`

खोटाङको राजापानीमा बाघ आतङ्क

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतङ्क छ । जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन् ।

केही दिनअघिदेखि गाउँ पसेको एउटा बाघले शुक्रबार राति साविक राजापानी गाविस वडा नं २ भोगटिनीस्थित देविका चौहानको घरमा बाँधेको कुकुर तथा सोही राति शम्भुप्रसाद भण्डारीको खसी मारेको स्थानीय बासिन्दाले बताएका छन् ।

चौहानको घर बाहिर राखिएको खाटमा बाँधेको कुकुर साङ्लोसहित २० मिटर तल लगेर टाउकोबाहेक सबै खाए पनि भण्डारीको खसी भने खोरबाट निकाल्न नसक्दा मारेर भागेको जनाइएको छ । बाघले शनिबार भोगटिनीकै देवीबहादुर कार्कीको बोका मारेको छ ।

राजापानीका स्थानीयका अनुसार केही दिनअघि साविक ६ नं वडामा पर्ने मापाचुलीका कीर्तिमान कार्कीको गोठको बाच्छो बाघले मारेको छ । दुई वर्षअघि पनि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा चितुवाको त्रास थियो । खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा त्यतिबेला चितुवाले २५ भन्दाबढी चौपाया मारेको थियो ।

सोमबारदेखि स्वयम्भूमा एकमहिने मेला

काठमाडौँ । स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भाग मर्मत तथा जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।

महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको तथा सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको जानकारी दिए ।

थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले महासमितिसँग समन्वय गरी मेला व्यवस्थापनको प्रबन्ध भएको जानकारी दिए । स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक जामलाई व्यवस्थापन गर्ने जनाएको छ ।

गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेलाअवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रममा, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।

इजरायलमा मृत पुरुषहरूको शुक्राणु संरक्षण गरिँदै

इजरायलमा आफ्ना मृतक पुत्रहरूको शरीरबाट शुक्राणु संरक्षण गरिदिन माग गर्ने मातापिताको सङ्ख्या बढ्दै गएको छ। यस्तो माग गर्नेमा अधिकांश सैनिकका मातापिता छन्। सात अक्टोबरको हमास हमलासँगै यससम्बन्धी प्रक्रिया केही खुकुलो पारिएको छ। तर शुक्राणुको प्रयोग कसरी गर्ने भन्ने विषयमा कायम लम्बेतान कानुनी प्रक्रियाका कारण मृतकका परिवारजन निराश र आक्रोशित भएका छन्। अभी हारुसले सेनाका अधिकारीहरू उनको घरमा आउनुभन्दा केही दिनअघि नै केही ‘भयङ्कर डरलाग्दो’ हुन लागेको महसुस गरिसकेका थिए।

आफ्ना २० वर्षीय छोरा रीफ दक्षिणी गाजा स्ट्रिपमा भएको संघर्षमा मारिएका घटना सम्झिँदा अभीको स्वर काँप्छ। यो ६ अप्रिल २०२४ को घटना हो। त्यो समयमा उनले एउटा निर्णयको सामना गर्नुपर्‍यो। ‘उनीहरूले समय नघर्किसकेकाले रीफको शुक्राणु संरक्षण गर्न सम्भव भएको बताउँदै त्यसमा हाम्रो रूची भए नभएकोबारे सोधे,’ उनले भने।

अभीले तुरुन्तै जबाफ दिए।

‘रीफले पूर्ण जीवन बाँच्यो,’ उनले भने, ‘एकदम डरलाग्दो क्षतिका बावजुद हामीले जीवन रोज्यौँ।’ ‘ऊ केटाकेटीलाई माया गर्थ्यो। आफ्नै बालबच्चा होउन् भन्ने चाहन्थ्यो। त्यसैले यसमा कुनै प्रश्नै थिएन,’ उनले थपे। रीफ विवाहित थिएनन्, न उनकी कुनै प्रेमिका थिइन्। तर जसै अभीले आफ्नो छोराको कथा अरूलाई भन्न थाले रीफको सन्तानलाई जन्म दिन चाहने केही महिलाहरू उनको सम्पर्कमा आए। त्यस विचारले ‘आफूहरूलाई आशावादी बनाएको” उनले बताए। “त्यसयता यो मेरो जीवनको उद्देश्य बनेको छ,’ उनले भने।

उल्लेख्य बढ्यो शुक्राणु संरक्षण चाहनेको सङ्ख्या

यो त्यस्ता थपिँदै गएको परिवारमध्येको हो जसले सात अक्टोबरको हमास आक्रमणपछि शुक्राणु संरक्षण गरेका छन्। उक्त घटनामा झण्डै बाह्र सयजना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाएर गाजा लगिएको थियो। उक्त घटनाको जबाफमा इजरेलले गाजामा ठूलो सैन्य कारबाही चलायो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार उक्त कारबाहीमा ३९ हजार प्यालेस्टिनीहरू मारिइसकेका छन्। सँगसँगै उक्त युद्धमा ४०० इजरेलीको पनि ज्यान गएको छ।

सात अक्टोबरयता झण्डै १७० जना जवान पुरुषहरूको शुक्राणु संरक्षण गरिएको छ। इजरेली स्वास्थ्य मन्त्रालयका अनुसार यसमा सैनिक र गैरसैनिक दुवैथरि छन्। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा मोटोमोटी १५ गुनाले बढी हो। उक्त प्रक्रियामा अण्डकोशमा एउटा चिरा पारिन्छ र एउटा सानो कोषलाई झिकिन्छ। त्यसपछि प्रयोगशालामा लगेर उक्त कोषबाट जीवीत शुक्राणुलाई अलग्याउन र भण्डारण गर्न सकिन्छ।

मृत्युको २४ घण्टाभित्र उक्त कार्य गरिएको खण्डमा शुक्राणुको संरक्षण कार्य सफल हुने दर उच्च हुन्छ। यद्यपि कोषहरू ७२ घण्टासम्म पनि जीवित रहन सक्छन्। फ्रान्स, जर्मनी र स्वीडेनलगायतका केही देशले यसमाथि पूर्ण प्रतिबन्ध लगाएका छन्। अन्य देशहरूमा मृतकले जीवित छँदै शुक्राणु भण्डारणका निम्ति सहमति जनाएको हुनुपर्ने कडा नियम छ। गएको अक्टोबरमा इजरेलको स्वास्थ्य मन्त्रालयलले शुक्राणु संरक्षण गर्न चाहने मातापिताले अदालतबाट अनुमति लिनुपर्ने प्रक्रियालाई खारेज गरिदिएपछि इजरेली डिफेन्स फोर्स (आईडीएफ) हालका वर्षहरूमा शोकसन्तप्त मातापितालाई उक्त कार्यको प्रस्ताव गर्न निकै सक्रिय भएको छ।

शुक्राणु भण्डारण गर्न सहज हुँदै गएसँगै यसले जटिल नैतिक र कानुनी प्रश्न पनि उब्जाएको छ। मृतकका पत्नी र मातापिताले उक्त शुक्राणुमार्फत् गर्भाधान गराउन चाहेको खण्डमा अदालतसमक्ष मृतकले सन्तान जन्माउन चाहन्थे भन्ने आधार पेश गर्नुपर्छ। खासगरी मातापिताको हकमा उक्त प्रक्रियामा वर्षौँ लाग्न सक्छ।

पहिलो अनुभव कस्तो छ
रेचल र याकोभ कोहेन आफ्नो मृत छोराको शुक्राणु संरक्षण गर्ने र त्यसको प्रयोग गर्ने पहिलो मातापिता हुन्। आईडीएफले जनाएअनुसार उनीहरूका छोरा केइभन सन् २००२ मा गाजा स्ट्रिपमा प्यालेस्टिनी निसानेबाजले चलाएको गोली लागि मारिएका थिए। उनीहरूकी नातिनी ओशरको जन्म केइभनको शुक्राणुबाट भएको हो। उनी १० वर्षकी भइन्।

रेचलले मृत्युपछि छोराको उपस्थिति कसरी महसुस गर्थिन् भन्नेबारे यसरी व्याख्या गरिन्, ‘म उसको दराज भएको ठाउँमा जान्थेँ। उसको वासना खोज्ने प्रयत्न गर्थेँ। मैले उसको जुत्तासमेत पनि सुघेँ।’

‘ऊ फोटोबाटै मसँग कुरा गर्थ्यो। उसले मलाई आफ्नो सन्तान भएको सुनिश्चित गर्न अह्रायो।’ रेचलका अनुसार उनीहरूले ‘ठुलो विरोधको सामना गर्नुपर्‍यो’ र ‘धेरैले उनीहरूलाई बुझ्दै बुझेनन् वा उनीहरूले गर्न खोजेको कार्यमा साथ दिएनन्।’  तर अन्तत: उनको दृढसङ्कल्पले उनलाई अभूतपूर्व कानुनी निर्णयतर्फ डोर्‍यायो। त्यसपछि उनले पत्रिकामा एउटा विज्ञापन छपाइन् जसमा आफ्नो छोराको सन्तान जन्माउन चाहने सम्भावित महिलाको खोजी गरिएको थियो। इरिट (पारिवारिक गोपनीयताको सुरक्षाका निम्ति उनले आफ्नो थर खुलाउन चाहिनन्) तिनै दर्जनौँ महिलामध्ये थिइन् जसले उक्त विज्ञापनको जबाफ दिएका थिए।

त्यसबेला उनी कुनै सम्बन्धमा थिइनन्। उनका अनुसार पहिले मनोविद् र सामाजिक कार्यकर्ताले उनको परिक्षण गरे। त्यसपछि अदालतको स्वीकृतिसँगै गर्भाधानको प्रक्रिया सुरु भयो। ‘केहीले हामीलाई देउता बन्न खोजेको बताए। तर मलाई त्यसो होजस्तो लाग्दैन,’ उनले भनिन्। ‘शुक्राणु भण्डारण ब्याङ्कबाट लिइएका शुक्राणुबाट जन्मने शिशु र आफ्नो पिता फलानो हो भनेर चिन्ने शिशुबीच भिन्नता हुन्छ,’ उनी थप्छिन्।

त्यसरी जन्मिएको बालिकाको हुर्काइ कस्तो छ
ओशरलाई आफ्ना बाबु सेनामा छँदा मारिएका थिए भन्ने थाहा छ। उनको कोठा डल्फिनको चित्रहरूले सजिएको छ। उनी बाबुलाई डल्फिन मन पर्थ्यो भन्ने आफूलाई थाहा भएको बताउँछिन्। ‘उहाँको शुक्राणु झिकिएको र उपयुक्त आमाको खोजी गरी मलाई यो धरतीमा ल्याइएको हो भन्ने मलाई थाहा छ,’ उनले थपिन्। हजुरबा–हजुरआमा, काकाहरू र घर–मावली दुवैतर्फ दाजुभाइहरू (कजन) समेत भएकाले ओशरको हुर्काइ ‘उनलाई जिउँदो मूर्तिझैँ गरी नहुर्काइएको’ सुनिश्चित गराउने गरी ‘सामान्य’ रहेको इरिट बताउँछिन्।

‘हामी उनलाई तिम्रा बाबु को हुन् भनेर बारम्बार स्मरण गराइराख्दैनौँ। तर उनलाई उनको जन्म कसरी भयो र बाबुआमा को हुन् भन्ने थाहा छ,’ उनले भनिन्। ‘मृत छोराको जीवित शुक्राणु प्राप्त गर्नुले ठुलो अर्थ राख्छ,’ शमीर मेडिकल सेन्टरस्थित शुक्राणु ब्याङ्कका निर्देशक डाक्टर ईटाई ग्याट भन्छन्। ‘भविष्यमा प्रजनन् गराउने र सन्तान जन्माउने विकल्प सुरक्षित गर्नका निम्ति यो अन्तिम मौका हो।’

