`

एकवर्षमा १६ अर्ब ९३ करोडको विद्युत् निर्यात गरी नेपाल बन्यो खुद विद्युत् निर्यातकर्ता

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा  १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी  १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो ।


प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ ।


एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा छ ।


प्राधिकरणले गत आवमा  १६ अर्ब ८१ करोड तीन लाखको विद्युत् आयात गरेको जनाएको छ । सुक्खायाममा खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युतगृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो । हिउँदयाममा आयात गरिएको विद्युत्को औसत दर प्रतियुनिट नौ रुपैयाँ १७ पैसा छ ।


गत आवमा आयातभन्दा १२ करोड २३ लाखको बढी विद्युत् भारततर्फ निर्यात भएको छ । यसैगरी, ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत् निर्यात भएको हो ।


निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युत्को खुद निर्यातकर्ता बनेको छ । आव २०७९/८० मा भारतबाट  १९ अर्ब ४४ करोड ४० लाखको विद्युत् आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाखको निर्यात गरिएको थियो ।


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नु परे पनि निर्यातको परिमाण बढ्दै जाने बताए ।


‘छ/सात वर्षअघिसम्म विद्युत् आयातकर्ताको मात्र अवस्था थियो, तीन वर्षअघिबाट भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् निर्यात सुरु गरे पनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो’, उलने भने, ‘गत आवबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था बनेको छ, थोरै परिमाणमा खुद निर्यातकर्ता भए पनि यो महत्वपूर्ण उपलब्धि हो, ऊर्जा क्षेत्रका लागि एउटा कोसेढुङ्गा हो ।’


विद्युतको पर्याप्त उपलब्ध हुँदा देशभित्र विद्युतीय सवारी साधन र इन्डक्सन चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा गिरावट आएको कार्यकारी निर्देशक घिसिङले बताए ।


‘विद्युत् निर्यात परिमाण बढ्दा नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको छ, यसबाट देशको विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव परेको छ’, उनले भने ।


नेपालले भारतको इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो । सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताका रुपमा पनि प्रवेश पाएको थियो ।


हाल नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक करिब सात सय मेगावाट विद्युत् भारतमा बिक्री गरिरहेको छ । प्राधिकरणले १६ वटा आयोजनाबाट उत्पादित छ सय ९० मेगावाट विद्युत् निर्यात अनुमति पाएको हो ।


कार्यकारी निर्देशक घिसिङले मध्यकालीन सम्झौताअनुसार थप चार सय मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा रहेको उल्लेख गरे ।


‘हरियाणा र विहार राज्यलाई बिक्री गर्ने गरी थप चार सय मेगावाट विद्युत् निर्यात गर्न भारतको सम्बन्धित निकायबाट अनुमति आउने चरणमा छ, बङ्गलादेशसँग पनि छिट्टै सम्झौता गरी यसै वर्षबाट ४० मेगावाट निर्यात गर्दैछौँ’, उनले भने ।


‘लिऊँ या तिर’ सर्तसहित विद्युत् खरिद बिक्री सम्झौता गरिएका निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण लाइनमा समस्या आउँदाको अवस्थामा बाहेक सारभूत रुपमा खेर नगएको उनले जानकारी दिए । 

इजरायल नियन्त्रित गोलान हाइटमा रकेट आक्रमण हुँदा १२ जनाको मृत्यु

शनिबार एक विद्यालयमा इजरायली हमलामा ३० जनाको मृत्यु भएको २४ घण्टाभित्र लेबनानबाट प्रहार गरिएको रकेटले इजरायली कब्जामा रहेको गोलान हाइट्समा १२ युवाहरूको ज्यान गएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हेज्बुल्लाहले लेबनानबाट मजदल शम्सको ड्रुज सहरको फुटबल मैदानमा रकेट प्रहार गरी १० देखि २० वर्षका युवाहरूको हत्या गरेको इजरायली सेनाले बताएको छ ।

आक्रमणमा अन्य १८ जना युवाहरू घाइते भएका आपतकालीन सेवाले जनाएको हो ।

“इजरायलले यो घातक आक्रमणको जवाफ दिनेछ र हेजबुल्लाहले यो हमलाका लागि अहिलेसम्म कहिल्यै नचुकाएको भारी मुल्य चुकाउनेछ,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो कार्यालयबाट जारी विज्ञप्तिमा भने ।

नेतान्याहूले संयुक्त राज्य अमेरिकाबाट इजरायल फर्केपछि सुरक्षा मन्त्रीमण्डलको बैठक बस्ने बताए ।

लेबनानका लागि विशेष संयोजक जेनिन हेनिस–प्लास्चर्ट र लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) का प्रमुख एरोल्डो लाजारोले संयुक्त वक्तव्य जारी गर्दै यस समयमा अधिकतम संयमता अपनाउन आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले यस ‘भयानक आक्रमण’को निन्दा गरेको छ ।

“लेबनानी हेजबुल्लाहसहित सबै इरान समर्थित आतङ्कवादी समूहविरुद्ध इजरायलको सुरक्षाका लागि हाम्रो समर्थन अटल छ,” एक प्रवक्ताले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

इजरायली कब्जामा रहेको गोलान हाइट्समा भएको घातक रकेट आक्रमणमा तेहरान समर्थित हेजबुल्लाहमाथि लगाइएको आरोपको विरोध गर्दै इरानले आइतबार लेबनानमा कुनै पनि नयाँ सैन्य आक्रमणले ‘अप्रत्याशित परिणाम’ निम्त्याउन सक्ने चेतावनी इजरायललाई दिएको छ ।

“इजरायलको कुनै पनि अज्ञानी कार्यले यस क्षेत्रमा अस्थिरता, असुरक्षा र युद्धको दायरा विस्तार गर्न सक्छ,” विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले भन्नुभयो । “इजरायल यस्तो मूर्खतापूर्ण व्यवहारको अप्रत्याशित परिणाम र प्रतिक्रियाका लागि जिम्मेवार हुनेछ,” उनले भने ।

युरोपेली सङ्घको विदेश नीति प्रमुख जोसेप बोरेलले आक्रमणको निन्दा गर्दै स्वतन्त्र अनुसन्धानको आह्वान गरेका छन् ।

अमेरिकाले जापानमा सैन्य कमाण्ड संरचनाको स्तरोन्नती गर्ने

वासिङ्टन र टोकियोले सैन्य सहयोगलाई थप मजबुत बनाउँदै अमेरिकी कमाण्ड संरचनामा स्तरोन्नती गर्ने भएका छन् । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आइतबार यो योजनाको घोषणा गर्नेछन् ।

अमेरिकाबाट करिब ६ हजार ५०० किलोमिटर टाढा रहेको जापानमा हवाईस्थित इन्डो–प्यासिफिक कमान्डअन्तर्गत करिब ५४ हजार अमेरिकी सैनिकहरू छन् ।

आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टोकियोमा आफ्ना समकक्षीसँग ‘टु प्लस टु’ वार्तामा सामेल भई रक्षामन्त्री अस्टिनले थ्री स्टार कमान्डरको नेतृत्वमा नयाँ ज्वाइन्ट फोर्स हेडक्वार्टरको घोषणा गर्ने एक अमेरिकी सैन्य अधिकारीले बताएका छन् ।

यसले जापानको सबै सशस्त्र बलहरूको लागि योजनाबद्ध संयुक्त अपरेसन कमान्डको समकक्षको रूपमा काम गर्नेछ र ताइवान वा कोरियाली प्रायद्वीपमा सङ्कटको अवस्थामा दुई सेनालाई थप फुर्तीला बनाउनेछ ।

चीनप्रतिको असहजता र उत्तर कोरियाप्रतिको चिन्ताका कारण जापानले हालैका वर्षहरूमा आफ्नो कडा शान्तिवादी अडान त्याग्दै, रक्षा खर्च बढाउने र ‘काउन्टरस्ट्राइक’ क्षमता हासिल गर्न अग्रसर हुँदै आएको छ ।

गत अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री फुमियो किशिदाले ह्वाइट हाउसमा भएको शिखर सम्मेलनमा सहकार्यमा ‘नयाँ युग’को घोषणा गरेका थिए ।

यसै महिना ब्लिन्केन र अस्टिनले जापान र फिलिपिन्ससँगको अर्को ‘टु प्लस टु’ वार्ता गरी एक अर्काको क्षेत्रमा सेना तैनाथ गर्न अनुमति दिने एक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

गत अप्रिलमा वासिङ्टनमा जापान, फिलिपिन्स र संयुक्त राज्य अमेरिकाका नेताहरूबीच पहिलो त्रिपक्षीय शिखर सम्मेलन भएको थियो ।

गत अगस्टमा क्याम्प डेभिडमा राष्ट्रपति जो बाइडेनसँग भेटी जापान र दक्षिण कोरियाले पनि दोस्रो विश्वयुद्धका समय भएको वैमनस्यतालाई त्याग्ने सहमति गरेका थिए ।

जापान–अमेरिका ‘टु प्लस टु’ बैठकअघि अस्टिन र जापानका रक्षामन्त्री मिनोरु किहाराले १५ वर्षपछि जापान भ्रमण गर्ने पहिलो दक्षिण कोरियाली रक्षामन्त्री शिन वोन सिकसँग त्रिपक्षीय वार्ता गरेका थिए ।

उनीहरूले सूचना आदानप्रदान र त्रिपक्षीय अभ्यासलगायत सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

“जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाबीच त्रिपक्षीय सहयोग अन्तर्राष्ट्रिय परिस्थितिमा भएका विभिन्न परिवर्तनका बाबजुद पनि बलियो र अटुट भएको छ,” किहाराले बैठकपछि सञ्चारकर्मीसँग भने ।

जापान र अमेरिकाबीच भएको वार्तामा जापानको सुरक्षाका लागि आणविक हतियारलगायत आफ्नो सैन्य क्षमता प्रयोग गर्ने वासिङ्टनको ‘विस्तारित प्रतिरोध’ प्रतिबद्धतालाई बढाउने विषयमा पनि छलफल भएको थियो ।

चीनको सैन्य आधुनिकीकरण, उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्य र युक्रेन युद्धमा आणविक आक्रमणले जापानलाई अस्थिर बनाएको अमेरिकी (आरएएनडी) थिङ्क ट्याङ्कका राजनीतिशास्त्री नाओको आओकीले बताए ।

“संयुक्त राज्य अमेरिकाले जापानलाई आफ्नो प्रतिबद्धताको आश्वासन दिनु र सम्भावित प्रतिद्वन्द्वीहरूलाई यो गठबन्धन बलियो रहेको र जापानको रक्षाका लागि आवश्यक परेमा आणविक हतियार प्रयोग गर्न संयुक्त राज्य अमेरिका प्रतिबद्ध रहेको सङ्केत दिनु महत्त्वपूर्ण छ,” उनले भने ।

अनुदान कार्यक्रमले दूध उत्पादनमा वृद्धि

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थालेपछि उत्पादनमा वृद्धि भएको छ । दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि अनुदान दिन थालेपछि प्रत्येक वर्ष उत्पादनमा वृद्धि हुँदै गएको हो ।

सहकारीले सञ्चालन गरेको दुग्ध डेरीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर दूधमा सात दशमलव ५० का दरले अनुदान रकम गाउँपालिकाले उपलब्ध गराएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा ७५ हजार दुई सय दुई लिटर दूधमा रु पाँच लाख ६४ हजार १२ अनुदान रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले जानकारी दिए ।

“गत आवमा सहिद प्रदुक बहुउद्देश्यीय सकारी संस्थाले २२ हजार १६ लिटर दूधमा दुई लाख ७३ हजार पाँच सय ३१, साना किसान कृषि सहकारी संस्थाले ३५ हजार तीन सय सात लिटर दूधमा दुई लाख ६५ हजार एक सय ६२ र शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्थाले तीन हजार तीन सय ७६ लिटर दूधमा २५ हजार तीन सय १९ अनुदान लगेका छन्”, उनले भने ।

गाउँपालिकाले आव २०७९/८० सम्म प्रतिलिटर रु पाँच अनुदान दिँदै आएकामा गत आवदेखि अनुदान रकम वृद्धि गरेको हो । पालिकाले प्रतिलिटर रु १० अनुदान रकम उपलब्ध गराउने घोषणा गरे पनि गण्डकी प्रदेश सरकारले पनि दूधमा अनुदान उपलब्ध गराएकाले प्रदेशबाट किसानलाई प्राप्त रकम घटाएर प्रतिलिटर १० रुपैयाँ हुने गरी अनुदान वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् ।

अनुदान रकम साना किसानसम्म पुर्याउन एक आवमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार रकम उपलब्ध गराइएको गरिएको उनले बताइन् ।

“गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीले उपलब्ध गराएको वार्षिक तथ्याङ्कका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ”, अध्यक्ष पाण्डेले भनिन्, “उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८/७९ देखि यसलाई निरन्तरता दिँदै आएका छौँ ।” उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएका भन्दै दूध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या पनि वृद्धि भएको उनले बताइन् ।

“हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्”, उनले भनिन्, “गाउँपालिकाको पहाडी क्षेत्रमा पशुपालन कम हुनेहुँदा यस क्षेत्रमा दूध उत्पादन कम हुने गरेको छ ।”

आव २०७९/८० मा कूल ५७ हजार तीन सय २३ लिटर दूधमा प्रतिलिटर पाँचका दरले दुई लाख ८६ हजार छ सय १९ अनुदान रकम प्रदान गरिएको गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।

“सो वर्ष सहिद प्रदुक बहुउद्देश्यीय सहकारीले २२ हजार १६ लिटर दूधमा एक लाख १० हजार ८० र साना किसान कृषि सहकारीले ३५ हजार तीन सय सात लिटर दूधमा एक लाख ७६ हजार पाँच सय ३९ अनुदान पाएका थिए”, उनले भने ।

चालु आर्थिक वर्षमा पनि दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिृकत पराजुलीले बताए ।

किसानका पक्षमा हुप्सेकोट गाउँपालिकाले गरेको काम प्रशंसनीय रहेको पशुपालक किसानले बताएका छन् । सोझै किसानको हातमा रकम जाने यो कार्यक्रमले किसानलाई केही मात्रामा भए पनि राहत दिएको कृषकको भनाइ छ ।

आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन

मान्म (कालीकोट) । कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिक रुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो ।

पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आक्रषर्णको केन्द्रका रुपमा रहेको कालीकोट महावै गाउँपालिका–४ ओदानकुका रजबहादुर शाहीले बताए । कालीकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जोड दिन थालेका छन् ।

महावै पाटनका नामबाट दैलेखमा महाबु र कालीकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ । पाटनका बीचमा रहेको डुङ्गामाथि शिवको मन्दिर छ । हरेक वर्ष जनैपूर्णिमामा यहाँ मेला लाग्ने गर्दछ । मेलमका अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

शिव मन्दिरलाई यहाँका स्थानीयले महाबु जगन्नाथ भन्ने प्रचलन रहेको बताउँदै महावै जगन्नाथलाई पनि महादेवको प्रतीकका रुपमा लिने गरिएको शाहीले बताए ।

‘पूजाप्रार्थना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ’, उनले भने, ‘शिव मन्दिरको मेला भर्नका लागि प्रत्येक वर्ष जनैपूर्णिमाका दिन कालीकोट, दैलेख, जुम्ला, जाजरकोट र सुर्खेतबाट श्रद्धालु भक्तजन यहाँ आउने गर्छन् ।’

देशका एकसय महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा महाबुधाम समेटिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । यस क्षेत्रको भौतिक पूर्वाधारसहित विकासमा पहल थालिएको उनको भनाइ छ । ‘यहाँको पर्यटन प्रवर्द्धन गर्न धर्मशालालगायत अन्य भौतिक संरचना निर्माणको पहल थालेका छौँ’, उनले भने, ‘पर्यटन विकासका लागि दुवै जिल्लाका स्थानीय तह र प्रदेश सरकारले पनि कामको थालनी गरेका छन् ।’

धाममा धर्मशाला, सडक र मन्दिरलगायत अन्य संरचना निर्माण गर्न ठूलो रकमको आवश्यकता रहेको बताउँदै सिंहले अहिले दैलेखको नारायण नगरपालिका हुँदै महावै पाटन भएर जुम्ला जाने सडक निर्माण भइरहेको जानकारी दिए । उनका अनुसार यहाँबाट जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, बर्दिया, टीकापुर र नेपालगञ्जका अधिकांश स्थान देख्न सकिन्छ ।

‘महावैमा वर्षा याममा कालीकोट र दैलेखबाट चरनका लागि ल्याउने भेडाबाख्रा तथा गाईभैँसीलाई गोठ बनाइएका छन्’, अध्यक्ष सिंहले भने, ‘वर्षायाममा हरियाली फाँटमा भेडाबाख्रा, घोडा, गाईभैँसीका बथान देख्न सकिन्छ, यसले यहाँको आकर्षण थप बढाएको छ ।’

काठमाडौंमा हाइकिङमा गएका व्यक्तिहरुलाई लुटपाट गर्ने गिरोहका नाइके पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा विगत केहि दिनदेखि हाइकिङमा जाने व्यक्तिहरुलाई धारिलो हातहतियार देखाई लुटपाट गर्ने गिरोहका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको विशेष प्रहरी टोलीले लुटपाटमा संलग्न मकवानपुर पदमपोखरीका ५२ वर्षीय धनबहादुर स्याङ्ताङलाई पक्राउ गरेको हो ।

विगतमा भएका घटनाको विश्लेषण गर्ने क्रममा साउन १२ गते पुन नागार्जुन नगरपालिकाको विन्दबासिनी मन्दिर नजिकैको जंगलमा गाडीमा सवार व्यक्तिहरुलाई तीन जना अपरिचित व्यक्तिहरुले धारिलो हतियार देखाई लुटपाट गरी फरार रहेको भन्ने खबर पश्चात स्युचटारस्थित चेकपोईन्ट राखी खोजतालस गर्ने क्रममा उक्त घटनाका नाइकेस्याङ्ताङलाई धारिलो हतियार तथा लुटपाट गरिएका धनमालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट १. सुनको औठी थान ४, सुनको सिक्री एक थान, सुनको लकेट थान १, सुनको व्रासलेट थान २, सुनको कानमा लगाउने रिङ थान २, सुनको सिक्रीको टुक्रा थान १, चाँदीको ब्रासलेट थान १, खुकुरी थान २ र नगद १३ हजार चार सय बरामद गरेको प्रहरीले जनाएको छ ।

उर्लेर आउँदा मर्स्याङ्दीको भेल…

रामबहादुर थापा र नवीन लामिछाने, गण्डकी । त्यो दिन सम्झँदा लिलराम गुरुङ झसंग हुन्छन् । अघिल्लो रातदेखि झरी परिरहेकाले उनी परिवारसँग घरमै थिए । यो थियो, २०७८ असार १ गतेको कुरा ।

अपराह्नको समय घरछेउबाट मर्स्याङ्दी नदी गड्गडाउँदै बगिरहेको थियो । अघिपछि सुसाउँदै मर्स्याङ्दीमा मिसिने घट्टे र स्यार्कुखोलाले पनि त्यो दिन रुप फेरेका थिए । ‘साँझ ५ बजेतिर घट्टे खोलामा बाढी आयो, हेर्दाहेर्दै हाम्रो थातथलो बगायो’, हिमालपारि मनाङका गुरुङले सुनाए, ‘त्यस्तो दिन फेरि कहिल्यै नआओस्, अहिले त सम्झँदा पनि मन झसंग हुन्छ ।’

दिउँसोको समय भएकाले जीउज्यान बचे पनि नामोनिशान नरहने गरी घर बाढीले बगाएको गुरुङ बताउँछन् । बाढीले घरखेत बगाइदिएपछि अहिले उनको परिवार अहिले सदरमुकाम चामेको नयाँ बजारमा अर्को घर बनाएर बसेका छन् ।

मर्स्याङ्दी नदी, घट्टे र स्यार्कु खोलाको बाढीले चामेका १० घर पूर्णरुपमा क्षति भएका थिए । हुलाक कार्यालय भवन बाढीले बगाएको थियो । मानवीय क्षति नभए पनि सडक, पुल, विद्युत् गृह, विद्यालय भवन, खानेपानी, सिँचाइलगायत कैयौँ पूर्वाधार र भौतिक सम्पत्ति बाढीमा नष्ट भएको थियो ।


गुरुङका अनुसार चामे गाउँपालिका–१, ३, ४ र ५ वडामा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको थियो । ‘बूढापाकाका भनाइमा मनाङमा त्यति ठूलो वर्षा भएको र खोलानालामा त्यसरी बाढी आएको पहिलोपटक थियो’, ३५ वर्षीय गुरुङले भने ।

जल तथा मौसम विज्ञान विभागका अनुसार २०७८ असारमा मनाङमा भएको वर्षा मापन त्यसअघिका वर्षहरुको तुलनामा सबैभन्दा उच्च थियो । चामेका पर्यटन व्यवसायी फुर्वाछिरिङ लामाले बर्सात्‌का बेला उर्लेर आउने मर्स्याङ्दीले अहिले पनि बेलाबेला चामेवासीको निद्रा खोस्ने गरेको बताउँछन् ।

‘ठूलो वर्षा हुँदा सचेत बन्नुपर्छ, ढुक्क भएर सुत्नसक्ने अवस्था छैन, खोला र नदी किनारमा भएकाले चोमबजार जोखिमपूर्ण छ’, लामा भन्छन्, ‘नदी तटबन्धसहित चामेबजार संरक्षणको दिगो योजना सरकारले ल्याउनुपर्छ ।’ दामोदर हिमालको फेदबाट बग्ने मर्स्याङ्दी नदीले बर्सातमा मात्र नभएर हिउँद्मा पनि विपद् ल्याउन सक्ने उनको भनाइ छ ।

जलवायु परिवर्तनका कारण खासै पानी नपर्ने मनाङमा पछिल्लो समय वर्षा धेरै हुन थालेको लामा दाबी गर्छन् । ‘हिमालमा सुक्खायाममा पनि हिमपहिरो खस्ने गरेको छ, त्यसले हिमतालहरु फुट्ने जोखिम बढाउँछ’, लामाले भने, ‘हिमताल फुटेर या ओभर–फ्लो भएर नदीतटीय क्षेत्रमा अकल्पनीय घटना निम्तन सक्छ ।’

मनाङमा तिलिचो, गंगापूर्ण, काजिनसारालगायत दर्जनौँ हिमताल छन् । चामे गाउँपालिकाका उपाध्यक्ष मिङ्मार ढोमा लामाले यो वर्ष पनि वडा नं १ स्थित तिमाङ खोलामा बाढीको घटना निम्तिएको बताए । गत असार १९ गतेको बाढीले तिमाङ झरना र खोलाको पुल भत्किँदा बेँसीसहर–चामे सडकमा अझै सिधा यातायात सञ्चालनमा आउन सकेको छैन ।

यसै पनि जोखिमपूर्ण मानिने मनाङको सडक यात्रा बर्सातका बेला झन् असुरक्षित हुने गरेको उपाध्यक्ष लामाको भनाइ छ । नासोँ गाउँपालिका–१ तालगाउँका वडाध्यक्ष मीनराशि गुरुङले मर्स्याङ्दी नदीको बहावले तीन वर्षअघि बस्तीछेउ लगाएको पक्की पर्खाल भत्काएको बताए ।

‘२०७८ को बाढीपछि लगाएको पर्खाल यसपालि फेरि भत्कियो’, गुरुङले भने, ‘तत्कालै ९५ वटा ग्याबिन जाली लगाएर नदीको कटान रोकिएको छ, तालगाउँ बढी जोखिममा छ ।’ मर्स्याङ्दी किनारका तालगाउँ, सिरानताल, धारापानीलगायत बस्तीमा जुनसुकै विपद् निम्तने खतरा रहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

२०७८ को बाढीपछि तालगाउँ बस्तीलाई स्थानान्तरण गर्न विज्ञ टोलीले सुझाव दिएको गुरुङले सुनाए । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने उक्त ठाउँ पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण छ । त्यहाँका स्थानीयवासी पर्यटन व्यवसायमा निर्भर छन् । सिंगै मनाङ पर्यटनले धानिएको छ ।

वडाध्यक्ष गुरुङले पछिल्लो समय हिमाली भेगमा पनि वर्षा हुने क्रम बढ्दै जान थालेपछि मनाङमा बाढीपहिराका घटना बढ्न थालेको बताउँछन् । तीन वर्षअघिको बाढीले चामे र नासोँ गाउँपालिकामा बढी क्षति पु¥याएको थियो । त्यो बेला तालगाउँको सिङ्गै बस्ती नै डुबानमा परेपछि स्थानीवासी घर छाडेर अन्यत्रै आश्रय लिन पुगेका थिए ।

जलवायुविज्ञ डा पपुलर जेन्टलले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र बढी प्रभावित भएको बताउँछन् । हिमाली क्षेत्रको पर्यावरण खल्बलिँदा तल्लोतटीय क्षेत्र सधैं जोखिममा रहने उनको भनाइ छ । ‘नेपालका नदी हिमालबाटै उत्पत्ति भएका हुन्, हाम्रो विकास पनि नदी प्रणालीमा आधारित छ’, उनले भने, ‘नदीनालामा आउने बाढीले जुनसुकै बेला हाम्रो जीविकोपार्जनदेखि विकास पूर्वाधारलाई तहसनहन पार्न सक्छ ।’

मनाङको भू–बनोट संवेदनशील भएकाले वर्षात्का बेला बाढीपहिराको बढी जोखिम हुने उनले बताए । ‘भौगर्भिक अवस्था जटिल भएकाले नेपाल प्राकृतिक विपद्को चपेटामा बर्सेनि पर्दै आएको छ, त्यहीँमाथि जलवायु परिवर्तनले थप जोखिम थपेको छ’, उनले भने, ‘वर्षा अनियन्त्रित हुँदै गएको छ, छोटो समय पर्ने तर एकैचोटि धेरै पानी पर्न थालेको छ ।’

