`

एमसीसीअन्तर्गतको नेपाल–भारत सीमाको १८ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता

काठमाडौं । एमसीसीअन्तर्गत नयाँ बुटवल सबस्टेशनबाट नेपाल–भारत सीमासम्मको १८ किलोमिटर सीमापार विद्युत् प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता भएको छ ।

एमसिए–नेपालले प्रसारण लाइन निर्माणका लागि ट्रान्सरेल लाइटिङ लिमिटेडसँग निर्माण सम्झौतामा हस्ताक्षर गरेको छ । शुक्रबार नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसीए–नेपालका पदाधिकारीको उपस्थितिमा आयोजित समारोहमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा एमसीसी कार्यान्वयन भइरहेको छ । उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण सम्पन्न गरिनेछ ।

प्रसारण लाइन निर्माणसँगै नेपाल–भारत सीमापार विद्युत् व्यापार सम्झौता कार्यान्वयनको महत्त्वपूर्ण कार्यभार पूरा हुनेछ ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले भने, ‘निर्माण सम्झौता सम्पन्न भइसकेका कुल १२.६० करोड अमेरिकी डलर बजेटयुक्त तीन वटा सबस्टेशनसहित यो १८ किलोमिटर प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउनेसन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘यो १८ किलोमिटर अंश निर्माण आयोजना मात्रै होइन, नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउनेसन्दर्भमा यो महत्वपूर्ण सेतु हो । यो उपलब्धि संलग्न भएका सबैको रणनैतिक दूरदृष्टि र प्रतिबद्धताको प्रमाण हो ।’

समारोहलाई सम्बोधन गर्दै एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले भन्ने, ‘१८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माणका लागि सम्झौता गर्नेसन्दर्भमा प्राप्त यो सफलतापूर्ण नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण गर्नेहाम्रो साझा यात्राको एउटा मुख्य कोशेढुङ्गा हो । यो उपलब्धि एमसीसी नेपाल कम्प्याक्टले गएको वर्ष हासिल गरेका कैयौँ सफलतामध्ये एउटा हो तर यसले वृहद् २९७ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गर्ने भएकोले यसको विशेष महत्व छ ।’

बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि यसैवर्षको अन्त्यसम्ममा बोलपत्र आह्वान गर्न एमसिए–नेपालले तयारी गरिरहेको छ ।

नेपालमा हाइड्रोजन कारको शुभारम्भ

काभ्रे । नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र ‘रिफ्युलिङ प्रणाली’को शुभारम्भ गरिएको छ । शुक्रबार काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका हुन् ।

विश्वविद्यालयको २९औं दीक्षान्तअघि ‘हाइड्रोजन कार’ र ‘रिफ्युलिङ प्रणाली’को शुभारम्भ गरिएको हो । दक्षिण कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार काठमाडौं विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको हो ।

जलवायू परिवर्तनले निम्त्याउँदै गरेको वातावरणीय जोखिमलाई न्युनीकरण गर्ने तथा जिवाष्म इन्धान खपतको कटौती गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालयले २०७७ साउनदेखि ग्रीन हाइड्रोजन ल्याब नै स्थापना गरी अनुसन्धान तथा प्रयोग गर्दै आएको छ ।

युरिया मल कारखानाको सञ्चालन, फलाम खनिजको प्रशोधन, तथा सिमेन्ट उद्योेगहरुमा कोइलाको विस्थापनका लागि समेत ग्रीन हाइड्रोजनको प्रयोग गर्ने गरी काठमाडौं विश्वविद्यालयले अनुसन्धान गरिरहेको छ ।

उद्घाटनपछि विश्वविद्यालयमा हाइड्रोजन सम्बन्धी विद्यावाारिधि गर्दै गरेका पाँच जना शोधकर्तासँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले नेपाल सरकारले आवश्यक पर्ने नीति नियमहरुको तर्जुमा गर्दै हाइड्रोजन प्रविधिलाई व्यावसायिक प्रयोजनमा सकेसम्म चाँडो लैजाने बताए । नेपाल सुहाउँदो अनुसन्धान सुरुवात गरेकोमा उपकुलपति लगायत सम्पूर्ण सोधकर्तालाई ओलीले बधाई तथा शुभकामना समेत दिए ।

‘नेपाल आयल निगम भविष्यमा हाइड्रोजन इन्धनको व्यवसाय गरी निर्यात गर्न सक्ने अवस्थामा पुग्ने कुरामा म आशावादी छु,’ ओलीले भने । काठमाडौं विश्वविद्यालयस्थित ग्रीन हाइड्रोजन ल्याबका प्रमुख तथा सहप्राध्यापक डा. विराजसिंह थापाले निकै लामो समयको अनुसन्धान पश्चात स्थापित हाइड्रोजन रिफ्युलिङ स्टेशनको उद्घाटनपश्चात नेपाल हाइड्रोजन युगमा प्रवेश गरेको मान्न सकिने बताए ।

‘काठमाडौं विश्वविद्यालयको अनुसन्धानले हाइड्रोजनको प्रयोग मार्फत उद्योेगहरुमा प्रयोग हुने जीवाष्म इन्धनको प्रतिस्थापन हुने सम्भाव्यतालाई प्रमाणित गरिसकेको छ,’ थापाले भने ।

नेपाल सरकारले उर्जा मन्त्रालयमार्फत काठमाडौं विश्वविद्यालयका विज्ञ प्रतिनिधिसमेत संलग्न कार्यदल गठन गरी राष्ट्रिय हाइड्रोजन नीति २०८० पारित गरिसकेको छ । यस नीतिलाई व्यावसायिक परियोजनाहरुमा कार्यान्वयन गर्नका लागि आवश्यक एैन, नियम, निर्देशिका, र कार्यविधिमा निर्माणको क्रममा छन् ।

भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षे हदम्याद नराख्ने सहमति

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयकमा रहेको पाँच वर्षे हदम्याद हटाइएको छ ।

शुक्रबारको संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा उपस्थित भएर गृहमन्त्री रमेश लेखकले हदम्याद सम्बन्धी व्यवस्था हटाउन आग्रह गरेपछि समितिले सर्वसम्मत निर्णयबाट प्रस्तावित ऐनको दफा १६ संशोधन गरी हदम्याद सम्बन्धी व्यवस्था हटाएको हो ।

गृहमन्त्री लेखकले भने,‘खास गरेर भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयकमा जुन प्रस्तुत भएको छ त्यसमध्ये हद म्यादको विषय उठेको छ । समितिभन्दा बाहिर र सदनमा जता पनि छलफलको विषय बनेको छ । त्यसैले पाँच वर्ष हदम्याद हटाऊँ भन्न चाहन्छु । यो सरकारका तर्फबाट आग्रह हो ।’

विधेयकको दफा ४५ (१) मा , ‘भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ ।’ भन्ने प्रावधान राखिएको थियो ।

पाँच वर्षको समयसीमा नै राख्न नहुने भन्दै सदन र सडकबाट त्यसको विरोध भएको थियो । हदम्याद राख्न नहुने पक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संशोधन हालेका थिए ।

यो विधेयक २०७६ साल माघ ६ गते नेकपाको सरकार भएका बेला राष्ट्रिय सभामा दर्ता भएको थियो। राष्ट्रिय सभाबाट २०७९ चैतमा पारित भएको उक्त विधेयक २०८० वैशाखमा प्रतिनिधि सभामा दर्ता भई छलफलमा गएको थियो ।

आप्रवासी र गाजासम्बन्धमा बाइडेनको नीति अघि बढाइने

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफु राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने बताएकी छन् ।

अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीका लागि विद्यमान् अमेरिकी कानुनलाई कडाइका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

“मलाई विश्वास छ सीमा प्रवेशमा परिणाम आउनेगरी कडाइ गर्नुपर्छ । हामीसँग कानुनहरू छन्, यसको पालना गर्नुपर्छ र आप्रबासी तथा शरणार्थी समस्यालाई व्यवस्थित गर्नुपर्छ ।

राष्ट्रपति निर्वाचित भएमा मैले हाम्रा विद्यमान् कानूनहरूलाई लागू गर्नेछु,” ह्यारिसले सीएनएनसँगको अन्तवार्ताका क्रममा भनिन् ।

उनले गाजायुद्धका लागि इजरायललाई हतियार उपलब्ध गराउने अमेरिकी राष्ट्रपति जो बाइडेनको नीतिलाई आफूले परिवर्तन नगर्ने बताइन् ।

