`

हनुमान नाच

करिब तीन सय वर्ष पुरानो हनुमान नाच बागलुङमा नौ वर्षपछि प्रदर्शन गरिँदै । यहाँका नेवार समुदायद्वारा संरक्षित हनुमान नाच पाँच वर्षमा देखाइने गरिएकोमा कोभिडका कारण तत्कालिन समयमा रोकिएकोमा अहिले नौ वर्षपछि देखाइएको हो । । हनुमान नाच संरक्षण परिषद् बागलुङले विधिवत् रुपमा यो नाच देखाउन सुरु गरेको हो ।

तस्बिर : डम्मर बुढामगर/रासस

स्तन क्यान्सर पहिचानका लागि धादिङ अस्पतालमा ‘मेमोग्राम सेवा’

मलेखु । धादिङको नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पहिलोपटक स्तन क्यान्सर पहिचान र परीक्षणका लागि मेमोग्राम सेवा सुरु गरेको छ ।

बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले एक करोड नौ लाख ६१ हजार मूल्य बराबरको मेसिन उपलब्ध गराएसँगै जिल्ला अस्पतालले मङ्गलबारदेखि सेवा सुरु गरेको हो ।

स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका स्वास्थ्य संस्थाको सुधारका लागि सुक्ष्म अध्ययन गरिरहेको, प्रदेशका सबै प्रादेशिक अस्पताल र सबै स्वास्थ्य संस्थामा कर्मचारी व्यवस्थापन गरी सेवामा सुधार ल्याउने प्रयास भैराखेको बताए ।

‘विभिन्न कारणले महिलाको स्तनमा समस्या आउने अर्थात् क्यान्सर हुनसक्छ त्यसको पहिचान गर्नका लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ’, अस्पतालका निमित्त अस्पताल निर्देशक डा गगन अधिकारीले भने, ‘रेडियोग्राफर टेक्नोलोजिष्टद्वारा स्तनको चित्र लिन सकिन्छ ।’

सेवा सुरु भएसँगै बढ्दै गएको स्तन क्यान्सर पहिचान र परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण छभने डाक्टरले मेमोग्राम गर्न सुझाव दिने गर्दछन् । धादिङ अस्पतालमा पछिल्लो समय दैनिक चार सयभन्दा बढी सेवाग्राहीले सेवा लिदै आएका छन् ।

तनहुँ बस दुर्घटनामा बेपत्ता एकजना अझै परेनन् फेला

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना पाँच दिनसम्म फेला पर्न सकेका छैनन् ।

पोखराबाट काठमाडौँतर्फ गइरहेको भारतीय नम्बर प्लेट युपी५३एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदे मङ्गलबारसम्म फेला नपरेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । बेपत्ता भएको सरोदेको खोजी भइरहे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

सोमबार नदीमा खसेको बस निकाल्ने क्रममा बसले च्यापिएको अवस्थामा छ कि भन्ने आशङ्का रहे पनि उनी फेला नपरेको प्रहरीको भनाइ छ । बेपत्ता भएका सरोदेका बुबाआमाको सोही दुर्घटनामा परी मृत्यु भएको छ ।

प्रनाउ रायले भने, ‘घाइतेहरूले दिएको विवरणका आधारमा उनी फेला परेका छैनन् । सम्भावित ठाउँमा खोजी भइरहेको छ ।’ प्रहरीले गत सोमबार आठ घण्टाको प्रयासमा नदीबाट बस निकालेर सडक नजिकको भागसम्म ल्याएको थियो ।

साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश खेल्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल आज हुँदै छ । सातदोवाटोस्थित एन्फा मैदानमा दिउँसो साढे २ बजे सुरुहुने फाइनल खेलमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो ।

नेपालले भुटानलाई र बंगलादेशलाई भारतलाई पेनाल्टी सटआउटमा पराजित गर्दै एकअर्काविरुद्ध उपाधि भिडन्त पक्का गरेका हुन् । दुवै खेलमा एक एक गोलको नतिजा आएपछि फाइनल पुग्ने टिमको छिनोफानो पेनाल्टीबाट गरिएको थियो । नेपाल र भारत समूह चरणमा पनि भिडेका थिए ।

जसमा नेपाल विजयी भएको थियो । सुरुका दुई संस्करणको उपाधि जिते यता थप ३ संस्करणमा फाइनल पुग्न पनि असफल नेपाल उपाधि जित्ने लक्ष्यमा रहेको छ । उता, बंगालदेशपनि यसअघिका संस्करणमा भारतसँग फाइनलमा पराजित हुँदै उप विजेतामा सीमित हुन पुग्दै आएको टिम हो ।

बंगलादेश पनि नयाँ इतिहास बनाउने लक्ष्यका साथ मैदान उत्रिने छ । दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनल खेल उपाधि जित्नकै लागि मैदान उत्रने प्रतिक्रिया दिएका छन् ।

रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन् । मंगलबार भएको निर्वाचनमा पार्टी सचिव रहेकी झाँक्री जयन्ती राईसँग उपाध्यक्षमा पराजित भएकी हुन् ।

राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाएकी छिन् । त्यस्तै उपाध्यक्ष (मधेशी) मा रामचन्द्र झालाई पराजित गर्दै धर्मनाथ प्रसाद साह विजयी भएका छन् ।

खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा भने यसअघि नै राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै सचिवमा गणेश बिक, बलदेब चौधरी, श्रीनाथ बराल, साबित्रा भुषाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीले पहिलो पटक गरेको महाधिवेशनलाई १० औं महाधिवेशनको नाम दिएर भएको महाधिवेशन हलबाट माधवकुमार नेपाललाई अध्यक्ष, घनश्याम भुसाललाई महासचिव र झलनाथ खनाललाई सम्मानित नेतामा दोहोर्याएर घोषणा भएको थियो । सहमतिबाट पदाधिकारी चयन नभएपछि मंगलबार निर्वाचन भएको हो ।

श्रीलङ्काद्वारा ‘जलवायु–स्मार्ट कृषि लगानी योजना’ निर्माणको सुरुवात

श्रीलङ्काले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना गर्न पहिलो जलवायु–स्मार्ट कृषि (सीएसए) लगानी योजनाको निर्माण सुरु गरेको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले विज्ञप्ति जारी यस्तो जानकारी दिएको हो ।

योजना हरित जलवायु कोष (जीसीएफ) द्वारा वित्त पोषित छ भने एफएओले वातावरण मन्त्रालय र कृषि मन्त्रालयको साझेदारीमा कार्यान्वयन गरेको छ ।

योजनाको उदेश्य जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट कृषि क्षेत्रलाई जोगाइ रणनीति विकास गर्नु हो ।

श्रीलङ्का उष्ण जलवायुका साथ, जलवायु परिवर्तन प्रभावको संवेदनशील स्थानमा छ भने ग्लोबल “क्लाइमेट रिस्क इन्डेक्सका” अनुसार मौसमी घटनाको जोखिममा रहेका शीर्ष दश देशमा छ ।

जसले बढ्दो तापक्रम, अनियमित वर्षा लगायतका मौसमी परिवर्तनको सङ्केत गर्ने जनाउदै परिणाम स्वरुप कृषि उत्पादन र पानीको उपलब्धता घट्न थालेको एफएओले जनाएको छ ।

एक अनुसन्धानले शुष्क र मध्यवर्ती क्षेत्रमा जलवायु परिवर्तनको कारण मौसमको जोखिम रहेकाले प्रभाव कम गर्न क्रियासिल नरहेमा औसत १०–१२ प्रतिशत उत्पादन घट्ने प्रक्षेपण गरेको छ ।

यो योजना जलवायु परिवर्तनका लागि लचिलो भई कृषि विकासलाई बढावा दिन रणनीतिक खाका बनाउन सुरुवात गरिएको एफएओले जनाएको छ ।

किएभद्वारा युक्रेनमा निर्मित पहिलो ब्यालिस्टिक मिसाइल परीक्षण 

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनी सेनाले हालै घरेलुस्तरमा निर्मित ब्यालेस्टिक मिसाइलको पहिलो सफल परीक्षण गरेको बताएका छन् ।

किएभमा उनको घोषणा लगातार दुई रात युक्रेनभर व्यापक मात्रामा रुसी बमबारीका बीच आएको हो । रुसी  आक्रमणमा धेरै मानिसको मृत्यु भएको छ र ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ ।

किएभमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “पहिलो युक्रेनी ब्यालेस्टिक मिसाइलको सकारात्मक परीक्षण भएको छ, म यसमा हाम्रा रक्षा उद्योगलाई बधाई दिन्छु, म यो मिसाइलका बारेमा थप जानकारी साझा गर्न सक्तिनँ ।”

पश्चिमी सैन्य सहायतामाथिको निर्भरतालाई कम गर्ने प्रयासमा युक्रेनले आफैँ हतियार उद्योगको विकास गर्न र आफ्नो क्षेत्रमा सैन्य उत्पादनलाई प्रोत्साहित गर्ने प्रयास गरिरहेको छ । 

जेलेन्स्कीले गत साता युक्रेनी सेनाले पहिलोपटक युद्धमा युक्रेनमा बनेको पलियानित्सिया नामको लामो दूरीको ‘रकेट ड्रोन’ तैनाथ गरेको बताएका थिए ।

किएभले साना हतियार र गोलाबारुदको उत्पादनमा पश्चिमी हतियार कम्पनीहरूसँग सम्झौतामा हस्ताक्षर गरेको छ । 

पाकिस्तानको खैबर प्रान्तमा भएको भिडन्तमा चार सैनिक र २५ आतङ्ककारीको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा पछिल्लो सात दिनमा भएको छुट्टाछुट्टै कारबाहीमा चार सैनिक र २५ आतङ्ककारी मारिएका सेनाले जनाएको छ ।

सुरक्षा बलहरूले केपीको खैबर जिल्लामा खुफियामा आधारित अपरेसन सञ्चालन गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपिआर) ले विज्ञप्तिमार्फत बताएको छ

अपरेसनका क्रममा सुरक्षा बलहरूले एक प्रमुख सदस्यसहित २५ आतङ्ककारीलाई मारेको र ११ जना आतङ्ककारी घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

तथापि अपरेसनका क्रममा चार सैनिकले पनि ज्यान गुमाएको आइएसपिआरले जनाएको छ ।

अपरेसनमा आतङ्ककारीहरूलाई भएको भारी क्षति पाकिस्तानबाट आतङ्कवादको खतरा हटाउन सुरक्षा बलहरूको प्रतिबद्धताको प्रमाण भएको सेनाले बताएको छ ।

सोमबार पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा शृङ्खलाबद्ध आक्रमणमा सुरक्षाकर्मीहरूसहित कम्तीमा ५३ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो

काठमाडौँ । बुधबार अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङलगायतको विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार ती मुद्राको भाउ बढेको हो ।

बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा कायम छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा थियो । 

त्यसैगरी मङ्गलबार युरो एकको खरिददर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा रहेकामा आज खरिददर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा तथा बेलायतको पाउण्ड स्ट्रलिङको मूल्य आज एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा कायम छ । मङ्गलबार पाउण्ड स्ट्रलिङको भाउ एकको खरिददर १७६ रुपैयाँ ६० पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा थियो । 

स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५९ रुपैयाँ १७ पैसा कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ८० पैसा र बिक्रीदर १०३ रुपैयाँ २६ पैसा कायम छ । 

बैंकका अनुसार जापानी येन १० को खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा कायम छ । 

त्यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा, थाइ भाट एकको खरिददर ३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३ रुपैयाँ ९५ पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा कायम छ । 

केन्द्रीय बैंकका अनुसार मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा, कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १४ पैसा र बिक्रीदर १३ रुपैयाँ २० पैसा कायम छ । 

डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६ पैसा र बिक्रीदर २० रुपैयाँ १५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४४० रुपैयाँ ८७ पैसा र बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १५ पैसा कायम छ ।

केन्द्रीय बैंकले खुला बजारमा भने मूल्य फरक पर्न सक्ने जनाएको छ ।

आइसिसीको अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित

नयाँदिल्ली । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आगामी अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित भएका छन् ।

