`

काभा बिच भलिबलमा नेपालको सानदार प्रदर्शन, महिला र पुरुष दुवै टोली सेमिफाइनलमा

Nepal One HD १८ साउन २०८१ १४:४१
खेलकुद

काठमाडौं । भुटानमा भइरहेको काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालको पुरुष र महिला दुवै टोली शुक्रबार लगातार तीन खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा भइरहेको प्रतियोगितामा पुरुषतर्फ नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले शुक्रबार भुटान, उज्वेकिस्तान र ताजिकस्तानलाई पराजित गरेको हो । पहिलो दिन माल्दिभ्ससँग पराजित भएपनि नेपाली टोलीले पुनरागमन गर्दै लगातार तीन खेल जितेको हो ।

मान बहादुर र दिलको जोडीले शुक्रबार भुटानलाई २१–१४, २१–१४, उज्वेकिस्तानलाई २१–१५, २१–१४ तथा ताजकिस्तानलाई २१–१३, २१–१७ ले पराजित गरेको हो ।

यस्तै महिलातर्फ नेपालकी कमला पुन र मनिषा चौधरीको जोडी अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको हो । यो जोडीले शुक्रबार उज्वेकिस्तानलाई २१–१७, २१–१५ ले तथा माल्दिभ्सलाई २१–१४, २१–१६ ले हरायो ।

प्रतियोगिताको सेमिफाइनल र फाइनलका खेलहरु शनिबार हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ ।


प्रतिक्रिया