यद्यपि, ह्यारिसले युद्धविराम र बन्धक सम्झौता गर्ने र ‘यो युद्ध अन्त्य गर्ने’ समय आएको दाबी गरिन् ।

जुलाईमा जापानको बेरोजगार दरमा सामान्य वृद्धि

जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाईमहिनामा बढेको सरकारले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

सञ्चार तथा आन्तरिक मामिलामन्त्रालयका अनुसार मौसमी रूपमा समायोजन गरिएको बेरोजगार दर २.७ प्रतिशत रहेको छ, जुन अघिल्लो महिना २.५ प्रतिशत थियो ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कअनुसार रोजगारीको उपलब्धता अनुपात जुन महिनामा ०.०१ अङ्कले बढेर १.२४ पुगेको छ ।

तथ्याङ्कले काम खोज्ने प्रत्येक १०० जनाका लागि १२४ रोजगारी उपलब्ध रहेको सङ्केत गर्छ ।

विश्लेषकहरूले जुलाईमा रोजगारीको वातावरण बिग्रिएको औंल्याए, तर बेरोजगारहरूमा स्वेच्छिक राजीनामाका घटनाहरू बढेका कारण श्रम बजारको तरलता बढ्दै गएको हुन सक्ने बताएका छन् ।

पहिरोमा परी पाकिस्तानमा १२ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ ।

सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विगत केही दिनदेखि भारी वर्षा भइरहेको माथिल्लो दिर जिल्लामा पहिरोमा तीन महिला, छ बालबालिका र तीन पुरुष गरी १२ जनाको मृत्यु भएको छ ।’

पहिरोमा परी मृत्यु भएका उनीहरू एकै परिवारका सदस्य थिए र घरभित्र सुतिरहेका थिए ।

भग्नावशेषबाट सबै शव निकालिएको र पहिरोले ल्याएको माटो र ढुङ्गाको थुप्रोलाई हटाउने काम जारी छ ।

पाकिस्तानका केही भागमा अहिले मुसलधारे वर्षा भइरहेको छ, जसका कारण धेरै जिल्लामा आकस्मिक बाढी, डुबान र पहिरोको समस्या देखिएको छ ।

मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, योगेन्द्रप्रसाद यादवलाई ‘जगदम्बा श्री’

काठमाडौं । यसवर्षको मदन पुरस्कार मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’लाई दिइने भएको छ । शुक्रबार मदन पुरस्कार गुठीको बैठकले २०८० को मदन पुरस्कार ‘मुकाम रणमैदान’लाई दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् । २०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो ।

जसमा मैनालीको मुकाम रणमैदानसँगै भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए ।

नेतृत्व हस्तान्तरण गर्ने समय भएको छैनः प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा नेतृत्व हस्तान्त्रण गर्ने बेला नभएको बताएका छन् ।

शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीका बैठकमा नेतृत्व हस्तान्तरणको विषयमा छलफल भएपनि अहिले नै हस्तान्तरण गर्ने समय नभएको बताएका हुन् ।

उनले समय आएपछि आफू पार्टीको नेतृत्वबाट फरक जिम्मेवारीमा जाने तयारीमा रहेको बताए । अध्यक्ष प्रचण्डले माओवादी पार्टी फुट्छ भनेर भ्रम फैलाइयो र पार्टीले त्यसलाई सर्वसम्मतरुपमा खारेज गरेको बताए ।

उनले भने, ‘अहिलेको समयमा नेतृत्व हस्तान्तरण गर्न समय भएको छैन भन्ने मेरो भनाइ छ । तथापी म ७० वर्ष कट्दैछु । अब त मलाई अध्यक्ष पद ठूलो लाग्दैन । नेपालको परिवर्तनको ठूलो नेता भनेर दुनियाँले स्वीकार गरेको छ । समय आएपछि म आफै पार्टीको नेतृत्वबाट फरक जिम्मेवारीमा जाने तयारीमा छु ।’

अध्यक्ष प्रचण्डले मुलुकको राजनीति थप चुनौतीपूर्ण बन्दै गएको भन्दै पार्टीलाई मजबुत बनाउने बताए । उनले भने, ‘सरकार गठन गर्न ठूल ठूला पाटी मिल्ने दुनियाँमा हुँदैन । संसदीय परम्परा मान्नेहरूका लागि त यो अपवाद हो । यो सरकारले सय दिनभित्र थुप्रै गलत काम गर्ने सम्भावना भएकाले मैले कडारुपमा प्रतिवाद गर्नु परेको हो । भ्रष्टाचारीलाई बचाउने कोसिस गरियो भने सदन र सडकमा हामी सशक्तरुपमा प्रस्तुत हुन्छौँ ।’

उनले माओवादी केन्द्र र सशस्त्र द्वन्द्वका विषयमा अन्य पार्टीका नेताहरूले अपमान हुनेगरी बोल्दा कसैको हित नहुने बताए ।

भरतपुरमा एक अर्ब ५० करोड लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाले  एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुराएको छ । सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्‍याइएको हो ।

राप्ती र नारायणी नदी, मध्यवर्ती र सामुदायिक वन किनार हुँदै महानगरको अधिकांश भागलाई समेट्ने गरी ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको हो ।

महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका, सङ्घीय सरकारको डिभिजन सडक कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना र प्रदेश सरकारको प्रदेश पूर्वाधार कार्यालयले विभिन्न खण्ड छुट्याएर चक्रपथ निर्माण गरेको जानकारी दिइन् । उनका अनुसार झण्डै ९० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी कामका लागि पनि बोलपत्र आह्वान गरिसकिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती र वनक्षेत्रमा रुख कटानको समस्याले केही साँघुरो भए पनि अधिकांश ठाउँमा सात मिटर कालोपत्र गरिएको छ । चक्रपथले पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक, बाइपास सडक र प्रचण्डमार्गलाई समेत ठाउँठाउँमा जोडेको प्रमुख दाहालले बताइन्  ।

प्रमुख दाहालले भनिन्, “सङ्घीयताको नमूना परियोजनाका रूपमा हामीले यसलाई लिन सक्छौँ ।” यो देशकै सबैभन्दा लामो चक्रपथ भएको उनको भनाइ छ ।

दाहालले एउटै निकायले मात्र काम गर्न सम्भव नभएपछि सबैसँगको सहकार्यमा काम गरिएको बताए । काम सम्पन्न गरेर थप व्यवस्थित बनाउने काममा महानगर जुट्ने उनको भनाइ छ । यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको, आर्थिक गतिविधि चलायमान भएको, जीवनस्तर उकास्न सहयोगी बनेको प्रमुख दाहालको भनाइ छ ।

महानगरपालिकाका इन्जिनियर साकार लामाले ठाउँठाउँमा गरेर चार दशमलव एक किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेकामा बोलपत्र आह्वान भइसकेको बताए । सङ्घीय सरकारको  १० करोडको लागतमा बोलपत्र आह्वान भएको हो । यो काम सम्पन्न भएपछि चक्रपथको सम्पूर्ण भाग कालोपत्र हुनेछ ।

महानगरपालिकाको वडा नं २७ र २८ क्षेत्रको नारायणी नदी वारिका तीन ठाउँमा बाँकी रहेका भागको सडक डिभिजन कार्यालयले ठेक्का लगाएको हो । लामाले भने, “गाउँगाउँलाई भरतपुरको मुख्य सहरसँग जोड्न चक्रपथ उपयोगी भएको छ ।” पश्चिम चितवनमा रहेका ठूला होटल हुँदै चक्रपथ बनेकाले पर्यटन क्षेत्रमा पनि यसले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गरेका छन् ।

जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि शुक्रबार आयोजित स्वजागरण कार्यक्रममा प्रधानमन्त्रीले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुुग्ने बताए । प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरे ।

“म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ । योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्छ । त्यसैले योगलाई विशेष महत्व दिनुपर्छ ।”

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न पार्टीका नेताहरू, सांसदहरूको सहभागिता थियो । सहभागीलाई रमेश नेपालले योगाभ्यास गराएका थिए ।

गाजामा पोलियो खोप अभियानका लागि लडाइँ रोक्न इजरायल सहमत

बीबीसी । गाजामा पोलियोविरुद्धको खोप अभियानका लागि युद्धविराम गर्न इजरायल सहमत भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

