`

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने रास्वपाको निर्णय

काठमाडौ. । राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस अनुसार, उनलाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको हो । पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका ढकाललाई रास्वपाले दुई पटक स्पष्टीकरण सोधेको थियो । तर ढकालले स्पष्टीकरण जवाफ दिँदा पार्टी सभापतिमाथि गम्भीर प्रश्न उठाउँदै आएका थिए ।

३४ तोला सुन र साढे १० किलो चाँदीसहित नेपालगञ्जमा चारजना पक्राउ

नेपालगञ्ज । नेपालगञ्जबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनकानुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार रहेका छन् । बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

बर्दियाका एक जना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ ।

ती व्यापारीले नेपालगञ्जबाट सामान किनेको बताएको र बिक्री गर्ने कालीगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

‘हराएका वर्षहरू’ का प्रकाशलाई भेट्न चाहन्छन् प्रधानमन्त्री

काठमाडौँ । हेर्ने कथामा ‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाशसँग भेट गर्ने इच्छा व्यक्त गरेका छन् । युट्युवमा भिडियो हेरेर प्रकाश तमाङप्रति चिन्ता प्रकट गरिरहेका बेला प्रधानमन्त्री ओलीले प्रकाश तामाङलाई भेट्ने इच्छा प्रकट गरेका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘हेर्ने कथाको पछिल्लो एपिसोड ‘हराएका वर्षहरू’ हेरेँ । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो । सोचें – यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् ! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु । विद्या चापागाईं प्रभावशाली ‘स्टोरी टेलर’ हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु । विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु । यस मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !’

बागमती प्रदेशमा राजस्व सङ्कलन नौ अर्ब घट्यो

बागमती । बागमती प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा रु नौ अर्ब कम राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८०/८१ मा लक्ष्यभन्दा  नौ अर्ब तीन करोड ३१ लाख २७ कम राजस्व सङ्कलन भएको हो ।

प्रदेश सरकारले आव २०८०/८१ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा तीन सबै शीर्षकबाट  ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार मात्र राजस्व सङ्कलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँटबाट  २६ अर्ब ६८ करोड ६८ लाख ४० हजार राजस्व सङ्कलन हुने लक्ष्य लिएकोमा त्यसको ८१ दशमलव ८५ प्रतिशत अर्थात् रु २१ अर्ब ८४ करोड २२ लाख मात्र राजस्व सङ्कलन भएको छ ।

यस्तै प्रदेश सरकारको आन्तरिक स्रोतबाट  तीन अर्ब ७५ करोड ५२ लाख ३५ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा लक्ष्यको ९७ दशमलव ५२ प्रतिशत अर्थात्  तीन अर्ब ६६ करोड २० लाख २० हजार राजस्व मात्र सङ्कलन भएको सूचना अधिकारी पौडेलले बताए ।

सङ्घीय सरकारबाट रु १७ अर्ब ८१ करोड २३ लाख अनुदान प्राप्त हुने अनुमान गरिएकोमा त्यसको ७७ दशमलव ०१ प्रतिशत अर्थात् रु १३ अर्ब ७१ करोड ७० लाख २६ हजार अनुदान प्राप्त भएको उनको भनाइ छ ।

गत आव २०७९/८० मा पनि बागमती प्रदेश सरकारले अनुमान गरेको भन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन भएको थियो । प्रदेश सरकारले आव २०७९/८० मा रु ५५ अर्ब ३१ करोड राजस्व सङ्कलनको अनुमान गरेकोमा रु ४५ अर्ब ८८ करोड राजस्व सङ्कलन गरेको थियो ।

प्रदेश सरकारले आव २०७९/८० मा विभिन्न आयस्रोत र गत वर्षको नगद मौज्दातसहित रु ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार प्राप्त हुने अनुमान गरिएकोमा त्यसको १०५ दशमलव ४५ प्रतिशत अर्थात् रु ६६ अर्ब १२ करोड ६९ लाख २० हजार प्राप्त भएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्यायले बताए।

प्रदेश सरकारले आव २०७९/८० मा विभिन्न आयस्रोत र गत वर्षको नगद मौज्दातसहित ७० अर्ब ९३ करोड प्राप्त हुने अनुमान गरेकोमा रु ७७ अर्ब ८२ करोड सङ्कलन गरेको थियो ।

सङ्घीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोत लगायतका राजस्व सङ्कलनमा आएको कमी र आर्थिक मन्दीका कारण सङ्घीय सरकारले केही कार्यक्रम कटौती गर्नु जस्ता कारणले राजस्वमा कमी आएको प्रमुख उपाध्यायको कथन छ ।

‘साइन्स’मा फेल भएपछि ड्रोन मर्मतमा जमेका राजकुमार

रमेश लम्साल, काठमाडौँ । पछिल्ला दिनमा फोटोग्राफी गर्ने सामान्य मानिसदेखि फोटो पत्रकारसम्मले प्रविधिको नवीनतम उपहारका रुपमा रहेको ड्रोनको अत्यधिक प्रयोग गर्न थालेका छन् । विवाह उत्सव तथा अन्य सार्वजनिक जमघटमा ड्रोन नभए खल्लो महसुस हुन थालेको छ । 


आकर्षक र गुणस्तरीय तस्बिर, भिडियो खिच्नेको सौख बन्दै गएको ड्रोनको प्रयोग र बिक्री वितरणमा देखिएको लहरले मानिसका चाहनालाई थप प्रतिम्बित गरिदिएको छ । यस्तै ठूलादेखि साना आयोजनाको सर्वेक्षण तथा अन्य प्राविधिक कामका लागि पनि ड्रोन अपरिहार्य जस्तै बनेको छ । जलविद्युत् आयोजनाको सामान्यभन्दा सामान्य कामलाई सहज तुल्याउन प्रवर्द्धकले यसमा विशेष ध्यान दिएका छन् ।


पदयात्रामा जाने पर्यटक, खोज तथा अध्ययनकर्ता एवं जिज्ञासुले पनि अनुमति लिएर यसको प्रयोग गरिरहेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथामा फोहर सङ्कलनका लागि उच्च क्षमताको ड्रोन प्रयोग गर्ने गरी सफल परीक्षण भइसकेको छ ।


प्रविधिमा आएको परिवर्तनले मानव जीवनमा सहज प्रभाव पार्दछ भन्ने खास उदाहरण बनेको छ ड्रोन । भीडभाड हुने मेला पर्व, जात्रा तथा राजनीतिक पार्टीका आमसभा एवं जटिल स्थानका तस्बिर तथा भिडियो खिच्नका लागि प्रयोग हुने ड्रोनको सुरक्षित उडान र अवतरण गराउनु पनि उत्तिकै आवश्यक छ ।


त्यसमा विशेष सीप र क्षमताको आवश्यकता पर्दछ ।  प्रविधिको प्रयोग गरेर आम पाठक तथा स्रोतालाई गुणस्तरीय तस्बिर र भिडियो उपलब्ध गराउनका लागि महत्वपूर्ण साधनको रुपमा विकास भएको ड्रोन मर्मत सम्भार गर्ने जनशक्ति भने नेपालमा असाध्यै कम छन् ।


आममानिसको आवश्यकता जस्तै बनिसकेको ड्रोन प्रयोग गर्दा कहिलेकाही दुर्घटनामा पनि पर्न सक्छ । अनावश्यक खराबी आउन सक्छ । त्यस्तो अवस्थामा मर्मत सम्भार गरेर पूर्ववत् अवस्थामा फर्काउने जनशक्तिको अभाव हुँदा यसका प्रयोगकर्ता खिन्न हुने अवस्था थियो केही वर्ष पहिले ।


त्यसका लागि आवश्यक जनशक्ति तयार पार्न सरकार र निजी क्षेत्रले पनि खास ध्यान नदिएको अवस्थामा स्वपहलमा नै ड्रोन मर्मत केन्द्र खोलेर देशभित्रै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण  बने भक्तपुरका राजकुमार तिमिल्सिना ।


सिंहदरबारको पूर्वी गेट । आम मानिसले नाम नभएको नगरका रुपमा अनामनगरलाई चिन्छन् । “देशभित्रै अनगिन्ती रोजगारीको अवसर छ । सामान्य पैसा कमाउनका लागि विदेशिनु पर्दैन”  भन्ने सन्देश दिँदै राजकुमारलाई यतिबेला ड्रोन मर्मत गर्न भ्याइ नभ्याइ छ भन्दा अत्युक्ति हुँदैन ।


स्वदेशी तथा विदेशी उहाँलाई खोज्दै अनामनगर आइपुग्छन् । आफ्नो कामको प्रचार प्रसार सामाजिक सञ्जालमार्फत गर्न सिपालु राजकुमार ड्रोन मर्मतको भिडियो खिचेर फेसबुक, टिकटक र युट्यबमा राख्छन् । त्यसबाट धेरै फाइदा भएको राजकुमार बताउँछन् । सामाजिक सञ्जालबाट प्राप्त हुने सकारात्मक सन्देश नै प्ररेणाको स्रोत बनेको छ रे उनलाई ।   


देशभित्र अवसर नभएको, रोजगारी नपाएको तथा काम छैन भन्दै गलत भाष्य निर्माण गरेर विदेशिने जमात बढिरहेको बेला राजकुमार भने स्वअध्ययनका आधारमा नेपाली युवालाई सकारात्मक सन्देश दिइरहेका छन् ।


“सामान्य काम भनेर हेला नगरौँ । यस्तो प्राविधिक काममा धैर्यता, मेहिनत र लगनशिलता जरुरी पर्छ । परिवारको साथमा बसेर राम्रै कमाइ गर्न सकिन्छ”, उनले भने, “पैसा हावामा उडेको छ भन्दा धेरैले पत्याउँदैनन् । काम खोज्न खाडी मलेसिया र कोरिया जानै पर्दैन ।”   


ड्रोन मर्मतको काम आफूले मात्रै नगरेको अरुलाई पनि सिकाएको स्पष्ट पार्दै बताउँदै राजकुमारले भने, “सीप सिकौँ, दक्ष बनौँ, अवसर तपाईलाई खोज्दै आइपुग्छ । कही कतै जानै पर्दैन ।” हालसम्म १० जनालाई मर्मतको सीप सिकाएको जानकारी दिँदै राजकुमारले भने “मासिक एक लाखदेखि  तीन लाखसम्म सहजै कमाइ गर्न सकिन्छ ।”


अनामनगरमा उनले कार्यस्थलको नाम राखेका छन् चण्डेश्वरी क्यामरा मर्मत केन्द्र ।  विगत १४ वर्षदेखि भिडियो क्यामेरा मर्मत  गर्दै आएका तिमिल्सिना पछिल्ला दिनमा भने ड्रोन मर्मतलाई आफ्नो विशेष पेशा बनाएको बताउँछन् ।


फोटोग्राफी, भिडियोग्राफीमा ड्रोनको प्रयोग बढ्दै गएपछि मर्मत सम्भार गर्ने स्थानको अभाव हुन थाल्यो । त्यो अभावलाई सामान्य रुपमा भए पनि पूर्णता दिन पाउँदा आफूलाई धन्य ठानेको उनको भनाइ छ ।


भिडियो क्यामेरा मर्मतका क्रममा विभिन्न टेलिभिजन स्टेशनमा गए पनि काम गरेको पारिश्रमिक नपाएपछि ड्रोनलाई नै खास समय दिएको उनले सुनाए । नाम चलेका टेलिभिजनले नै पारिश्रमिक दिन कन्जुस्याई गरेकोे अमिलो स्मरण छ उनमा ।


“आफूले जानेको काम छाडेको त छैन, तर मुख्य काम भने यतिबेला ड्रोन मर्मत नै बनाएको छु । यसबाट सबैभन्दा बढी सन्तुष्टि मात्रै मिलेको छैन । कमाई पनि राम्रो भएको छ” उनले भने । 


महँगोमा खरिद गरेको ड्रोनमा सामान्य समस्या आउँदा पनि मर्मत गर्ने स्थानको अभाव हुँदा त्यत्तिकै थन्क्याउनुपर्ने बाध्यता थियो ।  ड्रोन बनाउन जान्ने दक्ष जनशक्ति कम हुदाँ महँगो मूल्यको ड्रोन कहाँ बनाउने भन्ने तनाव प्रयोगकर्तामा पनि उत्तिकै थियो ।


उनलाई यतिबेला ड्रोन मर्मतको कामले भ्याइ नभ्याई छ । देशभरका ड्रोन प्रयोगकर्ताको एकमात्र भरोसाका रुपमा आफूलाई पाएको उनी दावीका साथ भन्छन् । आजकल चण्डेश्वरी क्यामरा मर्मत केन्द्र राजकुमार ड्रोन हाउसबाट चिनिन थालेको छ ।


