`

भरतपुर अस्पतालमा बहिरङ्ग टिकट पाउनै मुस्किल

चितवन । चितवनको भरतपुर अस्पतालमा अर्थोपेडिक विभागमा आज दुई सय ५० जनाले मात्रै बहिरङ्ग सेवामा टिकट काट्न पाउने भएका छन् । सोभन्दा बढी सेवाग्राहीले टिकट नपाउने अवस्था रहेको अस्पताल प्रशसानले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले आज बिहान मातहतका कर्मचारीलाई आज दुई सय ५० भन्दा बढीको टिकट नकाट्न निर्देशन दिए । उनले भने, “हिजो टिकट काटेका एक सयभन्दा बढी बिरामी उपचार नलिई फर्किनु पर्यो, सेवा नलिई बिरामीलाई फर्काउनुभन्दा क्षमताअनुसार मात्रै टिकट उपलब्ध गराउनु उपयुक्त हुन्छ ।”

स्वास्थ्य बीमाको नियमअनुसार टिकट काटेको दिनमा मात्रै उक्त टिकटबाट सेवा लिन सकिन्छ । अर्को दिन आउँदा नयाँ टिकट लिनुपर्ने हुन्छ । आईतबार बिहानभरी लाइन बसेर टिकट काटेका एक सयभन्दा बढी बिरामी फिर्ता भएका अस्पतालका अर्थोपेडिक सर्जनसमेत रहेका डा पौडेलले बताए । उनीहरुले आज परीक्षण गर्न पुनःटिकट काट्नुपर्ने हुन्छ ।

सरकारी भरतपुर अस्पतालमा यो समस्या अर्थोपेडिकसँगै मेडिकल, सर्जिकललगायत विभागमा छन् । मेडिसिन विभागमा मात्रै दैनिक पाँच सयभन्दा बढी बिरामी आउने बताउँदै डा पौडेलले कतिपयले टिकट काट्नै नपाउने अवस्था रहेको उल्लेख गरे । स्वास्थ्य बीमामार्फत सेवा लिनेको घुइँचो, सीमित जनशक्तिलगायत कारण लामो लाइन बसेर काटेको टिकटबाट कतिपयले उपचार नलिई फर्किनुपरेको उनले स्वीकारे ।

डा पौडेलका अनुसार पत्थरीको शल्यक्रियाका लागि एक वर्ष दुई महिनापछिको पालो दिनुपर्ने अवस्था छ । शल्यक्रिया गर्दा शरीरभित्र राखिएको ‘स्टिल’ निकाल्न एक वर्ष पालो कुर्नु परिरहेको भन्दै उनले आकस्मिक बाहेकका सबै शल्यक्रियाका लागि लामो समय पालो कुर्नुको विकल्प नभएको बताए ।

“आईतबार अस्पतालमा बहिरङ्ग सेवा लिन आएका दुई हजार छ सय ५४ बिरामीमध्ये एक हजार सात सय ४५ जना स्वास्थ्य बीमामार्फत् सेवा लिने बिरामी थिए । यो सङ्ख्या कुनै दिन तीन हजार नाघ्ने गरेको छ”, पौडेलले भने ।

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीले टिकट नपाएको गुनासो आउन थालेपछि बहिरङ्गको समय बढाउने गरी विकास समितिले निर्णय गरेको बताए । अहिले अस्पतालमा बिहान ९ः३० बजेदेखि ३ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन हुँदै आएकामा मङ्गलबारदेखि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सेवा सञ्चालन गरिने उनले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा दुई सिफ्ट बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देश गरेको छ । सोहीअनुसार चिकित्सकलाई अप्ठ्यारो नपर्ने गरी व्यवस्थापन गरिएको अध्यक्ष पौडेलले बताए । उनका अनुसार पहिलो सिफट्मा ९ बजेदेखि अपह्रान्न २ सम्म र दोस्रोमा ११ बजेदेखि अपह्रान्न ४ बजेसम्म सिफ्ट मिलाइएको छ ।

पहिलो सिफट्मा ८० प्रतिशत र दोस्रोमा २० प्रतिशत चिकित्सक आउने जनाउँदै अध्यक्ष पौडेलले अपुग चिकित्सकका लागि नयाँ नियुक्तिको मागसहित सूचना प्रकाशित गरिएको जानकारी दिए । उनले भने, “अस्पतालमा आउने बिरामी उपचार नपाएर फर्किनु हुँदैन । अब पुरानो तरिकाले नयाँ परिणाम पाउन सकिँदैन । बहिरङ्गको समय बढाएर सेवा दिने तयारी भइसकेको छ ।”

हाल अस्पतालमा अस्पताल विकास समितिका तर्फबाट ९० र सरकारी/स्थायी ४५ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । मेडिकल अधिकृत ५९, छात्रवृत्ति÷करारका चिकित्सक ३६ र चार सय २५ जना नर्स रहेका अस्पताल प्रशासनले जनाएको छ । 

बङ्गलादेशमा विद्यार्थीको अन्तिम चेतावनीलाई प्रशासनद्वारा बेवास्ता, थप आन्दोलनको घोषणा

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको नेतृत्वको सरकारले विद्यार्थी नेतालाई रिहा गर्ने र आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका नागरिकका आफन्तसँग माफी माग्ने अन्तिम चेतावनीलाई बेवास्ता गरेपछि आन्दोलनरत बङ्गलादेशी विद्यार्थी समूहले सोमबारका लागि सडक प्रदर्शनको नयाँ आन्दोलनको घोषणा गरेको छ ।

एएफपीलाई प्रहरी र अस्पतालबाट प्राप्त नयाँ तथ्याङ्कअनुसार यस महिना निजामती सेवाको भर्नामा आरक्षण (कोटा) प्रणालीको विरोधमा विद्यार्थीहरूले जुलाइमा गरेको प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाहरूमा कैयौँ प्रहरी अधिकारीसहित कम्तीमा २०५ जनाको मृत्यु भएको थियो ।

यो भिडन्त हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा खराब घटना थियो तर सरकारले सेना परिचालन गरेर, कर्फ्यु लगाएर र देशव्यापी रूपमा इन्टरनेट बन्द गर्दै सम्भावित उथलपुथल हुनबाट रोकेको छ ।

सुरुमा विरोध प्रदर्शन गर्ने समूह ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’का कम्तीमा आधा दर्जन नेतालाई प्रहरीले हिरासतमा लिएपछि हजारौँ विद्यार्थीले उनीहरूको आन्दोलनमा सहभागिता जनाएका थिए ।

“सरकारले हाम्रो आन्दोलनप्रति पूर्ण असंवेदनशीलता देखाइरहेको छ,” समूहका संयोजक अब्दुल कादरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले भने, “हामीले देशभर विरोध ¥यालीको आह्वान गरेका छौं । हामी बङ्गलादेशका सबै नागरिकलाई हाम्रो मागप्रति ऐक्यबद्धता जनाउन र हाम्रो आन्दोलनमा सहभागी हुन अनुरोध गर्दछौं ।”

विद्यार्थी अगेन्स्ट डिस्क्रिमिनेसनका नेताहरूले आइतबार साँझसम्म प्रहरीले आफ्ना नेताहरूलाई रिहा नगरे एक हप्ता लामो आन्दोलन स्थगनको कार्यक्रमलाई सोमबारदेखि नै जारी राख्ने अन्तिम चेतावनी दिएका थिए ।

यस समूहको मागमा हिंसाका लागि हसिनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने, उहाँका कैयौँ मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने र अशान्तिको उत्कर्षमा रहेका देशभरका विद्यालय र विश्वविद्यालयहरू पुनः खोल्नुपर्ने पनि समावेश छ ।

बङ्गलादेशको दैनिक पत्रिका प्रोथोम आलोका अनुसार अशान्ति सुरु भएयता देशभर कम्तीमा नौ हजार व्यक्तिलाई पक्राउ गरिएको छ ।

सैनिकहरूले अझै पनि सहरी क्षेत्रमा गस्ती गरिरहेका छन् र राष्ट्रव्यापी कर्फ्यु जारी छ तर गत हप्ताको सुरुदेखि यसलाई क्रमिक रूपमा खुकुलो पारिएको छ ।

बङ्गलादेशमा जारी अशान्तिको चरमोत्कर्षमा रहेको बेला देशव्यापी रूपमा अवरूद्ध गरिएको मोबाइल इन्टरनेट सञ्जाल ११ दिनपछि आइतबार पुनः सञ्चालनमा आएको छ ।

सबै सरकारी जागिरको आधाभन्दा बढी हिस्सा निश्चित समूहका लागि आरक्षित गर्ने योजना पुनः लागू गरिएको विरोधमा यसै महिना प्रदर्शन सुरु भएको थियो ।

सरकारी आँकडाअनुसार करिब एक करोड ८० लाख युवा बङ्गलादेशीहरू बेरोजगार रहेको समय आएको यस कदमले गम्भीर रोजगारी सङ्कटको सामना गरिरहेका स्नातकहरूलाई गम्भीररूपमा दुःखी बनाएको छ ।

आलोचकहरूका अनुसार यो योजना सत्तारुढ अवामी लिगका वफादारहरूलाई भर्ना गर्न दुरूपयोग गरिएको छ ।

