`

प्रचण्डजीले सत्ताको खेल बुझ्न भएनः अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादीले यसअघि कांग्रेससँगको समीकरण तोडेको परिणाम अहिले देखिएको बताएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष केसीले कांग्रेससँग समीकरण तोडेपछि एमालेले खेल्ने ठाउँ पाएको र अहिलेको अवस्था आएको बताएका हुन् ।

उनले अहिलेका प्रधानमन्त्रीलाई पाँच वर्षको लागि सत्ता र शक्तिमा राख्न एमालेले सहकार्य नगरेको भन्दै प्रचण्डले सत्ताको खेल बुझ्न नसकेको बताए ।

उनले भने,’पुस १० गते तपाई जहाँ पुग्नुभयो, त्यही दिनदेखि दशा शुरु भएको थियो । अहिलेको प्रधानमन्त्रीले बुझनु भएन खेल । लाटो खान्छ एक बल्डयाङ, बाठो खान्छ तीन बल्ड्याङ भनेजस्तै तपाईले बल्ल भोग्नु भयो । बुढानीलकण्ठ छोडेर बालकोट पुगेको परिणाम अहिले भोगिरहनु भएको छ । अब दुई वटा ठूलो पार्टी मिसिएपछि हुनेवाला केही छैन, मुखको तितो मात्रै पोख्ने कुरा हो ।’

माओवादीसँगको समीकरणपछि एमालेले मन्त्रिमण्डलमा पठाएका व्यक्ति हेर्दा समीकरण लामो समय नजाने आँकलन सबैले त्यसबेला गरेको उनले बताए। अहिले कांग्रेस–एमालेबीचको सहमतिपछि प्रचण्डको हातबाट सत्ता फुत्किसकेको टिप्पणी गर्दै अब हुनेवाला केही नभएको उनले बताए ।

केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं ।  राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ। समितिले मंगलबार निर्माणाधीन पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिटाे निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो।

समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिए। समितिले दोस्रोपटक पुस्तकालय भवनको निरीक्षण गरेको हो।

त्यस अवसरमा समितिलाई हालसम्म ८० प्रतिशत प्रगति भएको जानकारी गराइएको थियो। ०७२ को गोरखा भूकम्पमा क्षतिग्रस्त केशर पुस्तकालयको भवन ०७६ बाट प्रबलीकरण (रेट्रोफिटिङ) सुरु गरिएको थियो। दुई वर्षभित्र कार्य सम्पन्न गर्ने भनिए पनि ६ वर्षसम्म पनि पूरा नभएकामा सांसदहरूले आपत्ति जनाएका थिए।

समितिका सभापति शर्माले निर्माणमा भएको ढिलाइ र बाँकी काम कहिले सकिन्छ भनेर प्रश्न गरेकामा पुस्तकालय प्रमुख यादवले भवनको सिलिङ राख्न केही ढिलाइ भएको जवाफ दिए। त्यसका लागि बोलपत्रको समय नौ महिना थप गरिएको उनले जानकारी दिए।

यादवका अनुसार पुस्तकालयमा पुरातात्त्विक र नयाँ गरी ६५ हजार पुस्तक संरक्षित छन्। यहाँ एक हजार एक सय ५० वर्ष पुरानो हस्तलिखित ग्रन्थहरू छन्। यिनको ‘डिजिटलाइज’ गर्ने कार्य भइरहेको उनले जानकारी दिए। 

नेप्सेमा दोहोरो अंकको बृद्धि

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । मंगलबारको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले जनाएको छ ।

विभिन्न तीन सय १६ कम्पनीका ११ लाख ६६ हजार एक हजार दुई सय आठ कित्ता शेयर  पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार आठ सय ८५ मा कारोबार भएको छ ।

आजको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नौ दशमलव ७९ र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य नौ दशमलव १५ प्रतिशतले बढेको छ ।

त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२को शेयर मूल्य पाँच दशमलव ४७, नेपाल फाइनान्सको चार प्रतिशत, बोटलर्स नेपाल (बालाजु)को शेयर मूल्य तीन दशमलव ९० प्रतिशतले घटेको छ ।

पहिरोमा परी त्रियुगामा एकजनाको मृत्यु, दुईजना घाइते

उदयपुर  । गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र उनका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् । गम्भीर भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

तोरीबारीमा पहिरोले चार घर पुरेको छभने अन्य पाँच घर उच्च जोखिममा छन् ।

मुगुस्थित रारा विमानस्थलमा सात दिनपछि हवाई उडान सञ्चालन

मुगु । मुगुस्थित रारा विमानस्थलमा मंगलबारदेखि हवाई उडान सञ्चालन भएको छ । अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान मंगलबारदेखि पुनः सञ्चालनमा आएको हो ।

रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एयरले उडान गरेका हुन् । हवाई उडान नहुँदा यात्रुहरु मुगुमै बस्न बाध्य थिए ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लाग्दा हवाई उडान अवरुद्ध हुँदै आएको थियो ।

‘गाडीबाट जाउँ भने बाटो बिग्रेको छ, जहाज आउँदैन । सात दिनदेखि सुर्खेत जान तयार भएको थिएँ बल्ल आज मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाइयो खुसी लाग्यो’, छायाँनाथ रारा नगरपालिका गमगढीका नौलासिंह नेपालीले भने ।

मिसेस व्यूटी क्वीनका लागि दोस्रो अडिसनबाट १५ जना छनौट

काठमाडौं । विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न भएको छ । उक्त अडिसनवाट १५ जना छनौट गरिएको छ ।

उपत्यका लगायत मोफसलका विभिन्न ठाउबाट काठमाडौं आएका १९ वर्षदेखि ५० वर्षसम्मका विवाहित महिलाहरुलाई मध्यनजर गर्दै अडिासन कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन् ।

विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको उनले बताइन् ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौंमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि आवेदन फारम पनि खुल्ला गरेको छ ।


नैतिकताको पाठ नसिकाउन एमालेलाई माओवादीको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमालेलाई नैतिकताको पाठ नपढाउन चेतावनी दिएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद दाहालले दुई–दुई पटक संसद बिघटन गर्नेहरुले नैतिकताको कुरा गर्न नसुहाउने बताएका हुन् ।

प्रधामन्त्रीले विश्वासको मत लिन पाउने व्यवस्था संविधानमा रहेपछि राजीनामाको बिषयलाई नैतिकतासँग जोडेर अभिव्यक्ति आएका भन्दै आपत्ति जनाए । दाहालले एमालेको प्रस्तावकै कारण यसअघि प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्दै एमालेसँग सहकार्य गरेको बताए ।

उनले कांग्रेस–एमालेबीच भएको सहमति बदनियतपूर्ण रहेको आरोप पनि लगाए । दाहालले बेचन झा पक्राउपछि सत्ता समीकरण परिवर्तनको अवस्था सिर्जना भएको दाबी गरे ।

उनले भने, ‘बेचन झा को हुन् हामीलाई थाहा छैन ? नेपाली जनतालाई थाहा छ । बेचैन झा को हुन् त्यो राम्रोसँग बालकोटलाई पनि थाहा छ बूढानीलकण्ठलाई पनि थाहा छ । बेचैन झा पक्राउ परेपछि अहिले बयान नलिनुस्, असार २८ गतेपछि मात्र लिनुस् भनेर फर्मान जारी भएको विषय पनि बजारमा आएको छ ।’

उनले एमाले–माओवादी केन्द्रको समीकरण भत्किनुका कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताए ।

संविधान संशोधनको विषय सहजै स्वीकार गर्न सकिँदैनः सांसद यादव

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र राय यादवले संविधान संशोधनको विषय गम्भीर र जटिल भएको भन्दै त्यसलाई सहजै स्वीकार्य गर्न नसकिने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद यादवले संविधान संशोधनको विषय गम्भीर र जटिल भएकाले सहजै स्वीकार्य नहुने बताएका हुन् ।

उनले भने, ‘संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी संविधानका चारवटा पिल्लर हुन् । तर समानुपातिक र समावेशिताको विषय हटाउने कुराको आएको छ । त्यो स्वीकार्य हुन सक्दैन ।’

उनले नयाँ सरकार संविधानको धारा ७६ को (३) अनुसार गठन हुने दाबी गरे । सांसद यादवले उपधारा (३) अनुसार सरका गठन हुने भएकाले असार २८ गतेसम्मका लागि प्रतिपक्षीका सांसदहरूलाई धैर्य गरेर बस्न आग्रह गरे ।

उनले भने, ‘अहिले वर्तमान अवस्थामा सरकार ७६ ( २) ले बनेको छ। स्वभाविक रुपमा सरकार अल्पतमा पर्दाखेरी संसदमा विश्वासको मत लिनु वैधानिक प्रक्रिया हो। विश्वासको मत पाउनु भएन भने स्वतःउपधारा (३) अनुसार अर्को सरकार बन्छ।।’

सांसदहरुद्वारा बाढीपहिरो पीडितको राहत र उद्दारमा ध्यान दिन सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरूले बाढीपहिरोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको  बैठकमा सांसद अनिता देवीले बाढीपहिराले देशका विभिन्न स्थानमा यातायात अवरुद्ध, पठनपाठन ठप्प, खेतीयोग्य जमिन पानीमा डुबानमा परेका बताउँदै यस्तो अवस्थामा सरकारले के गरिरहेको छ भनी प्रश्न गरिन्।

