`

स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह

चितवन । बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गरेका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरूले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन् ।

विश्व स्तनपान सप्ताहका अवसरमा कान्तिपुर हेल्थ अनलाइनद्वारा आज भरतपुरमा आयोजित ‘स्तनपानको महत्व : चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताइन्।

उनले भने, ‘आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन ।’ उनले बच्चाको माया ममता पनि कम हुने जाने बताए। उनले भने, ‘स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन ।’

स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको बालरोग विशेषज्ञ डा गुप्ताले बताइन् । शिशुलाई जन्मिएदेखि छ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उनको भनाइ छ ।

बालरोग विशेषज्ञ डा गुप्ताले भनिन्, ‘नियमित स्तनपान गर्ने शिशुमा निमोनिया, झाडापखाला, दम जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ ।’ बच्चाको शारीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै उनले काममा जानुपरेमा आमाको दूध संकलन गरेर राखेर भए पनि खुवाउन सकिने बताए । उनले भने, ‘आमाको दूध संकलन गरेर कोठाको तापक्रममा राखेमा ४ देखि ६ घण्टा र फ्रिजमा राखे २४ घण्टासम्म खुवाउन सकिन्छ ।’ फ्रिजमा राखेरको दूध सिधैँ नतताउन सुझाव दिँदै उनले भने, ‘तातो पानीमा अर्को भाडा राखेर दूधलाई तातो बनाउनुपर्छ, सिधैँ तताउनुहुँदैन ।’

शिशु जन्मिएको छ महिनापछि मात्रै पूरक खाना खुवाउन उपयुक्त हुने उनले बताइन्। अस्पतालमा शल्यक्रिया गरेर जन्मिएका नवजात शिशुलाई दूध खुवाउन दिने गरी सरकारले नियम बनाउन सके यस्ता बच्चालाई आमाको दूध खुवाउन सकिने उनले बताइन्। अहिले शल्यक्रियाबाट जन्मिएका बच्चालाई सुरुआतमा बजारको पाउडर दूध खुवाउनुपर्ने अवस्था रहेको जनाउँदै उहाँले यसको अन्त्य गर्न सके बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो हुने बताउनुभयो ।

कार्यक्रममा भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख विशेषज्ञ प्रा डा. सुनिलमणि पोखरेलले शिशुलाई नियमित आमाको दूध खुवाउँदा बच्चा र आमा दुवैलाई फाइदा हुने बताए । नवजात शिशुलाई जन्मिएको छ महिनासम्म आमाको दूध मात्रै खुवाउन सके उसको स्वास्थ्य र शारीरिक विकास राम्रो हुने उनले बताए। शिशुलाई दिनमा ८ देखि १२ पटक दूध खुवाउन सके बच्चाका लागि फलदायी हुने उनको भनाइ छ ।

स्तनपानले गर्दा आमालाई हुने फाइदाका विषयमा बोल्दै उनले स्तनपान नियमित गराउने आमालाई स्तन र डिम्बासयको क्यान्सर हुने सम्भावना न्यून हुने बताए। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा पोखरेलका अनुसार नियमित स्तनपान गराउँदा महिलामा हुने रक्तस्रावमा कमी आउने गर्दछ । बच्चा जन्मिएको एक घण्टा भित्रमै आमाको दूध खुवाउन सके सालनाल छुटिनदेखि स्तन गानिने र पिप जम्ने जस्ता समस्याबाट छुटकारा पाउन सकिने उनले बताए।

उनले भने, ‘कम्तीमा पनि दुई वर्ष बच्चालाई आमाको दूध खुवाउनुपर्छ । जसले गर्दा आमा र बच्चा बीचको ममतादेखि हरेक कुरामा सहयोग पुर्‍याउँछ ।’

पछिल्लो समय शारीरिक सुन्दरताका लागि शिशुलाई आमाको दूध नखुवाउने गरेको पाईएको भन्दै उनले यस्तो गर्दा बच्चाको शारीरिक, मानसिक वृद्धि विकासमा समस्या पर्नुका साथै आमामा विभिन्न किसिमका समस्या देखिन सक्ने जानकारी दिए।

पछिल्लो समय स्तन ठूलो भयो भन्दै त्यसलाई घटाउने औषधि खोजी गर्नेहरु पनि आफू के मा आउने गरेको भन्दै डा. पोखरेले भने, ‘स्तनपान गराइसकेपछि विभिन्न व्यायाम गरेर मोटोपन र स्तन घटाउन सकिन्छ ।’

कार्यक्रममा डा पोखरेलले पछिल्ला वर्षहरुमा भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेको सङ्ख्या घटेको जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा नौ हजारभन्दा धेरैले अस्पतालबाट सेवा लिएका छन् ।

यो तथ्यांक अघिल्लो आर्थिक वर्षमा १२ हजारभन्दा बढी रहेको थियो । उनका अनुसार स्थानीय तहहरुले गाउँगाउँमा नगर स्वास्थ्य क्लीनिक तथा स्वास्थ्य सेवाको पहुँच पुर्‍याएर सोही स्थानमा प्रसूति सेवा सञ्चालन गर्नु र सन्तान उत्पादन गर्ने युवा अवस्थाका जनशक्तिहरु विदेशपलायन हुनुले सेवा लिन आउनेको सङ्ख्यामा कमी आएको हो ।

कार्यक्रममा कान्तिपुर हेल्थका प्रधान सम्पादक तिलक रिमालले स्तनपानको महत्वलाई व्यापक प्रचारप्रसार गर्नुपर्ने जनाउँदै कार्यस्थलमा स्तनपानका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने बताए।

मध्यपूर्वमा सैन्य उपस्थिति बढाउदै अमेरिका

यस हप्ताको सुरुमा तेहरानमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्याले मध्यपूर्व क्षेत्रमा तनाव बढ्दै जाँदा अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको सिएनएनले जनाएको छ ।

“रक्षा सचिव लोयड अस्टिनले हाल ओमानको खाडीमा तैनाथ रहेको ‘युएसएस थियोडोर रुजवेल्ट स्ट्राइक ग्रुप’ नामक नौसैनिक जहाजलाई ‘युएसएस अब्राहम लिंकन स्ट्राइक ग्रुप’ले प्रतिस्थापन गर्न आदेश दिनुभएको छ” पेन्टागनकी उप–प्रेस सचिव सबरीना सिंहले विज्ञप्तिमार्फत भनिन् ।

अमेरिकाले ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न सक्षम विध्वंसक मिसाइल र सैन्य जहाजहरु मध्यपूर्व र भूमध्यसागरमा पठाउने सिएनएनले जनाएको छ ।

विज्ञप्तिमा कुन युद्धपोत पठाइएको छ भनेर खुलाएको छैन् । तर अप्रिलमा पूर्वी भूमध्यसागरमा इजरायल विरुद्ध इरानको आक्रमण रोक्नमा दुई अमेरिकी सैन्य जहाज प्रयोग गरिएको थियो ।
“अस्टिनले यस क्षेत्रमा लडाकु मिसाइल पनि तैनाथ गर्न आदेश दिनुभएको छ”, सिंहले भनिन् ।

अमेरिकाले पहिले नै यस क्षेत्रमा ‘यूएसएस वास्प एम्फिबियस’ नामक सैन्य जहाज तैनाथ गरेको छ जुन आवश्यकता भएमा आदेशअनुसार लेबनानमा रहेका अमेरिकी नागरिकहरूको उद्दार गर्न सक्षम छ ।

इरानले तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्याको बदलामा इजरायलमाथि आक्रमण गर्ने वाचा गरेसँगैे मध्यपूर्वी क्षेत्रमा तनाव बढेको हो ।

इजरायलले भने हानियाको हत्याको बारेमा कुनै टिप्पणी व्यक्त गरेको छैन ।

छुरा आक्रमणलाई लिएर इङ्ल्याण्डको अर्को सहरमा हुलदङ्गा

उत्तरपूर्वी इङ्ल्याण्डकोे सन्डरल्याण्डमा शुक्रबार साँझ भएको हुलदङ्गामा अधिकारीहरूले गम्भीर र निरन्तर हिंसाको सामना गरेको प्रहरीले बताएको छ ।

यस हप्ताको सुरुमा भएको सामुहिक छुरा प्रहारको घटनालाई लिएर यो हुलदङ्गा भएको हो ।

घन्टौँको हुलदङ्गापछि आठ जनालाई पक्राउ गरिएको र तीन अधिकारीलाई उपचारका लागि अस्पताल लगिएको नर्थम्ब्रिया प्रहरी वरिष्ठ उपरिक्षक हेलेना ब्यारनले बताए ।