जोखिममा हिमताल

डा जेन्टलले सुख्खायाममा पनि हिमपहिरो खस्ने, हिमताल फुट्ने जस्ता घटना भइरहेको बताए । उनले हिमताल र हिमनदीको जोखिमलाई कम आँक्न नहुने सुझाव राखे । ‘पर्याप्त सावधानी र जोखिम न्यूनीकरणमा ध्यान दिन नसकिए अकल्पनीय प्राकृतिक विपद् झेल्नुपर्छ’, उनले भने, ‘जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर हिमालय क्षेत्रमा परेको छ, हिमपहिरोका घटना बढिरहेका छन् ।’

हिमनदी र हिमतालहरु पृथ्वीको पानीको समेत स्रोत भएकाले तिनलाई जोगाउनुपर्ने उनी बताउँछन् । सन् २०१५ मा भएको ‘पेरिस सम्झौता’मा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरुले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्ने सहमति गरे पनि हिमालय क्षेत्रको तापक्रमले उक्त तह पार गरिसकेको डा जेन्टलले बताए ।

हिमालय क्षेत्रमा देखिएको पर्यावरणीय असुन्तलनसँग जलवायु परिवर्तनको प्रत्यक्ष सम्बन्ध रहेको जलवायुविज्ञ बताउँछन् । विश्वव्यापी तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र बनेका हिमतालको सतह बढिरहेको उनीहरुको भनाइ छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले संयुक्त रुपमा गरेको अध्ययनले नेपालका २१ हिमताल जोखिममा रहेको देखाएको छ । जोखिममा रहेका २१ मध्ये पनि केही हिमताल सम्भावित विस्फोटको खतरामा रहेको जनाइएको छ । उक्त अध्ययनअनुसार नेपालमा दुई हजार ८६ हिमताल रहेको पाइएको छ ।

डा जेन्टलले उच्च जोखिम पहिचान गरिएका हिमतालको नियमित अध्ययन र अनुगमन हुनुपर्ने बताउनुभयो । ‘इसिमोड’ र ‘युएनडिपी’को अध्ययन अनुसार च्छोरोल्पा, इम्जा, मनास्लु हिमशृङ्खलाको ठुलागी, वरुण, चामलाङलगायत हिमताल उच्च जोखिममा छन् ।

माटो, बालुवा र गेग्रानसहितको संवेदनशील भूगोलमा हिमतालहरु रहेकाले जुनसुकै बेला हिमताल फुट्ने र बाढीपहिराको रुप लिन सक्ने विज्ञहरुको भनाइ छ । अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरु कालापत्थरमा परिणत हुने विज्ञहरुले औँल्याएका छन् ।

विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दुकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने इसिमोडको अध्ययनले देखाएको छ ।

रास्वपाको प्रश्नः विश्वासको मत लिएको दुई दिनभित्र किन डिआइजी मनोज केसीलाई सरुवा गरियो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले एउटा अब्बल राष्ट्र सेवक कर्मचारीलाई थाहै नदिएर सरुवा गर्न नहुने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा सांसद ढकालले डिआइजी मनोज केसीलाई यो सरकारले कसरी सरुवा गरेको भन्दै प्रश्न गरेका हुन् । उनले उनले यो गठबन्धन कुन उद्देश्यले बनेको भन्ने कुरा स्पष्ट भएको बताए ।

उनले भने, ‘विश्वासको मत लिएको दुई दिनभित्र कसरी डिआइजी मनोज केसीलाई सरुवा गरियो ? दुई दिन भित्रमा किन र के कारण, के उद्देश्यका लागि सरुवा गरिएको हो ? यसको उत्तर गृहमन्त्रीले दिनुपर्ने हुन्छ ।’

उनले नयाँ गठबन्धन बन्दै गर्दा अनुसन्धानको घेराभित्र रहेर अनुसन्धान हुनुपर्नेलाई मन्त्री बनाएर पुरस्कृत गरिएको बताए । उनले मानव बेचबिखन र हातहतियार सम्बन्धि मुद्दा खेपेकाहरुलाई मन्त्री बनाएको आरोप लगाए ।

उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यसअघि गत असार १० गते प्रहरी निरीक्षक सरुवा गर्ने बेलामा राखेको भनाई स्मरण गर्दै सांसद ढकालले प्रतिप्रश्न गरेका छन् ।

उनले भने, ‘कांग्रेसका महामन्त्रीज्यूले गत असार १० गते पोस्ट गर्नुभएको थियो, गलत भाष्य सावित गर्नका लागि । डीआईजी मनोज केसीको सरुवाको बारेमा तपाईं बोल्न सक्नुहुन्छ? यो सदनमा ? सक्नुहुन्न।’

त्यतिबेला कांग्रेस महामन्त्री शर्माले जिल्ला सूर्यदर्शन सहकारी संस्थाको अनुसन्धानमा संलग्न प्रहरी कार्यालय, कास्कीको अपराध अनुसन्धान तथा नियन्त्रण शाखामा कार्यरत सूर्यबहादुर मगरलाई रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्री भएका बेला हटाइएको सरुवा गरेको भन्दै आपत्ति जनाएका थिए ।

गोरखामा पहिरोमा परी घाइते भएकालाई उपचार गर्न काठमाडौँ ल्याइयो

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचार गर्न हेलिकप्टरमा काठमाडौँ लगिएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलास एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको उनले बताए। स्थानीय जीतबहादुर गुरुङको घर र गोठ पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका थिए ।

बेपत्ता हुनेहरूमा ३७ वर्षीय जीतबहादुरसहित उनका बुबा ६० वर्षीय सोलाल कान्छा गुरुङ, उनकी श्रीमती ३५ कान्छी गुरुङ तथा ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार रहेका छन् ।

शनिबार राति तीन बजे पहिरो जाँदा जीतबवहादुरले सञ्चालन गर्दैआएको कृषि फर्म र नजिकै रहेको एउटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय तथा लाप्राक र माछीखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

लागुपदार्थ दुर्व्यसन र कारोबारमा फस्दै युवा

महोत्तरी – जिल्लामा लागुपदार्थको कारोबार र दुव्र्यसनमा धेरैजसो युवापुस्ता फस्ने गरेका छन् । सीमा वारपार हुने लागुपदार्थ कारोबार र दुव्र्यसनमा युवापुस्ताको संलग्नता बढी पाइएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा लागुपदार्थ दुव्र्यसन र ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका ७१ मध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । कूलमध्ये दुईजना महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत वर्ष सोही प्रकृतिका ५३ मुद्दा अदालतमा दर्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसबारका अनुसार गत आवमा खैरो हेरोइन १८ ग्राम सात सय ९६ मिलीग्राम बरामद गरी अभियुक्तलाई कारबाही प्रक्रिया अघि बढाइएको छ । भारतबाट नेपालतर्फ ल्याइएका विभिन्न नामका एम्पुल, टेबलेट, झोल र १५ हजार दुई सय ६४ क्याप्सुल बरामद भएको छ । यसमा सबैभन्दा बढी नाइट्राभेट ट्याब्लेट आठ हजार पाँच सय ९१, डाइजेपाम दुई हजार ४१, प्रोमेथाजाइन एक हजार १६ ट्याब्लेट र बुप्रेनोफिन एम्पुल ९सुई० एक हजार दुईवटा बरामद भएको प्रहरीको अभिलेखमा उल्लेख छ । यी लागुऔषधसहित पक्राउ पर्नेमा ६० प्रतिशतभन्दा बढी २० देखि ३० वर्ष उमेर समूहका युवा छन् ।

भारतबाट नेपालतर्फ ल्याएर कारोबार गरिने यी लागुपदार्थमा ट्यालगेसिस, डाइक्लोफेन सोडियम, फेनारगन, एक्सिप्लोन, नाइट्राजेपाम, बुलुस्पास, स्पास्मोप्रोक्सिभिन, नुफिन ट्याब्लेट, क्याप्सुल, एम्पुल ९सुई० र झोल प्रहरीले बरामद गरी कारोबारमा संलग्नलाई कारबाही गरेको छ ।

नेपालबाट भारततर्फ लगिने गाँजा गत आवमा १२ क्विन्टल ९६ किलो बरामद गरिएको प्रहरी नायब उपरीक्षक जयसबारले जानकारी दिनुभयो । “भारततर्फ लगिने गाँजाको कारोबारमा संलग्नको उमेर समूह छ्यासमिस छन् तर भारतबाट नेपालतर्फ ल्याइने लागुऔषध कारोबार र दुव्र्यसनमा अधिकांश युवा छन्,” प्रनाउ जयसबारले भन्नुभयो ।

प्रहरीले लागुपदार्थ दुव्र्यसन र कारोबारविरुद्ध निरन्तर सचेतना अभियान सञ्चालन गरेको जनाएको छ । देखासिकीबाट लागुपदार्थ दुव्र्यसनको लत बस्दै गएर पछि तिनै कारोबारमा संलग्न हुने प्रहरीको भनाइ छ । लागुऔषधविरुद्धको अभियानमा विद्यालयका शिक्षक, सामाजिक सङ्घसंस्था र अभिभावकको भूमिका बढ्नुपर्ने प्रहरी अधिकारी बताउँछन् ।

उद्योगी व्यवसायीका समस्याप्रति सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह

महेन्द्रनगर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको आज उद्‌घाटन गर्दै मुख्यमन्त्री सिंहले भने –’मैले व्यवसायीहरुका समस्या बुझेको छु, उनीहरूलाई भारतबाट सामान ल्याउन समस्या भइरहेको छ । करको झन्झट छ, भन्सार कार्यालयमा दक्ष जनशक्ति अभावले पनि काम गर्न कठिनाइ भएको छ ।’

मधेशमा बेरोजगारी अत्यधिक रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले यसलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताए । धनुषा र सिरहामा कमला नदीको बगर क्षेत्रमा खेतीपाती गरी रोजगारी सिर्जना गर्ने प्रदेश सरकारको योजना रहेको उनको भनाइ थियो ।

मधेशमा स्थापना भएका उद्योगमा स्थानीयले रोजगारी नपाएको भन्दै उनले त्यसतर्फ ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गरे ।

‘व्यापार व्यवसाय तथा उद्योग सञ्चालन गर्दा स्थानीयलाई रोजगारी दिनुपर्छ’, मुख्यमन्त्री सिंहले भने। उद्योगी व्यवसायीको हकहितका लागि प्रदेश सरकार सकारात्मक रहेको र यसका लागि नीति निर्माण तहमा समेत सरोकारवालालाई सहभागी गराइने उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतको उपस्थिति रहेको थियो ।

प्रशासनमा थन्किएका राष्ट्रिय परिचयपत्र वितरण गरिने

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँमा वितरण नगरी थन्किएका राष्ट्रिय परिचयपत्र सेवाग्रहीलाई वितरण गरिने भएको छ । कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्ने सेवाग्राहीको घुइँचो बढेपछि बनेर आएका परिचयपत्र वितरण रोकिएको थियो ।

सामाजिक सुरक्षा भत्ता लिनेलाई राष्ट्रिय परिचयपत्र विवरण अनिवार्य गरिएपछि गत जेठ र असारमा सेवाग्राहीको घुइँचो लागेको थियो ।

हाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरणमा परिचयपत्र अनिवार्य गर्ने निर्णय सच्च्याएपछि कार्यालयमा घुइँचो कम हुँदै गएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले बताए।

कार्यालयमा साबिकमा भन्दा अहिले सेवाग्राहीको उपस्थिति घटेकाले कार्यालयमा उपलब्ध भएका राष्ट्रिय परिचयपत्र वितरण प्रक्रियालाई अगाडि बढाउन लागिएको उनले उल्लेख गरे ।

‘राष्ट्रिय परिचयपत्र नम्बर संकलन र बायोमेट्रिक दिन आउने सेवाग्राहीको चापले कार्यालयमा उपलब्ध भएका परिचयपत्र वितरण स्थगन गरिएको थियो’, श्रेष्ठले भने, ‘अहिले सेवाग्राहीको चाप घटेकाले परिचयपत्र वितरणलाई निरन्तरता दिन लागिएको हो ।’

विभिन्न समयमा बायोमेट्रिक दिएका सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बरमा ‘एसएमएस’मार्फत जानकारी भएपश्चात् बायोमेट्रिक गर्दाको आवेदन फारम र सक्कल नागरिकताको प्रमाणपत्रसहित सम्बन्धित व्यक्ति स्वयं उपस्थित भई परिचयपत्र कार्ड लिन आउन सूचना जारी गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । उनका अनुसार विसं २०७६ देखि भरिएका ४५ हजार बढीको राष्ट्रिय परिचयपत्र कार्यालयमा आइपुगेको छ ।

