`

पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा नेपालका प्रिन्स दाहाल पराजित

काठमाडौँ – नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा पराजित भएका छन् ।

मंगलबार फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोश्रो सेट जित्न १८ मिनेट खर्चे । विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सको यो लगातार दोश्रो हार हो । समूह चरणको पहिलो खेलमा पूर्व जुनियर नम्बर वान प्रिन्स विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसंग २१–८ र २१–६ को सोझो सेटमा चुकेका थिए । समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८ औं विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसंग बुधबार प्रतिस्पर्धा गर्ने छन् । कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित ४ खेलाडी छन् ।

ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेएता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो ।

तोलामा रु एक सयले घट्यो सुनको मूल्य

काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु. एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ४६ हजार निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला रु. एक लाख ४५ हजार चार सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज रु. एक लाख ४५ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा रु. १० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार सात सय ४० निर्धारण भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा वृद्धि

काठमाडौं – अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०/८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ थियो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा दुई लाख ७४ हजार दुई सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ७१ हजार सात ३१ थियो । गत आवमा भरतपुर महानगर हुँदै २७ हजार ९५६ पर्यटक आएका थिए । आव २०७९ / ८० मा यो सङ्ख्या २३ हजार २५७ थियो ।

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीले चितवन भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रचारले निकुञ्जमा पर्यटक बढेका बताए । उनले बाह्य मुलुकबाट धार्मिक पर्यटक आउनेगरी धार्मिक कार्यक्रम, देवघाटधाम महोत्सव, जङ्गल सफारी मार्ट, म्याराथन आयोजना गरिने जानकारी दिए ।

भ्रमण वर्षका अवसरमा देवनगरमा सर्वसाधारणका लागि हेर्न मिल्ने गरी उद्धार गरिएका पाटेबाघ राखिएका छन् । दियालो बङ्गला पनि सर्वसाधारणका लागि खुला गरिएको छ । यो पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ ।

गड्डाचौकी हुँदै छ महिनामा चार सय बढी पर्यटक भित्रिए

कञ्चनपुर, पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२४ को छ महिनामा चार सय ६५ विदेशी पर्यटक भित्रिएका छन् । सोही अवधिमा सीमानाका हुँदै भारततर्फ जाने विदेशी पर्यटकको सङ्ख्या १५ मात्रै रहेको छ ।

अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार सीमानाका हुँदै भारततर्फ जाने पर्यटकको सङ्ख्या न्यून छ । सीमानाका हुँदै भारत जाने पर्यटकका लागि भारत सरकारले सीमानाका खुला नगर्दा पर्यटक जाने क्रम रोकिएको छ । “नेपालका केही सीमानाकामात्र भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको छ”, कार्यालय प्रमुख भट्टले भने, “गड्डाचौकी हुँदै भारततर्फ जान विदेशी पर्यटकलाई भारतले रोक लगाएको छ ।”

“नेपाल भित्रिने विदेशी पर्यटकलाई भारतले सीमानाकामा रोकेको छैन”, उनले भने, “नेपाल भएर भारततर्फ जानेलाई सन् २०२१ को डिसेम्बर १० तारिखदेखि हालसम्म जान दिएको छैन ।” यसैकारणले पर्यटकलाई प्रस्थान डिपार्चर दिने कार्य स्वतः स्थगन भएको उनको भनाइ छ ।

सीमानाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकमा विशेषगरी भारतमा बस्दै आएकाहरू रहेका छन् । “भारतमा छ महिना बसेका विदेशी पर्यटकले देश छोड्नुपर्ने नियम छ”, कार्यालय प्रमुख भट्टले भने, “ती विदेशी पर्यटक छ महिना अवधि पुगेपछि नेपाल आउने गरेका छन्, पुनः भारत फर्कनका लागि उनीहरूले अर्को सीमानाकाको प्रयोग गर्ने गरेका छन् ।”

भारतमा बस्ने विदेशी पर्यटकले नेपाल आएपछि अधिकांशले १५ दिनका लागि राहदानी लिने गरेका छन् । विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको राहदानी दिइने गरेको छ । यसका लागि भिसा शुःल्क ३० डलर लाग्ने गर्दछ । तीस दिनको भिसाका लागि ५० डलर र ९० दिनको लागि एक सय २५ डलर शुःल्क लाग्ने गरेको कार्यालय प्रमुख भट्टले बताए ।

विसं २०८१ को असार मसान्तसम्म अध्यागमन कार्यालयले राहदानी शुल्कवापत ५९ हजार पाँच सय २७ डलर राजस्ववापत सङ्कलन गरेको छ । अध्यागमन कार्यालयको तथ्याङ्कानुसार सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्म सीमानाका भएर नौ सय ८३ विदेशी पर्यटक भित्रिएका थिए । सन् २०२२ मा जनवरीदेखि डिसेम्बरसम्म पाँच सय ४२ विदेशी पर्यटक भित्रिएका थिए । सन् २०२१ जनवरीदेखि जुलाईसम्म सीमानाका हुँदै भित्रिने पर्यटकको सङ्ख्या शून्य थियो । अगष्टदेखि डिसेम्बरसम्म ५८ पर्यटकमात्र भित्रिएका थिए ।

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज संसदबाट विश्वासको मत लिने छन् । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले कांग्रेस एमालेको गठबन्धनबाट सरकारको नेतृत्व हत्याएका हुन् । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ ।

मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

सरकारलाई पूर्णता दिए लगत्तै मुख्यमन्त्री लामाले सरकार सुरक्षित गर्ने उद्देश्य अनुसार संसदबाट विश्वासको मत लिने निर्णय गरेका हुन् । उनको निर्णय अनुसार प्रदेशसभा बैठक आह्वानका लागि प्रदेशसभा सचिवालय हेटौँडामा पत्राचार गरेका थिए ।

सोही अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आजका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् । दिउँसो ३ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफल सहित निर्णय हुनेछ ।

बीआरआईले उत्पन्न गर्ने दबाब धान्ने क्षमता हामीसँग छ ?

केशवप्रसाद भट्टराई ।

१. मोटो रकम कमिसन खानकै लागि नोभेम्बर २०१२ मा नेपालले ५ करोड डलर भन्दा बढी रकम चुक्ता गरेर चीनमा निर्मित केही हवाइजहाज किन्यो । स्वयं चीनले सीमित स्थानमा परीक्षण उडान गरिरहेकै स्थितिमा रहेका त्यस किसिमका जहाज नेपालले ठूलो उत्साह देखाएर खरीद गर्नुको पछाडि मूलतः कमिसन र चीनभक्ति प्रदर्शनको कारण थियो भनेर बुझ्न सकिन्छ । मुलुक र हवाई यात्रुहरू माथिको त्यो जघन्य अपराध थियो ।

२. करोडौँ डलर खर्चिएर किनेको जहाले शुरु देखिनै सेवा दिन नसकेपछि थन्किएर बसे र कवाडीको मोलमा बेच्न पनि नेपाललाई कति सकस परेको थियो–सबैमा ज्ञात नै छ । नेपालको यस्तो निर्णय प्रक्रियाले २०१३ देखि युरोपियन युनियनलाई नेपालका हवाइजहाजहरूलाई युरोपमा उडान भर्न प्रतिबन्ध लगाइदियो ।

. हामीले चीनसँग त्यत्रो ऋण लिएर पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनायौँ, प्रयोगविहीन ती विमानस्थलबापत वर्षेनी सावाँ–ब्याज तिर्न र विमानस्थलको रेखदेख र सम्भारमा वर्षेनी करोडौँ करोड खर्च नेपालले गर्नु परिरहेकै छ ।

४. अब चिनियाँ जहाज किन्न लगाउन र मुलुकको अपरिहार्य आवश्यकता बनेको निजगढ विमानस्थललाई थाँती राखेर पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन राज्यलाई बाध्य पर्ने कमिसनखोर व्यापारी र राजनीतिक व्यवसायीहरू बीआरआईका परियोजनाहरूको लागि राज्यलाई बाध्य बनाउने प्रचार राजनीति गरिरहेका छन् ।

५. चिनियाँ जहाज, पोखरा र भैरहवा विमानस्थल, जताततै गाडिएका मुड्का जस्ता भ्युटावरहरू, सडक नभएको ठाउँमा पुल निर्माण आदि परियोजना छनौटमा नेपालमा सरकारहरूले देखाउने गरेको अधम र पतित चरित्रको प्रमाण हो ।

६. मैले यसअघि पनि लेखेको थिएँ– बीआरआईले उत्पन्न गर्ने दबाब र तनावलाई धान्ने राष्ट्रिय, राज्य र राजनीतिक क्षमता हामीसँग छैन । करिब एक दशक बन्द हुँदा पनि नेपाललाई खासै कुनै अन्तर नपरेको काठमाडौँ –कोदारी राजमार्गको ठूलो रणनीतिक मूल्य चुक्तागर्नु परेको थियो । कालापानी क्षेत्रको आजको स्थिति त्यही राजमार्गको दबाब साम्य गर्दा निर्माण भएको हो । त्यही कारण आर.टि.ओ परियोजना अन्तर्गत काठमाडौँलाई जनकपुरसँग जोड्ने (हालको बिपी राजमार्ग ) राजमार्ग निर्माणलाई परित्याग गर्नु परेको थियो र पछि जापानसँग बिपी राजमार्ग निर्माण सम्झौता गर्दा सिङ्गल लेनको एउटा ग्राभेल सडकको मात्रै सम्झौता गर्न नेपाल बाध्य भएको थियो । पछि नेपाल सरकारले मिच्दै गएर पिचसम्म गर्यो । १९६५को र अन्य त्यस्ता सम्झौता नेपालले गर्नुपरेको थियो ।

७. अब बीआरआई सम्झौता गर्दा नेपालले चुक्ता गर्नुपर्ने मूल्यहरू के के होलान् ?

नाचगान गरेर जुटाएको रकम सामाजिक सेवामा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन् ।

उपल्लो तातोपानीमा रहेको टोल विकास संस्था र जलमाई भगवती आमा समूहले प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि र विदेशबाट जन्मथलो आएका लाहुरेहरूको स्वागतका लागि हरेक शुक्रबार सांस्कृतिक कार्यक्रम गर्छन् ।

नाचगान गरेर पाहुना र लाहुरेहरूबाट जुटाएको सहयोग रकमबाट सिसीटिभी क्यामेरा जडान, विश्रामस्थल, सडकबत्ती, फोहर व्यवस्थापनलगायत काममा खर्च गरिएको उपल्लो तातोपानी टोल विकास संस्थाका अध्यक्ष मुक्तिप्रसाद जुग्जालीले बताए ।

“तातोपानीमा हरेक शुक्रबार साँझ हुने सांस्कृतिक कार्यक्रम नाचगान गरेर जुटाएको रकम सामाजिक कामका लागि सहयोगी बनेको छ”, उनले भने, “सांस्कृतिक कार्यक्रमले मौलिक लोक संस्कृतिको पुस्तान्तरण र संरक्षणमा पनि सहयोग पुगेको छ ।”

अध्यक्ष जुग्जालीका अनुसार नाचगान गरेर जुटाएको रु दुई लाख ८६ हजार र ७६ घरपरिवारबाट रु एक हजार पाँच सयका दरले सङ्कलन गरेको रकमबाट रु चार लाख खर्चेर उपल्लो तातोपानी बजारको सुरक्षाका लागि हालै १६ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

सो सिसीटिभी क्यामेरामा एक महिनासम्मको आवाजसहितको भिडियोलाई भण्डारण गर्ने क्षमता रहेको छ । केही दिनअघि उपल्लो तातोपानीमा भएको चोरीको घटनामा संलग्नलाई सिसीटिभी क्यामेराको फुटेजका आधारमा तत्कालै पक्राउ गरेर प्रहरीलाई बुझाएको जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जाली गर्बुजाले बताए ।

आमा समूह र टोल विकास संस्थाले गत तिहारमा देउसीभैलो खेलेर जुटाएको रकमबाट उपल्लो बजारबाट तातोपानी कुण्डमा जाने सडकको डिलतर्फ रेलिङ र विश्रामस्थल बनाएका छन् । यसअघि सडक किनारामा फूलका बिरुवा रोपिएको र सडकबत्ती जडान गरेर उज्यालो पारिएको संस्थाका उपाध्यक्ष मीना पुन बुढाथोकीले बताए ।

उपल्लो तातोपानीमा बसोबास गर्ने सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरूले हालै रु पाँच लाख खर्चेर दुईवटा प्रतिक्षालय बनाएका छन् । सो प्रतिक्षालयबाट स्थानीयवासी, तातोपानीमा आउने पाहुना र बेनी–दरवाङ सडकमा यात्रा गर्ने यात्री लाभान्वित भएका छन् । कुण्डचोकमा सार्वजनिक शौचालय बनाउने योजना रहेको उपाध्यक्ष बुढाथोकीले बताए ।

बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वासका साथ गत वर्ष नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापान ४४ हजार जनाभन्दा बढी स्नानका लागि तातोपानी आएका थिए । 

सन् २०२३ मा दक्षिण कोरियाको कुल जनसङ्ख्यामा वृद्धि

सन् २०२३ मा विदेशी नागरिकको दक्षिण कोरिया प्रवेशमा दोहोरो अङ्कको वृद्धिका कारण दक्षिण कोरियाको कुल जनसङ्ख्यामा सुधार देखिएको यहाँको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

सन् २०२३ को जनगणनाअनुसार गत वर्षको नोभेम्बर १ मा कुल जनसङ्ख्या ०.२ प्रतिशत अर्थात् ८२ हजार थपिएर पाँच करोड १७ लाख ७५ हजार पुगेको छ ।

कम्तीमा तीन महिना दक्षिण कोरिया बसेका विदेशी नागरिकको सङ्ख्या १०.४ प्रतिशतले बढेर १९ लाख ३५ हजार पुगेको छ ।

कोभिड–१९ को महामारीपछि सरकारले विदेशीका लागि कामका लागि भिसा कार्यक्रम विस्तार गरेपछि गत वर्ष दक्षिण कोरियामा धेरै विदेशी आएका थिए ।

गत वर्ष वृद्ध जनसङ्ख्याका कारण न्यून जन्मदर भएको र स्थानीय बासिन्दाको सङ्ख्यामा ०.२ प्रतिशतले घटेर चार करोड ९८ लाख ३९ हजारमा झरेको थियो ।

आवासको उच्च मूल्य र हठी बेरोजगारीजस्ता आर्थिक कठिनाइका कारण युवा दम्पतीले बच्चा जन्माउन ढिला सुस्ती गर्ने वा बच्चा जन्माउन छोड्ने गरेका कारण दक्षिण कोरियाले लामो समयदेखि कम जन्मदरको समस्यासँग जुधिरहेको छ ।

सन् २०२३ मा १५ देखि ६४ वर्ष उमेर समूहका कामकाजी उमेर समूहको जनसङ्ख्या ०.४ प्रतिशतले घटेर तीन करोड ६५ लाख ४६ हजार मा झरेको छ र यो जुन कुल जनसङ्ख्याको ७०.६ प्रतिशत हो ।

सन् २०१८ देखि काम गर्ने उमेर समूहको जनसङ्ख्याको अनुपात निरन्तर घट्दै गएको छ । गत वर्ष ६५ वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धाको सङ्ख्या ५.१ प्रतिशतले बढेर ९६ लाख नौ हजार पुगेको थियो भने १४ वर्ष वा सोभन्दा कम उमेरसमूहका वृद्धवृद्धाको सङ्ख्या ४.१ प्रतिशतले घटेर ५६ लाख १९ हजारमा झरेको छ ।