बिबिसीले प्रसारण गरेको फुटेजमा सन्डरल्याण्डमको सिटी सेन्टरमा सयौंको भीडले प्रहरीमाथि आक्रमण गरेको र एउटा कार र प्रहरी कार्यालयको छेउमा रहेको भवनमा आगो लगाएको देखाइएको छ ।

“हामीले आज साँझ सन्डरल्यान्डमा देखेका स्तब्धकारी दृश्यहरू पूर्ण रूपमा अस्वीकार्य छन्”, ब्यारनले भने । “अव्यवस्था, हिंसा र क्षति सहन गरिने छैन ।”

“पक्राउ परेका आठ जनाबाहेक अन्य संलग्न व्यक्तिहरु पत्ता लगाउन अनुसन्धान भइरहेको छ”, उनले भने ।

त्यहाँ भएका घटनाको जवाफमा आन्तरिक मन्त्री यभेट कुपरले दङ्गाकारीलाई कडा कारबाही गर्न सरकारको समर्थन रहेको बताए ।

“उनीहरूले बेलायतको प्रतिनिधित्व गर्दैनन्”, कुपरले भने ।

यसअघि, लिभरपुल सिटी सेन्टर र वरपरको अव्यवस्था र आपराधिक कार्य रोक्न अतिरिक्त अधिकारीहरू तैनाथ गरिएको मर्सीसाइड प्रहरीले बताएको थियो ।

प्रधानमन्त्री कीर स्टारमरले हिंसात्मक कार्यहरू गर्ने जो कोहीलाई कानुनको दायराभित्र ल्याउने वाचा गरेका छन् ।

राजनीतिक स्थायित्वका लागि दुई ठूला दलको सरकार : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर सरकार बनाएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. १ का दुवै प्रदेश कार्य समितिद्वारा शनिबार आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा उनले राजनीतिक स्थिरता राजनीतिक, सामाजिक, आर्थिक विकासका काम गर्न दुई ठूला दल मिल्नुपरेको बताए ।

उनले भने,“मुलुकमा स्थिरता र स्थायित्व दिनका लागि दुई प्रमुख राजनीतिक दल आर्थिक, सामाजिक परिवर्तन र राजीतिक स्थिरताका लागि वर्तमान सरकार गठन भएको हो ।”

वर्तमान सरकारलाई सफल तुल्याउन जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्ने कार्यमा जुट्न उपप्रधानमन्त्री सिंहले पार्टी कार्यकर्तालाई आह्वान गरे ।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पहिलो र दोस्रो ठूलो राजनीतिक दलबीचको सहकार्यमा बनेको वर्तमान सरकार राजतीतिक स्थिरता र विकासका लागि परिणाम देखिने गरी काम गर्ने बताए । दुई ठूला दल मिलेर प्रदेशमा सरकार बनेपछि स्थिरताको जग बसेको उनको भनाइ थियो ।

ट्रान्सफर्मर मर्मतपछि सेवा सञ्चालन

खोटाङ – चट्याङले ट्रान्सफर्मर जलेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अवरुद्ध बनेको विद्युत् चार दिनपछि नयाँ ट्रान्सफर्मर फेरेपछि सञ्चालनमा ल्याइएको छ । यही साउन १५ गते वर्षासँगै परेको चट्याङले जलेको ट्रान्सफर्मर जलेर विद्युत् आपूर्ति बन्द भएको थियो ।

उक्त स्थानमा नयाँ ट्रान्सफर्मर जडान गरेपछि गए रातिदेखि विद्युत् सञ्चालनमा आएको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । खार्मीस्थित सोतीमा रहेको ट्रान्सफरमर जलपछि सोती, फुलबिसौना, डढेली र खत्रीगाउँका ९० घरमा विद्युत् आपूर्ति बन्द भएको केन्द्रका प्रमुख सोवितबहादुर क्षत्रीले जानकारी दिए ।

अवरुद्ध विद्युत् सञ्चालनका लागि उपभोक्ताले प्रतिघर रु एक सय २५ का दरले रकम सङ्कलन गरेर रु १० हजारमा ट्रान्सफरमर ढुवानी गरिएको स्थानीय हर्कराज राईले बताए ।

“उपभोक्ताले महसुल तिरेपछि बिग्रिएको ठाउँमा प्राधिकरणले निःशुल्क मर्मत गर्नुपर्छ । अहिले उपभोक्ताले रकम सङ्कलन गरी ट्रान्सफरमर ढुवानी गर्न प्राविकरणलाई सहयोग गरेका छौँ”, राईले भने, “दिक्तेलस्थित प्राधिकरणको कार्यालयबाट ढुवानी गरिएको ट्रान्सफरमर प्राधिकरणका प्राविधिक आएर जडान गरेका हुन् ।”

ट्रान्सफरमर जलेर विद्युत् सेवाबाट वञ्चित यहाँका उपभोक्ताले मर्मत गर्न खर्च आफैँले व्यवस्थापन गर्नुपरेपछि आगामी दिनमा यस्ता समस्या आएमा प्राधिकरणसँग समन्वय गर्न विद्युत् मर्मत तथा व्यवस्थापन समिति निर्माण गरेका छन् । अवरुद्ध भएको समयमा प्राधिकरणलाई खबर गर्न तथा भैपरी आउने सामान्य खर्च सामूहिकरुपमा उपलब्ध गराउनेगरी स्थानीय वीर्खबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो ।

साउन १५ गते परेको चट्याङले खार्मीसँगै निर्मलीडाँडा र बाहुनीडाँडामा जडान गरिएको विद्युत्को ट्रान्सफरमर जलेको थियो । ट्रान्सफरमर मर्मत नहुँदा सो क्षेत्रका स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । दश स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा यसअघि पटकपटक विद्युत् अवरुद्ध हुँदै आएको थियो । लामो समयदेखि अवरुद्ध हुँदै आएको विद्युत् प्राधिकरणले समयमा मर्मत नगर्दा उपभोक्तालाई सास्ती भइरहेको स्थानीय राईले बताए ।

जिल्लामा सञ्चालन गरिएको विद्युत् छिनछिनमा आउने÷जाने समस्याले घरमा जडान गरिएका मिटरबक्स, फ्युज तथा बल्ब जल्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जाने समस्याले पटकपटक विद्युत् अवरुद्ध हुने गरेको विद्युत् प्राधिकरणले जनाएको छ ।

ट्रान्सफरमर जलेर अवरुद्ध भएका स्थानमा नियमित विद्युत् सञ्चालनमा ल्याउन प्राधिकरणले पहल गरिरहेको वितरण केन्द्रका प्रमुख क्षत्रीले बताए । “चट्याङले जलेको ठाउँमा नयाँ ट्रान्सफरमर जडान गरेपछि मात्र विद्युत् सञ्चालन गर्न सकिन्छ । खार्मीमा उपभोक्ता आफैँले ढुवानी गरेर काम सहज बनाइदिनुभयो । ढुवानीबापतको रकम प्राधिकरणले उपलब्ध गराउँछ”, उनले भने, “बाहुनीडाँडा र निर्मलीडाँडामा प्राविधिक टोलीसहित ट्रान्सफरमर पठाइसकेका छौँ । सम्भवतः आज बेलुकासम्ममा नियमित विद्युत् सञ्चालन हुन्छ ।”

पछिल्लो समय ३३ केभी क्षमताको केन्द्रीय प्रशारण लाइनमा आएको समस्याका कारण जिल्लामा सञ्चालन गरिएको विद्युत्मा समस्या आएको दिक्तेल वितरण केन्द्रका प्रमुख क्षत्रीले बताए । वर्षाद्को समयमा विद्युत् अवरुद्ध नहोस् भनेर प्रसारण लाइन वरपर सरसफाइ गरी व्यवस्थापकीय काम थालिएको उनले उल्लेख गरे ।

विसं २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका केन्द्रीय प्रसारण लाइनको विद्युत् जिल्लाका सबै स्थानीय तहमा पुगेको पुगेको छ । वर्षाद्को समयमा अवरुद्ध भएको विद्युत् पुनःसञ्चालनमा ल्याउन प्राधिकरणले हप्ता दिनसम्म लगाउने गरेको छ । जङ्गलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइपामा ल्याएर सवस्टेशनमा जोडिएको विद्युत् खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुसम्म विस्तार गरिएको छ ।

घरेलु तथा साना उद्योेगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको छ : उद्योगमन्त्री