नेपालमा विसं २०७२ को भूकम्पपछि ड्रोन किन्ने र प्रयोग गर्नेको सङ्ख्या ह्वात्तै बढ्यो । यो १० वर्षको अवधिमा विवाह, व्रतबन्ध, वृत्तचित्र निर्माण, निजी तथा सरकारी कार्यक्रमदेखि ‘भ्लग’ बनाउन ड्रोनको अत्यधिक प्रयोग भएको छ । प्रयोग बढ्दै जाँदा मर्मतको काम उत्तिकै बढेको छ ।


तिमिल्सिना भन्छन्, “सक्कली समानको ग्योरेन्टीसहित ग्राहकको अगाडि नै मर्मत गर्ने गरेको छु । क्यामरा र भिडियो क्यामरामा लामो समयदेखि मर्मतको काम गरेकोले ड्रोन बनाउन मलाई धेरै समय नै लाग्दैन ।”  


देशैभरबाट मर्मतको लागि ड्रोन प्राप्त हुने गरेको उनको भनाइ छ । दैनिक तीनदेखि चार वटा ड्रोन मर्मतका लागि आइपुग्छ । अन्य स्थानमा नजानेका मानिसले मर्मतको नाममा बिगारी दिए भन्नेदेखि अब बन्दैन भनेका धेरै ड्रोन मर्मत गरेको उनको  दाबी छ ।


क्यामरा मर्मतबाट व्यवसाय सुरु गरेका तिमिल्सिना ड्रोन मर्मतको विज्ञका रुपमा चिनिएका छन् । नयाँ क्षेत्र भएकोले आम्दानी राम्रै हुने गरेको छ । प्रयोग बढ्दा स–सानो प्राविधिक समस्या आउनु स्वभाविक नै छ । छिटो मर्मत गर्नुपर्ने हुन्छ । खासमा मर्मत गर्न जान्ने दक्ष जनशक्तिको अभाव नै छ । कतिपयले चलाउन नजान्दा वा दुर्घटनामा पर्दा बिग्रिने गरेको छ । खासमा दुर्घटना भयो भने ड्रोनमा धेरै समस्या आउँछ ।


पछिल्लो युवा पुस्ता प्राविधिक क्षेत्रमा खासै रुची देखाउँदैनन् । नेपालमै केही गर्नेभन्दा पनि अध्ययनको नाममा वैदेशिक रोजगारीमा जाने लहडका कारण अथाह सम्भावना र राम्रो कमाई हुने यस क्षेत्रमा जनशक्तिको अभाव छ ।


राजकुमार सुरुमा त्रि–चन्द्र कजेलमा साइन्स पढ्न भर्ना भएका थिए । तर उनलाई विषय लाग्यो । उनलाई त्यसमा पढ्नै मन लागेन ।  विषय लागेपछि टेलिभिजन ममर्तको काम सिक्न अनामनगर आएका थिए । त्यो दिन मेरा लागि रुचीकर थिएन । तर, आज नाम र दाम दुवै प्राप्त हुँदा सही निर्णय गरिएछ भन्ने लागेको छ रे उनलाई ।


विज्ञान पढन गएको छोरो अनुत्तीर्ण भएर फर्केपछि उनलाई घरमा बुवाले चित्त दुखाएर भने, “यसले गरिखाँदैन, अब तँ विदेश जा ।” पढाइ पनि छैन, काम पनि छैन, विदेश जानुबाहेक अरु कुनै विकल्प नभएको बेला आफू संयोगले क्यामेरा र टेलिभिजन मर्मतका लागि अनामनगर आइपुगेको स्मरण गर्छन् तिमिल्सिना ।  


“जब मलाई प्रविधि क्षेत्र र मर्मतको काममा रुची बढ्यो, तब मैले विज्ञानलाई अर्कै तरिकाले अध्ययन गर्ने सोच बनाए । खास अध्ययन भने मानविकी तर्फ सारे । काम भने यही मर्मतलाई नै बनाए । यसैलाई खास पेसाका रुपमा रुपान्तरण गरे”,  विगत सम्झदै तिमिल्सिनाले भने ।  


“सुरुमा टेलिभिजन मर्मतको धेरै नै माग थियो । त्यही सिके र जाने पनि” त्यसपछि क्यामरा, भिडियो क्यामरामा तर्फ लागेको उनको भनाइ छ ।  क्यामरा र भिडियो क्यामरा मर्मतबाट राम्रो आम्दानी हुन थाल्यो । अनामनगरको त्यही सटर जहाँ १४ वर्षदेखि तिमिल्सिनाको काम लगातार चलिरहेको छ । जहाँबाट काम सुरु गर्नुभएको थियो । त्यही स्थानलाई ड्रोन हाउसको नाम दिएको उनको भनाइ छ । भिडियो क्यामेरा मर्मतका लागि लोकप्रिय बनेको अनामनगरको उहाँको सटरले आजकल नयाँ नाम पाएको छ ड्रोन हाउस ।


व्यावसायिक फोटो भिडियो ग्राफर, फोटो÷भिडियो पत्रकार, फोटो स्टुडियोका सञ्चालकले आफनो सामान मर्मत गर्ने सेन्टर बनेको छ उहाँको सटर । अझ पछिल्लो समय ड्रोनको मर्मतको कामले उनलाई फुर्सद नै छैन ।


मानविकी सङ्कायबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेपछि राजकुमारलाई अन्य पेसामा जान मन लागेन । पढेपछि सरकारी र अन्य स्थानमा जागिर खाने सोच धेरैको भए पनि उनले प्राविधिक क्षेत्रमा नै आफ्नो भविष्य देखेको सगौरव बताए । अहिले नाम दाम दुवै कमाएको भन्दै उत्साहित देखिएका उनी विदेश दौडन खोज्ने युवालाई सुझाव दिन्छन्, “किन जाने विदेश यहाँ अवसरै अवसर छ । पैसा नै पैसा छ ।”


यही मर्मतको काम गरेर उनले घर–घडेरी जोडेका छन् । पढेर काम पाइएन भनेर विदेश जाने युवा पुस्तालाई उनको सन्देश छ “विदेशमा गर्ने मेहिनत र जान लाग्ने पैसा नेपालमै प्राविधिक क्षेत्रमा लगानी गर्ने हो भने विदेशमा भन्दा बढी पैसा नेपालमै कमाइन्छ ।”


यसरी गर्नुस् ड्रोनको सुरक्षित प्रयोग

फोटोग्राफी वा भिडियोग्राफीका लागि ड्रोनको प्रयोग गर्नेहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा त्यसको सुरक्षित प्रयोग गर्नु उत्तिकै जरुरी छ । तिमिल्सिनाका अनुसार आकर्षक भिडियो तथा फोटोका लागि ड्रोन उडाउने गरिन्छ । सरकारसँग अनुमति लिएर नियम पालना गर्दै ड्रोन उडाउनुपर्ने उनको सुझाव छ ।


“जथाभावी अनुमति नै नलिई हतारमा लुकरे ड्रोन उडाउँदै नउडाउनुस् । यससँगै ड्रोन सुरक्षित राख्न पनि केही कुरा ख्याल गर्न जरुरी छ”, उनले भने ।


  उनले ड्रोनको सुरक्षित प्रयोग कसरी गर्ने भन्ने बारेमा आफ्ना केही सुझाव दिएका छन् । बजारमा विभिन्न ब्रान्डका ड्रोन पाइन्छन् । निर्माता कम्पनीले उपलब्ध गराएको म्यानुअल पढेर मात्रै ड्रोन चलाउन थाल्नु पर्छ । यसमा ड्रोनको मोडल र यसलाई चलाउने तरिकाबारे धेरै कुरा उल्लेख गरिएको हुन्छ ।


यस्तै प्रि–फ्लाइट हरेक फ्लाइटअघि परीक्षण गर्नुस् । कुनै क्षति, नटबोल्ट लुज भएको, कुनै पार्टस् नचलेकोलगायत समस्या पहिल्यै थाहा हुन्छ । कहिल्यै पनि ब्याट्री ओभर चार्ज गर्नुहुन्न । यस्तै चार्ज अफ हुने गरी पनि राख्नुहुन्न ।  कम्पनीले दिएको निर्देशनअनुसार भोल्टेज लेभल मिलाएर राख्नुपर्छ ।


ड्रोनलाई फोहोर र धुलोबाट जोगाउनुपर्छ । मोटर्स, प्रोपेलर्स वा अन्य ठाउँमा भएका धुलो र फोहोरलाई हटाउन नरम ब्रसको प्रयोग गर्न सकिन्छ । तर, इलेक्ट्रोनिक्स पार्टस् नबिग्रियोस् भन्नेमा सतर्क रहनुपर्छ । तपाईंको ड्रोनमा गिम्बल छ भने यसलाई होसियारीपूर्वक चलाउनुपर्छ । गिम्बल र क्यामेरा लेन्सलाई माइक्रोफाइबर कपडाले नियमित सफा गर्नुपर्छ । ता कि फुटेज क्लियर आओस् ।


डोनलाई सीधा घामको प्रकाश पर्ने ठाउँमा राख्नु हुन्न । यसलाई फोहोर धुलोबाट जोगाउन सुरक्षित केस वा ब्यागमा राख्नुपर्छ । ता कि एक ठाउँबाट अर्को ठाउँमा लग्दा पनि कुनै फरक नपरोस् । ड्रोनको सेन्सर, कम्पास, आइएमयू (इनर्सियल मेजरमेन्ट युनिट) लाई कम्पनीले दिएको सिफारिसअनुसार मिलाउने गर्नुपर्छ ।


यसो हुँदा उडान राम्रो हुन्छ । कस्तो वातावरणमा ड्रोन उठाउने भन्ने पनि ख्याल गर्न जरुरी छ । तीव्र हावा चलेको, हिउँ परिरहेको, पानी परिरहेको, झरना आसपास ड्रोन उठाउँदा बिग्रने जोखिम रहन्छ । निषेधित क्षेत्रमा ड्रोन उडाउँदा सिज पनि हुन सक्छ ।


हरेक उडानपछि ड्रोनको अवस्था जाँच गर्नुपर्छ ।  कुनै समस्या देखिए वेलैमा मर्मत गर्नुपर्ने हुन्छ । यदि कुनै प्राविधिक समस्या देखिएमा, त्यस समस्याका विषयमा थाहा नभएमा  प्राविधिक वा विज्ञसँग परामर्श, मर्मत केन्द्रमा मर्मत गर्नुपर्ने हुन्छ ।


तिमिल्सिनालाई इजरायल, अमेरिका र भारतबाट ड्रोन मर्मतका लागि बोलावट आएको र उतै बस्ने प्रस्ताव पनि आएको थियो । तर देशभित्रै दक्ष जनशक्ति तयार गर्ने र थप अवसर सिर्जना गरी देशभित्रै बस्ने मनसायका साथ जस्तोसुकै प्रस्ताव आएपनि स्वीकार नगर्ने उनले बताए ।

पाँच सय भन्दाबढी ड्रोन उडानका लागि दर्ता

नेपालमा हालसम्म पाँच सय बढी ड्रोन उडानका लागि दर्ता भएका छन् । सरकारी, निजी तथा व्यक्तिगत रूपमा नेपालमा ल्याइएका मध्ये ती सङ्ख्यामा ड्रोन दर्ता भएको नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ । पाँच सय ड्रोन दर्ता भएकामा एक सय वटा त सरकारी कार्यालयले ड्रोन दर्ता गराएका छन् ।


दर्ता भएपछि प्राधिकरणले एउटा युनिक आइडेन्टिफिकिशेन नम्बर’ उपलब्ध गराउने गरेको छ । देशभित्रै खरिद गरेको भए मूल्य अभिवृद्धि कर (भ्याट) बिल र विदेशबाट ल्याएको भए भन्सारसहितको बिल पेस गर्नुपर्ने व्यवस्था छ । दर्ता भइसकेपछि प्राधिकरणले उपलब्ध गराएको ‘ युनिक आइडेन्टिफिकिशेन नम्बर’ ड्रोनमा सुरक्षितसाथ टाँस्नुपर्छ ।


कूल २५० ग्राम वा सोभन्दा कम तौल भएका ड्रोन दुई सय फिटसम्म उडान गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ । दुई सय ५० भन्दा बढी तौल भएमा गृह मन्त्रालयसँग अनुमति लिनुपर्छ । सुरक्षा निकायले ड्रोन उडान गर्दा सम्बन्धित मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्छ । २५ केजीभन्दा बढी तौलको ड्रोन उडान गर्दा तेस्रो पक्ष बीमा अनिवार्य छ ।


