`

दामोदरकुण्डमा उद्धार गर्न चिठी पठाउँदा…

 म्याग्दी । समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुगिकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर (अक्सिजन अभाव भएर) बिरामी परिन् ।

टाउको दुखिरहने, शरीर गल्ने, खाना अरुचि हुनेजस्ता लक्षणसँगै हिँडडुल गर्न नसक्ने भएर दामोदरकुण्डकै धर्मशालामा अन्य दुईजना साथी र सहयोगीसँग बसेकी गौचनको टोलीलाई नेपाली सेनाको हेलिकप्टरले भदौ ६ गते उद्धार गरेको थियो ।

‘दामोदरकुण्डप्रतिको आस्थाका कारण नेपालसँगै भारतबाट धैरै तीर्थयात्री आउने यस स्थानमा सञ्चार र स्वास्थ्य सुविधाको अतिआवश्यकता महसुस भयो’, उनले भनिन्, ‘मोबाइल फोन सेवा विस्तार हुँदा समयमै उद्धार र प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन सकेमा बिरामी तीर्थयात्रीले समयमा नै उपचार पाउने थिए ।’

प्रदेश सभा सदस्य गौचनको स्वास्थ्यमा सुधार भइरहेको छ । सञ्चार सुविधा अभावमा उद्धारका लागि चिठी लेखेर पठाउँदा ढिलाइ भएको उनले बताइन् ।

धार्मिक पर्यटनका हिसाबले प्रशस्त सम्भावना भए पनि भौगोलिक विकटताका कारण दामोदरकुण्डमा राज्यको नजर पर्न नसकेको गौचनले बताइन् ।

दामोदरकुण्डको समस्या र आवश्यकताका विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई टेलिफोनबाट जानकारी गराएको प्रदेश सभा सदस्य गौचनले बताइन् ।

कालीगण्डकी नदीको उद्गमस्थल दामोदरकुण्ड मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको–४ को भूगोलमा पर्छ । यहाँ स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

कालीगण्डकीमा मात्र पाइने शालिग्राम शिलालाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुका रूपमा पुज्ने गर्दछन् । दामोदर हिमशृङ्खलाको फेदीमा रहेको यस स्थल धार्मिक र प्रकृतिको मनोरम सङ्गम हो ।

मौसम र वातावरणीय हिसाबले जेठदेखि साउनसम्म दामोदरकुण्ड जान उपयुक्त हुन्छ । पाँचवटा कुण्ड रहेको दामोदरकुण्ड स्नानका लागि जनैपूर्णिमा र चैतेदसैँका दिन भक्तजन बढी सङ्ख्यामा जान्छन् ।

भक्तजनले दुईवटा ठूला कुण्डमा स्नान गर्ने गर्दछन् । कुण्ड वरिपरि कुशको हरियाली छ । उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्व छ ।

कालीगण्डकी करिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट दुई घण्टाको सवारीसाधनको यात्रापछि यारागाउँ पुग्न सकिन्छ । यारा गाउँबाट माथि झुमा ठाटीसम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजन याराबाट नै घोडाको यात्रा गर्दछन् ।

याराबाट करिब नौ घण्टा घोडाको यात्रापछि दामोदरकुण्ड पुग्न सकिन्छ । सडक यातायात, सञ्चार र बसोबासको राम्रो व्यवस्था नभएका कारण दामोदरकुण्डको यात्रा जोखिमयुक्त र कठिन भएको काठमाडौंबाट आएका धनीकुमार सापकोटाले बताए ।

भक्तजनको सुविधाका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले धर्मशाला र पिउने पानीको व्यवस्था मिलाएको छ । असारदेखि साउनसम्म धर्मशालामा निःशुल्क भोजनको व्यवस्था मिलाइएको हुन्छ ।

कठिन यात्रा गरेर दामोदरकुण्ड पुगेपछि यहाँको प्राकृतिक सुन्दरताले सबै दुःखकष्ट भुलाइदिने उनले बताए ।

‘दामोदरकुण्ड साँच्चिकै स्वर्गको टुक्राजस्तो लाग्यो’, उनले भने, ‘धार्मिक र प्रकृतिको सुन्दर सङ्गमस्थलको अनुभूति भयो ।’

दामोदरकुण्ड पुग्न र फर्किन प्रतिघोडा १० हजार खर्च लाग्ने हालै त्यहाँ गएर आएका बेनी नगरपालिका–३ का राम्जी सुवेदीले बताए ।

पाँच हजार पाँच सय मिटरभन्दा अग्ला दुई पहाड उकालो र ओरालो भिरको बाटो भएर दामोदर पास पार गरेपछि दामोदरकुण्डको समथर भूभागमा पुगिने उनले बताए ।

वरपरका सेता हिमचुचुराले घेरिएको दामोदरकुण्डको उपत्यका सुन्दर र मनमोहक देखिने सुवेदीले बताए ।

प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौँको स्वास्थ्य, खानेपानी, ढल, सडक, खाद्यान्न, वातावरण लगायत अन्य सुधार गरिनुपर्ने क्षेत्रका सन्दर्भमा ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ एमाले बाग्मती प्रदेशका इन्चार्ज डा राजन भट्टराई, जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, काठमाडौँ महानगरपालिकाका उपप्रमुुख सुनिता डङ्गोल, पूूर्वप्रमुुख विद्यासुन्दर शाक्यसहितको प्रतिनिधि मण्डलले मेलम्ची खानेपानी आयोजनाको सहज आपूर्ति नभएको अवस्थामा काठमाडौँ  क्षेत्र नं ३ स्थित सुन्दरीजलको नागमती ड्याम परियोजनाको बाँकी कामलाई तत्काल अगाडि बढाउन र उपत्यकाको विभिन्न भागमा पुनःभरणको योजना अगाडि बढाउन माग गरेको छ । यस्तै यहाँका नदीहरूको सौन्दर्यीकरण र फोहरमैलाको दीर्घकालीन समाधान गर्न पनि माग गरिएको छ ।

प्रतिनिधि मण्डलले काठमाडौँ महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिनेसम्बन्धी सर्वाेच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका लागि आग्रह समेत गरेको छ ।

उक्त उत्प्रेषणको आदेशका आधारमा गत साउन २४ गतेको महानगरपालिकाका प्रमुखस्तरीय निर्णयबाट नक्सा अनुमति रोक्काको सूचना प्रकाशन गरिएको जनाइएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले जनजीवनमा समस्या सम्बोधनका लागि सरकारका तर्फबाट गर्नुपर्ने पहल गर्ने जनाउँदै कुनै पनि निकाय र व्यक्तिले व्यावहारिकतालाई ध्यान नदिई निर्णय गर्न नहुने बताएका थिए ।

यसकारण आवश्यक छ ‘पोडवे सेवा ’

रमेश लम्साल, काठमाडौँ । सहर सहरजस्तो हुन सहज रूपमा सार्वजनिक यातायात उपलब्ध हुनुपर्छ । आम मानिसको विश्वास र भरोसा दुवै हुनुपर्छ । तर, काठमाडौँ उपत्यकामा सहज रूपमा सार्वजनिक यातायात सेवा पाउन आम मानिसलाई मुस्किल छ । बढ्दो सहरीकरणले सृजना गरेको जनघनत्वमा भएको वृद्धिका कारण निजी सवारीसाधन प्रयोग गर्नेको सङ्ख्यामा पनि उत्तिकै बढोत्तरी भएको छ । तर, सङ्घीय राजधानीमा सर्वसूलभ रूपमा सार्वजनिक सवारीसाधन प्रयोग गर्न नागरिकलाई मुस्किल छ ।

सडक विस्तार भए पनि निजी सवारीसाधन त्यसमा पनि दुईपाङ्ग्रे सवारीमा भएको बढोत्तरीका कारण काठाडौँका चोकचोकमा लामो र कष्टप्रद जाममा बस्नुपर्ने बाध्यता उस्तै छ । सरकारले सार्वजनिक सवारीसाधन व्यवस्थापनका लागि अनेकन उपाय अवलम्बन गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ठूला सवारीसाधन सञ्चालनमा ल्याउने प्रयासले पनि उल्लेखनीय रूपमा सार्थकता पाउन नसक्दा नागरिकले पाएको भुक्तमान भनीसाध्य छैन ।

सार्वजनिक सवारीसाधन व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा मेट्रोरेलको अवधारणा ल्याइए पनि प्राविधिक र आर्थिक रूपमा रहेको कठिनाइका कारण कार्यान्वयनमा ल्याउन सकिएको छैन ।

सरकारले व्यक्तिगत सवारीसाधन प्रयोगलाई निरुत्साहित गर्ने हो भने सबैभन्दा उपयुक्त प्रविधिको रूपमा पोडवे सञ्चालन गर्न सकिने विभिन्न सम्भावना देखिएको छ । यो हालसम्मकै नयाँ र गुणस्तरीय प्रविधि भएको यसमा संलग्नहरूले बताएका छन् ।

काठमाडौँ उपत्यकाका अधिकांश स्थानीय तहले पोडवे सञ्चालनका लागि तयार रहेको बताइसकेका छन् । नेपालको सार्वजनिक यातायात क्षेत्रमा रहेको चुनौती, असुविधा र यसको दुर्बल पक्षलाई निस्तेज गर्दै आम नेपाली जनतालाई सर्वसुलभ रूपमा यातायात सेवा प्रदान गर्ने लक्ष्यका साथ आफूहरूले पोडवे सञ्चालनका लागि प्रयास थालेको काठमाडौँ पोडवेका उपाध्यक्ष निल भट्टराईले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत यो विषयलाई समावेश गरिएको छ । केही स्थानमा त सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम अगाडि बढाउनका लागि आग्रह भइसकेको छ ।

खासगरी पोडवे तार (केवल)मा आधारित प्रविधि हो । यो केवलकारको अर्को र अत्याधुनिक स्वरुप भएको बताइन्छ । अर्को शब्दमा भन्दा यो रेलको पछिल्लो र अत्याधुनिक संरचना पनि हो । सार्वजनिक यातायातका क्षेत्रमा विकास गरिएको नयाँ प्रविधिका रूपमा यसलाई लिइएको छ ।

उपाध्यक्ष भट्टराईका अनुसार सरकारले अनुमति दिएको खण्डमा विद्यमान चक्रपथभित्र सहजै रूपमा पोडवे सञ्चालन गर्न सकिन्छ । त्यसका लागि सरकारले उक्त प्रविधिको यातायात सेवा सञ्चालनका लागि कानुनी प्रबन्ध गरिदिनुपर्ने टड्कारो आवश्यकता बनेको छ ।

सरकारले हालसम्म परम्परागत यातायात सेवा सञ्चालनका लागि मात्र कानुनी प्रबन्ध गरेकाले पनि नयाँ नीति जरुरी रहेको उपाध्यक्ष भट्टराईको भनाइ छ । सार्वजनिक सवारी क्षेत्रको सुधारका लागि तारमा आधारित उक्त प्रविधिको अवलम्बन गर्न सकिएको खण्डमा क्रान्तिकारी परिवर्तन हुने उनको दाबी छ ।

हाल दुबई र बेलारुसले उक्त प्रविधिमा आधारित पोडवे सञ्चालनमा ल्याइसकेका छन् । अमेरिका र भारतमा सञ्चालनमा हुने क्रममा छ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले दुबईमा सञ्चालनमा रहेको पोडवेमा यात्रासमेत गरेर आएपछि कर्णाली प्रदेशमा त्यसलाई कार्यान्वयमा नै लैजाने घोषणा गरेका थिए ।

पूर्वमुख्यमन्त्री शर्मा नेपालको हकमा यो प्रविधि नै सबैभन्दा उत्तम र सहज प्रविधिका रूपमा लिन सकिने र कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने बताउँछन् ।

स्वदेशी बिजुलीको प्रयोग गरेर सञ्चालन गर्न सकिने भएकाले पेट्रोलियम पदार्थको आयातमा वार्षिक रूपमा खर्च हुने ठूलो विदेशी मुद्रा देशभित्रै राख्न सकिने सहजै अनुमान गर्न सकिन्छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा नै पोडवे यातायात प्रणालीको विषयमा सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम समावेश गरेको छ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा उक्त कार्यक्रम समावेश गरिएको छ ।

पृथ्वी राजमार्गको विमलनगरबाट गोरखाको लिगलिगकोट–भच्चेक–बारपाक–बुङकोट–गोरखाबजार–मनकामना–बेनीघाटसम्म पोडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण अगाडि बढाउने बजेटमा घोषणा गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयले छुट्टाछुट्टै आयोजनाको प्रस्ताव गरेका छन् ।

नेपालका लागि पोडवे यातायात प्रविधि नितान्त नौलो प्रविधि हो । अस्तव्यस्त मुलुकको सार्वजनिक यातायातको विकल्प बन्न सक्ने दाबी गर्दै काठमाडौँ पोडवेका उपाध्यक्ष भट्टराईले लुम्बिनी प्रदेशमा पाइलटका रूपमा सञ्चालन गर्ने तयारी गरिएको भए पनि अनुमति सङ्घीय सरकारले दिनुपर्ने भएकाले प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