अमेरिकी सर्वोच्च अदालतमा व्यापक सुधार गर्ने बाइडेनको भनाई

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो अन्तिम छ महिनाको सत्तामा छाप छाड्न साहसिक तर दीर्घकालीन कदमका रूपमा सोमबार रूढीवादी प्रभुत्वको सर्वोच्च अदालतमा सुधार गर्ने योजनाको अनावरण गरेका छन् ।  

राष्ट्रपति निर्वाचनका लागि सम्भावित डेमोक्रेटिक उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिसद्वारा समर्थित प्रस्तावहरूमा बाइडेनले शीर्ष अदालतका लागि १८ वर्षको कार्यकालको सीमा र लागु गर्न योग्य आचार संहिताको माग गरे । 

रिपब्लिकन उम्मेदवार एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति पदको उन्मुक्तिको दाबीलाई समर्थन गर्ने अदालतको हालैको फैसलालाई उल्ट्याउनका लािग ८१ वर्षीय बाइडेनले संवैधानिक संशोधनसमेत चाहेका छन् ।

सर्वोच्च अदालतले गर्भपतनको राष्ट्रव्यापी अधिकार खारेज गर्ने र सर्वोच्च अदालतका आजीवन नियुक्त न्यायाधीहरू समावेश गर्नेसम्बन्धी घोटालाजस्ता अदालतका निर्णयहरूको शृङ्खलापछि बाइडेनको यो कदम आएको हो । 

योजनाहरूले गहिरोरूपमा विभाजित अमेरिकी कांग्रेसमार्फत प्राप्त गर्ने करिब कुनै अपेक्षा छैन तर सन् २०२४ नोभेम्बरको निर्वाचनमा डेमोक्रेटिक मतदाताहरूलाई प्रेरित गर्न सक्छ । 

“अहिले जे भइरहेको छ त्यो सामान्य छैन र यसले अदालतको फैसलाहरूमा जनताको विश्वासलाई कम गर्दछ जसमा व्यक्तिगत स्वतन्त्रतालाई प्रभावित गर्ने फैसला पनि समावेश छ”, वासिङ्टन पोस्टमा बाइडेनले राय दिँदै भने, “हामी अब उल्लङ्घनमा खडा छौँ ।”

बाइडेनले प्रस्तावले ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपति, सर्वोच्च अदालतको न्यायाधीश र कोही पनि कानूनभन्दा माथि छैन’ भन्ने सिद्धान्तलाई प्रतिबिम्बित गर्ने बताए ।

“राष्ट्रपति बाइडेन र मैले कांग्रेसलाई महत्त्वपूर्ण सुधारहरूलाई पारित गर्न आह्वान गरिरहेका छौँ”, ह्यारिसले छुट्टै विज्ञप्तिमा भनिन्, “यो लोकप्रिय सुधारले अदालतमा विश्वास पुनःस्थापित गर्न, हाम्रो लोकतन्त्रलाई बलियो बनाउन र कोही पनि कानूनभन्दा माथि छैन भन्ने सुनिश्चित गर्न मद्दत गर्नेछ ।”

जापानमा उष्ण लहरको चेतावनी जारी जारी

जापानका ४७ प्रिफेक्चरमध्ये ३८ वटामा तीव्र उष्ण लहरले केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्नसक्ने भएकाले उष्ण लहरको चेतावनी जारी गरिएको छ । 

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले उच्च चापीय प्रणालीले मुख्यतया पूर्वी र पश्चिमी जापानमा घाम लाग्ने र चिसो मौसम ल्याउन जारी राखेकाले कुमागाया, कोफु र हमामात्सु सहरहरूमा तापक्रम ४० डिग्री सेल्सियस पुग्ने सम्भावना रहेको बताएको छ ।

    जेएमएका अनुसार साइतामा, माइबाशी, क्योटो र ओकायामा सहरमा दिनको उच्च तापक्रम ३९ डिग्री र मध्य टोकियो, उत्सुनोमिया, ओत्सु र कोची सहरहरूमा ३८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

    मौसम अधिकारीहरूले सर्वसाधारणलाई एयर कन्डिसनरहरू प्रयोग गर्न नहिच्किचाउन र बारम्बार तरल पदार्थ र नुन लिन, अनावश्यकरूपमा बाहिर निस्कन र व्यायाम नगर्न आग्रह गरेको छ ।

कामु प्रधानसेनापतिको जिम्मेवारी बलाध्यक्ष रथी अशोक सिग्देललाई

काठमाडौं । सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको मन्त्रिरिषद् बैठकले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रधानसेनापति प्रभुराम शर्मा भदौ २४ मा अवकासमा जाँदैछन् । नेपाली सेनाको परम्पराअनुसार अवकास पाउन एक महिना अगाडि बिदामा बस्ने प्रचलन छ। शर्मा साउन २४ गतेदेखि विदामा बस्दैछन् । उनी विदामा बस्ने भएपछि सरकारले सिग्देललाई कामुको जिम्मेवारी दिइएको हो।

१८ देशमा राजदूत सिफारिस, तीन प्रदेश प्रमुख परिवर्तन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली, बेलायत-चन्द्रप्रसाद घिमिरे, जर्मनी-शैल रुपाखेती, साउदी अरब-नरेशविक्रम ढकाल, इजरायल-धनप्रसाद पण्डित, दक्षिण अफ्रिका-कपिलमान श्रेष्ठ, दक्षिण कोरिया-शिवमाया तुम्बाहाङ्फे, पोर्चुगल-प्रकाशमणि पौडेल, पाकिस्तान-रिता धिताल, अस्ट्रेलिया-कान्ता रिजाललाई सिफारिस गरिएको छ ।

बैठकले चीनका लागि नेपाली राजदूत विष्णुकुमार श्रेष्ठ, अस्ट्रेलियाका लागि कैलाशराज पोखरेल, रुसका लागि मिलनराज तुलाधर, श्रीलंकाका लागि वासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदू दानबहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको छ । अहिले बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख छन् ।

पाकिस्तानको आदिवासी द्वन्द्वमा ४२ जनाको मृत्यु

उत्तर पश्चिमी पाकिस्तानमा आदिवासी जनजातिहरू बिचको भूमि विवादको द्वन्द्वमा कम्तिमा ४२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

पाकिस्तानमा आन्तरिक द्धन्द्ध चलिरहेको अवस्थामा खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रको द्वन्द्व लामो र हिंसात्मक हुन सक्ने उनीहरूले बताएका छन् ।

अधिकारीका अनुसार सुन्नी मुस्लिम मदागी र शिया माली खेल जनजातिहरू यस क्षेत्रमा बुधबारदेखि लडिरहेका छन् । बन्दुकधारीले कृषि भूमिको विवादमा गोली हानेको स्थानीय प्रहरी अधिकारी मुर्तजा हुसेनले जानकारी दिए ।

आक्रमणको जानकारी दिँदै अफगानिस्तानको सिमावर्ती जिल्ला कुर्रम छेउछाउका बासिन्दाबीच लामो समयदेखि धार्मिक तनाव बढिरहेको जनाएका छन् ।

सरकारले कुर्रम आदिवासी जिल्लामा युद्धविराम गरेपछि पनि गोलीबारी पुनः भएको खैबर पख्तुनख्वाको प्रान्तीय आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा जानकारी गराए ।

स्थानीय प्रहरीका अनुसार बुधबारदेखिको द्वन्द्वमा ४२ जनाको मृत्यु हुनुका साथै १८३ जना घाइते भएका छन् ।

पाकिस्तानको मानव अधिकार आयोगले द्वन्द्वले सर्वसाधारणमा क्षति पुर्याउनुका साथै आवागमन अवरुद्ध भएको जनाएको छ ।

पाकिस्तानमा लामो समयदेखि सुन्नी र सिया समुदायबीच गहिरो असमानजस्यता कायम रहेको छ ।

कुर्रम पूर्व आदिवासी क्षेत्रको हिस्सा हो, जुन सन् २०१८ मा खैबर पख्तुनख्वा प्रान्तमा गाबिएको थियो ।

दक्षिण अफ्रिकाका पूर्वनेता जुमा सत्तारूढ एएनसीबाट निष्कासित

दक्षिण अफ्रिकाको सत्तारूढ अफ्रिकी नेसनल कांग्रेस (एएनसी) ले सोमबार आफ्ना पूर्वनेता एवं पूर्वराष्ट्रपति ज्याकोब जुमालाई अनशासनात्मक कारवाहीपछि निर्वाचनमा प्रतिद्वन्द्वी पार्टीको नेतृत्व गरेको भन्दै पार्टीबाट निष्कासन गरेको छ ।

गत मे महिनामा जुमाको दलबदलका कारण आफ्नो पूर्ण संसदीय बहुमत गुमाएको एएनसीले अनुभवी राजनीतिज्ञको आचरण आफ्नो संविधानसँग ‘असङ्गत’ थियो भनेको छ ।

“पूर्वराष्ट्रपति ज्याकोब जुमाले सक्रियरूपमा एएनसीको अखण्डताको आलोचना गर्नुभएको छ र अहिलेसम्म आफ्नो सदस्यता नत्यागेको दाबी गर्दै एएनसीलाई सत्ताबाट हटाउने अभियान सञ्चालन गर्नुभएको छ”, एएनसीका महासचिव फिकिले मबालुलाले पत्रकार सम्मेलनमा भने, “त्यसैले उहाँलाई पार्टीबाट ‘निष्कासित’ गरिएको छ ।”

जुमाले नवगठित युएमखोन्टो भिसिजवे (एमके) लाई समर्थन गरेपछि घोटालामा परेका उनलाई जनवरीमा पहिलो पटक एएनसीले निलम्बन गरेको थियो ।

एमकेले मे २९ मा भएको निर्वाचनमा एएनसीको मतको हिस्सालाई घटायो र १४ दशमलव पाँच प्रतिशतका साथ तेस्रो स्थानमा रह्यो ।

मे महिनामा भएको निर्वाचनमा एएनसीलाई ४० प्रतिशत मत प्राप्त भयो । तीन दशकअघि रङ्गभेदी सरकारलाई हटाएर सत्तामा आएपछि यो उसको सबैभन्दा कमजोर अङ्क थियो ।

निर्वाचन नतिजाले एएनसीलाई अन्य नौ दलसँग गठबन्धन सरकार बनाउन बाध्य बनायो । चार सय सिटको नेसनल एसेम्बलीमा ५८ सांसदसहित एमकेले विपक्षी दलको नेतृत्व गरेको छ ।

लोकप्रिय कट्टरपन्थी वामपन्थी पार्टी एमकेले सुरुमा निर्वाचन परिणामप्रति विवाद गरेको थियो । जुमाको एमकेबारे मबालुलाले भने, “उहाँको मञ्च खतरनाक छ, एमकेले हाम्रो राजनीतिमा चरमपन्थी प्रवृत्तिलाई बढावा दिन्छ र सामाजिक अशान्ति फैलाउन सक्ने राजनीतिक आधारलाई प्रवर्द्धन गर्दछ ।”

सन् २०२१ मा अदालतको अवहेलना गरेको आरोपमा जुमालाई सांसदका रूपमा काम गर्नबाट रोक लगाइएको थियो । उनको निष्कासनको खबर बाहिरिएपछि एमकेले ‘आफ्नो नेताविरुद्ध गम्भीर अन्याय’ को आलोचना गरेको छ ।

एमकेका प्रवक्ता न्हलामुलो नधलेलाले भने, “लिक भएका कागजातले अनुशासनात्मक प्रक्रिया अत्यधिक त्रुटिपूर्ण मात्र नभएर कङ्गारु अदालत (कुनै व्यक्तिमाथि मुद्दा चलाउनका लागि मानिसहरूको एक समूहले अयाोजना गरेको अनौपचारिक अदालत जसले विशेषरूपमा राम्रो प्रमाणबिना कुनै अपराध वा दुष्कर्मको दोषी मान्दछ) ले चलाएको पनि देखाउँछ ।”

जुमाले कारवाहीको दिशा निर्धारण गर्न कानूनी परामर्श नियुक्त गर्ने उनले बताए । जुमासँग फैसलाविरुद्ध पुनरावेदन दिनका लागि २१ दिनको समय छ ।

सन् १९५९ मा किशोरावस्थामा जुमा युवा लिगमार्फत एएनसीमा संलग्न हुनुभएको थियो । सन् २००९ मा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित भएका जुमालाई भ्रष्टाचारको आरोपमा सन् २०१८ मा पदबाट हटाइएको थियो र उनलाई लामो समयका प्रतिद्वन्द्वी राष्ट्रपति सिरिल रामफोसाले प्रतिस्थापन गरेका थिए ।

भैँसीको व्यापारबाट वार्षिक ३५ लाखको कारोबार

 घोराही । दाङको गढवा गाउँपालिका–४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थालेको ३२ वर्ष भयो । उनले हरेक वर्ष घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित कटुवाखोला किनारमा बिक्रीका लागि भैँसी ल्याउने गर्छन्।

हरेक वर्ष जेठदेखि कार्तिकसम्म यहाँ भैँसी बिक्री गर्न आउने गरेको मुसलमानले बताए । ‘लामो समयदेखि भैँसी पालनसँगै व्यापार पनि गर्दै आएको छु । अहिले वार्षिक रु ३० देखि ३५ लाखसम्म आम्दानी हुन्छ’, उनले भने, ‘घरमा पनि सधैँ दुई/चारवटा भैँसी भइरहने भएकाले दूध, दही बिक्रीबाट पनि आर्यआर्जनमा सहयोग पुगेको छ ।’

देउखुरी क्षेत्रबाट आफूसहित अन्य व्यापारीले पनि यहाँ दुहुना भैँसी बिक्रीका लागि ल्याउने गरेका मुसलमानले जानकारी दिए । कटुवा खोलाबाट रु एक सय प्रतिलिटरका दरले दैनिक दूधसमेत बिक्री गर्ने गरेको उनले बताए ।

अन्य समयमा भन्दा असार, साउनमा बढी भैँसी बिक्री हुँदै आएको मुसलमानको भनाइ छ । ‘यो वर्ष १२ वटा भैँसी बिक्री भइसकेका छन्’, उनले भने, ‘यहाँ ल्याइएका भैँसी बिक्री गरेर सकियो भने फेरि देउखुरी लिन जाने गर्छौं । बुबाबाजेले गर्दै आएको भैँसीपालन पेसालाई निरन्तरता दिँदै आएका हौँ ।’

मुसलमानले एउटा भैँसीको रु ६० हजारदेखि रु दुई लाखसम्म पर्ने बताए । उनका अनुसार कटुवाखोला किनारमा भैँसी किन्न दाङका साथै रोल्पा, प्युठान, सल्ल्यान, रुकुमलगायत जिल्लाबाट ग्राहक आउने गरेका छन्। वार्षिक रु ३० देखि ३५ लाखसम्मको कारोबार हुने गरेको बताउँदै उनले सबै खर्च कटाएर रु पाँच लाख बढी आम्दानी हुने गरेको जानकारी दिए ।

घरका अन्य सदस्यले घरपालुवा पशुको हेरचाह गर्ने मुसलमानको भनाइ छ । उनले छ महिना घरबाट र छ महिना घोराहीमा आएर भैँसी बेच्ने गर्ने गरेको सुनाए । दाङको गढवा गाउँपालिका–४ बाट मात्रै अहिले २० जनाबढी व्यापारी घोराही आएर भैँसीको व्यापार गर्छन् ।

मुसलमानले ‘रोशनी पशु खरिद बिक्री केन्द्र तथा पशु फार्म’ दर्ता गरी भैँसीको व्यवसायिक व्यापार गर्दै आए । लामो समयदेखि पशुपालन क्षेत्रमा लागेका उनले आयआर्जन राम्रो हुँदै गएको बताए । देउखुरी क्षेत्रको राजपुर, राप्ती, गढवालगायत क्षेत्रका अधिकांश किसानले व्यवसायिक रुपमा भैँसीपालन गर्दै आएका छन् ।

मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजाति माछा

मोरङ । मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एसियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् ।

अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल र रामचन्द्र अधिकारीले उक्त प्रजाति नेपालका लागि नयाँ भएको भन्दै भारतबाट प्रकाशित हुने प्रसिद्ध जर्नल ‘थ्रिटेन्ड टेक्सा’ को सन् २०२४ को जुन अङ्कमा लेख लेखेका छन् । लिम्बूलगायतको टोलीले दुई महिनाअघि पनि लोहन्द्रा खोलामै दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको नयाँ प्रजातिको माछा फेला पारेका थिए ।

सन् २०२२ को सेप्टेम्बरदेखि २०२३ को मार्च महिनासम्म स्थलगत सर्वेक्षणमा लोहन्द्रा खोलामा ‘गारा केम्पी’ माछा भेटिएको र यसको बाहिरी बनावटको र आणविक तथा आनुवांशिक अध्ययनको विवरणबाट नेपालका लागि नयाँ भएको जानकारी अनुसन्धान कर्तामध्ये एक जसहाङ लिम्बूले जानकारी दिए । उनले भने, “विराटनगर–रङ्गेली रोडमा पर्ने लोहन्द्रा पुल आसपासबाट यो माछाका ३० देखि ४० ग्रामका जिउँदो नमुना सङ्कलन गरिएको थियो । यसको शरीरका १८ किसिमका नापहरू लिइयो, जसमा धेरै कुरा अरू प्रजातिभन्दा भिन्न पाइयो र नयाँ प्रजाति भनी दाबी गरियो र पुष्टि पनि भयो ।” फरक प्रजाति हो भनी पुष्टि गर्न गारा जातिका अरू १९ प्रजातिसँग आणविक बनावटको तुलना गरिएको लिम्बुले बताए ।

‘गारा केम्पी’ नेपालबाहेक पूर्वी र उत्तरी भारतमा तथा चीनका केही स्थानमा पाइने केही अन्य अनुसन्धानकर्ताले जनाउनुभएको छ । “यसलाई स्टोन सकर पनि भनिन्छ”, अर्का अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले भने, “यो थुतुनोको सहाराले ढुङ्गाामा टाँसिएर बस्छ । यसको मुख्य वासस्थान भनेको सफा नदीको तीव्र वेग भएको ठाउँ हो ।”

यो प्रजाति पूर्वी नेपालका कन्काइलगायत नदीमा पनि प्रशस्तै पाइने गरेको लिम्बूले बताए । विश्व संरक्षण सङ्घले यसलाई खास वास्ता नगरिएको (लिष्टकन्सर्न) प्रजातिअन्तर्गत राखेको छ । धेरै पौष्टिक तत्व पाइने र स्वादिलो पनि हुने भएकाले स्थानीयहरूको रोजाइमा यो माछा पर्दछ ।

अनुसन्धानकर्ता लिम्बूले भने, “यो माछालाई अघिल्लो पुस्ताका अनुसन्धानकर्ताले उस्तै देखिने गारा आनन्देली नाम दिनुभएको थियो, त्यसमा प्रशस्त प्रमाण पनि थिएनन् र उक्त आनन्देलीको वासस्थान भने पहाडी क्षेत्रका नदी मात्र हुन् ।”

पुराना अनुसन्धानमा केही कमजोरी भएका कारण प्रजातिको सही पहिचान हुन नसकेको लिम्बूको दाबी छ । उनले थप भने, “बुदुना जातका माछाका यसअघि आठ प्रजाति नेपालमा पाइने भनिएको भए पनि गारा मूल्या र गारा रुपिकोला प्रजातिको अस्तित्व स्वीकार गर्न सकिँदैन । तसर्थ योसहित बुदुनाका अब सात प्रजातिमात्र भए ।”

नेपालमा माछाका प्रजाति सङ्ख्या दुई सय ७३ पुगेको दाबीसमेत लिम्बूले गरे । माछाको प्रजाति पहिचान, अस्तित्व र वितरणका विषयमा थप वैज्ञानिक अनुसन्धान गरी अभिलेखीकरण गर्न जरुरी भएको अनुसन्धानकर्ताले औँल्याएका छन् ।

बेलायत सरकारसँग आफूहरुको माग पूरा गर्न पहल गर्न परराष्ट्रमन्त्रीसँग ब्रिटिस गोरखाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग पूर्वब्रिटिस गोरखाहरूले आफूहरूको समान ज्याला, सुविधा र व्यवहारका लागि बेलायत सरकारसँग पहल गरिदिन आग्रह गरेको छ ।

ब्रिटिस गोरखा सत्याग्रह संयुक्त सङ्घर्ष समिति युके नेपालको प्रतिनिधिमण्डलले सोमबार मन्त्री डा राणासँग भेटगरी यस्तो आग्रह गरेको हो ।

सङ्घर्ष समितिका प्रतिनिधिहरूले सामान्यतया सिपाहीहरू जुन देशको झण्डामुनि गोलबद्ध हुन्छन् उनीहरूले सोही देशका सेना सरह नै सेवा सुविधा पाउनुपर्ने व्यवस्था रहेको भए पनि ब्रिटिस गोरखाका हकमा त्यसो हुन नसकेको भन्दै समानताका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

त्यस अवसरमा मन्त्री डा राणाले ब्रिटिस सरकारका पक्षमा ब्रिटिस गोरखाहरूको ठूलो योगदान र बलिदान रहेको चर्चा गर्दै उनीहरूकै सेना सरहको सेवा र सुविधाका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सङ्घर्ष समितिका अध्यक्ष भीमबहादुर तावा लिम्बूले ब्रिटिस गोरखाहरूले आफ्ना अधिकारका लागि करिब ३४ वर्षदेखि सङ्घर्ष गर्दै आएको स्मरण गर्दै सन् २०१३ र सन् २०२१ मा गरिएको लामो अनशनपछि केही सुविधा दिए जस्तो देखिए पनि त्यो आफूहरूका पक्षमा नभएको बताए ।

यसअघिका वार्ताहरूमा भएका सहमति कार्यान्वयन गर्न पनि उनीहरू तयार नरहेको भन्दै उनले यो समस्या समाधानका लागि नेपाल सरकारले नै मन्त्रीकोे अध्यक्षतामा एक उच्चस्तरीय आयोग गठन गर्न पनि मन्त्री डा राणासँग माग गरे ।

सङ्घर्ष समितिका प्रमुख सल्लाहकार एलबि घिसिङ, महासचिव एसबि घिसिङलगायतले बेलायतको पक्षमा दुई सय आठ वर्ष लामो समयदेखि लड्दै आएका गोरखालाई आफ्ना सैनिक सरहको सेवा, सुविधा दिई समान व्यवहार गर्नुपर्नेमा ब्रिटिस सरकारले उल्टै आधारभूत मानव अधिकारको पनि संरक्षण नगरेको र श्रम शोषण मात्र गरेको आरोप लगाए ।

उनीहरूले सन् २०१८ मा पनि दुवै सरकारका तर्फबाट एक संयुक्त प्रतिवेदन बनाएको भए पनि त्यसको कार्यान्वयनमा बेलायत सरकार इच्छुक नदेखिएको जानकारी गराए ।

संसदीय सुनुवाइ समितिबाट प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम अस्वीकृत

काठमाडौं । निर्वाचन आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको छ । सोमबार साँझ बसेको समितिको बैठकले प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानले आजै आफूमाथि लागेका आरोपका कारण सिफारिस भएको पदमा रहने इच्छा नरहेको भन्दै समितिमा निवेदन दिएका थिए ।

उनलाई असार दुईमा संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइका क्रममा एक महिलाले प्रधानले आफूलाई यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।

पीडितले उजुरी दिएपछि प्रधान विवादित भएका थिए । समितिबाट आफ्नो नाम अस्वीकृत हुने भएपछि उनले फिर्ताको निवेदन दर्ता गरेका थिए ।

धार्चे पहिरोमा बेपत्ता चार जनाको शव फेला

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परेर आइतवारदेखि बेपत्ता भएका चार जनाको शव सोमबार फेला परेको छ ।

पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय सुलाल कान्छा गुरुङको शव घर नजिकै २० मिटर तल पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । यस्तै बेपत्ता जीतबहादुर गुरुङको शव पनि भेटिएको छ ।

उनको शव घरदेखि करिब २५ मिटर तल पहिरोले पुरिएको अवस्थामा फेला परेको हो । पहिरोमा परेर बेपत्ता भएका ३३ ७० वर्षीय रेशम गुरुङको शव भने आज दिउँसो करिब ३ बजे फेला परेको हो । उनको शव घरदेखि ३० मिटर तल फेला परेको उनले बताए ।

पहिरोमा परेर बेपत्ता भएकी कान्छी गुरुङको शव भने गण्डकी गाउँपालिका–८ बर्खेघाटमा फेला परेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । आइतबार दिउँसो वेवारिसे अवस्थामा बुढीगण्डकी नदी किनारमा भेटिएको उक्त शव पहिरोमा परेर बेपत्ता भएकी कान्छीको भएको परिवारले पुष्टि गरेको हो ।

पहिरोमा बेपत्ता भएका आरुघाट गाउँपालिका २७ वर्षीय रमेश परियारको अवस्था अझै अज्ञात छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

धेरै कार्गो बोक्ने नेपाल एयरलाइन्स सम्मानित

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) धेरै कार्गो बोक्ने विमान कम्पनीका रुपमा सम्मानित भएको छ । सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रुपमा सम्मानित भएको हो ।

नेपाल फ्रेट परवार्डर्स एसोसिएसनद्वार सोमबार काठमाडौँमा आयोजित ३०औँ कार्गो दिवसका अवसरमा उक्त सम्मान प्राप्त गरेको निगमले विज्ञप्तिमार्फत जनाएको हो । सम्मानबाट कार्गो व्यापार बढाउन थप हौसला प्राप्त भएको निगमका कार्यकारी  अध्यक्ष युवराज अधिकारीले बताए ।

उनले निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यमा ‘डेन्जरस गुड्स’लगायतका कार्गो ढुवानी गर्दैै आइरहेको भन्दै यस कार्यमा सहयोग गर्ने सबै सरोकारवाल, कार्गो एजेन्ट कर्मचारीलगायतलाई धन्यवाद दिए ।

देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताए । युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औँ जन्मजयन्ती समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरुको उदाहरण दिँदै देश र जनताका लागि आवश्यक पर्दा युवाहरु जोसिनु स्वाभाविक रहेको बताएका हुन्।

“जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ, युवाहरु चम्किनुपर्छ”, उनले भने । प्रम ओलीले आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिक रुपमा प्रभावित रहेको उल्लेख गरे । “उ मेरो पनि गुरु हो, उबाट म अति प्रभावित छु”, उनले भन, “उनले लेखका गीतको प्रेरणाबाट धेरै युवाहरु क्रान्तिमा होमिन र सहिद हुन तयार भए । गङ्गालाल श्रेष्ठ पनि उनकै गीतबाट प्रभावित भई सहिद भएका प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।”

युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उनको भनाइ थियो । युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई नगद रु एक लाखसहित प्रदान गरियो । युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका लागि ओखलढुङ्गा संवाददाता नवराज कार्की नगद रु. ४० हजारसहित पुरस्कृत भए ।

सोही समारोहमा प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गरिएको छ । विसं १९६९ जेठ ९ गते जन्मिएका युगकवि श्रेष्ठको जन्मजयन्ती समारोह जेठ ९ गते गरिँदै आएकामा यस वर्ष उनकी सुपुत्रीको निधन भएकाले स्थगित गरी आज सम्पन्न गरिएको हो ।

कार्यक्रमको अध्यक्षता युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष कवि बैरागी काइँलाले गरेका हुन् । समारोहमा प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मालगायत साहित्य र प्राध्यापन क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कवितामा क्रान्ति शब्द प्रयोग गरेकै कारण तत्कालीन राणा शासकहरुले सिद्धिचरण श्रेष्ठलाई सर्वस्वसहित १८ वर्ष कारावासको सजाय सुनाएको थियो । उनी पाँच वर्ष जेल सजायपछि विसं २००२ मा जेलमुक्त भएका थिए । उनका हालसम्म ३९ कृति प्रकाशित भइसकेको छ । अझै प्रकाशोन्मूख सातवटा कृति रहेको युगकवि सिद्धिचरण प्रतिष्ठानले जनाएको छ ।

कांग्रेस-एमालेलाई रविको चुनौतीः ३० वर्षमा यी काण्डहरू नि आफैंले गरेको भन्ने आँट छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेल ठूला दुई दलको मिलन खतराको घण्टी भएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति र हिजोको कांग्रेस महामन्त्रीको अभिव्यक्तिले त्यो कुरा स्पष्ट गरेको बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति, हिजोको कांग्रेस महामन्त्रीको अभिव्यक्ति र आज विषायन्तर गर्न खोज्नुभएको एमालेका पूराना नेताको अभिव्यक्तिले के देखाउँछ भने अब यी नयाँलाई ठीक पार्नुपर्छ, यीनलाई आरोप लगाईदिनुपर्छ, एउटा एउटा कुरा लगाईदिएपछि अनि यीनलाई ठीक गरेपछिमात्रै हाम्रो जोगिन्छ भनेर मिलेको कुरा स्पष्ट हुन आउँछ ।’

उनले मध्यरातमा खुफिया एजेन्सीका मान्छेहरुसँग होलिवाइन गर्ने काम भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

उनले भने, ‘मलाई मध्यराति भएको होलिवाइनको विषयमा प्रश्न गर्ने मन छ । मध्यरातमा कुनै खुफिया एजेन्सीका मान्छेसँग होलिवाइनको विषय के हो ? कुनै विचौलियाको घरमा मध्यरातमा बसेर सरकार चलाउने दस्तखत गर्ने डक्ट्रिनको बारेमा पनि कुनै दिन खुलेर कुराकानी गरौंला ।’ उनले भ्रष्टाचारको फाइल आफूले खोलेको भन्ने जस नचाहिएको बताए ।

उनले भने, ‘हिजो यहाँ कुरा आयो फाइल हामीले खोलेका हौँ, तिमीहरूले खोलेको होइनौँ। ठिक छ तपाईँहरूले नै खोल्नुभएको हो हामीलाई जस चाहिएको छैन। काण्ड पनि हामीहरूले नै हो गरेको हो भन्दिएको भए राम्रो हुन्थ्यो । ३० औ वर्षमा यी काण्डहरू नि आफैंले गरेको हो। फाइल तपाईँहरूले नै खोल्नुभएको हो। तर बन्द नहुँदै जिउँदै रहेको फाइललाई तपाईँहरूले गाड्न खोज्नुभयो।’

सभापति लामिछानेले आफू केही समय नबोलौं भनेर चुप लागेर बसेको भएपनि पछिल्लो समय संसदमा आएका अभिव्यक्तिका कारण बोल्न बाध्य भएको बताए ।

उनले भने,‘मलाई थाहा छ, असार १५ मा खुवाइएको दहीले केहीबेर मुख बन्द भएको होला, तर लोकतन्त्रका हिमायती र यतिका सार्वभौम सांसदहरुको मुखमा दही जम्नेछैन ।’

उनले कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता प्रकरणमा अझैपनि अनुसन्धान जारी रहेको बताए ।

सिरोहिया पक्राउ प्रकरणबारे कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ‘खुदा पहाड, निक्ला चुहा’ भनेर भनेको प्रसंगमा लामिछानेले भने, ‘हाजिरी जमानीमा कोही छुटेका छन्, फेरि त्योपनि केही होइन भनेर उहाँले भनिदिनुहोला । टीकापुर जग्गा काण्डपनि अनुसन्धानको क्रममा छ । सम्मानित सदनलाई थाहा हुनुपर्छ यो कुरा । विभिन्न प्रकरणमा अनुसन्धान भैरहेको छ । फाइल म उहाँहरुलाई जिम्मा लगाउन चाहन्छु । हामी कुनै जस लिन चाहँदैनौं । तर, अनुसन्धानमा रहेको विषयलाई केही पनि होइन, पूर्वाग्रह साँधेको भनियो । त्यसप्रति गम्भीर ध्यानाकार्षण गराउन खोजेको हो ।’

