`

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधबार बिहान विद्यालयतर्फ जाँदै गरेको मिनीबस अर्को गाडीसँग ठोक्किएपछि पल्टिएर आगलागी हुँदा १२ जना बालबालिकाको मृत्यु भएको सरकारले जनाएको छ ।

मिनीबसका चालकको पनि मृत्यु भएको र अन्य सात जना बालबालिकालाई तत्काल उपचारका लागि अस्पताल लगिएको गौतेङ्ग प्रान्तीय सरकारले विज्ञप्तिमा जनाएको छ ।

टेलिभिजनमा प्रसारण तस्बिरहरूले सहरबाट ७० किलोमिटर पश्चिममा रहेको मेराफोङमा भएको दुर्घटनामा मिनीबस पूर्ण रूपमा नष्ट भएको देखाएको छ ।

गौतेङ्गका शिक्षामन्त्री माटोम चिलोनेले बताए । उनले भने, ‘यो दुखद घटनाबाट म निकै दुःखी छु । हाम्रा छोराछोरीहरू गुमाउनु हाम्रो समुदायका लागि आघातपुर्ण घटना हो । हामी मृतकको परिवारप्रति समवेदना प्रकट गर्दछौ र घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

माओवादीले प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन संसदमा रहेका दलहरूलाई अपील गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले छलको राजनीति गरेको आरोप लगाएका छन् ।

बुधबार पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमतिमा हस्ताक्षर गरिसकेपछि ओलीले आफूलाई छक्याएको बताएका हुन् ।

प्रधानमन्त्रीले बालुवाटारमा भएको पछिल्लो बैठकमा पनि ओलीले आफूसँग झुटो बोलेको बताए। प्रधानमन्त्रीको भनाई उदृत गर्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘ओलीजीसँग पछिल्लो पटक छलफल हुँदा कांग्रेसबीच त्यस्तो केही भएको छैन, बरु अब तीन दलका नेता बस्नुपर्छ भनेर भन्नुभएको थियो। तर, देउवाजीसँग सोधीखोजी गर्दा उहाँले ’सम्झौता भइसक्यो, सरी’ भनेपछि थाहापायौं । यो हदसम्म ओलीले छलढाँट गर्नुभएको छ ।’

संसदीय दलको बैठकले प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन संसदमा रहेका दलहरूलाई अपील गर्ने निर्णय गरेको छ । प्रमुख सचेतक पाण्डेले संविधानको धारा ७६(२) पछि धारा ७६(३) आउने भएकाले सोही धाराअनुसार सरकार बन्नेमा आफूहरू स्पष्ट रहेको पनि बताए ।

घट्दो जनसङ्ख्या र बढ्दो बसाइसराइँले सयभन्दा कम विद्यार्थी भएका विद्यालय सङ्ख्या बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । घट्दो जनसङ्ख्या, बढ्दो बसाइसराइँ र सहरी क्षेत्रमा निजी विद्यालयको प्रभावसँगै मुलुकका पचास प्रतिशतभन्दा बढी सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी हुन पुगेका छन् । सार्वजनिक शिक्षाको सुधारका लागि सरकारी र गैह्रसरकारी क्षेत्रबाट पहल जारी रहे पनि कूल सामुदायिक (सरकारी) विद्यालयमध्ये आधाभन्दा बढीमा सयभन्दा कम विद्यार्थी देखिएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको शैक्षिक सूचना, २०८० मा सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको सङ्ख्या १५ हजार नौ सय ६५ उल्लेख छ ।

उक्त सङ्ख्या कूल सामुदायिक विद्यालयको सङ्ख्या (२७ हजार नौ सय ९०) को ५७ दशमलव ०३ प्रतिशत हो । आर्थिक वर्ष २०७६÷७७ मा सयभन्दा कम भएका सामुदायिक विद्यालयको सङ्ख्या १४ हजार रहेकामा विद्यालय समायोजन (मर्ज) को नीतिसमेत सञ्चालन भएको स्थितिमा हाल कम विद्यार्थी भएका विद्यालयको सङ्ख्या झन् बढेको देखिएको छ ।

सयदेखि पाँच सयसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय नौ हजार सात सय चार, पाँच सय एकदेखि एक हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय एक हजार छ सय ३६, एक हजार एकदेखि १५ सयसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय चार सय नौ, १५ सय एकदेखि दुई हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय एक सय ३६ र दुई हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयको सङ्ख्या मात्र सय रहेको छ ।

हाल २७ हजार नौ सय ९० सामुदायिक र सात हजार आठ सय ८६ संस्थागत (निजी) गरी कूल ३५ हजार आठ सय ७६ विद्यालय (आधारभूत तहदेखि कक्षा १२ सम्म) छन् । विसं २०७९ मा सामुदायिक, संस्थागत र धार्मिक विद्यालय गरी ३६ हजार पाँच सय दुई विद्यालय रहेका थिए ।

शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रको आँकडा अनुसार २०८० सालमा सामुदायिक र संस्थागत दुवैमा गरी आधारभूत तह कक्षा ५ सम्म १७ हजार छ सय १७, आधारभूत तह कक्षा ८ सम्म छ हजार सात सय ६७, माध्यमिक तह कक्षा १० सम्म छ हजार छ सय ७२ र माध्यमिक तह कक्षा १२ सम्म चार हजार आठ सय २० विद्यालय रहेका छन् ।

केन्द्रका महानिर्देशक दीपक शर्मा जन्मदर कम हुँदै जानु, सहरी क्षेत्रमा संस्थागत (निजी) विद्यालयका विद्यार्थी बढ्नु र ग्रामीण क्षेत्रबाट नागरिकको सहरी क्षेत्रमा बसाइँसराइ बढ्नुले धेरै सामुदायिक विद्यालयमा विद्यार्थी कम भएको बताउँछन् ।

दोलखाको रोल्वालिङमा ११ परिवार मात्रै रहेको र त्यहाँ आठजना मात्रै विद्यालय उमेरका बालबालिका रहेको स्थितिमा त्यहाँको प्राथमिक विद्यालय बन्द वा समायोजन गराउने हो भने त्यहाँका बालबालिका अर्काे गाउँको विद्यालयमा पुग्न दुई घन्टासम्म हिँडेर जानुपर्ने अवस्था रहेको बारेमा पनि सोच्नुपर्ने उनको भनाइ छ ।

विद्यालय समायोजन नीतिमा आधा घन्टाभन्दा कम पैद दूरीमा पर्ने सामुदायिक विद्यालयमा १५ भन्दा कम विद्यार्थी भएमा नजिकैको विद्यालयमा मर्ज गर्नुपर्ने व्यवस्था रहेको छ ।

निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ ले बालबालिकालाई आधारभूत तहसम्म पायकपर्ने विद्यालयमा निःशुल्क शिक्षा दिनुपर्ने भएकाले न्यून विद्यार्थी भए पनि दुर्गम गाउँका विद्यालयलाई कायम गरिएको महानिर्देशक शर्माले बताए ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रमको नक्शाङ्कन गरी पुनःसंरचना गर्ने, विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने, विभिन्न क्षेत्रमा सीप विकासका लागि दस कक्षा उत्तीर्ण विद्यार्थीका लागि विशेष कार्यक्रम लागू गर्ने योजना छ ।

नीति तथा कार्यक्रममा शिक्षा प्रणालीमा परिमार्जन गर्ने लक्ष्य लिएको यस नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकबाट नयाँ पुस्ताका बालबालिका तथा युवावर्गमा ज्ञान, सीप तथा अनुभव पुस्तान्तरण गर्न आवश्यक प्रबन्ध गरिने र विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाइ शिक्षण सिकाइमा रहेको असमानता कम गर्न र गुणस्तरीय शिक्षामा सबैको पहुँच वृद्धि गर्न ‘एक पालिका एक स्मार्ट विद्यालय’ अवधारणा कार्यान्वयनमा ल्याइने उल्लेख छ ।

विपदबाट प्रभावितलाई सहयोग गर्न नेता कार्यकर्तालाई कांग्रेसको निर्देशन

कठमाडौँ । नेपाली कांग्रेसले मुलुकभर आएको बाढीपहिरो लगायतका प्राकृतिक विपद्मा परी मानवीय क्षति तथा भौतिक क्षति भएको घट्नाप्रति दुःख व्यक्त गरेको छ ।

कांगेसले बुधबार विज्ञप्तिमार्फत उत्पन्न परिस्थितिले नागरिकको जनजीवन कष्टकर भएको उल्लेख गर्दै सम्पूर्ण पीडितको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ । कांग्रेसले प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय तथा भौतिक क्षति रोक्न तीनवटै तहका सरकारसँग आग्रह गरेको छ ।

“सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न कांग्रेस सरकारसँग आग्रह गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले प्रभावित जिल्लाका पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबैले एकापसमा समन्वय गरी सम्पूर्ण साङ्गठनिक संरचनाका जनशक्तिलाई परिचालन गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन अपील गरेको छ ।

केही दिनयता परेको वर्षाका कारण उत्पन्न विपद्मा परी ठूलो सङ्ख्यामा नागरिक घाइते तथा कतिपय अझै बेपत्ता छन् । विपद्बाट धेरै नागरिक विस्थापित हुन पुगेका छन् । खेतीयोग्य जमिनमा क्षति पुगेको छ । देशभर सडक सञ्जाल अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

केही दिनयता परेको वर्षाका कारण उत्पन्न विपद्मा परी ठूलो सङ्ख्यामा नागरिक घाइते तथा कतिपय अझै बेपत्ता छन् । विपद्बाट धेरै नागरिक विस्थापित हुन पुगेका छन् । खेतीयोग्य जमिनमा क्षति पुगेको छ । देशभर सडक सञ्जाल अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

एमाले केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर हुने

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालयको बुधबार बसेको ३३औँ बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्यकोे कार्यविभाजन हेरफेर गर्ने विषयमा छलफल सुरु भएको छ । बैठकले पार्टी सदस्यता नवीकरणको काम आगामी साउन मसान्तसम्म सम्पन्न गर्न निर्देश गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्ला अधिवेशन भइनसकेका जिल्ला कमिटीलाई सङ्गठन कमिटीमा रुपान्तरण गरेको छ । साथै, ती जिल्लाका अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिएको पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको उक्त बैठकले पार्टीको भूमि व्यवस्था विभागको सचिवमा विजय सुवेदी र सहकारी तथा गरिबी निवारण विभागको सचिवमा परितोष पौडेललाई मनोनयन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेप्से २३ अङ्कले बढ्यो

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ । बुधबार नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको हो ।

बुधबार तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ९६ हजार सात सय ३९ कित्ता शेयर ७२ हजार सात सय १४ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार बराबरको कारोबार भएको छ । विकास बैंक समूह शून्य दशमलव २९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैकिङ समूह एक दशमलव ६९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा १० दशमलव २५ प्रतिशत एसबिएल डिबेञ्चर–२०८३ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको रु १५ करोड आठ लाख ९९ हजार आठ सय ५९ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी उन्नती कोषको दश लाख सात हजार तीन सय ५० कित्ता शेयर किनबेच भएको छ ।