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योेगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरुसँग भएको छलफलमा उनले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीबीच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने बताए ।

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हुन् भन्दै मन्त्री भण्डारीले भने, “घरेलु तथा साना उद्योग भनेको तान बुन्ने मात्रै होइन कषि उद्योग पनि हो, विभिन्न उत्पादनमूलक उत्पादन, जडीबुटी सङ्कलन पनि हो । यी क्षेत्रलाई अझ समृद्ध बनाउनुहोस् । त्यसका लागि सहजीकरण गर्न मन्त्रालय तयार छ ।”उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका लागि सरकार प्रतिबद्ध रहेको उद्योगमन्त्रीको भनाइ थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले साना उद्योगीहरुकै लागि ‘स्टार्टअप’ कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । उद्योग क्षेत्रको विकासका लागि लघु, घरेलु तथा साना उद्योगीहरुको भूमिकाको सराहना गर्दै उनले मन्त्रालयले उद्योगको विकासका लागि वार्षिक पुस्तिका नै तयार गरेर अगाडि बढेकाले सोही अनुरुप साथ दिन महासङ्घलाई आग्रह गरे ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले सङ्घीय संरचना अनुरुप स्थानीय, प्रदेश र केन्द्रीय सरकारको कार्यक्षेत्र र जिम्मेवारी उल्लेख गरिएको औद्योगिक नीति तर्जुृमा गर्न आवश्यक भएको बताए । उनले विगतमा तीन तहकै सरकार सञ्चालनका क्रममा भोगेका अनुभवहरुको आधारमा औद्योगिक व्यवसाय ऐनमा सामयिक परिमार्जनको आवश्यकता औल्याए ।

महासङ्घका पूर्वअध्यक्षहरु वासु गिरी र लता प्याकुरेल, श्याम गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु शोभा गुरुङ र सत्यनारायण प्रजापति, महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष रामकृष्ण खड्का, महासङ्घ बागमती प्रदेश महिला समिति अध्यक्ष सुलोचना श्रेष्ठ, महासङ्घ काठमाडौँ जिल्ला अध्यक्ष सीता कार्की, भक्तपुर जिल्ला अध्यक्ष प्रेम खर्बुजा, भक्तपुर जिल्ला पूर्वअध्यक्ष विरेन्द्र जत्ति, काठमाडौँ जिल्ला अध्यक्ष सीता कार्की, महासङ्घका कार्यकारिणी सदस्य विनोददेव पन्त, डिल्लीराम गिरीलगायतको सहभागिता रहेको थियो ।

धार्चे पहिरो : बेपत्ता थप एक युवकको सात दिनपछि शव फेला

गोरखा – उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ । आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज विहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको प्रनाउ श्रेष्ठले बताए । ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बस्ने क्रममा राती गएको पहिरोमा परेर बेपत्ता भएका थिए ।

गत आइतबार रेसेमा गएको भीषण पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । बेपत्ता भएका ७० बर्षीय सुलाल कान्छा गुरुङ, ३७ वर्षीय जीतबहादुर गुरुङ, ३३ वर्षीय रेशम गुरुङ र ३५ वर्षीय कान्छी गुरुङको यसअघि नै शव फेला परेको थियो । पहिरोमा परेर सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङ घाइते भएका थिए । घाइतेहरुको काठमाण्डौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ संचालनमा ल्याउँछौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याइने बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत प्रधानमन्त्रीले दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने भएकाले अब त्यसमा काम गर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा– थाइल्यान्ड उडान अनुमति पाएको छ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौं। हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेका छौं। यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ। विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरुलाई समेत अनुरोध गर्छु ।’

सर्पदंशको उपचार गर्न भरतपुर अस्पतालकै भर

भरतपुर । चितवनको भरतपुर अस्पताल सर्पदंशको उपचारमा अब्बल देखिएको छ। देशको मध्य भागमा अवस्थित यस अस्पतालमा आसपासका विभिन्न जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न यही अस्पतालमा आउने गरेका छन्।

बर्खामा तराईमा बढीमात्रामा सर्पदंशको जोखिम रहने गर्दछ। भरतपुर अस्पतालको आकस्मिक कक्षका प्रमुख अलादीन मियाँका अनुसार २०८० साउनदेखि २०८१ असारसम्म तीन सय ७८ जनाको सर्पदंशको उपचार गरिएको छ । उनीहरुको उपचारमा सफलता प्राप्त भएको उनले बताए। यस वर्ष साउन महिनाको हालसम्ममा अस्पतालमा ७६ सर्पदंशका बिरामीको उपचार गरिएको छ।

प्रमुख मियाँले भने, ‘नवलपुरका एक बालककोे उपचारका लागि ल्याउँदै गर्दा बाटोमे मृत्यु भयो। अस्पताल आइपुग्न ढिला हुँदा कतिपय बिरामीको मृत्यु हुने गरेको छ।’

यहाँ गोमन, करेतलगायत जातका विषालु सर्पले डसेका बिरामी बढीजसो उपचारका लागि आउने गरेका छन्। सर्पले डसेर आएका बिरामीलाई उच्च निगरामी राखेर उपचार गरिने उनले बताए। अकास्मिक कक्षबाटै सर्पदंशको उपचार सेवा दिइँदै आएको छ।

सर्पदंशका बिरामीको उपचार गर्न अस्पतालको सघन उपचार कक्षमा छुट्टै श्यया राखिएको छ। हाल अस्पतालको सघन उपचार कक्षमा तीन सर्पदंशका बिरामीको उपचार भइरहेको प्रमुख मियाँले बताए।

नेपाल काभा बिच भलिबलको फाइनलमा

काठमाडौँ ।  नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेको हो । 

भुटानको राजधानी थिम्पुमा शनिबार भएको सेमिफाइनल खेलमा पुन र चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० सोझो सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानलाई २१–१३ र  २१–१२ अङ्कले हराएको हो । 

यस्तै पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले आजै माल्दिभ्ससँग सेमिफाइनल खेल खेल्दै छ । उक्त प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टोली सहभागी छन् ।

‘वर एण्ड वधु’को ‘इतिहास मै चर्चा चल्छ’

काठमाडौँ । फिल्म ‘वर एण्ड वधु’को दोस्रो गीत ‘इतिहास मै चर्चा चल्छ’ सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको संगीत, मुक्त उदासको शब्द रचना तथा राजेश पायल राई र मेलिना राईको स्वर छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा फिल्मका मुख्य कलाकार आँचल शर्मा, डेव्यु अभिनेता विवेक कर्माचार्य, गरिमा शर्मा, कुसुम शर्मा, विजु पार्की, विजय लामा, किरण केसी, रवीन्द्र खड्का, अंशु महर्जन, सृष्टी खड्का लगायतका कलाकारको अभिनय छ ।

फिल्म भदौ १४ गते प्रदर्शन हुनेछ। एलआरके इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा जानुका थापाको लगानी छ । अमृत रिजाल फिल्मका कार्यकारी निर्माता हुन्।

सिनेमामा सुदीप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन निर्देशन छ । फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन्।

दुई महिनामै एक करोड ८० लाखका सुपारीका बिरुवा बिक्री

झापा । जिल्लामा दुई महिनाको अवधिमा रु एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् ।

सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताए । “अहिले बर्खाको समयमा किसानहरुले सुपारीका बिरुवा रोप्ने गरेका छन्”, उनले भने, “अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ ।”

मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आएका नारायाण रिजालले यसपाली सुपारीका बिरुवाको माग धान्न हम्मे–हम्मे भइरहेको बताए । जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उनको ठम्याइ छ ।

उनले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काएका थिए । असारसम्ममा १० हजार बिरुवा बिक्री भइसकेको र अब पाँच हजार बिरुवा नर्सरीमा रहेको उनले जानकारी दिए । बिक्री भएका १० हजार बिरुवाबाट उहाँले रु १२ लाख आम्दानी गर्नुभएको छ ।

किसानहरुले सुपारीका बिरुवा प्रतिगोटा रु एक सयदेखि रु एक सय २० सम्ममा किनेर लैजाने गरेका छन् । जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायतका क्षेत्रमा दर्जनौं अनुभवी किसान र सुपारी सहकारीले सुपारीका बिरुवा बिक्री गर्दै आएका छन् ।

