`

बडिमालिका क्षेत्रको पर्यटकीय गुरुयोजना बनाउन माग

 मान्म। कालिकोटको र बाजुरा जिल्लाको बडिमालिका क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो । बडिमालिका क्षेत्रसँग जोडिएको त्रिवेणी पाटन पनि पर्यटन क्षेत्रको दृष्टिले राम्रो सम्भावना रहेर पनि अहिलेसम्म यसको गुरुयोजना बन्न नसक्दा यी क्षेत्रहरुको विकाससँगै प्रतिफल लिन नसकिएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ ।

बर्खायाममा हरियाली फाँटका दृश्यले भू-स्वर्ग झैँ लाग्ने त्रिवेणी पाटन हिउँदमा हिउँले ढाकिएर झनै मनै लोभ्याउने गरेको छ। कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका-८ को मुम्रा लेकमा पर्ने त्रिवेणी पाटन पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो ।

यो कालीकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धार्मिक मन्दिरका कारणले पनि चर्चामा रहेको छ । समुद्र सतहबाट चार हजार दुई सय १९ मिटर उचाइमा रहेको त्रिवेणी पाटन सौन्दर्यका दृष्टिले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ ।

नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्यहरु त्रिवेणी पाटनका विशेषताहरु हुन् । त्रिवेणी पाटन घुम्नलाई वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ । नजिकै रहेको बडिमालिका मन्दिरमा साउन जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गर्छ ।

मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाट पनि हजारौँ मानिस बडिमालिका पुग्ने गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए । त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौँ प्रजातिका फूल फुल्छन् । यो क्षेत्रका ३२ वटा पाटनमध्ये १२ वटा पाटन कालीकोट र २० वटा बाजुरामा पर्दछन् ।

त्रिवेणी पाटन क्षेत्रमा कस्तुरी, मृग, हिउँचितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायत वन्यजन्तु पाइन्छ । ‘यो क्षेत्र प्राकृतिक हिसाबले मात्र सुन्दर नभएर यहाँ पाइने जङ्गली जनवार पनि आकर्षणका केन्द्रविन्दु पनि हो,’ अछाम रामारोशन गाउँपालिका-५ का स्थानीय डम्बर रोकाया भन्छन् ।

कालीकोट, बाजुरा र अछाम जिल्लाका स्थानीयवासीको अछाम रामारोशन ताल, कालीकोटको त्रिवेणी पाटन र बाजुराको बडिमालिका क्षेत्रलाई जोडेर पर्यटकीय गुरुयोजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ ।

अछामको रामारोशन तालबाट एक दिनको दूरीमा त्रिवेणी पाटन र बडिमालिका पर्ने भएकाले विगतमा अछाम, बाजुरा र कालीकोटका स्थानीय तहका जनप्रतिनिधि बसेर पर्यटकीय गुरुयोजनाका लागि केही छलफल भएको र त्यसले मूर्त रुप लिन नसकेको अछाम रामारोशन गाउँपालिकाका पूर्वअध्यक्ष झङ्कर साउदले बताए ।

‘विगतमा हामीले पर्यटकीय गुरुयोजना बनाउनका लागि यसको प्रचारप्रसार गर्नका लागि कालीकोट, अछाम र बाजुराका स्थानीय तहका जनप्रतिनिधि बसेर छलफल गरेका थियौँ’, उनले भने, ‘त्यसले खासै मूर्त रुप लिन सकेन । अहिले त्यसका लागि पहल गर्न आवश्यक रहेको छ ।’

बडिमालिका क्षेत्रको इलाका ठूलो रहेको छ । यसले बाजुराको क्षेत्रको बढी भू-भाग ओगटेको, यसले कालीकोट र अछाममा केही भाग पनि नजिकै पर्दछन् ।

कालिकोट र अछामका ती भागमा रामारोशन ताल र त्रिवेणी पाटन पनि पर्ने गरेका कारणले विगतमा यस क्षेत्रको पर्यटकीय विकासमा ध्यान दिन सकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने व्यवसायीहरुको भनाइ छ ।

बडिमालिका, त्रिवेणी पाटन र रामारोशन क्षेत्र घना जङ्गल भएको क्षेत्र भएकाले यो क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडीबुटी पाइने गरेको छ ।पाँचऔँले, सुनपाती, चिराइतो, पाखनवेद, काउलो, चुत्रो, पावन काउलो रातो च्याउ, अल्लो, कटुकी, सुगन्धवाल, चिराइतो, कुरिलो, गुच्ची च्याउ, पदमचाल जस्ता जडीबुटी पाउने क्षेत्र हो ।

विषजरा, मधुजडी, धुपजडी, वनलसुन, बायोजडी, निनाइजडी, भूतकेश जटामसीलगायत दर्जनौँ प्रजातिका जडीबुटी अहिले लोप हुने अवस्थामा पुगेको कालीकोट सान्नी त्रिवेणी गाउँपालिका-८ का दलबहादुर केसीले बताए ।

यस क्षेत्रमा ब्रह्मकमल, बुकी फूल, जाई, जुई चमेली, सुन जाई, इन्द्रकमल, सेतो गुराँस, चाँप, चिमालोलगायत एक सयभन्दा बढी प्रजातिका दुर्लभ फूलहरु पाइन्छन् । अहिले बर्खायाममा विभिन्न जिल्लाबाट चराउनका लागि ल्याइएका भेडा, च्याङ्ग्रा र घोडाहरु वैशाखदेखि असोजसम्म यहाँ छाडा रुपमा चराउने चलन छ ।

ठूलो सङ्ख्या भेडा, च्याङ्ग्रा र घोडाहरुले लामो समय चरिचरन गर्दा पनि यहाँको जैविकता लोप हुने अवस्थामा रहेको देखिन्छ । बडिमालिका क्षेत्र बाजुराको त्रिवेणी नगरपालिका, बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिकामा, कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिका पर्दछ ।

अछामको रामारोशन गाउँपालिकाको बीचमा पर्दछ । बडिमालिका धार्मिक तथा पर्यटकीय दुवै दृष्टिबाट चर्चित गन्तव्य, पाँच महिना हिउँ र चार महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार हो। बडिमालिका क्षेत्रबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै जिल्लाको अवलोकन गर्न सकिन्छ ।

बडिमालिकामा पर्ने पाटन क्षेत्रको कूल क्षेत्रफल कति छ भन्ने कुराको आधिकारिक मापन नभएकाले यो क्षेत्रफल कति पर्छ भन्ने अहिलेसम्म पनि मापन नभएको कालीकोट रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।’यसको क्षेत्रफल कति भन्ने अहिलेसम्म मापन हुन सकेको छैन,’ उनले भने, ‘क्षेत्रफल मापनका लागि हामीले पहल गरिरहेका छौँ ।’

कर्णाली र सुदूरपश्चिम प्रदेशले बडिमालिका आफ्नो क्षेत्रमा पर्ने भन्दै पर्यटन प्रवर्द्धनका लागि बर्सेनि ठूलो रकम लगानी गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

बाजुरा जिल्लामा रहेको धार्मिक आस्थाको केन्द्र बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना छ । धार्मिक आस्थाको केन्द्र बडिमालिकामा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन विशेष पूजा हुने गर्दछ । त्यस दिन सबै तीर्थालुहरु बडिमालिकाको चुचुरोमा पुगिसकेका हुन्छन् ।

वर्षको दुईपटक गङ्गा दशहरा र जनैपूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका दिन भव्य मेला लाग्ने गरेको छ । गङ्गा दशहराभन्दा साउने चुतदर्शीका दिन दर्शनार्थीको घुइँचो बढी हुने गरेको कालीकोट नरहरिनाथ गाउँपालिकाका–१ का कटकबहादुर विष्टले बताए ।

मालिका देवीको स्वागतका लागि बाजुरालगायत कालीकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट सयुक्त टाँगो (पूजापाठमा आवश्यक पर्ने सामग्री) सहितको टोली आउने गरेको छ । बडिमालिका दर्शनका लागि तत्कालीन शाह राजाको दरबारबाट पनि पूजाआजाको सामग्री पुग्ने गरेको छ ।

त्रिवेणी पाटनमा हिउँमा खेलिने स्की खेलका लागि उपयुक्त क्षेत्रका रुपमा रहेको छ । नेपालमा कमै खेलिने स्की खेलका लागि कालीकोटको रास्कोट नगरपालिकाको छेत्तडी र सान्नी त्रिवेणी गाउँपालिकाको त्रिवेणी पाटन स्की खेलका लागि उपयुक्त क्षेत्रका रुपमा रहेको छ ।

कर्णालीलाई साहसिक खेल पर्यटनको गन्तव्यका रुपमा विकास र स्की खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कीसम्बन्धी गत फागुन २८ देखि चैत ४ गतेसम्म स्की खेलको तालिमको आयोजना भएको थियो ।

स्कीसम्बन्धी आधारभूत तालिमले कर्णालीको साहसिक खेल पर्यटनमा टेवा पुग्ने पर्यटन व्यवसायी तथा कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायाले बताए ।

“कर्णालीका प्रायः सबै ठाउँमा स्की खेलका लागि उपयुक्त क्षेत्र नै रहेका छन्”, उनले भने, “त्यसका लागि सबैभन्दा उपयुक्त ठाउँ बडिमालिका क्षेत्रभित्र पर्ने कालीकोटको रास्कोटमा पर्ने छेत्तडी र सान्नी त्रिवेणीको त्रिवेणी पाटन उपयुक्त रहेका छन् ।”

कर्णालीको साहसिक पर्यटनका क्षेत्रमा स्की खेल पनि एउटा रहेको र स्की खेलका लागि आफूहरुले पहिलोपटक रास्कोट छेत्तडीमा स्की खेलको तालिम सञ्चालन गरेको स्की सङ्घ कर्णाली प्रदेशका सचिव सह–सचिव मनराज सिम्खडाले बताउनुभयो । दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलको विकास गर्दै पर्यटनसँग जोड्न सहयोग पुग्ने उनको भनाइ छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले दिए पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन् । बैरागीले साउन ९ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

उनलाई २०८० जेठ ३२ गते राष्ट्रिय सुरक्षा परिषदमा नयाँ पद सिर्जना गरेर नियुक्त गरिएको थियो । वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने भएपछि बैरागीका लागि सरकारले उक्त पद सिर्जना गरेको थियो ।

बैरागीलाई मन्त्री सरहको सेवा सुविधा दिने गरी राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको थियो । अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि अर्याल हाल निलम्बित छन् । केही दिनअघि उनलाई विशेष अदालतले ५० हजार धरौटीमा रिहा गरेको थियो ।

नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ ।

काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा२ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको जानकारी दिए ।

उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

काभ्रेको रेशम विकास केन्द्रः उत्पादन घट्दै, जेनतेन सञ्चालन

 काभ्रे । करिब ५० वर्षअघि काभ्रेपलाञ्चोकको खोपासीमा स्थापित रेशम विकास केन्द्र जेनतेन सञ्चालनमा छ । पनौती नगरपालिका–१२ मा जीर्ण बन्दै गएका प्रशासनिक भवन छन् । केन्द्रको जमिनमा रेशम कीराको उत्पादन घट्दो छ ।

सरकारले विसं २०३२ सालमा स्थापना गरेको कार्यालयअन्तर्गत हाल एक सय २६ रोपनी जग्गामा यसको विस्तार गरिएको छ । सुरुमा रेशमखेती परियोजना महाशाखा हुँदै हाल रेशमखेती विकास केन्द्रमा रुपान्तरण गरिएको हो ।