उनले विगतमा भ्रष्टाचारका विषय उठाउने कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै भने, ‘स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बालमन्दिर हुँदै टीकापुर हिँडेको नक्कली भुटानीबन्धु भन्ने आँट गरुन् ।’

कांग्रेस–एमालेको टार्गेटमा आफ्नो पार्टी परेको छ : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले कांग्रेस–एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै लामिछानले पछिल्लो समय सदनमा प्रधानमन्त्रीका साथै कांग्रेस–एमाले सांसदको अभिव्यक्ति सुन्दा रास्वपा ठूला दलको टार्गेटमा परेको आभाष भएको बताए । संसद्को पछिल्लो गतिविधिले मुलुकको लागि आवश्यक रहेको दल नै रास्वपा हो भन्ने पुष्टि हुदै गएको उनले बताए । लामिछानेले आफू केही समय नबोलौं भनेर चुप लागेर बसेको भएपनि पछिल्लो समय सदनमा आफुमाथि लागेको आरोपबारे स्पष्ट पार्नुपर्ने अवस्था आएको धारणा राखे । भ्रष्टाचारको फाइल खुल्ने बिषयमा आफुलाई जस नचाहिएको उनले बताए । उनले

कैलाश सिरोहियाको नागरिकता प्रकरणमा अझैपनि अनुसन्धान जारी रहेको, बाँसबारी छालाजुत्ता कारखानाको विषयपनि अझैसम्म अनुसन्धानमा रहेको जिकिर गरे । आफु गृहमन्त्री हुदा भएको अनुसन्धानलाई पूर्वाग्रह साधेको भन्ने अभिव्यक्तिप्रति आपत्ती जनाउदै उनले त्यसप्रति गम्भीर ध्यानाकार्षण गराउन खोजेको समेत बताए ।

लामिछानले केहि समयअघि सहकारी–बन्धु भनेर भाषा प्रयोग गर्नेले उक्त भाषा बन्द गरेको हेर्न नचाहेको तर्क गरे । त्यसका साथै स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानीबन्धु भन्ने आँट गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले व्यवसाय गर्न सहज वातावरण बनाउनपर्छ: सहरी विकासमन्त्री सिंह

उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले व्यवसाय गर्न सहज वातावरण बनाउने प्रयास गरेको बताएका छन् ।

कार्गो दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले मौद्रीत नीतिका साथै अन्य नीतिबाट पनि व्यवसाय गर्न सहज वातावरण बनाउने काम सरकारले गरेको बताएका हुन ।

उनले अब कुरा भन्दा पनि काम गरेर देखाउनुपर्ने अवस्था आएको धारणा राखे । कार्गो क्षेत्रको समस्या समाधानका लागि सरकारले गर्नुपर्ने कामका लागि आफुले सहजीकरण गर्ने उनको भनाइ छ ।

कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सुदूरपश्चिम सरकार हराएको भन्दै विपक्षी दलद्वारा दिउँसै टर्च बालेर खोजी

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षी दलहरूले दिउँसो बत्ती बालेर सरकारको खोजी गरेका छन् । सोमबार दिउँसो दुई बजेको लागि प्रदेशसभा बैठक आह्वान गरिएको थियो ।

तर, सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएपछि बैठक नै नबसी स्थगित भएको छ । बाढी पहिरोबाट ठूलो क्षति भएको र त्यही विषयमा प्रदेश प्रमुखसँग आग्रह गरेर आह्वान गरिएको विशेष अधिवेशनमा पनि सरकार उपस्थित नभएको भन्दै प्रतिपक्षी दलहरू आक्रोशित भएका हुन् ।

कांग्रेस ,एमाले र नागरिक उन्मुक्ति पार्टीले संसद स्थगित भएलगत्तै प्रदेश सभा परिसरमै मोबाइलको बत्ती बालेर सरकारको खोजी गरेका हुन् ।

मुख्यमन्त्री दीर्घ सोडारीलाई नैतिकताको आधारमा राजीनामा दिन समेत उनीहरुले आग्रह गरेका थिए । कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सरकारले संसद छलेर हिँडेको भन्दै यस विषयमा आफूहरू गम्भीर रहेको बताएका थिए ।

बिपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँः परराष्ट्रमन्त्री  राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी  छन् । 

जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरुलाई मन्त्री डा राणाले यस्तो जानकारी दिएकी हुन् । बिपीन जोशीका बुबासहित परिवारका सदस्यहरुले सोमबार परराष्ट्रमन्त्री डा राणालाई उनको कार्यकक्षमा भेटेर बिपीनको रिहाइका लागि पहल गरिदिन अपील गरेका थिए ।

 भेटमा मन्त्री डा राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन् । इजरायलमा भएको  आक्रमणपछि बिपीन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उनको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा राणाले दिइन् ।

उनले भनिन्, ‘उहाँको अवस्थाका बारेमा हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ । उहाँले सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरु हमासको समूहमा सुरक्षित रहेको जानकारी पाएको मलाई बताउनुभएको छ । जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागि पर्नुभएको छ । हामीले उहाँको रिहाइमा कुनै कसर बाँकी नराखी काम गरिरहेका छौँ । आशा छ, उहाँ नियन्त्रणबाट सकुशल मुक्त हुनुहुनेछ ।’

आफू परराष्ट्रमन्त्री भएदेखि बिपीनको रिहाइका लागि के गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरुलाई बिपीनको रिहाइका लागि आफ्ना ठाउँबाट आवश्यक सहयोग र पहल गरिदिन आग्रह गरेको जानकारी उनले दिइन् ।

यसअघि कतारका राष्ट्रपति नेपाल भ्रमणका क्रममा आएको बेला उनीसँग नेपाल सरकारले बिपीनको रिहाइका लागि पहलको आग्रह गरेको स्मरण गर्दै मन्त्री डा राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आग्रह गर्ने जानकारी दिइन् ।

इजरायलमा गत अक्टोबरमा हमास समूहद्धारा भएको आक्रमणपश्चात उनीहरुकै नियन्त्रणमा रहेका बिपीन जोशी हालसम्म सम्पर्कविहीन छन् ।

२० अंकले घट्यो शेयर बजार

काठमाडौं । आइतबार एक सय तीन अङ्कले बढेको शेयर बजार सोमबार भने घटेको छ । सोमबार नेप्से २० दशमलव ४६ अङ्कले घटेर दुई हजार ६ सय ६१ दशमलव शून्य नौ विन्दुमा झरेको छ । खुलेको एक मिनेटमै दुई हजार सात सय ३७ विन्दुमा पुगेको शेयर बजार दिनभरको उतारचढावबीच घटेको हो ।

आज फाइनान्स र जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, व्यापार, विकास बैंक, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज आरम्भ चौतारी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज बजार ओरालो लागे पनि कारोबार रकम भने ३५ महिनायताकै उच्च भएको छ । आज तीन सय २५ वटा कम्पनीका चार करोड ७७ लाख कित्ता शेयर १९ अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ६१ करोड १२ लाख र कुमारी बैंकको ५५ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सुक्खा क्षेत्रमा सौर्य ऊर्जामार्फत सिँचाइ

डुम्रे (तनहुँ)  । जिल्लाको देवघाट गाउँपालिका–२बेसारघारीमा ३५ हेक्टर क्षेत्रफलमा अहिले सिँचाइ पुगेको छ । आकाशे पानीको भरमा यहाँका सुन्तलाखेती गर्दै आएका यहाँका किसान अहिले सौर्य ऊर्जामार्फत सिँचाइ सुविधा पाउँदा उत्साहित भएका छन् । भिरालो र सुक्खा क्षेत्रमा सिँचाइको अभावमा समस्या झेल्दै आएका किसानलाई सौर्य ऊर्जामार्फत सिँचाइ पुगेपछि सहज भएको हो ।

एक सय चार मिटर उचाइमा रहेका सुन्तलाबारीमा लिफ्टिङ प्रविधिबाट सिँचाइका सुविधा पुगेपछि खेती गर्न सहज भएको किसान तिलबहादुर थापाले बताए ।

बेसारघारी सिँचाइ आयोजनाअन्तर्गत उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थापाले भने, “यहाँका बासिन्दालाई सिँचाइमा समस्या थियो । हामीले आकाशे पानीको भरमा परम्परागत विधिबाट खेती गर्दै आएका थियौँ । सोलार प्रविधिबाट पानी तानेर अहिले सहज रुपमा सिँचाइ गर्न पाएका छौँ ।”

सहज सिँचाइ सुविधा पाएपछि अहिले व्यावसायिक रुपमा सुन्तलासँगै अन्य खेतीतर्फ जोडिँदै गएको थापाले बताए । उनले भने, “केही फाइदा र बेफाइदा हुने रहेछ । पानीको मुहान सुक्दा समस्या हुन्छ । पहिलेभन्दा सहज भएको छ । सिँचाइका लागि मुहानमा पर्याप्त पानी आवश्यक पर्दछ ।”

देवघाट–२ बेसारघारीमा सौर्य ऊर्जाका माध्यमबाट पानी लिफ्टिङ गरी सिँचाइको व्यवस्था गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इन्जिनियर जगन्नाथ चापागाईंले जानकारी दिए । उनका अनुसार एक करोड २१ लाखको लागतमा बेसारघारी लिफ्टिङ योजना निर्माण गरिएको हो ।

बन्दीपुर गाउँपालिका–३ मा कोल्पाटा सिँचाइ आयोजनामार्फत १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याइएको छ । ५१ लाख ८७ हजारको लागतमा उक्त आयोजना निर्माण भएको सूचना अधिकारी चापागाईंले बताए ।

व्यास नगरपालिका–६ चापाटारस्थित याङ्दी खोला सिँचाइ योजनामार्फत ५७ लाख २२ हजारको लागतमा सिँचाइ सुविधा पु¥याइएको छ । यसले १५ हेक्टर क्षेत्रफलमध्ये १२ हेक्टरमा सिँचाइ हुने उनले जानकारी दिए ।

भानु नगरपालिका–१० स्थित पदेलफाँट लुइँटेलफाँट सिँचाइ आयोजना निर्माणाधीन छ । यसले १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने कार्यालयले जनाएको छ । उक्त आयोजना ६५ लाख ८० हजारमा निर्माण भइरहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा शुक्लागण्डकी नगरपालिका–१० स्थित लोग्दीटारमा स्थानीय क्याङ्दी खोलाबाट लिफ्ट प्रविधिबाट सिँचाइको सुविधा उपलब्ध गराइएको थियो । क्याङ्दी खोलामा सम्पवेल निर्माण गरी ७० मिटर उचाइमा लिफ्टमार्फत पानी तानेर दुईवटा ट्याङ्कीमा पानी सङ्कलन गरिएको सूचना अधिकारी चापागाईंले उल्लेख गरे ।

“ट्याङ्कीमा सङ्कलित पानी करिब चार किलोमिटर क्षेत्रफलमा पाइप बिछ्याएर प्लट–प्लटमा धारा जडान गरिएको छ । उक्त धाराबाट करिब एक महिनादेखि पानी वितरण गरी सिँचाइ भइरहेको छ”, उनले भने ।

गण्डकी प्रदेश सरकारको करिब रु एक करोड २९ लाखको लागतमा निर्माण गरिएको लोग्दीटार लिफ्ट सिँचाइ आयोजनाबाट करिब तीन सय उपभोक्ता लाभान्वित भएका छन् । यस्तै, सिस्नेरी ठूलोफाँट लिफ्ट सिँचाइ आयोजनाबाट १२ हेक्टर क्षेत्रफलमा सुविधा पुगेको छ ।

आयोजना निर्माण भएपछि यहाँ हिउँदमा पनि हरियो सागसब्जी र तरकारी खेती गर्न पर्याप्त सिँचाइ उपलब्ध भएको छ । यस आयोजना विसं २०७५ देखि सुरु भएकामा हाल सम्पन्न भई सञ्चालनमा आएको सूचना अधिकारी चापागाईंले जानकारी दिए ।

सुक्खा जमिनमा सिँचाइका लागि पानी पर्याप्त भएसँगै किसानले तरकारीखेतीसँगसँगै धानखेती पनि गर्दै आएका छन् । यहाँका किसानले अहिले गहुँ, धान, मकै, काउली, बन्द, तोरीलगायत खेती गरिरहेका छन् ।

सतहमा पानी भएका स्थानमा कुलो, नहरबाट र सतहमा पानी नभएका स्थानमा सोलार लिफ्टमार्फत सिँचाइको सुविधा उपलब्ध गराउन योजनाबद्ध काम थालिएको कार्यालयका डिभिजन प्रमुख प्रकाश लम्सालले बताए । उनका अनुसार कार्यालयले अहिले शुक्लागण्डकी र भिमाद नगरपालिका, बन्दीपुर र देवघाट गाउँपालिकामा सोलर लिफ्ट सिँचाइ आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।

“लोकेतीटारमा २३, सिस्नेरीमा २७ र बेसारघारीमा ३२ वटा धारा निर्माण गरी सिँचाइको व्यवस्था मिलाएका छौँ”, प्रमुख लम्सालले भने, “सोलार लिफ्टको माध्यमबाट लोग्दीटारमा करिब चार सय ६० रोपनी, सिस्नेरीमा करिब तीन सय रोपनी र बेसारघारीमा छ सय रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।”

सिस्नेरी फाँटमा जमिनभन्दा ७० मिटर गहिराइमा खनिएको बोरिङबाट पानी लिफ्ट गरी ट्याङ्कीमा सङ्कलन गरी वितरण गरिएको छ । उक्त आयोजनाअन्तर्गत तीन किमी क्षेत्रफलमा पाइप बिछ्याइएको छ । बेसारघारीमा स्थानीय खोलामा पोखरी बनाएर पानी जम्मा गरी एक सय चार मिटर उचाइमा सौर्य ऊर्जाको माध्यमबाट पानी लिफ्टिङ गरिएको कार्यालयले जनाएको छ ।

सुक्खा क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराई व्यावसायिक कृषि पेसामा आबद्ध किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य ऊर्जा लिफ्टिङ प्रविधिको प्रयोग गरी यी योजना सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयका डिभिजन प्रमुख लम्सालले बताए ।

उनले भने, “पानीको स्रोतभन्दा सिँचाइको सुविधा पुर्याउनुपर्ने क्षेत्र अग्लो स्थानमा भएकाले विद्युतीयमाध्यमबाट सिँचाइ पु¥याएका छौँ । विद्युत् महसुलले किसान मारमा पर्नसक्ने सम्भाव्यतालाई अध्ययन गरी सहज सोलार प्रविधिको उपयोगी गरिएको छ ।”

प्रदेश सरकारबाट सिँचाइका लागि कूल पाँच करोड ४१ लाख बजेट विनियोजन भएको छ । गत आवमा दुई सिँचाइ योजना सम्पन्न भएका प्रमुख लम्सालले जानकारी दिए । उनका अनुसार सङ्घ ससर्ततर्फ एक करोड ८५ लाख बजेट विनियोजन भएको थियो । 

गोरखामा पहिरोमा बेपत्ता पाँचमध्ये तीन जनाको शव फेला

गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ रेसेफाँटको पहिरोमा परी बेपत्ता भएका पाँचमध्ये तीन जनाको शव भेटिएको छ ।

सोमबार ६० वर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ वर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गण्डकी गाउँपालिका– ८, बर्खेघाटमा फेला परेको शव कान्छीमायाको भएको पुष्टि भएको छ । पहिरोमा पुरिएर सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ट्याक्टर चाल २४ वर्षीय रमेश परियार बेपत्ता छन् ।

