`

सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा ऐतिहासिक फड्को

रेखा शर्मा ।

 सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको डेढ वर्ष पूरा भएको छ । तीन ‘स’ अर्थात् सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोच बनाएर अघि बढेको सरकारले यी तीनवटै क्षेत्रमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । सुशासनका पक्षमा सरकारले लिएको दृढता र चालेका कदमका कारण सुशासनको क्षेत्रमा नयाँ युुगको थालनी नै भएको छ । त्यसै पनि नेपाली समाज लामो समयदेखि सामन्तवादी सोच चिन्तनबाट ग्रसित रह्यो, त्यसमा पनि शक्तिमा हुनेहरु आम नागरिकभन्दा माथि हुन्छन् भन्ने ‘भिआइपी कल्चर’ सदियौँदेखि चल्दै आयो ।

सामन्तवादविरुद्धको ऐतिहासिक लडाइँको नेतृत्व गरेको राजनीतिक शक्तिले सञ्चालन गरेको सरकार हुनुका नाताले पनि हामीले सामन्तवादका बचेखुचेका अवशेष समाप्त पार्न केही गर्नैपथ्र्यो । सम्माननीय प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले ‘गणतन्त्रमा कसैलाई पनि गल्ती गर्ने छुट हुँदैन, गल्ती गरे उन्मुक्ति पाइँदैन’ भन्ने जुन तथ्य व्यावहारिक रुपमा नै स्थापित गरेको छ, सुशासनका पक्षमा थालिएको यो कदम युगयुगसम्म पनि स्वर्ण लक्षरले लेखिनेछ ।

सुशासन, सामाजिक न्याय र समृद्धिको गरी तीनवटै क्षेत्रमा सरकार ऐतिहासिक पहलकदमी अघि बढाएको छ । नक्कली भुटानी शरणार्थी, ललितानिवास, बाँसबारी छाला कारखाना जग्गालगायतका भ्रष्टाचारसँग जोडिएका हरेक प्रकरणमा सरकार सुशासनको पक्षमा दृढतापूर्वक उभिएको छ ।सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, व्यावसायिक र जवाफदेही बनाउँदै भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत सुधारका विषयलाई अघि बढाइएको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गरिएको छ । 

सुशासनको अर्को पक्ष सेवा प्रवाह हो, यसमा सरकारले अब्बलता नै प्रस्तुत गरेको छ । नागरिकता तथा राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, जग्गा रजिष्ट्रेसन, श्रम स्वीकृति, सवारी चालक अनुमतिपत्र, नो अब्जेक्सन सर्टिफिकेटलगायतका सेवाका लागि सरल, कम खर्चिलो र झन्झटमुक्त बनाइएको छ । यस्ता सेवाहरू प्राप्त गर्न घण्टौँ लाइन बस्नुपर्ने झन्झट र कष्टपूर्ण अवस्थाको अन्त्य भएको छ । निश्चित सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह हुने व्यवस्था मिलाइएको छ । जनगुनासो सम्बोधन गर्ने प्रभावकारी प्रणालीको आवश्यकता महसुस गरी हेल्लो सरकारको सेवालाई चौबिसै घण्टा सञ्चालनमा ल्याइएको छ । 

इतिहासमै पहिलोपटक दुर्गम क्षेत्रसहित देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूका लागि शैक्षिक सत्र सुरु हुनुअगावै निःशुल्क पाठ्यपुस्तक वितरणको सुनिश्चित गरिएको छ । सरकारी अस्पतालको सेवा र गुणस्तरमा सुधार ल्याइएको छ । अस्पतालहरुमा जनरल शैय्या गरिब तथा विपन्न नागरिकको लागि निःशुल्क उपलब्ध गराउने नीति अघि बढाइएको छ । पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ । विदेशमा रहेका १५ लाख नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको छ । राहदानी नवीकरण विदेशबाटै गर्न सकिने तथा प्रदेशबाटै श्रम स्वीकृति लिन सकिने भएको छ । श्रम स्वीकृति दिन दुुई वर्षे विद्यमान प्रावधानलाई हटाई कार्य सम्झौताको आधारमा पूरै कार्य अवधिको लागि दिने व्यवस्था गरिएको छ । 

राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न ७७ वटै जिल्लामा ८३० वटा स्टेशन सञ्चालन गरिएको छ । मुलुकमा उपलब्ध जनशक्ति र रोजगारदाताबीचको दूरी घटाई देशभित्र रोजगारीका अवसर वृद्धि गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयोजनमा प्रदेश सरकार र निजी क्षेत्रको सक्रिय सहभागितामा सबै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ सम्पन्न गरिएको छ । चालु खर्च २० प्रतिशत कटौती गरी मितव्ययी सरकारको प्रमाण प्रस्तुत गरिएको छ । किसानको हितलाई केन्द्रमा राखी दूधको मूल्य समायोजन गरिएको छ । लामो समयदेखि भुक्तानी हुन नसकेको दूधको भुक्तानी, उखु किसानको भुक्तानी र निर्माण व्यवसायीहरूको भुक्तानी दिइएको छ । सहकारी क्षेत्रका समस्या सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरी कार्यप्रारम्भ गरिएको छ । गेटा कलेजलाई मेडिकल विश्वविद्यालय बनाउने निर्णय भई काम सुरू भएको छ । 

प्रधानमन्त्री कार्यालय मातहतका कार्यालय र निकायहरूको गतिशीलता कायम गर्न बैठक, सिनेट, दीक्षान्तलगायतका कामहरू व्यवस्थित गरिएको छ । प्रधानमन्त्री कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्भे गरी सोहीअनुरूप कर्मचारी समायोजन गरिएको छ । प्रधानमन्त्री कार्यालय, मन्त्रालयहरू, प्रधानमन्त्रीको सचिवालयलगायत सबै क्षेत्रमा सुशासनको प्रत्याभूति गरिएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासनको काम आफैँबाट प्रारम्भ गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट कैयौं अनियमिताका विषयमा छानविन गरिएको छ । केही इन्टरनेट सेवा प्रदायकहरुले एक दशकदेखि नेपाल सरकारलाई तिर्नु बुुझाउनुपर्ने रोयल्टी राजश्व प्राप्त नभएका आवश्यक छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउँदा तत्कालका लागि राज्यलाई झण्डै पौने चार अर्ब राजश्व प्राप्त हुने बाटो खुलेको छ भने दीर्घकालीन रुपमा यसले राज्यकोषमा अर्बौं रकम आउने बाटो सुरक्षित गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)को कार्यान्वयनमा देखिएका जटिलता र यसको खरिद प्रक्रियामै उठेका प्रश्नको तथ्य पहिचान गर्न मन्त्रालयमा समिति नै बनाएर छानविन गरिएको छ । 

कानुनी र नीतिगत आधारबिना नै नेपाल दूरसञ्चार प्राधिकरणबाट टेरामक्स प्रणाली जडान गर्न खोजेको विषयमा पनि मन्त्रालयले कानुनी र नीतिगत व्यवस्था यकिन गरेर मात्रै प्रक्रिया अघि बढाउन नियामक निकायलाई निर्देशन दिइसकेको छ । दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रश्न उठेपछि प्रचलित कानुनको परिपालनाको विषय, राजश्व र नेपालमा बैदेशिक लगानीमा पर्नसक्ने असरलगायतका विषयमा उच्चस्तरीय समितिबाटै अध्ययन तथा छानविन गरी प्रतिवेदन कार्यान्वयन गर्न नियामक निकायमा पठाइसकिएको छ । 

सामाजिक न्यायको क्षेत्रमा सामन्तवादको जीवित अवशेषको रुपमा रहेको मिटरब्याजको अन्त्य गरिएको छ । नागरिकता विधेयक प्रमाणीकरण गरेर हजारौं नागरिकताविहीनलाई नागरिकता प्रदान गरिएको छ भने अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको छ । दलित एवं उपेक्षित उत्पीडित वर्गका अधिकारलाई सुदृढ गर्न अधिकार सम्पन्न प्राधिकरण गठन गर्ने निर्णय गरिएको छ । नेपाल संवतलाई सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ । सुशासन र सामाजिक न्यायसँगै समृद्धि पनि वर्तमान सरकारको अर्को पिलर हो । सरकार गठन हुँदै गर्दा जर्जर रहेको देशको आर्थिक अवस्था अहिले वित्तीय क्षेत्रका समस्यालाई नीतिगत तथा कार्यान्वयन तहबाट उचित सम्बोधन गरिएपछि समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक हुँदै आएका छन् । 

वित्तीय तथा मौद्रिक नीतिमा खुकुलोपन ल्याई व्यवसायीहरूको हित संरक्षण भएको छ । पर्यटक आगमन बढेको छ, रेमिट्यान्स बढेको छ, व्यापारघाटा कम भएको छ । विदेशी मुद्राको सञ्चिति उकालो लागेको छ, जिडिपीमा वृद्धि भएको छ । बैंकको ब्याजदरमा सुधार आएको छ । लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको छ । राजस्व सङ्कलनमा वृद्धि भएको छ । रोकिएको घरजग्गा कारोबार फुकुवा गरी अर्थतन्त्र चलायमान गराइएको छ । पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमास्थल उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । भरतपुर विमानस्थलको स्तरोन्नति गर्ने काम अगाडि बढाइएको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता खेलाडीहरूलाई पुरस्कार र प्रोत्साहन गरिएको छ । 

अरूण–३, काठमाडौँ नागढुङ्गा सडकको सुरूङमार्ग, मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजना लगायतका परियोजनाहरूको ब्रेक–थ्रू गरिएको छ । पूर्वाधार निर्माणमा उच्च प्राथमिकता दिइएको छ । भरतपुर रङ्गशाला, मुलपानी रंगशाला र विराटनगर रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजना घोषणागरी निर्माण कार्यमा उच्च प्राथमिकता दिइएको छ । तेस्रो लगानी सम्मेलन भव्यतापूर्वक सम्पन्न गरिएको छ । लगानी सहजीकरणसम्बन्धी ऐन संसदमा प्रस्तुत भई पारित गरिएको छ । विदेशी अनुदान र सहायतामा सुधार आएको छ । प्रतिवद्धताअनुसार लगानी जुट्दैछ । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को मुख्य सोंचसहित आर्थिक वर्ष २०८१–२०८६ का लागि सोह्रौँ योजना तर्जुमा गरिएको छ ।

नेपालको समृद्धिको महत्वपूर्ण क्षेत्र ऊर्जा हो । सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल एवं भारतका लगानीकर्ताद्वारा सञ्चालनमा आउने जलविद्युत् आयोजनाबाट आन्तरिक माग पूरा गरी दश वर्षमा दश हजार मेगावाट विद्युत् निर्यात गर्ने सन्दर्भमा दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको हुनु र नेपालबाट ४० मेगावाटसम्म विद्युत् बङ्गलादेश निर्यात गर्ने सहमति हुनुलाई महत्वपूर्ण उपलब्धि मान्नुपर्छ । 