यहाँ १७ कर्मचारीको दरबन्दी भए पनि १० कर्मचारी छन् । एउटा पुरानो पर्खालले घेरिएको, पुराना केही भवन रहेको यस केन्द्रमा पछिल्ला केही बर्षदेखि सरकारी बजेट घटाईंएका कारण उत्पादन घट्दै गएको बताइन्छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित केन्द्रले कुनै समय देशभर रेशमखेती विस्तार र यसमै सम्बन्धित नयाँ–नयाँ कार्यक्रम ल्याई किसानलाई रेशम खेतीतर्फ प्रेरित गराउँदै आएको थियो । जनशक्ति अभाव र वर्सेनि घट्दो बजेटले पहिलाको स्तरमा उत्पादन गर्न नसकेको केन्द्र प्रमुख कृष्ण धिताल बताउँछन् ।

उनी भन्छन्, ‘हामी बजेट र जनशक्तिअनुसारको उत्पादनमै लागेका छौँ ।’ उनका अनुसार केन्द्रलाई पहिलाकै रुप दिन सरकारीस्तरबाट ठूलो योजना बनाउनुपर्छ । यही जनशक्तिबाटै केन्द्रले यहाँ च्याउ खेतीको योजना बनाएको छ ।

केन्द्रले हाल रेशम कीराको मातृ स्रोतलाई संरक्षण गर्ने, रेशम खेतीका लागि आवश्यक किम्बूका बिरुवाको जातलाई जोगाउँदै व्यवस्थापन गर्ने र यससम्बन्धी आवश्यक तालिम सञ्चालन गर्ने काम गरिरहेको धितालले बताए । साथै, प्रदेश र जिल्लास्थित स्थानीय तहसँग समन्वय गरी रेशम कीराबारे प्राविधिक र व्यवस्थापकीय पक्षबारे सचेतना गराउने कार्यालयको उद्देश्य छ। सरकारले ठूलो लगानी गरेको कार्यालयबाट लगानी अनुसार प्रतिफल भने लिन सकेको छैन ।

कार्यालयले हाल यहाँ ३५ जातका रेशम कीराका माउको संरक्षण गरिरहेको जनाएको छ । यी माउ कीरा जापान, चीन, कोरियाबाट ल्याइएको धितालले बताए । ‘ती माउ पुस्ताको संरक्षण गरी किसानलाई वितरण गरिरहेका छौँ’, उनले भने ।

उनका अनुसार पछिल्लो चरणमा त्यस्ता माउहरुलाई क्रसिङ गरेर नयाँ जात उत्पादन गर्ने काम भइरहेको छ । किसानले विशेष गरी बायोभोल्टाइन जातका कीरा पालिरहेका छन् । ती कीरा पनि हाईब्रिड बनाएर किसानलाई दिइने गरिएको छ ।

किम्बूको बोटबाट आहार विकास गरी रेशम कीरापालनबाट प्राप्त कोया प्रशोधन गरी रेशम धागो उत्पादन गर्ने कार्यको एकीकृतरूपलाई रेशमखेती भनिने गरिएको हो । किम्बू खेती (आहार विकास), कीरापालन तथा कोया उत्पादन र कोया प्रशोधन (रिलिङ) यसको प्रक्रिया मानिने धितालले बताए ।

उनका अनुसार रेशम जसलाई रेशाको रानी पनि भनिने यो सुन्दर मुलायम, चम्किलो र बलियो हुन्छ । रेशमको यिनै भौतिक एवं प्राकृतिक गुणका कारणबाट यसको तुलनामा कुनै कृत्रिम रेशा आउन सकेका छैनन् ।

यहाँबाट रेशम कीराका अण्डा बाकसमा राखेर देशभरबाट माग आएका किसानलाई प्रतिबाकस रु ५० मा उपलब्ध गराइन्छ । एक बाकस बराबर करिब २० हजार अण्डा हुने र हरेक वर्ष कार्यालयले चार सय बाकस कीरा किसानलाई दिने गरेको धितालले जानकारी दिए । उनका अनुसार केही वर्षअघिसम्म वार्षिक तीन हजार आठ सय बाकससम्म कीराका अण्डा वितरण गर्दै आएको थियो ।

किम्बू खेतीगर्ने किसान घटेकाले कीरा पाल्ने पनि घटेको केन्द्रले जनाएको छ । ‘उत्पादित कोया जतिसक्दो छिटो प्रशोधन गर्न सकिएन भने यसबाट पुतली बन्ने भएकाले किसानले जोखिम लिन नचाहेकाले यसप्रतिको आकर्षण घटेको हुनसक्छ’, धितालले भने । केन्द्रले किम्बू खेतीका लागि २२ जातको संरक्षण गरिरहेको छ ।

भूकम्पले क्षतिग्रस्त केन्द्रका केही भवन मर्मत गरेर काम चलाइएको छ भने धागो प्रशोधन गर्ने मेसिन बिग्रिएकाले कार्यालय परिसरमै थन्किएको छ । कुनैबेला रेशम खेतीका लागि देशकै एक मात्र प्रयोगशालाका रुपमा परिचित केन्द्रमा लक्ष्य अनुसार काम नुहँदा अर्बौंको सरकारी लगानी प्रयोगविहीन भएको हो ।

केन्द्रलाई पुनःजागरण गराउन सके उत्पादन बढ्दै रोजगारीको अवसर बढाउन सकिने र हरेक वर्ष रेशम धागो आयातका लागि सरकारले गरेको करोडौँ लगानी रोक्न सकिने जनाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मागको तुलनामा रेशमको आपूर्ति ज्यादै न्यून रहेको पाइन्छ । नेपालमा हरेक वर्ष ८० करोड बराबरको धागो आयात हुने गरेको तथ्याङ्कले देखाएको छ ।

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–७ पालिया का  २८ वर्षीय झकबहादुर खड्का रहेका छन् । 


खड्का चार दिन अघि लागू औषधसहित मेचीनगर–६ बाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको थियो ।


मङ्गलबार राति १ः४० बजे स्वास्थ्यमा समस्या आएपछि खड्कालाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए । खड्काको उपचारका क्रममा मृत्यु भएको उनले बताए । 


यसैगरी प्रादेशिक अस्पताल भद्रपुरका कर्मचारी आज अस्पतालमै मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत स्वास्थ्य सहायक २४ वर्षीय सुरज शर्मा अस्पतालभित्रै झुन्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट

काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् ।

उद्योग मन्त्रालयमा बुधबार भएको भेटमा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा राजनीतिक एवं संस्कृतिक रुपमा पनि निकै घनिभूत रहेको बताए ।

उनले भने, ‘दुई देशबीचको जनस्तरको सम्बन्ध तथा आपसी सहयोगले नेपाल–चीनबीचको सम्बन्धको आयामलाई थप विस्तार गरेको अनुभूति गरेको छु, नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध छ र चीन विरोधी कुनै पनि कसिमका गतिविधिका लागि आफ्नो भूमिको दुरुपयोग हुन नदिने सङ्कल्पमा नेपाल सरकार दृढ रहेको स्पष्ट पार्न चाहन्छु ।’

नेपाल चीनको शान्ति, स्थायित्व एवं विकासमा योगदान गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउँदै मन्त्री भण्डारीले पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रवद्र्धन गर्न महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरुको आदानप्रदान भएको बताए ।

‘यस्ता उच्चस्तरीय भ्रमणहरुका क्रममा व्यापार, ‘कनेक्टिभिटी’ र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ पार्ने उद्देश्यले धेरै सहमति तथा समझदारीहरु भएका छन्, यस्ता किसिमका भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रहरु थप विस्तारित र समृद्ध हुनेमा म विश्वस्त छु’, मन्त्री भण्डारीले भने ।

नेपालको सामाजिक तथा आर्थिक विकासका लागि चीन महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको उनले बताए ।

उनले भने, ‘व्यापारको क्षेत्रमा चीन नेपालको दोस्रो ठूलो साझेदार हो भने प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्रमा पहिलो लगानीकर्ता मुलुक हो, नेपालको भौतिक तथा व्यापार ‘लजिस्टिक्स’ पूर्वाधार, अन्तर–आबद्धता, ऊर्जा, व्यापार, कृषि तथा औद्योगिक विकासका क्षेत्रमा चीनले खलेको महत्वपूर्ण भूमिकाको सरहाना गर्न चाहन्छु ।’

मन्त्री भण्डारीले द्विपक्षीय नाकाहरु पुनः सञ्चालनमा आएपछि दुई देशीय व्यापारको मात्रा उल्लेख्य रूपमा बढेको उल्लेख गरे । दोस्रो ठूलो व्यापार साझेदार भए पनि आयात र निर्यातबीच ठूलो खाडल देखिएको उनको भनाइ छ । 

‘हामी हाम्रो व्यापार पूर्वाधार विकास गर्न, यातायात सञ्जालको स्तरवृद्धि गर्न, भन्सार सुविधाहरूमा सुधार गर्न र हाम्रो ‘लजिस्टिक्स’ प्रणालीलाई आधुनिकीकरण गर्न इच्छुक छौँ, यी क्षेत्रमा चीनको विशेषज्ञता र लगानीको लाभमार्फत हाम्रो औद्योगिक विकास र दुई देशीय व्यापारलाई उल्लेखनीय रूपमा वृद्धि गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ छ’, उनले भने ।

चिनियाँ सरकारको सहयोगमा रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह तोकिएको मितिमा सम्पन्न हुनेमा मन्त्री भण्डारीले विश्वास व्यक्त गर्दै मुस्ताङको कोरालामा पूर्वाधार विकास गर्ने विषयमा नेपाल र चीन सरकारबीच सैद्धान्तिक रुपमा सहमति भइसकेकाले छिट्टै कार्यान्वयनमा जाने उल्लेख गरे ।

चीन सरकारको अनुदान सहयोगमा दैलेखमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनामार्फत पेट्रोलियम अन्वेषण कार्य द्रुत गतिमा अगाडि बढिरहेको मन्त्री भण्डारीले जानकारी गराए ।

उनले भने, ‘नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो, नेपालले यस क्षेत्रमा कानुन संशोधन र परिमार्जन गरी लगानीको वातावारण बनाएको छ, यसबाट नेपालमा थप चिनियाँ लगानी आकर्षित हुनेमा विश्वस्त छु ।’

मन्त्री भण्डारीले चीनमा नेपाली उत्पादनको बजार पहुँच विस्तार गर्न र चीनको बजारमा नेपाली वस्तुहरूको प्रवद्र्धन गर्न चीन सरकारसँग सहकार्य गर्न निकै उत्साही रहेको बताए ।

उनले भने, ‘यस सम्बन्धमा व्यापार मेला, व्यापार प्रतिनिधिमण्डल र द्विपक्षीय सम्झौता जस्ता पहलहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।’

भेटका क्रममा चिनियाँ राजदूत सोङले चीन–नेपाल आपसी सम्बन्ध विस्तार गरी सौहाद्र्र वातावरण सिर्जना गर्न समर्पित रहेको बताए । व्यापार र विकास निर्माणमा साझेदारी तथा नेपालको आर्थिक विकास र समृद्धिको साझेदारका रुपमा चीनले काम गरिरहेको बताए ।

राजदूतका रुपमा आफूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै अन्य मन्त्रालयसँगसमेत अन्तरक्रिया गरी सहकार्यको वातावरण बनाउँदै गएको सोङको भनाइ छ । 

यूएईमा मृत्युदण्ड सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान फर्किए नेपाल

काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसुङगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् ।

उनीहरूले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् । भुवन साता र पहलमान मगर बुधबार बिहान काठमाडौं आइपुगेका हुन् ।

भुवन र पहलमानलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । उनीहरूले नवलपरासीको मध्यबिन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ । युएईको कानुनअनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन् ।

कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी) भनेर अदालतले पीडित परिवारलाई सोध्छ । भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरे ।

बुधबार बिहान त्रिभुवन विमानस्थलमा ओर्लंदै पहलमानले आफूहरूले हत्या नगरेको भए पनि झुटो आरोपमा फसाइएको बताए । उनीहरू मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका अभियान्ताको सहयोगमा नेपाल फर्कन पाएका हुन् ।

