`

काभा वुमन्स नेसन्स लिगको उद्घाटन खेलमा नेपाल र श्रीलंका आज खेल्दै

मोनिका सिंह, काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ ।

खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा ३ बजे सुरु हुनेछ । त्यसअघि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल र श्रीलंका तीन वर्षपछि एक आपसमा खेल्न लागेका हुन् । यसअघि सन् २०२१ मा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा नेपाल र श्रीलंका भिडेका थिए । जहाँ नेपालले पाँच सेटम चलेको खेलमा श्रीलंकालाई ३२ ले पराजित गरेको थियो । आजै साँझ पौने ६ बजे भारत र इरानबीच पनि प्रतिस्पर्धा हुनेछ ।

काभा नेसन्स लिगमा सेन्ट्रल एसियाका क्याटेगोरी ए र क्याटेगोरीका बी का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपाल र श्रीलंकासहित भारत, माल्दिभ्स र इरानको सहभागिता छ । इरान पहिलो पटक नेपालमा आएर खेल्दैछ ।

भारत र इरानलाई नेपालले अहिलेसम्म हराउन सकेको छैन । यस पटक दुवै बलिया टोलीलाई पराजित गर्दै उपाधि जित्ने नेपालको लक्ष्य छ । नेपालले काभा नेसन्स लिगअघि तयारी स्वरुप रसियन टिमसँग काठमाडदंमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसबाट नेपालले बफ्नो कमीकमजोरी सच्याउने मौका पाएको प्रशिक्षक र कप्तानको भनाई छ ।

काभा वुमन्स नेसन्स लिग राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ । लिग चरणको खेलपछि सेमिफाइनल र फाइनल खेल हुनेछ ।

लिगमा शीर्ष चारमा रहने टोली सेमिफाइनल पुग्नेछ भने पाँचौ स्थानमा रहने टोली बाहिरिनेछ ।

लिगमा पहिलो हुने र चौथो हुने तथा दोस्रो र तेस्रो हुनेबीच सेमिफाइनल हुनेछ । सेमिफाइनलका विजेता टोलीबीच अगष्ट ७ मा फाइनल खेल हुनेछ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले महिला भलिबल नेपालमा धेरै चर्चित रहेको र कभर्डहलभर दर्शकको उपस्थिती हुने अपेक्षा राखेका छन् । उनले दर्शकहरुलाई मध्यनजर गर्दै नयाँ कभर्डहल निर्माणका लागि तयारी गरिरहेको बताए ।

यस्तै टेक्निकल डेलेगेट्स साराह हेसाबीले नेपालमा प्रतियोगिता बयोजनाका लागि राम्रो व्यवस्था गरेको र सन्तुष्ट रहेको बताइन् ।

बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडित आन्दोलित

काठमाडौँ । विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै सहकारी पीडितहरूले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहमति कार्यान्यन नभएको भन्दै उनीहरुले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा रत्नपार्कदेखि सहकारी पीडितहरूले मानव साङ्लो बनाएका हुन् ।

उनीहरुले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए । सरकारले गत जेठमा सहकारी पीडितहरूको बचत फिर्ता गर्नको लागि सहमति गरेको थियो । तर अहिलेसम्म कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

कमजोर येन टोयोटाका लागि जापानमा समस्याबाट पार पाउने विकल्प

कमजोर येन र लागत कटौतीले विश्व प्रसिद्ध जापानी कार उत्पादक कम्पनी टोयोटालाई आफ्नो घरेलु बजारमा उत्पादन र बिक्रीमा आएको गिरावटलाई हटाउन मद्दत गरेको छ ।

कम्पनीको पहिलो त्रैमासिकको खुद मुनाफामा सामान्य वृद्धि भएको बिहीबार टोयोटाको जनाएको छ ।

कम्पनीको खुद आम्दानी १.७ प्रतिशतले बढेर १.३३ ट्रिलियन येन (८.९ अर्ब अमेरिकी डलर) पुगेको छ भने सञ्चालन मुनाफा १६.७ प्रतिशतले बढेर १.३१ ट्रिलियन येन पुगेको छ । राजस्व सङ्कलनमा १२.२ प्रतिशत बढेर ११.८ ट्रिलियन येन पुगेको छ ।

बिक्रीको आधारमा विश्वको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी टोयोटाले आफ्नो बर्षभरीको आम्दानीको पूर्वानुमानमा कुनै परिवर्तन नभएको जनाएको छ ।

टोयोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जापानमा उत्पादन र बिक्रीमा कमी आए पनि विदेशी विनिमय दर र लागत घटाउने प्रयासको प्रभावका कारण हाम्रो सञ्चालन आय १.३ ट्रिलियन येन थियो ।

टोयोटाले भनेको छ, “प्रमाणीकरणको समस्या र फिर्ताजस्ता कारकहरूले गर्दा जापानमा स्थिर उत्पादन कायम गर्न असमर्थताको बावजुद, हामीले आपूर्तिकर्ता र व्यवसायिक किनबेचमा सहकार्यमा संलग्न डिलरसहित हाम्रा सबै सरोकारवालाहरूको सहयोगले मुनाफामा वृद्धि हासिल गर्न सफल भएका छौँ ।”

भारतमा बाढीमा परी ५० जनाभन्दा बढी बेपत्ता

भारतको हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक बर्षापछि आएको बाढीका कारण शिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । हिमाचलका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्कुले उद्धार र राहत कार्य जारी रहेको बताए ।

शिमलाको रामपुर तहसील, मन्डी जिल्लाको पधार तहसील र कुल्लुको जाओ, निर्मल गाउँमा बर्षाले निम्त्याएको विपद्पछि राष्ट्रिय विपद् व्यवस्थापन बल (एसडिआरएफ), राज्यस्तरीय विपद् व्यवस्थापन बल (एसडीआरएफ) प्रहरी, अग्नि नियन्त्रण सेवालगायतका टोलीहरू राहत तथा उद्धार कार्यमा संलग्न छन् ।

राहत र उद्धार कार्यका लागि स्थानीय प्रशासनलाई निर्देशन दिई निगरानी गरिरहेको र सम्भावित थप सहयोग गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत जारी सन्देशमा उल्लेख गरेका छन् ।

यसैगरी हिमाचल प्रदेशका राजस्व मन्त्री जगत सिंह नेगीले शिमलाको सामेज क्षेत्रमा ३६ जना र मन्डी जिल्लाको टिक्केन क्षेत्रमा आठ जना बेपत्ता भएको र दुई जनाको शव फेला परेको बताए ।

समाचार तयार पार्दासम्म शिमला जिल्लाको सामेज क्षेत्रमा ३६ जना, मन्डीको टिक्केन क्षेत्रमा आठ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ । कुल्लु क्षेत्रमा मलानाको विद्युत परियोजनाको ब्यारेज क्षतिग्रस्त हुँदा मानिसहरू पनि फसेको र सडक सञ्जाल अवरुद्ध भएको छ ।

हिमाचल प्रदेशमा भएको आकस्मिक र भारी बर्षाले पुगेको क्षति र जनजीवन प्रभावित भएपछि सङ्घीय स्वास्थ्यमन्त्री जगत प्रकाश नड्डाले केन्द्र सरकारबाट सहयोगको आश्वासन दिएका छन् । उनले हिमाचल विधानसभाका पूर्व मुख्यमन्त्री तथा विपक्षी दलका नेता जयराम ठाकुर र भाजपाका प्रदेश अध्यक्षसँग पनि कुरा गरी सबै भाजपाका कार्यकर्तालाई राहत कार्यमा संलग्न हुन निर्देशन दिएका छन् ।

यसैबीच, मन्डी जिल्ला प्रशासनले घटनाबारे सचेत गराउँदै बासिन्दालाई ब्यास नदीको छेउछाउमा नजान चेतावनी जारी गरेको छ ।

अस्पताल निर्माण अन्तिम चरणमा

गोदावरी (कैलाली)। कैलालीको कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ । कैलारी–५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो ।

विसं २०८१ असार मसान्तसम्म निर्माण सक्ने गरी विसं २०७९ असार २९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तोकिएको समयसीमा सकिएपनि केही महिना म्याद थप गरी निर्माण सम्पन्न गरिने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए ।

चार वर्षअघि प्रत्येक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीतिअनुसार यहाँ १५ शय्याको अस्पताल निर्माण थालिएको उनले बताए । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत रु १८ करोड ५२ लाख रहेको कलेलले जानकारी दिए ।

उनले निर्माणाधीन भवन हस्तान्तरण भएर गत आर्थिक वर्षको अन्तिमबाट नियमित सञ्चालन गर्ने लक्ष्य रहे पनि बजेट अभाव हुँदा ढिलाइ भएको बताए । भवन निर्माण अन्तिम चरणमा पुगेको भन्दै उनले अस्पताल सञ्चालनका लागि पनि बजेट अभाव भएकाले सङ्घीय सरकारले आवश्यक बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

भवनमा अहिले रङगरोगन, फिनिसिङको काम भइरहेको सूचना अधिकारी कलेलले बताए । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत १८ करोड ५२ लाखमध्ये हालसम्म आधा रकम मात्र भुक्तानी भएको छ ।

बजेट अभावमा अस्पताल परिसरमा बन्नुपर्ने अन्य भौतिक संरचना निर्माण हुन नसकेको गाउँपालिका कार्यालयले जनाएको छ । आवश्यक जनशक्ति व्यवस्थापनसँगै बजेटको सुनिश्चितता भएमा चालु आर्थिक वर्षदेखि अस्पताल सञ्चालनमा ल्याउन सकिने सूचना अधिकारी कलेलको भनाइ छ ।

अस्पताल सञ्चालन भएपछि कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा राहत मिल्ने अपेक्षा गरिएको छ । अस्पताल नहुँदा यहाँका नागरिक सामान्य उपचारका लागि धनगढी, नेपालगञ्ज तथा भारतसम्म पुग्ने गरेका छन् । विसं २०७७ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पाँच, १० र १५ शय्यासम्मका अस्पताल स्थानीय तहमा बनाउने योजना सार्वजनिक गरेको थियो ।