हालसम्म एक हजारले मात्रै परिचयपत्र लिएका कार्यालयले जनाएको छ । कतिपय व्यक्ति परिचयपत्र लिन नआएकाले पनि कार्यालयमा थन्किएको राष्ट्रिय परिचयपत्र शाखाका कर्मचारी प्रताप पण्डितले जानकारी दिए। राष्ट्रिय परिचयपत्र लिन सम्बन्धित व्यक्ति नै उपस्थित भई बायोमेट्रिक विवरण उपलब्ध गराउँदाको जस्तै दस्तखत भिडाउनुपर्ने उनले उल्लेख गरे ।

कार्यालयमा हाल दैनिक एक सयले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्ने गरेका छन् । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले पनि सेवाग्राही विवरण उपलब्ध गराउने आउने गरेका पण्डितले बताए ।

जिल्लामा हालसम्म एक लाखभन्दा बढीले विवरण दर्ता गरिसकेका छन् । प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ । यसअघि तनहुँका दशवटै पालिकाका वडास्तरमा पुगेर पनि विवरण संकलन गरिएको थियो ।

पोखरामा बिहानदेखि सार्वजनिक यातायात बन्द

कास्की । मुलुकको पर्यटकीय राजधानी पोखरामा आज बिहानदेखि सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् । बस, ट्याक्सी, जिपसहित यात्रुवाहक सवारिसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।

गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले आजदेखि प्रदेशमा सार्वजनिक यातायात ठप्प गराएका हुन् । सार्वजनिक यातायात सञ्चालन नभए पनि निजी सवारिसाधन भने निर्वाध सञ्चालन भइरहेका छन् ।

यातायात व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष केदार पौडेलले मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको सातबुँदे मागमा सम्बन्धित पक्षले चासो नदिएपछि प्रदेशभर सार्वजनिक यातायात बन्द गरिएको जानकारी दिए ।

“हामीले ४८ घण्टाको समय दिएर हाम्रा मागहरु सरकार समक्ष राखेका थियौँ, सरकारले कुनै पनि चासो नदिएपछि आजदेखि प्रदेशभर सार्वजनिक यातायात घर तथा ग्यारेजमा थन्काएर बसेका छौँ”, उनले भने ।

प्रदेश सरकारले निजी सवारिसाधन (रातो प्लेट) मा यात्रु बोक्न दिनेगरी राइड शेयरिङलाई वैधानिकता दिन लागेको आरोप व्यवसायीको छ । यातायात ऐन बनेको चार वर्षपछि गण्डकी सरकारले रातो नम्बर प्लेटका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनलाई यात्री बोक्न दिनेगरी कार्यविधि बनाएको छ ।

यातायात व्यवसायीसँग परामर्श नगरी एकलौटी रुपमा निजी सवारीसाधनलाई यात्री ओसारपसार गर्न वैधानिकता दिन लागिएकोप्रति यातायात व्यवसायी महासङ्घको आपत्ति रहेको अध्यक्ष पौडेलले बताए ।

यातायात व्यवसायीले यातायात प्राविधिकीकरण गठन गरी सञ्चालनको कार्यविधि तयार गर्ने, यातायात, मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्ने, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्ने, सडक सुरक्षा योजना लागू गर्नुपर्नेलगायत माग सरकारसँग राखेका छन् ।

रेसुंगा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

गुल्मी । जिल्लाको रेसुंगा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुंगा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए।

उनका अनुसार पछिल्लो समयमा साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न सकेको छैन । रेसुंगा‐काठमाडौँ र काठमाडौँ‐रेसुंगाका लागि टिकट काटेका यात्री दैनिक विमानस्थल पुगेर फर्किने गरेको बताउँछन् ।

मौसममा सुधार नआउँदासम्म नियमित उडानमा समस्या हुने भएकाले यात्रीको सुरक्षालाई ध्यान दिँदै उडान रोकिएको प्रमुख थापाले बताए । गुल्मीको रेसुंगा विमानस्थल निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले उडान गर्दै आइरहेको छ । काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ः३० बजे नियमित उडान तालिका छ ।

सोही तालिकाअनुसार निगमले काठमाडौँबाट रेसुंगा लागि सात हजार पाँच सय र रेसुंगाबाट काठमाडौँका लागि रु सात हजार तीन सय भाडादर निर्धारण गरेको छ । जिल्लामा गत वर्षदेखि व्यावसायिक रुपमा हवाई उडान सुरु गरिएको थियो ।

रेसुंगा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावा चल्ने भएकाले प्राविधिक दृष्टिकोणले बिहान ११ बजेसम्म मात्र उडान भर्न उपयुक्त मानिन्छ । पछिल्लो समयमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ ।

रेसुंगा विमानस्थलबाट काठमाडौँका लागि एक वर्षमा एक सय २५ उडान भइसकेका विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दूरीमा पर्दछ ।

पक्राउ परेका नेतालाई रिहा नगरे पुनः आन्दोलन सुरु गर्ने बङ्गलादेशी विद्यार्थी समूहको चेतावनी

बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई आइतबार हिरासतबाट रिहा नगरेसम्म प्रदर्शन पुनः सुरु गर्ने चेतावनी दिएको छ ।

प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्याङ्कअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा २०५ जनाको मृत्यु भएको थियो । यो प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा ठूलो उथलपुथल हो ।

सेनाको गस्ती र राष्ट्रव्यापी निषेधाज्ञा (कफ्र्यू) आदेश लागु भएको एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि जारी छ र प्रहरीले कम्तीमा आधा दर्जन विद्यार्थी नेताहरूसहित हजारौं प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ ।

आन्दोलनको आयोजक ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ का सदस्यले निजामती सेवा भर्ती नियमहरूको बिरूद्ध अभियान चलाएका थिए ।

यसअघि, उनीहरूले यो हप्ता सप्ताहव्यापी विरोध स्थगन वा अन्त्य गर्ने बताए पनि प्रदर्शनकारी विद्यार्थी नेताहरूको रिहाइ नभएको भन्दै आन्दोलन लम्बिनसक्ने चेतावनी दिएका छन् ।

“समूहका प्रमुख नाहिद इस्लाम र अन्यलाई रिहा गरिनुपर्छ र उनीहरूमाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्छ,” अब्दुल हन्नान मसुदले भने ।
मसुदले आफू अधिकारीहरूबाट लुकेर बसेको कारण आफ्नो स्थान नखुलाएको बताउँदै प्रदर्शनकारीको मृत्युका लागि जिम्मेवार सरकारी मन्त्री र प्रहरी अधिकारीविरुद्ध ‘खुला कारबाही’ गर्न पनि माग गरेका छन् ।

उनले भने, “प्रशासनले अझै पनि विद्यार्थीको मागलाई वेवास्ता गर्दै अघि बढेमा विभेदविरुद्ध विद्याथी समूहले सोमबारदेखि कडा आन्दोलन गर्न बाध्य हुनेछन् ।

इस्लाम र प्रदर्शनकारी समूहका अन्य दुई वरिष्ठ सदस्यलाई शुक्रबार राजधानी ढाकास्थित अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको थियो र सादा पोसाकका जासुसहरूको एक समूहले उनीहरूलाई लगेको थियो ।

यसै साताको सुरुमा इस्लामले एएफपीलाई दिएको जानकारीअनुसार प्रहरीले हिरासतमा दिएको यातनाबाट लागेको चोटका कारण अस्पतालमा उपचार गराइरहेको र आफू आफ्नो ज्यानको खतरामा रहेको बताएका थिए ।

गृहमन्त्री असदुज्जमान खानले तीनै जनालाई आफ्नो सुरक्षाका लागि हिरासतमा लिइएको बताए पनि उनीहरूलाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा होइन भन्ने पुष्टि गरेनन् ।

प्रहरीले दिएको जानकारीअनुसार जासुसहरूले अन्य दुई जनालाई हिरासतमा लिएका छन् । ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ अभियन्ताले एएफपीलाई आइतबार बिहान एक जनालाई नियन्त्रणमा लिइएको बताएका छन् ।

बङ्गलादेशको सबैभन्दा ठूलो दैनिक पत्रिका प्रोथोम आलोका अनुसार आन्दोलन सुरु भएयता देशभर कम्तीमा नौ हजार व्यक्तिलाई पक्राउ गरिएको छ ।

अष्ट्रेलियाली अध्यागमन र राष्ट्रिय सुरक्षामामिलामा विवादित मन्त्रीको जिम्मेवारी हेरफेर

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आइतबार अध्यागमन र राष्ट्रिय सुरक्षाका लागि जिम्मेवार दुई मन्त्रीलाई हटाएका छन् ।

अस्ट्रेलियाको गृह मन्त्रालयले आक्रमण, अपहरण र हत्याको अभियोगमा दोषी ठहरिएका १०० भन्दा बढी अध्यागमन बन्दीलाई अदालतको आदेशपछि रिहा गर्न बाध्य भएको र यसका लागि विवादमा मुछिएका मन्त्रीलाई हटाउने दबाबमा परेको हो ।

अल्बानीजले गृहमन्त्री क्लेयर ओ निल र अध्यागमनमन्त्री एन्ड्रयु जाइल्सलाई हटाएर उनीहरूलाई नयाँ जिम्मेवारीमा स्थानान्तरण गर्न लागेका हुन् ।

प्रधानमन्त्री अल्वानिजले दुवै मन्त्रालयको जिम्मेवारीमा अनुभवी सरकारी समस्या समाधानकर्ता टोनी बर्कलाई अघि सारेका छन् ।

रिहा गरिएका केही बन्दीहरूलाई थप अपराधको आरोप लागेपछि लेबर पार्टीको सरकार बदनाम भएको थियो ।

पुरानो नीतिअनुसार अस्ट्रेलियाले भिसा दिन अस्वीकार गरेका आप्रवासीहरूलाई कानुनी रूपमा अन्यत्र निर्वासित गर्न नसकेमा उनीहरूलाई अनिश्चितकालका लागि थुनामा राख्न सकिन्थ्यो ।

कतै नजाने र रिहाइको कुनै आशा नभएकाले धेरै जना वर्षौंदेखि अस्ट्रेलियाली कारागार थुनिएका थिए ।

तर नोभेम्बरमा उच्च अदालतको एक फैसलाले यो ‘गैरकानुनी’ भएको ठहर गर्दै २० वर्ष पुरानो द्विदलीय नीतिलाई उल्ट्याएको थियो र करिब १५० जनालाई रिहा गर्न बाध्य बनाएको थियो ।

रिहा भएकामध्ये ७० जनाभन्दा बढीलाई आक्रमण र अन्य हिंसात्मक अपराधमा दोषी ठहर भएपछि भिसा दिन अस्वीकार गरिएको थियो भने सात जनालाई हत्या वा हत्याप्रयासको अभियोगमा दोषी ठहर गरिएको थियो ।

अस्ट्रेलियाले सन् १९९२ देखि बिना भिसाका नागरिकलाई अनिवार्य हिरासतमा राख्न सुरु गरेको थियो ।

ह्युमन राइट्स वाचको तथ्याङ्कअनुसार अस्ट्रेलियामा अध्यागमनसम्बन्धी विवादमा थुनामा परेका कैँदीलाई औसत ७०८ दिन हिरासतमा राखिएको छ र १२० भन्दा बढी व्यक्ति पाँच वर्षदेखि हिरासतमा छन् ।

भियतनाम, कम्बोडिया र चीनबाट डुङ्गाबाट ठूलो सङ्ख्यामा मानिसहरू आउने क्रम बढेपछि यसकोे प्रतिक्रियास्वरूप अस्ट्रेलियाले नयाँ कठोर सीमा नीति बनाएको थियो ।

तर संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकायले यो नीतिलाई ‘स्वेच्छाचारी’ र ‘दण्डात्मक’ भनेको छ भने शरणार्थी पक्षधर अधिकार समूहले यसको आलोचना गरेका थिए ।

मध्य चीनमा पहिरोमा परी ११ जनाको मृत्यु

मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएको र ११ जनाको मृत्यु हुनुका साथै कम्तिमा एक जना अझै बेपत्ता रहेका चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सिसिटिभी) ले जनाएको छ ।

आधिकारिक प्रसारणकर्ता सिसिटिभीले पहिरोमा १८ जना पुरिएको प्रारम्भिक जानकारी उपलब्ध गराएको थियो । आइतबार दिउँसोसम्म ११ जनाको शव र छ जना घाइतेको उद्धार गरेको बताइएको छ ।

घटनास्थलमा २४० भन्दा बढी आपतकालीन कर्मचारी परिचालन गरिएको र उद्धार कार्य जारी रहेको सिसिटिभीले समाचारमा उल्लेख गरेको छ ।

यस महिनाको सुरुमा उत्तर र दक्षिणपश्चिममा आएको आकस्मिक बाढीले कम्तीमा २० जनाको ज्यान लिएको थियो ।

मे महिनामा दक्षिणी चीनमा केही दिनको लगातार वर्षाका कारण राजमार्गको पुल खस्दा ४८ जनाको मृत्यु भएको थियो ।