कोर्चां डाँडा ‘भ्यू पोइन्ट’बाट माछापुच्छ्रे हिमाल हेर्दा

माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडा ‘भ्यू पोइन्ट’बाट देखिएको माछापुच्छ्रे हिमालको दृश्य ।

तस्बिरः धनबहादुर गुरुङ/रासस

भारतमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो

भारतको वायनाडमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १४३ पुगेको छ । पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको केरलाको स्वास्थ्य विभागले जनाएको छ ।

विनासकारी पहिरोले आवास तथा सडकहरू क्षतिग्रस्त हुनुका साथै जलप्रवाह बढेकाले उद्धार कार्यमा बाधा पुर्याएको जनाइएको छ ।

यसैबीच, मङ्गलबार केरला विधान सभामा राष्ट्रिय झण्डा आधा झुकाएको छ भने दुई दिने शोकको घोषणा गरेको छ ।

मङ्गलबार सङ्घीय मन्त्री जर्ज कुरियनले जारी राहत कार्यको समीक्षा गर्न वायनाड पुगी एनडीआरएफ, सीआरपीएफ र सेनाका वरिष्ठ अधिकारीहरूसँग भेट गरेको र राहत शिविरकोसमेत अवलोकन गरेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका छन् ।

मन्त्री जर्जले यसअघि, वायनाड पहिरोकोे जारी अवस्थाको मूल्याङ्कन गर्न स्वास्थ्य विभाग निर्देशनालयको भ्रमण गरी प्रभावित क्षेत्रमा उपचारको व्यबस्था मिलाउन निर्देशन दिए । मन्त्री जर्जले आवश्यकताअनुसार अस्थायी अस्पताल स्थापना गर्न सिफारिससमेत गरेका छन् ।

यसैबीच, भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले जुलाई ३१ र अगष्ट १ मा केरलामा भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

मुख्यमन्त्री पिनाराई विजयनले वायनाडको पहिरो प्रभावित चुरालमालामा उद्धार कार्य द्रूत बनाउन उच्चस्तरीय बैठक आयोजनमा गरेका थिए । यसमा विभिन्न केन्द्रीय सङ्घसंस्था र सेनासँगको सहकार्यमार्फत राहत अभियान अघि बढाउने विषयमा छलफल भएको थियो ।

सुदूरपश्चिममा सवारी दुर्घटनामा एक वर्षमा एक सय ७२ जनाको मृत्यु

अत्तरिया । गत आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ ।

सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिए ।

उनका अनुसार सवारी दुर्घटनामा परी गम्भीर र सामान्य गरी पाँच सय ३६ जना घाइते भएका छन् । जम्मा तीन सय नौवटा सवारी दुर्घटना भएका थिए । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको उनले जानकारी दिए ।

उनका अनुसार दुई सय सात मोटरसाइकल, ५० जिप/कार, ४० ट्र्याक्टर, २४ बस, १७ टेम्पो, १९ ट्रक/ट्याङ्कर, नौ टिप्पर, सात माइक्रो, तीनवटा डोजर र ३० अन्य सवारी साधन गरी चार सय छवटा सवारी साधन दुर्घटना भएका थिए ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको उहाँको भनाइ छ । गत आवमा छ हजार छ सय २६ वटा जनचेतनामूलक कार्यक्रम गरेको तथा उक्त कार्यक्रमबाट तीन लाख ८९ हजार दुई सय ६६ जना लाभान्वित भएका छन् ।

गत आवमै ट्राफिक नियम उल्लङ्घन गर्ने ७३ हजार चार सय ७९ जना सवारी चालक कारबाहीमा परेको र उक्त कारबाहीबाट चार करोड ८९ लाख ८७ हजार राजस्व सङ्कलन भएको प्रवक्ता उप्रेतीले जानकारी दिए ।

‘मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, तीव्र गति, चालकको लापरबाहीलगायत कारणले बढी दुर्घटना हुने गरेको पाइएको छ’, उनले भने,’अघिल्लो वर्षको तुलनामा नियम उल्लङ्घन गर्नेको सङ्ख्या घटेको छ । दुर्घटनाको सङ्ख्या भने घट्न सकेको छैन । ज्यान गुमाउनेको सङ्ख्या घटेको छ ।’

आर्थिक वर्ष २०७९/८० मा दुई सय ५५ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको थियो । सो आवमा सामान्य र गम्भीर गरी चार सय ७३ जना घाइते भएका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख १२ हजार छ सय ५५ सवारी चालक कारबाहीमा परेका थिए ।

उक्त कारबाहीबाट छ करोड ४३ लाख ७२ हजार राजस्व सङ्कलन भएको थियो ।

भोजपुरमा बाढीले बगाएका मजदुरको शव फेला

टक्सार (भोजपुर) । बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव बुधबार अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए ।

इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक तिम्सिनाले बताए ।

यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन थारुको भने स्थानीयले उद्धार गरेका थिए । बेपत्ताको खोजी गर्न प्रहरी चौकी चौकीडाँडा, इलाका प्रहरी कार्यालय दिङ्ला तथा सशस्त्र प्रहरी बलको  अस्थाइ बेश क्याम्प चौकीडाँडाको टोली खटिएको छ । 

यसैबीच मङ्गलवार राति आएको बाढीले षडानन्द नगरपालिका–२ मा दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठका अनुसार स्थानीय चित्रबहादुर दर्जी र निर्मला राईको घर बाढीले बगाएको हो । 

बाढीले बगाएका चित्रकी श्रीमती ६५ वर्षीया चन्दकुमारी दर्जीलाई स्थानीयवासीले उद्धार गरेका थिए । बाढीले एक तले घर र गोठ बगाउँदा  ६ लाख बरावरको क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । बाढीले गोरु, बाख्रा र कुखुरा पनि बगाएको छ । घर बगाएपछि ६ जनाको परिवार बिचल्लीमा परेको छ । उनीहरुलाई स्थानीय महेन्द्र राईको घरमा बस्दैआएका छन् । 

बाढीले निर्मलाको घर,  ५० हजार नगद, चार तोला सुन, ६ तोला चाँदी र घर भित्र रहेको सम्पुर्ण सामान बगाएको प्रहरीले जनाएको छ । उनको करिब  १० लाख बरावरको क्षति भएको छ । निर्मलाको परिवार स्थानीय राम राईको घरमा बस्दैआएको प्रहरीले जनाएको छ ।

हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरमा ७० भन्दाबढी घर डुबानमा

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भएका छन् । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्चस्थानमा सार्न मै उनीहरू व्यस्त रहे । 


भूमिगत पसल तथा साना उद्योगमा सामान हेर्दाहेर्दै डुबे । कसैले आफ्ना सामान जोगाएभने कयौँका बगे । यो क्षेत्रमा हनुमन्ते खोला पसेको होइन, कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुर थिमि नगरपालिकाको लापरबाहीका कारण समस्या भएको हो ।


रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्नमात्र भएका छैनन् त्यहा लाखौँको क्षति भएको प्रभावित परिवारले बताएका छन् ।


सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन् । हनुमन्तेको बाढी बालकोट पुलहुदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ । सडकबाट भेल बगेपछि बाटामात्र बन्द भएका छैनन् यहाँका विद्यालयहरु बन्द भएका छन् । बालकोटको माइक्रोबस पार्क क्षेत्रका बस्ती डुबनमा परेको छ ।


बालकोट क्षेत्रबाट राति १ बजेदेखि स्थानीयको उद्धारमा खटिएको  प्रहरी र स्थानीइले ५०जनाभन्दा बढीको उद्धार गरेका आरएनए ग्रुपका संयोजक अरुण सैजुले जानकारी दिए  उनले रातिदेखिनै भक्तपुर अस्तव्यस्त भएको बताए ।

इजरायली कारबाहीमा हिज्बुल्लाहका वरिष्ठ कमान्डरको मृत्यु

बीबीसी । इजरायलले लेबननको राजधानी बेइरुतमा गरिएको एक आक्रमणमा हिज्बुल्लाहका वरिष्ठ कमान्डर मारिएको दाबी गरेको छ ।

मुख्य सहरको बाहिरी क्षेत्रमा पर्ने दाहियामा भएको विस्फोटमा कम्तीमा एक जना मारिएको र कैयौँ अन्य घाइते भएका बताइएको छ।

उक्त क्षेत्रमा लेबननको सशस्त्र समूहको वर्चस्व भएको मानिन्छ । इजरायली सेनाले ‘सुराकीमा आधारित कारबाही’ अन्तर्गत लडाकु विमानबाट हिज्बुल्लाहका कमान्डर फुआद सुकरलाई निसाना बनाइएको जनाएको छ ।

तर स्थानीय सुरक्षा स्रोतहरूले निशाना बनाइएको भवनमा सुकर नभएको बताएका छन् । इजरायली अधिकारीहरूले गत शनिबार इजरायलको गोलन हाइट्समा अधिकांश बालबालिकासहित १२ जनाको ज्यान जाने गरी भएको रकेट आक्रमणमा उनी जिम्मेवार रहेको दाबी गरेका छन् ।

लेबननका प्रधानमन्त्री नजीब मिकातीले इजरायको खुला आक्रमण’को निन्दा गरेका छन्। उनले उक्त आक्रमणलाई आपराधिक कार्य भन्दै सर्वसाधारणहरूको ज्यान जाने गरी आक्रमण गरेर इजरायलले  अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन गरेको दाबी गरेका छन्।

काठमाडौँमा बाढीमा फसेका ३६ जनाको उद्धार(फोटोफिचर)

काठमाडौँ । भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।

काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।

ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।

बल्खु खोलामा आएको बाढीले बगाउँदा एकजनाको मृत्यु

काठमाडौँ । काठमाडौंको बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ ।

काठमाडौँ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि वाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो । बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिए ।

इजरायली कारबाहीमा हमासका प्रमुख नेता इस्माइल हानियाको मृत्यु

बीबीसी । हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरायली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ । हमासले विज्ञप्ति जारी गर्दै उनी मारिएको पुष्टि गरेको हो । तेहरानमा आफ्नै निवासमा रहेका हानिया इजरायली कारबाहीमा मारिएको भनिए पनि विस्तृत विवरण सार्वजनिक भएको छैन ।

उनको अर्को नाम अबु अल–अब्द हो। उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो। उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए । इजरायल–गाजा युद्धका क्रममा उनी कतारमा बस्दै आएका थिए । सन् १९८९ मा इजरायलले उनलाई तीन वर्ष जेलमा राखेको थियो ।

यसपछि उनलाई हमासका धेरै नेताहरूसँगै इजरायल र लेबनन बीचको ‘नो–म्यान्स ल्यान्ड’को रूपमा रहेको मार्ज अल–जुहुरमा निर्वासनमा पठाइयो । आफ्नो निर्वासन पूरा गरेपछि उनी गाजा फर्किएका थिए ।

सन् १९९७मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए। जसले उनको राजनीतिक हैसियत उच्च बनाइदियो ।

हमासले उनलाई सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्री नियुक्त गरेको थियो । तर त्यसको एक वर्षपछि प्यालेस्टिनी नेशनल अथोरिटीका प्रमुख महमूद अब्बासले उनलाई पदबाट बर्खास्त गरेका थिए ।

इज्ज अल–दिन अल–कसम ब्रिगेडले गाजा क्षेत्र कब्जा गरेपछि अब्बासको फतह आन्दोलनका प्रतिनिधिहरू निष्कासन भएसँगै उनले पनि पद गुमाएका थिए। त्यसक्रममा एक सातासम्म चलेको भिडन्तमा धेरै मानिस मारिएका थिए । हानियाले आफ्नो बर्खास्तीलाई असंवैधानिक भन्दै अस्वीकार गरे ।

