`

चौधर नदी धार परिवर्तन गरी बस्तीमा

महेन्द्रनगर  । कञ्चनपुरको चौधर नदी धार परिर्वतन गर्दै बस्तीमा पसेको छ । हालै आएको बाढीले चौधर नदीले धार परिवर्तन गर्दा बेल्लाडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही वडा प्रभावित बनेका छन् ।

सोमबार बेल्डाडी गाउँपालिका–५ भुर्षामा चौधर नदीले धार परिवर्तन गरी महाकाली सिँचाइको नहर भत्काएपछि सो क्षेत्रका तीन सयभन्दा बढी परिवार प्रभावित बनेका छन् ।

बेल्डाडी गाउँपालिका–५ का वडाध्यक्ष इन्द्र खड्काले चौधर नदी बस्ती पस्दा इमलिया, झिलमिला, वैवाहा, खैरीघाट र बेलौरीको भुडा शिवनगर, कानपुर र कलकत्ता बस्ती डुबानमा परेको बताए ।

“अहिले पनि बस्तीमा पसेको पानी सुकिसकेको छैन”, उनले भने, “तत्काल नहर क्षेत्रको तटबन्ध नबने ठूलो क्षति हुने भय छ ।” बाढीका कारण गणेश माध्यमिक विद्यालयमा ठूलो क्षति पुगेको छ । बाढीले नहर क्षेत्र कटान गर्दा सो क्षेत्रमा सवारी आवागमन अझै प्रभावित बनेको छ । चौधर नदी गाउँ पस्दा बेल्डाँडी र बेलौरी नगरपालिकामा एक हजार बिघाभन्दा बढी खेतमा लगाएको धानबाली नष्ट भएको स्थानीयवासी बताउँछन् ।

केही स्थानीयको घरसमेत नदीले बगाएपछि बिचल्ली भएको छ । यता बेल्डाँडी गाउँपालिकामा बाढीले एक हजार पाँच सयभन्दा बढी परिवार प्रभावित भएको गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले बताए ।

“बाढीले ६ सय परिवारको घरमा भएको अन्न नै बगाएको छ”, अध्यक्ष रानाले भने, “चौधर नदीले बगाएको नहर नबने यहाँ धेरै क्षति हुने त्रास छ ।” यहाँका विस्थापितलाई बेल्डाँडी–२ स्थित मोर्डन केयर बोर्डिङ स्कुलमा राखिएको छ ।

त्यसैगरी, बेलौरीको बाराझाला, भुडा, कानपुर र कलकत्तामा अझै सहज अवस्था भइसकेको छैन । तीन दिनदेखि बेलौरी नगरपालिका–१० भुडाबाट बेलौरी–८ कलकत्तासम्म सडकमा पानी भरिँदा सडक ठप्प छ । बेलौरी नगरपालिका–१० मा चार सय र वडा नं ८ मा एक सय ५० परिवार चौधर नदीमा आएको बाढीबाट प्रभावित भएका छन् ।

बेलौरीका ओमप्रकाश पन्तले तत्काल बस्ती पसेको ठाउँमा मर्मतकार्य नगरिए दुई पालिकाका धेरै वडा थप प्रभावित हुने बताए । उनले भत्किएका संरचना निर्माणमा स्थानीयदेखि सङ्घीय सरकारलाई सहयोगका लागि गुहारेका बताए । तीन वर्षअघि बेल्डाँडी गाउँपालिका–४ गौडी खल्लादेखी–५ मा रहेको भारतीय सीमासम्म तटबन्ध निर्माणका लागि पहल भए पनि सुनुवाइ भएन । सिँचाइ आयोजनाले शिवनगर क्षेत्रमा २०५० सालमा निर्माण गरेको मूल नहर मर्मतसम्भार नहुँदा अहिले समस्या भएको छ ।

त्यसैगरी महाकाली सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख रामकृष्ण घोडासैनीले बजेट अभावका कारण क्षति भएको नहर मर्मत गर्न नसकिएको बताए ।

“नहरको अवस्था हेर्दा तत्काल बन्लाजस्तो छैन”, उनले भने, “५० मिटर नहरको भाग नदीले बगाएको छ भने एक सय २० मिटर नहरमा क्षति पुगेको छ ।”

सिँचाइ कार्यालयले २०६५ सालमा पनि नहर भत्किएर बाढी गाउँ पस्दा सो क्षेत्रमा ठूलो क्षति भएको जनाएको छ । बाढीका कारण मूल नहरमा क्षति पुर्याएकाले तीन हजार चार सय बिघा सिञ्चित क्षेत्रमा पानी सञ्चालन गर्न नसकिने भएकाले तत्काल नहर मर्मतका लागि सिँचाइ विभागलगायत निकायसँग सहयोगको आग्रह गरिएको छ । 

कार्यसूचीमै प्रवेश नगरी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू नै उपस्थित नभएका कारण सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

बैठक सुरू हुनेबित्तिकै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू कोही पनि उपस्थित नभएको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको रहेको भन्दै बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकोले कार्यसूचीमा रहेका सबै कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराएका थिए ।

अब अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत प्रस्ताव पेस गर्नेछन्।

सरकारले निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी नगरे आन्दोलनमा उत्रिने महासंघको चेतावनी

काठमाडौँ । चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले  राज्यबाट ६० अर्ब भुक्तानी लिन बाँकी रहेको बताएका छन् । 

नेपाल निर्माण व्यवसायी महासङ्घले बिहीबार पत्रकार सम्मेलन गरी भुक्तानीको अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको हो । 

महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको अर्बौैं रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति उत्पन्न भएको बताए ।

“बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौं व्यवसायी मात्र प्रताडित भएका छैनन्, उनीहरूमा आश्रित उद्योग तथा परिवारमा  मनोवैज्ञानिक दबाब परेको छ” अध्यक्ष सिंहले भने । 

आर्थिक वर्षको अन्त्यमा  स्रोत सुनिश्चिता नभई ठेक्का लगाएकाले रकमान्तर गर्न नसकिने जनाउ अर्थ मन्त्रालयले  दिएका कारण हजारौं व्यवसायी प्रभावित भएका उनले बताए ।

यही २०८१ असार मसान्तसम्ममा सबै रकम भुक्तानी नदिए बाध्य भएर आन्दोलन गर्नुको कुनै विकल्प नभएको उनले बताए । विभिन्न जिल्लाका आफ्ना सहकर्मी आन्दोलनमा उत्रिएका जानकारी दिँदै त्यस्तो परिस्थिति ननिम्तियोस् भन्नेमा आफूहरू रहेको अध्यक्ष सिंहले बताए

राप्रपा, जसपा र जनमत पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको सांसद ज्ञानबहादुर शाहीले जानकारी दिए ।

नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन पार्टीका सांसदहरुलाई ह्वीप जारी गरिसकेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

त्यस्तै डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । 

यता नेकपा एकीकृत समाजवादीले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार पाँचौपटक विश्वासको मत लिँदैछन्।

बाढीपहिरोबाट देशका १३२ सडकमा यातायात प्रभावित

काठमाडौँ । बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।

विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्गलगायत एक सय १९ सडकखण्डमा एकतर्फी रुपमा यातायत सेवा सञ्चालन भएको छ ।

डुम्रे–बेंसीसहर–चामे, विराटनगर–इटरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्णरुपमा अवरुद्ध छन् । जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारसम्म मुलुकभर वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको उच्च जोखिम रहेको जनाएको छ ।

विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको तथा उक्त रेखा अझ नेपालतर्फ सरेकाले आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित भएको छ । यी दुबै प्रणालीको प्रभावले शनिबारसम्म नै नेपालमा मनसुन सक्रिय हुने सम्भावना छ ।

देशभर साधारणतया ण्बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा समेत भारी वर्षाको सम्भावना छ ।

भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने भन्दै सतर्कता अपनाउन प्रवक्ता पोखरेलले आग्रह गरेका छन् ।

दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन विभागले अनुरोध गरेको छ ।

निर्वाचन आयोगको रणनीतिक योजना तयार

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा हालसम्मका रणनीतिक योजनाको समीक्षा गर्दै चौथो रणनीतिक योजना–२०८१/८२ को मस्यौदा तयार गरेको छ ।

आयोगले उक्त मस्यौदामा सुझाव दिन सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई आह्वान गरेको हो । नेपालको संविधान, निर्वाचन व्यवस्थापनसम्बन्धी कानुन तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचनका लागि आयोगलाई सक्षम र सुदृढ तुल्याउने ध्येयले आर्थिक वर्ष २०६५/६६ देखि पञ्चवर्षीय योजना लागू भएको थियो । हाल तेस्रो आवधिक रणनीतिक योजना कार्यान्वयनमा छ ।

हालसम्मका रणनीतिक योजनाको कार्यान्वयनबाट प्राप्त अनुभव, राजनीतिक दल तथा सरोकारवालासँग विभिन्न समयमा गरिएका छलफल, विश्लेषण, समीक्षा र अन्तक्र्रियाबाट प्राप्त सुझावका आधारमा मस्यौदा तयार गरिएको आयोगका प्रवक्ता रघुराम विष्टले जानकारी दिए ।

उक्त मस्यदौलाई उन्नत बनाउन अगामी साउन ७ गतेभित्र आयोगको सचिवालयमा प्राप्त हुनेगरी सुझाव दिन आयोगले आग्रह गरेको छ ।

