`

२०८३ भदौसम्म पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान हुन्छः पर्यटनमन्त्री पाण्डे

Nepal One HD २ भदौ २०८१ २१:१३
अर्थ समाचार

काठमाडौँ ।  नेपाल उद्योग परिसङ्घ (सीएनआई)अन्तर्गतको पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गरेको छ । 


आइतबार सिंहदरबारमा पर्यटनमन्त्रीलाई बधाइ तथा शुभकामना दिँदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनःस्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याइनुपर्नेमा जोड दिएको छ । 


यस्तै हवाई दुर्घटना न्यूनीकरण, दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समय सम्बन्धमा पनि सुझाव दिइएको थियो । 


सो अवसरमा पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागि कामको प्राथमिकता हेरेर अगाडि बढ्ने बताए । 


उनले विसं २०८३ भदौसम्ममा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान हुनेगरी काम गरिरहेको जानकारी दिए । नेपाल एयरलाइन्सलाई सबल बनाउने विषयमा थप छलफल तथा सल्लाह सुझाव लिँदै अगाडि बढ्ने उनको भनाइ थियो ।


परिसङ्घका उपाध्यक्ष राजबहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकाले यस क्षेत्रको विकासका लागि नयाँ नीति ल्याउन जरुरी रहेको बताए । पर्यटन क्षेत्रका समस्याबारे जानकारी गराउँदै उनले समाधानका उपायसमेत सुझाए ।


     छलफलमा समिति सदस्य रवीचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गरे । पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म सञ्चालन हुने भनिएको समयावधि बढाएर राति १२ बजेसम्म गर्न उनले आग्रह गरे । उनले हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि करलाई पुनरावलोकन गर्न जरुरी रहेको बताए ।


सो अवसरमा परिसङ्घ पर्यटन समिति सभापति पम्फा धमला, सदस्य हिक्मत सिंह ऐर, तिलक लामा, दीपकराज जोशीलगायतले सुझावसहित बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।


प्रतिक्रिया