`

भेनेजुएलाका निर्वाचन अधिकारीद्वारा ‘अनियमितता’ को निन्दा

Nepal One HD ११ भदौ २०८१ ६:३२
विश्व

भेनेजुएलाको राष्ट्रिय निर्वाचन परिषद् (सिएनई) का एक मात्र विपक्षी सदस्यले गत महिना राष्ट्रपति निकोलस मदुरोको पुनःनिर्वाचनमा भएको ‘अनियमितता’ लाई औँल्याएका छन् । 

“राष्ट्रपति निर्वाचनअघि, निर्वाचनका क्रममा र पछि भएका सबै कुराले घोषित परिणामहरूको पारदर्शिता र सत्यताको कमीको गम्भीरतालाई देखाउँछ”, जुआन कार्लोस डेलपिनोले सामाजिक सञ्जालमा एक विज्ञप्ति पोस्ट गर्दै भने । 

विपक्षीले निर्वाचन जितेकामा जोड दिएका छन् भने संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ (इयु) र धेरै ल्याटिन अमेरिकी मुलुकहरूले मदुरोको जितलाई मान्यता दिन अस्वीकार गरेका छन् । 

लुकेर बसेका डेलपिनोले भने, “सन् २०२४ जुलाई २८ को निर्वाचन प्रक्रियामा भएका अनियमितताहरू र निर्वाचनको दिनभन्दा अघि र पछि आएका कठिनाइका कारण प्रक्रियाको निष्ठा र घोषित परिणाममाथिको विश्वास गुमेको छ ।”

उनले मतदान केन्द्रहरूबाट परिणामहरूको प्रसारण अवरोधलाई सङ्केत गरे । अधिकारीहरूले अवरोधका लागि साइबर आक्रमणलाई दोष दिएका छन् । 

सिएनई परिषद्का पाँच सदस्यमध्ये एक डेलपिनोले मतदान समाप्त भएपछि विपक्षी पर्यवेक्षकहरूलाई मतदान केन्द्रहरूबाट निष्कासित गरिएको बताए ।

भेनेजुएलाको सर्वोच्च अदालतले बिहीबार तेस्रो पटक ६ वर्षको कार्यकालका लागि मदुरोको पुनर्निर्वाचनलाई प्रमाणित गरेको थियो । सर्वोच्च अदालतलाई मदुरोप्रति वफादार मानिन्छ ।

ह्याकरहरूले तथ्याङ्कलाई दूषित गरेको भन्दै सिएनईले विस्तृत परिणाम प्रकाशित गर्ने मागलाई अस्वीकार गरेको छ । 


प्रतिक्रिया