`

म प्रधानमन्त्रीको लाइनमा छैनः परराष्ट्रमन्त्री राणा

सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा. आरजु राणाले दुई ठूला दल मिलेर सरकार बन्नु अनौठो नभएको बताएकी छन् । कैलालीको धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राणाले देश समस्यामा परेको समयमा ठूला दलकै सरकार स्वाभाविक भएको बताएकी हुन् ।

राणाले अहिलेको सरकारको एउटा उद्देश्य संविधानको संशोधन भएको र संविधानको मूलभूत सिद्धान्त परिवर्तन नहुने बताइन् । उनले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भनेर आफ्नो पार्टीकोलाई भनेको बताइन् । उनले भनिन्, ‘बाहिर मेरोबारे जेजस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु । प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभाको होला ।’

उनले कांग्रेस पार्टीमा थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य भएकाले आफू त्यसको लाइनमा नभएको बताइन् ।

काभा महिला नेसन्स लिगमा पदक जित्न विजेता खेलाडीहरु नगदसहित सम्मानित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला भलिबल टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडी, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई पुरस्कार वितरण गरेका हुन् ।

खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक भट्टलाई दुई लाख तथा सहायक प्रशिक्षक यादव, व्यवस्थापक बज्राचार्यलाई र फिजियो कुँवरलाई जनही एक लाख २० हजार राशिसहित पुरस्कार प्रदान गरिएको हो ।

गत साउन १७ गतेदेखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गते बसेको बैठकले सहभागी खेलाडी, प्रशिक्षलगायतलाई गरी कूल ४७ लाख ६० हजार पुरस्कार दिने निर्णय गरेको थियो ।

यसअघि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा यही भदौ २ गते सहभागी खेलाडी, प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गरे ।

आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नति गर्ने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यसको कार्यान्वयन गरिने अवगत गराउँदै दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरे। उनले दशरथ रङ्गशालामा खेल हुँदा मैदान हिलाम्मे हुनु दुःखद् भएको र उक्त रङ्गशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन सरोकारवालाको ध्यानाकर्षण गराए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला भलिबल खेललाई आजको अवस्थामा ल्याउन योगदान दिनेहरुलाई धन्यवाद दिँदै सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिन नीतिगत र व्यवहारिकरुपमा व्यवस्था हुनुपर्ने बताए ।

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली प्रहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं । अमेरिकाको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ परेका छन् । २१ वर्षीया पाण्डेमाथि गोली हानी हत्या गर्ने अभियुक्तलाई ह्युस्टन प्रहरीले पक्राउ गरेको छ ।

सर्वसाधारणको विभिन्न सुझावका आधारमा बुधबार साँझ ट्राफिक जामको क्रममा उनलाई पक्राउ गरिएको हो । अभियुक्तको परिचय भने खुलाइएको छैन । अगस्ट २४ शनिबार राति ९ः४८ मा सीसीटीभी फुटेजबाट कैद गरिएको संदिग्धको तस्बिर बुधबार प्रहरीले सार्वजनिक गरेको थियो ।

मुना सोमबार साँझ उनको ह्युस्टन अपार्टमेन्टमा मृत फेला परेकी थिइन् । साँझ ५ः३५ बजे फोन गर्दा प्रहरीले गोली चलाएको अवस्थामा फेला पारेको थियो ।

घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको हो । उनको शव पोस्टमार्टमका लागि पठाइएको छ । नेपालको भोजपुर निवासी पाण्डे सन् २०२१ देखि ह्युस्टन कम्युनिटी कलेजमा पढ्दै आएकी थिइन् ।

सँगै जनयुद्ध दिवस मनाउने अनि एकछिन अलग हुँदा ‘हिंसा’ भन्ने ?

नारायण गाउँले ।
हजारौँ निर्दोष नागरिक मारिएको माओवादी द्वन्द्व ‘हिंसा’ नै हो ! तर माओवादी सुप्रिमोलाई डायनामिक र क्रान्तिकारी नेता भन्दै पार्टी नै एउटै बनाएर, उनैलाई को–पाइलट बनाएर, त्यही जेट चढेर, अबको पचास वर्ष देश यही जेटमा उड्छ भन्ने धाक देखाएर मन्त्री बन्दासम्म योगेश कामरेडलाई हिंसा भन्ने थाहा थिएन ? देशी विदेशी षड्यन्त्र चिर्दै र संसारलाई जिल्ल पार्दै बारम्बार जोडिने र छुट्टिने गर्नुभएको होइन ? त्यो हिंसा थियो भने कसरी घाँटी जोड्न र एउटै बन्न जानुभयो ?

सत्तामा पुग्न पार्टी मिल्यो भने क्रान्तिकारी हुने, सत्ता गुम्यो भने हिंस्रक हुने, सँगै चुनाव लड्दा रेणु कामरेड हुने, भागबण्डा नमिल्नेबित्तिकै प्रचण्डकी छोरी हुने, वियोग हुँदा बाँदरमुढे हुने, संयोग हुँदा आफैंले ‘जनयुद्ध’को सार्वजनिक बिदा दिने ?
कांग्रेस, एमाले र राप्रपाले माओवादी द्वन्द्वलाई हिंसा भन्नु हदैसम्मको राजनैतिक बेइमानी होइन ? हिंसा हो भने, अपराध हो भने हिंसकलाई पूजा गर्ने, फूलमाला लगाएर एक भयौं भन्ने कि कारवाही गर्ने ? सँगै चुनाव लड्ने, सँगै राज्यकोष बाँड्ने, सँगै मोजमस्ती गर्ने, सँगै जनयुद्ध दिवस मनाउने अनि एकछिन अलग हुँदा ‘हिंसा’ भन्ने ?

अझ नयाँ भनिएको दल रास्वपा त प्रचण्डबाहेक अरूको सरकारमा नजाने स्थिति देख्नुभएको होला । के अब कुनै दलसँग माओवादीलाई हिंस्रक भन्ने नैतिक हक छ ? हिंस्रकसँग सत्ताकै लागि सहकार्य गर्नु गम्भीर अपराध होइन र ? के तपाईं आफैंलाई अपराधी घोषित गरेर राजनीति छोड्न सक्नुहुन्छ ?

कांग्रेस आफैंले माओवादीलाई जङ्गलबाट शहर ल्याएको हो । सम्झौता गर्दा अहिलेका केपी ओली त्यहीँ हुनुहुन्थ्यो । जनताले भोट दिएर झन्डै बहुमत दिएका हुन् । लोकतान्त्रिक र प्रगतिवादी भन्दै कांग्रेस र एमालेले चुनावदेखि सत्तासम्म बारम्बार सहकार्य गरेको हो । त्यही युद्धले स्थापित गरेका एजेन्डामा देश हिँडेको हो । अब पनि दलका नेताले पीडि़त जनताबाट सहानुभूति बटुल्न सकिन्छ कि भन्ने लोभमा त्यो युद्ध हो या हिंसा हो भन्ने बहस गर्नु पीडाको व्यापारमात्रै हो । जनताले सहानुभूति र व्यापार राम्ररी चिन्छन् !

विपदबाट हुने क्षति न्यूनिकरणका लागि पर्सामा संयुक्त उद्धार अभ्यास

वीरगंज ।  पर्सा जिल्लामा बाढी र मनसुनजन्य वर्षाका कारणले हुन सक्ने डुबानबाट मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले बिहीबार वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साको संयोजकत्वमा नेपाल प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटीलगायत निकायको समन्वयमा वीरगञ्ज महानगरपालिका–१० मा रहेको घडीअर्वा पोखरीमा संयुक्त उद्धार अभ्यास गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पर्सा जिल्ला जलउत्पन्न विपद्को जोखिममा पर्ने भएकाले पनि विपद्को समयमा प्रभावकारी ढङ्गले उद्धारकार्य गर्न पूर्वअभ्यास गरिएको बताए ।

‘पर्सा विशेषगरी बाढी, डुबान, नदीकटान र आगलागीको उच्च जोखिममा रहेको छ’, उनले भने, ‘जलउत्पन्न प्रकोपको सम्बन्धमा आज हामीले पूर्वतयारीको अभ्यास गर्‍यौँ । आगामी दिनमा नेपाली सेनाको संयोजनकमा आगलागी सम्बन्धित पूर्वअभ्यास गर्नेछौँ ।’

प्रमुख जिल्ला अधिकारी भुसालले विपद्जन्य कार्यमा उद्धारलाई प्रभावकारी बनाउन पूर्वतयारी र अभ्यास गर्न जरुरी रहेको बताए । सशस्त्र प्रहरी बल नेपालको अगुवाइमा भएको संयुक्त उद्धार अभ्यासमा नदीमा फसिरहेका सर्वसाधारणलाई उद्धार कसरी गर्ने विषयमा अभ्यास गरिएको थियो ।

सो अभ्यासका क्रममा नदीमा बीच भागमा रहेका पीडितलाई सुरक्षित स्थानतर्फ लैजान सुरक्षा फौजले ‘अन्डरवाटर रिभर क्रसिङ’ विधिबाट पार गराइएको थियो । पानीको बहाव धेरै भएको खण्डमा भने अग्लो स्थानमा वारि–पारि डोरी टाँगेर हार्नेस, चेस्ट हार्नेस, क्याराबिनाका सहायतामा पीडितलाई सुरक्षित स्थानतर्फ लैजाने अभ्यास गरिएको थियो ।

यसैगरी, अन्डरवाटर र अप्परवाटर दुवै विधिबाट क्रस गराउन नसकिने बालक तथा वृद्धवृद्धालाई रबर बोटको सहायताले उद्धार गरिएको थियो । सो अभ्यासका क्रममा बोट ड्रिल प्रदर्शनी पनि गरिएको थियो ।

पर्सा समुद्री सतहबाट पाँच सय २३ मिटरको औसत उचाइमा रहेको छ । हरेक वर्ष वर्षाको समयमा जिल्लाको पश्चिम क्षेत्र डुबान, बाढी तथा कटानबाट धनजनको क्षति पुर्‍याउने गर्छ । पर्सामा चुरे क्षेत्र हुँदै बग्ने ओरिया, सिर्सिया, गङ्गोल, नौरङ्गिया, तिलावे, सिक्टा नदीका साथै ठुटेखोला, ओडारखोला सिकारीबास खोला रहेका छन् । मौसमजन्य विपद्अन्तर्गत नेपाल विश्वमा ११औँ स्थानमा पर्छ ।

अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली प्रहार गर्ने व्यक्तिको तस्बिर सार्वजनिक

काठमाडौं । ह्युस्टन प्रहरीले नेपाली विद्यार्थी मुना पाण्डेको  हत्यामा संलग्नको तस्बिर सार्वजनिक गरेको छ । ह्युस्टन प्रहरीले २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्यामा संलग्न शंकास्पद व्यक्तिको तस्बिर सार्वजनिक गरेको हो । तर संदिग्धको पहिचान भने खुल्न सकेको छैन ।

सीसीटीभी फुटेजमा संदिग्ध व्यक्ति शनिबार अगस्ट २४ मा राति ९ः४८ बजे घटनास्थलमा आइपुगेको देखाइएको नेप्योर्क डटकमले उल्लेख गरेको छ । तस्बिर सार्वजनिक भएपनि संदिग्ध पक्राउ पर्न सकेको छैन ।

प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ । गोली प्रहार गर्ने व्यक्ति मुनासँग सम्बन्धमा रहेका युवक नभएको बताइएको छ । मुना सोमबार साँझ उनको ह्युस्टन अपार्टमेन्टमा मृत फेला परेकी थिइन् ।

साँझ ५ः३५ बजे फोन गर्दा प्रहरीले गोली चलाएको अवस्थामा फेला पारेको थियो । घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको हो । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिको पहिचानका लागि सहयोग गर्न आग्रह गरेको छ । मुना भोजपुरकी हुन् ।

नेकपा एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको छ । बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

अफगानिस्तानमा मार्शल आर्टमाथि प्रतिबन्ध

अफगानिस्तानको तालिबान सरकारले मिश्रित मार्शल आर्ट (एमएमए) लाई गैर–इस्लामिक भएको विश्वासमा प्रतिबन्ध लगाएको यसको खेल प्राधिकरणले बताएको छ ।

खेलको इस्लामिक कानून वा शरियाको पालनाको अनुसन्धानपछि सद्गुणको प्रचार र अवगुणको रोकथामका लागि मन्त्रालयमा अफगानिस्तानको नैतिकता प्रहरीले उक्त आदेश पारित गरेको प्राधिकरण र स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

“यो खेल शरियाको सन्दर्भमा समस्याग्रस्त छ र यसमा धेरै पक्ष इस्लामको शिक्षासँग विरोधाभासपूर्ण छन्”, तालिबान सरकारको खेल प्राधिकरणले एएफपीलाई पठाएको विज्ञप्तिमा भनिएको छ, “त्यसैले अफगानिस्तानमा मिश्रित मार्शल आर्टमाथि प्रतिबन्ध लगाउने निर्णय लिइएको छ ।”