२९ अंकले बढ्यो नेप्से

काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर दुई हजार दुई सय चार दशमलव ६१ मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ९१ दशमलव ६६ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई करोड दुई लाख ३७ हजार सात सय ८० कित्ता शेयर सात अर्ब आठ करोड ६ लाख ९८ हजार एक सय ४६ मूल्यमा कारोबार भएको छ । 

बलेफी हाइड्रोपावर नौ दशमलव ९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड नौ दशमलव ९७, एनआइबिएल स्टेबल फण्ड नौ दशमलव ८३, जानकी फाइनान्स आठ दशमलव ७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले सात दशमलव ८२ प्रतिशतले कमाएका छन् ।

समाज लघुवित्त चार दशमलव ५९, साधना लघुवित्त चार दशमलव ५६, एनएमबी–५० चार दशमलव १३, सेञ्चुरी डिबेञ्चर तीन दशमलव ९१ र गुडबिल फाइनान्सका लगानीकर्ताले तीन दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नवलपुर  । नारायणी नदीले सतर्कता तह पार गरेको छ । नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ ।

नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार आज मध्याह्न १२ः०५ बजे नदीले सतर्कता तह पार गरेको हो । अहिले नदीमा पानीको सतह ७.३७ मिटर पुगेको छ । नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको देवघाटस्थित जलमापन केन्द्रले जनाएको छ ।

देवघाटस्थित जल मापन केन्द्रमा पानीको सतह सात दशमलव तीन मिटर पुग्दा सतर्कता तह र नौ मिटर पुगेपछि खतराको तह पार गरेको मानिन्छ । देवघाटस्थित नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि नवलपुरका नदी तटीय क्षेत्रहरू डुबानमा पर्ने गर्दछन् ।

यसैबीच, नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए ।

केही दिन अगाडि नारायणीमा आएको बाढीका कारण गैँडाकोट, मध्यबिन्दु तथा विनयी त्रिवेणी गाउँपालिकाका केही वडा डुबानमा परेका भन्दै उनले जिल्लास्थित सुरक्षा निकाय, रेडक्रसलगायत सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको बताए।

कालीगण्डकी नदीको बाढीबाट बौदिकाली, बुलिङटार गाउँपालिका र गैँडाकोट नगरपालिकाको नदी तटीय क्षेत्र प्रभावित हुने गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी रिजालले नारायणी नदीको बाढीबाट गैँडाकोट, कावासोती, देवचुली, मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका प्रभावित हुने गरेको जानकारी दिए ।

बाढीबाट नदी किनारका बस्ती जोगाउन तटबन्धसहित अन्य संरचना निर्माण गर्ने काम भइरहेको उनले बताए ।

लोकतन्त्रको बर्काे ओढेर भोको पेट अघाउन्न

काठमाडौँ  । राष्ट्रिय राजनीतिमा लामो समयदेखि प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच नयाँ सरकार गठनका निम्ति भएको समझदारीलाई आम नागरिकले चासोका साथ हेरेका छन् । 


राजनीतिक दलहरूबीच अब फेरि अर्को सहमति नभए संसद्मा पहिलो र दोस्रो स्थानमा रहेका दलबीचको सहमतिमा नयाँ सरकार बन्ने छ । विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएका विवरणअनुसार नयाँ सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।


नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले नागरिकमा आशा जगाउने गरी राजनीतिक स्थायित्वसँगै स्थिर सरकार गठन तथा ‘समृद्ध नेपाल सुखी नेपाली ’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रमुख शक्ति सहयात्रामा अघि बढेको बताए ।


प्रमुख सचेतक बर्तौलाले भने, ‘विकास, समृद्धि र सामाजिक न्यायको आधारस्तम्भ खडा गर्न मुलुकमा राजनीतिक स्थायित्व अपरिहार्य हुन्छ र यसका लागि राष्ट्रिय राजनीतिका प्रमुख दलहरूको सहयात्रा र समझदारी हुनु स्वागतयोग्य छ ।’


कांग्रेस र एमालेको पछिल्लो गठबन्धनलाई खासगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका अधिकांश दलले सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाएको गठबन्धनका नेताहरूले दाबी गरेका छन् ।


पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ ।


कांग्रेस र एमालेबीच सत्ता सहयात्राको समझदारी भए पनि आगामी निर्वाचनहरूमा दुई दलबीच गठबन्धन नभई प्रतिस्पर्धा हुने जानकारी दिँदै प्रमुख सचेतक बर्ताैलाले संसद्को हालको गणितले निम्त्याएको अस्थिरता र अनिश्चितताको भुमरीलाई चिर्न सहयात्रामा अघि बढ्ने निर्णय भएको बताए ।


राज्यले ठिक ढङ्गले सेवाप्रवाह गर्न नसक्दा जनतामा चरम निराशा पैदा भई राजनीतिक दलप्रतिको भरोसा कमजोर बन्न पुगेको यथार्थलाई हामीले भुल्नु हुँदैन भन्दै उनले विद्यमान अस्थिरताको सङ्कट अन्त्य गर्न प्रमुख शक्ति एक ठाउँमा उभिनुपरेको प्रतिक्रिया दिए ।


प्रजातान्त्रिक आदर्श बोकेको कांग्रेस र जनताको बहुदलीय जनवाद (जबज)चिन्तन अँगालेको एमालेबीचको सहकार्यले यसअघि पनि मुलुकमा व्यवस्था परिवर्तनमात्र नभई संविधानसभाबाट संविधान जारी गर्नेजस्तो महत्त्वपूर्ण कार्य भएको थियो ।


फरक राजनीतिक आदर्श र सिद्धान्त अँगालेका कांग्रेस र एमालेबीचको यसपटकको मिलनले राजनीतिक अस्थिरताको अन्त्यसँगै लोकतन्त्रको सुदृढीकरण, भ्रष्टाचार न्यूनीकरण, सुशासन प्रवर्द्धन र विकास निर्माणकार्यले तीव्रता पाउला त भन्ने प्रश्न पनि सँगै उब्जाएको छ ।


राजनीतिक नेतृत्व सत्ता स्वार्थमा बढी लिप्त भएकै कारण एक वर्षमा तीनवटा सरकार फेरबदल भएको भन्ने आरोप खेपिरहेका प्रमुख दलबीच यसपटक भएको पछिल्लो सहकार्यले ती जिज्ञासा मत्थर पार्ला भन्नेमा आम जनता अझै विश्वस्त हुनसकिरहेका छैनन् ।


सरकारको नाममा सरकार मात्र होइन, केही गुणात्मक सेवा प्रवाहको अपेक्षा रहेको बताउँदै नेता बर्ताैलाले प्रणालीगत सुधारको पक्षमा दुवै पार्टी मिलेर गरिएको आह्वानले राष्ट्रिय सहमतिको मार्गलाई सहज तुल्याउने दाबी गरे ।


विगतमा एक–अर्कालाई प्रतिद्वन्द्वी र प्रतिस्पर्धी दलका रूपमा प्रस्तुत गर्दै आएका नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको यसपटकको सहकार्यलाई कतिपय राजनीतिक विश्लेषकले सत्ता स्वार्थबाट प्रेरित रहेको आरोप लगाइरहेका छन् ।


संसद्का दुवै प्रमुख दल सत्तामा रहने कार्य संसदीय लोकतन्त्रको मूल्य, मान्यता र मर्मविपरीत भए पनि मुलुकको विषम परिस्थितिमा दुवै ठूला शक्ति एक ठाउँमा उभिनु देश र जनताका लागि हितकर नै हुने कांग्रेस र एमालेको भनाइ छ ।


सरकार गलत ठाउँमा नजाओस् तथा सरकारलाई संसद् र जनताप्रति जवाफदेही तुल्याउन रचनात्मक, सिर्जनात्मक र बलियो सशक्त प्रतिपक्ष आवश्यक पर्ने संसदीय व्यवस्थाको मान्यता हो ।


संसद्भित्रको अभ्यासका लागि मात्र नभई अहिले देशभित्रका निर्वाचन प्रणालीसमेतका विविध मुद्दाहरूमा ठोस निष्कर्षसहित निकासका लागि दुवै ठूला दल मिल्नुपर्ने परिस्थिति निर्माण भएको ती दलका नेताहरू बताउँछन् ।


प्रमुख सचेतक बर्ताैला भन्छन्, ‘दुवै दलले देश, जनता र संसद्लाई नै प्रभावकारी, प्रभावशाली र बलशाली बनाउन मिल्नपर्ने भयो । नागरिक अपेक्षा पूरा गर्न सरकारको स्थिरता कि बलियो प्रतिपक्ष भनी अहिले रोज्नुपर्ने बेला छ ।’


अर्कातर्फ आम जनता पार्टीका अध्यक्ष प्रभु साह सङ्घीय संसद्मा रहेका पहिलो र दोस्रो ठूलो दल कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नु भनेको लोकतन्त्र र संसदीय व्यवस्थाका निम्ति सुखद नभएको टिप्पणी गर्छन् ।


उनले भने, ‘लोकतान्त्रिक व्यवस्थामा सदनमा सत्तापक्ष र प्रतिपक्ष हुन्छ । जनादेशको सम्मान गरिनु लोकतन्त्रको मर्म हो । उहाँहरू आफैँले बनाएको विधि, विधान र व्यवस्थाको विरुद्धमा उभिन खोज्नुभएको छ ।’