म केबल रविको क्लबबाट मात्रै निक्लिएको होः मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा.मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेमाथि छानबिन गर्न पार्टीभित्रै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन् ।

पार्टीले महामन्त्री र प्रवक्ता पदबाट हटाएपछि बुधबार पत्रकार सम्मेलन गरी ढकालले पार्टी सभापतिको दोहोरो राहदानी र सहकारी ठगी प्रकरणको छानबिन गर्न पार्टीभित्रै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका हुन् ।

राहदानीको मुद्दामा उनी दोषी ठहर भए भोलिका दिनमा चुनाव नै लड्न नपाउने भन्दै ढकालले यो पार्टी जीवनसँग जोडिएकाले उच्चस्तरीय छानबिन गर्नुपर्ने बताए ।

उनले पार्टीभित्र अपारदर्शी आर्थिक क्रियाकलाप जारी राखेको भन्दै लगाउँदै रवि लामिछानेले सहकारी मात्र नभई पार्टी पनि ठगेका ठगेको आरोप लगाए ।

उनले सभापति लामिछानेका गल्तीको दोष अरुलाई थोपर्ने क्रममा आफू पनि शिकार भएको बताए । उनले सभापति लामिछानेले सरकारमा नेतृत्व गर्दा पदीय जिम्मेवारी अनुरुप काम गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘रवि लामिछानेले यो देशको सबैभन्दा सफल गृहमन्त्री भएँ भन्नु भयो । तर उहाँले आफ्ना गल्ती सबै अरुलाई थोपर्नु भयो । हामीले चिनेको रवि लामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रवि लामिछाने अब रहनुभएन ।’

उनले गृहमन्त्रीले पार्टीलाई क्लबमा परिणत गराएको आरोप लगाए । उनले भने, ‘रास्वपामा अनुशासन आयोगमाथि प्रतिवेदनमै प्रश्न उठाइएको छ । त्यसैले उसको भूमिकामा शंका भएकाले मान्नुपर्ने अवस्था थिएन । रविले पार्टीलाई क्लब जसरी चलाए । पार्टी रवि लामिछाने क्लबका रुपमा हाइज्याक भएको छ ।’

उनले आफू रास्वपाको महामन्त्री र प्रवक्ताबाट निलम्बित नभएको दाबी गरे । उनले भने, ‘म केबल रविको क्लबबाट मात्रै निक्लिएको हो । म बलजफ्ती गरेर महामन्त्रीको कुर्सीमा बस्न जाँदिन । तर रवि लामिछानेका कारण पार्टी सकिने दिशातिर गयो, मेरो चिन्ता यति मात्रै हो ।’

ढकालले लामिछानेलाई केपी ओली, प्रचण्ड र शेरबहादुर देउवको शैली मन पर्न थालेको आरोप लगाए । उनले भने,’अहिले संविधानको धारा ३ अनुसार सरकार बन्छ कि भनेर रवि लामिछाने त्यो सरकारमा जान पाइन्छ कि भनेर टुसुक्क परेर बसिरहनु भएको छ । प्रचण्ड ओली र देउवाको शैली मन पर्नेलाई मुकुल ढकालको शैली कहाँ मन पर्छ ?’

अन्य देशको पिआर लिएको छैनः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षमन्त्री सुमना श्रेष्ठले युरोपेली मुलुकको पिआर लिएको भन्दै उनीविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।

उजुरीपरेपछि सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र पठाई यथार्थ जानकारी मागेको छ । सतर्कता केन्द्रको पत्र प्राप्त गरेपछि मन्त्री श्रेष्ठले आफूले कुनै देशको पिआर नलिएको बताएकी छन् ।

सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी उनले आफू नेपाली नागरिक भएको र अरु कुनै देशको पिआर र नागरिकता नलिएको स्पष्ट पारेकी हुन् ।

उनले भनेकी छन्, ‘म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पिआर वा नागरिकता लिएकी छैन । ट्याबलोइड सञ्चार माध्यममा सीमित रहँदासम्म जवाफ दिन जरुरी ठानिन । तर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु । आरोप आफैंमा अस्पष्ट छ, कुन देशको पिआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, तर छानबिनमा पूरा सहयोग गर्नेछु ।’

उनले आरोप के प्रमाणको आधारमा लगाइयो र लगाउनेको नियत र कस्तो बेला ल्याइयो भन्दै प्रश्न गरेकी छन् । मन्त्री श्रेष्ठले युरोपियन देशको पिआर वा नागरिकता लिने प्रक्रिया बुझेका कसैले यसबारे प्रकाश पारिदिन आग्रहसमेत गरेकी छन् ।

 https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Fsumanashresthasecretariat%2Fvideos%2F7768923086558489%2F&show_text=false&width=267&t=0

प्रधानमन्त्री एमालेलाई सत्तामा जान रोक्न प्रपञ्च गर्दै हुनुहुन्छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताएका छन् ।

पार्टीको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग पनि यसै विषयमा छलफल भएको तर, संविधानका यी धारा र यी विषयमा परिवर्तन गर्ने भन्ने बारेका कुनै सहमति नभएको प्रष्ट पारे । संविधान संशोधनको लागि आयोग बनाउने सहमति पनि नभएको उनले बताए ।

अध्यक्ष ओलीले एमाले र कांग्रेसबीचको समीकरण राजनीतिक स्थायित्व र विकासको लागि भएको बताए । एमाले र कांग्रेस मिलेर संविधान र व्यवस्था नै समाप्त पार्न लागेको भ्रामक प्रचारप्रति उनले आपत्ति जनाए । प्रदेशहरूमा महिना–महिनामा सरकार फेरिने स्थिति बनेकामा पनि उनले चिन्ता व्यक्त गरे ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार निजी र दलगत स्वार्थलाई केन्द्रमा राखेर गतिविधि सञ्चालन गर्ने, देशको विकास निर्माण र जनताका कामलाई केन्द्रमा नराख्ने र अस्थिरतामा रमाउने प्रवृत्तिका विरुद्ध कांग्रेस–एमाले एक ठाउँमा आउनु परेको उनले प्रष्ट पारे ।

‘संविधान एउटा गतिशील दस्ताबेज हो, समाजको पथ प्रदर्शक हो, समाजलाई डोर्याउने मूल कानुन हो, यो मूल कानुन समय अनुकूल परिवर्तित, परिमार्जित हुँदै जानु उपयुक्त हुन्छ’, उनले भने,’त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेर भनेको हो । त्यसबारेमा विस्तृतमा पछि छलफल हुनेछ ।’

अहिले धेरै कुरा बजारमा आएको बताउँदै अध्यक्ष ओलीले कांग्रेससँग यस विषयमा डिटेलमा कुनै कुरा नभएको स्पष्ट पारे ।

मन्त्रालय बाँडफाँट भएको छैन
उनले कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँट नभएको बताए । सरकारमा सबैदललाई स्थान दिने भन्ने विषयमा भने सहमति भएको उनले जानकारी दिए । उनले यदि उत्पादन बढाउन नसक्ने हो भने आयात वृद्धि हुने र नेपाल परनिर्भर हुने बताए । सबै कुरा राष्ट्रिय उत्पादनमा निर्भर हुनेमा उनले जोड दिए ।

उद्यमशीलता, कृषिमा आधारित उद्योग, व्यावसायिकता, आधुनिकीकरण र यान्त्रिकीरणमा ध्यान दिनु, उत्पादनका लागि प्रविधिमा जोड दिनु आजको आवश्यकता भएको अध्यक्ष ओलीले बताए ।

‘सडक, पूर्वाधार, विद्युत्, सञ्चारलगायत क्षेत्रका आधारभूत काम भएका छन्’, अब शिक्षालाई व्यवहारमुखी बनाउने तर्फ लाग्नुपर्छ । कृषि क्षेत्रको विकासका लागि विशेष कार्यक्रम बनाउन आवश्यक छ,’ अध्यक्ष ओलीले भने ।

कर्णालीमा घट्यो कृषि उत्पादन

काँक्रेविहार । कर्णाली प्रदेशमा कृषि उत्पादन वृद्धि गर्दै किसानलाई प्रोत्साहन गर्न तीनै तहका सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सङ्घ, प्रदेश र स्थानीय सरकारबाट कर्णालीको समग्र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्नुका साथै विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालित छन् ।

प्रदेश सरकारले कृषि तथा पशुपक्षीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न बर्सेनि कृषि अनुदान वितरण गर्दै आएको छ । सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मन्त्रालयमातहतका निकाय र स्थानीय तहमार्फत बर्सेनि विभिन्न शीर्षकमा अनुदानका कार्यक्रम सञ्चालन भइरहेका मन्त्रायलका सूचना अधिकारी एवं कृषि अधिकृत रामभक्त अधिकारीले जानकारी दिए ।

तीन तहका सरकारले कर्णालीको कृषिलाई उच्च प्राथमिकता दिए पनि कृषि बालीको उत्पादनमा सकारात्मक परिवर्तन आउन नसकेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ को अर्धवार्षिक प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदन अनुसार कृषि क्षेत्रमा सरकारी लगानी बढेको पाइए पनि उत्पादन भने घट्दै गएको छ ।


‘कर्णालीको कृषिबालीको उत्पादन ३.५३ प्रतिशतले ह्रास आई ११ लाख ५१ हजार चार सय ३३.६१ मेट्रिकटन कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त उत्पादन ८.७६ प्रतिशतले वृद्धि भएको थियो’, राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा कर्णालीको खाद्य तथा अन्य बालीको उत्पादनमा ३.०५ प्रतिशतले ह्रास आई आठ लाख ३५ हजार ६ सय ९५ मेट्रिकटन कायम भएको पाइएको राष्ट्र बैंकका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख बाबुराम कोइरालाले बताए । गत आवमा यस्तो उत्पादन १०.६२ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा प्रमुख कृषिमध्ये धान बालीको उत्पादन १२.०४ प्रतिशतले वृद्धि भई एक लाख ४५ हजार ६३ मेट्रिकटन पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो उत्पादन २.०५ प्रतिशतले वृद्धि भएको थियो । गत आवको सोही अवधिमा ९.२१ प्रतिशतले वृद्धि भएको मकै उत्पादन ७.६१ प्रतिशतले घटेको छ । गहुँ उत्पादन गतको तुलनामा ०.४३ प्रतिशतले वृद्धि भई एक लाख ८८ हजार तीन सय २४ मेट्रिकटन पुगेको कोइरालाले जानकारी दिए।

कोदो, जौ र फापरको उत्पादनमा क्रमशः १६.७३ प्रतिशत, १८.९८ र २५.६९ प्रतिशतले ह्रास आएको प्रतिवेदनको तथ्यांकले देखाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अधिकारीले जानकारी दिए। उनका अनुसार गत आवको सोही अवधिमा उक्त बालीको उत्पादन क्रमशः ४५.९४ प्रतिशत, ४५.४९ प्रतिशत र १९.७७ प्रतिशतले वृद्धि भएको थियो ।