विमानस्थलभित्रको पाँच किलोमिटर वरिपरि ड्रोन उडान गर्न पाइँदैन । अन्तर्राष्ट्रिय सीमा क्षेत्रको पाँच किलोमिटर भित्रमा पनि उडान गर्न पाइँदैन । पर्यावरणीय र जैविक महत्वको दृष्टिले संरक्षित क्षेत्र, आरक्ष तथा खनिज क्षेत्रका स्थानमा ड्रोन उडान गर्न पाइँदैन ।


सुरक्षा कारबाही भइरहेको दङ्गाग्रस्त क्षेत्र, सङ्घीय, प्रदेश र स्थानीय सरकारले समय–समयमा सूचनामार्फत जानकारी गराइएको क्षेत्रमा उडान गर्न मिल्दैन । सैनिक वा सुरक्षा निकायको मुख्यालय, तालिम केन्द्र अवस्थित क्षेत्रको एक हजार मिटर र अन्य सुरक्षा एकाइ रहेको पाँच सय मिटरको आसपासमा उडान गर्न पाइँदैन ।


काठमाडौँ उपत्यकाभित्र माइतीघर मण्डला, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, बुढानिलकण्ठ, दरबार स्क्वायर क्षेत्र (काठमाडौँ, भक्तपुर र ललितपुर)  लगायतका धार्मिक तथा सम्पदा क्षेत्रमा उडान गर्न पाइँदैन ।


सिंहदरबार क्षेत्र, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री कार्यालय वा विशिष्ट पदाधिकारीको कार्यालय वा निवास वरपरको एक हजार मिटर वरपर उडान गर्न पाइँदैन । उपत्यका बाहिर स्थानीय प्रशासन वा अधिकार प्राप्त निकायले निर्धारण गरे अनुसारका धार्मिक, पुरातात्विक ऐतिहासिक वा नियन्त्रित घोषणा गरिएका क्षेत्रमा उडान गर्न पाइँदैन ।


खासगरी, पछिल्ला दिनमा कृषि क्षेत्रमा ड्रोनको प्रयोग हुन थालेको छ । सगरमाथा खुम्बु क्षेत्रमा फोहोर संकलनका लागि चिनियाँ ड्रोन निर्माता डीजेआई (दा जियांग चुआंगसिन) ले खुम्बु पासाङल्हामु गाउँपालिकासँग सहकार्य गरी सफलतापूर्वक परीक्षण गरिसकेको जनाएको छ ।


सो कम्पनीले सगरमाथाको नेपाल तर्फको आधार शिविरबाट ड्रोनको परीक्षण उडान गरेको जानकारी दिएको छ । योसँगै उच्च उचाइमा पर्वतारोहण, आपतकालीन उद्धार र पर्यावरण संरक्षणमा सहजीकरण गर्ने बाटो खुलेको छ । यसबाट पनि ड्रोनको प्रयोगमा बढोत्तरी हुँदै गएको सहजै अनुमान गर्न सकिन्छ । सुरक्षित उडानका अलावा यसको संवेदनशिलतालाई ख्याल गरेर अगाडि बढ्नु नै आजको उत्तम विकल्प हो ।

सिरी ए फुटबलमा युभेन्टसको लगातार दोस्रो जित

काठमाडौँ । इटालियन सिरी ए फुटबलमा युभेन्टसले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसले भेरोनालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा डुआन भालोभिकले २ गोल गर्दा निकोलो साभोनाले एक गोल थपेका थिए । भेरोनाको मैदानमा पाहुना टोली युभेन्टसले २८ औँ मिनेटमा अग्रता लिएको थियो ।

भालोभिकले केनन एल्डिजको पासमा गोल गरेका थिए । ३९ औँ मिनेटमा निकोलो साभोनाले स्यामुएल जर्मेन तासिफुन्डाको पासमा गोल गरेपछि पहिलो हाफमा युभेन्टस २–० ले अघि रहेको थियो ।

५३ औँ मिनेटमा भालोभिकले पेनाल्टीमा गोल गरेपछि युभेन्टस ३–० को अग्रता बनाउन सफल भयो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै यो सिजनमा लगातार दोस्रो जीत निकाल्न सफल भयो ।

भेरोनाको भने यो पहिलो हार हो । इटालियन सिरी ए कै अर्को खेलमा काग्लीअरी र कोमोले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होइनन्

जेपी गुप्ता ।
सोमबार गौरा पर्व मनाउन टुँडिखेलमा जम्मा भएको भीडले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हुटिङ गरेको बडो चर्चा छ । देउवा बोल्न थाल्दा होहल्ला चर्किएपछि देउवा कड्किए–‘लाज पनि छैन। अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरु, यही हो नेपालको संस्कृति ? यही हो नेपालको चलन ? यही सिकेर आएको ? बकवासहरु ।’
गौरा पर्व मनाउन आएकाहरू देख्दा देउवाको बिरोध गरेको देखिएपनि प्रत्यक्षदर्शीहरूका अनुसार भीडले आफूहरुलाई नेताहरु नचाहिने भन्दै मुर्दावादको नारा लगाएको थियो । हालका विरक्तलाग्दो राजनीतिक परिस्थितिमा यो एक प्रतिनिधिमूलक घटना हो । केही अघि यस्तो भएको भए काँग्रेसजनले यसलाई सायद देउवाकाबिरूद्ध ओलीको षड्यन्त्र भन्न सक्थे । यहाँ ओली स्वयं मञ्चमा थिए । उनले यस हुलहुज्जतको भर्त्सना पनि गरेका छन् । प्रचण्डको प्रतिकृया ज्ञात भएन, यद्यपि प्रचण्ड समेतकाविरूद्धको घान हो यो । समग्रमा नेताहरू प्रतिको वितृष्णा भनौं ।

मेरो विचारमा यसो हुनु हुदैन्थ्यो, भयो । यसअघि स्वयं प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल आदि सबैसँग यस्तो भैसकेको छ । सायद फेरि फेरि हुँदै जाने होला । अहिलेको साल–सम्वत्को दिशा यस्तै देखिन्छ ।
आज देउवा रिसाए । स्वभाविक पनि हो । सबै पालैपालो रिसाउँछन् । टुँडिखेल धेरै कुराको साक्षी छ, भलै यसको अभिलेख कतै नहोला । कुनै समय जनमत संग्रहको परिणामलाई बिपी कोइरालाले स्वीकार्दा यस्तै भएको थियो । पहिलो जनआन्दोलन पछि गिरिजाप्रसाद कोइरालाले ‘यो सबैको जित हो, राजाको पनि’ भनी बोल्दा उनि तारो बनेका थिए । त्यसअघि बि.स. २०३६ को विद्यार्थी आन्दोलन पश्चात ‘जनमत संग्रहको घोषणा” स्वीकार्दा त्यसबेलाका विद्याथी नेताहरू बलबहादुर केसी तथा शरण बिक्रम मल्ललाई त्यही टुँडिखेलमा जम्मा भई निस्केका भीडले जुत्ताको माला, कालोमोसो दली ठेलामा घुमाएका थिए। स्वयं बिपी कोइरालाले त्यहीँ आयोजित सभामा शेरबहादुर देउवा, जो त्यसबखत थोरै नाम चलेका नेपाल विद्यार्थी संघका सभापति थिए–उनलाई ‘शेरे सुदूरपश्चिमाञ्चल” भनेका थिए। बिपीको त्यसबेला देउवालाई राष्ट्रिय राजनीतिको परिदृश्यमा पुर्याउने एक विचारित पहल थियो त्यो । उही शेरबहादुर आज सुदूरपश्चिमेहरूकै घानमा परेर संयमता गुमाएको देखियो ।

तर, चुरो कुरो त के हो भने–यो जनताको रोष हो । यसको विवेक भनेकै ‘रोष’ हो । यस्ता रोषहरूले बदलाव ल्याईदिन्छ । राजाहरूलाई फ्याँकिदिन्छ। राष्ट्रपिता भनिनेहरूको सालिकलाई ढालिदिन्छ । विश्वयुद्धका विजेताहरूलाई चुनावमा सोत्तर पारिदिन्छ । हजारौं हजार उदाहरणहरू छन् यसका ।हिजोअस्ती नै काठमांडूमा कतै बालेन साहको ठूलो क्रेज देखिएको थियो । जनताले विशाल समर्थन जनाएको चर्चा सेलाएको पनि छैन । एक पटक बसन्तपुर दरबारको बार्दलीमा राष्ट्रपति समेतको उपस्थितिमा बालेन बालेन भएको थियो । विचरा राष्ट्रपतिलाई हिनताबोध भयो होला । यस्तो भैरहन्छ । जबकी, यस्तो भैरहनु हुँदैन । यसको सन्देश तथा संकेत बुझ्नु पर्दछ ।

यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होइनन् । अब देउवा, ओलीहरू बुज्रुग भए । उनीहरूलाई लाग्दो हो–’बुज्रुगहरूले समाजलाई दिशा दिन्छ । काँग्रेस वा कम्युनिष्टको बलको मियो हुन् समाजका बुज्रुगहरू । हुल्लडबाजहरूले केही गर्न सक्दैनन्।’ यसो सोच्दा त हुन्छ, जबकी यस्तो सोचाई उनीहरूका लागि घाटाको कुरो हुनेछ ।

नेपालको जनसंख्यामा ६५ वर्ष नाघेकाहरूको जनसंख्या ५.९०% छ। यस्ता बुज्रुगहरू आज त्यहाँ थिएनन् होला । उनीहरू यसो गर्दैनन् होला। यसो गर्ने त १५–४४ उमेर समूहका युवाहरू हुन्छन् । जसको जनसंख्या कूल जनसंख्याको ५०.३७% छ। यो सत्य तथ्यांक हो । सरकारहरू त चुनाव जित्न निर्वाचनको आचारसंहिताले बन्देज न लाउन्जेलसम्म सचिवहरू, प्रहरीका महानिरीक्षकहरू, अख्तियारका आयुक्तहरू, यस्तै यस्तैले सरकार बनाउन, आफ्ना पार्टीलाई विजयी बनाइदिन मद्दत गर्नेछन् भनेर यस्तै राजकीय उपक्रम तिर लागेका हुन्छन् । अनि यो बारूदको गोलो, १५–४४ उमेर समूहका ५०.३७ प्रतिशतकाहरूले चालै नदिइकन दलहरूको स्थितिलाई उल्टोपुल्टो बनाइदिन्छ । किनभने यिनीहरूलाई टुँडिखेलबाट जे भनिएपनि तिनीहरू ‘भोटर’ हुन् । मतदाता हुन् ।

यिनका पनि त केही कुरा होलान् ? जस्तो कि आज टुँडिखेलमा देउवाले बोल्दा तलबाट आवाज आयो–‘हामी नेताहरूलाई सुन्न आएको होइन।’बस्, यति नै हो नेताहरूले बुझ्नु पर्ने कि तिनीहरूले किन यसो भने कि ‘हामीहरू नेतालाई सुन्न आएको होइनौं।’ बस् यति बुझ्नुस् । आशा जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधानमन्त्री भै रहनुस् ! यिनैले हिजो, कुनै समय ‘शेरे सुदूरपश्चिम जिन्दावाद’ भनेका थिए ।

कोशी, बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ भने कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

एकीकृत समाजवादीमा पदाधिकारी र पोलिटब्युरो सदस्य छनोटका लागि आज निर्वाचन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन हुँदैछ ।

सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गरी प्रक्रिया अगाडि बढाएको छ ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्यका छनौटका लागि निर्वाचन गर्न लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ ।

उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम आज बिहानदेखि सुरु भई, दिउँसो २ देखि पाँच बजेसम्म मतदान र साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ । केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् ।

सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ । केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।

जर्मनीले अफ्रिकालाई एक लाख एमपक्स खोप प्रदान गर्ने

जर्मनीले अफ्रिकाका एमपक्सबाट पीडित देशहरूलाई एक लाख एमपोक्स खोपको खुराक दान गर्ने सरकारले जनाएको छ । 

सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेटले पत्रकारहरूलाई खोपहरू जर्मन सैन्य स्टकहरूबाट आउने र ‘छोटो अवधिमा’ उपलब्ध गराइने जानकारी दिए ।

उनले यसको उद्देश्य ‘अफ्रिकी महादेशमा एमपक्स नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूको ऐक्यबद्धतामा समर्थन गर्नु रहेको बताए ।

रक्षा मन्त्रालयलका अनुसार उक्त कदमबाट जर्मनीले आफ्नो करिब सबै एमपक्स खोप भण्डार अर्थात करिब एक लाख १८ हजार खुराक दान गर्नेछ ।

जर्मनीले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई वित्तीय सहयोग प्रदान गर्नुका साथै गाभी भ्याक्सिन अलायन्समार्फत अफ्रिकामा साझेदारहरूलाई सहयोग गरिरहेको हेबेस्ट्रेटले बताए ।