डब्ल्यूएचओका एक वरिष्ठ अधिकारीका अनुसार आइतबार सुरु हुने उक्त अभियान अन्तर्गत गाजा स्ट्रिपमा रहेका झन्डै ६ लाख ४० हजार बालबालिकामा खोप लगाइनेछ ।

खोप वितरण कार्य तीन बेग्लाबेग्लै चरणमा स्ट्रिपको मध्य, दक्षिणी र उत्तरी भागमा सञ्चालन गरिनेछ । त्यसक्रममा प्रत्येक चरणका लागि लगातार तीन दिन बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्म लडाइँ रोकिनेछ ।

राष्ट्रसङ्घीय अधिकारीहरूले गाजामा एक दश महिने शिशु पोलियोका कारण आंशिक रूपमा पक्षाघात भएको जनाएको केही दिनमा उक्त सम्झौता भएको हो । त्यो गाजामा २५ वर्षमा देखापरेको पोलियोको पहिलो घटना हो ।

गाजामा झन्डै १२ लाख ६० लाखको सङ्ख्यामा ’नोभेल पोलियो भ्याक्सिन टाइप टु पुगिसकेको छ भने खोपको अतिरिक्त ४ लाख मात्रा छिट्टै पुग्दैछ ।

उक्त अभियान ‘प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले डब्ल्यूएचओ, युनिसेफ, यूएनआरडब्ल्यूएसँग मिलेर सञ्चालन गरिनेछ । डब्ल्यूएचओले स्ट्रिपभर ९० प्रतिशत खोप वितरण समेट्ने लक्ष्य राखेको छ जुन गाजामा सङ्क्रमण रोक्नका लागि आवश्यक ठानिएको छ ।

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ लक्ष्मी पुजामा रिलिज हुने

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका विनोद पौडेल र प्रतीक सुवेदी निर्माता हुन् । यो फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

सोसल–ड्रामा जनरामा निर्माण भएको फिल्मले नेमा गन्धर्व परिवारको कथामा आधारित रहेको छ । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

शिवराम श्रेष्ठ छायाँकार रहेको फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शन हुने यो फिल्मलाई सेभेन सिज इन्टरटेनमेन्टले नै विश्वभर प्रदर्शन गराउने भएको छ ।

कर्मचारी प्रशासनलाई चुस्त बनाउन नवनियुक्त मुख्यसचिव अर्याललाई प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई आफ्नो कामको विवरण सामाजिक संजालमार्फत सार्वजनिक गर्न सुझाव दिएका छन् ।

अर्याल मुख्यसचिव नियुक्त भएकोमा बधाई दिँदै प्रधानमन्त्री ओलीले हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन सार्वजनिक रूपमा सुनुवाई गर्न मिल्नेगरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउन सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नु पर्छ ? विकास निर्माणका आयोजनाहरु किन ढिलाइ भइरहेका छन् ? यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न यसले सहयोग पुग्छ। हामीसँग सबै क्षेत्रका गरी करिब चार लाख(निजामती , शिक्षक ,सुरक्षा ) राष्ट्र सेवक कर्मचारी छन्। कार्यसम्पादनमा उहाँहरूको सफलताले नागरिकमा सन्तुष्टि आउँछ, कामहरू अघि बढ्छन् र देश सफल हुन्छ।’

प्रधानमन्त्रीले नागरिकलाई सेवा दिन कर्मचारी प्रशासन चुस्त हुनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनु पर्छ। सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ। सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो ।’ अर्याललाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गरेको थियो ।

अझै सञ्चालनमा आएन रातोढुङ्गा सबस्टेशन

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युुत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशन अझै सञ्चालनमा आउन सकेको छैन । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको ३३/११ केभी क्षमताको सबस्टेशन सञ्चालनमा ल्याउन ढिलाइ भएको हो ।

६ वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेशन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए ।

“हाल मिलनचोक सबस्टेशनका चारवटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ”, उनले भने, “२० किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन भएको समस्या हट्ने थियो ।”

पोल गाड्ने, तार तान्ने, सबस्टेशनमा संरचना निर्माण र उपकरण जडानको काम सकिएपछि गत मङ्सिर–पुसमा प्रसारण लाइनको परीक्षण पनि गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणमार्फत एटुजेड इन्जिनियरिङले सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो ।

सुरुवाती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम २०८० को जेठमा चार वर्षपछि सुरु भएको थियो । निर्माण कम्पनी एटुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुइँटेलले छिट्टै नै प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा ल्याउने तयारी गरेको बताए ।

मालिका गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहेका रातोढुङ्गाका बासिन्दा अनुप गौचनले सबस्टेशन र प्रसारण लाइन निर्माणमा सहजीकरणका साथै प्रदेश, सङ्घीय जनप्रतिनिधिमार्फत सञ्चालनमा ल्याउन ताकेता गरेको बताए ।

संसदमा युद्धभन्दा धेरै मान्छे मारिने सडक दुर्घटनाबारे बहस गरौं

नारायण गाउँले ।
हामीले युद्ध लड्यौँ र न तिमीहरूले बोल्न पायौ भन्नुहुन्छ । तर आज पनि त्यत्ति बोल्न पाइन्छ, जत्ति तपाईंलाई सुन्न मन पर्छ । हिंसा भन्न पाइन्न, जनयुद्ध भन्नपर्छ । त्यो युद्धमा अत्यधिक हिंसा भएको सत्य हो ! सुराकीको नाममा, फरक राजनैतिक आस्था बोकेको नाममा र गाउँमा आठदश बिघा जग्गा भएकै नाउँमा निःशस्त्र मान्छे मारिएको त सत्य हो नि । के त्यो युद्धमा मारिने गोलीगठ्ठा बोकेका सैनिक मात्रै थिए र ? पढाउने शिक्षक मारिएको छ, दशैमा टीका लगाउन घर आएको पुलिस मारिएको छ, मन्दिरमा पूजा गर्ने पुजारी मारिएको छ, लेखेकै निहुँमा डेकेन्द्र थापाहरूलाई जिउँदै गाडि़एको छ र पब्लिक बसमा बम हानेर मान्छेलाई टुक्रा टुक्रा पारिएको छ । के त्यो हिंसा होइन ? छोरा माओवादी भएकैले बाबुआमादेखि दाजुभाइसम्मले ब्यारेकमा सीमान्त पीड़ा भोगेका छन्, मारिएका छन् र गायब पारिएका छन्, त्यो हिंसा होइन ?

सैनिक नै पनि त परिवार पाल्न बाध्य भएर जागीर खान जानेहरू थिए । ती विदेशी आक्रमणकारी सैनिक थिएनन् । आफ्नै दाजुभाइ थिए । आफ्नै देशको सेवामा खटिएका थिए । तिनले आफूभन्दा माथिको आदेश पालना गरेका थिए ।
१७ हजारमध्ये कुनै एक नाम यस्तो भन्न सक्नुहुन्छ, जुन मारिन योग्य थियो ? कोही त हुँदो हो नि देश र जनताको दुश्मन, जो मारियो । जसको मृत्युको औचित्य पुष्टि गर्न सकियोस् । एउटा सामन्त, एउटा दुश्मन, एउटा राष्ट्रघाती, एउटा पूँजीवादी…एउटा मात्रै नाम भन्नुस् न ! १७ हजारभित्र माओवादी भनिने नागरिक पनि पर्छन् । एउटा मात्रै नाम लिन पनि मुश्किल छ, एउटा मृत्युको औचित्य पुष्टि गर्न पनि मुश्किल छ भने त्यो हिंसा होइन ?

न युद्ध सुरु गर्ने कोही मारिएको छ, न जसकाविरुद्ध युद्ध शुरू भयो, त्यो मारिएको छ । ती दुबै पक्ष त आज पनि पालैपालो मन्त्री बनेका छन्, तालमेल गरेका छन्, होइन र ? स्क्रिनमा हेर्ने कथा हेरेर त रोइयो, आँखै अगाडिको त्यो हिंसा, त्यो आतङ्क र त्यो रक्तपात देख्नेहरू नरुने भन्ने त हुँदैन । आज पनि हजारौँ टुहुरा सन्तान छँदै छन्, उजाडिएको सिउँदो छँदैछ । तिनलाई नारायणहिटीमा राजा हुनु या सङ्ग्रहालय हुनुले के फरक पर्छ र ?