सन् २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सचिव र सन् २०२१ देखि एसियाली क्रिकेट परिषद्को अध्यक्षका रूपमा काम गरेका शाहले सन् २०२४ डिसेम्बर १ देखि यो प्रतिष्ठित भूमिका ग्रहण गर्नेछन् ।

आइसिसीको विज्ञप्तिअनुसार वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकाल नखोज्ने निर्णय गरेपछि शाह अध्यक्ष पदका लागि एक मात्र उम्मेदवार थिए ।

निर्वाचित भएपछि शाहले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने आफ्ने मनसाय व्यक्त गरे । विशेषरूपमा लस एन्जलस २०२८ ओलम्पिकमा यसको आगामी समावेशका साथै एक क्षणमा खेलको विकासका लागि उहाँले महत्त्वपूर्ण अवसरका रूपमा हेरेका छन् ।

‘अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को अध्यक्षका रूपमा निर्वाचित भएकामा म विनम्र भएको छु’, आइसिसीलाई उदृत गर्दै उनले भने, ‘म क्रिकेटलाई अझ धेरै विश्वव्यापी बनाउन आइसिसी टिम र हाम्रा सदस्य मुलुकहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छु, हाम्रो लक्ष्य क्रिकेटलाई पहिलाभन्दा धेरै समावेशी र लोकप्रिय बनाउनु हो ।’

आइसिसीको नेतृत्व गर्ने शाह सबैभन्दा कम उमेरको व्यक्ति बनेका छन् । विगतमा आइसिसीको नेतृत्व गर्ने जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशाङ्क मनोहरजस्ता भारतीयमा पनि उनी सामेल भएका छन् ।

सुडानको शिविरमा भएको गोलीबारीमा २० जनाको मृत्यु

सुडानी अर्धसैनिकहरूले देशको डार्फर क्षेत्रमा विस्थापितहरूको शिविरमा गोलीबारी गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । 

‘हामीले अहिलेसम्म अबु शौक विस्थापन शिविरका बासिन्दाहरूको हताहतको बारेमा प्राप्त गरेको जानकारीमा कम्तीमा २० जना मारिएका र ३२ जना घाइते भएका छन्’, अल–फाशरको स्थानीय समितिले भन्यो ।

अल–फाशरलाई अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले डार्फर सहरलाई आफ्नो नियन्त्रणबाट बाहिर निकाल्ने प्रयासमा मे महिनादेखि घेरेको छ ।

अल–फशर समिति तल्लो तहको नेटवर्कको हिस्सा हो । यसले गत वर्ष सेना र आरएसएफबीच युद्ध सुरु भएदेखि प्रजातन्त्र समर्थक विरोध प्रदर्शनहरू आयोजना गर्न समन्वय गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घ समर्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण समीक्षाअनुसार तीव्र लडाईँले अल–फाशर नजिकैको जमजम शिविरलाई भोकमरीमा धकेलेको छ ।

विश्व खाद्य कार्यक्रमका प्रवक्ता अलेसेन्ड्रा भेलुसीले यहाँ दोस्रो गाडीले लगभग १७ हजार मानिसका लागि दुई सय पाँच टन खाद्य सहायता लिएर गएको बताए ।

सिमानाबाट करिब ४०० किलोमिटर (२५० माइल) टाढा जमजममा मात्रै अहिले भोकमरीको खतरामा रहेका करिब पाँच लाख मानिसको घर छ ।

सुडानमा द्वन्द्व सन् २०२३ मा सुरु भयो र त्यसले दशौँ हजारको ज्यान लिइसकेको र लाखौँ व्यक्ति विस्थापित भएका छन् ।

यसले विश्वको सबैभन्दा खराब मानवीय सङ्कटको सामना गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार यहाँ धेरै क्षेत्रमा भोकमरीको सामना गर्नुपरिरहेको छ ।

मुस्ताङको थासाङमा पुनः हिउँपहिरो, बोक्सीखोला थुनियो

म्याग्दी ।  धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मंगलबार साँझ पुनः हिउँपहिरो खसेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही असोज ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो ।


थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको जानकारी दिए ।


‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ’, उनले भने, ‘हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।’


बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । मंगलबार साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए ।

सरकारद्वारा अन्तर्राष्ट्रिय हवाई कम्पनी प्रतिनिधिहरूसँग छलफल, प्याकेजमा आशंका नगर्न आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौं पर्यटकहरु भित्राउन सकिने बताएका छन् ।

मंगलबार अन्तराष्ट्रिय वायु सेवा सञ्चालकहरुसँगको छलफलमा मन्त्री पाण्डे यस्तो बताएका हुन् । मन्त्री पााण्डेले भने, ‘देश आर्थिक लगायतका जटिलतामा ग्रुजिइरहेको छ । यो संकटको अवस्था हुँदाहुँदै पनि सरकारले विभिन्न प्योकज ल्याएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न खोजेको छ ।देशको जटिलतालाई बुझेर सरकारले गरेको निर्णय कम आँक्नु हुँदैन ।’

मन्त्री पाण्डेले दुइवटै विमानस्थल सञ्चालनका लागि नीतिगत, व्यवसायिक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताए ।

उनले पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै चीन, भारतलगायतका मुलुकबाट पोखरा र भैरहवामा पर्यटकहरु भित्राउन सकेको अवस्थामा राज्यले लाखौं राजस्व भित्राउन सक्ने बताए ।

उनले सरकारले ल्याएको प्याकेजमा दुइ वर्षपछि के होला ? भन्ने विषयमा चिन्ता नलिन समेत अन्तराष्ट्रिय विमान कम्पनीहरुसँग विश्वास दिलाए । मन्त्री पाण्डेले रुटका विषयमा सरकार चीन भारतसँग कुटनैतिक रुपमा अघि बढिसकेको समेत बताए । छलफलमा जजिरा,सिंगापुर एयरलाइन्स लगायतका दर्जन बढी वायु सेवा सञ्चालकहरुको उपस्थिति रहेको थियो ।

एशियन जुनियरमा नेपालबाट चार खेलाडी सहभागी हुने

काठमाडौँ । एसियन बक्सिङ कन्फेडेरेशनको आयोजनामा संयुक्त अरब इमिरेट्सको अवुधावीमा हुने एशियन जुनियर तथा स्कुल ब्वाइज एण्ड गल्र्स बक्सिङ प्रतियोगितामा नेपालबाट चार जना पुरुष खेलाडी सहभागिता जनाउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले मंगलबार आयोजित  कार्यक्रममा सहभागी टोलीलाई देशको नाम उच्च राख्नेगरी खेल प्रदर्शन गर्न शुभकामना दिँदै बिदाइ गरे ।

यही भदौ ११ देखि २५ गतेसम्म सञ्चालन हुने  प्रतियोगितामा विभिन्न देशका १३ देखि १६ वर्ष उमेर समूहका करिब ४५० जनाभन्दा बढी खेलाडीको सहभागिता रहने बताएइको छ ।

प्रतियोगिताका लागि नेपालबाट देशभरका एक सय ७५ जना खेलाडीमध्ये उत्कृष्ट खेलाडीको छनोट गरेको नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेले जानकारी दिए ।

जसमा जुनियर ४६ केजी तौल समूहमा चन्दन शाही, ६० केजी तौल समूहमा शेरप गल्चेन शेर्पा, ८० केजीमा सर्यन वैद्य र ६१ केजी तौल समूहमा रोमस श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । यस्तै प्रशिक्षकमा रमेशदास श्रेष्ठ र निर्णायकमा धनकुमार मैनालीले भाग लिनेछन् । नेपाली  टोली आज राति दुबई प्रस्थान गर्नेछन् ।

अवैध रुपमा अमेरिका हिंडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

काठमाडौं । अवैध रुपमा दक्षिण अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरी १७६ जना नेपाली साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको जानकारी दिएको हो । उनीहरु सबै सकुशल रहेका र आवश्यक मानवीय सहायता पुर्याउने दूतावासले जनाएको छ ।

ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको दूतावासले स्पष्ट पारेको छ ।

अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तब्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।

दूतावासले भनेको छ, ‘दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरुमा आउने प्रवृत्ति बढ्दो छ । संगठित रुपमा संचालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरु यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ। कयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको छ।’

साथै दूतावासले जायज कारण भए पुष्टि हुने कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल आउन वा ब्राजिल भएर अन्य देशको भ्रमणमा जान अनुरोध समेत गरेको छ ।

राष्ट्रिय भेला व्यवस्थापनका लागि रास्वपाद्वारा १४ वटा उपसमिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेला व्यवस्थापनका लागि  १४ वटा उपसमिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले असोज १ र २ गते काठमाडौंमा हुने पहिलो राष्ट्रिय भेलाको व्यवस्थापनका लागि उपसमिति गठन गरेको हो ।

बैठकले प्रतिनिधि, रजिष्ट्रेसन व्यवस्थापन, स्रोत व्यवस्थापन, यातायात तथा आवास, सुरक्षा तथा कानुन, स्वयंसेवक व्यवस्थापन, अडियो भिजुअल व्यवस्थापन, क्याटरिङ व्यवस्थापन, स्वास्थ्य क्लिनिक व्यवस्थापनलगायतका उपसमिति गठन गरेको छ ।

प्रतिपक्षी दलको नेताको पद नचाहिए जनार्दनलाई दिन प्रचण्डलाई एमालेको सुझाव

काठमाडौं । नेकपा सांसद रघुजी पन्तले प्रतिपक्षी दलले प्रतिशोध साध्नेभन्दा पनि सकारात्मक ढङ्गबाट सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले कांग्रेस र एमाले मिलेर सरकार गठन भए पनि सबै दलको सल्लाह, सुझाव र सहमतिको आधारमा संविधान संशोध गर्नुपर्ने बताए ।

‘संविधान संशोधनको विषय कांग्रेस र एमालेबीच सरकार गठनको समयमा सहमति हुँदा मात्रै भएको होइन, संविधान संशोधनको विषय त्यो भन्दा अघि नै आमजनता, नागरिक समाजले उठाएको विषय हो, त्यसैले संविधान संशोधनको विषयमा प्रतिपक्षलगायत सम्पूर्ण दलबीच एक मत हुने छ’, उनले भने ।

उनले माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान गरेको भन्दै आपत्ति जनाए । उनले भने,‘विद्युत बक्यौता रकमका विषयमा गलत व्याख्या गरेर तपाईंले व्यक्तिगत रूपमा प्रधानमन्त्रीलाई अपमानित गर्नुभएन। सांसदको रेकर्ड झिकाएर सुने हुन्छ। प्रधानमन्त्रीजीले तपाइँले भनेजस्तो बोल्नुभएको छैन। तपाइँले अहिल्यै मैदानमा उत्रिएर आलोचना गर्ने बेला पनि भएको छैन ।’

उनले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलको हुने भएपनि यसअघिका नजिरका कारण आफूहरूले त्यो पद नछोडेको बताए । उनले प्रमुख प्रतिपक्षी पद नचाहिए जनार्दन शर्मालाई दिन सुझाव दिए ।

उनले भने, ‘संविधान त पढ्नुस् नेता ज्यू । प्रमुख प्रतिपक्षीको पद तपाईंले खोजेर पाउने पद होइन । हामीले खोजेर पाउने पद होइन। यो एउटा संवैधानिक पद हो। यो तपाईंलाई पनि दिइएको होइन, तपाईंको दललाई दिएको हो । मन लाग्दैन भने, तपाईंकै छेउमा जनार्दनजी बस्नुभएको छ। दिनुहोस् न उहाँलाई ।’

उनले सत्ता माग्ने माओवादीको नैतिक अधिकार नभएको बताए । उनले भने, ‘तपाईंसँग सत्ता माग्ने नैतिक आधार पनि छैन । जनाधार पनि छैन। के मुखले माग्नुहुन्छ ? के आधारले माग्नुहुन्छ? कहिले यता कहिले उता गरेर तीनचोटि त समीकरण फेर्नुभयो। तपाईंलाई विश्वास गरेका ठूला दललाई धोका दिनुभयो।’