लोकतन्त्रको बर्काे ओढेर भोको पेट अघाउन्न

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अस्थिर राजनीतिका कारण सरकार छिटो परिवर्तन भइरहँदा जनतामा छाएको निराशालाई आशामा रुपान्तरण गर्न प्रमुख शक्ति एक ठाउँमा उभिने वातावरण बनेको प्रतिक्रिया दिए ।


उनले भने, ‘बारम्बार सरकार परिवर्तन हुँदा देश विकास र जनतालाई राज्यका तर्फबाट उपलब्ध गरिनुपर्ने सेवा व्यवस्थित हुन सकेन । विकास–निर्माणले गति लिन सकेन, त्यसकारण यो पहल भयो ।’


कांग्रेस र एमालेबीच हुन लागेको सत्ता सहकार्य जनहितका लागि भएको तर्क गर्दै  उनले यसबाट पनि जनताको निराशालाई आशामा रुपान्तरण गर्न सकिएन भने अर्काे विकल्प हुन नसक्ने बताए । लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र भनिरहँदा त्यसभित्र सेवाप्रवाह पनि समावेश हुन्छ भन्दै नेता गुरुङले भोको मानिसलाई लोकतन्त्रको बर्काे ओढाएर ऊ नअघाउने बताए । ।


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का माधव सापकोटाले कांग्रेस र एमालेबीच भएको सहमतिको आधिकारिक विवरण सार्वजनिक नभएकामा प्रश्न गर्छन् ।


उनले भने, ‘राजनीतिक स्थायित्व र संविधान संशोधनको कुरा आएको छ । दोस्रो, दलको नेतृत्वसँगै सरकारमा आलोपालो गर्ने सहमतिले स्थायित्व प्राप्त हुँदैन ।’


संविधान संशोधन गर्न दुवै दल मिल्दा प्रतिनिधिसभामा सङ्ख्या पुगे पनि राष्ट्रियसभामा नपुग्ने वास्तविकता प्रस्तुत गर्दै उनले यो विशुद्ध सङ्ख्यात्मक र कानुनी विषय मात्र नभई आम सहमति र सहकार्यसँग जोडिएको  बताए । असल नियतका साथ संविधान संशोधनको विषय उठाइएको हो भने सहमति सार्वजनिक गरेर त्यसमा बहस गर्न आवश्यक भएको उनी बताउँछन् ।


संवैधानिक, कानुनी र राजनीतिक तथा संसदीय अभ्यासका हिसाबले दुवै ठूला शक्ति एकै ठाउँमा पुग्ने भनेको कुनै न कुनै रूपमा निरङ्कुशतातर्फ जान सक्छ भनी आशङ्का गर्न सकिने स्थान रहेको सांद सापकोटाले बताए ।


उनले भने, ‘संसदीय अभ्यास र नजिर, संवैधानिक कानुन र राजनीतिका हिसाबले कांग्रेस र एमालेबीचको सहयात्रा स्वाभाविक र प्राकृतिक देखिन्न ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झा त्रिशङ्कु सदनमा सरकार गठनका लागि विभिन्न गठबन्धन बन्नु स्वाभाविक भएको ठान्छन् ।


उनी भन्छन्, ‘अमुक पार्टीसँग सहमति हुँदा स्वाभाविक, अर्काेसँग हुँदा अस्वाभाविक भन्ने हुँदैन । नयाँ सरकारका लागि सहकार्य गर्ने भनिएका दलबीचमा पनि राजनीतिक आदर्श र सिद्धान्त मिल्दैन ।’ दुईवटा राजनीतिक दल मिलेर सृजना भएको परिस्थिति उपयुक्त राजनीतिक विकल्प नभएको बताउँदै सहप्रवक्ता झाले दुवै शक्ति लोकतन्त्रप्रति इमान्दारमा मात्र देशको भलो  हुने तर्क गरे ।

पाकिस्तान मुस्लिम लिग–नवाज सरकार चलाउन असमर्थ रहेको राष्ट्रपति जरदारीको भनाई

पञ्जाबमा पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) को नेतृत्वले सङ्घीय र प्रान्तीय सरकारहरूसम्बन्धी बैठकमा राष्ट्रपति आसिफ अली जरदारीसमक्ष गम्भीर चिन्ता व्यक्त गरेको एआरआई न्युजले  बताएको छ । 

घटनाक्रमको जानकारी राख्नेहरूका अनुसार पिपिपी पञ्जाब नेतृत्वले बैठकमा आफ्नो अधिकारबाट ‘वञ्चित’ भइरहेको र सङ्घीय तथा प्रान्तीय सरकारहरूले यसमा काम गरेको छैन । 

पञ्जाब पिपिपी टिकट पाउनेहरूले आफूहरूको व्यक्तिगत सिटहरूमा समस्या सम्बोधन नगरिएको बताएका छन् । नेताहरूले राष्ट्रपति जरदारीलाई भनेका छन्, “हामीलाई पनि मत प्राप्त भएको छ र हाम्रो निर्वाचन क्षेत्रका मतदाताहरूलाई सन्तुष्ट बनाउनुपर्छ ।”

राष्ट्रपतिले पिपिपी पञ्जाब नेतृत्वको समस्याहरू समाधान गरिने वाचा गरेका छन् । “पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) सरकार चलाउन असमर्थ छ, अब म आफैँ मैदानमा फर्केको छु र इस्लामाबाददेखि लाहोरसम्म उत्थान कार्यहरू गरिनेछ”,उनले भने, “कुनै पनि राजनीतिक दलले पाकिस्तान पिपुल्स पार्टीसँग प्रतिस्पर्धा गर्न सक्तैनन ।”

पिपिपी सरकारहरू स्थापना गर्न र ढाल्न दुवैमा कुशल रहेको उनले बताए । यद्यपि उनले आफ्नो पार्टी सदस्यहरूसँग द्वन्द्व समाधानमा सहयोग गर्न र वार्ता गर्न आग्रह गरेका छन् । 

मनोरञ्जन क्षेत्रमा यौन हिंसा र शोषण

काठमाडौँ  । मनोरञ्जनका क्षेत्रमा आबद्ध युवायुवती यौन शोषण, बाध्यात्मक श्रम र हिंसा व्यहोर्न बाध्य भएका प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको मानब बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने १९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँका विभिन्न स्थानमा सञ्चालित डान्सबार, रेष्टुरेन्ट तथा गेष्टहाउसमा वेश्यावृत्तिमा लगाउने आठ पुरुष र ११ महिलालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

ब्यूरोका प्रहरीले रातेपुल, गोङ्गबु, ठमेल, गौशाला, ललितपुर, चाबहिल, जडीबुटी, शिवचोक, तारकेश्वर, जोरपाटी, दीपज्योति, माछापोखरी, मित्रपार्क र नारायणटारलगायत क्षेत्रबाट निजहरूलाई पक्राउ गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

ब्यूरोको आयोजना तथा महिला सशक्तीकरण र हिंसा न्यूनीकरणका क्षेत्रमा क्रियाशील अनाहत नेपाल संस्थाको समन्वयमा सम्पन्न ‘आन्तरिक मानव बेचबिखनका नयाँ आयाम’सम्बन्धी कार्यक्रममा मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने आठ पुरुष र ११ महिलालाई पक्राउ गरिएको जानकारी दिइएको हो ।

ब्यूरोको तथ्याङ्क अनुसार आन्तरिक बेचबिखन तथा वेश्यावृत्तिका घटनामा १५ पुरुष र ४४ महिला गरी ५९ जना पीडित देखिएका छन् । पछिल्लो तीन वर्षमा मानव बेचबिखनमा संलग्न पाँच सय २१ जना पक्राउ परेका ब्यूरोले जनाएको छ ।

ब्यूरोका प्रहरी नायब उपरीक्षक गोदारले मुख्यगरी गाउँबाट ठूला सपनाको प्रलोभनमा पारी मनोरञ्जन क्षेत्रमा ल्याई वेश्यावृत्तिलगायत कार्यमा लगाइँदा ती व्यक्ति विभिन्न शोषणमा पर्ने गरेका अनुसन्धानका क्रममा पाइएको बताए ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिमबाहेक मानिसको अङ्ग झिक्ने तथा वेश्यागमन गर्ने कार्यलाई मानव बेचबिखन मानेको छ ।

उक्त ऐनले मुलुक बाहिर हुने ओसारपसार र बेचबिखनका साथै मुलुकभित्र पनि एक ठाउँबाट अर्को ठाउँमा वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै किसिमले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, डर, त्रास, धाक, र धम्कीका आडमा हुने कार्यलाई सङ्गठित अपराध मानेको प्रहरी नायब उपरीक्षक गोदारको भनाइ छ ।

विश्वभरिका तीन ठूला सङ्गठित अपराधमध्ये मानव बेचबिखन एक मुख्य अपराधका रूपमा रहेको छ । नेपाली समाजमा अहिले मानव बेचबिखन सुसुप्त ढङ्गले सञ्चालित भएको प्रहरीको अनुमान छ ।

अनाहत नेपालका कार्यक्रम व्यवस्थापक सञ्जय ढकालले मानव बेचबिखनको आन्तरिक आयामका बारेमा धेरै चर्चा नभएकाले विभिन्न प्रलोभनमा पारी किशोरीलाई व्यावसायिक केन्द्रमा ल्याई वेश्यावृत्तिमा लगाउने गरिएको बताए । आन्तरिक बेचबिखनमा पर्ने किशोरी मुलतः १३ देखि १७ वर्ष समूहका रहेका उनले बताए ।