हो, युद्धहरू अहिंसात्मक हुँदैनन् । कांग्रेसको युद्ध पनि हिंसात्मक नै थियो, केपी ओलीको विगत पनि हिंसात्मक नै थियो । तर यसलाई हिंसा भन्दा कोही मुट्ठी कसेर आउँदैन भने माओवादी युद्धलाई हिंसा भन्दा किन मुट्ठी कस्नु ! फेरि बोल्न र फरक मत राख्न पाइने व्यवस्थाका लागि भनिएको युद्धबारे फरक  मत राख्न नपाइने हो र ?

युद्धहरू सिद्धान्तले, आदर्शले लडिन्छन् । त्यो आदर्श मान्नेहरूका लागि त्यो क्रान्ति हुन्छ भने त्यो आदर्श नमान्नेका लागि त्यो हिंसा हुन्छ । जबरजस्ती क्रान्ति या हिंसा मान्ने भन्ने हुँदैन । नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई पनि ’हिंसा’ मात्रै देख्ने र शालिक भत्काउने माओवादी नै हो नि । धेरैले त्यसलाई एकीकरण देखेका छन् त ।
माओवादी युद्धले गणतन्त्रको जग हालेको पक्का हो । तर गणतन्त्र नै नचाहने नागरिक पनि त हुन्छन् नि । बेलायतमा छन्, जापानमा छन् । स्पेनमा छन् । गणतन्त्र चाहने पनि छन् । अमेरिकामा छन्, रसियामा छन्, छिमेकी भारतमैं पनि छन् । सबैले एउटै आस्था, विचार, आदर्श र व्यवस्था मन पराउनुपर्छ भन्ने के छ र ?

माओवादी युद्धले सामाजिक क्रान्तिमा ठूलो छलाङ मारिएको सत्य हो । पिछडि़एको वर्ग, शोषित वर्ग र मूलधारमा नभएको वर्गको प्रतिनिधित्व र चेतना बढेको पनि सत्य हो । यो युद्धको सबैभन्दा सुन्दर पक्ष यही हो । त्यसकारण मेरा लागि यो युद्ध हिंसामात्रै होइन, तर हिंसा त हो नै । अलिकति समय लाग्दो हो, तर मान्छेको अमूल्य जीवन नखोसीकनै यी विकृतिहरू हटाउन सकिन्थ्यो कि भन्ने कसैलाई लाग्छ भने त्यो अपराध त होइन ।

माओवादी युद्धको धेरै अघि नै देशले मरिचमान श्रेष्ठको रूपमा जनजाति प्रधानमन्त्री पाएको सत्य हो । डा.हर्क गुरुङ र डा. मोहम्मद मोहसीन जस्ता विद्वानलाई राज्यले खोजी खोजी भित्राएर देश विकासको खाका कोर्न लगाएको पनि सत्य हो । परशुनारायण चौधरी जस्ता व्यक्ति राजापछिको महत्त्वपूर्ण पद मानिने राजपरिषद् स्थायी समितिको सभापति बनेकै हुन् । साहना प्रधान या शैलजा आचार्यहरू राजनीतिको मूलधारमा त्यो युद्धअघि नै आएका हुन् । तर ती नाममात्रका थिए, अपर्याप्त थिए । पर्याप्त त अहिले पनि छैन । तीस वर्षपछि पनि दलित या जनजाति प्रधानमन्त्री बन्न सकेको छैन ! तर, आधारभूत तहमा, समावेशिताको मुद्दामा उल्लेख्य प्रगति भएको छ । जसको क्रेडिट माओवादी युद्धलाई जान्छ !
जसले आदर्श पछ्याएर त्यो युद्ध लड़े, तिनका लागि त्यो जनयुद्ध नै हो । युद्ध लड्ने, मर्ने या मारिने सबै जनता नै त हुन् । त्यसैले पनि यो जनयुद्ध हो । तर युद्ध नचाहनेहरूका लागि, विकल्प थियो भन्नेका लागि या त्यो युद्धबाट जीवनकै सर्वश्व गुमाउनेहरूका लागि त्यो हिंसा नै हो ।

त्यो युद्धलाई हिंसामात्रै नमानी राजनैतिक विद्रोह मानेर, तिनलाई शान्ति प्रक्रियामा ल्याएर, तिनको मागलाई पूरा या आंशिक सम्बोधन गरेर, तिनलाई विद्यमान् कानुनबाट उन्मुक्ति दिने गरी विधेयकहरू पास गरेर र सँगै सत्ता सहकार्य गरेर दलहरू यहाँसम्म आएका हुन् । अब फेरि त्यो हिंसा थियो कि थिएन भनेर संसदमा बहस गर्नु, लड़ेजस्तो गर्नु अवसरवाद र अदूरदर्शिता मात्रै हो । इतिहासको एउटा घटनालाई आआफ्नो नजरले हेर्न र व्याख्या गर्न पाइने अधिकारलाई वञ्चित गर्न खोज्नु पनि उत्तिकै गलत हो । शायद संसदबाहिर भनिएको भए यत्ति विरोध नहुन पनि सक्थ्यो । कुनै प्रसङ्गमा त्यो शब्द घुसेको भए पनि अलग हुन्थ्यो । बहसकै लागि बहस त गलत नै हो ।

देश विभिन्न आन्तरिक युद्ध, सङ्घर्ष, विद्रोह र हिंसा हुँदै यहाँसम्म आइपुगेको हो । हरेक देशसँग ठ्याक्क यही नभए पनि यस्तै इतिहास हुन्छ । अब जनताको तलब खाएर यही इतिहासको शब्दमा लड्ने र अनुत्पादक ईगो देखाउने बेला होइन । संसदमा हुने त्यस्तो बहसले देशलाई एकसुका फाइदा हुँदैन । जबकी त्यो बैठकमा भत्तामात्रै लाखौं खर्च हुन्छ । त्यो पनि भ्रष्टाचार नै हो ! अब हासिल भएका उपलब्धिलाई रक्षा गर्दै देशको आर्थिक र सामाजिक विकासमा नयाँ रणनीति बनाउने, नेतृत्व गर्ने र समृद्धि हासिल गर्ने हो !

संसदमा त सगरमाथा भन्दा अग्लो व्यापारघाटाबारे पो तातो बहस गर्ने हो । हरेक वर्ष बढ्दो बजेटघाटाबारे छलफल गर्ने हो । त्यो युद्धभन्दा धेरै मान्छे मारिने सड़क दुर्घटनाबारे बहस गर्ने हो । क्लाइमेट र हिमतालबारे छलफल गर्ने हो । विकासभन्दा द्रुत गतिमा बढ्दै गरेको वैदेशिक ऋणबारे चिन्तन गर्ने हो । बनाउन बाँकी कैयन् कानुनबारे चासो राख्ने हो । चिया पसलमा गर्न सकिने अनुत्पादक वाक्युद्ध र बहसलाई तलबभत्ता खर्चेर संसदमा लैजाने होइन ।

ग्रिनेड पड्केर पाँचथरमा दुई बालबालिकाको मृत्यु

फिदिम । पाँचथरमा घरेलु ग्रिनेड पड्केर दुई बालबालिकाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार दिउँसो ग्रिनेड विस्फोटमा परी सोही ठाउँका दिलिप साँवाकी २ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो।

विस्फोटमा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि झापाको बीएण्डसीअस्पताल लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रश्थान गरेको छ ।

एनसेलको अनुमति पत्र नवीकरणका लागि किस्ताबन्दी सुविधा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले एनसेलको अनुमति पत्र नवीकरणका लागि किस्ताबन्दी सुविधा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको मोबाइल सेवाको अनुमति पत्र तेस्रोपटक नवीकरण गर्न वार्षिक ५ अर्बका दरले चार किस्ता र ब्याजसमेत बुझाउनुपर्ने गरी किस्ता सुविधा दिने तय गरेको सकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उनले भने, ‘एनसेललाई अनुमति पत्र नवीकरण वापतको शुल्क चार किस्तामा बुझाउन दिने निर्णय भएको छ’, उनले भने, ‘दोस्रो किस्तादेखि अन्तिम किस्तासम्म बाँकी रहेको रकममा १० प्रतिशत ब्याजदर पनि बुझाउनुपर्नेछ ।’

यसअघि पहिलो र दोस्रो पटक अनुमतिपत्र नवीकरणका बेला पनि सरकारले एनसेललाई किस्ताबन्दीमा आवश्यक दस्तुर बुझाउने सुविधा दिएको थियो । तर यसअघि ब्याजको सर्त राखिएको थिएन ।