सरकार आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटबाट समृद्धिको मोटामोटी कार्ययोजना पेश गर्न सफल भएको छ । आर्थिक सुधारका नीति, योजना र प्राथमिकता निर्धारण गरिएको छ । आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास, समावेशिता र सामाजिक सुरक्षा, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने सवाललाई सरकारले प्राथमिकतामा राखेको छ । यसका लागि आर्थिक सुधारका रणनीति तय गर्दै सरकारले संरचनात्मक सुधार, नयाँ चरणको आर्थिक सुधार कार्यक्रम, व्यावसायिक वातावरण सुधार, सार्वजनिक वित्त प्रणाली सुधार, वित्तीय क्षेत्रको सुधार र सार्वजनिक प्रशासन सुधारलाई जोड दिएको छ ।

समृद्धिका पाँच रूपान्तरणकारी क्षेत्रको रुपमा सरकारले कृषि क्षेत्रको रूपान्तरण, ऊर्जा क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवद्र्धन र उद्यमशीलता र औद्योगिक विकासलाई स्थापित गरेको छ । यसबीचमा सूचना प्रविधिलाई आर्थिक रुपान्तरणको प्रमुख आधारको रुपमा स्थापित गर्न सफल भएका छौं, यो मुलुककै रुपान्तरणका लागि ठूलो छलाङ हो । यसअघि कृषि, जलस्रोत, पर्यटन र औद्योगिक विकास तथा पूर्वाधार निर्माणलाई नेपालका प्रमुख आर्थिक क्षेत्रको रुपमा लिने गरिएकोमा अब नवीनतम् आर्थिक रुपान्तरणकारी क्षेत्रको रुपमा सूचना प्रविधि थप भएको छ । नेपाललाई सूचना प्रविधिको हवको रूपमा विकास गर्दै आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाउने र आगामी आर्थिक वर्षलाई त्यसको प्रारम्भ वर्षको रूपमा लिई तद्नुरूपको तयारीको थालनी गर्ने व्यवस्था मिलाइएको छ । आगामी दश वर्षमा ३० खर्वको सूचना प्रविधि सेवा निर्यात र १० लाखको रोजगारी सिर्जन गर्ने लक्ष्यका साथ आइटी हब, वर्क स्टेशन, सातै प्रदेशमा आवश्यक तालिम र डिजिटल साक्षरता लगायतका कार्यक्रम प्राथमिकताका साथ अघि बढाइएको छ । 

आगामी पाँच लाख परिवारलाई लालपुर्जा वितरण गर्ने, पोडवे निर्माण, महिला लगानी वर्ष मनाउने घोषणा, प्रधानमन्त्री छोरी कार्यक्रम, मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमशः अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट बिजक जारी गर्नुपर्ने, समस्याग्रस्त सहकारीको समस्या समाधान, एक अर्ब रकम बराबरको स्टार्टअप कोष स्थापना, २०८१–२०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा, आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य, आगामी वर्ष नौ सय मेगावाट विद्युत थप गर्ने लक्ष्य लगायतका कार्यक्रम सुशासन, सामाजिक न्याय र समृद्धि स्थापित गर्ने दिशामा केन्द्रित छन् । 

सरकारले कूटनीतिक सन्तुलन कायम गर्दै आफ्ना एजेण्डा विश्वमञ्चमा स्थापित गर्न पनि ऐतिहासिक सफलता प्राप्त गरेको छ । । यो एक वर्षको बीचमा सम्माननीय प्रधानमन्त्री भारत, अमेरिका, चीन, संयुक्त अरब इमिरेट्सलगायतको भ्रमण गरी सन्तुलित कूटनीति स्थापित गर्न सफल हुनुभएको छ । जलवायु परिवर्तन र यसले निम्त्याएका असरहरूबारे अन्तर्राष्ट्रिय फोरमहरूमा पहलका साथै जलवायु न्यायको आवाज बुलन्द गरिएको छ । मित्रराष्ट्र भारत र चीन, संयुक्त राष्ट्रसङ्घको महासभा, विश्व खाद्य सम्मेलन, विश्व जलवायु सम्मेलन, असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन लगायतका अन्तर्राष्ट्रिय फोरमहरूमार्फत् नेपालको अन्तर्राष्ट्रिय छवि र आर्थिक कुटनीतिमा महत्वपूर्ण हस्तक्षेप गरिएको छ । 

जनताको जीवनप्रति सरकार गम्भीर र संवेदनशील छ भन्ने सवाल हामीले गतवर्ष भूकम्प प्रभावितको उद्धार र उपचारमा देखाएको तदारुकताबाट पनि पुष्टि भएको छ । भूकम्पपीडितको उद्धार कार्य सम्माननीय प्रधानमन्त्रीको निर्देशन र नेतृत्वमा २४ घन्टाभित्र नै जसरी सम्पन्न भयो, यसलाई ऐतिहासिक मान्नुपर्छ । नेपालमा केही पनि हुँदैन, भविष्य छैन भन्ने गलत भाष्यलाई खारेज गर्दै सरकारले डेढ वर्षकै छोटो अवधिमा नयाँ पुस्तामा आशा र उत्साह जागृत गर्ने महत्वपूर्ण कार्यको थालनी गरेको छ । यसलाई पुँजीकृत गर्दै आम नागरिकको एकताबद्ध प्रयासमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा अघि बढ्ने महत्वपूर्ण बाटो खुलेको छ ।

(शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता हुनुहुन्छ)

विपदमा परेका नागरिकको उद्धार र राहतको प्रबन्ध गर्न सांसदहरुको माग

काठमाडौँ । सांसदहरुले प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्ने अधिकांश सांसदले जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने राजनीतिक दलहरु सरकार परिवर्तनमा मात्रै केन्द्रित हुँदा निराशा बढेको बताए ।

सांसद रोशन कार्कीले अनियमितता नियन्त्रणको विषयलाई ‘बार्गेनिङ’को साधन नबनाउन आग्रह गरिन् । उनले विपद् प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद अमरबहादुर थापाले छोटो समयमा सरकार परिवर्तन गर्ने, एकलेअर्कोलाई घोचपेच गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे । मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनेतर्फ लाग्नुपर्नेमा सरकार परिवर्तनको सोच गलत भएको उनले धारणा व्यक्त गरे ।

सांसद सुशीला श्रेष्ठले उदयपुरलगायत देशभर बाढीपहिराका कारण प्रभावित नागरिकको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराइन् । जलवायु परिवर्तनको असर निरन्तरको वर्षामा देखिएको उल्लेख गर्दै उनले सुरक्षित बस्ती निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सांसद अब्दुल खानले सरकार परिवर्तनका सम्बन्धमा जोडिएका संविधानका धारामा पटकपटक चर्चा भए पनि मौलिक हक र कर्तव्यका बारेमा कहिल्यै चर्चा नभएको गुनासो गरे । उनले मुद्रास्फीति घटाउनेतर्फ विशेष ध्यान दिन, आर्थिक असमानता घटाउने उपायाको खोजी गर्न आवश्यक भएको बताए ।  

सांसद रामप्रकाश चौधरीले सुन तस्करीका आरोपीलाई सजाय छुट दिइएकामा आपत्ति जनाए । 

सांसद प्रभु साहले हुण्डी कारोबारका कारण मुलुक तहसनहस भएको, भ्रष्टाचार मौलाएको, अपराधका घटनामा वृद्धि भएको, लागुऔषधको कारोबारसमेत वृद्धि भएको पाइएकाले त्यसलाई नियन्त्रण गर्न माग गरे ।  उच्च सरकारी ओहोदा तथा राजनीतिक नेतृत्वमा रहेका पनि हुण्डी कारोबारमा संलग्न पाइए पनि तिनलाई कारबाही गर्नेतर्फ ध्यान नदिइएको उनले टिप्पणी गरे । 

सांसद कुसुमदेवी थापाले बाढीपहिरामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभाािवतलाई उद्धार र राहतको प्रबन्ध गर्न माग गरिन् ।

सांसद मनबहादुर गुरुङले पनि मनसुनजन्य विपद्का कारण जनधनको क्षति भएको प्रसङ्ग उठाउँदै प्रभावितलाई राहत सामग्रीको प्रबन्ध गर्ने दायित्व सरकारको बताए ।

सांसद प्रेम सुवालले नेपाली कांग्रेस र नेकपा(एमाले)का बीचमा भएको भनिएको सहमति आम जनतालाई जानकारी दिन आग्रह गरे ।

सांसद राजेन्द्र बजगाईले मनसुनका कारण गोरखाका विभिन्न क्षेत्रका पुलपुलेसा बगाएको, जनजीवन प्रभावित भएको, भूक्षय भएको जानकारी दिँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । उनले बस्ती स्थानान्तरण र एकीकृत बस्ती बसाउने सन्दर्भमा ध्यान दिन नसकिएकाले समस्या बल्झँदै गएको बताए । 

चिनियाँ राष्ट्रपति सी र हङ्गेरीका प्रधानमन्त्री ओर्बानवीच युक्रेन सङ्कटबारे छलफल

चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार बेइजिङमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँग भेटवार्ता गरेका छन् । वार्तामा नेताद्वयले युक्रेन सङ्कटबारे विचार आदानप्रदान गरेका छन् ।

हङ्गेरिका प्रधानमन्त्री ओर्बानले चिनियाँ नेता सीलाई युक्रेन र रूसको हालैको भ्रमणको बारेमा जानकारी दिएको र राष्ट्रपति सीले युक्रेन सङ्टको राजनीतिक समाधानलाई बढावा दिन ओबानले गरेको प्रयासको प्रशंसा गरेका छन् ।

चीनका राष्ट्रपति सीले प्रारम्भिक युद्धविराम र राजनीतिक समाधान सबै पक्षको हितमा रहेको कुरामा जोड दिँदै युद्ध विस्तार नगर्ने, लडाइँमा वृद्धि नगर्ने र कुनै पनि पक्षले युद्ध रोक्न नचाहेको अवस्थामा यस्ता सिद्धान्त पालना गरेर परिस्थितिलाई शान्त पार्नु प्राथमिकता रहेको बताए ।

उनले अन्तर्राष्ट्रिय समुदायलाई परिस्थिति सिर्जना गर्न र दुई पक्षबीच प्रत्यक्ष संवाद र वार्ताको पुनः प्रारम्भका लागि समर्थन प्रदान गर्न आह्वान गर्दै सबै प्रमुख देशहरूले नकारात्मक उर्जाको सट्टा सकारात्मक ऊर्जा दिए मात्र सकेसम्म चाँडो युद्धविराम हुनसक्ने उल्लेख गरे ।