महानगरले दिने कक्षा ११ को छात्रवृत्तिका लागि दुई हजार ८५९ जना विद्यार्थी छनोट

काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका २ हजार ८५९ जना विद्यार्थीका नाम प्रकाशन भएको छ ।

काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार सूची प्रकाशन गरेको हो । यसको विवरण इमेलबाट विद्यालयहरुलाई पठाइसकिएको छ । यस्तै विद्यार्थीहरुलाई एसएमएस पठाइएको छ । विद्यार्थीहरुले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो सिफारिस सम्बन्धी जानकारी पाउन सक्नेछन् ।

प्रकाशन भएको सूची, साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यता क्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरुमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रुपमा छुट्याइएको सिट संख्याका आधारमा सूची प्रकाशन गरिएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।

नाम प्रकाशन भएका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना भइसक्नु पर्नेछ । छात्रवृत्ति छनोट समितिका संयोजक एवं शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा भन्छन्, ‘तोकिएको समयभित्र भर्ना नभए त्यसपछि कुनै पनि प्रकारको दावी विरोध गर्न पाइँदैन ।’ शर्मा भन्छन्, ‘साउन १५ गतेभित्र भर्ना नभइ रिक्त रहेका सिटसमेतका लागि दोस्रो सूची प्रकाशन हुनेछ ।’

विज्ञान विषयमा छात्रवृत्तिका लागि लागि १ हजार ७५७ वटा छात्रवृत्ति कोटा उपलब्ध छ । यसमा ८ हजार ४९७ जनाले आवेदन दिए । परीक्षामा ७ हजार ६६५ जना सहभागी भए । ६ हजार ७२० जना उत्तीर्ण भए । उत्तीर्णमध्ये १ हजार ६३७ जनाको नाम पहिलो सूचीमा प्रकाशन भएको छ ।

व्यवस्थापन विषयमा २ हजार ४९३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि २ हजार ५८१ जना विद्यार्थीले आवेदन दिए । २ हजार ३२८ जनाले परीक्षा दिए । परीक्षार्थीमध्ये १ हजार ३८१ जना उत्तीर्ण भए ।

यस विषयका लागि पहिलो म्याचिङ् लिष्टमा १ हजार १४६ जनाको नाम प्रकाशित भएको छ । कानुन विषयमा १३६ वटा छात्रवृत्ति कोटा छ । यस विषयका लागि १५३ जनाको आवेदन परेको थियो । १३२ जनाले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भए । उत्तीर्णमध्ये ५३ जनाको नाम प्रकाशित भएको छ ।

मानविकी विषयमा अध्ययनका लागि १७३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि १३ जनाको आवेदन थियो । आवेदकमध्ये ११ जनाले परीक्षा दिए । यस्तै ८ जना उत्तीर्ण भए ।

यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशन भएको छ । शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा छ । यसका लागि ३७ जना आवेदकमध्ये ३२ जना परीक्षामा सहभागी भए । १५ जना उत्तीर्ण यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशित छ ।

छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवेदन दिन महानगरपालिकाले असार १५ गते विहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको थियो । यस प्रणालीबाट असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन लिइएको थियो ।

प्रणालीबाट ११ हजार ८७१ जना विद्यार्थी आवेदन दिएका थिए । जसमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो । साउन ४ गते ३८ वटा केन्द्रबाट परीक्षा सञ्चालन भएको थियो ।

साउन ७ गते योग्यता क्रम प्रकाशन भयो । यस नतिजामा चित्त नबुझे पुनर्योग वा दावी विरोधका लागि ३ दिन (साउन १० गते साँझ ५ बजेसम्म) समय दिइयो । यस अवधिमा १४३ जनाले पुनर्योगका लागि आवेदन दिएका थिए । यसमध्ये १ जनाको नतिजा परिवर्तन भएको छ ।

पार्टीले आफूमाथि गरेको कारबाही रोक्न मुकुल ढकालले दिए आयोगमा निवेदन

काठमाडौं । पार्टीको महामन्त्री र प्रवक्ता पदबाट कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी नेता डा.मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

पदाधिकारी हेरफेर गर्ने बैठक अवैधानिक भन्दै उनले त्यसले गरेका निर्णयहरू बदरको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

निवेदनमा उनले भनेका छन्, ‘ मैले पदमुक्त बारेमा पार्टीबाट कुनै पनि पत्र हालसम्म प्राप्त गरेको छैन । यस सम्बन्धमा यदि त्यस प्रकारको निर्णय भएको रहेछ भने त्यो अवैधानिक रहेको र त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धीको ऐन, २०७३ को दफा ५१ बमोजिम तीन दिनभित्र अद्यावधिक गर्नका लािग त्यस आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अध्यावधिक नगर्नका लागि यो पत्र माननीयज्यूसामु पेस गरेको छु ।’

ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले असार २५ गते पदबाट हटाएको थियो । उक्त निर्णय वैधानिक नभएको दाबी गर्दै ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

मन्त्री, सचिव र योजना आयोगका पदाधिकारीलाई निर्देशन दिँदै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका मन्त्री एवं सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरूलाई निर्देशन दिँदै छन् ।

प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि पहिलोपटक उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई निर्देशन दिन लागेका सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा सबै मन्त्रालयका सचिवहरूले आआफ्नो मन्त्रालयको वस्तुस्थिति एवं कामकाजका बारेमा जानकारी गराउने बताइएको छ ।

ओली सरकारको दायित्व

धनञ्जय दवाडी 
भर्खरै नयाँ सरकार निर्माण भएको छ । परम्परागत प्रतिस्पर्धी दलहरु नै सरकारमा सहकार्य गर्न सहमत भएर साझा समझदारी सार्वजनिक गरेका छन् । दलहरुका निर्णयले जनमतको प्रतिनिधित्व र स्वामित्व दुवै ग्रहण गरेको हुन्छ । सरकार र संसद् आवधिक हुन् तर दलहरु सर्वकालिक हुन् । दल र तिनका नीतिले देशको विकास समृद्धि र अग्रगतिका लागि भूमिका खेल्दछन् । संसद्मा रहेका दलहरु प्रतिस्पर्धी र सहयात्री दुवै हुन् । विषय र एजेन्डाका आधारमा दलहरुले सहकार्य गर्नु र प्रतिस्पर्धा गर्नु सामान्य विषय हुन् । पार्टीका कामकारबाही वा तिनका विचार निर्माणको भूमिकालाई प्रभावकारी बनाउन सक्दा मात्र नेपालको भविष्यप्रति आशा जगाउन सकिन्छ ।


लोकतन्त्र जनमतका आधारमा चल्ने व्यवस्था हो । लोकतन्त्रमा निर्धारित कानुनी व्यवस्थाका आधारमा निर्वाचनका माध्यमबाट जनमतको परीक्षण हुन्छ । जनमतको प्रतिनिधित्व दलहरुले गर्दछन् । संसद् जनप्रतिनिधित्व गर्ने सर्वोच्च थलो हो, जसले सरकारका कामहरुको परीक्षण, नयाँ कानुनको निर्माण वा संशोधन गर्दछ  र विधि निर्माणका लागि छलफल र बहसमा भाग लिने गर्दछ । बहसको समाप्तिपछि निर्णयहरु कार्यान्वयनमा पठाउँछ । सामान्यतः संसदीय प्रणालीमा बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री हुन्छन् र उनले नियुक्त गरेका संसद्का सदस्यहरु मन्त्रिपरिषद्का सदस्य हुन्छन् । कार्यकारी अधिकार ग्रहण गर्दछ्न् । संसदीय प्रणालीमा सरकारको गठन र विघटन संसद्हरुको हातमा हुन्छ । यो संसदको सामान्य प्रक्रिया पनि हो । संसद्मा दलहरुको उपस्थितिले नै मुलुकको शक्ति सन्तुलनको तस्बिर देखाउँछ । नेपालको संसद्मा यसअघि तेस्रो दलले पहिलो र दोस्रो दलको समर्थनमा सरकार सञ्चालन गरेको थियो । अहिले प्रमुख दुई दलको सहकार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले ले दुई तिहाइ मतले विश्वास पनि प्राप्त गर्नुभएको छ । नेपालको राजनीतिक इतिहासमा यस्तो विश्वास निकै थोरै पटक मात्र प्राप्त भएको छ । यसैले यो अवसर ऐतिहासिक र महत्वपूर्ण छ ।


वर्तमान अवस्थामा सामाजिक लोकतन्त्रमा विश्वास राख्ने दलका नेता कार्यकर्ताले संसद्लाई वर्गसङ्घर्षको एउटा मोर्चाका रुपमा बुझ्नु उपयुक्त हुन्छ । विगतमा  लोकतन्त्र र त्यसको अभ्यासमा  कमजोरी रहन गएकाले मानिसका सामूहिक क्षमतामा विकास भएन । नेपाली समाजमा प्रकट भएको वर्गसङ्घर्ष र अन्य मुलुकमा प्रकट भएको वर्गसङ्घर्ष पृथक देखिन्छ । यो पृथक चरित्रले नेपाली क्रान्तिको चरित्र नै पृथक ढङ्गले अगाडि बढेको छ । नेपालको जस्तो वर्गसङ्घर्ष विश्वका अन्य मुलुकका कम्युनिष्ट पार्टीहरुले सामना गर्नु परेको थिएन । नेपालको क्रान्ति परस्पर विरोधीजस्ता लाग्ने पार्टीहरुका बीचको संयुक्त मोर्चाबाट सम्पन्न भयो । क्रान्तिलाई संस्थागत गर्न नेपालका बामपन्थी र प्रजातन्त्रवादीबीच प्रतिस्पर्धा र सहकार्य निरन्तर चलिरहेको छ । एउटै दलले राष्ट्रिय शक्तिका रुपमा आफूलाई विकास गर्न भने सकेको छैन ।


आज विज्ञान र प्रविधिको चुनौती, विकास र काममा मेसिनको प्रयोगले वर्गसङ्घर्ष र तिनमा देखापर्ने पक्षधरता पनि संसदीय सङ्घर्षमा नै प्रकट हुने गरेको छ । यद्यपि हामी समाजवादका आधार निर्माणका चरणमा छौँ । समाजवाद निर्माणको चरण लामो र क्रमबद्ध हुन्छ । नेपालमा समाजवादको आधार निर्माणका क्रममा उपचरणहरु पार गर्दै अघि बढ्नु पर्दछ । पुँजीवादको नभई नहुने चरणबाट गुज्रिएर मात्र समाजवादको यात्रा प्रारम्भ गर्न सकिन्छ । पुँजीवादी उत्पादनका साधन, प्रक्रिया र लाभको वितरण प्रणालीलाई सामाजीकृत गरेर मात्र समाजवादमा पुग्न सकिन्छ । तर यो प्रक्रियामा आत्मगत अवस्था भएर मात्र पुग्दैन, वस्तुगत अवस्था परिपक्व बन्नु पर्दछ । वस्तुगत अवस्था परिपक्व बनाउनका लागि  सरकारले अगुवाइ गर्नुपर्दछ । यसका लागि संसदीय क्षेत्रमा श्रेष्ठता प्राप्त गरेर नेतृत्वमा पुग्नु वा सरकार सञ्चालनका प्रक्रियाबाट नीतिहरु परिवर्तन गर्ने प्रक्रियामा लाग्नु महत्वपूर्ण हुन्छ ।


नेपालमा संविधान निर्माणमा क्रियाशील हुने दलहरु नै यसको प्रभावकारी कार्यान्वयनमा उदासीन रहेको इतिहास छ । २०४७ सालको संविधान कार्यान्वयनमा आएपछि त्यसको रक्षा प्रयोग र विकासमा एकजुट हुनुपर्ने दलहरु नै विभाजित बने । तत्कालीन राजनीतिक शक्ति सन्तुलनबाट निर्मित यो संविधानको घेराबाट सबै व्यक्ति र शक्तिहरु बाहिर निस्कँदाको परिणाम नै त्यो संविधानको खारेजी भयो । विगतमा प्रणालीगत सुधार र विकास नगरेकाले नै लोकतन्त्रका जराहरु जनताका तहसम्म फैलिन सकेनन् । नयाँ संविधान कार्यान्वयनमा आएपछि पनि बर्तमान समयमा व्यवस्थापिका र यसका अङ्गहरुबीच सौहार्द्रपूर्ण अन्तरसम्बन्ध विकास गरेर नयाँ सोच र शैलीमा अघि बढ्नुपर्नेमा दलहरु एक अर्कालाई उपयोग गर्ने र सत्तामा टिक्ने भ्रममा केन्द्रित भए । परिणामतः जनतामा चरम निराशा, ठप्प प्रायः विकास निर्माण, कमजोर अर्थतन्त्र, चरम भ्रष्टाचार र उदासीनताले प्रश्रय पायो । यसबाट क्रन्तिका उपलब्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नै प्रश्नहरु उठ्न थाले ।