पोडवेको गति प्रतिघण्टा एक सय ५० किलोमिटर

मेट्रोरेलको जस्तै सुविधा दिने पोडवेको गति प्रतिघण्टा एक सय ५० किलोमिटर बराबर हुनेछ । भारतमा सञ्चालनमा रहेको रेलको गति एक सय किलोमिटर प्रतिघण्टा बराबर छ । पोडवे रेलभन्दा उच्च गतिमा सञ्चालन हुने भएकाले पनि थप सहज मानिन्छ ।

पोडवे सञ्चालनका लागि छुट्टै ट्रयाकको आवश्यकता पर्छ । स्वचालित प्रविधिमा आधारित भएकाले पनि त्यसका लागि छुट्टै मार्ग निर्माण गर्नुपर्ने हुन्छ । पोडवे कृत्रिम बौद्धिकता (एआइ)ले नै नियन्त्रण गर्ने र सेवा अटोमेटिक हुने उपाध्यक्ष भट्टराईको भनाइ छ ।

एउटा विशेष नियन्त्रण कक्षले त्यसको सञ्चालन गर्नेछ । त्यसका लागि हरेक दुई– दुई किलोमिटरमा स्टेशन निर्माण गरिने छ । यात्रु चढाउन र ओराल्न अकासे पुलजस्तै संरचना तयार गर्नुपर्नेछ । केवलकारमा जस्तै पोडवे स्टेशनमा रोक्ने तथा झर्ने समयमा स्वचालित (अटोमेटिक) सुविधा प्राप्त हुनेछ ।

पोडवे निर्माणका लागि जग्गा प्राप्ति वा मुआब्जाको विषय प्रधान नहुने भएकाले पनि थप सहज हुने अनुमान गर्न सकिन्छ । हाल निर्माण भएका सडकको किनारा वा सडकको माथिबाट हिँड्ने भएकाले पनि थप सजिलो हुनेछ ।

“पोडवे सञ्चालनका लागि सडकको माथि वा करिडोर भए पनि हुन्छ । पोडवे आकासमा नै चढ्ने तथा ओराल्ने हुँदा जग्गाको विवाद आउँदैन । सहज रूपमा सेवा दिन सकिन्छ”, भट्टराईले भने ।

सडकको माथिबाट हिँड्ने भए पनि पेटी वा करिडोरमा सञ्चालनका लागि सङ्घीय सरकारले अनुमति दिनुपर्ने कानुनी बाध्यता छ । सङ्घीय सरकारले आवश्यक नीति तयार गरी अनुमति दिएको खण्डमा बढीमा तीन वर्षभित्रै काठमाडौँ उपत्यकामा पोडवे सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

यातायातविज्ञ आशिष गजुरेल नेपालको यातायात क्षेत्रलाई गुणस्तरीय र जोखिमरहित बनाउने हो भने पोडवे नै उत्तम विकल्प भएको बताउँछन् । “यसलाई कार्यान्वयन गर्न ढिलाइ गरिनुहुन्न । पहिलो चरणमा अध्ययन हुने भएकाले त्यसमा विशेष ध्यान दिनुपर्छ । सरकारले नै यसका लागि पहलकदमी लिनुपर्छ । निजी क्षेत्रले चासो लिएको अवस्थामा उसलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ”, उनले भने ।

गजुरेलका अनुसार यो रेलको पछिल्लो विकसित प्रविधि हो । जुन सुरक्षाका हिसाबले पनि महत्त्वपूर्ण र कम जोखिम छ । त्यसका साथसाथै वातावरणमैत्री पनि छ ।

पोडवेका लागि पहिलो चरणमा आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनलगायत काम गर्नुपर्ने उल्लेख गर्दै उपाध्यक्ष भट्टराईले तत्कालका लागि नमूना परियोजनाका रूपमा काम गर्न पनि अनुमति आवश्यक रहेको बताए ।

पोडवे बेलारुस, अमेरिकाका अलावा मौरिसस, मलेसियामा सञ्चालनमा ल्याउने तयारीमा रहेको बताइन्छ । भारत सरकारले पहिलो चरणमा तीन सय किलोमिटर क्षेत्रमा पोडवे सञ्चालनको तयारी गरेको छ ।

एउटा पोड (डिब्बा)मा एकपटकमा ४२ यात्रुले यात्रा गर्न सक्छन् । एक घण्टाको समयमा ५० हजार यात्रुले आवतजावत गर्न सक्ने यसको क्षमता हुन्छ । कम्पनीले ५० वटा पोडको व्यवस्था गरेमा एकपटकमा दुई हजार मानिसले सहज रूपमा यात्रा गर्न सक्छन् । हालको मूल्यअनुसार प्रतिकिलोमिटर १० रुपैयाँमा यात्रा गर्न सक्छन् ।

सामान्यता मेट्रोरेल एउटा स्टेशनमा बढीमा पाँच मिनेटसम्म रोकिन्छ भने पोडवे १५ देखि २० सेकेण्डसम्म मात्रै रोकिन्छ । सोही समयभित्रै यात्रु चढ्ने र ओर्लने गर्नुपर्ने हुन्छ । पोडवेको गति केन्द्रीय नियन्त्रण कक्षले एआइका माध्यमबाट गर्ने भएकाले वास्तविक समयमा नै यात्रु तोकिएको स्थानमा पुग्न सक्छन् । यसबाट समयको बचत हुने र बिजुलीबाट चल्ने भएकाले वातावरण संरक्षणमा योगदान पुग्ने भट्टराईको दाबी छ ।

मालसामान ढुवानीका लागि उपयुक्त

पोडवे यातायातका लागि मात्र नभई मालसामान ढुवानीका लागि पनि उत्तिकै उपयुक्त साधनका रूपमा प्रयोग गर्न सकिन्छ । सार्वजनिक सवारीसँगै सामान ढुवानीका लागि प्रयोग गर्दा लागत घट्न गई बजारभाउ नियमन हुन जानेछ ।

दुर्घटनाको जोखिम कम हुने भएकाले समयमै सामान ढुवानी हुने तथा एकैपटक सय टन बराबरको सामान एक स्थानबाट अर्को स्थानमा लैजान सकिन्छ । यस प्रकारको यातायात सञ्चालनले बिजुलीको खपत बढाउन सहयोग पुर्याउनेछ ।

हाल आन्तरिक रूपमा बिजुली खपतको विषयले प्राथमिकता पाइरहेको बेला पोडवे अर्को उपयुक्त माध्यम बन्न सक्ने देखिन्छ । यो प्रविधिमा ढुवानी खर्च कम लाग्ने र कम समयमै पुर्याउन सकिन्छ ।

त्यसबाट पेट्रोल, डिजेलको खपत पनि कम हुन जान्छ । हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस प्रणालीका बारेमा आवश्यक अध्ययन गर्ने र आवश्यक नीतिगत प्रबन्ध गर्ने विश्वास दिलाएको लामै समय भए पनि परिणाम भने प्राप्त हुन नसकेको उपाध्यक्ष भट्टराईले जानकारी दिए ।

सरकारले २०८० मङ्सिर ७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पोडवे, स्काई रेल, स्काई ट्रलिबस, जलमार्गलगायत वैकल्पिक यातायातसम्बन्धी नीति कानुन, मापदण्ड कार्यान्वयन गर्ने उल्लेख गरेको छ ।

लुम्बिनी विकास कोषले २०८० मङ्सिर २५ गते काठमाडौँ पोडवेसँग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) माग गर्ने निर्णय गरी यथाशीघ्र पेश गर्न अनुरोध गरेको थियो । कोषका सदस्यसचिव सानुराजा शाक्यले काठमाडौँ पोडवेलाई डिपिआर पेश गर्न आग्रह गर्दै पत्राचारसमेत गरेका छन् ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले २०८० जेठ १२ गते नै काठमाडौँ उपत्यकाको नदी करिडोरमा ट्राफिक जाम कम गर्न माइक्रो रेल, पोडवे सञ्चालनका लागि आवश्यक निर्णय गरिसकेको छ ।

तत्कालीन आयोजना प्रमुख रवीन्द्र बोहोराले काठमाडौँ उपत्यकाका १३ नगरपालिकाले पोडवेको आवश्यकता र महत्वका बारेमा छलफल गरी आवश्यक नीतिगत व्यवस्थाका लागि सहरी विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरी पत्राचार गरेका छन् ।

त्यस्तो प्रविधिबाट यातायात व्यवस्थापन गर्दा प्रदूषणरहित छिटोछरितो, नदी किनारमा ट्राफिक जाम कम गर्न सहयोग गर्ने र विश्वसनीय प्रविधिको उपयोग गरी सवारी व्यवस्थापनमा सहयोग पुग्ने उक्त निर्णयमा उल्लेख छ । जनघनत्व बढी भएको काठमाडौँ उपत्यकालगायत प्रमुख सहरमा सहज, छिटो एवं भरपर्दोे यातायातको व्यवस्था गर्ने उद्देश्यका साथ आफूहरूले नयाँ प्रविधि भित्र्याउन लागेको उपाध्यक्ष भट्टराईले दाबी गरे ।

राजपत्रमा सूचना प्रकाशित भएपछि उक्त प्रविधिले कानुनी मान्यता पाएको भए पनि नीतिको अभावमा काम गर्न कठिनाइ भएको उनको भनाइ छ । सडक र नदी एवं नदी करिडोर सङ्घीय सरकार मातहत हुने भएकाले अनुमति लिन नै समस्या भएको जानकारी दिँदै सरकारले कानुनी प्रबन्ध गरिदिए नमूना परियोजनाका रूपमा काम गरेर देखाउन आफूहरू तयार रहेको भट्टराईले उल्लेख गरे ।

करिब चार दशकको अध्ययनपछि विश्वमा सन् २०२० मा मात्र यस प्रविधिले मान्यता पाएको हो । पोडवेमा दुईजनादेखि ४२ जनासम्मले एकपटकमा यात्रा गर्न सक्ने भएकाले यो सार्वजनिक यातायातको क्षेत्रमा एउटा वरदान सावित हुने विश्वास लिइएको छ । साथै, एकपटकमा ४८ टनसम्म सामान ढुवानी गर्न सक्ने प्रविधि विकास भएकाले यो रणनीतिक महत्वको पनि रहेको छ ।

नेपालमा यस प्रकारको यातायात सेवा दिने उद्देश्यले सन् २०१९ मा उद्योग दर्ता गरिएको थियो । विश्वका विभिन्न मुलुकले सुरु गरिसकेको भए पनि पोडवे नेपालमा सञ्चालन गर्न तत्काल कानुनी एवं संरचनागत जटिलता भने कायम छ ।

काठमाडौँ पोडवेले बेलारुसमा सञ्चालनमा रहेको प्रविधिबाट प्रभावित भई नेपालमा भित्राउने प्रयास गरेको जनाएको छ । रेललगायत प्रविधिभन्दा पोडवे सञ्चालन खर्च पनि कम पर्ने दाबी गरिएको छ ।

रेल सञ्चालनका लागि ठूलो जनशक्ति र पूर्वाधारको आवश्यकता पर्छ । लगानी पनि ठूलो नै पर्नेछ तर, पोडवेमा जनशक्तिको आवश्यकता पर्दैन । त्यसमा न त ड्राइभर हुन्छ, न त सहचालक नै ।

कम्पनीले सुरुमा नेपालको वातावारणमा सम्भव छ वा छैन भनी अध्ययन गराएको थियो । सो कार्य सन् २०२० मा सम्पन्न भएको थियो । त्यसप्रकारको अध्ययनका लागि बेलारुस र क्यानडाबाट इन्जिनियर आएका थिए । सोही अध्ययनका आधारमा सर्वसुलभ मूल्यमा सार्वजनिक यातायात सेवामा प्रयोग गर्न सकिने पत्ता लागेको थियो ।

सरकारले अनुमति दिएमा एकैपटकमा देशका विभिन्न छ–सात स्थानबाट पोडवे सञ्चालन गर्ने योजना कम्पनीको छ । पहिलो चरणमा लुम्बिनी प्रदेशबाट पोडवे सञ्चालनको प्रस्ताव गरिएको छ । यस्तै, कोशी प्रदेशमा ८३ किलोमिटर क्षेत्रमा सञ्चालनका लागि प्रस्ताव गरिएको छ । काठमाडौँ उपत्यकामा विभिन्न चरणमा गरी एक सय किलोमिटर क्षेत्रमा तत्काल पोडवे सञ्चालन गर्न सकिने अध्ययनबाट देखिएको छ ।

लुम्बिनीमा ‘पाइलट प्रोजेक्ट‘का रूपमा दुई अर्ब ४० करोड लगानी गर्ने प्रस्ताव गरिएको थियो । सामूहिक एवं प्रत्यक्ष वैदेशिक लगानी भित्राएर आगामी १० वर्षभित्र देशभर उक्त सेवा विस्तार गर्न सकिने उनको भनाइ छ ।

सरकारले नीतिगत व्यवस्था गरे देशभित्र पनि लगानीको जोहो गर्न सकिने र थप लगानी विदेशबाट भित्राउन सकिने उनको भनाइ छ । दुर्घटना नहुने, जाम नहुने, समयमा पुग्ने सकिने भएकाले नेपालले यो प्रविधिलाई तीव्रगतिमा विकास गर्नैपर्ने उपाध्यक्ष भट्टराईको दाबी छ ।

सहजै हेर्दा केबुलकारजस्तो देखिने यो सेवा निर्माणमा केबुलकारभन्दा निकै सस्तो पर्न जान्छ । दुईवटा पोलबीचको दूरी दुई किलोमिटर रहने, विद्युत्को सहायताले सञ्चालन हुने भएकाले पनि वातावरणीय दृष्टिले निकै प्रभावकारी मानिएको छ ।

