`

काभा महिला भलिबलमा नेपाल इरानसँग पराजित

काठमाडौं । काभा महिला भलिबलमा नेपाल इरानसँग पराजित भएको छ । आइतबार भएको खेलमा इरानसँग नेपाल ३–२ को सेटले पराजित भएको हो । अन्तिम तथा पाँचौ सेट नेपालले १५–१३ ले गुमायो ।

पहिलो सेट २५–१६ ले गुमाएको नेपालले दोस्रो सेट २५–१६ ले जितेको थियो । त्यस्तै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट नेपालले २५–२३ ले गुमाउँदा चौथो सेट भने २५–१५ ले जितेको थियो । जितसँगै इरानले २ अंक हासिल गरेको छ भने नेपालले एक अंक हासिल गरेको छ ।

इरानले चार खेलमा ७ अंक जोड्दा नेपालले ३ खेलमा ६ अंक प्राप्त गरेको छ । यसअघि नेपालले शनिबार भारतमाथि ३–२ को सेटमा ऐतिहासिक जित हासिल गरेको थियो ।

अब नेपालले लिग चरणको अन्तिम खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको यस प्रतियोगितामा लिग चरणका खेलपछि शीर्ष चार देशले सेमिफाइनल खेल्नेछन् ।

सरकारमा कमजोरीहरू देखियो भने हामीले आवाज बुलन्द गर्नुपर्छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदका दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने शंका पैदा भएको बताएका छन् ।

आइतबार पार्टी निकटको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा कोइरालाले दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने शंका पैदा भएको भन्दै सरकारलाई ठिक बाटोमा ल्याउन आवाज उठाउनुपर्ने बताएका हुन् ।

उनले भने,’अहिले कतै केही कमजोरीहरू सरकारमा देखियो भने हामीले आवाज बुलन्द गर्नुपर्छ । किनभने दुईवटा ठूला दल सरकारमा छन् । यसले निरंकुशता जन्मने पनि त्यतिकै शंका छ । हामीहरूले आवाज उठाउन सक्यौँ भनेर पक्कैपनि सरकार ठिक बाटोमा हिंड्छ र हामी अगाडि बढ्न सक्छौं।’

कोइरालाले सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नभएकालगायतका कारणले कांग्रेस र एमालेको सरकार गठन गर्नुपर्ने बाध्यता आएको बताए ।

उनले अहिले पार्टी कमजोर भएको र नेताहरू कहीँकतै अल्झिएको जस्तो अनुभूति भएको बताए । उनेल ८४ को निर्वाचनमा कुनै दलको बैशाखी लिएर नभई एक्लै चुनाव लड्ने क्षमता बनाउन आवश्यक रहेको बताए ।

पार्टीले गर्ने निर्णयहरूका कारण तपाईँहरू कसैको शिर ननिहुरिने बनाउँछौंः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिवद्धता जनाएका छन् ।

आइतबार कांग्रेस निकट प्रजातन्त्र सेनानी संघको प्रशिक्षणलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताले भरोसा गर्ने ठाउँमा पुर्याउने बताएका हुन् ।

उनले पार्टीले गर्ने निर्णयहरूलाई शुद्ध र पवित्र राख्ने पनि बताए । पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरूले गम्भीरतापूर्वक लिएको उनले बताए ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टी अझ शुद्ध होस् । पार्टीको निर्णयहरूको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस्, बोल्न पाइयोस् । पार्टीले गर्ने निर्णयहरूको कारणले गर्दा तपाईँहरू कसैको शिर ननिहुरियोस् । कतिपय कुरा परिणाममा पुर्याउन नसकिएको होला । तर प्रयत्न गर्ने कुरा छोडेको छैन्, छोड्दैनौं ।’

विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा गुरुङ र कार्की नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गुरुङ र कार्कीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक समितिका सदस्यद्वय गुरुङ पञ्चेश्वर विकास प्राधिकरणको पूर्वप्रमुख कार्यकारी हुन् भने कार्की पूर्व ऊर्जासचिव हुन् । प्राधिकरणका सञ्चालक समितिका सदस्यहरु भक्तबहादुर पुन र कपिल आचार्यलाई पदमुक्त गरेपछि उनीहरु नियुक्त भएका हुन् ।

बक्यौता नउठाई ६ उद्योगको लाइन पुनः जोड्न नहुने भन्दै उनीहरुको सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट लेखका थिए । सोही आधारमा उनीहरुलाई मन्त्रालयले यसअघि स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा उनीहरुको जवाफ चित्त नबुझेसँगै मन्त्रालयले पदमुक्त गरेको थियो ।

टान नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं । पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा नेतृत्वका त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

टानको आगामी भदौँ १७ गते हुने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा पर्यटन व्यवसायी रामसरण थपलिया, राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेबीच प्रतिस्पर्धा हुने भएको हो ।

साधारणसभाको एक महिना अघिदेखि नै प्रत्यासीहरू उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार र भेटघाटमा सक्रिय भएका छन् ।

टानका महासचिव विनोद सापकोटाले नेतृत्व सर्वसम्मत चयनका लागि छलफल भइरहेको भन्दै सहमति नभए निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन हुने बताए । उनकानुसार टानमा करिब दुई हजार पदयात्री व्यवसायी आवद्ध छन् ।

अध्यक्षका प्रत्यासी थपलिया तीन दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय छन् । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष हाल नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य छन् ।

आकाश ट्रेक्स एन्ड एक्सीडिसन प्रालिका प्रबन्धनिर्देशक थपलियाले नेपाल निर्यात परिसङ्घको निवर्तमान उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

टान नेतृत्वमा पुगेको खण्डमा नीतिगत सुधारमा विशेष ध्यान दिने उनले बताए “टानमा नीतिगत कुराको समस्या छ, पुरानो पर्यटन ऐन परिमार्जनका लागि पहल गर्नुपर्नेछ”, थपलियाले भने, “आफू कानुन क्षेत्रमा पनि आवद्ध भएकोले नीतिगत सुधारमा विशेष ध्यान दिने छु ।”

यस्तै, अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटा विगत २० वर्षदेखि पर्यटनमा सक्रियछन्  । नेपाल पर्यटन बोर्डको पूर्वसञ्चालक समिति सदस्य सापकोटा आउटडोर हिमालयन ट्रेक्सका प्रबन्ध निर्देशक हुन् ।

पदयात्रा व्यवसायको संरक्षण र साहसिक पर्यटन प्रवर्दनमा आफ्नो भूमिका केन्द्रीत हुने उनले बताए । “पदयात्रा पर्यटन व्यवसाय समस्याग्रस्त छ, स्थानीय निकायले विकास निर्माणको नाममा पदमार्गको अस्तित्व जोखिममा परेको छ । त्यसैले पदमार्ग संरक्षण मेरो पहिलो प्राथमिकता हुन्छ ।”

उनले स्थानीय तहसँग समन्वय गरेर पदमार्गको दिगो विकासका लागि पहल गर्ने, रोजगारी सिर्जना, मजदुरका समस्या सम्बोधनका लागि ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । पाठ्यक्रम मै पदयात्रा पर्यटनलाई समेटेर साहसिक पर्यटनको सम्भाव्य क्षेत्रमा सचेतना अभिवृद्धि गर्न पहल गर्ने सापकोटाको भनाइ छ ।

अध्यक्ष पदका अर्का प्रत्यासी सागर पाण्डेले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । टानको पूर्वमहासचिवसमेत रहेका पाण्डेले संस्थागत सुधार, पर्यटन मजदुरको कल्याणकारी कोष स्थापना, गन्तव्य प्रवर्द्धनलगायत विषयलाई प्राथमिकता दिने उनको योजना छ ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

काभा भलिबलमा श्रीलङ्काले माल्दिभ्सलाई हरायो

काठमाडौँ । श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा पहिलो जित दर्ता गराएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) कभर्डहलमा आइतबार भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । 

श्रीलङ्काले माल्दिभ्समाथि खेलको पहिलो सेट २५–२२ ले जित्यो भने दोस्रो सेट २५–१२ ले आफनो पक्षमा पा¥यो । त्यस्तै खेलको तेस्रो सेट २५–१६ ले जितेपछि प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । जितसँगै श्रीलङ्काले सेमिफाइनल यात्रा तय गरेको छ । पराजित माल्दिभ्स भने सेमिफाइनल होडबाट बाहिरियो । 

श्रीलङ्काले यसअघि नेपालसँग ३–० र इरानसँग ३–२ सेटमा हार ब्यहोरेको थियो । माल्दिभ्स भने यसअघि भारत र इरानसँग समान ३–० को सेटमा पराजित भएको थियो । 

यस खेलसँगै उक्त प्रतियोगितामा सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । सेमिफाइनमा नेपाल, भारत, इरान र श्रीलङ्काले स्थान पक्का गरेका छन् । आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपालले इरानसँग खेल्नेछ । खेल सवा ५ बजेदेखि सुरु हुनेछ ।

ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प

काठमाडौँ – ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा शाहलाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहलाई नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन रहेको छ ।