मध्यम अवधिमा जर्मनीले अफ्रिकी सङ्घलाई स्थानीय खोप उत्पादन स्थापनार्थ सहयोग गर्न युरोपेली साझेदारहरूसँग काम गर्नेछ ।

डब्लुएचओले यस महिना प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट अन्य अफ्रिकी राष्ट्रहरूमा एमपक्स केसहरूको वृद्धिलाई विश्वव्यापी स्वास्थ्य आपत्कालीन घोषणा गरेको छ । सङ्गठनले खोपको उत्पादन र साझेदारीका लागि पनि आह्वान गरेको छ ।

प्रभावित देशहरूलाई एक लाख एमपक्स खोप खुराक दान गरिरहेको फ्रान्सले गत हप्ता घोषणा गरेको थियो । अमेरिकाले कङ्गोलाई ५० हजार खोप दान गर्ने बताएको छ ।

उक्त भाइरस सम्पूर्ण कङ्गोमा फैलिसकेको छ । यस वर्ष हालसम्म कङ्गोमा पाँच सय ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । बुरुन्डी, केन्या, रुवान्डा र युगान्डा जस्ता अन्य देशमा जुलाईदेखि प्रकोप रिपोर्ट गरिएको छ । युरोपमा पहिलो केस यस महिनाको सुरुमा स्विडेनमा रिपोर्ट गरिएको थियो ।

भेनेजुएलाका निर्वाचन अधिकारीद्वारा ‘अनियमितता’ को निन्दा

भेनेजुएलाको राष्ट्रिय निर्वाचन परिषद् (सिएनई) का एक मात्र विपक्षी सदस्यले गत महिना राष्ट्रपति निकोलस मदुरोको पुनःनिर्वाचनमा भएको ‘अनियमितता’ लाई औँल्याएका छन् । 

“राष्ट्रपति निर्वाचनअघि, निर्वाचनका क्रममा र पछि भएका सबै कुराले घोषित परिणामहरूको पारदर्शिता र सत्यताको कमीको गम्भीरतालाई देखाउँछ”, जुआन कार्लोस डेलपिनोले सामाजिक सञ्जालमा एक विज्ञप्ति पोस्ट गर्दै भने । 

विपक्षीले निर्वाचन जितेकामा जोड दिएका छन् भने संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ (इयु) र धेरै ल्याटिन अमेरिकी मुलुकहरूले मदुरोको जितलाई मान्यता दिन अस्वीकार गरेका छन् । 

लुकेर बसेका डेलपिनोले भने, “सन् २०२४ जुलाई २८ को निर्वाचन प्रक्रियामा भएका अनियमितताहरू र निर्वाचनको दिनभन्दा अघि र पछि आएका कठिनाइका कारण प्रक्रियाको निष्ठा र घोषित परिणाममाथिको विश्वास गुमेको छ ।”

उनले मतदान केन्द्रहरूबाट परिणामहरूको प्रसारण अवरोधलाई सङ्केत गरे । अधिकारीहरूले अवरोधका लागि साइबर आक्रमणलाई दोष दिएका छन् । 

सिएनई परिषद्का पाँच सदस्यमध्ये एक डेलपिनोले मतदान समाप्त भएपछि विपक्षी पर्यवेक्षकहरूलाई मतदान केन्द्रहरूबाट निष्कासित गरिएको बताए ।

भेनेजुएलाको सर्वोच्च अदालतले बिहीबार तेस्रो पटक ६ वर्षको कार्यकालका लागि मदुरोको पुनर्निर्वाचनलाई प्रमाणित गरेको थियो । सर्वोच्च अदालतलाई मदुरोप्रति वफादार मानिन्छ ।

ह्याकरहरूले तथ्याङ्कलाई दूषित गरेको भन्दै सिएनईले विस्तृत परिणाम प्रकाशित गर्ने मागलाई अस्वीकार गरेको छ । 

क्यानाडाले चिनियाँ विद्युतीय सवारी साधनमा शतप्रतिशत शुल्क लगाउने

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार चिनियाँ विद्युतीय कार आयातमा शतप्रशित कर लगाउने घोषणा गरेका छन् । यो उत्तरी अमेरिकामा चिनियाँ राज्य–अनुदानित कारहरूको बाढीलाई रोक्ने अमेरिकी उपायसँग मेल खान्छ ।

विद्युतीय सवारी साधन (इभी) को विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता चीनमाथि वातावरणीय श्रम मापदण्डजस्ता क्षेत्रहरूमा ‘अन्य मुलुकजस्तै समान नियम पालना नगरेको’ आरोप लगाउँदै उनले चीनबाट आयात हुने स्टिल र आलुमिनियम उत्पादनमा पनि २५ प्रतिशत अतिरिक्त कर लगाइने बताए ।

संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ (इयु) ले हालैका महिनाहरूमा चिनियाँ इभीमाथि क्रमशः शतप्रतिशत र ३८ प्रतिशत कर लगाएका छन् ।

क्यानाडाको अटो निर्माण उद्योगले एक लाख २५ हजारभन्दा बढीलाई रोजगारी दिएको छ र ओटावाले इभीमा आफ्नो सङ्क्रमणलाई समर्थन गर्न तथा घरेलु विद्युतीय बेट्रीको आपूर्ति शृङ्खला बलियो बनाउन अर्बौं डलर लगानी गरेको छ ।

ओटावाले उसको महत्त्वपूर्ण खनिज उत्खनन क्षेत्रमा नयाँ चिनियाँ लगानीमाथि पनि रोक लगाएको छ ।

“चिनियाँ इभीको अत्यधिक उत्पादन र उसको अटो क्षेत्रका लागि राज्यको ठूलो अनुदानका कारण हामीले कारबाही गर्न आवश्यक छ”, क्यानाडाको अटलान्टिक तटमा रहेको ह्यालिफ्याक्समा पत्रकार सम्मेलनमा प्रधानमन्त्री ट्रुडोले भने, “हामी दौडमा तल जान नचाहेसम्म हामी उभिनुपर्छ र हामीले यही गरिरहेका छौँ ।”

एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि मंगलबार निर्वाचन हुने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि निर्वाचन हुने भएको छ ।

सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गरी प्रक्रिया अगाडि बढाएको छ ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्यका छनौटका लागि निर्वाचन गर्न लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ ।

उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम मङ्गलबार बिहानदेखि सुरु भई, दिउँसो २ देखि पाँच बजेसम्म मतदान र साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ ।

केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ । केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।

गौरा पर्वको कार्यक्रममा पुगेका नेताहरुविरुद्ध नाराबाजी

काठमाडौं । काठमाडौंको टुँडिखेलमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिन पुगेका नेताहरुविरुद्ध नाराबाजी भएको छ ।

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, पर्यटनमन्त्री बद्री पाण्डेलगायतका नेता उपस्थित कार्यक्रममा उनीहरुविरुद्ध नाराबाजी भएको हो । युवाहरूको समूहले प्रधानमन्त्री ओलीको नाम नै लिएर नाराबाजी गरेका थिए ।

नेताहरुविरुद्ध नाराबाजी भएपछि कांग्रेस सभापति देउवा रिसाए । उनले कार्यक्रम बिथोल्न लागिएको भन्दै आपत्ति जनाए ।

आक्रोसित हुँदै उनले भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन । यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’ उनले कार्यक्रम विथोल्न खोज्नेलाई जनताले ठिक पार्ने बताए । काठमाडौंमा बसोबास गर्दै आएका सुदूरपश्चिमवासीले सोमबार गौरापर्व मनाएका हुन् ।

ओमानका विदेशमन्त्री काठमाडौंमा

काठमाडौँ । ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार अपराह्न काठमाडौं आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी छन् ।


उनी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् । भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् । उनी भोलि भदौ ११ गते काठमाडौँबाट स्वदेश फर्किने कार्यतालिका छ ।

साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

काठमाडौँ । साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने भएको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–४ गोलले हराउँदै बंगलादेशले नेपालसँगको भिडन्त पक्का गरेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको हो। जसमा बंगलादेशका गोलकिपर मोहमद आशिफले भारतका दुई खेलाडीको पेनाल्टी सेभ गरेका थिए ।

नेपालले आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमै हराउँदै फाइनल यात्रा तय गरिसकेको छ । फाइनल खेल आगामी बुधबार दशरथ रंगशालामा हुनेछ ।

न्युजिल्याण्डमा डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना

‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ ।

भारतबाट आयातित नौनी घ्यू बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ को भएको झूटो दाबी गरेको आरोपमा डेरी कम्पनीलाई कारबाही गरिएको हो ।

न्युजिल्यान्डको वाणिज्य आयोगले डेरी कम्पनी मिल्कियो फुड्स लिमिटेडलाई आफ्नो नौनी घ्यू उत्पत्तिको बारेमा झूटो दाबी गरेको आरोपमा सोमबार दुई लाख ६१ हजार ४५२ अमेरिकी डलर जरिवाना गरेको छ ।

ह्यामिल्टनस्थित उक्त फर्मले भारतबाट घ्यू तथा दुधजन्य सामान आयात गर्ने र ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’ डेरी उत्पादनजस्ता दाबीका साथ ग्राहकलाई आफ्नो घ्यू उत्पादनबारे झट्टा प्रचार गरी ग्राहकलाई भ्रममा पारेको वाणिज्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

न्यूजिल्याण्डको कृषि–सञ्चालित उद्योगले उच्च गुणस्तरको डेरी निर्यातमा गर्व गर्दछ र विदेशी ग्राहकहरू यसको समृद्ध चरनबाट प्राप्त हुने दूध र मक्खनको लागि लालायित हुने गर्छन् ।

वाणिज्य आयोगका प्रवक्ता भेनेसा होर्नले भन्नुभयो, “मिल्कियोले न्यूजील्याण्डमा निर्मित उत्पादनहरू पहिचान गर्न एक विश्वसनीय प्रतीक (फर्नमार्क लोगो) को प्रतिष्ठाको फाइदा उठाउँदै अन्य उत्पादनलाई बढावा दिएको पाइएपछि जरिवाना गरिएको हो ।

कम्पनीले ‘फर्नमार्क लोगो’ प्रयोगका लागि स्वीकृति प्राप्त गर्न गलत र अपूर्ण जानकारी पनि प्रस्तुत गरेको थियो ।

मिल्कियोले न्युजिल्यान्डको ‘शुद्ध व्यवसाय ऐन (फेयर ट्रेडिङ एक्ट) को धारा १५ उल्लङ्घन गरेको स्वीकार गर्दै उचित अनुमति बिना फर्नमार्क लोगो र लाइसेन्स नम्बर प्रयोग गरेको स्वीकारेको छ ।

होर्नले भने, “यो सजायले न्युजिल्यान्ड ब्रान्डलाई झुटो दाबी गर्न खोज्ने अरूका लागि चेतावनीको रूपमा काम गर्नुपर्छ ।”

दक्षिणपश्चिमी पाकिस्तानमा भएका विभिन्न आक्रमणमा ३९ जनाको मृत्यु

पृथकतावादी लडाकूसमूहले दक्षिणपश्चिमी पाकिस्तानमा रातभर विभिन्न स्थानमा गरेका आक्रमणमा परी ३९ जनाको मृत्यु भएको सरकारी अधिकारीले सोमबार बताएका छन् ।

बलुचिस्तान प्रान्तीय सरकारका प्रवक्ता शाहिद रिन्दले भने, ‘बलोच लिबरेशन आर्मीका लडाकूहरूले गरेका विभिन्न समन्वयात्मक आक्रमणमा ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।’

सोमबार बिहान मुसाखाइल जिल्लामा भएको सबैभन्दा ठूलो आक्रमणमा २२ जनाको मृत्यु भएको थियो । आक्रमणकारीले पञ्जाबबाट आउने र जाने सवारी साधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानेको स्थानीय अधिकारीले बताएका छन् । मृत्यु हुनेमा १९ जना पञ्जाबी र तीन जना बलोच सर्वसाधारण रहेका छन् ।

राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

पाटन (ललितपुर) । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गरेका छन् ।

राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गरेका हुन् ।

यसअघि कृष्णमन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुरबाट निर्वाचित सङ्घीय सांसदहरु, बागमती प्रदेशसभा सदस्यहरु, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, ललितपुर महानगरका कार्यवाहक प्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतले स्वागत गरेका  थिए ।

मन्दिर दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गरेका थिए । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखद्वारा हरेक वर्ष कृष्ण मन्दिरमा दर्शन गरी पूजाआजा गर्ने परम्परा रहेको छ ।

भगवान् श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । ललितपुरको पाटनस्थित कृष्णमन्दिरका साथै मुलुकभरका कृष्णमन्दिरहरुमा आज दिनभर भक्तजनको घुइँचो लागेको छ ।

नेपाली समाजलाई बिथोल्न प्रयास सफल हुँदैनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन् ।

टुँडिखेलमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्चिमबाट सुरु भएको गौरा पर्व नेपालको मौलिक पर्व भएको उल्लेख गरे ।

प्रसूतिगृहबाट एकवर्षमा ३० हजार महिलाले लिए प्रसूति सेवा

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आर्थिक वर्ष २०८०/८१ मा कुल ३० हजार नौ सय ५२ महिलाले सेवा लिएका छन् । प्रसूतितर्फ २५ हजार एक सय १६ तथा स्त्री रोगतर्फ पाँच हजार आठ सय ३६ जनाले अस्पतालबाट सेवा लिएका थिए ।

अस्पतालले सोमबार ६५औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा यहाँ आयोजना गरिएको कार्यक्रममा अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले गत आर्थिक वर्षमा नवजात शिशु सघन उपचारतर्फ दुई हजार सात सय ८७ र मातृ सघन उपचारतर्फ चार सय ५४ जना भर्ना भएका जानकारी दिए । बहिरङ्ग सेवातर्फ एक लाख ९४ हजार चार सय ९० जनाले सेवा लिएको उनले बताए ।

विसं २०१६ भदौ १० गते श्री कृष्ण जन्माष्टमीको दिनमा ४० शय्याबाट स्थापना भएको अस्पतालमा हाल चार सय ८९ शय्या सञ्चालनमा छन् ।

निर्देशक डा अधिकारीले अस्पतालको वार्षिक गतिविधि बारे प्रकाश पार्दै प्रसूतितर्फ भर्ना भएका २५ हजार एक सय १६ मध्ये २२ हजार तीन सय ७९ जना प्रसूति डेलिभरी भएको उल्लेख गर्दै उनीहरुले २२ हजार ६ सय १३ शिशुलाई जन्म दिएको बताए ।

उनले भने, “कूल डेलिभरीमध्ये नौ हजार ६ सय ५२ जना (४३ प्रतिशत) को शल्यक्रिया गरिएको थियो । सो सङ्ख्या गत आवको तुलनामा चार प्रतिशतले बढी हो ।”

गत आवमा नौ हजार ११ निःसन्तान सम्बन्धी सेवग्राहीले ओपिडिबाट सेवा लिएका थिए । जसमध्ये दुई सय २२ महिलाले आइयुआई सेवा र २० निःसन्तान सेवाग्राहीले आईभिएफ सेवा लिएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा नेपालमा नै पहिलोपटक ‘नियोनेटल स्क्रिनिङ टेष्ट’को कार्य सो अस्पतालमा यही साउन २९ गतेदेखि सुरुआत गरिएको छ ।

साथै अस्पतालले हालै मानसिक स्वास्थ्य सेवा समेत सुरु गरेको छ । वार्षिकोत्सवको अवसरमा जन्मिएदेखि ४५ दिनसम्म, ४५ दिनदेखि ६ महिनासम्म र ६ महिनादेखि एक वर्षसम्मका स्वस्थ शिशुलाई पुरस्कृत गरिएको थियो ।

यसरी निकालियो मर्स्याङ्दीमा खसेको बस(फोटोफिचर)

डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि सञ्चालनमा आएको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रु चढेको बस निकाल्न बन्द गरिएको सडक आठ घण्टापछि सञ्चालनमा आएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार बिहानदेखि क्रेनको सहायतामा दुर्घटनाग्रस्त बस निकाल्न सडक बन्द गरेको थियो । क्रेनको हुक भाँचिएपछि सडक ढिला सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

उनले भने, “बस निकाल्न प्रयोग गरिएको क्रेनको बुम भाँचिएकोले सडक खुलाउन ढिला भएको हो । क्रेनको बुम जडान गरिएपछि यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।”

तनहुँको आबुखैरेनी–२ ऐनापहरामा शुक्रबार दुर्घटनामा परेको पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस मस्र्याङ्दी नदीबाट निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले उक्त मार्ग भई चल्ने सवारी साधान पूर्णरुपमा बन्द गरिएको हो । ऐनापहरामा भारतीय पर्यटक चढेको बस मस्र्याङ्दीमा खस्दा २७ जनाको मृत्यु हुनुका साथै १६ जना सख्त घाइते भएका थिए ।

तस्बिरः Mugling Bazar

हामी सरकारको जोड घटाउमा लाग्ने होइन : प्रचण्ड

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी सङ्गठन निर्माण र विचारको विकास भएको बताएका छन् ।

कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको सोमबार समापनमा अध्यक्ष दाहालले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

“हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अवको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो”, उनले भने ।

अध्यक्ष दाहालले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र अहिलेका उपलब्धीको रक्षा अन्यबाट सम्भव नरहेको बताए । उनले भने, “परिवर्तनका उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । त्यसमा हामी सबै सजग हुनुपर्दछ । आवश्यक परेको खण्डमा पुनःसङ्घर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनु पर्दछ ।”

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको अध्यक्ष दाहालले बताए । उनले पार्टीलाई एकतावद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिए ।

“अहिले समाजवादी क्रान्तिका लागि बस्तुगत आधार तयार भएको छ । त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो”, उनले भने ।

बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नीप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

चितवनमा पाँच सय भन्दाबढीमा डेङ्गी सङ्क्रमण

चितवन । चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । 

सङ्क्रमितमध्ये चार सय १७ चितवनका छन्भने एक सय ७१ जना  जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए ।

उनका अनुसार लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ । उनले, “सूर्य उदाएको दुई घण्टा अघि र अस्ताउने समयमा दुई घण्टा अघि लामखुट्टेले टोक्ने गर्छ । त्यो समयमा लामखुट्टेको सम्पर्कमा जो बढी गयो त्यसैलाई सङ्क्रमणको जोखिम रहन्छ ।”

साउन यता जिल्लाका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा दुई सय ३६ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यस्तै, भरतपुर महानगरपालिकामा एक सय सात, खैरहनीमा ११, रत्ननगरमा ४९, माडीमा तीन, राप्तीमा तीन र कालिका नगरपालिकामा आठजनामा सङ्क्रमण देखिएको केसीले जानकारी दिए ।

उनका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये दुई सय २५ महिला र एक सय ९२ जना पुरुष छन् ।  

वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेषगरी भदौ, असोजमा डेङ्गी रोग देखिने गरेको केसीले बताए । उनले भने, “अहिले साउनको सुरुआतदेखि सङ्क्रमण देखिन थालेको छ ।”

यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । बर्सातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उनले बताए ।

यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्ने निरीक्षक केसीले जानकारी दिए ।

डेङ्गी रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्ने उनले बताए । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेलगायत लक्षण देखापर्छ । 

यस्तै, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुनेजस्ता लक्षण देखापर्ने केसीले बताए । डेङ्गी ज्वरो विषाणुका कारण हुने भएकाले यसको निश्चित उपचार भने नहुने उनको भनाइ छ ।

डेङ्गीबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

‘ब्लू लाइन’ पार गर्दा क्षेत्रीय सुरक्षामा खतरा : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले लेबनान–इजरायल सीमाको ‘ब्लू लाइन’मा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले स्थानीय बासिन्दालाई जोखिममा पार्ने तथा क्षेत्रीय सुरक्षा र स्थि रतालाई खतरामा पार्ने बताएका छन् ।

लेबनान र इजरायलले ‘ब्लु लाइन’ पार गरी गरेको गोलीबारीमा उल्लेखनीय वृद्धि भएकोमा महासचिव चिन्तित रहेको राष्ट्रसङ्घका प्रमुखका प्रवक्ता स्टेफन दुजारिकले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

राष्ट्रसङ्घीय प्रमुखले तनाव र यसका लागि जिम्मेवार पक्षहरूलाई तत्काल शत्रुता अन्त्य गरी राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव १७०१ लाई पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान गरेका छन् ।

आइतबार, इजरायली संस्थाले दक्षिणी लेबनानका क्षेत्रहरूलाई लक्षित गरी हवाई आक्रमण गर्दा कम्तिमा तीन जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन् ।

इजरायली सैन्य इकाईले अक्टोबर ७ देखि गाजापट्टीमा चलिरहेको क्रूर आक्रमणको संयोजनमा दक्षिणी लेबनानका क्षेत्रहरूमा बमबारी बढाउँदा निहत्था नागरिकको हताहत हुनुका साथै सयौँ परिवारलाई घर छोड्न बाध्य पारेको छ ।

जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान समयमा देखिएको आर्थिक मन्दि, व्यापार घाटा, उद्योग तथा व्यावसायीक क्षेत्रका समस्या सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।

काठमाडौंमा आइतबार आयोजना गरिएको सुदूरपश्चिम समाजको १५औँ साधारणसभामा मन्त्री भण्डारीले वर्तमान सरकार जनताको निराशा अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको बताए। उनले भने, ‘नेपालको उद्यमशिलता र औधोगिक क्षेत्रको विकास गर्न मैले ध्यान केन्द्रित गरेको छु।’

मन्त्री भण्डारीले विशिष्ट परिस्थितिमा बनेको वर्तमान सरकारले राष्ट्रिय चुनौतीलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको बताए। उनले सुदूरपश्चिमेलीको मौलिक पर्व गौरालाई अन्तराष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘विगतमा सुदूरपश्चिममा मात्रै मनाइने गौरा पर्व अहिले देशभर तथा भारत, अमेरिकालगायतका देशमा समेत मनाउन थालिएको छ। यसको मौलिक स्वरुपको विस्तार गर्नुपर्छ।’

गौरा पर्व विगतमा थौरै व्यक्तिले मनाउँदा साँघुरो बाटोमा सीमित भएको र अहिले राजमार्गका रूपमा परिणत भएको उनकाे भनाइ थियो।

गौरा पर्वको विशेषतालाई पाठ्यक्रममा समेत समावेश गर्नु जुरुरी रहेको तथा यस पर्वको महत्व, गरिमा र सान्दर्भीकता देखाउन सके मात्रै राज्यको संरक्षण र सहुलियत प्राप्त गर्न सकिने मन्त्री भण्डारीले बताए।

सो अवसरमा मन्त्री भण्डारीले ‘सुदूरकि सोराई गोःरा विशेष’ पुस्तकसमेत विमोचन गरेका थिए। उक्त पुस्तकमा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा ठाउँ विशेषका गौरा पर्वका विषयमा व्याख्या गरिएको पुस्तकका प्रधान सम्पादक डा. हरिदत्त पाण्डेयले जानकारी दिए।

जापानमा शक्तिशाली चक्रवातको चेतावनी

यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।

आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनु अघि यसको गति २१५ किलोमिटर प्रति घण्टाको हुनेछ ।

जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवाहरू अवरुद्ध गरेको छ भारी बर्षाले प्रशान्त तटमा क्षति पुर्याएको छ ।

यस क्षेत्रमा तटीयरेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

बन्दीपुरमा तीज सप्ताहव्यापी उत्सव गरिने

तनहुँ । तनहुँको बन्दीपुरमा यही भदौ १५ देखि २२ गतेसम्म सप्ताहव्यापी ‘तीज सप्ताहन्न उत्सव’ गरिँदैछ।पछिल्लो समय तीजमा गाइने गीतमा विकृति समावेश हुँदै आएकाले परम्परागत संस्कृति र कलाको संरक्षण गर्ने उद्देश्यले ‘तीज सप्ताहन्न उत्सव’ आयोजना गर्न लागिएको हो।

यहाँ आयोजित पत्रकार सम्मेलनमा तीजका महिमा गाइने गीतमा अनेकन विकृति समावेश हुँदा हाम्रा परम्परागत गीत लोप हुनसक्ने भएकाले बृहत् रुपमा प्रतियोगिता गरी संस्कृति तथा तीजको महिमाको संरक्षण गर्न सप्ताहन्न उत्सव गर्न लागिएको कार्यक्रम संयोजक किरण पोख्रेलले जानकारी दिए।

‘नेपाली नारीहरुको महान् पर्व तीजका अवसरमा गाइने तीज गीतमा विकृति समावेश हुँदै आएको छ। हाम्रा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले बन्दीपुरमा यही भदौ १५ देखि २२ गतेसम्म महोत्सव गर्न लागेका हौँ’, उनले भने।

पोख्रेलका अनुसार हरेक दिन बन्दीपुर क्षेत्रका विभिन्न जातजातिका सांस्कृतिक झाँकी, आमा समूह, क्लब, विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गरिने छ भने प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष प्रस्तुति रहनेछ।

उनले भने, ‘भविष्यका लागि हाम्रा संस्कार, संस्कृति, परम्परालाई संरक्षण गर्नुपर्छ । तीज गीतमा आएको विकृतिलाई निरुत्साहित गर्न यस्तो कार्यक्रमसहितको प्रतियोगिता गर्न लागिएको हो।’