उपाध्यक्ष भट्टराईका अनुसार, पोडवे सेवा केबलकार निर्माण लागतको ५० प्रतिशत, मेट्रोरेलको चार र मोनोरेल निर्माणको २० प्रतिशतमा निर्माण गर्न सकिन्छ । एक सय किलोमिटर पोडवे निर्माणमा करिब ४० अर्ब बराबर खर्च हुने अनुमान छ ।

सरकारले पोडवे सेवाका सम्बन्धमा आवश्यक अध्ययनको अनुमति दिए पनि नीति तथा आवश्यक कार्यनीति सहजीकरण गरिदिनुपर्ने उपाध्यक्ष भट्टराईको भनाइ छ । स्पष्ट कार्यविधिका साथ कुन स्थानमा यो सेवा विस्तार गर्ने हो भन्नेबारेमा आवश्यक निर्णय भएको खण्डमा आफूहरू काम गर्न तयार रहेको उनको भनाइ छ । सरकारबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै उपाध्यक्ष भट्टराई नमूना परियोजना बनाउनका लागि पहिलो चरणमा प्रारम्भि अनुमति पाए पनि काम गरेर देखाउने विश्वास व्यक्त गरे ।

बुद्धनगरमा स्नुकर हाउस संचालकको हत्या

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक युवकको हत्या भएको छ । प्रहरीका ४० वर्षीय रूपक वान्तवाको हत्या भएको हो ।

उनी शंखमुलमा रहेको टाइमपास स्नुकर हाउसका सञ्चालक रहेका प्रहरीले जनाएको छ । उनलाई राति स्नुकरहाउसभित्र सुतिरहेको बेला कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

कुटपिटबाट घाइते भएका उनको उपचारको क्रममा गएराति नै सिभिल अस्पतालमा मृत्यु भएको थियो ।

ह्यारिस अभियानद्वारा एक महिनामा ५४ करोड डलर सङ्कलन

कमला ह्यारिसको अमेरिकी राष्ट्रपति अभियानले आइतबार एक महिनामा आधा अर्ब डलरभन्दा बढी चन्दा सङ्कलन गरेको बताएको छ । यो अमेरिकी इतिहासमा कुनै पनि अभियानका लागि कीर्तिमान हो ।

राष्ट्रपति जो बाइडेनले जुलाई २१ मा ह्वाइट हाउसको दौडबाट बाहिरिएर ह्यारिसलाई समर्थन गरेपछि र ह्यारिसले आफ्नो अभियान सुरु गरेपछि ५४ करोड डलरको आश्चर्यजनक राशि उनी रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पसँग निर्वाचनको दिन नोभेम्बर ५ का लागि अन्तिम १० साताको दौडमा सहभागी भएपछि सङ्कलन भएको हो ।

ट्रम्पले अगस्टको प्रारम्भमा ३२ करोड ७० लाख डलर सङ्कलन भएको सूचना दिएका थिए ।

“हामीले आधिकारिक रूपमा ५० करोड डलरको आँकडा पार गरेका छौँ”, बिहीबार आफ्नो पार्टीको मनोनयन स्वीकार गर्न डेमोक्रेटिक नेसनल कन्भेन्सनको मञ्चमा आउनुभन्दा ठीकअघि अभियानका अध्यक्ष जेन ओ’माली डिलनले मेमोमा भने ।

“उहाँको भाषणलगत्तै हामीले सुरुवातको दिनदेखि पैसा जुटाउने सबैभन्दा राम्रो समय देखेका छौँ”, उनले भने, “आफ्नो अभियान सुरु गरेको केवल एक महिनाभन्दा बढी समयमा टिम ह्यारिस–वाल्जले ५४ करोड जुटाउनुभएको छ, यो इतिहासमा कुनै पनि अभियानका लागि कीर्तिमान हो ।”

उक्त राशि अभियानले डेमोक्रेटिक नेसनल कमिटी र संयुक्त कोष सङ्कलक समितिहरूमार्फत उठाइएको पैसालाई प्रतिबिम्बित गर्ने विज्ञप्तिमा उल्लेख छ ।

ती चन्दामध्ये एक तिहाई पहिलोपटक योगदानकर्ताहरूबाट भएको ओ’माली डिलनले जानकारी दिए । ह्यारिस अभियानले ठूला र साना चन्दादाताहरूलाई समान रूपमा सक्रिय बनाएको जस्तो देखिन्छ ।

नासाले सेप्टेम्बरमा बोइङको स्टारलाइनरलाई पृथ्वीमा फिर्ता ल्याउने

नासाले सेप्टेम्बरमा बोइङको स्टारलाइनरलाई पृथ्वीमा फिर्ता ल्याउने निर्णय गरेको छ । अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री बुच विल्मोर र सुनिता विलियम्स अर्को फेब्रुअरीसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा रहनेछन् ।

नासाका अन्तरिक्ष यात्री विल्मोर र विलियम्स जुन ६ मा बोइङ स्टारलाइनरमा आइएसएस पुगेका थिए । उनीहरू आठ दिनपछि फर्किने योजना भए पनि अन्तरिक्ष यानको प्राविधिक समस्याका कारण दुई महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा अलपत्र परेका छन् ।

नासा र बोइङले जुन ६ मा स्टारलाइनर अन्तरिक्ष स्टेशनमा पुग्दा हिलियम चुहावट र अन्तरिक्ष यान प्रतिक्रिया नियन्त्रण थ्रस्टरहरूसँग समस्या अनुभव गरेका थिए ।

त्यसबेलादेखि इन्जिनियरिङ टोलीहरूले डेटाको सङ्कलन समीक्षा गर्न, उडान र ग्राउन्ड परीक्षणहरू सञ्चालन गर्न, एजेन्सी प्रोपल्सन विशेषज्ञहरूसँग स्वतन्त्र समीक्षाहरू होस्ट गर्न र विभिन्न फिर्ती आकस्मिक योजनाहरू विकास गर्न प्रयासहरू गरेका छन् ।

नासाले विल्मोर र विलियम्सले सन् २०२५ फेब्रुअरीसम्म औपचारिक रूपमा आफ्नो काम जारी राख्ने बताएको छ । उनीहरूले एजेन्सीको स्पेसएक्स क्रु–९ मिसनमा तोकिएका दुई अन्य चालक दलका सदस्यसँग स्पेसएक्स ड्रयागन अन्तरिक्ष यानमार्फत घरका लागि उडान भर्नेछन् ।

क्रु–९ मिसन मूल रूपमा चालक दलका चार सदस्यसहित मङ्गलबार सेप्टेम्बर २४ भन्दा पहिले सुरु हुनेछ ।

“नासा र बोइङ टोलीहरूले ठूलो मात्रामा परीक्षण र विश्लेषण पूरा गरिसकेका छन् । यो उडान परीक्षणले अन्तरिक्षमा स्टारलाइनरको कार्यसम्पादनमा महत्त्वपूर्ण जानकारी प्रदान गरिरहेको छ । हाम्रो प्रयासले बिना चालक दलको फिर्तीका लागि तयारी गर्न मद्दत गर्ने र अन्तरिक्ष यानका लागि भविष्यका सुधारात्मक कार्यहरूलाई धेरै फाइदा पुर्याउनेछ”, नासाको कमर्सियल क्रु कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले भने ।

२२ अर्ब रुपैयाँ ९ वर्षसम्म किन उठाइएन भन्ने जवाफ खोजिनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुलमा एक रुपैयाँ पनि छुट दिन नहुने बताएका छन् ।

सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले बरु नौ वर्षँसम्म २२ अर्ब रुपैयाँ नउठाइएकोबारेमा भने जवाफ खोज्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छ ! केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ। तर सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो । उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगहरुबाट बक्यौता उठाउनैपर्छ । रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन । ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ।’

फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’

काठमाडौं । फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ । गीतमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीलाई विशेष स्थान दिइएको छ ।

गीतमा एसडी योगीको संगीत निर्देशन तथा सुरेन्द्र रानाको शब्द रचना रहेको छ । योगी र शान्तिश्री परियारको स्वर छ । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी हेर्न सकिन्छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म असोज ३ गतेदेखि प्रदर्शन हुँदैछ ।

संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

काठमाडौं ।  संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षाेल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार गृह मन्त्रालयद्वारा आयोजित बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन (२०७२ असोज ३) लाई राष्ट्रिय रूपमा मनाउन आउँदो असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू र जनस्तरमा समेत दीपावलीलगायतका विविध कार्यक्रम तय गरेको छ ।

असोज २ गते काठमाडौंको नारायणहिटी (दरबारमार्ग) मा साङ्गीतिक महोत्सव (नेसनल डे कन्सर्ट) र दिवसका दिन असोज ३ गते काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम गर्ने तय भएको छ ।

यस्तै असोज ४ गते सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयको छत, वरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने, सार्वजनिक सवारी साधनहरूमा राष्ट्रिय झण्डा फहराउन आह्वान गर्ने लगायतका कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री ओलीले जनताको बलिदान र सङ्घर्षबाट संविधान प्राप्त भएकाले संविधान दिवसलाई राज्यस्तरबाट मनाइनुका साथै सबै जाति, समुुदाय र भूगोलका जनताले स्वतःस्फूर्तरुपमा भव्यरुपमा दिवस मनाउनुपर्ने बताए ।

उनले सामाजिक जीवनका सबै क्षेत्र परिचालित हुने गरी सङ्घ, प्रदेश र स्थानीय तहबाट कार्यक्रम हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘संविधान दिवस देशको सबैभन्दा ठूलो चाड हो । यो कुनै जाति, समुुदाय र भूगोल विशेषको होइन, सिङ्गो देशको वार्षिक मेला हो । त्यसअनुसार मनाउने तयारी गर्न म सबैलाई आग्रह गर्दछु ।’

दिवसको मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, काठमाडौं उपत्यकास्थित नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव, सदस्य–सचिव रहेका छन् ।

दिवसका लागि मूल समारोह समितिका साथै प्रचार–प्रसार, बृहत् जनसहभासगितासहित राष्ट्रिय गीतहरूको कन्सर्ट कार्यक्रम, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन, ग्राउण्ड, कवाज तथा व्यायाम व्यवस्थापन, मञ्च सजावट तथा व्यवस्थापनका लागि उपसमिति पनि गठन गरिएको छ ।

झापामा २५ करोडको होल्डिङ सेन्टर प्रयोगविहीन

झापा । झापाको मेचीनगर–१४ दुहागढीमा तीन वर्षअघि कोरोनाकालमा निर्मित एक हजार शय्याको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको छ।

कोरोनाको दोस्रो लहरका बेला नेपाल सरकारले सातै प्रदेशमा एक हजार शय्याको होल्डिङ सेन्टर निर्माण गर्ने क्रममा दुहागढीमा  २५ करोडको लागतमा सुविधासम्पन्न भौतिक संरचना निर्माण गरेको थियो।

चार बिघा क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टरमा समान डिजाइनका २२ अत्याधुनिक पक्की भवन छन् भने एक सय शय्यामा अक्सिजन आपूर्ति गर्न सकिने पाइपलाइन समेत जडान गरिएको छ। त्यहाँ २२ वटा शौचालय, १५ वटा डाइनिङ हल, एउटा प्रशासनिक भवन र दुईवटा भान्सा घर निर्माण गरिएका छन्।

हाल उक्त होल्डिङ सेन्टरको सुरक्षा र रेखदेख नेपाली सेनाको चारआलीस्थित अरिदम गणले गरिरहेको छ। यति धेरै संरचना निर्माण भएर प्रयोगविहीन रहँदै आएकोमा सर्वत्र चिन्ता व्यक्त हुँदै आएको छ।

मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले राज्यले करोडौँ लगनी गरेर बनाएको होल्डिङ सेन्टरलाई उपयोगविहीन नबनाउन सरकारसँग पटकपटक आग्रह गरेको बताए।

‘यस्ता संरचनाहरु प्रयोग नगरी नाशिने अवस्थामा पुग्न दिनुहुँदैन,’ नगरप्रमुख बुढाथोकीले भने, ‘यसको उपयोगका बारेमा धेरै कोणबाट सुझाव आएका छन्। लागू औषधको सुधारगृह बनाउनु पर्छ भन्ने विकल्पमा धेरैको सकारात्मक धारणा छ। जसरी हुन्छ यसको सदुपयोग हुन्छ।’

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले झापा र मोरङमा रहेको होल्डिङ सेन्टरलाई प्रयोगमा ल्याउने विषयमा छलफल भइरहेको बताए। 

भ्रष्टाचार नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रस्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र राज्यको सम्पत्तिको दुरुपयोग नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबार भएको वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोसम्म सुन तस्करी भएका घटना स्मरण गराउँदै सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठूलो राजस्व गुमाएको र बेथिति हुर्किएको उल्लेख गरे ।

