा पिउँदा शिशुमा कस्तो असर पर्छ भन्ने कुराले मात्र चर्चा पाइरहँदा बाबुले गर्ने मदिराको सेवनको विषय लामो समयसम्म छायामा परिराख्यो। एउटा नयाँ अध्ययनले त्यसमा परिवर्तन ल्याउन सक्ने देखिन्छ। पचास वर्षभन्दा धेरै समयदेखि वैज्ञानिकहरुले गर्भवतीले मदिरा पिउँदा हुन सक्ने जोखिमबारे सतर्क गराउँदै आएका छन्।
भर्खरैको एउटा अनुसन्धानले आमाले हप्तामा एक पटक मात्र मदिरा सेवन गर्दा पनि शिशुको मस्तिष्कको विकास, संज्ञानात्मक कार्य तथा व्यवहार र अनुहारको आकारलाई असर गर्न सक्ने देखाएको छ। दशकौंदेखिका जनस्वास्थ्य अभियानहरूले गर्भवती आमाले यति मदिरा पिउन हुन्छ भनेर कुनै सुरक्षित मात्रा तोक्न सकेका छैनन्।
वैज्ञानिकहरू शिशुको जन्मपूर्व मातापिताले मदिरा पिउँदा विभिन्न समस्याहरू निम्तिन सक्छन् भन्नेबारे सहमत देखिन्छन्। यसले स्नायुतन्त्रको विकाससम्बन्धी समस्यादेखि अनुहारमा देखिने समस्याहरू पनि सामान्यतया: मदिराको सेवन सम्बन्धी ‘फिटल अल्कोहल स्पेक्ट्रम डिसअर्डरस्’ (एफएएसडी) सँग जोडिन्छ। यसले व्यवहारजन्य, संज्ञानात्मक, सिकाइसम्बन्धी र ढिलो बोल्नेजस्तो समस्या पनि निम्त्याउँछ।
यसले व्यापक असरसहित विस्तारित क्षेत्र समेट्ने भएकाले र एफएएसडी पनि त्यसैको हिस्सा भएकाले आजभोलि यसलाई ‘फिटल अल्कोहल सिन्ड्रोम’ एफएएस भन्न थालिएको छ। आमाले मदिरा पिउँदा हुने जोखिमका बारेमा राम्ररी अध्ययन भए पनि एफएएसडीको अर्को प्रभावकारी पक्ष अर्थात् बाबुले पिउँदा हुने असरको विषय भने छायामा परेको छ।
प्रजननबारे भएका अध्ययनहरू ‘असाध्यै महिलाकेन्द्रित वा मातृकेन्द्रित छन्। हामीले खासै पुरुषको पाटोमा मेहनत गरेका छैनौँ,’ टेक्सस् ए एण्ड एम विश्वविद्यालयमा यही विषयमा अनुसन्धान गर्दै आएका डिभेलपमेन्ट फिजियोलोजिस्ट माइकल गोल्डिङ भन्छन्।
गोल्डिङजस्ता अनुसन्धानकर्ताहरूले पुरुषको भूमिकाबारे लामो समयदेखि अनुमान गर्दै आएका थिए। ‘वर्षौँदेखि हामीले महिलाहरूका विभिन्न कथा सुनेका थियौँ। उनीहरू मैले गर्भवती हुँदा कहिल्यै पिइनँ, तैपनि मेरो शिशु एफएएस प्रभावित छ, मेरो पार्टनरले असाध्यै पिउँथ्यो भन्थे,’ गोल्डिङले भने। तर त्यस्ता कहानीलाई ढाँटे वा पिएको कुरा बिर्से होलान् भनेर गम्भीरताका साथ लिइएन।
हालैको एउटा सोधले भने रोचक र अहिलेसम्मको बुझाइलाई नै उल्टोपाल्टो बनाइदिने गरी ती आमाहरू सही थिए की भन्ने सम्भावना उजागर गरेको छ। पिताले गर्भाधानपूर्व मदिरा सेवन गर्दा भ्रूणमा असर पर्छ भन्ने कुरा जटिल लाग्न सक्छ। तर हालैका जनसाङ्ख्यिक अध्ययनहरूले पिताले मदिरा सेवन गर्दा शिशुको स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्ने देखाएका छन्।
सन् २०२१ मा चीनमा पाँच लाख जोडीलाई सुपरिवेक्षण गरी गरिएको अध्ययनले गर्भाधानपूर्व पिताले मदिरा पिउँदा र आमाले कत्ति पनि नपिएको खण्डमा समेत शिशुमा तालु चिरिने, जन्मजात मुटु रोग तथा पाचनसम्बन्धी समस्या अधिक देखियो।