सर्वोच्च अदालतले गत हप्ता आरक्षित जागिरको सङ्ख्या कटौती गरेको थियो तर कोटा पूर्ण रूपमा खारेज गर्ने प्रदर्शनकारीहरूको मागलाई बेवास्ता गरेको थियो ।

सन् २००९ देखि बङ्गलादेशमा शासन गर्दै आएकी ७६ वर्षीया हसिनाले ‘वास्तविक विपक्षी दल’को सहभागिता नभएको गत जनवरीमा भएको चुनावमा लगातार चौथो कार्यकालका लागि अनुमोदित भएकी थिइन् ।

उनको सरकारमाथि अधिकारवादी समूहहरूले राज्यका संस्थाहरूको दुरुपयोग गरी सत्तामा आफ्नो पकड बलियो बनाउन र विपक्षी कार्यकर्ताहरूको गैरन्यायिक हत्यालगायत असहमतिलाई निस्तेज पार्न प्रयोग गरेको आरोप लगाउँदै आएका छन् ।

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धि मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

हिज्बुल्लाह र इजरायलबीच लडाइँ थप चर्किने संकेत

बीबीसी । गोलन हाइट्समा बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान जाने गरी भएको रकेट आक्रमणपछि हिज्बुल्लाह र इजरायलबीच तनाव चुलिएको र दुई पक्षबीच लडाइँ चर्किन सक्ने भय उत्पन्न भएको छ ।

विगत नौ महिनादेखि इजरायल र हिज्बुल्लाहबीच गोली हानाहान भइरहेको भएपनि गोलान हाइट्समा शनिवार भएको आक्रमण इजरायलको उत्तरी क्षेत्रको सीमामा भएको सबैभन्दा घातक घटना हो । गोलन हाइट्स इजरायल अधीनस्थ क्षेत्र हो । त्यहाँ हिज्बुल्लाहले रकेट प्रहार गरेको इजरायलको आरोप छ ।

हिज्बुल्लाह शिया मुस्लिमहरूको संस्था हो। यो राजनीतिक रूपमा प्रेरित छ र लेबननको सबैभन्दा शक्तिशाली सशस्त्र समूहको नियन्त्रणमा छ । हिज्बुल्लाहको शाब्दिक अर्थ ’ईश्वरको दल’ हो ।

यसको स्थापना सन् १९८० को दशकको आरम्भमा यो क्षेत्रको सबैभन्दा प्रभावशाली शिया शक्ति रहेको इरानले इजरायलविरुद्ध गरेको थियो । त्यसबेला इजरायली सेनाले लेबननमा चलिरहेको गृहयुद्धको समयमा दक्षिणी लेबननलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

यसको सैन्य एकाइले लेबननमा रहेका इजरायली र अमेरिकी फौजमाथि घातक आक्रमण गरेको थियो । सन् २००० मा लेबननबाट इजरायल बाहिरिँदा त्यसको प्रमुख श्रेय हिज्बुल्लाहले लियो ।

त्यसयता हिज्बुल्लाहले दक्षिणी लेबननमा हजारौँ लडाकुहरू र विशाल क्षेप्यास्त्रसहितका अस्त्र तैनाथ गरेको छ । यसले विवादास्पद सीमा क्षेत्रमा इजरायलको उपस्थितिको विरोध गर्दै आएको छ।

सोमबार पशुपतिनाथ लगाएत देशभरका शिवालयहरुमा भक्तजनको घुईचो

काठमाडौं – साउन महिनाको दोश्रो सोमबार काठमाडौंको पशुपतिनाथ लगाएत देशभरका शिवालयहरुमा भक्तजनको घुईचो लागेको छ ।
साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपतिमा देखिएको थियो । यस महिनामा बोलबम यात्रा गरिन्छ । बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिंडेर ल्याई पशुपतिमा चढाउने गर्दै आएका छन् ।

धादिङमा सवारी दुर्घटनामा कमी

 धादिङ। पाँच वर्ष पहिलेका तुलनामा धादिङमा सवारी दुर्घटनाको सङ्ख्या ५७ प्रतिशतले घटेको छ । पृथ्वीराजमार्गसहित ग्रामीण सडकहरूमा गुड्ने सवारीको चाप दिनप्रतिदिन बढ्ने क्रममा रहे पनि दुर्घटनाको सङ्ख्यामा भने कमी आएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा एक वर्षमा चार सय ५८ दुर्घटना भएकामा गत आव २०८०/८१ मा एक सय ९८ मात्र दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङको तथ्याङ्कमा देखिएको छ ।

तथ्याङ्कानुसार पाँच वर्ष पहिलेको दुर्घटना सङ्ख्याको तुलनामा गत आबमा करिब ५७ प्रतिशतले कमी आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

आव २०७६/७७ मा २७ दुर्घटनाको मुद्दा दर्ता भएको र चार सय ३१ दुर्घटना मिलापत्रबाट टुङ्ग्याइएको तथ्याङ्कले देखाए पनि मृतक र घाइतेको सङ्ख्या प्रहरीसँग छैन ।

आव २०७७/७८ मा भन्दा गत आव मा मृत्यु हुनेको सङ्ख्या पनि २५ प्रतिशतले कमी आएको देखिएको छ । पछिल्लो दुई वर्षमा भने मृत्यु हुनेको सङ्ख्या उस्तै छ । आव २०७७/७८ मा ५९, २०७८/७९ मा ७९, २०७९/८० मा ४३ र २०८०/८१ मा ४४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

दुर्घटनामा संलग्न ठूला तथा मझौला सवारीको सङ्ख्यामा पनि कमी आएको छ । तर दुर्घटनामा संलग्न हुने साना सवारीको सङ्ख्या भने पाँच वर्षयताको तुलनामा खासै घटेको छैन ।

आव २०७६/७७ मा तीन सय ३७ वटा ठूला सवारी, एक सय ८३ मझौला सवारी र दुई सय २८ साना सवारी दुर्घटनामा संलग्न भएकामा गत आव २०८०/८१ मा ८५ वटा ठूला सवारी, ७५ वटा मझौला सवारी र दुई सय १७ वटा साना सवारी दुर्घटनामा भएको छ । ठूला सवारीको दाँजोमा साना सवारी तीव्रगतिमा हुइकिने र बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको भनाइ छ ।

तथ्याङ्कानुसार पछिल्लो एक वर्षमा दुर्घटनामा परेर जिल्लामा पुरुष ३५, महिला तीन र बालबालिका छ गरी ४४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार सय ३६ जना घाइते भएका छन् । मृत्यु हुने र घाइते हुने दुवैमा पुरुषको सङ्ख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए ।

आव २०७७/७८ देखि चार वर्षमा भएको एक हजार चार सय एक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या दुई सय २५ जना पुगेको छ । ती दुर्घटनाबाट दुई हजार पाँच सय सातजना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख, प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार सवारीसाधनको चाप दिनानुदिन बढ्दो क्रममा रहे पनि सडक सुरक्षामा प्रहरीको सक्रियता बढेकै कारण दुर्घटनाको सङ्ख्यामा उल्लेख्य रूपले कमी आएको हो ।

“पछिल्ला वर्षहरूमा सवारीसाधनको चाप अद्यावधिक बढेको छ तर दुर्घटना सङ्ख्या घटेको छ । यसलाई हामीले उपलब्धिका रूपमा लिएका छौँ”, प्रहरी निरीक्षक श्रेष्ठ भन्छन्, “सवारीको चाप बढेसँगै बढ्न सक्ने सम्भावित दुर्घटनालाई कम गराउन सक्नु ट्राफिक प्रहरीसहित तीनै तहका प्रहरीको उपलब्धि हो ।”

जिल्लामा गत फागुन २३ गते गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रुबस दुर्घटनामा १२ र भदौ ६ गते गजुरीकै घहरामा भएको यात्रु बस दुर्घटनामा नौजना गरी दुई दुर्घटनामा मात्रै २१ जनाको मृत्यु थियो । यो नै मानवीय क्षति बढी भएको गत वर्षको सबैभन्दा ठूला दुर्घटना हुन् । 

धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ

काठमाडौँ – आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले खतिवडालाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार पक्राउ गरेको हो।

उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए। उनले प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ।केही दिनअघि खतिवडाले फेसबुकमा भिडिओ राख्दै अनुष्ठान गर्ने बताएका थिए। यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

टिआरसी विधेयक र उपसमितिको प्रतिवेदनमाथि सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्रले थप अध्ययन गर्ने

काठमाडौँ ।  सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक सकिएको छ । सोमबार बिहान  गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी बिहीबार बस्ने गरी सकिएको हो ।

सोमबारको छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहभागी थिए ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाललगायतको उपस्थिति रहेको थियो । एमालेका मुख्य सचेतक बर्ताैलाले आगामी बिहीबार फेरि बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिए । 

उनले भने, ‘मूल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ । त्यसलाई एकीकृत गरी उठेका प्रश्नलाई पनि एकीकृत गर्ने कुरा भएको छ । सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ ।’

अहिलेसम्म भएका छलफलको मस्यौदा तयार पारेर आगामी दिनमा त्यसमाथि छलफल केन्द्रित गर्ने उनको भनाइ छ । 

