`

ह्यारिसलाई राष्ट्रपति स्वीकार्न अमेरिका तयार भइसक्योः पूर्वराष्ट्रपति ओबामा

Nepal One HD ५ भदौ २०८१ १५:५८
विश्व

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतिको रुपमा स्वीकार्न संयुक्त राज्य अमेरिका तयार रहेको बताएका छन् ।

पूर्वराष्ट्रपति ओबामाले अमेरिकाको सिकागोमा आयोजित डेमोक्रेटिक पार्टीको महाअधिवेशनलाई सम्बोधन गदै उपराष्ट्रपति ह्यारिसले अमेरिकी नागरिकको हितका लागि लड्न तयार रहेको र यसका लागि उहाँप्रति आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, “कमला ह्यारिस यस पदका लागि तयार हुनुहुन्छ । उहाँ आवाजविहिनहरुको आवाज बनेर जीवन बिताउनुभएको व्यक्तित्व हो ।”

“उहाँ सबै अवस्थामा अमेरिकीहरूको कुरा सुन्न र उनीहरूको लागि काम गर्न तयार हुनुहुन्छ,” ओबामाले ह्यारिसलाई सङ्केत गर्दै भने ।

पूर्वराष्ट्रपति ओबामाले ह्यारिसको उम्मेदवारीको समर्थन गर्दै भने, “उहाँ (ह्यारिस) राष्ट्रपति पदका लागि योग्य व्यक्ति हो र यसको मूल्याङ्कन गरेर डेमोक्र्याटिक पार्टी र यसका नेता तथा कार्यकर्ताले अभियानका लागि साथ दिएका हुन् ।’

उनकी पत्नी मिशेल ओबामाले राष्ट्रपतिका रूपमा ह्यारिसको विजयले सन् २००८ मा बाराक ओबामा राष्ट्रपति हुँदाको हर्सोल्लासको माहोल दोहोरिने विश्वास व्यक्त गरिन् ।


प्रतिक्रिया