खेल प्राधिकरणका एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार मार्शल आर्टलाई अत्यन्त हिंसात्मक मानिएको र यसबाट चोट वा मृत्युको खतरा भएकाले एमएमएमाथि आंशिक रूपमा प्रतिबन्ध लगाइएको थियो ।

इस्लामिक कानूनको कडा व्याख्या लागु गर्दै तालिबान अधिकारीहरू सन् २०२१ मा सत्तामा फर्किएका थिए । उनीहरूले हालै नैतिकता कानूनलाई अनुमोदन गरेका छन् । यसमा व्यवहार र पोशाकमा धेरै नियमलाई औपचारिक रूप दिइएको छ । कानूनमा पुरषहरूले घुँडाभन्दा माथि कमिज लगाउन नपाइने व्यवस्था गरिएको छ ।

मार्शल आर्ट अफगानिस्तानमा लोकप्रिय खेल हो । पेरिस खेलमा राष्ट्रिय वा शरणार्थी ओलम्पिक टोलीमा भाग लिने ११ अफगानमध्ये चार जना मार्शल आर्टका खेलाडी थिए ।

सुरक्षा चिन्ताका कारण एमएमएलाई ओलम्पिक खेलका रूपमा मान्यता दिइएको छैन ।

पाकिस्तानमा ४१ प्रतिशतभन्दा बढी महिला रक्तअल्पताबाट पीडित

पाकिस्तानमा ४१ प्रतिशतभन्दा बढी महिला रक्तअल्पताबाट पीडित छन् । पाकिस्तानस्थित डनले एक प्रतिवेदनलाई उदृत गर्दै तीमध्ये १४ दशमलव चार प्रतिशत कम तौल र २४ प्रतिशत बढी तौल भएको बताएको छ ।

अपर्याप्त मातृ पोषणका कारण यहाँ प्रतिएक लाख जीवित जन्ममा एक सय ८६ महिलाको मृत्यु हुन्छ । गुणस्तरहीन स्तनपानले स्तन र पाठेघरको क्यान्सरबाट वार्षिक दुई हजार र टाइप २ मधुमेहले एक हजार एक सयको मृत्यु हुन्छ । पाकिस्तानमा पनि प्रत्येक वर्ष जन्मको समयमा कम तौलका १४ लाख घटना दर्ता गरिएको छ ।

नेशनल हेल्थ सर्भिस (एनएचएस) मन्त्रालयले आयोजना गरेको ‘मातृ पोषणका लागि आर्थिक मामिलामा राष्ट्रिय नीति संवाद’ मा न्यूट्रिशन इन्टरनेशनलले विकास गरेको ‘निष्क्रिय उपकरणको लागत’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रतिवेदनअनुसार कुपोषणका कारण पाकिस्तानले वार्षिक १७ अर्ब अमेरिकी डलर नोक्सानी बेहोर्नुपरेको छ । यो विश्वव्यापी आम्दानीको करिब एक प्रतिशत हो ।

पाकिस्तानले प्रत्येक वर्ष गर्भवतीहरूमा एनिमियाको नौ लाख १८ हजार एक सय ५४ मामिला सामना गरेको प्रतिवेदनमा उल्लेख छ । पाकिस्तान आठ दक्षिण एसियाली देशमा किशोर, किशोरी र महिलाहरूमा रक्तअल्पताको प्रकोपमा चौथो स्थानमा र विश्वव्यापी स्तरमा दुई सय एक देशमा ३५औँ स्थानमा छ ।

यसबाहेक अपर्याप्त स्तनपानका कारण पाकिस्तानलाई २८ अर्ब अमेरिकी डलरको आर्थिक भार परेको छ । पाकिस्तानमा झाडापखालाबाट ६९ लाख मामिला, बाल्यकालमा मोटोपनको १९ हजार मामिला, झाडापखाला र निमोनियाबाट ३० हजार पाँच सय २५ बालबालिकाको मृत्यु र स्तन तथा पाठेघरको क्यान्सर र टाइप २ मधुमेहबाट तीन हजार एक सय ९६ महिलाको मृत्यु भएको छ ।

यसअघि पाकिस्तान नेशनल क्लस्टरका रिपोर्टहरूले लाखौँ पाकिस्तानी विशेषगरी बालबालिकाहरूको पोषण स्थितिको डरलाग्दो चित्र देखाउँदै गम्भीर कुपोषण सङ्कटलाई प्रकाश पारेका छन् ।

आर्थिक कठिनाइ, खाद्य असुरक्षा, सीमित स्वास्थ्य सेवा पहुँच र वातावरणीय चुनौतीहरू जस्ता समस्याका कारण पाकिस्तानले आफ्नो इतिहासमा कुपोषणको उच्चतम दर अनुभव गरिरहेको प्रतिवेदनले जनाएको छ ।

यी हुन् ‘मिस भिवा’का १६ प्रतिस्पर्धी

काठमाडौँ । ‘मिस भिवा’ का १६ जना प्रतिस्पर्धी सार्वजनिक गरेको छ । बुधबार आयोजित एक समारोहका बीच उमङ्ग क्रियशनले प्रतिस्पर्धीसहित (ताज) क्राउन सार्वजनिक गरेको हो ।

‘मसि भिवा’ संस्कृत शब्द रहेकाले यसको नेपाली अर्थ ब्रेभ, बोर्ड, ब्युटीको रहेको उमङ्ग क्रियशनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताए । मिस भिवाका विजेताले मिस ग्रान्ड नेपालमा सहभागिता जनाउन पाउने उनले बताए ।

प्रतियोगितामा जम्मा १६ जना प्रतिस्पर्धी सहभागी रहेका छन् । जसमा मिमोशा राई, अस्मिता शाह, डा काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, कृशला गुरूङ, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव र जेनिता सेञ्चुरी सहभागी रहेका छन् । प्रशान्त ताम्राकारको कोरियोग्राफीमा प्रतिस्पर्धीलाई सार्वजनिक गरिएको थियो ।

कार्यक्रमा सबैभन्दा महँगो २५ लाख रुपैयाँ बराबरको क्राउन सार्वजनिक गरिएको थियो । यो अपाला ज्वेलर्सले नेपाली संस्कृति र पहिचान झल्कने गरी डाइमन तथा ह्वाइट गोलबाट निर्माण गरेको त्यस अवसरमा जानकारी दिइयो ।

प्रबन्धक अधिकारीले इन्टरनेशनल फ्रेञ्चाइजसहित पहिलो चरणमा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट २० मा पुर्याइसकेको र अब मिस भिवालाई अन्तर्राष्ट्रिय प्याजेन्टका रूपमा नेपालमा नै गर्ने लक्ष्यका साथ अगाडि बढाइएको बताए ।

विजेताले मिस ग्राण्ड इन्टरनेशनलमा प्रतिनिधित्व गर्ने छन् । ‘मिस भिवा’ थाइल्याण्डको फ्रेञ्चाइज हो ।

श्रीकेश तेल उत्पादकलाई महानगरले गरायो २ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारवाही गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए ।

तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो । प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार पारिएको थियो । सोही प्रतिवेदनका आधारमा जरिवाना गरिएको, झाको भनाइ छ ।

माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त हुन सकेन । कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्यूर (एसओपी) को अभिलेख पाइएन ।

यसो हुनु भनेको गुड म्यानुफ्याक्चरिङ् प्राक्टिस (जिएमपी) होइन, प्रतिवेदनमा उल्लेख छ । इण्डष्ट्रीको नाममा प्राप्त भएको आइओइएस प्रमाण पत्र उत्पादित तेलमा प्रयोग गरिएको छ । यसो गर्न पाइँदैन । प्रतिवेदनले औँल्याएको छ ।

तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी) हरुको प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेश भएको छ । सबै उत्पादनमा एउटै व्याच नम्बर राखिएको छ । उक्त ब्याचको उत्पादनहरुमा प्रयोग हुने केही कच्चा पदार्थ (तेल) को तेलको प्रयोग म्याद भन्दा कम देखिएको छ ।

तेलको लेबलमा उल्लेख भएका तत्वहरु र परिमाण तेलमा रहेको पुष्टि हुने कुनै सरकारी अथवा अन्य निकायबाट प्रमाणित हुने कागजात प्राप्त भएन । लेबलमा उल्लेख फाइदाहरु (कपाल नझर्ने, नयाँ कपाल उमार्ने, चायाँ रोक्ने आदि) पुष्टि हुने क्लिनिकल ट्रायल, प्रयोगशाला विश्लेषण, जर्नलमा प्रकाशित नदेखिएकोले भ्रम सिर्जना हुने शव्दको प्रयोग गरेर प्रचारप्रसार र व्यावसायिक क्रियाकलाप गरेको प्रतिवेदनले औँल्याएको छ ।

इण्डष्ट्रीले उपलब्ध गराएको प्रयोगशाला प्रतिवेदनहरुमा क्रमिक रुपमा सुक्ष्म जीवाणु परिमाण (माइक्रो बायोलोजिकल लोड, टोटल प्लेट काउन्ट) बढ्दै गएको देखिन्छ । कपाल उमार्ने रसायनिक तत्व सम्बन्धी उत्पादकले स्वघोषणा गरेको ‘मिनोक्साइडिल’ उद्योगद्वारा प्रदान गरिएको परीक्षण प्रतिवेदनमा छैन ।

कच्चा पदार्थ तथा जडीबुटीहरु एक आपसमा मिश्रण गर्दा प्रयोग अवधि (३ वर्ष) सम्म कुनै हानीकारक तत्वमा परिणत नहुने प्रमाणित प्रतिवेदन, कच्चा पदार्थको समिश्रणले मानव स्वास्थ्यमा असर नपर्ने प्राविधिक तथा वैज्ञानिक पुष्टि हुने कुनै पनि विश्लेषण प्रतिवेदन कम्पनीले उपलब्ध गराएन ।

तेलको लेबलमा उल्लेख गरिएको उपभोग्य/प्रयोग अवधि (३ वर्ष) के, कसरी र कुन आधारमा राखिएको पुष्टि हुने दस्तावेज प्राप्त भएन । तेलमा प्रयोग गरिएको जडीबुटीहरुको मात्रा यकिन गर्ने गुणस्तरीय विधि तथा कुनै पनि परीक्षण गरेको विश्लेषण प्रतिवेदन साथै उक्त जडीबुटीहरुको मानव स्वास्थ्यमा असर हुने/नहुने दस्तावेज इण्डष्ट्रीले उपलब्ध गराएन ।

यसपछिको प्रक्रियाका लागि महानगरपालिकाले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ ।

सशस्त्र प्रहरीका चार डीआइजीको काज सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बलका चार डीआइजीको सरुवा भएको छ । बुधबार गृहमन्त्रीस्तरको निर्णयअनुसार चार डीआइजीको सरुवा भएको हो ।

डीआइजी अभिकुमार खत्रीलाई ५ नम्बर बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपेन्देहीबाट मानव स्रोत विभागमा, दुर्गाप्रसाद भट्टराई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा, राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत प्रदीपकुमार पाललाई ५ नम्बर बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही र मानव स्रोत विभागमा कार्यरत सुरेश कुमार श्रेष्ठको महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ ।

विवादित नियमावली खारेज गरेर मात्र न्यायाधीश नियुक्ति प्रक्रिया सुरु गर्न नेपाल बारको माग

काठमाडौं । नेपाल बार एसोसिएसनले विवादित नियमावलीका आधारमा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति प्रकृया सुरु गरिएको भन्दै आपत्ति जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गरी बारले विवादित नियमावली संशोधन गर्न माग गरेको हो । बारले विवादित नियमावली खारेज गरेर मात्र न्यायाधीश नियुक्ति गर्न माग गरेको छ । नियमावली खारेज नभए कडा आन्दोलनमा उत्रिने बारले चेतावनी पनि दिएको छ ।

मुग्लिन–पोखरा पश्चिम खण्डमा कालोपत्र गरिँदै

दमौली (तनहुँ) । निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डमा २० किलोमिटर दुई लेनको सडक कालोपत्र सकिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा गत आर्थिक वर्षमा दुई लेनको २० किलोमिटर सडक कालोपत्र सकिएको हो ।

मुग्लिन–पोखरा सडक आयोजना कार्यालयले गत आवमा १० किमी कालोपत्र गर्ने लक्ष्य राखेकामा लक्ष्य बमोजिमको काम सम्पन्न गरेको आयोजनाको पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले जानकारी दिए ।

पश्चिम खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन् । पौडेलका अनुसार सोही अवधिमा ०.५ किमी ‘ट्र्याक’ चौडा गर्ने काम भएको छभने ९५ प्रतिशत ‘ब्याककटिङ’ सम्पन्न भएको छ ।

सोही अवधिमा ११ पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँचवटा सम्पन्न भएका पौडेलले जानकारी दिए । निर्माण गर्नुपर्ने १३ पुलमध्ये आठ पुलको सुपर स्ट्रक्चरको निर्माण सम्पन्न भइसकेको उनको भनाइ छ ।