“सहकारीले उत्पादन गरेका बिरुवासमेत खरिद गरेर किसानहरुलाई बेच्दै आएको छु”, उनले भने, “मागअनुसारको बिरुवा उपलब्ध गराउन गाह्रो भइरहेको छ ।” भारतीय व्यापारीले टिस्यूकल्चर गरिएको, हाइब्रिड जातको र तीन वर्षमै फल्ने भनेर ग्रामीण क्षेत्रमा डुलाएर बिक्री गर्दै आएको सुपारीका बिरुवासँग भने किसानहरु होसियार हुनुपर्ने नर्सरी व्यवसायी रिजाल बताउँछन् ।

“सुपारीका बिरुवा रोपेको छ वर्षमा फल्ने हो, तीन वर्षमा होइन”, उनले भने, “किसान साथीहरु होसियार हुनुहोस्, टिस्यूकल्चर गरेको सुपारीकै बिरुवा हुँदैन ।” सुपारीका बिरुवामा झापा आत्मनिर्भर रहेको हुँदा आयातित बिरुवा प्रयोग नगर्न उनले आग्रह गरे ।

सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष तिवारीले जिल्लामा तीन हजार छ सय ७५ हेक्टर जमिनमा सुपारीखेती रहेको बताए । केही वर्षयता धान र चियाखेती मासेर किसानहरुले धमाधम सुपारीका बिरुवा रोप्न थालेका कारण सुपारीखेतीको क्षेत्रफल बढिरहेको उनको भनाइ छ ।

झापा सुपारीखेतीका लागि उर्वर हावापानीयुक्त स्थान मानिएको छ । हात्ती लगायतका जङ्गली जनावरले अन्न र तरकारीबाली खाएर क्षति गरिदिने हुँदा किसान वैकल्पिक खेतीको रुपमा सुपारीतर्फ आकर्षित भएका हुन् ।

खेती गर्न सजिलो, कम लगानी हुने र बढी आम्दानी दिने नगदे बाली भएकाले सुपारीखेतीतर्फ आकर्षित भएका किसानलाई सरकारले समेत प्रोत्साहित गर्दै आएको छ । नेपाल सुपारीखेती जोन झापाका जिल्ला अध्यक्ष दीपक गौतमले जिल्लाको अर्जुनधारा, मेचीनगर, बुद्धशान्तिका वडालाई समेटर सुपारी जोन घोषणा गरिएको बताए । उनले जोन अन्तर्गत सात सय ७८ हेक्टर क्षेत्रफलमा सुपारीको व्यावसायिक खेती भइरहेको बताए ।

यहाँका नर्सरीहरुमा उत्पादित सुपारीका बिरुवा किन्न इलाम, मोरङ र सुनसरीदेखिका किसान आउने गरेका छन् । नागबेली सुपारी सहकारी संस्था र रमिते सुपारी सहकारी संस्थाले ठूलो सङ्ख्यामा सुपारीका बिरुवा उत्पादन गरेर बिक्री गरिरहेको जनाएका छन् ।

संविधान संशोधनले प्रतिगमन हुन्छ भनिनु भ्रम मात्र : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट प्रतिगमन आउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यावसायीलाई आग्रह गरेका छन् ।

नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलसँग शुक्रबार सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री ओलीले जनताको आवश्यकताअनुसार दुई तिहाइ सांसदले संविधान संशोधन गर्न सक्ने व्यवस्था संविधानमै गरिएकाले जनमतप्रति विश्वास गर्न आग्रह गरे ।

“दुई तिहाइ सांसदले संविधान संशोधन गर्न सक्छन्, यही आधारमा संशोधन हुने हो । हामी लोकतन्त्रका लागि जेलनेल र सङ्घर्ष गरेर यहाँसम्म आएका छौँ । हामीबाट लोकतन्त्र सिध्याउने गरी संविधान संशोधन हुन्छ भनेर कसरी कल्पना गर्न सकिन्छ ?” प्रधानमन्त्री ओलीले प्रश्न गरे, “संविधान संशोधनमा प्रतिगमनको कुरा कहाँबाट आयो ? हामी प्रतिगामी कुरालाई स्वीकार्दैनौँ । संविधान संशोधन अग्रगमन, सुशासन, विकासका लागि र कार्यान्वयनका क्रममा नमिलेका विषय मिलाउन गर्ने हो ।”

एसोसिएसनको गत जेठ पहिलो साता भएको राष्ट्रिय सम्मेलनबाट पारित संवैधानिक एवं कानुनी विषयमा सुधारका लागि विषयवस्तुबारे अध्यक्ष गोपाललकृष्ण घिमिरेसहितका कानुन व्यवसायीका कुरा सुनेपछि प्रधानमन्त्री ओलीले राज्यका अङ्गको नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई पालना गर्दै मुलुकको आर्थिक क्षमतालगायत अवस्था हेरेर पनि न्यायालयले फैसला दिनुपर्नेमा जोड दिए ।

“अर्थतन्त्रको स्थिति तनाखा बढाउन सक्ने खालको छैन,” प्रधानमन्त्री ओलीले भने, “यतियति तलब बढाऊ भनेर तिथिमिति तोकेर फैसला आएमा कार्यान्वयन गर्न व्यवहारिकरूपमा समस्या हुन्छ ।” उनले न्यायालयको पुनःसंरचना र सुधार गर्दा सम्बन्धित सबैको आनीबानी र व्यवहारमा पनि पुनःसंरचना गर्नुपर्नेमा जोड दिए ।

संवैधानिक पदाधिकारीमाथि महाभियोग लगाउँदा छ महिनाभित्र संसद्ले किनारा लगाइसक्नुपर्ने बारको प्रस्तावमा प्रधानमन्त्री ओलीले उक्त अवधिलाई अझै घटाउनुपर्ने विचार व्यक्त गरे ।

न्यायाधीशको नियुक्तिमा संसदीय सुनुवाइको व्यवस्था हटाउन गरिएको मागका सम्बन्धमा प्रधानमन्त्री ओलीले सुनुवाइको व्यवस्था आवश्यक भएरै संविधानमा राखिएकाले त्यस्तो मागमा पुनःविचार गर्न आग्रह गरे ।

संवैधानिक परिषद्को सदस्यमा प्रधानन्यायाशीश रहने र परिषद्का निर्णयमाथि संवैधानिक इजलाशमा मुद्दा पर्दा प्रधानन्यायाधीशकै नेतृत्वमा सुनुवाइ हुने विरोधाभाषपूर्ण व्यवस्था अन्त्य हुनुपर्ने बारको मागमा प्रधानमन्त्री ओलीले त्यसमा छलफल गर्न सकिने बताए । संवैधानिक इजलाशमा जे पायो त्यही नभएर संविधानसँग बाझिएका मुद्दाहरू मात्रै पुग्नुपर्नेमा पनि प्रधानमन्त्री ओलीको जोड थियो ।

भेटमा महान्यायाधिवक्ता रमेश बडाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला, पूर्वसांसद् रामनारायण विडारीलगायत उपस्थित थिए ।

काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि….

काठमाडौँ । काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्याको सङ्केत देखिएपछि विमानचालकले काठमाडौँ फर्काएर सुरक्षित अवतरण गराएका छन् ।

बुद्ध एयरका अनुसार उडान नम्बर ६५५ विमानमा प्राविधिक समस्या आउनासाथ काठमाडौँ फर्काउने निर्णय भएको हो । फ्लाइट राडरका अनुसार उक्त विमानले धावनमार्गबाट उड्नासाथ काठमाडौँ माथिको आकाशमा करिब तीन राउण्ड लगाएको थियो ।

पोखरा उडेको उक्त विमान प्राविधिक समस्याले पुनःकाठमाडौँ अवतरण गरेको विमानस्थलका एक उच्च अधिकारीले बताए । कम्पनीले अर्को विमानमार्फत यात्रुलाई गन्तव्यमा पुर्याएको छ । तीव्र वायु चलेका कारण जनकपुर गन्तव्यको उडानसमेत रद्द गर्नुपरेको कम्पनीले उल्लेख गरेको छ ।

पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका विकल्प र उपायबारे छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री ओलीले दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका छन् । उनले ती दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि चासो देखाएका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानसम्बन्धी विषयलाई नियामक निकायले चाँडो टुङ्ग्याएको खण्डमा सरकारले तालिकामा राखेर अगाडि बढाउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले निर्माण भएको लामो समयसम्म दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौँ विमानस्थलको क्षमताभन्दा बढी उडान र यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले यसलाई गम्भीर रुपमा लिन आग्रह गरे ।

छलफलमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, मुख्यसचिव, प्रधानमन्त्रीका मुख्य सल्लाहकारलगायत नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको उपस्थिति थियो ।