भष्टाचारको अनुसन्धानमा पाँच वर्षे हदम्यादबारे सरकारले स्पष्ट जवाफ दिनुपर्छः अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचारीलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष केसीले यसबारेमा राज्यले स्पष्ट जवाफ दिनुपर्ने बताएका हुन् । उनले भने, ‘भ्रष्टाचारीलाई पाँच वर्षे हदम्यादको विषयलाई लिएर देशैभरीबाट फोन आएको छ, यस बारेमा राज्यले स्पष्ट जवाफ दिनुपर्छ ।’

उनले भ्रष्टाचार अन्त्य गर्दै जनतालाई सुशासन दिनुपर्नेमा जोड दिए ।

भियतनामले अक्टोबरमा नयाँ राष्ट्रपति पाउने

भियतनामको राष्ट्रिय सभाले अक्टोबरमा देशको नयाँ राष्ट्रपति चयन गर्ने राष्ट्रिय सञ्चारमाध्यमले बताएको छ ।

कम्युनिष्ट पार्टीको महासचिव शीर्ष पदमा रहने भियतनामको चार–स्तम्भ नेतृत्व संरचनामा राष्ट्रपति एक प्रमुख पद हो जसमा प्रधानमन्त्री र राष्ट्रिय सभाको प्रमुख पनि समावेश रहेका छन् ।

“राष्ट्रिय सभाले अक्टोबरमा आफ्नो नियमित सत्रमा राष्ट्रपतिको रिक्त पद पूर्ती गर्नेछ”, राज्यद्वारा सञ्चालित भ्वाइस अफ भियतनामले मङ्गलबार राष्ट्रिय सभाको स्रोतलाई उदृत गर्दै जनाएको हो ।

भियतनामका कम्युनिष्ट पार्टी, केन्द्रीय समितिका महासचिव गुयेन फु ट्रोङको मृत्युपछि वर्तमान राष्ट्रपति टू लामलाई यस महिना सत्तारुढ कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरेपछि राष्ट्रपतिको पद रिक्त भएको हो ।

सन् २०११ देखि कम्युनिस्ट पार्टी प्रमुख रहेका ट्रोङ अक्टोबर २०१८ देखि अप्रिल २०२१ सम्म आफैं राष्ट्रपतिको पद पनि सम्हालेका थिए ।

स्थिरतमा जोड दिने एक–दलीय देश भियतनाममा राजनीतिक परिवर्तनहरू दशकौँसम्म सावधानीपूर्वक व्यवस्थित गरिएको थियो । तर “ब्लेजिङ फरनेश” भनिने एउटा प्रमुख भ्रष्टाचार विरोधी शुद्धीकरणले हालका वर्षहरूमा देशका केही शीर्ष नेताहरूसहित धेरै राजनीतिज्ञ र अधिकारीहरूलाई भ्रष्टाचार अभियोग लगाएपछि भियतनामले भर्खरै राजनीतिक उथलपुथल देख्न थालेको छ ।

भ्रष्टाचार आरोप लागेपछि सन् २०२१ देखि दुई राष्ट्रपति नुयन सुआन फुकले राष्ट्रपति भएको दुई वर्ष पनि नपुग्दै र उनका उत्तराधिकारी भो भान थुङले राष्ट्रपति भएको १४ महिनामै राजीनामा दिएका थिए ।

अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सीमित गर्दै अष्ट्रेलिया सरकार

अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुईलाख ७० हजारमा सीमित गर्ने मङ्गलबार घोषणा गरेको छ ।

घोषणा अनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार व्यावसायिक शिक्षा र प्रशिक्षण (भिईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैर–विश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिनेछ ।

शिक्षा मन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भिईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जनाएका छन् ।

उनले निर्धारित सीमाहरू, संसदले पारित गर्ने बताउदै अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सन् २०१९ को भन्दा सात हजारले कम र २०२३ को भन्दा ५३ हजार कम गर्ने जानकारी दिए ।

घोषणा अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीको कोटा पुरा गर्न असफल हुने संस्थाहरूले रिक्त पदहरू अन्य संस्थानहरूमा स्थानान्तरण गर्न सक्छन् ।

घोषणा शिक्षा प्रणालीलाई अझ प्रभावकारी र निष्पक्ष रूपमा स्थापना गर्ने पर्यत्नशील रहेकाले केही विश्वविद्यालयलाई मात्र नभई सम्पूर्ण क्षेत्रलाई लाभान्वित गर्ने क्लेयरले उल्लेख गरे ।

यसअघि सत्तारुढ लेबर पार्टीले सन् २०२२–२३ मा अस्ट्रेलियाको कुल आप्रवासन सङ्ख्या पाँच लाख २८ हजार बाट घटाएर सन् २०२४–२५ सम्ममा दुई लाख ६० हजार बनाउने रणनीतिसहित अन्तर्राष्ट्रिय विद्यार्थी सङ्ख्या सीमित गर्ने योजना घोषणा गरेको थियो ।

गत जुलाईमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन शुल्क ७१० अस्ट्रेलियन डलर बाट दोब्बर बढाएर एक हजार ६०० अस्ट्रेलियन डलर बनाएको छ ।

गैरसरकारी संस्था युनिभर्सिटीज अस्ट्रेलियाका प्रमुख कार्यकारी ल्युक सिहीले अगस्टको सिनेट सुनुवाइमा विश्वविद्यालयको अरबौं डलर राजस्व खर्च गर्ने र १४ हजार रोजगारी जोखिममा पार्ने जनाएका थिए ।

उनले अन्तर्राष्ट्रिय विद्यार्थीले गत वर्ष अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको बताउदै लगभग उनीहरुले नै राष्ट्रलाई मन्दीबाट जोगाएको उल्लेख गरे ।

सरकारी तथ्याङ्कका अनुसार सन् २०२३ मा अष्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको मूल्य ४७.८ बिलियन अस्ट्रेलियन डलर थियो ।

गाजाको अवस्था दयनीय

प्यालेस्टीनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का अधिकारीहरूले गाजाको अवस्था ‘विनाशकारी’ भएको जनाएका छन् । यसै क्रममा उनीहरुले र विगत दुई हप्तामा गाजामा जारी थप निकासी आदेशको बिचमा मानिसहरूलाई सीमित गरिएको ठाउँ ‘धेरै सानो’ र साँगुरो भएको पनि दोहोर्याएका छन् ।

न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा गाजाका युएनआरडब्लुएका प्रवक्ता लुइस वाटर्रिज र युएनआरडब्लुएका प्रथम उपक्षेत्र निर्देशक विसम रोजले भिडियोमार्फत पत्रकारलाई यस्तो जानकारी दिएका छन् ।

यसै क्रममा वाटर्रिजले हरेक दिन लाखौँ मानिसहरू सुरक्षित आश्रयको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा सर्न बाध्य भइरहेको बताए ।

उनका अनुसार निकासी आदेश पछि गाजामा मानिसहरुले आफ्नो सामान सार्दै छन् ,अधिकांश मानिसहरूलाई जबरजस्ती सारिएको छ भने विस्थापीतका लागि सवारी साधनको सीमित पहुँच छ र उनीहरुलाई कहाँ जाने भन्ने पनि थाहा छैन ।

उनले खान युनूस र अल–मवासीमा इजरायलले घोषणा गरेको मानवीय क्षेत्रमा, बलौटे जमिनमा भीडभाड रहेको बताउदै सुरक्षित क्षेत्र भनिएको यस क्षेत्रमा पनि सुरक्षित नरहेकोले मानिसलाई ज्यान जोगाउन सुरक्षित ठाउँ नभएको बताए ।

युएनआरडब्लुएका प्रथम उपक्षेत्र निर्देशकले हालैको निकासी आदेशले इजरायलको मानवीय क्षेत्रलाई सम्पूर्ण गाजा पट्टीको ११ प्रतिशतमा मात्र कायम गरेको बताए ।

जहाँ मानिसहरू भेला भई बाँच्नका लागि प्रयास गर्ने बताउदै उनीहरु कयौँ बाध्यताको बीच “असम्भव विकल्पहरू“ सामना गर्ने गरेको जानकारी उनले दिए ।

उनले यस क्षेत्रमा पोलियो फैलिन सक्ने चेतावनी दिँदै कुपोषित बालबालिकामा विनाशकारी स्वास्थ्य क्षेत्र, दुषित पानी र सरसफाइको अवस्थाले उनीहरूको प्रतिरक्षा प्रणाली कमजोर भएको उल्लेख गरे ।

अधिकारीले पोलियो खोप अभियानलाई सफल बनाउनका लागि निर्देशन दिइरहेको र अर्को शनिबार देखि अभियान सुरु हुने बताए ।

सर्वोच्चद्वारा सशस्त्र प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदीको इजलासले सशस्त्र प्रहरीका अधिकृतहरूको तर्फबाट दायर भएको रिटमा कारण देखाऊ आदेश जारी गरेको हो ।

त्यस्तै इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको छ । यसअघि यस्तै प्रकृतिको नेपाल प्रहरीका अधिकृतहरूको रिटमा अन्तरिम आदेश जारी भएको थियो । त्यसपछि सशस्त्र प्रहरीका तर्फबाट प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीको नेतृत्वमा १२ जनाले रिट दायर गरेका थिए ।

प्रहरी सेवाको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकृतहरू एकसाथ सर्वोच्च अदालत पुगेका थिए । आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले भदौ ५ मा सर्वोच्च अदालतमा ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।

गुल्मीमा कफी र सुन्तलाका लागि क्षेत्र विस्तार

गुल्मी । गुल्मीमा कफी, सुन्तला, मकै र बाख्रापालन कार्यक्रमका लागि क्षेत्र विस्तार गरिएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना कार्यान्वयनको आयोजनामा जिल्लाका १२ स्थानीय तहअन्तर्गतका विभिन्न वडामा क्षेत्र विस्तार गरिएको हो ।

परियोजनाद्वारा जोन तथा सुपर जोन कार्यक्रम अन्तर्गत ३२ वडामा क्षेत्र विस्तार गरिएको जिल्लास्थित प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना प्रमुख गङ्गा पोख्रेलले जानकारी दिए ।

परियोजनाद्वारा जिल्लाको चन्द्रकोट गाउँपालिका–२, ३ र ४, कालीगण्डकी–१ र ४, सत्यवती–८, छत्रकोट–१ र २, रुरुक्षेत्र–४, गुल्मीदरबार गाउँपालिका–१, रेसुङ्गा नगरपालिका–१४ मा सुन्तलाका क्षेत्र विस्तार गरिएको हो ।

त्यसैगरी कफी सुपर जोनका लागि कालीगण्डकी–३ र ४ र चन्द्रकोट–६ का तीन वडामा कफीको क्षेत्र विस्तार गरिएको छ । बाख्रा जोन कार्यक्रमअन्तर्गत मालिका–५ र ८, मदाने–४ र ७, इस्मा–१ र ३ तथा धुर्कोट–४ र ५ मा क्षेत्र विस्तार गरिएको छ ।

यसैगरि मकै जोन कार्यक्रमअन्तर्गत मुसिकोट नगरपालिका–२, ३ र ४, चन्द्रकोट–४, छत्रकोट–३ र ५, गुल्मीदरबार–३ र ४ मा मकैको क्षेत्र विस्तार गरिएको छ । जिल्ला परियोजना कार्यान्वयन एवं समन्वय तथा अनुगमन समितिको सिफारिसमा परियोजना व्यवस्थापन इकाई खुमलटारले क्षेत्र विस्तारका स्वीकृति प्रदान गरेको थियो ।

अनुगमन समितिले स्थानीय तहको सिफारिस, प्राविधिक कार्यदलको अध्ययन प्रतिवेदन र परियोजनाबाट अवसर नपाएका व्यक्ति लगायतका मापदण्डलाई क्षेत्र विस्तारका लागि छनोटको मुख्य आधार बनाएको हो ।

तिनै मापदण्डका आधारलाई टेकेर क्षेत्र विस्तार गरिएको अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले बताए । परियोजनाद्वारा जिल्लाको १२ स्थानीय तहमध्ये मकै जोन कार्यक्रममा १८, बाख्रा जोनमा १०, कफी सुपर जोनमा ४२ र सुन्तला जात फलफूलमा २४ वडामा कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