गत आवमा १.२४ प्रतिशतले वृद्धि भएको दलहन उत्पादन समीक्षा अवधिमा ७.५६ प्रतिशतले घटेर १७ हजार आठ सय ७९ मेट्रिकटन कायम भएको छ । कर्णाली प्रदेशमा तेलहन उत्पादन ४६.१९ प्रतिशतले वृद्धि भएको छ भने गत आवको सोही अवधिमा यस्तो उत्पादन ४.०७ प्रतिशतले वृद्धि भएको थियो ।

सागसब्जी र फलफूलको उत्पादन पनि घट्यो

प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा कर्णालीमा तरकारी तथा बागवानी उत्पादन ५.२९ प्रतिशतले ह्रास आई एक लाख ८१ हजार तीन सय ६८ मेट्रिकटन कायम भएको उल्लेख गरिएको छ । गत वर्ष यस्तो उत्पादन ६.८२ प्रतिशतले वृद्धि भएको थियो । गत वर्ष ७.४९ प्रतिशतले वृद्धि भएको तरकारी उत्पादनमा ६.४६ प्रतिशतले ह्रास आएको छ ।

स्थानीय सरकारबाट तरकारी र बागवानी उत्पादनमा लगानी अभिवृद्धि भए पनि उत्पादनमा प्रभावकारी नीति कार्यान्वयनको नतिजा सकारात्मक आउन केही समय लाग्ने भएकाले समीक्षा अवधिमा उक्त बालीको उत्पादनमा सकारात्मक परिवर्तन नदेखिएको राष्ट्र बैंकका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख कोइरालाले बताए ।

प्रदेशभित्र फलफूल तथा मसला उत्पादनमा ४.३३ प्रतिशतले ह्रास आएको छ । गत आवमा फलफूल तथा मसला उत्पादनमा ०.९१ प्रतिशतले वृद्धि भएकामा चालु आवमा घटेर एक लाख ३३ हजार नौ सय ५७ मेट्रिकटन कायम भएको छ । स्याउ र अन्य फलफूल उत्पादन क्रमशः २९.४५ प्रतिशत र १२.८१ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा स्याउ ३.० र अन्य फलफूल उत्पादन ४.०४ प्रतिशतले वृद्धि भएको थियो ।

गत आवमा ८.४९ वृद्धि भएको सुन्तला चालु आवमा १९.८३ प्रतिशतले ह्रास आएको कोइरालाले बताए। आँप र केरा क्रमशः ६.६८ र २४.५७ प्रतिशतले कमी आएको छ । गत आवमा यी दुई फलफुलको उत्पादन क्रमशः २।३४ र १।१८ प्रतिशतले वृद्धि भएको थियो ।

अदुवा, बेसारलगायत प्रमुख मसला बालीको उत्पादनमा १३.३५ प्रतिशतले ह्रास आई ६१ हजार नौ सय ६१ मेट्रिकटन कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो उत्पादन ०.२६ प्रतिशतले वृद्धि भएको थियो । प्रदेशमा मह उत्पादनमा वृद्धि भई ४१३.५ मेट्रिकटन पुगेको मन्त्रायलका सूचना अधिकारी अधिकारीले जानकारी दिए। गत वर्ष यस्तो उत्पादन २४.८८ प्रतिशतले घटेको थियो ।

कृषिबाली उत्पादनको क्षेत्रगत हिस्सा

खाद्य तथा अन्य बालीको उत्पादनले कर्णाली प्रदेशको कूल कृषि उत्पादनको करिब ७२.५८ प्रतिशत हिस्सा ओगटेको छ । तरकारी तथा बागबानी, फलफूल तथा मसलाबाली र मह उत्पादनको हिस्सा क्रमशः १५.७५, ११.६३ र ०.०४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रदेशको कूल खाद्य तथा अन्यबाली उत्पादनमा सबैभन्दा बढी हिस्सा २४।३० प्रतिशत सुर्खेतको र सबैभन्दा कम १.३१ प्रतिशत डोल्पाको रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अधिकारीले जानकारी दिए।

‘तरकारी तथा बागवानी उत्पादनमा सुर्खेतको ४१।९७ र डोल्पाको सबैभन्दा न्यून ०.५८ प्रतिशत हिस्सा रहेको छ । फलफूल तथा मसला बालीको हिस्सा सबैभन्दा बढी २४.९९ प्रतिशत सल्यानको रहँदा सबैभन्दा कम १.३१ प्रतिशत डोल्पाको छ । खाद्य तथा अन्य बालीमा सबैभन्दा धेरै २९.७८ प्रतिशत मकै उत्पादन रहेको छभने सबैभन्दा कम ०.०४ प्रतिशत हिस्सा उखु उत्पादनको छ’, अधिकारीले भने। उनका अनुसार कोदो, गहुँ, आलु र धान उत्पादनको हिस्सा क्रमशः ३.०६, २२.५४, २०.८९ र १७.३६ प्रतिशत रहेको छ ।

दूध उत्पादनमा वृद्धि

कर्णाली प्रदेशमा दूध उत्पादन ७.२३ प्रतिशतले वृद्धि भई ३६ हजार पाँच सय ६ दशमलव २८ हजार लिटर पुगेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । गत आवको सोही अवधिमा यो उत्पादन १८.११ प्रतिशतले वृद्धि भएको थियो ।

‘मासु उत्पादन १०.१२ प्रतिशतले वृद्धि हुँदा अण्डा उत्पादनमा १५ प्रतिशतले ह्रास आएको छ । माछा उत्पादन १४।६२ प्रतिशतले वृद्धि भई १८२.५२ मेट्रिकटन पुगेको छ’, प्रतिवेदनमा भनिएको छ ।

माछापालनसम्बन्धी सरकारी निकायबाट प्रदान गरिने अनुदानको प्रभावकारी कार्यान्वयन हुनुका साथै किसानलाई माछापालनसम्बन्धी आवश्यक सीप, तालिमलगायतकार्यक्रम सञ्चालनभएकाले माछा उत्पादनमा सकारात्मक परिवर्तन आएको मन्त्रालयका कृषि अधिकृत अधिकारीले बताए।

सिञ्चित क्षेत्रफलमा वृद्धि

प्रदेशमा खेतीयोग्य जमिन तीन लाख २७ हजार चार सय ८५ दशमलव १५ हेक्टरमध्ये ५७ हजार सात सय ७८.९१ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गत आवको तुलनामा यस वर्ष सिञ्चित क्षेत्रफल १.५९ प्रतिशतले वृद्धि भएको मन्त्रालयका सूचना अधिकारी अधिकारीले जानकारी दिए।

कुलोबाट सबैभन्दा बढी ४५ हजार दुई सय १२ दशमलव १८ हेक्टरमा सिँचाइ सुविधा पुगेको छभने सबैभन्दा कम दुई हेक्टर क्षेत्रफल बोरिङद्वारा सिञ्चित छ । नहरद्वारा सिञ्चित क्षेत्रफल १४ हजार नौ सय ५२ हेक्टर रहेको छ ।

घट्यो क्षेत्रगत कृषि कर्जा

प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जा गत आर्थिक वर्षको तुलनामा १७.५७ प्रतिशतले कमी आई रु चार अर्ब ५२ करोड १९ लाख पुगेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सामसुङको कर्मचारी युनियनद्वारा अनिश्चितकालीन हड्तालको घोषणा

दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले व्यवस्थापनलाई वार्तामा ल्याउन बाध्य पार्न आफ्नो हडताललाई अनिश्चितकालका लागि लम्ब्याउने बुधबार घोषणा गरेको छ । युनियनले यसअघि तीन दिने हडतालको घोषणा गरेको थियो ।

यो हड्ताल समसुङ कम्पनीको इतिहासमा सबैभन्दा ठूलो श्रम अवरोधको काम हो । चिप्स बनाउने विश्वकै केही प्रमुख कम्पनीमध्ये सामसुङ पनि एक हो र हडतालले विश्व बजारमा सामसुङको तर्फबाट आपूर्ति हुने चिप्सको व्यवस्थापनमा दबाब बढाउँछ ।

कम्पनीले गत हप्ता ठूलो दोस्रो त्रैमासिक सञ्चालन मुनाफा वृद्धिको भविष्यवाणी गरेको थियो । नेशनल सामसङ इलेक्ट्रोनिक्स युनियनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘व्यवस्थापन कुरा गर्न इच्छुक नभएपछि हामी जुलाई १० देखि दोस्रो अनिश्चितकालीन आमहडतालको घोषणा गर्छौं ।’

तलब र सुविधाका लागि लामो समयदेखि चलेको सङ्घर्षको एक हिस्साका रूपमा तीन दिने हडतालका लागि सोमबार पाँच हजारभन्दा बढी सदस्यले हड्तालमा सहभागी भई काम गर्न छोडेका छन् ।

युनियनको यो हडताल जूनमा एक दिनको ‘वाकआउट’पछि आएको हो । दशकौंसम्म सङ्घसङगठन बिना चलेको कम्पनीमा पहिलो पटक सामूहिक विरोधसहित काममा अवरोध पारिएको छ ।

आन्दोलनरत युनियनमा ३० हजार भन्दा बढी सदस्यहरू छन् जुन कम्पनीको कुल कार्यबलको पाँच भागको एक भागभन्दा बढी हो । सामसुङले दिएको जानकारीअनुसार हडतालले उत्पादनमा कुनै असर पार्ने छैन ।

‘सामसुङ इलेक्ट्रोनिक्सले उत्पादन लाइनमा कुनै अवरोध नआओस् भन्ने सुनिश्चित गर्नेछ,’ कम्पनीका प्रवक्ताले भने । उनले भने,’कम्पनी युनियनसँग असल विश्वासको वार्तामा संलग्न हुन प्रतिबद्ध छ ।’

तर युनियनले उत्पादनमा स्पष्ट व्यवधान आएको दावी गर्दै हडताल जति लामो समयसम्म जारी रह्यो, त्यति नै व्यवस्थापनलाई असर पर्ने बताएको छ । ‘अन्ततः उनीहरू घुँडा टेकेर वार्ताको टेबलमा आउनेछन् । हामी जितमा पूर्ण आशावादी छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

युनियनले सामसुङ व्यवस्थापनले हडतालमा अवरोध पु¥याएको आरोप लगाउँदै आफूहरू वार्तामा सहभागी हुन इच्छुक नदेखिएको बताएको छ ।

यसले ‘अझै पनि हिचकिचाउन’ थप कर्मचारीसहित कामदारहरूलाई सहभागी हुन आग्रह गरेको छ । उनले भने, ‘हाम्रो लक्ष्य र विजयलाई अगाडि बढाउन तपाईंको दृढ सङ्कल्प आवश्यक छ । आउनुहोस्, हामी हाम्रा अधिकारहरूको रक्षा गर्न र राम्रो भविष्य निर्माण गर्न हाम्रो शक्तिलाई एकताबद्ध गरौं ।’

युनियनले जनवरीदेखि नै व्यवस्थापनसँग वार्ता गरिरहे पनि दुवै पक्ष मतभेदलाई कम गर्न असफल भएका छन् । युनियनले यसअघि वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनसलगायतका माग राख्दै ५.१ प्रतिशत तलब वृद्धिको प्रस्ताव अस्वीकार गरेको छ ।