सांसद अम्बरबहादुर रायमाझीले अविरल वर्षाका कारण उदयपुरका विभिन्न गाउँपालिकामा सडक र विद्युत् सेवा अवरुद्ध, खानेपानी, टेलिफोन सेवा बन्द भएकाबारे सरकारको ध्यानाकर्षण गराए ।

सांसद ईश्वरीदेवी न्यौपानेले बाढीपहिराले वितण्डा मच्चाएका बेला सरकारको नेतृत्व गरेका दलहरूको ध्यान सरकारको आयु लम्ब्याउनमा केन्द्रित भएको आरोप लगाइन् । उनले विपद् आउनुअघि नै पूर्व तयारीका लागि खासै काम नगरेकाले बढी समस्या भएको धारणा राखिन्।

सांसद किरणकुमार साहले दक्षिण कोरियामा रहेका लाखौँ नेपाली युवाले महँगो हवाई टिकटबारे श्रममन्त्रीलाई ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाइ नभएको उल्लेख गर्दै कोरिया जाने श्रमिकको भाडादर पुनरावलोकन गर्न सरकाररसँग आग्रह गरे ।

सांसद कुसुमदेवी थापाले असहाय, शारीरिकरूपमा कमजोर बालबालिकालाई राज्यले संरक्षण दिए पनि बालिग भएपछि व्यवस्थापन गर्ने विषयमा आवश्यक स्पष्ट नीति नभएकाले सोसम्बन्धी व्यवस्था गर्न जरूरी रहेको धारणा राखिन् ।

सांसद गङ्गाप्रसाद यादवले अविरल वर्षाका कारण धेरै जनधनको क्षति भइरहे पनि सरकारले आवश्यकतानुसार काम गर्न नसकेको बताए । सांसद चन्दा चौधरीले वर्षाका कारण भएको धनजनको क्षतिबारे गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए ।

सांसद अच्युतप्रसाद मैनालीले मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई थप विस्तार र व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद अमृतलाल राजवंशीले सरकार अल्पमतमा परेको र संवैधानिक तथा नैतिक अधिकार नभएकाले छिटोभन्दा छिटो राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए ।

सांसद उर्मिला माझीले अहिले संसद्का दुई ठूला दल मिलेर नयाँ सरकार बनाउने सहमति गरेका र संविधान संशोधनमार्फत परिवर्तनलाई नै चुनौती दिनसक्ने आशङ्का व्यक्त गरे । सांसद एकनाथ ढकालले पूर्वसासंदको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

सांसद कान्तिका सेजुवालले स्थानीय तह र प्रदेशले गर्ने कारोबारको भुक्तानी गर्ने ‘सफ्टेवयर’ सोमबार राति १२ बजेबाट बन्द भएको बताउँदै वर्षाको समयमा विद्युतीय कारोबार गर्न आवश्यक सफ्टवेयर सञ्चालनका लागि आग्रह गरिन् ।

सांसद गोमा लाभ (सापकोटा) ले विपद्को बेला सरकारको आश नगरी दुःख परेको बेलामा उद्धार र राहतमा मद्दत पुर्याउने गरी आफ्नो पारिश्रमिकबाट प्रति महिना केही रकम छुट्याएर सङ्घीय सांसद राहत कोष स्थापना गर्न आग्रह गरे ।

सांसद चन्द्रबहादुर विश्वकर्माले देशका विभिन्न स्थानमा यातायात अवरुद्ध भएकाले तत्काल यातायात सञ्चालनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षाण गराए ।

सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले नेकपा (माओवादी केन्द्र) ले संविधानको पालना गर्ने बताउँदै प्रधानमन्त्रीले संविधानअनुसार नै विश्वासको मत लिँदासम्म अन्य दललाई धैर्य गर्न आग्रह गरे । सांसद छिरिङ डम्डु लामा भोटेले कांग्रेस र एमालेबीच भएको नयाँ गठबन्धनले भ्रष्टाचार र अनियमितताका फाइल खोलेर छानबिन गर्न सक्नुपर्ने बताए ।

सांसद जावेदा खातुन जागाले वर्षाका कारण बाढीपहिराबाट प्रभावितको उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

एमाले सचिवालय बैठक बुधबारका लागि सर्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ

पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो ।

नयाँ बन्ने सरकारको मूल उद्देश्य संविधान संशोधनः नेता केसी

लेखनाथ (कास्की) । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने मूल उद्देश्यसहित कांग्रेस एमालेसहितको राष्ट्रिय सरकार गठन गर्न लागिएको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा केसीले संविधान निर्माणपछि पनि स्थिर सरकार बन्न नसक्दा जनअपेक्षाअनुसार काम नसकिएको भन्दै संविधान संशोधनलगायत विषयमा बृहत् सहमतिका लागि दुई पार्टी एकठाउँमा आएको उल्लेख गरे ।

‘संविधान संशोधनको मूल मुद्दासहित कांग्रेस र एमाले एक ठाउँमा आएका छौँ । अब बाँकी दलसँगसमेत बृहत् समझदारी बनाएर समस्याको पहिचान र सम्बोधनका लागि पहल गरिनुपर्छ’, प्रतिनिधिसभा सांसद केसीले भने ।

उनले शान्ति, विकास र राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको जिकिर गरे । पूवमन्त्री केसीले भने,’नेपालको इतिहासमा अहिलेसम्म बनेका ७ संविधानमध्ये कुनै पनि लामोसमय टिकेनन् । वर्तमान संविधानमा टेकेर परिवर्तित व्यवस्थाको स्थायित्व, विकास र समृद्धिको चाहना पूरा गर्न स्थिर सरकार बनाउने हाम्रो चाहना हो । त्यसैले संविधान संशोधन गरेर अगाडि बढ्नुको विकल्प छैन् ।’

केसीले ठूला दलहरू एकैठाउँमा रहँदा तानाशाही हुन्छन् भन्ने तर्क सही नभएको भन्दै सधैँ अस्थिरता मच्चाउने र दलहरूप्रति वितृष्णा फैलाउने कुरालाई ठूला दलले हेरेर बस्न नहुने बताए । सहमतिअनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बन्ने र त्यसमा संविधानले कुनै बाधा नगर्ने उनको स्पष्टोक्ति थियो ।

पोखरा विमानस्थल निर्माणका क्रममा भएका अनियमितता तथा प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिका सदस्यसमेत रहेका केसीले विमानस्थल निर्माणका क्रममा भएका अनियमितताबारे सत्यतत्य बाहिर ल्याउन समितिले सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए ।

भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द, विश्वविद्यालयको परीक्षा स्थगित

भारी वर्षाको प्रभावका कारण मङ्गलबार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको छ भने विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिएको छ ।

भारी बर्षा पछि रेल तथा उडान सेवाहरू पनि प्रभावित भएका छन् । सोमबार विभिन्न स्थानमा तीन सय मिलि मिटर भन्दा बढी वर्षा दर्ता भएपछि विभिन्न क्षेत्रमा गम्भीर जलप्रभाव देखिएको छ ।

बर्षाको अनुचित प्रभावले मुम्बई विश्वविद्यालयमा मङ्गलबारका लागि निर्धारित सबै परीक्षाहरू स्थगित गरिएको तथा नयाँ मिति चाँडै घोषणा गरिने विश्वविद्यालयले विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जनताको सुरक्षा सुनिश्चित गर्न, राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोलीहरू ठाणे, वसई, महाड, चिप्लुन, कोल्हापुर, साङ्गली, सतारा घाटकोपर, कुर्ला र सिन्धुदुर्ग लगायत मुम्बई र वरपरका क्षेत्रमा तैनाथ गरिएको छ । यसै गरी तल्लो क्षेत्रमा फसेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

मौसम पूर्वानुमानमा, भारतीय मौसम विभागले मुम्बई र महाराष्ट्र राज्यका अन्य भागहरूमा आगामी दुई दिनसम्म भारी वर्षा जारी रहने बताएको छ ।

गाजा युद्धविराम प्रस्तावमा हमासको सकारात्मक प्रतिक्रिया

हमासले गाजाको युद्धविराम प्रस्तावसँग सकारात्मक र लचिलो रहेको जिकिर गर्दै अर्को कदम चाल्नु इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दायित्व भएको हमासका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

यदि प्रशासनले युद्ध समाप्त गर्न चाहेको खण्डमा नेतान्याहुलाई युद्धविराममा पुग्न दबाब दिनुपर्ने हमासको राजनीतिक ब्युरोका सदस्य हुसाम बद्रानले विज्ञप्ति मार्फत जनाएका छन् ।

द्वन्द्वमा प्यालेस्टिनी जनता पीडित रहेको उल्लेख गर्दै इजरायली सेनाले पीडितको झूटो दाबीको पछाडि लुकाउने गरेको बताएका छन् ।

