`

भारतको उत्तराखण्डमा बाढीमा परी १३ जनाको मृत्यु

भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले १३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरूले देहरादून क्षेत्रमा बाढीमा फसेका सयौं तिर्थयात्रीहरूको हेलिकप्टरको माध्यमबाट उद्धार गरिएको बताएका छन् ।

अस्वभाकिक जलवायु परिवर्तनले मनसुनको समयमा विपद्का घटनाहरू बढाइरहेको विज्ञहरूले बताएका छन् ।

बाढीका कारण उत्तरी राज्य उत्तराखण्डमा समाचार तयार पार्दासम्म १३ जनाको मृत्यु भएको विपद् व्यवस्थापन अधिकारी विनोद कुमार सुमनले जानकारी दिए ।

हिन्दू धर्मावलम्बिहरुको लोकप्रिय तीर्थस्थल केदारनाथ मन्दिरमा यात्रा गर्ने क्रममा रहेका करिब ७०० जना तिर्थयात्रीहरू बाढीबाट प्रभावित भएपछि हेलिकप्टरबाट उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रभावित तीर्थयात्रीहरूलाई सुरक्षित यात्रा गर्नका लागि हेलिकप्टरहरू प्रयोग गरिरहेको सुमनले बताए ।

काठमाडौं उपत्यकालाई डुबानबाट कसरी जोगाउने ?

डा.बाबुराम भट्टराई ।
संघीय राजधानी काठमाडौ ठूलो वर्षासँगै डुबानमा पर्नु राष्ट्रिय चासो र चिन्ताको विषय हो । यो तीव्र जनसंख्या वृद्धि, अव्यवस्थित शहरीकरण र सम्पूर्ण उपत्यका कंक्रिट जंगलमा परिणत हुँदै जानुको दुष्परिणाम हो । यही प्रवृत्ति कायम रहे कुनैबेला समग्र हिमाली सभ्यताको केन्द्र रहेको काठमाडौं उपत्यका केही दशकभित्र गम्भीर प्रकृतिक र मानवीय संकटमा पर्न सक्छ । शहरी तथा क्षेत्रीय विकास योजनको विद्यार्थीको नाताले यसको गम्भीरतालाई बुझेर आफ्नो प्रधानमन्त्रीत्वकालमा मैले छुट्टै शहरी विकास मन्त्रालयको गठन, काठमाडौं उपत्यका विकास प्राधिकरणको गठन, काठमाडौं–मधेस जोड्ने फाष्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलो प्राथमिकताको राष्ट्रिय गौरवको योजना घोषणा लगायतका दूरदृष्टियुक्त पहल गरेको हुँ ।

देश अब संघीयतामा गइसकेको अवस्थामा भविष्यमुखी भएर यसो गरौंः

– छुट्टै ऐन बनाएर सबै पालिकाहरूको प्रतिनिधित्व हुने गरी अधिकारसम्पन्न काठमाडौं उपत्यका एकीकृत विकास प्राधिकरण गठन गरौं र वृहद गुरूयोजना बमोजिम मात्र विकासनिर्माण सम्पन्न गरौं ।

– फाष्टट्रयाक र निजगढ विमानस्थल छिटो निर्माण गरेर काठमाडौंको जनसांख्यिक चाप न्यूनीकरण र विविधिकरण गरौं ।

– संघीय राजधानी र औद्योगिक क्षेत्रहरू काठमाडौं उपत्यकाबाहिर स्थानान्तरण गरौं ।

उपत्यका बाहिर छेउछाउमा योजनावद्ध स्याटालाइट सिटीहरूको निर्माण गरौं । काठमाडौं उपत्यकालाई सांस्कृतिक, पर्यटकीय, शैक्षिक र सेवामुखी गतिविधि र नयाँ हिमाली सभ्यताको केन्द्र बनाउँ ।

– अहिलेको अपूर्ण संघीय संरचनालाई पूर्णता दिएर र प्रदेश तथा स्थानीय तहहरूलाई बढी अधिकार सम्पन्न बनाएर सम्पूर्ण देशको एकीकृत र दिगो विकास गरौं।

भोलि धेरै ढिलो हुनसक्छ ! अब आँखा खोलौं !

टीकापुर अस्पतालमा जनशक्ति व्यवस्थापन भएसँगै उपचारमा थप सहज

भजनी । कैलालीको टीकापुर अस्पतालमा स्वास्थ्य उपचार सेवामा विस्तार भएसँगै उपचारका लागि अन्यत्र गएर स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता कम हुँदै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा विस्तारसँगै उपचारका लागि नेपालगञ्ज, धनगढीलगायत जानुपर्ने बाध्यता कम हुँदै गएको हो । 


टीकापुरका खुशीराम चौधरीले विगतमा जस्तो सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम भएको बताए । “पहिला उपचारका लागि जाँदा राम्रोसँग उपचार हुन्थेन । अस्पतालको फार्मेसीमा औषधि पाउने कुरा त धेरै परको कुरा थियो”, उनी  भन्छन्, “अहिले उपचार पनि छ । फार्मेसीमा औषधि पनि । नागरिकहरुलाई ठूलो राहत भएको छ ।”


  बर्दिया गेरुवा गाउँपालिकाका जङ्गबहादुर चौधरी बुवाको उपचारका लागि टीकापुर अस्पतालमा आए । उनले बाहिर गएर पाउने सेवा टीकापुरमा पाउँदा यातायातमा लाग्ने ठूलो रकम बचत भएको बताए ।


अस्पतालमा स्वास्थ्य जनशक्ति व्यवस्थापनसहित उपचारमा सहजता हुँदा दैनिक बर्दियाबाट उपचारका लागि आउनेको सङ्ख्या बढेको बताए । “पहिले छिमेकीहरुमा उपचारका लागि नेपालगञ्ज जाने कुरा चल्थ्यो भने आजकाल टीकापुर जाने कुरा चलेको बढी सुनिन्छ”, उनी भन्छन्, “म आफैं पनि नेपालगञ्ज जाने गर्थे, आजभोलि सामान्य समस्या आयो भने पनि टीकापुर पुग्छौँ ।”


क्षमता भएको व्यक्ति नेतृत्वमा हुँदा काम गर्न समस्या छैन भन्ने कुराको उदाहरण यतिबेला टीकापुर अस्पताल बनेको छ । डेढ वर्ष पहिले अस्पतालमा दुई तीन जना विशेषज्ञले सेवा दिँदै आएको देख्न पाइन्थ्यो ।


त्यतिमात्र होइन सामान्य बिरामी भएर अस्पताल पुग्दा चिकित्सक भन्दा अगाडि एम्बुलेन्स पुग्ने टीकापुर अस्पतालमा यतिबेला अधिकांश समस्याको उपचार सम्भव भएको छ । अस्पतालले अहिले १० प्रकारको विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालसँग १७ जना विशेषज्ञ चिकित्सक छन् ।
   
अस्पतालमा दुई जना बालरोग विशेषज्ञ, प्रसुति तथा स्त्रीरोग विशेषज्ञ तीनजना, एम डी.जि. पि. एक जना, जनरल सर्जरी दुई जना, ऐनेस्थेसिया दुई जना,फिजिसियन दुई जना, नाक, कान, घाँटीको एक जना विशेषज्ञ  चिकित्सकले अस्पतालमा सेवा दिँदै आएका छन् ।


त्यसैगरी हाडजोर्नीको तीन जना, रेडियोलोजिष्ट एक जना विशेषज्ञ चिकित्सक अस्पतालमा कार्यरत रहेको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताए ।


उनका अनुसार अस्पतालमा आठ जना मेडिकल अधिकृत र दुईजना डेन्टल सर्जनले काम गरिरहेका छन् । त्यसमध्ये एक जना बालरोग विशेषज्ञ र एकजना प्रसुति तथा स्त्रीरोग विशेषज्ञ टीकापुर नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ ।


  चिकित्सकहरुको व्यवस्थापनसँगै संरचनागत रुपमा पनि अस्पताल बलियो बन्दै गएको छ । सुदूरपश्चिम प्रदेश सरकार र कोइकाको अस्पतालमा ठूलो सहयोग रहेको अध्यक्ष सोडारीको भनाइ छ ।


“अस्पतालमा सघन उपचार कक्ष साथै भेन्टिलेटर पनि प्रयोगमा ल्याएका छौँ । उपचारका लागि चिकित्सकको व्यवस्थापनसँगै आवश्यक उपकरणको पनि व्यवस्था गर्न सफल भएका छौँ ।“ अध्यक्ष सोडारीले भने, “अब अस्पतालमा सिटिस्क्यान सेवा जोड्न बाँकी छ । त्यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको छ ।”
     
अस्पतालको आकस्मिक कक्षमा सेवाग्राहीलाई लक्षित गर्दै एसी जडान गरिएको छ । अस्पतालको ओपिडी सेवा ८ बजेदेखि सञ्चालन हुँदै आएको छ । ज्येष्ठ नागरिकलाई लक्षित गरेर शनिबार पनि ओपिडी सञ्चालन अस्पतालले गर्दै आएको छ ।


“अस्पतालले विकासको एउटा चरण पार गरेको छ । अब भएको जनशक्तिलाई व्यवस्थापन गरेर स्वस्थ्य सेवा दिनसक्यो भने अस्पताल सफल भएको मान्न सकिनेछ”, अध्यक्ष सोडारी भन्छन्, “अब सिटिस्क्यान र छाला रोग विशेषज्ञ सेवाका लागि अस्पतालले समन्वय गर्दै आएको छ ।” 


    चिकित्सकलाई सहज रुपमा काम गर्ने वातावरण बनाउनसके जनशक्तिको समस्या नहुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राई बताउँछन् । उनले छोटो समयमा अस्पताल व्यवस्थापन समितिको इच्छाशक्तिले स्वस्थ्य क्षेत्रमा अस्पतालले ठूलो सफलता हासिल गरेको बताए ।


टीकापुरलगायत आसपासमा छिमेकी पालिका र लुम्बिनी प्रदेशको बर्दिया जिल्लाका र कर्णाली प्रदेशको सुर्खेतबाट पनि अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । स्थानीय छिमेकी पालिकाले सहयोग गर्नसके अझै अस्पतालको स्तर वृद्धिमा सहज हुने अस्पताल प्रशासनको भनाइ छ ।

