ट्वीनटावर आक्रमणका ‘योजनाकार’सँगको सहमति अमेरिकी रक्षामन्त्रीद्वारा रद्द


बीबीसी । अमेरिकी रक्षामन्त्री लोएड अस्टिनले सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको षड्यन्त्र रचेको आरोप लागेका व्यक्तिहरूसँगको सुनुवाइ अघिको सहमति’लाई रद्द गरिदिएका छन् ।
शुक्रबार उनले जारी गरेको मेमोमा अस्टिनले आरोप लागेका व्यक्तिहरूसँग त्यस्तो सम्झौता गरी त्यसमा हस्ताक्षर गरेका सैन्य अदालत हेर्ने अधिकारीको अधिकार पनि गत बुधबार खोसेको उल्लेख गरिएको छ ।
उक्त सम्झौता अन्तर्गत अभियोजनकर्ताहरूले अभियुक्तहरूलाई ‘मृत्युदण्ड माग नगर्ने’ र आरोप लागेका व्यक्तिहरूले ’हमलाको षड्यन्त्र गरेको स्वीकार्ने’ सहमति बनेको बताइएको थियो ।
उक्त विवरण सार्वजनिक भएपछि ती हमलामा मारिएका केही व्यक्तिका आफन्तले त्यस्तो निर्णयप्रति आपत्ति जनाएका थिए । अमेरिकी रक्षामन्त्रीको मेमोमा हमलाको षड्यन्त्र बनाउने मुख्य व्यक्ति भनिएका खालिद शेख मोहम्मदसहित पाँच जनाको नाम रहेको छ ।
उनीहरू सबैलाई क्युबास्थित अमेरिकी जलसेनाको आधारशिविर ’ग्वान्टानामो बे’मा राखिएको छ । यद्यपि सुरुमा सहमति गरिएको भनिएको विवरणमा तीन जनाको मात्र नाम उल्लेख थियो । अस्टिनले ब्रिगेडिअर जेनेरल सुसन एस्कलिअरलाई लेखेका छन्, ‘अभियुक्तसँग पूर्व–सुनुवाइ सम्झौता गर्ने निर्णयको अभिप्रायलाई मध्यनजर गर्दै मैले के निर्धारण गरेको छु भने यस्तो निर्णयको जिम्मेवारी उच्च अधिकारीको रूपमा मसँग हुनुपर्छ। म यसैका माध्यमबाट तपाइँको अख्तियार रद्द गर्छु। म मेरो अख्तियारको प्रयोगलाई तत्काल लागु गर्दै यसैमार्फत म तीनवटै पूर्व–सुनुवाइ सम्झौतालाई फिर्ता लिन्छु।’
ह्वाइट हाउसले पनि बुधबार उक्त सम्झौता हुनुमा आफ्नो कुनै भूमिका नभएको बताएको थियो । मेमोमा पाँच जना पुरुषहरूमा केएसएम भनिने खालिद शेख मोहम्मद, वालिद मुहम्मद सालिह मुबारक बिन अताश, मुस्तफा अहमद आदम अल–हवसावी, राम्जी बिन अल–शिभ र अलि अब्दुल अजिज अलीको नाम उल्लेख गरिएको छ ।
सम्झौता भएको भनेर बाहिर आएको विवरणमा राम्जी बिन र अलि अब्दुलको नाम उल्लेख गरिएको थिएन । आरोप लगाइएका यी व्यक्तिहरूलाई विगत २३ वर्षदेखि कुनै पनि सुनुवाइ नगरी सैन्य हिरासतमा राखिएको छ ।
ती सबै पुरुषहरूले आफूहरूलाई व्यापक यातना दिइएको आरोप लगाएका छन्। अमेरिकी सरकारले ‘वाटरबोर्डिङ’लाई प्रतिबन्ध लगाउनुअघि केएसएमलाई कम्तीमा १८३ पटक त्यस्तो यातना दिइएको थियो।
ती सबै पुरुषहरूले एक दशकभन्दा लामो समयदेखि अदालतमा पेस गरिनु अघिका सुनुवाइहरूको सामना गरिसकेका छन्।
यो प्रकणरलाई उनीहरूमाथि लगाइएका आरोप र उनीहरूलाई दिइएको यातनाले निकै जटिल बनाएको छ।