यसअघि आइतबारै बसेको कांग्रेस संसदीय दलको बैठकले दलका नेता शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । मुख्यमन्त्रीका लागि कांग्रेसभित्र दलका नेता शाहलगायत बहादुरसिंह थापा, प्रकाशबहादुर देउवा र दिवानसिंह विष्ट आकांक्षी रहेका थिए । केन्द्रको निर्देशनअनुसार शाहलाई नै मुख्यमन्त्रीमा अघि सार्ने निर्णय कांग्रेसले गरेको थियो ।

शाह दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी विसं २०७९ मा भएको आमनिर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित भएका थिए ।

यसअघि विसं २०७९ माघ २७ गते नेकपा (माओवादी केन्द्र) नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा फेरिएको समीकरणसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले गत चैत्र २२ गते पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि बनेको नयाँ समीकरणअनुसार गएको वैशाख ६ गते एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनेका थिए । फेरि केन्द्रमा कांग्रेस र एमालेसहितको सत्ता गठबन्धन बनेपछि अल्पमनमा परेका सोडारीले यही साउन १८ गते पदबाट राजीनामा दिएका थिए ।

सोही दिन मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखद्वारा आह्वान भएअनुसार आज दिउँसो शाहले दाबी पेस गरेका हुन् । मुख्यमन्त्रीका लागि ५३ सदस्यीय प्रदेशसभामा २७ जना आवश्यक पर्नेमा कांग्रेस र एमालेका २९ सदस्य छन् । नागरिक उन्मुक्तिले समर्थन गर्दा मुख्यमन्त्रीको पक्षमा ३६ सदस्य पुग्छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।

बाँके निकुञ्जमा पर्यटकको सङ्ख्या वृद्धि

राँझा (बाँके) । बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको छ । निकुञ्जभित्र रहेका प्राकृतिक सम्पदा, वन्यजन्तु र पर्यटकीय क्षेत्रको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका हुन् ।

गत आर्थिक वर्षमा चार सय ४४ पर्यटक भित्रिएका निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए । उनका अनुसार तीमध्ये चारजना सार्क मुलुक र १० जना विदेशी पर्यटक छन् ।

आर्थिक वर्ष २०७९/८० मा तीन सय १७ पर्यटक आएका जनाउँदै अघिल्लो आवको तुलनामा गत आवमा एक सय २७ बढी पर्यटक भित्रिएका शाहले बताए ।

पर्यटक प्रवेश शुल्कबाट निकुञ्जले गत आवमा एक लाख ८३ हजार तीन सय ३३ राजस्व सङ्कलन गरेको छ । निकुञ्जमा जङ्गल वाक, जिप सफारी, हात्ती सफारी, चरा अवलोकन, क्याम्पिङ, हाइकिङका लागि पर्यटक आउने गरेका संरक्षण अधिकृत शाहले जानकारी दिए ।

“बाँके राष्ट्रिय निकुञ्जमा स्थापना भएपछि हालसम्म दुई हजार ५२ पर्यटक भित्रिएका छन् । जसमध्ये सार्क मुलुकका १७ र ३८ जना अन्य विदेशी पर्यटक छन् । निकुञ्जमा सबैभन्दा धेरै गत आवमा पर्यटक भित्रिएका हुन्”, संरक्षण अधिकृत शाहले भने ।

बाँके, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेश बिन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्न, निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको उनको भनाइ छ ।

विसं २०६७ मा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज मूलतः पाटेबाघको बासस्थानका रुपमा चिनिन्छ । हाल निकुञ्जमा २१ वटा बाघ छन् । नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ ।

भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका प्रमुख वरिष्ठ संरक्षण अधिकृत शाहले बताए । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेको उनको बुझाइ छ ।

यही निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला आउजाउ गर्न सकिने भएकाले पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास गर्न थालिएको होटल व्यवसायी महासङ्घ लुम्बिनीका संस्थापक अध्यक्ष भाष्कर काफ्लेले बताए ।

“कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउने भएकाले यो निकुञ्ज पर्यटकको ट्रान्जिट प्वाइन्ट हुँदैछ”, उनले भने, “पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएकाले पर्यटकको चहलपहल पनि बढेको छ ।”

मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेञ्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्ण चौधरीले बताए ।

आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि होमस्टे र निकुञ्जको महत्व बढ्दै गएको उनको अनुभव छ । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा गाभर होमस्टे, खड्कवार होमस्टे र नयाँगाउँ होमस्टे सञ्चालित छन् । 

आरके परियारको नयाँ तीज गीत “चसक्कै भो दिल ” सार्वजानिक

रमेश बि.क.रसाईली \काठमाडौं,

मोडल तथा सर्जक आरके परियारको नयाँ तीज गीत चसक्कै भो दिल आईतवार सार्वजानिक भएको छ ।
गायिका सुनिता बुढाको स्वर रहेको गितलाई आरके आफैले रचना गरेका हुन भने श्यामस्वेत रसाईलीको संगित संयोजन र मिक्सिङ्ग मास्टरीङ्गमा प्रिज्म स्टुडियोमा गितको अडियो तयार भएको हो ।
निर्देशक मौसम हिमालीको नृत्य रचनासंगै निर्देशन,बुद्ध थापाको छायाकंन र मनोज कार्कीको सम्पादनमा निर्मित गितको भिडियोमा मोडल आरकेसंगै रुविना परियार र सुप्रिया परियारको अभिनय र नृत्य रहेको छ ।

यसअघि नै दर्शकमाझ धोका,घृणा,कसैको हुन दिन्नँ,पराई जस्ता सफल सृजना पस्किसकेका आरकेले आफ्ना पुराना सृजनाजस्तै चसक्कै भो दिलले पनि दर्शक श्रोताको भरपुर माया पाउनेमा आफु विश्वस्त रहेको बताएका छन ।

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा रुपान्तरण गरिने

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा रुपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार क्यानका पदाधिकारी, पूर्वक्रिकेटर, कलाकार केकी अधिकारी र प्रकाश सपुतलगायत क्रिकेटप्रमीसँगको संयुक्त भेटमा प्रधानमन्त्री ओलीले क्रिकेट, खेलाडी र यससँग सम्बन्धित पक्षको विकास र विस्तारका विषयमा छलफल गरेका हुन् र

“क्रिकेट रङ्गशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो । यससँगै रङ्गशाला निर्माणलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने विश्वास लिएका छौँ”, प्रधानमन्त्री ओलिले भने ।

मन्त्रिपरिषद्को पहिलो बैठकले त्रिवि मैदानलाई तीन सय दिनमा अन्तर्राष्ट्रितनस्तरको सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको थियो ।

बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेती

टक्सार ।  बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुटन थालेका छन् । वषौँदेखि बाँझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका छन् ।

ड्रागन फ्रुटको माग बढेसँगै भोजपुर नगरपालिका–१२ टक्सारको पिप्लेमा बाँझो रहेको एक सयभन्दा बढी रोपनी जग्गा भाडामा लिई ‘भोजपुर ड्रागन फ्रुट कम्पनी’ले व्यावसायीकरुपमा खेती गरेको छ ।

झण्डै ५० रोपनी जग्गामा अहिले ड्रागन फ्रुटको खेती गरिएको छ । ड्रागन फ्रुटका आठ हजार बिरुवा रोपिएको सञ्चालक एक्सन राईले बताए । यस वर्ष आठ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुने उनको अनुमान छ ।

यस्तै टेम्केमैयुङ गाउँपालिका–८ सल्लेनीमा ४२ रोपनी जग्गामा कृषक शम्भु नेपालले ड्रागन फ्रुट र कागती खेती गर्दै आएका छन् । बाँझो जमिनमा चार वर्ष अघि ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता गरी कृषि कर्म सुरु गरेको उनले बताए । नेपालले हाल वार्षिक सात लाख रुपैयाँसम्म आाम्दानी गर्दै आएका छन् ।

सिँचाई अभाव, बसाइँसराईलगायत कारण बाँझिएका जमिनमा लगाइएको ड्रागन फ्रुट, एभोकाडो, कागती, टिमुर र किवीबाट वार्षिक मनग्य आम्दानी लिन थालेको कृषक कमल भुजेलले बताए । जिल्लाको पूर्वीपौवादुङ्मा गाउँपालिकाको छोकिमालामा विगत पाँच वर्षदेखि बाँझिएको ३० रोपनी जग्गामा तीन वर्ष अघि कृषक भुजेलले टिमुर, एभोकाडोलगायतको खेती गर्दै आएका छन् ।

गाउँघरमा रहेका बाँझो जग्गाको सही सदुपयोग गर्न सकिएमा यसले वैदेशिक रोजगारीमा जाने युवाको ध्यानसमेत तान्ने स्थानीय इन्द्र थापाले बताए । अर्का कृषक हरि गौतमले पछिल्लो समयमा देखिएको कृषकमा फलफूल मोहले बाँझिएको जग्गाको सदुपयोग मात्र नभएर आम्दानीसमेत भइरहेको बताए । यस्ता कृषकलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारले प्रोत्साहन हुने गरी कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाइ छ ।

पर्वतमा ढुसीको सङ्क्रमणले धानबाली नष्ट

पर्वत । पर्वतका  कृषकले लगाएको धानबाली ढुसीको सङ्क्रमणले नष्ट हुन थालेको छ। धान रोपेको एक महिनामा ढुसी रोगका कारण धानका गाँजहरु मर्दै जान थालेपछि कृषक चिन्तित बनेका छन्।

