`

सरकारको ‘अनलाइन’ सेवा ‘लाइन’ बाटै

रामचन्द्र जाेशी ८ वैशाख २०८३ १२:४५
जीवनशैली/स्वास्थ्य

काठमाडाैं। सरकारले २२ चैतमा सरकारी तथा सार्वजनिक कार्यालयहरूमा शनिबार तथा आइतबार बिदा दिने निर्णय गर्‍यो। पेट्रोल तथा डिजेलको भाउ आकाशिँदै जाँदा आइतबार बिदा दिएर खपत घटाउन यो निर्णय गरिएको बताइन्छ।

सरकार बनेको हप्ता दिनमै गरिएको उक्त निर्णयले सरकारी कार्यालय तथा सार्वजनिक संस्थानतिर सेवा प्रभावित बनेको गुनासाहरू सुनिन थालेका छन्। जसको मार सबैभन्दा बढी स्वास्थ्य संस्थातिर देखिन थालेको छ। आइतबार बिदा दिने निर्णयले सरकारी अस्पतालमा सामान्य सेवाका लागि पनि ४/५ घण्टासम्म लाइन बस्नुपरेकोमा बिरामीहरूले गुनासो गर्ने गरेका छन्।

सिभिल अस्पतालमा आज बिहान ओपीडी टिकट लिन पुगेका बिरामीको लाम निकै लामो छ। लाइन अस्पताल परिसरभित्रै फन्को मार्दै क्यान्टिन क्षेत्रभन्दा परसम्म पुगेको देखिन्छ। लामो समयसम्म लाइनमा बस्नुपर्दा आफूहरू अत्यन्तै हैरान भएको गुनासो बिरामीहरूको छ।

‘गला दुखिराख्ने समस्याको उपचारका लागि म बिहानै साढे पाँच बजेदेखि लाइनमा छु, बल्ल कुपन पाएको छु,’ काभ्रे घर भएका ताराप्रसाद चौलागाईंले भने, ‘सरकारले दुई दिन बिदा दिने निर्णय त गर्‍यो, तर यसले सेवाग्राहीमा निकै अन्योलता सिर्जना गरेको छ।’

सरकारले अनलाइनबाटै ओपीडीको टिकट काट्न सकिने बताए पनि अस्पताल परिसरमा भने त्यसको कार्यान्वयन निकै फितलो देखिएको चौलागाईं बताउँछन्। ‘एक दुई जनाले अनलाइनबाट काम गरे पनि धेरैजसो मान्छे लाइनमै छन्,’ उनले भने।

सरकारले अनलाइनबाटै काम गर्न सकिने बताए पनि अस्पतालमा त्यो नभएको अर्का सेवाग्राहीको गुनासो छ। ‘भनिएको थियो- आजभोली अनलाइनबाट सबै काम गर्न मिल्छ, अहिले आएर यहाँ हेर्दा जताततै भिडभाड छ,’ तपस्या सिर्पाइली भन्छिन्, ‘त्यै भएर म सरकारलाई भन्न चाहन्छु, भनेर मात्रै भएन, गरेर पनि देखाउनुपर्‍यो।’

दुई दिन बिदा दिने सरकारको निर्णयले साताको दोस्रो दिन सोमबार अस्पतालमा भिडभाड हुने गरेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्। ‘आइतबार बिदा दिने निर्णय त भयो, तर त्यसको प्रभावकारी कार्यान्वयन नभइसकेकाले होला, सोमबार बिरामीको चाप बढी हुँदा व्यवस्थापनमा अप्ठेरो भइरहेको छ,’ सिभिल अस्पतालमा कार्यरत एक चिकित्सकले बताए।

यता अस्पताल प्रशासनले भने अबको २/३ दिनभित्र यो समस्या समाधान भइसक्ने बताउँछ। अहिले सिभिल अस्पतालमा इमरजेन्सी बाहेकका बाँकी सेवा लिन आएका सेवाग्राहीको ठुलो लाइन छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *