`

एएफसी च्यालेन्ज लिग प्लेअफ : पारोलाई हराउँदै समूह चरणमा पुग्ने लक्ष्यमा चर्च ब्वाइज

Nepal One HD २९ साउन २०८१ ८:२२
खेलकुद

काठमाडौं । एएफसी च्यालेन्ज लिग प्लेअफमा नेपालको चर्च ब्वाइज युनाइटेडले आज भुटानी क्लब पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ । प्लेअफ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

पहिलो पटक महादेशिय स्तरको क्लब प्रतियोगिता खेल्न लागेको चर्च ब्वाइज घरेलु मैदानमा जित हात पार्दै च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गर्ने लक्ष्यमा छ ।

त्यसका लागि आफ्नो टोली तयार रहेको मुख्य प्रशिक्षक बालगोपालम हर्जन र कप्तान अनन्त तामाङले बताएका छन् ।

अनन्त तामाङको कप्ताद्दीमा रहेको चर्च ब्वाइजमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु धेरै छन् भने विदेशी खेलाडी ३ जना मात्र छन् ।

तर भुटानी लिग च्याम्पियन पारोमा भने जापानबाट विश्वकप खेलिसकेका स्टार केसुके होन्डासहित ११ विदेशी खेलाडी छन् ।

यस पटक एएफसीले च्यालेन्ज लिगका लागि विदेशी खेलाडी जति पनि राख्न पाउने नियम बनाएपछि चर्च ब्वाइजले धेरै विदेशी खेलाडी टिममा राखेको हो ।

यद्यपी घरेलु मैदान र घरेलु दर्शकको साथ योजना अनुसार खेल्न सके चर्च ब्वाइजले राम्रो नतिजा ल्याउने प्रशिक्षक महर्जनको विश्वास छ । ‘हामीले ३ साता भन्दा बढी प्रशिक्षण गर्‍यौँ । दशरथ रंगशालमा ६-७ महिनापछि खेल हुँदैछ । छोटो समय भएपनि अनन्तको कप्तानीमा टोली सन्तुलित छ ।’

महर्जनले घरेलु मैदानमा राम्रो नतिजा ल्याउने दावी गरे । ‘घरेलु मैदानमा घरेलु दर्शकलाई राम्रै नतिजाको आशा छ । योजनाअनुसार खेलेमा नतिजा आउन सक्छ ।’

यस्तै कप्तान अनन्त तामाङले पनि टिम तयार रहेको बताए । ‘टिम शारीरिक र मानसिक रुपमा रुपमा तयार छ, तामाङले भने । तामाङले छोटो समयमको तयारी भएपनि प्रशिणपछि टिममा सुधार आएको र राम्रो प्रदर्शन गर्ने बताए ।

किन्ले वाङचुकको कप्तानीमा रहेको पारो एफसीको टोलीमा जापान, घाना, सर्विया र मोन्टेनेग्रोबाट गरी ११ खेलाडी विदेशका छन् । विपक्षी टिममा धेरै विदेशी हुँदा केही गाह्रो भएपनि आफ्नो टोली त्यसमा नडराउने चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । यस्तै कप्तान अनन्तले पनि विपक्षी टोलीमा को नाम छ भनेर नहर्ने र आफ्नो योजना र रणनीति अनुसार खेल्ने बताएका छन् ।

उता पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले पनि टिममा वर्ल्ड क्लास प्लेअर रहेपनि टिम बन्डिङ र टिम कोअर्डिनेसन महत्वपूर्ण हुने भन्दै चर्च ब्वाइज विरुद्धको खेल गाह्रो हुने बताएका थिए । होन्डासहित नेपालमा लिग र नेपाल सुपर लिग खेलिसकेका विलियम ओपोकु पारोको अनुभवी खेलाडीको रुपमा छन् ।

प्रशिक्षक शर्माले नेपालको मौसम र मैदानको कन्डिसनका कारण आफूहरुलाई केही चुनौती हुने भएपनि त्यसलाई सकरात्मक चुनौतीका रुपमा लिएर खेल्ने बताए ।

च्यालेन्ज कप प्लेअफको विजेताले १ लाख डलर प्राप्त गर्नेछ ।


प्रतिक्रिया