उनी यस सन्दर्भमा ‘महत्त्वपूर्ण सांस्कृतिक परिवर्तन’ आएको र हाल उक्त प्रक्रियाप्रतिको स्वीकार्यता बढ्दै गएको बताउँछन्। तर अविवाहित तथा कुनै सम्बन्धमा नभएका पुरुषका हकमा भने हालको नियम विरोधाभाषपूर्ण रहेको उनले बताए। डाक्टर ग्याटका अनुसार उनीहरूको हकमा प्राय: सहमतिको स्पष्ट अभिलेख हुँदैन। यसले शोक झेलिरहेका परिवारजनलाई ‘असाध्यै अप्ठ्यारो स्थितिमा पारिदिन्छ” किनकि शुक्राणुको संरक्षण भएको हुन्छ तर उनीहरूले त्यसको प्रयोग गर्न पाउँदैनन्।

…अनि यी डाक्टरको मन फेरियो

“यो कसैलाई बचाउनका निम्ति मुटु वा मिर्गौला दान गरेजस्तो होइन,’ उनी भन्छन्। “हामी पुनरोत्पादनबारे कुरा गरिरहेका छौँ, बालक वा बालिकालाई यो धरतीमा ल्याउने कुरा गरिरहेका छौँ… अनि हामीलाई थाहा छ उक्त शिशु बाबुबिनाको टुहुरो हुनेछ।’ डाक्टर ग्याटका अनुसार अधिकांश मामिलामा मृतकले उसको शुक्राणु प्रयोग गरेर सन्तान जन्माउने आमाबारे थाहा पाएका हुँदैनन्। उक्त सन्तानको शिक्षादिक्षा सहितका भविष्यसँग सम्बन्धित सबै निर्णयको जिम्मा उसकी आमाको हुन्छ।

पहिले यसबारे डाक्टर ग्याटको विचार अर्कै थियो। उनी मृतकले मर्नुअघि स्पष्ट सहमति दिएको छैन रहेछ भने उसको शुक्राणु संरक्षण गर्न हुँदैन भन्दै त्यसको विरोध गर्थे। हालैको युद्धमा मारिनेका शोकसन्तप्त परिवारलाई भेटेयता उनको दृष्टिकोण नरम भएको छ। ‘म उनीहरूका निम्ति यो कति महत्त्वपूर्ण छ र यसले उनीहरूलाई कहिलेकाँही कसरी सहज महसुस गराउँछ भन्ने मैले देखेको छु,’ उनी भन्छन्।

तेल अभिभमा जोहार सेन्टर फर ज्युइस इथिक्स नामक संस्था सञ्चालन गर्दै आएका एक उदारवादी धर्मगुरु, र्याबाइ, युभाल शेरलो यो विषय जटिल र संवेदनशील भएको बताउँछन्। ‘नैतिक रूपमा हामी कुनै पनि पुरुष उसको सहमतिबिना र अझ उसको मृत्युपछि बाबु बनोस् भन्ने चाहँदैनौँ।’ उनी यसमा यहुदी नियमका दुई महत्त्वपूर्ण सिद्धान्त आकर्षित हुने बताउँछन्। पहिलो–पुरुषको वंशको निरन्तरता र दोस्रो– मृत शरीरलाई सम्पूर्ण रूपले नष्ट गर्ने कुरा। उनका अनुसार केही र्याबाइहरू शरीरका कोषलाई क्षति पुर्‍याएरै भए पनि वंश जोगाउनुपर्ने बताउँछन् भने केही यो प्रकृयाले ठाउँ पाउनै नहुने तर्क गर्छन्।

थरिथरीका बहस

यस मुद्दाका मौजुदा नियमहरूलाई महान्यायाधिवक्ताको कार्यालयले सन् २००३ मा एक प्रकाशनमार्फत् निर्देशित गरेको छ। तर उक्त विषय कानुनमा समेटिएको छैन। इजरायली सांसदहरूले यसलाई स्पष्ट पार्न र विस्तृत नियम बनाउन विधेयक मस्यौदा गर्ने प्रयास गरेका थिए। तर उक्त प्रकृया अड्किएर बसको छ। यस प्रक्रियासँग निकट रहेका व्यक्तिहरूले बीबीसीलाई बताएअनुसार मृतकद्वारा जीवित छँदै दिएको हुनुपर्ने सहमतिको स्तर र मृत सैनिकका सन्तानले पाउने गरेको सेवासुविधा संरक्षित शुक्राणुबाट जन्मिएका सन्तानलाई दिने कि नदिने भन्ने विषयमा विवाद देखिएको हो।

इजरेली मिडियाले मृत सैनिकका पत्नीले संरक्षित शुक्राणु प्रयोग गर्न नचाहेको खण्डमा के गर्ने भन्ने विषयमा पनि रिपोर्टिङ गरेका छन्। त्यसमा विमति जनाउँदै केहीले संरक्षित शुक्राणुमा मातापिताको हक हुनु पर्ने र उनीहरूले चाहेको खण्डमा सन्तान जन्माउनका निम्ति अर्कै आमा खोज्न सक्ने तर्क गरेका छन्। पहिल्यै आफ्नो छोराको शुक्राणु संरक्षण गरिसकेका मातापिता भने चिन्तामा छन्। कानुनी प्रक्रिया एउटा सहमतिमा पुगेको खण्डमा त्यसले भविष्यका मुद्दालाई मात्र सम्बोधन गर्नेछ र आफूहरूले लामो कानुनी लडाईँ लड्न पर्ने छैन भन्नेमा उनीहरूको चासो छ।

अभिको कुरा गर्ने हो भने उनको शोकमै पनि दृढसङ्कल्प छ। उनी आफ्नो छोराको फोटो एल्बम, डायरीहरू र उसका चिनोहरू राखिएका एउटा कागजको बाकसलाई हेर्छन्। उनी आफ्नो छोरालाई सन्तान दिन नसक्दासम्म नथाक्ने बताउँछन्। ‘यो हुनेछ…र यो कार्टुनको बाकस उसको बच्चाले प्राप्त गर्नेछ।’

माइकल शुभेल
बीबीसी

केही सिकौं महिला भलिबल टीमबाट

डा. युवराज संग्रौला ।
हामी नेपालीहरुले अब केही प्रवृत्तिहरु बद्ल्नु पर्छ

१. हामीले आत्मसम्मान र भरोसाद्वारा आफूलाई ‘अरुले प्रयोग’ गर्ने मौका दिनुहुन्न । हाम्रो राष्ट्रियता हिनताबोधमा होइन, हाम्रो अस्तित्व, हाम्रो विविधता, हाम्रो भूगोल, हाम्रो इतिहास, हाम्रा सभ्यतामा खडा हुनुपर्छ ।

२. हामीले आफूलाई सानो, चेपिएको, केही नहुने, बस्न नसकिने र अरुले हेपेको राष्ट्र हो भन्ने संकथन बनाएका छौँ । कयौं कुरामा नेपाल भारत र चीन भन्दामाथि छ । हामीले चीनको संस्कृति निर्माणमा भुमिका खेल्ने बौद्ध दर्शन उसलाई दियौं । हामीसँग राष्ट्रको रुपमा भारत भन्दा लामो इतिहास छ ।

. नेपालमा कतिपय मानवीय बिकास सुचांक भारत भन्दा माथि छन् । हामी भारतलाई प्रतिवर्ष ५ खर्बको रेमिट्यान्स दिन्छौं । उसले हामीलाई केही दर्जन अर्ब सहयोग गर्छ । तर हामीले हाम्रो आत्मसम्मान गुमाएका छौँ । हामीले भारत र चीनलाई आफना स्वार्थका लागि प्रयोग गर्नुपर्छ ।

४. हिन्दी गुनगुनाउँदा ठुलो भइन्छ, भारतका साधु आउँदा बरदान पाइन्छ, काशी जाँदा स्वर्ग पुगिन्छ जस्ता दवित मानसिकता, ‘र’ को पदाधिकारी आउँदा प्रधानमन्त्री हाजिर हुने हिनताबोध त्यागेर नेपाल मेरो स्वाधीन देश हो भन्ने गौरव हुनुपर्छ ।

५. आफ्नो आफ्नो ठाउँमा राम्रो बनौं यो भलिबल टिम जस्तै, अरुको सहयोग लिएर देश बनाउने ‘विदेशी सहयोगको दुर्व्यसनबाट’ मुक्त बनौं । आफ्नो पौरखले उत्पादन गर्न लागौं ।

दाङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु, आफन्तले गरे सडक अवरुद्ध

दाङ । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्युु भएको छ ।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

यसैबीच, मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै कारबाहीको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् ।

गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीलाई सास्ती

प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका–१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीले सास्ती भोग्नुपरेको छ । प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवतजावत गर्ने मार्ग पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको छ ।

दाङ देउखुरीको भालुवाङ–प्युठानको खलङ्गा, रोल्पाको लिवाङ जोड्ने मुख्य सडक हो । प्युठानी र रोल्पालीका दैनिक जीवनसँग जोडिएको यो सडक पटकपटक अवरुद्ध हुँदा उनीहरूको दैनिकी प्रभावित भएको छ ।

दाङ हुँदै बुटवल, काठमाडौँ, भैरहवा, भरतपुर, नेपालगञ्जलगायत स्थानमा उपचारका लागि जाने तथा अन्य कामले विभिन्न स्थानमा जाने यात्री अलपत्र पर्ने गरेका छन् ।

प्रत्येक वर्ष बर्खा लागेसँगै गर्जेनीमा पहिरो जाँदा बर्सेनि सास्ती खेप्नुपरेको रोल्पा सुनिल स्मृति गाउँपालिका–२ खुङ्ग्रीका मनबहादुर पुनले गुनासो गरे ।

भालुवाङ–चकचके खण्डमा पर्ने गर्जेनी, खहरेखोलालगायत स्थानमा निरन्तर पहिरो खस्दा समस्या भएको छ । भालुवाङ–प्युठान सडकअन्तर्गत बडडाँडा–चकचके खण्डमा असार १९ यता २१ पटक बाटो अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचनाअनुसार २१ पटक गरी कम्तीमा ९१ घण्टा सडक अवरुद्ध भएको छ । एकैपटक धेरै ठाउँमा पहिरो झर्ने समस्याका कारण पहिरोको सङ्ख्या भने २१ भन्दा धेरै छ । हिजो शनिबार मात्र गर्जेनीको पहिरो नौ घण्टापछि हटाएर यातायत सञ्चालन गरिएको थियो ।

प्युठान नगरपालिका–७ का टीकाराम पोख्रेलले गर्जेनीमा पहिरो गयो कि गएन भनेर समाचार, सूचना हेरेर मात्र यात्रा गर्नुपर्ने बाध्यता सुनाए। सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर कमल पुनका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न ६ लाख खर्च भइसकेको छ ।

‘ सोइलमेलिङ प्रविधिबाट पहिरो रोकथाम गर्न सकिन्छ’, इन्जिनियर पुनले भने, “त्यसका पाँच करोड ५० लाख लाग्ने देखिन्छ, विभागबाट रकम प्राप्त भएको छैन ।’ कुनै प्रविधि प्रयोग नगरे गर्जेनीले सताइरहने उनको ठम्याइ छ ।

भारतको केरलामा पहिरोमा फसेकामध्ये २१५ जना मृत फेला, २०६ अझै बेपत्ता

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पहिरो प्रभावित वायनाडमा फसेकामध्ये २१५ जना मृत फेला परेका र २०६ जना अझै बेपत्ता रहेको बताएका छन् । उनले उद्धार कार्य अन्तिम चरणमा रहेको पनि बताए ।

उनले भने, ‘पहिरोमा फसेकामध्ये २१५ जनाको उद्धार गरिएको छ भने २०६ जना अझै बेपत्ता रहेका छन् । पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएका ८३ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको र कुल १० हजार ४२ जनालाई आश्रय शिविरमा सारिएको छ ।’

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जका अनुसार पछिल्लो अपडेट अनुसार ९८ पुरुष, ८७ महिला, ३० बालबालिका गरी २१५ जनाको मृत शरीर पहिरोबाट निकालिएको र १४३ शरिरका अङ्गहरु फेला परेका र हालसम्म २१२ शवको पोष्टमार्टमको प्रक्रिया पूरा भएको छ ।