प्रहरीले आजदेखि बुढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा पनि बेपत्ताको खोजी थालेको जनाएको छ ।

३९ वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसको दावी

युक्रेनले सोमबार मुख्य सीमावर्ती क्षेत्रहरूलाई लक्षित गरी फायर गरेका ३९ वटा ड्रोन नष्ट गरेको रूसले दाबी गरेको छ ।

रूसी हवाई प्रतिरक्षा प्रणालीले कुस्र्क क्षेत्रमा १९, बेलगोरोड क्षेत्रमा नौ, भोरोनेज क्षेत्रमा तीन र ब्रायन्स्कको आकाशमा पाँचवटा ड्रोन नष्ट गरेको रूसी रक्षा मन्त्रालयले टेलिग्राममार्फत सार्वजनिक गरेको छ ।

यसैगरी सेन्ट पिटर्सबर्ग नजिकैको उत्तरपश्चिमी लेनिनग्राद क्षेत्रमा आतङ्वादी आक्रमणका लागि प्रयासरत अन्य तीन ड्रोन निष्क्रिय पारिएको छ ।

पछिल्लो समय रूसी इन्धन डिपो, ऊर्जा केन्द्र र सीमावर्ती क्षेत्रहरूमा युक्रेनी ड्रोन आक्रमणका समाचार आइरहेका छन् ।

रूसले युक्रेनका विद्युत गृहहरूमा पछिल्दो समय निरन्तर आक्रमण गर्दा युक्रेनमा बिजुलीको गम्भीर अभाव भएको छ ।

अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च

अष्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्यु दर अझै पनि औसतभन्दा बढी भएको अनुसन्धानले देखाएको सोमबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ ।

विज्ञहरूले कोभिडको प्रभाव आगामी वर्षहरूमा पनि सामना गर्नुपर्ने प्रक्षेपण गरेका छन् ।

‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’ को अनुसन्धानले सन् २०२३ मा कोभिडले अनुमान गरिएको भन्दा पाँच प्रतिशत बढी मानिसहरूको मृत्यु भएको पत्ता लगाएको छ ।

अनुसन्धानबाट विज्ञहरूले कोभिडको कारणले मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या मापन गरी अतिरिक्त मृत्युदर अझै महामारीपूर्वको स्तरभन्दा बढी रहेको जनाएका हुन् ।

अनुसन्धानअनुसार मृत्युको नवौं प्रमुख कारण रहेको कोभिडजन्य कारणबाट गत बर्ष करिब चार हजार ६०० जनाको मृत्यु भएको थियो ।

अनुसन्धान प्रतिवेदनमा कोभिडको नियमित उपचार तथा नियन्त्रण नगरिएको उल्लेख गर्दै कोभिडलाई उच्च मृत्यु दरको सम्भावित कारकका रूपमा उदृत गरिएको छ ।

विज्ञहरूका अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा अतिरिक्त मृत्युदर भने कम थियो ।

विस्तारै कोभिड–१९ लहरले हाल अघिल्लो लहरको तुलनामा कम मृत्यु भएको बताउँदै एक्च्युरी इन्स्टिच्युटकी प्रवक्ता करेन कटरले आगामी वर्षसम्म पनि कोभिड मृत्युको कारण बन्ने बताइन् ।

मडुरो भेनेजुएलाको राष्ट्रपतिको चौथो कार्यकालका लागि अनुमोदित

भेनेजुएलाको राष्ट्रपति चुनावमा निकोलस मडुरो चौथो कार्यकालका लागि विजयी घोषित भएका छन् ।

मडुरोले ५१.२ प्रतिशत मत प्राप्त गरी विजयी हुनुभएको र विपक्षी उम्मेदवार एडमुन्डो गोन्जालेज उरुटियाले ४४.२ प्रतिशत मत प्राप्त गरेको निर्वाचन परिषद्ले जनाएको छ ।

विपक्षी र क्षेत्रीय छिमेकी केही मुलुकले तत्काल आधिकारिक नतिजालाई अमान्य बताएका छन् ।

निर्वाचन परिषद्बाट मतपरिणामको घोषणापछि राष्ट्रपति मडुरोले राष्ट्रपति भवनमा समर्थकहरूलाई सम्बोधन गरेका छन् सम्बोधनमा उनले भने, ‘भेनेजुएला र विश्वका जनतासामु बोलिभारियाली गणतन्त्र भेनेजुएलाको पुनः निर्वाचित राष्ट्रपतिमा म निर्वाचित भएको छु । मेरो आगामी जिम्मेवारी देशमा शान्ति, स्थायित्व र न्यायका लागि हुनेछ । सबैले शान्ति र सुव्यवस्थाको सम्मान गरौँ ।’

तर भेनेजुएलाको विपक्षी गठबन्धनले निर्वाचन परिषद् तथ्याङ्क (मत परिणाम) लाई अस्वीकार गर्दै आफूले ७० प्रतिशत मत प्राप्त गरेको दाबी गरेको छ ।

‘हामी भेनेजुएला र विश्व समुदायलाई भेनेजुएलाको नयाँ राष्ट्रपतिमा डमुन्डो गोन्जालेज उरुटिया निर्वाचित भएको जानकारी गराउन चाहन्छौँ,’ विपक्षी नेता मारिया कोरिना माचाडोले पत्रकार सम्मेलन गरी भने । उनले चुनावमा आफ्नो दलले बृहत् समर्थनसहित निर्वाचित बनेको दावी गरे ।

कोस्टारिकाका राष्ट्रपति रोड्रिगो चाभेजले नतिजालाई ‘कपटपूर्ण’ भन्दै निर्वाचनको आधिकारिकतामाथि प्रश्न उठाएका छन् भने चिलीका राष्ट्रपतिले परिणामलाई ‘विश्वास गर्न’ कठिन भनी प्रतिक्रिया दिएका छन् ।

पेरुले मतपरिणामबारे परामर्शका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको बताएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भेनेजुएलाको निर्वाचन परिणामले भेनेजुएलाका मतदाताको इच्छालाई प्रतिबिम्बित नगरेको भन्दै मतपरिणामप्रति अविश्वास प्रकट गरेका छन् ।

नाम फिर्ताका लागि प्रस्तावित निर्वाचन आयुक्त प्रधानले दिए निवेदन

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले संसदीय सुनुवाइ समितिले आफ्नो नाम अनुमोदन नगर्ने संकेत पाएपछि नाम  फिर्ताका लागि निवेदन दिएका छन् ।

प्रधानले सोमबार संसद सचिवालयमा नाम फिर्ताका लागि निवेदन दर्ता गराएका हुन् । संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानविरूद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको थियो ।

उजुरीकर्ताहरूसँग संसदीय समितिले छलफलसमेत गरेको थियो । संवैधानिक परिषद्ले गरेको सिफारिस संसदको सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने प्रावधान रहेको छ ।

तर, यौन हिंसाको गम्भीर आरोप लागेपछि उनको नाम संसदीय समितिले अस्वीकृत गर्ने सम्भावना बढेको थियो । संसदीय समितिबाट नाम अनुमोदन नहुने देखेपछि प्रधानले आफैँ नाम फिर्ता लिन भन्दै निवेदन दिएका हुन् ।

प्रधानकाबारेमा निर्णय गर्न सोमबार बिहान साढे ११ बजे समितिको बैठक बोलाइएको थियो । तर पछि साँझ पाँच बजेका लागि बैठक सारिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचसमेत सोमबार बिहान यसबारेमा छलफल भएको थियो । छलफलमा दुई नेता प्रधानलाई अनुमोदन गर्न नहुने पक्षमा देखिएको बताइएको छ । त्यसपछि प्रधान आफैं नाम फिर्ताका लागि तयार भएका हुन् ।

नेपालमा लगानी गर्न जापानी सांंसदको टोलीलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको बताए ।

उनले सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको उल्लेख गर्दै नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गरे  ।

नेपालमा जापानको निःसर्त र निःस्वार्थ सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति पौडेलले एसियाका ज्योति गौतमबुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रुपले पनि जोडिएको बताए । नेपाल–जापानबीचको जनस्तरमा समेत सम्बन्ध सुदृढ रहेको उनको भनाइ थियो । 

राष्ट्रपति पौडेलले लोकतन्त्र, मानवअधिकार, विधिको शासनजस्ता राजनीतिक मुद्दामा समेत अन्तर्राष्ट्रिय मञ्चमा एउटै आवाज भएको कारणले पनि दुई देशबीचको सम्बन्ध नजिक रहेको उल्लेख गर्दै खासगरी पूर्वाधार, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

नेपाली विद्यार्थीहरुले जापानमा प्रविधि सिकेर यहाँ आएर पौरख गरिरहेकामा उनले सन्तोष प्रकट गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।  

त्यस अवसरमा जापानी प्रतिनिधिमण्डलले जापानी कम्पनीहरुले नेपालमा लगानी गर्न चाहेकाले ती कम्पनीलाई लगानी गर्न सहज वातावरण बनाउन राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराए ।

जापान पढ्न जाने धेरै नेपालीलाई भेट्दा जापानमाा प्रविधि सिकेर नेपाल नै फर्केर त्यसको सदुपयोग गर्न चाहेको बताउँदा खुसी लागेको उल्लेख गर्दै उनीहरुले नेपाल सरकारले त्यस्तो प्रविधि सिकेकालाई नेपालमै बसेर काम गर्ने वातावरण बनाउन सुझाव दिए । 

प्रतिनिधिमण्डलले आर्थिक गतिविधिको मुख्य केन्द्र राजधानी काठमाडौँ बनिरहेकाले अहिलेको परिस्थितिलाई विकेन्द्रित गरी गाउँगाउँबाट जापान जाने र प्रविधि सिकेर त्यहीँ गएर काम गर्ने वातावरण बनाउनसमेत नेपालाई सुझाव दियो  ।

संसदीय समितिले सहकारीसम्बन्धी मुद्दामा जेल चलान भएकाहरुको बयान लिने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन् । 


सोमबार बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्याको दिगो समाधानका पक्षमा सरकार रहेको स्पष्ट पारे ।


‘सहकारी समस्या समाधानको विषय सरकारले प्राथमिकतामा राखेको छ । यसका लागि सरोकारवासँग छलफल भइरहेको छ’, उनले भने, ‘सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने विश्वास लिएको छु ।’ समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे । 


देश–विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई यथाशीघ्र पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन समितिले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएको हो । छानबिन समितिका संयोजक सूर्यबहादुर थापा क्षेत्रीले सहकारीसम्बन्धी मुद्दामा जेल चलान भएकाहरुको बयान लिन सहजीकरण गरिदिन गृहमन्त्री लेखक समक्ष आग्रह गरे ।


सहकारीको बचत रकम हिनामिना गरी फरार भएकालाई पक्राउ गर्न आवश्यक प्रक्रिया थालिएको गृहमन्त्री लेखकले जवाफ दिए । सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरेर जेलमा राखिएकाको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने उनले बताए । 


बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि सहभागी थिए ।

प्रस्तावित निर्वाचन आयुक्त प्रधानलाई अनुमोदन नगरी ‘नालायक’ घोषणा गर्न राप्रपा सांसद कार्कीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई अनुमोदन नगर्न संसदीय सुनुवाइ विशेष समितिलाई आग्रह गरेको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले प्रधानलाई अनुमोदन नगर्न समितिलाई आग्रह गरेकी हुन् ।

उनले प्रधानलाई ‘नालायक’को संज्ञा दिइन् । उनले संसदीय समितिमा प्रधानमाथि यौन शोषणको उजुरी परेकाले प्रधानलाई नियुक्त गरिएको खण्डमा ५१ प्रतिशत महिला र संविधानको धारा २४५ को उपधारा ६ को पनि अपमान हुने बताइन् ।

उनले भनिन्, ‘प्रधानमाथि यौन शोषणको आरोप छ । मिलापत्र पछि प्रधानले पटक-पटक गरी महिलालाई एक करोड तिरेको रसिद पनि छ । यस्तो व्यत्तिलाई यदि आयुक्तमा नियुक्त गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुन्छ।’

उनले संसदीय समितिलाई प्रधानलाई अनुपयुक्त र नालायक ठहर गर्न आग्रह गरेकी छन् । प्रधानकाबारेमा निर्णय गर्न आज बिहान बोलाइएको समितिको बैठक बेलुका पाँच बजेका लागि सारिएको छ ।

सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द

काठमाडौं – इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाईउडान बन्द भएको हो ।

यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो । जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ नै फर्केको थियो । त्यसयता उडान हुन नसकेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए । मौसममा सुधार नआउन्जेलसम्म हवाई उडान नहुने उनको भनाइ छ ।

नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि इलाम–काठमाडौं उडान भर्दैआएको थियो । नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार गरी दुई दिन उडान भर्दै आएको थियो । नेपाल एयरलाइन्सको विमानले उडान सुरु गर्नु अघि सीता एयरलाइन्सको विमानले उडान भर्दै आएको इन्चार्ज सुन्दासले बताए । सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका–९ मा पर्छ । मौसम खुलेपछि नियमित उडान हुने उनले बताए ।

हवाई उडान बन्द भएपछि यहाँका यात्रुलाई समस्या भएको छ । हाल उनीहरु झापाको भद्रपुर विमानस्थलबाट हवाई यात्रा गर्दै आएका छन् ।

बृहत्तर जनकपुरमा चुलिँदै विवाद, खुम्चिँदै प्रतिष्ठा

टिकाराम सुनार, काठमाडौँ । आर्यचिन्तन परम्पराको केन्द्र जनकपुरधाम आदिकालदेखि नै आफैँमा बृहत् छ । पछिल्लो समय ‘बृहत्’ भनेर महिमागान हुने जनकपुरका ती आधारहरू निरन्तर कमजोर हुँदै गइरहेका छन् । धार्मिक अनुष्ठानका लागि दानीहरूले दिएका भूमि अतिक्रमणमा परेका छन् ।

विद्वान/विदुषीहरूले बसालेको चिन्तन परम्परा र तिनको संरक्षणका लागि बनाइएका धार्मिक तथा गैरधार्मिक प्रतिष्ठानहरू विवाद तथा बेथितिको चाङमाथि उभिएका छन् । त्यसको एउटा उदाहरण हो–बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ।

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, कार्यालयको प्रवेशद्वारमा लामो समयसम्म लेखियो–अध्यक्षलाई प्रवेश निषेध । यसरी निषेध गर्ने कर्मचारीको आरोप छ–अध्यक्षले ऐनमा हुँदै नभएको अधिकार प्रयोग गरी अनियमित लाभ खोजे, बृहत्तरको गरिमा राख्न सकेनन् र कर्मचारीलाई दुःख दिएर बृहत्तरको उद्देश्य पूर्तिमा अड्चन खडा गरे ।

परिषद्का अध्यक्ष शीतल साह भने त्यसलाई स्वीकार्न तयार छैनन् । उनको दाबी छ, “कर्मचारीहरुले वर्षौंदेखि चलाइरहेको गैरकानुनी रजगज तोड्न खोज्दा आफूलाई नै निषेध गरियो । कर्मचारीले लगाएका आरोप आधारहीन छन् ।”

अध्यक्ष र कर्मचारीबीच हुने यस्तो विवाद तथा आरोप–प्रत्यारोप पहिलोपटक भने होइन । संस्था स्थापना भएदेखि नै विभिन्न नाममा हुने विवादको उत्कर्ष मात्रै हो । विवाद, निषेध र आरोप–प्रत्यारोपको शृङ्खलाका बीच यस संस्थाको अस्तित्व नै सङ्कटमा छ । एकले अर्काविरूद्ध सार्वजनिकरूपमै वक्तव्यबाजी मात्रै होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दामाथि मुद्दा हाल्ने काम जारी छ ।