चीनले आफ्नै तरिकाले शान्ति वार्तालाई सक्रिय रूपमा प्रवद्र्धन गर्दै आएको र सङ्कटको शान्तिपूर्ण समाधानका लागि अनुकूल सबै प्रयासहरूलाई प्रोत्साहित र समर्थन गर्दै आएको राष्ट्रपति सीले उल्लेख गरे ।

चीन र हङ्गेरीको आधारभूत प्रस्ताव र उनीहरूको प्रयासको दिशा एउटै भएको र चीन हङ्गेरी र सबै सम्बन्धित पक्षहरू सम्पर्कमा रहन इच्छुक रहेको उनले बताए ।

भारतका प्रधानमन्त्री मोदी रूस र अष्ट्रिया भ्रमणमा

प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार दुई राष्ट्रको भ्रमणका लागि रूसको मस्को प्रस्थान गरेका छन् । उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनले २२ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरेका हुन् ।

भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री नरेन्द्र मोदी रूस र अष्ट्रियाको भ्रमणमा गएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार भ्रमणको पहिलो चरणमा २२ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागितालगायत आवश्वक गतिबिधि बढाउने अवसरको साझेदारी बन्नेछ ।

रूसको भ्रमणपछि, प्रधानमन्त्री मोदी जुलाई ९ र १० मा अष्ट्रियाको ऐतिहासिक भ्रमणमा रहनेछन् । यो भारतीय प्रधानमन्त्रीको ४१ वर्षपछिको अष्ट्रिया भ्रमण हो ।

यसअघि एएनआईसँग कुरा गर्दै विदेशमन्त्री एस जयशङ्करले यो भ्रमण प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनका लागि समयसापेक्ष तथा सम्बन्धबारे छलफल गर्ने ठूलो अवसर हुने बताएका थिए ।

दुई राष्ट्रको वार्षिक शिखर सम्मेलनमा केही ढिलाइ भएता पनि परम्परागत र बलियो इतिहास भएकोले उनले वार्षिक शिखर सम्मेलनको आवश्यकतालाई महत्त्व दिएको बताए ।

रूसका लागि भारतीय राजदूत विनय कुमारले प्रधानमन्त्री मोदीले सोमबार नै रूसी नेता पुटिनलाई भेट्ने भन्दै यो भ्रमण निकै महत्त्वपूर्ण भएको बताए ।

भारतीय राजदूतले कार्यक्रममा रूसी राष्ट्रपति पुटिनसँगको निजी बैठक, प्रतिनिधिमण्डल स्तरको वार्ता, रोसाटम प्याभिलियनमा रहेको प्रदर्शनी केन्द्र भ्रमण र विभिन्न सम्झौतामा हस्ताक्षर र आदानप्रदान गर्ने तयारी गरिरहेको उल्लेख गरे ।

प्रधानमन्त्रीको रुस भ्रमणको विवरण सार्वजनिक गर्दै विदेश सचिव विनय क्वात्राले सन् २०२२ मा उज्बेकिस्तानको समरकन्दमा भएको अनौपचारिक भेटपछि दुवै नेताले धेरै पटक फोनमा कुरा गरेको बताए ।

भारत र अष्ट्रियाले कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा भएको प्रधानमन्त्री मोदीको अस्ट्रिया भ्रमणका अवसरमा उनले अस्ट्रियाका चान्सलर कार्ल नेहमरसँग दुई देशबीचको सम्बन्ध बलियो बनाउन र सहयोगका नयाँ आयामहरू खोजी गर्ने बिषयमा गहन छलफल गर्नेछन् ।

मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ ।  समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले जानकारी दिए । सबैभन्दा कम मधेस प्रदेशमा २५ दशमलव ५ प्रतिशत रापाइँ भएको छ ।

आइतबारसम्म कोशी प्रदेशमा ३४ दशमलव ४ प्रतिशत, बागमती प्रदेशमा २५ दशमलव ५ प्रतिशत, गण्डकी प्रदेशमा ४९ दशमलव ७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४४ दशमलव ४ प्रतिशत र कर्णाली प्रदेशमा ४७ दशमलव ५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

देशभर रोपाइँ हुने क्षेत्रफल कूल १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर रहेको छ । सबैभन्दा धेरै मधेसमा तीन लाख ८३ हजार एक सय ५० हेक्टर क्षेत्रफल रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ९०४ क्षेत्रफल रहेको छ ।

अघिल्लो वर्ष असार २४ गतेसम्म देशभर ६ लाख ४२ हजार दुई सय ८४ हेक्टर क्षेत्रफल (४२.९ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको थियो ।

नेपालमा वार्षिक औसत ५७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । माग ६२ लाख मेट्रिक टन रहेको छ । नेपालमा गत वर्ष अपेक्षाअनुसारको मात्रामा धान उत्पादन भएको र यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने सूचना अधिकारी चौलागाईले बताए ।

यस वर्षको मनसुन गत जेठ ३१ गतेदेखि नेपाल प्रवेश गरेको हो । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालमा सामान्यतया मनसुन अवधि सरदर जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ । यद्यपि मनसुन भित्रिने र बाहिरिने अवधि केही दिन तलमाथि हुने गरेको छ 

कञ्चनपुरमा बाढीले १७ सय घर डुबान

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो । 


राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा अहिले उनको खोजी भइरहेको छ । 

एक हजार सात सय घर डुबान

दुई दिनदेखिको वर्षाका कारण कञ्चनपुरमा हालसम्म एक हजार सात सय ५० घर डुबानमा परेका छन् । आइतबार रातिदेखि भीमदत्त, वेदकोट, दोधारा चाँदनी र पुर्नवास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन् । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आइतबार राति बाढीमा फसेका ३९ जनाको उद्धार गरेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो । जिल्लाभर डुबानमा परेकाको उद्धारका लागि ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ । “हालसम्म एक हजार सात सय ३८ जनालाई सुरक्षित स्थानमा लगिएको छ”, उनले भने । 

कञ्चनपुरका नौवटै स्थानीय तह बाढी र डुबानबाट प्रभावित छन् । भीमदत्त नगरपालिका, दोधारा चाँदनी, वेदकोट र पुर्नबास नगरपालिका तथा बेल्डाँडी गाउँपालिका बाढीबाट बढी प्रभावित छन् । 

त्यसैगरी आइतबार मध्यरातमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत भाँसी–दैजी खण्डको सुडा चोकमा बाढीले कल्भर्ट भत्काउँदा यातायात सेवा प्रभावित भएको छ । यहाँ अहिले वैकल्पिक सडक प्रयोग गरेर सवारीसाधन सञ्चालन भइरहेका छन् ।

दोधारा–चाँदनी नगरपालिका–१० कुतियाकवरलगायत क्षेत्रमा महाकाली र जोडबुढा नदीको बाढी बस्तीमा पसेको छ । बाढी पीडित वडा कार्यालय, विद्यालय र आफन्तकहाँ आश्रय लिइरहेको प्रहरीले जनाएको छ ।


महाकालीको सतह बढेपछि शारदा ब्यारेजका सबै ढोका खोलिए 


आइतबार राति महाकालीमा पानीको सतह  चार लाख क्युसेक नाघेको थियो । पानीको सतह अहिले घटेर दुई लाख ८८ हजार क्युसेक पुगेको छ । महाकालीमा पानीको सतह बढेपछि तीन दिनदेखि बनबासास्थित शारदा ब्यारेजका नेपालतर्फका २४ वटै ढोका खोलिएका छन् ।

महाकालीमा २०७८ कात्तिकमा सबैभन्दा बढी पाँच लाख ४७ हजार क्युसेक पानी मापन गरिएको थियो । यहाँ तीन दिनदेखि पुलमा सवारीसाधन चलाउन रोक लगाइएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । 

पहिरोले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध

दमौली (तनहुँ) । पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिरोका कारण दुई दिनदेखि अवरुद्ध भएको छ ।

तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्कने मिल्ने बुद्धसिंह मार्ग दुई दिनदेखि पहिराले अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो । 

बुद्धसिंह मार्गअन्तर्गत व्यास, बन्दीपुरका विभिन्न खण्डमा ठूलाठूला ढुङ्गा खसेर अवरुद्ध भएको स्थानीयवासी सिद्धान्त थापा मगरले बताए ।

उनले भने, “शुक्रबारदेखि परेको वर्षाका कारण झरेको पहिराले यो मार्ग पूर्णरुपमा अवरुद्ध छ । मोटरसाइकलसमेत चलाउन मिल्ने अवस्था छैन । सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।”

केही ठाउँमा ठूला ढुङ्गा खसेका छन् भने कतिपय ठाउँमा विद्युत्को पोल ढलेर बाटो अवरुद्ध भएको उनको भनाइ छ । 

जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई उक्त मार्ग खुलाउन अनुरोध गरिएको मगरले बताए ।

उनले भने, “यो बाटो बन्द हुँदा हिँडडुल गर्न समस्या भयो, कोही बिरामी हुँदा एम्बुलेन्ससमेत जान सक्ने अवस्था छैन ।” सम्बन्धित निकायबाट पहिरा हटाएर बाटो खुलाउने आश्वासन पाएको उनको भनाइ छ । 

गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँं नागरिक दैनिक आवतजावत गर्ने गर्छन् । 

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकको रुपमा उक्त सडकलाई लिने गरिएको छ । प्रदेश सरकारले उक्त सडकको दमौलीबाट व्यास नगरपालिका–१३ को सोढेसम्म दश किलोमिटर कालोपत्रको तयारी गरेको छ ।

उक्त मार्गअन्तर्गत मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ । सो पुलको सम्पन्न पश्चात् बाटो छोटिने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्दछ ।

पहिरोका कारण कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द

गलकोट (बागलुङ) ।  लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ । 

करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । शनिबार बिहानैदेखि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।

करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा ट्र्याक नै बगेकाले सडक खुल्न समय लाग्ने बागलुङ नगरपालिकाका उपप्रमुख राज खड्काले बताए । करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जिमिरघाटमा पहिरो खसेको छ । 

सबै भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई एमालेको चुनौती

काठमाडौं । नेकपा एमालेले भ्रष्टाचारको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले गृहमन्त्रीलाई जति दिन पदमा हुनुहुन्छ खोजीखोजी सबै भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका हुन् ।

उनले फाइल खोल्छु भनेर नधम्क्याउन चेतावनी दिए । उनले भने, ‘यो सदनमा हामी माग गर्न चाहन्छौं, जति दिन सरकारमा बस्नुहुन्छ कहाँ, कुन फाइल कसरी खोल्नुपर्ने हो, खोल्नुस् । धम्की दिएर मात्र पुग्छ ? तपाईंले आज खोल्छु भनेका फाइल किन खोल्नुभएन ?’

उनले राष्ट्रिय सहमतिको सरकार बनेपछि त्यो गोप्य सूचना दिन पनि आग्रह गरेका छन् । उनले सरकार अल्पमतमा पर्दा पनि रास्वपाका मन्त्रीहरुले साथ दिइरहनुमा पनि आशंका व्यक्त गरे ।

उनले भने, ‘सरकार बहुमत रहँदा केही दलका मन्त्रीहरु गोजीमा राजीनामा पत्र बोकेर हिँड्नुभयो । अहिले सरकार प्रत्यक्ष अल्पमतमा परेको छ । ती साथीहरुको गोजीमा रहेको राजीनामा कहाँ पुग्यो होला ?

उनले प्रधानमन्त्रीले कानेखुशी गरेको भरमा उनीहरु रोकिएको आरोप लगाए ।

आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ ।

विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ ।

मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने जानकारी दिए ।

‘आइतबारसम्म न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले भारी वर्षा भएको थियो, आजदेखि उक्त रेखा दक्षिणतर्फ सर्दै जाने भएकाले मनसुन कम सक्रिय हुनेछ’, उनले भने ।

आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको मौसमविद् पुडासैनीले बताए ।

उनका अनुसार मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै खहरे खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सरोकार भएका सबैलाई विभागले अनुरोध गरेको छ ।

नेपोलिअनले आत्महत्या गर्न प्रयोग गर्न खोजेको पेस्तोल १६.९ लाख युरोमा लिलाम

बीबीसी । फ्रान्सका सम्राट नेपोलिअन बोनापार्टको स्वामित्वमा भएका दुईवटा पेस्तोल १६.९ लाख यूरोमा लिलाम भएका छन्। कुनै बेला ती हतियार प्रयोग गरेर उनले आत्महत्या गर्न खोजेको बताइन्छ ।

पेरिसस्थित बन्दुक उत्पादक ‘लुई–मारिन गोसे’मा बनेका ती पेस्तोल १२ लाखदेखि १५ लाख यूरोमा बिक्री हुने अपेक्षा राखिएको थियो । ‘ओजनाट अक्शन हाउस’मा ती पिस्तोलको लिलामी गरिएको थियो ।

उक्त लिलाम गृह नेपोलिअनले सन् १८१४ मा गद्दी परित्याग गरेपछि आत्महत्या गर्ने प्रयास गरेको फोँटेन्ब्लो दरबारनजिकै छ । केही समयअघि फ्रान्सको संस्कृति मन्त्रालयले ती पिस्तोललाई ‘राष्ट्रिय सम्पत्ति’ घोषणा गर्दै तिनलाई विदेश पठाउन रोक लगाउने निर्णय गरेको थियो । ती पेस्तोल अस्थायी रूपमा मात्र फ्रान्सबाट बाहिर लैजान पाइन्छ ।

अब फ्रान्स सरकारले ती पेस्तोल किन्ने व्यक्तिसँग ३० महिनाभित्र ती हतियार सकार्न सक्छ । उनको नाम सार्वजनिक गरिएको छैन । ती दुवै पिस्तोलमा सुन र चाँदीका बुट्टा छन्। तिनमा नेपोलिअनको मुखाकृति पनि अङ्कन गरिएको छ ।

विदेशी फौजसँग आफ्नो सेना पराजित भएपछि नेपोलिअन बोनापार्ट सत्ता त्याग्न बाध्य भएका थिए। त्यसपछि सन् १८१४ को अप्रिल १२ को राति नेपालिअनले ती पिस्तोल प्रयोग गर्न खोजेको बताइन्छ ।

तर उनका वरिष्ठ सैन्य अधिकारी आर्माँ ड कोलाँकूरले ती पिस्तोलबाट बारुद हटाइदिएका थिए। त्यसपछि नेपोलिअनले विष सेवन गरे। तर उनको मृत्यु भएन । पछि नेपोलिअनले ती पिस्तोल कोलाँकूरलाई दिए । ती हतियार कोलाँकूरको परिवारको स्वामित्वमा रहँदै आयो ।

तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी तीन दिने हड्तालमा

दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमहडताल सुरु गरेका छन् ।

सियोलबाट एक घण्टा दक्षिणमा रहेको ग्योङगीको ह्वासेओङमा रहेको कम्पनीको फाउण्ड्री र सेमीकन्डक्टर फ्याक्ट्रीबाहिर हजारौं मजदुरहरू बर्षादी र रिबन लगाएर भेला भएका दशौं हजार कर्मचारीहरूको प्रतिनिधित्व गर्ने एक युनियनका प्रमुखले बताए ।

सामसुङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता हो र यसले चिप्सको विश्वव्यापी उत्पादनको महत्त्वपूर्ण हिस्सा ओगटेको छ ।

सामसुङ व्यवस्थापनले जनवरीदेखि युनियनसँगको वार्तालाई रोकेको छ । दुबै पक्ष मतभेदलाई कम गर्न असफल भएका छन् । फर्मबाट ५.१ प्रतिशत तलब वृद्धि प्रस्ताव अस्वीकार गरिएको छ ।

नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनका प्रमुख सन वू मोकले भने, “आजदेखि हडताल सुरु भएको छ । आजको आमहडताल त सुरुवात मात्र हो ।”

“हामी यहाँ किन छौं भनेर सम्झँदै, कृपया जुलाई १० सम्म काममा नआउनुहोस् र कुनै पनि व्यावसायिक कलहरू रिसिभ नगर्नुहोस्,” उनले कामदारहरूको भीडलाई सम्बोधन गर्दै भने ।

युनियनले कारखाना, उत्पादन र विकास क्षेत्रका करिब पाँच हजार २०० व्यक्ति विरोध प्रदर्शनमा सहभागी भएको जनाएको छ । युनियनका उपाध्यक्ष ली ह्युन कुकले भने, “के उनीहरूले यसले सामसुङको उत्पादन लाइनलाई असर पार्नेछ भनेर अझै पनि सोचेका छैनन् ?”

करिब ३० हजार सदस्य रहेको युनियनले वार्ताबाट समस्याको समाधान हुन नसकेपछि गत हप्ता तीन दिने आम हड्तालको घोषणा गरेको थियो ।

श्रमिकहरूले मार्चमा ५.१ प्रतिशत तलब वृद्धिको प्रस्तावलाई अस्वीकार गरेका थिए, युनियनले पहिले वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनससहितका मागहरू राखेको थियो ।

यससम्बन्धमा सामसुङले टिप्पणीको लागि गरिएको अनुरोध अस्वीकार गरेको छ । सेजोङ विश्वविद्यालयका बिजनेस प्रोफेसर किम डे–जोङले भने, “जारी हडताल तीन दिनका लागि मात्र तय गरिएको छ, तर सहभागी सदस्यहरूमा चिप एसेम्बली लाइनमा काम गर्नेहरू पनि सामेल छन् ।

“समस्या जारी रहेमा युनियनले थप हड्ताल गर्न सक्ने भएकाले प्रतिस्पर्धी चिप्स बजारमा प्रभुत्व जमाउने होडबाजीका बीच यसले सामसुङ व्यवस्थापनलाई ठूलो समस्या सिर्जना गर्नसक्छ ।

पदोन्नति नपाएका कर्मचारी मन्त्रालयको मुलद्वारमा लुडो खेलेर दुई घण्टा बिताउँदै

काठमाडौँ । असार बित्न एक साता बाँकी छ, किसान होस् वा कर्मचारी, कामको चटारो छ सबैलाई । तर, मुलुकको सङ्घीय राजधानी सिंहदरबारस्थित कृषि तथा पशुपक्षी मन्त्रालयको मूलद्वारमा भने केही राष्ट्रसेवक दैनिक दुई घन्टा लुडो खेल्दै धर्ना दिइरहेका छन्  ।

उनीहरू एकै श्वरमा भन्छन्,  ‘विसं २०७५ मा कर्मचारी समायोजन गरिँदा केन्द्रमा क्षमताभन्दा बढी कर्मचारी राखियो, जसले हाम्रो पदोन्नति र वृत्ति विकास भएन ।’

  सिंहदरबार परिसर आन्दोलन र धर्ना निषेधित क्षेत्र भए पनि  मन्त्रालयकै प्रवेशद्वारमा नौ दिनदेखि निरन्तर धर्ना र ‘घरपास–नागपास’ चलिरहेको छ । त्यहाँ धर्ना दिइरहेका कर्मचारी दैनिक दुई घन्टा यसरी नै समय कटाइरहेका छन् । कृषिप्रधान मुलुकमा असार मानो रोपेर मुरी उब्जाउन व्यस्त रहने तथा कर्मचारी वर्षभरको कामको हरहिसाब समीक्षामा खटिनुपर्ने समय हो ।

  राष्ट्रिय बाली संरक्षण अधिकृत तोयानाथ जोशी भन्छन्, ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनमा केन्द्रमा क्षमताभन्दा बढी कर्मचारी राखेका कारण आठ वर्षदेखि हाम्रो बढुवालगायत वृत्ति विकास रोकिएको छ, न  पद छ, न कुर्सी नै,  हामी अहिले म्यादी प्रहरी जस्ता छौँ ।’

समायोजनमा चाहिनेभन्दा बढी सङ्ख्यामा केन्द्रमा कर्मचारी राखिएका कारण वृत्ति विकासमा समस्या भएको जनाउँदै धर्नारत कर्मचारीले दरबन्दी प्राप्तिका लागि धेरै पटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको प्रतिक्रिया दिए ।

  लामो समयदेखि जिम्मेवारीविहीन अस्थायी पुलमा रहन परेकामा दुखेसो पोख्दै उनीहरूले सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन नभएकामा आश्चर्य प्रकट गरे ।

जोशी भन्छन्, ‘हाम्रो माग र चासोबारे अदालतबाट परमादेश भएको दुई वर्ष  भइसक्यो, अझै कार्यान्वयन भएन । अदालतको आदेश पालना नभएपछि  मानहानिको मुद्दा पनि दायर गरिएको छ ।’

  कर्मचारी समायोजन गर्ने विगतको सामान्य प्रशासनको निर्णयबाट कृषि मन्त्रालयमातहत कार्यरत शाखा अधिकृतस्तरका एक सयभन्दा बढी कर्मचारी प्रभावित भएको उनीहरू बताउँछन् ।

यद्यपि  बिहान १० देखि मध्याह्न १२ बजेसम्म दैनिक निरन्तर धर्नामा रहेका ती कर्मचारीको माग सम्बोधन गर्नेबारे सरकार सकारात्मक रहेको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।

कर्मचारीका समस्या समाधान गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पुगिसकेको तथा चालु आर्थिक वर्षमा उनीहरूका माग सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताए । 

बाढीपहिरोमा परी  हालसम्म ७० जनाको मृत्यु, पाँच बेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।
      
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएका जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
      
उक्त अवधिमा बाढीपहिरोका नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ ।
      
उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरामा परिचालन गरिएको र नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

बेचन झाले कांग्रेस-एमालेलाई चैन नदिने रास्वपाको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा पक्राउ परेपछि कांग्रेस र एमाले बेचैन देखिएका आरोप लगाएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले झा पक्राउ परेपछि ठूलो राजनीतिक दाउपेच भएको बताएका हुन् ।