फिलिपिन्सको चाइनाटाउनमा आगलागी हुँदा ११ जनाको मृत्यु

फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा शुक्रबार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।

मनिलाको बिनोन्डोमा बिहान लागेको आगो नियन्त्रणका लागि १४ वटा दमकल र अग्नि नियन्त्रकलाई दुई घण्टा लागेको मनिला नगरीय दमकल विभागले जनाएको छ ।

उद्धारकर्मीले पाँच तले भवनभित्र ११ जनाको शव फेला पारेको बताएका छन् । आगलागीको कारण र मृतकको पहिचान खुल्न सकेको छैन ।

मध्यान्हसम्म शवबाहन सडकमा लाइन लागेर बसेको देखिएको प्रत्यक्षदर्शी एएफपीका एक पत्रकारले जानकारी गराए ।

आगलागी भएको भवनको भुइँ तलामा पसलहरू र माथिल्लो तला आवासीय प्रयोगका लागि प्रयोग भएका थिए ।

कक्षा १२ को नतिजा सार्वजनिक

भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो । 


बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस वर्ष कक्षा १२ मा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका जानकारी दिए । यस वर्षको नतिजामा गत वर्षको तुलनामा तीन प्रतिशत वृद्धि भएको उनले जानकारी दिए ।


बोर्डका अनुसार गत वैशाख १४ गतेदेखि सञ्चालन भई २६ गते सम्पन्न परीक्षामा नियमिततर्फ एक लाख ९३ हजार नौ सय ३३ छात्र र एक लाख ९६ हजार नौ सय १४ छात्रागरी कूल तीन लाख ९० हजार आठ सय ६८ परीक्षार्थी सहभागी थिए । त्यसमध्ये दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । 


परीक्षामा तीन दशमलव ६१ देखि चार जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या नौ हजार पाँच सय ९१ रहेको छ । जसमा बागमती प्रदेशबाट छ हजार सात सय ५२ विद्यार्थी छन् । कर्णाली प्रदेशमा सबैभन्दा कम २४ जना विद्यार्थीले मात्रै उक्त जिपिए ल्याएका छन् । 


त्यसैगरी ४६ हजार आठ सय ९३ विद्यार्थीले तीन दशमलव २१ देखि तीन दशमलव ६० सम्म जिपिए र ७८ हजार ७५ विद्यार्थीले दुई दशमलव ८१ देखि तीन दशमलव २० सम्म जिपिए ल्याएका छन् । 


परीक्षामा एक लाख ८७ हजार २१ जना अनुत्तीर्ण अर्थात् ४७ दशमलव ०९ प्रतिशत विद्यार्थीको नतिजामा ननग्रेडिङ आएको छ । बोर्डका अनुसार पाँच हजार छ सय ३२ परीक्षार्थीले कुनै पनि विषयको परीक्षा दिएनन् भने एक सय दुई विद्यार्थीको परीक्षा रद्द गरिएको छ । 


ग्रेड वृद्धितर्फ विसं २०७८ र ०७९ का २८ दशमलव २६ प्रतिशत र विसं २०७६ र ०७७ का ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।


यसअघि विसं २०७८ को नतिजामा ४६ दशमलव ०४ प्रतिशत र विसं २०७९ को नतिजामा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । 


बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार सञ्चालन गरेकोे परीक्षाको नतिजाअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याएमा विद्यार्थीको नतिजा एनजी अर्थात अनुत्तीर्ण आउँछ । 


बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, ruselt.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा लग इन गरी हेर्न सकिन्छ । त्यसैगरि एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइपगरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने जनाएको छ ।

प्रतिरक्षाका क्रममा मबाट केही गल्ती भयो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा.मुलुक ढकालले आफूमाथि आक्रमण हुँदा प्रतिरक्षाका क्रममा केही गल्ती भएको स्वीकारेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत ढकालले आफूमाथि छापामार शैलीमा राजनीतिक आक्रमण हुँदा प्रतिरक्षाका क्रममा अनजानमा केही गल्ती भएको स्वीकारेका हुन् ।

तर, उनले आफूले बोलेका कुनै पनि कुरा झुटो नभएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘प्रिय साथीहरू, ममाथि छापामार शैलीमा राजनीतिक आक्रमण हुँदा प्रतिरक्षाका क्रममा मबाट अनजानमा केही गल्ती भएकै छ । प्रस्तुतीमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् तर मैले यो बीचमा जे जति कुराहरू बोलेको छु, एक शब्द झुटो बोलेको छैन र मैले झुटो बोलेको छैन भनेर साबित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छु । सत्यलाई सधैँ लुकाउन पक्कै पनि सकिँदैन । कति पय कुराहरू त समय क्रमसँगै प्रमाणित हुँदै गएका छन्, कति पय हुँदै जानेछन् । साथीहरू, पार्टीमा मैले तल उल्लिखित मुलत तीन कुराहरूका लागी सङ्घर्ष सुरु गरेको हो । यी तीन कुराहरू गरे राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्छ । क्लबबाट पार्टी बन्ने मात्र होइन, यसले नेपाली जनताको आशालाई जोगाउँदै, त्यसलाई भरोसामा बदल्छ ।’

यस्तो छ मुकुलको भनाई

प्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू,
राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछाने क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनका लागी मैले पार्टीको आन्तरिक जीवनमा सङ्घर्ष उद्घोष गर्ने बित्तिकै मलाई रवि लामिछाने क्लबले पार्टीबाट अवैधानिक ढङ्गले छापामार शैलीमा निष्कासन गर्यो । मलाई आफैँले बनाएको पार्टीबाट क्लबले अवैधानिक ढङ्गबाट निष्कासन गरेपछि हाल म निर्वाचन आयोगमा न्याय निरूपणका लागी पुगेको छु । प्रचण्ड र ओलीसँग ऊ आफू मिल्ने, देउवासँग प्रधानमन्त्रीका लागी भित्रभित्रै बार्गेनिङ आफू गर्ने तर उल्टै काङ्ग्रेस–एमाले–माओवादीबाट परिचालित भनेर आरोप चैँ ममाथि लगाएका छन् । अझ केही झुन्डहरू परिचालित गरेर मलाई आफैँले स्थापना गरेको पार्टीविरुद्ध परिचालित भयो भन्ने भाष्य सिर्जना गर्न लागिपरेका छन् । म लक्ष्मण बनेर आफ्नो कर्तव्य पुरा गरिरहेको थिए, तर उनी आफैँ रावण बने र मलाई उल्टै विभीषण बनेको आरोप लगाए ।

प्रिय साथीहरू, ममाथि छापामार शैलीमा राजनीतिक आक्रमण हुँदा प्रतिरक्षाका क्रममा मबाट अनजानमा केही गल्ती भएकै छ । प्रस्तुतीमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् तर मैले यो बिचमा जे जति कुराहरू बोलेको छु, एक शब्द झुटो बोलेको छैन र मैले झुटो बोलेको छैन भनेर साबित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छु । सत्यलाई सधैँ लुकाउन पक्कै पनि सकिँदैन । कति पय कुराहरू त समय क्रमसँगै प्रमाणित हुँदै गएका छन्, कति पय हुँदै जाने छन् । साथीहरू, पार्टीमा मैले तल उल्लिखित मुलत तीन कुराहरूका लागी सङ्घर्ष सुरु गरेको हो । यी तीन कुराहरू गरे राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्छ । क्लबबाट पार्टी बन्ने मात्र होइन, यसले नेपाली जनताको आशालाई जोगाउँदै, त्यसलाई भरोसामा बदल्छ ।

१. राष्ट्रियता

कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानीकरण गरेर पटक पटक राष्ट्रघाती एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको पक्षमा सदा अडिग रहने शक्तिको रूपमा विकास गर्नपर्छ ।

२. पारदर्शिता र जवाफदेहिता

पार्टीको आर्थिक हिसाब किताब पारदर्शी हुनपर्छ । त्यस्तै, पार्टीको निर्णय प्रक्रियालाई पारदर्शी र जबाफदेही बनाउनपर्छ । पार्टी सभापतिमाथि लागेका सबै आरोपहरू उपर पार्टीभित्रै स्वतन्त्र छानबिन समिति गठन भई उहाँ पनि आफ्नो विगतप्रति पार्टी र जनतासामु पारदर्शी र जबाफदेही हुनपर्छ । पार्टीमा कोही पनि प्रश्न माथि छैन भन्ने थिति बसाल्नपर्छ ।

३. वैकल्पिक शक्तिको एकीकरण

हिजोका दिनमा हात उठाएका आधारमा केही साथीहरू जोडिए । कति पय साथीहरू छुट्नु भयो । अब सम्पूर्ण वैकल्पिक एवं स्वतन्त्र शक्तिहरूलाई एकीकरण गरी वृहत् नागरिक सभाको माध्यमबाट राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्गठन गर्नपर्छ । समीक्षा प्रतिवेदनमा उठाइएका पार्टी सुधारका विषयहरूलाई समेटेर नवीन पार्टी निर्माण गर्न सकिन्छ । २०८४ को चुनावलाई लक्ष्यमा राखी पुराना राजनीतिक शक्तिहरू विरुद्ध सम्पूर्ण वैकल्पिक एवं स्वतन्त्र शक्तिहरू एक भई नेपाली जनताको सुशासन र विकासको आकांक्षा पूरा गर्नका लागी पारदर्शिता , जवाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिनपर्छ ।

५१ किलो गाँजासहित तीनजना पक्राउ

बागमती – हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३–००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई रोकेर जाँच गर्दा ३३ किलो गाँजासहित हेटौँडा उपमहानगरपालिका–५ का चालक ३४ वर्षीय विनोद सेवा र सोही पालिका–१३ का ३५ वर्षीया सुनिता तामाङलाई पक्राउ परेका हुन् ।

यसैबीच प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले सोही स्थानबाट १८ किलो पाँच सय ग्राम गाँजासहित बीआर ०५ पिबी ७३६४ नम्बरको अटो चालक भारत बेतिया जिल्ला थाना मझौलियाका ३० वर्षीय मुसादेव आलमलाई पक्राउ गरेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि साउन २ गते सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले घट्दै १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कञ्चनपुरमा महिलाको ज्यान लिने नरभक्षी बाघ नियन्त्रणमा