छलफलमा प्राधिकरणका पदाधिकारीबाट विमानस्थल सञ्चालनमा भइरहेका समस्या, भइरहेको कामलगायत विभिन्न पक्षमा भइरहेको तयारीबारे ब्रिफिङ गरिएको थियो ।

प्रधानमन्त्री ओलीले दुवै विमानस्थल प्रभावकारी सञ्चालनका लागि अध्यागमन लगायत अन्य सुविधा लैजाने, इन्धन भण्डार विमानस्थल नजिक भए अन्यत्र सार्नेलगायतमा मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने अवस्था भए योजना पेश गर्न निर्देशन दिए ।

उनले हवाई इन्धनको मूल्य बढेको भए घटाउन, ग्राउण्ड ह्याण्डलिङ सेवा नियमअनुसार जुन निकायले पाउनुपर्ने हो सोहीअनुरुप हुनुपर्ने बताए ।

यात्रु सेवा शुल्कमा कर लागेको भए घटाउने, पर्यटन कर नराख्नेलगायत विषयमा सम्बन्धित मन्त्रालय र निकायबाट गर्नुपर्ने भए गर्दै गर्ने, मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने भए मन्त्रिपरिषद्को आगामी बिहिबार बस्ने बैठकमा योजना ल्याउन आग्रह गरे ।

उक्त प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सम्बन्धित सबै मन्त्रालयका सचिवहरु रहनेगरी गृर्हकार्य गर्ने जिम्मेवारी दिइएको छ ।

एकीकृत समाजवादीले बनायो ३४४ सदस्यीय केन्द्रीय कमिटी(सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले ठूलो आकारको केन्द्रीय कमिटी बनाएको हो ।

पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रीय सदस्यहरूको घोषणा गरेको थियो । शुक्रबार बसेको बैठकले केन्द्रीय सदस्यहरूको संख्या बढाएर ३ सय ४४ जना पुर्याउने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन गर्न दुई दिनको समय दिइएको छ । प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् ।

मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार राजीनामा दिएसँगै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गरेका हुन्।

विवादपछि अफगानिस्तानसँगको पाकिस्तानी सिमाना तोरखाममा थप कडाइ

सिमामा कार्यरत अधिकारीहरूले अफगान कार्गो ट्रक चालकसँग कागजातहरू माग्न थालेपछि तोरखाममा सञ्चालित पाकिस्तान–अफगानिस्तान सीमामा व्यापारिक गतिविधि स्थगित गरिएको पाकिस्तानस्थित द एक्सप्रेस ट्रिब्यूनले जनाएको छ ।
यस निर्णयले तालिबान अधिकारीहरूले पाकिस्तानमा प्रवेश गर्ने सबै सवारी आवागमन स्थगित गरेको जनाएका छन् ।

यसअघि जनवरीमा पाकिस्तानी प्रशासनले भिसा तथा कागजातसम्बन्धी नियमहरू लागु गरेको भन्सार अधिकारीले बताएका छन् ।

ट्रिब्यूनसँग कुरा गर्दै अधिकारीले छ महिनाको लागि तोकिएको अवधि सकिएपछि अफगान पक्षलाई बिहीबारदेखि पुनः नियम लागु गरिएको जानकारी दिएका छन् । उनका अनुसार भिसा र पासपोर्ट बिना दुई देशबीच थप यात्रा सम्भव हुने छैन ।

ट्रिब्यूनको रिपोर्टअनुसार नियम लागु गरेपछि तालिबानले मालवाहक सवारीको आवागमनमा रोक लगाई अर्को आदेश जारी नभएसम्म तोरखामको व्यापारिक नाकालाई बन्द भएको घोषणा गरेको छ ।

पाकिस्तानी चालकलाई कागजात बिना अफगानिस्तानमा प्रवेश गर्न अनुमति नदिइएको बताउँदै पाकिस्तानले व्यापारिक गतिविधि रोक्न बाध्य पारेको भन्दै सिमानाकामा आवागमन र कारोबार बन्द हुने जनाइएको छ ।

टर्कीद्वारा इस्लामिक स्टेटका ९९ संदिग्ध सदस्य पक्राउ

टर्कीका गृहमन्त्री अली येर्लिकायाले शुक्रबार मुलुकभर गरिएको हालैको छापामारीमा इस्लामिक स्टेट (आइएस) जिहादी समूहका ९९ संदिग्ध सदस्यलाई पक्राउ गरिएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा मुख्यगरी अङ्कारा र पश्चिममा इजमिरका साथै केन्द्र, पूर्व र दक्षिणमा तिनीहरूलाई पक्राउ गरिएको बताए ।

“पछिल्लो तीन दिनमा जियुआरजेड–४ अपरेसनमा ९९ संदिग्धलाई पक्राउ गरिएको छ”, उनले भने, “हामी कुनै पनि आतङ्कवादीलाई सहने छैनौँ ।”

टर्कीका अधिकारीहरूले हालैका वर्षहरूमा कथित आइएस सदस्यहरूको थुप्रै सामूहिक गिरफ्तार गरेका छन् । हालै मार्चमा एक सय ४७ जनाको गिरफ्तारीको घोषणा गरिएको थियो ।

ती गिरफ्तारीपछि गृहमन्त्री येर्लिकायाले प्रहरीले जिहादी समूहसँग सम्बन्ध रहेको आशङ्कामा दुई हजार नौ सय १९ जनालाई हिरासतमा लिएको जानकारी दिए ।

स्थानीय अधिकारीहरूका अनुसार गत मार्चमा मस्कोको क्रोकस सिटी हलमा एक सय ४५ जनाको हत्या गर्ने आक्रमणकारीहरूमध्ये दुई जनाले रुस जानुअघि धेरै साता टर्कीमा बिताएका थिए । उक्त आक्रमणको जिम्मेबारी आइएसले लिएको थियो ।

नवनियुक्त  तीन राज्यमन्त्रीले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन् ।

शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ हुन् । शपथ ग्रहण कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारीलगायत सहभागी थिए । योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वमा रहेको मौजुदा मन्त्रिपरिषद्मा तीन राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद्को संख्या २५ पुगेको छ ।

काठमाडौँको एक गेष्ट हाउसमा दुई जना मृत अवस्थामा फेला

काठमाडौँ – काठमाडौँ महानगरपालिका -९ शम्भुमार्गस्थित एक गेष्टहाउसमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बाजुरा त्रिवेणी नगरपालिका(४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी अन्दाजी १९र२० वर्षीया करिश्मा सार्की मृत अवस्थामा फेला परेको जानकारी दिए ।

उनले भने, “उनीहरु यही साउन १५ गतेदेखि उक्त गेष्ट हाउसमा बस्दै आएको र आज दिउँसो १२ बजेसम्म खाना खानका लागि बोलाउँन जाँदा ढोका नखोलेपछि दिउँसो १ बजे प्रहरीलाई खबर गरिएको जानकारी प्राप्त भएको छ ।” प्रहरीले गेष्टहाउसको ढोका खोली हेर्दा महिला घाँटी काटिएको र पुरुष पङ्खामा डोरीले पासो लगाई झुन्डिएको अवस्थामा फेला पारेको थियो ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ भने शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।

भारतको लगातार दोस्रो जित, रोमाञ्चक खेलमा इरानले श्रीलंकालाई हरायो

काठमाडौं । भारतले काभा वुमन्स भलिबल नेसन्स लिगमा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई सहजै सोझो सेटमा पराजित गर्‍यो ।

भारतले माल्दिभ्सलाई २५-६, २५-११, २५-१० ले पराजिच गरेको हो ।

लगातार दोस्रो जितपछि भारत ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा भारतले इरानलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

आजै भएको पहिलो खेलमा इरानले श्रीलंकामाथि रोमाञ्चक जित हात पार्‍यो । इरानले श्रीलंकालाई २५–२०, २५–१२, २२–२५,१३–२५, १५–११ ले पराजित गरेको हो ।

इरानले सुरुवाती दुई सेट आफ्नो पक्षमा पार्दै जितनजिक पुगेपनि श्रीलंकाले लगातार दुई सेट जितेर खेलमा पुनरागमन गरेको थियो । तर पाँचौ तथा निर्णायक सेट १५-११ ले आफ्नो पक्षमा पार्दै इरानले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

पाँच सेटमा खेल जितेकोले इरानले २ अंक मात्र जोड्दा श्रीलंकाले पनि १ अंक जोड्न सफल भयो । श्रीलंका पहिलो खेलमा नेपालसँग सोसो सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा शनिवार घरेलु टोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल जितेको नेपालको ३ अंक छ । अहिलेसम्म नेपालले भारतलाई हराउन सकेको छैन । नेपाली टोली भारत विरुद्ध पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