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले यहाँ सबै किसिमका पर्यटक आउने भएकाले पर्यटन प्रवर्द्धन गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास लिए। उनले धार्मिक एवं पर्यटकीय तवरबाट पनि कार्यक्रमले बन्दीपुरको प्रचारप्रसार गर्ने उनले बताए।

प्रतियोगितामा प्रथम हुने समूहलाई एक लाख एक हजार, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र सान्त्वना हुने समूहलाई २५ हजार प्रदान गरिने सञ्चालक हरिदत्त पौडेलले जानकारी दिए।

उनले प्रतियोगिताका लागि तीन देखि १५ जनासम्मको समूह हुनुपर्ने, समूहमा सबै महिला अनिवार्य गरिएको बताए।
वाद्यवादनको सामग्री आफैँले व्यवस्था गर्नुपर्नेछ भने हरेक समूहलाई बढीमा १५ मिनेटको समय दिइनेछ। प्रतियोगितामा भाग लिन समूह दर्ता शुल्क दुई हजार लाग्ने आयोजकले जनाएको छ। प्रतियोगितामा छनोट, क्वाटर फाइनल, सेमिफाइनल र फाइनल चरण हुनेछन्।

साथै ‘बृहत् खुल्ला तीज गीत प्रतियोगिता’, तीज सांस्कृतिक कन्सर्ट, तीज महिमा प्रवचन समेत प्रस्तुत गरिने कार्यक्रम संयोजक पोख्रेलले जानकारी दिए।

यहाँ रहेका धार्मिक शक्तिपीठ सिद्देश्वर महादेव, खड्गदेवी मन्दिर, बिन्दबासिनी मन्दिर, तिनधारे ज्योतिर्लिङ्ग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवीलगायत देवीको दर्शन गराउने र महिमा एवं शक्तिबारे परिचित गराउने कार्यक्रम रहेको उनले बताए।

उत्सवमा १० हजार बढी सांस्कृतिक पर्यटक भित्र्याउने लक्ष्यका साथ बन्दीपुरमा कार्यक्रम गर्न लागिएको भन्दै कार्यक्रम सात सय वर्षभन्दा लामो धार्मिक एवं प्राचीन मन्दिर ‘माँ खड्गदेवी’ प्रांगणमा हुने बन्दीपुर केवलकारका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।

तीज गीत प्रतियोगितामा कम्तीमा ५० समूहको सहभागिता रहने अपेक्षा गरिएको उनले बताए। तीज सप्ताहन्न उत्सवमा चर्चित कलाकारले सांस्कृतिक प्रस्तुति दिँदै बन्दीपुरलाई गुन्जाउने उद्देश्य रहेको उनको भनाइ छ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेवी कोइराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सुनिता नेपाली, शान्ता डोटेल, सीता परियारलगायत स्थानीय कलाकारको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको फाइनल चरणमा तीजे दोहोरी हुनेछ। सो अवसरमा बन्दीपुर केबलकारले केबलकारको सवारीमा सांस्कृतिक पर्यटकका लागि विशेष छुट दिनेसमेत घोषणा गरेको छ।

बन्दीपुर गाउँपालिकाको संरक्षकत्व र बन्दीपुरमा रहेका सामाजिक संघसंस्था, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ, तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर इकाइ, रेवान जिल्ला बार एसोसिएसन, बन्दीपुर गाउँपालिका पर्यटन एवं संस्कृति विभाग, सामुदायिक होमस्टे महासंघ बन्दिपुर, आर केडी महिला उद्यमशील क्लब र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको संयुक्त आयोजनामा खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्न लागिएको हो।

बिपी क्यान्सर अस्पतालमा ‘बोनम्यारो प्रत्यारोपण सेवा’ को तयारी

चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा युनिट निर्माणको तयारी गरिएको छ । चीन सरकारको सहयोगमा उक्त सेवा सञ्चालनको तयारी गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्ने छ । यसअघि नेपाल सरकारसँग यससम्बन्धी सम्झौता भइसकेको भन्दै उहाँले सन् २०२४ को अन्तिमदेखि भवन निर्माण सुरु हुने बताए ।

गत वैशाख १३ गते स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियु झाओ हुईले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसक्नुभएको निर्देशक डा पौडेलले जानकारी दिए । 

सम्झौतामा ‘चीन सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ’ भन्ने उल्लेख छ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमति भएको उनले बताए ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार चिनिया टोली यहाँ आएर भवन निर्माणस्थलको अनुगमन गरेर गइसकेको छ । उनले हालको प्रशासन भवनको पछाडि रहेको जग्गा छनोट गरिएको बताए । 

उपनिर्देशक नेपालले ठाउँको छनोट भइसकेको भन्दै उक्त ठाउँको माटो परीक्षणको काम समेत चिनियाँ टोलीले गरिसकेको जानकारी दिए ।

आफूहरुले स्थान दिने, पानी र बिजुलीको व्यवस्थापनलगायत स्थानीय समन्वय गर्ने बताउँदै उपनिर्देशक नेपालले भने, “भवन निर्माणदेखि उपकरण खरिद र जनशक्तिलाई तालिमसम्मको काम चिनियाँ सहयोगमा हुन्छ । भवनको डिजाइन, प्रविधि सबै चिनियाँले गर्ने सहमति भएको छ ।”

नेपालमा फाट्टफुट्ट काठमाडौँमा ‘बोनम्यारो’ प्रत्यारोपणको काम हुने भए पनि छुट्टै युनिट बनाएर गर्न लागिएको यो पहिलो भएको उपनिर्देशक नेपालको भनाइ छ । बोनम्यारो प्रत्यारोपण युनिट पाँच शय्याको हुने उनले जानकारी दिए ।

कार्यकारी निर्देशक डा पौडेलले निर्माण सुरु भएको एक वर्षमा भवन सम्पन्न हुने जनाउँदै त्यसलगत्तै सेवा सञ्चालन हुने बताए । उनले भने, “चिनियाँ आफैंले निर्माण गर्ने भएकाले काम छिटो हुन्छ ।”

उपकरण खरिद पनि चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाले गर्ने भएकाले झन्झटिलो नहुने भन्दै उनले भवन निर्माण सम्पन्न भएलगत्तै उपकरण जडान गरेर सेवा सञ्चालन हुने बताए ।

कार्यकारी निर्देशक डा पौडेलका अनुसार भवन निर्माण र उपकरण खरिदपछि यहाँका जनशक्तिलाई तालिमसमेत चिनियाँ टोलीले उपलब्ध गराउने छ । उनले भने, “सम्पूर्ण तयारी पूरा गरेर अस्पताललाई हस्तान्तरण गर्ने हो । यो अस्पतालको निर्माणसमेत चिनियाँ सरकारको सहयोगमा भएको हो ।”

जसपाले तोक्यो पदाधिकारी र केन्द्रीय सदस्य, सहअध्यक्षमा रकम चेम्जोङ

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टी पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेको छ । महाधिवेशन सकिएको साढे दुई महिनापछि पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरू तोकिएका छन् ।

महाधिवेशनले अध्यक्ष उपेन्द्र यादवलाई पदाधिकारी र केन्द्रीय सदस्य तोक्ने अधिकार प्रत्यायोजन गरेको थियो । सोही निर्णयअनुसार अध्यक्ष यादवले पदाधिकारी र केन्द्रीय सदस्य तोकेका हुन् ।

पदाधकारीमा रकम चेम्जोङलाई सदअध्यक्षको जिम्मेवारी दिइएको छ भने राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवालाल थापा मगर र विद्युत् बज्राचार्यलाई उपाध्यक्ष तोकिएको छ । त्यस्तै दुई महासचिवमा लालबाबु राउत र रामकुमार शर्मालाई जिम्मेवारी दिइएको छ ।

अनुत्पादक क्षेत्रमा खर्च हुँदै ‘रेमिट्यान्स’

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० का वसन्त रानाभाटको २०८० फागुन १३ गते दुबईमा मृत्यु भयो । उनको मृत्यु भएपछि श्रीमती लक्ष्मी केसी रानाभाटले नगरपालिकामा क्षतिपूर्तिका लागि निवेदन दिए । नगरपालिकाको रोजगार शाखाले उनलाई सात लाख क्षतिपूति दियो ।

सन्धिखर्क नगरपालिका–७ का मधुकुमार केसीको २०८० पुस ८ गते मृत्यु भयो । उनकी श्रीमती निमकला केसीले पनि क्षतिपूर्ति माग गरी सन्धिखर्क नगरपालिकामा निवेदन दिए र उनले पनि सात लाख प्राप्त गरिन् ।

अर्घाखाँचीका ५५ हजारभन्दा बढी मानिस श्रम स्वीकृति लिएर विदेशमा काम गर्न गएका छन् । युरोप, अमेरिका, अष्ट्रेलिया, जापानलगायत देशमा जाने युवायुवतीको सङ्ख्या यसमा समावेश गरिएको छैन । गैरकानुनी ढङ्गले जाने, प्रक्रिया पूरा नगरी वा पर्यटन भिसामा जाने तथा अध्ययन भिसामा जानेहरुको तथ्याङ्क कतै भेटिँदैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साझेदारीमा काम गरिरहेको सुरक्षित आप्रवासनका लुम्बिनी प्रदेश संयोजक जियाउल हकका अनुसार पछिल्लो तीन वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अर्घाखाँचीका ४७ जनाले ज्यान गुमाएको तीमध्ये नौजनाको यसै वर्ष मृत्यु भएको हो । ७४ जना गम्भीर बिरामी परेका तथा अङ्गभङ्ग भएका छन् ।

अर्घाखाँचीबाट आर्थिक वर्ष २०७९/८० मा छ सय ३३ महिलासहित नौ हजार पाँच सय २६ जना रोजगारीका लागी विदेश गएका थिए । चालु आर्थिक वर्षको ज्येष्ठ मसान्तसम्म आठ हजार एक सय ७५ जनाले वैदेशिक रोजगारीका लागि देश छाडेको सुरक्षित आप्रवासनका अर्घाखाँची शाखाका सहजकता अम्बिका बेल्वासेले बताए ।

अर्घाखाँचीमा अहिलेसम्म वैदेशिक रोजगारीसम्बन्धी ठगीका १० वटा उजुरी परेका छन् । यीमध्ये चार उजुरीको छिनोफानो भएको छभने छवटा प्रक्रियामा रहेका छन् । ठगी गर्नेहरुबाट १० लाख ४६ हजार पीडितलाई फिर्ता गराइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

आव २०६३/६४ सालयता गएको वैशाख मसान्तसम्म ७७ लाख २० हजार सात सय आठजनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

गत आव २०७९/८० मा सात लाख ७१ हजार तीन सय २७ जना रोजगारीका लागि विदेश गएका थिए । यो सङ्ख्या गएको १७ वर्षयताको उच्च हो । चालु आवको ज्येष्ठ मसान्तसम्म छ लाख नौ हजार छ सय ९९ जना कामका लागि विदेश गएका थिए । अहिलेसम्म विदेश जानेहरुमध्ये ९३ प्रतिशत मलेसिया तथा खाडी मुलुकमा गएका छन्भने बाँकी सात प्रतिशत जापान, बहराइन, कोरिया, क्रोएसियालगायत देशमा छन् ।

विदेशबाट पठाएको पैसाको ७२ प्रतिशत रकम घर खर्चमा गएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । यस्तै, १५.८ प्रतिशत रकम ऋण तिर्न, ४.६ प्रतिशत छोराछोरीको अध्ययन र १.९ प्रतिशत रकम घरजग्गामा खर्च भएको छ । यसको १।९ प्रतिशत रकम बचत गरिएको छ । नेपालभरका ५६ प्रतिशत घरपरिवार र लुम्बिनी प्रदेशका ८९.६ प्रतिशत घरपरिवारले ‘रेमिट्यान्स’ प्राप्त गर्छन् ।

अर्घाखाँची विदेशबाट पैसा आउने जिल्लामध्ये अग्रपङ्क्तिमा आउँछ तर त्यो पैसा उत्पादनशील क्षेत्रमा लगाउने वातावरण नहुँदा श्रम बेच्ने मानिस उत्पादन गर्ने काम मात्र भइरहेको छ । साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी सस्थाले दुई वर्षअघि गरेको अनौपचारिक सर्भेक्षणअनुसार जिल्लामा भित्रिएको रेमिट्यान्स (विप्रेषण) को ८० प्रतिशत रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च हुन्छ ।

स्थानीय सरकारले व्यवसाय र स्वरोजगारमुखी कार्यक्रम ल्याउन नसक्दा पनि रेमिट्यान्सको पैसो बाहिर जाने गरेको छ । केही गर्ने खालको युवा जनशक्तिलाई अर्काको देश पठाएर आएको पैसोको सदुपयोग गर्ने खालको योजना कुनै पनि पालिकाको छैन ।