लालुपाते सहकारीले बचतकर्ताको रकम फिर्ता दिएपछि मुद्दा मिलापत्र

खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा परेको जिल्लास्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको मुद्दा मिलापत्र भएको छ । सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्ताको रकम फिर्ता दिएपछि बचतकर्ता (जाहेरवाला) र सञ्चालक समिति (प्रतिवादी)बीच बुधबार जिल्ला अदालत कार्यालयमा मिलापत्र भएको हो ।

सञ्चालक समितिले बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ जनालाई अदालतमा बचत रकम फिर्ता दिएको अदालतका श्रेस्तेदार सीताराम खड्काले जानकारी दिए । ठगी प्रकरणमा मुद्दा विधाराधीन अवस्थामा रहेको भन्दै सञ्चालक समितिले बचतकर्ताको बचत रकम फिर्ता दिएपछि मिलापत्र गराइएको उनले बताए ।

बचतकर्ता दुई सय ६५ जनाले दिएको जाहेरीमा मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ३२ बमोजिम  चार करोड ४० लाख ६१ हजार १८ बिगो मागदाबीसहित अदालतमा अभियोगपत्र दर्ता गराएका थिए । सञ्चालक समितिले ऋणीबाट रकम उठाएर उबचाकर्तालाई फिर्ता दिएको कानुनी सहजकर्ता ओमप्रकाश घिमिरेले बताए ।

ऋणीबाट रकम उठाएर बचतकर्तालाई फिर्ता दिनुका साथै अदालतमा विचाराधीन मुद्दामा मिलापत्र गरिएको सहकारीका सहजकर्ता गोपाल सैंजूले बताए । “अदालतमा विचाराधीन मुद्दाको फैसला हुनु पहिला नै पीडितलाई न्याय दिएइका हौँ”, उनले भने, “मध्यमार्गी भूमिका निर्वाह गरी न्याय दिएका छौँ । यो कार्यले मुलुकमा एउटा नजिर स्थापना गर्छ भन्ने अपेक्षा लिएका छौँ ।”

“घरजग्गा बिक्री गरेर अन्यत्र लगानी गर्न  ५२ लाख ४४ हजार छ सय ८७ रकम सहकारीमा बचत गरेको थिएँ । सञ्चालक समितिको लापरबाहीले बचत रकम डुब्ने अवस्थामा पुगेको थियो । अहिले फिर्ता पाएका छौँ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का बचतकर्ता लेखनाथ आचार्यले भने, “सञ्चालक समितिको यो भूमिकाप्रति आभारी छौँ ।”

सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधनपछि निक्षेपकर्ताले निक्षेप रकम फिर्ता माग्न जाँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकार भएकाले सहकारीको कारोबार तथा हिसाब हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नदेखिएपछि बचत अपचलन भएको विषय बाहिरिएको थियो । 

तत्कालीन अध्यक्ष जोशीको निधनपछि विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको कारोबार अहिलेसम्म ठप्प छ । तत्कालीन अध्यक्ष जोशीले आफूखुसी सहकारीबाट ऋणीलाई  २५ हजारदेखि ९९ लाखसम्म ऋण दिएको प्रहरी प्रतिवेदनमा देखिएको थियो । ऋणीमध्ये अधिकांशबाट रकम उठाएर बचतकर्तालाई फिर्ता गरिएको सञ्चालक समितिका सदस्य एवम् मेलमिलापत्रकर्ता हरिबोल आचार्यले जानकारी दिए ।

बचतकर्ताको रकम ठगी प्रकरणमा सहकारीका तत्कालीन अध्यक्ष जोशीका भाइ सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीसहित चारजना पूर्पक्षका लागि कारागार चलान भएका थिए ।

‘क्याप्टेन सुनिल, सुनिलको श्रीमती रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र ऋणी जसुदा पौडेल जिल्ला अदालत खोटाङका तत्कालीन न्यायाधीश सुभाषबाबु गिरीको आदेशमा विसं २०८० मङ्सिर २१ गते कारागार चलान भएका हुन्’, उनले भने । 

विचाराधीन मुद्दा मिलापत्र गरिएसँगै पूर्पक्षका लागि कारागारमा रहेका क्याप्टेन सनिलसहित चारैजना छुटेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । उनका अनुसार पूर्पक्षमा रहेका छुटेसँगै प्रतिवादीको सूचीमा रहेका २६ जनाको मुद्दासमेत मिलापत्रमा टुङ्ग्याइएको छ ।

क्याप्टेन सुनिल र सुनिलकी श्रीमती रविना विसं २०८० असोज १३ गते काठमाडौँस्थित निजी निवासबाट पक्राउ परेका थिए । उनीहरुमध्ये सुनिलले सहकारीको रकममा खरिद गरिएको जग्गा आफ्ना नाममा पास गरेको तथा रविनाले  दुई करोड ३५ लाख बचतकर्ताको रकम अपचलन गरेको अदालतले ठहर गरेको थियो । 

तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको तर, फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदालाई प्रहरीले विसं २०८० कात्तिक १५ गते चितवनबाट पक्राउ गरेको थियो ।

जसुदासहित तत्कालीन अध्यक्ष जोशीका परिवारविरुद्ध सहकारी सञ्चालक समितिले विसं २०८० फागुन २ गते प्रहरीमा उजुरी दिएको थियो । प्रबन्धक जोशीलाई सञ्चालक समितिको जाहेरीका आधारमा विसं २०८० असोज १७ गते काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले पक्राउ परेका सबैलाई सङ्गठित अपराधमा मुद्दा चलाउने भन्दै ६० दिनसम्म हिरासतमा राखेर सरकारी वकीलको कार्यालयमा राय प्रतिवेदन बुझाएको थियो ।

प्रहरीले सङ्गठित अपराध अन्तरगतको राय प्रतिवेदन बुझाए पनि सरकारी वकीलले ठगी मुद्दाको अभियोगपत्र तयार गरेर अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । प्रहरीको प्रतिवेदन अनुसार सञ्चालक समितिले  चार करोड ९० लाख ९७ हजार ३९३ तिर्नुपर्ने देखिएको थियो । 

मिलापत्र गरिएको सहकारी संस्थाको वित्तीय अवस्था हेर्दा सहकारी ‘डुबेको’ नदेखिएको अदालतका श्रेस्तेदार खड्काले जानकारी दिए। अदालतमा परेको मुद्दा मिलापत्र गरिएसँगै बन्द रहेको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थालाई पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाइँले बताए । 

एक अर्बको लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै

चितवन । चितवनमा एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै छ । चिस्यान केन्द्रको बिहीबार शिलान्यास गरिएको छ ।

रत्ननगर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको सात बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण गर्न लागिएको हो ।

उद्यमी उमेश श्रेष्ठले एक वर्षभित्र चिस्यान केन्द्र निर्माण गरिने बताए। उपजलाई छुट्टाछुट्टै च्याम्बर र तापक्रममा राखिने उनले जानकारी दिए । ‘कृषि उपज एक वर्षसम्म शीतभण्डारमा राख्न सकिनेछ’, उद्यमी श्रेष्ठले भने ।

उत्पादन खेर जाने समस्या उनी आफैँले भोगेकाले शीतभण्डारलाई प्राथमिकता दिएको उनको भनाइ छ । किसानलाई प्रेरित गरेर त्यहाँ उत्पादित वस्तु खरिद गरी ग्रेडिङ, लेबलिङ र प्याकिङ गरेर भण्डारण गरी आवश्यकतानुसार बजार पठाउने उनको लक्ष्य छ ।

उद्यमी गुरुङले चितवनसँगै जनकपुर, भैरहवा, नेपालगञ्ज र इटहरीमा पनि १० हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माण गर्ने योजना रहेको बताए । “चितवनमा सम्पन्न भएपछि अन्य ठाउँमा शीतभण्डार निर्माण गरिनेछ”, उनले भने ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा र रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर गिरीले शीतभण्डार निर्माणबाट चितवनको कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने बताएृ। शीतभण्डार निर्माणपछि उत्पादन सडेर जाने अवस्था अन्त्य हुने उनीहरुको भनाइ छ ।

‘एग्रीवस्तु प्रालि’का प्रबन्ध निर्देशक आशिष उपाध्यायले किसानलाई लक्षित गरेर ल्याएको यो परियोजनाले नेपालको कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

उत्तर प्रदेशमा  वर्षाजन्य घटनामा २२ जनाको मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा पछिल्लो २४ घन्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

  राहत विभागका अधिकारीहरूका अनुसार अविरल वर्षाले नदीहरूको जलस्तर बढाउँदा राज्यका १२ जिल्लाका ६ सयभन्दा बढी गाउँ जलमग्न भएका छन् ।

बाढीले एक हजार एकडभन्दा बढी कृषि भूमि डुबानमा परेको छ भने आठ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

  राहत र उद्धार टोलीले १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको जनाएको छ ।

मनसुनी  भारी वर्षाले भारतको उत्तरपूर्वी राज्य आसाममा पूर्ण बाढी बाहेक देशका धेरै राज्यमा जल तथा बाढीजन्य अवस्थाहरू निम्त्याएको छ ।

म्यान्माको जुन्ता सरकारले मुलुकलाई नष्ट गर्न खोजिरहेको राष्ट्रसङ्घीय विशेष दूतको दाबी