जिल्लाको फलेबास नगरपालिकाका सबैजसो वडा, कुश्मा, विहादी, महाशिलालगायत वडामा लगाइएको धानबालीमा जरा कुहिने रोग लागेको फलेबास नगरपालिकाकाको कृषि शाखा प्रमुख केदार सापकोटाले जानकारी दिए। ‘फुट रुट’ नामक उक्त रोग ढुसीका कारण लागेको र यसले कतिपय स्थानमा धानखेत रित्तिँदै जान थालेको उनले बताए।

सापकोटाका अनुसार अहिले यो समस्या देशव्यापी रुपमा देखापरेको छ। ‘यो रोग ढुसी नामक फुजारिएम मोनिलिफर्मबाट लाग्ने गर्दछ’, उनले भने, ‘ब्याडमा कलिलो बिरुवादेखि खेतमा धान छिप्पिने बेलासम्म यो रोग देखापर्ने सम्भावना रहन्छ। यसलाई समयमै नियन्त्रण गर्न नसक्ने हो भने ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउँछ।’

जिल्लास्थित कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सोविता सुवेदीले बीउको उपचार नगरिकन रोपाइँ गरिएकाले धानबालीमा ढुसी रोग फैलिएको बताए। धानले गाँंज राख्ने बेलामा रोग फैलिएकाले तत्काल उपचार गर्नुपर्ने उनको सुझाव छ।

यो रोगबाट बाली जोगाउनका लागि रोगी बोट तत्कालै हटाउने, ‘कार्बेन्डाजिम–५०५’, ‘डब्लु पी–९’, ‘बेभिष्टिन–०’, लगायत ढुसीनाशक विषादी प्रयोग गर्नुपर्ने बाली संरक्षण अधिकृत सुवेदीले जानकारी दिए। ढुसीनाशक औषधि प्रयोग गर्दा दुई ग्राम प्रतिलिटर पानीका दरले एक रोपनी क्षेत्रफलमा २५ देखि ३० लिटरको घोल बनाएर १० दिनको फरकमा दुईदेखि तीन पटक छर्कनुपर्ने उनले बताए। सुवेदीका अनुसार अपह्न्न ४ बजेपछि विषादी छर्किंदा उपयुक्त हुन्छ।

धमाधम धानका बोट मर्न थालेपछि खेत रित्तै हुन थालेको फलेबास–३ शङ्करपोखरीका कृषक शिव अधिकारीले बताए। उनले धानमा रोग लागेपछि आफूले लगाएको पोखरेली जेठो बुढो, एक्ले, पहेँलेलगायत बाली नष्ट भएको गुनासो गरे।

फलेवास–९ भँगरामा मात्रै ९० रोपनी क्षेत्रफलमा गरिएको पोखरेली जेठोबूढो धानखेतीमा ढुसी र फट्याङ्ग्राले नष्ट गरेको कृषक लोकप्रसाद काफ्लेले बताए। ठूलो लगानी गरेर धानखेती गरे पनि रोग लागेर नष्ट गरिदिएको उनको गुनासो छ।

फलेबास नगरपालिकाको कृषि शाखाका अनुसार रैथाने जातका धान र खुमल–४ तथा जेठो बुढो धान लगाएका ठाउँमा ढुसीको सङ्क्रमण बढी देखिएको छ। विषादी प्रयोग गर्नुअघि रोगग्रस्त बोटहरु उखेलेर नष्ट गर्ने, पानीको निकासा गर्ने, नाइट्रोजनयुक्त मलको प्रयोग गर्न नहुने कार्यालयका कृषि शाखा प्रमुख सापकोटाले बताए।

नगर कृषि सञ्जाल फलेबासका संयोजक विनोद भुसालले पर्वतको धानबालीमा ठूलो समस्या आएको बताउँदै यसले किसानलाई निरुत्साहित बनाएको उल्लेख गरे। कतिपय स्थानमा गाँज राख्ने बेलाको धान मरेर खेत पूरै खाली हुन थालेको भन्दै तत्काल उपचार गर्नुपर्नेमा उनले जोड दिए।

कृषि ज्ञान केन्द्र पर्वत र फलेबास नगरपालिकाको कृषि शाखाबाट निःशुल्क रुपमा कृषकलाई ढुसीनाशक औषधि उपलब्ध गराइएको संयोजक भुसालले जानकारी दिए। 

पेरिस ओलम्पिकमा चीन शीर्ष स्थानमा

पेरिस ओलम्पिक खेलमा चीनले १६ स्वर्ण, १२ रजत र नौ कास्यसहित सबैभन्दा बढी ३७ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।

दोस्रोमा संयुक्त राज्य अमेरिकाले १४ स्वर्ण, २४ रजत र २३ कास्यसहित कुल ६१ पदक हात पारेको छ भने फ्रान्सले १२ स्वर्ण, १४ रजत र १५ कास्य पदकसहित कुल ४१ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौँथो स्थानमा रहेको अष्ट्रेलियाले १२ स्वर्ण, आठ रजत र सात कास्यसहित २७ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १० स्वर्ण, १० रजत र १३ कास्यसहित कुल ३३ पदक जितेको छ ।

पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले नौ स्वर्ण, सात रजत र र पाँच कास्यसहित कुल २२ पदक जितेको छ भने जापानले आठ स्वर्ण, पाँच रजत र नौ कास्यसहित २२ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको इटालीले छ स्वर्ण आठ रजत र पाँच कास्यसहित कुल १९ पदक जितेको छ भने नेदरल्यान्डसले छ स्वर्ण, चार रजत र चार कास्यसहित कुल १४ पदक जित्दै नवौँ स्थानमा रहेको छ । क्यानडाले चार स्वर्ण, चार रजत र सात कास्यसहित कुल १५ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।

बङ्गलादेशमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै भएको विरोध प्रदर्शन जारी, ‘जनताको साथमा’ रहेको सेनाको भनाइ

हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरू प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सामुहिक विरोध प्रदर्शनका लागि आइतबार मध्य ढाकामा भेला भएका छन् ।

प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हजारौं प्रदर्शनकारी र सरकारबीच आइतबार झडप हुँदा थप आठ जनाको मृत्यु भएको छ । सरकारी सेवामा आरक्षण प्रणालीविरुद्धको र्यालीका क्रममा जुलाईदेखि शनिबारसम्म भएका हुलदङ्गामा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।

राष्ट्रव्यापी नागरिक अवज्ञा अभियानका प्रमुख प्रदर्शनकारीमध्ये एक आसिफ महमुदले समर्थकहरूलाई सरकारविरुद्ध लड्न तयार हुन आग्रह गरेका छन् ।

‘बङ्गलादेशलाई स्वतन्त्र बनाउने तयारी गर्नुहोस्,’ उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सेनाले आरक्षण प्रणालीको चर्को विरोधका बीच सरकार पुनर्स्थापना गर्न मद्दत गरिरहेको बेला केही पूर्व सैन्य अधिकारीहरू भने विद्यार्थी आन्दोलनमा सामेल भएका छन् ।

पूर्व सेना प्रमुख जनरल इकबाल करिम भुइयाँले प्रदर्शनसँग समर्थित रहेको प्रतिबिम्बित गर्दै आफ्नो फेसबुक प्रोफाइल तस्बिर रातो बनाएका छन् ।

वर्तमान सेना प्रमुख वाकर–उज–जमानले ढाकाको सैन्य मुख्यालयमा अधिकारीसँग कुरा गर्दै भने, ‘बङ्गलादेशी सेना जनताको विश्वासको प्रतीक हो ।’

‘हामी सँधै जनताको पक्षमा उभिएका छौ र जनताको हित र राज्यको कुनै पनि आवश्यकताको समयमा जनताको साथमा हुनेछौँ,’ सेनाको विज्ञप्तिमा उनले भने । विज्ञप्तिमा सेनाले विरोध प्रदर्शनलाई समर्थन गरेको छ वा छैन भनेर स्पष्ट रूपमा भनिएको छैन ।

सरकारी सेवामा आरक्षण प्रणाली विरुद्धको ¥यालीले जुलाईमा निम्त्याएको हुलदङ्गामा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।

सेनाले केही समयका लागि आन्दोलनको अवस्था शान्त बनाएर व्यवस्था पुनःस्थापित गरेको भएतापनि प्रधानमन्त्रीको राजीनामाको माग गर्दै यस हप्ता ठूलो सङ्ख्यामा जनता पुनः सडकमा फर्किएका छन् ।

भारतमा धार्मिक कार्यक्रममा पर्खाल भत्किँदा नौ बालबालिकाको मृत्यु

भारतको मध्य प्रदेश राज्यमा एक धार्मिक कार्यक्रमका क्रममा पर्खाल भत्किँदा कम्तीमा नौ बालबालिकाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।

मध्य प्रदेशको राजधानी भोपालबाट करिब २०५ किलोमिटर उत्तरपूर्वमा पर्ने सागर जिल्लाको शाहपुर गाउँमा पर्खाल भत्किएको हो ।

‘आइतबार शाहपुरको हरदौल बाबा मन्दिर नजिकै भएको दुःखद घटनामा १० देखि १५ वर्ष उमेर समूहका नौ बालबालिकाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । मन्दिरको छेउमा रहेको घरको भित्ता ढल्दा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि मानिसहरू मन्दिरमा जम्मा भएका थिए,’ एक प्रहरी अधिकारीले भने ।