मुख्यमन्त्रीले प्रारम्भिक चेतावनी प्रणालीलाई परिमार्जन गर्न आवश्यक रहेको र जलवायु परिवर्तनको ढाँचालाई ध्यानमा राखेर वर्णनात्मक चेतावनी प्रणालीको विकास गर्नुपर्ने उल्लेख गरेका छन् ।

पहिरोले पुरै भत्किएको छुरलमालाको वस्तीलाई सारी अर्को वस्ती निर्माण गर्नुपर्ने देखिएको मुख्यमन्त्री विजयनले बताए ।

यसैबीच, वायनाडबाट लोकसभामा निर्वाचित विपक्षी नेता राहुल गान्धीले चुरलमालामा १०० घर निर्माण गर्ने घोषणा गरेका छन् ।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैँयाले पनि १०० घर निर्माण गर्ने प्रस्ताव गरेका छन् । उनले मुख्यमन्त्री दैवी प्रकोप राहत कोषमा चन्दा नेट बैंकिङ मार्फत गर्न सकिने बताउँदै र राहत कोषमा योगदान पुर्याउने कलाकार, प्रतिपक्षी दलका नेता, उद्योगी व्यवसायीलगायतलाई पनि धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डद्वारा महिला भलिबल टोलीलाई बधाई

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला भलिबल टोलीलाई बधाई दिएका छन् । राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेपछि उनले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई बधाई दिएका हुन् ।


“नेपालको जित । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ  । बधाई नेपाली टिम”, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।


आज भएको खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो भने जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । 


निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट  नेपालले २५–१८ ले जितेको थियो । खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पार्यो भने तेस्रो सेटमा नेपालले भारतलाई २५–१७ ले पाखा लागाएको थियो । चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५–१३ ले पराजित ग¥यो । उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ ।


भलिबलमा नेपाललाई ऐतिहासिक सफलताः अध्यक्ष दाहाल


 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतविरुद्धको भलिबल खेलमा जित हासिल गर्ने नेपाली खेलाडीलाई बधाई दिएका छन् ।


उनले सामाजिक सञ्जालमार्फत आज सम्पन्न भारतविरुद्धको खेलमा जित हासिल गरेकामा खुसी व्यक्त गर्दै नेपाललाई ऐतिहासिक सफलता मिलेको उल्लेख गरेका छन् ।


उनले भनेका छन्, “नेपाललाई ऐतिहासिक सफलता मिलेको छ । नेपाली छोरीहरूलाई हार्दिक बधाई ! काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा भारतमाथि ऐतिहासिक जित निकाल्न सफल नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”


काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आज दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको खेलमा नेपाल भारतमाथि ३–२ को सेटमा विजयी भयो । 


पहिलो सेट २५–१८ ले जितेको नेपालले दोस्रो खेल १२–२५ ले गुमाएको थियो भने तेस्रो सेटमा २५–१७ ले जितेको थियो । चौथो सेट १८–२५ ले हारेको नेपालले अन्तिम सेट १५–१३ ले जितेको थियो ।

अब माओवादी घटक मिल्नुको विकल्प छैनः उपमहासचिव गजुरेल

झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले सबै माओवादी घटक एकठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् । झापाको बिर्तामोडमा शनिबार पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै गजुरेलले प्राप्त उपलब्धिको रक्षाका लागि सबै माओवादी घटक एकठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताए ।

“विसं २०७० मा संविधानमा माओवादीको एजेण्डा स्थापित हुन नदिन गठबन्धन भएको थियो, त्यो बेला सदन र सडकबाट सङ्घर्ष गरेर संविधान निर्माण गरेका थियौँ । अब पनि माओवादी घटक मिल्नुको विकल्प छैन”, उनले भने ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारलगायत विषयमा जनपक्षीय काम गरेको उनले उल्लेख गरे । त्यस अवसरमा टाइसन केरुङले आफूसँगै समाजवादी युवासङ्घ नेपालको सिङ्गो कमिटी माओवादीमा प्रवेश गरेको बताए ।

उनले भने,“सङ्घीयता, धर्म निरपेक्षता, पहिचानलगायत मुद्दा उठाउने पार्टीलाई सशक्त बनाउनका लागि हामी माओवादीमा प्रवेश गरेका हौँ ।”

अनियमितता र राज्य दोहनविरुद्ध प्रतिपक्षमा बसेर खबरदारी गर्छौंः उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्व सुशासन कायम गर्ने नीतिमा अडिग रहेको र सोहीअनुसार अघि बढ्ने बताएका छन् ।

पार्टीसम्बद्ध काठमाडौँ–दोरम्बा सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा पुनले सुशासन कायम गर्ने सवालमा आफूहरु प्रतिबद्ध रहेको र सोही विषयलाई लिएर जनतामा जाने जानकारी दिए ।

पुनले भ्रष्टाचार, अनियमितता र राज्य दोहनविरुद्ध प्रतिपक्षमा बसेर सङ्घर्ष गर्ने नीतिमा आफूहरु रहेको उल्लेख गरे ।

“पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेढ वर्ष सरकारको नेतृत्व गर्दा भ्रष्टाचार, अनियमिताता र बिचौलिया प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुभयो । सरकारबाट बाहिरिँदा माओवादी सरकारमा छँदा गलत काम गरेन भनेर मानिसहरूले भनिरहेका छन्”, उनले भने ।

नेपाली जनताले प्राप्त गरेका अधिकार खोस्ने र मुलुकलाई पछाडि फर्काउने गरी संविधान संशोधन भए सफल हुन नदिइने बताए । त्यस अवसरमा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठले सरकारमा छँदा आफूहरुले गरेका सकारात्मक कामको अनुभवसहित जनतामा जानुपर्नेमा जोड दिए ।

नेपाल भ्रमण गर्न विश्वका पर्यटकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरूलाई आग्रह गरेका छन् ।

विश्वका छानिएका ‘भ्लगर’हरूको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित ‘रियालिटी शो’ ‘द च्यालेन्जर्सः गेम अफ हिमालयज’ को प्रिमियर शो कार्यक्रममा प्रधानमन्त्री ओलीले एकपटक नेपाल भ्रमणमा आएपछि जो कोहीलाई अर्काे पटक आफैँ आउँआउँ लाग्ने बताए ।

उक्त रियालिटी शोका माध्यमबाट हिमाल र प्राकृतिक सौन्दर्यबारे विश्वजगत्लाई चिनाउन थप मद्दत पुग्ने उल्लेख गर्दै उनले नेपालको सुन्दर प्रकृति अवलोकन नगरिए जीवनको सार्थक अर्थ नहुने बताए । 

नेपालका हिमाल, प्रकृति, नदीनाला, छहराको अवलोकन र हात्ती चढेर जङ्गल सफारी गर्दा आउने आनन्द अवर्णनीय रहेको प्रधानमन्त्रीको भनाइ थियो । प्रिमियर शोमा लुक्ला विमानस्थल एक खतरायुक्त विमानस्थलका रूपमा प्रस्तुत गरिएको सन्दर्भमा प्रधानमन्त्री ओलीले सामान्यतः विश्वका सबै विमानस्थल एक प्रकारले खतराकै स्थितिमा हुने तर्क राख्दैै लुक्ला विमानस्थलमा उडानका लागि अति तालिमप्राप्त र अनुभवी पाइलट मात्रै खटिने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने, “म आफैँ धेरै पटक विमान चढेर लुक्ला पुगेको छु, विमानस्थल खोँचमा रहेको र धावनमार्ग सानो भए पनि त्यहाँ दैनिक ८५ उडान हुन्छन् । अनुभवी पाइलटका कारण अहिलेसम्म कुनै दुर्घटना भएको छैन । त्यसकारण लुक्ला विमानस्थलमा कुनै खतरा छैन । विमानस्थल सुरक्षित छ । यसको जिम्मा म लिन सक्छु ।”

प्रधानमन्त्री ओलीले नेपालमा सगरमाथासँगै चर्चा गर्न लायक हिमालहरू कञ्चनजङ्गा, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण, धौलागिरिलगायत रहेको बताए ।

प्रिमियर शो हेर्न प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालस्थित अमेरिकी राजदूतावासका अधिकारी, ख्यातिप्राप्त कलाकारलगायत उपस्थित थिए । श्री गुरुङद्वारा निर्देशित यस रियालिटी शोमा नेपालसहित छ देशका ११ जना १९ देखि ३० वर्ष उमेरका युवा भ्लगरहरू सहभागी छन् ।

आस्मा कुमारी केसीलाई मिस नेपालको उपाधि

काठमाडौं । आस्मा कुमारी केसी यसवर्षको मिस नेपाल बनेकी छन् । शनिबार आयोजित ग्रान्ड फिनालेमा २५ प्रतिस्पर्धीलाई पछि पार्दै आस्माले मिस नेपालको उपाधि जितेकी हुन् ।

पूर्वमिस नेपाल श्रीच्छा प्रधानले उनलाई ताज लगाइदिएकी थिइन् । त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् ।

यसवर्ष प्रतियोगितार्मा २६ सुन्दरी सहभागी थिए । कार्यक्रमको निर्णायकमा डा. रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रियंका रानी जोशी, शरद भेषावकर, रियासा दाहाल, विष्णुहरि पाण्डे र सकुन भण्डारी थिए ।

देशलाई सकारात्मक दिशामा अग्रसर बनाउन विद्यार्थी राजनीतिमा अग्रसर हुनुपर्छः अध्यक्ष लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक क्षेत्रमा विद्यार्थी अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

शनिबार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवल झापाको अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशलाई सकारात्मक दिशामा अग्रसर बनाउन विद्यार्थीहरू राजनीतिमा प्रवेश गर्नुपर्नेमा जोड दिए ।

“राजनीति क्षेत्रमा विद्यार्थीको सक्रिय सहभागिता महत्त्वपूर्ण छ, देशको भविष्य विद्यार्थीहरूको हातमा छ, उनीहरूले मुलुकलाई सकारात्मक दिशा दिन सक्छन्”, उनले भने ।

राजनीति राम्रो भएमात्र देश विकास र सबैको भविष्य सुन्दर हुने उनले बताए । उनले भने, “तपाईँहरू राजनीतिमा आउनुपर्छ, राजनीतिलाई राम्रो बनाउनुपर्छ ।” योग्य विद्यार्थी राजनीतिमा नआए मुलुकले उन्नति हासिल गर्न नसक्ने उनले बताए ।

“हाम्रो आमाबुबाको भविष्य बर्बाद भयो, हाम्रो पनि भविष्य बर्बाद भएको छ”, उनले भने, “तपाईहरूले पढाइसँगै राजनीतिमा पनि चासो दिन जरुरी छ ।”

विद्यार्थीको हकहितका लागि सङ्गठनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले नयाँ नेतृत्वलाई सफलताको शुभकामना दिए ।

अधिवेशनले विकास शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा युनिसा दङ्गाल, कसिल दङ्गाल र टीकामाया कार्की चयन हुनुभएको छ भने सचिवमा विनोद पोखरेल र सहसचिव सकिला लिम्बू चयन हुनुभएको छ । कोषाध्यक्षको भूमिकामा सलेली राजवंशी चयन भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी, सदस्यमा कोपिला राई, अपेक्षा राई, कमला बस्नेत, आशिष ढुङ्गेल, अभिषेक पराजुली, दर्पण लुइँटेल, राजा थापा, अशोक राजवंशी, राजा मण्डल, गोभा कटुवाल, शिल्वती राजवंशी, ममता राजवंशी, र मुकेश राजवंशी चयन हुनुभएको छ । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य अञ्जरा आलम, राप्रपा जिल्ला सदस्य एवं प्रदेशसभा सदस्य निमसरी राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई यही साउन १९ गते विश्वासको मत लिने भएका छन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि सोसम्बन्धी विषयको प्रस्ताव यही साउन २१ गते राख्ने व्यवस्था मिलाउन आज प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताए ।

उनले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको जानकारी दिए ।

कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का १३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का १०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य रहेका छन् ।