वार्षिक झन्डै साढे सात अरब अर्घाखाँची भित्रने गरेको छ । त्यसमध्ये तीन अर्ब अर्थात् ४० प्रतिशत रकम दैनिक उपभोग्य सामग्री, खानपान, मोटरसाइकल, कार, इन्धन, लत्ताकपडा, मोबाइल, सञ्चार तथा टेलिफोनमा खर्च हुने गरेको छ ।

४० प्रतिशत रकम अर्थात् तीन अर्ब उत्पादन नहुने क्षेत्र अर्थात् घडेरी र घरमा खर्च हुने गरेको अर्घाखाँची जिल्ला बचत सहकारी संस्थाका अध्यक्ष तथा साथी बचत तथा ऋण सहकारीका अध्यक्ष प्रकाश भुसालले बताए । उनका अनुसार जिल्ला सदरमुकाम, कपिलवस्तुका विभिन्न भाग तथा रुपन्देहीको बुटबल, भैरहवा, दाङ, चितवन र काठमाडौँमा घर घडेरी किन्नेमा खर्च भएको छ ।

विदेशबाट आएको रकमको २० प्रतिशत मात्र कृषिफार्म, सानाहोटल, किरानापसल र ट्याक्सी तथा वस जस्ता उत्पादनशील क्षेत्रमा खर्च भइरहेको छ । तर यस्तो व्यवसाय गर्नेहरुले पनि बीचैमा व्ववसाय छाडने गरेका छन् ।

वैदेशिक रोजगारीमा गएका युवाले कमाएको पैसा विलासिता र दैनिक उपभोग्य सामग्रीमा खर्च भएकाले उक्त रकम उत्पादनमूलक कार्यमा खर्च गर्नुपर्ने खालको नियम नै बनाएर अगाडि बढ्न सकेमा मात्र उत्पादनशील क्षेत्रमा खर्च हुने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

वैदेशिक रोजगारीमा युवाहरुलाई जानबाट रोक्न स्थानीय सरकारहरुले पनि काम गरिरहेका छन् । विदेशबाट फर्किएर गाउँमै कृषि र पशुपालन गर्ने युवाहरुलाई नगरपालिकाले प्राविधिक सहायताका साथै विभिन्न अनुदानका कार्यक्रम पनि सञ्चालन गरिरहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

परम्परागत कृषि पेसालाई आधुनिक र प्रविधियुक्त बनाउन मिनीटिलर, कुटानी–पिसानी मिललगायत सामग्रीहरु किसानलाई हस्तान्तरण गरेको छ । विभिन्न तरकारीका बीउ, मल आदि पनि प्रदान गर्दै आएको छ ।

अर्घाखाँचीको शितगङ्गा नगरपालिकाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र भौतिकपुर्वाधारलाई प्राथमिकतामा राखेर आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । आगामी आव २०८१/८२ को लागि ८६ करोड ८६ लाख ९० हजारको बजेट ल्याएको नगरपािलकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

शितगङ्गा कृषि, पशुपालनको लागि सम्भावना राम्रो भएको नगर हो । तराईका जिल्लासँग सिमाना जोडिएको यहाँको उत्पादन बुटवल, कपिलवस्तु, दाङसहित भारतीय सीमानाका कृष्णनगर हुँदै भारत निर्यात हुन्छ ।

जङ्गली मौवाको फूल, स्थानीय रैथाने बाली र फलफूलबाट बनाइने रक्सीको ब्रान्डिङ गरिने लक्ष्य रहेको योजना अधिकृत नुमलाल खनालको भनाइ छ । शितगङ्गा नगरपालिकाले कृषिजन्य बस्तु उत्पादन र बजारीकरणका लागि नयाँ योजना सञ्चालन गरेको छ । प्रत्येक वडामा कृषि सङ्कलन केन्द्र निर्माण गरिने पालिकाले जनाएको छ । 

इजरायलका ‘नयाँ शर्तहरू’ अमान्य भन्दै वार्ताबाट पछि हट्यो हमास

हमासले युद्धविराम सम्झौताका लागि इजरायलले राखेका ‘नयाँ शर्तहरू’ आफूहरूलाई अमान्य भएको भन्दै हमासको प्रतिनिधिमण्डल वार्ताबाट पछि हटेको छ ।

जुलाई–२ मा अमेरिकाद्वारा प्रस्तावित र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्बाट अनुमोदित प्रस्तावमा मात्र वार्ता गर्न सकिने भन्दै हमासको वार्ताका लागि इजिप्टको कायरोमा रहेको प्रतिनिधिमण्डल त्यहाँबाट बाहिरिएको सिएनएनले जनाएको छ ।

वार्ताका लागि मध्यस्थकर्तासँग भेट गरेपछि हमास प्रतिनिधिमण्डल कायरोबाट प्रस्थान गरेको हो ।

गाजा युद्धको एक पक्षको प्रतिनिधित्व गरेको हमासको प्रतिनिधिमण्डलले वार्तास्थल छोडेपछि युद्ध अन्त्य गर्ने अमेरिकालगायतका मध्यस्तकर्ताको युद्ध विराम सफलताको सम्भावनामा थप जटिलता आएको छ ।

हमासले अमेरिकी राष्ट्रपति बाइडेनको खाका र सुरक्षा परिषद्को प्रस्तावको आधारमा गरिएको जुलाई–२ को सम्झौतामा मात्र सहमत हुने दावी गरेको हमासको राजनीतिक ब्युरोका सदस्य इज्जात अल–रिस्कले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

अल–रिस्कले सम्झौतामा स्थायी युद्धविराम, गाजा पट्टीबाट पूर्ण रूपमा सेना फिर्ता, बासिन्दालाई आफ्नो क्षेत्र फर्कने स्वतन्त्रता, राहत तथा पुनर्निर्माणलगायतका विषय समावेश हुनुपर्नेमा जोड दिए ।

गत हप्ता हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले अल अक्सा टिभीसँगको कुराकानीमा इजरायलले सम्झौता स्वीकार्नका लागि नयाँ शर्तहरू तय गरेको र पहिलेका कुरा फिर्ता लिएको भन्दै नयाँ शर्त आफ्नो समूहका लागि मान्य नहुने बताएका छन् ।

हमदानका अनुसार नयाँ शर्तहरूमा इजिप्टसँगको सिमानामा रहेको पट्टी फिलाडेल्फी कोरिडोरमा इजरायली सेनाको पुनःस्थापना र इजिप्टसँगको रफाह सीमापारका लागि गैर–प्यालेस्टिनी व्यवस्थापनसमेत समावेश थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘नयाँ मागहरू’ थपी वार्ताको प्रगतिको बाधक बनेको हमासको दावी छ ।

यसैबीच नेतान्याहूले सम्झौता भए पनि हमासविरुद्धको ‘पूर्ण विजय’ नभएसम्म गाजामा युद्ध जारी रहने कुरामा जोड दिएका छन् ।

हमासले गत वर्ष अक्टोबरमा इजरायलमा एक्कासी गरेको आक्रमणमा कम्तीमा एक हजार २०० जनाको मृत्यु भएको थियो भने करिब २५० जनालाई बन्धक बनाएको थियो ।

बदलामा इजरायलले शुरू गरेको सैन्य कारबाहीमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

यसैबीच, हमास निकट समूहविरूद्धको कारबाहीस्वरूप इजरायलले शुरू गरेको अभियानमा लेबनानका ४० भन्दा बढी प्रक्षेपण क्षेत्रमा आक्रमण गरिएको जनाएको छ ।

आइतबार इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले पठाएका हजारौं रकेट लन्चरलाई लेबनानको दक्षिणी सिमानामा आक्रमण गरेको जनाएको थियो ।

“करिब १०० आईएएफ लड़ाकू विमानले दक्षिणी लेबनानमा रहेका हजारौं हिजबुल्लाह रकेट लञ्चर ब्यारेलमा आक्रमण गरी नष्ट गरिएको छ,” इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तीमध्ये अधिकांश उत्तरी इजरायलतर्फ लक्षित थिए भने केही मध्य इजरायलतर्फ लक्षित थिए ।

हिजबुल्लाह समूहको आक्रमणपछि शनिबार इजरायलले लेबनानसँगको बढ्दो तनावबीच ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको थियो ।

पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा राजमार्गमा गाडी रोकी २२ जनाको हत्या

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।

सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो ।

मुसाखाइलका एक वरिष्ठ अधिकारी नजिबुल्लाह काकरले भने,“पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।”

उनले भने, “पञ्जाबबाट आउने र जाने सवारी साधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको थियो ।”

काकरका अनुसार १९ जना पञ्जाबी र तीन जना बलोच सर्वसाधारण मारिएका छन् ।

जिल्लाका अर्का वरिष्ठ अधिकारी हमिद जेहरीले एएफपीलाई मृतकको सङ्ख्या पुष्टि गरेका छन् ।
उनले भने, “यो आक्रमणका लागि बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकू जिम्मेवार रहेको देखिन्छ ।

बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकू पृथकतावादी समूह हो ।

बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त हो भने यहाँ अप्रयुक्त प्राकृतिक स्रोतहरूको प्रचुरता छ ।

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशनः सरुवा बढुवाका लागि झोला थैला बोकेर नकुद्नु, अहिलेको सरकारले घूस खाँदैन

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँको काठमाडौँ महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए ।

उनले भने, “वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउ भन्दैन, निर्दोषलाई फसाउ भन्दैन र दोषीलाई छाड्दैन ।” वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन निर्देशन दिए ।

“यो सरकार केवल अर्को सरकार होइन, यसले केही गरौँ भन्ने भावनाका साथ अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति बोकेको छ”, प्रधानमन्त्री ओलीले भने ।

प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने उल्लेख गर्दै उनले भने, “झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन, तपाईंहरु कर्तव्यपालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नूस्, अवाञ्छित र अनुचित प्रभावमा नलाग्नूस् ।”

प्रहरीले साबिकको नेपाल खाद्य संस्थानसँग रु एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिद गरेर एक अर्ब २६ करोडको लागतमा अत्याधुनिक भवन निर्माण गरेको हो । जिल्ला परिसर काठमाडौँ २०१२ सालमा हुनमानढोकाबाट सञ्चालन भएको थियो ।

बालेनको चेतावनीः अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गर्ने काम नहोस्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले भ्रम नछर्न पार्टीका नेता तथा कार्यकर्तालाई चेतावनी दिएका छन् । सोमबार सामाजिक संजालमार्फत मेयर साहले सर्वोच्च अदालतको निर्णयलाई महानगरको निर्णय भनी भ्रम नछर्न चेतावनी दिएका हुन् ।

उनले महानगरले सर्वोच्च अदालतको आदेश आएपछि सो आदेशलाई सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर, टुकुचाको २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो । सर्वोच्च अदालतको आदेश आएपछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचाको २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्नेछ । अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्नु होला ।’

आइतबार साँझ नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ जिल्ला कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिनेसम्बन्धी सर्वाेच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका लागि आग्रह गरेको थियो । यसपछि बालेन एमालेप्रति आक्रोशित भएका हुन् ।

एमाले प्रतिनिधिमण्डलले उक्त उत्प्रेषण आदेशका आधारमा गत साउन २४ गतेको महानगरपालिकाका प्रमुुखस्तरीय निर्णयबाट नक्सा अनुमति रोक्काको सूचना प्रकाशन गरिएको जनाएको छ ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले जनजीवनमा समस्या सम्बोधनका लागि सरकारका तर्फबाट गर्नुपर्ने पहल गर्ने जनाउँदै कुनै पनि निकाय र व्यक्तिले व्यावहारिकतालाई ध्यान नदिई निर्णय गर्न नहुने बताएका थिए ।

फिदिममा विपद् सहायता सामग्रीको खुला कक्ष स्थापना

पाँचथर । पाँचथरको फिदिममा विपद् प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीको खुलाकक्ष स्थापना भएको छ ।

फिदिम नगरपालिकाले फिदिम बजार क्षेत्रका तीन स्थानमा खुला कक्ष निर्माण गरी विपद् प्रतिकार्यमा प्रयोग हुने सामग्री राखेको हो । फिदिम बजारको गणतन्त्र चोक, पुरानो ट्राफिक कार्यालय र आहालगैरीमा विपद् प्रतिकार्यमा प्रयोग हुने सामग्री राखिएको नगरपालिकाले जनाएको छ ।

उक्त खुला कक्षमा आगलागी, बाढीपहिरोजस्ता विपत्तिका घटनाको प्रतिकार्य तथा उद्धारमा प्रयोग हुने विभिन्न प्रकारका सामग्री राखिएका छन् ।