लोकतान्त्रिक प्रणालीमा नै प्रहार गर्न दक्षिणपन्थी शक्ति र प्रवृत्तिले चलखेल गर्न खोजे । जसले लोकतान्त्रिक क्रान्तिको नेतृत्व गरेका मुख्य ठूला दलहरुलाई क्रान्तिका उपलब्धिहरुको रक्षा गर्ने र समृद्ध मुलुक निर्माण गर्ने चुनौती स्वीकार गर्न आवश्यकता बोध भयो र यो गठबन्धन निर्माण भयो । विगतका गल्तीबाट सिक्ने र प्रतिस्पर्धात्मक क्षमता विकास गरेर लोकतन्त्रलाई स्थायित्व दिन जरुरी छ । व्यवस्थाप्रति जनविश्वास आर्जन गर्न, जनताका बीचमा गरिएका वाचा पूरा गर्ने र गरिएका काम र प्राप्त उपलब्धिहरुको युक्तिसङ्गत जनतामा विश्वास सिर्जना गर्नुपर्दछ ।  लोकरिझ्याइँमा विश्वास गर्ने दलहरुले समस्याको उठान त गरे तर समाधान दिने सामथ्र्यमा चुकेकाले आज प्रणालीमै प्रश्नहरु उठेका छन् । उठेका सबै प्रश्नको युक्तिसङ्गत र विश्वासनीय जवाफ सरकारले दिनुपर्दछ र विश्वास बढाउनुपर्छ । सङ्घीय लोकतान्त्रिक व्यवस्थाको जनविश्वासलाई जगेर्ना गर्न र जनतामा यस सङ्घीय व्यवस्था र जनप्रतिनिधिप्रति सिर्जना गरिएको भ्रमको पहाड भत्काउन सकिन्छ । दलका र तिनका क्रियाकलापबाट सङ्घीय लोकतान्त्रिक प्रणालीप्रति विश्वासमा बढोत्तरी गर्न सकिन्छ । प्रतिनिधित्व र नेतृत्वको सुनिश्चितताले मात्र व्यवस्थाप्रति विश्वास बढ्छ ।


वर्तमान सरकारका चुनौतीहरुपनि बेग्रेल्ती छन् । यसका लागि प्रभावकारी अनुगमन संयन्त्र हुन जरुरी हुन्छ । सबैभन्दा प्रभावकारी अनुगमन गर्ने संस्थाहरु भनेका आमजनसमुदाय नै हुन् । संसद्हरु निर्णय, प्रतिवेदन र निर्देशनहरु समयमा नै दिनसक्ने र कार्यान्वयन गर्न सक्ने हुनुपर्दछ । संसद्का काम कारबाहीहरुको अनुगमनका लागि संस्थागत संयन्त्र, पर्याप्त स्रोत र साधन, दक्ष जनशक्तिको आवश्यकता हुन्छ । अनुगमन मूल्याङ्कनलाई वस्तुगत र विश्वस्त बनाउन सरकारले काम गर्नुपर्दछ । सही ढङगले साधन, स्रोत र शक्तिको दक्षतापूर्ण परिचालन भएन भने सङ्घ, प्रदेश र स्थानीय तहका योजनाहरुको प्रभावकारी कार्यान्वयन हुन सक्दैन । सार्वजनिक शिक्षा, स्वास्थ्य, रोजगारी र सेवा प्रवाहका क्षेत्रमा समस्याहरु छन् । सहकारिता, सहअस्तित्व र समन्वयमा साथ अगाडि बढ्नु पर्ने तीनै तहका सरकारमा होडबाजी बढेको देखिन्छ । यसैलाई आधार बनाएर सङ्घीय प्रणालीका विपक्षमा हुनेहरुले आलोचनामा धेरै समय खर्चिएका छन् ।


राजनीतिको वर्तमान नेतृत्व क्रान्तिकालीन नेतृत्व हो । अब निर्माण र समृद्धिको नेतृत्व गर्ने समय हो । यही नेतृत्वले देखेको सपना समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकारले पूर्ण दक्षताका साथ काम गर्नुपर्दछ । यस प्रक्रियामा पन्छिएर तटस्थ वा नकारात्मक हुने छुट राजनीतिक दलहरुलाई रहँदैन । वर्तमानमा युवा पुस्ताको पेसाप्रतिको लगाव र चिन्तालाई नै ख्याल गर्नका लागि प्रणालीको विकास पहिलो अनिवार्य सर्त हो । वर्तमान गठबन्धनबाट संविधान र कानुन कार्यान्वयनमा उठेका प्रश्नको उत्तर दिन सकिन्छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ बनाउन सकिन्छ । राजनीतिक स्थायित्व सिर्जना गर्नका लागि पनि चुनौतीहरुको सामना दलहरुबीचको एकताबाट गर्न सकिन्छ । यो सहकार्यले नवनेपाल निर्माणमा देखापरेका चुनौतीको सामना गर्न सकिन्छ । संविधानको संशोधन, राष्ट्रिय हितको रक्षा, सुशासन र भ्रष्ट्राचार नियन्त्रण र विकास निर्माणमा तीव्रता दिनु वर्तमान सरकारको दायित्व हो । दुई ठूला दलबीचको समझदारी र परिपक्व नेतृत्वबाट समृद्धिको युगको नेतृत्व गर्न सकिन्छ । स्थिर सरकार र संसद्मार्फत प्रणालीको विकास सम्भव छ ।


संविधानले दिएको स्वतन्त्रतालाई उपयोग गरेर समाजलाई गतिशील बनाइरहनु पर्दछ । दल र तिनका नेतृत्वले कार्यकर्तालाई गतिशील र क्रियाशील बनाइरहेनन् भने संविधान आफैँले स्वतन्त्रता, भ्रातृत्व र समानताको सुनिश्चित गर्दैन । लोकतन्त्रमा दल र सरकार पृथक कुरा हुन् । सरकार आवधिक हो तर दलहरु सर्वकालिक हुन् । लोकतन्त्रको चरित्रले दलहरुलाई बदल्छ तर दलहरुको दर्शन, तिनलाई प्राप्त जनविश्वास र कार्यशैलीले मुलुकको लोकतन्त्रको भविष्य तय गर्दछ । यसैले हाम्रो मुलुकमा दल र तिनका क्रियाकर्ममा लोकतन्त्र निर्भर छ । नेपालमा आधारभूत रुपमा राजनीतिक काम सकिएको छ ।  अब आर्थिक विकासको काममा सबै दलको ध्यान केन्द्रित हुनु पर्दछ ।


लोकतान्त्रिक व्यवस्थामा पनि दलहरुले सरकारमा हुँदा र नहुँदा प्रदर्शन गर्ने व्यवहारले लोकतन्त्रलाई सहयोग पुगेको छ । सङ्घीयता एक जटिल पद्धति हो । यसको समुचित व्यवस्थापन गर्नु अहिलेको मुख्य कार्यभारको रूपमा बुझ्नुपर्दछ । नागरिकको जनमतबाट अनुमोदित भएको सङ्घीयताको फल प्राप्त गर्नका लागि प्रत्येक व्यक्ति थप जिम्मेवार र जवाफदेही बन्नुपर्दछ । संविधानले समाजवादसम्म जान सकिने प्रस्ट पारेको छ । नेपाली कांग्रेसले आफ्नो राजनीतिको प्रारम्भिक दिनमा लोकतान्त्रिक समाजवादलाई आफ्नो लक्ष्य निर्धारण गरेको थियो । नेपाली कम्युनिष्टहरु पनि पुँजीवादबाट गुज्रिएर नै समाजवादमा पुग्ने हुँदा दुवैको साझा गन्तव्य पुँजीको विकास र समृद्धि नै हो । दुवै दल एक भएर राजनीतिक स्थायित्व र मुलुक निर्माणमा सहमत भएका बेला द्रुत विकास प्राप्त गर्ने अवसरहरु छन् ।


लोकतन्त्र विधिको शासन हो । विधि निर्माता जनप्रतिनिधि हुन् । जनप्रतिनिधिहरु दलबाट आएका हुन्छन् तर ती प्रतिनिधिहरुको मूल स्रोतले हाम्रो लोकतन्त्रको मूल चरित्रमा प्रभाव पारिरहेको तथ्यलाई बिर्सन मिल्दैन । सरकारमा पुगेका जनप्रतिनिधिहरुलाई आसेपासेबाट जोगाउनु पर्दछ । आसेपासेहरुबाट मुक्त लोकतन्त्रले नै हाम्रा समस्याको समाधान र सुरक्षित भविष्यको निर्माण गर्दछ । संवैधानिक स्वतन्त्रताका लागि क्रियाशील हुनेछन् । लोकतन्त्र जति प्रभावकारी र सङ्घीयता सबल भए मात्र समृद्ध नेपाल बन्छ । सरकारले आफ्नै अनुभवबाट पाठ सिक्दै अघि बढ्ने, नियन्त्रणमुखी शासन सञ्चालनबाट सहजीकरणमुखी शासन सञ्चालनतिर बढ्ने, सुविधामुखी राजनैतिक र प्रशासनिक प्रणालीबाट सेवामुखी नेतृत्व प्रणालीतिर जान, राजनैतिक इच्छा शक्ति विकास गर्न सरकारले ध्यान दिनुपर्दछ । यही सहकार्यलाई सहज रुपमा अघि बढाउन सकिँदा नेपालको भविष्य उज्ज्वल बन्छ । लोकतन्त्र थप सुदृढ र प्रभावकारी बन्छ, जनविश्वास बढ्छ ।


(लेखक नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीका सचिव हुनुहुन्छ)

सुर्खेत वीरेन्द्रनगरमा घर भत्किँदा एक किशोरी घाइते

कर्णाली । सुर्खेतको वीरेन्द्रनगरमा वर्षाका कारण घर भत्किँदा एक किशोरी घाइते भएकी छन् । वर्षाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ करेखोलामा खम्म बुढाको कच्ची घर भत्किँदा उनकी १५ वर्षकी छोरी सुशीला बुढा घाइते भएकी छन् ।

घर भत्किएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटना स्थलमा खटिई उनको सकुशल उद्धार गरी थप उपचारका लागी कर्णाली प्रदेश अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि

काठमाडौँ । आइतबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि  एक लाख ४५ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।


शुक्रबार प्रतितोला  एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४५ हजार निर्धारण भएको छ ।


यसैगरी चाँदीको मूल्य आज तोलामा  १० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला  एक हजार सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ४० रुपैयाँ निर्धारण भएको छ ।

मौद्रिक नीतिपछिको सेयर बजारमा लाग्यो १ मिनेटमै सर्किट ब्रेक

काठमाडौँ प्रि ओपन सेसनमै नेपाल स्टक एक्सचेन्ज ३८ अंकले बढेको छ । मौद्रिक नीतिपछिको पहिलो कारोबारको प्रि-ओपन सेसनमै नेप्से परिसूचक ३८.२७ अंकले बढेको हो ।

आज कारोबार सुरू भएको एक मिनेट ३९ सेकेन्डमा नै नेप्से इन्डेक्स चार प्रतिशत बढेर २० मिनेटको लागि कारोबार स्थगित गरिएको छ ।

शेयरबजारको कारोबार खुल्नअघिको प्रि-ओपन सेसनमै नेप्से ३८ अंकले बढ्दा १८ लाख ५०६ कित्ता शेयरको खरिदबिक्रीमा हुदाँ ९ करोड ६८ लाख रूपैयाँको कारोबार भएको छ ।

मुगुको रमणीय सिफ्टिचौर पाटन

मुगुको छाँयानाथा रारा नगरपालिका–७ मा अवस्थित सिफ्टिचौर पाटन । जुम्ला र मुगुबाट हरेक वर्ष बर्खाको समय दुई महिना गोठ लिएर किसान यहाँ आउने गर्छन् ।

तस्बिरः सुरेश आचार्य/रासस

डोल्पाको जगदुल्ला गाउँपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू

डोल्पा । जगदुल्ला गाउँपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएको छ । गाउँपालिकाभित्रका आधारभूत तहको कक्षा १ देखि ५ सम्म ‘हामी, हाम्रो जगदुल्ला गाउँपालिका’ नामको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिएको हो ।

पलिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गोपाल बुढाका अनुसार पाठ्यक्रमले स्थानीय वेशभुषा, कला, संस्कृति, रहनसहन, पर्यटन, जीवनशैलीलगायत विविध पक्षलाई समेटेको छ ।

साथै पुराना कला, संस्कृतिलाई संरक्षण, सम्भावनाको पहिचान तथा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बुढाले बताउनुभयो । पाठयक्रमको साप्ताहिक पाठ्यघण्टा पाँच र वार्षिक कार्यघण्टा एक सय ६० र तथा पूर्णाङ्क १०० निर्धारण गरिएको छ ।

दार्चुलाकी किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता

सुदूरपश्चिम । दार्चुलाकी एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता ज्ञानेन्द्र सिंहका अनुसार शनिबार साँझ दार्चुलाको दुहु गाउँपालिका–४ थारा बस्ने १७ वर्षीया किशोरी धनिसा कुँवरले महाकाली नगरपालिका–४ रिङ्नेताल भन्ने ठाउँबाट नदीमा हाम फालेकी थिइन् ।