इजिप्टेली मिडियाको रिपोर्ट अनुसार यूएस सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बर्न्स कैदी आदानप्रदान सम्झौता र गाजा पट्टीमा नौ महिना लामो युद्धको अन्त्य सम्बन्धी वार्तामा भाग लिन यस हप्ता कायरो जाने अपेक्षा गरिएको छ ।

कैदी वार्तामा संलग्न एजेन्सीहरूका अधिकारीहसहित इजरायली प्रतिनिधिमण्डल गाजामा युद्धविराम वार्ता पुनः सुरु गर्न कायरो पुग्ने अपेक्षा गरिएको मिडियाले जनाएका छन् ।

इजरायललेसन् २०२३ अक्टोबर–७ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको हिंसा विरुद्ध बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा एक हजार २०० मानिसहरु मारिए भने २३० भन्दा बढीलाई बन्धक बनाइयो ।

आक्रमण सुरु भएदेखि नै इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीच युद्धविराम र कैदी आदानप्रदान गर्ने प्रयास गर्दै आएका छन् ।

४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता गर्न प्राधिकरणलाई बङ्गलादेशको पचात्रार

काठमाडौँ । बङ्गलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत्  प्राधिकरणलाई पत्राचार गरेको छ ।

बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत् बिक्री सम्झौताका लागि  पत्राचार गरेको प्राधिकरणले जनाएको छ ।  

कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी २०८० पुस १६ मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बिक्रीका लागि बङ्गलादेश, भारत र नेपालका निकायबीचको त्रिपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो ।

प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । पेस गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्याङ्कन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बिपिडिबीले बोलपत्र स्वीकार गर्ने सूचना प्राधिकरणलाई दिएको हो ।

प्राधिकरणले सात कार्य दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना बिपिडिबीलाई दिनुपर्नेछ । त्यसपछि बिपिडिबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउने छ । मस्यौदा प्राप्त भएको २८ दिनभित्र सम्झौता गर्नुपर्नेछ । प्राधिकरण, एनटिपिसी विद्युत् व्यापार निगम(एनभिभिएन), भारत र बिपिडिबीबीच त्रिपक्षीय सम्झौता हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी सम्पूर्ण प्रक्रिया पूरा गरी यही वर्षायामदेखि बङ्गलादेश विद्युत् निर्यात गर्ने गरी काम सुरु भइसकिएको जानकारी दिए ।

“त्रिपक्षीय विद्युत् बिक्री सम्झौताको मस्यौदामा तीनै निकाय सहमत भइसकेकाकाले छिट्टै सम्झौता हुनेछ, त्यसपछि बङ्गलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरुको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाउँछौँ, नयाँ आयोजना पठाउँदा स्वीकृतिका लागि समय लाग्ने हुँदा यसअघि नै भारतमा विद्युत् निर्यात स्वीकृति पाइसकेका आयोजनाबाट उत्पादित विद्युत् बङ्गलादेश निर्यात गर्ने गरी प्रस्ताव स्वीकृतिका लागि पठाउनेछौँ”, उनले भने ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत् बिक्रीका लागि आवश्यक प्रक्रियालाई टुङ्गोमा पुर्याउन प्राधिकरणको नेतृत्वलाई यसअघि नै निर्देशन दिएका छन् । मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत हुन् ।  

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएका तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बङ्गलादेश निर्यात गर्ने तयारी गरेको छ ।

प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म पाँचवर्षसम्म ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६ दशमलव ४० अमेरिकी डलर पाउने छ ।

नेपाल र भारतबीचको पहिलो अन्तर देशीयढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारणलाइन हुँदै बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात बङ्गलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहने छ ।

ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारणलाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारणलाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइनहुँदै बङ्गलादेश विद्युत् पुग्नेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मुजफ्फरपुर विन्दु पछिको प्रसारणलाइन शुल्क, चुहावट, एनभिभिएनले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु बङ्गलादेशले नै बेहोर्ने बताए । घिसिङले बङ्गलादेशको सीमासम्म पुग्दा विद्युत्को प्रतियुनिट दर करिब सात दशमलव ६ डलर  पुग्ने उल्लेख गरे ।

“हामीले मुजफ्फरपुरविन्दुमा छ दशमलव ४० डलर पाउने हो, डलरमा भुक्तानी पाउने हुँदा मुद्रा सटहीको जोखिम हुँदैन, वर्षायामको विद्युत् बिक्रीका लागि हामीले पाएको दर उचित हो” उनले भने ।

सरकार–सरकार तहमा बङ्गलादेशसँग साङ्केतिक रुपमा पहिलो चरणमा हुन लागेको विद्युत् व्यापारले एकातर्फ आगामी दिनमा क्षेत्रीय रुपमा ठूलो परिमाणमा व्यापारलाई सहयोग र सहजीकरण गर्नेछ भने अर्कोतर्फ यसले विद्युत् व्यापारका अरु धेरै बाटाहरु खुलाउने विश्वास लिइएको छ ।

बङ्गलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको समेत पाँच सय मेगावाट बिद्युत् लैजाने बताउँदै आएको छ । 

पूर्वका साना खोलामा बाढीको जोखिम

काठमाडौँ । हाल मुलुकका पूर्वी भागका साना खोलाहरुमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीका सर्दुखोला र बूढीखोलामा पानीको सतह बढेर जोखिमको स्तर पार गरेको छ ।

सर्दुखोलामा पानीको सतह १०४.५ मिटर पुगेको छ । यसलाई जोखिमको तह मानिन्छ । बूढीखोलामा पानीको सतह ८५ मिटर पुगेको छ । यो पनि जोखिमको तह हो ।

उक्त खोलामा अहिले पानीको सतह ८५ दशमलव ५१ मिटर पुगेको विभागले जनाएको छ । बाढी पूर्वानुमान माहाशाखाका अनुसार सुनसरीमा १२ घण्टामा एक सय ७१ दशमलव चार मिलिमिटर पानी परेको छ ।

धरानमा एक सय ५९, उदयपुरमा एक सय ४४, उदयपुकै मुर्कुची बजारमा एक सय २५ दशमलव चार, धनकुटामा एक सय ४२ दशमलव र मोरङ केराबारी क्षेत्रमा एक सय ५३ दशमलव आठ मिलिमिटर पानी २४ घण्टाको अवधिमा परिरहेको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

विभागका प्रवक्ता सुनिल पोखरेलले आजका लागि खासगरी मुलुकको पूर्वी जिल्ला सिन्धुली, झापा, उदयपुर, सुन्सरीका साना नदीमा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

“आज पूर्वका साना नदीहरुमा बाढीको जोखिम भएकाले त्यस क्षेत्रमा मानिहरुलाई हामीले बाढीबाट बच्न एसएमएस पठाइसकेका छौँ,” उनले भने, “बिहीबारदेखि नारायणी नदीभन्दा पूर्वतिरका नदीमा बाढीको जोखिम बढ्नसक्छ ।”

प्रवक्ता पोखरेलले बाढीको जोखिम बढ्ने भए पनि आत्तिहाल्नुपर्ने खतरा भने नरहेको स्पष्ट परेका छन् । मौसम पूर्वानुमान माहाशाखाले आज बिहान जारी गरेको विशेष बुलेटिनमा पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जानकारी दिएको छ ।

“ती क्षेत्रमा हुनसक्ने गेग्र्यान बहाव, बाढीपहिरोबाट बच्न तथा ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन प्रवक्ता पोखरेलले अनुरोध गरे । 

रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँः मुकुल ढकाल

काठमाडौं । पार्टीको जिम्मेवारीबाट हटाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. मुकुल ढकालले आफू सभापति रवि लामिछानेको क्लबबाटमात्रै निष्काशित भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार पार्टीले महामन्त्री र प्रवक्ताबाट निस्कासित गरेपछि सामाजिक संजालमार्फत प्रतिक्रिया दिँदै ढकालले आफू रविको क्लबबाट मात्रै निस्कासनमा परेको बताएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न भने नरोकिने पनि बताएका छन् । उनले भनेका छन्, ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ….।’

मंगलबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।

मुकुल ढकाललाई साधारण सदस्य मात्र रहने गरी महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको नेतृ सोबिता गौतमले जानकारी दिइन् ।

पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै १४ असारमा उनलाई पार्टी अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो । १९ असारमा केन्द्रीय समितिले नै महामन्त्री पदबाट ढकाललाई सात दिनका लागि निलम्बित गरेको थियो ।

अब अनुशासन आयोगमा पुनरावेदन गर्नका लागि ढकाललाई ३५ दिनको समय दिने निर्णय पनि रास्वपाले गरेको छ । त्यस्तै, ढकालको समीक्षा यात्रा प्रतिवेदनको स्वामित्व भने पार्टीले नलिने भएको छ ।

ढकालले सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । जसमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचना गरिएको थियो ।

प्रतिवेदनमा उनले वर्तमान अवस्थामा रास्वपाको जनमत अत्यन्तै नाजुक रहेको र यही अवस्था रहे आगामी आम निर्वाचनमा विवेकशील साझाको अवस्थामा पुग्ने उल्लेख गरेका थिए ।