म्यान्माका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतले मुलुकको जुन्ता सरकारले ‘नियन्त्रण गर्न नसकिने गरी मुलुकलाई ध्वस्त पार्ने प्रयास गरिरहेको’ जस्तो देखिएको चेतावनी दिएका छन् ।

जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरूको गठबन्धन र सेनाबीचको झडपहरूले जनवरीमा बेइजिङको मध्यस्थतामा गरिएको युद्धविरामलाई तोडेको छ । 

सन् २०२१ मा भएको सैन्य विद्रोहले लोकतान्त्रिक शासन समाप्त गरेदेखि जारी युद्धविरामलाई म्यान्माको उत्तरी क्षेत्रमा व्यापक लडाइँले केही समयका लागि रोकेको थियो । 

‘जुन्ता आफ्नै खुट्टामा छ, यसले सैनिकहरू गुमाउँदैछ, यसले सैन्य सुविधाहरू गुमाउँदैछ र यसले वास्तवमै जमिन गुमाउँदैछ’, राष्ट्रसङ्घीय विशेष दूत टम एन्ड्र्युजले छिमेकी थाइल्यान्डको राष्ट्रिय सुरक्षा निकायलाई ब्रिफिङका क्रममा भने, ‘यस्तो लागिरहेको छ कि मानौँ जुन्ताले नियन्त्रण गर्न नसकिने गरी मुलुकलाई नष्ट गर्न खोजिरहेको छ ।’

उनका अनुसार आफ्नो क्षतिका लागि सेनाको प्रतिक्रिया भनेको नागरिकहरूमाथि आक्रमण गर्नु हो । पछिल्लो छ महिनामा विद्यालय, अस्पताल र मठहरूमा आक्रमणको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । 

धेरै दिनको झडपछि यस साताको प्रारम्भमा जातीय अल्पसङ्ख्यक लडाकूहरूले चीनको युनान प्रान्त जाने प्रमुख व्यापारिक राजमार्ग छेउमा रहेको एक सहरलाई सेनाबाट कब्जा गरेका थिए । 

जातीय सशस्त्र समूहहरूको गठबन्धनले सेनाविरुद्ध पुनः आक्रामक हमला गरेपछि उत्तरी शान राज्य गत महिनाको अन्त्यमा भएको लडाइँले डगमगाएको छ । झडपहरूले बेइजिङको मध्यस्थतामा भएको युद्धविराम समाप्त गरेको छ ।

अराकान आर्मी (एए), म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडिएए)  ताङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) को गठबन्धनको आक्रमणलाई युद्धविरामले रोकेको थियो । 

बढीपहिरोले देशका विभिन्न भागमा क्षति, राजमार्ग अवरुद्ध

काठमाडौँ । निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् । 

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गु पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।

पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरो खसिरहेको छ ।  सडक दुईतर्फी खुलाउन अझै केही समय लाग्ने छ । यसैबीच, स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक यो सडकबाट यात्रा अनुरोध गरेको छ ।

 मालढुङ्गा–बेनी सडक अवरुद्ध 

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको  मालढुङ्गा–बेनी सडक अवरुद्ध भएको छ । गएरातिको भारी वर्षाका कारण तीन ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध बनेको हो । मालढुङ्गादेखि बेनी सम्मको १३ किलोमिटर लामो बाटोको कुश्मा नगरपालिका– १ मालढुङ्गा नजिकै भिरवाट ढिस्को सहितको पहरो खसको छ । त्यसैगरी जलजला गाउँपलिका–८ स्थित फनफनेमा पनि सडक अवरुद्ध भएको हो । 

पर्वतमा पहिराले छ घर पुरिए

 पर्वतको मोदी गाउँपालिकामा  छ वटा घर पुरिएका छन् । मोदी गाउँपालिका– २ देउपुरको जरुवाका ६ घर पुरिएका छन्भने जोखिममा रहेका अन्य ९ परिवार गरी १५ परिवार पूर्ण विस्थापित भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बुधवार दिउँसोदेखि नै पहिरो खसेको हो । कुश्मा नगरपालिका– ११ पकुवाको छापामा पनि एउटा घर पुरिएको प्रहरीले जनाएको छ । 

गाईघाट– दिक्तेल सडक अवरुद्ध

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १४ को रातमाटे डाँडामा पहिरो खस्दा गाईघाट दिक्तेल सडक अवरुद्ध भएको छ । बुधबार अपराह्नदेखि उक्त सडक अवरुद्ध भएको हो । एम्बुलेन्सलागयत अत्यावश्यक सवारीका साधन सञ्चालन गराउने प्रयास जारी छ । जिल्ला प्रशासन कार्यलय,त्रियुगा नगरपालिका र गाईघाट –दिक्तेल सडक कार्यलयले एकीकृत प्रयास गरिरहेका छन् 

मध्यपहाडी राजमार्ग बन्द

पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको काठेखोला गाउँपालिका–६ बयलडाँडास्थित सडकमा पहिरो खस्दा मध्यपहाडी पुष्पलाल राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी प्रहरी उपरिक्षक ऋषिराम कँडेलले जानकारी दिए । 

बेँसीसहर–चामे सडक पनि खुलेन 

लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक दश दिनदेखि बन्द छ । बाढीले मनाङको चामे गाउँपालिका–१ तिमाङखोलाको पक्की  पुल बगाएपछि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छैनन् । 

विसंं २०७८ असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो । दुईवर्षअघि त्यहाँ मोटरेवल पक्की पुल निर्माण गरिएको थियो । 

पथान्तरणमा क्षति

बाढीका कारण घोराही–तुलसीपुर र घोराही सडक पनि अवरुद्ध भएको छ । पुल निर्माण जारी रहेको घोराही–तुलसीपुर खण्डमा गरिएको पथान्तरण बाढीमा बगेपछि उक्त सडक बन्द भएको हो ।

संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन्  ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए ।

‘दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ’, उनले भने ।

महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्षनेताबीच भएको सात बुँदे समझदारी पालना गरिने बताए ।

पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उनको भनाइ थियो । महामन्त्री थापाले सात बुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै लिखित समझदारीलाई कसैले पनि हलुका रुपमा लिन नहुने बताए । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सरकार बने पनि प्रतिपक्ष कमजोर बन्न नहुने बताए ।

उनले प्रतिपक्ष कमजोर भए सत्तापक्ष निरङ्कुश बन्न सक्ने उल्लेख गर्दै संविधानको अक्षरसः पालना गर्दै त्रुटि सच्याउँदै जानुपर्ने बताए । संविधानको मूल मर्ममा कुनै संशोधन नहुने उनको भनाइ थियो ।

प्रधानमन्त्रीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । पार्टीका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि नेकपा एमालेले पनि प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।

गणतन्त्र स्थापनापछि पनि भएन राजनीतिक स्थिरता, डेढवर्षमा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री

कठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदैछन् ।


पछिल्लोपटक उनलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि भोलि असार २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।


प्रधानमन्त्री दाहालले असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि सङ्घीय संसद्लाई लिखित आग्रह गरिसकेका छन् ।


नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँपटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका छन् ।


विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद्मा तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए  । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।


प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गरेका थिए । दुईजना सांसदले विपक्षमा मतदान गरेका थिए ।


त्यसको झण्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।


त्यसबेला उनलाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये कांग्रेससहित एक सय ७२ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा ८९ सांसदको मत परेको थियो । एकजना सांसदको तटस्थ मत रहेको थियो ।


प्रधानमन्त्री दाहालले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिएका थिए ।


त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी दुई सय ६८ सांसदमध्ये एक सय ५७ जनाले उहाँको पक्षमा मतदान गरेका थिए । कांग्रेससहित एक सय १० सांसदले भने विपक्षमा मतदान गरेका थिए । एक मत तटस्थमा परेको थियो ।


त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथोपटक विश्वासको मत लिएका थिए । त्यसबेला उनको पक्षमा एक सय ५७ सांसदले मत दिएका थिए भने एकजना सांसदले तटस्थ मत जाहेर गरेका थिए ।


संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले  विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।


सोही धाराको उपधारा (३) मा उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिकतर्फ एक सय १० गरी कुल दुई सय ७५ सदस्यीय रहेको छ ।


विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको दुई सय ७५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ८९, एमालेले ७८, माओवादी केन्द्रले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२, नेकपा (एकीकृत समाजवादी)ले १०, जनमत पार्टीले छ, स्वतन्त्र पाँचजना, लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा एक–एक सिटमा विजयी भएका थिए ।  


नेपालको संविधानपछि पनि भएन राजनीतिक स्थिरता


मुलुकमा गणतन्त्र स्थापनापछि राजनीतिक स्थिरता, सुशासन र समृद्धि हुने अपेक्षासहित संविधानसभाबाट नेपालको संविधान विसं २०७२ असोज ३ गते जारी भएको थियो । संविधानमा राजनीतिक स्थिरताका लागि विभिन्न प्रावधान राखियो पनि । तर संविधान जारी भएको आठ वर्षमै सात प्रधानमन्त्रीले पद सम्हाल्नुभयो भने दर्जनौँपटक मन्त्रिपरिषद् हेरफेर भएको छ ।


संविधानको धारा १०० को उपधारा (४) मा प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूमध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सकिने व्यवस्था छ ।