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

काठमाडौँ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । भुवन केसीको कार्यकाल सकिएसँगै बोर्डमा अध्यक्ष पद रिक्त थियो ।

एकनारायण अर्याललाई मुख्य सचिव बनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले गृहसचिव एकनारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।

मुख्यसचिव लीलादेवी गडतौला शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले अर्याललाई नयाँ मुख्य सचिव बनाउने निर्णय गरेको हो ।

निगमका अध्यक्ष अधिकारीलाई सरकारले सोध्यो ११ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सातदिने स्पष्टीकरण सोधेको छ । संस्कृति पर्यटन तथा तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सेवा नै अवरुद्ध हुनेगरी निगमका दुवै वाइडबडी जहाज सी–चेकका लागि पठाइको विषयमा सातदिने स्पष्टीकरण सोधेका हुन् ।

सात दिनभित्र कमजोरीका वस्तुगत आधार, कारण र प्रमाणसहित मन्त्रालयमा पेस गर्न भनिएको छ । अध्यक्षको लापरबाही, असक्षमता र कमी, कमजोरीको कारण निगमको साखसमेत गुम्दै गएको मन्त्रीले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।

यस्तो छ मन्त्रालयले सोधेको स्पष्टीकरण

१. निगमका जहाजहरूको मर्मत तथा सी–चेकको कार्य नियमित एवं पूर्वानुमानयोग्य कार्य भएको हुँदा सी–चेकमा पठाउँदा सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्था र सेवा निरन्तरताको सुनिश्चित हुनेगरी गर्नुपर्नेमा पर्याप्त समय अगाडी खरिद प्रक्रिया नसक्नुको कारण सी–चेकको समयावधि थप माग्ने तथा सेवा अवरुद्ध हुनेगरी एकैपटक दुवै वटै वाइडवडी जहाज सी–चेकका लागि पठाइको सम्बन्धमा।

२.जहाजको प्राविधिक परीक्षण, पार्टपुर्जा खरिद भवन मर्मत कार्य गराउँदा स्वच्छ प्रतिस्पर्धा, पारदर्शीता तथा गुणस्तरीयता हुने गरी गर्नु/गराउनुपर्ने हुन्छ। नेपाल वायुसेवा निगमका हरेकजसो मर्मत सम्भार तथा पार्टपुर्जा खरिदमा व्यापक उजुरी /गुनासो आउने गरेका छन् । यसै सन्दर्भमा जहाजको सी–चेकको लागि छनौट गर्दा के कति कारणबाट समयमा नै कार्यसम्पन्न गर्न नसक्ने कम्पनीको छनोट गरिएको हो ? यसबाट निगमलाई पुग्न गएको अपूरणीय क्षतिको जिम्मेवारी तपाईँले किन वहन गर्नु नपर्ने हो?

३. सी–चेक कार्यको लागि वायु सेवा निगमका प्राविधिक प्रतिनिधिहरू पठाउँदा आवश्यक भिसा अवधि बाँकी रहेको यकिन गरेर पठाउनुपर्ने सामान्य विषय हो। जहाजको सी – चेकको लागि भिसा अवधि सकिन लागेका प्राविधिक टोली पठाउनु र निजहरूलाई बिचमै फिर्ता बोलाई पुनः अर्को टोली पठाउनु भन्दा संस्थागत स्मरण, कार्यप्रतिको जानकारी एवम् लागतको दृष्टिकोणले समेत निजहरूकै भिसा नवीकरण गरी निरन्तरता दिनु उपयुक्त हुनेमा त्यसो नगरी लापरबाही पूर्वक निगमलाई अतिरिक्त वित्तीय दायित्व सिर्जना हुने गरी टोली पठाउनु पर्नुको कारण।

४. नियमित सी–चेक गराउनुपर्ने अवस्थाको जहाजलाई थप उडान समयावधि माग गराउनुपर्ने अवस्थासम्म पुर्राष्ट्रियता ध्वजावाहक निगमको नियमित र सुरक्षित उडान प्रतिको विश्वसनीयतामा गम्भीर आँच पुर्याउनुको कारण।

५. नेपालमा पर्यटक आवागमनको प्रमुख समय तथा नेपालीहरूको महत्त्वपूर्ण चाडपर्वको सम्मुखमा जहाजहरू पूर्ण क्षमतामा सञ्चालन हुने तथा व्यावसायिक मुनाफा समेत प्राप्त हुने हुँदा रणनीतिक योजना एवम् कार्यतालिका बनाई पूर्व तयारीका साथ कार्य गर्नुपर्नेमा सो नगरी जहाजहरू ग्राउन्ड गर्दा निगमलाई पुग्न गएको अपूरणीय वित्तीय घाटा एवं निगमको साखमा पर्न गएको क्षतिको सम्बन्धमा।

६. समयबद्ध उडान नगरे बापत निगमलाई विभिन्न समयमा विभिन्न देशमा जरिवाना समेत भएको विषयमा हालसम्म कति पटक कति जरिवाना भएको छ ? सोको विवरण र त्यसको कारण।

७. गत वर्ष निगमको दुबई स्टेसनका कर्मचारीले बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ह्याकरबाट ई–मेलमार्फत आएको विवरणअनुसार रकम भुक्तानी गरिदिँदा निगमले ठुलो मात्रामा (करिब २ करोड) नोक्सानी व्यहोर्नुपरेको भन्ने विषयमा।

८. निगमको चल–अचल सम्पत्तिको यकिन गरी संरक्षण गर्ने कार्यमा कुशल व्यवस्थापन गर्न नसक्नुको कारण।

९. निगमलाई व्यावसायिक रूपमा सञ्चालन गरी नाफामा लैजानुपर्नेमा सो नगरी निगमले लिएको ऋणको साँवा व्याज समेत तिर्न नसकी हाल निगमको ऋण वि.सं. २०८० चैत्र मसान्त सम्ममा करिब ५१ अर्ब २६ करोड पुगेको र समयमै सावा व्याज भुक्तानी नहुँदा निगमलाई थप वित्तीय दायित्व सृजना हुनुमा तपाईँको जिम्मेवारी सम्बन्धमा।

१०. नेपाल वायुसेवा निगमले अस्ट्रेलियाको सिड्नीमा व्यावसायिक उडानको लागि प्राप्त नगर्दै कर्मचारीहरू खटाई वित्तीय व्याय भार वृद्धि गरिनुमा तापलाईको जिम्मेवारी सम्बन्धमा।

११. ट्विनअटर जहाजहरू नियमित उडान सञ्चालनमा नल्याई निगमको आन्तरिक बजारहिस्सा अत्यन्त न्यून (०.३ प्रतिशत) बनाई निगमको साख गिराउनुको कारण।

आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई जनही ३ लाख प्रोत्साहन भत्ता दिने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघले सातवटै प्रदेशका ५–५ जना खेलाडीहरूलाई जनही ५ लाख रुपैयाँका दरले मासिक पारिश्रमिक दिने निर्णय गरेको छ ।

क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । क्यानले ७ वटै प्रदेशका क्रिकेट संघहरूलाई २ जना महिला र ३ जना पुरुष गरी ५ जना खेलाडीलाई पारिश्रमिक दिने निर्णय गरेको हो ।

खेलाडीहरूको पारिश्रमिक वापतको बजेट रकम प्रदेशहरूमा निकासा गरी सम्बन्धित प्रदेशहरुले नै खेलाडीसँग सम्झौता गरी पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको क्यानले जनाएको छ ।

प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रचण्डको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै बन्ने प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । बैठकले माओवादीले विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर दिएको आवेगपूर्ण टिप्पणी र प्रतिक्रिया गैरजिम्मेवार रहेको निष्कर्ष निकालेको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्यस्ता आवेगपूर्ण अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए । गत मंगलबार संसदमा प्रचण्डले नेपाल बंगलादेश र श्रीलंकाजस्तै बन्नसक्ने चेतावनी दिएका थिए ।

उनले पछिल्लो समय समाजमा अराजकताको प्रवृत्ति देखा पर्न थालेको अवस्थामा सबै दल मिलेर यसको समाधान खोज्नुपर्नेमा बैठकको जोड रहेको बताए।