वीरगंजमा बिलबीजक नभएका एक करोड ३१ लााखभन्दा बढी मूल्यका सामान बरामद

वीरगञ्ज (पर्सा) । वीरगञ्जमा एक करोड ३१ लाख १५ हजार छ सय ९८ मूल्य पर्ने बिलबीजक नभएका औषधि तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघरबाट बिलबीजकभन्दा धेरै समान बोकेका दुईवटा ट्रकसहितको सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

उनले बिलबीजकभन्दा धेरै सामान बोकेका लत्ताकपडा र औषधि बोकेका ट्रकलाई आइतबार राति पक्राउ गरिएकामा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बताए । प्रदेश ७–०१–००१ ख ३०८८ र ना ३ ख ५१६५ नंको मालवाहक ट्रकबाट कपडा, औषधि र खुद्रा मालवस्तु लोड गरी चितवन तथा कैलालीतर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

शेयर बजारमा १११ अंकको गिरावट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । मंगलबार नेप्से १११ दशमलव ९६ अङ्कले घटेर दुई हजार सात सय ८२ दशमलव ६० विन्दुमा झरेको छ ।

आज होटल बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज नेपाल फाइनान्सको शेयर १० प्रतिशतले घटेको छ । यस्तै रिडी पावर कम्पनीको शेयर साढे आठ प्रतिशतले ओरालो लाग्दा र अन्य पाँच वटा कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

बजार उच्च अङ्कले घटेको दिन तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज तीन सय ३० वटा कम्पनीका चार करोड ३८ लाख कित्ता शेयर १८ अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री माफियाका पक्षमा उभिनुभयोः प्रचण्ड(पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार दुई तिहाईको दम्भ देखाएर गलत बाटोमा जान लागेको भन्दै आक्रोश पोखेका छन् ।

मंगलबारको प्रतिनिधिसभामा सम्बोधन गर्दैै अध्यक्ष प्रचण्डले सरकार जनता भन्दा स्वार्थ समूह र माफियाहरुको सेवामा लागेको आरोप लगाएका हुन् । उनले प्रतिपक्षलाई कम नआँक्न पनि चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘प्रतिपक्ष कमजोर होला कि भन्ने चिन्ता वा कमजोर हुनेछ भन्ने खुसी कसैलाई छ भने म दुबैलाई आश्वस्त पार्न चाहन्छु, त्यस्तो हुनेछैन । बरु, आवश्यक परे जनतालाई साथमा लिएर संसददेखि सडकसम्म सत्तालाई खबरदारी र नियन्त्रण गरिनेछ । पछिल्ला चालीस दिनमा प्रतिपक्षको नैतिक शक्ति जनताले देखिसकेको छ ।’

प्रचण्डको सम्बोधनको पूर्णपाठः

सभामुख महोदय,

प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा यो सम्मानित रोष्टम म अलि अगाडि नै पनि उपयोग गर्न सक्थेँ । गरिनँ । किनकि, म सरकारलाई हनिमुन पिरियडसम्मै शंकाको सबै सुविधा दिने पक्षमा थिएँ । सरकारमाथि पहिलो वहस जनताको अदालतमा होस् भन्ने मेरो चाहना थियो ।

तर, चालीस दिनभन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको सूक्ष्म अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु, सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ ।

जनताभन्दा स्वार्थसमूहहरुको, अझ माफियाहरुको सेवामा अग्रसर छ । त्यसैले अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने भयो । धेरै क्षति हुने भयो । जनताले यो सम्मानित संसदमाथि गरिरहेको विश्वास पनि कमजोर हुने भयो । त्यसैले मैले आजै यो रोस्टममा उभिने निर्णय गरेँ ।

अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)का साथीहरु आफू मात्र मिल्नुभएको छैन, आफैले सिध्याउने भनेका जातीय–क्षेत्रीय प्रकृतिका साना दलहरुलाई पनि कतै फकाएर, कतै तर्साएर सत्तापक्ष बनाउनुभएको छ ।

संख्यात्मक रुपमा प्रतिपक्षीय बेन्च सानो भएको बेला संख्याको बलमा सरकारले जे गरे पनि हुन्छ र गर्न सक्छ भन्ने साथीहरुलाई लागेको हामीले देख्यौं । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा म आज यही रोष्टमबाट घोषणा गर्दछु, सत्ताको कुनै पनि अनैतिकता, बेथिति र बेइमानीको हामी निरीह साक्षी हुने छैनौं । बरु, सरकारका एकएक अपराधलाई यही संसदमा नंग्याउनेछौं, खबरदारी र प्रतिरोध गर्नेछौं ।

प्रतिपक्ष कमजोर होला कि भन्ने चिन्ता वा कमजोर हुनेछ भन्ने खुसी कसैलाई छ भने म दुबैलाई आश्वस्त पार्न चाहन्छु, त्यस्तो हुनेछैन । बरु, आवश्यक परे जनतालाई साथमा लिएर संसददेखि सडकसम्म सत्तालाई खबरदारी र नियन्त्रण गरिनेछ । पछिल्ला चालीस दिनमा प्रतिपक्षको नैतिक शक्ति जनताले देखिसकेको छ ।

धेरैलाई लागेको हुँदो हो, प्रतिपक्षको यति सानो संख्याले दुई तिहाइको सरकारलाई कसरी खबरदारी र नियन्त्रण गर्ला ? संख्यामा होला दुई तिहाइ तर सरकारको जगमा विश्वास होइन, डर थियो र छ । यो सरकार जहाँ, जतिखेर र जसरी बन्यो, गर्भदेखि नै जनताका बीचमा ‘एक्सपोज’ थियो र अझ भइरहेको छ । जनतालाई थाहा छ, यो किन र कसरी बनेको कसको सरकार हो । प्रमाणित गर्ने काम सरकार आफैंले गरिरहेको छ । त्यसैले शुभचिन्तक र बिरोधी, दुबैलाई, मेरो आग्रह छ, हाम्रो संख्याको चिन्ता नगर्नोस् । जनता र प्रतिपक्षको सामना गर्न इमान चाहिन्छ यो सरकारसँग त्यो इमान र नैतिक धरातल छैन।

इमानमात्र होइन, सरकारको जगमा कानुन छैन, संविधान पनि छैन । म यो रोष्टमबाट फेरि एकपटक भन्छु, यो सरकार राजनीतिक बलमिच्याइ र संविधानको अवहेलनाबाट बनेको असंवैधानिक सरकार हो । संविधानको धारा ७६ (२) अनुसार बनेको सरकारले विश्वासको मत लिन नसकेपछि स्वतः धारा ३ सक्रिय हुन्छ भनेर संविधानमा स्पष्ट व्यवस्था छ । अहिलेका प्रधानमन्त्रीले कुनै बेला आफैंले त्यसको एकदमै प्रष्ट व्याख्या गर्नुभएको भिडियो हिजोआजसमेत सामाजिक सन्जालमा घुमिरहेको देख्छु । तर, म कसैलाई नैतिकता सम्झाउन चाहन्नँ ।

केवल एउटै प्रश्न सोध्छु, के संविधानका धाराहरु अमुक व्यक्ति हेरेर खुल्ने र अमुक व्यक्ति हेरेर बन्द हुने हुन् ?

सभामुख महोदय,

यो सम्मानित संसदमा मेरो पछिल्लो सम्बोधनमा यही रोष्टममा उभिएर मैले चुनौतीका साथ भनेको थिएँ, सरकारको पछाडि विचौलिया र माफिया छ र त्यही माफियाकै सेवामा यो सरकारको सबै प्रतिष्ठा समाप्त हुनेछ । त्यति भन्दाभन्दै पनि मलाई लागेको थियो, सरकारले केही दिन त सङ्कोच मान्नेछ । केही दिन त लाज मान्नेछ । तर, सरकार यति हतारमा देखियो कि बिरालोले म्याउ गर्न एक हप्ता पनि लागेन । लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोष्टममा उभिनुभयो । कडा रुपमा उभिनुभयो । तर, जसका पक्षमा जसरी उभिनुभयो, त्यो देखेर सिङ्गो देश स्तब्ध भयो ।

यही रोष्टमबाटै मैले यो पनि भनेको थिएँ, यो सरकार सुशासनसँग तर्सिएर बनेको हो । सुशासनको वेगलाई रोक्न, आफूहरु र आफ्नाहरु जोगाउन र जोगिन बनेको हो । तैपनि मलाई लागेको थियो, कम्तिमा भुटानी शरणार्थी प्रकरणमा केही दिन त सरकारले यताउती अल्मल्याउला, अनुसन्धान भइरहेको भान देला, जनतासँग अलिअलि डराउला । तर, यहाँ पनि दुई तिहाइको बलियो सरकारले बल देखाउन सात दिन पनि पर्खेन । भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्यूरोप्रमुखको सरुवा भयो, त्यो पनि विमान दुर्घटनाले जनताको ध्यान अन्तै तानेको दिन पारेर । हिजोको सरकारले भुटानी शरणार्थी, बाँसवारी, बालमन्दिर लगायतका थुप्रै काण्डको सफल छानवीन गर्दै थियो ।

नयाँ सरकार आयो र के गर्‍यो ? हिजो ती काण्डको छानबीन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानबीन सुरु गर्‍यो । यसरी सुरु भयो दुई तिहाइको सुशासन ।

नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न र अरु अपराधीहरुलाई जोगाउन सरकार जे गर्दै छ, त्यो खतरनाक छ । कांग्रेस–एमालेका साथीहरुलाई यो रोष्टमबाटै मेरो अनुरोध छ, नक्कली शरणार्थी काण्ड तपाईहरुले एकअर्कालाई जोगाउन र उन्मुक्ति दिन मिल्ने सामान्य अपराध होइन । यसले अन्तराष्ट्रिय जगतमै नेपालको कानुनी, नैतिक, राजनीतिक र सामाजिक प्रतिष्ठा धुलोपिठो बनाएको छ । यस्तो निर्लज्ज र निकृष्ट घटनाको अनुसन्धान गरिरहेका क्षमतावानर साहसी प्रहरी अधिकृतहरुलाई पुरस्कार होइन, उल्टो सरुवा र छानबीन गरेर बाँकी विश्वलाई के सन्देश दिँदै हुनुहुन्छ तपाईहरु ?अन्तराष्ट्रिय समुदायको यति प्रत्यक्ष चासो र निगरानी रहेको विषयमा पनि यो तहको निर्लज्जताले कहाँ पुग्छ देशको प्रतिष्ठा ?