सोही उपधारामा प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वासको प्रस्ताव पेस गर्न सकिने छैन भनी उल्लेख छ । उक्त व्यवस्था राजनीतिक स्थिरताका लागि राखिए पनि गणतन्त्र स्थापनापछि संसदमा कुनै पनि दलको एकल बहुमत नहुँदा पूरा कार्यकालसम्म सरकार चलाउन सकेका छैनन् ।


विसं २०७२ मा संविधान जारी गर्दा कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री थिए । त्यसयता एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई–दुईपटक प्रधानमन्त्री भइसकेका छन् ।     

फिलिपिन्समा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु

उत्तरी फिलिपिन्समा बिहीबार यात्रु बस र पिक–अप ट्रक आपस ठक्कर  खाँदा घर ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो । प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ ।

“पिकअपमा सवार रहेका मध्ये तीन जना मात्रै जीवित हुनुहुन्छ”, प्रहरी मेजर एन्टोनियो पालाटाओले भने । यात्रुवाहक बसका चालक र सहचालकलाई गम्भीर र अन्य २३ जनालाई सामान्य चोट लागेको उनले बताए । 

“टोयोटा हिलक्सका चालक त्यस क्षेत्रसँग ज्ञात नभएकाले राजमार्ग पुगिसकेको थाहा पाउनुभएन । राजमार्गमा स्वाभाविक रूपमा गति नियन्त्रण गर्नुपर्ने हुन्छ”, प्रहरी क्याप्टेन जुन–जुन तोरियोले भने ।

सीता दाहालप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गिनी सीता दाहालको प्रथम स्मृति दिवसमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालसहित उनका परिवारका सदस्यहरूले सीता दाहालको तस्बिरमा पुष्पगुच्छा एवं माल्यार्पण गरे ।

श्रद्धाञ्जलि कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरे ।

प्रधानमन्त्रीको सचिवालयका सदस्य, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिति थियो । माओवादी नेत्री सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।

नेतृ सीता परिवर्तनका योद्धाका रूपमा सधैँ स्मरणमा रहनुहुने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरे । नेतृ दाहाल माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिइन् । उनी २०२८ देखि कम्युनिष्ट आन्दोलनमा लागेकी थिइन् । विसं २०५२ देखि पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको जनयुद्धमा सहभागी भएकी थिइन् ।

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको मूल्य प्रतितोला  आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला  एक लाख ४४ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार प्रतितोला  एक लाख ४४ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।

बुधबार प्रतितोला  एक लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबारका लागि  एक लाख ४४ हजार दुई रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ७० मा कारोबार भएको चाँदीको मूल्य बिहीबार भने  एक हजार आठ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।

जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति गठन गरेका छन् । गत जेठमा जनकपुरमा भएको महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई चयन गरेको थियो ।

अध्यक्ष यादवलाई बाँकी पदाधिकारी र सदस्य टुंगो लगाउने जिम्मेवारी दिएकाले सोहीअनुसार बिहीबार २१५ सदस्यीय केन्द्रीय समिति घोषणा भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । अध्यक्ष यादवले ९ सदस्यीय कार्यकारिणी समिति समेत बनाएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन कांग्रेसको आग्रह

बागमती । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पदबाट राजीनामा दिन आग्रह गरेको छ । बिहीबार कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह लामाले विज्ञप्ति जारी गरी मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिइ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा केन्द्रमा एमाले र कांग्रेसको सहमतिको सरकारको प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै माओवादी केन्द्रको नेतृत्वमा रहेको बागमती सरकारलाई नयाँ सरकार गठनका लागि बाटो खुलाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘माओवादी नेतृत्वको बागमती सरकारलाई एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिँदै राजीनामाको माग गरिसकेको अवस्था छ । यो अवस्थामा सरकारले कुनै पनि महत्त्वपूर्ण निर्णय, नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने भएकोले नेपाली कांग्रेस संसदीय दलको तर्फबाट गम्भीर ध्यानाकर्षण गराउँदै माननीय मुख्यमन्त्रीले राजनीतिलाई सहज रूपमा अगाडि बढाउन र सहमतीय सरकार गठन गर्न तत्काल मार्गप्रशस्त गरिदिनुहुन आग्रह गदर्छु।’

सत्ताघटक नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिएपनि मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएका छैनन् । मुख्यमन्त्री जम्कट्टेल पनि केन्द्रमा प्रचण्डले जस्तै विश्वासको मत लिने तयारीमा रहेको बताइन्छ ।

देशभर वर्षा भइरहेकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । 


केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए ।


प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको ठाउँठाउँमा भत्किएका, भासिएकाले दर्जनौँ सडक अझै खुलेको छैन । वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकहरूसँग आग्रह गरेको छ ।


अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम भइरहेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन भनेको कार्कीले बताए ।


प्रहरीले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “मनसुन र अविरल वर्षाका कारण बाढी र पहिराले विभिन्न स्थानमा सडक अवरुद्ध रहेको र सम्बद्ध अन्य निकायको सहयोगमा प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेकाले लामो यात्रामा निस्किनुपूर्व नजिकका प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।”


प्रहरीले यसरी सम्पर्कका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।


यता जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि तीन दिन देशभर मौसम बदली भई ठाउँठाउँमा वर्षा हुने सार्वजनिक सूचना जारी गरेकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।

मेयर साहसँग श्रीलंकाका राजदूत पाथिरानाको शिष्टाचार भेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन् ।

भेटका लागि राजदूत पाथिराना मेयर साहको कार्य कक्षमा पुगेका थिए । भेटका क्रममा आपसी सम्बन्धलाई औपचारिकता दिन काठमाडौँ र कोलम्बोबीच भगिनी सम्बन्धको सम्भावना, बौद्ध इतिहासमा लुम्बिनी र काठमाडौंको महत्वसँग श्रीलंकाको सम्बन्ध, बौद्ध तीर्थयात्रा मार्ग, स्वास्थ्य र शिक्षामा आपसी सिकाइलगायतका विषयमा उनीहरुबीच कुराकानी भएको थियो ।

त्यसक्रममा मेयर साहले सांस्कृतिक पर्यटनबाट देश–देश र नगर–नगरबीचको सम्बन्धबाट नागरिक तहमा लाभ पुग्ने धारणा राखे ।

उनले भने, ‘दुई देश बीच मैत्री क्रिकेट खेल आयोजना गर्न सकिन्छ । कला, खेल तथा गीत संगीत क्षेत्रका व्यक्तिहरुका बीचमा ज्ञान सिप आदान प्रदान गर्न सकिन्छ । मानव संशाधन विकास देखि पूर्वाधार विकाससम्मका क्षेत्रमा सहकार्य सम्भव छ ।’ मेयर साहले कोलम्बोबाट भैरहवा विमानस्थलमा हवाई सेवा सञ्चालन गरेर श्रीलंकालाई सिधा लुम्बिनीसँग जोड्न सकिने बताए ।

राजदूत पाथिरानाले, महानगरपालिकाले गएको वैशाख/जेष्ठ महिनामा आयोजना गरेको सिप मेलाको प्रशंसा गर्दै भने, ‘नागरिक सहभागितामा काम गर्ने प्रमुख शाहको कार्यशैलीको म प्रशंशक हुँ ।’

वुद्ध कालदेखि नेपाल र श्रीलंका बीच सम्बन्ध रहेको बताउँदै राजदूत पाथिरानाले दुई देश विच सहासिक पर्यटनको पनि उत्तिकै सम्भावना रहेको उल्लेख गरे । कुराकानीका क्रममा हिमालदेखि समुद्री तटसम्मको सम्बन्ध स्थापना गरेर आपसी ज्ञान र हित प्रवर्धनमा जोड दिइएको थियो ।

हाम्रो संसदको भीड यही सत्यबाट चल्छ

डा. युवराज संग्रौला ।
देशमा अन्धभक्तको जमात छ, जताततै । राजनीति यही अन्धभक्तको कन्कुवाइन बनेको छ । मानिसले सोच्ने पद्धतिका बारेमा भगवद् गीता, बुद्ध, थुप्रै उपनिषद्, चिनियाँ आध्यात्मवाद ‘ताओ ते छिङ्ग’ र किराँत मुन्धुमा स्थापित सत्यवचनहरुमा गहिरो बोध स्थापित छ ।

१. ताओ ते छिङ्ग भन्छ, ‘पहिला दिमागलाई खाली बनाउ । दिमागलाई अचन्चल बनाउ । तब सोच, अनि मात्र सत्य देख्न वा अनुभुती गर्न सक्छौं ।’ बुद्धले सत्यको खोजी कारणको खोजीबाट गर्नुपर्छ भनेका छन् । परिणाम पहिला नै कारणमा निर्दिष्ट भैसकेको हुन्छ। नेपालमा अन्धभक्तहरुको जमात यति धेरै भयो, त्यसैले गरेको हल्लामा मानिस पछाडि कुदिरहेको छ । कसैको पछाडि कुदेको मानिसको नियति त्यही हुन्छ, जो त्यसको भयो । उदाहरण धेरै छन् । अन्धभक्ति र अन्धश्रद्धाले व्यक्ति, समाज र राष्ट्र सबै सिध्याउँछ । अन्धभक्तहरु मन्दबुद्धि र दुष्टबुद्धिका रोगी हुन्छन् । वर्तमान नेपालको अवस्थालाई सुधार्ने हो भने सबै सचेत मानिसले एकपटक दिमागलाई खाली गरौं र निस्चल बनाएर सोचौं, नेपाली राजनीतिलाई सोचले निर्देश गर्ने बेला भएको छ ।

