`

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डद्वारा महिला भलिबल टोलीलाई बधाई

Nepal One HD १९ साउन २०८१ २१:५४
खेलकुद

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला भलिबल टोलीलाई बधाई दिएका छन् । राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेपछि उनले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई बधाई दिएका हुन् ।


“नेपालको जित । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ  । बधाई नेपाली टिम”, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।


आज भएको खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो भने जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । 


निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट  नेपालले २५–१८ ले जितेको थियो । खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पार्यो भने तेस्रो सेटमा नेपालले भारतलाई २५–१७ ले पाखा लागाएको थियो । चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५–१३ ले पराजित ग¥यो । उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ ।


भलिबलमा नेपाललाई ऐतिहासिक सफलताः अध्यक्ष दाहाल


 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतविरुद्धको भलिबल खेलमा जित हासिल गर्ने नेपाली खेलाडीलाई बधाई दिएका छन् ।


उनले सामाजिक सञ्जालमार्फत आज सम्पन्न भारतविरुद्धको खेलमा जित हासिल गरेकामा खुसी व्यक्त गर्दै नेपाललाई ऐतिहासिक सफलता मिलेको उल्लेख गरेका छन् ।


उनले भनेका छन्, “नेपाललाई ऐतिहासिक सफलता मिलेको छ । नेपाली छोरीहरूलाई हार्दिक बधाई ! काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा भारतमाथि ऐतिहासिक जित निकाल्न सफल नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”


काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आज दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको खेलमा नेपाल भारतमाथि ३–२ को सेटमा विजयी भयो । 


पहिलो सेट २५–१८ ले जितेको नेपालले दोस्रो खेल १२–२५ ले गुमाएको थियो भने तेस्रो सेटमा २५–१७ ले जितेको थियो । चौथो सेट १८–२५ ले हारेको नेपालले अन्तिम सेट १५–१३ ले जितेको थियो ।


प्रतिक्रिया