विगत केही समय पश्चिम खण्डमा न्यून प्रगति भएको अवस्थामा अहिले कामको गति बढेको छ । गत आवमा आयोजना कार्यालयको पहलमा निर्माणसँग सरोकार भएका निकायको साथ र सहयोगले सडक स्तरोन्नतिको भौतिक प्रगति नौबाट २८ प्रतिशत पुगेको पौडेलले जानकारी दिए ।

“नेपालको अधिक वर्षा हुने क्षेत्रमा अवस्थित यस राजमार्गको स्तरोन्नति कार्यको सुरु डिजाइनमा सडकको सानो बफर क्षेत्रको मात्र गर्ने योजना बनाइएकामा सडकको अवस्था र चाप तथा नयाँ निर्माण भएको विमानस्थललाई दृष्टिगत गरी जामुनुबाट सेती पुलसम्मको डिजाइन परिवर्तन गरिएको छ”, इञ्जिनियर पौडेलले भने ।

सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ वटा खानेपानी संस्थासँग सम्बन्धित पाइप लाइन तथा संरचनाहरु स्थानान्तरणका लागि सम्झौता भई सम्बन्धित उपभोक्ताबाट स्थानान्तरणको काम भइरहेको उनले उल्लेख गरे ।

आयोजना कार्यालयले लागत बेहोर्ने गरी नेपाल विद्युत् प्राधिकरणका निकायमार्फत विद्युत् पोल स्थानान्तरण गर्न जिल्ला प्रशासन कार्यालय, विद्युत्सम्बन्धी सरोकार भएका निकायको समन्वयमा स्थानान्तरण गर्नुपर्ने दुई हजार ३१ पोलमध्ये एक हजार दुई सय ३६ स्थानान्तरण भइसकेको पौडेलले बताए ।

पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।

नन्दबाबा खानेपानी आयोजनाबाट ६ सय परिवार लाभान्वित

सिरहा। सिरहाको कर्जन्हा नगरपालिका–१ स्थित बाल्टियामा एक करोड ६४ लाख ६८ हजार लागतमा नन्दबाबा खानेपानी आयोजना निर्माण भएको छ । आयोजना सम्पन्न भएसँगै वडा नं १ का छ सय १९ परिवारमा शुद्ध खानेपानीको पहुँच विस्तार भएको हो ।

कर्जन्हा नगरपालिकासँगको सहकार्यमा सबल नेपालद्वारा सञ्चालित ‘सामाजिक परिवर्तनका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन सबलीकरण परियोजना’ अन्तर्गत सम्पन्न भएको खानेपानी आयोजना एक कार्यक्रमको आयोजना गरी खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।

विसं २०७६ फागुन २० गतेदेखि उक्त खानेपानी आयोजना प्रारम्भ भएको थियो । सबल नेपालको रु ७० लाख पाँच हजार नौ सय ५५, नगरपालिकाको ९० लाख ७४ हजार तीन सय ७३ तथा लक्षित समुदायले तीन लाख ८८ हजार चार सय ८५ खर्च व्यहोरेका सबल नेपालका पालिका संयोजक रोजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार खानेपानी वितरण गर्न कूल एक लाख ५० हजार लिटर पानी भण्डारण क्षमता रहेको ‘ओभरहेड’ ट्याङ्की रहेको छ ।

उक्त ट्याङ्कीमा स्वचालित रुपमा पानी शुद्धीकरणका उपकरणसमेत जडान गरिएको छ । दुई सय ४० फिटको डिप बोरिङ गाडिएको छभने १० एचपी क्षमताको सम्बरसिवल पम्प जडान गरिएको सबल नेपालका कोषाध्यक्ष आयुश श्रेष्ठले जानकारी दिए । खानेपानीका इनार र कुवाहरु सुक्दै जान थालेपछि उक्त आयोजनाको पहल गरिएको वडा नं १ का वडाध्यक्ष फणिन्द्र पोखरेलले बताए ।

“जलवायु परिवर्तनसँगै चुरे क्षेत्रका गाउँहरुमा पानीको सतह सुक्न थाल्यो । ट्युवेल र इनारहरु सुक्न थाले । गाउँमा खानेपानीको हाहाकार हुन थालेपछि यो आयोजनाको पहल गरिएको हो”, उनले भने, “यसमा सबल नेपाल र नगरपालिकाले पनि चासोका साथ सहयोग गरेकाले समयमै निर्माण सम्पन्न भएको छ ।”

घरमा नियमित खानेपानी आउन थालेपछि स्थानीय पनि खुसी भएका छन् । “हाते कल सुकेको वर्षौं भइसकेको थियो । इनार तथा कुवाका पानी पनि सुक्न थालेपछि पानीको हाहाकार हुन थालेको थियो । पछिल्लो समय हामीसँग बसाइँ सर्नुको विकल्प थिएन । आज यसरी घरघरका धारामा पानी आउन थालेपछि हर्षित भएका छौँ”, स्थानीय ६० वर्षीय शारदा कार्कीले भने ।

खानेपानीको दिगोपनाका लागि प्रत्येक परिवारबाट न्यूनतम १० युनिट प्रयोग गरेबापत रु ८० महसुल सङ्कलन गर्ने गरिएको भन्दै थप प्रतियुनिट र छ महसुल निर्धारण गरिएको नन्दबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

सबल नेपालले निर्माण गरेको संरचनाले गर्दा वडावासीले स्वच्छ पानी पिउन पाएको कर्जन्हा नगरपालिकाका उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले बताए । उनले यस खानेपानी आयोजनाको प्रभावकारिताका लागि नगरले थप योजना बनाउने भन्दै नगरका अन्य वडा तथा समुदायमा पानीको समस्या समाधान गर्न सहकार्य गर्दै जाने उल्लेख गरे ।

आफ्नो नगरक्षेत्रभित्रको चुरेको फेदमा पर्ने बल्टियाको बस्तीमा स्थानीयको घरघरमा खानेपानीको व्यवस्था भएको नगरप्रमुख भोला पोखरेलले बताए। “यसमा नगरले पनि सहकार्य गरिरहेको छ । आगामी दिनमा नगरका अन्य सुक्खा ठाउँमा क्रमशः खानेपानीको व्यवस्था गर्दै जाने प्रतिबद्धता गर्दछौँ”, उनले भने ।

एमाले सचिवालय बैठकको कार्यसूची तय

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलि बिहीबार सचिवालय बैठकको ‘एजेन्डा’ तय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूचि तय गरिएको छ ।

केन्द्रीय कार्यालयको बैठक पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको थियो । बैठकमा महासचिव पोखरेलसहित तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए । एमालेले भोलि दिउँसो १ बजेका लागि पार्टी कार्यालयमा सचिवालय बैठकको आह्वान गरेको छ ।

अवकाशमा जान लागेका नेपाल प्रहरीका पाँच अधिकारीद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । उमेर हदका कारण अवकाशमा जान लागेका नेपाल प्रहरीका पाँच जना प्रहरी अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

भदौ २६ गतेदेखि अनिवार्य अवकाशमा जा लागेका एआईजी श्याम ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरूले उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेश माग गरेका छन् ।

रिटको बिहीबारलाई पेसी तोकिएको छ । यसअघि नेपाल प्रहरीका डीआईजी विष्णुकुमार केसीसहित २१ जनाले सर्वोच्च अदालतमै ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै रिट दायर गरेका थिए ।

उनीहरूको पक्षमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि एआईजी ज्ञवालीसहितका अधिकारीहरू पनि अवकास रोक्न माग गर्दै सर्वोच्च पुगेका हुन् । उक्त आदेशविरुद्ध सरकारले भ्याकेट निवेदन दिएको छ।

बंगलादेशलाई साफ यु–२० च्याम्पियनसिपको उपाधि

काठमाडौँ ।  बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले यो उपाधि पहिलो पटक जितेको हो । 


ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मुख्यालयको खेलमैदानमा बुधबार भएको फाइनल खेलमा  बङ्गलादेशले नेपालमाथि ४–१ गोलको जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो ।


यसअघि दुईपटक फाइनलमा पुगेको बङ्गलादेश दुवै पटक पराजित हुँदै उपविजेता बनेको थियो । सन् २०१९ र सन् २०२२ मा भएको साफ च्याम्पियनशिपमा बङ्गलादेश फाइनलमा पुगेको थियो । त्यतिबेला दुवै पटक भारतसँग पराजित हुँदै बङ्गलादेश उपविजेतामा सीमित बनेको थियो । 


बङ्गलादेशको जितमा आजको खेलमा मिराजुल स्लामले दुई गोल गरे भने रब्बी होसेन राहुल र मोहम्मद पिस अम्मद नोभाले समान एक–एक गोल गरे ।


खेलको पहिलो हाफको अतिरिक्त समयमा मिराजुलले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५५औँ मिनेटमा अस्दुल मोल्लाले दिएको पासलाई सदुपयोग गर्दै मिराजुलले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७१औँ मिनेटमा बङ्गलादेशका अर्का खेलाडी रब्बीले गोल गर्दै टोलीलाई तेस्रो अग्रता दिलाए । 


त्यस्तै, खेलको ८१औँ मिनेटमा नेपालका समीर तामाङले गोल गरे । बङ्गलादेशका गोल किपर अगाडि गएको अवस्थामा सान्त्वना गोल गरे ।


यसैगरी, बङ्गलादेशका अर्का खेलाडी नोभाले खेलको दोस्रो हाफको अतिरिक्त समयमा एक गोल थपे । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः बङ्गलादेशले नेपालमाथि ४–१ को ऐतिहासिक जित हासिल ग¥यो । हारसँगै साफ च्याम्पियनशिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्ने नेपालको सपना अधुरै रहन पुगेको छ ।


नेपालबाटै सन् २०१५ मा साफ यू–१९ च्याम्पियनशिपका नामबाट सुरुआत भएको उक्त च्याम्पियनशिपको उपाधि सुरुआतमा नेपालले जितेको थियो । 


च्याम्पियनशिपको फाइनल खेलमा नेपालले भारतलाई ‘टाइब्रेकर’मा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएकोे थियो । उक्त च्याम्पियनशिप यसअघि कहिले साफ यू–१८ र कहिले साफ यू–२० को नामबाट सञ्चालन हुँदै आएको छ । 


त्यसैगरी, सन् २०१७ मा भूटानमा आयोजना भएको साफ यू–१८ च्याम्पियनशिपमा पनि नेपालले उपाधि जितेको थियो । त्यतिबेला राउन्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले शीर्ष स्थानमा रहँदै प्रतियोगिताको उपाधि जितेको थियो ।


छैटौँ संस्करणको  प्रतियोगिताको लिग चरणका खेलमा भने नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । त्यसैगरी, सेमिफाइनलमा नेपालले भूटानलाई तथा बङ्गलादेशले भारतलाई पराजित गर्दै साफ यू–२० च्याम्पियनशिपको फाइनलमा स्थान बनाएका हुन् । 


यही भदौ २ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का, भारत, माल्दिभ्स र भूटानले सहभागिता जनाएका थिए ।  प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने तालिका थियो तर वर्षाका कारण खेलमैदान हिलाम्य हुँदा एन्फाले प्रतियोगिताको सम्पूर्ण खेल सातदोबाटोमा खेलाइएको हो ।


विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुल परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्बाङलगायतले पुरस्कार वितरण गरेका थिए ।

बङ्गलादेशमा सुरक्षा बलद्वारा बेपत्ता पारिएका घटनाबारे अनुसन्धान शुरू

बङ्गलादेशका अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सुरक्षा फौजले बलपूर्वक बेपत्ता पारेका सयौँ घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको बुधबार बङ्गलादेश सरकारले जनाएको छ।

बलपूर्वक बेपत्ता पारेका भनिएका घटनामा कुख्यात ¥यापिड एक्सन बटालियन (आरएबी) भनिने अर्धसैनिक बलको अत्यधिक संलग्नता रहेको छ।

आरएबीलाई धेरै अधिकार उल्लङ्घनको आरोप लगाइएको छ, र यसलाई संयुक्त राज्य अमेरिकाले गैरन्यायिक हत्या र बलपूर्वक बेपत्ता पार्ने भूमिकाको लागि प्रतिबन्ध लगाएको थियो।

ह्युमन राइट्स वाचले सन् २००९ मा हसिना सत्तामा आएयता सुरक्षा फौजले ‘६०० भन्दा बढी बलपूर्वक बेपत्ता पारिएका’ घटना रेकर्ड गरेको र करिब १०० जना कहाँ छन् अहिले पनि कुनै जानकारी छैन।

पक्राउ पर्नेमा हसीनाका प्रतिद्वन्द्वी बङ्गलादेश नेसनलिस्ट पार्टी र देशको सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीका रहेका छन्।

हसिनाको सरकारले लगातार आरोपको खण्डन गर्दै बेपत्ता भएकामध्ये केही युरोप पुग्ने क्रममा भूमध्यसागरमा डुबेको दाबी गरेको छ।