कञ्चनपुर । बुधबारदेखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघ डार्ट गरी नियन्त्रणमा लिइएको छ । शुक्रबार बिहान साढे नौ बजे बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको नेपाली सनोका मेजर नवीन बोहराले जानकारी दिए ।

उक्त बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिएको छ । त्यसपछि कहाँ लग्ने भन्नेबारे छलफल गरेर टुङ्गो लाग्ने बताइएको छ । नरभक्षी बाघको आक्रमणमा परेर बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका –२ की २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो ।

धान खेतमा काम गरिरहेकी शाहलाई बाघले आक्रमण गरी लगेको थियो । उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो ।

क्षमता अभिवृद्धि गर्न रास्वपाको दुई दिने बन्द कार्यशाला

काठमाडौँ । पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

“कार्यशालामा विचार, सङ्गठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, ‘लिडरसीप एकेडेमी’ र ‘क्यान्डिडेट क्लब’ तथा पार्टी अभियानबारे गहन छलफल हुँदैछ”, कार्यवाहक प्रवक्ता मनिष झाले भने ।

यही साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेकाहरूको क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुईदिने बन्द कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यस कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन् ।

न्यायिक समितिद्वारा एक सय ८३ मुद्दा फर्स्योट

बागमती । हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ८३ मुद्दा फर्स्योट गरेको छ ।

उपमहानगर उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले उक्त आवमा नयाँ दर्ता भएका दुई सय ५२ र अघिल्लो आवबाट सरेर आएका ८० गरी तीन सय ३२ मुद्दामध्ये एक सय ८३ टुङ्गो लगाएको हो । दर्ता भएकामध्ये ३९ वटालाई निरूपणका लागि अदालत जान सिफारिस भएको छ भने २७ वटा समितिमा विचाराधीन छन् ।

स्थानीय तहका मुद्दा स्थानीय निकायमा मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ ।

उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई मानाचामल, सम्बन्धबिच्छेद, जग्गा विवाद, घरभाडा, गाईभैँसीले बालीनाली नोक्सानी गरेकोलगायत विवाद समाधान गर्ने अधिकार छ ।

समितिमा जग्गा विवाद, घर निर्माण खिचलो, लेनदेन, बाली नोक्सानी, घरभाडा, मजदुरको ज्यालालगायत विषयमा बढी उजुरी परेका उपप्रमुख बानियाँले बताए । आव २०७९/८० मा समितिले एक सय २७ वटा उजुरीमा मिलापत्र गराएको थियो ।

नवलपरासी पूर्वका अधिकांश स्थानमा सकियो रोपाइँ

मध्यविन्दु (नवलपरासी) । बर्दघाट सुस्तापूर्वका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को १८ हजार सात सय १६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ हजार चार सय पाँच हेक्टरमा रोपाइँ सकिएको छ । जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा पनि रोपाइँ सकिएको छभने बौदीकाली र बुलिङटार गाउँपालिकामा केही स्थानमा रोपाइँ बाँकी छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेका अनुसार जिल्लाको कुल खेतीयोग्य ६१ हजार तीन सय हेक्टरमध्ये ५५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा उपलब्ध छभने ४५ प्रतिशत जमिनमा अकासे खेती गर्नुपर्ने बाध्यता छ । यो जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवालगायत हाइब्रिड जातका धान रोपिएको छ ।

मध्यपूर्वमा युद्ध भएमा के गर्ला सरकारले लेवनान, इजरायल र खाडीमा काम गर्ने नेपालीको उद्धारमा ?

डा. युवराज संग्रौला ।
इरानले फेरि इजरायलमाथि कारबाही गर्ने संभावना छ, के गर्ला सरकारले लेवनान, इजरायल र खाडीमा काम गर्ने नेपालीको उद्धारमा ? अन्तर्राष्ट्रिय गतिविधि भरपर्दो छैन । मध्यपूर्वमा युद्ध भुसको आगोजस्तो भित्रभित्रै बलिरहेको छ । अब युक्रेनबाट युद्धको स्थान मध्यपूर्वमा सर्न सक्ने खतरा बढेको छ। तर नेपालमा यस्ता कुरामा कसैको सरोकार हुँदैन ।

१. हमास र इजरायलका बीचमा भएको लडाईंको बारेमा नेपालमा छ्लफलसम्म भएन, जबकी यो घटना भविष्यमा एउटा क्रुर युद्धको संकेत हुनसक्छ । अब पश्चिम युक्रेनमा थकिसकेको छ । तर उसलाई युद्ध त चाहिएकै छ ।

२. इजरायलले लेबनान र इरानमा हेजुब्ल्लाह र हमासका शीर्षस्थ नेताहरुको हत्या गरेपछि त्यसको प्रतिकारमा इरानले इजरायलमाथि कारबाही गर्ने र सम्पूर्ण मध्यपूर्वमा युद्ध भड्किने सम्भावना बढेको छ । यो युद्ध इजरायल र अरबबीचको युद्ध हुनसक्ने अवस्था छ। यो युद्ध पश्चिम र पूर्वका बीचमा बिस्तार हुन सक्ने अवस्था छ ।

३. नेपालाका सम्बन्धित मन्त्रालयका मानिस र नेतालाइ यसबारेमा केही हेक्का होला ? जहाँसम्म लाग्छ, छैन । मध्यपूर्वमा लाखौं नेपाली छन् । यदि इरानले इजरायलका विरुद्ध कारबाही गर्यो भने ‘लेवनान, इजरायल, मोरक्को’ मा भएका नेपाली नागरिकको उद्धार कसरी गर्छ सरकार ? के यसबारेमा केही सोचेको छ, सरकारले ?’ दुःख को कुरा अहिलेपनि नेपालीहरु त्यता गइरहेका छन् । समयमै ध्यान पुर्याओस् सरकारले । लेवनान र इजरायलमा कार्यरत नेपालीहरुले तत्काल ध्यान दिने विषय हो यो ।

४. समस्त खाडी क्षेत्र असुरक्षित हुन सक्ने सम्भावना अन्तर्राष्ट्रिय विज्ञले बताइरहेका छन् । यस्तो अवस्थामा खाडी क्षेत्रमा रहेका लाखौ नेपालीहरु यो युद्धको चपेटामा पर्न सक्छन् । यस्तो भयो भने खाडी क्षेत्रबाट त्यत्रो संख्याको उद्धार गर्ने बारे नेपाल सरकारले के योजना बनाएको छ ? के सोच्नु भएको छ ?

५. १० महिनाअघि हमासको कब्जामा परेका बिपिन जोशीको उद्घार गर्न नेपाल सरकारले अहिलेसम्म सकेन । नेपालको कुटनीति कमजोर बनेको छ। उसको ज्यादा पश्चिम भक्तिले इस्लाम जमातमा तटस्थ देशको मान्यता भत्किएको छ । अन्यथा इस्लाम वा इरानकै सहयोग लिएर पनि जोशीको उद्धार हुन सक्थ्यो । दुर्भाग्य हो जोशीका बारेमा अहिलेसम्म खोजखबर गर्न नेपाल सरकार असमर्थ रहेको छ।

. यदि यो अन्तर्राष्ट्रिय अवान्छित अवस्था घट्ने अवस्था आयो भने, के नेपाल यसपटक पनि भारतको गुहार गर्नेछ ?
समयमा सोच्नु राम्रो । नेपाली जनताले सोच्नुपर्छ । देशको आर्थिक अवस्था भत्किएको छ । बिचारबिमर्श नासिएको छ । राजनीति सत्ता र बौद्धिकत्ता सत्ताको पुजापाठमा मस्त हुन्छ । यस्तो अवस्थामा ‘लाखौं नेपाली’ अलपत्र पर्ने सम्भावना हुन्छ । उनीहरुले पठाएको रेमिट्यान्सले देश धानेको छ, के उनीहरुको सुरक्षाका बारेमा सोच्नुपर्दैन ?

झापामा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

झापा । झापाको हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–५ का ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराक्षेत्र नगरपालिका–१० प्रकाशपुरका डिकेस कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई बिर्तामोडस्थित बीएण्डसी अस्पातालमा पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।

पिकअप भ्यान र त्यसका चालक भद्रपुर नगरपालिका–२ का ३७ वर्षीय दिपेन राईलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् । आज अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने छन् ।

सत्तासमीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री सोडारी गत असार २० गतेदेखि अल्पमतमा छन् ।

तीस दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तर, केन्द्रमा कांग्रेससँग सत्ता गठबन्धन बनेसँगै एमालेले सरकार छोडेको थियो।

अफवाह फैलाउने युट्युब काउन्सिलको निशानामा, कतिपयलाई कारबाहीका लागि साइबर ब्यूरो पठाइयो

काठमाडौँ । प्रेस काउन्सिल नेपालले अपवाहपूर्ण सूचना दिएर समाज भाँड्ने युट्युव च्यानलहरुप्रति कडा कारवाही थालेको छ । पत्रकार आचारसंहिता विपरित सामाग्री दिने केही अनलाइन पोर्टललाई समेत कालोसूचीमा राख्नेदेखि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाउने काम गरेको छ ।

काउन्सिलले पहिलो चरणमा युट्युव सञ्चालकहरुलाई कार्यालयमै बोलाएर अभिमुखिकरण दिएको थियो । त्यसपश्चात गरिएको विशेष अनुगमन र प्राप्त उजुरी समेतका आधारमा त्यस्ता माध्यमलाई कारवाही थालिएको काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिल नेपालले प्रेस विज्ञप्ति जारी गरी आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युबलगायत सामाजिक सञ्जाललाई विभिन्न कारवाही गरेको जनाएको छ । यी मध्ये धेरै जसोलाई यही साउन यतै कारवाही भएको हो । अघिल्लो आर्थिक वर्ष यता झण्डै ५० वटा युट्युव माध्यममार्फत सार्वजानिक समाचार सामाग्री हटाउने, सम्पादन गर्न लगाउने, सचेत गराउनेदेखि थप अनुसन्धानका लागि प्रहरीमा पठाउने सम्मको काम भएको छ ।