पचास वर्ष पुरानो र जीर्ण घर बर्खायाममा भारी वर्षाका कारण भत्किएको उनले बताए ।
घटना लगत्तै उद्धार र भग्नावशेषमुनिबाट मृतकलाई निकाल्न प्रकोप प्रतिकार्य बलका जवानहरू र प्रहरी टोलीहरू घटनास्थलमा पठाइएको अधिकारीहरूले जनाएका छन् ।

घाइते बालबालिकालाई उपचारका लागि अस्पताल लगिएको छ ।

त्यसैगरी, शनिबार भएको राज्यको रीवा जिल्लामा एक अर्को घरको पर्खाल भत्किँदा चार बालबालिकाको मृत्यु भएको छ । पाँचदेखि सात वर्ष उमेर समूहका ती बालबालिका विद्यालयबाट फर्कंदै गर्दा पर्खाल भत्किएको थियो ।

नेकपा एकीकृत समाजवादीका नेता नागेन्द्र राय यादव नेकपा एमालेमा प्रवेश

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता नागेन्द्र राय यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

समाजवादीबाट मधेश प्रदेश सरकारमा राज्यमन्त्री समेत बनिसकेका यादव आइतबार एमाले प्रवेश गरेका हुन् । उनीसहित मधेश प्रदेशबाट बिभिन्न दलका नेता तथा कार्यकर्तालाई आइतबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गरेका हुन् ।

सो क्रममा अध्यक्ष ओलीले इमान्दारीताका साथ पार्टी, देश र जनतामा केन्द्रीत भइ काम गर्न आग्रह गरे । उनले गुटका पछाडी नभइ पार्टीका पक्षमा दृढ रुपमा उभिनुपर्नेमा जोड दिए । बिभिन्न कठिनाई, षडयन्त्रलाई चिरेर अहिलेको अवस्थामा आइपुगेको भन्दै ओलीले भविष्यमा थप सफलता प्राप्त गर्दै अघि बढ्ने उल्लेख गरे ।

एमाले प्रवेश गरेका यादवले कम्युनिष्टलाई समाप्त पार्ने गरि नेकपा एकीकृत समाजवादी अघि बढेकाले पुरानो एमाले पार्टीमा प्रवेश गरेको बताए ।

अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को–हजबेन्ड’

काठमाडौँ ।  नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान)लाई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउने भएका छन् । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ३५ मिनेटको  वृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो ।

सन् १९६८ मा अमेरिकामा स्थापित डकुमेन्ट्री एजुकेशनल रिसोर्सेसले अमेरिका र क्यानडाका क्याम्पस र विश्वविद्यालयमा सन्दर्भ सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउन लागेको हो ।

को–हजबेण्डले विश्वका थुप्रै देशमा दर्जन अवार्ड जित्न सफल भएको छ । यसअघि क्यानडाको टोरोन्टोमा अमेरिकन एन्थ्रोपोलिजिकल एशोसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीबाट आयोजित ३६ वर्ष पुरानो सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको थियो ।

बहुपति प्रथामा आधारित यो बृत्तचित्रमा घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ ।

सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । करिब चार वर्षको छायाङ्कनमा सो वृत्तचित्र निर्माण गरिएको हो । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।

निर्देशक पाण्डेले मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरूमा उत्कृष्ट सन्दर्भ सामग्रीको रुपमा ‘को–हजबेण्ड’ लाई समावेश गरिनु देशका लागि पनि गर्वको कुरा भएको बताए । यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो ।

विद्युत प्राधिकरण संचालक समितिका सदस्यद्वय पुन र आचार्य पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएको छ ।

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको हो । डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्नन हुने भन्दै अडान लिएका आचार्य र पुनलाई साउन १५ मा लिखित स्पष्टिकरण माग गरिएको थियो । साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए । सोही दिन उनीहरूलाई सञ्चालक समिति सदस्यबाट हटाउने निर्णय भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि साउन ७ गतेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेको थियो ।

यो निर्णयमा सञ्चालकद्वय पुन र आचार्यले भने फरक मत राखेका थिए । बैठकमा फरक मत राखेकोमा उनीहरुसँग सरकार असन्तुष्ट बनेको थियो ।

प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।

फिल्म ‘रोल नं १’ निर्माण हुने

काठमाडौँ । बाल मनोविज्ञानमा आधारित रहेर फिल्म ‘रोल नंं १’ निर्माण हुने भएको छ। सेभेन सिज सिनेमाको प्रस्तुति रहने फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो।

फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । फस्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ। फिल्मको छायाँकन तिहारपछि गर्ने तयारी रहेको छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको संगीत रहनेछ ।

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आइसकेको छ। यो ब्यानरको अर्को फिल्म ‘पूर्ण बहादुरको सारंगी’को सुटिङ पूरा भई पोस्ट प्रोडक्सनमा छ।

परराष्ट्र सचिव लम्साल सोमबार ओमान जाँदै

काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन राजधानी मस्कट प्रस्थान गर्दैछिन् ।

सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेको मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुनेछिन् । उनी यही साउन २५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार कांग्रेसकातर्फबाट चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरूले आइतबारै पदभार ग्रहण गर्ने छन् ।

कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले प्रदेशसभामा विश्वासको मत पाउने पक्का भएको छ । मुख्यमन्त्री कँडेलले सोमबार प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

स्याङ्जाको वालिङमा बसाइँसरी आउनेको तुलनामा जाने तेब्बर

वालिङ (स्याङ्जा) । पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार यहाँको वालिङमा बसाइँ सरी आउनेको तुलनामा जाने तेब्बर देखिएका छन् ।

व्यक्तिगत घटना दर्ता प्रतिवदेनअनुसार वालिङमा पछिल्ला दुई आवमा एकहजार चार सय १७ जना बसाइँ सरेर गएका छन् भने चार सय ८१ जना बसाइँ सरी आएका छन् ।

वालिङ नगरपालिका पञ्जिकरण शाखाका ‘फोकल पर्सन’ नारायण रेग्मीका अनुसार आव २०७९/०८० मा दुई सय २२ घरधुरीका आठ सय १२ जना बसाइँ सरी गएका थिए । सोही आवमा ७५ घरधुरीका दुई सय ८४ जना बसाइँ सरी आएका थिए ।

आव २०८०/०८१ मा १८१ घरधुरीका छ सय पाँच जना बसाइँ सरी गएका छन् । सोही आवमा ५५ घरधुरीका एकसय ९७ जना बसाइँ सरी आएका छन् ।

वालिङ नगरपालिकाका केही वडामा बजार विस्तार भइरहेको छ । केही वडा ग्रामीण र भौगोलिक दृष्टिले विकट छन् । ग्रामीण तथा विकट क्षेत्रबाट बजारमा बसाइँ सर्ने र बजारमा बस्दै आएकाहरु ठूला शहर तथा विदेश जाने प्रचलन बढ्दै गएको हो ।

‘स्वास्थ्य, शिक्षा र अन्य सुविधाका लागि ग्रामीण वडाबाट शहरी वडामा बसाइँ सरेर आउने र शहरी वडाबाट अन्यत्र बसाइँ जाने गरेको देखिन्छ’, रेग्मीले भने, ‘समग्रमा नगरपालिकाभित्र आउनेभन्दा जाने बढी देखिएको छ ।’

नगरका १४ वटा वडाबाट बसाइँसराई गर्ने केही नगरभित्रकै एउटा वडाबाट अर्को वडामा गएको र धेरैजसो वालिङभन्दा अन्यत्र गएको तथ्याङ्क छ । वालिङमा उच्च शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता कारणले गर्दा यहाँबाट बसाइँसराई गरी अन्यत्र जाने गरेको नगर प्रमुख कृष्ण खाँणले बताए ।

‘बसाइँसराईका मुख्य कारण स्वास्थ्य, शिक्षा, रोजगारी मुख्य हुन् भने अन्य कारण पनि हुन सक्छन्’, उनले भने, ‘वालिङमा बसाइँ सरी आउनेभन्दा जाने धेरै हुनु पक्कै राम्रो कुरा होइन, यो गम्भीर विषय भएकाले यो छलफलको विषय बनाउनु जरुरी छ ।’

यहाँका नागरिकलाई वालिङमै रहने वातावरण बनाउन वालिङ नगरपालिकाको तर्फबाट गर्न सकिने सबै प्रयास गर्न नगरपालिका प्रतिवद्ध रहेको उनले बताए ।

वालिङमा सुविधा सम्पन्न अस्पताल नहुनु, सिद्धार्थ राजमार्गलगायतका सहायक सडकको स्तरोन्नति नहुनु, उच्च शिक्षा अध्ययनका लागि विद्यालय नहुनु, पछिल्लो समय वालिङमा महङ्गी धेरै हुनु जस्ता कारण पनि यहाँबाट मानिस अन्यत्रै जाने गरेको हुनसक्ने अनुमान गरिएको छ ।