क्यान्सर अस्पतालमा किमोको मात्र बढी दिएर बिरामीको मृत्यु भएपछि दुई नर्स निलम्बित

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ ।

दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको हो । अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए।

अस्पतालले दिएको जानकारी अनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उनको उपचार भइरहेको थियो ।

उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको महतोले बताए। उनका अनुसार मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो ।

‘खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ (क्यान्सर भए-नभएको पत्ता गराउन गरिने परिक्षण) गरेर क्यान्सर एकीन गरिएको थियो । सो पश्चात् बिरामीलाई किमो दिन थालिएको थियो’, उनले भने ।

बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ । सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ ।

अस्पतालले उपनिर्देशक डा उमेश नेपाल, मेडिकल अंकोलोजी विभागका प्रमुख डा गुरुशरण शाह र नर्सिङ प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुईजनालाई निलम्बन र २३ जनालाई स्पष्टिकरण सोधिएको बताए। यससँगै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

पौडेलले भने ‘काममा लापरबाही देखिएकाले आवश्यक कारबाही गर्नेछौँ । आगामी दिनमा यस्ता लापरबाही हुन नदिन नियमित अनुगमनका गर्ने व्यवस्था मिलाउने छौँ ।’

ट्वीनटावर आक्रमणका तीन योजनाकार दोष मान्न सहमत, मृत्युदण्ड नमागिने

बीबीसी । सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको षड्यन्त्र बनाएको आरोप लागेका तीन जनासँग ‘सुनुवाइअघि नै सहमति’ भएको अमेरिकाको रक्षा मन्त्रालयले जनाएको छ ।

खालिद शेख मोहम्मद, वालिद मुहम्मद सालिह मुबारक बिन अताश र मुस्तफा अहमद आदम अल–हाउसावीलाई क्युबास्थित अमेरिकी जलसेनाको आधारशिविर ‘ग्वान्टानामो बे’मा वर्षौँदेखि कुनै पनि आरोपमा मुद्दा नचलाई राखिएको छ ।

अमेरिकी समाचारसंस्थाहरूले जनाएअनुसार अभियोजनकर्ताहरूले मुद्दा दायर गर्दा ती व्यक्तिको मृत्युदण्ड माग नगर्ने सर्तमा उनीहरूले दोष स्वीकार गर्ने भएका हुन् ।

यद्यपि उक्त सम्झौताका सर्त सार्वजनिक हुन बाँकी छ । अल–कायदाले गरेका आक्रमणहरूमा न्यूयोर्क, भर्जिनिया र पेन्सिल्भेनिया राज्यमा झन्डै तीन हजर मानिसको मृत्यु भएको थियो । उक्त आक्रमणपछि अमेरिकी नेतृत्वमा अफगानिस्तान र इराकमा आक्रमणहरू सुरु भएका थिए।

ती युद्धलाई अमेरिकाले ‘वार अन टेरर’ अर्थात् ‘आतङ्कवादविरुद्धको युद्ध’ भनेको थियो । सन् २००१ का ती आक्रमणहरू अमेरिकी भूमिमा दोस्रो विश्वयुद्धपछि भएका सबैभन्दा घातक हमला थिए । दोस्रो विश्वयुद्धका बेला सन् १९४१ मा हवाईमा जापानले आक्रमण गर्दा पर्ल हार्बरमा २ हजार ४०० जनाको मृत्यु भएको थियो ।

त्यसपछि अल–कायदाको आक्रणम नै अमेरिकी भूमिका भएको सबैभन्दा घातक हमला हो । न्यूयोर्क टाइम्सका अनुसार तीन आरोपितलाई पठाइएको एउटा पत्रमा अभियोजनकर्ताहरूले उक्त सम्झौताबारे जानकारी दिएका थिए ।

‘सम्भावित सजायबाट मृत्युदण्डको माग हटाउने प्रतिबद्धताको साटो यी तीन अभियुक्तहरू आरोपपत्रमा सूचीकृत २,९७६ जनाको हत्यालगायत आरोप लागेका सबै अपराध स्वीकार गर्न सहमत भएका छन्,’ प्रमुख अभियोजक रेअर एड्मिरल आरोन रफको पत्रमा भनिएको छ ।

ती तीन पुरुषलाई नागरिकहरूमाथि आक्रमण गरेको, युद्धसम्बन्धी कानुन उल्लङ्घन गरी हत्या र अपहरण गरेको र आतङ्कवादी कार्य गरेको जस्ता अभियोगहरू लगाइएको छ । द टाइम्सका अनुसार उनीहरूले अर्को साताको सुरुमा अदालतमा औपचारिक रूपमा त्यसबारे निवेदन दिने अपेक्षा गरिएको छ ।

खालिद शेख मोहम्मद ती आक्रमणको मुख्य योजनाकार भएको मानिन्छ । उनको योजनानुरूप नै अपहरणकारीहरूले यात्रुवाहक विमानहरू आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टर र वाशिङ्टनबाहिर पेन्टागनमा लगेर ठोकाउन बाध्य बनाएको ठानिन्छ ।

चौथो विमान चाहिँ त्यसमा सवार यात्रुहरूले अपहरणकारीमाथि प्रत्याक्रमण गरेपछि पेन्सिल्भेनियास्थित एउटा मैदानमा खसेर दुर्घटना भएको थियो । मोहम्मद अमेरिकामा पढेका इन्जिनियर हुन्। उनी सन् २००३ मा हाउसावीसँगै पाकिस्तानमा पक्राउ परेका थिए ।

अभियोजनकर्ताहरूका अनुसार उनले विमान अपहरण गर्ने तर विमानहरूलाई अमेरिकी भवनहरूमा ठोकाउने योजना अल–कायदाका नेता ओसमा बिन लादेनलाई सुनाएका थिए र पछि केही अपहरणकारीहरूलाई तालिम दिन तथा उक्त कार्यमा संलग्न गराएका थिए ।

बाघको आक्रमणबाट कञ्चनपुरमा एक युवतीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ । बाघको आक्रमणबाट जिल्लाको दोधारा चाँदानी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो ।

उनलाई बिहीबार खेतमा काम गरिरहेका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । बुधवार बेलुकी ५ बजेतिर सोही वडाका दीपक पन्तको खेतमा बाघ देखिएको थियो ।

पन्तका अनुसार वन, नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरी टोलीले ड्रोनको सहायताले खोजी गर्दा समेत उखुबारीमा पसेको बाघ नदेखिएपछि उक्त टोली फिर्ता भएको थियो ।

तल्लो सेती जलविद्युत् आयोजनाका लागि पाँच सय रोपनी क्षेत्रफल अधिग्रहण

तनहुँ। तनहुँ जलविद्युत् आयोजनाले एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि पाँच सय रोपनी जग्गा अधिग्रहण गरेको छ ।

मुआब्जा वितरण, जलाशय, पावरहाउस र कर्मचारी आवाससहितको संरचना निर्माण गर्न ७० करोड खर्च हुने अनुमान गरिएको जलविद्युत् आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

आयोजनाबाट ऋषिङ गाउँपालिकाको वडा नं १ र ३, बन्दीपुर गाउँपालिको–६, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरनी गाउँपालिका–५ र ६, व्यास नगरपालिकाको १३ र १४ तथा चितवनको भरतपुर महानगरपालिकाको वडा नं २९ प्रभावित हुने बताइएको छ ।

बन्दीपुर गाउँपालिका–६ तथा देवघाट गाउँपालिका–३ को सिमान सराङघाट नजिक दुई सय १३ मिटर लम्बाइ, ३२ मिटर उचाइ र दुई सय मिटर चौडाइ भएको बाँध निर्माण गरिने प्रमुख भण्डारीले बताए ।

नेपाल विद्युत् प्राधिकारणको पूर्ण स्वामित्वको तनहुँ जलविद्युत् आयोजनाले एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना सुरु गरेको हो ।

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना हाइड्रोपावर लिमिटेड निर्माणसँगै कम्पनीले तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि काम अघि बढाइएको आयोजना प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिए ।

करिब १८ किलोमिटर तल्लो तटीय क्षेत्रमा तल्लो सेती आयोजना निर्माण प्रस्ताव गरिएको हो । उत्पादित विद्युत् तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको दुई सय २० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडेर राष्ट्रिय विद्युत् प्रणालीमा प्रवाह गरिने श्रेष्ठले बताए ।

देवघाट–४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्ने उनले जानकारी दिए ।

अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ । 

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व सङ्कलन

धरान । कोशी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष ०८०/८१ मा ४० लाख १४ हजार ७९४ रुपैयाँ राजस्व संकलन गरेको छ। आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार आक्षमा जंगल सफारी, पर्या–पर्यटक, वनपैदावर, जंगल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट ४० लाख १४ हजार ७९४ रुपैयाँ राजस्व संकलन भएको हो ।

सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य पर्यटकबाट उठेको हो । आव ०७९/८० मा कार्यालयले ३९ लाख ९४ हजार ४०८ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

हिउँदमा आन्तरिक पर्यटक बढी आउने गरेका छन्। आरक्ष पूर्वी क्षेत्रका शैक्षिक प्रतिष्ठानका विद्यार्थीको प्रमुख शैक्षिक भ्रमणस्थल बनेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका पर्यटकले रु. ७५० र अन्य देशका आगन्तुकले एक हजार पाँच सय शुल्क तिर्नुपर्ने व्यवस्था छ । उक्त रकम तिरेपछि १२ घण्टा घुम्न पाइन्छ ।

आरक्षको प्रचाप्रसार गर्न सके अझ धेरै पर्यटक कोशी टप्पु आउने होटेल व्यवसायी महासंघ कोशी प्रदेशका महासचिव वासुदेव बरालले बताए। विभिन्न प्रजातिका चरा, अर्ना, गैँडा, हात्ती आरक्षका प्रमुख आकर्षण हुन् ।

ऊर्जामन्त्रीद्वारा ऊर्जा क्षेत्रको विकासका लागि पूर्वसचिवसँग छलफल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासका लागि पूर्वसचिवहरूसँग छलफल गरेका छन् ।

उर्जामन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे मन्त्रालयका पूर्वसचिवसँग बुधबार छलफल गरेका हुन् । छलफलका क्रममा मन्त्री खड्काले पूर्वसचिवको अनुभवलाई समेटेर भावी कार्ययोजना बनाएर अगाडि बढ्ने बताए ।