सोमालियाको समुद्री तटमा अल–शबाबको आक्रमणमा परी ३२ जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिशुको  समुद्र तटमा अल–शबाबले गरेको आत्मघाती आक्रमणमा परी ३२ जनाको मृत्यु हुनुका साथै कयौँ घाइते भएको प्रहरीले शनिबार जनाएको छ । अल–कायदासँग सम्बन्धित जिहादीले १७ वर्षदेखि सरकार विरुद्ध विद्रोह गर्दै आएका छन् । 

आक्रमण पछि सार्वजनिक गरिएको भिडियोमा सडक तथा समुद्र तटमा रगतले लतपतिएका शवहरू देखाइएको थियो ।


आक्रमणमा परी ३२ जनाभन्दा बढी सर्वसाधारणको मृत्यु हुनुका साथै ६३ जना घाइते भएको प्रहरी प्रवक्ता अब्दिफताह अदान हसनले पत्रकार सम्मेलनमा बताए ।  


आक्रमणकारीले नागरिकलाई लक्षित गरी गरेको विस्फोटले आक्रमणकारीको निशानामा सरकारी केन्द्र, सैनिक र अधिकारी मात्र नभई नागरिक पनि परेका छन् भन्ने प्रष्ट  भएकोे प्रहरी प्रवक्ता हसनले उल्लेख गरेका छन् ।


आक्रमणको जानकारी दिँदै प्रत्यक्षदर्शीले विस्फोट हुँदा घटनास्थलमा धेरै मानिसहरू रहेको बताएका छन् । 


अल–शबाबले मोगादिशुलगाथत देशको अन्य भागमा भएका बम विस्फोट र आक्रमणको जिम्मेवारी लिएको छ भने सरकारले इस्लामिक उग्रवादीहरू विरुद्ध आक्रमण गर्न दबाब दिइरहेको छ ।

बङ्गलादेशमा विद्यार्थीद्वारा राष्ट्रव्यापी नागरिक अवज्ञाको माग

प्रधानमन्त्री शेख हसिनाको सरकारले प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको विरोधमा विद्यार्थी नेताहरूले शनिबार देशव्यापी नागरिक अवज्ञा अभियानको घोषणा गरेका छन् ।

देशव्यापी नागरिक अवज्ञा अभियानका आइतबारदेखि शुरू गर्ने उनीहरूले जनाएका छन् ।

गत महिनालाई प्रधानमन्त्री हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा हिंसा भएको महिनाका रूपमा हेरिएको छ । निजामती सेवामा आरक्षणको विरोधमा गरिएको आन्दोलनका क्रममा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।

केही समयका लागि सैनिक तैनाथीले सुव्यवस्था कायम गरेपनि मुस्लिम बहुल राष्ट्र बङ्गलादेशमा नमाज प्रार्थनापछि ठूलो सङ्ख्यामा भीड सडकमा उत्रिएको थियो र सरकारलाई थप सहुलियतका लागि दबाब दिन विद्यार्थी नेताहरूले अवज्ञा आन्दोलनमा व्यापक सहभागिता जनाउन आग्रह गरेका छन् ।

प्रारम्भिक विरोध प्रदर्शनको आयोजना गर्ने समूह ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ले समर्थक तथा शुभचिन्तकलाई आइतबारदेखि देशव्यापीरूपमा असहयोग आन्दोलन सुरु गर्न आग्रह गरेको हो ।

समूहका असिफ महमुदले भने, “कर र युटिलिटी बिल नतिर्ने, सरकारी कर्मचारी पनि हडताल सहभागी हुने र बैङ्कहरूमार्फत विदेशी रेमिटेन्स भुक्तानी रोक्नेजस्ता माग समावेश गरिएको छ ।

विद्यार्थीहरूले गत महिना भएको हिंसाका लागि हसिनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र उनका केही मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने माग गरिरहेका छन् ।

उनीहरूले आन्दोलनलाई कारण देखाउँदै सरकारले बन्द गरेका देशभरका विद्यालय र विश्वविद्यालयहरू तत्काल पुनः सञ्चालन गर्नुपर्ने मा जोड दिएका छन् । प्रधानमन्त्री हसिना सरकारको विरोध गर्दै सडकमा भीड अझै बढेको छ ।

शनिबार राजधानी ढाकामा भएको प्रदर्शनहरूमध्ये एक स्थानबाट एएफपीसँग २० वर्षीया निजुम यास्मिनले भने, “हामीलाई यो ‘अधिनायकवादी’ सरकारको खाँचो छैन ।”

उनले भने, “के हामीले प्रशासनद्वारा हाम्रा भाइबहिनीहरूलाई गोली हानेर मारेको हेर्न देशलाई स्वतन्त्र बनाएका हौँं?”

यो असहयोग रणनीति सन् १९७१ मा पाकिस्तानविरुद्ध बङ्गलादेशको मुक्ति सङ्ग्रामको क्रममा गरिएको ऐतिहासिक नागरिक अवज्ञा अभियानसँग मेल खान्छ ।

उक्त आन्दोलनको नेतृत्व प्रधानमन्त्री हसिनाका पिता शेख मुजिबुर रहमानले गरेका थिए । उनी देशको स्वतन्त्रताका लागि लडेका एक नेता थिए । यसलाई बङ्गलादेशीहरूले निरङ्कुशताविरुद्धको गर्वपूर्ण लडाइँको एक भागको रूपमा सम्झन्छन् ।

इलिनोइस स्टेट युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक अली रियाजले एएफपीसँग भने, “अब आन्दोलनको तालिका बदलिएको छ ।”

उनले भने, “शासनको जग हल्लिएको छ, अजेयताको आभा हराएको छ । के हसिना निकास खोज्न तयार हुनुहुन्छ वा अन्तिमसम्म लड्न तयार हुनुहुन्छ भन्ने सवाल प्रमुख बनेर आएको छ ।”

उनका प्रेस सचिव नायमुल इस्लाम खानले एएफपीलाई बताएअनुसार प्रधानमन्त्रीले शनिबार विद्यार्थीहरूको माग सम्बोधन गर्न ‘बिनाशर्त वार्ता’ गर्ने प्रस्ताव गरेका छन् ।

खानले भने, “प्रधानमन्त्री हसिना विद्यार्थीहरूसँग वार्तामा बस्न तयार हुनुहुन्छ । उहाँ थप द्वन्द्व नहोस् भन्ने पक्षमा हुनुहुन्छ ।”

महमुदले एएफपीसँग कुरा गर्दै विद्यार्थीहरूले उक्त प्रस्ताव अस्वीकार गरेको बताए ।

सन् २००९ देखि बङ्गलादेशमा शासन गर्दै आएकी ७६ वर्षीया हसिनाले गत जनवरीमा भएको निर्वाचनबाट लगातार चौँथो कार्यकालका आफुलाई अनुमोदित गर्नुभएको थियो । यद्यपि, निर्वाचनमा वास्तविक विपक्षीहरूको सहभागिता रहेको थिएन ।

हसिना सरकारमाथि अधिकारवादी समूहहरूले राज्यका संस्थाहरूको दुरुपयोग गरी सत्तामा आफ्नो पकड बलियो बनाउन र विपक्षी कार्यकर्ताहरूको गैरन्यायिक हत्यालगायत असहमतिलाई निस्तेज पार्न प्रयोग गरेको आरोप लगाउँदै आएका छन् ।

बङ्गलादेशको सर्वोच्च अदालतले आधाभन्दा बढी सरकारी जागिर निश्चित समूहका लागि आरक्षित गरेको कोटा योजनालाई पुनः लागू गरेको विरोधमा जुलाईको सुरुमा प्रदर्शन सुरु भएको थियो ।

सरकारी आँकडाअनुसार करिब एक करोड ८० लाख युवा बङ्गलादेशीहरू बेरोजगार छन् र यो कदमले गम्भीर रोजगारी सङ्कटको सामना गरिरहेका स्नातकहरूलाई निराश बनाएको छ ।

प्रहरी र सरकार समर्थित विद्यार्थी समूहहरूले प्रदर्शनकारीहरूमाथि आक्रमण नगरेसम्म प्रदर्शनहरू धेरै हदसम्म शान्तिपूर्ण थिए ।

सरकारले अन्ततः राष्ट्रव्यापी कफ्र्यू लगायो, सेना परिचालन ग¥यो र देशको मोबाइल इन्टरनेट नेटवर्क ११ दिनका लागि बन्द गर्यो ।

युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले यसै साता ‘प्रदर्शनकारीविरुद्ध अत्यधिक र घातक शक्ति’ को प्रयोग भएको भन्दै अन्तर्राष्ट्रिय छानबिनको माग गरेका थिए ।

गृहमन्त्री असदुज्जमान खानले गत साता पत्रकारसँग कुरा गर्दै सुरक्षा फौजले संयमताका साथ काम गरिरहेको तर सरकारी भवनको रक्षाका लागि ‘गोली चलाउन बाध्य भएको’ बताएका थिए ।

–३२ बालबालिकाको मृत्यु–

संयुक्त राष्ट्रसङ्घीय (युनिसेफ) का अनुसार बङ्गलादेशमा आरक्षणको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा कम्तीमा ३२ बालबालिकाको मृत्यु भएको छ ।

युनिसेफका एक प्रवक्ताका अनुसार मारिएका मध्ये एक जना पाँच वर्षको पनि नभएको बताइएको छ । मारिनेमध्ये अधिकांशले विरोध प्रदर्शन हेरिरहेका थिए ।

युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक सञ्जय विजेसेकराले यसै साता आफ्नो बङ्गलादेश भ्रमणका क्रममा धेरै बालबालिकालाई हिरासतमा राखिएकोबारे आफूलाई जानकारी गराइएको र ३२ बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन् ।

आगामी वैशाख तेश्रो साता राष्ट्रिय महाधिवेशन गर्न रास्वपाको केन्द्रीय समितिलाई ‘क्लोज क्याम्प’को सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशालाले केन्द्रीय समितिलाई १५ बुँदे सुझाव दिएको छ । शुक्रबार र शनिबार दुई दिन चलेको बन्द कार्याशालाले आगामी असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न, राष्ट्रिय महाधिवेशन २०८२ वैशाख तेश्रो सातामा गर्न सुझाव दिएको हो ।

त्यस्तै विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत् राष्ट्रिय भेलामा पेश गर्न पनि कार्याशालाले सुझाव दिएको छ ।

प्रधानमन्त्रीले ओलीले गरे चलचित्र ‘नमेटिने घाउ’ को डबिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अभिनय गरेको चलचित्रको शनिबार डबिङ गरेका छन् । अनामनगरस्थित एक स्टुडियोमा उनले चलचित्र ‘नमेटिने घाउ’को संवादको डबिङ गरेका हुन् ।

यो चलचित्रमा ओली प्रधानमन्त्रीकै भूमिकामा छन् । ११ वैशाखमा ओलीको भूमिका एमाले मुख्यालय च्यासलमै सुटिङ गरिएको थियो । ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेला एसिड आक्रमणकारीहरूलाई कडा सजाय गर्ने कानून ल्याएको र पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरेकाले ओलीको हातबाट चलचित्रको शुभमुहुर्त गरिएको थियो ।

चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । फिल्म अभिनेता रमित ढुङ्गाना छन् । यो चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ ।चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ ।

लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् । चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, बिशाल देबकोटा ,आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ ।

चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहनेछ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ। रमित ढुंगाना फिल्म प्रोडक्शनका ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नरसिंह राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे, आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ ।

चलचित्रमा निरज कंडेलको छायांकन, बनिश शाहको सम्पादन, ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ । सामाजिक कथावस्तुमा आधारित फिल्मको पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती र भक्तपुरमा छायांकन भएको छ ।

डेङ्गु परीक्षणका लागि ६ सय रुपैयाँ सीमा शुल्क

दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिकाले डेङ्गु परीक्षणका लागि बढीमा ६ सय रुपैयाँ मात्र शुल्क लिन निजी अस्पताललाई निर्देशन दिएको छ । नगरपालिकाले नगरभित्रका सबै निजी अस्पताल, स्वास्थ्य क्लिनिक, निजी प्रयोगशालालाई डेङ्गु परीक्षणका लागि बढीमा ६ सय शुल्क लिन निर्देशन दिएको हो ।