‘अब त्यस्ता गतिविधि सैह्य हुँदैन, तस्करी भइरहन सम्भव छैन । तपाईंहरु जसको जे जिम्मेवारी हो, त्यो पूरा गर्न दृढताका साथ लाग्नुस् । कार्यक्षेत्र निर्धारणमा समस्या भएमा पनि ल्याउनुस् । देशलाई बर्बाद हुनबाट जोगाउनुस् । जनतालाई आशा र विश्वास दिने काम गर्नुस् ।’, प्रधानमन्त्री ओलीले कडा शब्दमा भने, ‘आफ्नो प्रभावकारी औचित्य स्थापित गर्न नसक्ने हो भने भने जागिर खानका लागि मात्रै राज्यका निकायहरु खडा गरेर राखिरहनुपर्छ भन्ने छैन ।’’

उनले अझ राम्रोसँग काम गरुन् भनेर नै ती निकायहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मातहतमा ल्याइएको स्पष्ट गरे ।

स्वदेशमा युवाहरुले काम पाउने र सम्मानका साग गर्ने वातावरण हुने स्थितिका लागि सुशासन विकास र लोकतान्त्रिक मूल्य, मान्यताको कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले लर्याङतर्याङ तरिकाले नभई जनताको समस्याको सम्बोधनका साथै विकास र समृद्धिको लक्ष्य हासिल गर्ने यात्रामा दृढ र कटिबद्ध भएर प्रस्तुत हुन आग्रह गरे ।

मुख्यसचिव लीलादेवी गड्तौलाले प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित काममा गत आर्थिक वर्षमा निर्धारण गरिएका माइलस्टोनमध्ये ६३ प्रतिशत पूरा हुनु र पुँजीगत खर्च ४८ दशमलव ८९ प्रतिशत मात्र हुनु सुखद नभएकाले कमीकमजोरीको पहिचान गरी आगामी दिनमा प्रभावकारीरुपमा काम गर्नुपर्ने बताए ।

बैठकमा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, सचिवहरूलगायत उपस्थित थिए ।

पर्यटक लोभ्याउने ‘ढोरपाटन बुकी’

ढोरपाटन (बागलुङ) । अग्ला पहाडको शिरमा टक्क अडिएका समथर भू–भाग । कतै भिराला डाँडा, त कतै खोल्साखोल्सी । चारैतिर हरियाली । उत्तरतिर हेताम्य हिमाल । टाढा–टाढा छरिएर रहेका भेडीगोठ । भेडा र बाख्राका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटनको बुकी हिजोआज चर्चामा छ । एक दशक अगाडिसम्म बर्खामा भेडा र भेडीगोठले भरिने बुकी क्षेत्र अहिले पर्यटकको चहलपहल बढ्न थालेको हो ।

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन यसै पनि चर्चित छ । त्यसमाथि आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आगमनले यसको प्रचारले व्यापकता पाएको हो । प्राकृतिक सुन्दरताले परिपूर्ण ढोरपाटनमा धेरैको रोजाइमा परेको छ । ढोरपाटनसँगै पछिल्लो समय बुकी पनि पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । गत वर्षसम्म बुकी जाने पर्यटक निकै कम थिए ।

बुकी पुगेका पर्यटकले त्यहाँको भिडियो तथा तस्बिर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाएपछि भाइरल बन्यो । अहिले ढोरपाटन पुग्ने पर्यटक बुकीमा पुग्न चाहन्छन् । दशक अगाडिदेखि नै ढोरपाटन उपत्यका क्षेत्रमा फाट्टफुट्ट पर्यटक पुगे पनि अहिले बर्सेनि हजारौँको सङ्ख्यामा आउने गरेका छन् । ढोरपाटन उपत्यका समुन्द्री सतहदेखि करिब २९ सय मिटरको उचाइ पर्छ ।

ढोरपाटन उपत्यकादेखि बुकी पुग्न पैदल यात्रा गर्नुपर्छ । पैदल यात्रामार्फ बुकीमा तीनदेखि पाँच घण्टामा पुग्न सकिन्छ । २९ सयदेखि ४५ सय मिटरको उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बासस्थान हो । यहाँ सयौँको सङ्ख्यामा गोठालाहरु अस्थायी गोठ बनाएर बसेका हुन्छन् । उनीहरुको हजारौँ भेडाबाख्रा, गाईभैँसी हुन्छन् ।

बर्खाको समयमा बढी चहलपहल हुने बुकी क्षेत्र हिउँदमा भने सुनसान हुन्छ । बर्खायाममा बुकी पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौँ हिमशृङ्खलाको दृश्यावलकन गर्न सक्छन् भने नजिकबाट गोठालाको जनजीवन अनुभूति गर्न सक्छन् । बागलुङको उच्च पहाडी क्षेत्र पर्ने बुकी निकै मनमोहक छ ।

प्रचारप्रसारको अभावमा आझेलमा परेको बुकी पछिल्लो समय पर्यटक पुग्न थालेपछि व्यापक प्रचार हुन थालेको छ । त्यसले गर्दा एकै महिनामा सयौँ आन्तरिक पर्यटक बुकी चढ्ने गरेको ढोरपाटन नगरपालिका–९ का व्यवसायी सन्देश थापाले बताए । गत असारदेखि हालसम्म ८० समूहका करिब पाँच सय पर्यटकलाई आफूले मात्रै बुकीमा बास दिएको उहाँको भनाइ छ ।

बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायत थुप्रै ठाउँ पर्छन् । बुकी पुग्ने पर्यटक गोठालाको गोठमा बास बसेर फर्किने गरेका छन् । यस वर्षदेखि बुकी पुग्ने पर्यटकका लागि लक्षित आफूले गोठस्टे (गोठबास) सञ्चालन गरेको उनको भनाइ छ ।

बुकीमा टाढा–टाढाबाट पर्यटकहरु पुग्ने र त्यहाँ बास बस्नका र खानाको व्यवस्था नभएको हुँदा गत असार २९ गतेदेखि गोठस्टे सञ्चालन गरेको थापा बताउँछन् । बुकी पुग्ने पर्यटकले हरिया पाटनहरु, गोठलो जीवन, धौलागिरि, माछापुच्छ«े, पुठा हिमचुली, चुरेन, गुर्जा अन्नपूर्ण हिमशृङ्खला अवलोन गर्न सक्ने उनको भनाइ छ । बुकी चढ्ने सिजन जेठदेखि कात्तिक पहिलो साता भएको थापा बताउँछन् ।

थापाले भने, “बुकी त ढोरपाटनवासीको पशु चरन क्षेत्र हो, यो ठाउँ निकै मनोरम छ, अहिल जति पनि ढोरपाटन उपत्यकामा पर्यटक आउनुहुन्छ, उहाँहरुले यहाँको कुनै महसुस गर्न सक्नुभएको छैन, ढोरपाटन घुम्ने र रम्ने हो भने बुकीमा एकपटक पुग्नै पर्छ, गत वर्षसम्म त खासै मान्छे आउँदैनथे, फाट्टफुट्ट आएका पर्यटकले ‘भिडियो’ र फोटो खिचेर जानुभयो, ती भिडियो र फोटो भाइरल भएपछि अहिले बुकीमा आउने मान्छेको चाप बढेको छ ।”

कात्तिकदेखि चिसो बढ्ने हुँदा जेठसम्म बुकी सुनसान हुन्छ । गोठाला पनि बेँसी झर्ने हुँदा पर्यटक पनि बुकी उक्लिदैनन् । ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले ढोरपाटन आउने पर्यटकको रोजाइमा बुकी पर्न थालेको बताए ।

पाँच वर्षदेखि ढोरपाटन उपत्यकामा आउने पर्यटकको सङ्ख्या बढेको भन्दै पोहोर सालदेखि त बुकीमा समेत जान थालेको उनको भनाइ छ । बुकी चढ्ने पर्यटकलाई लेक लाग्ने हुँदा आफूहरुले प्राथमिक उपचारका बिधि सिकाउने र बेँसीबाट आएकाहरुलाई एकै पटक बुकी नचढ्न सुझाउने गरेको पुन बताउँछन् । यसै बर्खा लागे सयौँको सङ्ख्यामा पर्यटक बुकी उक्लिएको उनको भनाइ छ ।

“बुकीमा यति धेरै पर्यटक जालान् भन्ने लागेको थिएन तर नपत्याउँदो तरिकाले पर्यटक दिनदिनै बुकी उक्लिएको पाएका छौँ, शुक्रबार र शनिबार सबैभन्दा बढी पर्यटक बुकी जान्छन्, बुकी घुम्न र रमाउनका लागि निकै सुन्दर छ तर त्यहाँ जाँदा धेरै कुरामा ख्याल राख्नु पर्छ,” अध्यक्ष पुनले भने, “चार÷पाँच घण्टा यात्रा गर्नुपर्छ, यात्रा गर्दा लेक पनि लाग्न सक्छ, अति आवश्यक सामानहरु छुटाउनु हुँदैन, अब ढोरपाटन उपत्यकामा आउने धेरै पर्यटक बुकी पुग्ने देखियो, हामीहरुलाई पनि पर्यटकको आगमनले धेरै खुसी बनाएको छ ।”

गलकोटबाट घुम्न आएकी समिता अर्गेजाले बुकी मनमोहक रहेको बताइन् । ढोरपाटन उपत्यकादेखि पाँच घण्टाको यात्रा गर्दा थकाइ लागेको सुनाउँदै बुकी पुगेपछि देखिएको दृश्यले एकै छिनमा थकान मेटाएको उनको भनाइ छ । अर्गेजाले चारजनाको टोली गएको भन्दै बुकी पुग्ने ठाउँ–ठाउँमा सूचना बोर्ड राखे बाहिरबाट आउने पर्यटकलाई ठाउँ पहिचान गर्न सहज हुने बताइन् । बुकी प्रचारप्रसार गर्न सके देशै उत्कृष्ट पर्यटकी गन्तव्य बन्नेमा दुई मत नभएको उनी बताउँछन् । 

पहिरोले अवरुद्ध मानसरोवर कैलास जाने सडक सञ्चालनमा

रसुवा ।  वर्षाका कारण मानसरोवर कैलास जाने चीन तर्फको भू–भागमा शुक्रवार रातिदेखि अवरुद्व सडक आइतबारदेखि सञ्चालनमा आएको छ ।

केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आज अपराह्नदेखि मानसरोवर कैलास जाने दर्शनार्थीहरूको आवतजावत खुल्ला भएको सीमा सुरक्षा अधिकारीले जनाएका छन् । 

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकानुसार रसुवागढीको मितेरीपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गरेपछि रोकिएका सबै यात्रु मितेरीपुलबाट आउजाउ गर्न थालेका छन् ।

सडक अवरुद्ध हुँदा कैलासबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय यात्रु  रसुवागढीमा रोकिएका थिए । रोकिएका यात्रु अध्यागमनको प्रक्रिया पुर्याई गन्तव्य जान थालेका प्रजिअ खनालले जानकारी दिए । 

रोकिएका यात्रुलाई गन्तव्यमा जान नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरी यथेष्ट सहयोग गरेको प्रजिअ खनालले बताए । 

हाम्रा लागि मंसिरमा हुने उपनिर्वाचन परीक्षाः माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिरमा हुने उपनिर्वाचनमा आफ्नो पार्टीको परीक्षण हुने बताएका छन् ।

आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दैै अध्यक्ष नेपालले उपनिर्वाचन आफ्नो पार्टीको परीक्षण हुने भएकाले त्यसमा ध्यानकेन्द्रित गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘आगामी मंसिरमा स्थानीय तहका विभिन्न रिक्त पदमा उपचुनाव हुन गइरहेको छ । त्यो उपचुनावमा हाम्रो परीक्षा हुनेछ । त्यो परीक्षाका आधारमा त्यहाँको हाम्रो पार्टी नेतृत्वको मूल्यांकन हुनेछ ।’

उनले पार्टीमा अनुशासनहीनता र अराजकता बढेको भन्दै संक्रमणकाल भएका कारण कारबाही गर्न नसकेर निरीह बन्नुपरेको बताए ।

भूकम्प प्रभावित नागरिकलाई अवरोधरहित राहत उपलब्ध गराउँछौँः गृहमन्त्री

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले जाजकारकोट भूकम्प प्रभावितले सहज रूपमा राहत उपलब्ध गराउन सरकार दत्तचित्त भएर लागिरहेको बताएका छन् ।

आजको बैठकमा ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफमा उनले भूकम्प प्रभावित नागरिकलाई अवरोधरहित राहत दिलाउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

गृहमन्त्री लेखकले विपद् प्रभावित क्षेत्रमा कुनै कमी कमजोरी हुन नदिई कार्य गर्नेसमेत विश्वास दिलाए । विपद्पछिको पुनःनिर्माण गर्न तीनवटै तहका सरकारले समन्वयात्मक रूपमा काम गर्ने वातावरण बनोस् भन्नेमा पनि आफूहरु सचेत रहेको उनको कथन छ ।

कार्यविधि र मापदण्डलाई व्यावहारिक बनाउँदै जटिलता हटाउने, सहज रूपमा लाभ प्राप्त हुने वातावरण बनाउन सरकार गम्भीर र जिम्मेवार रहेको गृहमन्त्रीले बताए ।

रुकुमपश्चिमका ३२ हजार नौ सय ९६ घरपरिवारमध्ये १६ हजारले पहिलो किस्तावापत रु. ४० करोड बराबरको रकम भुत्तानी पाएका छन् । यस्तै जाजकारकोटका ४८ हजार पाँच सय १६ घरपरिवारमध्ये ४० हजार ४१ परिवारले रु. एक अर्ब १० लाख बराबरको भुक्तानी गरिएको छ । दोस्रो किस्ताका लागि योग्य एक हजार ३९ परिवारका लागि थप निकासा भएको गृहमन्त्री लेखकले जानकारी दिए ।