“तपाईँहरूले नेपालको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा काम गरेर अनुभव हासिल गर्नुभएको छ, यहाँहरूको अनुभवले मन्त्रालयलाई भावी कार्ययोजना निर्माणमा सहयोग पुग्नेछ”, उनले भने ।

मन्त्री खड्काले ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि अप्ठ्यारा ऐन, नियम, कार्यविधि र नियमावलीलाई संशोधन गरेर अगाडि बढ्ने बताए ।

उक्त मन्त्रालयका पूर्वसचिव दिनेश घिमिरेले आन्तरिक खपत बढाउने गरी ऊर्जा क्षेत्रको विकास गर्नुपर्ने बताए । उनले जलाशययुक्त आयोजनामा लगानी जुटाउन सके छोटो समयमा नेपालको ऊर्जा क्षेत्रले फड्को मार्ने उल्लेख गरे ।

पूर्वसचिव अनुप उपाध्यायले ऊर्जा क्षेत्रको विकासका लागि लगानीयोग्य वातावरण निर्माण गर्नुपर्ने बताए । उनले जति चाँडो आयोजना निर्माण गर्नसक्यो त्यति नै मुलुकका लागि फाइदा हुने बताए।

पूर्वसचिव सुशीलचन्द्र तिवारीले सरकारले सिँचाइ क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताए । सातवटा राष्ट्रिय गौरवका आयोजना भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उक्त आयोजनालाई चाँडोभन्दा चाँडो पूरा गर्न लाग्नुपर्ने बताए । पूर्वसचिव सागरकुमार राईले जलस्रोत संरक्षणलाई मन्त्रालयले प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले खर्बौँ लगानी गरेर सिँचाइ आयोजना बनाए पनि सिँचाइवापतको सेवा शुल्क नउठाउँदा उक्त आयोजना मर्मतसम्भारमा समस्या हुने गरेको बताए ।

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जासचिव गोपालप्रसाद सिग्देल, जलस्रोत तथा सिँचाइसचिव सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मन्त्रालयअन्तर्गतका विभिन्न विभागका महानिर्देशक तथा मन्त्रालयका सहसचिवहरूको सहभागिता थियो । 

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार

काठमाडौँ  ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक यही साउन १८ गते केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

विधानअनुसार बनाइएको ‘क्लष्टर’का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ ।

पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छ ।

सम्मनित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदललाई पार्टीका सातै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको मूल्याङ्कन गरी केन्द्रीय सदस्यको नामावली आज साँझसम्म तयार गर्ने समयसीमा छ ।

पार्टीमा केन्द्रीय सदस्यका लागि आकाङ्क्षी धेरै भएपछि नेताहरुको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गरिने नेता पाण्डेयले जानकारी दिए ।

वाग्मतीबाट सबैभन्दा धेरै र गण्डकी प्रदेशमा सबैभन्दा थोरै केन्द्रीय सदस्य मनोनित गरिने जनाइएको छ । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी छनोट गरिने छ ।

मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा समीक्षा गर्ने बैठकले पार्टीको भावी कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४६ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, बुधबार प्रतितोला  एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४५ चार सय निर्धारण भएको छ । उता, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ।

बुधबार प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा कार्यदलमा सहमति

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटेको छ । बिहीबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो ।

बैठकपछि गृहमन्त्री लेखकले भने, ‘आज उपलब्धि भएको छ । हाम्रा बीचमा मिल्न बाँकी सबै कुरा मिलेको छ ।’

विधेयकका चार वटा विषयमा लामो छलफलपछि सहमति भएको उनको भनाइ छ । द्वन्द्वकालको बेलामा भएको हत्यालाई मनसायपूर्वक अथवा स्वच्छेचारी ढङ्गले परिभाषित गरिएको गृहमन्त्री लेखकले बताए ।

उनका अनुसार मेलमिलापपत्र र क्षमादान गर्नका लागि पीडितको सहमति आवश्यक हुने कुरामा सहमति भएको छ ।

‘यदि पीडितको सहमति भएन भने मानव अधिकार उल्लङ्घनमा पनि सरकारवादी फौजदारी मुद्दा चल्न सक्ने छ । दुनियावादी फौजदारी मुद्दा भएमा पीडितलाई चाहेको गर्ने अधिकार दिने कुरा भएको छ । मानवअधिकारको गम्भीर उल्लङ्घनमा त मुद्दा चल्ने नै भयो,’ गृहमन्त्री लेखकले भने ।

कार्यदलका सदस्यहरु गृहमन्त्री रमेश लेखक, एमाले संसदीय दलका मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच निरन्तर छलफल हुँदै आएको थियो ।

तत्कालीन माओवादीका तर्फबाट लडेका बहिर्गमित लडाकुहरुलाई द्वन्द्वप्रभावितका रुपमा परिभाषित गरेर परिपूरणको व्यवस्था गर्ने सहमति भएको गृहमन्त्री लेखकले बताए ।

‘यसलाई कानुन मन्त्रालयको सचिवले ड्राफ्ट गर्नुहुन्छ । त्यसपछि हामी नेताहरु (प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) लाई बुझाउछौँ,’ उनले भने, ‘सङ्क्रमणकालीन न्याय देशको साझा विषय भएकाले कार्यदलमा भएको सहमति संसदीय समिति हुँदै संसद्बाट पारित हुन्छ ।’

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार गम्भीर मानवअधिकार उल्लंघनजस्ता पेचिलो बनिरहेको विषयमा पीडकमाथि २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने प्रावधान राखिने भएको छ ।

उनले भने, ‘पीडितलाई केन्द्रमा राखेर गर्ने गरी अघि बढेका छौँ । २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउनेमा हामी सहमतिमा पुगेका छौं । अब नेपालको शान्ति प्रक्रिया ठीक ढंगबाट २/३ वर्षभित्र टुंगोमा पुर्याउन सक्छौँ ।’

कार्यदलका बीचमा सहमति भएको र सोमबारसम्म कार्यदलले मस्यौदा शीर्ष नेताहरूलाई बुझाउने उनले बताए । द्वन्द्वमा संलग्न सुरक्षाकर्मी जसको मृत्यु र घाइते परिवारलाई पनि पीडित सरह परिपूरण दिने सहमति भएको उनले बताए ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सङ्घीय संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन रहेको छ । उक्त विधेयकमा नमिलेका कुरा मिलाउन लेखक, बर्तौला र शर्मा सम्मिलित तीन सदस्यीय कार्यदल गठन भएको थियो ।

पछिल्ला बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्यायाधिक्ता केशव बडाल, पूर्व कानुनमन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरथी जीवनप्रसाद दाहाललगायतको पनि सहभागिता रहेको थियो ।

ओलीलाई सुमनाको प्रश्नः त्रिवि प्राज्ञलेभन्दा राम्रो काम गर्न सक्छु भन्ने दम्भ हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेकी छन् ।

बिहीबार सामाजिक संजालमार्फत श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको भन्दै प्रधानमन्त्रीमाथि प्रश्न गरेकी हुन् ।

उनले भनेकी छन्, ‘विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो ? पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावण १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नुभयो । विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तयार पारेर अपनत्व समेत लिएको त्यो दस्तावेज थियो त्यो । रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहिँ चित्त बुझेन छ यहाँलाई ?’

उनले प्रधानमन्त्रीलाई त्रिवि प्राज्ञलेभन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको ? भन्दै प्रश्न गरेकी छन् ।

उनले भनेकी छन्, ‘त्रिवि प्राज्ञलेभन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको ? यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुदैन भन्ने कुरा झनै प्रष्ट पार्छ । अब के हुन्छ ? नयाँ नीति तथा कार्यक्रम बनाउने भनेर कति समय झुलाउनु हुन्छ ? नझुलाउनको लागि के लेनदेन हुन्छ, कसलाई के पद माग्नु हुन्छ ? आखिर विश्वविद्यालय त आफ्नो कार्यकर्ताको गरी खाने भाँडो न हो, अरु प्राध्यापक र विद्यार्थीहरू मूकदर्शक न हुन् हैन त ?’

यस्तो छ सुमनाको भनाई

प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यू,
विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो ? पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावन १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो । विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो त्यो। रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहीँ चित्त बुझेन छ यहाँलाई ? त्रिवि प्राज्ञलेभन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको ? यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुदैन भन्ने कुरा झनै प्रष्ट पार्छ ।

अब के हुन्छ ? नयाँ नीति तथा कार्यक्रम बनाउने भनेर कति समय झुलाउनु हुन्छ? नझुलाउनको लागि के लेनदेन हुन्छ, कसलाई के पद माग्नु हुन्छ ? आखिर विश्वविद्यालय त आफ्नो कार्यकर्ताको गरी खाने भाँडो न हो, अरु प्राध्यापक र विद्यार्थीहरू मूक दर्शक न हुन् हैन त ?
स्मरण रहोस् नयाँ नीति तथा कार्यक्रम पास गर्न कति समय लाग्छ, के के हेरफेर हुन्छ हामी हिसाब राख्ने छौँ ।

२०८० मंसिर २७ गते अनलाइन खबरमा प्रकाशित लेखः ‘प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउन किन चाहँदैनन् दलहरू?’ मा अनेरास्ववियुका अध्यक्ष समिक बडालले दलहरूले विश्वविद्यालयलाई प्राज्ञिक मर्यादाको रूपमा भन्दा राजनीतिक स्वार्थपुर्ती गर्ने केन्द्र बनाइरहेको बताएका थिए । त्यही लेखमा तपाइँले भन्नु भएको छ ‘प्रधानमन्त्री कुलपति रहन आवश्यक छैन’ भनेर । तपाइँकै युवा नेताले राजनैतिक दलहरुको कारण शिक्षा खस्किएको भनि उदाहरणसहित दिनुभएको छ । आफै पनि पदेन राजनैतिक नियुक्ति नचाहिने भनिसक्नु भएको छ । तपाइँको बोली माथि अब जनताले विश्वास गर्ने कि नगर्ने ?

राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा जातीय पहिचान झल्किने पहिरन लगाउन पाइने

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीका समेत लगाउन नपाइने नियम हटाएको छ ।

विभागले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने जनाएको हो । यसअघि राष्ट्रिय परिचयपत्रका लागि तस्बिर लिँदा सिन्दूर, टीका हटाउन लगाउने गरेको थियो । सरकारको यो निर्णयको सर्वत्र विरोध भएको थियो ।

हैजाबाट कसरी जोगिने ?

बीबीसी । हैजा जीवाणु (ब्याक्टेरिया)मार्फत् हुने एक किसिमको सङ्क्रमण हो। यसले पखाला लाग्ने र शरीरमा पानीको कमी हुने हुन्छ।  यो रोगको सजिलै उपचार हुन्छ। तर यदि उपचार नगरिए केही घण्टामै यसका कारण मृत्यु पनि हुन सक्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हैजालाई ‘गरिबीको रोग’ भनी व्याख्या गरेको छ। यसले सफा पानी र आधारभूत सरसफाइ नभएका ठाउँमा बस्ने मानिसहरूलाई बढी असर गर्छ।

अफ्रिका र एशियाका विभिन्न देश तथा क्यारिबीअन क्षेत्रको हेइटीमा बस्ने मानिसहरू यसबाट बढी प्रभावित भएको पाइएको छ। डब्ल्यूएचओको अनुमानअनुसार प्रत्येक वर्ष यो रोगका करिब १३ देखि ४० लाख बिरामीहरू देखिन्छन् र विश्वभरि २१ हजारदेखि १४३,००० मानिसहरूको मृत्यु हुने गर्छ।

हैजा के कारण हुन्छ ?

‘भिब्रिओ कोलरी’ भनिने ब्याक्टेरियाका कारण हैजाको सङ्क्रमण हुन्छ। यसले सानो आन्द्रामा विषाक्त पदार्थ बनाउँछ, जसका कारण शरीरले धेरै मात्रामा पानी निकाल्छ। त्यसले गर्दा पखाला लाग्छ र गम्भीर अवस्थामा शरीरबाट धेरै मात्रामा नुन तथा तरल पदार्थ बाहिर निस्किन्छ। सङ्क्रमण भएको खास गरी १२ घण्टादेखि पाँच दिनभित्र लक्षण देखिन्छन्। यद्यपि डब्ल्यूएचओका अनुसार सङ्क्रमित ८० प्रतिशतभन्दा बढी मानिसमा लक्षण देखिँदैन। लक्षण देखिने २० देखि ३० प्रतिशतमा भने केही दिनभित्रै पखाला लाग्ने र शरीरमा पानीको मात्रा असाध्यै कम हुने हुन्छ। यदि यसको उपचार नगरिए यसका कारण मानिसको मृत्यु नै हुन सक्छ।

शरीरमा पानी कम हुँदा त्यसले रगतमा खनिज पदार्थ एकदमै कम भएर जान्छ। यसलाई ‘इलेक्ट्रलाइट असन्तुलन’ भन्छन्। मध्यम खालको पखाला लाग्नुलाई हैजा भनेर अन्य बिमारीसँग झुक्किएको हुन सक्छ। घानाका लागि ‘वाटरएड’की स्वास्थ्य नीति विज्ञ आइरिन ओवुसु-पोकुले प्रयोगशालाको अनुसन्धानबाट मात्रै हैजाको पहिचान हुने बताइन्। तर ‘सङ्केतहरू भने सबैले स्पष्ट नियाल्न सक्छन्,’ उनले भनिन्। ‘यदि तपाईँ बारम्बार शौचालयको प्रयोग गर्नुपर्छ, पखाला लागेको छ र बान्ता हुन्छ अनि पेट दुखेको छ र यो क्रम तीन दिनसम्म देखियो भने तपाईँले हैजा भएको शङ्कामा अस्पतालमा देखाउनुपर्छ’, उनले थपिन्।

हैजा कसरी फैलिन्छ?
भिब्रिओ कोलरी नामक जीवाणुका कारण दूषित भएको खाना खाए वा पानी पिए हैजा लाग्छ। लक्षण नदेखिने बिरामीहरूले अरूलाई सङ्क्रमित गर्ने जोखिम उच्च रहन्छ किनभने उनीहरूले आफू सङ्क्रमित भएको एकदेखि १० दिनसम्म दिसाबाट अरूमा जीवाणु सार्न सक्छन्। आइरिनका अनुसार लक्षण नदेखिएका बिरामीहरूले पनि जीवाणुलाई खुल्ला शौच हुने क्षेत्रबाट अन्य व्यक्तिमा सार्न सक्छन् किनभने त्यहाँ सरसफाइका उपाय अनि सफा पानीको पहुँच त्यति हुँदैन।

विश्व स्वास्थ्य सङ्गठनले त्यसरी सङ्क्रमित व्यक्तिको दिसा वा बान्ताबाट आफूलाई हैजा सर्ला भनेर सचेत हुनुपर्ने बताएको छ। त्यसबाहेक हैजाका कारण मृत्यु भएको शरीरबाट पनि जोगिनुपर्ने जनाएको छ।

बेलायतको नेशनल हेल्थ सर्भिस (एचएचएस) ले हैजा भेटिएको क्षेत्रमा जाँदा कसरी जोगिने भनेर सुझावहरू दिएको छ :

-खास गरी शौचालय गएपछि र खाना पकाउनु तथा खाना खानुअगाडि साबुनपानीले निरन्तर हात धुनुपर्छ।

-सफा पानी मात्रै पिउनुहोस्, अनि सम्भव भएसम्म उमालेको पानी पिउनुहोस्।

-दाँत माझ्दा पनि खानेपानी प्रयोग गर्नुहोस्।

-नपाकेको फल वा नपकाइएको तरकारी नखानुहोस्। खानेपानीले त्यसलाई राम्ररी पखाल्ने गर्नुहोस्।
-‘सीफूड’ नखानुहोस्।

-पानीमा बरफ नहाल्नुहोस्।

-केरा, सुन्तला र आभकाडोजस्ता फलफूल खाँदा आफैँले त्यसको बोक्रा छोडाउनुस्। बेरी वा अङ्गुरजस्ता बोक्रा नभएका फलफूल र सलादहरू पनि नखानुहोस्।

सजिलै उपचार हुन सक्ने रोग
हैजाको उपचार सहजै गर्न सकिन्छ। ‘ओआरएस’ अर्थात् ‘जीवनजल’लगायतका पदार्थ पिएर शरीरमा पानीको मात्रा बढाउनुपर्छ।डब्ल्यूएचओको मापदण्डअनुसार ‘ओआरएस’को एउटा प्याकेटमा भएको पाउडरलाई एक लिटर सफा पानीमा मिसाउनुपर्छ। उसका अनुसार ‘ओआरएस’ स्वास्थ्यकर्मीबाट लिन सकिन्छ वा घरमै पनि नुन र चिनी मिसाएर बनाउन सकिन्छ। त्यसरी घरमा बनाउँदा एक लिटर पानीमा छ चिया चम्चा चिनी र एक चम्चा नुन मिसाएर बनाउनुपर्छ।

वयस्कलाई मध्यम स्तरमा शरीरमा पानीको कमी हुँदा पहिलो दिनमा छ लिटरसम्म जीवनजल चाहिन सक्छ। केही बिरामीलाई भने ‘इन्ट्राभीनस रिहाइड्रेशन’जस्तो थप उपचार पनि आवश्यक पर्न सक्छ। पखालाको अवधि घटाउनका लागि बिरामीलाई उचित खालको एन्टिबायोटिक औषधि पनि दिइन्छ, जसले गर्दा पानीको आवश्यकतासँगै हैजा सङ्क्रमण गराउने ब्याक्टेरियाको मात्रा र अवधि कम हुन्छ। उचित स्याहार गर्दा धेरै मानिसहरू हैजाबाट छिट्टै निको हुन्छन् र उपचार गर्न गएकाहरू पनि तीन दिनभित्रै अस्पतालबाट उपचार गरेर घर जान पाउँछन्।

हैजा उन्मूलन

आइरिनका अनुसार सरकारहरूले ‘खास गरी कम र मध्य-आय भएका देशहरूमा सफा पानी, सरसफाइ र स्वच्छतामा लगानी गर्नुपर्छ।’

डब्ल्यूएचओ र युनिसेफको एक संयुक्त प्रतिवेदनले सन् २०२२ मा यस्तो अनुमान गरेको थियो :

-विश्वभरिमा २.२ अर्ब मानिसहरूका लागि अझै पनि सुरक्षित र पिउनयोग्य पानी आफ्नो घरमा उपलब्ध छैन

-त्यसैगरी ३.५ अर्ब मानिसहरूको अझै पनि व्यवस्थित शौचालयमा पहुँच छैन। त्यसमध्ये ४१ करोड भन्दा बढी मानिसहरू त खुल्ला क्षेत्रमै शौच गर्छन्।

-दुई अर्ब मानिसहरूको घरमा साबुन पानीले हात धुनेजस्ता आधारभूत सरसफाइको सुविधा छैन।

सन् २०१७ को अक्टोबरमा ५० भन्दा बढी संस्थाहरू (गैरसरकारी संस्था, शैक्षिक संस्था, संयुक्त राष्ट्रसङ्घका निकाय) को साझेदारी रहेको ‘ग्लोबल टास्क फोर्स अन कोलेरा कन्ट्रोल (जीटीएफसीसी)’ ले हैजा नियन्त्रणसम्बन्धी रणनीति ल्याएको थियो। उक्त समूहले हैजाका कारण हुने मृत्यु ९० प्रतिशतले कम गर्ने र सन् २०३० सम्ममा २० वटा देशहरूमा हैजा उन्मूलन गर्ने लक्ष्य राखेको छ।

गाडा नासफ
बीबीसी

किसानलाई अनुदानमा हातेट्रयाक्टर

दमौली (तनहुँ), साउन १७ गते । गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै गएपछि र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले किसानलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा हातेट्रयाक्टर वितरण गरेको हो ।

