`

गाजामा पोलियो खोप अभियानका लागि लडाइँ रोक्न इजरायल सहमत

Nepal One HD १४ भदौ २०८१ १०:३२
विश्व

बीबीसी । गाजामा पोलियोविरुद्धको खोप अभियानका लागि युद्धविराम गर्न इजरायल सहमत भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

डब्ल्यूएचओका एक वरिष्ठ अधिकारीका अनुसार आइतबार सुरु हुने उक्त अभियान अन्तर्गत गाजा स्ट्रिपमा रहेका झन्डै ६ लाख ४० हजार बालबालिकामा खोप लगाइनेछ ।

खोप वितरण कार्य तीन बेग्लाबेग्लै चरणमा स्ट्रिपको मध्य, दक्षिणी र उत्तरी भागमा सञ्चालन गरिनेछ । त्यसक्रममा प्रत्येक चरणका लागि लगातार तीन दिन बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्म लडाइँ रोकिनेछ ।

राष्ट्रसङ्घीय अधिकारीहरूले गाजामा एक दश महिने शिशु पोलियोका कारण आंशिक रूपमा पक्षाघात भएको जनाएको केही दिनमा उक्त सम्झौता भएको हो । त्यो गाजामा २५ वर्षमा देखापरेको पोलियोको पहिलो घटना हो ।

गाजामा झन्डै १२ लाख ६० लाखको सङ्ख्यामा ’नोभेल पोलियो भ्याक्सिन टाइप टु पुगिसकेको छ भने खोपको अतिरिक्त ४ लाख मात्रा छिट्टै पुग्दैछ ।

उक्त अभियान ‘प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले डब्ल्यूएचओ, युनिसेफ, यूएनआरडब्ल्यूएसँग मिलेर सञ्चालन गरिनेछ । डब्ल्यूएचओले स्ट्रिपभर ९० प्रतिशत खोप वितरण समेट्ने लक्ष्य राखेको छ जुन गाजामा सङ्क्रमण रोक्नका लागि आवश्यक ठानिएको छ ।


प्रतिक्रिया