उनले आफ्नो सरकारले नियमित कामलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको आफ्नो जिम्मेवारीलाई नछोड्ने बताएका थिए । त्यसयता हानियाले फतहसँग मेलमिलापका लागि पटकपटक अपिल पनि गरेका थिए ।

सन् २०१७ मा हमासको राजनीतिक इकाई प्रमुखमा निर्वाचित भएका उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो ।

सशस्त्र प्रहरीद्वारा कीर्तिपुरमा बाढीमा फसेका १५ जनाको उद्धार(फोटोफिचर)

काठमाडौँ । सशस्त्र प्रहरी बलले गएराति परेको अविरल वर्षाको कारण काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको उद्धार गरेको छ ।

शसस्त्र प्रहरीको निलबाराही गणबाट खटिएको सुरक्षा फौजले बाढीमा फसेका १५ जनाको उद्धार गरेको हो । अविरल वर्षाको कारण बाढीमा फसेको खबर पाएपछि बिहान ५ गणबाट फौज परिचालन गरिएको थियो ।

उनीहरुलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी सुरक्षित स्थलमा ल्याइएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

र्यापरको सहयोगमा ह्यारिसको निशानामा युद्ध मैदान जर्जिया

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटहरूको युद्धक्षेत्र विस्तार गर्न र हिप–हप स्टार मेगन थे स्ट्यालियनको उपस्थितिमा युवा काला मतदाताहरूलाई अपिल गर्ने आशामा जर्जियामा जुलुस निकालिन् ।

सन् २०२४ को निर्वाचनबाट पछि हट्नुअघि राष्ट्रपति जो बाइडेनको नेतृत्वमा आशाभन्दा बाहिरको देखिएपछि उपराष्ट्रपति ह्यारिसको अटलान्टा भ्रमण यस्तो समयमा भइरहेको छ जतिबेला उत्साहित डेमोक्रेटहरू स्विङ स्टेटलाई पुनः सक्रिय मान्न थालेका छन् ।

ह्वाइट हाउसको दौड अहिले आफ्नो चरम अवस्थामा छ । उन्साठ्ठी वर्षीया ह्यारिसले मङ्गलबार बाइडेनलाई प्रतिस्थापन गरेपछि आफ्नो पहिलो टेलिभिजन विज्ञापन जारी गरिन् । ट्रम्प खेमाले भने अध्यागमनको महत्त्वपूर्ण चुनावी मुद्दामा उनीमाथि हमला गर्दै द्वन्द्वयुक्त विज्ञापन जारी गरेको छ ।

“हामी जर्जियालाई अत्यन्त प्रतिस्पर्धी मान्दछौँ”, ह्यारिस अभियान रणभूमि राज्यका निर्देशक डान कानिनले सोमबार पत्रकारहरूसँगको कुराकानीमा भने, “स्पष्ट छ, उपराष्ट्रपतिले हाम्रो आधारलाई सक्रिय र सङ्गठित बनाइरहनुभएको छ ।”

दक्षिणी राज्यमा कडा सङ्घर्ष हुने सङ्केत गर्दै ट्रम्प र उनको दौडमा रहेका साथी जेडी भान्सले शनिबार अटलान्टामा आफ्नै र्याली आयोजना गर्ने घोषणा गरे ।

ट्रम्प अभियानले विज्ञप्तिमा भनेको छ, “कमला ह्यारिस र उहाँका सहयोगी साथीहरूले जर्जियाका महान जनतालाई उनीहरूको जागृत नीतिहरूका लागि ठूलो मूल्य चुकाउनुपरेको छ ।”

ह्यारिसले मिसिगन, विस्कन्सिन र पेन्सिलभेनियाका तीन ‘रस्टबेल्ट’ पोस्ट–औद्योगिक राज्यहरूमा आधारित डेमोक्रेटहरूको आशाका साथ कमजोर बाइडेनबाट धुमिल चुनावी नक्सा आफ्नो हातमा लिएकी छन् ।

तर उनीहरूले अहिले जर्जिया, एरिजोना र नेभादाजस्ता अन्य ‘सनबेल्ट’ राज्यमा पुनः आशाका साथ हेरिरहेकोह्यारिसको अभियानले बताएको छ । ती राज्यमध्ये सबैमा डेमोक्रेटहरूले सन् २०२० को निर्वाचनमा सामान्य अन्तरले जित हासिल गरेको थियो ।

युवा मतदाताहरूका लागि केही तडकभडक थप्न मेगन थे स्ट्यालियन क्रियाशील छन् । उनी ह्यारिसको सेलिब्रेटी समर्थकहरूको शृङ्खलामा पछिल्लो सेलिब्रेटी हुन् ।

श्रीलङ्काको पूर्वी प्रान्तमा बारुलाको आक्रमणपछि ४२ विद्यार्थी अस्पताल भर्ना

श्रीलङ्काको पूर्वी प्रान्तको किनिया प्रहरी डिभिजनको एक विद्यालयका कम्तीमा ४२ विद्यार्थीलाई मङ्गलबार बारुलाले आक्रमण गरेपछि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

विद्यालय भवनको छतमा रहेको बारुलाको गुँडमा भएको गडबडीपछि उक्त घटना भएको प्रहरीले जनाएको छ ।

विद्यार्थीहरूलाई क्षेत्रीय अस्पतालमा भर्ना गरिएको र उनीहरूको उमेर १० देखि १५ वर्षको बीचमा रहेको बताइएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । श्रीलङ्कामा बारुलाको आक्रमणहरू सामान्य हुन् ।

भोजपुरमा बाढीले बगाएर जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

टक्सार (भोजपुर) । अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गएरातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् ।

बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ ।

प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा सातजनाको टोली खोजीको लागि खटिएको छ ।

भारी वर्षाका कारण काठमाडौँ उपत्यकाका केही बस्ती डुबानमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा गएरातिको भारी वर्षाका कारण केही बस्ती डुबानमा परेका छन् । भक्तपुरको मनहरा र हनुमन्ते आसपासका बस्ती डुबानमा परेका छन् । भक्तपुरको हनुमन्ते खोलाले जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ ।

गएरातिदेखि भइरहेको वर्षाका कारण बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरू र नदी किनारबाट यात्रा गर्नेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । काठमाडौँको धोबीखोला, चाबहित र बागमती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ ।

भारतको केरलामा पहिरो जाँदा १२३ जनाको मृत्यु

बीबीसी  । भारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा चिया बगानमा कम्तीमा १२३ जनाको मृत्यु भएको छ भने कम्तीमा दुई सय ५० जनालाई बचाइएको अधिकारीहरूले बताएका छन् ।

केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षाले त्रसित भएको छ । वायनाड जिल्लाको प्रकोप क्षेत्रमा जाने बाटो अवरुद्ध भएकाले राहत कार्यमा कठिनाइ भएको छ ।

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले भने, “हालसम्म १२३ शव फेला परेका छन् । यो हाम्रो राज्यले देखेको सबैभन्दा खराब प्राकृतिक प्रकोप हो ।”

अन्य एक सय २८ जनालाई उद्धारपछि उपचारका लागि अस्पताल लगिएको उनले बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा भनेका छन्, “मेरो विचारहरू आफ्ना प्रियजनहरू गुमाउने सबैसँग र घाइतेहरूका लागि प्रार्थना छ ।”

जिल्लाका धेरैजसो बासिन्दा सुतिरहेका बेला बिहानैदेखि लगातार दुईवटा पहिरोले जिल्लाका धेरैजसो सम्पदा प्रभावित भएका छन् ।

नेशनल डिजास्टर रेस्पोन्स फोर्सले प्रकाशित गरेका तस्बिरहरूले उद्धार टोलीहरू बाँचेकाको खोजी गर्न र स्ट्रेचरहरूमा शवहरू बाहिर लैजान हिलोमा हिँड्दै गरेको देखाइएको छ ।

पहिरोले कार, नालीदार फलाम र विपद् स्थल वरपरका अन्य फोहोरहरू छरिएका कारण घरहरू खैरो धुलोले भरिएका थिए ।

भारतीय सेनाले राज्य सुरक्षा बलहरू र अग्निनियन्त्रकहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गर्न यस क्षेत्रमा दुई सयभन्दा बढी सैनिक तैनाथ गरेको बताएको छ ।

उक्त घटनामा घाइते पीडित परिवारले दुई लाख रुपैयाँ क्षतिपूर्ति पाउने प्रधानमन्त्री कार्यलायले बताएको छ ।

यसवर्ष शतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयको अपेक्षा

काठमाडौँ । सुखद मनसुन रहँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान रोपाइँ विस्तार भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

जबकि गत वर्ष यही अवधिसम्म जम्मा ७८ दशमलव १ प्रतिशत रोपाइँसम्म भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार यस वर्ष १२ लाख ९२ हजार दुई सय २१ दशमलव ६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभर धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार दुई सय ७३ रहेको छ ।

यस वर्ष कोशी प्रदेशमा ९० दशमलव ७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कोशीमा दुई लाख ५० हजार ६ सय २४ दशमलव ७७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । कोशी प्रदेशमा दुई लाख ७६ हजार ३ सय ८६ दशमलव ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने मन्त्रालयको तथ्याङ्क रहेको छ । यस प्रदेशमा गत वर्ष ८३ दशमलव ३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको थियो ।

मधेस प्रदेशमा गत वर्ष ५८ दशमलव ८ प्रतिशत मात्रै रोपाइँ भएकामा यस वर्ष हालसम्म ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । बागमती प्रदेशमा पनि रोपाइँको अवस्था बढेको तथ्याङ्कले देखाएको छ । यस प्रदेशमा अघिल्लो वर्ष ८० दशमलव १ प्रतिशत रोपाइँ भएकामा यस वर्ष बढेर ९० दशमलव ८ प्रतिशत पुगेको छ ।

गण्डकी प्रदेशमा गत वर्ष ८२ दशमलव ३ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९१ दशमलव ९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा गत वर्ष ८० दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९१ दशमलव ३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी कर्णाली प्रदेशमा गत वर्ष ८५ प्रतिशत मात्रै रोपाइँ भएकामा यस वर्ष ९६ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिममा गत वर्ष यही अवधिमा ९९ दशमलव २ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९९ दशमलव ३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

असार मसान्तसम्मको तथ्याङ्क हेर्दा ६८ दशमलव ६ प्रतिशतमा रोपाइँ भएको थियो । यो भनेको जम्मा नौ लाख ५९ हजार ७४६ दशमलव ०२ हेक्टरमा रोपाइँ सम्पन्न भएको थियो । तर रोपाइँको अवस्था बढेर आजसम्म १२ लाख ९२ हजार दुई सय २१ दशमलव ६ हेक्टर क्षेत्रफलमा रोपाइ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदिश्वर कर्माचार्यले मनसुन यता अहिलेसम्म औसतभन्दा बढी पानी परेको जानकारी दिए ।

‘आजसम्म ५८ दशमलव ६ प्रतिशत अर्थात् देशभर औसतमा आठ सय ६७ मिलिमिटर पानी परेको छ,’ उनले भने, ‘कतिपय स्थानमा कम पानी र कतै बढी पानी परेको छ । उदाहरणका लागि विराटनगरमा झन्डै शतप्रतिशत पानी परेको छ भने दिपायल र डोटीमा ९० प्रतिशत वर्षा भएको छ । यसैगरी सिमरामा भने जम्मा ३३ प्रतिशत वर्षा भएको छ ।’

कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकैभरमा सम्पन्न हुने गरेका छन् । सबै क्षेत्रमा सिँचाइको पहुँच पुग्न नसक्दा ५० प्रतिशतभन्दा बढी रोपाइँ आकाशबाट पर्ने पानीकै भरमा सम्पन्न हुने गरेको छ । जसले गर्दा अधिकांश किसानले आकाशबाट कहिले पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था रहेको छ ।

कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष राम्रो वर्षा हुँदा गत वर्षको तुलनामा धान रोपाइँ राम्रो भएको जानकारी दिए । ‘गत वर्षको तुलनामा यस वर्ष राम्रो वर्षा भएकाले रोपाइँ विस्तार भएको छ, यस वर्ष शतप्रतिशत नै रोपाइँ हुने अपेक्षा छ,’ उनले भने, ‘समयमा नै रोपाइँ हुँदा यस वर्ष धान उत्पादनमा पनि वृद्धि हुनेछ ।’

अधिकांश स्थानमा रोपाइँ गर्न आकाशे पानीकै भरपर्नुपर्ने अवस्था रहेको र वर्षा राम्रो भए रोपाइँ पनि समयमा नै सकिने जोशीले जानकारी दिए । ‘अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ समय नै हुने गर्छ, नत्र आकाशे पानीकै भर पर्नुपर्छ,’ उनले भने ।

सूचना अधिकारी जोशीका अनुसार तथ्याङ्कअनुसार सबैभन्दा बढी रोपाइँ सुदूपश्चिममा भएको छ भने कम रोपाइँ मधेस प्रदेशमा भएको देखिन्छ । पूर्वक्षेत्रमा ढिलोगरी धान राप्ने भएकाले पनि रोपाइँ कम भएको देखिन्छ । सबै प्रदेशमा नै अघिल्लो वर्षको तुलनामा यो वर्ष बढी रोपाइँ भएको छ । सुदूरपश्चिममा सबैभन्दा चाँडो रोपाइँ सुरु गर्ने भएर पनि अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी रोपाइँ भएको जोशीको भनाइ छ ।

‘मुलुकको सबै क्षेत्रमा सिँचाइ सुविधा नै पुग्न सकिरहेको छैन तसर्थ कृषि मन्त्रालयले सिँचाइ कुलो विस्तार गरेर धान रोपाइँलाई प्रवर्द्धन गरिने योजना छ,’ जोशीले भने, ‘कहिले खडेरीले धानको बीउ सुक्ने, कहिले पानी नपर्दा धानले सिँचाइ नपाउनेजस्ता समस्याका कारण धान उत्पादन वृद्धिमा समस्या आउने गर्छ ।’

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले राम्रो वर्षा हुँदा र समयमा नै धान रोपाइँ सम्पन्न भएमा धानको उत्पादनमा पनि वृद्धि हुने बताए ।

‘धान उत्पादन बढाउन समयमा नै रोपाइँ सम्पन्न गर्नुपर्छ, रोपाइँ सम्पन्न भएपछि पनि समयसमयमा धानले सिँचाइ पाउनुपर्छ,’ उनी भन्छन्, ‘तर नेपालको अधिकांश स्थानमा आकाशकै पानीको भरमा सिञ्चित गर्नुपर्ने अवस्था छ, आवश्यक परेका बेलामा वर्षा भएन भने त धानको उत्पादन पनि त बढ्दैन ।’

डा यादवले धानको आयात प्रतिस्थापन गरेर कृषिबाटै मुलुकको समृद्धि हासिल गर्न सम्भव रहेकोसमेत बताए । ‘हामी धान चामल आयात गरिरहेका छौँ, तर अब कसरी आयात प्रतिस्थापन गर्ने भन्नेतर्फ ध्यान जान जरुरी छ,’ उनले भने, ‘यसका लागि सिँचाइ सुविधामा वृद्धि हुनुपर्छ, किसानलाई प्रशिक्षण, गुणस्तरीय बीउ उत्पादन तथा किसानले समयमा नै मल पाउनुपर्छ ।’

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा ८८ करोड ६५ लाख मूल्य बराबरको धानको बीउ आयात भएको छ । यसैगरी करिब ११ अर्ब ५५ करोड मूल्य बराबरको धान आयात भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस अवधिमा ८ अर्ब ६९ करोड मूल्य बराबरको चामल आयात भएको छ । करिब ९ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ ।

जलस्रोत तथा सिँचाइ विभागको तथ्याङ्कअनुसार करिब २५ लाख ३० हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी सिँचाइको संरचना निर्माण गरिएको छ । तर करिब एक तिहाइ भूमिमा मात्र वर्षेभरि सिँचाइ सुविधा उपलब्ध हुन सकेको विभाद्वारा चैत २०८० मा प्रकाशित जलस्रोत तथा सिँचाइ वार्षिक पुस्तिकामा उल्लेख छ ।

‘हाल ठूला बहुउद्देश्यीय अन्तर–जलाधार जल–पथान्तरणका केही आयोजना निर्माणका क्रममा रहेका छन् भने केही निर्माणको तयारीका क्रममा रहेका छन् । करिब ५० प्रतिशत सिञ्चित कृषिक्षेत्र किसानद्वारा व्यवस्थित सिँचाइ प्रणालीमा रहेका छन्,’ पुस्तकमा उल्लेख छ, ‘निर्माण सम्पन्न भइसकेका साना आयोजना जलउपभोक्तालाई हस्तान्तरण गर्ने नीतिबमोजिम सम्बन्धित जनउपभोक्तालाई हस्तान्तरण गरिसकिएका छन् र सम्बद्ध संस्थाबाट सञ्चालन भइरहेका छन् । मझौला तथा ठूला सिँचाइ आयोजना भने सरकार तथा जलउपभोक्ता संस्थाहरूको संयुक्त संयुक्त व्यवस्थापनको अवधारणाअनुरूप सञ्चालनमा रहेका छन् ।’

धान उत्पादनको अवस्था

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार गत आवमा धानको कूल उत्पादन गत आवभन्दा चार दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन पुगेको थियो । जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव ०८ प्रतिशतले बढी हो ।

कूल धानबाली भित्र्याइएको क्षेत्रफल आव २०७९/८० को तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार ९ सय ८९ हेक्टर कायम हुन पुगेको छ ।

यो क्षेत्रफल अघिल्लो चार आव को औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा छ दशमलव ९२ प्रतिशतले बढी हो ।

गत आवमा धानको उत्पादन कोशी प्रदेशमा उच्च रहेको छ भने कर्णाली प्रदेशमा न्यून रहेको छ । गत आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश चार दशमलव ४३ मे टनप्रति हेक्टरसहित अग्र स्थानमा रहेको छ भने मधेस प्रदेश तीन दशमलव ४९ मेट्रिक प्रतिहेक्टर सीमित भई न्यून स्थानमा रहन पुग्यो । मुख्य धानको तुलनामा विगतका आवमा जस्तै चैते धानको उत्पादकत्व उच्च कायम रहेको छ ।

गत आवमा धान उत्पादन वृद्धि हुनुमा बीउको उपलब्धता र प्रयोग रोग कीराको प्रकोपमा कमी बाढीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ । मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारणले समग्र मधेस प्रदेशको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको छ ।

बर्दियामा धानको सुपर जोन विस्तार

गुलरिया (बर्दिया) । बर्दियामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चैते धानको सुपर जोन तथा माछा र केराको जोन विस्तार गरिएको छ । जिल्लाका आठ वटै पालिकामा कृषि उत्पादकत्व वृद्धिको आधार छनोट गर्दै जोन तथा सुपरजोन विस्तार गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ बर्दियाका अनुसार राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्र तथा ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ९ र बारबर्दिया नगरपालिकाको वडा नम्बर ३, ४ चैते धानको सुपरजोन हुन् ।

बाँसगढी नगरपालिकाको वडा नम्बर १, २ र ३ गुलरिया नगरपालिकाको १ देखि ९ सम्मका वडा र मधुवन नगरपालिकाको ५ देखि ९ सम्मको वडा केरा जोन तोकिएको परियोजनाकी नायब सुब्बा विमला भण्डारीले जानकारी दिइन् । 

उनका अनुसार, परियोजनाअन्तर्गत बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिकाको ४ देखि ९ नम्बर वडा, बारबर्दियाको वडा नम्बर ३, ४, ९ र १० गुलरियाको वडा नम्बर २, ४, ५ र ६, मधुवनको वडा नम्बर २, ३, ४ तथा ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, ७, ८ र ९ लाई माछा जोन तोकिएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २, ३, ४, ७, ८, जानकी गाउँपालिका वडा नम्बर १ देखि ४ सम्म र खजुरा गाउँपालिका वडा नम्बर २ र ४ लाई वर्षे धान जोन बनाइ परियोजना एकाइ बर्दियामार्फत सञ्चालन हुँदै आएको छ ।

सुपरजोन तथा जोनमार्फत गत आवमा बर्दियामा छ सय ५० हेक्टर क्षेत्रफलमा गरिएको चैते धान खेतीबाट क्रप कटिङको आधारमा तीन हजार चार सय छ मेट्रिकटन उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाई बर्दियाका कृषि अधिकृत ध्रुवराज जोशीले बताए ।

उनका अनुसार तीन सय ४५ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेतीबाट १४ हजार एक सय पाँच मेट्रिकटन केरा उत्पादन भएको छ । 

त्यस्तै दुर्ई सय ९२ हेक्टर क्षेत्रफलमा गरिएको माछापालनबाट दुई हजार एक सय ४५ मेट्रिकटन माछा उत्पादन भएको छ । बाँकेमा दुई हजार एक सय १० हेक्टर क्षेत्रफलमा गरिएको वर्षे धान खेतीबाट आठ हजार नौ सय २५ मेट्रिकटन धान उत्पादन भएको छ । जोशीका अनुसार चैते धानका लागि पर्याप्त सिँचाइ सुविधा नहुँदा समस्या पर्ने गरेको छ ।

सडक पूर्वाधार निर्माणले सिँचाइ कुलो मासिएका कारण खेतसम्म सिँचाइ पुर्याउन किसानले सास्ती ब्यहोर्नुपरेको उनको भनाइ छ ।

इयुद्वारा नवीकरणीय हाइड्रोजन सब्सिडी योजना अनुमोदन

युरोपेली आयोगले नेदरल्यान्ड्सको इलेक्ट्रोलाइसिस क्षमता बढाउने र नवीकरणीय हाइड्रोजनको उत्पादनलाई समर्थन गर्ने उद्देश्यले ९९ करोड ८० लाख यूरो (एक अर्ब अमेरिकी डलर) डच अनुदान योजना स्वीकृत गरेको घोषणा गरेको छ ।

यो पहल ब्रसेल्सको हरित एजेन्डासँग राम्रोसँग मिल्दोजुल्दो रहेको आयोगले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । यसले युरोपेली सङ्घ (इयु) हाइड्रोजन रणनीति र युरोपेली हरित सम्झौताको उद्देश्य अनुसार नवीकरणीय हाइड्रोजनको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

उक्त अनुदान योजनाले नेदरल्याण्डमा कम्तिमा २०० मेगावाट इलेक्ट्रोलाइसिस क्षमताको निर्माणलाई सहयोग गर्नेछ ।

यो योजनाले नेदरल्यान्ड्सलाई सन् २०२५ सम्ममा ५०० मेगावाटको इलेक्ट्रोलाइजर क्षमता र सन् २०३० सम्ममा तीन देखि चार गिगावाटको लक्ष्य हासिल गर्न मद्दत गर्ने जनाएको छ ।

मस्कको अलौकिक दृष्टिको प्रतिज्ञा खतरनाक रहेको शोधकर्ताहरूको चेतावनी

शोधकर्ताहरूले मस्तिष्क प्रत्यारोपण प्रविधिले अन्ततः बिरामीहरूलाई सामान्य मानिसको दृष्टिभन्दा राम्रो दृष्टि प्रदान गर्नसक्छ भन्ने अर्बपति एलन मस्कको आलोचना गरेका छन् । 