म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका–२ र्‍यालेखोरमा लिफ्ट प्रविधिबाट खानेपानी आयोजना निर्माण भएको छ । सौर्य ऊर्जाको प्रयोग गरेर र्‍यालेखोर बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरी वितरण गरिएको हो ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको साझेदारीमा उक्त आयोजना निर्माण भएको हो । आयोजना निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग गरेको नेवाका प्राविधिक गोर्खबहादुर शाहीले मुहानबाट एक सय ९ मिटर माथि रहेको टङ्कीमा तानेर वितरणको व्यवस्था मिलाएको जानकारी दिए ।

उनका अनुसार प्रतिसेकेण्ड दुई लिटरका दरले तानिएको पानी २४ वटा घर र त्रिभुवन मङ्गला माविमा निजी धारामार्फत वितरण गरिएको हो ।

९२ लाख २४ हजार नौ सय ८७ को लगानीमा र्‍यालेखोर, खुुम्लीया र भाइवाङमा खानेपानी आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले बताए ।

उनले र्‍यालेखोर र भाइवाङका एक सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा आठ वटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको जानकारी दिए । भाइवाङ र खुम्लीयामा पधेराको मुहानको पानी वितरण गरिएको छ ।

“यसअघि चाररपाँच घरका लागि एउटाका दरले बनाइएको सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो”, आचार्यले भने, “वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।”

मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका उनको भनाइ छ । घरघरमा धाराका साथै भाडा माझ्ने जुठेल्ना र सुकाउने पक्की चाङ बनाइएको छ ।

नेवाको ३८ लाख ७१ लाख तीन सय सात, मङ्गला गाउँपालिकाको २७ लाख अनुदान र उपभोक्ताको २२ लाख ७८ हजार चार सय ६८ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

अध्यक्ष आचार्यका अनुसार उपभोक्ताले श्रमदान गर्नुका साथै थप रु तीन लाख ७५ हजार दुई सय १२ नगद सङ्कलन गरिएको थियो । स्थानीय पुष्पा गौतमले घरकै धारामा नियमित खानेपानी आउन थालेपछि समयको बचत, झञ्झट र सास्ती हटेको बताए । खानेपानीका साथै नुहाउन, कपडा धुन, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि पानी लिन सार्वजनिक धारामा जाने समय बचत भएको उनको भनाइ छ ।

नेवाको सहयोगमा मङ्गला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माण भएका छन् । खानीगाउँका ३७ घर र एक विद्यालय तथा हिदीका ६४ घरमा निजी धारासहित खानेपानी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले जानकारी दिए ।

अरनिको राजमार्ग विस्तारका लागि बनेपामा विद्युत् व्यवस्थापनमा कठिनाइ

काभ्रे । अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सीमास्थल साँगादेखि धुलिखेलसम्म सडक विस्तार कार्यले तीव्रता पाएको छ । यससँगै सडक किनारामा खम्बा गाड्दा विद्युत् लाइन घर नजिक हुने भएकाले विद्युत् व्यवस्थापनका लागि कठिनाइ भएको जनाइएको छ ।

हाल सडक विस्तार कार्य भइरहँदा धुलिखेलतर्फबाट विद्युत्का खम्बा धमाधम गाड्न सुरु गरि गाडिएका विद्युत्का खम्बामा ‘एङ्गल’ राख्ने काम सुरु गरिएको छ । यसपछि तार टाँगिनेछ । धुलिखेलतर्फबाट बुडोलसम्म खम्बा गाडीसकेपछि मुख्य बजार बनेपामा भने विद्युत् व्यवस्थापनमा समस्या देखिएको हो । सडक दायाँबायाँका घरका झ्यालमा विद्युत्का तार पुग्ने भएकाले व्यवस्थापनमा कठिनाइ देखिएको हो ।

जोखिम धेरै हुने भएकाले सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले बजार क्षेत्रभित्र खम्बा राख्ने स्थानको खोजी गरिरहेको जनाएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले बनेपा बजार क्षेत्रमा विद्युत्बाट कुनै पनि समस्या ननिम्त्याउन दीर्घकालीन समाधान खोजिरहेको बताए । “बजार क्षेत्रका बासिन्दा निकै आतङ्कित देखियो, हामी समाधान खोजिरहेका छौँ”, उनले भने । उनका अनुसार त्यसको व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

पूर्वाधार निर्माणमा ८८ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । सूर्यविनायक–धुलिखेल सडकखण्ड निर्माणमा २७ प्रतिशत प्रगति भएको हो । सूर्यविनायक–साँगा खण्डमा २५ र साँगा–धुलिखेल खण्डमा ३० प्रतिशत निर्माण कार्य सकिएको छ । साइड पर्खाल, कल्र्भटलगायतका महत्वपूर्ण निर्माणका कार्य ८८ प्रतिशत सकिएको छ ।

तीन वर्षमा सक्नेगरी विस्तार कार्य थालिएको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको थियो ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालयका अनुसार उक्त राजमार्गमा प्रारम्भिक चरणमा सूर्यविनायकदेखि धुलिखेलसम्म नै सडक छेउमा पर्खाल निर्माणको काम भइरहेको छ ।

विस्तारअन्तर्गत बनेपा बजार क्षेत्रमा सडक चौडा बनाउन काम सुरु गरिएको छ भने धुलिखेलदेखि बनेपा तथा साँगादेखि बनेपासम्म सडक चौडा बनाउन विस्तार क्षेत्र खालीगरी आवश्यक स्थानमा पर्खाल तथा कल्भर्ट निर्माण भइरहेका छन् ।

दासका अनुसार यसअघि सडक मापदण्डमा परेका खानेपानी आयोजनाका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भई सहमतिअनुसारको काम भइरहेको छ । यस्तै जिल्लाको मुख्य सहर बनेपा क्षेत्रस्थित एक किमी सडक विस्तारका लागि संरचना निर्माण गर्न सुरु गरिएको छ ।

सडक विभागका अनुसार कूल १५ दशमलव पाँच किमी सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको थियो भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी रहेको छ ।

उक्त खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । सूर्यविनायकदेखि धुलिखेलसम्म विभिन्न स्थानमा निर्माण गर्नुपर्ने पुलका लागि भने छुट्टै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ । 

सरकारले पपुलिस्ट हुने वा स्टन्टबाजीका रूपमा कुनै काम गर्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले सस्तो लोकप्रियताका लागि स्टन्टबाजी नगर्ने बताएका छन् ।

आइतबार पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्टन्टबाजीका रूपमा सरकारले कुनै काम नगर्ने बताएका हुन् ।

विगतमा स्टन्टबाजीका धेरै काम भएका भन्दै आफूहरुले त्यसो नगर्ने बताए । उनले भने, ‘कांग्रेस र एमालेको समीकरणले कुनै भुलभुलैयामा, पपुलिस्ट हुने वा स्टन्टबाजीका रूपमा कुनै काम गर्दैन ।’

प्रधानमन्त्रीले लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानको स्वीकार्यता र प्रभावकारी अभिवृद्धि गर्न संविधान संशोधन गरिने बताए । उनले एमाले देश चलाउन वैचारिक र सांगठनिक हिसाबले हकदार पार्टी भएको बताए ।

उनले भने, ‘नेकपा एमाले एउटा बलिदानपूर्ण संघर्षको लामो इतिहास बोकेको पार्टी हो । ७५ वर्षको राजनीतिक आन्दोलनमा संलग्नता/सहभागिता मात्र होइन नेतृत्व गरेको पार्टी हो। कहिले वैचारिक, कहिले व्यवहारिक र सांगठनिक हिसाबले नेतृत्व गरेको पार्टी हो।’

प्रधानमन्त्री ओलीले एमाले र संविधान संशोधनप्रति भ्रम फैलाउने कोसिस भइरहेको बताए।

काभा वुमन्स नेसन्स लिगमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । काठमाडौंमा भइरहेको काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आज आफ्नो तेस्रो खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।

यसअघि खेलेको दुवै खेलमा जित हात पारेको नेपाल इरानलाई पराजित गर्दै लिगमा शीर्ष स्थानमा पुग्ने लक्ष्यमा छ । नेपालले यसअघि श्रीलंकालाई सोझो सेट र भारतलाई रोमाञ्चक खेलमा ३-२ ले पराजित गरेको थियो ।

शनिवार भारतलाई हराउँदै इतिहास बनाएको नेपाली टोली लयमा छ र इरान विरुद्ध पनि त्यो लय कायम राख्दै जित निकाल्ने योजनामा हुनेछ । इरान आज लिगमा आफ्नो अन्तिम खेल खेल्दैछ ।

लिगमा शीर्ष स्थानमा रहे सेमिफाइनलमा कमजोर प्रतिस्पर्धी पर्ने भएकोले नेपालले लिगको सबै खेल जितेर शीर्ष स्थानमा रहन चाहन्छ ।

इरानलाई पराजित गरेमा नेपाल शीर्ष स्थानमा पुग्नेछ । हाल भारत तीन खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ । नेपाल दुई खेलबाट ५ अंकसहित दोस्रोमा भने भने तीन खेलबाट ५ अंक नै भए पनि तेस्रो स्थानमा छ ।

आजै दिउँसो ३ बजे श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । जितविहिन दुवै टोली पहिलो जितको लक्ष्यमा छन् ।

श्रीलंका नेपालसँग सोझो सेट र इरानसँग रोमाञ्चक खेलमा ३-२ ले पराजित भएको थियो । श्रीलंकाको दुई खेलबाट १ अंक मात्र छ । माल्दिभ्स भारत र इरानसँग पराजित भएको थियो ।