उनी हाम फाल्न भनेर नदीको किनारमा पुगेको भनेर स्थानीयले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली त्यहाँ पुगेको थियो ।

प्रहरी र स्थानीयले उनलाई सम्झाइबुझाइ गरेका थिए । तर, नमानेपछि उनलाई समात्न एक प्रहरी नजिकै गएका थिए । त्यही बेला कुँवरले नदीमा हाम फालेकी थिइन् ।

गोरखाको रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता, दुई घाइते

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छन्भने दुईजना घाइते भएका छन् । पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चारजा बेपत्ता भएका गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् ।

पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका तथा बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङले बताइन् ।

प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।

तस्बिरः सुशील गुरुङ

पशुपतिको कोटीहोम, देवी प्रतिभा र बडीगार्ड

डा. गोविन्दशरण उपाध्याय ।

१. श्रीपशुपतिक्षेत्रमा कोटीहोम, श्रीमद्भागवत लगायतका प्रवचनहरू, रूद्राभिषेकआदि धार्मिक कृत्यहरूको भव्यताकासाथ आयोजना गरिएको छ । यसले शिवपार्वतीको उपासनामा समर्पित श्रावण महिनामा पाशुपतक्षेत्रप्रति भक्तजजनहरूको अभिरुचि बढेको छ । भक्तजनहरूले आफ्नो समय र अनुकुलताअनुसार पशुपतिनाथको दर्शन र प्रवचन/हवन/अभिषेकको लाभ प्राप्त गरिरहेका छन् । यो लेखमा प्रकट गरिएका मेरा निजी विचार हुन् तर देशविदेशबाट धेरैअनुरोध आएपछि प्रकट गरेको हुँ ।

२. निष्क्रिय रहनेहरूको कुनै आलोचना वा सम्मान हुँदैन । जसले कर्म गर्छ, आलोचना र प्रसंशा उसैको हुन्छ । आयोजक संस्थाहरूले/व्यक्तिहरूले जसरी खटेर भव्यताका साथमा यज्ञकार्यहरू सम्पादन गरिरहेका छन्, त्यो आफैमा प्रसंशायोग्य छ । यसबाट धेरैले वैदिक संस्कृतिको महत्व जान्ने/बुझ्ने र रमाउने मौका प्राप्त गरेका छन् ।

३. कुनै पनि वैदिक धार्मिक क्रिया शास्त्रका अधिनमा रहेर गर्नु र गराउनु पर्छ – यो परमसत्य हो । साथै के पनि सत्य हो भने कलियुगमा शास्त्रीय नियमहरूको अक्षरसः पालन गर्नेहरू निकै न्यून हुन्छन् । शास्त्रीय दृष्टिकोणले यज्ञको आयोजनाका विषयमा केही त्रुटी भएका छन् । एकपटक कार्यक्रम संचालनमा आइसकेपछि कार्यक्रमको आलोचना गरेर समस्याको समाधान हुँदैन । बरू, धर्मशास्त्रका विज्ञहरूले यज्ञआरम्भ गर्दा भएका त्रुटीहरू यज्ञान्तमा कुन् र कस्तो प्रायश्चित्त गरेर सुधार्न सकिन्छ, आयोजकहरूलाई जानकारी दिनुपर्छ । नत्र “शिवार्पण“ सबै त्रुटीहरूको अन्तिम र सर्वस्वीकार्य विकल्प हो ।

४. नेपालका ख्यातिप्राप्त सन्त कमलनयनाचार्य की शिष्या र उहाँकै गुरुकुलमा अध्ययन गरेकी कथाबचिका प्रतिभा देवीको प्रतिभा उत्साहजनक छ । (स्मरण रहोस् श्रीरामानुज सम्प्रदायको आचार्यका रूपमा स्वामी कमलनयन आचार्यले आफ्नो गुरुकुलबाट सर्वप्रथम महिला भागवत वाचिका उत्पादन गर्नुभएको हो, सायद रामानुज सम्प्रदायका लागि यो क्रान्तिकारी बाटो हो) उहाँको उपस्थितिले धेरैको कार्यक्रममा उपस्थिति बढाएको छ । उहाँले भारतबाट ल्याएका बोडीगार्डहरू दम्भका प्रतिक हुन् । कुनै पनि भारतीय कथाकारले यस्तो दम्भ प्रदर्शन गरेको पाइन्न । नेपाल उनको आफ्नो घर हो । उनी एकदम सरल छिन्, व्यावहारिक उपदेशक छन् तर बडीगार्डले उनको सरलतामा प्रश्न उठाएको छ ।

५. आयोजकहरूले पैसा उठाए, ठगे भन्नेजस्ता विषय पनि सामाजिक सञ्जालमा उठेका छन् । कुनै पनि आयोजनाको लागि पैसा चाहिन्छ । पशुपतिक्षेत्रमा जानेहरूले देख्न र बुझ्न सक्छन् कि आयोजकहरूले आयोजनास्थलको निर्माण र व्यवस्थापनमा धेरै खर्च गरेका छन् । यदि इच्छुक भक्तजनहरूले स्वेच्छाले यज्ञको स्वामित्व ग्रहण गर्दै ‘दान’ दिइरहेका छन् भने किन कसैले टाउको दुखाउनु ? दानदातव्यको रकम आयोजनाको खर्च काटेर मात्र आयोजनक–संस्थाहरूले उपयोग गर्न पाउने हो । त्यसमा पनि एउटा सरकारी निकायमा विधिवत् दर्ता भएको सामाजिक संस्थाले लेखापरिक्षण गराउनु पर्ने बाध्यकारी नियम छ ।

६. वैदिक सनातन धर्मभित्र स्मार्त, शाक्त, वैष्णव, शैवआदि उपासना पद्धति र इष्टहरू छन् । शास्त्रहरूले सम्प्रदायको नाम नतोके पनि वैष्णवहरूको उपासना पद्धतिलाई स्वीकार गरेका छन् । वैदिक सनातन धर्मका विद्वानहरूले सकारात्मक तरिकाले सनातनीहरू विच समन्वय, सहृदयता तथा सामन्जस्य स्थापित गर्ने र सहकार्य गर्न अभिप्रेरित गर्ने मार्गदर्शन गर्नुपर्छ । विद्वानहरू नै असहिष्णु हुँदा समाज दिग्भ्रमित हुन्छ । त्यसैले वरिष्ठ विद्वानहरूले आयोजकको गल्ती नै इङ्गित गर्नु पर्ने पनि सामाजिक सञ्जालमा होइन, व्यक्तिगत रूपमा मार्गदर्शन गर्नुपर्छ । कलियुगमा ‘कलाकार’को सुनिने हुँदा गल्तिरहित कोही हुँदैन ।

७. देश धर्मपरिवर्तनकारी शक्ति र राजनैतिक रूपमा धर्मनिरपेक्षता लादेर देशका मौलिक धर्म, संस्कृति, परम्परा तथा प्रतिमानहरूलाई नष्ट गर्नेहरूको जगजगी छ । यस्तो अवस्था बुझ्दाबुझ्दै पनि सनातन धर्मको एउटा आयोजनाको आलोचना गरिनु उचित होइन । आयोजकहरूले पनि आलोचनातिर ध्यान दिएर दुःखी हुनु जरुरी छैन । एउटा कुरा, सकिन्छ भने जसले नेपालको सांस्कृतिक तथा धार्मिक गौरव नष्ट गर्न सदनदेखि सडकसम्म भूमिका खेलेका छन्, तिनलाई बोलाएर, अतिथी बनाएर यज्ञको अपमान नगरेको धेरै राम्रो । हुन र हाम्रो राजनैतिक नेतृत्व दुई जिब्रे छ ।

८. अन्त्यमा, एउटा तीतोसत्य पनि बोल्नुपर्छ : आजभोलि आयोजन हुने अधिकांश वैदिक यज्ञ/कथाआदि वैदिक कम र महाफिली (मनोरञ्जनमा बढी केन्द्रित) बढी हुन्छन् र श्रोता र दर्शकहरूले पनि यस्तै रूचाउँछन् । व्यासपीठको मर्यादाको त कुरा नै नगरेको वेश तर पाशुपत क्षेत्रमा कोटीहोमको कार्यक्रमले सनातनीहरूका बीचमा राम्रो संदेश गएको छ । काम गर्नेको आलोचना हुन्छ र काम गर्नेले त्रुटी पनि गर्छ । कार्यक्रमको सम्मान गरौँ । श्रीपशुपतिनाथ र जगज्जननी महादेवी पर्वतपुत्री पार्वतीले हामी सबै सनातनी हिन्दूमा आत्मशक्ति, आत्मगौरवको आशिर्वाद प्रदान गरूँन् ।
स्वस्त्यस्तु

ताप्लेजुङ केन्द्र बनाएर भूकम्प

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार शनिबार राति १० बनेर १३ मिनेटमा ४.१ म्याग्निच्युड भूकम्प गएको हो ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको खेजेनिम आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।

कीर्तिपुरका मेयरको निधनको शोकमा आज उपत्यकाका पालिकामा बिदा

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा आज सार्वजनिक बिदा रहेको छ ।

गत बिहीबार निधन भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । नकर्मीको शुक्रबार कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको थियो ।

स्पेनले ‘खोजीको सूची’मा राखेका क्याटलोनियाली पृथकतावादी नेता कार्लेस स्वदेश फर्किने

निर्वासित क्याटलोनियाका पृथकतावादी नेता कार्लेस पुज्डेमोनले आफू पक्राउ परे पनि केही हप्ताभित्रै क्षेत्रीय प्रमुखको बहसमा भाग लिन स्पेन फर्कने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनी विवादास्पद स्वतन्त्रताको असफल घाृषणापछि सन् २०१७ मा अभियोजनबाट बच्न सकियोस् भनी विदेश पलायन भएका थिए । त्यसपछि स्पेनी न्याय प्रणालीले उनलाई खोजिरहेको छ ।

पुज्डेमोनले स्पेन फर्केमा पक्राउ पर्ने खतरा छ, जहाँ उनीमाथि आतंकवाद, भ्रष्टाचार र उच्च राजद्रोहको आरोप लगाइएको छ ।

पुइग्डेमोनले भनेका छन्, ‘हामी जे गर्न प्रतिबद्ध छौँ र हामी त्यही गर्न गइरहेका छौँ । मेरो स्पेन फर्कने अभियान भनेका यसैका लागि हो ।’

स्पेनको सर्वोच्च अदालतले गत जुलाई १ मा क्याटलोनियाका पृथकतावादीका लागि आममाफीको कानुन लागू नहुने फैसला सुनाएपछि उनको यो पहिलो सार्वजनिक सम्बोधन हो ।

‘मेरो दायित्व भनेको मनोनयनको बहस भएमा क्याटलोनियाको संसदमा जानु हो । म त्यहाँ उपस्थित हुनेछु,’ स्पेनको सीमा नजिकै दक्षिणपश्चिमी फ्रान्समा आफ्नो ‘टुगेदर फर क्याटालोनिया पार्टी’को एक र्यालीमा भने ।

पुज्डेमोनले आफू फर्केमा उनी गैरकानुनी हिरासत, स्वेच्छाचारी नजरबन्दबाट बच्ने आशा व्यक्त गरेका छन् ।

क्याटालोनियाको असफल अलगावको समयमा क्षेत्रीय प्रमुख रहेका उनीविरूद्धका अभियोगका कारण उनी स्वदेश फर्किनसकेका छैनन् । अन्य थुप्रै पृथकतावादीहरूविरुद्धको कानुनी कारबाही यसअघि नै खारेज भइसकेको छ ।

उनीविरूद्ध सन् २०१९ मा सडक प्रदर्शनका लागि ‘आतङ्कवादी अपराध’का लागि पनि अनुसन्धान भइरहेको छ ।

मे महिनामा भएको चुनावमा आफ्नो पार्टी दोस्रो स्थानमा आउँदा क्याटालोनियाको प्रमुखमा निर्वाचित हुने आशा उनले गरेका थिए तर संसदमा पर्याप्त मत प्राप्त गर्न सकेनन् ।

पुज्डेमोनका पृथकतावादी समूहका नेताहरू स्पेनको सत्तारुढ समाजवादी पार्टीका सदस्य साल्भाडोर इलासँग पराजित भए, जसले प्रमुख पदका लागि अर्को प्रमुख स्वतन्त्र गठबन्धनसँग वार्ता गरिरहेका छन् ।

अगष्ट २६ भित्र कुनै पनि दलले क्षेत्रीय प्रमुखको नाम घोषणा नगरेमा अक्टोबरमा नयाँ निर्वाचन हुनेछ ।

छिमेकी फ्रान्सबाट क्याटलोनियाको चुनावका लागि प्रचार गरेका पुज्डेमोनले भने ‘अब निर्वासनमा कुनै चुनावी अभियान हुनेछैन । अर्को चुनावी अभियान क्याटालोनियामा हुनेछ र म त्यहाँ हुनेछु ।’