सभामुख महोदय,

संसदीय परम्परामा संसारभरि नै लेखासमितिको सभापति प्रतिपक्षले पाउने गरेको छ । यो एक किसिमको लोकतान्त्रिक सन्तुलन र नियन्त्रण हो । अहिले यो संसदमा पनि प्रतिपक्षले लेखासमितिको सभापति पाउनुपर्ने हो तर नदिन अनेकथरी कुतर्क गरिँदै छ । प्रतिनिधिसभाको लेखासमिति पाउन ‘राष्ट्रिय सभाको अध्यक्ष छाड, प्रतिनिधिसभाको उपसभामुख छाड’सम्म भनिँदै छ । किन भनिँदै छ यस्तो ? किनकि माफियाको यति धेरै सेवा गर्नु छ कि त्यसका लागि सिङ्गै दुईतिहाइको सरकारसमेत पर्याप्त छैन, समिति पनि चाहिन्छ।

यसबीचमा लेखासमितिमा देखिएका दृश्यले त्यही भन्छन् । तर, सुन्नुहोस् कांग्रेस–एमालेका साथीहरु, हाम्रो भूमिका खोसेर तपाईहरु हामीलाई जनताको आवाज उठाउनबाट रोक्न सक्नुहुन्न । मेरो च्यालेन्ज भयो, लेखासमिति मात्रै किन ?चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईहरुसँगै राख्नोस् । हामीले हिजो केवल एउटा जिम्मेवार नागरिकका रुपमा तपाईहरुको कुशासनको प्रतिरोध गरेका हौं, आज पनि हामी त्यो हिम्मत र हौसला राख्छौं ।

लेखासमितिलगायतमा सत्तापक्षका साथीहरुको डर मैले बुझेको छु । प्रतिपक्ष संसदमा संख्यामा सानो छ । तर, यो इमानमा, प्रतिरोधमा, जनताको तर्फबाट खबरदारीमा कति सक्षम छ, पछिल्ला चालीस दिनले देखाएका छन् । यी चालीस दिनमा सरकार, स्वार्थसमूह अनि सामान्य जनतालाई पनि प्रस्ट भएको छ, यो प्रतिपक्ष भ्रस्टाचारमा हिस्सा लिने प्रतिपक्ष होइन । माफिया र स्वार्थसमूहहरुले मूल्य तोक्न सक्नेप्रतिपक्ष होइन । यो शानदार भूमिकाका लागि प्रतिपक्षका साथीहरुलाई जनताका तर्फबाट मेरो अभिवादन छ । हामीले प्रमाणित गर्‍यौं, सत्यले शक्ति देखाउन संख्या हुनुपर्दैैन ।

सरकार यति छिटै यो तहमा बदनाम हुनु प्रतिपक्षका हिसाबले राम्रै त हो नि, भन्न नसकिने होइन । तर म आज खुसी होइन, ठूलो चिन्ताका साथ यो रोस्टममा उभिएको छु । जम्मा चालीस दिनमै सरकार स्वार्थसमूहहरुका पक्षमा जसरी खुला रुपमै उभियो, त्यसले जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रुपमा बढेको छ । त्यसका झिल्का जताततै देखिँदै छन् ।

त्यो आगो लोकतन्त्रकै विरुद्ध प्रयोग होला कि भन्ने मेरो चिन्ता छ । सरकारका प्राथमिकता हेर्दा यसले गर्न नपर्ने सबै गर्ने तर गर्न पर्ने केही नगर्ने देखिँदै छ । म छक्क पर्छु, यस्तो के समस्या छ प्रधानमन्त्रीलाई ? जहाँ अलिकति सेतो छ, सफा छ, आशा छ, सम्भावना छ, त्यहीँ प्रधानमन्त्रीलाई समस्या छ । जहाँ बेथिति छ, विकृति छ, त्यहाँ प्रधानमन्त्रीलाई समस्या छैन, मतलव पनि छैन ।

अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये अधिकांश समस्याग्रस्त छन् । वायुसेवा निगम अलि अलि तंग्रिदै थियो । अहिले फेरी थला परेको छ । आयल निगमलाई हामीले नाफामा लगेका थियौं । अहिले फेरि समस्या देखिँदैछ । रेल्वे कम्पनीदेखि कपास विकास कम्पनीसम्म, उदयुपर सिमेन्टदेखि कृषि सामग्री कम्पनीसम्म राज्यको सही निर्णय र हस्तक्षेप पर्खेर बसेका छन् । त्यहाँ सरकारको चासो छैन । त्यहाँका पदाधिकारी, त्यहाँका समिति, त्यहाँका निर्णय, त्यहाँका बेथितिमा प्रधानमन्त्रीलाई चिन्ता छैन । चिन्ता के को छ, विद्युत प्राधिकरणको । चिन्ता किन छ, त्यसले व्यापारीहरुसँग वक्यौता उठाउन खोजिरहेको छ । यही हो जनउत्तरदायी शासन? यही हो विधिको शासन? यही हो विकेकको शासन?के यो स्वीकार्य छ ?

विद्युत् अब यो देशको सबैभन्दा ठूलो आशा भएको छ । दस हजार मेगावाट विद्युत् निर्यात र समग्र व्यपार घाटाको सन्तुलन अब धेरै टाढा छैन । तर, सम्झौं त लोडसेडिङका भयावह दिनहरु । परीक्षा दिने विद्यार्थीसँग उज्यालो थिएन । पानी आउने बेला छतमा तान्न बिजुली हुन्नथ्यो, बिजुली हुँदा पानी हुन्नथ्यो । यो देशमा हरेक भित्तामा भएको सबैभन्दा जरुरी र महत्वपूर्ण चिज लोडसेडिङको तालिका थियो । अहिले लोडसेडिङको बेला निर्वाध बिजुली उपयोग गरेका उद्योगीहरुको बिजुलीको महसुलमा सरकार सिधै माफियागिरीको पक्षमा उभिएको छ तर त्यो बिजुली कुनै नेताले घरबाट दिएको थिएन ।

एउटा सुत्केरीले बच्चा नसेकेर दिएको बिजुली हो त्यो । एउटा गृहिणीले पानी नतानेर दिएको बिजुली हो । एउटा विद्यार्थीले टुकी र मैनबत्तीमा पढेर दिएको बिजुली हो । तर हामीले के देख्यौं र देख्दैछौं ? त्यो पैसा तिर्नुपर्छ भनेर बोर्ड बैठकमा नोट अफ डिसेन्ट लेख्ने विद्युत प्राधिकरणका सञ्चालक समितिका सदस्यहरुलाई स्पष्टीकरण सोध्ने र हटाउने काम गरियो । यो कति दुःसाहस हो ? यद्यपि अहिले सम्मानित सर्वोच्च अदालतले वहाँहरुलाई पुनर्बहालीको अन्तरिम आदेश जारी गरेको छ ।

यो समग्र प्रकरणमा स्पष्टीकरण नै सोध्ने हो भने विद्युत प्राधिकरणमा फरक मत राख्ने हक्की र देशभक्त सञ्चालक सदस्यहरुलाई होइन, प्रधानमन्त्रीजीलाई स्पष्टीकरण सोध्नुपर्छ । यो रोष्टमबाट म सोध्छु प्रधानमन्त्रीलाई स्पस्टीकरण ः प्राधिकरणको रक्षा तपाईको जिम्मेवारी हो कि होइन ? माफियाहरुका पक्षमा उभिएर रोष्टमबाटै प्राधिकरणको नेतृत्वलाई लाञ्छित गर्दा अनि राजस्व उठाउनपर्छ भन्ने सञ्चालक सदस्यहरुलाई हटाउने निर्णय गर्दा संकोच लाग्नुपर्दैन देशको कार्यकारीलाई ? स्वार्थसमूहहरुसँग यो तहको कमिटमेन्ट छ तपाईहरुको ? यही हो दुई तिहाइको सरकारको नियत र नियति ?

कतैबाट पनि स्वार्थसमूहको हित पूरा गर्न नसकेपछि प्रधानमन्त्री अब फेसबुकमा प्रकट हुनुभएको छ र ६ अर्बमात्र किन, बाइस अर्ब नै किन नउठाउने भन्नु भएको छ ।

यो सम्मानित संसदमा हाइलाइट गरेर नोट होस्, बाइस अर्ब । प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याविनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव । प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन छ । यदि अबको क्याविनेटमा बाइस अर्बको प्रस्ताव आएन भने देशले अझ राम्ररी बुझ्नेछ, प्रधानमन्त्रीको नियत ।

प्रधानमन्त्रीले नौ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले क्याविनेटबाट सोध्नुपर्ने हो यो प्रश्न । खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैं हो । प्राधिकरणलाई आफ्नो काम आफैं गर्न नदिएर यो विवाद निम्त्याएको कसले हो ? तत्कालीन प्रधानमन्त्री ओलीले । ३१ वैशाख, २०७५ मा ट्रंकलाइन र डेडीकेटेड लाइनको विषयमा प्राधिकरणले बनाएको अध्ययन समितिले ६१ वटा औद्योगिक घरानाले डेडिकेटेड ट्रंकलाइनबाट विद्युत् लिई महसुल नतिरेको प्रतिवेदन दिएपछि बिल काट्न सुरु भयो ।

पैसा उठाउन केही उद्योगको लाइन काटियो पनि । तर, त्यो लाइन जोड्न ठाडो निर्देशन दिने को हो ? प्रधानमन्त्री ओली । पछि तीनतीन जना मन्त्री र सचिवसहितको समिति बनाएर अर्को निर्देशन नभएसम्म लाइन तत्काल जोड्न र थप लाइन नकाट्न आदेश दिने को हो ? त्यो पनि प्रधानमन्त्री केपी ओली ।

त्यही समितिले बीचको अवधिको मात्र महसुल उठाउन गरेको सिफारिस कार्यान्वयन गर्न मन्त्रीपरिषद्बाटै निर्णय गर्ने को ? प्रधानमन्त्री केपी ओली । अनि अहिले पैसा कसले घटायो भनेर फेसबुकबाट सोध्ने को ? त्यो पनि केपी ओली ।

पैसा उठाउनु त परको कुरा, लाइन काटेको भनेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने नियतका साथ मन्त्रीपरिषद्बाटै सात दिने स्पष्टीकरण सोध्ने को हो ? त्यो पनि प्रधानमन्त्री ओली । अहिले पानीमाथिको ओभानो हुन परेन प्रधानमन्त्रीजी ।

प्राधिकरणले अहिलेसम्म एक्काइस अर्ब अठासी करोडकै बिल काटेको छ । अबको क्याविनेटबाट यो असुल गर्ने निर्णय गराउनोस् । आफैं बोक्सी आफैं झाँक्री नबन्नोस् ।

सभामुख महोदय,

लोडसेडिङ समाप्तिको अन्तिम गृहकार्यमा सहभागी प्रधानमन्त्री र विद्युत विकासमा प्रतिवद्धताका कारण म विद्युत प्राधिकरणको उतारचढावबारे अलि बढी जानकार छु । अहिलेको नेतृत्व चयन र दीर्घकालीन नीति निर्माणमा भूमिका भएका कारण यसमा मेरो अलि बढी स्वामित्वबोध पनि छ । समाप्तिको डिलमा पुगेको प्राधिकरण आज देशकै सुन्दर भविष्य रच्न सक्ने ठाउँमा पुगेको छ । यो राष्ट्रिय गर्वले केही साथीहरुमा कुण्ठा जन्माइरहेको छ । म यो सम्मानित संसदलाई सोध्छु, के यति सस्तो र तल्लो हुनुपर्छ राजनीति ? कसैको रिसले फेरि पुरानै ठाउँमा लैजाने हो प्राधिकरणलाई?

हजारौं सर्वसाधारणले दुई चार थान बल्ब बालेको पैसा तिर्न नसकेर लाइन काटिन्छ । करिब १६ प्रतिशत विद्युत उपभोक्ता परिवार गरिबीको रेखामुनि छन् ।

समयमा महसुल नतिरे उनीहरुलाई ५ देखि २५ प्रतिशत सम्म जरिवाना गर्दै ६० दिनमा लाइन काटिन्छ । वर्षेनी लाखौं उपभोक्ता र साना उद्योगहरुको यसरी लाइन काटिन्छ । देशको प्रधानमन्त्री तिनका पक्षमा बोल्न पर्दैन? देशको प्रधानमन्त्रीले तिनको दायित्व लिन पर्दैन? प्रधानमन्त्रीले हाकाहाकी माफियाहरुको पक्षपोषण गर्दा सरकार मात्र होइन, यो सम्मानित संसदको रोष्टम पनि लज्जीत भएको छ । म आफैले यो सरकार स्वार्थसमूहहरुले बनाएको भनेको हुँ तर यो तहको पक्षधरताले देश नै स्तब्ध भएको छ ।

अहिले हाम्रो समग्र शिक्षा प्रणाली प्रश्नैप्रश्नले घेरिएको छ । ठूलो आर्थिक, शैक्षिक र सामाजिक असन्तुलन आउने गरी विदेशमा उच्च शिक्षा पढ्न जाने विद्यार्थीको संख्या हरेक वर्ष बढेको छ । राजनीतिक भागबन्डाबाट थिलोथिलो भएको उच्च शिक्षामा सुधार ल्याउन प्रधानमन्त्रीका रुपमा मैले पदाधिकारीहरुको नियुक्तिमा मेरिटोक्रेसी सुरु गरेँ । त्रिभुवन विश्वविद्यालयमा त्यसका प्रारम्भिक परिणामहरु आउँदै थिए । शैक्षिक क्यालेन्डर कार्यान्वयन हुँदै थियो ।

केही हप्ताअघिको उत्साहजनक उदाहरण दिन्छु, मानविकी तथा सामाजिक संकायअन्तर्गतको एउटा विषयको परीक्षाफल परीक्षा सकिएको चार दिनमै प्रकाशन भयो । अब विश्वविद्यालय सबै परीक्षाको नतिजा बढीमा सय दिनभित्रै सार्वजनिक गर्ने तयारीमा छ । गत वर्षका बाँकी परीक्षाको नतिजा त एक साताभित्रै प्रकाशन गर्ने तयारी छ । तर त्यही विश्वविद्यालयकोे नीति तथा कार्यक्रमबाटै प्रधानमन्त्रीको हस्तक्षेप सुरु भयो ।

मेरिटोक्रेसी मिच्दै जाँदा अब त विश्वविद्यालय पदाधिकारीहरुको सुरक्षाका लागि शिक्षामन्त्रीले गृहमन्त्रीलाई सामाजिक सञ्जालबाट आव्हान गर्ने बिडम्बनापूर्ण अवस्था आएको छ । के यही हो सरकारको समन्वय ?जहाँ बेहाल छ, त्यहाँ कुनै चासो नहुने । जहाँ सुधार छ त्यहाँ समस्या खडा गर्नैपर्ने । यो कस्तो दुईतिहाइको शासन हो ?