काउन्टरप्वाइन्ट रिसर्चका रिसर्च भाइस प्रेसिडेन्ट नील शाहले भने, ‘हडतालको असर हडतालको अवधि, उत्पादन अवरोधका दिन र पुनः प्राप्त गर्ने रणनीतिसहितका विभिन्न कारकमा निर्भर गर्छ ।’

उनले भने, “सामसुङ व्यवस्थापनले यो हुन सक्छ भनेर कसरी तयार गरेको छ र पहिले नै यसलाई छिटो समाधान गर्न के गृहकार्य गरेको छ यसले क्षतिको सम्भावना कति हुने कुरा निर्धारण गर्छ ।”

आलोचकहरूका अनुसार, सामसुङ इलेक्ट्रोनिक्सले लगभग ५० वर्षसम्म विश्वको सबैभन्दा ठूलो स्मार्टफोन र सेमीकन्डक्टर निर्माता बन्नको लागि काम गरेका आफ्ना कर्मचारीहरूलाई युनियन खोल्न दिएको थिएन ।

सन् १९८७ मा निधन भएका कम्पनीका संस्थापक ली बियुङ–चुलले युनियनको कडा विरोध गर्दै भनेका थिए, ‘जबसम्म मेरो आँखामा कसिङ्गर पर्ने छैन तबसम्म म कहिल्यै पनि युनियन खोल्नलाई अनुमति दिन्नँ ।’

सन् २०१९ मा सामसुङ इलेक्ट्रोनिक्सको पहिलो प्रभावकारी श्रमिक युनियन गठन भएको थियो । त्यसको केही समयपछि नै सामसुङ इलेक्ट्रोनिक्सका संस्थापकका नाति तथा वर्तमान अध्यक्ष ली जे–योङले सन् २०२० मा कम्पनीको युनियनविहीन सिद्धान्त अन्त्य भएको घोषणा गरेका थिए ।

सामसुङका तत्कालीन उपाध्यक्ष लीले सामसुङको श्रम नीतिले बदलिँदो समयको माग पूरा गर्न नसकेको बताए ।

यो कम्पनी दक्षिण कोरियाली विशाल प्रबिधि कम्पनी सामसुङ समूहको प्रमुख सहायक कम्पनी हो, जुन एशियाको चौथो ठूलो अर्थव्यवस्थामा व्यवसायमा प्रभुत्व जमाउने परिवार–नियन्त्रित समूहहरूमध्ये सबैभन्दा ठूलो हो ।

जेनेरेटर एआईको बढ्दो मागसँगै सामसुङले हालै आफ्नो दोस्रो त्रैमासिक सञ्चालन मुनाफामा १५ गुणाभन्दा बढी वृद्धिको भविष्यवाणी गरेको छ ।

नाबालिगलाई वेश्यावृत्ति गराएको अभियोगमा दुईजना पक्राउ

काठमाडौँ । नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो ।

सिन्धुली होटल ढिँडो सर्भिस् एन्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको प्रहरीले बताएको छ ।

चीनमा एकसय जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेका एक व्यक्ति पक्राउ

चीनको मुख्य भूमिमा एकसय भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ ।

चीनको भन्सार कार्यालयले मङगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अर्धस्वायत्त हङकङबाट सीमावर्ती शहर शेन्जेनतर्फ जान खोज्दा भन्सार अधिकारीहरूले ती व्यक्तिलाई रोकेका थिए।’ 

‘निरीक्षणका क्रममा भन्सार अधिकारीले यात्रुले लगाएको ट्राउजरको खल्तीमा छ वटा क्यानभास ड्रस्ट्रिङ ब्याग प्याक गरिएको र टेपले सिल गरिएको भेटिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘प्रत्येक झोलामा सबै प्रकारका आकार र रङका जीवित सर्प भेटिएका थिए,’ प्रतिवेदनमा भनिएको छ । अधिकारीले १०४ खस्रो सरीसृपहरू जफत गरेका छन् । जफत गरिएका सर्वमध्ये दूध सर्प, मकै सर्प र अन्य विदेशी प्रजातिहरू थिए ।

भिडियोमा दुई जना सीमा अधिकारी रातो, गुलाबी र सेतो सर्पले भरिएको पारदर्शी प्लास्टिकको झोलामा हेरिरहेको देखिन्छ ।

चीनमा पछिल्लो समय अवैध व्यापारमा कडाई गरेका छन् । देशको जैविक सुरक्षा र रोग नियन्त्रण कानूनले मानिसहरूलाई अनुमति बिना गैर–देशी प्रजातिका जनावर ल्याउन निषेध गरेको छ ।

बागलुङका दूग्ध किसानले पाए  १६ लाख अनुदान

बागलुङ । बागलुङ जिल्लाका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत  १६ लाख ४२ हजार रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ । 


केन्द्रले घाँस र मासुमा दिइने अनुदान आगामी आर्थिक वर्षदेखि कटौती गरेको जनाएको छ । घाँस र मासुमा दिने अनुदान प्रभावकारी नभएको देखिएपछि बन्द गर्न लागिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताए । दूधमा भने प्रतिलिटर २.५ रुपैयाँ अनुदान दिँदै आइएको उनले जानकारी दिए । 


यसवर्ष सात वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले सोझै उक्त रकम पाएका छन् । दूधमा आत्मनिर्भर गराउन महत्वपूर्ण भूमिका खेलका दुग्ध उत्पादन सहकारीमा आबद्ध किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिँदै आइएको केन्द्रले जनाएको छ । 


चालु आर्थिक वर्षमा केन्द्रले विनियोजन गरेको २४ लाखमध्ये  १६ लाख ४२ हजार रकम सोझौँ किसानले पाएका केन्द्रका प्रमुख सापकोटाले जानकारी दिए । अनुदान पाउन एउटै सङ्कलन केन्द्रले दैनिक दुई सय लिटर दूध सङ्कलन र बजारीकरण गरेको हुनुपर्ने भएकाले व्यक्तिगत रुपमा दूध बिक्री गर्ने किसान मापदण्डमा नपरेका उनले बताए ।


“संस्थागत रुपमा दूधको बजारीकरण गरेको तथ्याङ्कका आधारमा  २.५ रुपैयाँका दरले अनुदान दिएका छौँ”, सापकोटाले भने, “सात वटा सहकारीमार्फत दूधको सङ्कलन र बजारीकरण गर्ने सहकारीमा आबद्ध किसानले मात्रै उक्त रकम प्राप्त गरेका छन् । सहकारीको खातामा राखिएको रकम सहकारीले सङ्कलन गरेको दूधको आधारमा पुनः किसानलाई भुक्तानी गर्दछ ।”


केन्द्रले बलेवाको कालीगण्डकी, जैमिनी, कालीमाटी, नमूना, मिलिजुली, पाला र बागलुङ पशु स्रोत दुग्ध उत्पादक सहकारी संस्थालाई प्रतिलिटर २.५ रुपैयाँका दरले दूधमा अनुदान दिएको हो ।


सात वटै सहकारीले एक वर्षमा ६ लाख ५६ हजार लिटर दूध सङ्कलन, प्रशोधन तथा बजारीकरण गरेका छन् । दूधमा अनुदान पाउँदा किसान दूध उत्पादनमा अग्रसर भएका स्थानीय रुद्रनाथ शर्माले बताए । उनका अनुसार पशु सेवा केन्द्रले दिएको तथ्याङ्कको आधारमा जैमिनी नगरपालिकाले पनि स्थानीय पशुपालक किसानलाई  २.५ रुपैयाँका दरले दूधमा अनुदान दिन थालेको छ । 

प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम छ । एमालेले बैठकमा आफ्नो पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएको छ ।

चितवनको पुँजीगततर्फ ७३ प्रतिशत बजेट खर्च

चितवन । संघीय सरकारले जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३ दशमलव ८२ प्रतिशत खर्च भएको छ ।

जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये रु चार अर्ब ४१ करोड ६९ लाख ५३ हजार छ सय २४ खर्च भएको हो ।

संघबाट पुँजीगत खर्चका लागि पाँच अर्ब ९८ करोड ३२ लाख ३५ हजार सात सय ८० विनियोजन भएकामा ७३ दशमलव ८२ प्रतिशत खर्च भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एकनारायण शर्माले जानकारी दिए ।

उनका अनुसार संघीय सरकारले विनियोजन गरेको चालुतर्फ ९१ दशमलव ६४ प्रतिशत खर्च भएको छ ।

चालु खर्चका लागि विनियोजित रकम रु १२ अर्ब ९० करोड ३२ लाख ९८ हजार तीन सय १३ मध्ये रु ११ अर्ब ८२ करोड ३६ लाख ६० हजार ३० खर्च भएको शर्माले बताए ।

उनका अनुसार जिल्लामा संघीय सरकारबाट प्राप्त रु १८ खर्ब ८८ करोड ५६ लाख ३४ हजार ९३ मध्ये रु १६ अर्ब २४ करोड छ लाख १३ हजार छ सय ५४ खर्च भएको छ । विनियोजित कुल बजेटको ८५ दशमलव ९९ प्रतिशत खर्च भएको उनले जानकारी दिए ।

प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये ७३ दशमलव ६५ प्रतिशत मात्र खर्च भएको छ । लेखा नियन्त्रण कार्यालयका प्रमुख शर्माका अनुसार प्रदेश सरकारबाट प्राप्त चालु खर्चतर्फको ७८ दशमलव ३६ प्रतिशत र पूँजीगततर्फ ७५ दशमलव ८३ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारले चालुतर्फ रु एक अर्ब ६१ करोड ९४ लाख ३० हजार चार सय ८७ विनियोजन गरेको थियो ।

पुँजीगततर्फ रु तीन अर्ब ३६ करोड १९ लाख २८ हजार विनियोजन भएकामा रु दुई अर्ब ४५ करोड ९२ लाख ३१ हजार सात सय १० खर्च भएको शर्माले जानकारी दिए ।

जिल्लामा प्रदेशबाट रु चार अर्ब ९८ करोड १३ लाख ५८ हजार चार सय ८७ विनियोजित भएकामा रु तीन अर्ब ८१ करोड ८१ लाख ६९ हजार छ सय २५ खर्च भएको छ ।

जिल्लाको समग्र विकासका कार्यले केही गति लिएकाले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पुँजीगततर्फको खर्च बढेको उनले जानकारी दिए ।

कमला नदीमा फसेका ६ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।

दाउरा लिन गएका बेला एक्कासी पानीको बहाव बढेपछि उनीहरु नदीको बीच भागमा फसेका थिए । त्यसबारे जानकारी पाउनासाथ सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले उनीहरुलाई ट्यूव बोटको सहायताले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी सो वेशले कल्याणपुर नगरपालिका–२ स्थित कमला नदीको बीच भागमा फसेका दुई जनाको सकुशल उद्धार गरेको छ । जेसीबीसहित नदीको बीच भागमा फसेका उनीहरुलाई रबर बोटको सहयोगमा सकुशल उद्धार गरिएको हो ।

सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैनः महामन्त्री शर्मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेता डा. मुकुल ढकालमाथि कारबाही गरेपछि रास्वपा यतिबेला आलोचनाको शिकार बनेको छ । अनुशासन आयोगको सिफारिसअनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर महामन्त्री, केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेपछि रास्वपामाथि आलोचना भएको हो ।

पार्टीले जिम्मेवारीबाट हटाउने निर्णय गरेपछि ढकालले आफू सभापति रवि लामिछानेको क्लबबाटमात्रै निस्काशित भएको प्रतिक्रिया दिएका छन् । ढकालले देशका ३८ जिल्लाको समीक्षा यात्रापछि सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएका थिए ।

पार्टीको जनमत खस्केको र आगामी चुनावमा राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने निष्कर्ष प्रतिवेदनले रास्वपमा तरंग ल्याइदिएको हो । पार्टी शुद्धीकरणका लागि आवाज उठाउँदा ढकाल कारबाहीमा परेपछि रास्वपाको आलोचना भइरहेको छ । राजनीतिक दलका नेता तथा राजनीतिक विश्लेषकहरुले रास्वपाको निर्णयबाट वैकल्पिक दलमा पनि अराजनीतिक सोच हाबी भएको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले पनि कारबाही भोग्न नपर्ने टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ । यति सत्य बोल्दा कांग्रेसमा कसैले कार्वाही भोग्नुपर्दैन ! प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो समयसम्म कांग्रेस जीवन्त छ/रहिरहनेछ । रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी ।’

राजनीतिक विश्लेषक डा.सूर्यराज आचार्य अराजनीतिक जगमा उभिएको ‘राजनीति’ ले क्षणिक रमझम दिएपनि अपेक्षित परिणाम नदिने बताउँछन् ।

उनी भन्छन्, ‘ठूला/पुराना दलहरूमा उल्लेख्य सुधारको सम्भावना कम छ । वैकल्पिक भनिने नयाँ दलहरूमा पनि अराजनीतिक सोच/शैली हाबी छ । अराजनीतिक जगमा उभिएको ‘राजनीति’ ले क्षणिक रमझम देला, अपेक्षित परिणाम दिंदैन । समाजमा विवेक भन्दा असन्तोष, आक्रोश र लहडको मनोविज्ञान प्रवल छ । आशावादी हुने मन छ, तर मुलुकको वास्तविकता यस्तै–यस्तै छ !’

अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडा नेतृत्वको आलोचना गर्दा पार्टीबाटै कारबाही गर्ने, फरक मत राख्दा पूर्वाग्रही हुनु दुःख भएको बताउँछन् ।

उनको टिप्पणी छ, ‘नेतृत्वको आलोचना गर्दा पार्टीबाटै कारबाही गर्ने, फरक मत राख्दा पूर्वाग्रही हुने, राजनीतिक भूमिकाबाट बञ्चित गर्ने, पार्टी महाधिवेशनमा प्रतिनिधिलाई चुनाव लड्न नदिएर टाउके सहमति गरी खल्तीबाट निकालेको लिष्ट पढ्ने, निर्वाचन गर्न पर्छ भनेर महाधिवेशन स्थगन गरेर भाग्ने–यस्ता सबै पार्टी नामका दोकान बन्द हुनु पर्छ । यी लोकतन्त्रका नाममा लोकतन्त्रकै शत्रु, नयाँ प्रकारका निरंकुश, अधिनायकवादी र पाखण्डी हुन् । कामै छैन यस्ताको । आजको कार्यभार लोकतन्त्रको लोकतान्त्रिकरण हो, राज्य,समाज, संस्था र पार्टी सबैतिर अझ बढी लोकतन्त्र हो, लोकतन्त्रको संकुचन हैन ।’

पुटिनलाई युक्रेन युद्ध अन्त्य गर्न भारतको आग्रह

रूससँगको भारतको सम्बन्धले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा द्वन्द्व अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको ह्वाइट हाउसले जनाएको छ ।

युक्रेन द्वन्द्वको समाधान युद्धभूमिमा नभई वार्तामा निहित रहेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति पुटिनलाई युद्ध अन्त्य गर्न आग्रह गरेका हुन् ।

ह्वाइट हाउसका सञ्चार सचिव करिन जिन पियरेले भारतलाई अमेरिकाको ‘रणनीतिक साझेदार’ बताउदै उनले युक्रेनमा स्थायी शान्ति कायम गर्ने प्रयासलाई भारतसहित सबै राष्ट्रले समर्थन गर्नु महत्वपूर्ण रहेको बताए ।

‘रूससँगको भारतको लामो समयदेखि रहँदै आएको सम्बन्धले राष्ट्रपति पुटिनलाई युक्रेनमा युद्धको अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको छ,’ उनले भने ।

‘हाम्रो आउँदो पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति सबैभन्दा महत्त्वपूर्ण छ भन्ने एक मित्रको रूपमा मैले सधैं भन्ने गरेको छु । युद्धभूमिमा समाधान सम्भव छैन अर्थात बम, बन्दुक र गोलीको बिचमा समाधान र शान्ति वार्ता सफल हुँदैन । हामीले वार्ताको माध्यमबाट मात्र शान्तिको मार्ग अनुसरण गर्नुपर्नेछ,’ बैठकमा प्रधानमन्त्री मोदीले भने ।

सन् २०२२ मा मस्को र किएभबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री मोदीको यो पहिलो रूस भ्रमण हो । भारतले युक्रेन र रूसबिचको द्वन्द्व समाधानका लागि सधैँ ‘शान्ति र कूटनीति’ को वकालत गरेको छ ।

यसअघि मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणप्रति निराशा व्यक्त गर्दै यसलाई ‘शान्ति प्रयासमा विनाशकारी प्रहार’ भनेका थिए ।

प्रधानमन्त्री मोदी जुलाई ८ देखि ९ मा रूसको दुई दिने आधिकारिक भ्रमणमा रहेका थिए । आफ्नो भ्रमणको क्रममा उनले मङ्गलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय बैठक गरेका थिए । प्रधानमन्त्री मोदीले मस्कोमा भारतीय समुदायलाई पनि सम्बोधन गरेका छन् ।

राष्ट्रिय समस्याबारे हाम्रा शीर्ष नेता किन चलाउँदैनन् गहन छलफल ?

नारायण गाउँले ।
अस्ति चुनाव भएर हिजो बनेको बेलायती सरकारले पेन्सन, आवास, ब्याजदर, आर्थिक वृद्धि, स्वच्छ ऊर्जा, पर्यावरण र इमिग्रेशनदेखि दक्ष जनशक्ति विकाससम्म गहन छलफल र बहस शुरू गरिसक्यो । हाम्रो दुई वर्ष बित्न लाग्यो, तर बहस र छलफल भनेको तँ तँ र म म मात्रै छ । दिनभर धोकेबाज भनेर हाक–थू गर्यो, साँझ नपर्दै अँगालो हाल्यो । साँझसम्म ठग भन्यो, भ्रष्टाचारी भन्यो, भोलि बिहान स्वच्छताका लागि एक भयौं भन्यो ।

सरकारमा जाँदै जाँदैनौं भन्यो, आँखा पनि उठाएर हेर्दैनौं भन्यो, भोलिपल्टै गयो । फाइल खोल्छु भन्यो, भोलिपल्ट घरमैं पुगेर हात मिलायो । राजीनामा माग्ने र सरकार ढलाउने षड्यन्त्र गर्दै छस् भनेर सदनमा बोल्यो, साँझ उसैसित मिलेर बाँकी सरकारको राजीनामा माग्यो । अर्कोले गठबन्धन गर्दा अपवित्र भन्यो, राष्ट्रघाती र पश्चगामी भन्यो, आफू उसैसँग गाँसिन पाएचाहिँ जनताको सपना पूरा गर्ने महान् कदम भन्यो । काम गर्ने बेला गोजीमा राजीनामा छ भन्यो, दिने बेला पसिना काढ्यो !

कसैसँग संविधानको रक्षा गर्न भन्दै गठबन्धन गर्यो, फेरि अर्कोसँग त्यही संविधान फेर्न भन्दै साँठगाँठ गर्यो । पालैपालो धोका दिइस् भन्यो, गाली गर्यो, अनि फुत्त त्यही गर्यो । जनताको रगत पसिना र विदेशी ऋणले टन्न तलबभत्ता खायो, कामको नाममा खुराफात मात्रै गर्यो र एकअर्कालाई बल्ल खाइस् भन्यो, कुम बजायो ।

बालकोट होस् या बालुवाटार, बूढ़ानीलकण्ठ होस् या बालाजु, कहिल्यै कुनै एउटा बैठक, कुनै एउटा भेला, कुनै एउटा भेटघाट महंगी, बेरोजगारी या नागरिक समस्यालाई लिएर आयोजना भएको सुनिएको छैन । सरुवा, बढुवा, फिर्ता, बिर्ता, फुट्ने, जुट्ने, कुट्ने, लुट्नेदेखि तोड्ने, फोड्ने, बच्ने, बचाउने र पचाउनेबाहेक हाम्रा शीर्ष नेताले कहाँ कहिले र कति राष्ट्रिय समस्या र सम्भावनाबारे गहन छलफल चलाएका छन् भन्ने कसैलाई थाहा छैन ।

४० लाख युवा विदेशमा छन्, सरकारी विद्यालयमा शून्य नतिजा छ, तरकारी र खाद्यान्नमा विष र मिसावट छ, कुनै एउटा सड़क सद्दे र समयमा निर्माण सम्पन्न भएको छैन, देशका शहर विश्वकै प्रदूषित छन्, महानगरबाहिर एउटा गतिलो हस्पिटल र सुविधा छैन, गाउँमा औषधि छैन, बर्सेनि बाढ़ीपहिरोले सयौंको ज्यान जान्छ, नयाँ बनेका बाटोमा फुटपाथ छैन, एउटा अलि ठूलो उद्योग खोलम् भने जग्गा बाँकी छैन, भूमिसुधारको वैज्ञानिक नीति छैन, देशमा एउटा वैज्ञानिक प्रयोगशालासम्म छैन । राजश्वभन्दा ठूलो चालू खर्च छ, विकास खर्च भन्दा ठूलो ऋणको साँवाब्याज छ अनि बजेटभन्दा ठूलो व्यापारघाटा छ । गरिहाल्न पर्ने कामकुरा कति छ कति । तर हाम्रो राजनीति सरकार बनाउन, आफैंले बनाएको सरकार ढलाउन, राजदूत फिर्ता बोलाउन, टिकट काट्न नभ्याउँदै फेरि अड्याउन अनि आफूले गरेका यिनै क्रान्तिकारी कामको गुणगान गाउन व्यस्त छन् ।

तिनै मान्छे, त्यही सोच, त्यही तिकडम, त्यही प्रशंसा, त्यही गालीगलौज, त्यही आरोपप्रत्यारोप, त्यही चाटाचाट । त्यही नाटक सैयौं पटक । अनि यो सबैको खर्च र लगानी बेहोर्ने गरीब जनता । पसिना र करले तिनको पेट भर्न पनि नपुग्ने । जन्मिनै बाँकी छोरानातिको टाउकोमा समेत ऋण काढेर भोज भइसक्यो ।
पेट काटेर कर तिर्ने हामी, ऋणको भार बोक्ने हामी, अनि झोले पनि हामी । यति झोले कि लुट्ने र लुट्नका लागि कथाको मागअनुसार टुट्नेफुट्ने उनीहरू, एकआपसमा दाह्रा किटेर तँतँ मम गर्ने हामी । लाज पनि लजाउने गरी रङ्ग फेर्ने उनीहरू अनि नयाँ रङ्गको व्याख्या र औचित्य पुष्टि गर्न आफ्नै लगौंटी खोल्ने हामी । हाम्रो जय होस् !