उनले उनले अघिल्लो सरकारले प्रतिवादी बनाउन नचाहेको झालाई अहिलेको सरकारले समातेपछि सरकार ढलेको दाबी गरे ।

उनले भने, ‘बेचन झालाई जब सरकारले नियन्त्रणमा लियो त्यसपश्चात् राजनीतिक बेचैनी सुरु भयो । त्यसबेला सरकारले अभियोजनपत्रमा समेत नाम नराखेको झालाई जब सरकारले समात्यो राजनीतिक चलखेल सुरु भयो।’

उनले बेचन झाको फाइल अघि बढाउन सरकारलाई आग्रह गरे । उनले अब बन्ने नयाँ सरकारलाई पनि बेचन झाले चैन नदिने बताए ।

ऐतिहासिक धारा पुनःनिर्माण

ललितपुर । ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा (जरुँहिटी) उत्खनन गरेको छ। यसक्रममा महानगरले सो स्थानमा उद्यान निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएको धारालाई पुन: निर्माण गरेर सञ्चालनमा समेत ल्याएको छ।

महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागत रूपमा सो धारा पुनःनिर्माण गरिएको हो। उक्त धारा चार सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिए।

उनका अनुसार हाल ललितपुर महानगरपालिका र समाजका सहकार्यमा निर्मित धारामा आरओ प्रविधिद्वारा प्रशोधित पिउने पानी स्वचालित रूपमा सञ्चालित छ।

ललितपुर–४ का वडाध्यक्ष सन्तोष खड्काले ललितपुर–४ जावलाखेल मोसिख्योमा उद्यान निर्माण गर्नेक्रममा पुरातात्विक महत्त्व बोकेको ऐतिहासिक धाराको ढुङ्गा भेटिएपछि उत्खनन गरेर पुनः निर्माण गरिएको बताए।

उनले भने, ‘उत्खनन गर्नेक्रममा भेटिएको धारा (जरुँहिटी) ताम्राकारसमाजसँग सम्बन्धित भएकाले आउने दिनहरूमा समाजले नै धाराको संरक्षण गर्नेछ।’

महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनःनिर्माण गर्नेक्रममा धारा जरुँहिटीलाई पुनःस्थापना गरेकोमा आफू खुसी रहेको ललितपुर महानगरपालिका–४ जावलाखेलका स्थानीय रामकुमार पन्तले बताए।

उनले भने, ‘पुरानो सम्पदालाई संरक्षण गर्नु राम्रो हो। जरुँहिटी निर्माण गरेपछि बाटो हिँड्नेलाई तिर्खाएको बेला प्रशोधित शुद्ध पानी पिउन सहज भएको छ।’ 

अल्पमतमा परिसकेका प्रधानमन्त्रीले एक सेकेण्ड पनि पदमा बस्न मिल्दैनः सांसद गैरे

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकार अल्पमतमा परिसकेकाले तत्काल राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैकठमा सांसद गैरेले अल्पमतमा परिसकेका प्रधानमन्त्रीलाई एक सेकेण्ड पनि अब सरकारमा बस्न नमिल्ने बताएका हुन् ।

उनले देशमा बाढी पहिरोको जोखिम बढेको बेला मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्न प्रधानमन्त्रीले संविधानको छिद्र खोजेको आरोप लगाए ।

उनले भने, ‘बहुमत गुमेको प्रधानमन्त्रीले सेकेन्ड पनि बस्ने अधिकार रहँदैन । देशमा आइपरेको विपद् व्यवस्थापन गर्न प्रधानमन्त्रीले सहजता प्रदान गर्नु राम्रो हुन्छ । तर अर्को सरकारलाई अस्थिरता, बेथिति, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ। देशमा यस्तो अवस्था हुँदा प्रधानमन्त्रीज्यू संविधानमा प्वाल खोजिरहनुभएको छ। देशलाई अस्थिरतामा लान सकिन्छ कि भनेर प्रयत्न गरिरहनुभएको छ ।’

उनले प्रधानमन्त्री प्रचण्डलाई ‘उडायो सपना सबै हुरीले’ भन्ने गीत गाउन सुझाव दिए । उनले भने, ‘सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदो रहेछ कहिले कहिले, भन्दै गीत गाएर बसेको छ। बरू, उडायो सबै सपना हुरिले भन्ने गीत गाए हुने नि।’

दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन

सुदूरपश्चिम । वर्षासँगै नदीमा आएको बाढीमा बगेर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता भएका छन् ।


प्रदेश प्रहरी कार्यालय धनगढीले कैलालीको कैलारी गाउँपालिका–९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर आइतबार साँझ सोही ठाउँका १८ वर्षीय अजय राना वेपत्ता भएका छन् । नुहाउने क्रममा डुबेर बेपत्ता भएका रानाको प्रहरीले खोजी गरिरहेको छ । 


यस्तै आइतबारनै कञ्चनपुरको बेलडाँडी गाउँपालिका––३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता भएका छन् । नदीमा माछा मार्न गएको बेला चौधरी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले खोजी गरिरहेको छ ।


शनिबार डडेलधुरा पर्शुराम नगरपालिका–३ का ५६ वर्षीय नवराज पनेरुको पहिरोमा पुरिएर मृत्यु भएको थियो । गाउँ नजिकैको भातगडा भन्ने ठाउँमा रहेको खानेपानीको मुहान सरसफाइ गर्ने क्रममा माथिबाट खसेको पहिरोमा परी पनेरुको घटनास्थलमै मृत्यु भएको थियो । 


अविरल वर्षासँगै ती दुई जिल्लाका विभिन्न नदी र खोलाको जल सतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना गरेको छ ।

सबैभन्दा बढी वर्षा मापन

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले वर्षा मापन भएको कञ्चनपुरको दोधार चाँदनीमा यसवर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ । महाकाली नदीपारीको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको छ । 


कार्यालयका प्रमुख सञ्जय साहले भने, “दोधारा चाँदनीमा यतिधेरै वर्षा मापन भएको नेपालको इतिहासमै सबैभन्दा बढी हो, यसअघि विगतका वर्षमा हेटौँडामा पाँचसय १६ मिलिमिटर वर्षाको मापन गरिएको थियो ।” अति भारी वर्षापछ दोधारा चाँदनी र आसपासका क्षेत्रमा डुबान भएको छ ।  


धनगढीमा गएको १२ घण्टामा एकसय ८४ दशमलव सात मिलिमिटर वर्षा मापन भएको छ । अझै पनि भारी वर्षा हुने पूर्वानुमान गरिएकाले उच्च सतर्कता अपनाउन साहले आग्रह गर्नुभयो । दुई सय मिमिभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ ।


अविरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, स्याली, दोदा, चौदरलगायतका नदी र खोलामा जलसतह बढेको छ । वर्षासँगै कैलाली र कञ्चनपुरका होचो भूभागमा रहेका बस्ती डुवानमा परेपछि धेरै परिवार विस्थापित भएका छन् । 


डुबानमा परेको कैलालीको भजनी, जानकीनगर क्षेत्रका बासिन्दा अग्लो स्थानमा रहेको हुलाकी राजमार्ग खण्डमा बसेका छन् । कैलालीको कटैनी नदीमा जडान भएको पूर्वा सूचना दिन यन्त्र गए रातिको बाढीले बगाएको छ ।

वीरेन्द्रनगरमा प्रदेश रङ्गशाला निर्माण अन्तिम चरणमा

प्रदेश रङ्गशाला को वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । एक अर्ब ४७ लाख ४७ हजार ६ सय रुपैँया लागतमा निर्माण भइरहेको रङ्गशालामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । रङ्गशालाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको बताइएको छ।

तस्बिरः सुरेश आचार्य/रासस

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

बागमती । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ सोमबार नेकपा एमालेका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रुपमा राजीनामा बुझाएका हुन् ।

एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा बुझाएका हुन् ।

एमालेका मन्त्रीको राजीनामासँगै माओवादी नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसअघि नेकपा एमालेले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

केन्द्रमा नेपाली कांग्रेस र एमालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो ।

बाढीका कारण कञ्चनपुरमा एक हजार ६ सय २२ जना प्रभावित

कञ्चनपुर । लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ ।

महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन् ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जिल्लाभर बाढीबाट प्रभावित एक हजार छ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

‘बाढीले जिल्लाका अधिकांश बस्ती डुबानमा परेका छन्” उनले भने, ‘डुबानबाट प्रभावितलाई नजिकै विद्यालय र आफन्तकोमा सारिएको छ ।’

त्यसैगरी उनले बाढीमा परी कृष्णपुर नगरपालिकाको वडा–१ पोतीपुरमा सात महिनाका शिशु सोलु धानुकको मृत्यु भएको बताए । प्रवक्ता जोशीले भने, ‘घरमा सुतेको अवस्थामा बाढी पसेपछि डुबेर शिशुको मृत्यु भएको छ ।’ निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेका जनाइएको छ ।

फ्रान्सको आम निर्वाचनमा वामपन्थी गठबन्धनको अग्रता

बीबीसी । फ्रान्सको आम निर्वाचनमा त्यहाँको अति दक्षिणपन्थी न्याशनल र्याली अर्थात् आरएन दलले संसदीय निर्वाचनमा बहुमत ल्याउन असफल भएको प्रक्षेपणहरू भएका छन् ।

आधिकारिक मत परिणाममा त्यहाँ वामपन्थीहरूको न्यू पपुलर फ्रन्ट अर्थात् एनएफपी गठबन्धनले अग्रता लिएको देखिएको छ र उक्त गठबन्धन संसद्मा सबैभन्दा ठूलो शक्ति बन्ने निश्चित जस्तो छ । दोस्रोमा राष्ट्रपति एमानुएल माक्रोँको मध्यमार्गी गठबन्धन रहनेछ भने तेस्रो स्थानमा अति दक्षिणपन्थी आरएन देखिएको छ ।

आरएनका नेता जोर्डन बार्डेलाले आफ्नो दललाई विजयी हुनबाट ‘वञ्चित’ गरिएको तथा फ्रान्सलाई ‘अनिश्चितता र अस्थिरता’तर्फ धकेलिएको बताएका छन् । म्याक्रोँले मत परिणामको विश्लेषण गरिरहेको र उनले आजै त्यसबारे प्रतिक्रिया दिने अपेक्षा नगरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

समयअगावै गरिएको फ्रान्सको आम निर्वाचनमा यो दोस्रो चरणको मतदान थियो म्याक्रोँले एक महिनाअघि संसदीय चुनावको घोषणा गरेका थिए । युरोपेली संसद्को चुनावमा अति दक्षिणपन्थीहरूसँग हार बेहोरेपछि उनले चुनावको घोषणा गरेका हुन् ।