अर्को जनसाङ्ख्यिक अध्ययनका क्रममा जन्मजात मुटुरोग भएका ५००० बालबालिकाहरूलाई त्यस्तो समस्या नभएका त्यति नै सङ्ख्याका बालबालिकासँग दाँजिएको थियो। त्यसमा समग्र जोखिम कम देखिए पनि मदिरा पिउने पुरुषका सन्तानलाई जन्मजात मुटुसम्बन्धी समस्या हुने जोखिम लगभग तीन गुणाले धेरै हुने देखियो।
यसमा गर्भाधान हुनुभन्दा तीन महिना अघिदेखि दैनिक ५० एमएल मदिरा पिउने र कत्ति पनि नपिउनेबीच तुलना गरिएको थियो। महत्त्वपूर्ण कुराचाहिँ जन्मजात हुने समस्या तुलनात्मक रूपमा कमै छ। उदाहरणका लागि, सन् २०२१ मा चीनमा गरिएका जन्मजात समस्यासम्बन्धी अध्ययनमध्ये सबैभन्दा गम्भीर रूपमा देखिएको तालु चिरिने समस्या १६४,१५१ बालबालिकामध्ये १०५ जनामा मात्रै देखियो जसका पिता मदिरा पिउँथे।
तर नपिउनेको तुलनामा पिउने पुरुषको शिशुमा यस्तो समस्या हुने जोखिम १.५ प्रतिशतले अधिक देखियो। “हाम्रो सोधले बाबु हुँदै गरेकाहरूलाई भ्रूणसम्बन्धी जोखिमलाई कम गर्न आफ्नो पिउने बानी परिवर्तन गर्नेतर्फ प्रोत्साहित गर्नुपर्ने सुझाउँछ किनकि ३१ प्रतिशत मदिरा पिउने दरले जन्मजात हुने समस्यालाई ह्वात्तै बढाइदिने देखियो,” शोधकर्ताहरूले लेखेका छन्।
सन् २०२४ को एउटा अध्ययनले गर्भाधानपूर्व पुरुषले मदिरा पिउँदा त्यसले भ्रूणको विकासमा असर परेको देखाएको छ। यद्यपि मदिराकै सेवनले यी समस्या निम्तिएका हुन् वा अप्रत्यक्ष रूपमा जोडिएका मात्रै हुन् भनेर भन्न मुस्किल छ। जबकि दुवै अध्ययनका अनुसन्धानकर्ताहरूले जटिल कारकहरूलाई नियन्त्रण गरेका छन्। उदाहरणका निम्ति, पुरुषले धुम्रपान गर्छ कि गर्दैन? हरेक सम्भावित सहयोगी क्रियालाई ध्यान दिन सम्भव हुँदैन। ‘मानवीय अध्ययन असाध्यै जटिल हुन्छ। त्यसमा धेरै जटिल कारकहरू हुन्छन्,’ गोल्डिङ भन्छन्, ‘व्यक्तिको खानपान कस्तो छ, कसरत गर्छ कि गर्दैन आदि धेरै कुराहरू छन् जसले यसलाई असाध्यै कठिन बनाउँछन्।’
मुसामा परीक्षण
त्यसो त ‘र्यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल’ (आरसीटी) भनिने अनियमित नियन्त्रित परीक्षण वैज्ञानिक अनुसन्धानको एउटा उत्तम मानक मानिन्छ। तर मदिरा सेवन र गर्भावस्थासम्बन्धी अध्ययनको हकमा यसलाई विकल्पका रूपमा लिन सकिँदैन। सन्तानलाई हुन सक्ने सम्भावित जोखिमका बाबजुद केही पुरुषलाई गर्भाधानअघि मदिरा पिउने सुझाव दिनु नैतिक नै रहेछ भने पनि सामान्यतया: मदिराबाट टाढा रहनेहरूले पिउन थाल्ने सम्भावना छैन। त्यस्तै नियमित मदिरा पिउनेहरूले यही अध्ययनकै हिस्सा बन्नका निम्ति पूर्ण रूपमा पिउन छाड्छन् भन्ने पनि छैन। तर जनावरहरूमा र खासगरी मुसामा यो परीक्षण गर्न सकिन्छ। गोल्डिङले त्यसै गरे।
