`

टर्कीद्वारा इस्लामिक स्टेटका ९९ संदिग्ध सदस्य पक्राउ

Nepal One HD १८ साउन २०८१ १९:०७
विश्व

टर्कीका गृहमन्त्री अली येर्लिकायाले शुक्रबार मुलुकभर गरिएको हालैको छापामारीमा इस्लामिक स्टेट (आइएस) जिहादी समूहका ९९ संदिग्ध सदस्यलाई पक्राउ गरिएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा मुख्यगरी अङ्कारा र पश्चिममा इजमिरका साथै केन्द्र, पूर्व र दक्षिणमा तिनीहरूलाई पक्राउ गरिएको बताए ।

“पछिल्लो तीन दिनमा जियुआरजेड–४ अपरेसनमा ९९ संदिग्धलाई पक्राउ गरिएको छ”, उनले भने, “हामी कुनै पनि आतङ्कवादीलाई सहने छैनौँ ।”

टर्कीका अधिकारीहरूले हालैका वर्षहरूमा कथित आइएस सदस्यहरूको थुप्रै सामूहिक गिरफ्तार गरेका छन् । हालै मार्चमा एक सय ४७ जनाको गिरफ्तारीको घोषणा गरिएको थियो ।

ती गिरफ्तारीपछि गृहमन्त्री येर्लिकायाले प्रहरीले जिहादी समूहसँग सम्बन्ध रहेको आशङ्कामा दुई हजार नौ सय १९ जनालाई हिरासतमा लिएको जानकारी दिए ।

स्थानीय अधिकारीहरूका अनुसार गत मार्चमा मस्कोको क्रोकस सिटी हलमा एक सय ४५ जनाको हत्या गर्ने आक्रमणकारीहरूमध्ये दुई जनाले रुस जानुअघि धेरै साता टर्कीमा बिताएका थिए । उक्त आक्रमणको जिम्मेबारी आइएसले लिएको थियो ।


प्रतिक्रिया