२. भगवद गीताको अध्याय १ र २ को अध्ययनले अध्यात्मवाद वा मेटाफिजिक्सको सुन्दर प्रतिनिधित्व गर्दछ । यसले बताउँछ, मानिसको विचार तीन तहमा क्रियाशील हुन्छ । सबैभन्दा तल र नजिक ‘मन'(माइन्ड) हुन्छ, र यो वृत्तिहरुबाट घेरिएको हुन्छ । वृत्ति भनेको आग्रह वा पूर्वाग्रहको पुलिन्दा हो । म फलानो जाती, धर्मी, आदि । मनबाट चल्नेले उसैले ठानेको सत्य देख्छ । हाम्रो संसदको भीड यही सत्यबाट चल्छ । उसको दुनियाँ उसको आग्रह र पूर्वाग्रहमा सकिन्छ । मनले दुष्टबुद्धिको खेती गर्छ । मोह र अहंकारलाई जन्म दिन्छ । यो मनोग्रन्थीमा रुपान्तरण हुन्छ । त्यो मनोग्रन्थी सत्यका नाममा झुठको खेती गर्छ ।

. भीष्म द्रोण सबै सत्यको पक्षपात गर्दागर्दै मनबाट ग्रस्त भए । हस्तिनापुरको संरक्षणलाई सत्य देखेका उनका मनले ‘द्रौपदी’को अस्मिता लुटेको सत्य देखेन । महाभारतको युद्ध दुर्योधनका कारणले भएको थिएन । यो युद्ध ‘थोरै सत्यको प्रतिनिधित्व गर्ने भीष्म, द्रोण, कर्ण आदिका कारणले भएको थियो। वर्तमान नेपालको राजनीति यस्तै नबोल्ने इमान्दारको अकर्मण्य मानिसका कारणले भैरहेको छ, किनकी बोल्दा आफ्नो जो भएको जाला भन्ने यिनलाई डर छ । अतः यिनीहरु मनोग्रन्थीले दवित भएर असत्यको प्रतिरक्षा गर्छन् ।

४. मन भन्दा मास्तिर ‘तथ्य’ हुन्छ, भगवद  गीताको व्याख्या यही हो । तथ्य सत्य देख्न मद्दत गर्छ । आधुनिक शिक्षामा इपिस्टेमोलोजी भनेको यही हो । यो विज्ञान हो । तर विज्ञानलाई पनि वृत्तिले प्रभावित पार्न सक्छ, जसरी अर्जुनलाई बनायो । ‘तथ्य’ भन्दा माथि चतेना वा ‘प्रस्फुटित बोध’ छ जसलाई ‘अध्यात्म’ भनिन्छ । यो निश्चल, आग्रह र पूर्वाग्रहरहित, अहंकार रहित हुन्छ । जब यो बोध (कग्निसन)का सहयोगबाट सत्य प्रकट हुन्छ, त्यो नै भरोसायुक्त बुद्धि हो । नेपालमा खडेरी यसरी सोच्ने विचारको हो, मान्छेको होइन । अतः देउवा, केपी, प्रचण्ड, माधव, झलनाथ जस्ता बृद्ध भाले, अन्य बयस्क भाले, फेसबुकले चिनेका रवि, बालेन, हर्क जस्ता नयाँ भालेले केही गर्ने होइनन्, यदि विचार भएन भने । ‘विचार भनेको त्यो विकासको मोडल हो जसले वृद्धि होइन मानिसमा सिर्जना र जीवनलाई सहज बनाउने सक्षमता निर्माण गर्छ।’

किन नेपालमा मानिस वृद्धिका कुरा वा ठूलो बाटो, अग्लो टावर, गेट, रिजोर्ट, यस्तै यस्तै भौतिक वस्तुको बिस्तार मात्र कुरा गर्छन् । यो त विकास होइन बिस्तार हो, वृद्धि मात्र हो । विकास मानिसको सोचको परिवर्तन हो । गोरु जोत्नेले मेसिनद्वारा खेती गर्ने सोच विकास हो । अतः विकास शिक्षाले ल्याउँछ । शिक्षाले विज्ञान, प्रज्ञान, र तर्क दिन्छ । यी तीन वटाको अभाव देशमा छ। देशमा अन्धभक्तको जमात छ, जताततै ।

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा

काठमाडौं । उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ । खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले कोलम्बियालाई अग्रता दिलाएका थिए ।

खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड पाए । डेनियल मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो ।

१० खेलाडीमा सीमित कोलम्बियाले पुरै समय उरुग्वेलाई दबाबमा राख्दै फाइनल यात्रा तय गरेको हो । दोस्रो सेमिफाइनलको विजेता कोलम्बियाले अब फाइनलमा पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो सेमिफाइनलमा क्यानडलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको हो ।

समाजवादी मोर्चालाई सक्रिय बनाउने प्रचण्डको तयारी

काठमाडौँ । समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे समाजवादी घटकदलहरूबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको छलफलमा समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा नेताहरूबीच अनौपचारिक कुराकानी भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले जानकारी दिए ।

“समाजवादी मोर्चालाई सक्रिय बनाउने, व्यवस्थित बनाउने र मोर्चालाई देशभर विस्तार गर्ने विषयमा सैद्धान्तिक छलफल भएको छ, छिट्टै अर्को बैठक बसेर थप निर्णय गर्नेछौँ”, अध्यक्ष यादवले भने ।

मोर्चालाई सक्रिय बनाएर सातै प्रदेशमा सङ्गठन विस्तारबारे कुराकानी भएको उनले बताए । छलफमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल समाजवादीका अध्यक्ष यादवसहितका नेताहरू सहभागी थिए । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो ।

६ महिनामा अन्नपूर्ण पदमार्गमा दश हजार भन्दाबढी पर्यटकले गरे भ्रमण

लमजुङ ।  चक्रीय अन्नपूर्ण पदमार्गमा छ महिनामा १० हजार छ सय १३ विदेशी पर्यटक आएका छन् । यी पर्यटक सन् २०२४ जनवरीदेखि जुन महिनासम्म भ्रमणका लागि आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ । 

केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले उक्त पर्यटकमध्ये छ हजार चार सय ३५ पुरुष र चार हजार एक सय ७८ महिला पर्यटक आएको जानकारी दिए ।

यीमध्ये सबैभन्दा बढी फ्रान्सबाट एक हजार ७४, इजरायलबाट आठ सय ३२, जर्मनबाट सात सय ८४ पर्यटक आएका छन् । यस पदमार्गमा बर्खा लागेसँगै सुनसान भएपनि दैनिकजसो चार/पाँच जना विदेशी पर्यटक आइरहेको केन्द्रले जनाएको छ । 

सन् २०२३ मा २१ हजार दुई सय ४७ र सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक भ्रमण गर्न यहाँ आएका थिए । सन् २०२२ को तुलनामा सन् २०२३ मा पाँच हजार तीन सय ४७ जना विदेशी पर्यटक बढी आएका छन् ।

केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७, सन् २०१८ मा २९ हजार चार सय ८४, सन् २०१७ मा २१ हजार ६८ पर्यटक अन्नपूर्ण पदमार्गमा आएका थिए । 
       
सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहरसँगै पदमार्ग क्षेत्र प्रभावित भएको थियो । विस्तारै बढ्दो पर्यटक आगमनले यस क्षेत्रका सयौँ स्थानीयले रोजगारीसमेत पाएका छन् । 

बढी मूल्य लिइ नुन बेच्ने फार्मलाई तीन लाख जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई तीन÷तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १३ सोल्टीमोडस्थित म्याक्रो मिनिमार्टले साल्टट्रेडिङ कर्पोरेसनबाट वितरित आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढी लिई बिक्रीवितरण गरेको तथा ताहाचलस्थित मेगा मार्ट प्रालिले उपभोग्य गरिसक्नुपर्ने अवधि व्यतित भइसकेका वस्तु बिक्रीवितरण गरेको भेटिएको विभागले जनाएको छ ।

यसैबीच, विभागले साल्टट्रेडिङले उत्पादन गरेको नुन तोकिएभन्दा बढी मूल्यमा बिक्रीवितरण नगर्न सम्पूर्ण व्यवसायीमा अनुरोध गरेको छ । उपभोग्य वस्तु तोकिएभन्दा बढी मूल्यमा बिक्री गर्नु अनुचित व्यापारिक कार्य भएको र त्यस्ता कार्य गर्ने व्यवसायीलाई कडा कारबाही हुने विभागले स्पष्ट पारेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ मा निर्धारित मूल्यभन्दा बढीमा उपभोग्य सामग्री तथा म्याद नाघेका खाद्यवस्तु बिक्री गर्ने फर्ममाथि रु दुईदेखि तीन लाखसम्म जरिवाना हुने व्यवस्था रहेकातर्फ विभागले व्यवसायीको ध्यानाकर्षण गराएको छ ।

गोरखा मिडियामा आएको रकमकाबारेमा गृहमन्त्रीमाथि छानबिन गर्न सहकारी पीडितको माग

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितहरुसँग छलफल गरेको छ ।

बुधबारको समितिले सहकारी पीडितहरुसँग छलफल गरेको हो । समितिमा पीडितहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् ।