सभामुख महोदय,

सरकारमा समावेशिता भएन भनेर म आलोचना गर्दिनँ । किनभने समावेशिता सरकारमा बसेकाहरुको सिद्धान्त नै होइन । त्यो त उहाँहरुले हिजो क्रान्ति र आन्दोलनहरुको रापमा बेमनले गरेको सम्झौता हो, एजेन्डा र प्रतिवद्धता होइन ।

तर संघदेखि प्रदेशसम्म जेजस्ता विवादित पात्रहरुलाई तपाईहरुले मन्त्री बनाउनुभयो, त्यसले जनतामा घृणा र वितृष्णा थपेको छ । तपाईहरुले सरुवाबढुवा र नियुक्तिहरुमा पनि नियम र वरियता मिच्न थाल्नुभएको छ, थिति भत्काउन शुरु गर्नुभएको छ ।

हामीले तीब्रतर आर्थिक विकास र सामाजिक न्यायका लागि कतिपय महत्वाकांक्षी योजनाहरु बजेटमार्फत प्रस्ताव गर्यौं । सुनिँदैछ, हामीले जस पाउँला भनेर तपाईहरु ती योजना हटाउँदै हुनुहुन्छ । आफू पनि गठबन्धनमैं हुनुहुन्थ्यो र आफ्नो पनि समर्थनमा बजेट पास भएको भन्ने विवेक नदेखाई देशकै आर्थिक कायापलट गर्ने त्रिभुज परियोजनाबारे संसदमै प्रधानमन्त्रीले नै अनिश्चयता प्रकट गर्नुभयो ।

त्यसै गरी दलित, मधेसी, कर्णाली, गरिब, किसान, मजदूरका कार्यक्रममा पनि कैंची चलाउन लागेको देखिन्छ ।

लाखौं स्वउद्यम, सातवटै प्रदेशमा सुविधासम्पन्न वृद्धाश्रम स्थापनासहित हाम्रा बाआमा हाम्रो जिम्मेवारी कार्यक्रम, दलित विकास प्राधिकरणदेखि कर्णाली समृद्धि अनि स्वदेश फर्किएर उद्यम गर्न चाहने लाखौं रिटर्नीहरुका लागि प्रस्तावित कार्यक्रमसँगै कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यका कार्यक्रमहरुलाई सरकारले के गर्छ, हामी निरन्तर अनुगमन र खबरदारी गरिरहनेछौं।

नेपाली कांग्रेस र नेकपा (एमाले)का केही साथीहरुले अझै पनि संविधान संशोधनको पत्ता फ्याँकिरहनु भएको छ । तपाईहरुलाई अनुरोध छ, राम्ररी गृहकार्य नगरी यो विषयमा जथाभावी नबोल्नुहोला । यस विषयमा पहिला आआफ्नै पार्टीमा सल्लाह गर्नुहोला ।

जब मैले यस सम्मानित संसदमा ०४८ सालदेखि २०६३ सालसम्म तपाईहरुको रामराज्यको समावेशिता सम्झाएँ, तपाईहरुकै पार्टीका मधेशी, दलित, महिला, आदिवासी–जनजाति, धार्मिक अल्पसंख्यक सांसद्हरुले मसँग भावना र अनुग्रह साटे । आज अनुशासनको डन्डाले ती बोलिनहाल्लान् तर भोलि बोल्छन् । जहाँसम्म हाम्रो कुरा छ, माओवादी केन्द्रको अध्यक्ष र प्रमुख प्रतिपक्ष दलको नेताका रुपमा तपाईहरुलाई बचन छ मेरो, माओवादी संविधान संशोधनबाट भाग्दैन । यो सम्मानित संसदमा संविधानका एक एक बुँदा, एक एक धारा र एक एक दफामा छलफल गर्न माओवादी केन्द्र तयार छ । तर, उत्पीडित वर्ण, वर्ग र समुदायले असाध्यै ठूलो वलिदानपछि प्राप्त गरेका समावेशी र समानुपातिक अधिकार खोस्ने दुःसाहस भए हामी डटेर प्रतिवाद गर्नेछौं ।

सभामुख महोदय,

अब म अलिकति निजी प्रसंगमा जाने अनुमति चाहन्छु । साथीहरुलाई लागेको होला, सरकार छोड्न पर्दा नेकपा माओवादी केन्द्र पक्कै घाइते होला । छैन । बरु,हामीले ठूलो मानसिक र वैचारिक उन्मुक्ति महसुस गरेको छौं । पछिल्ला केही वर्षदेखि यो देशमा माओवादी र प्रचण्ड नै अस्थिरताको मुख्य कारक भएको भाष्य बनाउन एकदमै धेरै मेहनत भएको थियो । मलाई त्यो मेहनत गरिरहेकाहरुलाई सोध्नु थियो, जेलाई अस्थिरता भनिएको हो, के प्रचण्ड एक्लैले ल्याउन सक्ने अस्थिरता हो ? जम्मा ३२ सिट भएको पार्टीले एक्लै ल्याएर ल्याइन्छ अस्थिरता ? प्रचण्डले एक्लै फेरेर फेरिन्छन् सरकारहरु ? त्यसमा ठूला दलहरुको हुने होइन र मुख्य भूमिका ? तर, प्रधानमन्त्री थिएँ, त्यसैले यो प्रश्न सोध्न सक्दैनथेँ । कांग्रेस–एमालेले मलाई आज यो प्रश्न सोध्न सक्ने बनाइदिनुभएको छ । त्यसका लागि धन्यवाद छ ।

अस्ति कांग्रेस–एमालेका नेताले संसदमा भनेको सुनेँ, माओवादीले पालैपालो कांग्रेस र एमालेलाई प्रयोग गर्‍यो, धोका दियो । ए साथी हो, कांग्रेस र एमालेले पटकपटक माओवादीलाई प्रयोग गरेको र धोका दिएको हिसाब खै ? माओवादीले पटकपटक कांग्रेस र एमालेलाई सरकारको नेतृत्वमा पुर्‍याएको विगत खै ? माओवादीको साथ पाएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख हासिल गरेको हिसाब खै ? कसको सहयोगमा अघिल्लो पटक झन्डै दुई तिहाइको प्रधानमन्त्री हुनुभएको हो केपी ओलीजी ? कसले बनाएको हो, उहाँलाई पहिलो पटक प्रधानमन्त्री ?

साथीहरु आज सिटका कुरा गर्नुहुन्छ तर हिजो प्रत्यक्षमा जम्मा २३ र समग्रमा ६३ सिट भएको नेपाली कांग्रेसले यही प्रचण्ड र माओवादीकै बलमा प्रधानमन्त्री पाएको होइन ? धोकाको आरोप लगाउने साथीहरु, सुन्नोस् । इतिहासका विद्यार्थीहरु पनि सुन्नोस् । यो देशको इतिहासमा सत्ताको वितरणको राजनीतिक सम्झौता केवल एकपटक मात्र पालना भएको छ, केवल एकपटक र केवल एक व्यक्तिले मात्र पालना गरेको छ । म यो सम्मानित रोस्टमबाट म गौरवसाथ भन्न सक्छु, त्यो व्यक्ति हो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । मेरो चुनौती छ, यो संसदमा अरु कोही, कुनै, एकजना पनि हुनुहुन्छ, यो भन्न सक्ने ?

कांग्रेस–एमालेका साथीहरुलाई म यही रोस्टमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईहरुकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन । माओवादी भनेको पार्टीभन्दा पनि आन्दोलन हो, सीमान्त वर्ग, वर्ण, लिंग र क्षेत्रको आन्दोलन । म यही संसदबाटै स्वीकार गर्छु, यसबीचमा कमजोरीहरु भए ।जनतासँग संवादका कमजोरी भए । व्यवहारका कमजोरी भए ।वर्गीय पक्षधरताका कमजोरी भए ।

त्यही कमजोरीमा खेलेर अब तपाईहरु सीमान्तहरुका प्राप्त अधिकार खोस्न चलमलाउन थाल्नुभयो । माओवादी कमजोर भयो कि भनेर षड्यन्त्र गर्न थाल्नुभयो । समापन भइसकेको राजनीतिक क्रान्तिको दस्तावेज फेरि उल्टाउन थाल्नुभयो । माओवादीको ध्यान अब सत्तामा छैन, तपाईहरुको षड्यन्त्रको प्रतिरोधमा छ । आन्दोलनको पुनर्गठनमा छ । त्यही पुनर्गठनका बलमा हामी भोली माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौं । पहिला पनि बनाएका हौं, अब पनि बनाउनेछौं । त्यतिबेलासम्म कृपया तपाईहरु मिलिदिनुहोला ।

फेरि बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला ।

सभामुख महोदय,

यो सम्मानित संसदमा मैले पटकपटक भनिरहेको छु , आमजनतामा ठूलो निराशा र मोहभंग छ, ठूलो असन्तोष छ । यो संसदसहित हामी सबै दल जनताको ठूलो निगरानीमा छौं । नेपाली कांग्रेस र नेकपा एमालेका साथीहरुलाई मेरो अनुरोध छ, जनता अहिलेको राजनीतिक शैलीसँग, चरित्रसँग, व्यवहारसँग रिसाएको छ । प्राविधिकरुपमा तपाईहरु ठूला हुनुहोला तर जनतासँगको तपाईँहरुको सम्बन्ध एकदमै कमजोर भएको छ । जनतामा ठूलो असन्तोष, घृणा र आक्रोश छ । लोकतन्त्रको सर्भिसिंगबिना अब जनतालाई आश्वस्त गर्न सकिँदैन। यही भएर हामीले सुशासनको एउटा अभियान सुरु गरेका थियौं, त्यसलाई तपाईहरुले भत्काइसक्नुभयो । दुई ठूला पार्टी मिलेर बेथिति थप्दै जाँदा कतै यो व्यवस्था नै संकटमा पर्ने हो कि भन्ने मेरो चिन्ता छ ।

सत्तासीन साथीहरुलाई मेरो अनुरोध छ, संख्याको भ्रममा नपरौं, सत्यसँग साक्षात्कार गरौं । धेरै टाढाका, अघिका, इतिहासका ठूला शिक्षा म भन्दिनँ, छेवैका श्रीलंका र बंगलादेशका घटनाबाट सिकौं । श्रीलंकामा राजापाक्षेजी संख्याको संकटले बाहिरिनुभएको हो ? होइन । बंगलादेशी पार्लियामेन्टलाई त अवामी लिग र त्यही गठबन्धनको एकलौटी प्रतिनिधित्वको वन पार्टी पार्लियामेन्ट भनिन्थ्यो ।

त्यो थियो, अस्ति जनवरीको निर्वाचनको परिणाम, हाम्रोभन्दा तेह्र महिना कान्छो । तपाईहरु जोडतोडको दुई तिहाईको घमण्डमा हुनुहुन्छ भने यो घमण्डबाट बिउँझनोस् । जनताको विवेकको अवमूल्यन नगर्नोस् ।

