रुसको एकहजार वर्ग किलोमिटर भूभाग नियन्त्रणमा लिएको युक्रेनको दाबी


बीबीसी । युक्रेनका एक जना उच्च कमान्डरले आफ्नो फौजले रुसको एकहजार वर्ग किलोमिटर भूभाग नियन्त्रणमा लिएको बताएका छन् । कमान्डर ओलेक्जान्डर सीर्स्कीले युक्रेनले कुर्स्क क्षेत्रमा आफ्नो कारबाही जारी रहेको बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अरू देशमा युद्ध निम्त्याएको रुसभित्रै युद्ध पुगेको बताएका छन् । तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको इलाकाभित्र प्रवेश गरेको बदलामा युक्रेनलाई ‘समुचित जवाफ दिने’ चेतावनी दिएका छन् ।
युद्ध सुरु भएयता युक्रेनी फौज पहिलो पटक रुसी भूभागको ३० किलोमिटरभित्र पसेको विवरणपछि राष्ट्रपति पुटिनले त्यस्तो बताएका हुन् । युक्रेनको आक्रामक कदमपछि राष्ट्रपति पुटिनले क्षेत्रीय गभर्नर र सुरक्षा अधिकारीहरूसँग महत्त्वपूर्ण बैठकहरू गरेका छन् ।
पुटिनले एउटा बैठकमा रुसी फौजले ‘दुस्मनलाई लखेट्ने’ बताएको समाचारहरूमा जनाइएको छ । युक्रेनी फौज गत मङ्गलवार प्रवेश गरेको रुसको कुर्स्क क्षेत्रका गभर्नरले युक्रेनी फौजले २८ वटा गाउँ नियन्त्रणमा लिएको बैठकमा बताएका छन् ।
गभर्नर एलेक्सी स्मिरनोफले बैठकमा युक्रेनी फौज आफ्नो क्षेत्रको १२ किलोमिटरभित्र रहेको जानकारी दिए । गभर्नर स्मिरनोफका अनुसार एक लाख २१ हजार मानिसलाई उनीहरूको घरबाहिर पठाइएको छ। र, थप ५९ हजारलाई पठाउनुपर्नेछ ।
आफ्ना १२ जना सर्वसाधारण मारिनुका साथै १२० भन्दा बढी घाइते भएका उनले जनाएका छन् । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेयता युक्रेनी सेना रुसी भूभागमा सबैभन्दा भित्रसम्म पुगेको यो पहिलो घटना हो । रुसको रक्षा मन्त्रालयले आफ्नो फौज र युक्रेनी सेनाबीच टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जनाएको छ।