मस्कले लामो समयदेखि उनको न्युरालिङ्क कम्पनीले अन्धाहरूलाई दृष्टि प्रदान गर्नसक्ने प्रत्यारोपणमा काम गरिरहेको बताएका छन् । उनले मार्चमा सामाजिक सञ्जाल एक्समा आफ्नो १९ करोड अनुयायीलाई उक्त उत्पादनको नाम ‘ब्लाइन्डसाइट’ रहने बताएका थिए ।

उत्पादनले पहिलादेखि नै बाँदरमा काम गरिरहेको उल्लेख गर्दै उनले भने, “रिजोल्युसन पहिला निनटेन्डो ग्राफिक्सजस्तै सानो हुनेछ तर अन्ततः सामान्य मानव दृष्टिभन्दा धेरै हुनसक्छ ।”

तर वासिङ्टन विश्वविद्यालयका मनोविज्ञान प्राध्यापक इओन फाइनले भने, “यसो भन्नु खतरनाक कुरा हो ।” उनले साइन्टिफिक रिपोर्ट्स जर्नलमा सोमबार प्रकाशित लेखमा सहलेखन गरेका थिए । उक्त लेखमा त्यस्ता प्रत्यारोपणहरूले कसरी काम गर्न सक्छ भनेर अनुकरण गर्न ‘भर्चुअल बिरामीहरू’ भनेर चिनिने मोडेलको प्रयोग गरिएको छ । 

मस्कसहित नयाँ प्रत्यारोपणहरूको प्रभाव मानव जीवविज्ञानद्वारा सीमित हुनसक्ने लेखमा तर्क दिइएको छ । फाइनले आँखाबाट प्राप्त जानकारीलाई प्रशोधन गर्ने मस्तिष्कको क्षेत्र भिजुअल कोर्टेक्समा लाखौँ साना इलेक्ट्रोड प्रत्यारोपण गरेर उच्च–रिजोल्यसुन दृष्टि सिर्जना गर्न सकिन्छ भन्ने मस्कको विचार त्रुटिपूर्ण रहेको बताए ।

“इन्जिनियरले प्राय इलेक्ट्रोडलाई पिक्सल बनाउने भनेर सोच्छन् तर जीवविज्ञानले यस्तो तरिकाले काम गर्दैन”, उनले भने । 

मस्तिष्कमा छवि सिर्जना गर्नुमा प्रत्यारोपणले गर्नसक्ने तरिकाले व्यक्तिगत कोशिकाहरूलाई उत्तेजित मात्र गर्दैन,  त्यसपछि हजारौँ कोशिकाहरूमा सक्रिय हुने ‘न्युरल कोड’ पनि उत्पन्न गर्न समावेश छ । उनले वैज्ञानिकहरू कुनै अन्धो व्यक्तिमा सही न्युरल कोड पत्ता लगाउन नजिक नभएको बताए । यसको अर्थ प्रत्यारोपणको प्रभाव सीमित हुनेछ । 

“अन्धोपनले मानिसलाई असुरक्षित बनाउँदैन तर जीवनमा ढिलो अन्धो हुनुले मानिसलाई असुरक्षित बनाउन सक्छ”, उनले भने, “त्यसो भए एलन मस्कले ‘यो मानव दृष्टिभन्दा राम्रो हुनेछ’ भन्नुहुन्छ भने त्यस्तो भन्नु खतरनाक कुरा हो ।”

आगामी निर्वाचन एक्लै लड्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा पेरिसडाँडामा मंगलबार बसेको पदाधिकारी बैठकले ०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको हो ।

गठबन्धनमा रहँदा पार्टीको विचार र दृष्टिकोणमा असर पुगेको भन्दै माओवादीले एक्लै चुनाव लड्ने तयारी गर्नुपर्ने निचोडमा पुगेको हो।

पार्टी प्रवक्ता अग्नि सापकोटाले भने,’गठबन्धन गर्दा गठबन्धनमा आबद्ध दलहरूको कुरालाई प्राथमिकता राख्नुपर्ने हुन्छ। जसले गर्दा पार्टीको विचार दृष्टिकोणमा ठूलो असर पुगेको छ। हाम्रा कुराहरू सोजै जनतासमक्ष पुग्न सकिरहेको छैन। त्यसकारण पनि आगामी निर्वाचन एक्लै लड्नेगरी तयारी गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौं ।’

माओवादीले चुनाव एक्लै लड्ने उद्घोषण गरे पनि चर दल आबद्ध समाजवादी मोर्चालाई सशक्त बनाएर लैजाने निष्कर्ष पनि निकालेको छ।

जनताले पनि कम्युनिस्टहरूको पुनर्गठन चाहेको भन्दै माओवादी सामाजवादी मोर्चामार्फत त्यो अभियानलाई सशक्त बनाउने निष्कर्ष निकालेको हो । त्यस्तै माओवादीले प्रतिपक्षको भूमिका सशक्तरूपमा निर्वाह गर्ने निर्णय गरेको छ ।

संख्यात्मक हिसाबले कम भ पनि सदनलाई प्रभावकारी रूपमा अगाड बढाउने र जनताका समस्या र भ्रष्टाचारविरोधी अभियानका लागि सरकारलाई दबाब दिने निर्णय माओवादीले गरेको छ।

खोला बस्तीमा पस्दा सूर्यविनायकका ३० घर डुबानमा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको छ ।

मध्यरातिदेखि बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतलाभित्र पसेको पानी चार फिटसम्म पुगेपछि मध्यराति धेरैको बिचल्ली भएको थियो ।

घरको भुइँतलाका भान्सादेखि शयन कक्षसमेतमा पानी पसेपछि लत्ताकपडा, खाद्यान्न, ओछ्यान र इलेक्ट्रिक सामानमा क्षति पुगेको छ । साथै टोलमा रहेको नौवटा गाडी र २० भन्दा बढी मोटरसाइलसमेत पूरै डुबेर क्षति पुगेको छ ।

स्थानीय समाजसेवी अनिता पाण्डेले खोलाको बाढी बस्तीमा पस्दा करिब ३० घरका सामानमा क्षति पुगेको बताइन् । उनले घरमा रहेका गाडी, मोटरसाइकल र अन्य समानहरुमा क्षति पुगेको तथा लाखौँको क्षति पुगेको बताइन् ।

स्थानीय कला थापाले परिवार मध्यराति कोठामा पानी परेर झ्यालको उचाइसम्म पुगेपछि सानो बच्चा च्यापेर कौशीमा गएर बस्नु परेको बताइन् । यस क्षेत्रमा बस्ती बढेको र खोला साँघुरिएपछि हरेक वर्ष पानी बस्तीमा पस्ने गरे पनि यस वर्ष धेरै पानी पसेर पहिलोपटक धेरै क्षति पुर्याएको हो । कतिपयलाई खाने र राति सुत्ने सामानको समेत अभाव भएको छ ।

स्थानीय वडा कार्यालयका केही जनप्रतिनिधि र केही नेता आज बिहान आएर अवस्थाको निरीक्षण गरेर गए पनि स्थानीय भने खोलामा करिडोर निर्माण नगरिदिँदा समस्या आएको भन्दै आक्रोशित बनेका थिए ।

पाण्डेले स्थानीयले खोलामा करिडोर बनाउन वर्षौंदेखि माग गरे पनि जनप्रतिनिधिले चासो नदिएको भन्दै स्थानीय आक्रोशित बनेको बताइन् । खोलामा जमेको माटो हटाएर सम्भावित जोखिम कम गर्ने भनिए पनि तीन तहकै सरकारले दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्नुपर्ने उनले बताइन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले सोही स्थानमा खोलाको पर्खाल भत्किएको र एक खाद्य कम्पनीमा क्षति पुगेको बताए । उनले बस्तीमा पानी पसेको जानकारी आएपछि विभिन्न ठाउँमा क्षतिको विवरण लिन प्रहरी परिचालन गरेको जनाउँदै साँझसम्ममा सबै विवरण आउने बताए ।

बीआरआईअन्तर्गतका परियोजना नेपालको हितमाः राजदूत सोङ 

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक–सामाजिक विकासका निम्ति सक्दो सहयोग गर्न चीन तयार रहेको बताएका छन् । चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया सोसाइटीद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालको आर्थिक विकास चीनको चाहना भएको बताएका हुन् । 


राजदूत सोङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना नेपालको हितमा रहेका भन्दै  चिनियाँ कम्युनिष्ट पार्र्टीको २०औँ केन्द्रीय समितिको तेस्रोे राष्ट्रिय बैठकले निर्दिष्ट गरेका सुधार योजना नेपाललगायत छिमेकी देशका लागि महत्वपूर्ण रहेका बताए । उनले सुधारका योजनाबाट दुवै देशका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे । 


“यी सुधारका उपायले चीन र नेपाललाई हिमालय पारि सम्पूर्ण तवरले जोड्ने सञ्जाल निर्माणलाई चाँडो अगाडि बढाउन, कृषि, उद्योग, व्यापार, ‘डिजिटल टेक्नोलोजी’, ऊर्जा, पर्यटन  क्षेत्रको क्षमता विस्तारमा उपयोगी हुनेछन् । यसबाट नेपाललाई समृद्धिका अवसर प्राप्त हुनेछ”, राजदूत छनले भने । 


फरक प्रसङ्गमा उनले चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँं केन्द्रीय समितिको तेस्रोे बैठकले चीनको निरन्तर सुधार र खुलापनको सन्देश प्रवाह गरेको बताए । उनले चिनियाँ कम्युनिष्ट पार्टी सुधार र खुलापनलाई दृढतापूर्वक उठाउँदै नयाँ युगको नयाँ यात्रामा लम्किरहेको स्पष्ट पारे ।


चिनियाँ राजदूतले भने, “सुधार र खुलापनलाई निरन्तर प्रक्रियाका रूपमा कायम राख्ने निर्णय बैठकले गरेको छ, भविष्यका लागि अझ सुधार र विकासको योजना बनाएइका छन् ।”


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले समानता, आपसी हित र दिगो मैत्रीप्रति दृढ विश्वास भएका नेपाल र चीनबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताए ।


उनले भने, “दुई देशबीचको सम्बन्ध समस्या मुक्त छ, चीनले नेपालको विकासमा उदारतापूर्वक सहयोग गर्दै आएको छ ।  नेपालले सधैँ चीनको चासोलाई ध्यानमा राखेको छ । बिआरआई परियोजना कार्यान्वयनको ढाँचाबारे दुवै देशका सरकारले चाँडै निर्णय गर्ने र परियोजना शीघ्र कार्यान्वयन हुनेमा म विश्वस्त छु ।”


नेपाल र चीनबीचको सम्बन्ध सरकारीस्तमा मात्र नभई जनस्तरमा पनि  प्रगाढ बन्दै गएको भन्दै उनले जनता–जनताबीचको सम्बन्ध आपसी लाभ र समझदारी प्रवद्र्धनका लागि उपयोगी भएको बताए । उनले प्रविधि र ज्ञान आदानप्रदान शैक्षिक उन्नतिमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।


नेपाल चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चीनको विकास र समृद्धिको अनुभवबाट नेपाल र बाँकी विश्वले सिक्न सक्ने धेरै विषय रहेका बताए ।


पारस्परिक सहयोगलाई दिगो बनाउन जनता–जनताबीचको सम्बन्धलाई सुदृढ पार्न  सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले हाम्रा संस्था प्रामाणिक, निष्पक्ष र जवाफदेही पत्रकारितामा समर्पित रहेको बताए ।


चाइना मिडिया गु्रपका एसिया–प्रशान्त निर्देशक छा ओइ छाओ इले नेपालको परिचय आत्मीय र सरल नेपालीको हार्दिकताले दिनेगरेको भन्दै हरेक पटक आफूलाई नेपाल आउँदा पुरानो मित्रको घरमा आएजस्तो अनुभव हुने बताए ।