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका साथै एमाले–कांग्रेस सरकारको संक्षिप्त समीक्षा गर्दै सरकारको प्रारम्भिक कामप्रति सन्तुष्ट व्यक्त गरेको ज्ञवालीले बताए ।

बैठकले पार्टीको नयाँ वार्षिक कार्ययोजनाको मस्यौदा तयारीमा सामान्य छलफल गर्दै आगामी पोलिटव्युरो बैठकबाट अन्तिम रूप दिने निर्णय भएको उनले बताए। नयाँ वार्षिक कार्ययोजनामा सदस्यता विस्तार, अभिलेखीकरण, नवीकरण प्रभावकारी बनाउने लगायतका विषयमा समेटिएको ज्ञवालीले बताए।

पारस खड्काले लिजेण्ड क्रिकेट लिग खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का लिजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका पारस लिजेण्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने भएका हुन् ।

पारसलाई आउदो सिजनका लागि गुजरातले २० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको जानकारी दिएको छ । लिजेण्ड लिग किक्रेटको तेस्रो सिजन आगामी सेप्टेम्बर २० देखि शुरु हुँदैछ ।

लिजेण्ड लिग क्रिकेटमा सन्यास लिएका क्रिकेटर खेल्ने गर्दछन्। लिजेण्ड लिगमा ६ टिम बीच कुल २५ खेल खेलिने बताइएको छ । तेस्रो सिजनका खेलहरु भारतको जोधपुर, सुरत र जम्मुमा हुनेछन् । यस सिजनको फाइनल खेल अक्टोबर १६ मा हुनेछ।

टीआरसी विधेयक प्रमाणीकरण भएकोमा अमेरिकासहित नौ देशद्वारा स्वागत

काठमाडौं । नेपालको संक्रमणकालीन न्यायासम्बन्धी विधेयक(टीआरसी) प्रमाणीकरण भएकामा अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, जापान, फिनल्याण्ड,  जर्मनी र फ्रान्स र युरोपियन युनियनले स्वागत गरेका छन् ।

बिहीबार नौ देशका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालको दुबै सदनबाट सर्वसम्मत रुपमा पारित भएकामा स्वागत गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको हामी निम्नानुसारका हस्ताक्षरकर्ता स्वागत गर्दछौँ । नेपाल सरकारले अगाडिको मार्ग पहिल्याउँदै गर्दा, हामी निम्नानुसारका हस्ताक्षरकर्ता पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने छौँ । निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउनेछ ।’

उनीहरुले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के–कस्ता विशेष आवश्यकताहरू छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी यस प्रक्रियाको प्रारम्भिक चरणमा छौँ । भविष्यमा चाल्नुपर्ने सम्भावित कदमहरूको सम्बन्धमा मूल्याङ्कन गर्न सकियोस् भनी हामी निम्नानुसारका हस्ताक्षरकर्ताहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के–कस्ता विशेष आवश्यकताहरू छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर छौँ । नेपालको इतिहासको यस खण्डलाई सफल निष्कर्षमा पुर्याउन सबै सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने बेला आएको छ ।’

दुबै सदनबाट पारित भएको विधेयक बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । विधेयक प्रमाणीकरण भएसँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ ।

राष्ट्रपति पौडेलद्वारा टीआरसी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । विधेयक प्रमाणीकरण भएसँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ ।

यसअघि बुधबार सभामुख देवराज घिमिरले विधेयक प्रमाणित गरी राष्ट्रपतिलाई प्रमाणीकरणका लागि पठाएका थिए ।

कांग्रेस- एमालेले दुई तिहाईको घमण्ड नदेखाउँदा हुन्छः प्रचण्ड

सुदूरपश्चिम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले दुई तिहाइको घमण्ड देखाए सडकमा आउने चेतावनी दिएका छन् ।

कैलालीको धनगढीमा पार्टीको दुई दिने परामर्श बैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारलाई दुई तिहाईको घमण्ड नदेखाउन चेतावनी दिएका हुन् ।

उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा काम नगरे त्यसका विरुद्ध सडकमा उत्रिने बताए । उनले भने, ‘यो सरकारलाई दुईतिहाइको घमण्ड नगर्न हामीले आग्रह गरेका छौँ । यो सरकारको सुरुवाती लक्षण राम्रो देखिएको छैन । यस्तै हो भने हामी सडकमा उत्रिन बाध्य हुनेछौँ ।’

त्यस्तै उनले भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षको हदम्याद मान्य नहुने बताए । अध्यक्ष प्रचण्डले दुई ठूला पार्टी रक्षात्मक रूपमा मिलेको बताउँदै सरकार बनाउन माफिया सक्रिय भएको बताए ।

उनले भने, ‘यो सरकारले संविधानमाथि घात गर्छ कि भन्ने हामीलाई लागेको छ । त्यो हामी हुन दिँदैनौँ ।’ उनले माओवादी पार्टी फुट्नेमा कुनै सत्यता नभएको बताए । उनले बरु माओवादी घटकहरुसँग एकता वार्ता चलेकोले थप बलियो हुने दाबी गरे ।

प्रहरीमा ३० वर्षे हटाउने आदेशविरुद्ध सरकारले दिएको भ्याकेट निवेदनमाथि सर्वोच्चमा शुक्रबार सुनुवाइ हुने

काठमाडौँ । प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशबारे शुक्रबार सुनुवाइ हुने भएको छ ।

गृह  सचिव एकनारायण अर्यालले दिएको भ्याकेट निवेदनमाथि न्यायाधीशहरू डा. नहकुल सुवेदी र विनोद शर्माको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठसहितका प्रहरी अधिकारीहरूले दायर गरेको रिटमा न्यायाधीश हरि फुयाँलले तत्काल ३० वर्षे कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका थिए ।

भदौ ६ मा जारी भएको अन्तरिम आदेश रद्द गर्न माग राख्दै सचिव अर्यालले सर्वोच्चमा भ्याकेट दर्ता गराएका हुन् । न्यायाधीशद्वय सुवेदी र शर्माको इजलासले भदौ १४ मा छलफलको पेशी राखेर सुनुवाइ गर्न आदेश गरेको छ । शुक्रबार रिट निवेदक र सरकार पक्षसँग छलफल गरेपछि ३० वर्षे कार्यान्वयन गर्ने या नगर्ने भन्नेबारे आदेश हुनेछ ।

नेप्सेमा उच्च अंकको गिरावट, १२ अर्ब २४ करोडको कारोबार

काठमाडौं । बिहीबार शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । बिहीबार नेप्से ३६ दशमलव ८३ अङ्कले घटेर दुई हजार सात सय ४९ दशमलव ५७ विन्दुमा झरेको छ ।

 आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, होटल, उत्पादन, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन कुथेली बुखारी स्मल हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज तीन सय २२ वटा कम्पनीका दुई हरोड ८३ लाख कित्ता शेयर १२ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएको छ ।

मध्यभोटेकोसीको प्रसारण लाइन निर्माणमा सहमति जुट्यो

काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक क्षेत्र नं २ का सङ्घीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, वडाध्यक्ष, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच बुधबार भएको छलफलमा उक्त सहमति जुटेको हो।

बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत् गृहको स्वीचयार्डबाट बाह्रबिसे–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाको अवरोध थियो।

कूल दुई सय २० केभी सिङ्गल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो। बाह्रबिसे–३ र ४ स्थित पलाँतीका स्थानीयको अवरोधका कारण आयोजनाले दुई किमी तार तान्न सकिरहेको थिएन। उक्त क्षेत्रमा पर्ने प्रसारण लाइनको मार्गधिकार (राइट अफ वे)मा एक सय २४ जना जग्गाधनीको जग्गा पर्दछ।

छलफलमा आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ। आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे–३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाई जस्तै विकास निर्माणका लागि सहायता उपलब्ध गराउने, प्रसारण लाइनको मार्गधिकार पर्ने जग्गा तथा संरचनाको उचित क्षतिपूर्ति उपलब्ध गराउने र प्रसारण लाइनको बाँकी रहेको निर्माण तत्काल सुरु गर्ने सहमति जुटेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले जानकारी दिए।

मन्त्री खड्काले निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् प्रणालीमा समाहित गर्नका लागि प्रसारण लाइन निर्माणमा जारी अवरोध खुलाउन महत्वपूर्ण सहमति भएको बताए। उनले भएका सहमति सबै पक्षले इमान्दारीपूर्वक कार्यान्वयन गरी आयोजना निर्माणमा रहेका बाँकी काम एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए।