यसअघि गत शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको थियो ।

सुनको मूल्य तोलामा चार सयले वृद्धि

काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ । आइतबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४५ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार सात सय ५० निर्धारण भएको छ ।

स्कुल बस दुर्घटना हुँदा पोखरामा आमाछोराको मृत्यु

पोखरा । पोखराको कृस्तीमा भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक र उनका ५ वर्षीय छोरा प्रिन्स विक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्त शर्माले जानकारी दिए ।

दुर्घटनामा परी २८ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहको छ । सोमबार बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल बोडिङ स्कुलको बस दुर्घटनामा परेको थियो ।

घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज, पश्चिमाञ्च क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस ओराले तर्फ आउँदा सडकबाट पहिले विजुलीको पोलमा ठोकिएर करिब ४० मिटर तल सडकमा खसेको थियो ।

त्रिशूलीमा बेपत्ता बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला

मुग्लिन (चितवन)- सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो ।

उक्त चुम्बक आज बिहान काभ्रेघाटस्थित नारायणी नदीमा फेलापरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको उनले बताए ।

गत असार २८ गते वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

बसमा सवार ६५ जनामध्ये तीनजना हामफालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव भेटिएको छ । तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ । अन्य छ शवको पहिचान खुल्न सकेको छैन । अझै ३८ यात्रु र बस भेटिएका छैनन् ।

हराइरहेको बस खोज्न भारतीय टोली चितवन आएका थिए । उक्त टोलीले बस खोज्नका लागि १९ र १४ किलोका दुईवटा चुम्बक (म्याग्नेट) ल्याएका थिए । जसमध्ये शनिबार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो । बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली भने आइतबार नै फर्किसकेका छन् ।

पोखरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २६ घाइते

पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा २६ जना घाइते भएका छन् । सोमबार बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल बोडिङ स्कुलको बस दुर्घटनामा परेको थियो ।

घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस ओरालो तर्फ आउँदा सडकबाट पहिले विजुलीको पोलमा ठोकिएर करिब ४० मिटर तल सडकमा खसेको थियो ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक सुरु

काठमाडौँ – सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक आज सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषय टुङ्गो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकाय बैठकमा सहभागी छन् । बैठकमा नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा संयन्त्रमा छन् ।

बैठक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी र महान्याधिवक्ता रमेश बडाललगायतको सहभागिता छ ।

यसअघि पनि शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल गरेको थियो । उक्त बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको बताइएको छ । सो सम्बन्धमा कानुनमन्त्री, महान्याधिवक्ता र सरोकारवालासँग पनि छलफल गर्ने निर्णयपछि आजको बैठकमा सरोकारवाला निकायका पदाधीकारीहरूको सहभागिता रहेको हो ।

पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने प्रयास हुने जनाइएको छ ।

स्कुल बस दुर्घटना हुँदा पोखरामा २२ विद्यार्थी घाइते

पोखरा । पोखराको फुसेखोलामा सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ । पोखरा १७ बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट करिब ४० मिटर तल खसेको हो ।

बसमा २४ जना विद्यार्थी, चालक र सहचालक थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।

टिआरसीमा सहमति जुटाउन दलहरु छलफलमा

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा बसिरहेको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषय टुङ्गो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकाय बैठकमा सहभागी छन् ।

बैठकमा नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा संयन्त्रमा छन् ।

बैठक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी र महान्याधिवक्ता रमेश बडाललगायतको सहभागिता छ ।

यसअघि पनि शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल गरेको थियो ।

बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको बताइएको छ । सो सम्बन्धमा कानुनमन्त्री, महान्याधिवक्ता र सरोकारवालासँग पनि छलफल गर्ने निर्णयपछि आजको बैठकमा सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको हो ।

पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने प्रयास हुने जनाइएको छ ।

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो

काठमाडौँ । आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

साउन महिना भगवान शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । पशुपति क्षेत्र विकास कोषका अनुसार आज पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ ।

उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलास्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम अनुमोदन होला ?

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गरिने बताइएको छ ।

असार २ गते संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरिएका प्रधानविरुद्ध एक महिलाले आफूलाई यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।

त्यसपछि उजुरीकर्ता र प्रधानसँग यस विषयमा सुनुवाइ समितिले छलफल गरेको थियो । प्रधानमाथिको सुनुवाइ सकिइसकेकाले आज उनको सिफारिस अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय हुने छ । साउन ९ गते प्रधानसँग छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित गरिएको थियो ।

मिस माल्टा काठमाडौँमा

नेपाल भ्रमणकालागि आएकी ‘मिस माल्टा’ चेरिस स्पिटेरी(बिचमा)सहितको टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा स्वागत गरिँदै ।

तस्बिरः किरणराज बिष्ट/रासस

मोदीद्वारा भारतलाई ५० खर्ब डलरको अर्थव्यवस्था बनाउनेबारे छलफल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार केन्द्र र राज्य सरकारहरू मिलेर सार्वजनिक कल्याणका लागि समन्वयात्मक प्रयासहरू गरेको अवस्थामा सरकारले विकसित भारतको लक्ष्य हासिल गर्न सक्षम हुने बताएका छन् । 

आइतबार समापन भएको भारतीय जनता पार्टी (भाजपा) मुख्यमन्त्री परिषद्को दुईदिने बैठकमा उनले विकसित भारतको अवधारणाका लागि सम्पदाको संरक्षण र विकासको विरासतको निर्माण महत्त्वपूर्ण भएको र यसमा सबैले ध्यान दिनुपर्ने बताए ।

भाजपाको सुशासन एजेन्डाअन्तर्गत यस्ता मुख्यमन्त्री परिषद्को बैठकहरू नियमित रूपमा आयोजना हुन्छन् । यो वर्षको दोस्रो बैठक थियो । भेटमा प्रधानमन्त्रीले देशको अर्थतन्त्रलाई ५० खर्ब अमेरिकी डलर पुर्याउने, विकासका कार्यक्रममा जनसहभागिता बढाउने, सरकारी योजना जनतामाझ पुर्याउन विभिन्न सामाजिक सञ्जालको प्रयोग गर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा पार्टीका राष्ट्रिय अध्यक्ष जगतप्रकाश नड्डा, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाहलगायत राष्ट्रिय नेताहरू सहभागी थिए ।

यसअघि शनिबार आफ्नो उद्घाटन सम्बोधनमा नड्डाले भने, “यी बैठकबाट हामीले तीनवटा फरक उपलब्धिहरू पाउँछौँ । पहिलो, हामीले हाम्रा सफल प्रधानमन्त्री र अन्य वरिष्ठ नेताहरूको बृहत् अनुभवको फाइदा लिन सक्छौँ ।’

उक्त भेटमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानले नयाँ शिक्षा नीति कार्यान्वयनमा प्रदेश सरकारको भूमिकाबारे चर्चा गरे । बैठकमा प्रदेश सरकारबाट अपेक्षा राखेका विषयमा विस्तृत छलफल भएको थियो । परिषद्को प्रारम्भमा भाजपा शासित राज्यहरूका नवीन र सुशासन केन्द्रीत केही छनोट गरिएका प्रयास प्रस्तुत गरिएको थियो ।

छलफलमा महाराष्ट्र र हरियाणाका केही विशेष परियोजनाहरूबारे पनि छलफल भएको थियो ।

रूसले आर्कटिक क्षेत्रहरूमा जलवायु परिवर्तनको अध्ययन गर्ने

रुसी विज्ञहरूले आर्कटिक क्षेत्रहरूमा जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने रुसी एकेडेमी अफ साइन्सेसको शिर्शोभ इन्स्टिच्युट अफ ओशनोलोजीले घोषणा गरेको छ ।

प्रसिद्ध रूसी अनुसन्धान पोत मस्टिस्लाभ क्लेडिश राष्ट्रिय जलवायु अनुगमन कार्यक्रमको एक भागका रूपमा हरितगृह ग्यास उत्सर्जन अध्ययन गर्न बेरेन्ट र कारा समुद्रका लागि एक अभियानमा मरमन्स्कदेखि प्रस्थान गरेको विज्ञप्तिमा संस्थानले जनाएको छ । 

वैज्ञानिकहरूले वायुमण्डलीय भौतिकी, हाइड्रो–रसायन विज्ञान, जलविद्युत् लगायतका क्षेत्रहरूमा अनुसन्धानसहित ‘जलवायुमा असर गर्ने सक्रिय पदार्थहरूको अध्ययनका लागि राष्ट्रिय एकीकृत प्रणाली’ नामक सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय परियोजनाअन्तर्गत कार्यान्वयन हुने धेरै क्षेत्रहरूमा अनुसन्धान गर्नेछन् ।

भौतिक विज्ञान, भूविज्ञान, भू–रसायन विज्ञान, प्यालियोसेनोग्राफी, रुस र नर्वे तथा र स्पिट्सबर्गन वरपरका आर्थिक क्षेत्रहरूमा हाइड्रोबायोलोजी र जलवायु परिवर्तनसँग सम्बन्धित प्राकृतिक सामग्रीहरूको अध्ययन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