नेपाल विकासपथको खोजीमा सक्रिय रहेको बताउँदै उनले  स्वतन्त्रता, आत्मसुदृढीकरण र विकास समृद्धि हासिल गर्न नेपाल प्रयासरत रहेको पाएको धारणा राखे । उनले हिमालयको वारिपारि रहेका चीन र नेपालका बीच सर्वोच्च शिखर सगरमाथा रहेको र दुई देशका जनताबीचको सम्बन्ध पनि त्यति नै उच्च रहेको आफ्नो ठम्याइ रहेको सुनाए ।


सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले नेपाल र चीनबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे ।

जापानको बेरोजगारी दरमा सुधार

जापानको बेरोजगारी दर पछिल्लो महिनाको २.६ प्रतिशतबाट सामान्य सुधार भई जुन महिनामा २.५ प्रतिशतमा झरेको सरकारी तथ्याङ्कले मङ्गलबार जनाएको छ ।

एक वर्ष अघिको तुलनामा तीन लाख ७० हजारले वृद्धि भएर जुन महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६८.२२ मिलियन पुगेको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बताएको छ ।

मानिसहरूले स्वेच्छाले जागिर छाडी नयाँ काम खोजेका कारण बेरोजगार व्यक्तिहरूको सङ्ख्या जून महिनामा ३.३ प्रतिशतले घटेर मौसमी बेरोजगारीमा समायोजित हुदाँ १.७६ मिलियनमा पुगेको हो ।

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार मे महिनामा १.२४ रहेको जापानको रोजगार–आवेदक अनुपात जूनमा घटेर १.२३ पुगेर लगातार तेस्रो महिनासम्म भएको यो गिरावटले प्रत्येक सय जना रोजगारी खोज्नेहरूको लागि १ सय २३ रोजगारी उपलब्ध भएको सङ्केत गरेको छ ।

बङ्गलादेशका प्रदर्शनकारीहरू विरुद्ध अत्यधिक बल प्रयोग गरेकोमा ईयूको चिन्ता

कम्तिमा २०६ जनाको ज्यान जाने गरी भएको हिंसापछि युरोपेली सङ्घ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले मङ्गलबार बङ्गलादेशमा प्रदर्शनकारीहरू विरुद्ध “अत्यधिक“ बल प्रयोगको निन्दा गरेका छन् ।

यस महिना सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा भएको विद्यार्थीहरूको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । प्रहरी र अस्पतालको तथ्याङ्क अनुसार घटनामा प्रहरी अधिकारीहरूको पनि ज्यान गएको थियो ।

बोरेलले बङ्गलादेशको हिंसाले निम्त्याएको मृत्यु, यातना, सामूहिक गिरफ्तारी र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले अनुसन्धान गर्न र जिम्मेवारलाई न्यायको कठघरामा ल्याउन आह्वान गरेका छन् ।

“कानून प्रवर्तन अधिकारीहरू प्रदर्शनकारी र अन्य विरुद्ध अत्यधिक र घातक बल प्रयोग गरेको थुप्रै उदाहरणका लागि पूर्ण जवाफदेही हुनुपर्छ”, उनले  एक विज्ञप्तिमार्फत भने । “हामी यस सङ्कटको समयमा जिम्मेवार अधिकारीको कार्यहरू नजिकबाट पछ्याइरहेका छौँ । ईयू–बङ्गलादेश सम्बन्धको आधारभूत कुरालाई ध्यानमा राख्दै सबै मानव अधिकारको पूर्ण सम्मान हुने अपेक्षा गर्दछौं”, उनले भने ।

प्रधानमन्त्री शेख हसिनाको १५ वर्षको कार्यकालमा भएको यो सबैभन्दा घातक झडप हो तर उनको सरकारले व्यापक विरोध विरुद्ध गिरफ्तारी, सेना परिचालन र राष्ट्रव्यापी इन्टरनेट कटौतीजस्ता विभिन्न तरिका अपनाएर व्यवस्था पुनर्स्थापित गरेको छ ।

शेयर बजारमा ३५ अंकको बृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से ३५ अङ्कले बढेको छ । मंगलबार नेप्से ३५ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६ सय ९६ दशमलव ६५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा होटल, फाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज प्रोग्रेसिभ फाइनान्स, वरुण हाइड्रोपावर, सञ्जीवनी जलविद्युत्, नेपाल वेयरहाउजिङ, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

यस्तै अरू ६ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन एशियन हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज तीन सय २९ वटा कम्पनीका चार करोड तीन लाख कित्ता शेयर १७ अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको ६० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

सहमतिबमोजिम दुई वर्ष पुग्नु एकसाता अघि राजीनामा दिन्छुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सहमतिबमोजिम दुई वर्ष पुग्नु एकसाता अघि राजीनामा दिने बताएका छन् । मंगलबार सचिवहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्रीले आफूले कांग्रेससँगको सहमति पालना गर्ने बताएका हुन् ।

यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमतिबमोजिम दुई वर्ष पुग्नु एकसाता अघि राजीनामा दिने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने बताए ।

उनले भने,’त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारी ढुक्कले काम गर्नुस्, त्यसको जिम्मेवारी सरकारले लिनेछ ।’

। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाबमोजिम जनतामा प्रभावकारी सेवा प्रवाह गर्न, भोकमरी, र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध ढङ्गले काम गर्न निर्देशन दिए ।

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशनः ढुक्कले काम गर्नुस्, असफल हुने छुट छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको बताएका छन् ।

मंगलबार सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले प्रमुख दुई दलको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारेको बताए ।

उनले भने, ‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन ।’

सबै मन्त्रीहरू सहभागी बैठकमा प्रधानमन्त्री ओलीले असफल हुँदैन भनेर हात बाँधेर आरामले बस्न नहुने बताए । उनले भने, ‘असफल भइँदैन भनेर आरामले बसेर हामी सफल हुँदैनौँ । भाग्यमा छ भन्दैमा डोकामा दूध दोएर अडिँदैन । हामीले सफलताको संकेत यस आर्थिक वर्षमा दिनुपर्छ । अर्काे आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ । यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । देशका लागि केही गरौँ भन्ने अठोट भएको सरकार हो यो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । बिना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ ।’

प्रधानमन्त्री ओलीले आफूले सहमति बमोजिम दुई वर्ष पुग्नु एक साताअघि राजीनामा दिने त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेर स्थिरताको सन्देश दिने बताए ।

उनले भने, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारीहरूले ढुक्कले ठीक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिनेछ ।’

भारतको केरलामा पहिरोमा परी २४ जनाको मृत्यु

भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशंका गरिएको अधिकारीहरूले बताएका छन् ।

भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

केरला राज्यकी स्वास्थ्यमन्त्री रीना जर्जले समाचार तयार पार्दा सम्म विभिन्न अस्पतालमा २४ वटा शव प्राप्त गरेको बताउदै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीलाई बताइन् ।

भारतीय सेनाले खोज तथा उद्धार कार्यका लागि यस क्षेत्रमा २०० भन्दा बढी सैनिकहरू तैनाथ गरेको जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिएका छन् । उनले घटना प्रति दुखः व्यक्त गदै मृत आत्माको चिर शान्तिको कामना तथा परिवार जनमा समवेदना प्रकट गरेका छन् ।

केरलामा मङ्लबार थप वर्षाका साथै तीव्र हावाहुरीको पूर्वानुमान गरिएको राज्यको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ ।

उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदूत डीन आर थम्सनले आज शिष्टाचार भेट गरेका छन् ।

उद्योग मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले दुई मुलुकले लोकतन्त्र, मानव अधिकार, सार्वभौमिक समानता जस्ता विषयमा साझा दृष्टिकोण राख्दै आएको उल्लेख गर्दै अमेरिका नेपाललाई वैदेशिक सहायता प्रदान गर्ने पहिलो मुलुक भएको बताए ।

उनले भने, “नेपालको आर्थिक-सामाजिक विकास र लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्ने कार्यमा पु¥याएको सहयोगका लागि अमेरिकी सरकारप्रति उच्च कदर व्यक्त गर्दछु, संयुक्त राज्य अमेरिकाबाट प्राप्त विकास सहायताले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरण लगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ ।”

अमेरिका नेपाली वस्तु निर्यातको दोस्रो ठूलो गन्तव्य मुलुक रहँदै आएको उल्लेख गर्दै मन्त्री भण्डारीले पर्यटकको दृष्टिकोणले समेत अमेरिका महत्वपूर्ण मुलुक भएको बताए । उनले भने, “नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् २०११ मा व्यापार तथा लगानी कार्यढाँचा सम्झौता (टिफा) सम्पन्न भएको र उक्त सम्झौताअन्तर्गतको टिफा काउन्सिलको बैठकमा नेपाल सरकारका तर्फबाट यस मन्त्रालयले नेतृत्व गर्दै आएको छ ।”

सो काउन्सिलको छैटौँ बैठक सन् २०२३ को मे १९ मा काठमाडौँमा आयोजना भएको थियो । उक्त बैठकमा द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका विभिन्न विषयमा छलफल भएको उनको भनाइ छ । उनले भने, “टिफा काउन्सिलको सातौं बैठक निकट भविष्यमा अमेरिकामा आयोजना हुने अपेक्षा लिएको छु ।”

भूकम्पपछि नेपालको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउन अमेरिकी सरकारले नेपाल व्यापार प्राथमिकता कार्यक्रममार्फत नेपालका ७७ वटा विभिन्न वस्तुलाई सन् २०२५ को अन्त्यसम्म शून्य भन्सार महसुलमा अमेरिकी बजार प्रवेशको सुविधा प्रदान गरेको मन्त्री भण्डारीले उल्लेख गर्दै भने, “तत्कालीन विपद्को समयमा अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको यस सुविधाका लागि उच्च प्रशंसा गर्न चाहन्छु ।”

युएसआइडीको सहयोग एवं नेपालको निजी क्षेत्र, वित्तीय क्षेत्र र सरोकारवाला मन्त्रालयसँगको सहकार्यमा व्यापार तथा प्रतिस्पर्धी कार्यक्रम हाल कार्यान्वयनमा रहेको जनाउँदै उनले यस कार्यक्रममार्फत नेपालको लघु, साना तथा मझौला व्यवसायीको व्यावसायिक क्षमता विकास एवं अमेरिकी तथा युरोपेली बजारमा नेपाली वस्तु निर्यात गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेपालको भूपरिवेष्ठित अवस्थिति, साँघुरो उत्पादनमूलक क्षेत्र र न्यून उत्पादन क्षमता तथा उत्पादकत्वलाई मध्यनजर गरी नेपाल व्यापार प्राथमिकता कार्यक्रमलाई निरन्तरता दिनका लागि राजदूत थम्सनमार्फत मन्त्री भण्डारीले अमेरिकी सरकारसँग आग्रह गरे ।

अमेरिकाबाट नेपालमा सूचना, सञ्चार तथा प्रविधि, ऊर्जा, कृषि लगायतका क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भएको उल्लेख गर्दै उनले भने, “नेपालमा गत अप्रिलमा ५० भन्दा बढी मुलुकका लगानीकर्ताको उत्साहप्रद सहभागितासहित लगानी सम्मेलन सम्पन्न भएको छ, सो सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकारले विभिन्न सात वटा कानूनमा संशोधन गरी लगानी वातावरणलाई थप सहज बनाउने प्रयास गरेको छ ।”

साथै मन्त्री भण्डारीले पछिल्ला वर्षमा लगानी तथा व्यवसायसम्बन्धी प्रक्रियागत सरलीकरणमा समेत उल्लेखनिय सुधार भएको जनाउँदै नेपालमा थप अमेरिकी लगानी बढ्ने विश्वास व्यक्त गरे । जलविद्युत् तथा अन्य हरित ऊर्जा, सूचना तथा प्रविधि, पर्यटन, उत्पादनमूलक र अन्य क्षेत्रमा लगानी वृद्धिका उनले अमेरिका सरकारसँग अपेक्षा गरे ।