सहमतिबमोजिम तत्काल निर्माण सुरु हुने जानकारी दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङले निर्माणको मन्त्रालय र सरोकार भएका निकायले नियमित अनुगमन गर्ने बताए। सांसद बस्नेतले विगतमा आयोजनालाई अगाडि बढाउन आफूले ठूलो जोखिम लिएको उल्लेख गर्दै हाल स्थानीयले उठाएका जायज मागलाई पूरा गराउन छलफल गरी सहमति जुटाइएको बताए।

स्थानीयको अपनत्व हुने आयोजना निर्माण अगाडि बढाइएको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइनका बाँकी काम सम्पन्न गरी आयोजनाबाट तत्काल विद्युत् उत्पादन सुरु गर्ने वातावरण बनाइदिन आग्रह गरे। उनले आयोजनाको विद्युत् प्रवाहका लागि २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको जानकारी दिए।

मध्यभोटेकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिनेछ। निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो हाल सुरुङको मर्मत र सुधार सकिएको छ। आयोजनाबाट असोजभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ बाँकी कामहरु भइरहेका छन्।

मध्यभोटेकोसीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। उनका अनुसार दुई सय केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्लाई सोही सबस्टेसनमार्फत एक सय ३२ केभीमा झारेर प्रवाह गरिनेछ। यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको एक सय ३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको छ।

कार्यकारी निर्देशक घिसिङका अनुसार सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत् लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ। अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौँ प्रसारण लाइन सम्पन्न नभएसम्म रहनेछ। उक्त लाइन सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुनेछ। मन्त्रीसहितको टोलीले बाह्रबिसे सबस्टेसन र मध्यभोटेकोसी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षणसमेत गरेको थियो।

रविलाई गगनको प्रश्नः के चाहियो प्रमाण, ९ मिनेटमा चैट भनेको ठाउँमा ९ घन्टा बयान दिनुपरेन ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू सहकारीको बचत रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिको निर्णयको पर्खाइमा रहेको बताएका छन् ।

बिहीबारको प्रनिधिसभाको बैठकमा महामन्त्री थापाले रास्वपाका नेताहरूले प्रमाण खोजेको भन्दै केही समय पर्खन आग्रह गरेका हुन् ।

उनले तथ्य प्रमाण समितिमा पुगेको भन्ने कुरा ख्याल गर्न आग्रह गरे । उनले भने, ‘प्रमाण खोई भनेर खोजिराखेको पाएँ । त्यत्रो तथ्य प्रमाण भएर त होला संसदीय समिति बनाएको । त्यो प्रमाण हामीले समितिलाई दिएनौँ होला ? तथ्य प्रमाण समितिमा पुगेको छैन होला ? हाम्रा साथीहरूले बोकेर जानुभएको छैन होला ? ख्याल गर्नुभएन ९ मिनेटमा चैट भनेको ठाउँमा ९ घन्टा बयान दिनुपरेन ?’

उनले संसदीय छानबिन विशेष समितिमाथि आफ्नो विश्वास रहेको बताए । उनले भने, ‘साथीहरू झुक्किनुभएको जस्तो लाग्या छ । बयान हो बयान, सफाइ होइन । फैसला त आउन बाँकी छ । म तथ्य प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु ।’

उनले समितिमा रहेका रास्वपा सांसदलाई अफ्ठ्यारो रहेको हुनसक्ने उनले बताए । उनले भने,‘रास्वपाका साथीलाई केही अफ्ठ्यारो पर्ला कि । कालोलाई सेतो कसरी भन्नु ? अलिअलि मैलो भए पनि कालो नै भन्नुपर्ला ।’

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेले केहीदिनअघि समितिमा नौ घण्टा बयान दिएका थिए ।

रास्वपा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक जोगाउन लागिपरेको सांसद बजगाईंको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई जोगाउन रास्वपाले पहल गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले क्यानका महानिर्देशक रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रको मान्छे भएको र जोगाइदिन भन्दै रास्वपाका सहमहामन्त्री आफूकहाँ आएको बताए ।

उनले भने, ‘क्यानको विषयमा यहाँ छलफल हुँदैछ। करिब १३ जना प्रतिपक्षी दलको सांसदले सार्वजनिक महत्व दर्ता गराउनुभएको छ यसै पार्टीका सहमहामन्त्री हतारिएर मेरो ठाउँमा आउनुभयो क्यानका डिजी जोगाउन भन्दै । उहाँ हाम्रो निर्वाचन क्षेत्रको मान्छे रवि लामिछानेजी निर्वाचित क्षेत्रको मान्छे जोगाउनुपर्यो भनेर ।’

उनले नयाँ पार्टीमा झन् द्वैध चरित्र देखिएको र यो चिन्ताको विषय भएको बताए । उनले भने, ‘म प्रश्न गर्न चाहन्छु यो द्वैध चरित्रले देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग यत्रो ठूलो आशा छ जनताको भरोसा छ भनिएको छ यस्तो डबल स्ट्यान्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ।’

नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सांसद झाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद झाले जहाज ग्राउन्डेड हुँदा दैनिक पाँच करोड बढी नोक्सानी भएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

सेटिङमा आफ्नो ध्वजाबाहकलाई पार्किङमा राखेर कमिसनको खेल भएको हुनसक्ने भएको सरकारको ध्यान जानुपर्ने बताए ।

उनले भने, ‘दैनिक रूपमा पाँच करोड बढी नोक्सानी बेहोरेको छ । कतै यो चाडपर्व आइरहेको समयमा, कतै अन्तर्राष्ट्रिय अन्य कम्पनीहरूले सञ्चालितहरूलाई पैसा र नाफा दिनका लागि सेटिङमा आफ्नो ध्वजाबाहकलाई पार्किङमा पुर्याएको त होइन ?’

उनले सी चेक जाँचका लागि भारत हुँदै इटाली पठाइएको जहाज ९० दिनसम्म किन बनेन भन्दै प्रश्न गरे ।

उत्तेजनाको राजनीति नगर्न प्रचण्डलाई गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा बंगालदेशको जस्तो अवस्था आउनसक्ने भन्दै माओवादी अध्यक्ष प्रचण्डले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले उत्तेजनाको राजनीति नगर्न आग्रह गरेका हुन् । उनले उत्तेजनाको राजनीतिले सबैलाई जलाउने भएकाले सचेत हुन आग्रह गरे ।

उनले भने, ‘सदनमा केही दिनअघि बोल्दा विपक्षी दलको नेताले नेपालमा बंगलादेशको अवस्था आउन सक्नु भन्नुभएछ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना जस्तो भाग्नुपर्ने अवस्था आए प्रचण्ड मात्र खुमलटारमा चयनले बस्नसक्नु हुन्न । त्यसैले तर्साउन र उत्तेजनाको राजनीति गर्ने काम कसैबाट नहोस् । आगोको झिल्को बाल्न सजिलो छ । तर त्यसलाई निभाउन गाह्रो छ ।’

बाँकेमा बस दुर्घटना, दुईजनाको मृत्यु, २७ घाइते

नेपालगञ्ज ।  बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । 


दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । 


दुर्घटनामा परी दाङको तुल्सीपुरका  ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उनले बताए ।


बस अनियन्त्रित भएको बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । दुर्घटनामा घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

हवाई दुर्घनापछि बनेका छानबिन समितिले दिएका प्रतिवेदन समीक्षा गरिने

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्य परक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन् ।


वायु सेवा सञ्चालक सेवा सङ्घ नेपालद्वारा बिहीबार आयोजित हवाई सुरक्षासम्बन्धी दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले प्रतिवेदनमा उल्लेख गरिएका विषयको तथ्यगत रुपमा समीक्षा गरिने बताए ।


उनले नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति कतिको सत्य र तथ्यमा आधारित छन् भन्नेबारे समीक्षा गर्नुपर्ने बेला आएको बताउँदै विद्यमान समस्या पहिचान गरी दीर्घकालीन समाधानका उपाय अवलम्बन गरिने जानकारी दिए । 


“छानबिन समिति बन्ने गरेका छन् । बनेका समिति कतिको सत्यतथ्यमा आधारित छन् त्यसको समीक्षामार्फत समस्या पहिचान गरी दीर्घकालीन समाधानका उपाय निकाल्ने छौँ”, मन्त्री पाण्डेले भने, “यसअघिका प्रतिवेदन तथ्य परक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन सोबारे अध्ययन गरी समाधानतर्फ केन्द्रित हुनेछौँ ।”


मन्त्री पाण्डेले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको बताए । यसबारेमा सरोकार भएका निकायहरू गम्भीर र सचेत बन्नुपर्नेमा उनले जोड दिए ।

तडकभडक गरी तीजका कार्यक्रम आयोजना गरे कारबाही गर्ने प्रशासनको चेतावनी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीज पर्व भड्किलो ढंगले नमनाउन र अटेर गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सूचना जारी गरी तीन पर्व मनाउँदा सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ को ख्याल गर्न आग्रह गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तीजका कार्यक्रमहरुको आयोजना गरे /गराएमा त्यस्ता गतिविधिहरुको निगरानी गरी कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा सबैमा जानकारी गराइएको छ ।’

इन्डोनेसियामा सामाजिक सञ्जालको प्रयोग गरी गैँडाको सिङ बेच्न खोज्ने व्यक्ति पक्राउ

हात्तीको दाँत र लोपोन्मुख गैँडाको सिङ सामाजिक सञ्जालमार्फत बिक्री गर्न खोज्ने एक व्यक्तिलाई इन्डोनेसियाली प्रशासनले पक्राउ गरेको छ ।

इन्डोनेसियाको वातावरण मन्त्रालयले विज्ञप्ति जारी गर्दै पक्राउ परेका व्यक्ति दोषी ठहरिएमा १५ वर्षसम्मको जेल सजाय हुन सक्ने जनाएको छ । इन्डोनेसियामा वन्यजन्तुको अवैध व्यापार व्याप्त रहेको छ ।

दक्षिण सुमात्रा प्रहरीले यसै वर्षको सुरुमा फेसबुकमा संरक्षित वन्यजन्तुका केही भाग बिक्रीका लागि प्रस्ताव गरेको पोस्ट देखेपछि अनुसन्धान सुरु गरेको थियो ।

दक्षिण सुमात्राको पालेम्बाङमा गैँडाको सिङ र हात्तीको दाँतबाट बनेको पाइप बिक्री गर्ने क्रममा गत साता ‘जेडए अर्थात् जा’ भनिने ६० वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको थियो ।

उनको घरमा थप सात वटा गैँडाको सिङ र चारवटा हात्तीको दाँत फेला परेको प्रहरीले जनाएको छ ।

“उनी वन्यजन्तुको व्यापारमा निकै अनुभवी रहेको देखिन्छ,” वातावरण मन्त्रालयले भनेको छ।

सन् २०१८ देखि यता उजुङ कुलोन राष्ट्रिय निकुञ्जमा २६ वटा लोपोन्मुख जाभान गैँडा मारेको आशङ्कामा प्रहरीले गत जुनमा चोरी शिकारीको समूहलाई पक्राउ गरेको थियो ।

कुनै समय दक्षिणपूर्वी एसियामा यिनीहरू हजारौँको सङ्ख्यामा थिए तर अनियन्त्रित चोरी सिकारी र तिनीहरूको वासस्थानमाथिको मानव अतिक्रमणले गर्दा धेरै प्रभावित भएका छन् र वातावरण मन्त्रालयले जङ्गलमा करिब ८० वटा मात्र जनावरहरू बाँकी रहेको बताएको छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले सुमात्रान गैँडालाई पनि अति सङ्कटापन्न घोषणा गरेको छ भने ५० भन्दा कम गैँडा बाँकी रहेका छन् ।

बङ्गलादेशमा जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध फुकुवा

बङ्गलादेशको अन्तरिम सरकारले जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध तत्काल लागु हुनेगरी हटाएको छ । गृह मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्ने सूचना अगस्ट २८ मा जारी गरेको हो ।

सरकारले जमात–ए–इस्लामीको विद्यार्थी सङ्गठन इस्लामिक स्टुडेन्ट्स क्याम्प र यसका अन्य सङ्गठनहरूमाथिको प्रतिबन्ध पनि हटाएको छ ।

सन् २०१३ मा शेख हसिना सरकारको पालामा यी सङ्गठनमाथि प्रतिबन्ध लगाइएको थियो । गत वर्ष बङ्गलादेशको सर्वोच्च अदालतले पनि जमातलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो ।

जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध फुकुवा भएपछि बङ्गलादेशका लागि राजनीतिमा विकल्प खुलेको छ र यसले देशको चुनावमा आफ्नो भूमिका निर्वाह गर्न सक्छ ।

जमात–ए–इस्लामी बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामीक पार्टी हो। यो पार्टीको विद्यार्थी सङ्गठन निकै बलियो छ । यसले देशमा हिंसा र अतिवादलाई बढावा दिएको आरोप लाग्दै आएको छ ।

भारतमा बाबरी मस्जिद विध्वंसपछि बंगलादेशमा हिन्दू विरोधी दंगा भड्काएको आरोप पनि सो पार्टीमाथि लागेको थियो । जमात–ए–इस्लामीको छवि भारत विरोधी रहेको बताउने गरिएको छ।

सन् १९९० मा बङ्गलादेशमा सैनिक शासनको अन्त्यपछि जमात–ए–इस्लामी र यसका नेताहरूलाई युद्ध अपराधको आरोप लगाई मुद्दा चलाइएको थियो ।

सन् २०१० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पार्टीका आठ नेतालाई युद्ध अपराधमा दोषी ठहर गरेको थियो ।

जमातले पहिलो पटक सन् १९७८ को चुनावमा भाग लिएको थियो । यो पार्टी सन् २००१ मा बेगम खालिदा जियाको नेतृत्वमा बनेको सरकारमा पनि सामेल भएको थियो ।

गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “जमात–ए–इस्लामी बङ्गलादेश, यसको इस्लामिक स्टुडेन्ट शिबिर र सङ्गठनका अन्य सबै सम्बद्ध एकाइविरुद्ध कुनै आतङ्कवादी सम्बन्ध फेला परेको छैन ।”

“त्यसैले जमात–ए–इस्लामी बङ्गलादेश, इस्लामिक स्टुडेन्ट्स क्याम्प र जमातका अन्य सबै सम्बद्ध इकाइहरू आतङ्कवादी गतिविधिमा संलग्न छैनन् भन्ने सरकारको धारणा छ।”

गुजरातमा मनसुनी बाढीका कारण २८ जनाको मृत्यु

भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ। मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ।

भारी बर्षाका कारण नदीको बहावहरू बढेका छन् भने नदी नजिक बसोबास रहेका ३० हजार भन्दा बढी मानिसहरू घर छोडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन्।

गुजरात सरकारले बुधबार १३ जनाको बाढीमा डुबेर मृत्यु भएको तथा बाँकीको घर वा रूखहरूले पुरिएर मृत्यु भएको जनाएको छ।

इन्डियन एक्सप्रेसले राज्यभरी समाचार तयार पार्दासम्म बाढीका कारण ३५ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

स्रोतका अनुसार विपद्बाट करिब एक हजार ८५६ जनालाई उद्धार गरिएको तथा राहत कार्यका लागि सेनाका अधिकारीहरू तैनाथ गरिएको छ।

विपत्का कारण उर्जा तथा बिद्युत सेवा प्रभावित हुँदा करीब एक हजार गाउँहरू बिद्युतविहीन भएको जनाइएको छ।

विपद् अधिकारीहरूले सार्वजनिक गरेकोे तस्बिर तथा भिडियोमा उनीहरूले बाढीमा फसेका मानिसहरूलाई बचाउनका कागि प्रयास गरिरहेको देखाइएको छ।

विज्ञहरूले जलवायु परिवर्तनले मौसमको ढाँचा परिवर्तन गर्दा चरम मौसमी दुर्घटनाको सङ्ख्या बढाइरहेको जनाएका छन्।

जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालन

म्याग्दी । जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो ।

जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुुई महिनापछि समिट एयरलायन्सले आज पाँचवटा उडान भरेको जानकारी दिए ।

“मौसममा सुुधार आएको छ । पर्यटकीय याम सुरु हुन लागेकाले पनि पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु गरिएको हो,” उनले भने, “निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ ।”

पाँच उडानमार्फत ९० जना मुुस्ताङ भित्रिएका प्रमुख लम्सालले बताउनुभयो । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई सेवा पुनः सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ । सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता छ ।