पहिलो चरणको निर्वाचनमा ‘आरएन’को पक्षमा नतिजा आउने देखिएपछि धेरै स्थानमा वामपन्थी र मध्यमार्गीहरूले अप्रत्यक्ष तालमेल गरेका थिए । कैयौँ स्थानमा वामपन्थी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका थिए भने कति स्थानमा मध्यमार्गीहरूले पनि त्यस्तै गरेका थिए ।

त्यसले गर्दा अति दक्षिणपन्थी विरोधी मत दुई तिर नबाँडिएर एउटै उम्मेदवारलाई जाने अवस्था बनेको थियो । त्यसलाई अति दक्षिणपन्थीहरूलाई हराउनका लागि गरिएको रणनीतिक तालमेलका रूपमा लिइएको छ।

बाढीले भत्कायो पूर्व–पश्चिम राजमार्गको कल्भर्ट

सुदूरपश्चिम । अविरल वर्षाले कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडा चोकमा राजमार्गको कलभर्ट भत्किएको छ । कलभर्ट भत्किँदा राजमार्गमा सवारी साधनको आवागमन बन्द भएको छ ।

लगातारको बर्षापछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको सुडा चोकमा कल्भर्ट बाढीले भत्काएको हो । अविरल वर्षाले कञ्चनपुर र कैलालीका अधिकाँश बस्ती डुबानमा परेका छन्।


तस्बिर : शेरबहादुर सिंह

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन

चितवन । चितवनको  कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ ।  हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाको अगुवाइमा  हालै रिसोर्ट सञ्चालनमा आएको हो । 

व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट  सञ्चालन गर्दै आएका छन् । जहाँ बाह्य पर्यटक हेलिकप्टरमार्फत पुग्ने गर्दछन् ।

उनले भने, “लङ्कालाइनमा सञ्चालित रिसोर्टको विशेषता भनेकै  हिमाल, पहाड र तराई सबै भूगोलका परिकार, रहनसहन र संस्कृतिलाई एकै स्थानमा पस्किने नै हो ।” 

रिसोर्टका अर्का सञ्चालक सुशील चौधरीका अनुसार स्वस्थ रहन रिसोर्टका सबै कोठामा ‘वेलनेस प्रविधि’समेत जडान गरिएका छन् ।

उनले भने, “रिसोर्टलाई प्रविधि र सेवा सुविधाका दृष्टिकोणले उत्कृष्ट बनाउने प्रयास गरिएको छ । सबै भौगोलिक क्षेत्रअनुसारका संस्कृति, रहनसहन, जनजीवन झल्काउने तीन भिल्ला रिसोर्टमा छन् । पौडीपोखरी भिल्लाभित्रै छन् । एउटा भिल्ला सञ्चालनमा आइसकेको छ । दुई सञ्चालनको अन्तिम तयारीमा छन् ।”

उनका अनुसार दुई बिघा क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा थारु सांस्कृति झल्किने आठ कोठा पनि छन्  । रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी मलेसियन नागरिक डोनाल्ड चले निर्वाह गरिरहेका छन् ।

उनले भने, “यो रिसोर्टलाई विश्वकै नमूना रिसोर्टमध्येको एक बनाउने प्रयासमा छौँ । संस्कृति, रहनसहन, जनजीवनअनुसारको परिकार त छँदै छ । यहाँभित्र पोलिक्लिनिकसमेत छ । विश्वमा बनेका आधुनिक उपकरणको प्रयोग गरेर एलोपेथी र नेचुरोपेथीको समिश्रणमार्फत उपचारको व्यवस्थासमेत गरिएको छ ।” 

पर्यटन व्यवसायी लामा, चौधरी र राजेन्द्र महतोको साझेदारीमा सो रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाका अनुसार अत्याधुनिक रिसोर्टमा आकस्मिक स्वास्थ्य उपचारसहित हेलिप्याडको समेत सुविधा रहेको छ भने निजी भिल्ला लिएर बस्ने पाहुनाले निजी स्वीमिङ पुल, साउना, ज्याकुचीलगायतको सुविधा पाउने छन् ।

यहाँ हिमाल वरपरको स्याउका परिकार, भिर मौरीको मह, यार्सागुम्बालगायत जडीबुटी, जडीबुटीबाट निर्मित तेल, हिमाली खाद्यान्न बिक्रीका लागि राखिएका छन् । व्यवसायी लामाले भने, “ चितवनको थारु परिकार, जनजीवन रिसोर्टमा पाइन्छ । रिसोर्टमा हालसम्म ५० करोडभन्दा बढी लगानी भइसकेको छ । आगामी छ महिनाभित्रमा पूर्णरुपमा सञ्चालन आउँदै गर्दा लगानी एक अर्ब माथि नै  पुग्ने छ । ” 

यहाँ आएका पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज, सिराइचुली, देवघाटलगायतका पर्यटकीय गन्तव्यमा घुमाउने व्यवस्था मिलाएको व्यवसायी चौधरीले बताए । हालै रिसोर्टको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुभारम्भ गरेका हुन् । 

इरानका नवनिर्वाचित राष्ट्रपति पेजेस्कियनले आगामी महिना कार्यभार सम्हाल्ने

इरानका मसूद पेजेस्कियनले इस्लामिक गणतन्त्रको नवौं राष्ट्रपतिको रूपमा अगस्टको सुरुमा संसदसमक्ष शपथ ग्रहण गर्ने भएका छन् ।

“राष्ट्रपतिको शपथ ग्रहण समारोह अगस्ट ४ वा ५ मा हुनेछ,” संसदीय बोर्डका सदस्य मोजताबा योसेफीलाई उदृत गर्दै आधिकारिक इर्ना समाचार एजेन्सीले जनाएको छ ।

“राष्ट्रपतिले आफ्ना प्रस्तावित मन्त्रीहरूलाई विश्वासको मतका लागि संसदमा पेस गर्न १५ दिनको समय प्राप्त गर्नुहुनेछ ।”

नवनिर्वाचित राष्ट्रपतिले इस्लामिक गणतन्त्रका सर्वोच्च नेताद्वारा आधिकारिक अनुमोदन प्राप्त गरेपछि शपथ ग्रहण कार्यक्रम हुनेछ ।

इरानका राष्ट्रपति राज्यको प्रमुख होइनन् र राज्यको अन्तिम अधिकार सर्वोच्च नेतासँग रहन्छ । इरानका सर्वोच्च नेताको आयातोल्लाह अली खामेनीले विगत ३५ वर्षदेखि पदभार सम्हाल्दै आएका छन् ।

मे महिनामा हेलिकप्टर दुर्घटनामा इब्राहिम रायसीको मृत्यु भएपछि राष्ट्रपति पदका लागि भएको दुई चरणको चुनावमा शुक्रबार पेजेस्कियनले जित हासिल गरेका हुन् ।

इरानी पत्रपत्रिकाले आइतबार पहिलो पृष्ठमा पेजेस्कियनको फोटोहरू प्रकाशित गरेर नवनिर्वाचित राष्ट्रपतिको नेतृत्वमा ऐक्यबद्धता जनाउन आह्वान गरेका छन् ।

झापा र भोजपुर कोशी प्रदेशस्तरीय महिला फुटबलको फाइनलमा

खोटाङ । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर प्रवेश गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आइतबार भएको सेमिफाइनल खेलमा झापा ताप्लेजुङलाई शून्यका विरुद्ध छ तथा भोजपुर ओखलढुङ्गालाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

झापाको जितका लागि जर्सी नं ८ की खेलाडी जेनिफर रानामगर एक्लैले छ गोल गर्न सफल भएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए । पहिलो हाफको १४, १६, २७ र २९औँ मिनेट तथा दोस्रो हाफको १७ र २०औँ मिनेटमा छ गोल गर्न सफल जेनिफर प्रतियोगिताको ‘म्यान अफ दी म्याच’समेत घोषित भएकी छन् ।

झापा आजै भएको क्वाटरफाइनल खेलमा तेह्रथुमलाई शून्यका विरुद्ध चार गोल गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै, भोजपुरको जितका लागि पहिलो हाफको तीन मिनेटमा जर्सी नं ११ की खेलाडी आशिका कार्की र छैटौँ मिनेटमा जर्सी नं १५ की खेलाडी सविना तामाङले एक÷एक गोल गर्न सफल भएको आयोजकले जनाएको छ । भोजपुर र ओखलढुङ्गाबीचको सेमिफाइनल खेलको ‘म्यान अफ दी म्याच’ भने भोजपुरकी जर्सी नं १४ की खेलाडी आरती भुजेल घोषित भइन् ।

जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सञ्चालित कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेल यही असार २५ गते दिउँसो १ बजेदेखि सुरु हुने छ । यही असार २० गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका महिला खेलाडी सहभागी छन् ।

देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति

काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बास्कोटाले जानकारी दिए ।

सोही समयमा आठवटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको छ । चालु आवमा देशभरिका विभिन्न एक सय सात खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको सूचना अधिकारी बास्कोटाले बताए ।

यस्तै, दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलिङ कार्य सञ्चालन भइरहेको विभागले जनाएको छ । हालसम्म नौ सय ५१ मिटर ड्रिलिङ कार्य सम्पन्न भइसकेको छ ।

विभागले चालू आर्थिक वर्ष देशका विभिन्न भूभागमा चार रेक्टर स्केलभन्दा माथिका ५७ भूकम्प मापन भएको समेत जनाएको छ । विभागले यस अवधिमा गोरखाको बारपाकमा भूकम्प तथा पहिरोसम्बन्धी अभिमुखीकरण, मधेस प्रदेशअन्तर्गत जीतपुर सिमरा र आसपासका क्षेत्रको भूइन्जिनियरिङ तथा भूवातावरणीय अध्ययन गरिएको पनि बास्कोटाले जानकारी दिए ।

विभागले पहिलो चरणमा सुर्खेतस्थित चुनढुङ्गा खानीको प्रवद्र्धन सम्पन्न गरेको र उक्त समयमा ५८ करोड ७४ लाख राजस्व सङ्कलन गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन कांग्रेस र एमालेको आग्रह

सुदूरपश्चिम । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन माग गरेका छन् ।

आइतबार संयुक्त विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दल र एमाले संसदीय दलले मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन् । केन्द्रमा भएको समीकरण परिवर्तनसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको र सोडारी सरकार कामचलाउ भइसकेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाजबाहेक अन्य कुनै पनि कार्य सम्पादन नगर्न र नगराउनसमेत आग्रह गर्दछौं ।’

नेकपा एमाले, माओवादी, र नागरिक उन्मुक्ति पार्टीको रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका नेता सोडारी असार २० गते एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका छन् ।

जुनमा बङ्गलादेशको मुद्रास्फीति दोहोरो अङ्कको नजिक

बङ्गलादेशको मुद्रास्फीति जुन महिनामा केही कम भए पनि उपभोक्ता मूल्य निरन्तर उच्च रहेकाले दोहोरो अंकको हाराहारीमा रहेको छ ।