हप्तौंदेखि जारी विद्यार्थी आन्दोलनले १५ वर्ष लामो शासनको अन्त्य गर्दै राजीनामा दिन बाध्य पारेपछि पूर्वप्रधानमन्त्री हसिना अगस्ट ५ मा हेलिकप्टरबाट भारत गई शरण लिइरहेकी छन् ।
उच्च अदालतका अवकाशप्राप्त न्यायाधीश मोइनुल इस्लाम चौधरीको अध्यक्षतामा गठित पाँच सदस्यीय समितिले बोर्डर गार्ड बङ्गलादेश (बीजीबी) लगायत अर्धसैनिक बलका अन्य प्रहरी एकाइमाथि पनि अनुसन्धान गर्नेछ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले आरएबी र बीजीबी दुवै सेनासँग ‘बलपूर्वक बेपत्ता पारिएका, यातना र दुव्र्यवहारलगायत गम्भीर मानवअधिकार उल्लङ्घनका रेकर्ड’ रहेको बताएको छ।

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले काम सुरु गर्न आदेश दिएको आयोगलाई प्रतिवेदन बुझाउन ४५ कार्यदिनको समय दिइएको छ।

हसिनाको पालामा हिरासतमा लिइएका व्यक्तिहरूको रिहाइका लागि अभियान चलाइरहेको समूहकी संयोजक सञ्जिदा इस्लाम टुलीले आयोगको स्वागत गरेकी छन् ।
“सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको रिपोर्ट पूर्ण रूपमा प्रकाशित गर्नु र कुनै पनि जानकारी नलुकाइनु हो,” टुलीले भनिन् । जसको अर्थ आमाको आह्वान,‘द कल अफ द मदर्स’, हो।

हराएका आफन्तको खोजी गर्नेहरूसँग मिलेर यसै महिनाको सुरुमा युनुससँग भेटेर कारबाहीको माग गरेकी टुलीले आयोगले हरेक परिवारको कुरा बिना भेदभाव सुनोस् भन्ने चाहेको बताएकी थिइन् ।

उनले बेपत्ता भएकाहरूको फिर्ता होस् र जिम्मेवारहरुले न्याय पाऊन् भन्ने आफूहरूको चाहना रहेको बताइन् ।

संयुक्त राष्ट्रसङ्घको अधिकार टोलीको प्रारम्भिक प्रतिवेदनअनुसार हसिनालाई पदच्युत गर्नुअघिका हप्ताहरूमा ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

उनी भागेको एक दिनपछि ढाकास्थित सैन्य गुप्तचर बलको भवनबाहिर परिवारका सदस्यहरू आफ्ना नातेदारहरूको पर्खाइमा भेला भएका थिए। तर, औलामा गन्नसक्नेलाई मात्र रिहा गरिएको पुष्टि भएको छ।

गाजाको सुरुङबाट एक बन्धकको उद्धार

हमासको आक्रमणको क्रममा पक्राउ परेका एक बन्धकलाई गाजास्थित एक सुरुङ्गबाट उद्धार गरिएको इजरायली सेनाले जनाएको छ ।

एक अमेरिकी अधिकारीका अनुसार गाजा युद्धविराम र बन्धक मुक्तिको सम्झौता सुरक्षित गर्ने उद्देश्यले कतारमा वार्ता जारी रहेको छ तर इजरायल र हमास कसैले पनि सहभागिताको निरन्तरता पुष्टि गरेका छैनन् ।

इजरायली सेनाले ५२ वर्षीय काइद फरहान अल्कादीलाई दक्षिणी गाजाको एउटा सुरङबाट एक्लै रहेको अवस्थामा फेला पारी उद्धार गरेको जनाएको छ ।

गत अक्टोबरमा दक्षिणी इजरायलमा भएको आक्रमणको क्रममा अपहरणमा परेका २५१ जना मध्ये उनी एक हुन् । बन्धकमध्ये १०४ जना अझै पनि गाजामा बन्दी छन् भने ३४ जनाको मृत्यु भइसकेको सेनाले जनाएको छ ।

युद्धका कारण गाजा ध्वस्त भएको छ, यहाँका लगभग २४ लाख मानिसहरूमा मानवीय सङ्कट छाएको छ ।

हमासद्वारा सञ्चालित नागरिक सुरक्षा एजेन्सीले गाजा सहर र मध्य र दक्षिणी गाजाका दुई शरणार्थी शिविरहरूमा छुट्टै इजरायली आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको जनाएको छ ।

अल्कादीलाई इजरायलको सोरोका मेडिकलमा लगि उपचार गराउँदा अस्पताल निर्देशक श्लोमी कोदेशले उहाँको अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

यद्यपि, लामो समयसम्म सुरुङमा रहेका व्यक्तिहरू स्वास्थ्य समस्याको जोखिममा हुनसक्ने आँकलनसहित अल्काडीलाई ‘निरन्तर मूल्याङ्कन’ का लागि राखिएको कोदेशले बताए ।

सेनाका अनुसार उनी दक्षिणी इजरायलका बेदुइन अरब सहर राहतका बासिन्दा अल्कादी अक्टोबरमा आतङ्कारीले आक्रमण गरेको क्षेत्रको गोदाममा गार्डको रूपमा काम गरिरहेका थिए ।

इजरायली अभियान समूह, होस्टेज एण्ड मिसिङ फेमिलीज फोरमले उहाँको रिहाइको स्वागत गरेको छ भने अन्य बन्दीको फिर्ता सुनिश्चित गर्न ‘वार्ताको सम्झौता एक मात्र तरिका भन्ने कुरामा जोड दिएको छ ।

बन्धकहरूको उद्धार असहज भएको अवस्थामा सेनाले स्थल कारबाही अभियान सुरु गरेदेखि इजरायली सेनाद्वारा जीवित मुक्त गरिएका अल्कादी आठौँ व्यक्ति हुन् ।

नोभेम्बरमा एक हप्ता लामो युद्धविरामको क्रममा इजरायलमा प्यालेस्टिनी कैदीहरूको बदलामा स्कोरहरू जारी गरिएको थियो जुन अहिलेसम्मको युद्धको एक मात्र उदाहरण हो ।

अल्काडीसँग कुरा गरेपछि नेतान्याहुको कार्यालयले जारी गरेको भिडियोमा, कट्टर नेताले बन्दीहरूको रिहाइ सुरक्षित गर्न सैन्य उपस्थिति र हमासमाथि निरन्तर सैन्य दबाब आवश्यक रहेको बताए ।

वार्ताको मुख्य बिन्दु हमासलाई पुनःशस्त्रीकरण गर्नबाट रोकी गाजा–इजिप्ट सीमा पट्टीको नियन्त्रण राख्न इजरायलको अडान रहेको छ, जसलाई हमासले अस्वीकार गरेको छ ।

इजिप्टसँग सम्बन्धित अल–काहेरा न्यूजले कतार र अमेरिकासँग वार्ताको मध्यस्थता गरिरहेको इजिप्टले सीमामा तथाकथित फिलाडेल्फी कोरिडोरमा इजरायली उपस्थिति स्वीकार नगर्ने जनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले मध्यस्थता प्रयासमा ‘प्रगति’ भएको रिपोर्ट गर्दै आगामी दिनमा थप वार्ता हुने अपेक्षा गरिएको बताए ।

युक्रेनको ड्रोन आक्रमणबाट रूसी इन्धन भण्डारमा आगलागी

युक्रेनी ड्रोन आक्रमणपछि दक्षिणपश्चिम रूसको रोस्तोभ क्षेत्रमा रहेको इन्धन भण्डारमा आगलागी भएको क्षेत्रीय गभर्नरले बुधबार बताएका छन् ।

गभर्नर भासिली गोलुवेभले टेलिग्राममार्फत अग्नि नियन्त्रकहरू अझै पनि आगो निभाउँदै गरेको जनाउँदै आगलागीले आवासीय घरहरू जोखिममा नपरेको उल्लेख गरे ।

उनका अनुसार युक्रेनी सीमाबाट करिब २०० किलोमिटर टाढा रहेको छुट्टै युक्रेनी ड्रोन आक्रमणपछि अगस्ट १८ देखि रोस्तोभको प्रोलेटास्र्कमा रहेको तेल भण्डारण केन्द्रमा ठूलो आगलागी भइरहेको छ।

सन् २०२२ मा द्वन्द्व सुरु भएदेखि युक्रेन र रूसले एक अर्काका इन्धन तथा ग्याँस सुविधाहरूलाई लक्षित गरी आक्रमण गरेका छन् ।

यस अघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका तेल भण्डारण लक्षित आक्रमण गरेकोमा सेनाको प्रशंसा गर्दै आक्रमणले द्वन्द्वको ‘न्यायपूर्ण अन्त्य’ हासिल गर्न योगदान पुर्याउने बताएका थिए ।

भ्रष्टाचारमा हदम्याद थप्ने विधेयक तत्काल फिर्ता गर्न सांसद केसीको माग

काठमाडौं । । नेपाली कांग्रेसका सांसद अर्जुननरसिहं केसीले निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिबाट मात्रै राजनीतिक स्थायित्व सम्भव भएको र नेपालका लागि यस्तो व्यवस्था नै उपयुक्त भएको बताएका छन् ।


प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद केसीले  निर्वाचति प्रधानमन्त्री भए गठबन्धनको भरमा सरकार टिकाउने चिन्ता  हट्ने बताएका हुन् । “संवैधानिक राष्ट्रपति र निर्वाचित प्रधानमन्त्रीले मात्रै स्थायित्व दिनसक्छ”, उनले भने, “हरेक प्रदेशमा तीन/चार चोटी सरकार परिवर्तन हुने अवस्था आयो ।”


एउटा गठबन्धनमा रहेर सरकार जाला कि भन्ने चिन्ताबाट उन्मुक्ति पाउन पनि निर्वाचित प्रधानमन्त्री सबैभन्दा उपयुक्त हुने उनको कथन छ । सांसद केसीले संविधान संशोधनीय भएको तर संशोधन केमा गर्ने भन्ने कुरा व्यापक सहमतिबाटै गर्नुपर्ने बताए ।


समावेशी चरित्रलाई कुनै पनि किसिमको असर नपर्नेगरी संशोधन गर्नुपर्नेमा उनले जोड दिए । उनले सरकार सुशासनको पक्षमा छ भने भ्रष्टाचारमा हदम्याद थप्ने विधेयक तत्काल फिर्ता गर्नुपर्ने माग राखे । त्यस्तै देश निरन्तर अराजकता, विद्रोहतिर उन्मुख भएकामा ध्यानाकर्षण गराउँदै प्रविधिमा हुर्किएका युवाको आक्रोश सम्बोधन गर्नु राज्यको पहिलो दायित्व रहेको बताए ।

साफ च्याम्पियनपशिप फाइनल : पहिलो हाफमा बङ्गलादेशको अग्रता

काठमाडौँ । साफ यू–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले  नेपाल र बङ्लादेशबीच  प्रतिस्पर्धा भइरहेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मुख्यालयको खेलमैदानमा जारी खेलको पहिलो हाफ सकिँदा बङ्गलादेशले नेपालमाथि १–० गोलको अग्रता बनाएको हो । खेलको ९औं मिनेटमा निराजन धामीको उत्कृष्ट प्रहार बङ्गलादेशका ‘किपर’ मोहमद आसिफले बचाउ गरे ।

त्यसपछि पनि खेलको विभिन्न समयमा नेपालले गोल गर्न प्रयास गरे पनि असफल बनेको छ । बङ्गलादेशलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनशिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्न चाहन्छ । यसअघि नेपालले सन् २०१५ र १०१७ मा साफ च्याम्पियनशिपको उपाधि जितेको थियो । त्यसो त बङ्गलादेश पनि पहिलोपटक उपाधि उचाल्ने दाउमा रहेको छ ।

शेयर बजारमा समान्य अंकको बृद्धि

काठमाडौँ ।  यो सातामा कारोबारका अघिल्ला दुई दिन लगातार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार भने सामान्य अङ्कले बढेको छ । बुधबार नेप्से परिसूचक तीन दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ८६ दशमलव ४० को विन्दुमा कायम भएको हो ।

आज दुई सय २६ कम्पनीको तीन करोड ५० लाख सात हजार ३९ कित्ता शेयर एक लाख ६८ हजार एक सय ७५ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार तीन सय ९३ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव ९२, होटल तथा पर्यटन शून्य दशमलव ०९, जलविद्युत् शून्य दशमलव ४९ र लगानी एक दशमलव ०१ प्रतिशतले बढेको छ । 

त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०३, म्युचुअल फण्ड शून्य दशमलव ९३ र अन्य समूह शून्य दशमलव ०९ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । व्यापार एक दशमलव ४३, निर्जीवन बीमा शून्य दशमलव ९७, लघुवित्त एक दशमलव ०८, जीवन बीमा शून्य दशमलव ४४, वित्त एक दशमलव ६९ र विकास बैंक शून्य दशमलव ८० प्रतिशतले घटेको छ ।