अविरल वर्षा हुँदा भोजपुरमा भासियो सडक

भोजपुर । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो ।

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले जानकारी दिइन् ।

उक्त स्थानमा बुधबार बिहान सडक भासिएको हो । ‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ’, उपाध्यक्ष राईले भनिन्,’सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ ।’

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८३ पुग्यो

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर एक सय ६ जना घाइते भएका छन् ।

हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उहाँले राससलाई जानकारी दिनुभयो । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् ।

उक्त समयमा बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायाको क्षति भएको छ । यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए । वर्षा र पहिरोका कारण आठ सय ५८ परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ ।

मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ ।

यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देशभर दुई हजार नौ सय ५४ परिवार विस्थापित भएका छन् । उक्त घटनामा रु १० करोड ७० लाख ४० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

लखनऊ–आग्रा एक्सप्रेसवेमा बस र ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु

काठमाडौं । लखनऊ–आग्रा एक्सप्रेसवेमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । बुधबार बिहान लखनउ–आग्रा एक्सप्रेसवेमा बस र ट्याङ्कर ठोक्किँदा दुई महिला र एक बालकसहित १८ जनाको मृत्यु भएको थियो हो । दुर्घटनामा २० जना गम्भीर घाइते भएका छन् ।

प्रहरीकाअनुसार लखनऊ–आग्रा एक्सप्रेसवेमा बिहारको शिवगढबाट दिल्ली जाँदै गरेको बस बेहता मुजावर थाना क्षेत्रको एयरस्ट्रिपमा ट्याङ्करसँग ठोक्किएको थियो ।

एक्सप्रेसवेमा बायाँ तर्फबाट आएको दुधको ट्याङ्करलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । बसमा बालबालिकासहित करिब एक सय यात्रु सवार थिए ।

काभा यू-२० महिला भलिबलः नेपालले श्रीलंकासँग पहिलो खेल खेल्ने

काठमाडौं । यही जुलाई १८ देखि २३ सम्म माल्दिभ्सको मालेमा हुने काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले श्रीलंकासँग पहिलो खेल खेल्ने भएको छ ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले जुलाई १८ मा श्रीलंकासँग खेल्दै यात्रा सुरु गर्नेछ ।

च्याम्पियनसिपमा नेपाल र श्रीलंकासहित आयोजक माल्दिभ्स, कीर्गिस्तान गरी कूल चार टोलीको सहभागिता रहेको छ ।
नेपालले दोस्रो खेल जुलाई २० मा कीर्गिस्तानसँग र तेस्रो खेल माल्दिभ्ससँग जुलाई २० मा खेल्नेछ ।

सिंगल राउण्ड रोविनका आधारमा सबै टिमले एक आपसमा खेलेपछि सेमिफाईनल खेल हुनेछ । लिगमा पहिलो हुने र चौथो हुने तथा दोस्रो हुने र तेस्रो हुनेबीच सेमिफाईनल खेल हुनेछ । फाईनल खेल जुलाई २३ मा हुनेछ ।

नेपालले काभा यू–२० को उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक कुमार राई र।सहायक प्रशिक्षक अर्जुन घिमिरेले नेपाली टिमलाई प्रशिक्षण दिईरहेका छन् ।

सहानाप्रधान स्मृति यू१९ भलिबल प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा काभा यु-२० का लागि १२ खेलाडी छनोट गरिएको हो । नेपाली टोली जुलाई १६ मा माल्दिभ्स प्रस्थान गर्नेछ ।

नेपाली टोली
सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री

मुख्य प्रशिक्षक : कुमार राई
सहायक प्रशिक्षक : अर्जुन घिमिरे
टिम व्यवस्थापक : जुनु पुन

राप्रपाबाट बाहिरिएकी नेत्रृ अन्जना पार्टीमै फर्किइन्

काठमाडौं । पार्टीभित्रको अन्तरविरोधको असन्तुष्टिले साधारण सदस्यसमेत नरहनेगरी राप्रपाबाट बाहिरिएकी नेत्रृ अन्जना शाह रावल अन्ततः पार्टीमै फर्किएकी छन् ।

शीर्ष नेताहरूले राजीनामा नदिन गरेको आग्रह र विषम परिस्थितिलाई ध्यानमा राख्दै आफू जिम्मेवारीमा फर्किएको शाहले जनाएकी छन् ।

‘म लगायत मेरो परिवार सम्पूर्ण साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएका थियौँ । तर पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायतको आग्रहमा पार्टीमा फर्किन लागेकी छु।’ उनले भनेकी छन्, ‘देशभरीका साथीहरूको आग्रह र हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्रको आगाध मायाले सक्रिय बन्न लागेकी हुँ।’

उनले आगामी दिनमा विगतमा जस्तै सक्रिय भएर पार्टीगत काममा लाग्ने प्रतिवद्धता जनाएकी छन् । केही समयअघि मात्रै पार्टीभित्रको असन्तुष्टिले शाहले पार्टी त्यागेकी थिइन्। । उनले राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङलाई सम्बोधन गरेर राजीनामा बुझाएकी थिइन्। उनी महिला संगठनकी अध्यक्ष हुन् ।

आफूलाई संगठनभित्रैबाट असहयोग गरेको आरोप लगाउँदै उनले पार्टी छाडेकी थिइन् । उनी गत वैशाख २५ गते काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन्। जिल्ला अधिवेशनहरू र केन्द्रीय अधिवेशन गरी उनी अध्यक्षमा निर्वाचित भएकी उनी एक्लो संगठनकी अध्यक्ष थिइन्।

क्यानडालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । जारी कोपा अमेरिकाको सेमिफाइनलमा क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनेल मेसीले एक एक गोल गरेका थिए । अल्भारेजले खेलको २२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए भने मेसीले खेलको ५१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

यो जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । १५ पटक कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिना योसहित ३० पटक कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।

अब फाइनलमा अर्जेन्टिनाले कोलम्बिया र उरुग्वेबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल जुलाई १५ मा हुने छ ।

रामेछापको मन्थलीमा जिप दुर्घटना, एकजनाको मृत्यु, नौ घाइते

मन्थली । रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जिप मंगलबार साँझ दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ६२ वर्षीया माया विक रहेकी छिन् । घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

झलनाथ खनाल प्रतिष्ठानमा अनियमितता प्रकरणमा तत्कालीन मन्त्रीलाई ९ वर्ष कैद सजाय

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालका नाममा खोलिएको प्रतिष्ठानको बजेट हिनामिना गरेको अभियोगमा मधेश सरकारका तत्कालीन मन्त्री विजय कुमार यादवसहित ५ जनालाई अदालतले जनही ८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सर्पदंश केन्द्र प्रकरणमा मधेस सरकारका तत्कालीन मन्त्री विजय कुमारसहित ५ जनालाई ८ वर्ष कैद सजाय सुनाएको हो । अदालतले उनलाई ८ वर्ष कैद कैद सजाय सुनाएकोमा मन्त्रीको हैसियतमा बसेर भ्रष्टाचार गरेकोमा थप १ वर्ष १ महिना सजाय हुने फैसला सुनाएको छ ।

यादवबाट ३ करोड ५९ लाख ६६ हजार ६ सय रुपैयाँ जरिवाना र २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रुपैयाँ असुल हुने आदेश गरेको छ । मन्त्रीका रुपमा भ्रष्टाचार गरेकोमा यादवलाई थप ५० हजार रुपैयाँ जरिवानाको सजाय भएको छ ।

अदालतले प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, नवराज भण्डारी, निरज भण्डारी र रायलाई मतियारका रूपमा दोषी ठहर गर्दै जनही ३ करोड ५९ लाख ६६ हजार ६ सय रुपैया जरिवाना र जनही २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रुपैया असुल उपर गर्ने सजाय गरेको छ ।

उपचार केन्द्र स्थापनाका लागि किनिएको ८ बिघा ९ कठ्ठा ६.३३ धुर जग्गा पनि जफत गर्न अदालतले आदेश दिएको छ । अदालतले असार ११ गते उनीहरुलाई दोषी ठहर गरेकोमा मंगलबार सजाय निर्धारण गरेको हो ।

लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ ।

केन्द्र सरकार र मधेश प्रदेशको बजेटले आर्थिक दायित्व बेहोर्ने गरी झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा उपचार केन्द्र खोल्ने गरी विनियोजित १७ करोड ९८ लाख ३३ हजार रुपैयाा रकम हिनामिना गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

विन्ध्यवासिनी सहकारी ठगीको आरोपमा २ जना पक्राउ

पोखरा । पोखराको न्यूरोडस्थित विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा दुई जना पक्राउ परेका छन् ।

सहकारीका संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहाकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको कसूरमा संलग्न रही हालसम्म फरार रहेका दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सहकारी संस्थाका पूर्व संचालक समितिका सचिव किरण कपाली र संस्थाका पूर्व लेखा समिति संयोजक बुद्धि सागर ढकाल रहेका छन् । उनीहरुलाई प्रहरीले जिल्ला अदालत कास्कीमा पेस गरेको छ ।

सरकार ७६ (२) कै बन्छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुईटा ठूला दल कांग्रेस र एमाले मिलेर आलोपालो सरकारमा जाने निर्णयले मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले अब अर्थतन्त्रलाई अगाडि बढाउने हिसावले दुई दल कांग्रेस र एमाले मिलेको बताएका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डले संविधानअनुरुप विश्वासको मत लिन लागेकाले अरुले हतार गर्न आवश्यक नरहेको बताए । उनले अबको सरकार ७६ (२) कै बन्नेमा विश्वस्त रहन आग्रह गरे ।

उनले भने, ‘शेखर त ७६ (३) कै सरकार खोजिराखेको छ भन्ने हल्ला सुनें । तर मैंले पहिले नै भनिसकेको छु हामीलाई स्थिर सरकार चाहिएको हो । अब सरकार ७६ (२) कै बन्छ । २८ गते विश्वासको मत प्रधानमन्त्रीले लिन्छु भन्नु भएको छ, विश्वासको मत लिने अधिकार संविधानले नै दिएको छ । राजीनामा गर्नुपर्छ या त विश्वासको मत छिटो ल्याउनुपर्छ भनेर केही हुनेवाला छैन यो सबै अधिकार संविधानले दिएको हुनाले यसमा हतार गर्नु उचित हुँदैन ।’