उनीहरुले साहारा बहुउद्देश्यीय सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा एक अर्ब रुपैयाँ लगानी गरेको भन्दै तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक तथा गृहमन्त्री लामिछाने उपर पनि छानबिन गर्न माग गरेका थिए । बैठकमा सभापति सूर्य थापाले समिति पीडितहरूको कुरा सुन्ने र समस्याको बारेमा खोजीनिति गर्ने कुरामा अग्रसर हुने बताए ।

उनले भने, ‘यो संसदीय छानविन समिति हो, यसले प्रहरीको जस्तो काम गर्दैन । तर यो समितिले समस्या खोज्छ र पीडितहरूको कुरा सुन्छ ।’

समितिले सहकारी क्षेत्रमा देखापरेका समस्यामा १५ भन्दा बढी श्रृखलामा छलफल गरेको जनाएको छ । समितिले राष्ट्र बैंकका गर्भनर, वित्तिय क्षेत्रका नेतृत्वकर्ता तथा नेपाल प्रहरीको अनुसन्धान विभागसँग छलफल गरेको प्रष्ट पारेको छ ।

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबीच त्रिपक्षीय समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार, जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान इच्छुक विद्यार्थीहरुलाई वित्तीय ब्यवस्थापनमा सहयोग पुग्नेछ ।

जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् बैंकले शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

यसैगरी, आइएमई लिमिटेडले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुको कलेज शुल्क, भिषा शुल्क लगायतका भुक्तानीका लागि विद्यार्थीहरुलाई बैंक तथा जाल्सानसँगको समन्वयमा सहजता प्रदान गर्नेछ । जापान गए पश्चात् विद्यार्थीहरुले जापानबाट आफ्नो देशमा आइएमईबाटै सरलताकासाथ पैसा पठाउन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दाबढी सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४८ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

शनिबारसम्म नेपालमा मनसुन सक्रिय हुने, केही स्थानमा ‘अतिभारी वर्षा’ हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी शनिबारसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले बुधबार साँझ सूचना जारी गरी शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

महाशाखाकाअनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ छ । आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना छ ।

विधानविपरीत काम गरेकाले भन्दै जनमत पार्टीका सचिवसहित सातजना निलम्बित

काठमाडौं । जनमत पार्टीले सचिव बीपी साहसहित सात जनालाई निलम्बन गरेको छ । पार्टीको अनुशासन समितिको सिफारिसमा राष्ट्रिय सचिव साह, केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिका सचिव कृष्णचन्द्र साहसहित सात जनालाई तीन महिनाका लागि निलम्बन गरेको हो ।

पार्टीकी राष्ट्रिय सचिव अनिताकुमारी यादवका अनुसार, विद्यार्थी जनमत संघ सिरहाका पूर्वअध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती, मिर्चैयाकी अनिताकुमारी यादव र मिर्चैया नगरपालिकाका पूर्वसचिव दीपनारायण यादवलाई पनि तीन महिनाका लागि निलम्बन गरिएको छ ।

उनीहरूले विधानविपरीत अनुशासनहीन काम गरेकाले निलम्बन गरिएको सचिव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

श्रोत नखुलेको ३८ लाख रकमसहित सुनधाराबाट एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट श्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बुधबार काठमाडौंको सुनधाराबाट श्रोत नखुलेको ३८ लाख रुपैयाँसहित चितवनको भरतपुरका ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो ।

सुन्धारामा अबैध रुपमा शंकास्पद कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरी खानतलासी गर्दा उक्त रकम फेला परेको परिसरले जनाएको छ ।

११ महिनामा भित्रियो १३ खर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह १९.३ प्रतिशतले बृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७.३ प्रतिशतले बढेर ९ अर्ब ९८ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १३ प्रतिशतले बढेको थियो । ११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ जना रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ जना र २ लाख ६० हजार २६२ जना रहेको थियो । यो अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो ।

माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडको अभियोगमा दुईजना पक्राउ

काठमाडौँ । माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा दुईजना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई बुधबार बिहान पक्राउ गरिएको जानकारी दिए ।

इरानका नवनिर्वाचित राष्ट्रपतिले जुलाई ३० मा शपथ लिने

इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेस्कियानले आगामी जुलाई ३० मा संसद्समक्ष पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

इरानी विधायिकाको पद तथा गोपनियताको सपथ ग्रहण समितिका सदस्य मोज्ताबा युसेफीाई उदृत गर्दै सरकारी समाचार संस्था आईआरएनएले लेखेको छ, ‘नवनिर्वाचित राष्ट्रपति पेजेस्कियानको सपथ ग्रहण समारोह जुलाई ३० मा हुनेछ ।’

युसुफीले यसै साताको सुरुमा सपथ ग्रहण अगस्ट ४ वा ५ मा हुने सम्भावना रहेको बताएका थिए ।

इरानका राष्ट्रपतिलाई राष्ट्रप्रमुखको अधिकार दिइएको छैन । राष्ट्रप्रमुखले सम्हाल्ने सबै अन्तिम अधिकार सर्वोच्च नेतालाई दिइएको छ । अयातुल्लाह अली खामेनीले विगत ३५ वर्षदेखि यो पद सम्हाल्दै आएका छन् ।

गत शुक्रबार (जुलाई ५) मा भएको निर्बाचनमा पेजेस्कियानले परम्परावादी समूहका सइद जलीलीलाई पराजित गर्दै दोस्रो चरणको निर्वाचनमा जित हात पारेका थिए ।

निर्वाचनमा ६९ वर्षीय सुधारवादी पेजेस्किएनले कूल खसेको तीन करोड मतमध्ये करिब ५४ प्रतिशत मत प्राप्त गरेका थिए ।

गत मे महिनामा राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि जुन २८ का लागि पहिलो चरणको निर्वाचनको घोषणा गरिएको थियो ।

पहिलो चरणको निर्बाचनमा कुनै पनि उम्मेदवारले स्पस्ट बहुमत अर्थात् खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउन असफल भएपछि प्रतिस्पर्धी दुई उम्मेदवारबीच जुलाई ५ मा दोस्रो चरणको निर्वाचन भएको थियो ।

अमेरिकाले रूसी आक्रमणविरुद्ध युक्रेनको रक्षार्थ नाटोलाई सहयोग गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी आक्रमणविरुद्ध युक्रेनको रक्षा गर्न नाटोको समर्थन गर्ने वाचा गरेका छन् ।

‘पुटिन युक्रेनमा पूर्ण कब्जा गर्न चाहनुहुन्छ । उहाँले युक्रेनको लोकतन्त्रको अन्त्य, संस्कृतिलाई नष्ट गर्न र युक्रेनको भौगोलिक अस्तित्वलाई मेटाउन चाहनुहुन्छ,’ राष्ट्रपति बाइडेनले वाशिङ्गटन डिसीमा आयोजित तीन दिने नाटो शिखर सम्मेलनको उद्घाटनालाई सम्बोधन गर्दै भने ।

उनले संयुक्त राज्य अमेरिका, जर्मनी, नेदरल्याण्ड्स, रोमानिया र इटालीले युक्रेनलाई पाँच अतिरिक्त रणनीतिक हवाई रक्षा प्रणालीका उपकरणहरू प्रदान गर्ने बताए ।

बाइडेनले भने, ‘संयुक्त राज्य अमेरिकाले युक्रेनलाई महत्वपूर्ण हवाई प्रतिरक्षा प्रणाली (इन्टरसेप्टर) निर्यात गर्ने सुनिश्चित गर्नेछ । अरू कुनै देशले यो सहायता प्राप्त गर्नुअघि युक्रेनले यो सहायता पाउनेछ ।’

उनले युक्रेन स्वतन्त्र देश रहेको र स्वतन्त्र रहँदै युद्ध समाप्त हुनेमा जोड दिए । ‘रूसको विजय हुने छैन, युक्रेन विजयी हुनेछ,’ राष्ट्रपति बाइडेनले भने ।

युक्रेनको हवाई रक्षा सुदृढीकरणसम्बन्धी संयुक्त वक्तव्यमा अमेरिकी राष्ट्रपति जो बाइडेन, नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक सुफ, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, रोमानियाका राष्ट्रपति क्लाउस इओहानिस र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हस्ताक्षर गरेका छन् ।

‘पाँच रणनीतिक हवाई–रक्षा प्रणालीले युक्रेनी सहर, नागरिक र सैनिकहरूको रक्षा गर्न मद्दत गर्नेछ र यी प्रणालीहरू द्रुत रूपमा प्रयोग गर्न सकियोस् भनी हामी युक्रेनी सरकारसँग समन्वय गर्दैछौं,’ संयुक्त विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

‘यो सहयोग हाम्रो देशलाई मात्र आवश्यक नभई हरेक साझेदार राष्ट्रका लागि आवश्यक छ,’ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने ।

यसैबीच, नाटो शिखर सम्मेलनको उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति बाइडेनले नाटोका महासचिव स्टोल्टेनबर्गलाई संयुक्त राज्य अमेरिकाको सर्वोच्च नागरिक सम्मान, प्रेसिडेन्सियल मेडल अफ फ्रिडमबाट सम्मानित गरेका छन् ।

नाटोका ३२ सदस्य र पाँच साझेदार देशहरू सदस्य रहेको अस्ट्रेलिया, न्युजिल्यान्ड, युक्रेन, दक्षिण कोरिया र जापानका नेताहरूले सन् १९४९ ४ अप्रिलमा स्थापना भएको सैन्य गठबन्धनको सम्झनामा शिखर सम्मेलनमा भाग लिइरहेका छन् ।