परिषद् ऐन २०५५ को दफा ६ अनुसार संस्थाको सर्वोच्च निकायका रूपमा सञ्चालक परिषद् र अध्यक्ष छन् । परिषद्लाई सहयोग गर्न सचिवालय र कर्मचारी छन् । तर यी दुवै तहबीच हाल सामान्य सहकार्यको अवस्था पनि छैन । यसकारण संस्थाको औचित्य पुष्टि गर्ने गरी काम हुन नसक्दा संस्था नै दिनप्रतिदिन सङ्कटमा फस्दै गएको छ । त्यो सङ्कट टार्न न सरकारका तर्फबाट ठोस पहल भएको छ न त अरू सरोकार भएकाहरूबाट ।

प्रतिष्ठित नेतृत्व तर प्रतिष्ठा नै धरापमा

विसं २०४९ मा परिषद् स्थापना भएदेखि हालसम्म १० जना अध्यक्ष र १७ जना कार्यकारी निर्देशक नियुक्त भए । जनकपुर बृहत्तर विकास समिति हुँदा पहिलो अध्यक्ष थिए लिला कोइराला (विसं २०४९/१०/१७—०५१/१०/१८) । त्यसपछि दिनेशचन्द्र यादव (२०५२ माघ ११ सम्म), महेन्द्रनारायण निधि दुई कार्यकाल (२०५६ वैशाख २० सम्म), नरेन्द्रकुमार मिश्र (२०६० असोज १२ सम्म), भोजराज घिमिरे (२०६३ साउन ८ सम्म), रामचन्द्र झा (२०६४ फागुन १२ सम्म) । त्यसपछि रामचन्द्र मण्डल, दिगम्बर राय, रामकुमार शर्मा, शालिग्राम सिंह र हाल शीतल साह परिषद्को अध्यक्ष हुन् ।

प्रथम अध्यक्ष लिला कोइरालादेखि शीतल साहसम्म सबैजना आफ्नो क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्व छन् । निधि त नेपाली कांग्रेसमा पार्टी संस्थापक नेताहरूको समकक्षी, राष्ट्र गौरवको सम्मान प्राप्त व्यक्ति पनि छन् । नेपाली राजनीतिमा निधि परिवार अहिले पनि उत्तिकै प्रभावशाली छ । यस परिवारबाट पुत्र विमलेन्द्र निधि अहिले पनि शक्तिमै छन् । त्यसैगरी, रामचन्द्र झा मन्त्री भयो । तत्कालीन एमालेमा, पछि माओवादी केन्द्रमा र हाल एकीकृत समाजवादी अर्थात् जहाँ हुँदा पनि उनी सधैँ प्रभावशाली नेताकै रूपमा रहे ।

पूर्वअध्यक्षमध्येका रामचन्द्र मण्डल अहिले मधेस प्रदेशसभाको सभामुख छन् । मण्डल हिजोदेखि आजसम्म शक्तिमै छन् । अहिलेका अध्यक्ष साह पनि नेपाल पत्रकार महासङ्घको पूर्वकेन्द्रीय कोषाध्यक्ष भइसकेको व्यक्ति हो ।

यस्ता प्रतिष्ठित व्यक्तित्वले नेतृत्व गरेको संस्था भने विगतदेखि नै चुनौती र बेथितिको चाङमा छ । त्यसबाट बाहिर निकाल्नका लागि भने कसैले पनि ठोस कदम नचालेको आरोप छ । “यदि उहाँहरूले चाहेको भए तत्कालीन समिति परिषद्मा रूपान्तरण हुँदै सुरु भएको विवाद समाधानको सट्टा झनै गहिरिँदै विघटन हुने अवस्थामा किन पुग्थ्यो त ?”, आरोप लगाउनेहरूले प्रश्न गर्छन् ।

परिषद्मा रहेका विविध समस्यामध्ये अध्यक्ष र कार्यकारी अधिकृतको क्षेत्राधिकार सबैभन्दा ठूलो विवादको कारक हो भनेर स्थानीय सबैले स्वीकारेका छन् । यही प्रश्नमा पूर्वअध्यक्ष झा भन्छन्, “प्रयास नगरेको होइन, म आफैँ अध्यक्ष हुँदा पनि ऐन संशोधनका लागि बोर्डबाट निर्णय गरेर मन्त्रालयमा पठाइएको थियो तर तत्कालीन अवस्थामा अगाडि बढ्न सकेन ।”

पूर्वअध्यक्ष शर्मा ऐतिहासिक र पौराणिक गौरवगाथा भएको जनकपुरलाई राज्यले महत्व नदिएकै कारण यहाँको विकास र विकासका लागि गठित संस्थाहरू उपेक्षामा परेको बताउँछन् ।

“जनकपुर भारतको अयोध्या जस्तै उच्च महत्वको क्षेत्र हो तर राज्यले नेपालकै अरू क्षेत्रमा रहेका धार्मिक क्षेत्रजति पनि महत्व दिएन । बृहत्तर जनकपुर बनाउने सपनासहित स्थापित संस्थालाई सोअनुसार बलियो बनाउन आवश्यक ऐन, कानुन तर्जुमा, समयसापेक्ष परिमार्जन, क्षेत्राधिकारमा प्रस्टता, बजेट तथा योजनामा सधैँ उपेक्षा गरेकै कारण अहिले यो संस्था विघटनको सङ्घारमा पुगेको हो”, उनले भने ।

परिषद्को अध्यक्ष सुरुमा मन्त्रिपरिषद्को निर्णयअनुसार गर्ने गरिएकामा पछि मन्त्रिस्तरीय निर्णयबाट गर्न थालियो । यस्तै परिषद्को कार्यकारी निर्देशक स्थापनाकालदेखि विसं २०६२ सम्म अध्यक्षको तजबिजमा हुने गर्दथ्यो ।

यही विधिबाट सातजना नियुक्त भए तर विसं २०६१ पछि खुला प्रतिस्पर्धाबाट कार्यकारी नियुक्तिको अभ्यास सुरु भयो । अम्बिकाप्रसाद अधिकारी पहिलोपटक विसं २०६१ वैशाख २८ मा खुला प्रतिस्पर्धाबाट कार्यकारी अधिकृतमा नियुक्त भयो । त्यसयता त्यही मान्यताका आधारमा नियुक्ति भइरहेको छ ।

बेलाबेला विवाद उत्पन्न हुँदा र प्रतिस्पर्धाबाट नआउने अवस्थामा दैनिक कामकारबाही सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त तोक्ने प्रचलन छ । विगत दुई वर्षयता खुला प्रतियोगिताबाट नआएपछि मन्त्रालयले नै यही प्रचलनअनुसार गरिरहेको छ ।

विवादको अविराम शृङ्खला

विसं २०४९ मा बृहत्तर जनकपुर क्षेत्र विकास समितिको जन्म संसद्बाट भयो । विसं २०५५ मा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन जारी भएपछि समितिलाई परिषद्मा रूपान्तरण गरिएको थियो । ऐनको प्रस्तावनामा भनिएको छ, “जनकपुर र यसको माध्यमिकी (पञ्चकाशी) परिक्रमा क्षेत्रभित्रको धार्मिक, ऐतिहासिक र पुरातात्विक महोत्वका मठ, मन्दिर, सरोवर र स्थलहरूको सुरक्षा, सम्भार र विकास गर्ने तथा बृहत्तर जनकपुर क्षेत्रको सामाजिक, आर्थिक र सांस्कृतिक पूर्वाधारहरू विकसित गर्दै सुव्यवस्थित तीर्थस्थल एवं धार्मिक क्षेत्रका रूपमा योजनाबद्ध ढङ्गले विकास गर्न बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को स्थापना र व्यवस्थित गर्न वाञ्छनीय भएकाले संसद्ले यो ऐन बनाएको छ ।”

त्यसैगरी, ऐनको दफा ५ का उद्देश्यलाई हेर्दा पनि यसलाई एक प्रतिष्ठित संस्थाका रूपमा विकास गर्न खोजेको देखिन्छ तर क्षेत्राधिकार र कर्मचारी व्यवस्थापनमा ध्यान नदिँदा विवादको भुमरीमा फसेको जानकारहरू बताउँछन् ।

संस्थामा विवादको मूल जडका रूपमा सरकारले नियुक्त गर्ने बोर्ड अध्यक्ष र बोर्डले नियुक्त गर्ने कार्यकारी निर्देशकको क्षेत्राधिकार रहेको धेरैको दाबी छ । ऐनको दफामा अध्यक्ष नियुक्ति गर्ने प्रावधान त छ तर काम, कर्तव्य र अधिकारको प्रावधान नै छैन । बोर्डले चार वर्षका लागि नियुक्त गर्ने कार्यकारी निर्देशकको अधिकार भने प्रस्ट छ ।

ऐनको दफा ६ मा सञ्चालक परिषद्को व्यवस्था छ । सर्वोच्च निकायका रूपमा रहेको परिषद् अध्यक्ष नेपाल सरकारले चार वर्षका लागि नियुक्त गर्ने प्रावधान छ तर अध्यक्षको काम, कर्तव्य र अधिकारबारे छुट्टै व्यवस्था छैन । दफा ८ मा सञ्चालक परिषद्को काम, कर्तव्य र अधिकार भनिए पनि अध्यक्षबारे केही बोलिएको छैन र अध्यक्षको सेवासुविधाका विषयमा पनि केही भनिएको छैन । दफा १७ मा भने परिषद्को दैनिक प्रशासकीय कार्यका लागि खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्तिको व्यवस्था छ ।

यही कारण अध्यक्ष र कार्यकारी अधिकृतको स्वार्थ मिलेसम्म सहजरूपमा काम हुने तर स्वार्थ नमिलेको दिनदेखि समस्या उत्पन्न हुने गरेको विगतदेखिकै घटनाक्रमबाट प्रस्ट हुन्छ ।

परिषद्मा क्षेत्राधिकारको विवाद भुसको आगो झैँ सल्किरहेको थियो । त्यसको प्रकट २०६३ सालतिर भयो, जतिबेला पूर्वमन्त्री रामचन्द्र झा अध्यक्ष थिए ।

विसं २०६३ साउन २९ गते अध्यक्ष नियुक्त भएका झाको पालामा कार्यकारी निर्देशकमा नेबल चौधरीलाई नियुक्त गरियो तर केही महिनामै आफैँले नियुक्त गरेको कार्यकारी निर्देशकसँग अध्यक्ष झाको मनमुटाव सुरु भयो । त्यो मनमुटाव कुटाकुटको अवस्थासम्म पुगेको जानकारहरू बताउँछन् ।

अध्यक्ष झा भन्छन्, “मेरो पालमा मध्यमिकी परिक्रमा क्षेत्रभित्र पर्ने कुटी र १५ दिने परिक्रमाका समयमा अत्यावश्यक कामहरू गर्नमा सीमित संस्थालाई चलायमान बनाउने काम भयो । यहाँ रहेका दलित, आदिवासी, जनजातिका जातीय कुटीहरूको अवस्था सुधार्न पाँच लाखसम्म रकम दिएर मर्मत गर्न लगाइयो । यसपछि कमिसनको कुरा सुरु भयो । कमिसन आउने ठाउँ हेरेर सहुलियत दिन थालियो । यसैगरी, भारतीय दूतावाससँग मिलेर तीन करोडको परियोजना लागू भयो । १७ वटा भित्री साना सडक स्तरोन्नतिको काम हुन थाल्यो । कामसँगै विवाद सुरु हुनाका कारण कमिसन नै थियो ।”

विवादको जड ऐनको व्यवस्थालाई आफू अनुकूल व्याख्या गर्ने कर्मचारीहरूको भएको उनको भनाइ छ । “१० लाखभन्दा तलको रकमबाट हुने ठेक्का कार्यकारी अधिकृत र त्योभन्दामाथि अध्यक्षले सदर गर्छ तर कार्यकारी अधिकृतले इन्जिनियरसँग मिलेर आफ्नो अधिकारभित्रको रकमअनुसार योजना टुक्राटुक्रा गरेर दिन थाले । आफ्नो निकटबाहेकका ठेकेदारलाई ठेक्काका लागि आवेदन नै दर्ता हुन नदिने गरेको गुनासो आयो । म काठमाडौँमा भएकाले त्यो कुरा प्रमुख जिल्ला अधिकारीलाई तत्काल जानकारी गराएँ । प्रहरी परिचालन गरेर नियम पुगेका सबैलाई आवेदन दिन पाउने अवस्था बनाइयो,” अध्यक्ष झाले स्मरण गरे, “पछि जनकपुर फर्केपछि तत्कालीन कर्मचारीलाई आफ्नो कार्यकक्षमा बोलाएर स्पष्टीकरण सोधेँ । सानो रकममा पनि कमिसन लिने गरेको, ठेक्कामा आफ्नो सेटिङका मान्छेलाई मात्रै आवेदन दिने व्यवस्था मिलाएको, मलाई नै जानकारी नदिएर एक डेढ वर्षको तलब पेश्की एकैपटक लिएर जग्गा किनेको, कोषमा तलब खाने रकमसमेत नभएको विषयहरू थिए । अधिकारको दुरुपयोग किन गरेको ? मलाई नसोधेरै किन यस्तो भएको रु भनेर लिखित स्पष्टीकरण सोधेपछि मुद्दा मामिला, मनमुटावजस्ता कुरा भए ।”

परिषद्का पूर्वअध्यक्ष शर्मा क्षेत्राधिकारलाई लिएर अध्यक्ष र कर्मचारीबीच उत्पन्न हुने विवादले परिषद् सुरुदेखि नै विवादमा फस्दै आएको बताउँछन् ।

उनी भन्छन्, “परिषद्को जन्म संसद्बाट भयो तर क्षेत्राधिकारको विषयमा ध्यान पु¥याउन सकिएन । त्यसपछिका कुनै पनि संसद्ले विवाद समाधानका लागि ऐन संशोधनको आवश्यकता नै देखेनन् । त्यसैकारण मन्त्रिपरिषद्ले नियुक्त गरेको अध्यक्षभन्दा अध्यक्षको रोहवरमा नियुक्त कार्यकारी निर्देशक शक्तिशाली भएर आए । यसरी सुरु भएको विवाद अहिलेसम्म कायमै छ ।”

मधेस प्रदेशका सभामुख तथा परिषद्का पूर्वअध्यक्ष मण्डल पनि अध्यक्षलाई फड्के किनाराको साक्षीका रूपमा राख्ने कानुनी व्यवस्थाले विवाद हुने गरेको बताउँछन् । कार्यक्षेत्र र अधिकारको अस्पष्टताका कारण ऐतिहासिक महत्व बोकेको संस्था सङ्कटमा रहेको उनको धारणा छ ।

“ढुकुटी कर्मचारीको हातमा छ । त्यसको सदुपयोग र दुरुपयोग हुँदा उत्पन्न हुने परिस्थितिको जस–अपजस भने अध्यक्षले बोक्नुपर्ने हुन्छ । त्यसैले एकपक्षीय कानुन नै समस्याको मूल कारण हो”, पूर्वअध्यक्ष मण्डलले भने ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पनि सरकारले स्थापनाकालको उद्देश्यअनुरूप परिषद्लाई प्राथमिकतामा राखेर काम नगर्दा विगतदेखि नै समस्या भएको बताउँछन् । उनी जनकपुरजस्तो एतिहासिक, धार्मिक क्षेत्रको बृहत्तर विकासका निमित्त स्थापना गरिएको संस्थालाई सरकारले एउटा मन्त्रालयको शाखाजतिको महत्वसमेत नदिएको जिकिर गर्छन् ।