लिबर्टी इनर्जी कम्पनी लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ८८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्स लिमिटेडको रु ४३ करोड सात लाख ८६ हजार नौ सय बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिस सिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको १० लाख ६० हजार दुई सय ८४ कित्ता शेयर खरिदबिक्री भएको छ ।

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा

अञ्जु कार्की, सोलुखुम्बु ।  गत साउन ३२ गते शुक्रबार बिहानदेखि खुम्बु क्षेत्रमा पानी परिरहेको थियो । हिमाली भेग तुवाँलाले ढाक्नाका साथै बर्सात भइरहेको बेला हुस्सु पनि लागेको हुन्छ । तीन हजार आठ सय मिटर उचाइमा पर्ने थामेमा करिब ६५ परिवारको बसोबास गर्दै आएका छन् । 


थामे क्षेत्र सुन्दर र मनोरम उपत्यकाका र पर्यटकीय स्थलका रुपमा परिचित छ । गत साउन ३२ गते गाउँको माथिबाट ठूलो आवाज गर्दै लेदोसहितको बाढीपहिरो आयो । उच्च समस्थली भूभाग, थामेमा कृषि उत्पादन हुने गह्रामा बाढीपहिरोसँगै आएका ठूलाठूला ढुङ्गाहरु बसेका खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले बताए ।


“संयोग भन्नुपर्छ दिउँसोको समयमा घटना भयो । अफसिजन भएकाले पनि पर्यटक थिएनन् । त्यसैले मानवीय क्षति हुन पाएन । नाम्चेमा शुक्रबार हाट लाग्ने भएकाले दिउँसोको समयमा बाढी गएकाले स्थानीय नाम्चेबजार झरेका, कति गोठाला गएका थिए । बाढीपहिरोको कटानका कारण थामे बगरमा परिणत भएको छ । मन थाम्न सकिने अवस्था छैन”, उनले भने ।


थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले यही भदौ ५ गते काठमाडौँस्थित सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुईवटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि गरेको थियो ।


प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापक्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षाका कारण जलसतह बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिएको बताए । त्यहाँको पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको प्राविधरणको प्रारम्भिक अनुसन्धानले देखाएको उनले जानकारी दिए । 


हिउँ पग्लेकाले पानी र त्यसको केही छाल तल्लो तालमा गएर बजारिएर ठूलो रुप लिएको प्रमुख पोखरेलले उल्लेख गरे । उनका अनुसार यस बाढीबाट बीसभन्दा बढी घरहरूमा क्षति पुगेको छ । थामे आधारभूत  विद्यालय, स्वास्थ्य चौकी र छात्रावास पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने बाँकी घरहरुमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए । उनका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा रहेको नौ सय ५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा सोही बाढले क्षति पुर्याउँदा करिब नौ सय घर अन्धकारमा बस्न बाध्य छन् ।


बाढी आएको भोलिपल्ट सङ्घीय सरकारका रक्षामन्त्रीसहितको टोली थामे गाउँमा पुगी प्रतिघर  १५ हजारका दरले वितरण भएको रकमखुम्बु पासाङ ल्हामु गाउँपालिकालाई हस्तान्तरण गरिएको प्रजिअ खत्रीले बताइन् । “खुम्बु र दोलखाको रोल्वालिङ उपत्यका जोडिने टासी लाप्चा पासतर्फबाट अकस्मात बाढी आएको थियो । अहिले एक सयबढी विस्थापितलाई तल्लो थामेमा अस्थायी रूपमा बस्ने व्यवस्था गरिएको छ”, उनले भनिन् ।


बाढी पुनः आउनसक्ने जोखिमलाई दृष्टिगत गरी तीनवटा सुरक्षा निकायको सहयोगमा आंशिक क्षति भएका घरहरूबाट अत्यावश्यक सामान निकाल्ने काम भइरहेको प्रजिअ खत्रीले जानकारी दिइन् । पूरै थामे क्षेत्रमा ढुङ्गा, गिट्टी र लेदो मिश्रित गेग्रान भरिएकाले अप्रत्यक्ष रूपमा गाउँ प्रभावित बनेको उनको भनाइ छ । 


थामे गाउँमा एक अर्बभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रजिअ खत्रीले बताइन् । उनका अनुसार थामेको शिरमा पाँचवटा साना–ठूला हिमताल छन् । गत साउनमा दुईवटा हिमताल फुटेको भन्दै अरू पनि जोखिममा रहेका प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन् । ६५ घरका करिब एक सय २० जना विस्थापित बनेका छन् । अहिले माथिल्लो थामे क्षेत्र (थामे थिङ)मा कोही आफन्तको घरमा, सामुदायिक भवन, गुम्बा र अन्यन्त्र बसिरहेका उनको भनाइ छ ।


पालिकाको केन्द्रबाट थामे पुग्न करिब १० घण्टा हिँड्नुपर्छ । गाउँ र सहर आवतजावत गर्न हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्थाको गाउँमा बाहिरबाट राहत लगेर बाँड्न सहज नभएको प्रजिअ खत्रीले बताइन् । सिङ्गो गाउँ प्रभावित भएकाले आसपासका आफन्तले पनि धेरै दिन आश्रय दिनसक्ने अवस्था नरहेको भन्दै तत्काल बसोबासको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन् ।


गाउँका अधिकांश पुरुष पर्यटन व्यवसाय, वैदेशिक रोजगारीका क्रममा गाउँबाहिर छन । यहाँ धेरैजसो महिला र बालबालिका बस्छन् । जीवनभर दुःख गरेर जोडेको सम्पत्ति, घरघडेरी, लत्ताकपडा, गरगहनासहितका सामग्री बाढीले बगाएको स्थानीय तारा शेर्पाले दुखेसो पोखिन् ।


तत्कालका लागि बासस्थान र भविष्यमा काम गर्ने वातावरण मिलाइदिन थामेका स्थानीयले सरकारसँग माग गरेका छन् । “सबैथोक गुमाएपछि हामीलाई जीविकोपार्जनमा समस्या भएको छ । आफन्तसँग आश्रय लिएर कति दिन बस्ने?”, ताराले प्रश्न गरिन् । 


तापक्रम वृद्धि हिमपोखरी फुटनुको प्रमुख कारण


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले हिमताल फुट्नुअघि त्यहाँको आकाशमा कालो बादल मडारिएको र यसले अनिष्ट निम्त्याउने सङ्केत देखिएको अनुसन्धानका क्रममा स्थानीयले बताएका उल्लेख गरेका छन् । “हिमताल फुट्नुका कारण तापक्रम बढ्नु हो । जुलाई र अगस्तमा तापक्रम बढी भएकाले पनि यस्तो भएको हो”, उनले भने ।


थामेको शिरमा रहेका ताल विस्फोट भएर तल्लो तटीय क्षेत्र खण्डहर हुनुमा जल तथा मौमम विज्ञान विभागले दुईवटा कारण औँल्याएको छ । हिमताल दुईभन्दा माथिल्लो क्षेत्रमा जमिनको सतह (ग्राउन्ड सर्फेस) मा आएको भूक्षय, भूपरिवर्तन (कम्पाउन्ड क्यासकेडिङ इफेक्ट) ले हिमताल विस्फोट भई तटीय क्षेत्र खण्डहर तुल्याएको विभागका वरिष्ठ जलवायुविज्ञ सुनील पोखरेलले उल्लेख गरे । 


विभागका वरिष्ठ जलवायुविज्ञ पोखरेलसहित जलवायुविज्ञहरू निराकार थापा, मौसम भण्डारी, जोसन महर्जन र सुमित अधिकारीले उक्त घटनाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेका छन् । पछिल्ला दिनमा हिमाल पग्लिने क्रम सुरु भएसँगै हिमतालको आकार र सङ्ख्या वृद्धि भइरहेको अनुसन्धानले देखाएको उनको भनाइ छ ।


“हिमतालको पानी निकास गर्न ठूलो धनराशि जुटाउनुपर्ने हुन्छ । हिन्दू–कुश हिमालय क्षेत्रमा जोखिममा रहेका ४७ हिमतालमध्ये २१ वटा नेपालमा छन् । सन् २०१६ मा सगरमाथा क्षेत्रको पाँच हजार मिटरको उचाइमा अवस्थित इम्जा हिमतालमा पानीको सतह घटाउन सात दशमलव दुई मिलियन अमेरिकी डलर खर्च भएको थियो । राष्ट्रसङ्घीय वातावरण कोषको सहयोगमा पानी घटाइएको इम्जा हिमतालको जोखिम अहिले पनि छ”, जलवायुविज्ञ पोखरेलले भने ।


वैज्ञानिकहरूले जोखिममा रहेका भनिएका नेपालका २१ हिमतालमध्ये ठुलागी, होङ्गु, तल्लो बरुण र लुम्दिङ छोको पानी तत्कालै निकास गर्नुपर्ने बताएका छन् । पानी तत्कालै निकास गर्न ठूलो धनराशिको आवश्यक पर्ने बताउँदै जोखिम कम नगरे त्यसले निम्त्याउने असर विकराल हुने आङ्कलन गरिएको जल तथा मौमम विज्ञान विभागका वरिष्ठ जलवायुविज्ञ पोखरेलले बताए ।


कसरी आयो बाढी ?


खुम्बु क्षेत्रमा गत साउन २५ गतेदेखि दैनिक औसत तापक्रम वृद्धि भएर ९.७ डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको थियो । साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियसम्म पुगेको थियो भने त्यहाँका हिमतालको आकार बढ्दै गएको थियो । 


खुम्बु क्षेत्रको हिमतालबारे अध्ययनमा समेत संलग्न जलवायु परिवर्तन विज्ञ सुमन ठकुरीका अनुसार एक दशकअघिको अध्ययनअनुसार सगरमाथा क्षेत्रमा साना–ठूला गरी छ सय २६ वटा हिमताल थिए । अहिले  हिमतालको सङ्ख्या बढ्दो क्रममा रहेको पछिल्लो अध्ययनहरुले देखाएको उनले जानकारी दिए ।


बस्ती बीचबाट बग्ने थामे खोलाले साउन ३२ गते भने आफ्नो आकार परिवर्तन गरी सुन्दर बस्तीमा क्षति गरेको जलवायु परिवर्तन विज्ञ ठकुरीको भनाइ छ । “सन् १९८५ अगस्ट ४ (२०४२ साउन २० गते) डिग्चो क्षेत्रबाट आएको बाढीले थामे खोलाको जलविद्युत् आयोजना बगाएको थियो । त्यतिबेला ३० घर, १४ पुल बगाउनाका साथै धेरै खेतीयोग्य जमिन बगरमा परिणत गरेको थियो”, उनले भने ।


सङ्घीय सरकारका सिनियर डिभिजन इञ्जिनियरसमेत रहेका वरिष्ठ भूगर्भविद् श्रीकमल द्विवेदीले थामेमा ३९ वर्ष अघिकोभन्दा गत साउनमा आएको बाढी ठूलो भएको बताउनुभयो । “त्यस क्षेत्र आसपासमा रहेको स्याङ्गबोचे विमानस्थलमा विगत १५ दिनमा करिब एक सय ४८ मिलिमिटर वर्षा भएको तथ्याङ्क छ”, उनले भने ।


जलवायु परिवर्तन असर अहिले हिमाली भेगमा पानी पर्न थालेको भूगर्भविद् द्विवेदीले जानकारी दिए । “बरफ जमेर बसेको ठाउँमा माटो पनि कमलो हुने, भिरमा जमेर रहेको बरफसहित माटोको ढिस्काले हिमपोखरी फुट्ने जोखिम बढेको हो”, उनले भने ।


राष्ट्रिय चासो आवश्यक


हिमाली क्षेत्रमा हुने बाढीपहिरोका घटना भविष्यमा पनि हुनसक्ने भएकाले सरकारले रोकथामको उपाय अपनाउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् । विगतमा मनाङ, कागबेनी, मेलम्चीलगायत स्थानमा अस्वाभाविक बाढी आउँदा ठूलो क्षति भएका उदाहरण रहेका भन्दै प्राकृतिक विपद्को क्षति नियन्त्रण गर्न सरकारले गम्भीरपूर्वक योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा भूर्गभविद्ले जोड दिएका हुन् । 


थामेमा आएको बाढीबारे थप अनुसन्धान गरी दीर्घकालीन समाधानका उपाय निकाल्न सांसदहरुले माग गरेका छन् । यही भदौ २ गतेको राष्ट्रियसभाको बैठकको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले आवश्यक अनुसन्धान गरी दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्न सङ्घीय सरकारसँग माग गरेका हुन् ।

पर्यटन पूर्वाधारले आकर्षक बन्दै काभ्रेको ‘तीनधारे झरना’

 काभ्रे। काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल ‘तीनधारे झरना’मा पर्यटन पूर्वाधारको थप गरिएसँगै आकर्षक बन्दै गएको छ ।