कृषियन्त्र तथा औजार वितरणमा पचास प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत रु १९ लाख ६८ हजार बजेटमा ३२ वटा हातेट्रयाक्टर खरिद गरिएको थियो । गाउँपालिकाका कृषि शाखा प्रमुख रवि रामदामका अनुसार प्रतिट्रयाक्टरको मूल्य रु ६१ हजार पाँच सय रहेकामा गाउँपालिकाले पचास प्रतिशत अनुदान व्यहोर्नेगरी छनोट भएका किसानलाई उनीहरूबाट रु ३० हजार सात सय पचास लिएर प्रदान गरेको हो ।

गाउँपालिकाले सबैलाई समान ढङ्गले अनुदान दिएकाले उत्पादनका आधारमा किसानलाई सम्मान गरिने प्रमुख रवि रामदामले भन्नुभयो, “कृषिमा आधुनिकीकरण जरुरी छ । हातेट्रयाक्टरले लागत घटाउनुका साथै समय पनि बचत हुन्छ ।”

केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्न एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे होटल बसेरामा बोलाइएको हो । बुधबारको बाढीले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय डुबानमा परेपछि होटलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । बैठकमा नेताहरूको कार्यविभाजन तथा समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।

असार २६ मा बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार कार्यविभाजनसम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको एमालेले जानकारी दिएको छ ।

इयुद्वारा प्यालेस्टिनीलाई ४० करोड यूरो आपतकालीन सहायता प्रदान

युरोपेली सङ्घ (इयु) ले बुधबार प्यालेस्टिनी प्राधिकरणलाई उसको ‘महत्त्वपूर्ण’ बजेट समस्या समाधानमा मद्दत गर्न आपतकालीन कोषका रूपमा ४० करोड युरो तिर्न थालेको जनाएको छ ।

पहिलो १५ करोड युरो किस्तामा वेस्ट बैङ्कमा निजामती कर्मचारीहरूको तलब भुक्तान गर्न र कमजोर परिवारहरूलाई सहयोग गर्न अनुदान समावेश रहेको ब्रसेल्सले जनाएको छ ।

बाँकी रकम अगस्ट र सेप्टेम्बरमा प्यालेस्टिनी प्राधिकरण (पिए) को सुधार एजेन्डाको कार्यान्वयनमा भएको प्रगतिको अधीनमा वितरण गरिने इयुले विज्ञप्तिमा उल्लेख गरेको छ । 

प्राधिकरणले लामो समयदेखि वित्तीय सङ्कटको सामना गरेको छ । तर इजरायलले प्यालेस्टिनी क्षेत्रको लागि कर राजस्व रोकेकाले गाजा युद्धले प्राधिकरणको यसको वित्तलाई थप असर गरेको छ । 

इयु प्यालेस्टिनीहरूको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय आर्थिक समर्थक हो । यसको समर्थन सन् २०२१ र सन् २०२४ बीचको अनुमानित एक अर्ब दुई करोड युरो रहेको छ ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले भने, “यस कठिन समयमा प्यालेस्टिनी प्राधिकरणलाई समर्थन गर्न इयु पूर्ण रूपमा प्रतिबद्ध छ, हाम्रो ४० करोड युरो आपत्कालीन सहायताले पर्याप्त सुधार एजेन्डालाई समर्थन गर्दछ र गाजाको पुनःप्राप्ति र पुनर्निर्माणका लागि मार्ग प्रशस्त गर्दछ ।”

इयुको कार्यकारीले सेप्टेम्बरको शुरुमा ‘प्यालेस्टिनी पुनःप्राप्ति र लचिलोपनका लागि’ व्यापक कार्यक्रमका लागि एक विधायी प्रस्ताव पेश गर्ने बताए ।

ब्रसेल्सले यस योजनाको उद्देश्य सन् २०२६ सम्ममा पिएको खाता सन्तुलनमा राख्न मद्दत गर्ने र भविष्यका भुक्तानीहरूलाई सहमत–सुधार माइलस्टोनहरूको कार्यान्वयनमा भएको प्रगतिसँग जोड्ने बताएको छ ।

इजरायलमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणले गाजालाई तहसनहस बनाएको बेला इजरायलले कब्जा गरेको वेस्ट बैंकको अर्थतन्त्रमा पनि असर गरेको छ ।

प्यालेस्टिनी अर्थतन्त्र धेरै हदसम्म सन् १९९४ पेरिस प्रोटोकलद्वारा शासित छ । यसले इजरायललाई क्षेत्रहरूको सिमानामा एकमात्र नियन्त्रण प्रदान गरेको छ । साथै प्यालेस्टिनी प्राधिकरणका लागि आयात शुल्क र मूल्य अभिवृद्धि कर सङ्कलन गर्ने अधिकार दिएको छ । 

तर गाजा युद्धले इजरायलको पकडलाई बलियो बनाएको छ । गाजाका शासक हमासले इजरायलमा अक्टोबर ७ मा आक्रमण गरेपछि ठूलो मात्रामा भन्सार शुल्कहरू रोकिएको छ ।

चीनले विश्वको सबैभन्दा ठूलो रेडियो टेलिस्कोप निर्माणलाई सहयोग गर्न एन्टेना प्रदान गर्ने

चीनद्वारा निर्मित स्क्वायर किलोमिटर एरे (एसकेए) को मध्यम–फ्रिक्वेन्सी एन्टेनाको पहिलो ब्याच बुधबार दक्षिण अफ्रिकामा पठाइएको छ । यो विश्वको सबैभन्दा ठूलो रेडियो टेलिस्कोप एरेको निर्माणका लागि महत्त्वपूर्ण कदम हो ।

    एन्टेना उत्तरी चीनको हेबेई प्रान्तको राजधानी सिजियाझुआङबाट दक्षिण अफ्रिकाको एसकेए साइटमा पठाइएको थियो ।

एसकेए अस्ट्रेलिया र अफ्रिकाका धेरै साइटहरूमा अवस्थित विभिन्न प्रकार र आकारका हजारौँ रेडियो एन्टेनाहरूको नेटवर्क हो । यो परियोजना १० भन्दा बढी देशद्वारा संयुक्त रूपमा वित्त पोषित, निर्माण र सञ्चालित छ । यसले अहिलेसम्म विकसित कुनै पनि अन्य रेडियो उपकरण एरेभन्दा धेरै उच्च संवेदनशीलता र सर्वेक्षण गति फिचर गर्नेछ ।

अन्तर्राष्ट्रिय ठूला विज्ञान परियोजनाका सात संस्थापक सदस्यमध्ये एक र सन् २०१९ मा हस्ताक्षर गरिएको एसकेए अब्जर्भेटरी कन्भेन्सनमा हस्ताक्षरकर्ता भएकाले चीन ६४ एसकेए मध्यम–फ्रिक्वेन्सी एन्टेना सेटहरूको डिजाइन, निर्माण, यातायात, एकीकरण र कमिशनका लागि जिम्मेवार छ । यो डेलिभरी एन्टेना संरचनाको ठूलो उत्पादन चरणको सुरुवातको प्रतीक हो ।

यो पूरा भएको एरेले मानवजातिलाई ब्रह्माण्डको उत्पत्ति बुझ्न र आकाशगङ्गाहरूको विकासको अनुसन्धानमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।  

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि बिहीबारदेखि लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ ।

निगमकाअनुसार पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको छ ।

नदी किनारका निर्माण निषेधित क्षेत्रमा घर नबनाउनु, धोका पाउनुहोलाः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंमा गएरातिको अविरल वर्षापछि भएको डुबानले व्यापक क्षति गरेपछि नदी किनारमा घर नबनाउन आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत मेयर साहले मन्त्रिपरिषद्ले र सर्वोच्च अदालतले काठमाडौं उपत्यकाभित्र बग्ने बागमती, विष्णुमती, मनोहरा नदी किनाराको कम्तीमा २० मिटरभित्रको जग्गालाई र अन्य खोला किनाराको कम्तीमा ४ देखि १२ मिटरभित्रको जग्गालाई नेपाल सरकार, मन्त्रिपरिषद्को २०६५ मंसिर १ को निर्णयले निर्माण निषेधित क्षेत्र घोषणा गरेको उल्लेख गरेका छन् ।

उनले सर्वोच्च अदालतबाट २०८० पुस ३ मा जारी परमादेशको पूर्णपाठले सरकारी मापदण्डको साथै थप २० मिटर जग्गालाई पनि निर्माण निषेधित क्षेत्र घोषणा गरेको स्मरण गराएका छन् । उनले उक्त परमादेशलाई तत्कालदेखि कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका छन् ।

यस्तो छ बालेनको भनाई

निर्माण निषेधित क्षेत्र (No Construction Zone) सम्बन्धमा सुसूचित हुन अनुराेध ।

  • काठमाडौं उपत्यकाभित्र बग्ने वाग्मती, विष्णुमती, मनाेहरा नदी किनाराकाे कम्तिमा २० मीटर भित्रकाे जग्गालाई र अन्य खाेला किनाराकाे कम्तीमा ४ देखि १२ मीटर भित्रकाे जग्गालाई नेपाल सरकार, मन्त्रिपरिषदकाे २०६५/८/१ काे निर्णयले निर्माण निषेधित क्षेत्र (No Construction Zone) घाेषणा गरेकाे थियाे । काठमाडौं महानगरपालिकाले त्यसलाई कार्यान्वयन गर्दै आएकाे थियाे ।
  • सर्वाेच्च अदालतबाट मिति २०८०/९/३ मा जारी परमादेशकाे पूर्णपाठले सरकारी मापदण्डकाे साथै थप २० मीटर जग्गालाई पनि निर्माण निषेधित क्षेत्र घाेषणा गरेकाे छ । उक्त परमादेशलाई तत्काल देखि कार्यान्वयन गर्नुकाे विकल्प छैन । उपत्यकाका नदी तथा खाेलाहरूकाे तटीय क्षेत्रमा प्रवेश गर्ने विपत्तियुक्त वाढीकाे भेलले पनि परमादेशकाे ओैचित्यलाई थप पुष्टि गरेकाे छ ।
  • अब तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई थप प्रभावकारी बनाइने छ । तटीय क्षेत्रकाे थप २० मीटरमा पनि सरकारी वा निजी भवन लगायतका भाैतिक संरचना निर्माण गर्ने अनुमति मिल्ने छैन ।
  • तसर्थ, नदी तथा खाेलाकाे तटीय क्षेत्रमा निर्माणकाे याेजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाकाे काराेवार गर्दा वा घरजग्गा धिताे राख्दा यस मापदण्डलाई पालना गरिदिनु हाेला । अन्यथा, पछि धाेका पाउनु हुनेछ ।
  • यस पृथ्वीका नदी तथा खाेलाहरूकाे पनि अधिकार छ । प्रकृतिले पनि विद्रोह गर्न सक्छ । त्यसैले नदी तथा खाेलाहरूकाे अधिकारकाे संरक्षण गराैं । यति गर्न सके मान्छेको घरमा खोला पस्ने छैन ।
  • हेर्नुहाेस, सरकारी मापदण्ड तथा सर्वाेच्च अदालतकाे फैसलाकाे सम्बन्धित अंश ।