त्रिवि उपकुलपतिलाई भेट्न क्यूआर कोडबाट अग्रिम समय लिनुपर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई भेट्न अबदेखि क्यूआर कोडमार्फत् अग्रिम समय लिनुपर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले आफ्नो सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयका शैक्षिक, प्रशासनिक एवं अनुसन्धानक लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति बराललाई प्रत्यक्ष भेटनुपर्ने भएमा उहाँको समय व्यवस्थापनका लागि क्यूआर प्रयोग गरी अग्रिम समय लिनुहुन अनुरोध छ ।’

बराल गत फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए ।

उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु , १८ जनाको उद्धार

नाइजेरियाको उत्तरी राज्य जिगावामा आइतबार अबेर राति काठको डुङ्गा पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिगावाका प्रहरी प्रवक्ता लावन शिसुले पत्रकारहरूलाई भने,“करिब २० स्थानीय व्यापारीको समुह बोकेको डुङ्गा औयो स्थानीय सरकारी क्षेत्रको हडिन गाउँतर्फ जाँदै गर्दा क्वालगाई नदीमा पल्टिएको थियो । त्यस घटनामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने १८ जनालाई उद्धार गरिएको थियो ।”

शक्तिशाली छालहरू र चालकले क्यानो चलाउन नसक्ने र हदसम्म ओभरलोडिङका कारण घटना भएको बताइएको छ ।

बाढीले बगायो ४१ वटा पुल, १० करोड भन्दाबढीको क्षति

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोडभन्दा बढीको क्षति भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि मंगलाबर विहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र पाँचजना वेपत्ता भएका छन् ।

बाढीपहिरोका कारण तीन सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, पाँच सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ ।

बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट १० करोड १८ लाख ८५ हजार सात सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन विभागको अनुरोध

बेलबारी (मोरङ) । मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको र अझ धेरै पानीपर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुनसरीको सेउती, सर्दु, सुनसरी खोला र मोरङको बूढीखोला, केसलिया, लोहन्द्रा, चिसाङलगायत खोलामा आकस्मिक बाढी आउनसक्ने विभागले जनाएको छ । आज मध्याह्न १२ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

तोलामा  नौ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ ।  सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबारका लागि भने  एक लाख ४४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।


यस्तै, सोमबार प्रतितोला  एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबारका लागि भने  एक लाख ४३ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार प्रतितोला  एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबारका लागि भने  एक हजार आठ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।

रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु, तीन घाइते

रुकुम पूर्व । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिए ।

उनीहरूलाई उपचारका लागि रुकुमकोट पढाइएको छ ।

विराटनगरमा छुरा प्रहार गरी एक युवकको हत्या

विराटनगर । मोरङमा धारिलो हतियारले प्रहार गरी एक जना युवकको हत्या भएको छ । विराटनगर महानगरपालिका–२ मा रहेको नेपाल टेलिकम नजिकै धारिलो हतियारले प्रहार गरेर कटहरी गाउँपालिका–१, जमटोकीका २१ वर्षीय करण कामतको हत्या गरिएको हो । सोमबार राति १० बजेतिर नेपाल टेलिकमनजिक धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका तीन जना युवक फेला परेका थिए ।

घाइतेमध्ये कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय कामतको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । उनका अनुसार कटहरी–१, जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर घाइते छन् ।

मृतक कामतको छाती र कम्मरको भागमा चोट देखिएको एसपी कार्कीले बताए । घाइते रायको कोखा र ढाडमा तथा मण्डलको पाखुरा र ढाडमा चोट लागेको छ । घाइतेमध्ये रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । घटनास्थलबाट एउटा मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

इजरायली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा सन् २०२३ अक्टोबर ७ मा आफ्नो नरसंहारको सुरुआतदेखि कम्तीमा ३८ हजार एक सय ९३ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको र कम्तीमा ८७ हजार नौ सय तीनलाई घाइते बनाएको छ ।


प्यालेस्टिनी समाचार एजेन्सी वाफाले आइओएफले गत २४ घण्टामा ४०  प्यालेस्टिनी नागरिकको हत्या गरेको रिपोर्ट गरेको छ । यसले दशौँ हजार पीडितहरू भग्नावशेषमुनि र सडकमा छरिएको देखाउँछ ।


सन् २०२३ अक्टोबर ७ देखि गाजा पट्टीमा इजरायली कब्जाकारीको चरम र अभूतपूर्व नरसंहार जारी छ । चारैतिर (हवाई, जमिन र समुद्र) बाट लगातार हवाई हमला र बमबारी, हत्या, घाइते र हजारौँविरुद्ध नरसंहार जारी राखेको छ । 

साट्टा अवार्डको आठौँ संस्करण नेपालमा हुने

काठमाडौँ । साउथ एसियन ट्राभल अवार्ड्स (साट्टा) को आठौँ संस्करण नेपालमा आयोजना हुने भएको छ । आगामी असोज ३ र ४ गते काठमाडौँमा हुने अवार्ड समारोहमा छ देशका दुई सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सन् २०२४ का लागि अवार्डसम्बन्धी कार्यक्रमको सूची सार्वजनिक गर्दै आयोजकले विभिन्न ४४ विधामा अवार्ड दिइने जनाएको छ ।

कार्यक्रमको होटल पार्टनरका रूपमा द मल्ल होटल र एलफ्ट होटल रहेका छन् । साट्टाले साउथ एसिया क्षेत्रभरि आतिथ्य क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्नेहरूलाई सम्मान गर्दै आएको छ ।

नेपाल पर्यटन बोर्ड र होटल सङ्घ नेपालको सहयोगमा हुने अवार्ड कार्यक्रममा व्यावसायिक साझेदारबीच व्यापार आदान–प्रदानसमेत आयोजकले जनाएको छ । “यो कार्यक्रमले दक्षिण एसियाली आतिथ्य क्षेत्रमा भएका उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिने र पुरस्कृत गर्नेछ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नेपालको पर्यटन प्रवर्द्धनका निम्ति साट्टा अवार्डले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । बोर्डका कार्यवाहक कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले दक्षिण एसियास्तरको अवार्ड कार्यक्रमले पर्यटन नेपालमा हुनु सुखद भएको र यसले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले मुलुकको पर्यटन पुरानै लयमा फर्किएको र पर्यटकीय गतिविधि बढिरहेको सन्दर्भमा अवार्ड कार्यक्रम महत्वपूणृ हुने विश्वास व्यक्त गरे । अवार्डको जुरी सदस्यमा नेपालका तर्फबाट होटल सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टेकबहादुर महत छन् ।

‘अफलाइन राईडिङ’मा मोटरसाइकल दुर्घटना गरी फरार तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मोटरसाइकल दुर्घटनापछि फरार भएका जुम्ला घर भई तार्केश्वर बस्ने २२ वर्षीय तेज रावल, जुम्ला घर भई मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र २५ वर्षीय सुरेश अधिकारीलाई फक्राउ गरेको हो ।

असार १५ गते काठमाडौं महानगरपालिका–१ जमल कान्तिपथस्थित होटल यल्लो प्यागोडा अगाडि सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो।

उक्त दुर्घटनापछि भागेका राइडरहरूलाई प्रहरीले पक्राउ गरेको हो । परिसरकाअनुसार असार १५ गते राति साढे ९ बजेतिर गोर्खा सिरानचोक–२ की अनु गुरूङ ललितपुर महानगरपालिका–२३ हात्तीवन जान लागेकी थिइन् । उनीसहित तीन जना साथीहरू गोंगबुबाट हात्तीवन जान लागेका थिए । तेज रावलसहित तीन जनाले अफलाइन राइड गरी अनुसहितलाई लग्दै थिए।

जमल पुग्दा तेजले चलाएको प्रदेश नम्बर ३–०२–००७ प ६६७९ नम्बरको पल्सरबाट अनु खसेकी थिइन् । मोटरसाइकलबाट खसेपछि पदमले चलाएको बा ३६ प ३२४ नम्बरको सिबिएट मोटरसाइकलले अनुलाई ठक्कर दिएको थियो । ठक्करबाट अनुको टाउकोमा गम्भीर चोट लागेको थियो।

उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो। उपचारको क्रममा असार १८ गते अनुको मृत्यु भएको थियो । दुर्घटना भएपछि अफलाइन राइडरहरू घटनास्थलबाट फरार भएका थिए ।

पछि प्रहरी वृत्त दरबारमार्ग र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त अपरेसन गरी तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरू तीनै जनामाथि ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको बताएको छ।

भारतको बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ ।

‘विगत २४ घण्टामा चट्याङका कारण जमुई र कैमुरमा तीन/तीन, रोहतासमा दुई र सहरसा, सारण, भोजपुर र गोपालगञ्जमा एक/एक जनाको मृत्यु भएको छ’, मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएको छ ।

हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।

इन्डोनेसियामा बाढी पहिरोमा परी ११ जनाको मृत्यु, १७ बेपत्ता

इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको पहिरो र आकस्मिक बाढीबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या ११ पुग्नुका साथै १७ जना बेपत्ता भएका विपद् व्यवस्थापन निकाय एक वरिष्ठ अधिकारीले सोमबार बताएका छन् ।