“यो संस्था जनकपुरको बृहत्तर विकासका लागि ठूलो उद्देश्य लिएर स्थापना भएको थियो, सुरुमा त्योअनुसार यसको महत्व थियो तर पछि कायम राख्न सकिएन । यसमा हामी सबैका कमजोरी छन् । मूल रूपमा सरकारले नै प्राथमिकतामा राखेर काम गर्नुपर्ने हो तर त्यसो भएन”, निधि भन्छन्, “त्यसका लागि जनकपुरबाट प्रतिनिधित्व गर्ने हामी नेताहरूले पनि पर्याप्त ध्यान दिन नसकेकै हो । अब विवाद निरूपणका लागि थप ढिलाइ गर्नुहुँदैन ।”

मारमा कर्मचारी

अशोककुमार कर्माचार्य परिषद्को सेवाबाट अनिवार्य अवकाशमा गएको दुई वर्ष हुन लाग्यो । विसं २०७९ भदौ ७ गते अवकाशमा गएका उनले हालसम्म उपदानलगायत सुविधा पाएको छैन । करिब २९ वर्ष काम गरेको संस्थाबाट बिदा हुँदा योगदानको मूल्य र सम्मान पाउनुपर्नेमा अपमानित भएर घर जानुपरेको भन्दै उनी खिन्न छन् ।

“जीवनको ऊर्जाशील समय परिषद्को सेवामा बिताएँ तर अवकाश हुँदा रित्तो हात घर पठाइयो । आफ्नो योगदानको मूल्य पाउन परिषद्देखि मन्त्रालयसम्म सयौँपटक धाइसकेँ तर समस्या समाधान भएको छैन”, उनले दुखेसो पोखे ।

कर्माचार्यले उपदान, औषधोपचार, घरबिदालगायत सेवाबापत करिब ४० लाख पाउनुपर्ने छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, परिषद्का अध्यक्षलगायतसँग पटकपटक अनुनय गर्दा पनि समस्या समाधान नभएको उनले सुनाए ।

“ऐन, कानुन देखाएर अध्यक्ष र कार्यकारी अधिकृतको लडाइँ हुन्छ । त्यसको मारमा कर्मचारीहरू परिरहेका छौँ । अवकाश पाएपछि त मुक्ति पाइएला कि भनेको झनै दुःख थपियो । अहिले त म सडकमा आइसकेँ, अब चाँडै निकास दिए हुन्थ्यो”, कर्माचार्यले आग्रह गरे ।

परिषद्मा २२ जना स्थायी र केही करारका कर्मचारी छन् । लामो समयदेखिको विवाद समाधान नहुँदा पछिल्लो समय अवकाशमा गएका कर्मचारीलाई सुविधा दिइएको छैन् भने सेवामा रहेकाहरूले समेत गत पुसदेखिको तलब पाएका छैनन् । तत्कालीन कार्यकारी अधिकृत बलराम ठाकुरको पदावधि सकिएपछि अर्को कार्यकारी नियुक्त हुनसकेको छैन । आर्थिक वर्ष २०७९/०८० देखि पुँजीगत रकम खर्च गर्न सकिएको छैन । परिषद्को बैठक बस्न पनि समस्या छ ।

वरिष्ठ प्रशासकीय अधिकृत चिरञ्जीवी ढुङ्गाना उच्च तहमा देखिएको क्षेत्राधिकारको विवाद र अन्य स्वार्थको मारमा कर्मचारी परिरहेको बताउँछन् । उनी पछिल्ला दुई वर्षदेखि संस्थाका कामकारबाही ठप्प रहेका र उच्च तहबाट समस्या समाधानका लागि ठोस पहल नभएको गुनासो गर्छन्।

“चालुबाहेक परिषद्को पुँजीगत खर्च भएको छैन । विनियोजन भएको तलबलगायत अत्यावश्यक रकम पनि विभिन्न बहानामा रोक्ने काम भएको छ । हामीलाई विगत छ÷सात महिनादेखि तलब दिइएको छैन । यसरी अनिर्णयको बन्दी बनाएर कसैलाई फाइदा हुँदैन ।”

प्रशासकीय अधिकृत जितेन्द्रकुमार यादव दोषजति कर्मचारीलाई देखाएर संस्थालाई बन्धक नबनाउन आग्रह गर्छन् । उनी भन्छन्, “हामी कर्मचारीले ऐन, नियमले दिएको, परिषद्ले तोकेको काम गर्ने हो तर संस्थाका ऐन, नियम, क्षेत्राधिकार बनाउने, सुधार्ने तथा संशोधन गर्नमा हाम्रो भूमिका छैन । तत्काल निकास दिन नेपाल सरकार र सम्बद्ध उच्च अधिकारीलाई हाम्रो आग्रह छ ।”

परिषद् अध्यक्ष साह भने हालसम्म देखिएका समस्या समाधान गर्न आफूले अधिकतम् प्रयास गरिरहेको बताउँछन् । उनले हालसम्म समस्याका रूपमा रहेका ऐन तथा नियमावलीका व्यवस्था संशोधन गर्न अन्तिम पहल भइरहेको जानकारी दिए । “अब टालटुल गरेर समस्या समाधान हुनेवाला छैन । मेरो लडाइँ कर्मचारीसँग होइन, यहाँका समस्यासँग हो”, अध्यक्ष साहले भने, “संस्थालाई थप परिस्कृत र बलियो बनाउनु आजको आवश्यकता हो, यस कार्यमा म लागिरहेको छु । अब चाँडै निकास निस्किनेमा आशावादी छु ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता हेमराज तामाङले परिषद्का समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए । “कार्यकारी निर्देशक नियुक्त हुन नसकेकाले निमित्त तोक्ने काम मन्त्रालय तहबाट भइरहेको छ”, सहसचिव तामाङले भने ।

मन्त्रालयको संस्कृति शाखा प्रमुख शिवराज रेग्मीले भने, “विवाद लामो समयसम्म राख्नुहुँदैन । परिषद् जे उद्देश्यका लागि स्थापना भएको हो सोअनुसार आफ्नो काम गर्नुपर्छ ।”

विशुद्ध रूपमा धार्मिक पर्यटनको मूल प्रवाहीकरण गर्न स्थापित परिषद्मा एकले अर्कालाई देखाएर संस्थालाई नै सङ्कटमा पार्ने काम आजपर्यन्त भइरहेको छ । यसैले त अर्थ मन्त्रालयले सङ्घीय सरकारी निकायहरूको संरचनात्मक सुधारसम्बन्धी मिति २०८० जेठ १२ को प्रतिवेदनअनुसार परिषद्लाई खारेज गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नं ४७ बमोजिम खारेजी गरिने तथा एकअर्कामा गाभिने २० वटा, पुनःसंरचना गरिने पाँचवटा निकाय र हस्तान्तरण गरिने एउटा निकायसहितको सार्वजनिक विवरणमा परिषद् पनि छ । यो जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समेत गराइएको छ तर संसद्ले बनाएको ऐनबाट बनेको संस्थालाई मन्त्रालयले मात्रै चाहेर खारेज गर्न नसकिने भन्दै हालसम्म कुनै निर्णय भएको छैन ।

कतिपयले परिषद्लाई स्थानीय तहको जिम्मा दिनुपर्ने त कसैले प्रदेशको मातहतमा ल्याउनुपर्नेलगायत सुझाव दिइरहेका छन् । प्रबुद्ध व्यक्तिहरूले भने संस्थाभित्रको समस्या तत्काल समाधान गरी यस क्षेत्रका धार्मिक मठमन्दिर, ऐतिहासिक क्षेत्र र पर्यटकीय स्थलहरूको संरक्षण गर्ने गरी थप बलियो बनाउनुपर्ने मत राखिरहेका छन् । 

सफलताका लागि संवेग व्यवस्थापन

नेत्र सुवेदी ‘प्रयास’

 ‘के छ हालचाल ?’ भनेर कसैले सोध्यो भने हामीले तयारी जवाफ दिन्छौँ ‘ठिकै छ’ । कसैले ‘खतम छ’ पनि भन्ला । तर यी जवाफ प्रस्ट भएनन्, सोलोडोलो खालका भए । यी र यस्ता प्रश्नको यकिन र प्रस्ट जवाफ दिन सकेमा हाम्रो जीवन नै बदलिन सक्ने दाबी मनोविज्ञानवेत्ताहरुको रहेको छ । आफूमा वा अरूमा तत्काल रहेको संवेगलाई राम्रोसँग बुझ्नु भनेको हामी कसरी सिक्ने, कसरी निर्णय गर्ने, कसरी अरूसँग व्यवहार गर्ने  भन्ने विषयमा प्रस्ट हुन सरल हुन्छ भने अन्ततोगत्वा व्यक्तिगत उन्नतिका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छ । 


संवेगहरुको आफ्नै पहिचान र महत्व रहेको हुन्छ । संवेगलाई शरीरको बुद्धि पनि भनिन्छ । संवेगहरु जीवशास्त्रीय तत्व हुन् । यसलाई हाम्रो शरीर र दिमागले काम गर्ने रसायन पनि भन्ने गरिन्छ । भनिन्छ कि हामीमा आउने संवेग हामीलाई केही न केही सुनाउन उपस्थित भइरहेको हुन्छ । संवेग सिर्जना गर्ने उद्वीपकलाई हामीहरु आन्तरिक र बाह्य भनेर हेर्न सक्छौँ । आफँैभित्र सिर्जित कुनै विचार वा भौतिक अनुभूतिलाई आन्तरिक उद्वीपक भनिन्छ भने कसैसँग भएको भेट वा कुनै घटना भने द्वित्तीयक उद्वीपकमा पर्दछन् । संवेग र विचार एकले अर्कोलाई प्रभाव पार्ने हुन्छ । साथै संवेगले हाम्रो शरीरमा पनि असर पर्दछ । यसको ज्ञानबाट व्यक्तिलाई अवसर र चुनौतीका लागि तयारी हालतमा राख्दछ । 


शरीरमा रहेका आधारभूत क्रियाहरु जस्तैः मुटुको धड्कन, रगतको प्रवाह, पाचन क्रिया, रोगसँग लड्ने क्षमता, मांसपेसीमा रहने लचिलोपन र शरीरको तापक्रममा घटबढ हुने गर्दछ । त्यसैले भनिएको छ कि के कस्तो शारीरिक अवस्था छ भन्नेबाट पनि कस्तो संवेग पैदा भएको छ भन्ने थाहा लाग्दछ । संवेग पहिचान गर्ने र सोहीअनुसार व्यवहार गर्ने अभ्यास गर्दै जाँदा मन्दखालको अनुभूति चिनेर कडा र घातक प्रतिक्रिया पैदा नहुँदै व्यवस्थित गर्न सम्भव हुन्छ । हाम्रो शरीरको अवस्था जान्नका लागि शरीर–मस्तिष्क–हृदयको ‘स्क्यान’ गर्नुपर्ने अनि मात्र पूर्णरुपमा जानकारी पाउन सकिने भनिएको छ । भौतिकरुपमा अनुभूत भएका कुराहरु जस्तैः चिन्ता, मुस्कान, मांसपेसीको लचकता छ वा छैन भन्नेबाट शारीरिक अवस्था थाहा लाग्दछ भने कस्तो विचार आइरहेको छ ? ध्यान केन्द्रित भएको छ वा भङ्ग भइरहेको छ अवलोकन गर्ने गर्दा मस्तिष्कको अवस्था थाहा लाग्दछ भने शान्त छ वा झोँक चलेको छ वा खुसी वा चिन्तित वा उत्साहित के छ भन्ने जानकारीबाट हृदय पढ्न सकिने देखिन्छ । 


रोबर्ट प्लुटचकका अनुसार खुसी, आश्चर्य, रुचि, नरुचाउनु वा घृणा गर्नु, चिन्ता, डर छ आधारभूत संवेगमा पर्दछन् । त्यसैगरी, आठवटा आधारभूत संवेगमा रिस र विश्वाससमेत थपिन्छन् । समूहमा सँगै बसेर घटनाक्रम र भएको अनुभूति साटासाट गर्ने क्रममा कुन संवेगले काम गरेको भनेर अनुमान लगाउन सक्छन् र कस्तो संवेगका बखत के कस्तो व्यवहार वा क्रियाकलाप गर्नु उचित हुन्छ र के कस्तो गर्नु हुँदैन भन्ने सिकाइसमेत हुन्छ । 


हाम्रो दिमागमा रहने ‘हाइपोथ्यालामस’ त्यस्तो चीज हो, जसलाई संवेगको रसायन रहने कारखाना नै भन्न सकिन्छ । प्रोटिनबाट बनेका धागोजस्तो वस्तुबाट बन्ने त्यस्ता संवेगका रसायनहरु दिमाग हुँदै पिटुटरी नली हुँदै रगतमा प्रवाह हुने गर्दछन् । यसबाट पनि के बुझ्न सकिन्छ भने संवेगात्मक अनुभूतिको प्रभाव प्रत्येक जीवित कोषमा पर्न जान्छ । संवेगसम्बन्धी रसायन शरीरभरि पुग्न छ सेकेन्ड लाग्ने बताइएको छ । 


किन आवश्यक छ संवेग व्यवस्थापन


अहिलेको मान्छेमा र अहिलेको सम्बन्धमा देखिएको बेचैनी, बेखुसी, अशान्ति र विरोधाभासको पिँधमा पुगेर हेरियो भने संवेगलाई पढ्न नसक्नु र संवेग नबुझी व्यवहार गरिनुमा पुगिन्छ । आधुनिक दुनिया जति नै नजिकका व्यक्तिहरुबीचमा पनि अनुभूतिमा आधारित संवाद कम वा दुर्लभ हुन्छ । एकै परिवारका सदस्यहरुबीच, एउटै टोलीमा काम गर्ने भनिए पनि वा एउटै सङ्गठनमा समेत एकले अर्काको संवेग बुझेर हैन कि आफ्नो संवेगलाई सबैथोक ठाने जसरी बोलिन्छ, जसबाट अरूलाई हित नगर्न सक्छ । अझ यसरी भनौँ प्रत्येक छलफलमा शान्ति वा आत्मीयता प्रवद्र्धन गर्ने वा द्वन्द्व वा हिंसा बढाउने भन्ने छनोट हामीले नै गर्ने हो अरू कसैले गरिदिँदैन । एकता प्रकाशनले सन् २०२० मा  बजारमा ल्याएको ‘माई इमोसन म्याटर’ नामक पुस्तकमा संवेगको परिचय तथा आधारभूत पक्षहरुका सम्बन्धमा चर्चा गर्दै सकारात्मक व्यवस्थापनका बारेमा मार्गदर्शन गरिएको छ ।  


संवेगलाई चिनाउने संवेगात्मक साक्षरता र संवेगात्मक बौद्धिकताबाट सन्तुलित र प्रभावकारी जीवन जिउने कलाको विकास हुन्छ । यो कौशलबाट कुनै पनि कामको नतिजाको प्रभावकारिता बढ्ने, निर्णय निर्माणमा सुधार आउने, स्वस्थकर रहने र आपसी सम्बन्ध प्रगाढ राख्न सहयोगी हुन्छ । भनिएको छ कि संवेगलाई बुझ्नेहरु अनुभूति व्यवस्थापनमा चुस्त हुन्छन् र त्यसैगरी आफ्नो काममा पनि निपूर्ण उत्रिन्छन् । उनहरु खुसीमा मात्तिने र दुःखमा आत्तिने नगरी एकखालको सन्तुलित व्यवहार प्रदर्शित गर्न सक्छन् । 


