`

धार्मिक पर्यटनका लागि अन्तरदेशीय पूर्वाधार र आवागमनको सुदृढीकरणमा सहकार्य गर्न पर्यटनमन्त्रीको आव्हान

Nepal One HD ८ भदौ २०८१ १८:२५
अर्थ समाचार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरि अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवद्र्धनका साथै विश्वभरका आगन्तुकहरुलाई नेपालका धार्मिक स्थलहरुको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आह्वान गरेका छन् ।

भारतको गुजरतामा आयोजित आठौं धर्म–धम्ब सम्मेलनलाई शुक्रबारसाँझ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले नेपालका पशुपतिनाथ हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपा दुई देशबीचका साझा सम्पदाहरु रहेको उल्लेख गर्दै नेपालमा यस सम्मेलनको भावना प्रतिविम्बित हुने खालको आध्यामिक अनुभुति गर्न सकिने उल्लेख गरे । उनले सम्मेलनका सहभागीहरुलाई नेपाल भ्रमणमा आउन निम्तोसमेत दिएका छन् ।

भूटान श्रीलङ्का लगायतका देशका मन्त्रीहरु र अन्य देशका धार्मिक विचारकहरुको ठूलो संख्यामा सहभागिता रहेको सम्मेलनमा मन्त्री पाण्डेले एकता र विविधता नै हाम्रो परम्पराको आधारभूत मान्यता भएको बताए ।

उनले शान्ति र करुणको प्रतिकको रुपमा नेपालमा धर्म र धम्मका सिद्धान्तहरु सदियौंदेखि व्यवहारमा रहेको कुरामा जोड दिए ।

उनले भने, ‘हाम्रा मनमोहक हिमाल, पवित्र तीर्थस्थलहरु तथा सांस्कृतिक सम्पदाहरुले ब्रम्हाण्डीय शक्ति र दैवीय उपस्थितिको झल्को दिई रहेका छन् तसर्थ नेपाल प्रकृति र दैवीय शक्तिको जीवित उदाहरण हो ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतमा हाम्रा आध्यात्मिक सम्पदाहरुको संरक्षण प्रवद्र्धन गर्ने निर्णय गरेको छु भन्दै उनले भने,’म हाम्रो संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माणका लागि अन्तर देशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवद्धनका साथै विश्वभरका आगन्तुकहरुलाई हाम्रा धार्मिक स्थलहरुको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आव्हान गर्दछु । सायद यहीनै धर्म–धम्म परम्पारको वास्तविक अर्थ प्रतिको योगदान हुने छ ।’

भारत फाउन्डेसनले गुजरात विश्वविद्यालय, अहमदाबादसँगको सहकार्यमा गुजरातको अहमदाबादमा आठौं सम्मेलनको नारा ‘धर्म र धम्ममा ब्रह्माण्ड विज्ञान’ रहेको छ ।

सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि धर्म–धम्म परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ ।आठौं अन्तर्राष्ट्रिय धर्म धम्म सम्मेलनमा १८ देशका तीनसय भन्दा बढी विज्ञ तथा प्राज्ञको सहभागिता रहेको अनुमान छ ।


प्रतिक्रिया