सल्यानका कुल चार हजार चार सय १७ घरपरिवारका लागि रु पाँच करोड चार लाख २५ हजार बराबरको भुक्तानी भएको बताउँदै थपिएका लाभग्राहीलाई आवश्यक प्रक्रिया अगाडि बढाइएको गृहमन्त्री लेखकले जानकारी दिए ।

सुरक्षित स्थानको पहिचान, स्थानान्तरणलगायत विषयलाई सरकारले महत्व दिएको, स्थानीय तहको समन्वयमा आवश्यक स्थानमा सुरक्षित बासस्थान निर्माणमा ध्यान दिइएको उनले उल्लेख गरे । भूकम्प प्रतिरोधी भवन तथा आवास निर्माणका लागि आवश्यक प्रबन्ध भइसकेको उनले जानकारी दिए ।

भूकम्प र मनसुनजन्य विपद्बाट भत्किएका सडक तथा अन्य पूर्वाधार निर्माणमा सरकारले तदारुकताका साथ काम गरिरहेको उल्लेख गर्दै उनले अस्थायी प्रबन्ध गरेर पठनपाठन हुने व्यवस्था गरिएको, स्वास्थ्य संस्थालाई पुनःनिर्माणर सहज सञ्चालनमा विशेष ध्यान दिई आवश्यक सेवा प्रदान गर्नेगरी प्रबध गरिएको जानकारी दिए ।

त्यसअघि सांसद् उर्मिला अर्यालले भूकम्प प्रभावितलाई प्रभावकारी रूपमा बासस्थानको व्यवस्था गर्नेगरी अभिभाकत्व लिन, सहज रूपमा खाद्यान्न उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद नरबहादुर विष्टले भूकम्पबाट प्रभावित रुकुमपश्चिम, सल्यान र जाजकारकोटका नागरिकले राहत नपाएको, कठोर कार्यविधिका कारण पुनःनिर्माणको काम हुन नसकेको बताए । सांसद गोपाल भट्टराईले जाजरकोट भूकम्पको कुरा गर्दा बाजुरा र बझाङ भूकम्प प्रभावितको विषयलाई छुटाउन नहुने उल्लेख गरे।

सांसद श्रीकृष्ण अधिकारीले भूकम्प प्रभावितले सहज राहत पाउन नसक्नुको पछाडि सरकारले तय गरेको संरचना र कार्यविधि रहेको बताए । सांसद उदयबहादुर बोहोराले स्थलगत अध्ययनका क्रममा पहिलो किस्तासमेत प्राप्त नगरेको, सामान्य राहत तथा कुनै पनि क्षतिपूर्ति पाउन नसकेको उल्लेख गर्दै आवास निर्माणका लागि सहज कानुनी प्रबन्ध गर्न माग गरे ।

सांसद गङ्गाकुमारी बेल्वासेले भूकम्प प्रभावित नागरिक वर्षा र जाडोमा कष्टकर जीवन बिताउन बाध्य भएका भन्दै सरकारले समस्या समाधान गर्दै सुरक्षित बासस्थानको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

सांसद कृष्णबहादुर रोकायाले कतिपय भूकम्प प्रभावितको आवास निर्माणका लागि आवश्यक जग्गा नभएको र अस्थायी टहरा बाढीले बगाएका कारण समस्या पैदा भएको विषय संसद्मा जानकारी गराए । सांसद भुवनबहादुर सुनुवारले पटकपटक भूकम्प प्रभावित नागरिकको दैनिक जीवन कष्टकर भएको भन्नेबारेमा सदन र सडकमा विषय उठे पनि सरकारी निकायले कुनै सुनुवाइ नगरेको गुनासो गरे ।

सांसद सुमित्रा बिसीले भूकम्प प्रभावितले राहत पाउन नसक्नुको पछाडि अव्यवाहारिक एवं अवैज्ञानिक कार्यविधि जिम्मेवार रहेकाले तत्काल त्यसमा संशोधन जरुरी रहेको बताए । सांसद गोपीबहादुर सार्की अछामीले स्थायी र दिगो बस्ती पुनःनिर्माणका लागि तदारुकता दिनुपर्नेमा जोड दिए ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जनधनको क्षति भएको थियो । कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गरिएको थियो । सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिका सभापति मायाप्रसाद शर्मा नेतृत्वको टोलीले भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको थियो ।

यस्तै, बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराइएको थियो । साथै राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९ – ८० सभामा पेश गरिएको छ ।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ १३ गते बिहीबार दिउँसो १.१५ बजे बस्नेछ ।

नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

नेपालको जितमा गोलकिपर जियारथ शेखले पेनाल्टी सुटआउटमा भुटानका दुई खेलाडीको प्रहार बचाउँदै नेपाललाई साफ यु–२० च्याम्पियनसिपको उपाधिनजिक पुर्याएका हुन् । निर्धारित समयमा दुबै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो।

सहकारीपीडित चतुर्वेदी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा सहकारीपीडित आमोद चतुर्वेदी मृत भेटिएका छन् । मोरङको विराटनगरका चतुर्वेदी शनिबार राति अत्तरखेलस्थित डेरामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

चतुर्वेदी अत्तरखेलस्थित कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पैसा जम्मा गरेका बचतकर्ता हुन् । बचत फिर्ता नपाउँदा उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । चतुर्वेदी मृत भेटिएको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

चतुर्वेदी गोकर्णेश्वर–८ स्थित नेपाल मेडिकल कलेजमा कार्यरत थिए । उनले त्यहीँ रहेको कान्तिभैरव सहकारीमा पैसा जम्मा गर्ने गरेको बताइएको छ ।

चतुर्वेदीले सहकारीमा जम्मा गरिएको बचत रकम लिन दुई वर्षदेखि धाउँदै आएका कान्तिभैरवपीडित संघर्ष समितिका सदस्य राजेशकुमार विष्टले जानकारी दिए । ‘उनले खुट्टा भाँचिएका कारण सहकारीबाट बचत फिर्ता लिन सहकारी धाउने गरेका थिए । उपचार गर्न नपाउँदा चतुर्वेदी तनावमा थिए,’ उनले भने ।

चतुर्वेदीले उक्त सहकारीमा २५ लाख रुपैयाँ बचत गरेको र त्यो रकम फिर्ता नपाएका कारण बिरामी श्रीमती र छोरीको उपचार गर्न नपाएको संघर्ष समितिका पदाधिकारीसँग गुनासो गर्दै आएका सदस्य विष्टले बताए ।

रामेछापका पहिरो पीडितको प्रभावकारी उद्धार र उपचार गर्न अध्यक्ष प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापको दोरम्बामा आज खसेको भीषण पहिरोमा परेकाहरूको उद्धार र उपचार प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष दाहालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, टोकरपुरको लेकखर्कमा पहिरोमा परी छ जनाको दुखद निधन, चार जना बेपत्ता र एक जना घाइते भएको तथा चार वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको खबरले स्तब्ध बनाएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, उपचार र राहतमा प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले प्राकृतिक प्रकोपका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले उद्धारमा जुटेका पार्टीका सबै नेता कार्यकर्तालाई धन्यवाद दिँदै जनसेवामा निरन्तर जुट्न आग्रह गरेका छन् ।

एकीकृत समाजवादीका दुई सय ५१ केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा दुई सय ५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको छ । आइतबार बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले मनोनीत ती सदस्यलाई शपथ गराएका हुन् । मङ्गलबारसम्म बस्ने बैठकमा पदाधिकारीको टुङ्गो लगाउन पूर्ण बैठक बसेको हो ।

पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारीलाई पूर्णता दिन लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय सदस्य छन् ।

पोलिटब्यूरो कमिटी र स्थायी समितिसमेत निर्माण गर्ने बैठकले केही नेताहरुको जिम्मेवारी हेरफेर गर्ने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । केन्द्रीय संरचनाहरुको निर्माण र विविध विषयमा छलफल गरिने छ ।

पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले
पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ । 

बैठकले क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा छलफल गर्नेछ । पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।

एमालेले बोलायो सचिवालय बैठक 

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ । 
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने छ । 

यसैगरी, सचिवालय बैठकका ‘एजेन्डा’ तय गर्न आज केन्द्रीय कार्यालयमा कार्यालय बैठक बसेको थियो । महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको कार्यालय बैठकले सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्यायोजना र समसामयिक राजनीतिक विषयका एजेन्डा तय गरेको छ ।

बैठकमा महासचिव पोखरेलसहित उपमहासचिवहरु, सचिवहरु र कार्यालय सचिव सहभागी रहेका सो पार्टीले जनाएको छ ।

शेयर बजारमा ८० अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । आइतबार नेप्से ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ विन्दुमा झरेको छ ।

‘प्रि–ओपनिङ’ मा सामान्य बढेको नेप्से बजार बन्द हुने बेलामा उच्च अङ्कले घट्यो । आज माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, जलविद्युत्, होटल, फाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । आज मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० अङ्कले घटेको छ ।

बजार ओरालो लागेको दिन विन नेपाल, उपकार र आत्मनिर्भर लघुवित्त कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । आज तीन सय ३३ वटा कम्पनीका चार करोड २६ लाख कित्ता शेयर १९ अर्ब ७४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै अपी पावर कम्पनीको ८४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्रचण्डसँग स्पष्टीकरण सोध्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले डेडिकेडेड र ट्रंकलाइन बक्यौता विवादमा विषयमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री शक्ति बस्नेतसँग स्पष्टीकरण सोध्नुपर्ने बताएको छ ।

आइतबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा नेकपा एमालेका सचिव योगेश भट्टराईले तत्कालीन प्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री बस्नेतसँग स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव राखेका हुन् ।

भट्टराईले गत वैशाख २७ गते तत्कालिन मन्त्रिपरिषद्ले गरेको निर्णयबारे स्पष्टीकरण सोध्नुपर्ने बताए । उनले करिब ९ वर्ष लगातार माओवादी केन्द्र नै ऊर्जा मन्त्रालयमा रहेको बताउँदै राजनीतिक रुपमा औंठा नै उठाउने हो भने पर्याप्त आधार भएको दाबी गरे ।

भट्टराईले अघिल्लो लेखा समितिको निर्देशनको आधारमा महालेखाले भनेको २१.८८ अर्ब उठाउन भनेकोमा बक्यौता नउठाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गनुपर्ने बताए । उनले अख्तियारको निर्देशन कार्यान्वयन नभएकोबारे प्रमुख आयुक्तलाई बोलाएर सोध्नुपर्ने बताए ।

पाकिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु

पाकिस्तानको आजाद पाटन शहरनजिक र मकरान सामुद्रिक तटीय राजमार्गमा आइतबार भएका दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित काश्मिरको सिमानामा पर्ने आजाद पाटनमा भएको दुर्घटनामा २२ र अर्को एक दुर्घटनामा १२ गरी ३४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

पञ्जाबको रेस्क्यु ११२२ आपतकालीन सेवाका प्रवक्ता फारुक अहमदले घटनाको पुष्टि गर्दै भने, “अहिलेसम्म १५ पुरुष, ६ महिला र एक बच्चासहित २२ जनाको मृत्यु भएको छ ।

उद्धार सेवाका अर्का प्रवक्ता मोहम्मद उस्मान गुज्जरले गाडी सडकबाट चिप्लिएर एउटा खोल्सामा खसेको बताए ।

अर्को एक दुर्घटनामा बलुचिस्तानको मकरान सामुद्रिक तटीय राजमार्गमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

“निकै घुम्तीहरू भएको सडकमा तीव्र गतिमा रहेको बसलाई चालकले नियन्त्रणमा लिन नसक्दा बस गहिरो खाल्डोमा खसी भएको र कम्तीमा १२ जनाको मृत्यु भएको,” घटनास्थलमा रहेका प्रहरी अधिकारी असलम बङ्गुलजईले भने ।

उथल शहरबाट करिब १०० किलोमिटर टाढा र इरानको सीमावर्ती शहर पिशिनबाट ५०० किलोमिटर टाढा रहेको पहाडी क्षेत्रमा सो दुर्घटना भएको हो ।

इरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २८ जना तीर्थयात्रीको शव स्वदेश ल्याएको एक दिनपछि यो अर्को दुर्घटना भएको हो ।

गत मङ्गलबार राति इरानको मध्य क्षेत्रमा रहेको याज्द प्रान्तको एक सुरक्षा जाँच केन्दूमाअगाडि ५१ जना पाकिस्तानी तीर्थयात्रीलाई लिएर इराक जाँदै गरेको उक्त बस पल्टिएर आगलागी हुँदा २८ जनाको मृत्यु भएको थियो भने अन्य ३० जना घाइते भएका इरानी राष्ट्रिय टेलिभिजनले च्यानलले जनाएका छन् ।

इरानी ट्राफिक प्रहरी प्रमुख तेमुर होसेनीले भिरालो सडकमा बसमा ब्रेक फेल भएपछि बस अनियन्त्रित भई खोल्सामा खसी दुर्घटनाग्रस्त भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।

पाकिस्तानमा पहाडी क्षेत्रमा कच्ची सडक, पूराना यातायातका साधन, अत्यधिक भार र चालकको लापर्बाहीका कारण सडक दुर्घटना हुने गरेको पाइन्छ ।