सभामुख महोदय,

यो संसद विश्वस्त होस्, हामी न निरपेक्ष प्रतिपक्ष बन्नेछौं, न त निरीह प्रतिपक्ष । हामी रचनात्मक र सिर्जनात्मक प्रतिपक्ष बन्नेछौं, यो सम्मानित संसदमा जनताको आवाज बन्नेछौं । आफू बस्न नपाएपछि कुर्सी नै भाँच्ने, प्रणाली नै भत्काउने शैली र चरित्र हाम्रो होइन । देशको हितमा राम्रो गर्नोस्, हामी साथ दिन्छौं । संविधान निर्माणका बेला म प्रमुख प्रतिपक्षी दलकै नेता थिएँ तर कतिपय अवस्थामा मैले सत्ता पक्षबीचमै पनि संयोजनकारी भूमिका निर्वाह गरेँ । त्यो भूमिका यो संसद र इतिहासमा लिपिवद्ध छ । शान्तिप्रक्रियाको तार्किक निरुपणमा सरकारको सकारात्मक भूमिकालाई मैले रोस्टमबाटै खुला प्रशंसा र समर्थन गरिसकेको छु । विश्वविद्यालयहरुमा सकारात्मक परिवर्तनका लागि अग्रसरता लिऊँ, हामी साथ दिन्छौं । उद्यमशीलताका लागि आवश्यक नीतिगत र व्यवहारिक सुधारमा अग्रसरता लिऊँ, हामी साथ दिन्छौं ।

आज म केवल खबरदारी गर्न उपस्थित भएको हुँ । सरकारलाई मेरो विनम्र आग्रह छ, यो खबरदारीलाई कर्मकाण्ड नसम्झनुहोला । यही खबरदारी हामी सडकमा पनि गर्दैछौं । सरकारका प्राथमिकताहरु विवेक होइन, अहङ्कार, इगो र स्वार्थसमूहको प्रभावले तय भइरहेका छन्, जनतासँग क्षमायाचनासहित सच्याउनोस् । विद्युत प्राधिकरणमा जे गर्न खोज्नुभयो र खोज्दै हुनुहुन्छ, रोक्नोस् ।

भूटानी शरणार्थी काण्डलाई जता पुर्याउन र इमान्दार प्रहरीलाई जसरी दण्डित गर्न खोज्दै हुनुहुन्छ, त्यो नगर्नोस् । विश्वविद्यालयमा मेरिटोक्रेसी मिच्दै हुनुहुन्छ, रोकिनोस् । गिरीबन्धुलगायतका नीतिगत भ्रष्टाचारहरुमा रफु भर्दै हुनुहुन्छ, सुध्रिनोस् । हिजो आफैं प्रधानमन्त्री हुँदा बनाएका वैदेशिक श्रमका मापदण्ड मानवतस्करका लागि उल्ट्याउँदै हुनुहुन्छ, त्यता नलाग्नोस् । अझै पनि सुध्रिने र र सच्चिनने प्रयास गर्नुस्,मेरो आग्रह छ ।

विचौलियाहरुलाई यही रोस्टमबाटै मेरो सन्देश छ, तपाईहरुले रचना गरेको सरकार तपाईहरुको धेरै सेवा गर्न चाहन्छ तर यसको सामथ्र्य छैन । सामथ्र्य यसकारण छैन कि खबरदारी गर्न हामी प्रतिपक्ष छौं । सामर्थ्य यसकारण छैन कि सरकार र माफिया दुवै एक्सपोज्ड छन् । बिजुलीकै बिललाई टेस्ट–केस् माने हुन्छ । कुन हतियार चलाएन माफियाले ? आफूले सक्ने मिडिया चलाएन कि ? संसदका समिति चलाएन कि ?डेडिकेटेड ट्रंकलाइनमाथि बोल्न थालेपछि सम्मानित संसदमै सांसदको माइक काटिएन कि ?सरकार र अझ सरकारको शिर नै चलाएन कि ? यही रोस्टम चलाएन कि ? देखिने गरी सबै चलायो । तर, जनताको शक्ति हेर्नोस् ।

बिजुलीको आठ अर्ब बक्यौतामा समस्या भएर रोस्टममा उभिएका प्रधानमन्त्री अब फेसबुकबाटै भए पनि बाइस अर्ब भन्न थाल्नुभएको छ । विद्युत् प्राधिकरणको यही टेस्ट–केसले भन्छ, अब माफियाभन्दा जनता बलियो भइसकेको छ । त्यसैले साथीहरु अब यति, ओम्नी र गिरीबन्धुका पुराना सुमधुर सम्झनाबाट ब्युँझिए हुन्छ । प्रतिपक्ष प्रतिवद्ध छ र जनता जागृत छ । अब सच्चिनु र सुध्रिनुमै सबैको भलो छ । धन्यवाद ।

प्रधानमन्त्री ओली र ओमानका विदेशमन्त्रीबीच भेट

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।

मंगलबार भएको भेटका अवसरमा उनीहरूबीच दुई पक्षीय हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा  प्रधानन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायतको उपस्थिति थियो ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा ओमानका विदेशमन्त्री दुईदिने औपचारिक भ्रमणका क्रममा हिजो नेपाल आएका हुन् । नेपालको ओमानसँग ‘सन् १९७७ जनावरी २१’ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।

सरकारमा संख्याको उन्माद देखियोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गलत बाटोतिर अग्रसर भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर लागेको आरोप लगाएका हुन् ।

उनले सरकार जनता भन्दा स्वार्थ समूह र माफियाहरुको सेवामा लागेको आरोप लगाए । उनले सरकारमा नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरु अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको बताए ।

उनले भने,‘यो सरकारको पछाडि विचौलिया र माफिया छ र त्यही माफियाकै सेवामा यो सरकारको सबै प्रतिष्ठा समाप्त हुनेछ । त्यति भन्दाभन्दै पनि मलाई लागेको थियो, सरकारले केही दिन त सङ्कोच मान्नेछ । केही दिन त लाज मान्नेछ । तर, सरकार यति हतारमा देखियो कि बिरालोले म्याउ गर्न एक हप्ता पनि लागेन ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली डेडिकेटेड र ट्रंकलाइनको बक्यौता माफी दिने खेलमा लागेको आरोप लगाए । उनले भने, ‘लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोष्टममा उभिनुभयो । कडा रुपमा उभिनुभयो । तर, जसका पक्षमा जसरी उभिनुभयो,त्यो देखेर सिङ्गो देश स्तब्ध भयो ।’

उनले भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्यूरो प्रमुखको सरुवालाई गम्भीर घटनाको रुपमा लिनुपर्ने बताए । विभिन्न काण्डमा परेकालाई उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको उल्लेख गर्दै उनले अन्तराष्ट्रिय जगतमै नेपालको कानुनी, नैतिक, राजनीतिक र सामाजिक प्रतिष्ठा धुलोपिठो टिप्पणी गरे ।

संसदीय समितिमा प्रस्तावित १७ राजदूतहरुको भदौ १४ बाट सुनुवाइ सुरु हुने

काठमाडौँ । विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेका छन् । समितिको आजको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी परेका जानकारी दिइएको हो ।

उजुरी माथिको सुनुवाइ यही भदौ १४ गतेबाट थाल्नेगरी कार्यतालिका तय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

“विभिन्न देशका लागि नेपाली राजदूत बन्न सरकारद्वारा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा नौवटा उजुरी परेका छन्, अब उजुरीकर्तालाई समितिसमक्ष उपस्थित गराई उजुरीको विषय र त्यसको औचित्य स्पष्ट पार्न लगाउँछौँ”, उनले भनिन्,“त्यसका साथै प्रस्तावित व्यक्तिलाई बोलाएर छलफल गर्नेलगायतका काम गरी सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने विषयमा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम कार्यतालिका परिमार्जन गरी पारित गरिएको छ ।”

समितिको आजको बैठकमा सांसदहरूले राजदूत नियुक्ति समावेशी हुन नसकेको धारणा राखेका छन् । सांसदहरू पशुपति शमशेर जबरा, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा, प्रकाश अधिकारी, आनन्दप्रसाद ढुङ्गाना, लीलानाथ श्रेष्ठ, ईश्वरी घर्ती, महेशकुमार बर्तौला, भगवती न्यौपाने, लीलानाथ श्रेष्ठलगायतले सरकारले राजदूत सिफारिस गर्दा दलित, मधेशी, मुस्लिमलगायत समुदायको सहभागिता सुनिश्चितता हुन नसकेको विषय उठाएका थिए । समितिले यसअघि नै सरकारलाई राजदूत नियुक्तिमा संविधानले व्यवस्था गरेअनुसारको समावेशीता कायम गर्न भनेकामा कार्यान्वयन हुन नसकेको पनि उनीहरूको भनाइ छ ।

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो । सरकारबाट सिफारिस भएका व्यक्तिमाथि संसदीय सुनुवाइका लागि समितिले गत साउन ३० गते सार्वजनिक सूचना जारी गर्दै कुनै उजुरी वा गुनासो भए १० दिनभित्र समितिमा पेस गर्न भनेको थियो । यसरी सिफारिस भएका राजदूतहरुविरुद्ध परेका उजुरीहरू आज समितिमा खोलिएका हुन् ।

सरकारले चीनका लागि प्रा डा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, गणतन्त्र भारतका लागि डा शङ्करप्रसाद शर्मा, इजरायलका लागि प्रा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको छ ।

यस्तै, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रा डा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्य बेलायतका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी सिफारिस भएका छन् ।

नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न ओमान इच्छुक

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री राणाको निमन्त्रणामा दुई दिनका लागि नेपाल भ्रमणमा आएका विदेशमन्त्री अल्बुसैदीले मंगलबार दिउँसो राणासँग भेटवार्ता गरेका हुन् ।

परराष्ट्रमन्त्री राणले भेटमा नेपाल–ओमानबीचको सम्बन्धको बारे छलफल भएको र विदेशमन्त्री अल्बुसैदीले नेपालमा पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गरेको जानकारी दिइन् ।

उनले भनिन्, ‘श्रमिक सम्बन्धी, स्वास्थ्य सम्बन्धी, पर्यटन र दुई मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध छलफल भएको छ । उहाँले नेपालमा लगानी गर्न इच्छुक भएको कुरा राख्नुभएको छ । खासगरी पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।’

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यतालिका छ ।

पोखराको लामाचौरमा राष्ट्रिय पुरुष तथा महिला भलिबलको तयारी

कास्की । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजका अवसरमा पोखराको लामाचौरमा तीज महोत्सव तथा राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । 

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा २६औँ संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ को प्रमुख आकर्षणका रुपमा लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिता गरिने भएको छ ।

सोे संस्थाको २८औँ वार्षिक समारोह एवं तीज महोत्सव यही भदौ १९ देखि २१ गतेसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्राङ्गणमा हुने आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिए ।

संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको उनले बताए । राष्ट्रिय पुरुष तथा महिला भलिबलमा दुवैतर्फ नेपालका तीन विभागीय टोलीसहित पाँच÷पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

महिला राष्ट्रिय भलिबलतर्फ विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र न्यू एभरेष्ट भलिबल क्लब बुटवलले भाग लिने छन् ।

यसैगरी पुरुषतर्फ विभागीय सशस्त्र प्रहरीको एफिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, गण्डकी प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुने अध्यक्ष भण्डारीले बताए ।

प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फ विजेताले समान  एक लाख ५० हजार एक सय ११, उपविजेतालाई  एक  लाख एक सय ११, तेस्रोलाई  ५० हजार एक सय ११ नगद पुरस्कार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने संस्थाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिनेश भण्डारीले जानकारी दिए । 

सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कारको व्यवस्था गरिएको बताइन्छ । भलिबल भदौ १८ गतदेखि नै सञ्चालन हुने संयोजक भण्डारीले बताए । यसैगरी अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्का आकर्षण रहेको छ । 