पृथ्वी राजमार्गअन्तर्गत नौबिसे खण्ड बुधबारदेखि साउन ९ गतेसम्म राति बन्द रहने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडक खण्डमा साउन ९ गतेसम्म रातिमा बन्द रहने भएको छ । सडक विभागल विज्ञप्ति जारी गरी नौबिसे मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे–खोला र पोखरे खोला पुलहरुको काम गर्नका लागि सडक बन्न गर्न लागेको जनाएको छ ।

सडक प्रयोगकर्ताहरुलाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै असार २६ देखि साउन ९ गतेसम्म बन्द हुने सडक आयोजनाले जनाएको छ ।

राति १० बजेदेखि बिहान तीन बजेसम्म सम्पूर्ण सवारी साधनहरुलाई (एम्वुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक) पूर्ण रुपमा रोकिने सूचनामा जनाइएको छ ।

काठमाडौं महानगरपालिकाको बजेट पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पास भएको छ । मंगलबार राष्ट्रियसभा गृहमा बसेको १५औँ नगरसभाको पाँचौँ बैठकमा मेयर बालेन साहले आर्थिक वर्ष २०८१/०८२ को संशोधित नीति तथा कार्यक्रम र बजेट पेस गरेका थिए ।

संशोधित नीति तथा कार्यक्रम र बजेट नगरसभा सदस्यहरूले सर्वसम्मत पास गरेका हुन् । नीति तथा कार्यक्रममा तीन वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेटिएको छ ।

काठमाडौं महानगरपालिकाले १० असारमा आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको थियो ।

महानगर उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गरेको बजेटमा महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख जम्मा हुने र जग्गा एकीकरणबाट १ अर्ब ५० करोड आम्दानी हुने लक्ष्य राखेको छ ।

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । एसीसी महिला एसिया कपका लागि श्रीलंकामा रहेको नेपाली टोली श्रीलंका डेभलपमेन्ट टोलीसँग पराजित भएको छ ।

पहिलो अभ्यास खेलमा नेपाली टोली ३३ रनले पराजित भएको हो । श्रीलंकाले दिएको ११९ रनको लक्ष्य पछ्याएको नेपालले बर्षाका कारण छोट्याईएको १५ ओभरमा ९ विकेट गुमाएर मात्र ६३ रन बनायो । नेपालका लागि रुबिना क्षेत्रीले १७ बलमा १७ तथा सिता राना मगरले २८ बलमा ११ रन बनाइन् ।

श्रीलंकाका लागि दिवामी भिहागांले तीन तथा एम सिहानीले दुई विकेट लिइन् । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।

श्रीलंकाका लागि आई दुलानीले ४१ बलमा १७ तथा के नुथानगंगाले ४१ बलमा २७ रन बनाइन् । नेपालका लागि सवनम राईले तीन तथा राजमती ऐरीले एक विकेट लिइन् । दोस्रो अभ्यास खेल बुधबार हुनेछ ।

संसदीय छानबिन विशेष समितिले सहकारी पीडितहरुसँग छलफल गर्ने

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ ।

मंगलबार बसेको समितिको बैठकले बुधबार बिहान ११ बजे सहकारी पीडितहरूसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने निर्णय गरेको समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।

समितिले मंगलबार सहकारी विभागका पूर्व रजिस्ट्रारहरु केशवप्रसाद रेग्मी, टोकराज पाण्डे, नमराज घिमिरे, रूद्रप्रसाद पण्डित र रजिस्ट्रार पिताम्बर घिमिरेसँग छलफल गरेको थियो ।

बैठकमा उनीहरुले सहकारी क्षेत्रका समस्याहरूको समाधानमा नियमनकारी निकायका रूपमा सहकारी विभाग र रजिस्ट्रारको भुमिकाका बारेमा महत्वपूर्ण अनुभव र सुझावहरू राखेका थिए ।

एमाले सांसद थापाको संयोजकत्वमा गठित समितिलाई तीन महिनाको समय दिइएको छ । समितिले यसअघि सहकारी विज्ञलगायतसँग छलफल गरेको थियो । त्यस्तै समितिले छानबिनको दायरामा परेका सहकारी संचालकहरुलाई पनि समितिमा उपस्थित भएर जानकारी गराउन निर्देशन दिइसकेको छ ।

पर्सामा ६० प्रतिशत रोपाइँ

वीरगञ्ज (पर्सा) । जिल्ला कृषि ज्ञान केन्द्रकाअनुसार मंगलबारसम्म पर्सामा ६० प्रतिशत रोपाइँ भएको छ । हालसम्म २८ हजार दुई सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । यो जिल्लामा ४७ हजार एक सय ३० हेक्टरमा धानखेती हुने गरेको छ ।

केन्द्रका अनुसार साउनको दोस्रो सातासम्म पर्सा जिल्लाका सबै ठाउँमा रोपाइँ सकिने छ  । विगतको वर्षको तुलनामा यो वर्ष मनसुन पनि चाँडो भित्रिएको र भारतीय पक्षले गण्डक नहरबाट पानी पनि उपलब्ध गराएकाले रोपाइँले गति लिएको हो ।

पर्सामा आव २०७८/७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन उत्पादन भएको थियो । यहाँ हरदिनाथ, सोनामन्सुली सावित्री जातका धान रोप्ने गरिन्छ ।

कर्णाली राजमार्ग एकतर्फी खुल्यो

कालीकोट । अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ । गत शुक्रबारदेखि बन्द यो बाटो मंगलबार अपराह्नदेखि कतर्फी खुला भएको हो ।

जिल्लाको शुभकालिका गाउँपालिका–१ मा गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ । राजमार्गको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारीसाधनका निम्ति खुला गरिएको  कार्यालयका प्रमुख चेतनकुमार मण्डलले जानकारी दिए । 

हिमताल फुट्दा ठूलो विपद् आउने भएकाले पूर्वतयारी गर्नुपर्छः सांसद राणा

काठमाडौँ । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार संविधानको धाराभित्रैबाटै नयाँ सरकार बन्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले कतिपय पार्टी र नेताले नयाँ बन्ने सरकारका विषयमा प्रश्न उठाएको भन्दै संविधानको सीमाभन्दा बाहिर गएर कुनै कार्य नगरिने स्पष्ट पारे ।

“संविधानको धाराबाटै सरकार बन्ने हो, बालाजुको २२ धाराबाट बन्दैन । एमालेसहित होस् वा एमालेकै नेतृत्वमा सरकार बनोस्, हाम्रा आफ्नै मूल्य र मान्यता छन्, त्यहीअनुसार अगाडि बढ्छौँ”, उनले भने ।

सांसद रिजालले वर्तमान प्रधानमन्त्रीले चारपटक विश्वासको मत लिइसकेकाले यस्तो किन भइरहेको छ भन्नेबारे उहाँले नै समीक्षा गर्नुपर्ने बताए ।

उनले भने, “वर्तमान प्रधानमन्त्री गतिशील मान्छे हुँ भन्नुहुन्छ तर व्यवहार हेर्दा त्यस्तो देखिँदैन । चारपटक यही थलोबाट विश्वासको मत लिइसक्नुभएको छ । छोटो समयमै यस्तो सहयात्री दलहरूका कारणले मात्रै भएको होला कि उहाँमा पनि केही कमजोरी होलान्, समीक्षा आवश्यक छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले लामो समय शासन गरेका ठूला दलका नेताले राजनीतिक व्यवस्था परिवर्तनका लागि गरेको योगदानबाहेक कुशासन पनि मौलाएको टिप्पणी गरे । उनले संसद्का दुई ठूला दलबीच सत्ता सहकार्यका लागि भएको सहमतिपछि नयाँ सरकार नबनेसम्म आफूहरू सरकारमा रहेर कार्यसम्पादनमा लागिरहने बताए ।

कांग्रेस सांसद डा आरजु राणाले विगत १० वर्षदेखि नेपालका हिमताल सुक्ने क्रम बढ्दै गएका र अनियमित वर्षाले बाढी बढिरहेको बताइन् । हिमताल फुट्दा पनि ठूलो विपद् आउन सक्ने उल्लेख गर्दै उनले जलस्रोत मन्त्रालयले दीर्घकालीन योजना बनाउन जरूरी रहेको बताइन् ।

राणाले भनिन्, “जलस्रोत मन्त्रालयमा अहिले वेबसाईडमा जलस्रोत शाखा छ तर त्यहाँ केही पनि तथ्याङ्क छैन । हिमतालका बारेमा अध्ययन गराउन जरूरी छ ।” भूमिसुधार मन्त्रालयले जनताको सुरक्षाका लागि व्यवस्थित बस्ती बसाउन र खेती गर्ने योजना बनाउन अध्ययन आवश्यक रहेको उनको भनाइ छ । 

मोन्टी देसाईलाई स्पष्टीकरण सोध्ने बोर्ड बैठकको निर्णय क्यानले किन राख्यो गोप्य ?

मोनिका सिंह, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकमा मुख्य प्रशिक्षक मोन्टी देसाईको राजीनामा माग गरिएको छ । बैठकमा टिम व्यवस्थापक, टिम लिडर र अन्य पदाधिकारीले गरेको विश्वकपको समीक्षा र विगतको प्रशिक्षकको गतिविधिका कारणले प्रशिक्षकसँग स्पष्टीकरण सोध्ने निर्णय भएपनि क्यानको बोर्ड बैठकपछि सचिव पारस खड्काले हस्ताक्षर गरेर सार्वजनिक गरेको विज्ञप्तिमा यी विषयमा भने कुनै निर्णय सार्वजनिक गरिएको छैन ।

अमेरिका र वेष्ट इन्डिजमा भएको टी-२० विश्वकपमा नेपालले राम्रो प्रदर्शन गरेपनि कुनै खेल जित्न सकेन । दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि अन्तिममा १ रनले पराजित भएको थियो । नेदरल्याण्ड्स र बंगलादेशसँग पनि खराब ब्याटिङका कारण पराजित भएको थियो । श्रीलंका विरुद्ध वर्षाका कारण नेपालले अंक बाँडेको थियो ।

मुख्य प्रशिक्षक मोन्टी देसाईको हालको सम्झौता २०२५ फेब्रुअरीसम्म रहेको छ । तर पछिल्लो समय नेपालले नतिजा ल्याउन नसकेपछि र उनले क्यानलाई आर्थिक रुपम दोहन गरेकाले प्रशिक्षकलाई हटाउनुपर्ने मागहरु क्यान र आमफ्यानहरुले पनि गर्न थालेको छन् ।

के हो त मुख्य विवाद ?