पर्यटकको आगमन बढ्दै गएपछि यहाँ आउने पर्यटकलाई थप सहजता प्रदान गर्न शौचालय, कपडा फेर्न कोठा र माथि डाँडाबाट सुन्दर झरनाको दृश्य अवलोकन गर्न विश्रामस्थल र रेलिङलगायत संचरना निर्माण गरिएको हो ।

पहाडी भूगोलको आकर्षक झरना, रमणीय र मनमोहक ठाउँ र हरियाली शान्त वातावरण भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेकाले आवश्यक पूर्वाधार थप गरिएको रोशी–१ का वडाध्यक्ष श्रीदास लामाले बताए ।

यहाँ पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटकले व्यवस्थापनमा ध्यान दिन स्थानीय सरकारलाई सुझाव दिएपछि मोटरबाटो, पैदलमार्ग र झरना क्षेत्रमा थप पूर्वाधार निर्माण भइरहेको उनले जानकारी दिए ।

‘कोरोना महामारीको बेलामा मानिसलाई घरमा मात्रै बसेर उकुसमुकुस भएको थियो । उक्त समयमा आन्तरिक पर्यटक यहाँसम्म पुग्न थालेपछि ओझेलमा परेको झरनाको प्रचारप्रसार भएको हो’, वडाध्यक्ष लामाले भने, ‘सोही बेलादेखि यहाँ पर्यटकको आगमन बढ्न थालेको हो ।’

पर्यटकको आगमन बढ्न थालेपछि सुविधाका लागि स्थानीय सरकारले पूर्वाधार निर्माण र संचरनाको व्यवस्थापन गर्दै आएको उनको भनाइ छ ।

झरना क्षेत्रमा पहिलाको भन्दा पूर्वाधार निर्माण गरी व्यवस्थित गरिएको वडाध्यक्ष लामाले बताए । ‘अहिले यहाँसम्म पुग्न मोटरबाटोको सहजता, खाने-बस्ने र रमाइलो गर्न चाहनेका लागि सुविधासम्पन्न होटल सञ्चालनका साथै अन्य आवश्यक पूर्वाधार निर्माणले यस गन्तव्यलाई थप आकर्षक बनाएको छ’, उनले भने, ‘झरनास्थल सुन्दर र बाटो सहज हुनाका साथै पछिल्लो समयमा थप्दै गरिएका संरचनाहरुले पर्यटकलाई सहज बनाउँदै लगेको छ ।’

महाभारत गाउँपालिका-५ का सुवार जिम्बाले झरना सुन्दर, रमणीय र आकर्षक रहेको भन्दै एकपटक यहाँ पुगेकालाई यहाँको सुन्दरताले लोभ्याइरहने बताए । ‘यहाँ एक पटक पुगिसकेकालाई पटकपटक जान मन लाग्छ । पर्यटकीय क्षेत्रका रुपमा स्थापित भइसकेकाले स्थानीय सरकारले थप व्यवस्थापनमा ध्यान दिन आवश्यक छ’, उनले भने ।

सडकलाई थप व्यवस्थित गर्नुपर्ने, झरना परिसरमा मूर्ति, हस्तकलाका सामग्रीसहित सुन्दर बनाउन सकिने सुवारको सुझाव छ । झरना पर्यटकको रोजाइमा परेसँगै ‘समुदाय प्रहरी साझेदारी’ अवधारणाअन्तर्गत जिल्ला प्रहरी कार्यालयले उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सञ्चालन गरी इलाका प्रहरी कार्यालय मङ्गलटारको समन्वयमा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले झरना क्षेत्रमा सरसफाइ गरेको छ ।

सोमबार प्रहरीको टोलीले सो क्षेत्रमा अवलोकन भ्रमण गरी झरना वरिपरिको क्षेत्रमा सरसफाइ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । समुदायमा नयाँ सन्देश प्रवाह गर्न तथा सबैको रोजाइमा परेको झरनामा प्रहरी कर्मचारीलाई पनि उत्प्रेरणा प्रदान गर्दै सरसफाइ गरिएको उनले बताए ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले झरना क्षेत्रमा पर्यटकको सहजताका लागि थप पूर्वाधारहरु निर्माणको चरणमा रहेको बताए ।

‘हामीले पर्यटकलाई स्नान कक्ष, कपडा फेर्ने कक्ष, शौचालय र विश्रामस्थल निर्माण गरेका छौँ । ती संरचना यथाशीघ्र सञ्चालनको तयारी भइरहेको छ’, उनले भने, ‘पर्यटक झरनामा रुझेर मनोरञ्जन लिने, पौडी खेल्ने भएकाले यहाँ भएको पोखरीलाई थप व्यवस्थापन गर्न प्राविधिक अध्ययन गरिरहेका छौँ ।’

जिल्ला सदरमुकामबाट करिब ३० किलोमिटरको दूरीमा रहेको सो ठाउँ प्रचारमा आएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको अध्यक्ष लामाले बताए । ‘यहाँ पुग्नेहरुले झरनामा छुट्टै आनन्द मिल्ने गरेको अनुभूति सुनाउने गर्दछन्’, उनले भने ।

पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै काफलडाँडामा स्थानीयले घरबास (होमस्टे) सञ्चालनमा ल्याएका छन् । स्थानीयले यहाँ उत्पादित कृषिजन्य वस्तु घरबासमा आउने पाहुनालाई खुवाउने गर्दछन् भने बिक्रीसमेत गर्न थालेका छन् ।

विसं २०२८ मा तत्कालीन नेपाल पर्यटन विभागमा सूचीकृत भएको झरना यसअघि ओझेलमा परेको थियो । अहिले यो झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ ।

टीआरसी विधेयक सभामुखबाट प्रमाणित

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसद्का दुवै सदनबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएका छन् ।

सभामुख घिमिरेले बुधबार विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिसमक्ष पठाएको सभामुखको सचिवालयले जानकारी दिएको छ । टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो । सभामुखबाट प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।

एमाले सचिव योगेश भट्टराईले माओवादी आन्दोलनलाई ‘हिंसा’ भनेपछि संसदमा तनाव

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीको सशस्त्र आन्दोलनलाई ‘हिंसा’ भनेपछि संसदमा तनाव भएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सचिव भट्टराईले माओवादी आन्दोलनलाई ‘हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाउँदै विरोध गरेपछि सदनमा तनाव भएको हो ।

एमाले सचिव भट्टराईले माओवादीले संचालन गरेको ‘हिंसा’का कारण मुलुकमा समयमा विद्युत उत्पादन नभएको आरोप लगाएका थिए । माओवादी सांसदले भट्टराईले बोलेको हिंसा शब्द हटाउन माग गरेका छन् ।

उनीहरुले ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने बताएपछि तनाव भएको हो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यसको नियमापत्ति गरेका थिए ।

पाण्डेले भने, ‘यहाँ प्रयोग भएको भाषा संविधान, नियमावलीअनुसार प्रयोग भइरहेको छैन । त्यसकारण हिंसा शब्दलाई रेकर्डबाट हटाउन माग गर्दछु ।’

त्यस्तै माओवादी सचिव देवेन्द्रराज पौडेलले पनि आफूहरु शान्ति प्रक्रियामा आएको भन्दै शान्ति प्रक्रियालाई भड्काउने काम नगर्न चेतावनी दिए ।

त्यसपछि सभामुख घिमिरेले भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्नका लागि निर्देशन दिएका थिए । तर त्यसपछि पनि एमालेका सचिव भट्टराई र रघुजी पन्तले ‘हिंसा’शब्द पटक पटक दोहोर्याएका थिए ।

माओवादीले भने एमालेका शब्द र व्यवहारको विरोध गरेको थियो । यसरी माओवादीले लगातार त्यसको विरोध गरेपछि भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

रास्वपाद्वारा टुँडिखेल घटनाबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांस्कृतिक चाड गौरा पर्व मनाउने सन्दर्भमा टुँडिखेलमा भएको घटनाबारे संसद्को ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा पार्टीका सांसद हरि ढकालले टुँडिखेलमा युवाहरुले गरेको विरोधलाई अन्यथा रुपमा नहेरी लोकतान्त्रिक अभ्यासका रुपमा मात्र लिनुपर्ने सुझाव दिए ।

उनले भने, ‘त्यो घटनालाई सरकारले अराजकताका रुपमा ग्रहण गरी त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनु हुन्न । मुलुकमा भइरहेका कतिपय असान्दर्भिक र अनियमितासँग जोडेर युवाहरुले गरेका त्यस्ता विरोधका घटनामा राजनीतिक दल र सरकार संयमित हुनुपर्छ ।’

निजामती कर्मचारीको जापानमा उच्चशिक्षा अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौँ । जापानले नेपालको निजामती सेवाका कर्मचारीलाई त्यहाँका विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न करिब जापानी येन ४५ करोड ४० लाख (अनुमानित नेरु ४२ करोड २३ लाख) छात्रवृत्ति सहयोग गर्ने भएको छ । 

अर्थ मन्त्रालयमा बुधबार सोसम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र नेपालका लािग जापानी राजदूत किकुता युताकाले सहयोगसम्बन्धी नोट आदानप्रदान गरे ।

सो अवसरमा अर्थमन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखाका प्रमुख धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । 

सम्झौतासँगै नेपालका युवा निजामती सेवाका कर्मचारीलाई जापानको विश्वविद्यालयमा दुईवर्षे स्नातकोत्तर र तीनवर्षे विद्यावारिधि अध्ययन गर्नका निम्ति छात्रवृत्ति सहयोग प्राप्त हुनेछ ।

‘मेरिट’का आधारमा निजामती सेवाका कर्मचारीमध्येबाट इच्छुक कर्मचारी अध्ययनका लागि जापान जानेछन् । यस वर्ष २० जना स्नातकोत्तर र दुईजना विद्यावारिधि गरी २२ कर्मचारीलाई छात्रवृत्ति प्रदान गरिने सो अवसरमा जानकारी दिइयो ।  

जापान सरकारको सहयोगमा त्यहाँका मानव संसाधन विकास छात्रवृत्ति कार्यक्रम  (जेडिएस)अनुसार सन् २०१६ देखि नेपालले यो अवसर पाइरहेको छ । हालसम्म एक सय ८७ निजामती सेवाका अधिकारीले छात्रवृत्ति प्राप्त गरिसकेका छन् ।

सो अवसरमा अर्थ सचिव घिमिरेले छात्रवृत्ति कार्यक्रमले नेपालको निजामती सेवाका कर्मचारीको क्षमता अभिवृद्धि हुने र यसबाट सिङ्गो मुलुक लाभान्वित हुने विश्वास व्यक्त गरे । नेपालका लागि जापानी राजदूत किकुताले नेपालका निजामती सेवाका कर्मचारीलाई दक्ष बनाउन छात्रवृत्ति कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउँछौँ : शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बिद्या भट्टराईले एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउने बताएकी छन् । बुधबार मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले अन्य विधेयकलाई रोकेर भए पनि उच्च शिक्षा विधेयक ल्याउने उल्लेख गरिन् ।

“विद्यालय शिक्षा विधेयक ल्याउन ढिला भयो । अब चाँडै विधेयक ल्याउन पहल गर्छु”, उनले भनिन्, “उच्च शिक्षा विधेयक चाँडै ल्याउनमा म सचेत छु ।” मन्त्री भट्टराईले विधेयकबारे सरोकारवाला, कानुन र अर्थमन्त्रालयसँग छलफल गर्ने बताइन् । उच्च शिक्षा विधेयक ल्याउन सके शिक्षामा सुधार ल्याउन सकिने उनले विश्वास व्यक्त गरिन् ।

मन्त्री भट्टराईले विद्यालय जस्तै विश्वविद्यालयलाई राज्य र समाजसँग जोड्नुपर्ने बताइन् । “विश्वविद्यालय आफ्नै ऐन कानुनबाट स्वायत्त भएर सञ्चालन भएका छन् । तिनीहरुलाई हामीले राज्य र समाजसँग जोडन सकेका छैनौँ”, उनले भनिन्, “राज्य र समाजसँग जोड्न सके विश्वविद्यालयलाई अझ विशिष्टकृत र सामाजिक बनाउन सकिन्छ ।”

विश्वविद्यालयलाई राजनीतिकरणबाट टाढा राख्न राजनीतिक नेतृत्वसँग छलफल गरेको मन्त्री भट्टराईले बताइन् । उनले मन्त्रालयको चालू आर्थिक वर्षको बजेट आइसकेकाले त्यसैलाई आधार मानेर शिक्षामा सुधारका कार्यक्रम लागू गर्ने बताइन् ।

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना–२०८१ को मस्यौदा तयार गरिएको सो अवसरमा उनले जानकारी दिइन् । स्थानीय तहभित्रका बालबालिकाको आधारभूत शिक्षासम्मको पहुँचको अवस्था यकिन गर्ने, विद्यालयको नक्शाङ्कन गर्ने र विद्यालयको सेवा क्षेत्र तोक्न मस्यौदा बनाउन सुरु गरिएको मन्त्री भट्टराईले बताइन् । उनले मस्यौदामा आवश्यक सुझावसमेत माग गरिएको बताइन् ।