पेरिस ओलम्पिकको प्रारम्भिक चरणबाटै बाहिरिए स्यान्टु श्रेष्ठ

काठमाडौँ ।  पेरिस ओलम्पिक–२०२४ अन्तर्गत टेबलटेनिस खेलमा नेपालका श्यान्टु श्रेष्ठ पराजित भएका छन् ।

पुरुष एकल राउन्डको प्रारम्भिक चरणमा श्यान्टु सेनेगलका इब्राहिम डिएवसँग ४–० ले पराजित भएका हुन् । पहिलो सेटमा १०–१२ ले पराजित भएका उनी त्यसपछि ३–११, ४–११ र ५–११ ले पराजित हुनपुगे ।

श्यान्टुले यसअघि नेपालमै भएको दक्षिण एसियाली छनोटको फाइनल खेलमा नेपालकै संयोग कपालीलाई हराउँदै ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए । 

छनोट चरण पार गरेर पेरिस ओलम्पिक २०२४ मा सहभगिता जनाउने उनी एक्लो खेलाडी हुन् । समग्रमा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने उनी तेस्रो खेलाडी हुन् । यसअघि सङ्गिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

खाँदबारीका नेवार युवायुवतीलाई धिमेबाजासम्बन्धी २५ दिने प्रशिक्षण

खाँदबारी ।  सङ्खुवासभाको खाँदबारी नगरपालिकाका नेवार युवायुवतीलाई धिमेबाजा, बाँसुरी, चर्या नृत्य र नेवारी भाषासम्बन्धी प्रशिक्षण दिइएको छ ।

नेवाः मिसा दबु खाँदबारी नगरको आयोजनामा खाँदबारी आसपासका ६० युवायुवतीलाई धिमेबाजालगायत नेवारी संस्कार र संस्कृतिबारे २५ दिने प्रशिक्षण दिइएको हो ।

नेवार बस्तीमा परापूर्वकालदेखि बजाइँदै आएको धिमे बाजाको प्रवर्द्धन गर्न युवायुवतीका लागि आयोजना गरिएको प्रशिक्षण शनिबार सम्पन्न भएको नेवाः मिसा दबु खाँदबारीकी अध्यक्ष रसिला शाक्यले बताइन् ।

नेवारी संस्कृतिमा हरेक कामको सुरुआत गर्नुअघि धिमेबाजा आवश्यक पर्ने भएकाले पछिल्लो पिँढीका युवायुवतीलाई धिमे, बाँसुरी र चर्या नृत्य सिकाइएको उनले जानकारी दिइन् ।

‘पुरानो पुस्ताले नेवारी संस्कृति र सीपका बारेमा पुस्ता हस्तान्तरण गर्न प्रशिक्षण आयोजना गरिएको हो । यसलाई निरन्तरता दिने र थप युवायुवती तयार पार्ने हाम्रो योजना छ’, अध्यक्ष शाक्यले भनिन् ।

प्रशिक्षणमा १२ देखि २५ वर्ष उमेर समूहका नेवार समुदायका युवायुवतीलाई सहभागी गराइएको थियो । धिमे नेवार समुदायमा सबैभन्दा प्रचलित बाजा हो । यो बाजा नेवार समुदायका विभिन्न चाडपर्व, जात्रा, परम्परा, भोज आदिमा बजाइन्छ ।

सौर्य एयरको  विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको शव बुझे आफन्तले 

काठमाडौँ ।  सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनकानुसार मृतक एक विदेशीको प्रक्रिया पुर्याएर शव व्यवस्थापन गरिनेछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव शवपरीक्षणपछि शुक्रबार र शनिबार आफन्तले शव बुझेका हुन् । शुक्रबार पाँचजना र आज १२ जनाले शव बुझेका हुन् ।

यही साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको विमान उड्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ को मृत्यु भएको थियो । सोही दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य बाँच्न सफल भएका छन् ।

दुर्घटनामा घाइते क्याप्टेन शाक्यलाई तत्काल उद्धार गरी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा ल्याई सघन उपचारकक्षमा उपचार गरिएको थियो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

चीनमा गाडीको ठक्करबाट आठ पैदलयात्रीको मृत्यु

मध्य चीनको चाङ्सा सहरमा शनिबार बिहान पैदलयात्रुलाई गाडीले ठक्कर दिँदा आठ जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । अधिकारीहरूले यो दुर्घटना जानीजानी गरिएको आक्रमण भनी हालसम्म स्पष्ट पारेका छैनन् ।

हुनान प्रान्तको राजधानी चाङ्सामा मध्यरातको केही समयपछि उक्त घटना भएको प्रहरीले विज्ञप्तिमा जनाएको छ ।

उक्त क्षेत्रमा बसोबास गर्ने ५५ वर्षीय संदिग्ध व्यक्तिलाई हिरासतमा लिएको र अनुसन्धान जारी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चीनमा सवारी साधन प्रयोग गरी आक्रमण गर्ने क्रम पनि बढेको देखिन्छ ।

तनहुँमा आयोजित मैत्रीपूर्ण फुटबलमा पत्रकार टिम विजयी

तनहुँ ।  तनहुँमा खेलकुल पत्रकार मञ्च गठन गरिएको छ । भानु नगरपालिका–१ भन्सारमा शनिबार बसेको पत्रकारको भेलाले पत्रकार मदन वाग्लेको अध्यक्षतामा १३ सदस्यीय नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन गरेको हो । समितिको उपाध्यक्षमा पूर्ण विक, सचिवमा उपेन्द्र खनाल, कोषाध्यक्षमा मिला दरै र सहसचिवमा सुदीप पौडेल रहेका छन् ।

त्यस्तै, समितिको सदस्यमा मनोजकुमार श्रेष्ठ, राजेश कार्की, करिस्मा गुरुङ, हरि खरेल, रामबहादुर धामी, सरेश सेन्चुरी, मिलन तामाङ र डिपी अधिकारीलाई चयन गरिएको छ ।

मैत्रीपूर्ण फुटबलमा पत्रकार टिम विजयी

१७औँ भानुकप फुटबल प्रतियोगिताको पूर्वसन्धयामा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटबलमा नेपाल पत्रकार महासङ्घ तनहुँ विजयी भएको  छ ।

मैत्रीपूर्ण फुटबलमा महासङ्घ तनहुँले आयोजक भन्सार युवा परिवारलाई ४–३ गोलले पराजित गरेको हो ।
पत्रकारका तर्फबाट सुदीप पौडेल र मनोजकुमार श्रेष्ठले २÷२ गोल गर्नुभएको थियो । आयोजकका तर्फबाट प्रेम तामाङले २ र एलोन तामाङले १ गोल गरेको कार्यक्रम संयोजक विष्णु अधिकारीले बताए । मैत्रीपूर्ण खेलमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीसमेत सहभाभी भएका थिए ।

दुई सय ११औँ भानु जयन्तीका अवसरमा यही साउन १९ गतेदेखि हुने १७औँ भानुकप फुटबल प्रतियोगितालाई लिएर आयोजक र पत्रकारबीच मैत्रीपूर्ण फुटबल गरिएको थियो ।

दक्षिण–पूर्वी एसियामा हेपाटाइटिस सङ्क्रमण बढ्दो क्रममा

विश्व स्वास्थ्य सङ्गठनले शनिबार दक्षिण–पूर्वी एसियाली मुलुकलाई बढ्दो हेपाटाइटिस ‘बी’ र ‘सी’ सङ्क्रमणको रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच आवश्यक रहेको बताएको छ ।

हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भएपनि यसको दीर्घकालीन सङ्क्रमणले दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको क्यान्सर र ‘कलेजो फेल’ जस्ता गम्भीर रोगले मृत्यु निम्त्याइरहेको डब्ल्यूएचओको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तिकाअनुसार पछिल्लो समय यस क्षेत्रमा कलेजोको क्यान्सर मृत्यु निम्त्याउने चौथो ठुलो कारण बनेको छ । हेपाटाइटिस बी र सी सङ्क्रमणले यस क्षेत्रको लगभग ७५ प्रतिशत मानिसहरुको कलेजो फेल हुने गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सन् २०२२ मा यस क्षेत्रका ७०.५ मिलियन मानिसले भाइरल हेपाटाइटिस बी र सी सङक्रमण सामना गरिरहेका थिए ।

विश्वव्यापी रूपमा हेपाटाइटिस बी र सीले प्रति दिन तीन हजार ५०० को मृत्यु हुने र प्रत्येक दिन छ हजार हेपाटाइटिसको नयाँ संक्रमित भेटिने गरेका छन् ।

कोभिड–१९ पछि सन् २०२२ मा सङ्क्रामक रोगहरूमा भाइरल हेपाटाइटिस र क्षयरोग मृत्युको दोस्रो प्रमुख कारण बनेको छ । यद्यपी प्रारम्भिक उपचारबाट हेपाटाइटिस बी र सी सङ्क्रमण नियन्त्रण गर्न सकिने डब्लुएचओले जनाएको छ ।

डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एसियामा हेपाटाइटिस बी र सी परीक्षण र उपचारको पहुँच कम छ । हेपाटाइटिस सङ्क्रमणबाट विशेषतः नवजात शिशु र बालबालिकाहरु उच्च जोखिममा छन् ।

“भाइरल हेपाटाइटिस यस दशकको प्रमुख जनस्वास्थ्य चुनौती हो। तर जनस्वास्थ्यको दृष्टिकोण र स्वास्थ्य क्षेत्रमा विश्वव्यापी लगानीको बृद्धिले सन् २०३० सम्ममा भाइरल हेपाटाइटिसको उन्मूलन सम्भव छ”, डब्लुएचओका क्षेत्रीय निर्देशक साइमा बाजेदले भने ।

“आज जीवन बचाउनु र भावी पुस्ताको स्वास्थ्यको रक्षा गर्नु हाम्रो सामुहिक जिम्मेवारी हो ।” उनले भने ।

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

काठमाडौँ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए । 

उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुनसक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ ।’

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले भने, ‘हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ ।’

हैजा सङ्क्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरु देखा पर्छन् । हैजा सङ्क्रमण भयो र उपचार पाएन भने केही घण्टामै सङ्क्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन् ।

डा. पुनका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुुन, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ । 

डा पुनले मुख्यतः तीन वटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउनुहुन्छ । पहिलो सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अर्को अनुगमन । उनले सबैभन्दा महत्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने बताए ।

‘हैजा दुषित पानीबाट एकदमै सहज र सरल तरिकाले फैलिने गर्दछ । धाराको पानी मान्छेले उमालेर वा फिल्टर गरेर खान्छन् तर जारको पानी धेरैले त्यसो गर्दैनन्’, उनले भने, ‘किनेको पानी पिउनयोग्य नै छ भनेर सिधै खाइन्छ । विद्यालयदेखि लिएर कार्यालयदेखि लिएर सार्वजनिक स्थलमा जारको पानी राख्ने चलन छ । कतिपय व्यवसायीहरुले प्रशोधित नै नगरेका पानी बजारमा पठाउँदा रहेछन् । जसले गर्दा हैजाको संक्रमण फैलिन्छ ।’

उनले व्यक्तिगत सरसफाइ व्यवहारमा लागू भएको नदेखिएको बताए । ‘शौचालयको व्यवस्थापन राम्रो हुनुपर्छ । शौचालयको व्यवस्थापन कमजोर हुँदा हैजालगायत पानीजन्य रोगहरु फैलिन सक्छ । दिसामा रहेका जीवाणुहरु कुनै कारणले गर्दा बगेर फेरि हाम्रो खानेपानीमा आइपुग्छ । शौचालयको प्रयोग गरेपछि साबुन पानीले मिचिमिचि हात धुन जरुरी छ’, उनले भने ।

डा पुन कतिपय व्यापारीले प्रशोधन नै नगरी पानी बजारमा ल्याइदिँदा खेरी मानिसहरु बिरामी हुने भएकाले सम्बन्धित निकायले नियमित अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्छन् ।

उनी भन्छन्, ‘अनुगमन कडाइका साथ गर्ने हो धेरै हदसम्म नियन्त्रणमा आउँछ । किनभने विकसित देशमा पानीजन्य रोगहरु अत्यधिक कम छ ।’

हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिचि हात धुनुपर्ने विज्ञहरुको सुझाव छ ।  

रेल्वे लिकमा पर्दा धनुषाका श्रीराम दासले गुमाए दुवै खुट्टा

जनकपुर । जनकपुर–जयनगर रेल्वेको लिकमा पर्दा एकजनाले दुवै खुट्टा गुमाएका छन् । जनकनन्दनी गाउँपालिका–३ महुवाका अन्दाजी ३५ वर्षिय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाएका हुन् ।


शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेको समयमा जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उनी अल्मलिएर रेलकै लिकमा परेका थिए ।


लिकमा अल्झिएका उनले दुवै खुट्टा गुमाएको रेल्वे विभागका प्रवक्ता प्रहरी नायव उपरीक्षक दयाराम पौडेलले जानकारी दिए । दासलाई उपचारका लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।