प्रतियोगितामा पाँच टोली सहभागि छन् र लिग चरणको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । पाँचौ स्थानमा रहने टोद्यी भने बाहिरिनेछन् ।

नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सुरु हुने

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो ।

सडक निर्माणका लागि यही साउन १० गते पुनःएक वर्ष म्याद थप भए पनि अहिले सडक विस्तारको काम भने रोकिएको छ । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्ने खण्डमा अहिले सामान्य सडक मर्मत कार्यबाहेक अन्य काम ठप्प रहेको छ ।

बर्खाका कारण यो समयमा सडक कालोपत्र र विस्तारको काम नभए पनि पर्खाल निर्माण र मर्मतको काम भइरहेको नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालले बताए ।

‘सडक विस्तारको काम पूर्ण रूपमा बन्द छ भन्न त मिल्दैन, तर यो समयमा सडक कालोपत्रबाहेकको सामान्य पर्खाल निर्माण र खाल्डाखुल्डी मर्मतका लागि पूर्वी खण्डमा ६४ जना कामदार खटिएका छन्’, उनले भने ।

सडक कालोपत्र र विस्तारको काम कात्तिक १५ देखि मात्र सञ्चालन गर्नेगरी समय तालिका निर्माण कम्पनीले सरकारी पक्षलाई उपलब्ध गराएको छ । योबीचमा मर्मत र पर्खाल निर्माण गर्नेगरी कार्यतालिका पेस गरेको भए पनि सोअनुसारको काम पनि अहिले सडकमा भएको देखिएको छैन ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन प्रालिले सडक विस्तारको काम मनसुन सुरु भएदेखि नै रोकेको थियो । यसअघि थपिएको म्याद यही साउन ८ गते सकिएपछि सरकारले थप एक वर्षका लागि म्याद थपिदिएको हो ।

निर्माण कम्पनीले दुई पटक म्याद थप्दा पनि काम नसकेपछि सरकारले तेस्रो पटक म्याद थपेको हो । छोटो अवधिका लागि म्याद थप भए पनि निर्माण प्रगति हेर्दा थप म्यादमा पनि कार्यसम्पन्न हुनेमा आशङ्का गरिएको छ । इञ्जिनियर खनालले भने यो अन्तिम पटकका लागि म्याद थप भएकाले निर्माण पक्षले समयमै कामसक्ने अपेक्षा लिएको बताए ।

निर्माण कम्पनीले सरकारी पक्षलाई दिएको जानकारीअनुसार पूर्वी खण्डमा कामदार र कर्मचारीसहित एक सय ९८ जना खटिएका छन् । वर्षाले सडकमा पहिरो जाने र अवरुद्ध हुनसक्ने स्थानमा प्राथमिकता दिएर कामदार खटाएको निर्माण कम्पनीले जनाएको छ ।

‘सरकारले यो पटकको म्यादलाई अन्तिम पटक भनेकाले ठेकेदार कम्पनीले यसलाई अन्तिम अवसर ठानेर काम गर्ने छ भन्ने हामीले ठानेका छौँ’, इञ्जिनियर खनालले भने ।

अघिल्लो वर्ष म्याद थप हुँदा सडकको भौतिक प्रगति ४२ प्रतिशत थियो । सडकको भौतिक प्रगति अहिले पूर्वी खण्डमा ५२ प्रतिशत रहेको इञ्जिनियर खनालले जानकारी दिए ।

एक सय १३ किमी सडकमध्ये ७० किमी चार लेन, २९ किमी चार लेनसहित दुवैतर्फ छ/छ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी तीन लेन, ६४ पुल, चार सय ६२ कल्भर्टलगायत संरचना निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको यो आयोजनामा हालसम्म २६ दशमलव पाँच किमी चार लेन र २२ किमी दुई लेन सडक कालोपत्र, ४२ पुल र तीन सय ८० कल्भर्ट निर्माण गरिएको छ ।

विसं २०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्नेगरी २०७५ साल चैतमा यस सडक विस्तारको शिलान्यास गरिएको थियो ।

सडक विस्तारको काम समयमै सम्पन्न नहुँदा यो सडकखण्डको यात्रा निकै कष्टकर हुने गरेको छ । घाम लाग्दा धुलो र वर्षामा हिलोले गर्दा यो सडकखण्डको यात्रा अति कष्टकर हुने गरेको हो । 

शिक्षा क्षेत्रका समस्या समाधान गर्न समग्र शिक्षण तथा मूल्याङ्कन प्रणालीको पुनःसरचना आवश्यकः शिक्षामन्त्री भट्टराई

गण्डकी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न समग्र शिक्षण तथा मूल्याङ्कन प्रणालीको पुनःसरचना आवश्यक रहेको बताएकी छन् ।

प्रेस चौतारी कास्कीद्वारा आइतबार पोखरामा आयोजित पत्रकार भेटघाटमा मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन निर्माणमा शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिले छलफललाई निरन्तरता दिएको बताइन् ।

त्रिभुवन विश्वविद्यालयलाई व्यवस्थित नगरेसम्म जनमानसमा विश्व विद्यालयप्रति आशा जगाउन नसकिने भन्दै उनले शिक्षा ऐन, नीति र कानुन नभएमा राज्य सञ्चालन गर्न अप्ठ्यारो परिस्थित व्यहोर्नुपर्ने बताइन् ।

शिक्षा क्षेत्रका समग्र समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन प्राथमिकता निर्धारण गरी अघि बढ्ने बताउँदै मन्त्री भट्टराईले विद्यालय खाजा कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोड्ने लक्ष्यका साथ विभिन्न मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिइन् ।

दोषीलाई दण्ड र निर्दोषलाई सफाइ पाउने प्रणाली व्यवस्थित गर्दै लोकतान्त्रिक राज्यको अवधारणा निर्माण गर्न मन्त्रालय अघि बढेको उनको भनाइ छ । उनले उच्च शिक्षाको पाठ्यक्रमलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

राज्य शिक्षासँग जोडिन अपरिहार्य भएको हुँदा शिक्षालाई नीतिले नेतृत्व गर्नुपर्नेमा जोड दिँदै उनले हालै आएको एसईई तथा कक्षा १२ को परीक्षाफल सन्तोषजनक नभएको भन्दै दिगो परीक्षा प्रणालीलाई परिमार्जन गर्नुपर्ने बताइन् ।

वर्तमान सरकार मुलुकमा सुशासन र समृद्धिसहित जनतामा विश्वास र आशा जगाउने लक्ष्यका साथ अघि बढेको उनको भनाइ छ ।

अन्नपूर्ण पदमार्गमा वर्षेनी पाँचभन्दा बढी पर्यटकले गुमाउँछन् ज्यान

मनाङ । जोखिमयुक्त मानिने अन्नपूर्ण पदमार्ग विश्वकै पर्यटकको आकर्षणको केन्द्र मानिन्छ । विश्वकै १०औँ स्थानको जोखिममा पर्ने अन्नपूर्ण पदमार्गमा यात्राका क्रममा पर्यटकले ज्यान गुमाउने गर्दछन् । 


आर्थिक वर्ष २०८०/८१ मा पाँच पर्यटकले ज्यान गुमाएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार अधिकांश पर्यटकले लेक लागेर (हाइअल्टिट्युट) का कारण ज्यान गुमाउने गर्दछन् । 


विसं २०८० असोज १७ मा डुम्रे–बेसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोमा भिरबाट लडेर ६९ वर्षीय अमेरिकी नागरिक चाल्र्स केथ डेविसले ज्यान गुमाएका छन् ।


विसं २०८० असोज २४ मा मनाङ–खाङ्सार–तिलिचो पैदल मार्गअन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका–९ टोडाँडामा लेक लागेर ३५ वर्षीय चेत्तीय क्यान्डी भन्ने मोहमद रिजीम भारतीय नागरिकले ज्यान गुमाएका छन् । 


त्यस्तै नार्पाभूमि गाउँपालिका–२ मेतास्थित जम्बाला गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा सुतेकै अवस्थामा बेलायतका टेरेन्स ब्राडी मृत भेटिएको एक्यापको तथ्याङ्कमा उल्लेख छ ।


मनाङ ङिस्याङ–६ चुलुबेस क्याम्प नजिकै बाटोमा लेक लागेर पोर्टर धादिङ गङ्गा जमुना गाउँपालिका–५ फूलखर्कका ३५ वर्षीय हरि अधिकारी र मनाङ ङिस्याङ–९ टोगुफा स्थित पहिरो जोखिम क्षेत्र तिलिचो बेसक्याम्प जाने क्रममा दाङ घोराही उपमहानगरपालिका–९ स्थायी घर भई काठमाडौँ काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ४९ वर्षीय दधिराम डाँगीले ज्यान गुमाएका छन् । 


भारतीय नागरिक र नेपाली पर्यटक डाँगीको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । मनाङको वातावरण र मौसमको जोखिमलाई बेवास्ता गर्दा पर्यटक तथा पथप्रदर्शकले ज्यान गुमाउने गरेका उनले बताए ।