सबैभन्दा पहिले उनको समूहले मानिसमा देखिने एफएएसडीसँग जोडिएका शारीरिक विकारहरूलाई मुसामा मापन गर्यो। त्यसमा आँखा सानो हुने र टाउकोको आकार सानो हुनेजस्ता कुराहरूलाई विचार गरियो। त्यसपछि उनीहरूले मुसाहरूलाई विभिन्न समूहमा बाँडे। त्यसमा गर्भवती माउलाई मात्रै मदिरा दिने, गर्भाधानपूर्व भालेलाई मात्रै दिने र दुवैलाई दिने समूह बनाइयो। पछि तिनका सन्तानका विशेषताहरूको तुलना गर्दा उनीहरूले एउटा प्रष्ट विषय हात पारे।
पोथी मुसाले गर्भावस्थामा मदिरा सेवन गर्दा उसका सन्तानमा देखिएका एफएएसडीसम्बन्धी केहि शारीरिक लक्षणलाई अपेक्षित ठान्न सकिएला। तर भालेपोथी दुवैले मदिरा सेवन गर्दा तिनका सन्तानका अनुहारको रौँको ढाँचामा र समग्र वृद्धिमा केही खराबी देखियो। अचम्मको कुराचाहिँ पोथीको तुलनामा भालेले मदिरा सेवन गरेको मामिलामा मानवमा देखिने एफएएसडीसम्बन्धी असरजस्तै बङ्गाराका असामान्यता, दाँतको दूरी, आँखाको आकार र स्थान आदिमा त्यसको असर अतिरिक्त स्पष्ट भएको पाइयो।
परिणाम देखेर गोल्डिङ छक्क परे। ‘मैले विद्यार्थीलाई पुन: परीक्षण गर्न भनेँ,’ उनले हाँस्दै भने। त्यसपछि गरिएका प्रत्येकपटकका परीक्षणमा उनीहरूले उस्तै परिणाम प्राप्त गरेका छन्। सन् २०२४ को जुलाईमा उनको समूहले मुसाका भालेपोथीलाई मदिरा दिँदा तिनका सन्तानमा परेको असरलाई महत्त्व दिँदै दुईवटा सोध प्रकाशित गरेको छ। एउटा अध्ययनले मदिरा सेवन गरेका भालेपोथीबाट जन्मिएका मुसाको मस्तिष्क र कलेजोमा सेलुलर एजिङ भनिने कोषिकासम्बन्धी समस्या बढेको देखायो।
माइथोकोन्ड्रिअल डिस्फङ्सन भनिने रासायनिक उर्जासम्बन्धी समस्याका कारण त्यसो भएको हुन सक्ने ठानिएको छ। भालेपोथीमध्ये कसले मदिरा सेवन गरेको हो भन्ने कुरालाई ध्यान नदिइ गरिएको अध्ययनका क्रममा दुवैले मदिरा सेवन गरेको मामिलामा भने स्पष्ट परिणाम देखिएको थियो।
यो परिणामले सायद एफएएसडी भएका मानिसहरू अस्पताल भर्ना हुनुपर्ने दर उच्च हुनु र उनीहरूको औषत आयु पनि सामान्य जनसङ्ख्याको तुलनामा ४२ प्रतिशत मात्रै हुनुको कारणलाई व्याख्या गर्न सक्छ। गोल्डिङको समूहले भालेले सेवन गरेको मदिराको मात्राअनुसार मुसाको अनुहारको संरचना बदलिनेसमेत पत्ता लगाएका छन्। ‘मुख्य कुराचाँहि पुरुषले मदिरा सेवन गर्दा सन्तानमा हो/होइनमा भन्न सकिने प्रभावमात्रै पर्ने होइन। यसले शिशुमा तह–तहको असर पार्छ। यसको अर्थ धेरै मदिरा सेवन गर्दा धेरै खराब असर देखिन्छ भन्ने हो,’ उनले भने।
मुसाका भालेपोथीले मदिरा सेवन गर्दा तिनको सन्तानमा ‘एफएएसडी’ जस्तो असर देखिएको पत्ता लगाउने गोल्डिङ एक मात्र अनुसन्धानकर्ता होइनन्। अरु अनुसन्धानहरूले पनि मदिरा नदिइएका भाले मुसाका तुलनामा दिइएकाको सन्तानमा वृद्धिसम्बन्धी समस्या, मेटाबोलिक समस्या (खानालाई उर्जामा परिणत गर्ने रासायनिक प्रक्रिया) र आनुवांशिक अभिव्यक्तिमा समस्या देखाएका छन्।
क्यालिफोर्निया रिभरसाइड विश्वविद्यालका मनोविज्ञान विषयका प्राध्यापक केली हफम्यानले पनि मदिराको सम्पर्कमा आउने भाले मुसाको सन्तानमा प्रायश: विशेष नकारात्मक परिणाम आउने पत्ता लगाएकी छन्।