वैज्ञानिक मिसनले एट्लान्टिक महासागरको चिसो र तातो आर्कटिक पानी तथा मिथेन उत्सर्जनबीचको सम्बन्ध अध्ययन गर्न पानीको गहिराइमा डुब्ने उपकरणहरू प्रयोग गर्ने संस्थानले सङ्केत गरेको छ ।

उक्त परियोजनाले जलवायु परिवर्तनका प्रमुख चालकहरूमा स्वतन्त्र जलवायु पूर्वानुमान र अन्तर्दृष्टिहरू प्राप्त गर्न प्रयास गर्नेछ । साथै नतिजा प्राप्त तथ्याङ्कले कार्बन उत्सर्जन घटाउने र जलवायु परिवर्तनलाई सम्बोधन गर्ने राष्ट्रिय नीति बनाउने प्रयासहरूको लागि आधारको रूपमा काम गर्नेछ ।

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य र कृषिमन्त्रीले जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या र कृषि तथा पशुपक्षी विकास सम्बन्धी सांसदहरूका मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, सभामुख देवराज घिमिरेले संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यक्रम छ ।

यसैगरी, सभामुखले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सांसद डा. तोसिमा कार्कीले ‘विपद व्यवस्थापनमा पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्व तयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

उत्तरी गोरखामा पहिरोमा बेपत्ता पाँच जना अझै भेटिएनन्

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परी बेपत्ता भएका अझैसम्म पनि भेटिएका छैनन् । गएराति भीषण पहिरोमा बेपत्ता भएकाहको खोजी सुरु भएको करिब १३ घण्टासम्म पनि बेपत्ता पाँचै जना नभेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

‘बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ, उनले भने, ‘अहिलेसम्म कोही पनि फेला परिसकेको अवस्था छैन ।’

पहिरोले घर गहिरो गरी पुरिएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भएको उनले बताए । पुरिएको घर आसपास ठाउँ र भित्तामा खोतल्ने काम भइरहेको डिएसी श्रेष्ठको भनाइ छ । खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी खटिएका छन् ।

नीतिगत नेतृत्व गर्ने कुरामा देशमा साना दलले बाधा पुर्याएका महासचिव पोखरेलको जिकिर

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देश तथा समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताएका छन् ।

आइतबार एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले नीतिगत नेतृत्व गर्ने कुरामा देशमा साना दलले बाधा पुर्याएको जिकिरसमेत गरे ।

महासचिव पोखरेलले संसद्का दुई ठूला पार्टी एमाले र नेपाली कांग्रेस सरकार बनाउने उद्देश्यले मात्र नभई देशलाई अगाडि बढाउने सन्दर्भमा नीतिगत नेतृत्व हुनुपर्छ भन्ने मान्यताका साथ नयाँ समझदारीमा पुगेको स्पष्ट गरे ।

‘नेपालको राजनीतिक परिवर्तन अन्य मुलुकको जस्तो होइन, नेपाली कांग्रेस र कम्युुनिष्ट पार्टीहरू मिलेर गरिएको परिवर्तन हो । यो परिवर्तन र सफलतापछि हामीले उचित व्यवस्थापन गर्न सकेनौँ । नीतिगत नेतृत्व प्रदान गर्न नसक्दा सधैँ अस्तिरता उत्पन्न भइरह्यो । त्यसकारण अब नयाँ योजना र सोचका साथ अगाडि बढ्न जरूरी छ । त्यसका लागि हामी एक ठाउँमा आएका छौँ’, उनले भने ।

यसैगरी उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवाद (जबज) नै रहेकाले जबजको औचित्य समाप्त भयो भन्नु गलत हुने टिप्पणी गरे ।

‘विगतमा एमालेको नेतृत्व गरेका कतिपय कम्युनिष्ट नेताहरूले पनि बेलाबेला जबजको औचित्य सकिएको कुरा गर्ने गरेका छन् । मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जबजले राजनीतिक क्रान्तिपछिको बाटो पनि स्पष्ट रूपमा देखाएको छ । २०६२/६३ को राजनीतिक सफलतापछि बाटो पनि जबजले देखाएको छ भन्ने कुरामा स्पष्ट हुन र जबजको औचित्यका बारेमा अलमलमा नपर्न कार्यकर्तालाई आग्रह गर्दछु’, महासचिव पोखरेलले भने ।

राजनीतिक क्रान्तिपछि समाजवादमा पुग्न तीन वटा विशेष अवधि पार गर्नुपर्नेबारे जबजले भनेको उल्लेख गर्दै उनले उत्पादक शक्ति जति शक्तिशाली बनाउन सकियो त्यति छिटो समाजवाद आउने बताए ।

महासचिव पोखरेलले अगाडि भने, ‘समाजवादमा पुग्नुअघि पुरानो समाज व्यवस्था/उत्पादन सम्बन्धका अवशेष पूर्णरूपमा अन्त्य र बदलिएको उत्पादन सम्बन्धलाई बलियो बनाउँदै योजनाबद्ध ढङ्गले समाजवादका आधार तयार गर्नुपर्ने कुरालाई जबजले प्राथमिकता तोकेरै भनेको छ । त्यसकारण नेता कार्यकर्ताले जबज र परिवर्तनको विचार सम्प्रेषण नगरी समाज परिवर्तन नहुने कुरामा प्रष्ट हुन आवश्यक छ ।’

प्रशिक्षणमा उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, पोलिटब्युरो सदस्यहरू आनन्द पोखरेल, ईश्वरी रिजाल, केन्द्रीय स्कूल विभागका सचिव घनश्याम कोइराला, सदस्यहरू वाइपी आचार्य, प्रा डा तत्वप्रसाद तिमिल्सिना, रामशरण प्याकुरेललगायत विषयविज्ञहरूले प्रशिक्षण दिएका थिए ।

पाँच दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र पालिका कमिटीका पदाधिकारी सहभागी छन् ।

संसदमा गणपुरक सङ्ख्या नपुग्दा कार्यसूची प्रभावित

काठमाडौँ  ।  प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गणपुरक सङ्ख्या नपुगेपछि कार्यसूचीबाट हटाइएको छ । बैठकमा सांसदहरुले धारणा राखे लगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जवाफ दिएकी थिइन् ।


बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल चलेको थियो । छलफलमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफमा मन्त्री भट्टराईले संविधानको भावनाअनुरुप विधेयक अगाडि बढाइएको बताउदै समितिमा दफाबार छलफलका क्रममा विधेयकलाई परिस्कृत गर्न सकिने बताइन् ।


गणपुरक सङ्ख्या नपुग भएको भनी सांसद सन्तोष परियारले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले तीन मिनेट घण्टी बजाई गणपुरक सङ्ख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिए ।


गणपुरक सङ्ख्या गणना गर्दा कुनैपनि प्रस्ताव निर्णयार्थ पेस गर्न कूल ६९ हुनुपर्नेमा ६७ जना सांसद मात्रै उपस्थित रहेकाले सो प्रस्ताव कार्यसूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी दिए ।


शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा उत्पत्ति भएको विधेयक हो ।


नेपालको संविधानको धारा ३५ मा रहेको स्वास्थ्यसम्बन्धी हकको संरक्षणको लागि आवश्यक पर्ने जनशक्ति स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवातर्फको पहुँच वृद्धि गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो ।


स्वास्थ्य विज्ञानका क्षेत्रमा गुणस्तरीय अध्ययन अध्यापनद्वारा मानवस्रोत विकास गरी सर्वसाधारण जनतालाई सहज, सुलभ र विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन तथा स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अनुसन्धान र नवप्रवर्तनको माध्यमले मुलुकको समृद्धिमा योगदान पुर्याउन चिकित्सा शिक्षातर्फ छुट्टै विश्वविद्यालय आवश्यक रहेको भन्दै यो विधेयक अघि बढाइएको हो ।


तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले यो विधेयक २०८० असोजमा राष्ट्रियसभामा दर्ता गरेका थिए ।


शोक प्रस्ताव पारित


प्रतिनिधिसभाको आजको बैठकले सीमलतालमा भएको दुई वटा बस दुर्घटना र सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्युभएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसहमतिले पारित गरेको हो । 


बैठकले ती दुवै दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । साथै बैठकले यस्ता प्रकृतिका दुर्घटना कम गर्नका लागि विशेष पहल गर्न र दुर्घटनापश्चातको प्रतिकार्यलाई चुस्त र दुरुस्त बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रधानमन्त्री ओलीले मङ्गलबार सचिवहरुलाई विशेष निर्देशन दिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विभिन्न सङ्घीय मन्त्रालयको कार्यप्रगतिबारे जानकारी लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका सचिवहरुसँग कार्यप्रगति र भावी कार्ययोजनाबारे जानकारी लिनुभएको प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करले जानकारी दिए ।

उनका अनुसार सचिवहरुले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए । ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक यसप्रकारको बैठक बोलाएका हुन् ।

त्यस अवसरमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । आइतबार बिहान ११ः३० बजे सुरु भएको बैठक साँझ ५ः३० बजेसम्म चलेको थियो । प्रधानमन्त्री ओलीले उक्त प्रस्तुतिकरणमाथि आगामी मङ्गलबारको बैठकमा विशेष निर्देशन दिने कार्यक्रम तय भएको जनाइएको छ ।

बैठकपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत मङ्गलबार फेरि छलफल हुने बताएका छन् । उनले  लेखेका छन्, ‘नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के–के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवज्यूहरुले आ–आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृतमा खुलेरै कुरा राख्नुभयो । भनिन्छ– समस्याको सही पहिचान नै आधा समाधान हो । अब भोलिको एक दिन हामीले सोच्ने समय लिएका छौँ र मङ्गलबार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा निर्णय लिन्छौँ ।’

गण्डकी सरकार र यातायात व्यवसायीबीच सहमति, आन्दोलन फिर्ता

पोखरा । गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच सहमति भएको छ । सहमति भएसँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् ।

व्यवसायीहरूको मागबारे अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भएपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।

उनीहरु आइतबार सार्वजनिक यातायात सेवा बन्द गरेर आन्दोलन गरेका थिए । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको छ । समितिमा यातायात व्यवसायी र राइडर्स प्रतिनिधि थिए । समितिले १५ दिनभित्र मुख्यमन्त्रीलाई सुझाव दिनेछ ।

भारतलाई पराजित गर्दै श्रीलंकालाई पहिलो पटक महिला एसिया कपको उपाधि

मोनिका सिंह, काठमाडौं । भारतको दबदबा तोड्दै श्रीलंकाले पहिलो पटक एसीसी महिला एसिया कपको उपाधि जितेको छ ।

घरेलु मैदानमै भएको प्रतियोगिताको आइतबार भएको फाइनलमा श्रीलंकाले साविक विजेता तथा सर्वाधिक ७ पटकको विजेता भारतलाई ८ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

श्रीलंका र भारत दुवै टोली अपराजित रहँदै फाइनलसम्म पुगेका थिए । फाइनलमा घरेलु समर्थकको अघि श्रीलंकाले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको हो ।

यसअघि पाँच पटक फाइनल खेल्दा भारतसँगै पराजित भएको श्रीलंकाले त्यसको बदला लिँदै छैटौँ प्रयासमा उपाधि जितेको हो । भारत भने फाइनलमा पराजित भएको यो दोस्रो पटक हो । यसअघि सन् २०१८ को संकस्रणमा भारत बंगलादेशसँग फाइनलमा पराजित भएको थियो ।

हर्सिथा समाराविक्रमा र कप्तान चमारी अथापठ्ठुले अर्धशतक प्रहार गरेपछि भारतले दिएको १६५ रनको लक्ष्य श्रीलंकाले ८ बल अगावै २ विकेट गुमाएर पूरा गरेको हो ।

श्रीलंकालाई जितका लागि अन्तिम तीन ओभरमा २५ रन आवश्यक थियो । राधा यादवले बलिङ गरेको १८औं ओभरमा हर्सिथाले एक छक्का र दुई चौका प्रहार गरेपछि श्रीलंकाले ६ बलमा १७ रन जोड्यो । त्यसपछि श्रीलंकालाई जितका लागि १२ बलमा ८ रन आवश्यक थियो । हर्सिथाले १९औं ओभरको चौथो बलमा पुजा भस्त्राकरलाई छक्का प्रहार गर्दै जित पक्का गरिन् ।

हर्सिथाले ५१ बल खेल्दै ६ चौका र २ छक्का मदतमा नटआउट ६९ रन बनाइन् । यस्तै कप्तान चमारीले ४३ब लमा ६१ रन जोड्दा ९ चौका र २ छक्का प्रहार गरिन् । टिमको स्कोर ७ हुँदा पहिलो विकेट गुमाएको श्रीलंकाका लागि चमारी र हर्सिथाले ८७ रनको साझेदारी गरेका थिए ।

यस्तै तेस्रो विकेटका लागि हर्सिथाले कविसा दिलहारीसँग नटआउट ७१ रनको साझेदारी गर्दै जितसम्म पुर्‍याइन् । कविसाले १६ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरी नटआउट ३० रन बनाइन् ।

भारतका लागि दिप्ती शर्माले एक विकेट लिइन् ।

त्यसअघि राङगिरी दाम्बुला इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले स्मृति मन्धानाको अर्धशतक मदतमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । स्मृतिले ४७ बल खेल्दै १० चौका मदतमा सर्वाधिक ६० रन बनाइन् ।

विकेटकिपर रिचा घोसले १४ बलमा ३० र जेमिमाह रोड्रिगेजले १६ बलमा २९ रन जोडिन् । सफाली वर्माले १६ र कप्तान हर्मनप्रित कौरले ११ रन बनाए ।

श्रीलंकाका लागि कविसा दिलहारीले २ तथा उदेशिका प्रबोधनी, सचिनी सान्सला र चमारी अथापठ्ठुले समान एक विकेट लिए ।

सुटिङ खेलाडी सुस्मिता ४२ औं स्थानमा

मोनिका सिंह, काठमाडौं । साउन १३ गते । नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिक– २०२४ को महिला १० मिटर एयर राइफलमा आइतबार ४२ औं स्थानमा रहिन् । कुल ४४ प्रतिस्पर्धी मध्ये सुस्मिताले ४२ औं स्थान हासिल गरेकी हुन् । शरणार्थी टोलीकी लुना सोलोमन ४३ औं भइन् भने अल्जेरियाकी हौडा छाबीले भाग लिइनन् ।

पेरिसदेखि स्थल मार्गबाट करिब ३ घण्टा टाढा रहेको चतरोक्स सुटिङ रेन्जमा भएको खेलमा सुस्मिताले कुल ६५४ अंकमा ६०७.८ अंक जोडिन् । सुस्मिताले पहिलो सिरिजमा १०४.५, दोश्रोमा १०१.७, तेश्रोमा १००.७, चौथोमा ९९.९, पाँचौंमा १०२.२ र छैटौंमा ९८.२ अंक जोडिन् । शीर्ष ८ मा रहने खेलाडी मात्र फाइनल पुग्ने प्रावधान रहेकाले सुस्मिताको चुनौती समाप्त भएको छ ।


यो स्पर्धामा सुस्मिताकै नाममा कुल ६५४ अंकमा ६१९.१ अंकको राष्ट्रिय कीर्तिमान छ । उक्त कीर्तिमान सुस्मिताले नेपालमै भएको चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदको खेलाडी छनोट प्रतियोगितामा बनाएकी थिइन् ।

दक्षिण कोरियाका हयुजिन बान ६३४.५ अंकको ओलम्पिक क्वालिफिकेसन रेकर्डसहित ८ जना फाइनलमा प्रवेश गरेका छन् । फाइनल पुग्ने अन्य खेलाडीमा नोर्वेकी हेग जिनेट, स्विटजरल्यान्डकी एन्ड्री गोमियट, चीनकी युटिङ हुवाङ, भारतकी रमिता, काजाकिस्तानकी एलेक्जेन्ड्रा ले, अमेरिकाकी सगेन माडालेना र फ्रान्सका ओसिएने मुलर रहेका छन् । फाइनल सोमबार हुनेछ ।

१६ दिनसम्म पनि फेला परेनन् त्रिशूलीमा बेपत्ता बस र ३८ यात्रु, भारतीय उद्दार टोली स्वदेश फिर्ता

चितवन । भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरासहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन् ।

नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरासँगै त्रिशूलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार कार्य सुरू भएको १६ दिनसम्म पनि बस तथा धेरै यात्रु अझै फेला पर्न नसकेका हुन् ।

नेपाल सरकारले खोजीका लागि बोलाएको भारतीय गोताखोरसहितको टोली परिचालन गर्दासमेत बसको अवस्थाबारे जानकारी लिन नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

साउन ५ गतेदेखि यहाँ आएर खोजी कार्यमा लागेको भारत सरकारको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोलीले आजबाट फर्किएको छ । खोज तथा उद्धारका क्रममा आफूहरूले पाएको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने गरी टोली फिर्ता भएको हो । 

प्रमुख जिल्ला अधिकारी यादवले साउन ४ गतेपछि हालसम्म शव र बसका अवशेषसमेत फेला पर्न नसकेको बताए । त्यसअघि विभिन्न ठाउँमा गरी २४ जनाको शव भेटिएको भए पनि अन्यको शव भेटिन नसकेको उनले जानकारी दिए ।

भारतीय गोताखोरसहितको टोलीले घटनास्थल सिमलतालदेखि गाईघाटसम्मको तीन दशमलव पाँच किलोमिटर क्षेत्रफलमा बस हुन सक्ने अनुमान गरेको प्रजिअ यादवले बताए ।

उनले भने, “बस नै हो भन्ने एकीन नभए पनि केही वस्तु छ भन्ने अनुमान उहाँहरूको छ । त्यहीअनुसार खोजी कार्य जारी राखेका छौँ । भारतीय टोली फर्किए पनि नेपालको टोलीले खोजी जारी राखेको छ । नदीको गहिराइ, पानीको बहावअनुसारका उपकरण अभावका कारण खोजीमा कठिन भएको छ ।”