बङ्गलादेशको तथ्याङ्क विभाग (बीबीएस) को पछिल्लो तथ्याङ्कअनुसार मुद्रास्फीति मे महिनाको तुलनामा जुनमा मुद्रास्फीतिमा सामान्य कमी भएको अर्थात् ९.८९ प्रतिशतबाट ९.७२ प्रतिशतमा झरेको छ ।

बीबीएसले सार्वजनिक गरेको उपभोक्ता मूल्य सूचकाङ्कअनुसार खाद्य मुद्रास्फीति अघिल्लो महिना १०.७६ प्रतिशत रहेकोमा जुन महिनामा केही घटेर १०.४२ प्रतिशतमा झरेको छ ।

गैरखाद्य वस्तुको मुद्रास्फीति मार्चमा ९.१९ प्रतिशत रहेकोमा जुनमा घटेर ९.१५ प्रतिशतमा झरेको छ ।

आर्थिक वर्ष २०२३/२४ (सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म) मा देशको औसत मुद्रास्फीति ९.७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षको बजेट लक्ष्य ७.५ प्रतिशतभन्दा धेरै बढी हो ।

अघिल्लो आर्थिक वर्षमा बङ्गलादेशको समग्र मुद्रास्फीति ९.०२ प्रतिशत रहेको थियो । बङ्गलादेशको संसद्ले गत जुन ३० मा आर्थिक वर्ष २०२४/२५ का लागि ७.९७ ट्रिलियन टाका (६८ अर्ब अमेरिकी डलर) को राष्ट्रिय बजेट पारित गरेको थियो ।

आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ का लागि ६.५ प्रतिशत रहेको मुद्रास्फीति दरलाई संशोधन गरी छ प्रतिशत कायम गरिएको छ ।

श्रीलङ्का सरकारको ऋण स्टकमा कमी

श्रीलङ्काको सरकारी ऋण स्टक सन् २०२३ डिसेम्बरदेखि सन् २०२६ अप्रिलसम्म आठ खर्ब रुपैयाँ (दुई अर्ब ६० करोड अमेरिकी डलर) ले घटेको एक राज्यमन्त्रीले आइतबार बताएका छन् ।

अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले सामाजिक सञ्जाल पोष्टमा विदेशी कर्जा स्टक नौ दशमलव दुई प्रतिशतले उल्लेखनीयरूपमा कमी भएको बताए । देशको कुल आन्तरिक ऋण स्टक एक दशमलव आठ प्रतिशतले थोरै बढेको उनले उल्लेख गरे ।

आन्तरिक ऋणमा भएको यो वृद्धि केन्द्रीय बैंकको आर्थिक सहयोगबिना बजेट व्यवस्थापन गर्ने प्रयासको परिणाम हो भने विनिमय दर सुदृढ भएकाले विदेशी ऋणको स्टक घट्न सहयोग पुगेको उनले बताए ।

१४ किलो चाँदीका गहनासहित काठमाडौंमा तीनजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ ।

चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह तथा पर्साको लिपर्नीबिर्ता–६ का ३४ वर्षीय श्रवणप्रसाद कानुनलाई पक्राउ गरिएको सिआइबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले काठमाडौँको सानो गौचरनस्थित अटो सर्भिसेज प्रालिको अटो वर्कशपभित्र रोकी राखेको अवस्थामा भारतीय नम्बरको बिआर ०६ यु ९०५३ नम्बरको कार चेक गर्दा उक्त कारको डिकीमा लुकाईछिपाई राखेको अवस्थामा सो परिणामको चाँदीको गरगहना बरामद गरेको थियो ।

सिआइबीले अवैध चाँदीका गहना र सोको भण्डारण र बिक्रीवितरणमा संलग्नलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

ललितपुरबाट काठमाडौँतर्फ आउँदै गरेको सो भारतीय नम्बरको कारमा अवैध रुपमा चाँदीको गरगहना ल्याई अवैध रुपमा काठमाडौँका विभिन्न स्थानमा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा सिआइबीले यही असार २१ गते उनीहरुलाई पक्राउ गरेको थियो ।

एकीकृत समाजवादीको केन्द्रीय सदस्य सिफारिस गर्ने जिम्मेवारी प्रदेशलाई

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले सबै प्रदेशका इञ्चार्ज र सचिवलाई केन्द्रीय सदस्यको नामावली सिफारिस गर्ने जिम्मेवारी दिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आइतबार बसेको बैठकले भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर क्षमताका आधारमा सम्बन्धित प्रदेशले केन्द्रीय कमिटी सदस्यको नाम केन्द्रमा पठाउन जिम्मेवारी प्रदान गरेको नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । 

सबै प्रदेशबाट सिफारिस गरिएका सदस्यको अन्तिम टुङ्गो केन्द्रीय कमिटीले लगाउने छ । बैठकमा बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने विषय र मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिएको थियो ।

पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ । 

शुक्रबार सम्पन्न नेकपा एसको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिवसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

भुटानी नरेशसँग सार्क महासचिवको शिष्टाचार भेट

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गोलाम सरवारले भुटानका नरेश जिग्मे खेसर नाम्गेल वाङचुकसँग शिष्टाचार भेट गरेका छन् । हालै भुटानमा भएको उक्त भेटमा उनीहरुबीच सार्कका गतिविधि र आगामी योजनाका सम्बन्धमा छलफल भएको सार्क सचिवालयले जनाएको छ । 


सार्कको नयाँ महासचिवमा सरवारको भूमिकाको प्रशंसा गर्दै भुटानी नरशले सार्कलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।


त्यस अवसरमा उनीहरुबीच सार्क क्षेत्रका जनताको बृहत्तर समृद्धिका लागि गरिएको परिकल्पनालाई साकार बनाउन र उद्देश्य प्राप्तिका दिशामा सार्कलाई अघि बढाउने बारेमा विचार आदानप्रदान गरेको सचिवालयले जनाएको छ । 


यही असार १८ देखि २२ गतेसम्म गरेको भुटान भ्रमणका क्रममा महासचिव सरवारले सार्क विकास कोष (एसडिएफ) को सचिवालयको अवलोकन गरी सार्कका आठवटै सदस्य राष्ट्रमा एसडिएफका आयोजनामा आधारित गतिविधिका बारेमा पनि छलफल गर्नुभएको सचिवालयले आइतबार जारी गरेको  विज्ञप्तिमा जनाइएको छ ।  

विपद प्रभावितको जिउधनको रक्षाका निम्ति सम्पूर्ण शक्ति लगाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण शक्ति लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

आइतबार सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन् ।

बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

“विपद् व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ । उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौँ,” प्रधानमन्त्रीले भने, “यस वर्ष विपद्बाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ ।”

केही दिन अगाडि मात्रै आफूले उच्चस्तरीय विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक बोलाएर सबै सरकारी निकायबीच समन्वय गरेर जनताको जिउधनको सुरक्षामा खटिन निर्देशन दिएको बताउँदै प्रधानमन्त्रीले भने, “वर्षा जारी छ, अझै क्षति हुन सक्छ । सडक अवरूद्ध हुन सक्छन् । त्यसैले उद्धार एवं राहतका काममा सक्रियतापूर्वक लागौँ।”

सम्भावित जोखिमप्रति सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दै प्रधानमन्त्रीले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग आग्रह गरे ।

विपदका घटनामा परी एक महिनामा ६२ जनाको मृत्यु

काठमाडौं ।  मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु भएको छ। चार जना बेपत्ता भएका छन् भने ९० जना घाइते भएका छन्।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो।

केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एकगरी नौ जनाको मृत्यु भएको छ। बाढीकै कारण दुई जना बेपत्ता छन्। पाँच घरमा पूर्ण रुपमा क्षति पुगेको छ। ११ घरमा आंशिक क्षति भएको छ।

पहिरोका कारण ३४ जनाले ज्यान गुमाएका छन्। पहिराले दुई जना बेपत्ता र ३८ जना घाइते भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। पहिरोले ४३ घर पूर्ण रुपमा क्षति भएको छ। २४ घरमा आंशिक क्षति पुगेको छ। १९ वटा गोठमा क्षति भएको छ भने १२ जना घाइते भएका छन्। ११ घर पूर्ण रुपमा र छ घर आंशिक रुपमा क्षतिग्रस्त छन्।

बाढी र पहिराले हालसम्म आठ करोड छ लाख बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। चट्याङ्बाट १९ जनाको मृत्यु र ३५ जना घाइते भएका छन्।

‘बाढी, पहिरो, डुबान, चट्याङजस्ता मनसुनजन्य घटना अझै बढ्दो क्रममा छ, क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अगाडि बढिरहेका छौँ’, प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भने, ‘यस वर्ष सरदरभन्दा बढी पानी पर्ने र १८ लाख मानिस प्रभावित हुने आँकलन गरिएको छ, तसर्थ सतर्कता अपनाउन जरुरी छ।’
उनका अनुसार यस वर्षको मनसुन अवधिमा चार लाख १२ हजार घरधुरी मनसुनजन्य विपद्बाट पर्ने आकलन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनील पोखरेलले सोमबारदेखि मुलुकभर बाढीको जोखिम कम हुने जानकारी दिए।

‘आज दिउँसो २ बजेसम्मको तथ्याङ्कअनुसार कुनै पनि नदी बाढीको खतरा तहमा पुगेको छैन, मुलुकको विभिन्न नौ वटा नदीहरु सतर्कता तहमा छ’, उनले भने, ‘क्रमिक रुपमा नदीमा पानीको प्रवाह घटिरहेको छ, भोलिदेखि बाढीको खतरा तत्कालका लागि टर्नेछ।’

गृह मन्त्रालयको नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलअनुसार एक सातामा मुलुकको एक सय १० स्थानमा पहिरो गएको छ। बाढी जस्तै पहिराको पूर्वसुचनालाई प्रभावकारी बनाउन आवश्यक रहेको भू–गर्भविद् डा सुवोध ढकालले बताए।

‘राजमार्गमा पहिराको सम्भावना बढी हुने भएकाले यात्रा गर्दा विशेष ध्यान दिऊँ। जमिन चिरा देखिएमा तत्काल खाँदेर पुर्ने र पानी तर्काउने काम गरौँ, नसकेमा सुरक्षित स्थानमा बस्ने, जथाभावी भल बग्ने गरेको छ भने सामान्य कुलो बनाई पानीलाई एकीकृत गरी तर्काउनुपर्छ’, उनले भने, ‘तपाईं बस्ने स्थानमा पहिले पहिरो गएको छ भने निरन्तर निगरानी गर्ने, सुरक्षित स्थानमा बस्ने, जमिन अथवा पहरोमा अनौठो किसिमको कटकट आवाज सुनियो भने पहिरोको संकेत हुनसक्ने भएकाले सतर्क रही सूचना दिनुपर्छ।’