प्रमुख भुजेलले भने, ‘एउटा पथप्रदर्शकबिना नै जोखिमयुक्त यस पदमार्गको यात्रामा पर्यटक आउँछन्, मौसमको अनुकूलताको ध्यान नदिएकाले पर्यटकले ज्यान गुमाउने गर्दछन्, लेक लाग्ने क्षेत्र भएकाले एकैचोटी हाइअल्टिट्युटका कारण ज्यान गुमाउने गरेका छन् ।’


मनाङअन्तर्गतका पर्यटकीय क्षेत्र तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्न आउने पर्यटकले यहाँको मौसमको अनभिज्ञताले ज्यान गुमाउनु परेको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताए ।


उनले भने, ‘आन्ततरिक पर्यटकले अझ बढी मौसमको अनुकूलतालाई ध्यान नदिँदा यस्ता समस्या आउने गरेका छन्, न्यून चापीय क्षेत्रबाट उच्च स्थानमा पुग्दा हुने समस्यालाई ध्यान दिएमा स्वदेशी पर्यटकले ज्यान गुमाउने अवस्था होइन ।’


मनाङको मौसमलाई ध्यान दिएर यहाँको वातावरणमा घुलमिल हुँदै आउँदा भने यस्ता समस्याबाट बच्न सकिन्छ । थोरै समय लिएर यहाँ घुम्न आउने स्वदेशी पर्यटक उच्च जोखिममा पर्ने गरेका स्थानीयको भनाइ छ । 

‘मनरो डक्ट्रिन’बारे विवादित अभिव्यक्ति सच्याउन स्वर्णिम वाग्लेलाई बाबुरामको सुझाव

काठमाडौँ । ‘मनरो डक्ट्रिन’बारे विवादित अभिव्यक्ति दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई बेलैमा आफ्नो भूल सच्याउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुझाव दिएका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले ‘मनरो डक्ट्रिन’ जस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने भन्दै वाग्लेलाई आफ्नो भूल सच्याउन सुझाएका हुन् ।

उनले भनेका छन्, ‘मनरो डक्ट्रिन’जस्तो एउटा सार्वभौम देश÷क्षेत्रमा अर्को देशको ‘प्रभाव क्षेत्र’ कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन ! नेपाल जस्तो दुई ठूला देशको वीचमा रहेको मुलुकनिम्ति त झन् अकल्पनीय कुरा हो ! बेलैमा भूल सच्याउनु राम्रो होला !’

सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहको दाबी पेस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । शाहले आइतबार प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको लागि दाबी पेस गरेका हुन् ।

प्रदेश सभामा दोस्रो ठूलो दल नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा शाहले दाबी पेस गरेका हुन् । योसँगै कांग्रेसका शाह दोस्रोपटक सुदूरपश्चिमको पाचौँ मुख्यमन्त्री बन्ने भएका छन् ।

शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा सम्बोधनपछि राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेभित्र नयाँ सरकारको दाबी पेस गर्न आह्वान गरेका थिए।

मुख्यमन्त्रीको दौडमा प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट र प्रकाशबहादुर देउवा थिए । यसअघि आजै बसेको कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

शाह यससँगै दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका छन् । उनले यसअघि १४ महिना नेतृत्व गरेर राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए ।

वीरगञ्ज नाकाबाट  हवाई इन्धन र ग्यास आयात घट्यो

पर्सा । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो ।

आव २०७९/८० मा वीरगञ्ज नाका प्रयोगगरी  ३३ अर्ब १३ करोड बराबरको दुई लाख ९० हजार दुई सय ८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरिएको बताउँदै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवमा ३० अर्बको दुई लाख ६७ हजार ४८ मेट्रिकटन ग्यास आयात भएको जानकारी दिए । उनका अनुसार ११ हजार दुई सय ३८ मेट्रिकटन कम ग्यास अयात भएको हो ।

भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार अघिलो आवमा वीरगञ्ज नाकाबाट १७ अर्ब ३१ करोडको पाँच लाख ९७ हजार एक सय ४४ किलोलिटर(केल) हवाई इन्धन आयात भएकामा गत आवमा  १८ अर्ब २१ करोडको एक लाख ७३ हजार चार सय ८४ केल आयात भएको छ । 

सूचना अधिकारी कर्णले खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा सङ्कुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रुपमा उपयोग हुने डिजल र पेट्रोलको आयात भने बढेको बताए ।

वीरगञ्ज नाकाबाट आव २०७९/८० को तुलनामा गत आवमा डिजल चार प्रतिशत र पेट्रोलको आयात दुई प्रतिशतले बढेको उनले जानकारी दिए ।

आव २०७९/८० मा  एक खर्ब १३ अर्ब ५८ करोडको १० लाख ४० हजार पाँच सय छ केल डिजल र  ३८ अर्ब २४ करोडको तीन लाख ८९ हजार सात सय ११ केल पेट्रोल आयात भएको जनाउँदै गत आवमा  एक खर्ब नौ अर्ब २९ करोडको १० लाख ८३ हजार पाँच सय २० केल डिजल र ३९ अर्ब दुई करोडको तीन लाख ९४ हजार सात सय २३ केल पेट्रोल आयात भएको सूचना अधिकारी कर्णले जानकारी दिए । उनका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगञ्ज नाकाबाट हुने गरेको छ ।

भेनेजुएलालाई मतदानको रेकर्ड सार्वजनिक गर्न युरोपेली संघका सात राष्ट्रको आग्रह

युरोपेली सङ्घ (ईयू) का सात राष्ट्रका नेताहरूले भेनेजुएलालाई ‘निर्वाचन प्रक्रियाको पूर्ण पारदर्शिता र सत्यनिष्ठा’ देखाउन मतदानको विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् ।

फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल र स्पेनले जारी गरेको वक्तव्यमा राष्ट्रपति चुनावपछिको देशको अवस्थाबारे ‘कडा चिन्ता’ व्यक्त गरिएको छ ।

राष्ट्रपति निकोलस मदुरोले गत साताको मतदानमा विजयी भएको दाबी गरेका थिए तर विपक्षीले भने एडमुन्डो गोन्जालेज उरुटियाविजयी भएको दाबी गर्दै आधिकारिक नतिजाको विरोध गरेका छन् ।

“हामी भेनेजुएलाका अधिकारीहरूलाई मतदानसम्बन्धी सबै विवरण तत्काल सार्वजनिक गर्न आग्रह गर्दछौं,” सात देशका नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भेनेजुएलाका जनताको इच्छालाई मान्यता दिन यस्तो कदम चाल्नु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

“भेनेजुएलाका विशेषगरी विपक्षी राजनीतिक नेता र सबै नागरिकको अधिकारलाई यस प्रक्रियामा सम्मान गर्नैपर्छ ।

विज्ञप्तिमा भनिएको छ, “हामी उनीहरूविरुद्ध कुनै पनि गिरफ्तारी वा धम्कीको कडा शब्दमा निन्दा गर्दछौं, अधिकारीहरूले जनताको ‘शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्ने र भेला हुने अधिकार’ को सम्मान गर्नुपर्छ ।

भेनेजुएलाका हजारौँ नागरिकले मादुरोले चुनाव जितेको दाबीलाई चुनौती दिन देशभर भेला भएका बेला उक्त वक्तव्य आएको हो ।

राष्ट्रपतिप्रति वफादार रहेको सीएनई निर्वाचन प्राधिकरणले शुक्रबार मादुरोको विजयलाई अनुमोदन गरेपछि सुरु भएको प्रदर्शनमा ११ जनाको मृत्यु हुनुका साथै एक हजारभन्दा बढीलाई हिरासतमा लिइएको बताइएको छ ।

संयुक्त राज्य अमेरिका र ल्याटिन अमेरिकी छिमेकी अर्जेन्टिना, कोस्टारिका, पानामा, इक्वेडर र उरुग्वेलगायत देशहरूले उक्त नतिजालाई अस्वीकार गरिसकेका छन् ।

भेनेजुयलाको विपक्षी दलले आफ्नो उम्मेदवार गोन्जालेज उरुटिया स्पष्ट रुपमा विजयी भएको दावी गर्दै आएको छ ।

इजरायलविरूद्ध इरानको सम्भावित आक्रमणको प्रतिरोधको तयारीका लागि अमेरिकी जनरल मध्यपूर्वमा

हमास र हिजबुल्लाहका वरिष्ठ नेताको हत्यापछि इरानले इजरायलमाथि आक्रमण गर्न सक्ने अनुमानबीच अमेरिकी केन्द्रीय कमान्डका जनरल माइकल कुरिल्ला शनिबार उक्त क्षेत्रमा आइपुगेको दुई अमेरिकी अधिकारीलाई उदृत गर्दै अमेरिकी समाचार संस्था एक्जिओसले जनाएको छ ।

तेहरानमा हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हनियाको हत्यापछि इजरायल, इरान र हिजबुल्लाहबीच पछिल्लो समय तनाव हुनुअघि तय गरिएको जनरल कुरिलाको भ्रमणलाई अहिले रणनीतिक कदमका रुपमा हेरिएको छ ।

उनले अप्रिल १३ मा इरानबाट भएको आक्रमणविरुद्ध इजरायलको रक्षा गर्ने अन्तर्राष्ट्रिय र क्षेत्रीय गठबन्धनलाई परिचालन गर्ने अपेक्षा गरिएको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक्जिओसले जनाएको छ ।