नेपाली क्रिकेट टिमको गुजरात भ्रमणका बेला भएका गतिविधि र नेपालको टी-२० विश्वकपको प्रदर्शनपछि प्रशिक्षक मोन्टी देसाईको आलोचना भएको हो र क्यानभित्रै उनले राजीनामा दिनुपर्ने विषय उठाएका हुन् । पछिल्लो समय प्रशिक्षक देसाईलाई धेरै अधिकार दिएको र उनले त्यही गलत फाइदा उठाएको आरोप छ । बैठकमा टी-२० विश्वकपमा नेपालको प्रदर्शन त्यसबेला उत्पन्न भएका विवादहरुदेखि प्रशिक्षकको गम्भीर आलोचना भएको स्रोतले जनाएको छ ।

गत मार्चमा नेपाली टोली गुजरातमा भएको एसएमएस टी–२० फ्रेण्डसिप कप खेल्न गएको थियो । त्यसमा गुजरात र बारोडाको स्टेट टिमसँग नेपालले साइ मेगपान स्पोर्ट्स लाइफ मैदानमा खेलेको थियो । त्यो मैदान मोन्टी देसाईकै थियो र सम्पूर्ण खर्च उनीमार्फत उनको कम्पनीमा गरिएको थियो । उक्त प्रतियोगितामा स्टेटको टिम भनिएपनि नेपाललाई अत्यन्त कमजोर टोलीसँग अभ्यास खेल खेलाइएको थियो । उक्त खेलमा उपलब्धि भन्दा धेरै अनावश्यक खर्च भएको श्रोतको दावी छ ।

आफ्नै मैदानमा खेलाएको र आफ्नै निकट कम्पनीहरुमा महँगोमा क्रिकेट किट्सहरु किन्न लगाएर ठूलो रकम खर्च गरेको आरोप पनि मोन्टीलाई छ । क्यानले भारत जाँदा एउटा बजेट पठाएको र फर्केर आउँदा त्यसको दोब्बर बजेट क्यानमा पेश गरेका थिए ।

क्यानमा पछिल्लो समय मोन्टी हावी भएको र पारसलाई आफ्नो फेभरमा लिएर दुई जनाले मिलेर काम गरेको आरोप लाग्दै आएको छ । श्रोतका अनुसार प्रशिक्षकको संलग्नता रहेको बिभिन्न भारतीय कम्पनी मार्फत लाखौ पैसा तलब र सामान किन्ने नाउँमा भारत गएको छ । प्रशिक्षकले आफूलाई मनपर्ने व्यक्तिलाई बलर र ब्याटिङ कन्सल्टेन्ट राख्ने , फिजियो राखेर समेत आर्थिक लाभ लिएको आरोप छ ।

त्यस्तै नेपाली राष्ट्रिय टिम छनोटमा समेत प्रशिक्षकको प्रत्यक्ष हस्तक्षेप रहने गरेको छ । बैठकमा यस बारे धेरै विवाद भएपछि अब स्वतन्त्र र अधिकार सम्पन्न छनोट समिति बनाउने निर्णय समेत भएको र अबदेखि प्रशिक्षकलाई छनोटमा संलग्न हुने नदिने निर्णय पनि भएको छ ।

हाल प्रशिक्षक मोन्टीको मासिक तलब करिब २२ लाख रुपैयाँ छ । उनी हायात होटलमा बस्छन् । जहाँ प्रत्येक दिन उनका लागि क्यानले करिव १० हजार खर्च बेहोर्दै आएको छ । उनको प्रोफाइल र क्षमता हेर्दा यो सुबिधा अत्यधिक भएको र यति सुविधामा उनीभन्दा धेरै राम्रो प्रशिक्षक क्यानले राख्न सक्ने देखिन्छ ।

नेपालले आगामी सेप्टेम्बमा क्यानडा र अक्टोबरमा अमेरिकाका क्रिकेट विश्वकप लिग टु का सिरिज खेल्ने तालिका छ । बैठकमा भएको विवादका बावजुत मोन्टीलाई त्यो सिरिजसम्म राख्ने क्यानको तयारी छ । यसरी हेर्दा प्रशिक्षकमार्फत क्यानमा केहि व्यक्तिले ठुलो अनियमितता गरेको शंका गर्न सकिन्छ ।

यसैगरी बैठकमा क्यान सचिव पारस खड्काको पछिल्लो गतिविधिहरुमा क्यान भित्रैबाट प्रश्न उठेको थियो । विश्वकप खेल्न अमेरिका गएका क्रिकेट खेलाडीलाई जर्सी बोकाएर पठाएको, विश्वकप तयारी खर्च सार्वजनिक नगरेको जस्ता विषयमा सचिव पारसले स्पष्ट जवाफ दिनुपर्ने र त्यसो नगरेमा उनले राजीनामा दिनुपर्ने सम्मको कुरा उठेको थियो । क्यानकै सदस्यले सचिव पारसको गतिविधि ठिक नरहेकोले तत्काल राजीनामा दिनुपर्ने माग राखेका थिए ।

टी-२० विश्वकपमा नेपाली टिमका व्यवस्थापक रहेको प्रदीप मजगैयाले विश्वकपमा नेपालको प्रदर्शनदेखि आफूले देखेको सबै विषय समेटेर प्रतिवेदन क्यानलाई बुझाएको बताएका छन् । तर उनको प्रतिवेदनमा के-के उल्लेख छ भन्ने कुरा सार्वजनिक भएको छैन । हाम्रो फोन सम्पर्कमा आएका मजगैयाँले प्रतिवेदन दिन नमिल्ने बताए, ‘आवश्यक सूचना क्यानबाट प्रक्रिया पुरा गरेर लिन अनुरोध गरे ।’ यसअघि नेपाल वान एचडीसँगको कुराकानीमा मजगैयाँले आफूले प्रतिवेदन बुझाउने बताएका थिए । विभिन्न अन्तरवार्ता र पत्रकार सम्मेलनमा पनि प्रतिवेदन बुझाउने बताएका थिए । यता प्रशिक्षक परिवर्तन गर्नुपर्छ भनेर चर्चा पनि चल्नु, व्यवस्थापकले प्रतिवदेन बुझाउँछु भन्नु र अहिले दिन मिल्दैन भन्नु सुचना लुकाउनु कतिसम्मको जायज हो ? गम्भीर प्रश्न उठेको छ ।

नासाको क्यूरी मिसनले सौर्य रेडियो तरङ्ग अन्वेषण गर्ने

सूर्यबाट आउने रेडियो वेव उत्पन्न हुने स्रोतको खोजीका लागि नासाको क्यूबसैट रेडियो इन्टरफेरोमेट्री एक्सपेरिन्ट (क्यूरी) मङ्गलबार प्रक्षेपण गरिएको छ । 

क्यूरीले युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)को एरियन–६ रकेट कोउरोस्थित गुयाना स्पेस सेन्टरबाट प्रक्षेपण गरेको हो  । उक्त रकेट पृथ्वीको सतहबाट ३६० माइल (लगभग ५८० किलोमिटर) को उचाइमा उडान गर्नेछ । रेडियो इन्टरफेरोमेट्री एक्सपेरिमेन्ट मिसनले सूर्यको  विष्फोटनबाट निस्कने रेडियो तरङ्गको उत्सर्जनबारे अध्ययन गर्ने लक्ष्य राखेको छ । 

   क्यालिफोर्निया विश्वविद्यालय बर्कलेको टोलीद्वारा डिजाइन गरिएको क्यूरी अन्तरिक्षबाट ०.१–१९ मेगाहर्ज फ्रिक्वेन्सी दायरामा रेडियो तरङ्ग मापन गर्ने आफ्नो पहिलो मिसन भएको ईएसएले जनाएको छ । यी यस प्रकारको अनुसन्धान अन्तरिक्षबाट मात्र गर्न सकिन्छ ।

“सौर्य रेडियो तरङ्ग अनुसन्धानका क्रममा, क्यूरीले लो फ्रिक्वेन्सी रेडियो इन्टरफेरोमेट्री नामक प्रविधि प्रयोग गर्नेछ । यसअघि अन्तरिक्षमा यो प्रविधि कहिल्यै प्रयोग गरिएको थिएन । यसले पृथ्वीलाई करिब दुई माइल टाढा परिक्रमा गर्नेछ”, नासाले उल्लेख गरेको छ ।

यस प्रयोगले रेडियोका ती तरङ्गहरु कहाँबाट आइरहेका छन् भन्ने पत्ता लगाउने प्रयास गर्नेछ । 

गाजा युद्धको रूपमा इजरायल निकासी आदेशको राष्ट्रसङ्घद्वारा विरोध

सेनाले गाजा सहरमा पछिल्लो आक्रमणमा मा दर्जनौँ आतङ्ककारीहरू मारिएको भन्दै गाजामा इजरायलले जारी गरेको पछिल्लो सामूहिक निकासी आदेशमाथि संयुक्त राष्ट्रसङ्घले विरोध गरेको छ ।

इजरायलले सोमबार गाजाको मुख्य सहरको अधिकांश भागलाई आफ्नो निकासी चेतावनी विस्तार गरी तीव्र लडाई सुरु गरेको छ ।

इजरायलले सैन्य कारबाहीको नयाँ चरणमा जुन–२७ देखि गाजाका लागि तीन र प्यालेस्टिनी क्षेत्रको लागि एक निकासी आदेश जारी गरेको छ । परिणमस्वरुप दशौँ हजार नागरिक भागेको राष्ट्रसङ्घले जनााएको छ ।

गाजा सहरका बासिन्दाहरूले दक्षिणपश्चिमी छिमेकमा रातभरि विस्फोट र धेरै बन्दुक युद्धहरू र हेलिकप्टर आक्रमणह भएको रिपोर्ट गरेका छन् ।

उनीहरुले नागरिकहरू अझै सहर छोडेर जाँदै गरेको र विस्थापितहरूले पहिले नै एउटा निकासी क्षेत्रबाट बसाइँ सरेको र केवल उनीहरूको शरणको नयाँ ठाउँ लक्ष्य बनेको बताए ।

राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले नागरिकहरूलाई दिइएको नयाँ आदेशमा ‘स्तब्ध’ भएको बताएको छ । जसमध्ये धेरैलाई धेरै पटक जबरजस्ती विस्थापित गरिएको छ, जहाँ आईडीएफको सैन्य कारबाही जारी छ र जहाँ नागरिकहरू मारिएका र घाइते भएका छन् ।

इजरायली सेनाले ‘गाजा सहरको दक्षिण र पश्चिममा मानिसहरूलाई जान निर्देशन दिएको क्षेत्रलाई लक्षित गरी आफ्नो आक्रमणलाई तीव्र बनाएको’ कारण सोमबार मध्य गाजा सहरबाट पश्चिमतर्फ जान भनिएको नागरिकहरू नयाँ लडाइँमा फसेको कार्यालयले जनाएको छ ।

गाजाका बासिन्दालाई अब देइर अल–बलाहको केन्द्रीय जिल्लामा सर्न भनिएको छ, जुन राष्ट्रसङ्घीय कार्यालयले “गाजा पट्टीका अन्य क्षेत्रहरूबाट विस्थापित प्यालेस्टिनीहरूले पहिले नै गम्भीर रूपमा भरिएको जनाएको छ ।

इजरायली सेनाले गाजामा हमास र इस्लामिक जिहादका लक्ष्यहरू विरुद्ध ‘आतङ्कवादी विरोधी अभियान’ चलाइरहेको बताएको छ ।

अन्तिम लडाइँमा सेनाले हवाई आक्रमणमा दर्जनौँ आतङ्ककारीलाई मारेको सेनाले विज्ञप्ति मार्फत जनाएको छ । आक्रमणमा हतियारहरू जफत गरिएको भने भूमिगत मार्गहरु नष्ट गरिएको छ ।