प्रजिअ यादवले माटोमा पुरिएको अवस्थामा अहिले प्रयोग भएको सोनाल क्यामेरालगायतका अन्य उपकरणले सवारी साधन र शवको पहिचान गर्न कठिन हुने बताए । भारतीय टोलीले ल्याएको उपकरणबाट पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने भए पनि नदीको गहिराइका कारण केही पत्ता लाग्न नसकेको उनको भनाइ छ । 

यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरासँगै त्रिशूली नदीमा यात्रुसहित बेपत्ता भएका थिए ।  

बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव भेटिएकामा तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाई सकिएको छ । अन्य छ शवको पहिचान खुल्न सकेको छैन । अझै ३८ यात्रु र बसको अवस्था पत्ता लाग्न बाँकी छ । 

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार नदीमा बेपत्ता भएका यात्रुहरूलाई मृत सरह घोषण गरी राहतका लागि गृह मन्त्रालयसँग अनुरोध गरिएको छ । राहतका लागि पत्र पठाइए पनि अर्को निर्देशन नभएसम्म खोजी कार्य जारी राखिने उनले बताए । 

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो ।

यसअघि विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

यही मुद्दामा ताराराज पाण्डे र बासुदेव पन्तले सफाइ पाएका सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । भ्रष्टाचार मुद्दा दर्ता भएको १२ वर्षपछि सर्वोच्चले यो फैसला सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६२ सालमा जोशीविरुद्ध तीन करोड ९३ लाख ६२ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले जोशीसहित आफन्तहरू ताराराज पाण्डे, वासुदेव पन्त र रामकृष्ण तिवारीलाई पनि अकुत सम्पत्ति लुकाउन सहयोगी बनेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

२०६३ कात्तिक ३० गते विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी तथा सदस्यहरू कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले जोशीलाई सफाइ दिएका थिए ।

जोशीको मुद्दालाई विशेषले भ्रष्टाचार निवारण ऐन, २०४८ बमोजिम पदबाट बाहिरिएको एक वर्षभित्रै मुद्दा दायर गर्नुपर्नेमा त्यो अवधि नघाएर दायर गरेको कारण देखाउँदै खारेज गरेको थियो ।

विशेषको निर्णयविरुद्ध अख्तियारले २०६३ मंसिरमा सर्वोच्चमा पुनरावेदन गरेको थियो । सर्वोच्चले २०६८ चैतमा विशेषको फैसला त्रुटीपूर्ण रहेकाले तथ्यभित्र पसेर पुनः सुनुवाइ गर्न आदेश दियो । त्यसपछि जोशीविरुद्धको मुद्दा फेरि ब्यूँतिएको थियो ।

जोशी कांग्रेसका सहमहामन्त्रीसमेत बनेका थिए भने गृहमन्त्री पनि भएका थिए । तर यो भ्रष्टाचार मुद्दापछि उनी पार्टीमा किनारा पर्दै गए भने २०७४ को चुनावमा विद्रोही उम्मेदवार बनेपछि उनी पार्टीबाट निष्कासित भएका थिए ।

राष्ट्र बैंकद्वारा स्वाप कारोबार विनियमावली जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकको सञ्चालक समितिले उक्त विनियमावली स्वीकृत गरेको हो ।

विनियमावलीमा भएको व्यवस्थाअनुसार विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंक र काउण्टरपार्टीबीच ‘खरिद–विक्री अमेरिकी डलर/नेपाली रुपैयाँ स्वाप’ कारोबार गर्न सकिनेछ । यस्तो स्वाप कारोबारको पहिलो चरणमा राष्ट्र बैंकले काउण्टर पार्टीसँग तोकिएको स्पट दरमा अमेरिकी डलर खरिद गरी नेपाली रुपैयाँ विक्री गर्नेछ ।

स्वाप कारोबारको दोस्रो चरणमा पहिलो चरणको कारोबार रकम बराबरको अमेरिकी डलर तोकिएको फरवार्ड मिति र तोकिएको फरवार्ड दरमा राष्ट्र बैंकले काउण्टर पार्टीलाई विक्री गरी नेपाली रुपैयाँ खरिद गर्नेछ ।

स्वाप कारोबारका लागि विदेशबाट भारतीय रुपैयाँ बाहेकको विदेशी मुद्रामा ऋण भित्र्याउने इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त र पूर्वाधार विकास बैंक काउण्टरपार्टी बन्न योग्य हुने छन् ।

स्वाप कारोबार रकम र बोलकबोल हुने मितिसम्बन्धी व्यवस्था पनि विनियमावलीमा राखिएको छ । तोकिएको स्वाप कारोबारको रकम बमोजिमको कूल कारोबार रकमभन्दा बढी नहुने गरी प्रति काउण्टरपार्टी स्वाप कारोबारको न्यूनतम रकम अमेरिकी डलर दश लाख र बढीमा अमेरिकी डलर दश लाखले भाग गर्दा निःशेष भाग जाने गरी काउण्टरपार्टीले विदेशबाट भित्र्याएको भारतीय रुपैयाँ बाहेकको विदेशी मुद्रा ऋणको वक्यौता साँवा रकमसम्म हुने गरी काउण्टर पार्टीले बोलकबोल पेस गर्नुपर्नेछ ।

विनियमावलीले राष्ट्र बैंकमा विदेशी विनिमय व्यवस्थापन विभाग हेर्ने डेपुटी गभर्नरलाई स्वाप कारोबार समितिको अध्यक्ष रहने व्यवस्था राखेको छ । उक्त समितिमा राष्ट्र बैंकअन्तर्गतको विदेशी विनिमय व्यवस्थापन विभाग, मौद्रिक व्यवस्थापन विभाग, आर्थिक अनुसन्धान विभाग, बैंकिङ्ग विभाग र वित्त व्यवस्थापन विभागको कार्यकारी निर्देशक सदस्य रहनेछन् भने विदेशी विनिमय व्यवस्थापन विभागको लगानी हेर्ने निर्देशक सदस्य–सचिव रहनेछन् ।

विश्वास जगाउने मौद्रिक नीति आएको सिबिफिनको प्रतिक्रिया

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि ल्याएको मौद्रिक नीति सन्तुलित, समय सापेक्ष र बजारमा विश्वास जगाउने गरी आएको प्रतिक्रिया दिएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिबारे आइतबार विज्ञप्तिमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै सिबिफिनले शिथिल अर्थतन्त्रमा अब क्रमिक सुधार हुँदै जाने विश्वाससमेत व्यक्त गरेको छ ।

“मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले आव २०८१/८२ को लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित र समय सापेक्षरुपमा आएको छ”, सिबिफिनले भनेको छ, “समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको आत्मविश्वासलाई जागृत गराउँदै विगत केही वर्षयता शिथिल हुँदै आएका आर्थिक गतिविधि र अर्थतन्त्रलाई जीवन्त बनाउँदै आर्थिक एवं वित्तीय क्षेत्रको स्थायित्व र दिगो विकासका लागि मौद्रिक नीतिबाट हुन सक्ने र गर्न सकिने नीति अबलम्वन गरिनु र अपक्षाकृतरुपमा सहजीकरणको प्रयास गरिनुले आमरुपमा आशा, भरोसा र विश्वास जगाएको छ ।”

बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा भएको दबाव सम्बोधन गर्न क्यापिटल एडुकेसी फ्रेमवोर्कमा पुनरावलोकन, असलकर्जाको नोक्सानी व्यवस्थामा कमी, रेगुलेटोरी रिजर्भमा रहेका केही रिजर्भलाई टायर टु क्यापिटलमा गणना गर्न सकिने प्रावधान र पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्नु मौद्रिक नीतिका सकारात्मक र सह्रानीय कदम रहेको धारणा सिबिफिनको छ ।

त्यस्तै, नीतिगतदर घटाइनु, ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’को सीमा वृद्धि गरिनु, निर्माण व्यवसायीलाई विशेष प्राथमिकतासहितको राहत दिनु, संस्थागत शेयर धितो कर्जाको सीमा हटाइनु, कृषि र नवप्रवर्तन क्षेत्रमा जाने कर्जालाई सहज बनाउने नीति अवलम्बन गरिनुलगायत विषय सकारात्मक रहेको उसको भनाइ छ ।

चालू पुुजी कर्जासम्बन्धी मार्गनिर्देशनमा ‘भेरियन्स एनालिसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थामा समयावधि थप गरिनु, लघु, घरेलु, साना एवं मझौला उद्यमका लागि तोकिएको सीमालाई पुनरावलोकन गर्ने व्यवस्था गरिनुले आर्थिक गतिविधिलाई चलायमान बनाउँदै सुषुप्त अवस्थामा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन महत्वपूर्ण सहयोग पुग्नेमा परिसङ्घ आशावादी रहेको छ ।

त्यसैगरी लघुवित्त संस्थालाई सुदृढीकरण गरिने, बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुै संयन्त्र निर्माणका लागि लिइने पहलले समग्र वित्तीय प्रणालीमाथिको विश्वासमा अभिवृद्धि गर्न र स्थायित्व कायम गर्नमा सकारात्मक भूमिका खेल्ने अपेक्षा परिसङ्घको छ ।