भारी वर्षाले शनिबार मध्यरातमा रिजेन्सीमा अवस्थित खानीमा पहिरो तथा आकस्मिक बाढी निम्त्याएकाले खनिक शिविरहरूमा ठोक्कादा तिनीहरूलाई बगाएको क्षेत्रीय विपद् व्यवस्थापन निकायको परिचालन एकाईका प्रमुख अच्रिल बेबीओङ्गोले बताए ।

यस अभियानमा स्थानीय खोजी तथा उद्धार विभागका करिब १८० जना कर्मचारी, सैनिक, प्रहरी र विपद् एजेन्सीका कर्मचारीहरू संलग्न रहेको बेबीओङ्गोलको भनाइ छ ।

गोरोन्टालो खोजी र उद्धार टोलीका प्रमुख हेरियान्तोले सोमबार खनन स्थलको दुर्गम स्थान र चुनौतीपूर्ण सडक अवस्थाले खोजी प्रयासमा बाधा पुर्याएको भन्दै भाँचिएका पुलहरूका कारण सवारी साधनहरूद्वारा दुर्गम थिए र पैदल यात्रा आवश्यक भएको बताए ।

क्षेत्रीय विपद् व्यवस्थापन एजेन्सीले पाँच उप–क्षेत्रका २८८ घरहरू प्रभावित भएको र मुख्यतया माटो र भग्नावशेषले भरिएको जनाएको छ भने प्रकोपबाट कम्तीमा एक हजार २९ जना प्रभावित भएका छन् ।

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

सोमबार राष्ट्रपति पौडेलले संविधानको धारा ११३को उपधारा (२) बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइएको थियो ।

समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकको पाँचबुँदे सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सोमबारको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताएको बैठकपछि समितिका सभापति सूर्यबहादुर थापाले सञ्चारकर्मीलाई जानकारी दिए ।

गभर्नर अधिकारीले तीन चरणमा बचत फिर्ता गर्न सकिने योजना प्रस्तुत गरेका छन् । उनले पहिलो चरणमा एक लाखसम्म, दोस्रो चरणमा पाँच लाखसम्म र तेस्रो चरणमा पाँच लाखभन्दा बढी बचत हुने बचतकर्ताका रकम फिर्ता गर्न सकिने सुझाव दिए ।

समस्या समाधान गर्न ‘डेडिकेटेड’ समूह बनाउने, समस्याग्रस्त बैंकका समस्या समाधान गर्दा अपनाइएका तरिकाका आधारमा अघि बढ्न सकिने प्रस्ताव पनि राष्ट्र बैंकले अघि सारेको छ । भूगोलको सीमा नराखी कारोबार गरेका सहकारीका विषयमा आवश्यक व्यवस्था गर्नुपर्ने गभर्नर अधिकारीको सुझाव थियो ।

सहकारीलाई नियमन गर्ने निकायको स्थापना गरिनुपर्ने, सहकारी स्वनियममा चल्छन् भनी छोड्न नहुने, ऋणीका बारेमा सहकारीलाई कुनै जानकारी नहुने गरेकाले त्यो समस्या समाधानको उपया विषय निश्चित गर्न पनि विज्ञले सुझाएका छन् ।

बैठकमा कर्जा सूचना केन्द्रका प्रमुख कार्यकारी अधिकृत अनिलचन्द्र अधिकारीले विद्यमान स्थितिमा एउटै केन्द्रले काम गर्न सकिने उल्लेख गर्दै यसका लागि आवश्यक कानुनी व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । कर्जा सूचना केन्द्रमा एकीकृत सूचना प्रणालीको व्यवस्था गरिनुपर्ने पनि उनको सुझाव थियो ।

बीमा र सहकारीका विषयमा छुट्टै सूचना केन्द्र स्थापना गरिनुपर्ने सुझावसमेत बैठकमा प्रस्तुत गरिएको थियो । नेपाल बंैकर्स एशोसियसनका अध्यक्ष सुनील केसीले सहकारीको जस्तो समस्या अरु वित्तीय संस्थामा पनि आउनसक्ने तर्फ सचेत गराउँदै त्यसअघि नै छिटो समस्या समाधान गरिनुपर्ने बताए ।

अघिल्लो सहकारी सुझाव कार्यदलका संयोजक डा जयकान्त राउतले सुझाव कार्यान्वयन नभएकैले सहकारी क्षेत्रमा समस्या बढ्दै गएको बताए । सहकारीको मूल्यमान्यता र सिद्धान्तका आधारमा चलेका सहकारीमा समस्या नरहेको र सिद्धान्तविपरीत चलेका सबैजसो सहकारी समस्यामा रहेको उनले सुनाए ।

सहकारी क्षेत्रमा पनि ऋण असुली न्यायाधीकरणको स्थापना गरिनुपर्ने पनि विज्ञहरूको राय थियो । बैठकमा सभापति थापाले सरकारले पीडित बचतकर्तालाई पैसा दिन सक्छ वा सक्दैन भन्ने विषयमा छलफल भई नसकेको बताए । बचत फिर्ता गर्नु सम्बन्धित सहकारीको मुख्य काम भनी अहिले छलफल भइरहेको उनको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेटमा पाँच लाखसम्म बचत हुनेलाई फिर्ता गर्ने विषय उल्लेख भई आएपछि केही सहकारीले बचत टुक्रा बनाएर पाँच लाखभन्दा कम बनाउने बदमासी गर्न थालेको सूचना पनि समितिले पाएको त्यसअवसरमा जानकारी गराइएको थियो ।

समितिको भोलिको बैठकमा सहकारी विभागको रजिष्ट्रार भई २०४८ पछि काम गरेका अधिकारीहरुलाई बोलाइएको छ । त्यसपछिको बैठकमा सहकारी पीडितलाई बोलाएर छलफल गरिने जनाइएको छ ।

आत्मविश्वास र आशा जगाउनेगरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रका देखिएको शिथिलता अन्त्य गर्न वित्त नीति अनुकूल हुने, बजार चलायमान बनाउने र निजी क्षेत्रको आत्मविश्वास जगाउनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको जनाएको छ ।

आगामी आवको मौद्रिक नीतिका सम्बन्धमा प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा सोमबार भएको छलफलका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले अवलम्बन गरेको वित्त नीतिलाई सहयोग पुग्ने र बजारको मनोबल बढाउनेगरी मौद्रिक नीति आउने बताए ।

“सरकारले आगामी आर्थिक वर्षको बजेटमा राखेको छ प्रतिशतको आर्थिक वृद्धिदर र पाँच दशमलव पाँच प्रतशितको वाञ्छित सीमाभित्रको मौद्रिक नीतिको लक्ष्यलाई सहयोग पुर्याउनेगरी मौद्रिक नीति ल्याउने तयारीमा जुटेका छौँ”, गभर्नर अधिकारीले भने, ‘अहिले व्यावसायिक मनोबल घटेको छ । यसलाई उकास्न र सकारात्मक नतिजाका लागि केही सुधारात्मक काम गर्नुपर्नेछ ।’

मुलुकको समग्र वित्तीय अवस्थाबारे समितिलाई जानकारी दिँदै गभर्नर अधिकारीले पछिल्लो समय निर्माण क्षेत्र र औद्योगिक क्षेत्रको वृद्धिदरमा सङ्कूचन देखिएको बताए ।

‘निर्माण र औद्योगिक क्षेत्रको वृद्धिदर नकारात्मक छ । निर्माण क्षेत्रबाट परेको बहुआयामिक असर व्यवस्थापन गर्नु चुनौती औद्योगिक र मौद्रिक नीतिका आफ्नै सीमा छन्’, उनले भने, ‘निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाएको भनिरहेका छन् । यो नीतिले हेर्नसक्ने विषय होइन । कालोसूचीमा पर्ने विषय पनि सँगसँगै आइरहेकाले यस समस्या समाधानका लागि गृहकार्य गरिरहेका छौँ ।’

कोभिड–१९ महामारीका कारण शिथिल भएको अर्थतन्त्रलाई चलायन बनाउन नसकिएको, ब्याजदर घटिरहेको अवस्थामा कर्जाको माग बढ्न नसकेको, कर्जा विस्तार भएको रकम पनि उत्पादनशील क्षेत्रमा जान नसकेकोलगायत समस्या अहिले आर्थिक र वित्तीय क्षेत्रमा रहेको गभर्नर अधिकारीले उल्लेख गरे । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सरोकार भएकासँग छलफल गरिरहेको उनले जानकारी दिए ।

समितिमा अर्थसचिव मधुकुमार मरासिनीले आगामी आर्थिक वर्षका लागि सरकारले तय गरेको नीति तथा कार्यक्रम र बजेटका योजना कार्यान्वयनमा सहयोग पुग्नेगरी मौद्रिक नीति आउने विश्वास व्यक्त गरे ।

‘बजेटमा भनेजस्तै छ प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीतिलाई हेरेर आउनेछ भन्ने अपेक्षा छ’, उनले भने, ‘हामीसँग भएको पुँजी परिचालनबाट लक्षित आर्थिक वृद्धिदर हासिल गर्नका लागि मौद्रिक नीतिले सहज वातावरण बनाउनुपर्छ ।’