प्रादेशिक डेङ्गु रोकथाम तथा नियन्त्रण निर्देशक समिति गण्डकी प्रदेशको गत असार २७ गते बसेको बैठकले सम्पूर्ण प्रयोगशालाका लागि डेङ्गुको द्रुत परीक्षणको शुल्क निर्धारण गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनले भने, “तोकिएको भन्दा बढी शुल्क लिएको पाइए कानुनबमोजिम कारबाही हुनेछ ।”

पछिल्लो समय डेङ्गु सङ्क्रमणको जोखिम बढेकाले नगरपालिकाले सचेत रहन आग्रह गरेको छ । नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि विद्यालयस्तरमा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

गत आर्थिक वर्षमा नगरपालिका डेङ्गुले ग्रस्त भएपछि नगरपालिकाले यसपटक विद्यालयस्तरमा अभिमुखीकरण थालेको हो ।

वर्षायाम सुरु भएसँगै चालु आर्थिक वर्षमा डेङ्गु रोगका सङ्क्रमित देखिन सुरु भइसकेको र समयमै रोकथाम गर्न नसके पुनः महामारी फैलन सक्ने सम्भावना भएको हुँदा डेङ्गु नियन्त्रणका लागि सबै वडाका निजी तथा सामुदायिक विद्यालयमा अभिमुखीकरण गर्न निर्देशन दिइएको सोतीले बताए ।

उनले भने, “स्वास्थ्य शाखाका कर्मचारीले विद्यालयस्तरमा पुगेर विद्यार्थीलाई यस रोगका बारेमा सचेतनामूलक कार्यक्रम गरिरहेका छन् ।”

नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

काठमाडौँ । सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने, ‘मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो । १५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।’

च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको उनले बताए । १ साउन २०८० देखि यो प्रणाली लागू भएपछि भने त्यस्ता च्यानलहरूको प्रसारण नै रोकिएको थियो तर सरकारपछि हट्ने सङ्केत नपाएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार भएका थिए ।

सुरुवाती समयदेखि नै भारतीय टेलिभिजन च्यानलहरूले आलाकार्टा प्रणाली पालना गर्न आनाकानी गर्दै आइरहेका छन् । उनीहरूले प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने भन्दै विरोधमा छन् । मन्त्रालयकानुसार हाल सबै विदेशी च्यानल प्रदायकको करिब एक अर्ब विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।

मनसुनजन्य विपदमा परी देशभर एक सय ५० जनाको मृत्यु

काठमाडौँ । बाढी, पहिरोलगायत मौसमजन्य विपद्मा परी शनिबारसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ । विपदमा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपदमा ४९ जना बेपत्ता तथा एक सय ७७ जना घाइते भएका छन् भने विपदमा फसेका एक सय आठ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन् । यही जेठ २८ यताका भएका घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका छन् ।

काभा महिला भलिबलमा भारतलाई हराउँदै नेपालको ऐतिहासिक जित

काठमाडौँ । राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले एतिहासिक जित दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । 


निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट  नेपालले २५–१८ ले जित्यो । खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट भने नेपालले जित्यो । नेपालले भारतलाई २५–१७ ले पाखा लागायो । तर चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५–१३ ले पराजित गर्यो । 


 च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।  प्रतियोगिताअन्तर्गत भोलि  दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्स भिड्नेछन् भने सवा पाँच बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ । उक्त दुवै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ । 


जारी प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले श्रीलङ्कामाथि २५–१९, २५–१८, र २५–१९ ले पराजित गरेको थियो ।

आफैंले चलाएको गोली लागेर नवलपरासीमा एक सैनिक जवानको मृत्यु

मध्यविन्दु । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैंले चलाएको गोली लागेर मृत्यु भएको छ ।  

कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको आफूले चलाएको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

“धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको छ”, उनले भने । 

घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए । 

तटबन्ध नहुँदा बाँकेका ६० हजार नागरिक डुवानको उच्च जोखिममा

बाँके । जिल्लामा राप्ती नदीले भत्काएको तटबन्धन पुनःनिर्माण हुन नसक्दा दुई गाउँपालिकाका ६० हजारभन्दा बढी नागरिक डुवानको उच्च जोखिममा परेका छन् ।

राप्तीसोनारी गाउँपालिका–७ खल्ला झगडियामा नदीको कटान तथा डुवान रोक्न निर्माण गरिएको अस्थायी तटबन्धन दुई वर्षअघि बाढीले भत्काएको थियो ।

उक्त तटबन्धन पुनःनिर्माण हुन नसक्दा राप्तीसोनारी–६ र ७ तथा नरैनापुर गाउँपालिका–६ मा गरी करिब ६० हजारभन्दा बढी नागरिक डुवानको उच्च जोखिममा रहेका नरैनापुरस्थित रेडक्रस गङ्गापुर उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवले जानकारी दिए । उनका अनुसार पछिल्लो समय राप्तीमा जल सहत बढ्दै गएर नदी गाउँतिर सोझिँदै आएको छ ।

लगातार वर्षा हुनासाथ राप्तीको बाढी गाउँ पस्ने जोखिम बढ्दै गएको उनले बताए ।

डुवान समस्याबारे स्थलगत अवलोकनमा पुग्नुभएका प्रतिनिधिसभाका सांसद सूर्य ढकालले नदी प्रभावित राप्तीसोनारी र नरैनापुरवासीका गुनासो सुनेपछि दीर्घकालीन रुपमा समस्या समाधान गर्न सङ्घीय सरकारसँग छलफल गर्ने प्रतिबद्धता जनाए ।

खल्ला झगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले ठूलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी तत्काल सरोकार भएका निकायको ध्यानाकर्षण गराउने उनले जानकारी दिए ।

‘अहिले भएको वर्षाका कारण नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीमा प्रवेश गर्ने अवस्था आइरहेको छ’, सांसद ढकालले भने, ‘नदीले तीव्र रुपमा कटान गर्दै धार परिवर्तन गर्नसक्ने जोखिम भएकाले बस्ती जोगाउन निरन्तर राज्यसँग पहल गरिरहेको छु ।’

राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको राप्तीसोनारी–७ नयाँबस्तीका शङ्कर यादवले बताए ।

‘बाढी रोकथाम गर्न लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी कटान गर्दै गाउँतिर सोझिएको छ’, उनले भने, ‘ठूलो बाढी आयो भने गाउँ बगाउँछ भन्ने चिन्ताले वर्षात्को समयमा राम्ररी निदाउन पनि सकिँदैन ।’

तटबन्ध निर्माण नभएकाले राप्तीसोनारी–६ र ७ का सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायत गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदरवेटवा, कुडुवालगायत बस्ती जोखिममा छन् ।

बस्ती जोगाउन निर्माण भएको तटबन्ध भत्किएका कारण राप्ती नदीमा ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिका–६ र ७ मा रहेका बस्तीमा ठूलो क्षति हुने अवस्था आएको वडा नं ७ का वडाध्यक्ष रामलखन थारुले बताए ।

उक्त समस्याको दीर्घकालीन समाधान खोज्न र अहिलेको जोखिम न्यूनीकरण गर्न राप्तीसोनारी र नरैनापुर गाउँपालिका, जनताको तटबन्धलगायत अन्य सरोकार भएका निकायमा जानकारी गराइएको बताउँदै हालसम्म मर्मतसंभारको पहल नभएको उनले गुनासो गरे ।

रत्नेचौर र उपल्लाचौरमा सिँचाइ आयोजना पुनःनिर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको दुई हजार २३ र उपल्लाचौरको दुई हजार चार साले सिँचाइ आयोजना पुनःनिर्माण भएको छ ।

पहिराले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर बनाएर सिँचाइ आयोजना पुनःनिर्माण गरिएको हो । २००४ मा निर्माण भएको नहरलाई चार साले र २०२३ मा निर्माण भएको आयोजनालाई तेईस साले सिंचाइ आयोजना नामकरण गरिएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा छुट्टाछुट्टै उपभोक्ता समितिमार्फत आयोजना पुनःनिर्माण भएको हो । उपल्लाचौर जल उपभोक्ता समितिका अध्यक्ष चन्द्रवीर थापाले पछिल्लो तीन आर्थिक वर्षमा ६० लाख बजेटबाट तीन सय ८० मिटर नहर र एक हजार ८२ मिटर पाइपलाइन जडान भएको बताए ।

‘२०४८ मा बनाइएको पक्की नहर मुहान् नजिकै पहिराले भासिएको र उपल्लाचौरमा रत्नेचौर–अर्जम–भकुण्डे सडक निर्माणका क्रममा पुरिएको थियो’, उनले भने, ‘भासिएको ठाउँमा पाइपलाइन र पुरिएको नहर पुनःनिर्माण गरेपछि मुहानबाट पठाएको जति सबै पानी खेतमा आइपुग्ने भएको छ ।’

एक सय ५० घरधुुरी कृषकको करिब पाँच सय रोपनी जमिनमा १२ महिना सिँचाइ सुविधा पुगेको छ । चालुु आर्थिक वर्षमा विनियोजन भएको २२ लाख बजेटबाट एक हजार पाँच सय ७४ मिटर पाइपलाइन जडान, मुहानमा दुई वटा इन्टेक र ३० थान ग्यावीयन पर्खाल बनाएर २३ साले सिँचाइ आयोजनाको पुनःनिर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ ।

समितिका सचिव ओम रोकाले पाइपलाइन जडान गरेपछि वर्खाको समयमा नहर बगाउने समस्या हटेको बताए । रत्नेचौरको २५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुुगेको उहाँले बताए । २३ साले सिँचाइ आयोजना मर्मत सम्पन्न भएपछि ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा सहज रुपमा आएपछि रत्नेचौरका किसानले असार महिनाभित्रमै धान रोपाइँ सकेका स्थानीय शङ्कर महतले बताए ।

‘पहिरो र बाढीले पुरानो कुलाको नहर र मुहान भत्काएपछि यसअघिको दुई वर्ष आकासे पानीको भरमा सिँचाइ गरेर धान रोप्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा ल्याएर सिँचाइ गर्न पाएपछि किसानलाई सहज भएको छ ।’

वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइत सम्मानित

काठमाडौँ ।  ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याएको विशिष्ट योदानको कदर गर्दै अभिनन्दन गरेको छ ।

सभामुख देवराज घिमिरेले शनिबार आयोजित समारोहमा उनलाई अभिनन्दन गरेका हुन् । ताप्लेजुङ ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हव’का रुपमा विकास गर्न उनी सफल भएका छन् ।

न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्याक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रुपमा डा रुइत चिनिएको अभिनन्नद पत्रमा उल्लेख छ ।

डा रुइतले यसअघि एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगसेसे पुरस्कार’ बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसकेका  छन् ।

कार्यक्रममा सम्मानित व्यक्तित्व डा रुइतले कञ्जनजङ्गा हिमाल क्षेत्रको सदुपयोग गरी राष्ट्रले लाभ लिने र तमोर करिडोर सडक निर्माणलाई छिटो सम्पन्न गर्ने कार्यमा ध्यान पुर्याउन सरकार, संसद् र राजनीतिक दललाई सुझाव दिए ।

संखुवासभामा विद्युत महसुल उठाउन गएका प्राधिकरणका कर्मचारीमाथि कुटपिट

किमाथाङ्का (सङ्खुवासभा) ।  नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ ।

विद्युत् महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । उनका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटपिट भएको थियो ।

कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको  कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए । “निजहरु विरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको छ । उजुरी लगत्तै उहाँहरु फरार भएकाले खोजी कार्य भइरहेको छ”, उनले भने ।

विद्युत् महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गाली गलौज, हातपात तथा कुटपिट भएको थियो । स्थानीय लिङ्थेपको क्रशर उद्योगले  छ लाख ४० बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको प्रमुख यादवले बताए । कर्मचारीमाथि कुटपिट भएपछि मादीस्थित शाखा कार्यालय गत साउन १५ गतेदेखि बन्द छ ।