तीन गुणा बढ्यो विद्युत् खपत

काठमाडौँ । मुलुकबाट विद्युतभार कटौती अन्त्य भई नियमित रुपमा विद्युत आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपतमा उल्लेख्य वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन गुणा बढेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा तीन ७२ करोड युनिट ऊर्जा खपत भएकामा गत आव २०८०/८१ मा १० अर्ब दुई करोड युनिट पुगेको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो । आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी ग्राहस्थ्र्यतर्फ चार अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ तीन अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ । बाँकी विद्युत अन्य समूहका ग्राहकले खपत गरेका हुन् । आठ वर्षअघि एक सय ३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आर्थिक वर्षसम्म आइपुग्दा चार सय युनिट पुगेको छ ।

आठ वर्षअघि बर्खायाममा समेत दैनिक आठ घण्टा विद्युतभार कटौती थियो । हिउँदमा दैनिक १४ घण्टासम्म विद्युतभार कटौती गर्नुपर्ने प्रक्षेपण थियो । विसं २०७३ को कात्तिकदेखि काठमाडौँ उपत्यका हुँदै क्रमिक रुपमा देशका प्रमुख सहरमा गार्हस्थ्यतर्फका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको विद्युत्भार कटौती अन्त्य गरिएको थियो । सरकारले २०७५ वैशाखदेखि सिङ्गो मुलुक विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो ।

आठ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको थियो । अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युतको पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ‘ग्रिड’बाट र दुई  प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघुजलविद्युत्, सौर्य ऊर्जालगायतबाट विद्युत् उपभोग गरिरहेका छन् । आठ वर्षअघि विद्युत्का ग्राहक करिब ३० लाख रहेकामा हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतभार कटौती अन्त्यपछि पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् खपत बढेको जानकारी  दिए ।

‘ठूला तथा साना उद्योगलाई निरन्तर विद्युत आपूर्ति भइरहेको छ, यस अवधिमा उद्योगको धैरे ‘लोड’ स्वीकृत गरिएको छ, खाना पकाउनेलगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग बढेको छ, निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ, विद्युतीकरण व्यापक रुपमा गरिएको छ जसका कारण आन्तरिक रुपमा विद्युत्को खपत बढिरहेको छ,’ उनले भने ।

हरेक वर्ष विद्युत माग बढेसँगै विद्युत आपूर्तिमा चुनौती थपिएका छन् । त्यस्ता चुनौती र समस्याको समाधान गरी उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, सुरक्षित विद्युत् आपूर्तिका देशका प्रमुख सहरलाई ११ क्लस्टरमा विभाजन गरिएको छ ।  यस्तै, सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिकरुपमा कार्यान्वयनमा लगिएको छ ।

कार्यकारी निर्देशक घिसिङले आन्तरिक रुपमा विद्युतको खपत बढाउने, उत्पादन वृद्धि गरी आयात घटाउने र निर्यात वृद्धि गर्ने गरी काम भइरहेको उल्लेख गरे ।

आव २०७२/७३ मा तीन अर्ब ७२ करोड युनिट रहेको विद्युत् खपत आव २०७३/७४ मा (२८ दशमलव ४७ विन्दुले बढी) चार अर्ब ७७ करोड युनिट पुगेको थियो । आव २०७४/७५ मा विद्युत् खपत पाँच अर्ब ५६ करोड, २०७५/७६ मा छ अर्ब ३० करोड युनिट, २०७६/७७ मा छ अर्ब ४२ करोड तथा २०७७/७८ मा सात अर्ब २८ करोड युनिट भएको थियो ।

यसैगरी, आव २०७८/७९ मा आठ अर्ब ८४ करोड, आव २०७९/८० मा नौ अर्ब ३५ करोड र आव २०८०/८१ मा १० अर्ब दुई करोड युनिट विद्युत् खपत भएको थियो । आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा विद्युत् खपत करिब १० प्रतिशतले बढेको हो ।

गत आवमा पिक डिमान्ड (विद्युत् बढी माग हुने समय) अघिल्लो आव २०७९/८० को तुलनामा ११ दशमलव ३४ प्रतिशत विन्दुले वृद्धि भएको थियो । गत आवको जेठ १६ गते देशभित्रको सबैभन्दा बढी विद्युत्को माग रेकर्ड गरिएको थियो । उक्त दिन दुई हजार दुई सय १२ मेगावाट विद्युत् माग गरिएको थियो ।

बर्खायामका ६ महिना विद्युत् भारततर्फ निर्यात गर्ने अवस्था बने पनि हिउँदमा नदी प्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटी केही महिना देशभित्रको माग धान्न विद्युत् आयात गर्नुपर्ने अवस्था छ । तर प्रणालीमा आयात गरिएको ऊर्जाको परिमाण भने घट्दै गएको छ ।

गत आवमा प्रणालीमा आयातित ऊर्जाको हिस्सा १४ दशमलव ६८ प्रतिशत रहेको छ । जुन अघिल्लो आवको तुलनामा आठ दशमलव ५७ प्रतिशत विन्दुले कम हो । विद्युत् निर्यात ४४ प्रतिशत विन्दुले वृद्धि भएको छ ।

गत आवमा भारतबाट एक अर्ब ९० करोड युनिट अर्थात्  १६ अर्ब ९३ करोड बराबरको विद्युत् आयात गरिएको थियो । तर सोही अवधिमा एक अर्ब ९५ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरी १७ अर्ब ६ करोड आम्दानी भएको थियो ।

गत आवमा आयातभन्दा १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

इजरायलद्वारा लेबननमा हमला, हिज्बुल्लाहद्वारा सयौँ रकेट प्रहार

बीबीसी । इजरायली सेनाले आफ्ना युद्ध विमानहरूले लेबननस्थित हिजबुल्लाहका निशानाहरूमा आक्रमण गरिरहेको जनाएको छ ।

इजरायलतर्फ क्षेप्यास्त्र र रकेट प्रहार गर्ने प्रयासहरू भइरहेको थाहा पाएपछि आक्रमण गरेको इजरायली पक्षको भनाइ छ । इजरायलमा ४८ घण्टे सङ्कटकाल घोषणा गरिएको छ । तेलअबिबस्थित विमानस्थल केही समयका लागि बन्द भए पनि फेरि सञ्चालनमा आएको छ ।

संयुक्त राज्य अमेरिकाले इजराललाई आफ्नो समर्थन रहने दोहोर्याएको छ । आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले भने, ‘आत्मरक्षाका लागि ती जोखिमहरू हटाउन आईडीएफले आतङ्कवादी निशानाहरूमा आक्रमण गरिरहेको छ।’

इजरायलले लेबननका सर्वसाधारणहरूलाई इरानको समर्थन पाएको सिया मुसलमान समूहलाई हिज्बुल्लाह रहेका ठाउँ छाड्न आफूले चेतावनी दिएको जनाएको छ ।

त्यस लगत्तै हिज्बुल्लाहले आफूले अघिल्लो महिना समूहका वरिष्ठ सैन्य कमान्डरको हत्या गरिएको बदलामा इजरायलमा ठूलो स्तरको ड्रोन हमला गरेको जनाएको थियो ।

आइतबार बिहानै उत्तरी इजरायलमा रकेट आइरहेको जनाउ दिने चेतावनीका साइरनहरू बजेका थिए । तत्कालै कुनै क्षतिको विवरण आएको छैन।

हिज्बुल्लाहले इजरालको उत्तरतर्फ रहेका सैन्य निशानाहरूलाई केन्द्रित गरेर ३२० वटा रकेट प्रहार गरेको जनाएको छ । उसले यसलाई इजरायलमाथिको ‘पहिलो चरण’ को आक्रमण भनेको छ ।

आईडीएफले एउटा विज्ञप्तिमा हिज्बुल्लाहले ‘१५० भन्दा बढी रकेट लेबननबाट इजरेली भूमिमा प्रहार गरेको’ जनाएको छ । उसले ’आइरन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पनि प्रयोग गरिएको जनाएको छ ।

टेलिग्रामका सीइओ पावेल डुरोफ फ्रान्समा पक्राउ

बीबीसी । टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत पाभेल डुरोफलाई फ्रान्सका प्रहरीले पेरिसभन्दा उत्तरमा अवस्थित एक विमानस्थलबाट पक्राउ गरेका छन् ।

फ्रान्सेली सञ्चारमाध्यमका अनुसार उनको निजी जेट लु बुर्च्छे विमानस्थलमा अवतरण गरेलगत्तै डुरोफलाई नियन्त्रणमा लिइएको थियो । अधिकारीहरूका अनुसार ३९ वर्षका उनलाई सन्देश आदानप्रदानका लागि प्रयोग हुने लोकप्रिय एपसँग सम्बन्धित कसुरमा पक्राउ गरिएको हो ।

फ्रान्सस्थित रुसी राजदूतावासले परिस्थिति प्रस्ट पार्नका लागि ‘तत्कालै कदम चालिरहेको’ रुसको तास समाचार संस्थाले जनाएको छ । डुरोफ आफ्नो निजी जेटमा यात्रा गरिरहेको फ्रान्सेली टेलिभिजन च्यानल टीएफ वानले आफ्नो वेबसाइटमा जनाएको छ ।

टेलिग्राम रुस, युक्रेन र पूर्व सोभियत सङ्घ देशहरूमा विशेष रूपमा लोकप्रिय रहेको छ । रुस युक्रेनबीच जारी युद्धमा सूचनाको प्रमुख स्रोत रहेको यस एपलाई किभए र मस्को दुवैतर्फका अधिकारीहरूले व्यापक रूपमा प्रयोग गर्ने गर्छन् ।

प्रयोगकर्ताको तथ्याङ्क दिन त्यसअघि अस्वीकार गरेका कारण सन् २०१८ मा उक्त एपमाथि रुसमा प्रतिबन्ध लगाइएको थियो । तर सन् २०२१ मा उक्त प्रतिबन्ध हटाइएको थियो ।

टेलिग्राम एउटा प्रमुख सामाजिक सञ्जाल हो। फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र वीच्याटपछी यसका प्रयोगकर्ता धेरै रहेको ठानिन्छ । डुरोफले सन् २०१३ मा टेलिग्राम स्थापना गरेका थिए ।

उनले आफ्नो सामाजिक सञ्जाल भीकन्ट्याक्टमा रहेका विपक्षीहरूका समूहहरूलाई बन्द गर्ने सरकारको माग कार्यान्वयन गर्न अस्वीकार गर्दै सन् २०१४ मा रुस छाडेका थिए ।

यस वर्षभित्र मासिक प्रयोगकर्ताको सङ्ख्या एक अर्ब पुर्याउने लक्ष्य राखेको टेलिग्रामले डुरोफलाई नियन्त्रणमा लिइएकोबारे केही प्रतिक्रिया दिएको छैन।

वीरगंजस्थित सुक्खा बन्दरगाहबाट साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा रु तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा रु चार अर्ब ७३ करोड ३१ लाख ४५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले सो अवधिमा लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात् रु तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको पहिलो महिनामा राजस्व सङ्कलन उत्साहजनक देखिएको दाबी गरे ।

“चालु आवको साउनमा राजस्व सङ्कलनमा औसतमा उत्साहजनक देखिएको छ । भदौको समग्र राजस्व सङ्कलनले आगामी दिनको दिशानिर्देश गर्नेछ”, उनले भने ।

भन्सार विभागले कार्यालयलाई गत आवको साउनमा रु चार अर्ब २४ करोड ६३ लाख ३५ हजार लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९६ दशमलव ०१ प्रतिशत अर्थात् रु चार अर्ब सात करोड ६९ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयको गत आवको साउनको तुलनामा चालु आवको साउनमा राजस्व सङ्कलन रु ३२ करोड ४७ लाख ८४ हजारले घटेको छ ।

प्रमुख भन्सार अधिकृत बरुवालले गत आवको साउनको तुलनामा चालु आवको साउनमा समग्रमा राजस्व सङ्कलनमा केही कमी आएको बताए। कार्यालयले आव २०७९/८० को साउनमा भने रु तीन अर्ब ६१ करोड ८५ लाख दुई हजार राजस्व सङ्कलन गरेको थियो ।

बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् ।

आइतबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औँ सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

उनले नेपालीको चेतना, गौरव र इतिहाससँग यो विश्वविद्यालय जोडिएकाले बुद्धले सिकाएका सकारात्मक र मैत्रीचेत अहिले पनि सामयिक भएको बताए ।

‘बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन वस्त्र लगाएर मात्रै हुँदैन । यसका लागि ज्ञान र मन चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले बौद्ध दर्शनको शिक्षा सुरु गरेका छौँ । हामीले जीवनलाई सपार्ने गुणस्तरीय शिक्षा दिनुछ । दृढ़ अठोट र निरन्तर प्रयासबाट हामी विकास हासिल गर्न सक्छौँ र सफलतामा पुग्न सक्छौँ ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई सहभागी बैठकले आगामी मङ्सिरमा हुने तेस्रो दीक्षान्तका लागि दुई सय ८५ विद्यार्थीको ‘ग्रेस लिस्ट’का साथै चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।

