ताप्लेजुङ गोल्डकपको टिकट बिक्रीबाट १३ लाख भन्दाबढी आम्दानी


फुङलिङ (ताप्लेजुङ) । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म १३ लाख ६३ हजार सात सय रुपैयाँ सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरुमार्फत उक्त रकम सङ्कलन भएको हो ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार शुक्रबार र शनिबार दुई दिनमा मात्रै सेमिफाइनल खेलहरूबाट ६ लाख ५२ हजार आठ सय रुपैयाँ सङ्कलन भएको थियो ।
शनिबारको खेलबाट मात्र तीन लाख ४४ हजार र शुक्रबारको खेलबाट तीन लाख आठ हजार आठ सय रुपैयाँ सङ्कलन भएको उनले जानकारी दिए ।
यसअघि, क्वार्टरफाइनल चरणका चार खेल सम्पन्न हुँदा सात लाख १० हजार नौ सय रकम सङ्कलन भएको थियो । सेमिफाइनल खेलका लागि टिकट दर प्रतिव्यक्ति दुई सय रुपैयाँ तोकिएको थियो भने क्वार्टरफाइनल खेलमा एक सय रुपैयाँ राखिएको थियो ।
फाइनल खेल यही भदौ १० गते सोमबार सम्पन्न हुनेछ । फाइनल खेल हेर्नका लागि टिकट दर दुई सय ५० रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।
समितिका अध्यक्ष देवराज गुरुङले यस वर्ष टिकट बिक्रीबाट २० लाखसम्मको आम्दानी गर्ने लक्ष्य राखिएको बताए । प्रतियोगिताको विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले दुई लाख ५० हजार पाँच सय ५५ नगद पुरस्कार पाउनेछन् । टिकट बिक्रीबाहेक प्रतियोगिताका लागि अन्य माध्यमबाट आर्थिक सहयोग सङ्कलन भइरहेको समितिले जनाएको छ ।