कार्यालयमा ६ जना कर्मचारी कार्यरत छन् । शाखा कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । कर्मचारीमाथि कुटपिट भएपछि अन्य कर्मचारी त्रासमा रहेकाले कार्यालय बन्द गरेर सदरमुकाम आएका छन् ।

काभा बिच महिला भलिबलको उपाधि नेपाललाई

काठमाडौं । काभा बिच महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । भु्टानमा शनिबार भएको फाइनल खेलमा नेपालले उज्वेकिस्तान ए टिमलाई पराजित गर्दै उपाधि उचालेको हो ।

नेपालका कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टिमलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । नेपालले पहिलो सेट २१–१७ ले जितको थियो भने दोस्रो सेटमा अझ सुधारिएको प्रदर्शन गर्दै २१–१४ अंकले जित निकाल्यो । नेपाल प्रतियोगिताभर अपराजित रह्यो ।

नेपाली महिला टिमले लगातार पाँच खेल जितेको हो । शनिबारै नेपाली टिम सेमिफाइनलमा उज्वेकिस्तानको बी टिमलाई २–० ले पराजित गर्दै फाइनलमा पुगेको थियो । समूह चरणका तीनवटै खेलमा पनि नेपाल अपराजित रहेको थियो । यस्तै पुरुषतर्फ पनि नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले फाइनल खेल्दै छ ।

स्वीडेनद्वारा लेबनानस्थित दूतावास बन्द

स्वीडेनले लेबनानको बेरुतस्थित आफ्नो दूतावास बन्द गरेको शनिबार जनाएको छ । हजारौँ नागरिकलाई लेबनान छोड्न आग्रहसहित गाजामा युद्ध बढ्न सक्ने सम्भावना पछि दुतावास बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।   

यस हप्ता भएको हमास र हेजबुल्लाह नेताहरूको हत्याले गाजा युद्धको बीचमा थप क्षेत्रीय तनाव बढाएको छ ।

स्वीडेनको विदेश मन्त्रालयले आफ्ना कर्मचारीलाई बेरुत छोडेर साइप्रस जान निर्देशन दिँदै दूतावास अस्थायी रूपमा स्थानान्तरण गर्ने योजना बनाइरहेको विदेश मन्त्री टोबियास बिलस्ट्रोमले बताए ।

उक्त निर्णय सुरुवाती चरणमा अगस्ट महिनाको लागि लिइएको जनाउदै उहाँले सुरक्षा अवस्थाका आधारमा विस्तार गर्न सकिने उल्लेख गरेका छन् ।  

विदेश मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबरदेखि जारी गरिएको चेतावनी वावजुत दश हजार स्वीडेनका नागरिक लेबनान गएका हुनसक्ने उल्लेख गर्दै विदेश मन्त्री बिलस्ट्रोमले लेबनानमा रहेका स्वीडेनका नागरिकलाई  देश छोडी अन्यत्र जान आग्रह गरेका छन् ।

नेपालीलाई सेवा दिन राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा

लिस्बन । पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आइपुगेको छ।

विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन सङ्कलन गर्न विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली बिहीबार राजधानी लिस्बन आइपुगेको हो।

टोलीले लिस्बनस्थित गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको हलमा ‘घुम्ती सेवा शिविर’ सञ्चालन गरेर शुक्रबारदेखि सेवा दिन सुरु गरेको छ। सेवा सुरु भएसँगै शिविर वरपर रहेका सेवाग्राही नेपालीको घुइँचो लाग्न थालेको टोलीका प्रमुख एवं विभागका निर्देशक मोतिबहादुर श्रीसले जानकारी दिए।

शुक्रबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका वा हराएका र पोर्चुगलमा जन्मेका नेपालीका छोराछोरी गरी एक सय ८३ जनाको ‘बायोमेट्रिक’ विवरण सङ्कलन गरिएको छ।

नयाँ राहदानी बनाउन ६ हजारले अनलाइन आवेदन भरेकाले सोही सङ्ख्याको हाराहारीमा दरखास्त सङ्कलन हुने अनुमान गरिएको निर्देशक श्रीसले बताए। समयमै काम सक्ने गरी सेवा दिने प्रयास गरिएको बताउँदै तोकिएको दिन र समयमा अनिवार्य उपस्थित हुन उनले सेवाग्राहीलाई आग्रह समेत गरे।

‘अहिले राहदानी बनाउन अग्रिम आवेदन दिएकालाई प्राथमिकता दिएर काम गरिरहेका छौँ। आवश्यकता र कामको चाप हेरेर कन्सुलरसम्बन्धी अन्य आकस्मिक र जरुरी सेवा दिने प्रयास गर्नेछौँ’, श्रीसले भने।

दश दिनसम्म सञ्चालन हुने शिविर लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावास, गैरआवासीय नेपाली सङ्द्ध पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका छन्।

टोलीमा विभागका दुई र फ्रान्सस्थित नेपाली दूतावासका एक गरी तीनजना कर्मचारी सहभागी छन्। टोलीले अगस्त ११ तारिख (साउन २७ गते)सम्म राजधानी लिस्बनमा रहेर राहदानी सेवा दिनेछ।

केही महिनाअघि पनि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आएर एक सातासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो।

पोखरा महानगरमा सञ्चालित सार्वजनिक बसको प्रदूषण जाँच

कास्की । पोखरा महानगरपालिका भित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँच सुरुआत गरिएको छ । यातायात व्यवस्था कार्यालयले आज पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालित बसहरूको प्रदूषण परीक्षण गरेको हो ।

मापदण्ड भन्दा बाहिर रहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सवारी साधनहरूको प्रदूषण जाँच सुरु गरिएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख अशोक गौतमले जानकारी दिए । उनका अनुसार अन्य दिनमा प्रदूषण परीक्षका लागि भीडभाड हुने भएकाले सार्वजनिक बिदाका दिनमा समेत सेवा सञ्चालन गरिएको हो ।

पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालनमा रहेका तीन सय ७८ बसको प्रदूषण परीक्षण गरिने कार्यालयले जनाएको छ । प्रदूषण परीक्षणमा अनुत्तीर्ण सवारीहरुलाई पुनः मर्मतका लागि पठाइने र उत्तीर्ण भएपछि मात्र सञ्चालन अनुमति प्रदान गरिने कार्यालय प्रमुख गौतमले बताए ।

‘पोखरा पर्यटकीय राजधानी समेत हो । यहाँ गाडीबाट निस्कने धुँवा बढी हुने गरेको स्थानीयवासीको गुनासो आएपछि कडाइका साथ जाँच गर्न लागेका हौँ । आज पोखरा यातायात प्रालिका बसहरुको यान्त्रिक परीक्षण र प्रदूषण जाँचपासको काम गरेका छौँ । आगामी दिनमा निजी विद्यालयद्वारा सञ्चालित बसहरुको समेत परीक्षण गछौँ ।’ कार्यालय प्रमुख गौतमले भने ।

जाँचपास गर्दा बढी प्रदूषण देखाएका गाडीलाई तत्काल मर्मत र सर्भिसिङका लागि पठाउने गरिएको कार्यालयका मेकानिकल इन्जिनियर अब्दुल्ला हवारीले बताए।

बसहरुको सर्भिसिङपछि बसको अनुत्तीर्ण हुने दर कम भएको उनले बताए। कार्यालयले प्रदूषण बढी भएका तथा जाँच अनुत्तीर्ण भएका गाडी सञ्चालनमा रोक लगाउने जनाएको छ ।इन्जिनियर हवारीका अनुसार परीक्षण मेसिनले गाडीको धुँवाको ‘डेन्सिटी’ हेर्ने र ३० प्रतिशत सम्म आउने उत्तीर्ण र त्यो भन्दा बढी आउने अनुत्तीर्ण हुने जानकारी दिए।

‘परीक्षणको नतिजा तत्कालै प्राप्त हुने गरेको छ । बढी प्रदूषण देखाएर फेल भएका गाडी सञ्चालन गरे यातायात व्यवस्था ऐन अनुसार दुई हजारदेखी १० हजारसम्म कारवाही हुन्छ ।’ उनले भने।

पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुडले बसहरुले बढी धुँवा फालेको गुनासो पछि व्यवसायीले रु दुई लाख ५० हजारसम्म खर्च गरेर इन्जिन लगायत सबै परीक्षण गराएको जानकारी दिए। गाडीको पार्टपुर्जा बाहेक गाडीमा प्रयोग गरिने इन्धनको कारणले समेत धुँवा बढी फालेको हुन सक्ने भएकाले त्यसको समेत जाँच गर्न उनले माग गरे।

अध्यक्ष गुरुङले भने, ‘गुनासो आएपछि व्यवसायीले गाडी मर्मत गरेको हो । मर्मत सम्भार गर्दा समेत धुँवा फालिरहेको छ । के कारणले धुँवा फालिरहेको हो भनेर हामीलाई इन्जिनियरले बताइदिनुपर्दछ ।’

मधेसको औद्योगिक विकासमा सघाउन सरकार प्रतिबद्धता छ : मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा रहेका उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा प्रदेश सरकारले सकारात्मक सहयोग गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका प्रतिनिधिमण्डलसँग आज यहाँ भएको भेटमा मुख्यमन्त्री सिंहले प्रदेशमा रहेका औद्योगिक, वाणिज्य क्षेत्रको विकास गर्दै व्यवसायीको मनोबल उच्च बनाउन प्रदेश सरकार सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बारा–पर्सा औद्योगिक कोरिडोर घोषणा गर्न सङ्घ सरकारसँग छलफल गरिने उल्लेख गरे ।

औद्योगिक कोरिडोर घोषणा गर्न प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताउँदै मुख्यमन्त्री सिंहले आवश्यकताका आधारमा सङ्घ सरकार समन्वय गर्ने बताए ।

‘कानुनसम्मत भएको खण्डमा बारा–पर्सा औद्योगिक करिडोरको घोषणा प्रदेश सरकारले गर्नेछ । यो विषयमा सरोकार भएकासँग आवश्यक छलफल गरी निर्णय गर्नेछौँ’, उनले भने ।

मुख्यमन्त्री सिंहले उद्योगको आवश्यकता र अपेक्षाअनुसार दक्ष कामदार उत्पादन गर्न प्रदेश सरकारले सीपमूलक तालिम दिने योजना बनाइरहेको जानकारी दिए। उनले उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ नियमित र सहज रुपमा आपूर्तिको व्यवस्था गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए ।

‘यहाँका सिमेन्ट उद्योगले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न नसकिरहेको विषयमा अध्ययन टोली गठन गर्नेछौँ’, मुख्यमन्त्री सिंहले भने ।

प्रदेशका सिमेन्ट उद्योगले प्रतिबोरा रु एक राजस्व तिर्नुपर्ने दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले यहाँका केही उद्योगले मात्र राजस्व बुझाएका बताए।

प्रदेश सरकार इ–गभर्नेन्समा जान लागेको भन्दै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमार्फत औद्योगिक क्षेत्रको प्रवर्द्धन गर्न प्रविधिसँग जोड्ने तयारी भइरहेको मुख्यमन्त्री सिंहले जानकारी दिए।

बारा र पर्साका उद्योगी, व्यापारीको प्रतिनिधित्व रहेको महासङ्घको टोलीले प्रदेशको समृद्धिका लागि कृषि, पर्यटन, उद्योग क्षेत्रका चुनौती र सम्भावनाका बारेमा मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधिमण्डलले जनकपुरधाम तथा मधेसको सर्वाङ्गीण विकास, काठमाडौँस्थित श्रम अदालतको अधिकार प्रदेशको उच्च अदालतमा प्रत्यायोजन र वातावरणीय अध्ययन प्रतिवेदनका काम प्रदेश उद्योग विभागका महानिर्देशकले गर्नेगरी कानुनी व्यवस्था गर्नुपर्ने आग्रह गरेको छ ।