उक्त विपद् सहायता सामग्री खुला कक्षको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले आइतबार उद्घाटन गरे । नगरप्रमुख काफ्लेले फिदिमका सार्वजनिकस्थलमा यस प्रकारका सामग्री राख्नाले आगलागी नियन्त्रण तथा विपद्मा उद्धारका सामग्री सहज रूपमा समयमै उपलब्ध हुने बताए ।

“यी सामग्री व्यवस्थापनले विपत्तिबाट हुने क्षति कम गर्न मद्दत मिल्ने विश्वास लिएका छौँ”, नगरप्रमुख काफ्लेले भने, “सबै पक्षले यी सामग्रीको संरक्षण र सदुपयोगमा सहयोग गर्ने अपेक्षा लिएको छु ।”

खुला कक्षमा रहेका सामग्री प्रयोगपश्चात् सोही स्थानमा ल्याई राख्ने प्रबन्ध गरिएको उनले बताए । खुला कक्षमा रहेका सामग्रीलाई सबैले साझा सम्पत्तिका रूपमा लिने आशा गरिएको उनको भनाइ छ ।

नगरपालिकाले आगामी दिनमा यसरी अन्य स्थानमा पनि विपद् प्रतिकार्य सहायता सामग्री राख्दै जाने नगरप्रमुख काफ्लेले जानकारी दिए ।

खुला कक्षमा ‘फायर एक्सटिङग्युसर’, बाल्टी, बेल्चा, झम्पल, गैँती, खुर्पा, ‘फायरबल’लगायत सामग्री राखिएका छन् । सोही कार्यक्रममा नेपाली सेनाको फिदिमस्थित रणशेर गणले आगलागीबाट हुने जोखिम कम गर्ने उपायबारे नमूना अभ्यासको पनि प्रदर्शनी गरेको थियो ।

कास्कीको मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रेमा थप पदमार्ग निर्माण

कास्की । कास्की जिल्लामा एक वर्षका अवधिमा चार हजार चार सय ३४ मिटर पदमार्ग निर्माण गरिएको छ । प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमातहतको पर्यटन तथा उद्योग कार्यालयले सो पदमार्ग निर्माण गरेको हो ।

पोखरा महानगरपालिका, मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडामा पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/८१ मा पर्यटन पूर्वाधारअन्तर्गतका ४७ आयोजनामध्ये ४३ सम्पन्न भएको थिए । कुल आयोजनामा दुईवटा सम्झौता नै भएनन् भने दुईवटा सम्झौता भएर पनि कार्यान्वयनमा गएका थिएनन् । गत वर्ष पर्यटन पूर्वाधारतर्फ दुई करोड ८० लाख बजेट विनियोजन गरिएको थियो ।

कार्यालय प्रमुख ढकालले पर्यटकीय पदमार्ग निर्माणले पर्यटक तथा स्थानीयवासीलाई सजिलो भएको बताए । यसैगरी पर्यटकीय उद्यान (पार्क)हरूमा निर्माण भएका पूर्वाधारले पर्यटकीय आकर्षण वृद्धि गरेको बताइन्छ । पर्यटकको आगमन बढी भएका स्थानमा अप्ठ्यारो बाटोलाई सहज बनाइएको र विभिन्न स्थानमा रेलिङ राखिएको कार्यालय प्रमुख ढकालले बताए ।

“पर्यटकीय गतिविधि बढी भएका स्थानलाई प्राथमिकतामा राखेर ‘फुटट्रयाक’ निर्माण गरिएको छ । यसबाट पर्यटकलाई र स्थानीयलाई समेत आवतजावतमा विगतमाभन्दा बढी सहज भएको छ”, उनले भने ।

गत वर्ष पोखरा–२० को खोरखरी कुना–काहुँखोला पदमार्ग, मौरेबगर मार्गी–बेतैनी ज्ञान बिसौना पर्यटक पदमार्ग पोखरा–२२ र २३, जल्केनी–भैरवकोट–कालिका–रिठ्ठुमाडा पैदलमार्ग रुपा–१, हनुमान पोखरी–भोटेपोखरी हाइकिङ पदमार्ग पोखरा–३३, लाँकुरीबोट पर्यटक विश्रामस्थल पोखरा–१६, बराहक्षेत्र पर्यटन पूर्वाधार पोखरा–३१, मादी वडा नं ६ र ७ स्थित थाक हिल पर्यटन पूर्वाधार, पोखरा–२९ मा मुक्तिनाथ सत्सङ्ग आश्रम पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ ।

यसैगरी पोखरा–२८ को लामिछानेगाउँ पदमार्ग निर्माण, पोखरा–१९ मा पर्यटकीय दुर्गा मन्दिर स्तरोन्नति तथा सौन्दर्यकरण, मादी–२ मा क्वलासोथार बृहत् पर्यटन विकास पूर्वाधार निर्माण, पोखरा–३३ स्थित ब्रम्हाज्योति प्राविबाट निरकण्ठेश्वरी मन्दिरसम्म पर्यटक पदमार्ग, मादी–१२ को लिपेपानी देवीडाँडा सिँढीबाटो गत वर्ष निर्माण सम्पन्न गरिएको थियो ।

यसैगरी शिवमन्दिरमा पर्यटकीय पार्क निर्माण पोखरा–३३, कैलाशटोलमा पदमार्ग निर्माण पोखरा–१४, पोखरा–१३ स्थित शितलादेवी पार्क निर्माण, नागिधारा पुरानोगाउँ क्रपुडाडा पर्यटकीय पदमार्ग मादी–८, सिक्लेस कपुचे पर्यटन पदमार्ग निर्माण मादी–१, तागा विसमुरे पर्यटन पदमार्ग अन्नपूर्ण–३, पचभैया सिमलडाँडाबाट रुपाताल जोड्ने पदमार्ग पोखरा–३१, अकलादेवी तथा लक्ष्मीनारायण विकास पोखरा–१९, कैलाशेश्वर शिव मन्दिर पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण पोखरा–१९, नेटापोखरीबाट तक्मेल देउरालीसम्म पर्यटकीय पदमार्ग पोखरा–१९, पोखरा–३३ स्थित कुसुण्डे एक्लेसाल हुँदै शान्तिउदय पदमार्ग निर्माण, रुपा–७ स्थित दम्से–थुम्के पर्यटकीय पूर्वाधार, पोखरा–१८ को चौरपाखा मेथलाङ्ग पर्यटन पैदलमार्ग, अन्नपूर्र्ण–४ को भुमेथानबाट सिद्धथान हुँदै सितगुफा जाने पदमार्ग गत वर्ष निर्माण गरिएको हो ।

पर्यटन कार्यालयका अनुसार पोखरा–३३ को भगवती मन्दिरमा धार्मिक पर्यटकीय पूर्वाधार, पोखरा–११ मा सर्वेश्रवर खेलमैदान पदमार्ग, पोखरा–२२ स्थित विश्वशान्ति स्तुपाको फुटट्रयाक, पोखरा–१७ को शङ्करधाम घट्टेखोला पार्क, शीतल गुफा तथा विद्येश्वर मन्दिर क्षेत्रमा पर्यटन पूर्वाधार अन्नपूर्ण–५, पोखरा–२० को नाजिम बास्थल पदमार्ग, रुपास्थित कवापानी स्याक्लुङकोट पदमार्ग निर्माण गरिएको छ ।

यसैगरी पोखरा–२१ को पोखरेलथोक पर्यटकीय पार्क, पोखरा–३३ स्थित लामगादी मणिथान पदमार्ग, पोखरा–१६ को कालिखोला–अर्मलाकोट पदमार्ग निर्माण, धारापानी–कयरवारी पदमार्ग पोखरा–२३, महरा–निग्जा रोक्का चिचिन्ने पदमार्ग माछापुच्छ्रे–५, विजयपुर खोला फेदीबाट काफलघारी हुँदै सिद्धिपुरसम्मको पर्यटन पैदलमार्ग, पोखरा–१६ को जयबुद्ध गुम्बा पर्यटन पूर्वाधार, अन्नपूर्ण–१० स्थित घान्द्रुक–भैँसीखर्क–डाँडापानी–घोरेपानी–पदमार्ग र मादी–५ स्थित गारगाटे बरको चौतारी निर्माण पर्यटनतर्फ गत वर्ष कार्यान्वयन गरिएका योजना रहेका छन् ।

मकवानपुरमा स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा वृद्धि

बागमती । मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढेका छन् । साउन सुरु भएसँगै मकवानपुरमा फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी पछिल्लो समय ठूलो सङ्ख्यामा देखापर्न थालेको हो ।

यही साउनदेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका बिरामीको सङ्ख्या ७० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले जानकारी दिए । डेङ्गी सङ्क्रमणजस्तै स्क्रब टाइफसका बिरामी सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा भेटिएका छन् ।

हेटौँडा उपमहानगरपालिकामा ३९ जना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले बताए । यस्तै मकवानपुरगढीमा नौ, मनहरी गाउँपालिकामा छ, बकैया गाउँपालिकामा सात, भीमफेदी गाउँपालिकामा चार, बागमती गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा एक–एकजना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले जानकारी दिए ।

मुसाको माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सचेतना अपनाउन प्रमुख मिझारले आग्रह गरे ।

डेङ्गी सङ्क्रमित बढ्दै

पछिल्लो एक महिनामा मकवानपुरमा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही साउन १ गतेदेखि हालसम्म मकवानपुरमा एक सय ४३ डेङ्गी सङ्क्रमित फेला परेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारका अनुसार ७९ महिला र ६४ पुरुष गरी मकवानपुरमा एक सय ४३ जनामा नयाँ डेङ्गी सङ्क्रमित फेला परेका छन् ।

जसमध्ये सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा एक सय चार, मनहरी गाउँपालिकामा १६, मकवानपुरगढी गाउँपालिकामा आठ, बकैया गाउँपालिकामा छ, भीमफेदी गाउँपालिकामा तीन, बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा एक–एक जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको प्रमुख मिझारले बताए ।

वर्षायामको समय भएकाले डेङ्गी सङ्क्रमित अझै बढ्न सक्ने भएकाले स्थानीय तहसँगको समन्वयमा जनचेतनामूलक सन्देश प्रवाह तथा लामखुट्टे मार्ने अभियान अघि बढाइएको प्रमुख मिझारको भनाइ छ ।

यता डेङ्गी सङ्क्रमणको उच्च जोखिममा रहेको हेटौँडा उपमहानगर क्षेत्रमा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाले नगरका विभिन्न वडामा लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेको हो ।

पानी जम्ने ठाउँलाई पुर्ने, लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, जोखिम क्षेत्रमा स्प्रे गर्ने तथा डेङ्गीबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारीले बताए ।

मंगलादेवी सिंहको २८औँ स्मृति दिवस मनाइयो

वीरगञ्ज । पर्सा सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१/८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ ।

कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा पाँच अर्बले लक्ष्य घटाएको हो ।

भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई चालु आवमा  ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले भन्सार विभागले कार्यालयलाई चालु आवमा रु ६० अर्ब चार करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको बताए ।

‘कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत राजस्व असुली गरेको थियो । आव २०७९/८० को तुलनामा आव २०८०/८१ म रु पाँच अर्बभन्दा धेरै राजस्व सङ्कलन गर्न सकिएको थियो’, उनले भने, ‘गत आवमा लक्ष्यानुसारको राजस्व सङ्कलन हुन भने सकेन ।’

भन्सार विभागले आव २०८०/८१ मा कार्यालयलाई रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा लक्ष्यको लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार राजस्व सङ्कलन गरेको थियो ।

विभागले कार्यालयलाई आव २०७९/८० मा पनि रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको थियो । तर कार्यालयले सो आवमा पनि लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत अर्थात् रु ४२ अर्ब ४० लाख २२ हजार ९३ रकम राजस्व सङ्कलन गरेको थियो ।

जनताको मुद्दा बोक्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताए ।

‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्याे । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइहाल्छ,’ उनले भने ।

सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए ।
नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए ।

‘यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग गर्ने छ । जनताले उचित सेवा पाउन सकुन् । सरकारले सेवा प्रदान गर्ने क्रममा महत्त्वपूर्ण सेवा प्रदान प्रहरीले गर्ने हो,’ गृहमन्त्री लेखक भने । यस्तै उनले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उद्देश्य प्रस्ट पारे ।

‘दुई ठूला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौं भनेर बनेको होइन । २०७९ चुनावपछि सरकार बनाउने र भत्काउनमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौँ,’ उनले भने, ‘यो सरकारको उद्देश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो।“ कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकको दाबी छ ।

‘यसको उदाहरण १८ वर्षसम्म अल्झिएको संक्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उहीँ हौँ । छलफल हामीबीच नै भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमति पुग्न सक्यौं । उर्जाशिल प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरि छाड्ने छौँ,’ उनले भने ।