`

नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले सरकार अघि बढेको छः अर्थमन्त्री पौडेल

Nepal One HD ११ भदौ २०८१ १२:४६
अर्थ समाचार

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा १६ औं नाडा अटो शो सुरु भएको छ । मंगलबार एक समारोहकाबीच उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शो को उद्घाटन गरेका छन् ।

शो उद्घाटन गर्दै अर्थमन्त्री पौडेलर्ले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढेको दाबी गरे ।

उनले भने, ‘अहिले बनेको सरकार संसदले बनाउने सबैभन्दा स्थिर सरकार हो । यो सरकारको स्थिरताले नीतिगत स्थिरताको एउटा बलियो आधार दिएको छ । त्यसैले हामीले नीतिगत स्थिरताको जुन डिमाण्ड छ, सरकारले जायज भन्छ । यो सरकार सबै नेपालीको हो ।’

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा ६ दिन चल्ने शोलाई नेपालको अटोमोबाइल क्यालेन्डरमा सबैभन्दा महत्त्वपूर्ण कार्यक्रमहरू मध्ये एक बनाउने आयोजकको भनाइ छ ।

शोमा सहभागी मध्ये एक जनाले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन्, जसलाई सिजी मोटर्स प्रालिले प्रायोजन गरेको छ । प्रदर्शनीलाई चार पाङ्ग्रे, दुई पाङ्ग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ ।

प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् । साथै, ३३ कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने छन् ।

त्यस्तै ७ वित्तीय संस्थाहरूले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुने नाडाले जनाएको छ । जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।


प्रतिक्रिया