मिडियाको नियामक निकाय काउन्सिलले सामाजिक सद्भावमा खलल पर्न नदिन, नीजि स्वार्थ पूर्तिका लागि मिडियाको दुरुपयोग रोक्नका लागि विशेष अग्रसरता लिएको हो । पत्रकार तथा सञ्चारमाध्यमले अफवाह फैलाउने, एकपक्षीय आरोप वा गाली प्रसारण गर्ने, तथ्य पुष्ट्याई नगर्ने, धम्क्याउने, अनुचित आर्थिक फाइदा लिने त्यस्ता मिडियालाई कार्यालयमै बोलाई बयान लिने, आचारसंहिता कक्षामा राख्नेदेखि कालोसूचीमा राख्ने सम्मको कामलाई निरन्तरता दिएको छ ।

समाजलाई भ्रमित तुल्याउने नभै रचनात्मक र सृजनात्मक प्रस्तुति मार्फत निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्नका लागि काउन्सिलले अभियानै सुरु गरेको हो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबको नियमनका लागि छुट्टै मापदण्डअनुसार कारबाही गरिएको बताए ।
उनले भने, ‘डिजिटल प्लेटफर्मका कुनै पनि माध्यमबाट आधारहीन, एकपक्षीय, भ्रामक र पूर्वाग्रही सामाग्री दिन मिल्दैन । केही समयदेखि हामीले त्यस्ता माध्यमबाट प्रसारित मिथ्या सामाग्रीलाई सच्याउन, सम्पादन गर्न र आवश्यकताअनुसार अन्य कारबाही थालेका हौँ । युट्युब माध्यमलाई नियमन र कारबाही गर्न बेग्लै मापदण्ड जारी गरेका छौँ ।’

अध्यक्ष बस्नेतले सञ्चार माध्यम र सामाजिक सञ्जाललाई दुरुपयोग होइन, सदुपयोग गर्न र सञ्चार क्षेत्रको प्रवद्र्धनका लागि जुट्न आह्वान समेत गरेका छन् । पत्रकारिताको रचनात्मक प्रयोगका लागि काउन्सिलले देशब्यापी रुपमा कार्यक्रम गरिहेको उनले जानकारी दिए ।

आचारसंहिता उल्लंघन गर्ने सिधाकुरा डटकम, अर्थसञ्जाल डटकम, अनलाइनपाना डटकम, स्वास्थ्यलाइभ डटकम, वीमापोष्ट डटकम, मोटिभन्यूज डटकम, नेपालआज डटकम, दैनिकी डटकम, उकेरा डटकमलगायत ३६ वटा पोर्टल विशेष निगरानी राख्दै कारवाही थालेको छ ।

काउन्सिलले सञ्चार माध्यमका रूपमा दर्ता, सूचीकरण भएका वा नभएका सबै खालका मिडियामाथि निगरानी बढाएको हो । काउन्सिलको विज्ञप्तिमा समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको हो ।

मिडिया अन्तर्गत सूचीकृत भएका यस्ता ३ वटा माध्यमलाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाइ सम्पादन गर्न, सामग्री स्थगन गरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ । हेल्लोटिभी टिभी नेपाल फेसबुक पेज, पिएनपि मिडिया र नागरिकपत्र युट्युब च्यानल यस्तो कारबाहीमा परेका हुन् । काउन्सिलले हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेल सहितको शीर्षक दिइ भ्रमपूर्ण, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने माध्यममाथि कारबाही अघि बढाएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै मिडियासम्बन्धित नभएका तर मिडियाकै शैलीमा अश्लील सामग्री सम्प्रेषण गर्ने २८ वटा युट्युब च्यालनलाई त्यस्ता सामग्री तत्काल हटाउन तथा थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ । गत आर्थिक वर्षमा काउन्सिलले यस्ता ४३ वटा विभिन्न माध्यमलाई कारबाही गरेको छ ।

‘काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केही च्यानलबाट वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, घृणास्पद अभिव्यक्तिलाई स्थान दिइ प्रसारण गर्ने र एकपक्षीय आरोप वा भनाइलाई पुष्ट्याइँ नगरी प्रसारण गरेका पाइएको छ । त्यस्तै द्वन्द्वलाई बढावा दिने किसिमका सामग्री सम्प्रेषण गर्ने, गालीगलौजपूर्ण भाषाशैली प्रयोग गर्ने, हिंसा, त्रासलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गर्ने, तथ्यगत पुष्ट्याइँबेगर अप्राकृतिकरूपमा भ्युअर बढाउने उद्देश्यले अतिरञ्जना गरी सामग्री सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ ।

जवलाखेल पुर्याइयो रातो मत्स्येन्द्रनाथको रथ

काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्याइएको छ । लगनखेल थतिटोलबाट बिहीबार रथ तानेर जावलाखेल पुर्याइएको हो ।

सातगाउँमा सतुंगल, नैकाप, मत्स्येगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर छन् । परम्परागत बाजा, झाँकीसहित रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ ।

वैशाख २७ मा रातो मत्स्येन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो । रातो मत्स्येन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि जात्रा विधिवत् रूपमा सुरु भएको थियो ।

रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गर्ने गरिन्छ ।

यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिव १६ सय वर्षअघि सुरु भएको मत्स्येन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ पुग्यो

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी आजसम्म एक सय ४८ जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ४८ जनाको मृत्यु भएको हो ।

उनका अनुसार काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपििश्चम प्रदेशमा १४ जना गरी जम्मा एक सय ७६ जना घाइते भएका छन् ।

बाढीपहिराका कारण काठमाडौँ उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय आठ जनाको उद्धार गरिएको छ ।

साथै कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा दुई जना र कर्णाली प्रदेशमा एक जना गरी ४७ जना वेपत्ता भएका र बेपत्ताको खोजी जारी रहेको प्रवक्ता कार्कीले जानकारी दिए ।

बाढीको कारण जम्मा तीन सय ८३ घर डुबानमा परेका छन् । जसअन्तर्गत दुई सय ५५ वटा घर, ९१ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बाढीपहिरामा परी आजसम्म सात सय १५ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार एक सय १२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिउ ।

काभा भलिबलमा इरानलाई पराजित गर्दै भारतको विजयी सुरुवात

काठमाडौ । काभा महिला भलिबल नेसन्स लिग प्रतियोगिताअन्तर्गत बिहीबारको दोस्रो खेलमा भारतले इरानलाई पराजित गरेको छ । 


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको हो ।


खेलको पहिलो र दोस्रो सेट भारतले २५–२० र २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा इरानले पुनरागमन गर्दै २५–१९  ले खेल जित्यो । त्यसपछिको सेटमा इरानलाई २५–१० ले पराजित गरेपछि भारतको जित पक्का भयो ।


प्रतियोगिताअन्तर्गत आजै भएको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको थियोे ।

काठमाडौंमा विकास निर्माण तीव्र गतिमा भइरहेको बालेनको दाबी

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन साहले विकास निर्माणका काम तीव्र गतिमा भइरहेको बताएका छन् । बिहीबार महानगरअन्तर्गत रहेको वडा नम्बर ८ को नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख साहले विकास निर्माणका कार्य समयावधिमै सम्पन्न हुने बताए ।

“जसरी यहाँ भवनको मुहार फेरिएको छ, त्यसरी नै यो वडाकै मुहार फेरिनेमा विश्वस्त छु । पशुपति क्षेत्र आफैँमा सम्पदाको क्षेत्र भएकाले यहाँको घर, बाटाहरू सम्पदामैत्री हुनुपर्छ । यसले हाम्रो सम्पदाको महत्व दर्शाउनुका साथै पर्यटनमा टेवा पुर्याउँछ । यसका लागि हामीले बजेट पनि विनियोजन गरेका छौँ”, प्रमुख साहले भने ।

महानगर उपप्रमुख सुनिता डङ्गोलले भवन अभावमा सेवा प्रवाहमा भइरहेको कठिनाइ हटेको बताइन् । उनले भनिन्, “आज जसरी हर्षोल्लासका साथ नयाँ भवनको उद्घाटन भएको छ, त्यसरी नै यो भवनबाट निस्किदा सेवाग्राहीको मुहारमा उज्यालो देखियोस् । यति भएपछि मात्र यो भवनले पूर्णता पाउँछ । त्यसैले सेवाग्राहीको समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुहोला ।”

ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको वडा रहेको भन्दै यसलाई अझैँ आकर्षक बनाउन आग्रह गर्दै उनले देखिएको समस्या र रोकिएको विकास निर्माणका कार्य छिट्टै पुनःनिर्माण हुने बताइन् ।

वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले २२ वर्षपछि वडाले भवन पाएको बताए । उनले भने, “पशुपति विकास कोषमार्फत जग्गा पाएपछि धेरै सहयोगी हातका कारण हामी पुनःआफ्नै भवनमा फर्किएका छौँ । यहाँ आउने सेवाग्राहीले पहिलाभन्दा धेरै सेवा सुविधा पाउनुहुनेछ भन्नेमा विश्वस्त हुन् आग्रह गर्दछु । यस वडामा रहेका सांस्कृतिक र ऐतिहासिकस्थललाई अगाडि बढाउन कुनै कसर बाँकी राख्ने छैन ।”

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम, राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव मिलनकुमार थापा, नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठलगायत उपस्थित थिए ।

मापदण्ड पुगेका नर्सिङ कलेजलाई स्वीकृति दिन संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालनका लागि स्वीकृत दिन निर्देशन दिएको छ ।

शिक्षा मन्त्रीको उपस्थितमा समितिले बिहीबार बसेको बैठकले ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०५४’ र ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ मा आवश्यक संशोधन गर्नुपर्ने र काुननी मापदण्डा पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई आगामी शैक्षिक सत्रका लागि कक्षा सञ्चालन गर्नेगरी स्वीकृत दिन परिषद्लाई निर्देशन गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को संरचनामा सुधार गर्नुपर्ने बताइन् । उनले सिटिभिटी कार्य सम्पादनविरुद्ध धेरै विद्यार्थीको उजुरी आएको बताउँदै यसलाई सधार्नु अनिवार्य रहेको सुनाइन् ।

समितिका सभापति अम्बरबहादुर थापाले मापदण्ड पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई अवरोध गर्दा विद्यार्थीहरूले पढ्न पाउने अधिकार सङ्कुचित भएकाले यस्तो निर्णय गरिएको बताए ।

“हामीले विद्यार्थीलाई पढ्ने अवसरबाट वञ्चित गर्नुहुँदैन”, उनले भने, “कानुन बमोजिम प्रक्रिया पूरा गरेका संस्थाहरूले तुरुन्तै कक्षा सञ्चालन गर्न पाउनुपर्छ ।”