सम्पत्ति व्यवस्थापन ऐनका लागि लिइने पहल र वित्तीय संस्थामा बढ्दो डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता सम्बन्धमा आवश्यक अध्ययन गरी यसबाट सृजना हुनसक्ने जोखिमहरु पहिचान गर्ने गरी पहल गरिनु मौद्रिक नीतिका स्वागतयोग्य पक्षहरु रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार र संस्थागत संरचना तयार पार्ने व्यवस्थाले समेत अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास परिसङ्घको छ ।

बैंक तथा वित्तीय क्षेत्रसहित समग्र निजी क्षेत्रमा उत्साह भर्दै शिथिल अवस्थामा रहेका आर्थिक गतिविधि र अर्थतन्त्रलाई चलायमान बनाउने गरीे आएको मौद्रिक नीतिको व्यवहारिक एवं नतिजामूलक कार्यान्वयन हुने व्यावसायीक वातावरण र रोजगारीका अवसरहरु सृजना गर्दै यस अघि जारी पञ्चवर्षिय योजना र वित्तीय नीतिमा व्यवस्था गरिए बमोजिम रोजगारी र उच्च शिक्षाका लागि विदेशिएका नागरिकहरुलाई देश फर्काउने पहल नेपाल सरकारले पनि लिन जरुरी रहेको पनि उसको भनाइ छ ।

“नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिलाई वित्तीय क्षेत्रको स्थायित्व र दिगो विकासमा अधिक सदुपयोग हुने गरी कार्यान्वयनमा लैजान अत्यावश्यक रहेको छ”, परिसङ्घले भनेको छ, “गत आवको मौद्रिक नीतिले कर्जा विस्तारको लक्ष्य हासिल गर्न असमर्थ भएको परिप्रेक्षमा यस वर्षको मौद्रिक नीतिमा तोकिएको कर्जा विस्तारको लक्ष्य हासिल गर्नका लागि अधिक तरलता र पुँजी पर्याप्तताको चापमा पिरोलिएका बैंक तथा वित्तीय क्षेत्रलाई राहत पुग्ने, र समग्र वित्तीय क्षेत्रको स्थायित्व एवं दिगो विकासको लक्ष्य प्राप्ति हुने गरी आगामी दिनमा जारी हुने निर्देशन र मौद्रिक नीतिको समीक्षामार्फत थप सहज नीतिहरु अवलम्बन गर्न समेत आवश्यक देखिन्छ ।”

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन मङ्गलबार हुने

काठमाडौँ । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन आगामी मङ्गलबार हुने भएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम १ बमोजिम समितिको सभापतिको निर्वाचनका लागि यही साउन १५ गते समय तय गरिएको हो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले सभापति पदको निर्वाचनसम्बन्धी जानकारी दिँदै निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न प्रतिनिधिसभाका महासचिवलाई निर्देशन दिइन् ।

यसअघि समितिको सभापति रहेकी डा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि नयाँ सभापति चयन गर्न लागिएको हो । प्रतिनिधिसभाको आजको बैठकले सांसद उपेन्द्र यादवलाई अर्थ समिति, भानुभक्त जोशी र दीपक कार्कीलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र धनबहादुर बुढालाई महिला तथा सामाजिक मामिला समितिको सदस्यमा चयन गरेको छ ।

संविधान संशोधनबारे कांग्रेस-एमालेले औचित्य  पुष्टि गर्नुपर्छः सांसद शाही

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । वर्तमान सत्ता गठबन्धनले संविधान संशोधनको ‘एजेन्डा’ उठाए पनि त्यसको आवश्यकताको पुष्टि गर्न नसकेको उनले उल्लेख गरे । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले संविधानले दिगो विकासको आवश्यकता पूर्ति गर्न नरोकेको उल्लेख गर्दै दलहरुले आफ्नो गल्ती ढाकछोप गर्न विभिन्न बहाना बनाइरहेको आरोप लगाए ।

“वर्तमान सरकार गठबन्धनको मुख्य उद्देश्य संविधान संशोधन भनिएको छ, तर संविधान संशोधनको औचित्य के हो ? के अहिलेको संविधानले विकास नगर भनेको छ ? देशको दिगो विकासका लागि संविधानको कुरा कुन धाराले रोकेको छ ?”, सांसद शाहीले प्रश्न गरे । कुनै पनि दललाई स्पष्ट बहुमत ल्याउन संविधानले नरोकेको उनको भनाइ थियो ।

दिगो विकासका लागि सरकारले प्राथमिकता निर्धारण गर्न नसकेको सांसद शाहीको आरोप थियो । राज्यलाई ऋण थुपारेर अनावश्यक संरचना बनाएर आर्थिक दायित्व थप्ने र अनुत्पादक क्षेत्रमा जथाभावी लगानी गर्ने प्रवृत्ति बढिरहेको भन्दै उनले  सरकारले बजेट छुट्याउने विभिन्न सडक र भवनको आवश्यकता के हो भनेर विश्लेषण गरिनुपर्ने बताए । बिचौलियाको चलखेलमा सरकारको वार्षिक बजेटमा योजना तथा कार्यक्रम पर्ने गरेको उनले आरोप लगाए ।   

अहिलेको मुख्य आवश्यकता सुशासन कायम गर्नु रहेको र ठूला दलले सुशासन कायम गर्न नसके नागरिकस्तरमा समग्र दलीय प्रणालीप्रति नै वितृष्णा जाग्ने सांसद शाहीको बुझाइ छ ।

“सरकार देश र जनताका आवश्यकतासँगै जानुपर्दछ । नागरिकले मन्त्रीहरुको लामो सूची खोजेका होइनन् । देशका लागि दिगो आर्थिक विकास, सामाजिक र सुशासन हो”, उनले भने, “सरकारमा रहेका दुई ठूला दलले राम्रो काम गर्न सकेनन् भने सबै राजनीतिक दलप्रति वितृष्णा बढ्छ ।”

सार्वजनिक संस्थानहरुको सम्पत्तिको दोहन भएको र भ्रष्टाचार बढेको सांसद शाहीले बताए । त्यस्तै, उनले विगतमा भएका कानुन विपरीतका कामलाई कारबाहीको दायरामा ल्याउनुपर्ने तथा सरकार नेताहरुको कमजोरी ढाकछोप गर्नेभन्दा पनि समग्र देशको हितमा उभिनुपर्ने धारणा राखे 

हिट चरण बाटै बाहिरिइन् पौडी खेलाडी डुवाना

काठमाडौं – नेपाली पौडी खेलाडी डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरणबाट बाहिरिएकी छिन् ।

आइतबार महिला २०० मिटर फ्रि स्टाइलमा उनले निर्धारित दूरी पार दुई मिनेट २०.७४ सेकेन्डमा पार गरिन् । सात खेलाडी रहेको हिट वानमा उनी अन्तिम स्थानमा रहिन् । डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा पुगेकी थिइन् । त्यसअघि आइतबार नै सुटिङकी सुस्मिता नेपालले पनि खराब प्रदर्शन गरिन् । ४४ जनाले भाग लिएको १० मिटर एयर राइफलमा सुस्मिता ४२ औं स्थानमा आइन् । उनले ६ सय ७.८ स्कोर गरेकी थिइन् ।

आर्ट ग्यालरीमा ‘रास लिलाः द डिभाइन डान्स’ 

काठमाडौँ । काठमाडौँका विभिन्न आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी भइरहेका छन् । बबरमहलस्थित नेपाल कला परिषद्मा कलाकार प्रियम प्रधान र उनको समूह मिलेर बनाएका सिर्जना प्रदर्शन गरिएका हुन् । 

उनको कला प्रदर्शनीको शीर्षक ‘रास लिलाः द डिभाइन डान्स’ राखिएको छ । शीर्षकअनुसार कलामार्फत महाभारतमा समकालीन कथाहरु प्रस्तुत गरिएका छन् ।

मूर्तिकला, प्रतिस्थापन कला, चित्रकला, कपडाहरु, सङ्गीत र लघु चलचित्रका माध्यम अपनाएर महाभारतको प्राचीन दर्शन बुझाउन खोजिएको कलाकार प्रधान बताउँछन् । उनका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य वैदिक दर्शनका कथा र ग्रन्थ प्रयोग गरी युवा वर्गमा यसको महत्व जगाउनु हो । 

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले सिर्जना गरेका प्रिन्ट मेकिङ कला प्रदर्शन गरिएका छन् । जसको शीर्षक नै राखिएको छ, ‘इम्प्रिन्टस’ ।

ललितपुरस्थित एक्युब ग्यालरीमा भने आइतबारदेखि अमेरिकी कलाकार फिल रोविन्सनको एकल चित्रकला प्रदर्शन सुरु भएको छ । ‘नेपाल कहाँ छ ?’ शीर्षकमा उनले कोरेका चित्रकलामा कलाको सौन्दर्य वर्णन गर्नुका साथै अवस्था चित्रण गरिएको छ । 

कलाकारले नेपाल घुमेर महसुस गरेका दृश्यलाई क्यानभासमा उतार्नुभएको हो । ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठका अनुसार विदेशी कलाकारको नजरमा नेपाल कला नै कलाले भरिएको देश मानिन्छ । त्यसैले चित्रमार्फत नेपाल सुन्दरता र कला कहाँ कति छ नियाल्ने काम अमेरिकी कलाकार रोविन्सनले गरेको  उनले बताए ।