यस्तै शनिवारै इरान र माल्दिभ्सबीच पनि खेल हुनेछ ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीद्वारा पदबाट राजीनामा

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रत्री सोडारीले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्दै राजीनामा घोषणा गरेका हुन् ।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता भएको तीसौँ दिनमा सोडारीले राजीनामा दिएका हुन् । सोडारी सरकार ढलेपछि अब सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार गठन हुने यसअघि नै कांग्रेस एमालेबीच सहमति भएको छ । कांग्रेसबाट चार जनाले मुख्यमन्त्रीका लागि दाबी गरिरहेका छन् ।

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता ६० दिनसम्म नबुझाए लाइन काटेर असुली गर्नुपर्ने अवस्था आउँछः कार्यकारी निर्देशक घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको समस्या छिटो समाधान गर्न आग्रह गरेका छन् ।

शुक्रबारको सार्वजनिक लेखा समितिको बैठकमा कार्यकारी निर्देशक घिसिङले राजस्व उठाएर कर्मचारीलाई बाँड्ने नभई लगानी गरेर उद्योगमा गुणस्तरको सप्लाई दिने भन्दै अब चाँडै समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘६० दिनसम्म तिरेन भने लाइन काटेर असुली गर्नुपर्छ । अरु उपाय छैन । चुप लागेर बसेर हुँदैन । लाइन काट्ने काम जारी रहन्छ । राजस्व उठाएर लगानी गर्ने हो । विभिन्न निकायमा छलफल भएर निर्णय भइसकेपछि फेरिपनि यहाँ लेखा समितिमा तेस्रो पटक छलफल गरिरहेका छौं । त्यसकारण विवादलाई छिटोभन्दा छिटो सल्टाउन सकिन्छ, सल्टाएरै अगाडि बढ्नुपर्छ । हामी ८ वर्षदेखि छलफलमा मात्र बसिरहकेका छौ ।’

उनले लाइन काट्न जाँदा कर्मचारीलाई कुटेर पठाउने घटना भएको भन्दै लाइन काट्न सक्ने अवस्थामा पनि नरहेको बताए ।

उनले भने, ‘राजस्व उठाउन खोज्दा मिडियामा विभिन्न सामग्री आइरहेका छन् । जसका कारण धेरै ग्राहकहरुले महशुल तिर्दैनौ भन्ने अवस्थाका कारण बक्यौता बढ्दै गएको अवस्था छ । लाइन काट्न जाँदा ठूला उद्योगको नलिने हाम्रो लाइन काट्ने भन्दै अवरोध गरिन्छ । अब हामी लाइन काट्न सक्ने अवस्थामा पनि भएनौं ।’

उनले ६१ वटा उद्योगले महसुल नबुझाएको उल्लेख गर्दै यदि ती उद्योगसँग महसुल नलिने हो भने विगतमा तिरेकाको रकम पनि फिर्ता गर्नुपर्ने बताए ।

उनले भने, ‘करिब करिब ३ सय ४१ उद्योगी डेडिकेटेड र ट्रंक लाइनमा थिए । यसमध्ये करिब १ सय ८४ वटा डेडिकेटेड र ५४ वटा ट्रंक लाइनका साथीहरुले निरन्तर रुपमा करिब २ अर्ब सुरुदेखि तिरिराख्नु भएको छ । त्यसमा सरकारी कार्यालयहरु पर्छन् । डाबर नेपाल, सूर्य नेपाल र हिमाल आइरनले लगातार महसुल तिरिरहेका छन् । अहिले ६१ वटा उद्योगले भने तिरेका छैनन् । यदि ती उद्योगसँग महसुल नलिने हो भने विगतमा तिरेकाको फिर्ता गर्नुपर्छ ।’

प्राधिकरणले बिजुली महसुल विवादमा २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटिदिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि ८ साउनमा बसेको विद्युत प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा पुनः बिजुली जोड्ने निर्णय गरेको थियो ।

शेयरबजारमा अवाञ्छित गतिविधि हुन दिदैँनौ : अर्थमन्त्री पौडेल

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले शेयरबजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अर्थसमिति बैठकमा अर्थमन्त्री पौडेलले शेयरबजार अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने कुनै अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका हुन् ।

उनले शेयर किनबेचमा आएको समस्यालाई समेत अध्ययन गर्न निर्देशन दिएको जानकारी दिए । उनले बजेट कार्यान्वयन गर्दा सुरु भएका र प्रतिफल दिने योजनमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिए । अर्थमन्त्री पौडेलले मुलुकको आवश्यकताका आधारमा विदेशी सहायता लिनुपर्ने र यसको कार्यान्वयनमा समेत ध्यान दिनुपर्ने बताए ।

बैठकमा समिति सदस्य डा. प्रकाशशरण महतले शेयरबजारमा देखापर्ने अराजक गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाले कमजोर कम्पनीको शेयर ह्वात्तै बढ्दा चलखेल भएको हुन सक्ने आशंका व्यक्त गरे ।
राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा छलफल गर्न समितिले अर्थमन्त्रीलाई बोलाएको थियो ।

प्रतिनिधिसभाको बैठक एक दिनपछि सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । यही साउन २० गते आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक साउन २१ गते सोमबार दिउँसो १ बजे बस्नेगरी तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

सचिवालयद्वारा बैठक बस्ने दिन र समय परिवर्तनसम्बन्धी जारी सूचनामा आइतबार सार्वजनिक बिदा परेकाले उक्त दिन सो समयमा सभाको बैठक बस्न नसक्ने उल्लेख गरिएको छ ।

स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला शुक्रबारबाट काठमाडौंमा सुरु

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ

केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभाग सदस्यहरुलाई बिभिन्न ६ समूहमा बिभाजन गरि छलफल भइरहेको सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यलाई रणनीतिक रुपमा क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुईदिने बन्द कार्यशाला आयोजना गरिएको उनले बताइन् ।

बन्द कार्यशालाबाट आएका सुझावहरुलाई पुनः छलफल गरेर निष्कर्ष निकाली पार्टीको भावी रणनीति तय गर्ने रावललेले जानकारी दिइन् ।

कार्यशालामा विचार, संगठन, मूल्य मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियान लगाएत ६ वटा बिषयमा केन्द्रीत भएको रास्वपाले जनाएको छ ।

लुम्बिनीका बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनी । लुम्बिनी प्रदेशका आठ जना बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । बिनाविभागीय मन्त्रीमा नियुक्त भएको १० दिनपछि उनीहरूले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

मुख्यमन्त्रीसहित एमालेबाट पाँच र कांग्रेसबाट चार मन्त्रीले साउन ९ गते शपथ लिएका थिए । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्युठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेले जिम्मेवारी पाएका छन् । कांग्रेसले एक मन्त्री पठाउन बाँकी छ ।

एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रुपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा गुल्मीका दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा पाल्पाका खेम सारु र ऊर्जा जलस्रोत र सिँचाइ मन्त्रीमा दाङकी सीता शर्मा चौधरीले जिम्मेवारी पाएको मन्त्री भूमिश्वर ढकालले जानकारी दिए ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित पाँच, कांग्रेसले चार र दुई साना दललाई मन्त्रालय बाँडफाँट गरिएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैँले राखेका छन् ।

अदालतमा बयान फेरेको आरोपमा अख्तियारद्वारा दुई साक्षीविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेरेको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । चितवनको कालिका नगरपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–१० बस्ने केशरीप्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले घुस लेनदेनसम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ । अख्तियारले यसअघि विशेष अदालतमा दर्ता घुस लेनदेनसम्बन्धी एक मुद्दामा उनीहरूलाई सरकारी साक्षीको रूपमा प्रस्तुत गरेको थियो ।

उपत्यकाका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आगामी आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

ऊर्जालाई समृद्धिको आधार बनाउन प्रधानमन्त्रीलाई इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रूपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानून र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा इपानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री ओलीलाई भेटेर संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० लाई निजी क्षेत्रका सवालहरू समेटेर पारित गराउन माग गरेको हो ।

प्रस्तावित विधेयकमा भएको प्रतिस्पर्धाको प्रावधानले निजी क्षेत्रको ढोका बन्द गरी उनीहरूसँग रहेका करिब ३० हजार मेगावाट क्षमताका आयोजनाहरू स्वतः खारेज हुने र ती आयोजना विदेशीको हातमा जाने गुनासो गरेका हुन् ।