लामो समयदेखि नर्सिङ कलेज सञ्चालन गर्न कानुनी र व्यावहारिक जटिलताले सास्ती खेपेको भन्दै समितिमा शैक्षिक संस्थाहरूबाट निवेदन परेको थियो ।

बैठकमा नर्सिङ कलेज सञ्चालन गर्नबाट वञ्चित भएका संस्थाहरू, सिटिइभिटी, चिकित्सा शिक्षा आयोग र समितिका सांसदबीच समस्यामाथि छलफल भएको थियो ।

निवेदक शिक्षण संस्थाले कानुनी मापदण्ड पूरा गर्दा पनि नर्सिङ कक्षा सञ्चालन गर्न परिषद्बाट स्वीकृत नपाएको गुनासो पोखेका थिए । परिषद्ले भने आयोगले स्वीकृत दिन रोक लगाएको आरोप लगाएको थियो । आयोगले परिषद्मा कानुन बमोजिमा कार्य नभएको बाउँदै आएको छ ।

‘सतीदेवी’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा छोरी हुनुको पीडालाई देखाइएको छ। फिल्ममा अभिनेत्री मलिका महत मुख्य भूमिकामा छिन्। सामाजिक कथामा आधारित फिल्ममा छोरीको महत्वलाई बुझाउन खोजिएको छ ।

फिल्ममा अन्य कलाकार हर्षिका वाली, मन्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोला सापकोटा, सिर्जना अधिकारी, सुजिता शिवाकोटी लगायतका कलाकारको अभिनय छ ।

आगामी साउन ४ गते प्रदर्शन हुने फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुवेदी हुन् । फिल्ममा श्रीदेवी सुवेदी र विशाल सुवेदीले लगानी गरेका छन् । बाबु श्रेष्ठको छायाँकन र तारा थापा ‘किम्भे’को सम्पादनमा बनेको फिल्ममा दीपक शर्मा र सुभाष भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ।

सात महिनामा भित्रिए ६ लाख ४७ हजार विदेशी पर्यटक

काठमाडौँ ।  सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म ६ लाख ४७ हजार छ सय १५ विदेशी पर्यटक नेपाल आएका छन् । जबकी गतवर्षको सोही अवधिमा पाँच लाख ३४ हजार दुई सय सात पर्यटक नेपाल आएका थिए । 


यसवर्षको जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एकसय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७६ हजार सात सय ३६ र जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटनले नेपाल भ्रमण गरेका छन् ।


जुलाईमा झण्डै १२ प्रतिशतले बढे पर्यटक 


सन् २०२४ को जुलाईमा विदेशी पर्यटक आगमन झण्डै १२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार गतवर्षको जुलाईको तुलनामा यसवर्षको सोही अवधिमा ११ दशमलव नौ प्रतिशतले विदेशी पर्यटक बढेका हुन् । 


यसवर्षको जुलाईमा ६४ हजार पाँच सय ९९ विदेशी पर्यटक आगामन भएकामा गतवर्षको सोही अवधिमा यो संख्या ७५ हजार सातसय २६ थियो । बोर्डका अनुसार सन् २०२२ को जुलाईमा ४४ हजार चार सय ६२, सन् २०२१ मा तीन हजार ६३, सन् २०२० मा एक सय ९६ पर्यटक नेपाल आएका थिए ।


कोरोना महामारी सुरु हुनुभन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१९ को जुलाईमा ७० हजार नौ सय १६ विदेशी पर्यटकका नेपाल आगमन भएको थियो । 


जुलाईमा सबैभन्दा बढी भारतबाट २१ हजार चार सय ९१, अमेरिकाबाट सात हजार आठ सय ६४, चीनबाट ६ हजार आठ सय १९, वेलायतबाट तीन हजार आठ सय छ र बंगलादेशबाट तीन हजार चार सय ७० विदेशी पर्यटक नेपाल आएका छन् ।

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

काठमाडौँ । । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीले प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई प्रदेश प्रमुख पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले बुधबार उनीहरूलाई प्रदेश प्रमुख पदमा नियुक्त गरेका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए ।

इजरायली सेनाको कारबाहीमा हमासका सैन्य प्रमुखको पनि मृत्यु

बीबीसी । इरानको राजधानी तेहरानमा इजरायलले गरेको एउटा क्षेप्यास्त्र आक्रमणमा परेर हमासका शीर्ष नेता इस्माइल हानियाको मृत्यु भएको भोलिपल्ट इजरायली सेनाले हमासका सैन्य विभाग प्रमुख मोहम्मद डेफको जुलाई १३ मा गाजा स्ट्रिपमा गरिएको कारबाहीमा मृत्यु भएको घोषणा गरेको छ ।

उनको पूरा नाम मोहम्मद दैयब अल–मसरी हो । उनले आफ्नो नाम अबु खालिद पनि राखेका थिए भने उनको बोलाउने नाम अल डेफ हो । इजरायली सेनाले जुलाई १३ मा गाजा स्ट्रिपको खान यूनिसमा गरिएको एउटा हवाई आक्रमणमा डेफको मृत्यु भएको जनाएको छ।

इरानमा इजरायलले गरेको भनिएको आक्रमणमा हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियाको मृत्यु भएको भोलपल्ट इजरायली सेनाले डेफको मृत्यु भइसकेको घोषणा गरेको हो । यसअघि अमेरिकाले पनि डेफको मृत्यु भइसकेको बताएको थियो । यद्यपि हमासले उनको अवस्थाबारे केही बताएको छैन ।

सन् १९६५ मा गाजामा जन्मिएका उनले हमासको सैन्य सङ्गठन इज्ज अल–दिन अल–कसम ब्रिगेडको नेतृत्व गर्छन् । प्यालेस्टिनीहरू उनलाई ‘योजनाकार’ का रूपमा र इजरायलीहरू उनलाई ‘द क्याट विथ नाइन लाइभ्स’ भनेर चिन्छन् ।

उनले गाजाको इस्लामिक विश्वविद्यालयबाट जीवविज्ञानमा स्नातक गरेका छन्। नाटक र अभिनयमा रुचि भएका उनले सुरुमा कलाकारहरूको एउटा समूह गठन गरेका थिए । त्यहीँबाट हमासको स्थापना घोषणा भयो। उनले कुनै आनाकानीबिनै यो समूहमा सहभागी हुने निर्णय लिए ।

उनलाई सन् १९८९ मा इजरायलले पक्राउ गरेको थियो। हमासको सेनाका लागि काम गरेको आरोपमा १६ महिना जेलमा बिताएका उनी पछि रिहा भए । उनी जेलमा रहेका समयमा इजरायली सैनिकहरूलाई समाउने हमासभन्दा भिन्न अभियान सुरु गर्ने प्रतिबद्धता जनाएका थिए।

तदनुरूप उनले अल–कसम ब्रिगेड गठन गरे । उनी रिहा भएपछि इज्ज अल–दिन अल–कसम ब्रिगेड गठन भयो र संस्थापकका रूपमा अरू नेताहरूसँगै डेफ पनि देखिए । डेफले हमास विद्रोहीहरूका लागि सुरुङहरू बनाउने कामको परिकल्पना गरे। ती सुरुङबाट उनीहरूले गाजाबाट इजरायल प्रवेश गर्ने बाटो बनाएका थिए ।

काभा महिला भलिबलमा नेपालको विजयी शुरुवात

काठमाडौं । काभा महिला भलिबल लिगमा नेपालले विजयी शुरुवात गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले जित्यो । जीतसँगै नेपालले ३ अङ्क जोडेको छ । आजको खेलमा नेपालका सुमित्रा रेग्मी र आरती सुवेदीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् ।

आजै अर्काे खेलमा बेलुकी सवा ६ बजे इरान र भारत खेल्दैछन् । अब नेपालले दोस्रो खेलमा भोलि भारतसँग, तेस्रो खेलमा २ गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमबार इरानसँग खेल्ने तालिका छ । लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ ।

लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते बुधवार हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।

सुन्तलामा कत्लेकीराको प्रकोप बढेसँगै कास्कीका किसान चिन्तित

 गण्डकी । कत्लेकीराका प्रकोपबाट रोग उत्पन्न भई सुन्तलाको बगैँचा कालम्मे भई फल्न छोडेपछि कास्कीका किसान चिन्तित छन् ।

‘सिक्टर ग्रिनिङ रोग’का कारण करिब डेढ दशकयता सखापोउन्मुख अवस्थामा रहेको कास्कीको सुन्तलामा पछिल्लो समय कत्लेरोगको प्रकोप बढेको देखिन्छ । स्थानीय कृस्ती नाच्नेचौरका सुन्तलाका बगान यतिखेर कत्लेकीराको प्रकोपबाट कालम्मे भई कुरूप देखिएको छ ।

पोखरा महानगरपालिका–२१ काफलबोटेस्थित सुन्तलाको बगैँचामा पहिलोपटक देखिएको कत्लेकीराको प्रकोप यतिखेर आसपासको क्षेत्रमा पनि फैलिँदै उत्पादन घट्न थालेपछि चिन्तित हुनुपरेको स्थानीय सुन्तला कृषक नारायण सुवेदी बताउछन् ।

सुन्तला कृषक सुवेदीले भने, ‘विगतमा एकाध बोटमा ध्वाँसे रोग देखिए पनि खासै असर गर्दैनथ्यो तर यसपटक भने एकाएक सुन्तला बगैँचा नै कालम्मे भई बोटबिरुवा बढ्नेक्रम रोकिएको छ । अब के फल लाग्ला अनि कति खान र बेच्न पाइएला ?’

