संविधान उल्लङ्घन गरेको आरोपमा थाइल्याण्डका प्रधानमन्त्री पदमुक्त


बीबीसी । संविधान उल्लङ्घन गरेको भन्दै थाइल्याण्डका प्रधामन्त्री सेटा टवीसिनलाई अदालतले पदमुक्त गरिदिएको छ । टवीसिनले पहिला जेल परेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेर ‘अवज्ञापूर्ण व्यवहार देखाएको’ र ‘नैतिकताको नियम’ उल्लङ्घन गरेको ठहर थाइल्याण्डको संवैधानिक अदालतको छ ।
६७ वर्षीय सेटा प्रधानमन्त्री बनेको एक वर्ष पनि पूरा भएको छैन। उक्त अदालतले १६ वर्षको अवधिमा उनीसहित तीन जनालाई पदमुक्त गरेको छ । अब थाई संसद्ले नयाँ प्रधानमन्त्री नछान्दासम्म अन्तरिम प्रधानमन्त्रीले काम गर्ने छन् । ‘म आफ्नो इमानप्रति विश्वस्त छु…। मलाई दुःख लागेको छ तर म आफू यो आदेशप्रति असहमत छु भन्दिनँ,’ अदालतले फैसला सुनाएपछि टवीसिनले पत्रकार सम्मेलनमा भने ।
अदालतको निर्णय अन्तिम हुन्छ र त्यसमाथि पुनरावेदन गर्न पाइँदैन। थाइल्याण्डको संवैधानिक अदालतसँग असीमित शक्ति छ । थाइल्याण्डको राजनीति सदाचारका लागि नभई भ्रष्टाचारका लागि चिनिन्छ । पहिला पनि गम्भीर मुद्दामा दोषी ठहर भएका व्यक्तिहरूले सार्वजनिक पदमा बस्ने अवसर पाएका थिए ।
थाइल्याण्डमा धेरै मानिसहरूले यो निर्णयलाई राजनीतिक मान्ने छन् । पिजित चिन्बानलाई मन्त्री बनाएपछि गत मे महिनामा ४० जनाजति सांसदले प्रधानमन्त्रीलाई पदमुक्त गर्नुपर्ने मागसहित मुद्दा हालेका थिए।
घुस लेनदेनको प्रयासमा दोषी ठहर भएपछि चुन्बानलाई छ महिनाको जेल सजाय सुनाइएको थियो । विवाद भएपछि चुन्बानले आफू मन्त्री नियुक्त भएको १९ दिनपछि राजीनामा दिएका थिए ।
बुधबार संवैधानिक अदालतका नौमध्ये पाँच न्यायाधीशहरू उक्त नियुक्ति गर्दा प्रधानमन्त्रीले आफ्नो पदीय आचरण उल्लङ्घन गरेको निष्कर्षमा पुगेका थिए ।