`

काभा वुमन्स नेसन्स लिगमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दै

Nepal One HD २० साउन २०८१ १४:१७
खेलकुद

काठमाडौं । काठमाडौंमा भइरहेको काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आज आफ्नो तेस्रो खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।

यसअघि खेलेको दुवै खेलमा जित हात पारेको नेपाल इरानलाई पराजित गर्दै लिगमा शीर्ष स्थानमा पुग्ने लक्ष्यमा छ । नेपालले यसअघि श्रीलंकालाई सोझो सेट र भारतलाई रोमाञ्चक खेलमा ३-२ ले पराजित गरेको थियो ।

शनिवार भारतलाई हराउँदै इतिहास बनाएको नेपाली टोली लयमा छ र इरान विरुद्ध पनि त्यो लय कायम राख्दै जित निकाल्ने योजनामा हुनेछ । इरान आज लिगमा आफ्नो अन्तिम खेल खेल्दैछ ।

लिगमा शीर्ष स्थानमा रहे सेमिफाइनलमा कमजोर प्रतिस्पर्धी पर्ने भएकोले नेपालले लिगको सबै खेल जितेर शीर्ष स्थानमा रहन चाहन्छ ।

इरानलाई पराजित गरेमा नेपाल शीर्ष स्थानमा पुग्नेछ । हाल भारत तीन खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ । नेपाल दुई खेलबाट ५ अंकसहित दोस्रोमा भने भने तीन खेलबाट ५ अंक नै भए पनि तेस्रो स्थानमा छ ।

आजै दिउँसो ३ बजे श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । जितविहिन दुवै टोली पहिलो जितको लक्ष्यमा छन् ।

श्रीलंका नेपालसँग सोझो सेट र इरानसँग रोमाञ्चक खेलमा ३-२ ले पराजित भएको थियो । श्रीलंकाको दुई खेलबाट १ अंक मात्र छ । माल्दिभ्स भारत र इरानसँग पराजित भएको थियो ।

प्रतियोगितामा पाँच टोली सहभागि छन् र लिग चरणको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । पाँचौ स्थानमा रहने टोद्यी भने बाहिरिनेछन् ।


प्रतिक्रिया