विदेशी विद्यार्थीको आकर्षण बढाइने

मन्त्री भट्टराईले प्राविधिक र गुणस्तरीय शिक्षाका लागि नेपालमा विदेशी विद्यार्थीको आकर्षण बढाइने बताइन् । विदेशी विद्यार्थीको नेपालमा आकर्षण बढाउनेबारे जापान, चीन, अमेरिका, अस्ट्रेलिया, स्विट्जरल्यान्ड, बेलायतलगायत देशका राजदूतसँग छलफलसमेत गरेको उनले जानकारी दिइन् ।

उनले ती देशबाट आउने विद्यार्थीलाई प्रवेशाज्ञा (भिसा) चाँडै उपलब्ध गराइउने बताइन् । मन्त्री भट्टराईले विद्यार्थीलाई नेपालमै टिकाउने र बाहिर गएकालाई नेपाल फर्काउन पहल गरिने बताइन् ।

पाँच दिनमा समकक्षता प्रदान

मन्त्री भट्टराईले १५ दिन सम्ममा दिइने समकक्षता प्रमाणपत्र ५ दिनमा दिने व्यवस्था गरिएको जानकारी दिइन् । उनले जनक शिक्षा सामग्री केन्द्रलाई देशभर समयमै पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएको बताइन् ।

अहिले कक्षा १० र कक्षा १२ को परीक्षामा देखिएको उत्तीर्ण दरलाई सुधार गर्न परीक्षा प्रणाली र सिकाइ प्रणालीलाई समेत सुधार गर्न जरूरी रहेको मन्त्री भट्टराईले बताइन् । उनले बालविकास शिक्षकलाई सुविधा तथा तालिमको व्यवस्था गरिने बताइन् । मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले शिक्षामा सुधार गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताए ।

कुनै हालतमा लक्ष्यअनुसार राजश्व बढाउनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री लेखकले कुनै हालतमा लक्ष्यअनुसार राजस्व उठाउने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने बचनबद्धता व्यक्त गरेका हुन् ।

‘राजस्व लक्ष्यअनुसार उठिरहेको छैन । लक्ष्यअनुसार राजस्व उठाउने विषयमा गृहमन्त्रालयबाट अर्थमन्त्रालयले राखेको अपेक्षा अनुसार गृह मन्त्रालयले काम गर्छ,’ उनले भने, ‘त्यसका लागि मैले मेरो मन्त्रालयका वरिष्ठ अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरी दल नेपालका महानिरीक्षकज्यूहरुसँग छलफल गरेर राजश्व कुनै हालतले पनि बढाउनुपर्छ । प्रत्येक महिनामा मलाई प्रगति विवरण दिनुहोला भनेको छु । यसमा हाम्रो पूर्णरुपमा काम गर्ने बचनबद्धता छ ।’

राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सारहरु सञ्चालनमा ल्याउनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो ।

‘भन्सार एकदम कम भए । मान्छेलाई पहिला भन्सार तिर्नका लागि उत्प्रेरित गर्नुपर्यो । त्यसपछि चोरी पैठारी नियन्त्रण गर्नुपर्यो । सशस्त्र द्वन्द्वको बेलामा हामीले साना भन्सारहरु ठूला भन्सारमा मिलायौं । तिनलाई यथास्थानमा स्थापित गरिदिऔं,’ उनले भने ।

जग्गा र भवन भएका छोटी भन्सार सञ्चालनमा ल्याउने विषयमा आजै निर्णय गरी जनशक्ति पठाउन गाह्रो नभएको गृहमन्त्री लेखकले बताए ।

‘भन्सारको जनशक्ति कम छ भने बढी जनशक्ति भएको ठाउँबाट ताने भैहाल्छ । यसमा मैले सहयोग गर्छु । भारततिर भन्सार छैन भनेर नेपालमा छोटी भन्सार सञ्चालन गर्न नरोकौं । छोटी भन्सार हुँदा राजस्वमा वृद्धि हुन्छ भन्ने मलाई लागेको छ,’ उनले भने ।

गृहमन्त्री लेखकले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई गृह मन्त्रालयले गर्ने काममा कमी कमजोरी भए जुनसुकै बेला भन्न आग्रह गरे । यस्तै गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद प्रहरीले धेरै भार बोकेको भन्दै अर्थमन्त्री पौडेलका ध्यानाकर्षण गराए ।

‘गृह मन्त्रालयमा आएपछि प्रहरी देखेर दया लागेको छ । शान्ति सुरक्षा, भीड नियन्त्रण, अपराधको अनुसन्धान, मुद्दा चलाउने, मान्छे थुन्ने, छाड्ने, राजस्व चुहावट नियन्त्रण गर्ने काम प्रहरीको हुन्छ । लोड धेरै छ । अत्यन्त सीमिति स्रोत साधनमा काम गरिराख्नु भएको छ । मैले माननीय अर्थमन्त्रीजीको यसमा ध्यानाकर्षण गराएँ ,’ उनले भने ।

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ देखि लागू हुने गरी उनलाई प्रधानसेनापतिमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनु एक महिनाअघि उनी बिदामा बसेकाले हाल सिग्देल कायम मुकायम प्रधान सेनापति छन् ।

जापानमा आँधीपछि गएको पहिरोमा परी चार जना बेपत्ता

जापानमा आँधी र भारी वर्षापछि आएको बाढीसँगै र गएको पहिरोले एउटै परिवारका चार सदस्य बेपत्ता भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

सानसान नामक चक्रवात बुधबार बिहान दक्षिणी अमामी द्वीपसमूहबाट ८० किलोमिटर उत्तरपूर्वमा २५२ किलोमिटर प्रति घण्टाको गतिमा आएकोे थियो ।

अधिकारीहरूका अनुसार भारी वर्षाले मङ्गलबार राति आइची प्रान्तको गामागोरी सहरमा घर बगाउँदा उनीहरूको वेपत्ता भएका हुन् ।

एकै परिवारका पाँच जना सदस्य बसेको घर पहिरोले प्रभावित हुँदा एक जनालाई उद्धार गरिएको तथा अन्य चार जनाको खोजी जारी रहेको गामागोरीका एक अधिकारीले बताए ।

मौसम पूर्वानुमानसम्बन्धी निकायले बुधबार अमामीसहित कागोसिमा प्रान्तमा भारी वर्षाको चेतावनी जारी गर्न सक्ने एजेन्सीका एक अधिकारीले पत्रकार सम्मेलनमा बताए ।

चक्रवातका कारण जापानमा एयरलाइन्सहरूले दर्जनौँ उडानहरू रद्द गरेका छन् भने यस हप्ता बुलेट ट्रेन सञ्चालन स्थगित हुनसक्ने बताइएको छ ।

अधिकारीहरूले सानसान चक्रपात यस हप्ता मुख्य दक्षिणी टापु क्युशुतिर जाने अनुमान गरिएको थियो ।

यस क्षेत्रमा टाइफुन तटरेखाको नजिक बनिरहेकाले जलवायु परिवर्तनका कारण भूमिमा लामो समयसम्म टिक्ने गरेको गत महिना जारी गरिएको एक अध्ययनले जनाएको छ ।

पाराओलम्पिकमा नेपालको सहभागिता र सम्भावना

राजु सिलवाल

  फ्रान्सको राजधानी पेरिसमा सम्पन्न गृष्मकालीन ओलम्पिकमा नेपालको सहभागिता खासै उल्लेखनीय नभएपछि अब सबैको ध्यान १७औँ गृष्मकालीन पारालम्पिकमा गएको छ । शारीरिक अपाङ्गता तथा फरक क्षमता भएका खेलाडीहरुको यो विश्वव्यापी प्रतियोगिता आज भदौ १२ देखि भदौ २३ गतेसम्म पेरिसमै सञ्चालन हुँदैछ । यो बृहत् खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि उमेरको कुनै बन्देज लगाइएको छैन । साधारणतया १८ देखि ३० वर्षका खेलाडीहरुले यो प्रतियोगितामा भाग लिएका छन् । यसपटक शरणार्थी टोलीसहित करिब एक सय ७० वटा टोलीको सहभागिता हुँदैछ । सहभागीहरुले विभिन्न २२ वटा खेलका पाँच सय ४९ इभेन्टसमा प्रतिस्पर्धा गर्नेछन् । 


नेपालका लागि पारालम्पिकमा सहभागिता नौलो होइन । सन् २००४ देखि नेपालका तर्फबाट निरन्तर रुपमा खेलाडीहरु यसमा सहभागी भइरहेका छन् । नेपालले पहिलोपटक सन् २००४ मा ग्रिसको राजधानी एथेन्समा आयोजित पारालम्पिकमा एक खेलाडी पठाएको थियो । त्यतिखेर निर्मला ज्ञवालीले एथलेटिक्सको सटपुट इभेण्टमा भाग लिएकी थिइन् । सन् २००८ को बेइजिङ पारालम्पिकमा नेपाली धावक जीतबहादुर खड्काले एक सय मिटर दूरीको दौडमा भाग लिएका थिए । २०७२ सालको भूकम्पमा परी उनको दुःखद निधन भएको थियो । सन् २०१२ मा बेलायतको लन्डनमा आयोजित पारालम्पिकमा मैंया बिसुङ्खे, विक्रमबहादुर राना र मानबहादुर तामाङ दौडेका थिए । धावक राना र पौडीवाज लक्ष्मी कुवँरले सन् २०१६ मा ब्राजिलको रियो दी जेनेरियोमा पारा ओलम्पिकमा भाग लिएका थिए । सन् २०२१ मा टोकियोमा सम्पन्न पारालम्पिकमा पलेशा गोवद्र्धनले तेक्वान्दो खेलमा सहभागिता जनाएकी थिइन् । यसपालि पलेशासहित तीनजना खेलाडीले नेपालको प्रतिनिधित्व गर्दैछन् । नेपालका तर्फबाट तेक्वान्दोमा दुईजना र पौडीमा एकजनाले भाग लिँदैछन् । 

खेल अधिकारीको अपेक्षा 

यस पटकको पारालम्पिकमा नेपाल पहिलोपटक छनोट चरण पार गरेर सहभागी भइरहेको छ ।  तेक्वान्दो खेलाडी पलेसा गोबद्र्धनले चीनमा पारा ओलम्पिकको एसियन छनोटमा महिलाहरुको ५७ केजीमुनि तौल समूहमा स्वर्ण पदक जितेर पारा ओलम्पिकमा सहभागिता सुनिश्चित गरेकी थिइन् । उनले फाइनलमा इरानी खेलाडी लेल्ला मिर्जाइलाई ५–४ ले पराजित गरेकी थिइन् । त्यसअघि पलेसाले सेमिफाइनलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८–२ ले पराजित गर्दै फाइनलमा पुगेकी थिइन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ पेरिसमा पलेशाको राम्रो सम्भावना भएको बताउनुहुन्छ । लन्डनमा करिव एक महिनासम्म प्रशिक्षण गरेकी पलेशाले टोकियोमा भन्दा यसपालि अझ उत्कृष्ट प्रदर्शन गर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । पलेशाको प्रशिक्षकका रुपमा पेरिस पुग्नुभएका प्रशिक्षक कविराज नेगी लामा यसपालि नयाँ इतिहास रच्न आफूहरु प्रयत्नरत रहेको कुरा बताउनुहुन्छ । सन् २००८ को बेइजिङ ओलम्पिकमा खुल्ला प्रतियोगिताद्वारा छनोट भएर प्रतिस्पर्धा गर्नुभएका पूर्वओलम्पियन दीपक विष्ट पनि पलेशाको आगामी प्रदर्शनप्रति आशावादी हुनुहुन्छ ।  


नेपालका तर्फबाट पेरिस पारालम्पिकमा अर्का तेक्वान्दो खेलाडी भरत महताले पनि भाग लिइरहेका छन् । उनी भने वाइल्ड कार्ड कोटाबाट ओलम्पिकमा प्रवेश पाउन सफल भाग्यमानी खेलाडी बनेका छन् । उनले पुरुषहरुको ५८ केजी तौल समूहमा सहभागिता जनाउने छन् । उनी यसअघि पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिइसकेका खेलाडी हुन् । पारालम्पिकमा नेपालका तर्फबाट पौडीमा पनि सहभागिता जनाइँदैछ । यसका लागि नेपाललाई वाइल्ड कार्ड प्राप्त भएको थियो । पारा स्विमर भीमबहादुर कुमालले पुरुषहरुको ५० मिटर दूरीको फ्री स्टाइलमा भाग लिँदैछन् । उनले ५० मिटर दूरीको फ्री स्टाइलमा ३३.३४ सेकेन्ड समय अवधिको राष्ट्रिय रेकर्ड कायम गरेका थिए । उनले  दुईपटक एसियाली पारा खेलकुदमा भाग लिइसकेका छन् । सन् २०१९ मा लन्डनमा सम्पन्न विश्व पारा स्विमिङ प्रतियोगितामा पनि उनले भाग लिएका थिए । 