सो संस्थाले पाइपलाइनमा रहेका १३ हजार मेगावाट क्षमताका आयोजनाहरूको छिटो विद्युत् व्यापार सम्झौता (पिपिए) खुला गराउन पनि माग गरेको छ ।

काभा बिच भलिबलमा नेपालको सानदार प्रदर्शन, महिला र पुरुष दुवै टोली सेमिफाइनलमा

काठमाडौं । भुटानमा भइरहेको काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालको पुरुष र महिला दुवै टोली शुक्रबार लगातार तीन खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा भइरहेको प्रतियोगितामा पुरुषतर्फ नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले शुक्रबार भुटान, उज्वेकिस्तान र ताजिकस्तानलाई पराजित गरेको हो । पहिलो दिन माल्दिभ्ससँग पराजित भएपनि नेपाली टोलीले पुनरागमन गर्दै लगातार तीन खेल जितेको हो ।

मान बहादुर र दिलको जोडीले शुक्रबार भुटानलाई २१–१४, २१–१४, उज्वेकिस्तानलाई २१–१५, २१–१४ तथा ताजकिस्तानलाई २१–१३, २१–१७ ले पराजित गरेको हो ।

यस्तै महिलातर्फ नेपालकी कमला पुन र मनिषा चौधरीको जोडी अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको हो । यो जोडीले शुक्रबार उज्वेकिस्तानलाई २१–१७, २१–१५ ले तथा माल्दिभ्सलाई २१–१४, २१–१६ ले हरायो ।

प्रतियोगिताको सेमिफाइनल र फाइनलका खेलहरु शनिबार हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ ।

नेपाल प्रिमियर लिगको फ्रेन्चाइजका लागि क्यानले खोल्यो आवेदन

काठमाडौं  । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग क्रिकेटको फ्रेन्चाइज लिगका लागि आवेदन खुला गरेको छ ।

क्यानले शुक्रबार  सूचना जारी गर्दै फ्रेन्चाइज लिनका लागि रिक्वेस्ट फर प्रपोजल (आरएफपी) सार्वजनिक गरेको हो ।

जसमा स्वदेशी तथा विदेशी कम्पनीहरुलाई फ्रेन्चाइज क्रिकेटमा लगानी गर्नका लागि आह्वान गरिएको छ ।

क्यानले एनपीएनको फ्रेन्चाइज टिम लिनका लागि विभिन्न योग्यता र प्रक्रियाहरु समेत सूचनामा उल्लेख गरेको छ ।

जसअनुसार यही अगष्ट १६ सम्म इच्छयुक कम्पनीहरुले फ्रेन्चाइज लिनका लागि बिड गर्न सक्नेछन् । त्यसका लागि १ लाख रुपैया नन रिफण्डेबल फि तिरेर फर्म भर्नुपर्नेछ ।

बिडिङ गर्ने कम्पनी कम्पनी रजिस्टारको कार्यलयमा दर्ता हुनुपर्ने, कम्पनी भ्यालु एडेड ट्याक्स (भ्याट) अन्तर्गत रही ट्याक्स क्लियरेन्स गरेको हुनुपर्ने र विदेशी बिडरका लागि नेपाली कम्पनीसँग जोइन्ट भेन्चरमार्फत सहभागि हुन सक्ने उल्लेख छ ।

यस्तै बिडिङ गर्न चाहने कम्पनीको रेकर्ड क्लिन हुनुपर्नेछ । कम्पनीको इतिहासमा आपराधिक आरोप, वित्तिय फ्रड, मनी लाउण्ड्ररिङ लगायत अन्य अपराधिक क्रियाकलापमा नजोडिएको हुनुपर्नेछ ।

एनपीएल आगामी नोभेम्बर/डिसेम्बरमा गर्ने क्यानले यसअघि नै निर्णय गरिसकेको छ ।

गत वर्ष क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग मिले नेपाल टी२० लिग बयोजना गरेको थियो । तर उक्त प्रतियोगितामा म्याच फिक्सिङ जस्ता नकरात्मक घटना भएकोले क्यानले ठूलो आलोचना व्यहोर्नुपरेको थियो ।

लिग सुरु भएपछि सेभेन थ्री स्पोर्ट्सका व्यक्तिहरु नेपालबाट हिँडेपछि लिग नै थप समस्यामा परेको थियो । तर क्यानले जसोतसो लिग भने सम्पन्न गरेको थियो ।

प्युठानमा तीन जनामा हैजा सङ्क्रमण

स्वर्गद्वारी (प्युठान) । प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरु एउटै परिवारका रहेका छन् । 

गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । तीनै जनालाई झाडापखाला लागेपछि उनीहरुको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । 

“जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो”, उनले भने । गौमुखी गाउँपालिकाका आठ जनामा  झाडापखाला देखिएको थियो । उनीहरुको हाल जिल्ला अस्पतालमा  उपचार भइरहेको छ ।

सीता परियारको तीज गीत ‘माइतीघर’ 

काठमाडौँ । हिन्दू नारीको महानपर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत बजारमा आइरहेको छ । केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका सन्दर्भ तीजको परम्परागत मान्यतालाई बोकेर नयाँ गीत ‘माइतीघर’ सार्वजनिक गरिएको छ ।

गायिका सीता परियारले गाएको गीतमा तीज नजिकिँदै गर्दा चेलीले महसुस गर्ने भावनालाई समेटिएको छ । “गीतमा माइतीसँग चेलीको माया र चाडसँग जोडिएको परम्परागत संस्कारलाई जोडिएको छ”, गायिका परियारले भनिन् ।

तीजसँग जोडिएको मौलिकता झल्किने यस गीतको शब्द र सङ्गीत पूर्ण परियारले तयार गरेका हुन् । गीतको सार्वजनिक श्रव्यदृश्यमा स्मारिका ढकालले अभिनय गरेकी छन् ।

उक्त श्रव्दृश्यमा तीजको हर्षोल्लासका साथै चेलीको वेदनालाई पनि प्रस्तुत गरिएको छ ।  श्रव्यदृश्यमा मुकेश नेपालीले नृत्य निर्देशन, अजय रेग्मीले छायाङ्कन, अमृत चापागाईंले सम्पादन र विशाल घिमिरेले निर्देशन गरेका छन् ।

अरिङ्गालले टोकेर गुल्मीमा एक युवकको मृत्यु

गुल्मी  । गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको आज मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको हो ।

अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियोे । उनको उपचारको क्रममा आज मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए । 

सरकारले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तीन राज्यमन्त्री नियुक्त गरेका छन् । शुक्रबार उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टीबाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नागरिक उन्मुक्तिबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् । अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।यो सँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

स्मार्टफोनको प्रयोग ८० करोड भारतीयको गरिबी निवारणमा सहयोगी सिद्ध

द्रूत विकासका लागि डिजिटाइजेसनको प्रयोगमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घीय महासभाका ७८ औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले यस क्षेत्रमा भएको विकासले विगत ५–६ वर्षमा ८० करोड जनतालाई गरिबीबाट बाहिर निकाल्न सक्षम भारतको प्रशंसा गरेका छन् ।

उनले कसरी भारतका ग्रामीण क्षेत्रका मानिसहरूले स्मार्टफोनको माध्यमबाट भुक्तानी गर्न र बिलहरू तिर्न सक्षम भएको उदाहरण दिँदै यसले उनीहरूको समय र पैसासमेतलाई वचत गरेको बताए ।

फ्रान्सिसले संयुक्त राष्ट्रको खाद्य र कृषि संगठन (एफएओ)ले आयोजना गरेको ‘वर्तमान र भावी पुस्ताका लागि शून्य भोकतिर प्रगतिको गति’ विषयक छलफल कार्यक्रममा भने, ‘द्रूत विकासका आधारमध्ये डिजिटलाइजेसन एक हो । उदाहरणका लागि, भारतलाई हेर्नुहोस् । भारतले गत ५–७ वर्षमा केवल स्मार्टफोनको प्रयोग गरेर ८० करोड मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्न सक्षम भएको छ ।’

फ्रान्सिसले उच्च इन्टरनेट सेवाको विकासका कारण नै भारत ग्लोबल साउथका अन्य देशहरूको तुलनामा विकासोन्मुख रहेकोमा जोड दिए ।