उनका अनुसार सुकिसकेका कुवा धारामा एक्कासी पानी आउन थाल्यो वा पानी आउने धारा कुवामा पानी सुक्न थाल्यो भने जमिन हलचलको सङ्केत हुनसक्छ।

२७ सडकखण्ड अवरुद्ध
ललितपुरस्थित बागमती गाउँपालिकामा गएको पहिराले कान्ति लोकपथ पूर्ण रुपमा अवरोध भएको छ। सङ्खुवासभास्थित मकालु गाउँपालिकामा गएको बाढीले दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सङ्खुवासभाकै भोटखोला गाउँपालिकामा बाढीले कोशी रोजमार्ग पूर्ण रुपमा अवरुद्ध छ। सुनसरी बराहक्षेत्र नगरपालिका–१ मा गएको पहिराले चतरा–बराहक्षेत्रको भित्री सडक अवरुद्ध छ।

रसुवास्थित आमाछोदिङ्गो गाउँपालिका–५ मा गएको पहिराले स्याफ्रुबेसी–थाम्बुचेत सडकखण्ड पनि पूर्ण रुपमा अवरुद्ध भएको छ। चितवनस्थित इच्छाकामना गाउँपालिका–३ मा गएको पहिरोले पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन छ।

मकवानपुरस्थित भीमफेदी गाउँपालिका–४ मा गएको पहिरोले भिमफेदी–काठमाडौँ–हेटौँडा राजमार्ग एकतर्फी सञ्चालन छ। सोही गाउँपालिका–८ को पहिराले कान्ती लोकपथ एकतर्फी सञ्चालन छ। काभ्रेको रोशी गाउँपालिकामा गएको पहिराले बिपी राजमार्ग एकतर्फी सञ्चालन भएको छ।

मनाङको चामे गाउँपालिकामा गएको बाढीले चामे–बेंसीसहर सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। म्याग्दी बेनी नगरपालिका–४ मा गएको पहिराले बेनी–दरबाङ सडक अवरुद्ध छ भने कुश्मा नगरपालिकामा गएको पहिराले बेनी–जोमसोम सडक अवरुद्ध छ।

पर्वतको मुलढुङ्गा बेनी सडक र सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालन छ। तनहुँको म्याम्दे गाउँपालिकामा गएको पहिरोले पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन छ। नवलपरासीपूर्वको कालीगण्डकी करिडोर र बागलुङको मध्यपहाडी लोकमार्ग पहिरोकै कारण पूर्ण रुपमा अवरुद्ध छ।

प्यूठानको स्याउलीवा बाग्दुला र भालुवाङ दाङ प्यूठान सडकखण्ड बाढी, पहिराका कारण अवरुद्ध छ। यसैगरी पाल्पाको सिद्धार्थ राजमार्ग, तम्घास–बुटबल सडक, कालीगण्डकी करिडोर एकतर्फी सञ्चालन भएको छ।

गुल्मीको रिडी–बाग्लुङ सडकखण्ड, कालीगण्डकी करिडोर सडक, मदन भण्डारी राजमार्ग र अर्घाखाँचीस्थित गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड, पाल्पा अर्घाखाँची सडकखण्ड पनि अवरुद्ध छ। रोल्पाको सहिद राजमार्ग अवरुद्ध छ। दाङको घोराही–तुल्सीपुर सडकखण्ड एकतर्फी भएको छ।

कालीकोटको कर्णाली राजमार्ग अवरुद्ध छ। अछामको साँफे–मार्तडी, बैतडीको जयपृथ्वी राजमार्ग र डडेल्धुराको भीमदत्त राजमार्ग पूर्ण रुपमा अवरोध पुगेको छ। बैतडीको बझाङ–खोड्पे बैतडी सडकखण्ड र बाजुराको साँफे मार्तडी सडकखण्ड भने एकतर्फी रुपमा सञ्चालन रहेको नेपाल प्रहरीले जनाएको छ। 

५२ वटा रोग सङक्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ ।

सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो ।

सङ्क्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी, हात्तिपाइले स्क्रब टाइफस, कालाजार, रुबेलालगायतका रोगहरु रहेका छन् ।

यस्तै, हात्तीपाइले, साल्मोनेलोसिस, क्रिमियन काङगो हेमोरेजिक, मारबर्ग भाइरल डिजिज्, सार्स, कमलपित्त ए, एमईआरएस, प्लेग, लिजियोनेलोसिस, इचिनोकोकोसिस, भ्यागुते रोगलाई पनि संक्रामकको सूचीमा राखिएको छ ।

सरकारले निमोकोकल निमोनिया, कमलपित्त बी, औलो ज्वरो, एच इन्फ्लुएन्जा, ब्रिसेलोसिस, कुष्टरोग, लहरे खोकी, कमलपित्त सी, निपाह भाइरस इन्फेक्सन एमपक्स, बिफर, येल्लो फिवर, कमलपित्त इ, सिटिस्टसकोसिस, चिननगुनिया, जिका, क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवरलाई संक्रामक रोगको सूचीमा राखेको छ ।

सङ्क्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचिकृत गरिएको जानकारी दिए । उनले ती रोगले हुन सक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचिकृत गरिएको जानकारी बताए ।

नेप्सेमा २१ अंकको बृद्धि,  ६ अर्ब भन्दाबढीको कारोबार

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिँदा कारोबार रकम ६ अर्ब नाघेको छ । नेप्सेका अनुसार आइतबार परिसूचक २१ दशमलव २७ प्रतिशतले बढेर दुई हजार एक सय ४० दशमलव ९७ विन्दुमा कायम भएको हो ।

आइतबार तीन सय २५ कम्पनीको एक करोड ४० लाख १४ हजार छ सय २२ कित्ता शेयर ८० हजार आठ सय ३८ पटक खरिदबिक्री हुँदा रु छ अर्ब २९ लाख ३१ हजार आठ सय ५४ बराबरको कारोबार भएको छ ।

विकास बैंक समूह शून्य दशमलव २४, वित्त समूह दुई दशमलव ०७ र व्यापार समूह दुई दशमलव २३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ शून्य दशमलव ७८, होटल तथा पर्यटन दुई दशमलव ९६, जलविद्युत् शून्य दशमलव ०१, लगानी एक दशमलव ८५ र जीवन बीमा एक दशमलव ५२ प्रतिशतले बढेको छ ।

उत्पादन तथा प्रशोधन एक दशमलव १७, लघुवित्त एक दशमलव ४६, म्युचुअल फण्ड शून्य दशमलव ३२, निर्जीवन बीमा एक दशमलव ३२ र अन्य समूहको उपसूचक दुई दशमलव २५ प्रतिशतले बढेको छ ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै पाँच दशमलव २५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २१ करोड ७१ लाख ४८ हजार आठ सय एक बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको चार लाख ७५ हजार सात सय ३० कित्ता शेयर किनबेच भएको छ ।

माओवादी सांसदको प्रश्नः प्रधानमन्त्रीसँग बसेर नर्क गएपनि सँगै र स्वर्ग गएपनि सँगै जाने भनेको यही हो नैतिकता ?

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच सरकारमा सहभागी ठूलो दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिनुपर्ने वा संविधानको व्यवस्थाअअनुसार तीस दिनभित्र विश्वासको मत लिनुपर्ने भन्नेमा तर्कवितर्क भएको छ ।

बैठकमा विपक्षी बेञ्चमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरुले वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् भने सत्तापक्षीय दल नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) का सांसदले संवैधानिक प्रक्रियाअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने दोहोर्याएका छन् ।

यही असार १७ गते नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले वर्तमान सरकारले दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय गर्न नहुनेमा दुवै दलका सांसदले जोड दिएका छन् ।

नेकपा (एमाले)का योगेशकुमार भट्टराईले जनताका समस्या समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यको समझदारी भएको बताए । “देशमा लगानीको वतावरण बनाउन, बिग्रदै गएको अर्थतन्त्रलाई सुधार्न, युवावर्गका बाह्यमुलुकतर्फको गमन रोक्न र संविधान पुनरावलोकन गर्न दुई दलले सहकार्यको निर्णय गरेका हुन्”, उनले भने ।

कांग्रेसका सांसद डिगबहादुर लिम्बूले राजनीतिक क्षेत्रमा नयाँ परिस्थिति निर्माण भएको उल्लेख गर्दै अब बन्ने सरकारले जनचाहनाअनुसार काम गर्ने विश्वास व्यक्त गरे ।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले नयाँ सत्ता समीकरणले मुलुकमा स्थायित्व कायम गर्न नसक्ने दाबी गरे । “दुई दलबीचमा के कस्ता सम्झौता भए, त्यो सार्वजनिक भएको छैन”, उनले भने, “प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि संसदमा प्रस्ताव दर्ता गराइसक्नुभएको छ । संवैधानिक प्रक्रियामा गएकालाई कसैले पनि रोक्नु हुँदैन ।”

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई छल गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘दिनभरी प्रधानमन्त्रीसँग बसेर नर्क गएपनि, स्वर्ग गएपनि सँगै जाउँला भन्ने, ललितपुरमा ड्राफ्ट गर्नका लागि आफ्ना नेतालाई खटाउने यो कहाँको नैतिकता हो ? आजको दिनसम्म औपचारिक हस्ताक्षर गरेर भएको सम्झौतालाई बाहिर ल्याउनु भएको छैन । त्यहीँ अपारदर्शीता छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सिङ्गो मुलुक विपदमा परेका बेला जिम्मेवार भनिएका राजनीतिक दलहरु आफ्ना स्वार्थमा अल्झेका आरोप लगाए । “विपद्का बेला सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा दुई ठूला दल सरकार परिवर्तनमा लाग्नु विडम्बना हो ”, सांसद पराजुलीले भने ।

सोमबारदेखि सरकारी खाता रोक्का, चालु आर्थिक वर्षको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार

काठमाडौँ । यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् ।

 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए । 

‘सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्’, रिजालले भने, ‘कानुनमै उल्लेख भएको विषय भएकाले मलेनिकाले यसवर्ष प्रलेनिका र कोलेनिकालाई खाता बन्द गर्न परिपत्र गरेको छैन । तर भोलि रातिदेखि बजेट भुक्तानी हुँदैन ।’

सङ्घ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले भोलिसम्ममा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने पनि उनले बताए ।
     
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ ।

विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने मलेनिकाको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ ।

राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन् ।

राष्ट्रपति पौडेलले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा आइतबार आयोजित एक समारोहमा महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान् जगन्नाथको पूजाअर्चना गरेका थिए ।

इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन काठमाडौँमा रथयात्रा गर्दै आएको छ । द्वापरयुगमा गोपिनीहरुले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा गर्न थालिएको इस्कोनका सचिव रुपेश्वर गौरवदासले जानकारी दिए । आजका दिन नेपाललगायत एक सय ६५ देशमा रथ यात्रा आयोजना गरिएको उनले सुनाए ।