पछिल्लो समय बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढेर तीन दशमलव ९७ प्रतिशत पुगेको जनाउँदै मरासिनीले यसले केही समस्या सिर्जना गरेको भए पनि पाँच प्रतिशतसम्मको निश्क्रिय कर्जालाई व्यवस्थापन गर्न सकिने बताए ।

सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष भनेको र नयाँ चरणको आर्थिक सुधारलाई सघाउ पुर्याउने गरी मौद्रिक नीति आउनुपर्नेमा उनले जोड दिए ।

सूचना प्रविधि र कृषि क्षेत्रमा लगानी दशक घोषणा भएकाले ती क्षेत्रमा कर्जा विस्तार गर्न सहज हुनेगरी मौद्रिक नीति आउनुपर्ने सुझाव पनि अर्थसचिव मरासिनीले दिए । अहिलेको समसामयिक आर्थिक विषयलाई सम्बोधन गर्नेगरी र निजी क्षेत्रको मनोबल उकास्नेगरी मौद्रिक नीतिको तयारी गरिनुपर्ने उनको भनाइ छ ।

‘निजी क्षेत्रको मनोबल कमजोर भएको छ । बैंकमा प्रशस्तमात्रामा तरलता उपलब्ध हुँदाहुँदै र न्युन ब्याजदरका बाबजुद पनि कर्जा विस्तार हुने सकेको छैन । निजी क्षेत्रको आत्मविश्वास र आशा जगाउनेगरी मौद्रिक नीति ल्याउनु अहिलेको आवश्यकता हो’, अर्थसचिव मरासिनीले भने ।

आगामी आर्थिक वर्ष सोह्रौँ आवधिक योजनाको आधार वर्ष भएकाले उक्त आवधिक योजनाले पहिचानगरी मौद्रिक नीति तय गर्नुपर्नेमा उनले जोड दिए । सार्वजनिक खर्च परिचालनमा समस्या देखिएको र यसले अर्थतन्त्रमा बहुआयामिक असर पारेको अर्थसचिव मरासिनीले बताए ।

बैठकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले मुलुकको बर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे जानकारी दिएका थिए ।

‘मुद्रास्फीति धेरै हदसम्म वाञ्छित सीमाभित्र छ । साढे छ प्रतिशत औसत रहेकामा यस वर्षको औसत साढे पाँच प्रतिशत छ, यसले हामी सहज अवस्थामा छौँ भनेर देखाउँछ । बाह्य क्षेत्र अवस्थामा सहज छ । साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रासञ्चिती रहेको छ । चालुखाता र शोधनान्तर स्थिति बचतमा छ’,उनले भने, ‘बैंकिङ प्रणालीमा तरलताको अवस्था सन्तोषजनक छ । बैंकमा ब्याजदर घट्दै गएका छन् । नीतिगत दर घटेकाले कर्जा सरल र सस्तो छ ।’

विश्व आर्थिक वृृद्धिदर अझै शिथिल रहेको, विकसित मुलुकको मुद्रास्फीतिदर लक्ष्यको नजिक भए पनि उदीयमान र विकासोन्मुख मुलुकको मुद्रास्फीतिदर वाञ्छित सीमाभन्दा माथि रहेको, अधिकांश केन्द्रीय बैंकले ब्याजदर अझै माथिल्लोस्तरमा राखेको, चालु आर्थिक वर्ष आर्थिक वृद्धिदरमा केही सुधार हुने सङ्केत देखिएकोलगायत विवरण श्रेष्ठले प्रस्तुत गरेका थिए ।

उत्पादन र निर्माण क्षेत्रका वृद्धिदर पछिल्लो दुई वर्षको वृद्धिदर ऋणात्मक रहेको, काठजन्य, लत्ताकपडा, औषधिजन्य, धातुजन्य वस्तुको आन्तरिक उत्पादन घटेको, पर्यटन आगमन कोभिडपूर्व भन्दा बढेको, वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढिरहेकोलगायत समस्या रहेको उनले जानकारी दिए ।

‘मुद्रास्फीतिदर बढ्दो क्रममा छ । दश महिनाको औसत मुद्रास्फीति पाँच दशमलव ७६ प्रतिशत छ । आन्तरिक बजार हेर्दा मुद्रास्फीतिको चाप न्यून रहेको छ । मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न अझै चुनौतीपूर्ण रहेको छ’, श्रेष्ठले भने, ‘गत वैशाखदेखि मौद्रिक नीतिलाई सजगतापूर्वक लचिलो बनाउँदै लगिएको छ । नीयामकीय नीतिहरु पनि खुकुलो बनाउँदै लगिएका छन् ।’

विसं २०७५ असारसम्ममा करिब २४ खर्बको हाराहारीमा रहेको कर्जा पछिल्लो ६ वर्षमा दोब्बरले विस्तार भएको बताउँदै पछिल्लो छ वर्षमा बढेको कर्जाको आधा ऋण २०७८ र २०७९ मा विस्तार भएको श्रेष्ठले जानकारी दिए ।

चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ 

काठमाडौँ ।  शङ्कर कोइरालाद्वारा निर्देशित चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिनुका साथै चलचित्रले उठाएका विषयवस्तुका बारेमा चर्चा गरिएको थियो ।

सन् २००१ देखि म्युजिक भिडियो र वृत्तचित्र सम्पादन एवं निर्देशन गर्दै आएका निर्देशक कोइरालाको ‘मोदीबेनी’ पहिलो चलचित्र निर्देशन हो । निर्माताद्वय दिलीप केसी र हरि श्रेष्ठ रहेको उक्त चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटी र अमरप्रताप श्रेष्ठ मुख्य भूमिकामा छन् ।

निर्देशक कोइरालाले चलचित्रमा दर्शकको भावना र वर्तमान परिवेशअनुसारको प्रस्तुति दिने प्रयास गरिएको बताए ।
एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको उक्त गीतको सङ्गीत गायक एसडीले गरेका छन् । राम अविरल विष्टले शब्द रचना गर्नुभएको छ भने सङ्गीत निर्मातामा रिकेश गुरुङ छन् । 

किरण थापाले कोरियोग्राफी गरेको गीतमा अभिनेत्री शिवाकोटी र अभिनेता श्रेष्ठको कलात्मक अभिनय हेर्न सकिन्छ । गीतमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीले सम्पादन गरेका छन् । अभिनेता श्रेष्ठको अभिनयमा यो पहिलो अनुभव हो ।

“कलासहितको अभिनेता बन्ने सपना पछ्याउँदै मोदीबेनीमार्फत सुरु गरेको छु”, अमरले भने, “आमदर्शकको चाहना अनुसारको अनिनयसहित कथा प्रस्तुत गरेका छौँ ।”

अभिनेत्री शिवाकोटीले चलचित्र हेरिरहँदा आमदर्शकलाई मनोरञ्जनसँगै नयाँ विषयमा ज्ञान दिने भन्दै चलचित्रबाट आफूले निकै आशा बोकेको बताइन् ।

चलचित्रमा अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम, स्नेहा भट्टराईलगायतले अभिनय गरेका छन् । 

नवलपुरमा व्यावसायिक स्याउ खेती

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ। प्रायः चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेशमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालि (एएफसीआरसी)ले खेती गरेको हो।

एएफसीआरसीले अधिकतम् ४० डिग्री सेल्सियस सम्म तापक्रम हुने यहाँको पाँच बिघा क्षेत्रफलमा स्याउ रोपेको छ। यहाँ रोपिएका स्याउ दुई वर्षमै फल्न थालेको छ। प्रालिका व्यवस्थापक ईश्वर भट्टराईले भारतको कास्मिरबाट ‘अन्ना’, ‘डोरसेट’ र ‘एचआरएम–९९’ प्रजातिको स्याउको बिरुवा ल्याएर खेती गरिएको जानकारी दिए।

‘यी प्रजातिका स्याउ न्यूनतम ६ देखि अधिकतम ४५ डिग्री सेल्सियससम्मको तापक्रममा फल्छ’, उनले भने, ‘बिरुवा रोपेको दुई वर्षपछिनै फल दिन थालेको छ।’

एएफसीआरसीले करिब तीन हजार पाँच सय स्याउको बिरुवा रोपेको छ। एउटा बोटमा ३० वटासम्म स्याउका दाना फलेका छन्। गर्मी धेरै भएकाले केही स्याउका दानाहरु फुटेको उनले बताए। यहाँ लगाइएको स्याउको फल पहेँलो रङ र स्वाद फुजी स्याउको जस्तै हुने उनको भनाइ छ।

एएफसीआरसीले ४० बिघा क्षेत्रफलमा स्याउसँगै अम्बा, सुनकागती, शीतलचिनी, चेरी, भूइँकटहर, केरा, उन्नत जातको ममफलीलगायतका फलफूल लगाएको छ। यहाँ लगाइएका फलफूल खेतीका लागि थोपा सिँचाइ प्रयोग गरिएको एएफसीआरसीका व्यवस्थापक भट्टराईको भनाइ छ।

