`

काभा महिला नेसन्स लिगमा पदक जित्न विजेता खेलाडीहरु नगदसहित सम्मानित

Nepal One HD १३ भदौ २०८१ १२:००
खेलकुद

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला भलिबल टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडी, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई पुरस्कार वितरण गरेका हुन् ।

खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक भट्टलाई दुई लाख तथा सहायक प्रशिक्षक यादव, व्यवस्थापक बज्राचार्यलाई र फिजियो कुँवरलाई जनही एक लाख २० हजार राशिसहित पुरस्कार प्रदान गरिएको हो ।

गत साउन १७ गतेदेखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गते बसेको बैठकले सहभागी खेलाडी, प्रशिक्षलगायतलाई गरी कूल ४७ लाख ६० हजार पुरस्कार दिने निर्णय गरेको थियो ।

यसअघि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा यही भदौ २ गते सहभागी खेलाडी, प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गरे ।

आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नति गर्ने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यसको कार्यान्वयन गरिने अवगत गराउँदै दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरे। उनले दशरथ रङ्गशालामा खेल हुँदा मैदान हिलाम्मे हुनु दुःखद् भएको र उक्त रङ्गशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन सरोकारवालाको ध्यानाकर्षण गराए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला भलिबल खेललाई आजको अवस्थामा ल्याउन योगदान दिनेहरुलाई धन्यवाद दिँदै सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिन नीतिगत र व्यवहारिकरुपमा व्यवस्था हुनुपर्ने बताए ।


प्रतिक्रिया