सुन्तला बिक्रीबाट परिवार पाली बर्सेनि केही रकम जोहो गर्दै आएका कास्कीको काफलबोटे र कृस्ती नाच्नेचौरसहित आसपालका किसानलाई ध्वाँसे रोगको प्रकोपबाट गाउँठाउँ छोड्नपर्ने अवस्था सिर्जना भएको स्थानीय किसान बताउँछन् ।

अघिल्लो वर्ष फूल खेल्ने समयमा आएको असिनाले चाख्ने सुन्तला पनि थिएन बोटसमेत मर्छ किजस्तो लागेको थियो कृषि कर्ममा संलग्न सुवेदीले भने, ‘बोट पलाएर आयो तर यस वर्ष फल पनि राम्रो लागेको थियो नसोचेको रोगले बगैँचा नै सखाप पार्‍यो । मौसम राम्रो हुँदा रु आठदेखि १० लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी हुन्थ्यो, अब सबै खत्तम हुने भयो ।’

पोखरा महानगरपालिकाका लेखा अधिकृतको भूमिकामा रहनुभएका कृषक सुवेदीले भने, ‘बगैँचा पूरै कालै देखिएपछि महानगर कृषि महाशाखाबाट प्राविधिकसहितको टोलीले गरेको अनुगमनका आधारमा दिइएको सल्लाहअनुसार एक हप्ताअघि ‘रोवर’ र ‘फोसिल’ नामक औषधिलाई पानीमा मिसाएर सुन्तलाको प्रत्येक बोटमा राखिएको छ ।’

उनले यस वर्ष पनि बगैँचाको खाली रहेको स्थानमा ६७ वटा सुन्तलाका नयाँ बिरुवा लगाएका छन् । उक्त नयाँ बिरुवामा पनि रोगको प्रकोप देखिएको छ । बगैँचामा औषधिको प्रभाव देखिएको छैन । काफलबोटेस्थित करिब दुई सय ५० रोपनी क्षेत्रफल भएको सुन्तला बगैँचामा देखिएको सो रोग अहिले अन्य स्थानमा पनि पैmलिएको स्थानीय किसान विष्णुप्रसाद सुवेदी र नवराज सुवेदी बताउँछन् ।

छिमेकको सुन्तला बगैँचामा ध्वाँसे रोग देखिएपछि तीन दिनसम्म लगाएर उपचारमा खटिएको बताउँदै उनीहरुले भने, ‘केही दिनपछि त हामीहरूको बगैँचा पनि कालै देखिन थाल्यो, एक हप्ताअघि राखिएको औषधिको प्रभाव देखिएको छैन, ध्वाँसे रोगको समस्याले किसानलाई सताएको अवस्था छ ।’

कीराले सुन्तलाका पात, डाँठ, मुना र फलबाट रस चुस्ने गर्दछन्, जसका कारण बिरुवा बढ्न सक्दैनन् । साना बिरुवामा यस्ता कीराले धेरै क्षति पुर्‍याउँछन् ।

नरम शरीर भएका कत्लेकीराले आफ्नो शरीरबाट महजस्तो गुलियो पदार्थ निकाल्ने हुँदा रोगको प्रकोप बढ्ने गरेको महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । उनका अनुसार कत्लेकीराले निकालेको गुलियो पदार्थमा कालोढुसीको अत्यधिक वृद्धि भई सुन्तलाको पात, डाँठ र फलमा समेत ध्वाँसोजस्तो पदार्थले ढाक्ने गर्दछ । ध्वाँसोले प्रकाश लिने कार्यमा अवरोध उत्पन्न गरी बिरुवाको खाना बन्ने प्रक्रियामा अवरोध पुर्‍याउने गर्दछ ।

कत्लेकीराको शरीरको रङ सुन्तलाको बोटको पात तथा बोक्रासँग मिल्दोजुल्दो हुने हुँदा सजिलै चिन्न नसकिने बताउँदै उनले भने, ‘मसिना, गोला तथा चेप्टा राता खैरा रङका कत्लेकीराहरु मैनको ढकनीले ढाकिएर रहने र बोटको हाँगा, मुना, फल सबै भागबाट रस चुसी नोक्सान पुर्‍याउने उद्यत हुन्छन् ।’

पोखरा महानगरपालिकाले सुन्तला पकेट क्षेत्रका रुपमा विस्तार गरी किसानलाई आवश्यक सहयोगसहित वार्षिक रुपमा अनुदान प्रदान गर्दै आएको सो क्षेत्रमा देखिएको कत्लेकीराको प्रकोप बढेसँगै किसान चिन्तित देखिएका छन् । यसरी ध्वाँसे रोगबाट किसान चिन्तित भएको जानकारी पाउनासाथ नियन्त्रण तथा उन्मूलनका पक्षमा काम गरिरहेको महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

पोखरा महानगरपालिका-२१ को कृस्ती, फेदीपाटन, मास्पाटन, वहेली, रामदीलगाय क्षेत्रमा सुन्तलाको उत्पादन राम्रै हुने गरे पनि बेलाबेलामा देखिने रोगजन्य कीराको प्रकोपका साथै फुल्ने तथा कोपिला लाग्ने र फल बिक्री गर्ने समयमा आउने असिनाजस्तो प्राकृतिक प्रकोपले गम्भीर समस्या निम्त्याउने गरेको स्थानीय सुन्तला किसान बताउँछन् ।

‘सिक्टर ग्रिनिङ भाइरस’बाट बचेका सुन्तलामा असिनालगायत प्राकृतिक प्रकोप तथा जङ्गली जनावरको आतङ्क झेल्दै आएका किसानले यस वर्ष पहिलोपटक कत्लेकीराको प्रकोप ब्यहोर्नु परेको छ ।

पोखरा महानगरले सुन्तला पकेट क्षेत्रमा पाँच वर्षदेखि बोट सङ्ख्याका आधारमा सुन्तला किसानलाई अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । पोखरा महानगरपालिकाले सुन्तलाखेतीको प्रवद्र्धनका लागि आव २०८९/८१ मा रु २५ लाख अनुदान सहयोग उपलब्ध गराएको थियो ।

एमालेका सातै प्रदेशमा इन्चार्जको जिम्मेवारी हेरफेर, बराल उपाध्यक्षमा मनोनित

काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले इन्चार्ज तोकेको हो । बैठकले कोसी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराई, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको हो ।

यसअघि कोसीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । त्यस्तै बैठकले उपाध्यक्ष पदमा गुरु बराललाई मनोनयन गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपश्चात् उक्त पद रिक्त थियो । योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । त्यस्तै, स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई मनोनयन गरिएको छ । सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा समेत मनोनयन गरिएको महासचिव पोखरेलले जानकारी दिए ।

१७ जना केन्द्रीय सदस्यमा मनोनीत

महासचिव पोखरेलले बैठकले पार्टी प्रवेश, महिला र विभिन्न जनवर्गीय सङ्गठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिए । उनकाअनुसार सुवास कर्माचार्य ( सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) रहेका छन् । 


यस्तै,  केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल–किसान महासङ्घ, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहेका छन्  ।

आन्तरिक रोजगारी सिर्जनामा विश्व बैंकले सघाउने

काठमाडौँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् ।


श्रम मन्त्रालयमा बिहीबार विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गरेको भेटमा उनले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराए । 


भेटमा श्रममन्त्री भण्डारीले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण, विकास साझेदारलगायतसँगको सहकार्य तथा प्राविधिक सहयोगमा ‘जब हब’का रुपमा विकास गरिने बताए ।


निर्देशक सिस्लेनले आन्तरिक रोजगारी सिर्जनामा ‘देशीय साझेदारी कार्यक्रम’मार्फत सहयोग गर्न विश्व बैंक सदैव तयार रहेको बताए ।


त्यसक्रममा उनीहरुबीच आन्तरिक रोजगारी वृद्धि र रोजगार सेवा केन्द्रको दीगोपना तथा सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

दक्षिण कोरियामा सामसुङका कर्मचारी पुनः आन्दोलित

सामसुङ इलेक्ट्रोनिक्सका दक्षिण कोरियाली युनियनका नेता तथा सदस्यले बिहीबार तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै विरोध प्रदर्शन गरेका छन् । नयाँ वार्ता असफल भएपछि उनीहरूले कम्पनी अध्यक्ष र उत्तराधिकारीको घरमा घेराउ गरेका हुन् ।

युनियनले जुलाईमा पनि तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै हडताल गरेका थिए । उक्त समूहले सोही आन्दोलनलाई स्वरूप बदलेर ‘अनिश्चितकालका लागि’ विस्तार गरेको थियो ।

आन्दोलित कामदारहरूले यस हप्ताको सुरुमा उत्पादन मेसिन अवरूद्ध गरेपनि दोस्रो त्रैमासिकमा नाफामा भएकाले सेमिकन्डक्टर प्रशोधनमा ढिलाइ भए पनि प्रभाव तत्काल नहुने सनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) का उपाध्यक्ष ली ह्युन–कुकले बताए ।

युनियनले बुधबार व्यवस्थापनसँग अन्तिम वार्ता गरेको तर सहमतिमा पुग्न नसकेपछि आन्दोलनको घोषणा गरेको थियो ।

सामसुङ इलेक्ट्रोनिक्सको हडतालका लागि ली जे योङ जिम्मेवार हुनुपर्छ भन्ने पोष्टर बोकेका युनियनका अधिकारीहरू बिहीबार सामसुङका अध्यक्ष ली जे योङको घर बाहिर भेला भई प्रदर्शन गरेका थिए ।

युनियनले कम्पनीले हडतालमा सहभागीको ‘कालोसूची’ सिर्जना गर्नेसहित अवैध माध्यमबाट हडताल तोड्न खोजिरहेको युनियनका प्रमुख सोन वु मोकले बताए ।

यसैबीच सामसुङले बुधबार श्रमिक युनियन हडताल चाँडै समाप्त भएको सुनिश्चित गर्न सञ्चार र छलफल गरिरहेको र ग्राहकको प्रतिक्रिया दिन कुनै समस्या नभएको जनाएको छ ।

आन्दोलनरत नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनमा कम्पनीको एक चौथाई अर्थात् करिब ३६ हजार सदस्य रहेका दावी गरिएको छ । कम्पनीमा श्रम सङ्गठन गर्न वर्जित गरिएको छ ।

दुई वर्षअघि युनियनले लीको निवास अगाडि प्रदर्शन गरी तीनवटा थप बिदाहरू थप्न सफल भएको थियो ।

भारतका पूर्व ‘ब्याट्सम्यान’ तथा प्रशिक्षक गायकवाडको निधन

भारतका पूर्व ‘ब्याट्सम्यान’ तथा दुई पटक राष्ट्रिय प्रशिक्षक बनेका अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याका गायकवाडको बुधबार पश्चिमी शहर बरोडामा विविधस्वास्थ्य समस्याका कारण निधन भएको थियो ।