गर्भाधानपश्चात् पोथीलाई अल्कोहल दिँदा भने गहिरो प्रभाव देखिएन। ‘यसले ती शिशुहरू (प्रत्यक्ष रूपमा) मदिराको सम्पर्कमा थिएनन् भन्ने देखाउँछ,’ हफम्यान भन्छिन्। उनले मुसाका सन्तानको निओर्कोटेक्सेस्(मष्तिस्कको एउटा हिस्सा उच्च कार्यावस्थामा हुने अवस्था)को तस्बिर देखाइन्।
मदिरा नदिइएका नियन्त्रित मुसाका आधारभूत सोमाटोसेन्सरी कोर्टेक्स (जुङ्गाबाट सन्देश प्राप्त गर्दा मष्तिस्कले प्रतिक्रिया जनाउने प्रक्रिया) र आधारभूत दृष्यात्मक कोर्टेक्स प्रष्ट भेद हुने गरी अलग क्षेत्रमा थिए। तिनीहरूबीच प्रष्ट सीमा देखिन्थ्यो र एकअर्कासँग खप्टिएका थिएनन्।
पोथीलाई नदिइएको तर भालेलाई मदिरा दिइएकाको मामिलामा उनीहरूको क्षेत्र एकदम फरक देखिन्थ्यो। ‘तिनीहरू सबै मिश्रित छन्,’ हफम्यान भन्छिन्।
तिनीहरूको मष्तिस्कमात्र अलग तरिकाले व्यवस्थित होइन, तिनीहरूको व्यवहार र मोटर स्किल भनिने शरीरको कार्य गर्ने सीप पनि पृथक थियो। मदिरा सेवन गर्ने भालेको सन्तानको गलत कदम चाल्ने र लड्ने सम्भावना अधिक देखिन्थ्यो र हिँडडुल गर्ने झिँझो मान्नुका साथै ‘स्पिनिङ बार’ मा अडिने तरिका सिक्न पनि समय लगाउँथे।
‘तिनीहरू समान दरमा सुधार ल्याउन सक्दैनथे,’ हफम्यान भन्छिन्, ‘तिनीहरूको सिकाइको गति थोरै कम थियो। मेरो विचारमा थोरै अति सक्रियता र शरीरको कार्य गर्ने सीपमा भएको सेन्सरी मोटोर इन्टेग्रेसन भनिने स्नायु र मांशपेशीसम्बन्धी समन्वयात्मक समस्याका कारण यस्तो भएको हुनुपर्छ।’
मुसाका बच्चाहरू गर्भाशयमा छँदा मदिराको प्रत्यक्ष सम्पर्कमा नआएको भए पनि एपिजेनेटिक्स भनिने आनुवांशिकीमा हुने एक प्रकारको परिवर्तनले भूमिका खेलेको हुन सक्दछ। मदिराले शुक्राणुको डीएनए मिथाइलेसन (एक प्रकारको रासायनिक प्रतिक्रिया) लाई खलबल्याइदिन सक्ने र भ्रूणको आनुवांशिक अभिव्यक्तिमा परिवर्तन ल्याउन सक्ने अध्ययनहरूले देखाएका छन्।
गोल्डिङले मदिरा दिइएका मुसाका शुक्राणुमा भ्रूणको विकासलाई प्रभावित गर्ने किसिमको परिवर्तन देखिने प्रमाण भेटेका छन्। उनी र उनका साथीहरूले दीर्घकालीन रूपमा मदिरा सेवन गर्दा शुक्राणुको आरएनए नामक विरासतमा प्राप्त हुने आनुवांशिक सामग्रीको अनुपात बदलिने पत्ता लगाएका हुन्।
मातापिताले मदिरा सेवन गर्दा उत्पन्न हुन सक्ने आनुवांशिक प्रभाव अनुसन्धानका निम्ति एउटा नयाँ क्षेत्र हो। तर धुम्रपानको असरले निम्त्याउने परिणामहरू राम्रोसँग दस्तावेजीकरण गरिएका छन्। मानिस वा मुसा; दुवै मामिलामा धुम्रपानले वंशाणुगत आनुवांशिक सामग्रीमा पर्ने प्रभाव दर्शाउने राम्रा प्रमाणहरू छन्।
धुमपान गर्ने पुरुषको सन्तानमा जन्मजात खराबी देखिने सम्भावना हुन्छ। त्यसमा ल्यूकेमिआदेखि अति मोटोपनजस्ता समस्या देखिने सम्भावना बढी हुन्छ र सम्भवत: त्यसमा एपिजेनेटिक्स भनिने आनुवांशिकीमा देखिने परिवर्तनले भूमिका खेलेको हुन सक्दछ।