तीज गीतमा प्रथमलाई  ५० हजार एक सय ११, द्धितीयलाई  ३० हजार एक सय ११, तृतीयलाई  २० हजार एक सय ११ र सान्त्वना १० हजार एक सय ११ साथै सहभागी टोलीलाई प्रोत्साहनवापत  दुई हजार प्रदान गरिने आयोजक नवआदर्श सामूदायिक विकास समाजले जनाएको छ ।

यसैगरी अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई  क्रमशः ४०,  २५,  १५ र पाँच हजार तथा उत्कृष्ट वेषभूषालाई पाँच  हजार पुरस्कार प्रदान गरिने बताइएको छ । महोत्सव सम्पन्न गर्न  ५४ लाख ८८ हजार खर्च लाग्ने अनुमान आयोजकको छ । 

महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव सञ्चालन कोष वृद्धिका लागि थप गरिने अर्थ सङ्कलन उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए । संस्थाले सर्वसाधारणको सेवामा लामो समयदेखि एम्बुलेन्स तथा शवबाहन सञ्चालन गर्दै आएको छ । 

कार्यक्रममा पोखरा– १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामाचौर महोत्सवकै कारण यस क्षेत्रको चिनारी अन्तर्राष्ट्रियस्तरमा पुगेको भन्दै वडाले पनि अपनत्व लिएको बताए ।

राष्ट्रपति पौडेलद्वारा रणउजिरेश्वरी मन्दिरमा पूजाअर्चना

रामपुर । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पा सदरमुकाम तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा मंगलबार पूजाअर्चना गरेका छन् । साथै उनी  रणउजिरेश्वरी भगवती रथ यात्रामा समेत सहभागी भएका छन् । सो अवसरमा प्रथम महिला सविता पौडेलले समेत मन्दिरमा पूजाअर्चना गरिन् ।  

रथ यात्राका क्रममा रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख तुलाराम घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको थियो ।

नेपाल अङ्ग्रेज युद्धमा गोर्खाली फौजले जितगढी किल्लाबाट अङ्ग्रेज फौजलाई पराजित गरेको अवसरमा भाद्र कृष्ण अष्टमीको भोलिपल्ट सिन्दूर यात्राका रुपमा रथयात्रा निकालिने परम्परा छ । विसं १८७७ देखि मनाउँदै आएको रथ यात्रा दुई सय पाँचौँ पटक मनाइँदैछ ।

तानसेन नगरपालिका–३ को भगवती टोलमा रहेको भगवतीको मन्दिरबाट रथ यात्रा निकालिने परम्परा रहेको भगवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष अशोक महर्जनले जानकारी दिए । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट यहाँ हरेक वर्ष रथ यात्रा निकालिँदै आइएको छ ।

नेपालले अङ्ग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा पाल्पामा विजयउत्सव स्वरुप यहाँ हरेक वर्ष रथयात्रा निकालिँदै आइएको छ । नेपाली सेनाले सलामी दिएर तीनपटक मन्दिर परिक्रमा गराएपछि भगवती रथ यात्रा निकालिने परम्परा छ ।

यसलाई भगवती जात्रा, रथ यात्रा अर्थात् सिन्दूर जात्राका नामले पनि चिनिन्छ । भगवतीको मन्दिरबाट शुभ साइतमा निकालिएको भगवती जात्रा (रथ यात्रा) लाई शीतल पार्टीको मूल ढोकाबाहिर निकालेपछि सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारीबाट पूजा गरी बलि दिइने चलन छ ।

पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा १८७७ सालदेखि निरन्तर रुपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आइएको छ ।

विद्यालय एवं विभिन्न सङ्घसंस्थाको उपस्थितिमा निकालिने भगवती जात्रा (रथ यात्रा)लाई भजनकीर्तन, पञ्चेबाचा, लाखेनाच, विभिन्न सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराएर पुनः भगवतीको मन्दिरमा लगी विसर्जन गरिने बताइएको छ ।

जापानमा चक्रवातका कारण हवाई उडान र रेल सेवा अवरुद्ध

दक्षिण जापानतर्फ मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरु अवरुद्ध भएका छन् ।

‘टाइफुन सानसान’ प्रति घण्टा २१६ किलोमिटरको गतिले दक्षिणी अमामी द्वीपसमूहतर्फ अघि बढिरहेको मौसम पूर्वानुमानकर्ताले बताएका छन् ।

भारी वर्षाका कारण हामामात्सु र टोयोहाशीको मध्यशहरमा बुलेट रेल सेवा अवरुद्ध गरिएको थियो । जापान एयरलाइन्सले मङ्गलबार र बुधबार ११६ वटा आन्तरिक उडान र ६ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्ने बताएको छ ।

मध्य सिजुओका क्षेत्रमा भारी वर्षा र सम्भावित भूस्खलन र दक्षिणी अमामी क्षेत्रमा आँधीको चेतावनी दिँदै जापान मौसम विज्ञान विभागले त्यहाँका बासिन्दालाई सम्भावित खतरनाक ठाउँमा नबस्न आग्रह गरेको छ।

‘टाइफुन सानसान’ यस हप्ताको अन्त्यमा मुख्य दक्षिणी टापु क्युशुतर्फ लाग्ने अपेक्षा गरिएको छ ।

जापानमा आएको आँधीले यस महिना सयौं उडान र रेल सेवा अवरुद्ध गरेको छ । भारी वर्षाको बावजुद टाइफुन सानसानले टोकियो सहर पार गरी प्रशान्त तटतर्फ अघि बडेकाले सहरमा सामान्य क्षति पुगेको छ ।

तटीयरेखाको नजिकमा रहेका क्षेत्रमा बारम्बार आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव तीव्र र लामो समयसम्म रहने गत महिना जारी एक अध्ययनले जनाएको छ ।

युक्रेनी ऊर्जा केन्द्रमा भएको रूसी हमलाको राष्ट्रपति बाइडेनद्वारा निन्दा

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाकोे निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गरेका छन् । रूसले सोमबार युक्रेनमा सयौं ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै युक्रेनको ऊर्जा केन्द्र ध्वस्त भएको अधिकारीहरूले बताएका छन् ।

यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘युक्रेन विरुद्ध रूसको निरन्तर आक्रमण र युक्रेनी जनतालाई अन्धकारमा डुबाउने प्रयासको कडा रुपमा निन्दा गर्दछु ।’

युक्रेनमा पछिल्लो समय मस्कोले गरेको आक्रमणले ‘ब्ल्याकआउट'(उर्जा सङ्कट) सुरु भएको छ । कियभले रूसको कुर्स्क क्षेत्रको भूभाग नियन्त्रणमा लिएको दाबी गरेपछि यो अवस्था आएको जनाइएको छ ।

सन् २०२२ फेब्रुअरीको आक्रमणपछि रूसले युक्रेनमा बारम्बार उर्जा केन्द्र लक्षित ड्रोन तथा मिसाइल आक्रमणहरू गरेको छ ।

युक्रेनको ‘सैन्य–उत्पादन परिसर’ लाई सहयोग गर्न प्रयोग भइरहेको दाबी गर्दै ऊर्जा केन्द्रहरुमा प्रहार गरेको रूसी रक्षा मन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ ।

रूसले सोमबार गरेको आक्रमणमा परी निर्दोष युक्रेनी नागरिकहरूको मृत्यु भएको, २० जनाभन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

थामे बाढीपीडितको उद्धारमा खटिएका १३ प्रहरी पुरस्कृत

 सोलुखुम्बु । सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ । गत साउन २६ गते थामेमा हिमताल फुटेर बाढी आउँदा ठूलो क्षति पुर्‍याएको थियो ।

सोही बाढीमा फसेका स्थानीयको उद्धारमा खटिएका प्रहरीलाई आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा प्रहरी निरीक्षक लक्ष्मण गिरी, प्रहरी सहायक निरीक्षक खेमराज खतिवडा, प्रहरी वरिष्ठ हवल्दार दीपककुमार कटुवालसहित रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरकानुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हबल्दार एक, प्रहरी हवल्दार तीन, प्रहरी सहायक हवल्दार दुई र चारजना प्रहरी जवान रहेका छन् ।

उच्च हिमाली भेगमा आएको प्राकृतिक विपत्तिमा जनधनको क्षति न्यूनीकरणमा सक्रिय रूपमा निर्वाह गरेकाले नेपाल प्रहरीको अभिलेख रहने गरी पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए।

‘बाढीपीडितको उद्धार, जोखिम न्यूनीकरण, सूचना आदानप्रदान, तल्लो तटीय क्षेत्रमा सचेतना जगाउनेलगायत कार्यमा अत्यन्त कुशलतापूर्वक काम गरेकाले उहाँहरूलाई पुरस्कृत गरिएको हो’, उनले भने । पुरस्कारले उच्च मनोबलका साथ राष्ट्रको सेवामा लाग्न थप प्रेरणा मिलेको पुरस्कृतमध्येका प्रहरी निरीक्षक गिरीले बताए ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमपहिरोले गेग्रान र ढुङ्गासहित गएको बाढीले एक विद्यालय, एक स्वास्थ्य चौकी, दुई होटल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रूपमा क्षति भएको थियो भने ९५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । फुटेको हिमताल थामे बजारबाट करिब नौ किलोमिटर टाढा छ ।

‘सानो संसार’ को ‘मग मग फूलबारी’

काठमाडौं । फिल्म ‘सानो संसार’ को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गरिएको छ । गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर छ। गीतको शब्द र संगीत पनि राजनराजकै हो ।

गीतको भिडियोमा फिल्मका प्रायः सबै मुख्य कलाकारहरू फिचर्ड छन् । सुज्जन खड्का र मनोज खड्काले भिडिओको कोरियोग्राफी गरेका हुन् । सिद्धार्थ पुडासैनीको निर्देशनमा तयार फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन्।

फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ। साथमा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ ।

निर्देशक पुडासैनी र सरिष्मा खत्रीको लेखन रहेको फिल्ममा माधव वाग्ले कार्यकारी निर्माता छन् । फिल्म असोज ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले सरकार अघि बढेको छः अर्थमन्त्री पौडेल

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा १६ औं नाडा अटो शो सुरु भएको छ । मंगलबार एक समारोहकाबीच उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शो को उद्घाटन गरेका छन् ।

शो उद्घाटन गर्दै अर्थमन्त्री पौडेलर्ले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढेको दाबी गरे ।

उनले भने, ‘अहिले बनेको सरकार संसदले बनाउने सबैभन्दा स्थिर सरकार हो । यो सरकारको स्थिरताले नीतिगत स्थिरताको एउटा बलियो आधार दिएको छ । त्यसैले हामीले नीतिगत स्थिरताको जुन डिमाण्ड छ, सरकारले जायज भन्छ । यो सरकार सबै नेपालीको हो ।’

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा ६ दिन चल्ने शोलाई नेपालको अटोमोबाइल क्यालेन्डरमा सबैभन्दा महत्त्वपूर्ण कार्यक्रमहरू मध्ये एक बनाउने आयोजकको भनाइ छ ।

शोमा सहभागी मध्ये एक जनाले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन्, जसलाई सिजी मोटर्स प्रालिले प्रायोजन गरेको छ । प्रदर्शनीलाई चार पाङ्ग्रे, दुई पाङ्ग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ ।

प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् । साथै, ३३ कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने छन् ।

त्यस्तै ७ वित्तीय संस्थाहरूले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुने नाडाले जनाएको छ । जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छ्न् ।

अर्का प्रतिस्पर्धी घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । यसअघि बस्नेतले पनि उम्मेदवारी दिएका थिए ।

रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँः मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यबाटसमेत निस्कासित भएका डा. मुकुल ढकालले आफू पार्टीबाट नभई रवि लामिछाने क्लवबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीबाट निस्कासित गरेपछि सामाजिक संजालमार्फत ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लबलाई नभएको प्रतिक्रिया दिएका हुन् ।

ढकालले भनेका छन्, ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला , समयले पुष्टी गर्दै जानेछ ।’

ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘र अर्को कुरा, सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडका छन्, आफूविरूद्ध आएका प्रमाणलाई कीर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दैछन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरि पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस्, एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’