‘बैङ्किङ प्रणालीसँग कहिल्यै सम्बन्ध नभएको भारतका ग्रामीण किसानहरू पनि आफ्ना सबै व्यवसायहरू स्मार्टफोनमार्फत लेनदेन गर्न सक्षम भएका छन् । भारतमा उच्च स्तरको इन्टरनेट पहुँचले ८० करोड मानिस गरिबीबाट मुक्त भएका छन् । डिजिटलाइजेसनको विकासको प्रारम्भिक चरणको रूपमा यस असमानतालाई सम्बोधन गर्न केही विश्वव्यापी पहल आवश्यक छ,’ युएनजीएका अध्यक्षले भने ।

डिजिटाइजेसनको विकास प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको प्रमुख लक्ष्यमध्ये एक रहेको छ । पछिल्लो दशकमा देशमा डिजिटल भुक्तानी लेनदेनमा द्रूत वृद्धि देखिएको छ ।

प्रधानमन्त्री मोदीले डिजिटाइजेसनलाई प्रोत्साहित गर्न ‘जेएएम’ पहल, जनधन, आधार र मोबाइल लागू गरेका छन्। यसअन्तर्गत मानिसहरूलाई आफ्नो बैंङ्क खाता खोल्न प्रोत्साहित गरिएको छ र हरेक खातालाई आधारकार्डसँग लिङ्क गरिएको छ ।

यसले देशभरका मानिसहरूलाई विभिन्न सरकारी योजनाहरू र सामाजिक लाभ भत्ता उनीहरूको खातामा सिधै पुग्न मद्दत गरेको छ ।

भौतिक पूर्वाधार मन्त्री दाहालले गरे बनेपाको डुबान क्षेत्र अवलोकन

काभ्रे। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गरेका छन् । उनले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुबान क्षेत्रको अवलोकन गरी समस्याबारे स्थानीयसँग जानकारी लिएका हुन् ।

मन्त्री दाहाललाई बनेपा नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जित, सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालयका प्रतिनिधिलगायत स्थानीयले वर्षाको समयमा पुण्यमाता खोलाको बाढीका कारण पुग्ने क्षतिबारे जानकारी गराएका थिए ।

गत मंगलबार रातिको वर्षाले पुलबजार क्षेत्रका करिब ४० घर डुबानमा परेका थिए । बस्ती बढ्दा खोला साँघुरिएपछि केही वर्षदेखि उक्त खोलामा आउने बाढीले अरनिको राजमार्गसमेत अवरुद्ध हुँदै आएको छ ।

डुबान क्षेत्र अनुगमनका क्रममा मन्त्री दाहालले सडक डिभिजन कार्यालय भक्तपुरसँग समन्वयगरी डुबानमुक्त हुने तवरले निर्माणमा ध्यान दिइने बताए।

उनले भने, “यस क्षेत्रलाई डुबानमुक्त बनाउन के गर्न सकिन्छ, सरोकारवाला निकाय र प्राविधिक छलफलगरी अघि बढ्नेछौँ ।” उहाँले यहाँको समस्याबारे स्थानीय तहका जनप्रतिनिधिसँग थप छलफलगरी निकास खोजिने बताए ।

मन्त्री दाहालले निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म दुई चरणमा निर्माण थालिएको उक्त सडक अवलोकन गरेका छन् । मन्त्री दाहालले उक्त सडक विस्तारका क्रममा भएका प्रगति, समस्या तथा आगामी योजनामा सरकारकोतर्फबाट गर्नुपर्ने कार्य विवरणबारे पनि जानकारी लिएका छन् ।

उनलाई सम्बन्धित निकायका प्रतिनिधिले साँगा क्षेत्रको निर्माण र त्यसले पारिरहेको प्रभाव, साँगादेखि बनेपा खण्ड निर्माण र स्थानीयले गरेको अवरोध, मुआब्जा वितरणलगायत सडकका अन्य समस्याका बारेमा जानकारी गराएका थिए ।

अनुगमनका क्रममा मन्त्री दाहालले चालु आवका लागि पुल निर्माण तथा मुआब्जालगायत विषयलाई प्राथमिकतामा राख्दै नागरिकले उठाएका सवाललाई सम्बोधन गरी सडक निर्माण समयमा सम्पन्न गर्न सडक विभाग र आयोजनालाई निर्देशन दिए।

आयोजनाले पूर्वाधार निर्माणमा ८८ प्रतिशत प्रगति भएको जनाएको छ । आयोजनाका प्रमुख इञ्जिनियर राजेन्द्रप्रसाद दासले स्थानीय तहको समन्वयमा ढल तथा खानेपानीका लाइनको मर्मतसम्भार तथा विस्तार, बिजुलीका खम्बाको विस्तारलगायतका काम भइरहेको जानकारी गराए ।

मन्त्री दाहालले सडक डिभिजन कार्यालय भक्तपुरका प्रतिनिधिसहित स्थानीय जनप्रतिनिधिसँग स्तरोन्नति भइरहेको धुलिखेल–खावा सडकको अवलोकन गरेका छन् । निर्माणाधीन उक्त धुलिखेल-खावा सडकखण्डको समयसीमा गत चैत १९ गते सकिएको थियो । केही महिना समय थपेर पुनःनिर्माण थालिएपछि वर्षाको समयमा हिलोका कारण सवारी साधन आवतजावतमा कठिनाइ हुँदै आएको छ ।

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिद्वारा कैदी आदानप्रदानमा रिहा भएका अमेरिकी नागरिकलाई स्वागत

रूससँगको कैदी आदानप्रदानमा रिहा भएका अमेरिकी पत्रकार इभान गेर्शकोभिच, र अन्य दुई पूर्व अमेरिकी नौसैनिक पल ह्वेलन र पत्रकार अल्सु कुर्माशेभा स्वदेश फिर्ता भएपछि उनीहरूको अमेरिकामा भव्य स्वागत भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पत्रकार इभान गेर्शकोभिचलाई अँगालो हालेर स्वागत गरेका थिए ।

वाल स्ट्रिट जर्नलका रिपोर्टर गेर्शकोविच, पूर्व अमेरिकी नैसैनिक ह्वेलन र पत्रकार कुर्माशेभा विमानबाट ओर्लेपछि परिवार र साथीभाइले खुसीयाली मनाएका थिए ।

खोज पत्रकारका रूपमा वाल स्ट्रिट जर्नलमा काम गर्ने शिलशिलामा गेर्शकोभिचलाई रूसमा पक्राउ गरिएको थियो ।

रूससँगको कैँदी आदानप्रदान सम्झौतामा उनीहरूसहित ठूलो सङ्ख्यामा कैदी आदानप्रदान भएपछि उहाँहरू बिहीबार अमेरिका फिर्ता भएका हुन् ।

वासिङ्टन नजिकैको ज्वाइन्ट बेस एन्ड्रुजमा रूससँगको कैदी आदानप्रदानमा स्वदेश फिर्ता भएका नागरिकसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले भने, “उहाँहरू आउन निकै लामो समय लागेको छ । यो महसुस भएको छ ।”

शीतयुद्धपछिको सबैभन्दा ठूलो पूर्व–पश्चिम कैदी अदलाबदलीका क्रममा रूसले बिहीबार दुई दर्जन बन्दीलाई रिहा गरेको थियो । अमेरिकी रेजिडेन्सीमा कार्यरत क्रेमलिनका प्रखर आलोचक चौथो कैदी भ्लादिमिर कारामुर्जा पनि अलग्गै संयुक्त राज्य अमेरिका फर्किएका छन् ।

टर्कीको राजधानी अङ्कारास्थित विमानस्थलको टाक्र्याकमा भएको नाटकीय आदानप्रदानमा रूसमा कैद गरिएका अमेरिकी र अन्य सहयोगी मुलुकका गरी कुल १६ जना र दुई नाबालकसहित कुल १० जना रूसी नागरिक रिहा भएका हुन् ।

“गठबन्धनले फरक पार्छ । उनीहरूले कदम चाले र हाम्रा लागि यो मौका दिए,” बाइडेनले जर्मनी, पोल्याण्ड, स्लोभेनिया, नर्वे र बेलारुसलाई पनि सामेल गर्ने सम्झौताबारे भने ।

बाइडेनले सन् २०२४ को राष्ट्रपतीय चुनावबाट नाम फिर्ता लिएपछि डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका सम्भावित उम्मेदवार ह्यारिसले ‘असाधारण दिन’ को घोषणा गरेकी थिइन् ।

रिहा गरिएका कैदी र उनीहरूका आफन्तहरू अब ब्रुक आर्मी मेडिकल सेन्टरमा स्वास्थ्य परीक्षण र आवश्यक पर्ने कुनै पनि हेरचाहका लागि टेक्सासको सान एन्टोनियो जाने अपेक्षा गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।