राष्ट्रिय टोलीको चयनकर्ता र प्रशिक्षक बन्नुअघि उनले भारतका लागि ४० टेस्ट र १५ एकदिवसीय खेल खेलेका थिए ।

गायकवाडले सन् १९८२ र सन् १९८३ को शृंखलामा पाकिस्तानविरुद्ध ७० टेस्ट इनिङ्समा एक हजार ९८५ रन बनाएका थिए ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाहले पूर्व क्रिकेटर गायकवाडको मृत्युको पुष्टि गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अंशुमान गायकवाडको परिवार र साथीहरूप्रति मेरो गहिरो समवेदना छ । यो सम्पूर्ण क्रिकेट जगतका लागि हृदयविदारक घटना हो ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि क्रिकेटर गायकवाडको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘उहाँ एक प्रतिभाशाली खेलाडी र उत्कृष्ट प्रशिक्षक हुनुहुन्थ्यो । उहाँको निधनले हामीलाई मर्माहत बनाएकोे छ । उहाँको परिवार र प्रशंसकहरूप्रति समवेदना व्यक्त गर्दछु ।’

तत्कालिन समयमा हेल्मेटको प्रयोगबिना र बाउन्सरमा प्रतिबन्ध नहुँदासमेत गायकवाड वेस्ट इन्डिजका तीव्र गतिका बलरहरूको निडरतापूर्वक सामना गर्ने खेलाडीका रूपमा परिचित थिए ।

माइकल होल्डिङको बाउन्सरले कानमा लागेपछि उहाँको कानको शल्यक्रिया गरिएको थियो ।

बङ्गलादेशमा आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेता रिहा

बङ्गलादेशमा निजामती सेवामा जागिरको अराक्षण प्रणालीको विरोधमा भएको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेतालाई प्रहरीले बिहीबार रिहा गरेको छ ।

देशव्यापी आन्दोलनका कारण गत महिना प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा खराब समय बन्न पुगेको थियो ।

विद्यार्थीले गत महिना देशव्यापी र्याली निकालेका थिए, जसमा प्रहरीको दमन र कम्तीमा २०६ जनाको मृत्यु भएको थियो ।

डेपुटी कमिस्नर जुनैद आलम सरकारले भने, “आरक्षण प्रणालीविरूद्धको आन्दोलनका सबै छ जना संयोजकलाई आज दिउँसो उनीहरूको परिवारको जिम्मा लगाइएको छ ।

नाहिदका पिता बदरुल इस्लामले एएफपीसँग कुरा गर्दै छोरा बिहीबार दिउँसो घर फर्केको पुष्टि गर्नुभयो तर उहाँबारे थप विवरण भने दिन अस्वीकार गरे ।

प्रमुख नेता नाहिद इस्लाम र अन्य दुई जनालाई गत शुक्रबार राजधानी ढाकाको एक अस्पतालबाट सादा पोसाकका गुप्तचरहरूले जबर्जस्ती डिस्चार्ज गरी अज्ञात स्थानमा लगेका थिए ।

त्यसपछिका दिनहरूमा अन्य तीन जनालाई हिरासतमा लिइएको थियो र सरकारले उनीहरूलाई आफ्नो सुरक्षाको लागि हिरासतमा राखिएको बताएको थियो ।

न्यायमन्त्री अनिसुल हकले ६ जनाले स्वेच्छाले प्रहरी हिरासतमा बस्न चाहेको बताए । उनले भने, “उहाँहरू स्वेच्छाले आउनुभएको थियो । उहाँहरू स्वयंले आफू जान चाहेको बताएपछि उनीहरूलाई घर फर्कन अनुमति दिइएको छ ।”

आन्दोलन चर्किएपछि हसिना सरकारले सेना तैनाथ गरेर कर्फ्यु लगाएको थियो । कुल १७ करोड जनसङ्ख्या भएको देशभरि ११ दिनसम्म मोबाइल इन्टरनेट नेटवर्क बन्द गरिएको थियो भने अदालतले आरक्षण प्रणालीबारे अर्को महिना गर्नेे तयारी गरेको फैसला केही दिन पहिले गरेको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अशान्तिका कारण १० हजारभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ ।

स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका अन्य सदस्यहरूले प्रदर्शनमा रोक लगाएपछि यसै हप्ता बङ्गलादेशका वरिपरिका शहरहरूमा साना र छरिएका विरोध प्रदर्शनहरू फेरि सुरु भएका छन् ।

सरकारले आफ्ना नेतालाई रिहा गर्न सोमबार दिएको समयसीमा लाई वेवास्ता गरेपछि उनीहरुले आफ्नो अभियान पुनः सुरु गर्ने प्रतिबद्धता जनाएका थिए । विद्यार्थी नेताको रिहाइपछि अब आन्दोलन जारी रहन्छ वा स्थगित गरिनेछ यसबारे विद्यार्थी समूहबीच छलफल हुन बाँकी नै छ ।

“उनीहरूलाई हिरासतमा राख्नु स्वेच्छाचारी र गैरकानुनी थियो”, ओस्लो विश्वविद्यालयका अनुसन्धाता मुबशर हसनले भने,“राष्ट्रिय र अन्तर्राष्ट्रिय आलोचना बढिरहेको छ ।”

उनले नेताहरूको रिहाइले सरकार आन्दोलनसँग ‘तनाव कम गर्न’ खोजिरहेको सङ्केत गरेको बताए ।

गत महिना सबै सरकारी जागिरको आधाभन्दा बढी हिस्सा निश्चित समूहका लागि आरक्षित गर्ने कोटा योजनाको पुनः लागू गरिएको विरोधमा प्रदर्शनहरू भएका थिए ।

सरकारी आँकडाअनुसार करिब एक करोड ८० लाख युवा बङ्गलादेशीहरू बेरोजगार रहेका समय सरकारले लिएको आरक्षणसम्बन्धी यो कदमले गम्भीर रोजगारी सङ्कटको सामना गरिरहेका स्नातकहरूलाई गम्भीर दुःखी बनाएको छ ।

आलोचकहरूले यो आरक्षण सत्तारुढ अवामी लिगका वफादारहरूलाई सार्वजनिक जागिरमा भर्ना गर्न प्रयोग गरिएको छ ।

नेप्से पाँच अंकले घट्दा २१ अर्ब ७१ करोडको कारोबार

काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार सात सय ५५ दशमलव ६२ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव २९ अङ्कले ओरालो लागेर चार सय ९२ दशमलव ७५ मा सीमित भएको छ ।

कूल पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता शेयर  २१ अर्ब ७१ करोड ३४ लाख ३१  हजार सात मूल्यमा कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य ओरालो लागेको छभने छ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

नेप्सेका अनुसार पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा एचआइडिसिएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटी होटल र कुर्थली बुखारी स्मल हाइड्रोपावर छन् ।

यस्तै, पिपल्स हाइड्रोपावर नौ दशमलव १३, प्रभु बैङ्कको ऋणपत्र आठ दशमलव ६५, रसुवागढी हाइड्रोपावर सात दशमलव शून्य नौ, अप्पर सोलु हाइड्रोपावर छ दशमलव ७० र मन्दकानिकी हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।

कसैप्रति रिस उठ्यो भन्दैमा मुद्दा चलाइदिने भन्ने हुँदैनः गृहमन्त्री लेखक

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्वमध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् । बिहीबार संसदको विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा गृहमन्त्री लेखकले  लोकतन्त्रमा कानुन बेगर मुद्दा चल्न नसक्ने बताएका हुन् । 


‘फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुनबमोजिम चल्छ भन्ने मेरो आग्रह छ,’ उनले भने, ‘कुनै मुद्दा चलेको छ भने छट्नु पनि कानुनबमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो ।’


सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाइ थियो । ‘यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने, “समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।’


त्यसैगरी, प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उनले बताए । ‘कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिलेकाहीँ सामान्यतया अवधि तोकेको हुन्छ तर कहिलेकाहीँ अवधिभन्दा पहिले पनि हुन्छ,’ मन्त्री लेखकले भने, ‘जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नुभएको छ किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि, प्रहरी राम्रो बनाउनु पर्यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?’


उनले यो प्रक्रियालाई सामान्य रुपमा लिन आग्रहसमेत गरे ।

नेपाली कम्युनिष्टलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताएका छन् ।

बिहीबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली, ईमान्दार र स्वप्नशील नेता भएको बताएका हुन् ।

उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै भने, ‘पुष्पलाल हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र संकटहरू समाधान हुनसक्छन् भन्ने ठान्नु आफैंमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक मार्ग प्रशस्त गर्यों । यसका लागि पुष्पलालको ठूलो योगदान छ भन्ने मलाई लाग्छ ।’

राष्ट्रपति पौडेलले नेता मदन भण्डारीले पुष्पलालको कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरणको त्यही सुत्र समातेको बताए । राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण र समाजका अन्तरबिरोधहरूलाई सुविचारित ढंगले अभिलेखन गर्न पनि योगदान गरेको बताए ।

उनले पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गरे । राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायतइतरका शक्तिहरू मिलेर संघर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र बाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनःस्थापना संभव भएको उल्लेख गरे ।

उनले अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताए । उनले नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको स्पष्ट पारे ।

मध्यपूर्वका सबै पक्षलाई उत्तेजक कार्य रोक्न अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह

मध्यपूर्वका ‘सबै पक्ष’लाई गाजामा ‘बढ्दो गतिविधि’ रोक्न र युद्धविराम गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आग्रह गरेका छन् ।

इरानले इजरायलमाथि आरोप लगाएको तेहरानमा भएको आक्रमणमा हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको मृत्यु भएपछि अमेरिकी कुटनीतिज्ञको यो भनाइ आएको हो ।

इजरायलले लेबनानको राजधानी बेरुतमा गरेको जवाफी कारबाहीमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको बताएको केही घण्टापछि इस्माइल हनियाको मृत्यु भएको थियो ।

सिरिया, लेबनान, इराक र यमनमा इरान समर्थित लडाकू समूहमा जारी द्वन्द्व र गाजामा जारी युद्धका कारण क्षेत्रीय तनाव चर्किरहेका बेला यी हत्याहरू भएका हुन् ।