संवेग व्यवस्थापन कला


दिनभरि गरिएका कामलाई फर्केर हेर्दा खुसीको पल र दुःखको पल कुन थियो ? गत हप्ताभरिको सुनाउनयोग्य कुनै क्षण कुन थियो ? यस्ता प्रश्नहरु व्यक्तिको संवेगसँग सम्बन्धित हुन्छन् । कुन घटना वा क्षणमा के कस्ता अनुभूति भए भन्ने तहमा व्यक्तिले जवाफ दिन सकेमा मात्र उल्लिखित प्रश्नको जवाफले अर्थ राख्दछ । यसरी मनका अनुभूतिहरु व्यक्त गर्ने अवसर पाउँदा मान्छे नजिक भएको महसुस गर्दछ । हामीमा सिर्जना हुने वा हाम्रो व्यवहारलाई प्रभावित गर्ने आधारभूत संवेगहरुको जानकारी गराएपछि माथि उल्लेख भएका प्रश्नहरुको उत्तर दिन सरल हुन्छ । अभ्यास गर्दै जाँदा सुनाएका क्षण वा संवेगहरु वा व्यक्तिले महसुस गरेका प्रतिक्रियाहरु कुन संवेगसँग सम्बन्धित छ भनेर सुनाउने व्यक्तिले नै भन्न थाल्दछन् ।


एउटा परिवारमा रहने व्यक्तिहरु कमसेकम साँझको १५ मिनेट सँगै बसेर दिनभरिमा के कसो भयो भनेर आ–आफ्नो अनुभूति सुनाउने संस्कारको विकास गर्नु सकियो भने कस्तो परिस्थितिमा कुन संवेग प्रभावी भएर आयो भन्ने खुल्दै जान्छ । आफू स्वयम् र अरू कुनै व्यक्तिको सम्बन्धमा पनि के कसरी व्यवहार गर्दा उसको संवेगमा अनावश्यक उतरचढाव आउँदैन भनेर बुझ्नका लागि पनि आफू वा अरू कसैलाई कुन खालको घटनाले प्रभाव पार्दछ भन्ने बुझ्नु आवश्यक हुन्छ । यसबाट नै पारिवारिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । त्यस्तै मूल्यमा आधारित शिक्षाको पाटोका रुपमा संवेगसम्बन्धी सिकाइबाट व्यक्ति, विद्यालय र अन्य सङ्गठनलाई संवेगात्मक बौद्धिकताको सहयोगबाट अन्तरवैयक्तिक सम्बन्धमा रहेका समस्या हल गर्ने विश्वास गर्न सकिन्छ । 


घरपरिवारको सदस्य, विद्यालयमा अध्ययनरत विद्यार्थी, कार्यालयका स्टाफ वा कुनै टोलीका सदस्यहरुलाई संवेगसम्बन्धी साक्षरता आवश्यक पर्दछ । सुरुमा उत्सुकता, खुसी र डरलाई बुझाउन क्रमशः कोपिला, फूल र काँडाद्वारा चिनाउन सकिँदोरहेछ । अनि एकले अर्कोलाई तिम्रो आजको फूल के हो भनेर जिज्ञासा राख्न पनि मिल्दोरहेछ । कसैले भन्ला कि आज धेरै वर्षपछि मेरो मिल्ने साथीसँग भेट भयो त्यसैले आजका लागि मेरो फूल यही भेट हो भनेर । अनि आउने हप्ता पोखरा घुम्न जाने योजना बन्नु कुनै विद्यार्थीका लागि कोपिला हुन सक्छ । संवेगलाई मसिनोसँग चिनेपछि व्यवहार गर्न पनि सरल हुँदै जानु स्वाभाविक नै हो । 


हामीहरु जटिलताले भरिपूर्ण समयमा बाँचिरहेका छौँ । पहिलेपहिले नभएका र शीघ्र सुधार भइरहेका सञ्चारमाध्यम तथा सामग्रीको बाढी नै लागेको छ तर पनि व्यक्तिहरु एकलकाँटे देखिन्छन्, खुसी देखिन्नन्, सम्बन्धहरु पनि टिकाउ भइरहेका छैनन् । तनावको तह बढिरहेको छ । यी कारणको परिणामस्वरुप व्यक्तिहरु अस्थिर, अधैर्य, आपसमा भिड्ने, भाग्ने, निष्क्रिय रहने क्रम बढेको छ । सारमा भन्नुपर्दा हामीले व्यक्तिगत र सामूहिक रुपमा भोग्नुपरेका समस्याको समाधान जटिल बन्दै गइरहेको छ । हाम्रो परिवेश र कार्यशैलीका कारण संवेगात्मक चुनौती बढेको हो । बालबालिका, किशोरकिशोरी पनि तनावको भुमरीमा छन् । 


अहिलेको जटिल जीवनशैलीयुक्त समाजमा व्यक्तिले आफ्नो र अरूको पनि संवेग बुझेर व्यवहार गर्नुपर्ने भएको छ । क्यालिफोर्नियामा कार्यालय रहेको गैरसरकारी संस्था सिक्स सेकेन्ड्स त्यस्तो संस्था हो जसले संवेगलाई व्यवहारमा प्रयोग गर्न सक्नेगरी प्रक्रिया विकास गरेको दाबी गरेको छ । संवेगात्मक बौद्धिकताको सही अभ्यासबाट विश्वमा अर्बौंको सङ्ख्यामा रहेका मानिसलाई सन्तुलित व्यवहार गर्न सक्षम बनाउँदै शान्त, समृद्ध र अझ राम्रो विश्व निर्माण गर्ने भिजन उक्त संस्थाको रहेको छ र संवेग सम्बन्धमा थुप्रै सामग्रीहरु प्रयोगकर्तालाई उपलब्ध समेत गराएको छ ।  


‘जोन’ नामक विद्वानका अनुसार यदि कुनै व्यक्तिले संवेगसँग स्वस्थ र खुला सम्बन्ध राख्न सक्षम भयो अनि आफूमा आएको संवेगलाई पहिचान गर्न स्वीकार गर्न र सम्मान गर्न सक्यो भने र ती संवेगलाई जागृतिको औजारका रुपमा लिन सक्यो भने मात्र त्यो क्षमताले जीवनका विभिन्न मोडमा आवश्यक पर्ने निर्णय लिने कार्य सरल भएर जन्छ । संवेगको सम्बन्धमा साक्षर हुनु भनेको संवेग के के हुन्छ भनेर बुझ्नुमात्र कदापि होइन । तत्काल आफूमा के कस्तो संवेग अनुभूति भइरहेको छ अवगत हुनु, अरू व्यक्तिको अनुहार हेरेर वा स्वर सुनेर उसको संवेग पहिचान गर्नु पनि हो । यदि अनुमान लगाउन सकिएन भने संवेग पढ्न नसकेको नै मानिन्छ ।


त्यस्तै, कुनै घटना वा परिस्थितिको सम्बोधन गर्ने कि प्रतिक्रिया मात्र व्यक्त गर्ने, जीवनमा कुनै लक्ष्य वा उद्देश्य लिएर त्यसैमा केन्द्रित हुनु वा निरुद्देश्य भड्किरहनु, कुनै जिज्ञासामा जवाफ दिन हतार गर्नु वा केहीबेर रोकिएर जवाफ दिनु, अरूले राखिरहेको विषय सुन्न तयार नहुनु वा ध्यान दिएर सुन्नु, आफ्नो मूल्यमान्यता बारेमा नै अनभिज्ञ हुनु वा मूल्यमान्यता पछ्याउनु, कुनै कार्यपश्चात् पृष्ठपोषण नलिनु वा पृष्ठपोषणप्रति खुला रहनु जस्ता परस्पर विपरीत व्यवहार संवेगप्रति साक्षर हुँदा वा नहुँदा देखा पर्दछन् । वास्तवमा व्यक्तिमा देखापर्ने जुनसुकै खालको संवेगको जिम्मेवारी उक्त व्यक्तिकै हुन्छ । आफ्नो संवेगका कारण भएको नतिजाका लागि जिम्मेवारी नलिने तर अरूलाई आरोप भने लगाइहाल्ने प्रवृत्ति पनि संवेगको व्यवस्थापन कला नभएकै परिणाम हो । संवेगको साक्षरता वा संवेगात्मक बौद्धिकता राम्रो भएको खण्डमा आफ्नो वा संलग्न समूहलाई पूर्णरुपमा जागृत राख्न सहयोग पुग्दछ । 


संवेगात्मक अनुभूतिहरुलाई बेवास्ता गर्ने अभ्यास बढ्दै गयो भने त्यस्ता अनुभूतिसँग मुकाबिला गर्ने विषय चुनौतीपूर्ण हुँदै जान्छ । संवेगका सङ्केतहरुप्रति सचेत भइयो भने एउटा वा एकभन्दा वढी संवेगले शरीर र व्यवहारमा ल्याउन सक्ने प्रतिकूल परिणामबाट बच्न सकिन्छ । शरीरमा पैदा हुने संवेगहरुमध्ये सबैभन्दा बढी प्रभावमा रहेको संवेग प्रस्ट देखिन्छ । रिसलाई सबैभन्दा सशक्त संवेग मानिएको  छ । जस्तो कुनै व्यक्ति रिसाएको बखत एकान्तपन, आशावादिता, केही गर्न उत्साहित पनि हुन सक्दछ । एउटा संवेगलाई अरू सबै संवेगलाई हटाइहाल्न नसक्ने हुँदा कुनै संवेग अनुभूत भइरहेको बेला अरू कुनै अनुभूति पनि छ कि भनेर ‘स्क्यान’ गर्नुपर्ने हुन्छ । अर्कोतिर संवेगात्मक अनुभूतिहरु सङ्क्रामक हुने बताइएको छ । हामीमा आउने संवेगले हाम्रो कार्यव्यवहारलाई त असर गर्दछ नै यसले हाम्रो वरपर रहेका र हामीसँग सरोकार राख्ने व्यक्ति वा समूहलाई समेत असर गर्दछ । 


विवाद समाधानका क्रममा विवादका कारण तथ्य हो वा सम्बन्ध हो पहिल्याउनुपर्ने देखिन्छ । कारणको सही पहिचान भयो मात्र समाधान सरल बन्दछ । त्यस्तै, हामी उच्च शिक्षासम्म अध्ययन गर्दा पनि धेरै खालका तथ्याङ्कसँग चल्दछौँ तर संवेग वा सम्बन्धका बारेमा कमै मात्र अध्ययन हुन्छ । आपसी सहयोगका सम्बन्धमा कम र प्रतिस्पर्धामा ज्यादा जोड दिएका हुन्छौँ । फलस्वरुप हामी संवेग सम्बन्धमा कमै मात्र जानकार हुन्छौँ । सङ्गठनभित्र रहेका कर्मचारीहरुको संवेगात्मक अवस्था र कार्यसम्पादनमा त्यसको सम्बन्धको विश्लेषण गरी सोहीअनुसार व्यवहार गर्ने र परामर्श उपलब्ध गराउन सकेमा कार्यालयकै कार्यसम्पादन वृद्धि हुन्छ । यो विषयलाई मनन गरी संवेगात्मक साक्षरता र संवेगको सुव्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।


(लेखक बाग्लुङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ)

लघुवित्तमा कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्कको सीमा घट्यो

काठमाडौँ । लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्कको सीमा घटाएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ लाई संशोधन गर्दै सेवा शुल्क घटाइएको हो ।

“कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्क बाहेक अन्य कुनै प्रकारको रकम कट्टा गरी बचतको रुपमा राख्न पाइने छैन”, एकीकृत निर्देशनको संशोधनमा भनिएको छ, “कर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा एक दशमलव तीन प्रतिशतसम्म सेवा शुल्क लिन सक्नेछन् । एक वर्षभन्दा कम अवधिका लागि कर्जा प्रवाह गरेको अवस्थामा वार्षिक एक दशमलव तीन प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन सक्नेछन् ।”

यसअघि कर्जा प्रवाह गर्दा लघुवित्त संस्थाले स्वीकृत कर्जामा एक दशमलव पाँच प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था थियो ।

बिनाधितो सामूहिक जमानीमा यसअघि एउटा लघुवित्त संस्थाबाट मात्रै ऋण उपलब्ध हुने गरेकामा अब यस्तो कर्जा दुई वटासम्म लघुवित्त संस्थाबाट लिन पाइने भएको छ ।

“बिना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम दुई वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन्”, एकीकृत निर्देशिकामा भनिएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट कर्जा लिएका ऋणी भने लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् ।

     विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामूहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाई प्रतिसमूह सदस्य बढीमा रु पाँच लाखसम्म लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था छ । विगत दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यको हकमा भने सात लाख सीमा कायम गरिएको छ । पारिवारिक जमानीमा प्रतिपरिवार २५ हजारसम्मको कर्जा मात्र प्रवाह गर्न सक्ने गरी नयाँ व्यवस्था राष्ट्र बैंकले ल्याएको छ ।

एकीकृत निर्देशिकामार्फत् ग्राहक संरक्षण कोषसम्बन्धी व्यवस्थामा पनि परिमार्जन गरिएको छ । यसअघि खुद मुनाफाको एक प्रतिशत रकम र वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा सोभन्दा माथि प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था थियो ।

नयाँ व्यवस्थाअनुसार सम्बन्धित आर्थिक वर्षको खुद मुनाफाको २०८२ असारसम्ममा एक दशमलव पाँच, २०८३ असारसम्ममा दुई र २०८४ असारसम्ममा तीन प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोषमा राख्नुपर्नेछ । 

पन्ध्र प्रतिशतभन्दा बढी लाभांशको ३५ प्रतिशत रकम राख्नुपर्ने व्यवस्था भने यथावत छ । सबै लघुवित्त संस्थालाई कम्तीमा एक वर्षमा सबै शाखा कार्यालयको आन्तरिक लेखापरीक्षण सम्पन्न गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

लघुवित्तका ऋणीहरुलाई कालोसूचीमा राख्न सकिनेसम्बन्धी व्यवस्थामा पनि परिमार्जन भएको छ । लघुवित्त वित्तीय संस्थाले परिस्थितिवश ऋण नतिर्ने ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरेको भए पनि यदि केही समय प्रदान गरेमा ऋणीले प्रयास गरी छोटो अवधिमा ऋण चुक्ता गर्छ भन्ने संस्थालाई लागेमा छ महिनाका लागि कालोसूचीबाट हटाउने व्यवस्था गर्न सक्नेछ ।

छ महिनाभित्र ऋण चुक्ता नगरेमा अनिवार्यरुपमा कालोसूचीमा समावेश गर्न केन्द्रलाई सिफारिस गर्नुपर्नेछ । लघुवित्त वित्तीय संस्थाबाट ऋण लिई नतिर्ने ऋणीलाई वर्गीकरण गर्नुपर्नेछ ।

लघुवित्त संस्थाका कर्मचारीको छनोट, सरुवा, बढुवा, पदस्थापन तथा मुल्याङ्कनसम्बन्धी नयाँ व्यवस्था एकीकृत निर्देशनमार्फत ल्याइएको छ ।

“शाखा व्यवस्थापक वा सोभन्दा माथिको कर्मचारी भर्ना गर्दा उक्त कर्मचारीको विगतको पृष्ठभूमि विश्लेषण गरेर मात्र नियुक्त गर्नुपर्ने तथा निश्चित तालिम एवं कार्य अनुभवका आधारमा मात्र पदोन्नति र जिम्मेवारी दिनुपर्नेछ”, निर्देशिकामा भनिएको छ । 

‘नो योर इम्प्लोई’को प्रयोगसम्बन्धी व्यवस्था गर्नुपर्ने, कर्मचारीको छनोट, सरुवा, बढुवा तथा पदस्थापन गर्दा तालिमलगायत सम्बन्धित विषयमा विशेष ज्ञानसम्बन्धी प्रमाणपत्र (सर्टिफिकेशन कोर्स) लिएको भए त्यस्तो विशेष योग्यतासमेतलाई आधारका रुपमा लिनुपर्ने, व्यवस्थापकीय तहका कर्मचारीलाई स्पष्ट कार्यविवरण उपलब्ध गराउनुपर्ने, सोको मूल्याङ्कन समयसमयमा गर्नुपर्नेलगायत व्यवस्था निर्देशिकामा राखिएका छन् ।