`

सूर्यविनायकमा विकास निर्माणमा स्थानीयलाई जागरुक बनाउने अभियानले पायो तीव्रता

Nepal One HD २७ साउन २०८१ ९:२५
समाचार

भक्तपुर । ‘आफ्नो गाउँ, आफै बनाऔं’ अभियान जस्तै सूर्यविनायक नगरपालिका वडा नम्बर ७ मा विकास संरक्षण तथा प्रवर्द्धन अभियानले तीव्रता पाएको छ ।
सामान्यतया तीन तहको सरकार तथा दातृनिकायबाट प्राप्त बजेटबाट विकास निर्माण हुने तर त्यसको संरक्षण तथा प्रवर्द्धन नहुँदा भएका विकासहरु कुरुप हुने गरेका छन् । आफ्नो घर छेउछाउ आफैंले विकासको संरक्षण र प्रवर्द्धन गरी दिगो र प्रभावकारी बनाउने उद्देश्यका साथ साउन १७ गते एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमनन्त्री महेश बस्नेत र बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले संयुक्त रुपमा अभियानको शुभारम्भ गरेका थिए ।

घोषित रुपमा शुरु गरिएको उक्त अभियान एक नमुना र अनुकरणीय रहेको स्थानीयवासीले बताएका छन् । विकासमा जनताको प्रत्यक्ष सहभागिता रहेमा मात्र भएका विकासको संरक्षण तथा प्रवर्द्धन हुने विश्वासको साथ उक्त अभियान चलाइएको बताइएको छ ।
अभियानले प्रत्येक शनिबार दुई घण्टा विकासको संरक्षण तथा प्रवर्द्धनमा सामाजिक सहयोग गर्न थालेको छ । विहान ७ बजेदेखि ९ बजेसम्म प्रत्येक शनिबार उक्त अभियान सञ्चालन गरिरहेको छ । शुरुवातको दिन गुण्डु चोकको सडक र दोस्रो हप्ता गुण्डुको पुरानो बसपार्क नजिक रानी खोला दोभानदेखि तार्केश्वर मन्दिरसम्मको बर्षातको भेलले पुरिएको कल्भर्ट तथा कुलो खोल्ने कार्य र उक्त क्षेत्रको सरसफाइ गरिएको थियो ।

सडकको खाल्डाखुल्डी पुर्ने, खोला, कुलो तथा ढलको सरसफाई गरी भएका विकासलाई आफ्नो अपनत्व लिने गरी स्थानीयवासी जागरुक बनाउन थालिएको हो । भदौ ३ गते रक्षाबन्धनलाई लक्षित गर्दै आगामी शनिबार अभियानको तेस्रो हप्ता वडा नं. ७ र ४ को सीमानामा पर्ने अनन्तकुण्ड, अनन्तझुला तथा अनन्तलिङ्गेश्वरमा सरसफाई कार्यक्रम आयोजना गरिने भएको छ ।

उक्त स्थानमा पूर्वमन्त्री बस्नेतले विकासका धेरै कार्यहरुको शुरुवात समेत गरेका थिए । उनले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अनन्तकुण्ड, अनन्तझुला, अनत्तलिङ्गेश्वर मन्दिरको प्रवर्द्धन, खुल्ला स्वीमिङ पुल, पार्क लगायतका विकासका ड्रिम प्रोजेक्टहरुको निर्माण प्रारम्भ गरेका थिए । उक्त स्थान विशेष त हिन्दूधर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा समेत परिचित रहेको छ । पर्यटकीय क्षेत्रको उच्च सम्भावना बोकेको उक्त स्थानमा तीज, रक्षावन्धन तथा विभिन्न धार्मिक विश्वासका खास दिनहरुमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

जसले जनतालाई सचेत र जागरुक बनाइरहेको अभियान्ता दिनेश थापाले बताए । ‘हप्तामा दुई घण्टा आफ्नो गाउँ आफैं बनाऔं भन्ने लक्ष्यका साथ वडा नं. ७ का सम्पूर्ण विकास आयोजनाका संरक्षण तथा प्रवर्द्धन गर्ने महान् सामाजिक कार्यको शुरु गरेका छौं,’ उनले भने, ‘यो अभियान वडाभरि नै सञ्चालन हुनेछ र आगामी दिनमा नगरपालिकाभर लैजानुपर्छ । विकास हामीले तिरेको करेले सरकारले गर्छ तर त्यसको संरक्षण र सम्वद्र्धन भने हामी स्थानीयवासीले नै गर्नुपर्छ । सरकारलाई सहयोगीको भूमिका खेल्नुपर्छ ।’

राजनीतिक आस्थाका कारण विकासलाई समेत विगार्ने, भत्काउने तथा संरक्षण नगर्ने परम्परालाई तोड्दै सचेतनामूलक उक्त अभियानले सामाजिक चेतनाको व्यापक विकास गर्ने बताइएको छ । ‘विकासमा इगो हैन, दिगो बनाउने जिम्मेवारी हामी जनताको पनि हो । राजनीतिमा प्रतिष्पर्धा होला तर विकासमा सवैको ऐक्यवद्धता हुनुपर्छ । तसर्थः हामीले राजनीतिभन्दा माथि उठेर यो अभियान शुरु गरेका हौं ।’, अभियान्ता थापाले भने ।


प्रतिक्रिया