बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जिया रिहा हुने


बीबीसी । बाङ्ग्लादेशमा दुई दशकभन्दा लामो समयदेखिको राजनीतिक प्रभाव अन्त्य गर्दै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि राजनीतिले नयाँ मोड लिएको छ ।
७६ वर्षकी हसिना देश छोडेर भारत पुगेकी छन् । सेनाप्रमुखले अन्तरिम सरकार गठन घोषणा गरेको केही घण्टापछि सोमबार साँझ राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइ गर्न आदेश दिएका छन् । राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन् ।
शहाबुद्दिनले आफूले सेना प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक गरेको जानकारी दिएका छन् । बाङ्ग्लादेशका राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने बताए । तर सरकार कसको नेतृत्वमा बन्छ भन्ने स्पष्ट हुन बाँकी छ ।
हसिनाको बहिर्गमनसँगै बाङ्ग्लादेशको राजनीतिमा शून्यता सिर्जना भएको छ। यसअघि हसिनाको अवामी लीग र विपक्षी बाङ्ग्लादेश न्याश्नल पार्टीबीच प्रतिस्पर्धाको राजनीति रहेको यो देशमा एकाएक शून्यताको अवस्था सिर्जना भएको छ । बाङ्ग्लादेशमा कैयौँ पटक सैन्य कू भएको थियो। सबैभन्दा पछिल्लो पटक सन् २००७ मा यहाँ सैन्य कू भएको थियो ।
पछिल्लो राजनीतिक उथलपुथलमा सेनाले देखाएको धैर्यको अमेरिकाले प्रशंसा गर्दै अन्तरिम सरकारको गठनमा जोड दिएको छ । युरोपेली सङ्घले पनि प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित सरकारलाई ‘शान्तिपूर्ण सत्ता हस्तान्तरण’ गर्न आग्रह गरेको छ ।
यो क्षेत्रकै शक्तिको रूपमा रहेको छिमेकी देश भारतले भने पछिल्लो घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन । हसिनाका सहयोगीहरूका अनुसार उनी अब देशको राजनीतिमा नफर्किने निष्कर्षमा पुगेकी छन् ।
सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना २० वर्ष देशको प्रधानमन्त्री बनेकी थिइन् । हसिनाका छोरा सजीब अहमद वाजेद जोयले परिवारको आग्रहमा हसिनाले आफ्नो सुरक्षाका लागि देश छोडेको बताएका छन् ।