हमास प्रमुखको हत्यापछि इजरायली बन्धकहरूको डर

तेहरानमा हमास प्रमुख इस्माइल हानियाको हत्यापछि गाजामा अझै बन्दी बनाइएका दर्जनौँ बन्धकको भाग्यलाई लिएर इजरायलीहरूबीच बुधबार चिन्ता बढेको छ ।

“हानियाको हत्या गलत थियो किनकी यसले बन्धक सम्झौताको सम्भावनालाई खतरामा पार्छ”, तटीय सहर हाइफा निवासी ५० वर्षीय अनात नोयले भने, “हामी आज हृदयमा डरको भावना लिएर उठेका छौँ र यो अझ बढ्न सक्छ, त्यहाँ कुनै शान्ति छैन, हामी डराएका छौँ ।”

बुधबार हमास र इरानी रिभोल्युसनरी गार्डले ६१ वर्षीय हानिया तेहरानमा इजराइली आक्रमणमा मारिएको घोषणा गरेका छन् ।

उनी मङ्गलबार इरानी राष्ट्रपति मसुद पेजेसकियानको शपथ ग्रहण समारोहमा सहभागी हुन इरानी राजधानीमा थिए ।

प्यालेस्टिनी आन्दोलन हमासका राजनीतिक प्रमुखका रूपमा हानियाले गाजामा युद्ध अन्त्य गर्न र इजरायलमा प्यालेस्टिनी कैदीहरूको बदलामा यस क्षेत्रमा राखिएका बन्धकहरूलाई रिहा गर्ने सम्झौताका लागि वार्ताको निरीक्षण गरिरहेका थिए ।

हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले हानियाको हत्याले इजरायलसँगको युद्धलाई ‘नयाँ स्तर’ मा पुर्याएको भन्दै ‘सम्पूर्ण क्षेत्रका लागि ठूलो परिणाम’ को चेतावनी दिएको छ ।

इजरायलमा हमासको अभूतपूर्व आक्रमणपछि युद्ध सुरु भएको हो । आधिकारिक इजरायली आँकडाका आधारमा एएफपीको ट्यालीअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ९७ जनाको मृत्यु भएको थियो ।

हमास लडाकूहरूले दुई सय ५१ बन्दीलाई बन्धकसमेत बनाएका छन् । तीमध्ये एक सय ११ अहिले पनि गाजामा छन् र तीमध्ये ३९ जनाको मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ ।

हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयलका अनुसार हमासविरुद्धको इजरायली जवाफी आक्रमणमा गाजामा ३९ हजार चार सय ४५ जनाको मृत्यु भएको छ ।

कतार र इजिप्टको मध्यस्थता तथा अमेरिकाको समर्थनमा हमास र इजरायलबीच युद्धविराम र बन्धकहरूको रिहाई सम्झौताका लागि महिनौँसम्मको वार्ता असफल भएको छ । इजरायल र हमास दुवैले सम्झौतामा ढिलाइका लागि एकअर्कालाई दोषारोपण गरेका छन् ।

हाइफाका अर्का बासिन्दा अवित बेन–इशाईले भने, “बन्धकहरू घर फर्किएपछि हामी खुशी हुनेछौँ र युद्ध समाप्त हुनेछ ।”

अभियान समूह होस्टेज एन्ड मिसिङ फ्यामिलिज फोरमले युद्धको पछिल्लो करिब १० महिनाको सैन्य उपलब्धिलाई स्वीकार गरेको छ तर ‘साँचो उपलब्धि’ बन्धकहरूको फिर्तीपछि मात्र आउनसक्ने बताएको छ ।

हानियाको हत्याको घोषणापछि जारी विज्ञप्तिमा भनिएको छ, “समयको सार हो र हामी इजरायली सरकार र वैश्विक नेताहरूसँग वार्तालाई निर्णायकरूपमा अगाडि बढाउन आग्रह गर्दछौँ, यो सम्झौताका लागि समय हो ।”

तेल अभिव निवासी शाहर बिन्यामीले हमास र लेबनानका हिजबुल्लाह आन्दोलन जस्ता सहयोगीहरूले हानियाको हत्यामा कस्तो प्रतिक्रिया दिन्छन् भन्ने कुराले चिन्तित रहेको बताए ।

“हमास र हिजबुल्लाहको प्रतिक्रियाले मलाई अहिले तनाव दिएको छ”, डरका कारण सामुद्रिक तट जाने योजना रद्द गर्दै २५ वर्षीय बिन्यामीले भने, “मेरो साथी सेप्टेम्बरमा उत्तरमा रिजर्भ सेवामा थिए र उनलाई स्ट्यान्डबाइ हुन भनिएको थियो ।”

हानियाको हत्या हुनु केही घन्टाअघि मङ्गलबार राति इजरायली आक्रमणले दक्षिण बेरुत उपनगरको एक भवनमा हिजबुल्लाहका शीर्ष कमान्डर फुआद शुक्रलाई निशाना बनाएको थियो । लेबनानी समूहले अहिलेसम्म शुक्रको मृत्युको पुष्टि गरेको छैन ।

आफ्नो पहिलो नाम मात्र बताउने तेल अभिव निवासी ज्याकोबले हानियाको हत्याबाट द्वन्द्वको समाधान हुन्छ वा हुँदैन भन्नेबारे निश्चित नभएको बताए ।

“हाम्रो लक्ष्य सबैभन्दा पहिला बन्धकहरूको रिहाई हुनुपर्छ र अक्टोबर ७ को युद्ध हुनुहुन्नथ्यो”, उनले भने, “इजरायलले मध्यपूर्वमा शान्तिपूर्ण अस्तित्वका लागि सक्दो प्रयास गरिरहेको छ, हामीले सधैँ हाम्रो रक्षा गर्नुपर्छ ।”

म्यान्मामा थप ६ महिनाका लागि सङ्कटकाल विस्तार

म्यानमाको सेनाप्रति बफादार (जुन्टा) ले बुधबार आपतकालीन अवस्थालाई ६ महिनाका लागि विस्तार गरेको छ ।

सरकारले आपतकालिन अवस्थाको अवधि थप छ महिनाका लागि विस्तार गर्ने सर्वसम्मतिले निर्णय गरेको स्थानीय प्रसारक एमआरटिभीले जनाएको छ ।

सेनाले सन् २०२० को चुनावमा धोखाधडीको अप्रमाणित आरोप लगाएर सन् २०२१ मा आङ साङ सुकी नेतृत्वको निर्वाचित सरकारलाई सैन्य ‘कु’मार्फत हटाएर सत्ता कब्जा गरेको थियो ।

स्थापित जातीय अल्पसङ्ख्यक सशस्त्र समूह र नयाँ प्रजातन्त्र समर्थक ‘पिपुल्स डिफेन्स फोर्स’ द्वारा जुन्टा विरुद्धको सशस्त्र विरोधलाई दमन गर्न सङ्घर्ष गर्दा यसले आपतकालिन अवस्थालाई धेरै पटक विस्तार गरेको छ ।

म्यानमाको सेनाले बनाएको सन् २००८  को संविधान जुन्टाले अझै पनि लागु गरिरहेको छ । संविधानले आपतकालिन अवस्था हटेको छ महिनाभित्र नयाँ चुनाव गर्न निर्देश गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार म्यान्मामा सेना र विपक्षीबिचको झडपका कारण २७ लाख मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

‘बुलाकी’ को ‘सधैं पछि परन्या हुन् स्त्री’

काठमाडौं । यही साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ ले नयाँ प्रचारात्मक सामग्री सार्वजनिक गरेको छ ।

‘सधैं पछि परन्या हुन् स्त्री’ बोलको गीतले नारी वेदना बोल्छ । पछिल्लो क्रममा महिला प्रधान मनिएका फिल्ममा समावेश हुँदै आएका यो प्रकारका गीत दर्शक श्रोतामाझ लोकप्रिय छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माण भएको ‘बुलाकी’को उक्त गीतमा स्वर पछिल्लो पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारीको छ भने शब्द संगीत बाबुल गिरीको छ ।

एरेञ्जको र मिक्सिङको काम धनबहादुर गिरी (बाबुल) ले नै गरेका छन् । फिल्ममा समावेश दृश्यहरूलाई जोडेर तयार गरिएको गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय विराज विष्ट र नरेन खड्कासहित कलाकारहरू सरस्वती खत्री, रमेश बुढाथोकी, सुशील पोखरेल लगायतलाई प्रस्तुत गरिएको छ । स्व. मोती विष्टको प्रस्तुतिमा बनेको ‘बुलाकी’लाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् ।

अर्जुन जिसीको सम्पादन र शिव ढकालले छायांकन गरेको फिल्मको प्रोडक्सन हेड धनबहादुर राई हुन् । यो फिल्ममा कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायत पनि अभिनयमा छन् ।

बलाधिकृत रथी सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको कामु प्रधानसेनापतिको जिम्मेवारी अशोकराज सिग्देललाई तोकेका छन् ।

राष्ट्रपति कार्यालयले प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त भई अनिवार्य अवकाश पाउने र साउनको २५ गतेदेखि घर बिदामा बस्ने भएकाले ज्येष्ठताक्रममा रहेका बलाधिकृत रथी अशोकराज सिग्देललाई कामु प्रधानसेनापति तोकिएको जनाएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले साउन २५ गतेदेखि लागू हुने गरी सिग्देललाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोक्न सिफारिस गरेको थियो । प्रधानसेनापति अवकाश हुनु एक महिनापहिले बिदामा बस्ने र बलाधिकृत रथीलाई कामु प्रधानसेनापतिको जिम्मेवारी तोक्ने प्रचलन छ ।