नागार्जुनमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । नागर्जुनमा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–७ स्थित बिन्दावासिनी सडकखण्डमा स्वीजरल्याण्ड पार्कबाट कलङ्कीतर्फ आउँदै गरेको प्र०१–०२५च ९२४३ नम्बरको जिपमा विपरीत दिशाबाट गइरहेको बाप्र०२–०१७प १०९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी दोलखा शैलुङ्गेश्वर नगरपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ छाउनी बस्ने २० वर्षीय सजन सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

शनिबार दुर्घटना भई गम्भीर घाइते भएका सुवेदीको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उनले जानकारी दिए । सो समयमा फरार रहेका गाडी चालक सुनसरी घर भई हाल काठमाडौँको नैकाप बस्ने ४३ वर्षीय जगतबहादुर मगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

ताप्लेजुङ गोल्डकपको  टिकट बिक्रीबाट १३ लाख भन्दाबढी आम्दानी

फुङलिङ (ताप्लेजुङ) । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म  १३ लाख ६३ हजार सात सय रुपैयाँ सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरुमार्फत उक्त रकम सङ्कलन भएको हो ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार शुक्रबार र शनिबार दुई दिनमा मात्रै सेमिफाइनल खेलहरूबाट ६ लाख ५२ हजार आठ सय रुपैयाँ सङ्कलन भएको थियो ।

शनिबारको खेलबाट मात्र तीन लाख ४४ हजार र शुक्रबारको खेलबाट तीन लाख आठ हजार आठ सय  रुपैयाँ सङ्कलन भएको उनले जानकारी दिए ।

यसअघि, क्वार्टरफाइनल चरणका चार खेल सम्पन्न हुँदा  सात लाख १० हजार नौ सय रकम सङ्कलन भएको थियो । सेमिफाइनल खेलका लागि टिकट दर प्रतिव्यक्ति  दुई सय रुपैयाँ तोकिएको थियो भने क्वार्टरफाइनल खेलमा एक सय रुपैयाँ राखिएको थियो ।

फाइनल खेल यही भदौ १० गते सोमबार सम्पन्न हुनेछ । फाइनल खेल हेर्नका लागि टिकट दर  दुई सय ५० रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ । 

समितिका अध्यक्ष देवराज गुरुङले यस वर्ष टिकट बिक्रीबाट  २० लाखसम्मको आम्दानी गर्ने लक्ष्य राखिएको बताए । प्रतियोगिताको विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित  पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले दुई लाख ५० हजार पाँच सय ५५ नगद पुरस्कार पाउनेछन् । टिकट बिक्रीबाहेक प्रतियोगिताका लागि अन्य माध्यमबाट आर्थिक सहयोग सङ्कलन भइरहेको समितिले जनाएको छ ।

प्रदूषण बढेपछि कक्षाकोठा छोडेर मन्दिरमा पढ्दै विद्यार्थी

गण्डकी ।  पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको पठनपाठन राधाकृष्ण मन्दिरमा सारिएको छ ।

प्रदूषण बढेकाले ल्यान्डफिल साइटनजिकै रहेको विद्यालय भवनका कोठामा पठनपाठन गर्न असहज बनेपछि उक्त परिसरभन्दा केही माथि रहेको राधाकृष्ण मन्दिरमा विद्यार्थीलाई राखेर पठनपाठन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । विद्यालयमा हाल कक्षा ६ देखि १० सम्म २८ जना विद्यार्थी आवासीय रूपमा अध्ययन गरिरहेका छन् ।

प्रदूषण बढेपछि करिब एक महिनायता मन्दिर परिसरमा राखेर पठनपाठन गराइएको विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले जानकारी दिए । प्रदूषणका कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्या पनि बढ्दै जान थालेको उनको भनाइ छ ।

ल्यान्डफिल साइट नजिकै भएकाले दिनानुदिन प्रदूषण बढ्दै जाँदा गुरुकुलका विद्यार्थीसँगै राधाकृष्ण ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ४५ जना ज्येष्ठ नागरिक पनि समस्यामा परिरहेका राधाकृष्ण मन्दिर सञ्चालक समितिका सचिव घनश्याम खनालले बताए ।

मन्दिरअघिको साँघुरो बाटोबाट फोहोर ल्याएका सवारीसाधन जानेआउने गर्दा ज्येष्ठ नागरिक एवम् विद्यार्थीलाई हिँड्डुल गर्न समस्या परिरहेको उनले उल्लेख गरे ।

बढ्दो प्रदूषणका सम्बन्धमा गुनासो आएसँगै महानगरपालिकाबाट फोहोरलाई व्यवस्थित रूपमा माटोले पुर्ने काम थालिएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए । फोहोर व्यवस्थापनको काम भइरहे पनि गर्मी र बर्सातको समय भएकाले समस्या भइरहेको उनको भनाइ छ ।

सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीनजनाको खोजी जारी

सिन्धुली । शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी भेटिएको हो । 

सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो बहावमा डुबेको गाडी जेसिभीको सहायतामा झिकेर नदी किनारमा राखेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

आज बिहान घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक काफ्लेका अनुसार गाडी घटनास्थलबाट ५० मिटर तलबाट झिके पनि गाडीमा सवार चालकसहित तीनजना अझै बेपत्ता छन् । 

बेपत्ता हुनेहरूमा भक्तपुरको जगातीका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन् । उनीहरूको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय नागरिकहरु खटिएका छन् । गाडीमा चारजना सवार थिए ।

हाम्फालेर बाँच्न सफल घाइते भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोसी सामुदायिक अस्पताल, खुर्कोटमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । 

बिहारको समस्तीपुरमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दाबढी घाइते

काठमाडौं । भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । भारत बिहारको समस्तीपुर जिल्लामा नेपाली तीर्थयात्री सवार बस गएराति दुर्घटना भएको हो । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका भारतीय संचार माध्यमहरूले जनाएका छन् ।

घाइतेहरुलाई सदर अस्पताल र मुसरीघरारीस्थित निजी क्लिनिकमा भर्ना गरिएको छ । प्रहरीकाअनुसार मुसरीघरारी चोक नजिकै छेउबाट आएको बसलाई तिब्र गतिको ट्रकले ठक्कर दिएको थियो ।

जसका कारण बस पल्टिएको थियो । उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै थिए । केही दिनअघि भारतीय तीर्थयात्री बोकेको बस तनहुँमा दुर्घटना हुँदा २७ भारतीयको मृत्यु भएको थियो ।

निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनको गृहकार्य भइरहेको छः शिक्षामन्त्री भट्टराई

मध्यविन्दु (नवलपरासी)। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बालबालिकाको समग्र विकास र संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुलीमा आइतबार भएको ‘बालबालिकाको अधिकार संरक्षणमा सरोकार भएकाको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रममा उनले बाल अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।

अधिकार स्थापित गर्न गुणस्तरीय शिक्षा आवश्यक पर्ने भएकाले राज्यका तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरिएको मन्त्री भट्टराईकाे दावी छ।

‘विद्यालयमा खुवाइने गरेको दिवाखाजाको गुणस्तरीयता र पोषणका लागि मन्त्री पदको कार्यभार लिँदै गर्दा पहिलो निर्णय गरेको र अब स्थानीय सरकार, विद्यालय र समुदायसँग मिलेर यो अभियानलाई निरन्तरता दिने छौं,’ उनले भनिन्, ‘परम्परागत र स्थानीय खाद्य सामग्रीको प्रयोग हुनेगरी दिवाखाजालाई व्यवस्थित, गुणस्तरीय बनाउने योजना छ। यसले स्थानीयस्तरको समग्र कृषि प्रणालीलाई सहयोग पुग्नेछ।’

मन्त्री भट्टराईले विद्यालयमा बालिका र किशोरीका लागि महिनावारी सरसफाइ तथा सेनेटरी प्याडको गुणस्तरीय उपलब्धता र प्रयोगमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरेिन्।

‘महिनावारी प्रजनन स्वास्थ्यसँग जोडिएको विषय भएकाले यस बारेमा स्थानीय सरकारले विभिन्न अभियान र कार्यक्रम गरी स्वस्थ किशोरी निर्माणतर्फ लाग्नुपर्ने देखिन्छ,’ उनले भनिन्, ‘प्याडको कारणले कोही पनि बालिका विद्यालय शिक्षाबाट वञ्चित हुने अवस्था रोक्नका लागि सरकारले काम गर्ने र सम्मानित जीवन जिउने वातावरण सृजनामा लाग्ने मेरो प्रतिबद्धता हो।’

कार्यक्रममा देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीले नेपालको दोस्रो बालमैत्री नगर देवचुली रहेको जनाउँदै बालिका सिकाइ केन्द्र निर्माणले बालिकाको अधिकार संरक्षणका क्षेत्रमा काम गर्न हौसला मिलेको बताइन्। उनले पालिका बालिकाको सशक्तिकरण र संवर्द्धनमा लागेको उल्लेख गरिन्।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बालिका सिकाइ तथा स्रोत केन्द्रको स्थापनाको उद्देश्य प्राप्ति गर्दै यसको दिगोपनका लागि स्थानीय सरकारसँग साझेदारी गर्न सकिने बताए।

कार्यक्रममा गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी स्थानीय तहका महिला जनप्रतिनिधि नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्य एवं अन्य सरोकार भएका व्यक्ति तथा निकायको उपस्थिति थियो।

अमेरिकासँगको वार्तामा चीनले ताइवान र सुरक्षाबारे ‘गम्भीर चासो’ व्यक्त गर्ने

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आगामी अगस्ट २७ देखि २९ सम्म गर्ने चीन भ्रमणमा चीनले आफ्नो चासोका बिषयलाई गम्भीररूपमा राख्ने बताएको छ ।

संयुक्त राज्य अमेरिकासँगको आगामी वार्तामा ताइवान र अन्य सुरक्षा विषयमा ‘गम्भीर चिन्ता’ व्यक्त गर्ने चीनको योजना रहेको चीनको राष्ट्रिय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै सरकारी प्रसारक सीसीटीभीले भनेको छ, “वार्तालाई चीनले ताइवान मुद्दा, विकासको अधिकार र चीनको रणनीतिक सुरक्षाका सम्बन्धमा कडा माग गर्न प्रयोग गर्नेछ ।”

सुलिभानले नोभेम्बरमा हुने अमेरिकी चुनावअघि तनाव व्यवस्थापनका लागि चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नेछन् ।

सन् २०१६ पछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको यो पहिलो चीन भ्रमण हो, यद्यपि विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायत अन्य वरिष्ठ अधिकारीहरूले विगत दुई वर्षमा चीनको भ्रमण गरेका छन् ।

“ताइवान मुद्दा अमेरिका–चीन सम्बन्धमा विवादको पहिलो रातो रेखा हो र ‘ताइवानको स्वतन्त्रता’ ताइवान स्ट्रेटमा शान्ति र स्थिरताका लागि सबैभन्दा ठूलो खतरा हो,” सीसीटीभीले भनेको छ ।

“अमेरिकाले एक चीन सिद्धान्त र तीन संयुक्त विज्ञप्ति र फरक फरक समयमा गरिएका अमेरिका–चीनबीच भएका सहमति पालना गर्नुपर्छ र ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।

बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा स्वशासित टापु ताइवान र मानव अधिकार, व्यापार र दक्षिण चीन सागरजस्ता अन्य फ्ल्यासप्वाइन्ट मुद्दाहरूलाई लिएर विवाद बढेको छ ।

गत नोभेम्बरमा सान फ्रान्सिस्कोमा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका सिमकक्षी सी चिनफिङबीच भएको वार्तापछि दुई देशबीचको सम्बन्ध केही हदसम्म स्थिर भएको छ ।

सन् २०२२ मा तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले युद्धपोत, क्षेप्यास्त्र र लडाकू विमानसहितको ताइवानमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेको थियो ।

मधेशका मुख्यमन्त्री सिंहबाट प्रादेशिक अस्पतालको निरीक्षण

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासो आएपछि प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको शनिबार राति ११ बजे आकस्मिक कक्ष, प्रसूति गृह, अति सघन कक्षलगायत निरीक्षण गरी ‘ड्युटी’मा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सङ्ख्या र कार्यविभाजन, काम गर्ने अवधिबारे जानकारी लिएका थिए ।

मुख्यमन्त्री सिंहले अस्पतालमा कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न निर्देशन दिए ।

उनले कामका लागि निर्धारित सङ्ख्या र समयावधिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी नियमित खटिनुपर्ने र बिरामीको उपचारमा कुनै किसिमको लापरवाही नगर्नसमेत निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक र उचित औषधि राख्न, सूचीअनुसार औषधि अभाव हुन नदिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिए । उनले निरीक्षणका क्रममा बिरामी र तिनका कुरुवासँग अस्पतालका सेवासुविधाबारे जानकारी लिएका थिए ।

रातको समयमा जनशक्ति अभाव, उपयुक्त रेखदेखमा कमी र अस्पतालभित्रका फार्मेसीमा औषधि अभावबारे केही कुरुवाले गुनासो गरेपछि मुख्यमन्त्री सिंहले प्रतिष्ठानका रजिस्ट्रार विनोदकुमार यादवलाई समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

जसपा नेपालको आधारभूत सङ्गठन निर्माण अभियान सुरु

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ सुरु गर्दै छ ।

चार महिनासम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत आज राजधानीमा बागमती प्रदेशअन्तर्गतका सबै जिल्ला र काठमाडौँमा उपलब्ध केन्द्रीय अभियन्तालाई जसपा नेपालले प्रशिक्षण दिने छ ।

जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका लागि मधेस प्रदेशको जनकपुरमा यही भदौ १५ गते तथा रौतहट, बारा, पर्सा र हेटौँडासमेतका अभियन्ताका लागि भदौ १६ गते वीरगञ्जमा, कोशी प्रदेशका लागि भदौ १८ गते विराटनगरमा तथा लुम्बिनी प्रदेशका लागि भदौ २३ गते भैरहवामा र भदौ २४ गते नेपालगञ्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।

यस्तै भैरहवामा नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङका लागि तथा नेपालगञ्जमा बाँके, बर्दिया तथा कर्णाली प्रदेशका अभियन्तालाई अभिमुखीकरणमा सहभागी गराइने छ ।

गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिमको धनगढीमा भदौ २५ गते अभिमुखीकरण कार्यक्रम राखिएको सो पार्टीले जनाएको छ ।

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि

काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि एक लाख ५२ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार आठ सय ५० निर्धारण भएको छ ।

एक किलो ८८ ग्राम कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं । प्रहरीले एक किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ परेका छन् । प्रहरीले आइभरीकोस्टका नागरिक ३५ वर्षीय वारामा कोनलाई एक किलो ८८ ग्राम कोकिनसहित पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

इथियोपियाबाट कतार एयरमार्फत् काठमाडौं आएका उनलाई प्रहरीले ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो ।

ब्युरोका सूचना अधिकारी प्रेमबहादुर शाहीले उनले कोकिन खेलाउनामा लुकाएर राखेको अवस्थामा बरामद गरेको जानकारी दिए । यसको बजार मूल्य ३ करोड ८० लाख रहेको प्रहरीले जनाएको छ ।

पर्यटनमन्त्रीज्यू, यत्ति एउटा काम गर्नुस्

नारायण गाउँले ।

माननीय पर्यटनमन्त्रीज्यू,
पर्यटकलाई लुट्ने र विभेद गर्ने लाइसेन्स सरकारले नै दिन्छ भन्ने तपाईंलाई थाहा छ ? के तपाईंलाई थाहा छ, एउटा भारतीय पर्यटकले पाँच हजारमा काट्ने हवाइ टिकटलाई चिनियाँ पर्यटकले तेब्बर मूल्य तिर्नुपर्छ ? धेरै देश घुम्नुभएको होला, के पर्यटकलाई यसरी विभेद गरिएको देख्नुभएको छ ? नेपालले आफूलाई पर्यटनमैत्री देश भन्छ तर हवाइभाडामात्रै होइन, प्रायः सबै पर्यटकीय स्थल र आकर्षणमा नागरिकता हेरेर विभेद गर्छ ।

पोखरालाई देशको पर्यटकीय राजधानी भनिन्छ । तर काठमाडौंबाट जम्मा दुई सय किलोमिटरको त्यो दूरी छिचोलेर बसमा पोखरा पुग्न पूरै एक दिन लाग्ने रहेछ । सय किलोमिटर जतिको बुटवल–नारायणगढ़ सड़क त जिन्दगीमा फेरि हिँड्न नपरे हुन्थ्यो जस्तो छ, देशका कुनै पनि लामो दूरीका सडक यतिबेला मृत्युको पासो थापेर बसेका जस्ता छन् ।
पानी परेको बेला हिलाम्य अनि घाम लागेको बेला कुइरीमण्डल धुलो र खाल्डाखुल्डीले शरीर र फोक्सो कस्तो होला, हिँड्नेहरूले मात्रै बताउलान् । सडक छेउका लाखौं नागरिकले कति खतरनाक र चिन्ताजनक स्तरको स्वास्थ्य समस्या भोगिरहेका छन् भन्ने त कसले सोच्ने र ! अनि त्यही बस टिकटदेखि सडकछेउका खाजाघरसम्म पनि पर्यटकले पाइलैपिच्छे धेरै ठूलो विभेद बेहोर्छन् । अझ पर्यटकमात्रै भनेर सार्वजनिक बस नै अलग्गै र मूल्य नै अलग्गै देख्न पाइन्छ । एकपटक यी बाटाबाट आउने पर्यटक शायदै जीवनमा अर्को पल्ट फर्केर आउलान् । त्यसमाथि विश्वकै डरलाग्दो स्तरको सड़क दुर्घटना दरले हाम्रो नीति र मथिङ्गल नछोए पनि अरूलाई त छुन्छ ।

विकल्प भनेको हवाइ मार्ग हो । नेपालको हवाइ यात्रा असुरक्षित मात्रै होइन, विश्वकै महँगो मध्येको एक हो भन्ने तपाईंलाई थाहा नै होला । २५ मिनेटको काठमाडौं–भरतपुर एकतर्फी यात्राको टिकटदर ४७ सय रुपियाँ छ, जुन झन्डै ३५ डलर जति हो । बुद्ध एयरको एकछत्र व्यापार रहेको यो रुटमा लाग्ने भाडाले युरोपमा अन्तरदेशीय उडान गर्न सकिन्छ । त्यसमाथि पर्यटकले डलरमा टिकट काट्नपर्छ र लाग्ने भाडाको तेब्बर मूल्य तिर्नुपर्छ । काठमाडौं–पोखरा रिटर्न टिकट ४द्दण्ण्+ लण्डन–बर्लिन भन्दा महँगो पर्न जान्छ ।

अति विकट क्षेत्रमा, कमर्सियल फ्लाइट नहुने ग्रामीण क्षेत्रमा राज्यले अनुदान दिएर आफ्ना नागरिक (त्यो पनि स्थानीय) लाई सस्तो टिकट उपलब्ध गराएको भए विदेशी पर्यटकले अनुदान रहित महँगो टिकट काट्नु जायज नै हुँदो हो । तर नेपालमा काठमाडौं–पोखरा जस्तो सबैभन्दा व्यस्त कमर्सियल रूटसहित देशभरि यस्तो विभेद कायम छ । नेपाली या इण्डियन नागरिकले तिर्ने मूल्य आफैमा अति चर्को छ । त्यसमा राज्यको कुनै सब्सिडी या छुट त पर जाओस्, उल्टो चर्को कर र मुनाफा जोडिएको छ । त्यसमाथि चाइनिज या युरोपियन नागरिकले त्यसको तेब्बर तिर्छन् । नागरिकताको आधारमा विभेद भोगेपछि कसको मन सकारात्मक बन्ला ? कस्तो सन्देश बोकेर ऊ फर्केला ? हेर्नुस् त, नेपाली मूलका नागरिकसँग समेत भारतीय पर्यटकभन्दा तेब्बर मूल्य असुल्नु कत्तिको जायज हो ।

सानो विमान भएकाले भाडा महँगो भएको रेडिमेड तर्क हुने रहेछ । सानो विमानको खरीद मूल्य नै सानो हुन्छ । त्यसको ह्याण्डलिङ्, ह्याङ्गर, इन्टरेस्ट पेमेन्ट,सर्भिसिङदेखि फ्यूल कस्ट पनि सानै हुन्छ । विमानभित्र सेवा र सेवा दिने मान्छे पनि कम हुन्छन् । एउटा चकलेट दिएर काम चलाइन्छ । कहिल्यै टाइममा उड्न पर्दैन । उताबाट ढिलो उडेकाले यता ढिलो भयो भनेर ओठे जबाफ दिए पनि पुग्छ । मौसमलाई देखाए पनि पुग्छ । कति सजिलो छ । त्यसैले सानो विमान भन्ने तर्क आफैमा सानो तर्क हो ।

फेरि पोखरा त अन्तर्राष्ट्रिय विमानस्थल हो । कत्ति चलेको छैन । सुख्खा राखेर थोत्रो हुन दिनुभन्दा कर घटाएर आन्तरिक उड़ानलाई बढाउन पनि सकिन्छ । ठूला र सुरक्षित विमान उडाउन पनि त सकिन्छ । ठाउँ छँदै छ, कर्मचारी पालेकै छ, ओभरहेड कस्ट छँदै छ, बिजी नहुँदासम्म न्यूनतम कर लिएर प्रयोगमा ल्याउन सकिन्छ नि ! विदेशतिर त क्षेत्रीय विमानस्थललाई उल्टो सब्सिडी दिने चलन पनि हुन्छ ।

कसरी सस्तो र सुलभ यातायातको सुविधा नागरिक या पर्यटकलाई दिन सकिन्छ भनेर कसैले त चिन्ता र गृहकार्य गर्न पर्ला नि ! प्लेन उड्नु विकास होइन, त्यसको उपभोग आमनागरिकले सुलभ र सहज रूपमा गर्न पाउनु बल्ल पो विकास हो ।
हाम्रो एयरपोर्टको कर नै विश्वकै महँगो किन होला ? भारत, बङ्गलादेशजस्ता छिमेकी देशभन्दा हाम्रो कर पाँच गुनासम्म महँगो रहेछ । किन हवाई इन्धन अन्य छिमेकी देशभन्दा अत्यधिक मूल्य पर्ने होला ? त्यसमाथि टिकटमा १३% भ्याट पनि रहेछ । चाइनाले त उडान नै बन्द गर्ने धम्की दिइसकेको भन्ने पढियो । सबैभन्दा कमसल भएर पनि सबैभन्दा महँगो हुनु लज्जाको विषय होइन र ?

यदि देशमा पर्यटनप्रति साँच्चिकै चिन्ता र माया हो भने सबैभन्दा पहिले आन्तरिक विभेद हटाउँदै दिल्ली–काठमाडौं या दोहा, दुबई–काठमाडौंको हवाइ भाडा कसरी घटाउन सकिन्छ भन्ने सोच्न जरूरी छ । यो अत्यधिक महँगो छ । सहज र सुलभ कनेक्टिभिटी पर्यटनको आत्मा हो । नेपालको सोझो उडान धेरै देशसँग छैन । धेरै पर्यटक भारत र गल्फ हुँदै आउँछन् ।

त्यसपछि सुरक्षा, नीति र नियमनको कड़ा व्यवस्था गर्दै कालोसूचीबाट हटाउन पहल गर्ने काम त छँदै छ । हाम्रो छवि दिनदिनै थप कालो र डरलाग्दो बन्दै गएको छ । भारतसँग थप हवाइ रुटका लागि वस्तुगत पहल गर्न पनि उत्तिकै जरूरी छ । अहिले युरोपबाट नेपाल आउने टिकटले सिङ्गो युरोप घुम्न पुग्छ । भारत भनेको छिमेकी विहार या उत्तरप्रदेश मात्रै होइन । विश्वभर भारतीय पर्यटकको माग छ । धार्मिक र सांस्कृतिक पर्यटन पनि जोडिएको छ । भारतीय र भारत आउनेमध्ये ५% मात्रै थप पर्यटक नेपाल भित्राउन साकिए पनि हामीलाई पर्याप्त हुन्छ ।

छिमेकी देश चीनका पर्यटक आज विश्वभर पुग्छन् । तिनको घुम्ने चाह र खर्च गर्न सक्ने क्षमता बढ्दो छ । कम्तिमा समुद्र पारिको बेलायत पुग्न भन्दा छिमेकको नेपाल आउन तेब्बर महँगो बनाउन त भएन नि । शत्रु जस्तो देश अमेरिकामा तिनलाई विभेद हुँदैन, बेलायतमा हुँदैन, मित्र भन्ने अनि हामीले विभेद गर्ने ? कतिन्जेल लुट्ने ?

भनिन्छ चालीस लाख नेपाली देशबाहिर छन् । हाम्रो पर्यटक सङ्ख्या बीस लाखमुनिको छ । त्यसको दोब्बर त नेपाली नै बाहिर रहेछन् । बर्मादेखि भूटानसम्म, बेलायतदेखि अमेरिकासम्म थुप्रै नेपाली मूलका नागरिक छन् । ती पर्यटक बनेर आउँदा पनि देशलाई फाइदा नै हुन्छ नि । किन तिनलाई पनि विभेद गर्ने ? भारतदेखि बङ्गलादेशसम्म गैरआवासीय नागरिकले अर्थतन्त्रलाई चलायमान बनाएका छन् ।

अझ यति महँगो, सडक र आकाश दुबैमा अत्यधिक दुर्घटनाको डर र धुलोधुवाँको देश हुँदा समेत माया गरेर आउने चिनिया या युरोपियन पर्यटकलाई विभेद गर्दै तेब्बर भाड़ा लिने हो भने त हाम्रो पर्यटनको लक्ष्य १५–२० लाख भन्दा माथि उठ्न मुश्किल छ । सौभाग्य नै भन्नुपर्छ, देशले रवीन्द्र अधिकारीदेखि योगेश भट्टराई हुँदै सुदन किराती र बद्री पाण्डेसम्म युवा र केही गर्छु भन्ने व्यक्तिलाई पर्यटनमन्त्री पाएको छ । यद्यपि केही सीमित व्यावसायिक घराना र व्यक्तिको दबाबमा आधारभूत सुधार हुनसकेको छैन । तपाईं त्यो चक्रव्यूहको जालोमा नपर्दै र तिनै सीमित घरानासँग नाचगान गरेको भिडियो नआउँदै केही ठोस काम गर्न सक्नुहुन्छ कि ? कम्तिमा यो हवाइभाडाको अनैतिक विभेद त आजै हटाएर सुरुवात गर्न सकिन्छ कि ?