पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर


काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो ।
यसअघि विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
यही मुद्दामा ताराराज पाण्डे र बासुदेव पन्तले सफाइ पाएका सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । भ्रष्टाचार मुद्दा दर्ता भएको १२ वर्षपछि सर्वोच्चले यो फैसला सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६२ सालमा जोशीविरुद्ध तीन करोड ९३ लाख ६२ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले जोशीसहित आफन्तहरू ताराराज पाण्डे, वासुदेव पन्त र रामकृष्ण तिवारीलाई पनि अकुत सम्पत्ति लुकाउन सहयोगी बनेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
२०६३ कात्तिक ३० गते विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी तथा सदस्यहरू कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले जोशीलाई सफाइ दिएका थिए ।
जोशीको मुद्दालाई विशेषले भ्रष्टाचार निवारण ऐन, २०४८ बमोजिम पदबाट बाहिरिएको एक वर्षभित्रै मुद्दा दायर गर्नुपर्नेमा त्यो अवधि नघाएर दायर गरेको कारण देखाउँदै खारेज गरेको थियो ।
विशेषको निर्णयविरुद्ध अख्तियारले २०६३ मंसिरमा सर्वोच्चमा पुनरावेदन गरेको थियो । सर्वोच्चले २०६८ चैतमा विशेषको फैसला त्रुटीपूर्ण रहेकाले तथ्यभित्र पसेर पुनः सुनुवाइ गर्न आदेश दियो । त्यसपछि जोशीविरुद्धको मुद्दा फेरि ब्यूँतिएको थियो ।
जोशी कांग्रेसका सहमहामन्त्रीसमेत बनेका थिए भने गृहमन्त्री पनि भएका थिए । तर यो भ्रष्टाचार मुद्दापछि उनी पार्टीमा किनारा पर्दै गए भने २०७४ को चुनावमा विद्रोही उम्मेदवार बनेपछि उनी पार्टीबाट निष्कासित भएका थिए ।