प्रहरी सरुवालाई अन्यथा नबुझ्न गृहमन्त्री लेखकको आग्रह

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले मुलुकभरका कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी रहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक भएको बताएका छन् ।


बुधबार  संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा  गृहमन्त्री लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सिदा रकम वृद्धिलगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरुरी रहेको बताए ।


“बन्दी र कैदीका रुपमा कारागारमा रहेकाहरुको मानव अधिकारको पूर्ण रुपमा संरक्षण गरिनेछ”, मन्त्री लेखकले भने, “त्यहाँको स्थिति सुधार गर्ने तथा सुविधा बढाउने प्रयत्न गरिरहेका छौँ ।”


  शान्ति सुरक्षा र कारागार व्यवस्थापनसम्बन्धी सांसदहरुले उठाएको विषयमा बोल्दै उनले भौतिक संरचना निर्माणलगायत समग्र विषयमा आर्थिक स्रोत जोडिएको बताए ।


“सीमित स्रोतसाधन र सीमित आर्थिक व्यवस्थामा अली बढी काम गर्नुपरिरहेको छ”, मन्त्री लेखकले  भने, “कारागार र बाल सुधारगृहको भौतिक अवस्था अपर्याप्त, जीर्ण र दयनीय छ ।”


मन्त्री लेखकले बाल सुधारगृहमा बसेका बालबालिकाको आधारभूत मौलिक हक, अधिकार  र मानव अधिकार संरक्षण एवं सुरक्षामा प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी देशमा शान्ति सुरक्षा, अमनचयन स्थापित गर्न तथा सुशासनको प्रत्याभूति एवं सुनिश्चितताका लागि केही कानुन संशोधन परिर्माजन र नयाँ निर्माणमा आफू लागि परेको बताए ।


“प्रहरी सङ्गठन सुदृढ गर्न प्रहरी ऐन संशोधन गर्नुपर्ने छ”, उनले भने,“समसामयिक रुपमा सुदृढ र समयसापेक्ष बनाउन संशोधन आवश्यक छ ।” कर्मचारीको सरुवालाई सरुवाकै रुपमा बुझिदिन उनले आग्रह गरे ।


मनसुनजन्य विपद्बाट ७७ वटै जिल्ला प्रभावित रहेको जानकारी दिँदै मन्त्री लेखकले प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको विकास, घटनापछि उद्धार र राहतका लागि सरकार लागिपरेको बताए  ।


चितवनको सिमलताल बस दुर्घटनाका विषयमा खोजी कार्यमा सक्दो प्रयास जारी रहेको उल्लेख गर्दै मन्त्री लेखकले सो कार्यमा सबै सुरक्षा निकाय खटिएको बताए ।


“सिमलताल घटनामा जति परिणाम प्राप्त गर्नुपर्ने हो त्यो गर्न सकेनाँै”, उनले भने, “भारतबाट पनि प्राविधिकसहितको टोली आएर खोजी कार्यमा जुट्दा पनि बस र सबै शव फेला पार्न सकिएन ।”


बैठकमा गृहसचिव एकनारायण अर्यालले मुलुकको समग्र शान्ति सुरक्षा, कारागार र बाल सुधारगृहको अवस्था, मनसुनजन्य विपद्का घटनामा भएको जनधनको क्षति लगायतको विषयमा जानकारी गराएका थिए ।

यो सरकार प्रचारबाजी होइन, काम गर्न आएको होः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताएकी छन् ।

बुधबार राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उनले भनिन्, “वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम गर्छ । यो सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर काम गर्न आएको हो ।”

नेपाली कांग्रेस र नेकपा (एमाले) यो देशमा ठूलो राजनीतिक परिवर्तनका साक्षी र सहयात्री रहेका तथा दुवै दलका नेताहरुले धेरै कुरा बुझेर र देशको आवश्यकता हेरेर नै सहकार्य गरेकाले यो सरकारको स्थायित्वका बारेमा प्रश्न नगर्न मन्त्री डा राणाको आग्रह थियो ।

उनले भनिन्, “नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीले धेरै कुरा बिचार गरेर मुलुकलाई निकास दिने उद्देश्यका साथ यो सरकार निर्माणका लागि लाग्नुभएको हो, त्यसैले यो सरकारले देशका लागि केही गरेर देखाउनेछ ।”

एक प्रश्नको जवाफमा मन्त्री डा राणाले नयाँ बनेको सत्तासमीकरण कुनै एक व्यक्तिका कारणले नभएर मुलुकका दुई ठूला दलले आवश्यकताको बोध गरेर निर्माण भएको स्पष्ट पारिन् ।

हिजो मात्र प्रधानमन्त्री केपी ओलीले यस विषयमा स्पष्ट गरेको स्मरण गर्दै उनले सरकार ढल्छ भन्ने या अरु कुनै पनि कारणले काममा ढिलासुस्ती गर्ने तथा नागरिकलाई डेलिभरी दिने काममा ढिला गर्ने छुट सरकार र कर्मचारी कसैलाई नभएको स्पष्ट गरिन् ।

मन्त्री डा राणाले कहीँ कतै प्रमाण या उजुरी नहुँदा नहुँदै पनि आफ्नो नाममा विभिन्न काण्ड खडा गरेर जोड्ने गरिएकामा आपत्ति जनाइन् । उनले भनिन्, “कतै तथ्य छैन, कुनै गल्ती गरेको अवस्था छैन । तर पनि कतिले सोसियल मिडिया त कतिले मिडियाबाट नै मेरो नाम मुछ्ने गरेका छन् ।”

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा जसले आफ्ना विरुद्ध बयान दियो भनेर दुष्प्रचार गरियो उसैले पछि मलाई चिन्दिन भनेको प्रसंग उल्लेख गर्दै अनावश्यक रुपले आफ्नो नाम जोड्न लगाइएको र एक किसिमले भन्दा मिडिया ट्रायल नै गरिएको आफ्नो अनुभव रहेको बताइन् ।

टीकापुर जग्गा प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा मन्त्री डा राणाले भनिन्, “म यहाँहरुलाई अनुरोध गर्छु कि यो सूचनाको हक भएको देश हो, यहाँहरु फिल्डमै जानुस् र के हो भन्ने तथ्य आफैँ थाहा पाउनुहोस्, कहीँ कतै मेरो गल्ती देख्नुभएछ भने म यहाँहरुसँग त्यतिबेलै कुरा गरौँला ।”उनले भनिन् “कस्तो दुष्प्रचार होला हेर्नु त ? प्रहरीको बयानमा मेरो नाम लियो रे भनेर पहिला प्रचार गरियो, तर पछि सोही व्यक्तिले उहाँलाई मैले चिन्दिन, नाम नै सुनेको छैन भन्यो । यसलाई कहाँसम्मको दुष्प्रचार भन्ने ?”

आफूमाथि लागेको आरोपहरु सत्य नभएको भन्दै आफूलाई केही गरेर शेरबहादुर देउवालाई तल पार्ने खेल भएको उनले बताइन् ।

मन्त्री डा राणाले राहदानी र कन्सुलर सेवा प्रवाहको अध्ययन गरी यी दुवै सेवा नेपाली नागरिकका लागि अति आवश्यक र परराष्ट्रले दिनुपर्ने सबैभन्दा महत्वपूर्ण र संवेदनशील सेवा रहेकाले नेपाली नागरिकलाई केन्द्रमा राखेर काम गर्न सबै कर्मचारीलाई निर्देशन दिइन् ।

राष्ट्रपतिद्वारा तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय एवम् सिफारिस बमोजिम राष्ट्रपतिले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशी नियुक्त गरेका छन् ।

त्यस्तै राष्ट्रपतिले बागमतीका यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियारलाई पदमुक्त पनि गरेका छन् ।

१८ देशमा राजदूत सिफारिस(सूचीसहित)

काठमाडौं । सरकारले १८ देशमा राजदूत सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलनमार्फत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

उनकाअनुसार मन्त्रिपरिषद बैठकले ५ देशका राजदूत फिर्ता, १८ देशमा राजदूत नियुक्ति सिफारिस र २२ सचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ ।

परराष्ट्रमन्त्री राणा कन्सुलर विभागको निरीक्षणमा पुग्दा..(फोटोफिचर)

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले बुधबार राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण गरेकी छन् । बुधबार त्रिपुरेश्वरस्थित विभाग पुगेर परराष्ट्रमन्त्री राणाले त्यहाँको कामकारबाहीबारे अनुगमन निरीक्षण गरेकी हुन् ।

त्यसक्रममा उनले वर्तमान सरकारमा भएका पार्टीले धेरै कामहरु गरेर देखाइ सकेको भन्दै देशको लागि केही गर्न सक्छौ भनेर देखावटी गर्न जरुरी नभएको बताइन् ।

विभाग पहिलाको तुलनामा धेरै राम्रो भएको भन्दै सेवाग्रहीलाई सहज रूपमा सेवा प्रवाह गर्न निर्देशन पनि दिएकी छन् । त्यसक्रममा सेवग्राहीले उनलाई सेवा छिटोछरितो बनाउन सुझाव दिएका थिए ।

घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको नीति छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ ।  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले रोजगारी तथा स्वरोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धनमा सरकारले ध्यान दिने बताएका छन् ।  

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँग बुधबार अर्थ मन्त्रालयमा भएको भेटका क्रममा अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगका पक्षमा आवश्यक नीति, नियम, कानुन, निर्देशिका ल्याउन मन्त्रालय तयार रहेको स्पष्ट गरे ।

“घरेलु तथा साना उद्योगको महत्व भनेकै देशका सबै जिल्ला, पालिका तहसम्म यसको विस्तार हुनु हो । रोजगारी सिर्जनाको प्रचुर सम्भावना रहेको यस क्षेत्रलाई अझै विस्तार गर्न सरकार र नीति क्षेत्रबीच सहकार्य हुन आवश्यक छ”, अर्थमन्त्री पौडेलले भने, “सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यका साथ काम गरिरहेको छ ।”

