`

भारतलाई पराजित गर्दै श्रीलंकालाई पहिलो पटक महिला एसिया कपको उपाधि

Nepal One HD १३ साउन २०८१ १८:५८
खेलकुद

मोनिका सिंह, काठमाडौं । भारतको दबदबा तोड्दै श्रीलंकाले पहिलो पटक एसीसी महिला एसिया कपको उपाधि जितेको छ ।

घरेलु मैदानमै भएको प्रतियोगिताको आइतबार भएको फाइनलमा श्रीलंकाले साविक विजेता तथा सर्वाधिक ७ पटकको विजेता भारतलाई ८ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

श्रीलंका र भारत दुवै टोली अपराजित रहँदै फाइनलसम्म पुगेका थिए । फाइनलमा घरेलु समर्थकको अघि श्रीलंकाले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको हो ।

यसअघि पाँच पटक फाइनल खेल्दा भारतसँगै पराजित भएको श्रीलंकाले त्यसको बदला लिँदै छैटौँ प्रयासमा उपाधि जितेको हो । भारत भने फाइनलमा पराजित भएको यो दोस्रो पटक हो । यसअघि सन् २०१८ को संकस्रणमा भारत बंगलादेशसँग फाइनलमा पराजित भएको थियो ।

हर्सिथा समाराविक्रमा र कप्तान चमारी अथापठ्ठुले अर्धशतक प्रहार गरेपछि भारतले दिएको १६५ रनको लक्ष्य श्रीलंकाले ८ बल अगावै २ विकेट गुमाएर पूरा गरेको हो ।

श्रीलंकालाई जितका लागि अन्तिम तीन ओभरमा २५ रन आवश्यक थियो । राधा यादवले बलिङ गरेको १८औं ओभरमा हर्सिथाले एक छक्का र दुई चौका प्रहार गरेपछि श्रीलंकाले ६ बलमा १७ रन जोड्यो । त्यसपछि श्रीलंकालाई जितका लागि १२ बलमा ८ रन आवश्यक थियो । हर्सिथाले १९औं ओभरको चौथो बलमा पुजा भस्त्राकरलाई छक्का प्रहार गर्दै जित पक्का गरिन् ।

हर्सिथाले ५१ बल खेल्दै ६ चौका र २ छक्का मदतमा नटआउट ६९ रन बनाइन् । यस्तै कप्तान चमारीले ४३ब लमा ६१ रन जोड्दा ९ चौका र २ छक्का प्रहार गरिन् । टिमको स्कोर ७ हुँदा पहिलो विकेट गुमाएको श्रीलंकाका लागि चमारी र हर्सिथाले ८७ रनको साझेदारी गरेका थिए ।

यस्तै तेस्रो विकेटका लागि हर्सिथाले कविसा दिलहारीसँग नटआउट ७१ रनको साझेदारी गर्दै जितसम्म पुर्‍याइन् । कविसाले १६ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरी नटआउट ३० रन बनाइन् ।

भारतका लागि दिप्ती शर्माले एक विकेट लिइन् ।

त्यसअघि राङगिरी दाम्बुला इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले स्मृति मन्धानाको अर्धशतक मदतमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । स्मृतिले ४७ बल खेल्दै १० चौका मदतमा सर्वाधिक ६० रन बनाइन् ।

विकेटकिपर रिचा घोसले १४ बलमा ३० र जेमिमाह रोड्रिगेजले १६ बलमा २९ रन जोडिन् । सफाली वर्माले १६ र कप्तान हर्मनप्रित कौरले ११ रन बनाए ।

श्रीलंकाका लागि कविसा दिलहारीले २ तथा उदेशिका प्रबोधनी, सचिनी सान्सला र चमारी अथापठ्ठुले समान एक विकेट लिए ।


प्रतिक्रिया