जहाज दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्रालय प्रतिबद्ध छः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जाँचबुझ आयोगले काम सुरु गरिसकेको बताएका छन् ।
     
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले दुर्घटना जाँच आयोगले दुर्घटनास्थलको स्थलगत अनुगमनगरी आवश्यक विवरण लिएको बताए । आयोगले ककपीट भ्वाइस रेकर्डर (सिभिआर) र फ्लाइट डाटा रेकर्डर (एफडीआर) सङ्कलनगरी डाटा विश्लेषणको तयारी गरिएको उनले जानकारी दिए ।
     
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एनएक्स १३ को प्रावधान तथा गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली– २०७१ अनुरुप जाँचबुझ आयोग गठन गरिएको हो । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समय र शून्य समयमा सांसदहरुले विमान दुर्घटनाको बारेमा प्रश्न गरेका थिए ।

     पर्यटनमन्त्री पाण्डेले विमान दुर्घटनाबारे जाँच गर्न समिति बनिसकेको र सरोकारवाला विभिन्न निकायसँग परामर्श गरिएको भन्दै दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्रालय प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गरे । उनले विमान दुर्घटनाको भोलिपल्टै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा छलफल गरिएको बताए ।
     
पर्यटनमन्त्रीका अनुसार यमनी नागरिकबाहेक मृतक सबैको शव आफन्तले बुझिसकेका छन् । यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकाले यमनको दूतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको तथा शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सले बेहोरेको छ ।
     
पर्यटनमन्त्री पाण्डेले दुर्घटनामा परी मृत्युभएका सबैप्रति मन्त्रालय र व्यक्तिगततर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते चालकदलका सदस्य क्याप्टेन मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
     
विमान दुर्घटनामा मृत्यु भएकालाई बीमा नीतिअनुसार सरल र सहज रुपमा उपलब्ध गराउन कम्पनीले प्रतिबद्धता जनाएको छ । बीमा नीति अतिरिक्त एयरलाइन्सबाट  सात लाखको सामाजिक सुरक्षा कोषसमेत रहेको छ ।
     
यस्तै मृतकमध्ये सौर्य एयरलाइन्सका आइटी इञ्जिनियर मनुराज शर्माको श्रीमती पृजा खतिवडा ऊर्जा मन्त्रालयको कम्प्युटर अपरेटरका रुपमा कार्यरत थिए ।

उनले एयरलाइन्समा पनि पार्टटाइमका रुपमा सोही पदमा काम गर्दै आएको एयरलाइन्सले जनाएको छ । बालक अधिराज शर्माको सम्बन्धमा काठमाडौँमा हेरचाह गर्ने व्यक्ति नभएपछि सँगै लगिएको जानकारी एयरलाइन्सले दिएको पर्यटनमन्त्रीले संसद्मा जानकारी दिए ।
     
हवाई नीति–२०६३ का अनुसार प्रेसराइज वायुयान १५ वर्षभन्दा पुरानो आयात गर्न प्रतिबन्ध लगाइएको अवस्थामा सौर्य एयरलाइन्सको विमान सो अवधिभन्दा मुनिको रहेको कम्पनीले जनाएको छ ।

नेपालले सन् २०१८ मा यात्रु बीमासम्बन्धी मन्ट्रियल सन्धि अनुमोदन गरिसकेको र उक्त व्यवस्था अन्तर्राष्ट्रिय हवाई यात्रुमा मात्रै लागू हुने भएकाले आन्तरिक उडानका लागि यात्रुको बीमा कम भएकाले आन्तरिक उडानका लागि बीमा विधेयक तर्जुमाको काम अगाडि बढिसकेको पर्यटनमन्त्रीले जानकारी दिए । हाल आन्तरिकमा यात्रु उडानका लागि  २० हजार अमेरिकी डलर बीमा व्यवस्था गरिएको छ ।
     
एयरलाइन्सकातर्फबाट मृतकका परिवारलाई थप सुविधा उपलब्ध गराउन एयरलाइन्सका पदाधिकारीसँग छलफल गरिएको र कम्पनीकातर्फबाट सम्भव भएसम्म योग्यताका आधारमा रोजगारीको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्री पाण्डेले बीमा रकम सहज तवरले यथाशीघ्र उपलब्ध गराउन सौर्य एयरलाइन्सलाई निर्देशन दिइसकिएको बताए ।

सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान यही साउन ९ गते स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखरा उडानका क्रममा उड्नेबित्तिकै दुर्घटना भएको थियो ।

चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ बाट उडान गर्नेबित्तिकै दाहिने मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् ।

विमान दुर्घटनामा घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । हाल उहाँको स्वास्थ्यावस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

गिरीबन्धु प्रकरण र भुटानी शरणार्थीको अनुसन्धान अघि बढाउनुपर्छ: महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणको फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने आरोप निराधार रहको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै शर्माले गृहमन्त्रालयले बिभिन्न प्रकरणका फाइल खोलेको मिति प्रस्तुत गर्दै निवर्तमान गृहमन्त्री रवि लामिछानले फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने भ्रम छर्न खोजेको समेत बताए ।

उनले लामिछाने गृहमन्त्री हुदा हल्लामात्रै गरिएको भन्दै त्यसबीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयाबिरुद्धको फाइल खोजिएको र त्यो पनि निराधार पुष्टि भएको धारणा राखे । शर्माले बिभिन्न प्रकरणको अनुसन्धानलाई अघि बढाउने जिम्मेवारी नयाँ गृहमन्त्रीलाई आएको भन्दै पूर्वाग्रहमुक्त भएर अनुसन्धान गर्न सुझाव दिए ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी–इस्टेट प्रकरणमा पनि छानविन हुनुपर्ने र त्यसमा मुछिएकालाई छुट दिन नहुने उल्लेख गरे ।

सरकारलाई बिभिन्न सुझाव दिदै शर्माले सुशासनलाई पहिलो प्राथमिकता बनाएर अघि बढ्न समेत सुझाव दिए ।

आगामी चुनावमा एक्लै लड्ने तयारी गर्दैछौं : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै चूनाव लडेर जित्ने उदेश्यका साथ अघि बढ्ने बताएका छन् ।

आइतबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आगामी दिनमा पार्टीलाई रुपान्तरण सहित गतिशिल बनाउदै ८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उदेश्यका साथ पार्टीमा छलफल चलिरहेको बताएका छन् ।

उनले आफु नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक बिकासको बाटोमा काम गरिरहदा सुशासनको डरमा भ्रष्टहरु मिलेर आफु नेतृत्वको सरकारलाई ढालेको उल्लेख गरे ।

आफुहरु सरकार छाड्दा बिजेताका रुपमा निस्केको र सरकारमा जानेहरु हारेजस्तो देखिएको उनले बताए । प्रचण्डले सरकारबाट बाहिरिएपछि पार्टीलाई बलियो बनाउदै संगठन विस्तारमा ध्यान केन्द्रीत गर्ने अवसर प्राप्त भएको धारणा राखे ।

कार्यक्रममा एमाले, कांग्रेस, रास्वपा लगाएत दलमा आवद्ध कार्यकताहरु माओवादी प्रवेश गरेका थिए ।

नेप्से ३० महिनायताकै उच्च विन्दुमा 

काठमाडौँ । चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ ।


आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय १३ दशमलव ४२ अङ्क अर्थात् चार दशमलव ४१ प्रतिशतले बढेर दुई हजार छ सय ८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ ।


आज तीन सय १८ कम्पनीको चार करोड तीन लाख १४ हजार पाँच सय एक सय ७६ कित्ता शेयर एक लाख ६३ हजार आठ सय १० पटक खरिदबिक्री हुँदा  १५ अर्ब ८१ करोड पाँच लाख ९६ हजार दुई सय ३५ बराबरको कारोबार भएको छ ।


आजको कारोबारमा लघुवित्त समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह नौ दशमलव ८९ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी समूह पाँच दशमलव ७५ र विकास बैङ्क समूह चार दशमलव ८७ प्रतिशतले बढेको छ ।


आज एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा अधिकांश वाणिज्य बैङ्क छन् । नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्क, नेपाल एसबिआई बैङ्क लिमिटेड, सानिमा बैङ्क लिमिटेड, एनएमबी बैङ्क लिमिटेड, प्रभु बैङ्क लिमिटेड, ग्लोबल आइएमई बैङ्क लिमिटेड, सिटिजन्स बैङ्क इन्टरनेसनल बैङ्क लिमिटेड, प्राइम कमर्सियल बैङ्क लिमिटेड, कृषि विकास बैङ्क लिमिटेड, एभरेस्ट बैङ्क लिमिटेड र नेपाल बैङ्क लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 


उपकार लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैङ्क लिमिटेडको  ३६ करोड १० लाख बराबरको १७ लाख छ हजार पाँच सय ८२ कित्ता शेयर किनबेच भएको छ ।


आज नेप्से परिसूचकमा दुईपटक सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेन्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो ।


त्यस्तै, दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत विन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको हो ।