विगतका उपलब्धि

नेपालले झन्डै ५० वर्षदेखि फरक शारीरिक क्षमता भएकाहरुको अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगतामा सहभागिता जनाउँदै आइरहेको छ । नेपालले सन् १९७५ मै जापानमा आयोजित अन्तर्राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेको थियो । त्यतिखेर नेपालबाट सहभागी सूर्यकुमारी गुरुङले एक सय मिटर दूरीको दौडमा प्रथम स्थान हासिल गरेकी थिइन् । नेपालका दृष्ट्रिविहीन खेलाडीहरुले क्रिकेटको विश्वकप स्तरसम्म हासिल गरेको उपलब्धि पनि नेपालको खेलकुदको इतिहासमा उल्लेखनीय मानिएको छ । नेपालका शारीरिक अपाङ्गता तथा फरक क्षमता भएका अन्य खेलाडीले पनि बेलाबखत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक पाएका छन् । 


गत टोकियो पारालम्पिकमा पहिलोपटक तेक्वान्दोलाई पनि प्रतियोगिताका रुपमा समावेश गरिएको थियो । त्यस प्रतियोगितामा नेपालबाट सहभागी भएकी एक मात्र खेलाडी पलेशा गोवद्र्धनले महिलाहरुको ५८ केजी तौल समूहमा कास्य पदक पाउने सम्भावनाको नजिक पुगेर पनि गुमाउन बाध्य भएकी थिइन् । उनी रिपेचेज फाइनलमा चीनका युजी लिसँग १२–९ अङ्कले पराजित भएकी थिइन् । पहिलो राउन्डमा उनले ४–२ अङ्कले अग्रता लिई पदकको सम्भावना देखाएकी थिइन् । पहिलो खेलमा बेलायतकी बेथ मुनरोसंँग हारे पनि उनले रिपेजको क्वाटरफाइनलमा अमेरिकाकी ब्रियान्ना सालिनारालाई १०–० अङ्क तथा सेमी फाइनलमा सर्बियाकी मारिजा मिसेभले २३–१५ अङ्कको अन्तरले हराउँदै मुलुकको छवि उंँचो बनाएकी थिइन् । हाल चीनमा इन्जिनियरिङ अध्ययन गरिरहेकी पलेशा आफ्नो अध्ययन केही समय छोडेर भए पनि मुलुकका लागि पहिलो पारालम्पिक पदक भित्र्याउने लक्ष्यसहित पेरिस पुगेकी छिन् । 

ओलम्पिक जस्तै 

सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित गृष्मकालीन ओलम्पिकदेखि ओलम्पिक आयोजना भएको सहर तथा खेल स्थलमा पारा गृष्मकालीन ओलम्पिक सुरु भएको थियो । यसैगरी, सन् १९९२ मा फ्रान्सको अल्बर्टभिल्लेदेखि हिउँदे ओलम्पिक पनि एउटै सहरमा हुने क्रम सुरु भएको थियो । 


शारीरिक अपाङ्गता तथा फरक क्षमताका खेलाडीहरुबीच हुने प्रतियोगिता भए तापनि पारालम्पिक तथा ओलम्पिकका लागि आयोजक मुलुकले उत्तिकै प्राथमिकता दिँदै आइरहेका छन् । ओलम्पिकमा प्रतियोगिता सञ्चालन भएका रङ्गशाला तथा खेल स्थलहरुमा नै पारालम्पिकका प्रतियोगिताहरु सञ्चालन गर्ने गरिएको छ । यसैगरी, खेलाडीहरुको लागि बसोबासको व्यवस्था तथा अन्य सुविधाहरु पनि ओलम्पिकको जस्तै दिने व्यवस्था मिलाइएको छ । पेरिसमा हालै सम्पन्न गृष्मकालीन ओलम्पिकको उद्घाटन समारोह रङ्गशालाभन्दा बाहिर आयोजना गरिएको थियो । पारालम्पिकको उद्घाटन पनि रङ्गशाला बाहिर नै आयोजना गरिँदैछ । 

इतिहास  

पारालम्पिक प्रत्येक चार वर्षमा ओलम्पिक प्रतियोगितालगत्तै आयोजना हुने विश्वस्तरीय खेलकुद प्रतियोगिता हो । सन् १९४८ मा बेलायतको लन्डनमा आयोजित ओलम्पिक खेलकुदमा पहिलोपटक ह्विलचियर प्रयोग गर्ने खेलाडीहरुलाई पनि सहभागीका रुपमा पनि समावेश गरिएको थियो । उनीहरुले आर्चरी खेलमा भाग लिएका थिए । 

अन्तर्राष्ट्रिय पारालम्पिक कमिटीका अनुसार सन् १९६० मा इटलीको रोममा पहिलोपटक पारालम्पिक खेलकुदको आयोजना गरिएको थियो । यसमा २३ देशका चार सयजना खेलाडीले भाग लिएका थिए । त्यसपछि हरेक चार वर्षमा पारालम्पिक खेलकुद प्रतियोगिताको आयोजना हुँदै आइरहेको छ । सन् १९७६ मा स्विडेनमा पहिलो हिउँदे खेलकुद आयोजना हुनुलाई पारालम्पिकको इतिहासमा कोसेढुङ्गा मानिएको छ ।

घरभित्रको विवाद  

नेपालमा शारीरिक अपाङ्गता र फरक क्षमता भएका खेलाडीहरुको सर्वाङ्गीण हितका लागि गठन भएका खेलकुदसम्बन्धी कमिटीबीच नै आपसमा विवाद रहेको छ । पारालम्पिकसम्बन्धी दुईवटा कमिटी भएको कारणले विवाद चुलिएको हो । केही समयअघि राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा पारा तथा विशेष खेलकुदको उद्घाटन समारोहमै आपसी विवादका कारण असामान्य स्थितिको सिर्जना भएको थियो । सन् १९७५ मा जापानमा अन्तर्राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्नुभएकी सूर्यकुमारी गुरुङले नेतृत्व गरिरहनुभएको पारालम्पिक कमिटी राष्ट्रिय खेलकुद परिषद्मा दर्ता रहेको छ । यसैगरी, अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेसनल पारा ओलम्पिक कमिटीको नेतृत्व राधा घलेले गरिरहनु भएको छ । 

नेसनल पारालम्पिक कमिटीले सन् २००० देखि नेसनल पारा स्पोर्टस एसोसिएसनका नामबाट नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । सन् २००४ देखि उक्त एसोसिएसनलाई इन्टरनेसनल पारालम्पिक कमिटीले मान्यता प्रदान गरेको थियो । यसैक्रममा नेपालले पहिलोपटक एथेन्समा सन् २००४ मा आयोजना भएको पारालम्पिकमा सहभागिता जनाएको थियो । नेपालमा फरक क्षमताका खेलाडीहरुका लागि  लागि खासै प्राथमिकता दिएको पाइँदैन । यस्ता खेलाडीहरुको यथोचित मात्रामा नियमित प्रशिक्षण हुन सकेका छैनन् । विशेष खेलकुद प्रतियोगिताका नामबाट खेलकुद प्रतियोगिता हुने गरेको भएता पनि उनीहरुको सर्वाङ्गीण विकासका लागि खेलकुद लक्षित योजना सञ्चालन हुन सकेका छैनन् । यस्ता खेलाडीहरुका लागि अनुकूल खेलस्थलको अभाव छ । प्रशिक्षण प्राप्त प्रशिक्षकहरुको व्यवस्था गर्न सकिएको छैन । 


पारालम्पिक जस्ता प्रतियोगितामा नियमित सहभागिता गराउने सम्बन्धित निकायले अब पदक लक्षित योजना बनाउन प्राथमिकता दिनुपर्ने देखिएको छ । नेपालको खेलकुदको यस्तो अवस्था भइरहँदा दक्षिण एसियाकै विभिन्न मुलुकले भने पारालम्पिकमा स्वर्ण पदकसमेत हासिल गरिसकेका छन् । सन् २०२१ मा जापानमा पारालम्पिकमा दक्षिण एसियाली मुलुकहरुमध्ये भारतले पाँचवटा  स्वर्णसहित कूल १९ वटा पदक जितेको थियो । यसैगरी, श्रीलङ्का तथा पाकिस्तानले एक–एक स्वर्ण पदक जितेको थियो । यस्तो अवस्थामा नेपालले कहिले हिउँदे पारालम्पिकमा सहभागिता जनाउने हो प्रतीक्षाको विषय बनेको छ ।  

‘मायावी’ कात्तिक १५ देखि प्रदर्शनमा आउने

काठमाडौं । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ कात्तिक १५ गते प्रदर्शन हुने भएको छ । निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर फिल्म प्रदर्शनको मिति तय गरेका हुन् ।

फिल्ममा पल शाह र दीपिका प्रसाईं मुख्य भूमिकामा छन्। निर्देशक भट्टराईले मायावीलाई ‘ड्रिम प्रोजेक्ट’ भएको बताएका छन् । फिल्ममा पल र दीपिकासँगै सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ ।

फिल्म राज कटुवाल, चन्द्र पन्त र ध्रुवप्रसाद न्यौपाने मिलेर निर्माण गरेका हुन्। फिल्ममा निर्देशक भट्टराईकै लेखन छ । फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ।

वेस्ट ब्याङ्कमा जारी इजरायली कारबाहीमा १० प्यालेस्टिनीको मृत्यु

नेबुलास । वेस्ट ब्याङ्कको उत्तरी सहरहरूमा इजरायली सेनाले गरेको कारबाहीमा परी कम्तीमा १० प्यालेस्टिनी नागरिक मारिएका रेड क्रिसेन्टका प्रवक्ता अहमद जिब्रिलले बताएका छन् ।

इजरायली आक्रमणमा परी जेनिन सहरमा दुई जना प्यालेस्टिनी, नजिकैको गाउँमा अन्य चार जना र टुबास सहर नजिकैको शरणार्थी शिविरमा थप चार जनाको मृत्यु भएको र अन्य १५ जना घाइते भएको प्रवक्ता जिब्रिलले बताए ।

इजरायली सेनाले बुधबार बिहान उत्तरी वेस्ट ब्याङ्कमा ‘जेनिन र तुलकार्ममा आतङ्कवादविरोधी गतिविधि’ नियन्त्रणका लागि कारबाही गरिरहेको जनाएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलीद्वारा ६४० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएएछि गाजाको युद्धसँगै वेस्ट ब्याङ्कमा हिंसा बढेको छ ।

इजरायली अधिकारीकाअनुसार सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा कम्तीमा १९ इजरायली मारिएका छन् ।

दोरम्बा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

रामेछाप (मन्थली) । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको छ ।

यही भदौ ९ गते (आइतबार) बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मङ्गलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए ।

उनले मङ्गलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औलाका आधारमा आफ्नी हराइरहेकी श्रीमती बिन्दा पहरीको भएको उनका श्रीमान कुमार पहरीले स्वीकार गरेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको बताए ।

गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नं ३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए ।

बेपत्तामध्ये एकजनालाई जीवितै उद्धार गरिएको थियो भने ६ जनाको शव सोही दिन नै निकालिएको थियो । त्यसपछि एकको शव र हिजो एकजनाको पैतालाको भाग फेला परेपछि मृत्यु हुनेको सङ्ख्या आठ पुगेको हो ।

उक्त पहिरोमा परी हराइरहेका सोही वडाका ५५ वर्षीय काले पहरी र ५० वर्षीय झ्याइपुरी पहरी अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी सो वडाकी ३० वर्षीया चण्डिका श्रेष्ठ, निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी शव आइतबार नै फेला पारी परीक्षणपश्चात् परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको एक लाख ५३ हजार

काठमाडौँ । बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । बुधबार निर्धारण भएको मूल्यका आधारमा सुन हालसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा आठ सय रुपैयाँले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ ।

मङ्गलबार प्रतितोला एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबारका लागि एक लाख ५३ हजार एक सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार आठ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

अमेरिकामा एक नेपाली युवतीको हत्या

अमेरिका । अमेरिकामा एकजना नेपाली युवतीको हत्या भएको छ । गत सोमबार राति टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको हो ।

शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै मृत भेटिएकी थिइन् । होस्टन प्रहरीले उनको टाउकोमा धेरैपटक गोली प्रहार भएको बताएको छ । उनलाई उनकी एक्ली आमा अनिता पाण्डे अधिकारीले हुर्काएकी थिइन् । मुना सन् २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका आएकी थिइन् ।

ह्युस्टनमा, मुना आफ्नै अपार्टमेन्टमा सर्नुअघि नेपालबाट आएका साथीसँग बस्थिन् । छोरीको असामयिक मृत्युबाट स्तब्ध भएकी आमा अनिताले हत्याको छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन अपील गरेकी छन् । उनले न्यायको खोजीमा अमेरिकामा रहेका नेपाली समुदायलाई सहयोग गर्न पनि आग्रह गरेकी छन् ।