इजरायलले तेहरानको आक्रमणबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

मङ्गोलियाको राजधानीमा बोल्दै उच्च अमेरिकी कूटनीतिज्ञ ब्लिन्केनले मध्यपूर्व द्वन्द्व, हिंसा, पीडा र थप असुरक्षाको दिशामा अघि बढिरहेको बताएका हुन् ।

ब्लिन्केनले मङ्गोलियन समकक्षीसहित गरेको पत्रकार सम्मेलनमा हिंसाको अन्त्य युद्धविरामबाट सुरु हुन्छ र हामीले यसका लागि काम गरिरहेका छौँ ।

उनले भने, “युद्धविराम र शान्तिका लागिसबैभन्दा पहिले सबै पक्षसँग कुरा गर्न, कुनै पनि आक्रामक कदम चाल्न बन्द गर्न र द्वन्द्वरत पक्ष सहमतिमा आउने कारणहरू खोज्न आवश्यक छ ।”

बुधबार सिङ्गापुरमा ब्लिन्केनले प्यालेस्टिनी इस्लामिक आन्दोलनका नेताको मृत्युबारे प्रत्यक्ष रूपमा टिप्पणी गरेका थिएनन् ।

इजिप्ट र कतारसँग मिलेर संयुक्त राज्य अमेरिकाले नेतृत्व गरिरहेको गाजामा सम्भावित युद्धविराममा हनियाको हत्याले पार्ने प्रभावबारे कुनै टिप्पणी गर्न उनले अस्वीकार गरे ।

चितवनमा लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व संकलन

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ ।

कार्यालयलाई विभागले  २७ अर्ब ९९ करोड ८७ लाख लक्ष्य तोकेकामा २६ प्रतिशत कम अर्थात २० अर्ब ५६ करोड ७२ लाख २२ हजार मात्र राजस्व सङ्कलन भएको हो ।

कार्यालय प्रमुख निरन भट्टराईका अनुसार विगतका वर्षमा सोही अनुपातमा राजस्व सङ्कलन हुने गरेको थियो । विभागले लक्ष्य बढाउने तर राजस्व सङ्कलनको दर उही रहँदा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको उनले बताए ।

उनका अनुसार गत आवमा आयकर तर्फ लक्ष्यको ८८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । आयकरका लागि विभागले दुई अर्ब ९६ करोड ३८ लाख लक्ष्य तोकेको थियो ।

कार्यालयले दुई अर्ब ६३ करोड १६ लाख राजस्व सङ्कलन गरेको छ । यस्तै मूल्य अभिवृद्धि कर तर्फ लक्ष्यको ८४ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

विभागले  दुई अर्ब ३३ करोड ७२ लाख लक्ष्य तोकेकामा एक अर्ब ९५ करोड २२ लाख सङ्कलन भएको प्रमुख भट्टराईले जानकारी दिए ।

कार्यालयका अनुसार अन्तः शुल्कमा लक्ष्यको ६९ प्रतिशत राजस्व सङ्कलन भएको छ । विभागले २२ अर्ब ३४ करोड ४१ लाख लक्ष्य तोकेकामा कार्यालयले १५ अर्ब ९८ करोड ८२ लाख सङ्कलन गरेको हो ।

बहाल कर तर्फ ६६ प्रतिशत प्रगति भएको छ । ६० करोड पाँच लाख लक्ष्य दिइएकोमा ४० करोड ३४ लाख राजस्व सङ्कलन भएको भट्टराईले बताए ।

प्रमुख भट्टराईका अनुसार आर्थिक मन्दिका कारण अन्तः शुल्कमा वृद्धि हुन नसक्दा लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो । उनले भने, “लक्ष्य तोकिए पनि विगत तीन वर्षदेखि सङ्कलनको दर उस्तै हुँदा लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो ।”

बजारमा पैसा नआउनु र जनताको क्रय शक्तिसमेत कम हुनुले राजस्व वृद्धि नभएको उनको भनाइ छ । देशमा रोजगारीका अवसर सिर्जना हुन नसक्नु र युवाशक्ति विदेश पलायन हुनु राजस्व वृद्धि हुन नसक्नुको कारण हुनसक्ने उनको अनुमान छ ।

उनले भने, “घर जग्गा कारोबार कम हुँदा पनि राजस्व सङ्कलनमा कमी आएको हो ।” कार्यालयमा गत आगमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने एक लाख ४६ हजार र व्यावसायिक लेखा नम्बर लिने ५७ हजार नौ सय १९ जना रहेका छन् ।

दाङमा एक वर्षमा विपद्का कारण ५२ जनाको मृत्यु

देउखुरी (दाङ) । दाङमा आर्थिक वर्ष २०८०/८१ मा विपद्मा परी ५२ जनाको मृत्यु भएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार एक वर्ष अवधिमा पानीमा डुबेर सबैभन्दा धेरैको ज्यान गएको छ ।

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङका शाखा प्रमुख शम्भु आचार्यका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा पानीमा डुबेर २५, बाढीका कारण १६, सर्पदशंले आठ, करेन्ट लागेर छ, आगलागीमा परेर पाँच, चट्याङ लागेर तीन र हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ ।

दाङमा गत तीन आवमा मनसुनजन्य विपद्बाट एक हजार चार सय ३४ घर प्रभावित भएका छन् । आव २०८०÷८१ मा दुई सय ८८ घरधुरी प्रभावित भएका छन् ।

जसमा हावाहुरी, भारी वर्षा, चट्याङ, आगलागी, सर्पदंश जस्ता विपद्बाट दुई सय ८८ र बाढीबाट २५ घरधुरी प्रभावित भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

आव २०७९/८० मा जिल्लामा दुई हजार नौ सय ५७ घर मनसुनजन्य विपत्बाट प्रभावित भएका थिए । बाढी, आगलागी, हावाहुरी, चट्याङ, सर्पदंशलगायतका नौ सय २१ घटना घटेको थियो ।

गत वैशाखदेखि अहिले सम्म बाढीले दुई हजार पाँच सय सात घरपरिवार प्रभावित भएका छन् । वैशाखयता दाङमा पाँच जनालाई बाढीले बगाएको छ ।

बाढीकै कारण तुलसीपुर उपमहानगरपालिकाको गोठीखोलाका तारा गुरुङ, सोही पालिकाको मटेराकी सम्झना चौधरीको बबई नदीमा डुबेर मृत्यु भएको छ ।

राजपुर गाउँपालिकाको खरदरियाका राजकुमार यादव, लमही नगरपालिका– ८ नयाँ बस्तीका मनिराम चौधरी तथा राजपुर गाउँपालिकाको सालभौडीका छेदुराम चौधरीको नदीमा डुबेर मृत्यु भएको हो ।

तीन महिना अवधिमा एक सय ७४ वटा घर, चार गोठ, छ उद्योग तथा पसलमा क्षति भएको छ । बाढीले एक सय ६० मौरीका घार पनि बगाएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

बाढीमा डुबेर गत वैशाखयता ३६ चौपाया र चार सय पाँच कुखुरा मरेको र एउटा सवारी साधन बगाएको छ । हालसम्म मनसुनी गतिविधि सक्रिय रहेकाले बाढीको उच्च जोखिम क्षेत्र पहिचान गरी विपद् न्यूनीकरणका लागि विपद् प्रतिकार्यको काम भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।

उनका अनुसार राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका सबै वडा, राप्ती गाउँपालिका–१, २, ३, ६, ७, लमही नगरपालिका–२, ४, ५, ६, ७, ८ र ९ मा मनसुनी विपद्को दृष्टिकोणले जोखिम पहिचान गरी काम भइरहेको छ । जिल्लाको बालिम, सिस्ने, कटुवा, सेवार, गुर्जे, पत्रे, सक्राम, चौवा, ग्वार, काला, पातु, गहते, भमके, बागर, बौलाहा, चिसापानी, च्यान्टी, उपल्लो र तल्लो ट्वाङ, सुसाउने, तुई, कलम, घट्टे, मलैलगायत खोलाका कारण मुनसुनजन्य विपतबाट क्षति हुने गरेको उनले बताए ।

प्रधानाध्यापकको कीर्ते दस्तखत गरी बैंकबाट रकम झिक्ने विद्यालय सहयोगी पक्राउ

झापा । काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साँटेर चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साँटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए ।

विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो ।

तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो ।

विद्यालयले विद्यार्थी बोक्ने बस किन्नका लागि बैंकमा रहेको रकम जाँचबुझ गर्दा मल्लिकले बैंकबाट अनाधिकृत रुपमा रकम निकाल्ने गरेको खुलेको छ । घटनानारे थाहा पाएपछि यही साउन १३ गते इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उजुरी दिएको सहायक प्रधानाध्यापक मदन अधिकारीले जानकारी दिए ।

प्रहरीले सोही दिन मल्लिकलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । हाल अभियोग लागेका मल्लिकलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए ।

बैंकबाट चेकबुक निकालेर ल्याउँदा चेकका केही पाना लुकाएर राख्ने गरेका मल्लिकले २०८० साउन ७ गते यता एक वर्षमा २० पटक कीर्ते हस्ताक्षर गरेर रकम निकाले खुलेको छ । मल्लिकले प्रधानाध्यापक र लेखापाल दुबैको कीर्ते हस्ताक्षर गरेको पाइएको छ ।

मल्लिकले विद्यालयका शिक्षक, विद्यालयसँग कारोबार भएका व्यवसायी र आफ्नै नामा अनाधिकृत रुपमा चेक काट्ने गरेका थिए ।

राप्रपा जिल्ला अध्यक्षहरुको भेला काठमाडौँमा सुरु

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौँमा सुरु भएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा भेलाको उद्घाटन गरे । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भोलि साउन १८ गतेसम्म चल्ने भेलामा देशका ७७ वटै जिल्ला अध्यक्षहरुको सहभागिता रहेको छ ।

जिल्ला अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको समीक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने जनाइएको छ ।

पार्टीले लिएका नीति र यसले पार्टी पङ्क्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने प्रवक्ता श्रेष्ठले बताए । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएकोले सबै तहको अधिवेशन सम्पन्न गर्ने, साथै विसं २०८४ मा हुने तीन तहकै निर्वाचन तयारीका लागि रणनीति तय गर्ने विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उक्त भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई ‘ब्रिफिङ’ गर्नेछन् भने पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरुले पार्टी सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षहरुसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।