एएफसीआरसीले फलफूल खेतीसँगै ‘टिस्यू कल्चर’ प्रविधिबाट उत्पादन गरेर केरा तथा बाँसको बिरुवा देशभरी बिक्री वितरण गर्दै आइरहेको छ। गुणस्तरीय वनस्पतिको कोष, तन्तु वा कुनै एक भागलाई निकालेर नियन्त्रित प्रयोगशाला वा कीटाणुरहित वातावरणमा ठूलो सङ्ख्यामा बिरुवा उमार्ने आधुनिक प्रविधिलाई टिस्यु कल्चर प्रविधि भनिन्छ।

छोटो समयमा एउटा राम्रो बिरुवाबाट अरु हजारौँ बिरुवा उत्पादन गर्न र राम्रो उत्पादन दिन यो प्रविधि अपनाउने गरिन्छ।

टिस्यू कल्चर ल्याब स्थापना गर्ने बेला सरकारले अनुदान सहयोग गरेको थियो। उत्पादन गरिएका जिनाइन प्रजातिका केराका बेर्ना तथा बाँसका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले देशैभर लैजाने गरेको उनले बताए।

केराको बिरुवा प्रतिगोटा ३५ देखि  ६० रुपैयाँसम्म र बाँसको बिरुवा प्रतिगोटा रु एक सय ३० मा बिक्री गरिन्छ। टिस्यू कल्चर प्रविधिबाट उत्पादन गरिएका ‘बालकोवा’ प्रजातिको बाँस पहाडी क्षेत्रमा भूक्षय नियन्त्रण एवम् तराई क्षेत्रमा नदी कटान रोकथामका लागि लैजाने गरेको एएफसीआरसीले जनाएको छ। रासस

जापान र फिलिपिन्सवीच रक्षा सम्झौतामा हस्ताक्षर

जापान र फिलिपिन्सले सोमबार क्षेत्रीय पानीमा चीनको बढ्दो दाबीको बीचमा घनिष्ठ सुरक्षा सहयोगका लागि संयुक्त अभ्यासलाई सहज बनाउन द्विपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

जापानी विदेश मन्त्री कामिकावा योको र फिलिपिन्सका रक्षा सचिव गिल्बर्ट टिओडोरो जुनियरले राष्ट्रपति फर्डिनान्ड आर मार्कोस जुनियरको उपस्थितिमा मलाकान दरबारमा एक समारोहमा पारस्परिक पहुँच सम्झौता (आरएए) मा हस्ताक्षर गरेका हुन ।

नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गर्नुअघि राष्ट्रपति मार्कोसले कामिकावा र जापानी रक्षामन्त्री मिनोरु किहारासँग भेटवार्ता गरेका थिए ।

मार्कोसले उक्त सम्झौतालाई महत्त्वपूर्ण सम्झौता भन्दै कामिकावाले आरएएको हस्ताक्षर दुई देशका लागि द्विपक्षीय सम्बन्धलाई समृद्ध बनाउने ठूलो उपलब्धि भएको बताए ।

फिलिपिन्स र जापानका सम्बन्धित विधायीकी निकायहरूद्वारा अनुमोदन भएपछि लागु हुने यो सम्झौताले जापान सेल्फ डिफेन्स फोर्स र फिलिपिन्स सेनाबिच एक अर्काको देशमा संयुक्त अभ्यास र विपद् राहत कार्यका लागि कर्मचारी स्थानान्तरणमा प्रतिबन्धहरू कम गर्ने अपेक्षा गरिएको छ ।

गत नोभेम्बरमा जापानी प्रधानमन्त्री फुमियो किशिदा र मार्कोसले वार्ता सुरु गर्न सहमति गरेपछि यो सन्धि भएको हो ।

फिलिपिन्स समाचार एजेन्सीका अनुसार, फिलिपिन्सले संयुक्त राज्य अमेरिका र अस्ट्रेलियासँग यस्तै रक्षा सम्झौता गरेको छ भने फ्रान्ससँग अर्को रक्षा सम्झौता भइरहेको छ ।

त्यसैगरी, जापानले अस्ट्रेलिया र बेलायतसँग यस्तो सम्झौता गरेको छ भने अमेरिकासँग ‘स्टेट्स अफ फोर्सेज एग्रिमेन्ट’ गरेको छ ।

रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढीको मृत्यु

रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

त्यसैगरी, मध्य युक्रेनी शहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएको नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर विल्कुलले बताए ।

केही महिनायता किएभमा भएको यो सबैभन्दा ठूलो बमबारी थियो । युक्रेनी वायु सेनाका अनुसार दिनदहाडै गरिएको आक्रमणमा रूसको सबैभन्दा अत्याधुनिक हतियारमध्ये एक किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र पनि प्रयोग भएको अधिकारीहरूले बताएका छन् ।

किन्झाल तीव्र गतिमा अर्थात् ध्वनिको १० गुणा बढी गतिमा उड्ने भएकोले यसलाई रोक्न गाह्रो हुन्छ । विस्फोटका कारण शहरका भवनहरू हल्लिएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले विभिन्न प्रकारका ४० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर अपार्टमेन्ट भवन र सार्वजनिक संरचनामा प्रहार गरेको बताए ।

किएभ शहर प्रशासनले केही क्षेत्रमा क्षेप्यास्त्रबाट खसेको भग्नावशेष खसेको र आगो लाग्न थालेको जनाएको छ । किएभका धेरै इलाकाहरूबाट धुवाँको बाक्लो मुस्लो उठेको थियो ।

युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्मलले शहरका सडकमा धेरै मानिस भेला भइरहेका बेला आक्रमण भएको बताएका छन् ।

कीभका मेयर भिटाली क्लिट्स्कोले आक्रमणको परिणामबारे आधिकारिक आँकलन भइरहेको बताए ।

युक्रेनको मध्य निप्रोपेत्रोभ्स्क क्षेत्रमा पनि स्थानीय अधिकारीहरूले विस्फोटको खबर दिएका छन् ।

युक्रेनलाई गठबन्धनको अटुट समर्थनबारे कसरी आश्वस्त पार्ने र दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो द्वन्द्वबाट युक्रेन कसरी गुज्रन सक्छ भन्ने आशा जगाउने उद्देश्यका साथ वासिङ्टनमा हुने नेटोको तीन दिने शिखर सम्मेलनको पूर्वसन्ध्यामा यो आक्रमण भएको हो ।

राजमार्गमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण

गण्डकी । निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ। ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ।

स्तरोन्नतिको चरणमा रहेका पोखरा–मुग्लिन र हरिचोक–याम्दी सडक समयमै नबन्दा वर्षात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ। पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२९ भण्डारढिक, तालचोक, विजयपुर हुँदै मुख्य सहरी क्षेत्र प्रवेश गर्ने सडकको अवस्था नाजुक छ। वर्षात्का बेला चलिरहेको निर्माण कार्यले सडक अस्तव्यस्त देखिन्छ। सवारीसाधन पार्किङ गर्न उस्तै समस्या छ।

अमरसिंहचोक, बुद्धचोकलगायत क्षेत्रमा वर्षात्को भलले सडक क्षत्विक्षत् बनाएको छ। पानी जमेका खाल्डाखुल्डीले सवारीसाधन चलाउन कठिनाइ भएको छ।

सडक स्तरीय नहुँदा पैदलयात्रीलाई झन समस्या भएको छ। सामान्य मर्मत गर्नसमेत कसैको ध्यान पुगेको देखिन्न। सडककै कारण सवारीसाधन जाममा पर्ने गरेको चालक बताउँछन्। सडक निर्माणमा जति ढिलासुस्ती भयो उति समस्या लम्बिँदै जाने उनीहरुको भनाइ छ।

मनसुन सक्रिय भएपछि पोखरा–मुग्लिन सडकमा यात्रा गर्न थप कष्टकर बनेको छ। दुई वर्षअघि सुरु भएको उक्त सडक विस्तार तथा स्तरोन्नति कार्य सुस्त गतिमा भइरहेको छ। आयोजना कार्यालयले सडक निर्माण पूरा हुन अझै दुई वर्ष लाग्ने जनाएको छ।

पोखरा–बागलुङ राजमार्गअन्तर्गत दुई हजार दुई सय मिटरको हरिचोक–याम्दी सडक दुई वर्ष बित्दासमेत स्तरोन्ननि हुनसकेको छैन। पोखरालाई मध्यपहाडी लोकमार्ग हुँदै पश्चिम नेपालसँग जोड्ने उक्त सडकको काम निर्माण कम्पनीको ढिलासुस्तीले समयमै हुन नसकेको हो।

पोखरा महानगरपालिका–१ का वडाध्यक्ष सहारा प्रधानले सडक निर्माण समयमै सक्न पटक–पटक दबाब दिँदा पनि सुनुवाइ हुन नसकेको बताए। उक्त राजमार्ग भएर यात्रा गर्ने यात्रु मात्र नभएर स्थानीयवासी पनि धूलो र हिलोले हैरान छन्।

वर्षात्मा ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम पनि नभएकामा आयोजना कार्यालय र निर्माण कम्पनीप्रति स्थानीवासी रुष्ट छन्। सोही सडकका कारण पोखरासम्मको यात्रा झञ्झटिलो र लामो बनेको यात्रुको गुनासो छ। पोखराको जिरो किलोमिटरदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्र गरिएको थियो।