अमेरिका र इजरायलका तीन अधिकारीले इरानले सोमबारसम्ममा इजरायलमाथि आक्रमण गर्नसक्ने बताएका छन् ।

इरान र हिजबुल्लाहका नेताहरूले हिजबुल्लाहका शीर्ष सैन्य कमाण्डर फुआद शुकर र हमासका राजनीतिक नेता इस्माइल हनियाको हत्याको बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एक अमेरिकी अधिकारीका अनुसार कुरिलाले इजरायल र जोर्डनलगायत खाडीका विभिन्न देशको भ्रमण गर्ने अपेक्षा गरिएको छ । कुरिलाको भ्रमणको प्रमुख गन्तब्य जोर्डन रहेको मानिएको छ किनकी जोर्डनले अप्रिल १३ को आक्रमणको समयमा इजरायलको सहयोगका लागि इरानी ड्रोनहरूलाई रोकी अमेरिकी र इजरायली जेटहरूलाई अवरोधको लागि आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिएर महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

अधिकारीका अनुसार अमेरिकाले आवश्यक परेको खण्डमा फेरि पनि जोर्डनको यस्तै सहयोग रहने आशा गरेको छ । इरानले इजरायलमाथि गर्न सक्ने सम्भावित आक्रमणको तयारीका लागि अमेरिकाले मध्यपूर्वमा आफ्ना सेनालाई बढाइरहेको र यस क्षेत्रमा थप युद्धपोत तथा लडाकू विमानहरु पठाउन लागेको पेन्टागनले जनाएको छ ।

अमेरिकी अधिकारीहरूले इरानको जवाफी कारबाही इजरायलमाथि गरेको अघिल्लो आक्रमणजस्तै औचित्यहीन हुने तर लेबनानमा हिजबुल्लाह पनि सामेल हुन सक्ने अपेक्षा गरेका छन् ।

हानियाको हत्याले यस क्षेत्रमा इजरायलविरुद्ध तीव्र भावना उत्पन्न गरेकाले अघिल्लो इरानी आक्रमणबाट इजरायलको रक्षा गर्ने राष्ट्रहरूको अन्तर्राष्ट्रिय र क्षेत्रीय सहयोग परिचालन गर्न अझ कठिन हुनसक्ने अमेरिकी सरकारको चिन्ता छ ।

अमेरिका र इजरायलका अधिकारीहरूले इरान र हिजबुल्लाहले समन्वित आक्रमण गर्ने वा छुट्टाछुट्टै कारबाही गर्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् । इरान र हिजबुल्लाहले अझै पनि आफ्नो सैन्य योजनालाई अन्तिम रूप दिन र राजनीतिक स्तरमा अनुमोदन गर्न काम गरिरहेको अधिकारीहरूले बताएका छन्।

चितवनमा मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोन र हात्तीको प्रयोग गरिँदै

चितवन ।  मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आइतबार बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो ।

जिल्ला वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीका अनुसार नारायणी किनारमा रहेको झाडीमा बाघ लुकेको आशङ्का गरिएको छ । उक्त बाघ खोजी गर्नका लागि ड्रोन क्यामराबाट हेर्ने तयारीसहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट ड्रोन मगाइएको उनले जानकारी दिए । उनका अनुसार ड्रोनले बाघ पहिचान गरेपछि हात्तीको सहायताले डार्ट (बेहोस) गर्ने योजना छ ।

नारायणी किनारमा नदीमा मिसिनुअघि ढललाई प्रशोधन गर्न बनाइएको ट्याङ्क क्षेत्रको नर्कट झाडीमा बाघ रहेको अनुमान गरिएको प्रमुख कार्कीले जानकारी दिए। सो क्षेत्रमा एकातर्फ मानवबस्ती छ भने अर्काेतर्फ नारायणी नदी पर्दछ । 

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेनरी चिकित्सक डा विजयकुमार श्रेष्ठले कसराबाट ड्रोन र तीन वटा हात्ती आउँदै गरेको बताए । उनका अनुसार सुरुमा ड्रोनबाट पहिचान गरेर बाघ देखिएमा डार्ट गर्ने तयारी गरिएको छ । सो क्षेत्रमा मानव आवतजावत गर्न रोकिएको छ । पाइलालाई हेर्दा माउबाट भर्खरै छुटेर सिकार गर्न सुरु गरेको बाघ हुनसक्ने चिकित्सक श्रेष्ठले जानकारी दिए । “बाघ कहाँबाट आयो यकीन हुन सकेको छैन । यद्यपि नगर वन क्षेत्रबाट आएको हुनसक्ने आशङ्का गरिएको छ”, उनले भने ।

आज बिहान हिँड्ने क्रममा भरतपुर महानगरपालिका–२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ५ः२० बजे बिहान भरतपुर–१ नारायणी किनारमा बाघले श्रेष्ठलाई आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट घाइते हुनुभएका श्रेष्ठको तीन ठाउँमा हड्डी भाँचिएको छ भने पाँच वटा दाँत फुत्केर घाँटीमा पुगेका छन् । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

उनका अनुसार श्रेष्ठको पाँच वटा कृत्रिम दाँत फुत्केर घाँटीमा गएर अड्किएको थियो । बाघको आक्रमणबाट दाहिने हातको हत्केला र नाडीको हड्डी भाँचिएका छन् । यस्तै दाहिने कुहिनाको नजिकको (केल्भिकल) हड्डीसमेत भाँचिएको छ ।

श्रेष्ठको स्वास्थ्यावस्था खतरामुक्त रहेको डा लम्सालले जानकारी दिए । श्रेष्ठको अहिले शल्यक्रिया गर्ने तयारी गरिएको बताउँदै घाँटीमा पुगेका दाँत खोक्दा बाहिर निस्किएका उनले जानकारी दिए । 

नयाँ सरकार बनेसँगै जनतामा आशा पलाएको नेता बस्नेतको दाबी

भक्तपुर । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् ।

आइतबार विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै बस्नेतले जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिन नहुने बताए । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै उद्योगी, शेयर बजार, बैंक, वित्तीय संस्था तथा अन्य व्यापार व्यवसायी उत्साही रहेको भन्दै उनले अब देशको अर्थतन्त्र सुधार हुनेमा विश्वास रहेको बताए ।

बस्नेतले धरासायी बन्दै गएको देशको अर्थतन्त्रलाई वर्तमान सरकारले माथि उकास्ने बताउँदै नेपाल विद्युत् प्राधिकरणले विद्युतको लाइन काटिदिएका कारण उद्योगी पलायन हुनुपर्ने अवस्था बनेको आरोप लगाए ।

उनले उद्योगी पलायन हुने अवस्थालाई रोक्न प्रधानमन्त्रीले प्राधिकरणको निर्णयलाई उल्ट्याउँदै उद्योगीलाई उद्योग सञ्चालन गर्ने वातावरण बनाएको बनाए ।

फिल्म ‘देवी’ को टिजर सार्वजनिक

काठमाडौँ । तीजको अवसरमा भदौ २१ गतेदेखि प्रदर्शन हुने फिल्म ‘देवी’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा समाजमा घटिरहेका बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा प्रस्तुत गरिएको छ । फिल्म क्राइम थ्रिलर जनरामा बनेको छ ।

फिल्मका निर्देशक सञ्जोग राई हुन्। फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् भने पटकथामा पनि यि दुवैको सहकार्य छ । फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन्।

कुपन्डोलस्थित बागमती नदी किनारमा पुरुषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरुषको शव फेला परेको छ । आइतबार बिहान ८ बजे ललितपुर महानगरपालिका–१ को वडा कार्यालयनजिक बागमती किनारमा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बाढीले बगाएको जस्तो शव फेला परेको जानकारी दिए । अहिलेसम्म शवको पहिचान खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शैक्षिक सुधारका निम्ति जुम्लाको गुठीचौरमा ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक क्षेत्रलाई सुधार गर्न विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत उक्त कार्यक्रमबाट पालिका सबै विद्यालयलाई सूचना प्रविधिमैत्री बनाइ शिक्षाको गुणस्तर सुधार गर्नेदेखि, पालिकाको स्थानीय शिक्षा पाठ्यक्रम तर्जुमा गरी लागू गर्ने भएको छ ।

जीवनोपयोगी व्यावसायिक एवं प्राविधिक शिक्षालाई जोड दिई विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार गरिने गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए । उनले नैतिक शिक्षा पनि त्यसमा समावेश भएको बताए ।

अध्यक्ष बुढाले भने, ‘विपन्न, अशक्त तथा अनाथ विद्यार्थीलाई प्रोत्साहन तथा विद्यालयमा शैक्षिक सुधार गर्ने उद्देश्यसहित उक्त कार्यक्रम सञ्चालन गरिने छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई श्रमसँग जोड्न ‘पढ्दै कमाउँदै रमाउँदै परियोजना’ पालिकाको शङ्कर बहुउद्देश्यीय माध्यामिक विद्यालयमा लागू हुनेछ ।’

विद्यार्थीको वास्तविक समस्या पहिचान गरी गाउँपालिकाले समाधान गर्ने कार्यक्रमको लक्ष्य छ । गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा पुगेर उनीहरूका समस्या बुझ्ने तथा आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गरिने उनले बताए ।