कृषिक्षेत्र वर्गीकरण गर्नुपर्ने, केन्द्र सरकारको क्षेत्राधिकारमा रहेका खाद, बीउलगायत कृषिजन्य वस्तु प्रदेश सरकारमार्फत वितरण हुनुपर्ने, व्यावसायिक खेती र मूल्यमा आधारित कृषि वस्तुको अनुसन्धान गर्न राज्यले उत्प्रेरित गर्नुपर्ने, जडीबुटीलगायत अन्य वनजन्य उत्पादनको अनुमति प्रदेश सरकारबाट लिइनुपर्ने व्यवस्था, प्रदेशस्तरमा व्यापार तथा निर्यात केन्द्र सञ्चालन गरिनुपर्नेलगायत माग प्रतिनिधिमण्डलको छ ।

उद्योग, वाणिज्य महासङ्घ जनकपुरले धनुषाधामस्थित वन तथा मन्दिरको सौन्दर्यकरण गरिनेपर्ने, जनकपुरधामको १५ दिने परिक्रमाका हजारौँ तीर्थयात्रीको रात्रीबासको व्यवस्था, धार्मिक तथा पर्यटकीय स्थलको योजनाबद्ध विकास, जनकपुरधाम–जयनगर रेल्वेमा मालवाहक गाडीको व्यवस्था, जनकपुरधामका पोखरी, मन्दिर, धार्मिक तथा पर्यटकीय स्थलको योजनाबद्ध विकास, किसानलाई प्राविधिक ज्ञानलगायत विषयमा मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको छ ।

कमला ह्यारिस आधिकारिक रूपमै डेमोक्राटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेद्धार

आसन्न चुनावका लागि अमेरिकी डेमोक्राटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेद्धार चयन गरेको छ ।

डेमोक्राटिक पार्टीका अधिकारीहरूले बहुमत सहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेद्वारमा चुनेको घोषणा गरेका छन् ।

यसै सन्दर्भमा ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनिन्, “म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेद्वार हुन पाउँदा सम्मानित छु ।”

आगामी हप्तामा आधिकारिक रूपमा मनोनयन स्वीकार गर्ने ह्यारिसले जनाएकी छन् ।

वासिङ्टन पोस्टका अनुसार, ह्यारिस राष्ट्रपति पदको नेतृत्व गर्ने पहिलो अश्वेत तथा दक्षिण एसियाली मुलकी महिला उम्मेद्धार हुन् । उनको उम्मेद्धारीले लामो सयमदेखि थाती रहेका जातीय तथा लैङ्गिक सवालहरुले सार्थकता पाउने अपेक्षा गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले ह्यारिसलाई समर्थन गर्दै जुलाई –२१ मा चुनावी प्रतिश्पर्धाबाट बाहिरिने घोषणा गर्नु भएको थियो । समर्थनपछि जुलाई–२७ मा, ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावका लागि आधिकारिक रूपमा आफ्नो उम्मेद्वारको उद्घोष गरेकी हुन् ।

सन् २००८ मा बाराक ओबामापछि अमेरिकाको इतिहासमा प्रमुख राष्ट्रपति पदको टिकट पाउने ह्यारिस दोस्रो अश्वेत व्यक्ति हुन् ।

चीनमा पुल भत्किदा पाँचजना बेपत्ता

दक्षिणपश्चिम चीनमा गएको पहिरोका कारण राजमार्गको पुल भत्किँदा कम्तीमा पाँच जना बेपत्ता भएको अधिकारीहरूले शनिबार बताएका छन् ।

सिचुआन प्रान्तको स्थानीय सरकारले काङ्गडिङ र लुडिङबिचको राजमार्गमा दुईवटा सुरङ्ग जोड्ने पुल पहिरोका कारण भत्केको बताइएको छ ।

बिहान ११ बजेसम्म छ जना सवार तीनवटा गाडीहरू सडकबाट खसेको अधिकारीहरूले पुष्टि गरेका थिए जसमध्ये एक व्यक्तिको उद्धार गरिएको छ र पाँच बेपत्ता छन्”, सरकारले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

“हाल उद्धारकर्ताहरु घटनास्थलमा खटिएका छन्”, विज्ञप्तिमा भनिएको छ।

गत महिना उत्तरी साङ्सी प्रान्तको राजमार्गमा पुल खस्दा ज्यान गुमाउनेको सङ्ख्या १२ बाट बढेर ३८ पुगेको र २४ जना अझै बेपत्ता रहेको राज्य सञ्चार माध्यमले शुक्रबार जनाएको हो ।

मे महिनामा, दक्षिणी चीनमा लगातारको वर्षापछि एउटा राजमार्गको पुल भत्किदा ४८ जनाको मृत्यु भएको थियो ।

देशभर २५ जनामा हैजा पुष्टि

काठमाडौँ । मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो ।

पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ ।

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।

काभ्रेमा उत्पादित आलुको ‘ब्राण्डिङ’

काभ्रे ।  प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका–३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो । 


‘आलु सुपरजोन’का रुपमा जिल्लाको चिनारी बनाउन तथा यहाँको आलुको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने ध्येयले प्याकेजिङ सुरु गरिएको जनाइएको छ ।


प्रारम्भिक चरणमा हाल दुइ किलो, तीन किलो र पाँच किलो तौलमा आलुको प्याकेजिङ हुने गरी ब्राण्डिङ सुरु गरिएको खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफुल नर्सरी उद्योगका सञ्चालक राजेन्द्र थापाले बताए । उनका अनुसार स्थानीयस्तरमा उत्पादित आलुको ब्रान्डिङसहित बजारीकरण थालिएको हो । 


भण्डारणका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना (सुपरजोन)को आर्थिक सहयोगमा भन्डारण कक्ष निर्माणसहित प्याजिङ गरिएको आलु बजारीकरण सुरु गरिएको थापाले बताए ।


“हाललाई एकतले भवनबाट भण्डारणसहित प्याकेजिङ थालेका छौँ, अब चालु आर्थिक बर्षमा भवनको निर्माण थप्दै प्याकेजिङको परिमाण बढाउनेछौँ”, उनले भने । उद्योगलाई भन्डार कक्ष र प्याकेजिङ सुरुआतका लागि परियोजनाले गत आवमा पहिलो चरणमा १४ लाख रुपैयाँ सहयोगमा गरेको थियो ।


 केही दिनअघि आलु प्याकेजिङलाई जिल्लास्थित बजार पठाइएकाले मागको अवस्थाबारे अनुगमनसमेत गर्न थालिएको उद्योगका अर्का सञ्चालक शशी अधिकारी बताउँछन् । उद्योगले ‘काभ्रेको चिनारीः पोषिलो आलुको तरकारी’को नारासहित हाललाई प्रतिकेजि ८० रुपैयाँका दरले प्याजिङ गरिएको आलु बजार पठाएको हो ।


“आलुको गुणस्तर कायमै राखी बजारको मागअनुसार फरकफरक तौलमा प्याकिङ गर्ने योजना बनाएका छौँ”, अधिकारीले भने । उनकाअनुसार उद्योगले फरकफरक जातको आलु ‘ग्रेडिङ’ गरी बजार पठाएको छ । 


उपभोक्ताले आफुलाई मन पर्ने जातको आलु किनेर लैजान सक्नेगरी प्याकेजिङ गरेको जनाइएको छ । सुपरजोन समन्वय समितीका प्रमुख सुमन नेपालले ठुक्क भएर काभ्रेपलाञ्चोकमा प्याकेजिङ गरिएको आलु खान आग्रह गरेका छन् । उनले भने, “काभ्रेमा उत्पादित आलु गुणस्तरीय रहँदै आएको छ, उपभोक्ताले विना संकोच किनेर खान स्क्नुहुन्छ ।”


उनका अनुसार यस आलु ब्राण्डिङ कार्यक्रमले अन्य ब्यवसायिक कृषकलाई उत्प्रेरण मिलेको पाइएको छ । आलु सुपरजोन कार्यलयले काभ्रेपलाञ्चोकमा आलुको उत्पादन तथा उत्पादनमा बृद्धि, मल्चिङ प्रविधिलगायतमा सहयोग आएको जनाएको छ।


आलुको बिउ र मल्चिङ तथा नस्ल सुधार लगाएतमा कार्यक्रम कार्यलयले सन्चालन गर्दै आईरहेको छ । कार्यालय प्रमुख जय महतोले आगामी दिनमा जिल्लाको अन्य क्षेत्रमा आलुको प्याकेन्जिङ र ब्राण्डिङ बिस्तार गर्न कार्यलयले सहजीकरण गर्ने बताए ।


जिल्लाको पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा तथा नाला आलु उत्पादन हुने प्रमुख क्षेत्र हुन् । आलुको पकेट क्षेत्र मानिएको काभे्रको नौ हजार हेक्टर क्षेत्रफलमा बार्षिक करिब एक लाख ७५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।

गलकोटमा डेङ्गी र स्क्रब टाइफसका ५८ बिरामी

बागलुङ । बागलुङ  जिल्लामा साउनयता २६ जनामा डेङ्गी पुष्टि भएको छ । डेङ्गी पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन् ।

बागलुङको मध्यभागमा रहेको गलकोट अहिले डेङ्गी र स्क्रब टाइफसको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

साउनमा जिल्लाभर २६ जनामा डेङ्गी पुष्टि भएकामध्ये गलकोटमा मात्रै २४ जना बिरामी छन् । दुईजनाको धौलागिरि अस्पतालमा सङ्क्रमण पुष्टि भएको थियो ।

“गलकोट डेङ्गी मात्रै हैन स्क्रब टाइफसको समेत उच्च जोखिममा रहेको पाइएको छ”, जनस्वास्थ्य निरीक्षक घिमिरेले भने, “अहिले गलकोट नगर अस्पतालमा एक दर्जन डेङ्गी र स्क्रब टाइफसका बिरामी उपचाररत छन् भने दैनिक चारदेखि पाँच जनामा डेङ्गी र स्क्रब टाइफस पुष्टि भइरहेको छ ।”

गलकोटमा गत असारदेखि हालसम्म ४१ जनामा डेङ्गी पुष्टि भइसकेको नगर स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिए । उनले अनुसार साउनमा मात्रै गलकोटभित्र १७ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । अहिले अधिकांशले घरमा उपचार गराइराख्नुभएको भन्दै जटिल समस्या देखिएकाको नगर अस्पतालमा उपचार भइरहेको पौडेलले जानकारी दिए ।

“असारमा खोज र नष्ट गरअभियान सञ्चालन गरेका थियौँ । नगरभित्र असारदेखि अहिलेसम्म ४१ जनामा डेङ्गी र १७ जनामा स्क्रब टाइफस फेला परेको छ । सङ्क्रमण भएका बिरामीमध्ये केही घरमा स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ भने केहीलाई अस्पतालमा राखेर उपचार गरिरहेका छौँ”, पौडेलले भने, “दुई वर्ष अघिसम्म डेङ्गी र स्क्रब टाइफसका बिरामी परीक्षण गर्ने व्यवस्था थिएन, अहिले ताराखोला र बडिगाडबाट पनि बिरामी नगर अस्पताल आउने गरेका छन् ।”

डेङ्गी र स्क्रब टाइफसको उच्च जोखिममा गलकोट नगरपालिका देखिएपछि सर्तकता अपनाउन थालिएको छ । ‘खोज र नष्ट गरौँ’अभियान गलकोटमा तीव्ररुपमा सञ्चालन थालिएको बताउँदै सचेतनामूलक कार्यक्रमलाई थप तीव्रता दिइने उनले उल्लेख गरे ।

गलकोट नगर अस्पतालमा दैनिक २५ जनासम्म उच्च ज्वरोका बिरामी आउने गरेका नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले जानकारी दिए । अस्पताल आएकामध्ये करिब ३० प्रतिशतमा डेङ्गी र स्क्रब टाइफस पुष्टि हुने गरेको छ ।

