`

देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होइनन्

Nepal One HD ११ भदौ २०८१ ९:१६
अन्तर्वार्ता/बिचार

जेपी गुप्ता ।
सोमबार गौरा पर्व मनाउन टुँडिखेलमा जम्मा भएको भीडले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हुटिङ गरेको बडो चर्चा छ । देउवा बोल्न थाल्दा होहल्ला चर्किएपछि देउवा कड्किए–‘लाज पनि छैन। अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरु, यही हो नेपालको संस्कृति ? यही हो नेपालको चलन ? यही सिकेर आएको ? बकवासहरु ।’
गौरा पर्व मनाउन आएकाहरू देख्दा देउवाको बिरोध गरेको देखिएपनि प्रत्यक्षदर्शीहरूका अनुसार भीडले आफूहरुलाई नेताहरु नचाहिने भन्दै मुर्दावादको नारा लगाएको थियो । हालका विरक्तलाग्दो राजनीतिक परिस्थितिमा यो एक प्रतिनिधिमूलक घटना हो । केही अघि यस्तो भएको भए काँग्रेसजनले यसलाई सायद देउवाकाबिरूद्ध ओलीको षड्यन्त्र भन्न सक्थे । यहाँ ओली स्वयं मञ्चमा थिए । उनले यस हुलहुज्जतको भर्त्सना पनि गरेका छन् । प्रचण्डको प्रतिकृया ज्ञात भएन, यद्यपि प्रचण्ड समेतकाविरूद्धको घान हो यो । समग्रमा नेताहरू प्रतिको वितृष्णा भनौं ।

मेरो विचारमा यसो हुनु हुदैन्थ्यो, भयो । यसअघि स्वयं प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल आदि सबैसँग यस्तो भैसकेको छ । सायद फेरि फेरि हुँदै जाने होला । अहिलेको साल–सम्वत्को दिशा यस्तै देखिन्छ ।
आज देउवा रिसाए । स्वभाविक पनि हो । सबै पालैपालो रिसाउँछन् । टुँडिखेल धेरै कुराको साक्षी छ, भलै यसको अभिलेख कतै नहोला । कुनै समय जनमत संग्रहको परिणामलाई बिपी कोइरालाले स्वीकार्दा यस्तै भएको थियो । पहिलो जनआन्दोलन पछि गिरिजाप्रसाद कोइरालाले ‘यो सबैको जित हो, राजाको पनि’ भनी बोल्दा उनि तारो बनेका थिए । त्यसअघि बि.स. २०३६ को विद्यार्थी आन्दोलन पश्चात ‘जनमत संग्रहको घोषणा” स्वीकार्दा त्यसबेलाका विद्याथी नेताहरू बलबहादुर केसी तथा शरण बिक्रम मल्ललाई त्यही टुँडिखेलमा जम्मा भई निस्केका भीडले जुत्ताको माला, कालोमोसो दली ठेलामा घुमाएका थिए। स्वयं बिपी कोइरालाले त्यहीँ आयोजित सभामा शेरबहादुर देउवा, जो त्यसबखत थोरै नाम चलेका नेपाल विद्यार्थी संघका सभापति थिए–उनलाई ‘शेरे सुदूरपश्चिमाञ्चल” भनेका थिए। बिपीको त्यसबेला देउवालाई राष्ट्रिय राजनीतिको परिदृश्यमा पुर्याउने एक विचारित पहल थियो त्यो । उही शेरबहादुर आज सुदूरपश्चिमेहरूकै घानमा परेर संयमता गुमाएको देखियो ।

तर, चुरो कुरो त के हो भने–यो जनताको रोष हो । यसको विवेक भनेकै ‘रोष’ हो । यस्ता रोषहरूले बदलाव ल्याईदिन्छ । राजाहरूलाई फ्याँकिदिन्छ। राष्ट्रपिता भनिनेहरूको सालिकलाई ढालिदिन्छ । विश्वयुद्धका विजेताहरूलाई चुनावमा सोत्तर पारिदिन्छ । हजारौं हजार उदाहरणहरू छन् यसका ।हिजोअस्ती नै काठमांडूमा कतै बालेन साहको ठूलो क्रेज देखिएको थियो । जनताले विशाल समर्थन जनाएको चर्चा सेलाएको पनि छैन । एक पटक बसन्तपुर दरबारको बार्दलीमा राष्ट्रपति समेतको उपस्थितिमा बालेन बालेन भएको थियो । विचरा राष्ट्रपतिलाई हिनताबोध भयो होला । यस्तो भैरहन्छ । जबकी, यस्तो भैरहनु हुँदैन । यसको सन्देश तथा संकेत बुझ्नु पर्दछ ।

यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होइनन् । अब देउवा, ओलीहरू बुज्रुग भए । उनीहरूलाई लाग्दो हो–’बुज्रुगहरूले समाजलाई दिशा दिन्छ । काँग्रेस वा कम्युनिष्टको बलको मियो हुन् समाजका बुज्रुगहरू । हुल्लडबाजहरूले केही गर्न सक्दैनन्।’ यसो सोच्दा त हुन्छ, जबकी यस्तो सोचाई उनीहरूका लागि घाटाको कुरो हुनेछ ।

नेपालको जनसंख्यामा ६५ वर्ष नाघेकाहरूको जनसंख्या ५.९०% छ। यस्ता बुज्रुगहरू आज त्यहाँ थिएनन् होला । उनीहरू यसो गर्दैनन् होला। यसो गर्ने त १५–४४ उमेर समूहका युवाहरू हुन्छन् । जसको जनसंख्या कूल जनसंख्याको ५०.३७% छ। यो सत्य तथ्यांक हो । सरकारहरू त चुनाव जित्न निर्वाचनको आचारसंहिताले बन्देज न लाउन्जेलसम्म सचिवहरू, प्रहरीका महानिरीक्षकहरू, अख्तियारका आयुक्तहरू, यस्तै यस्तैले सरकार बनाउन, आफ्ना पार्टीलाई विजयी बनाइदिन मद्दत गर्नेछन् भनेर यस्तै राजकीय उपक्रम तिर लागेका हुन्छन् । अनि यो बारूदको गोलो, १५–४४ उमेर समूहका ५०.३७ प्रतिशतकाहरूले चालै नदिइकन दलहरूको स्थितिलाई उल्टोपुल्टो बनाइदिन्छ । किनभने यिनीहरूलाई टुँडिखेलबाट जे भनिएपनि तिनीहरू ‘भोटर’ हुन् । मतदाता हुन् ।

यिनका पनि त केही कुरा होलान् ? जस्तो कि आज टुँडिखेलमा देउवाले बोल्दा तलबाट आवाज आयो–‘हामी नेताहरूलाई सुन्न आएको होइन।’बस्, यति नै हो नेताहरूले बुझ्नु पर्ने कि तिनीहरूले किन यसो भने कि ‘हामीहरू नेतालाई सुन्न आएको होइनौं।’ बस् यति बुझ्नुस् । आशा जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधानमन्त्री भै रहनुस् ! यिनैले हिजो, कुनै समय ‘शेरे सुदूरपश्चिम जिन्दावाद’ भनेका थिए ।


प्रतिक्रिया