पुरुषले सेवन गर्ने मदिराले खेल्ने भूमिकाको तुलनामा आमाले गर्ने सेवनले भ्रूणको विकासमा ठूलो भूमिका खेल्छ भन्नेमा धेरै शोधकर्ताहरू सहमत छन्। अष्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नीकी बाल रोग विशेषज्ञ तथा प्राध्यापक एलिजाबेथ इलियट भन्छिन्, “महिलाको रगतमा भएको मदिरा सालको माध्यम भएर सिधै भ्रूणमा पुग्छ, त्यसैले यसले भ्रूणको विकासमा प्रत्यक्ष प्रभाव पार्छ।”
उनले लामो समयदेखि एफएएसडीबारे अनुसन्धान गर्दै आएकी छिन् र एफएएसडीसम्बन्धी हालैको एउटा शैक्षिक समीक्षा सामग्रीको वरिष्ठ सह-लेखक पनि हुन्। “यसले मस्तिष्क र अनुहारको विकास निर्धारण गर्ने मस्तिष्कको भागलाई असर गर्छ। यसले यी सबै अंग प्रणालीहरू, फोक्सो, मुटु, कान र आँखा तथा अन्यको विकासमा असर पार्छ।”
मुसामा गरिएको परीक्षणको सन्देश के हो
निश्चय नै मानिसहरू मुसा होइनन्। मुसामा गरिएका अनुसन्धानले हामीलाई मानव प्रक्रियाहरूको सन्दर्भमा के भइरहेको हुन सक्छ भन्नेबारे केही अवधारणा दिन सक्छन् र दिएका पनि छन्। तर यसको मतलब निश्चित रूपमा यसै भइरहेको छ भन्ने होइन। हामीले कुनै निश्चितताका साथ पुरुषले मदिरा सेवन गर्दा हुन जाने प्रभाव निर्धारण गर्नुअघि धेरै अनुसन्धान गर्न आवश्यक छ।
तथापि पुरुषले गर्ने मदिरा सेवनले खेल्न सक्ने भूमिकालाई बेवास्ता गर्न नहुने इलियट तथा अन्य बताउँछन्। अनुसन्धान जारी रहँदै गर्दा सार्वजनिक स्वास्थ्य अभियानहरूले यसलाई अझ प्रत्यक्ष रूपमा सम्बोधन गर्नुपर्ने उनको धारणा छ।
‘यो हानिकारक मात्रै छैन, पिताले मदिरा सेवन गर्नुका फाइदा पनि हुन सक्छन्। यदि पुरुषले मदिरा पिउँछन् भने गर्भावस्थाका बेला तिनले गर्भवती महिलालाई पनि (पिउनका निम्ति) प्रभावित तुल्याइराखेका हुन्छन्,’ इलियट भन्छिन्, ‘यदि यसलाई सम्बोधन गर्ने हो भने सबैलाई फाइदा हुन सक्छ।’
अहिलेसम्मका अध्ययनले यदि पुरुषले (महिलाले होइन) आफ्नो पार्टनरले गर्भधारण गर्न सक्ने थाहा पाउँदा पाउँदैको अवस्थामा कति मदिरा सेवन गर्दा ‘सुरक्षित हुने’ बताउँछन् ? हामीसँग त्यो तथ्याङ्क छैन। तर गोल्डिङ कहिलेकाँहीमात्रै मदिरा पिउनु सम्भवत: उपयुक्त हुने बताउँछन्। यदि पिताले शिशुको स्वास्थमा फरक पार्ने कसरत तथा उत्तम खानपानजस्ता अन्य कारकहरूमा ध्यान दिँदै मदिराको सेवनको मात्रालाई घटाउँछ भने त्यो राम्रो हो। तथापि उनले थपे, ‘मेरा छोराहरू हुन्थे भने म तिनलाई पूर्ण रूपमा मदिरा बन्द गर्न सुझाउथेँ।’
मातापिताले मदिरा सेवन गर्दा पर्ने स्पष्ट प्रभाव अझै प्रकाशमा आएको छैन, तथापि अनुसन्धानकर्ताहरू एउटा कुरामा सहमत छन्। ‘महिलालाई अधिक बोझ बोकाइन्छ,’ गोल्डिङ भन्छन्, ‘तर भ्रूणको विकासमा पुरुषको स्वास्थ्यको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका छ। शिशुको स्वास्थ्यको ख्याल राख्नु र साथ दिनु दुवै पक्षको जिम्मेवारी हो।’
अमान्डा रुगेरी
बीबीसी