बीचको झण्डै दुई हजार दुई सय मिटर सडक विस्तार र कालोपत्र गर्न बाँकी रहेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ। केही ठाउँमा नाला निर्माण र पर्खाल चिन्ने काम भए पनि सडकको भौतिक प्रगति न्यून छ। आयोजना कार्यालयले कामलाई गति दिन निर्माण व्यवसायीलाई पटक–पटक ताकेका गर्दै आएको छ।

आयोजनाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलगायत सरोकारवाला पक्षबीचको बैठकमा सडक निर्माण छिट्टै सक्ने प्रतिबद्धता जनाइए पनि कामले गति लिन नसकेको वडाध्यक्ष प्रधानले बताए।

गत वर्ष साउनमा काठमाडौँको ‘मोतीदान कन्स्ट्रक्सन सेवा प्रालि’ले निर्माणको जिम्मा पाएको थियो। २५ मिटर चौडा चार लेनको उक्त सडक दुई वर्षभित्र सक्नुपर्ने सम्झौता छ। पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्छन्।

विसं २०७९ चैतदेखि निर्माण थालिएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडक जीर्ण छ। यसै वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि निर्माण कम्पनीको ढिलासुस्तीले उक्त सडक आयोजनाले गति लिन सकेको छैन। पोखरा महानगरपालिकाको सडक शाखाका इञ्जिनीयर नवीन गौतमले केही समयअघि कामै रोकेको ठेकेदार कम्पनीले पुनः अहिले जनशक्ति र उपकरण थपेर काम अघि बढाएको जानकारी दिए।

सो सडक समयमा नबन्दा पोखरादेखि लमजुङ हुँदै मनाङसम्म जाने यात्रुलाई सास्ती भएको छ। बेगनासदेखि कास्कीको रुपमा गाउँपालिकासम्मको सडक पनि जीर्ण छ।

तालचोक–बेगनाश विश्व बैंकको सहुलियत ऋण सहयोगमा ३.२८ किमिको उक्त सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेभी’ले निर्माणको जिम्मा पाएको थियो। ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माणको काम सुरु भएको थियो। फुट ट्र्याक, साइकल लेन र पार्किङसहितको नमुना सडक बन्ने उनको भनाइ छ।

सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार बनाउने योजना छ। सडकमा तीनवटा पुल पनि बनाइने छन्। अहिले सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माणको काम भइरहेको इन्जिनीयर गौतमले बताए। महानगरको गौरवको आयोजनाका रुपमा तालचोक–बेगनास सडक स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो। 

कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

कञ्चनपुर । कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन् । 

पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको सोमबार दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

सृजना र लक्ष्मीको शव भेटिएको छ भने आरतीको अवस्था अज्ञात छ । उनीहरुसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छिन् । प्रहरीले आरतीको खोजी गरिरहेको छ । 

चारैजना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा बाढीमा डुबेका प्रहरीले जनाएको छ । दुई दिनदेखि लगातार वर्षा हुँदा कञ्चनपुरको अधिकाकांश क्षेत्र डुबानमा परेको छ । बाटाघाटा सबै डुबानमा परेकाले घर बाहिर निस्किन सकिने अवस्था छैन । 

यसअघि आइतबार घरभित्र बाढी पस्दा डुबेर कृष्णपुर नगरपालिका–१ पहरियामा सात महिनाको सोनु धानुकको मृत्यु भएको थियो भने बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका थिए ।

नेप्सेमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक चार दशमलव ६२ अङ्कले घटेर दुई हजार एक सय ३६ दशमलव ३५ को अङ्कमा कायम भएको हो ।

सोमबार तीन सय २४ कम्पनीको एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता शेयर ५९ हजार नौ सय ७४ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार एक सय छ बराबरको कारोबार भएको छ ।

वित्त समूह शून्य दशमलव २६, लघुवित्त शून्य दशमलव ९२ र म्युचुअल फण्ड शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । 

आज बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव ३६, होटल तथा पर्यटन शून्य दशमलव ९५ र जलविद्युत् समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ । लगानी शून्य दशमलव २९, जीवन बीमा शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव ३३, व्यापार शून्य दशमलव ८२ र अन्य समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ६८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ३९ प्रतिशतले घटेको छ । 

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २८ करोड ७० लाख ८० हजार नौ सय ३५ बराबरको तीन लाख ९० हजार दुई सय पाँच कित्ता शेयर किनबेच भएको छ ।

संसदमा कांग्रेस, एमाले र माओवादीका सांसदबीच गीतबाटै सवाल-जवाफ

काठमाडौँ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ । उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ ।

एमालेले आफ्ना मन्त्रीहरुको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गायक फत्तेमानराज भण्डारीको एउटा गीतको हरफ एमालेका मन्त्रीहरुलाई सुनाएका थिए । ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा…!’ सोही प्रसङ्ग उल्लेख गर्दै  एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको आजको बैठकमा जवाफी गीत सुनाए ।

बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरुले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमानराज भण्डारीको गीत सुनाएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको ‘तिमिले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरो बीचको नाता हुनुपर्ने के रह्यो र …!’ गीत सुनाए ।

प्रतिनिधिसभाको आइतबार र सोमबार भएको बैठकमा सांसदहरुले गीतमार्फत विम्ब प्रहार गरिरहेका छन् । आइतबारको बैठकमा सांसद सुनील शर्माले गायक रामकृष्ण ढकालको गीत ‘छल गर्यो मायाले…सबैको देख्छु हासो र खुसी शिखरको बाटोमा आफूत…! गाएका थिए । बैठकमा सांसदहरुले दलीय प्रतिनिधित्व गर्दै एक अर्कालाई साङ्गीतिक झटारो प्रहार गरिरहेका छन् ।

विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले गायिका कुन्ति मोक्तानको ‘कति जल्छौँ आरिसले अझै जल्दै गर, मत हिँड्छु मेरै बाटो खुट्टा तान्दैगर’ सुनाए । उनले बैठकमा गीतको बिम्ब प्रस्तुत गरिएकाले आफूलाई पनि गीतको हरफ आएको भन्दै राजनीतिमा सरकार फेरबदल भइरहनु सामान्य कुरा भएको बताए । उनले यसलाई कुनै पनि राजनीतिक दलले अन्यथा लिन नहुने धारणा राखे ।

राष्ट्रिय सहमति गर्ने विषयलाई पार्टीले सदैव सकारात्मक रुपमा लिएको भन्दै संविधान निर्माणदेखि पछिल्ला सरकार गठनमा पनि सहकार्य र सहमति गर्दै अघि बढेको सांसद घर्तीले बताए । उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति गरेर अगाडि बढ्न सकिने धारणा राखे ।

प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ

एमालेका प्रमुख सचेतक बर्तौलाले एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने विचार राख्दै आएको भन्दै कांग्रेससँग उक्त विषयमा विचार मिलेकाले सरकारबाट बाहिरिएको बताए । उनले भने, “संसद्का दुई ठूला दल मिलेर मुलुकको वर्तमान सङ्कटलाई निकासा दिन राष्ट्रिय सरकार निर्माणको आकाङ्क्षा बोकेर समझदारी गरेका हौँ ।”

प्रमुख सचेतक बर्तौलाले सरकार अल्पमतमा परिसकेकाले वर्तमान प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे । उनले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुने बताए ।

सांसद बर्तौलाले संसदमा दुई पार्टीबीचको सहमतिबारे विभिन्न टीकाटिप्पणी भइरहेको भन्दै कांग्रेस र एमालेले मुलुकमा विद्यमान समस्या समाधानको सङ्कल्पगरी सहकार्य गर्न लागेकाले यसमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले अङ्कगणितीय हिसाबले नभई राष्ट्रिय सहमतिबाट संविधान संशोधन गरेर विद्यमान समस्या समाधानमा सम्बोधन गरिने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले संविधानको प्रावधानअनुसार नै सरकार गठन प्रक्रिया अगाडि बढाउन राजनीतिक दललाई आग्रह गरे । उनले संवैधानिक व्यवस्थाअनुरुप वर्तमान सरकारले आफ्नो समय उपयोग गरेको जिकिर गरे । सांसद झाले संविधान र संसदीय प्रणालीको अभ्यास सबै दलले गर्नुपर्नेमा जोड दिँदै अहिलेको सङ्कटलाई समाधान गर्न सबै गम्भीर हुनुपर्ने धारणा राखे ।

विपद् व्यवस्थापनको तयारीबारे सदनलाई जानकारी दिन माग

नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले मुलुकभर बढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपजन्य घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले विपद् व्यवस्थापन गर्न सरकारले के तयारी गरिरहेको छ सदनलाई जानकारी गराउन माग गरिन् ।

सांसद गौतमले मनसुन सुरु भएसँगै विपद् जुनसुकै बेला आउनसक्ने भएकाले पूर्वतयारीका लागि सरकारले गरेका काम र योजनाबारे दलाई जानकारी गराउनुपर्नेमा जोड दिइन् । उनले हरेक वर्ष विपद् आएपछि मात्रै तयारी थाल्ने गरिएकाले भन्दै विपद् व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरिन् ।