तीन लाख घुस प्रकरणमा भूमि प्रशासनका कर्मचारी र वडाध्यक्षसहित ११ जनाविरुद्ध मुद्दा
आयोगले भूमि प्रशासन कार्यालय, लगनखेलका भूमि प्रशासन अधिकृत, नायब सुब्बा, खरिदार र सहायक कम्प्युटर अपरेटरसहित ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्का तथा दुई लेखापढी व्यवसायीलाई प्रतिवादी बनाएको हो।
आयोगका अनुसार जग्गाको अंश बुझेको भरपाई लिखत पारित गराउने क्रममा कर्मचारी र लेखापढी व्यवसायीले सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस मागेको सूचना पाएपछि टंगालबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा भूमि प्रशासन कार्यालयका कर्मचारी अर्जुन देव योङया, नवीनकुमार गोले, मनोज पोखरेल, राजकुमार मगर, विशाल सुन्दास, नरेन्द्रबहादुर बस्नेत, भक्तबहादुर राना र इन्दु दाहालको संलग्नता देखिएको आयोगको दाबी छ। त्यस्तै, लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाल तथा वडाध्यक्ष सन्तोष खड्कालाई पनि प्रतिवादी बनाइएको छ।
आयोगका अनुसार उनीहरूले आपसी मिलेमतोमा ललितपुर महानगरपालिका–४ अन्तर्गतको जग्गाको अंश बुझेको भरपाई लिखत पारित गराउन सेवाग्राहीसँग घुस मागेका थिए।
अनुसन्धानमा नापी कार्यालय, ललितपुरबाट जग्गाको पुनः नापीसम्बन्धी निर्णय भई जग्गाधनी स्रेस्ता तयार तथा नक्सा अद्यावधिक हुने विवरण भूमि प्रशासन कार्यालयमा प्राप्त भइसकेको पाइएको थियो। तर, कर्मचारीहरूले भूमि अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) मा पुनः नापीअनुसारको विवरण अद्यावधिक नगरेको अख्तियारको आरोप छ।
त्यसपछि कुनै आधारबिना प्राप्त विवरण अस्वीकृत गरी पुनः नापीसम्बन्धी अभिलेख लुकाएको, गलत लिखत तयार गरेको र सरकारी अभिलेखमा हेरफेर तथा थपघट गरी साविक जग्गाकै विवरणका आधारमा अंश बुझेको भरपाई पारित गराएको आयोगको दाबी छ।
यसरी लिखत पारित गरी जग्गाको स्रेस्ता र पुर्जा तयार गरिदिएबापत सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिएको र उक्त रकम आपसमा बाँडेर खाने योजना बनाएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
आयोगले ११ जनालाई प्रतिवादी कायम गर्दै तीन लाख रुपैयाँ बिगो मागदाबी र कानुनबमोजिम सजायको मागसहित शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