“दैनिक २० देखि २५ जना अस्पताल आउनुहुन्छ, परीक्षण गर्दा पाँचदेखि सात जनासम्ममा डेङ्गी र स्क्रब टाइफस पुष्टि हुने गरेको छ”, डा पौडेलले भने, “गलकोटमा उच्च सर्तकता अपनाउन आवश्यक छ । अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने, रिङ्गाटा लाग्ने बिरामीको सङ्ख्या वृद्धि भएको जनाउँदै सबैमा डेङ्गी सङ्क्रमण भने नदेखिएको उनले जानकारी दिए ।

लामखुट्टेको लार्भा नष्ट गर्न पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा सरसफाइ गर्ने, सुत्दा नियमित झुलको प्रयोग गर्ने, घर बाहिर, खेतबारीमा काम गर्दा पूरै शरीर छोपिने किसिमका लुगा लगाउनेलगायत कुरामा विशेष ध्यान अपनाउनुपर्ने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

“डेङ्गी लामखुट्टेका माध्यमबाट मानिसमा सर्छ । स्क्रब टाइफस ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको सङ्क्रमणले लाग्ने गर्दछ । यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सूक्ष्म कीराले सार्ने गर्दछ । रोगको कीटाणु बोक्ने ‘माइट’ स–साना बोटबिरुवाको झाडीमा बस्छ”, नगर अस्पतालका प्रमुख डा पौडेलले भने, “केही वर्षअगाडिसम्म स्क्रब टाइफस धेरैजसो पहाडी र दुर्गम स्थानमा देखिँदै आएकामा पछिल्लो समय सहरी क्षेत्रमा पनि देखिँदै आएको छ ।”

यसको समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अन्य अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुने डा पौडेलले बताए । यो रोगबाट बच्ने प्रभावकारी माध्यम भनेको सरसफाइमा विशेष ध्यान दिने र सावधानी अपनाउने रहेको उनले उल्लेख गरे ।

ट्वीनटावर आक्रमणका ‘योजनाकार’सँगको सहमति अमेरिकी रक्षामन्त्रीद्वारा रद्द

बीबीसी । अमेरिकी रक्षामन्त्री लोएड अस्टिनले सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको षड्यन्त्र रचेको आरोप लागेका व्यक्तिहरूसँगको सुनुवाइ अघिको सहमति’लाई रद्द गरिदिएका छन् ।

शुक्रबार उनले जारी गरेको मेमोमा अस्टिनले आरोप लागेका व्यक्तिहरूसँग त्यस्तो सम्झौता गरी त्यसमा हस्ताक्षर गरेका सैन्य अदालत हेर्ने अधिकारीको अधिकार पनि गत बुधबार खोसेको उल्लेख गरिएको छ ।

उक्त सम्झौता अन्तर्गत अभियोजनकर्ताहरूले अभियुक्तहरूलाई ‘मृत्युदण्ड माग नगर्ने’ र आरोप लागेका व्यक्तिहरूले ’हमलाको षड्यन्त्र गरेको स्वीकार्ने’ सहमति बनेको बताइएको थियो ।

उक्त विवरण सार्वजनिक भएपछि ती हमलामा मारिएका केही व्यक्तिका आफन्तले त्यस्तो निर्णयप्रति आपत्ति जनाएका थिए । अमेरिकी रक्षामन्त्रीको मेमोमा हमलाको षड्यन्त्र बनाउने मुख्य व्यक्ति भनिएका खालिद शेख मोहम्मदसहित पाँच जनाको नाम रहेको छ ।

उनीहरू सबैलाई क्युबास्थित अमेरिकी जलसेनाको आधारशिविर ’ग्वान्टानामो बे’मा राखिएको छ । यद्यपि सुरुमा सहमति गरिएको भनिएको विवरणमा तीन जनाको मात्र नाम उल्लेख थियो । अस्टिनले ब्रिगेडिअर जेनेरल सुसन एस्कलिअरलाई लेखेका छन्, ‘अभियुक्तसँग पूर्व–सुनुवाइ सम्झौता गर्ने निर्णयको अभिप्रायलाई मध्यनजर गर्दै मैले के निर्धारण गरेको छु भने यस्तो निर्णयको जिम्मेवारी उच्च अधिकारीको रूपमा मसँग हुनुपर्छ। म यसैका माध्यमबाट तपाइँको अख्तियार रद्द गर्छु। म मेरो अख्तियारको प्रयोगलाई तत्काल लागु गर्दै यसैमार्फत म तीनवटै पूर्व–सुनुवाइ सम्झौतालाई फिर्ता लिन्छु।’

ह्वाइट हाउसले पनि बुधबार उक्त सम्झौता हुनुमा आफ्नो कुनै भूमिका नभएको बताएको थियो । मेमोमा पाँच जना पुरुषहरूमा केएसएम भनिने खालिद शेख मोहम्मद, वालिद मुहम्मद सालिह मुबारक बिन अताश, मुस्तफा अहमद आदम अल–हवसावी, राम्जी बिन अल–शिभ र अलि अब्दुल अजिज अलीको नाम उल्लेख गरिएको छ ।

सम्झौता भएको भनेर बाहिर आएको विवरणमा राम्जी बिन र अलि अब्दुलको नाम उल्लेख गरिएको थिएन । आरोप लगाइएका यी व्यक्तिहरूलाई विगत २३ वर्षदेखि कुनै पनि सुनुवाइ नगरी सैन्य हिरासतमा राखिएको छ ।

ती सबै पुरुषहरूले आफूहरूलाई व्यापक यातना दिइएको आरोप लगाएका छन्। अमेरिकी सरकारले ‘वाटरबोर्डिङ’लाई प्रतिबन्ध लगाउनुअघि केएसएमलाई कम्तीमा १८३ पटक त्यस्तो यातना दिइएको थियो।

ती सबै पुरुषहरूले एक दशकभन्दा लामो समयदेखि अदालतमा पेस गरिनु अघिका सुनुवाइहरूको सामना गरिसकेका छन्।

यो प्रकणरलाई उनीहरूमाथि लगाइएका आरोप र उनीहरूलाई दिइएको यातनाले निकै जटिल बनाएको छ।

म्याग्दे गाउँपालिकाको दोस्रो आवधिक योजना तयार

दमौली । जिल्लाको म्याग्दे गाउँपालिकाले दोस्रो आवधिक विकास योजना तयार गरेको छ । गाउँपालिकाले समृद्ध म्याग्दे निर्माण गर्ने लक्ष्यसहित विभिन्न पक्षलाई समेटेर आवधिक विकास योजना ९२०८१-८२–२०८५-८६० तयार गरेको हो ।

‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास, कृषि, पर्यटन र पूर्वाधार’ नारासहित आवधिक योजना तयार गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार २०८१-८२–२०८५-८६ को पञ्चवर्षीय दोस्रो आवधिक योजनामा म्याग्देलाई समृद्ध गाउँपालिका बनाउने योजना प्रस्तुत गरिएको छ ।

दोस्रो आवधिक योजनालाई कार्यान्वयन गर्न चालु आवमा विकास निर्माण, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रका योजना कार्यान्वयन गर्ने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले बताए। सरकारले सन् २०१६ देखि सन् २०३० सम्मका लागि दिगो विकासका विभिन्न १७ वटा लक्ष्य निर्धारण गरेको सन्दर्भमा यसलाई आधार मानेर गाउँपालिकाले दोस्रो पञ्चवर्षीय आवधिक योजना तयार गरेको उनले उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले भने, ‘नेपालको संविधानले निर्देश गरे अनुसारका नीतिसँग समायोजन हुने गरी दिगो विकासको लक्ष्य हासिल गर्न आवधिक र दीर्घकालीन रुपमा योजना तर्जुमा गरी सोहीअनुसार कार्यान्वयन गर्नुपर्ने मुख्य आवश्यकता छ ।’

उक्त योजना कार्यान्वयन गर्न भौतिक पूर्वाधारतर्फ पालिकाको प्रशासनिक भवन निर्माणलाई पूर्णता दिने, सभाहल, वडा कार्यालय परिसरमा थालिएका संरचना, १० शय्याको अस्पताल निर्माण, ल्यान्डफिल्ड साइडको अपूरो संरचना, वडास्तरीय सडक संरचना निर्माण तथा स्तरोन्नति गर्ने
कामलाई प्राथमिकता दिइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कृषि तथा पशुको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइलगायत नागरिकसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा लगानी अभिवृद्धि तथा पर्यटन पूर्वाधारको विकास र प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । ऊर्जाको विकास, विस्तार र सुदृढीकरण, घरेलु उद्यमको विकास, स्वरोजगारी सिर्जना तथा बेरोजगारी समस्याको समाधानलाई पनि प्रमुख प्राथमिकतामा राखिएको छ ।

जलस्रोतको विकास र सिँचाइ, खेलकुद पूर्वाधारको विकास र विस्तार, मानव संशाधनको विकास तथा लक्षित वर्ग हितमूलक कार्यक्रम सञ्चालन, वन वातावरण, वृक्षारोपण, जलवायु परिवर्तनको असर न्यूनीकरण, विपद् तथा प्रकोप व्यवस्थापन र विभिन्न समयमा देखा पर्ने सङ्क्रामक रोग नियन्त्रणलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

सामाजिक सुरक्षा, संरक्षण, न्याय र सामाजिक समावेशीकरण तथा गरिबी निवारण, स्वरोजगार र युवा पलायनलाई नियन्त्रण गर्ने कार्यक्रमलाई दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मुख्य प्राथमिकतामा राखेको उनले उल्लेख गरे । म्याग्देलाई आगामी पाँच वर्षभित्रमा स्मार्ट र नगरोन्मुख बनाइने लक्ष्य लिइएको पालिका कार्यालयले जनाएको छ ।

पालिकाले लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्र, अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम, एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल तथा सडक सरसफाइ, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संशाधन विकास, सूचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरणमैत्री दिगो विकास गरिने अधिकारीले जानकारी दिए।

शक्ति र सत्ता स्वार्थले राष्ट्रिय एकता जोखिममाः अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजदूत नियुक्ति समावेशी सिद्धान्तका आधारमा नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सामाजिक संजालमार्फत अध्यक्ष यादवले १८ जना राजदूत सिफारिस गर्दा मधेसी, दलित, थारु, मुस्लिम, सीमान्तकृत र पिछडिएको समुदायको प्रतिनिधित्व नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले भनेका छन्, ‘संविधानको धारा २८२ मा राजदूत नियुक्त समावेशी सिद्धान्तको आधारमा गर्ने भनिएको छ । राजदूत नियुक्तिसम्बन्धी मापदण्डमा पनि समावेशिताको सिद्धान्तको आधारमा गरिने भनिएको छ । तर सरकारले यसलाई पालना गरेन । १८ जना राजदूत सिफारिस गर्दा मधेसी, दलित, थारु, मुस्लिम, सीमान्तकृत र पिछडिएको समुदायको प्रतिनिधित्व शून्य छ । खसआर्य समुदायको मात्र बाहुल्यता छ । चार जना महिला परेका छन् ।संवैधानिक परिषदबाट हुने नियुक्ति सिफारिस समावेशी भएन, १८ जना राजदूतमा देखिएको अनुहार एउटा उदाहरण मात्रै हो ।’

 त्यस्तै अध्यक्ष यादवले शक्ति तथा सत्ता स्वार्थले राष्ट्रियता, राष्ट्रिय एकीकरण र राष्ट्रिय एकतालाई पनि जोखिममा पारेको बताएका छन्। उ

नले भनेका छन्, ‘न्यायाधीश नियुक्ति समावेशी हुन्न, संवैधानिक निकायहरुको नियुक्तिमा समावेशिता ख्याल गरिन्न । मन्त्रिपरिषद आफैंमा समावेशी छैन । राज्यको चरित्र यस्तो छ कि त्यसले केवल खसआर्य एकल समुदायको प्रभुत्वलाई नै अगाडि बढाएको देखिन्छ ।शासकहरूको जातिवादी, श्वेतनीति वा नशलवादी विचारले आज समावेशी लोकतनत्र नै धरापमा पारेका छन् । शक्ति तथा सत्ता स्वार्थले राष्ट्रियता, राष्ट्रिय एकीकरण र राष्ट्रिय एकतालाई पनि जोखिममा पारेका छन्।’