सरकारले सबै खालका उद्योग–व्यवसाय, रोजगारी, उत्पादन, उत्पादकत्वलगायत क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा सूक्ष्म रूपमा अध्ययन गरिहेको उल्लेख गर्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण भूमिकामा रहेका मुलुकका उद्योगी–व्यवसायीबाट प्राप्त रायसुझावलाई सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।   

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको अर्थतन्त्रको संवाहकका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योग तथा तिनका लगानीकर्ता अहिले प्रताडित अवस्थामा रहेको उल्लेख गर्दै २०७२ सालको विनाशकारी ‘गोरखा भूकम्प’ र त्यसपछिको कोरोना महामारीका कारण अधिकांश साना तथा घरेलु उद्योगको अवस्था दयानीय रहेकाले राहत तथा उद्धारका पक्षमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । 

धनगढीवासीले अब निःशुल्क रगत पाउने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास भएका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन् । धनगढी उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको हो ।

सम्झौताअनुसार उपमहानगरपालिकाभित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रेडक्रसबाट निःशुल्क रगत पाउने छन् ।

नगरवासीले प्रयोग गरेको रगतको मूल्य रेडक्रसलाई उपमहानगरपालिकाले  तिर्ने सम्झौता भएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए । चालु आर्थिक वर्षका लागि उपमहानगर र रेडक्रस शाखाले निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ ।

नगरवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत तथा रगतजन्य पदार्थको सहज र निःशुल्क उपलब्धता गराउने नगरप्रमुख हमालले बताए ।

उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीलाई त्रैमासिक रुपमा रकम भुक्तानी गर्नेछ । बिरामीलाई रगत अभाव नहोस् भनेर उपमहानगरको विभिन्न स्थानमा रक्तदान शिविरसमेत सञ्चालन गरिने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर धनगढीमा बिरामीका लागि रगतको अभाव खड्किँँदै गएको थियो । उपमहानगर र रेडक्रस शाखा धनगढीबीच गरिएको उक्त सम्झौताले समय–सयममा हुने गरेको रगत अभाव जस्तो समस्याको समाधानमा मद्दत पुर्याउने छ । 

नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्राएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् ।

शिष्टाचार भेटका लागि बुधबार प्रधानमन्त्री निवास बालुवाटार आएकी नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताए ।

उनले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्वीट्जरल्याण्डको अभ्यास स्थापित भएको उल्लेख गर्दै नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई भूइँतहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानी बढाउन सरकारले आवश्यक सुधारात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा ५० मुलुकबाट उत्साहजनक सहभागिता भएको उल्लेख गरे ।

नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएकाले विकास साझेदारबाट सहयोग अभिवृद्धिको अपेक्षा व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग, कोभिड—१९ को रोकथाममा सहयोग तथा शान्ति प्रक्रियामा सहयोग र सद्भावका लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले गत जुलाइमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको स्वीट्जरल्याण्ड भ्रमण र सन् २०१९ मा आफू प्रधानमन्त्री हुँदा डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा सहभागिताको स्मरण गर्दै यस्ता उच्चस्तरीय भ्रमण र बैठक आदानप्रदानबाट आपसी सम्बन्धमा नयाँ आयाम थपिने बताए ।

राजदूत डानियलले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको लागि बधाई र शुभकामना दिँदै दुई पक्षीय पारस्परिक हित तथा सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाइन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

एमसीसीअन्तर्गतको नयाँ दमौली सबस्टेशन निर्माणका लागि सम्झौता

काठमाडौं । एमसीसी परियोजनाअन्तर्गत नयाँ दमौली सबस्टेशन निर्माणका लागि सम्झौता भएको छ । बुधबार एमसिए नेपाल र भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिरियरिङ कम्पनीबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

३८.८९ मिलियन डलरको सम्झौता हस्ताक्षर दुई पक्षबीच हस्ताक्षर भएको छ । योसँगै तीनवटा चारसय केभी सबस्टेशनहरूको निर्माणका लागि सबै सम्झौता प्रक्रिया पूर्ण भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

नयाँ दमौली सबस्टेशनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशनहरूसँग ऊर्जा प्रवाहको लागि महत्वपूर्ण बिन्दुको रूपमा काम गर्नेछ ।

प्रिन्स दाहाल पेरिस ओलम्पिकमा समूह चरणको अन्तिम खेलमा पनि पराजित

काठमाडौ । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित भएका छन् । समूह चरणको अन्तिम खेलमा बुधबार इजरायलका मिसा गिल्बरम्यानसँग प्रिन्स २–० को सोझो सेटमा पराजित भए । १६ मिनेट चलेको खेलको पहिलो सेटमा प्रिन्स १२–२१ ले पराजित भए ।

यसैगरी २० मिनेटको दोस्रो सेट प्रिन्सले १०–२१ ले गुमाए । समूह ‘पी’ मा रहेका प्रिन्सले यसअघि डेनमार्कका भिक्टर एक्सेल्सन र आयरल्यान्डका नाट गुयेनकासँग पनि समान २–० सेटको हार ब्यहोरेका थिए ।

यससँगै पेरिस ओलम्पिक २०२४ मा सहभागी सात जना खेलाडीमध्ये ६ जना खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह बाहिरिइसकेका छन् । अब सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्न बाँकी छ ।

शेयर बजारमा एकैदिन २१ अर्ब ९१ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको कारोबार देखिएको छ । बुधबार नेप्से परिसूचक ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९१ विन्दुमा कायम भएको छ ।

नेप्से परिसूचकको वृद्धिसँगै आज शेयरबजारमा २१ अर्ब ९१ करोड १५ लाख तीन हजार एक सय ६१ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम अहिलेसम्मकै धेरै हो ।

यस अघि विसं २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड बराबरको कारोबार भएको थियो । त्यसयता कारोबार रकमले उक्त ‘रेकर्ड’ तोड्न सकेको थिएन । बुधबार उक्त ‘रेकर्ड’ तोड्दै कारोबार रकमले नयाँ ‘रेकर्ड’ कायम गरेको हो ।

आज तीन सय ३२ कम्पनीको पाँच करोड नौ लाख कित्ता शेयर दुई लाख ३८ हजार दुई सय ७२ पटक खरिदबिक्री हुँदा कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख तीन हजार पुगेको हो ।

आज कारोबारमा आएका कम्पनीमध्ये एक ९१ वटा कम्पनीको शेयर मूल्य बढ्दा आठ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । बढ्नेमा अधिकांश वित्त र लगानी समूहका कम्पनीहरु छन् । आजको कारोबारबाट सबै समूहको उपसूचक बढेको छ ।

आजको कारोबारमा ४४ कम्पनीको शेयर मूल्य सामान्य घटेको छ । कारोबार रकमका आधारमा हिमालयन र– इन्स््योरेन्स कम्पनी सबैभन्दा अगाडि छ । यो कम्पनीको ८४ करोडको शेयर कारोबार हुँदा माउन्टेन इनर्जीको ४१ करोड रुपैयाँको शेयर कारोबार भएको हो ।

नेपाल कमर्स क्याम्पसका प्राध्यापक विष्टका हत्या आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं–३२ का ३९ वर्षका रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट १५ साउनमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।

सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सविता थापा र विनोद थापालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो । खड्का र लोकन्थली बस्ने राजीव पाण्डेसहितको समूहले रड र इट्टा प्रहार गरी विष्टलाई घाइते बनाएका थिए । उनको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।

सिङ्गापुर र अमेरिकाबीच गैर–सैनिक परमाणु उर्जा सहयोग सम्झौतामा हस्ताक्षर

संयुक्त राज्य अमेरिका र सिङ्गापुरले बुधबार परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले एउटा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

एसियाको भ्रमणको क्रममा वासिङ्टनका शीर्ष कूटनीतिज्ञ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उनका सिङ्गापुरका समकक्षी भिभियन बालाकृष्णनले गैर–सैनिक परमाणु उर्जासँग सम्बन्धित ‘१२३ सम्झौता’ मा हस्ताक्षर गरेका हुन् ।

“यो सम्झौता संयुक्त राज्य अमेरिका र सिङ्गापुरबीच लामो समयदेखि रहेको सहकार्यमा आधारित छ । यसले आपसी प्रतिबद्धतामा आधारित शान्तिपूर्ण गैरसैनिक परमाणु उर्जा सहयोगका लागि गहिरो सम्बन्ध बनाउने विस्तृत ढाँचाको रूपरेखा बनाउँछ,” सम्झौतापछि दुवै देशका प्रतिनिधिद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

क्षेत्रीय वित्तीय केन्द्र र विश्वव्यापी सेमिकन्डक्टर उद्योगको एक प्रमुख उत्पादक सिङ्गापुर हाल तेल र प्राकृतिक ग्यासमा भने निर्भर छ । यसले सन् २०५० सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य पूरा गर्न परमाणु उर्जासहितका विकल्पहरूको अध्ययन गरिरहेको छ ।

अमेरिकी संसदले समीक्षा गरेपछि सन् २०२४ को अन्त्यसम्ममा यो सम्झौता लागु हुने अपेक्षा गरिएको छ ।

“यो सम्झौता ३० वर्षसम्म चल्नेछ र सिङ्गापुरलाई अमेरिकी ऊर्जा प्रविधि र निर्यात नियन्त्रणमा रहेको विशेषज्ञताबारे विस्तृत जानकारीको पहुँचमा सहजीकरण गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

“यो सम्झौतापश्चात सिङ्गापुर पनि अमेरिकी विदेश विभागको कार्यक्रममा सामेल हुनेछ जसले साझेदारहरूलाई थप उन्नत परमाणु ऊर्जा प्रविधिबारे बुझ्न सक्षम बनाउँछ ।”

वासिङ्टनले चीन, इन्डोनेसिया, फिलिपिन्स र भियतनामलगायत २२ वटा देशका साथै युरोपेली आणविक ऊर्जा समुदाय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी गरी दुई संस्थाहरूसँग सक्रिय ‘१२३ सम्झौता’ गरेको छ ।