सो क्रममा राजदुत थम्सनले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरणलगायतका विभिन्न क्षेत्रमा सहकार्य जारी रहने बताउनुभयो । विगतमा रोक्का हुने भनिएको युएसएआइडीको कार्यक्रम निरन्तर हुने जनाउँदै उनले नेपाल र अमेरिकाबीच सन् २०११ मा सम्पन्न व्यापार तथा लगानी कार्यढाँचा सम्झौता (टिफा)को बैठक आगामी सेप्टेम्बर १६ र १७ मा नेपालमै बस्ने बताए ।

साथै उनले नेपाल व्यापार प्राथमिकता कार्यक्रममार्फत नेपालका ७७ वटा विभिन्न वस्तुलाई अमेरिकी बजार प्रवेशको सुविधा सन् २०२५ को अन्त्यसम्म मात्र शून्य भन्सार महसुल लगाउने म्याद रहेकामा त्यसलाई थप गर्न पहल गर्ने आश्वासन दिए ।

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ ।

प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको राहुघाटको ६ हजार दुई सय ७० मिटर लामो सुरुङको ‘ब्रेक थ्रू’ भएको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधदेखि वडा नं ३ तिल्केनीचौरसम्म जोड्ने सुरुङ जोडिएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । सो सुरुङ मार्ग खन्ने क्रममा चारवटा पहुँच मार्ग (अडिट) खण्डीकृत गरी ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ ।

रघुुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र प्रबन्ध सञ्चालक केसीले बाँध र अघेरीखोलाको अडिट नं २ जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङमा संयुक्त रुपमा ‘स्विच’ थिचेर विस्फोट गराई ‘ब्रेक थ्रु’ गरेका हुन् ।

अडिट १ बाट आठ सय ७५ र अडिट २ बाट एक हजार चार सय ५८ मिटर सुरुङ निर्माण भएको हो । गत फागुनमै जोडिएको तीन हजार आठ सय ३६ मिटर लामो दोस्रो र तेस्रो नं अडिटको सुरुङलाई लाइनिङ (प्लास्टर) गर्ने काम भइरहेको छ । गाउँपालिका अध्यक्ष भण्डारीले राहुघाटको मुख्य काम सुरुङ निर्माण भएकामा खुसी व्यक्त गर्दै आयोजना निर्माणमा सहजीकरण एवं समन्वय गरेको बताए ।

रघुगङ्गा गाउँपालिका–३ पिप्लेस्थित मुख्य सुरुङको आउटलेट (अन्तिम विन्दु)देखि तिल्केनीचौरमा निर्माणाधीन विद्युत्गृहमा पानी खसाल्ने पाइपलाइन राख्ने एक हजार ४९ मिटर लामो प्रेसर साफ्ट सुरुङ गत जेठ महिनामा जोडिएको थियो । मुख्य सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा लैजाने पाइपलाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण सकिएको छ । जलविद्युत् आयोजनामा सुरुङ निर्माण कार्यलाई प्राविधिकहरूले प्रमुख उपलब्धिका रुपमा लिने गर्दछन् । सुरुङ ब्रेक थ्रू भएकामा प्राधिकरण, प्रवद्र्धक, निर्माण कम्पनी, परामर्शदाता तथा जनप्रतिनिधिहरुले खुसियाली व्यक्त गरेको छन् । यसरी सुरुङको ‘ब्रेक थ्रू’ भएसँगै सिभिलतर्फ आयोजनाको ६० प्रतिशत काम सम्पन्न आयोजना प्रमुख राजबहादु विष्टले जानकारी दिए ।

सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७६ असार ८ गते पिप्लेस्थित अडिट नं ३ बाट सुरुङ निर्माण थालेको थियो । भारतीय आयात निर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी–पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको थियो । २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाएको छ । सो आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ २५ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) बमोजिम राहुघाट जलविद्युत् आयोजना निर्माणअघि बढाइएको थियो । पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना २०७० सालमा सम्पन्न हुनुपर्ने थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएको सो जलविद्युत् आयोजनालाई आठ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको छ ।

उक्त गाउँपालिका–४ दग्नाम र ५ नं वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृहको संरचना निर्माण भइरहेको छ ।

बेनी–जोमसोम–कोरला सडकको घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एउटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । सिभिल ठेकेदार जेपीका आयोजना प्रमुख हरिश अग्रवालले अब एक वर्षभित्र राहुघाटको परीक्षण उत्पादन गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको बताए ।

मुलुकको विकासका लागि दुई ठूला पार्टी मिल्नुको विकल्प छैनः महासचिव पोखरेल

देउखुरी (दाङ) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोख्रेलले संसद्का दुई ठूला दल मिल्नुको विकल्प नभएको बताएका छन् ।

प्रेस चौतारी दाङको आयोजनामा दाङको घोराही मंगलबार भएको पत्रकार सम्मेलनमा उनले प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस र एमाले मिल्नु अहिलेको आवश्यकता भएको बताए ।

“हामी सरकारका जानका लागि मात्रै मिलेका होइनौं देश विकासका लागि सहकार्य गरेका हौँ”, उनले भने, “लोकतन्त्रमा दुई ठूला दल मिलेर मात्रै निकास निस्कने भएकाले सहकार्य गरिएको हो ।”

उनले पुराना दल चाहिदैन भन्ने भाष्य बनाउन खोजिएको उल्लेख गर्दै मुलुकमा विकास र समृद्धिका लागि पुराना र स्थापित दल नै आवश्यक भएको बताए । उनले ठूला दलकै कारण मुलुकमा विकास र परिवर्तन भएका उल्लेख गरे ।

विश्वविद्यालयले विद्यार्थी विदेशिने क्रम रोक्न स्वदेशमा नै गुणस्तरीय शिक्षामा आफूलाई केन्द्रित गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्च शिक्षाका लागि देशमा नै अवसर प्रदान गर्नुपर्ने बताएका छन् ।

विश्वविद्यालयको मंगलबार भएको सिनेट बैठकमा प्रधानमन्त्री ओलीले समयको मागअनुसार अध्ययन–अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । उनले  ठूलो सङ्ख्यामा विद्यार्थी विदेशिने क्रमलाई रोक्न स्वदेशमा नै गुणस्तरीय शिक्षामा आफूलाई केन्द्रित गर्न विश्वविद्यालयका पदाधिकारीहरुलाई आग्रह गरे  ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विगतमा सेवा आयोगबाट लिइएका परीक्षाको नतिजा प्रकाशन, शिक्षक कर्मचारीको रिक्त दरबन्दीमा नयाँ भर्नाका लागि विज्ञापन गरी जनशक्ति अभाव पूर्ति, विश्वविद्यालय सेवामा प्रवेश गरिसकेका जनशक्तिलाई क्षमता अभिवृद्धि र अनुसन्धानका अवसर प्रदान गर्दै उनीहरुलाई सेवामा कायम राख्नु अहिलेको आवश्यकता भएको बताए । 

“यी विषयमा के कति काम भएका छन् भन्ने समीक्षा गर्न पनि जरुरी छ । यदि सुधारको गति सुस्त छभने यसलाई तीव्रता दिन सबैले आ—आफ्ना ठाउँबाट पहल गर्न म सबैलाई आग्रह गर्दछु”, प्रधानमन्त्री ओलीले भने, “विश्वविद्यालयको प्राज्ञिक तथा प्रशासनिक कार्यका विविध पक्षलाई मैले नजिकबाट नियालिरहेको छु । विभिन्न माध्यमबाट विश्वविद्यालयका गतिविधिबारे मैले जानकारी लिने गरेको छु । विश्वविद्यालयहरुमा कस्ता समस्या छन्, ती समस्या कसरी उत्पन्न भएका हुन् र तिनको समाधानका लागि विश्वविद्यालयका पदाधिकारी र सरोकारवाला पक्षसँग घनिभूत छलफल आवश्यक छ । सबैको प्रयासलाई र संयोजित ढङ्गले अघि बढाएर समस्याको समाधान गर्नुपर्छ ।”

प्रधानमन्त्री ओेलीले विश्वविद्यालयका नीतिगत र दीर्घकालीन महत्वका विषयमा आवश्यक गृहकार्य गरी चाँडै अर्काे सिनेट बैठक गरेर निचोडमा पुगिने विश्वास व्यक्त गरे । चाँडै अर्काे बैठक गरेर नीतिगत विषयमा छलफल गर्ने प्रधानमन्त्रीको उद्घोषलाई सभाका विद्यार्थी प्रतिनिधिले सकारात्मक रुपमा लिएका थिए ।

सिनेट बैठकमा सदस्यले बेरुजुका सम्बन्धमा उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले विगतदेखि नै बेरुजु घट्न नसकेकाले २८ अर्ब बेरुजु देखिएको सम्परीक्षण गराइएपछि त्यो रकम घट्ने विश्वास व्यक्त गरे । त्यसमा देखिएका जटिलताका विषयमा बनाउनुपर्ने कानुन निर्माणबारे संसद्मा छलफल हुने उनले बताए । प्रधानमन्त्री ओलीले सरकारबाट प्राप्त हुने रकमलाई विश्वविद्यालय अनुदान आयोगबाट विश्वविद्यालयलाई वितरण हुने भएकाले अनुसन्धानका लागि हाल निर्धारित रकममा कटौती नहुने स्पष्ट गरे । 

विश्वविद्यालयमा समावेशिता, सहभागिताका आधारमा परिणाम निकाल्न सक्नेगरी निर्णय हुनुपर्ने निर्देशन प्रधानमन्त्रीले दिए । प्रधानमन्त्री ओलीले प्राध्यापकको मर्यादा निर्धारण र भूकम्पबाट क्षति भएका क्याम्पसका भवन निर्माणमा तदारुकतासाथ काम गर्न आग्रह गरे । उनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने कानुनी व्यवस्था नै उपयुक्त हुने तर सभाले नराख्ने निर्णय गरेमा त्यो आफूलाई मान्य हुने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई सहभागी बैठकमा प्रस्तुत विभिन्न सङ्कायबाट ६२औँ ग्रेसलिष्टमा समाविष्ट ७३ हजार नौ सय ९५  विद्यार्थीलाई उपाधिका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पनि पारित भएको छ ।

शहरी विकास मन्त्री सिंहले गरे निर्माणाधीन संसद भवन अनुगमन

काठमाडौँ – उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सिंहदरबारमाभित्र निर्माणधिन नयाँ संसद भवनलाई समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन् । ।

मंगलबार निर्माणाधिन संसद भवनको अवलोकन गर्दै निर्माणका लागि देखिएको समस्यमा समाधान गर्दै समयमा नै सम्पन्न गर्न निर्देशन दिएको हो । उनले सदनको अगामी हिउदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने गरि काम सम्पन्न गर्ने लक्ष्य लिइएको उल्लेख गरे । प्रयाप्त संख्यामा कामदार नराखिएकाले निर्माणमा ढिलाई भएको गुनासोलाई सम्बोधन गर्दै त्यही अनुसारको जनशक्ति राखेर तीव्रताका साथ कामलाई अघि बढाउनुपर्ने उनले बताए । सिंहले अनुमगनपछि निर्माणमा देखिएका समस्यालाई आफुले समाधानका लागि पहल गर्ने जिकिर गर्नुभयो । ठेकेदार कम्पनीलाई बोलाएर समयमा नै सम्पन्न गर्नका लागि देखिएका जटिलता हटाउने उनको भनाइ छ ।
त्यस्तै मन्त्रालयका सचिव मणिराम गेलालले प्रयाप्त कामदार नदेखिएकाले ठेकेदार कम्पनीहरु छलफल गरेर निर्माण कार्यलाई तीव्रता दिने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ ।