`

बङ्गलादेशमा भएको डुङ्गा दुर्घटनामा ३४ जनाको मृत्यु

Nepal One HD २४ साउन २०८१ १७:३५
विश्व

बंगलादेश । युद्धग्रस्त म्यान्माबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको छ ।

बङ्गलादेशको नदीमा मङ्गलबार भएको दुर्घटनामा साना सहित १० जनाको शव तत्काल निकालिएको थियो । हालसम्म कूल मृतकको सङ्ख्या ३४ पुगेको छ ।

उनीहरू म्यान्माको रखाइन राज्यस्थित आफ्नो गाउँबाट भागेका र उनीहरूको सानो जहाज बङ्गलादेशको शाहपरी टापु नजिकै नाफ नदीमा डुबेको प्रहरीले जनाएको छ ।

बङ्गलादेशको टेकनाफ सीमाक्षेत्रका सरकारी प्रशासक अदनान चौधरीले उक्त डुङ्गामा म्यानमाबाट आएका मुस्लिम रोहिंग्याहरू रहेका बताए ।

अराकान आर्मी (एए) ले नोभेम्बरमा सत्तारुढ जुन्टाको सेनामाथि आक्रमण गरेपछि रखाइन राज्यमा द्वन्द्व बदलिएको हो । बङ्गलादेशमा करिब १० लाख रोहिंग्याले शरण लिएका छन् जसमध्ये अधिकांश सन् २०१७ मा सैन्य दमनपछि रखाइनबाट भागेका थिए ।

रखाइनको सहर माउङ्गदाबाट भागेर बुधबार फरक डुङ्गाबाट बङ्गलादेश आइपुगेका ३५ वर्षीय रोहिंग्या शरणार्थी अब्दुल कलामले हजारौँ रोहिङ्ग्या म्यानमा जारी नरसंहारबाट भाग्न खोजेको बताए ।

हप्तौँको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनले सोमबार प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि बङ्गलादेशमा अशान्तिका कारण शव निकाल्न ढिलाई भएको चौधरीले बताए ।


प्रतिक्रिया