`

इजरायली कारबाहीमा हमासका प्रमुख नेता इस्माइल हानियाको मृत्यु

Nepal One HD १६ साउन २०८१ ९:३७
प्रमुख खबर

बीबीसी । हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरायली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ । हमासले विज्ञप्ति जारी गर्दै उनी मारिएको पुष्टि गरेको हो । तेहरानमा आफ्नै निवासमा रहेका हानिया इजरायली कारबाहीमा मारिएको भनिए पनि विस्तृत विवरण सार्वजनिक भएको छैन ।

उनको अर्को नाम अबु अल–अब्द हो। उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो। उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए । इजरायल–गाजा युद्धका क्रममा उनी कतारमा बस्दै आएका थिए । सन् १९८९ मा इजरायलले उनलाई तीन वर्ष जेलमा राखेको थियो ।

यसपछि उनलाई हमासका धेरै नेताहरूसँगै इजरायल र लेबनन बीचको ‘नो–म्यान्स ल्यान्ड’को रूपमा रहेको मार्ज अल–जुहुरमा निर्वासनमा पठाइयो । आफ्नो निर्वासन पूरा गरेपछि उनी गाजा फर्किएका थिए ।

सन् १९९७मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए। जसले उनको राजनीतिक हैसियत उच्च बनाइदियो ।

हमासले उनलाई सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्री नियुक्त गरेको थियो । तर त्यसको एक वर्षपछि प्यालेस्टिनी नेशनल अथोरिटीका प्रमुख महमूद अब्बासले उनलाई पदबाट बर्खास्त गरेका थिए ।

इज्ज अल–दिन अल–कसम ब्रिगेडले गाजा क्षेत्र कब्जा गरेपछि अब्बासको फतह आन्दोलनका प्रतिनिधिहरू निष्कासन भएसँगै उनले पनि पद गुमाएका थिए। त्यसक्रममा एक सातासम्म चलेको भिडन्तमा धेरै मानिस मारिएका थिए । हानियाले आफ्नो बर्खास्तीलाई असंवैधानिक भन्दै अस्वीकार गरे ।

उनले आफ्नो सरकारले नियमित कामलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको आफ्नो जिम्मेवारीलाई नछोड्ने बताएका थिए । त्यसयता हानियाले फतहसँग मेलमिलापका लागि पटकपटक अपिल पनि गरेका थिए ।

सन् २०१७ मा हमासको राजनीतिक इकाई प्रमुखमा निर्वाचित भएका उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो ।


प्रतिक्रिया