`

कास्कीमा पहिरोमा परी मृत्यु भएका पाँचजनाको सामूहिक दाहसंस्कार

कास्की । कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँचजनाको सामूहिक दाहसंस्कार गरिएको छ ।

पुरुनचौरका कुलबहादुर परियारको घर गएरातिको पहिरोमा पुरिँदा उनको परिवारका ६ सहित सातजनाको मृत्यु भएको थियो । मृतकमध्ये पाँचजनाको शुक्रबारसाँझ माछापुच्छ्रे गाउँपालिका–२ स्थित सेती नदीको चिन्तेबगर घाटमा सामूहिक दाससंस्कार गरिएको स्थानीयवासी किशोरप्रसाद गौतमले जानकारी दिए ।

पहिरोमा मृत्यु भएका कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना र छिमेकी राधिका परियारको सेतीमा अन्त्येष्टि गरिएको हो ।

मृतकहरूप्रति श्रद्धाञ्जलिका लागि पोखरा महानगर प्रमुख धनराज आचार्य, पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जनप्रतिनिधि तथा स्थानीयवासी पुगेका थिए ।

सोही घटनामा मृत्यु भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका बस्ने कुलबहादुरकी छोरी प्रभा र ज्वाइँ अस्मित परियारको दाहसंस्कार भने अस्मितका बुबा वैदेशिक रोजगारीमा रहेकाले उनी स्वदेश आएपछि मात्र गरिने परिवारजनले जनाएको छ । मृतक दुईजनाको शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

कास्कीका तीन छुट्टाछुट्टै स्थानमा गए रातिको पहिरामा परेर ११ जनाको मृत्यु भएको थियो ।

कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्दै मौसमविद्को टोली

कञ्चनपुर ।  जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले कञ्चनपुरको दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ।

वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेल नेतृत्वको टोलीले बिहीबार दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको हो।

टोलीले वर्षा मापन केन्द्र र त्यहाँ राखिएका उपकरण ठीक अवस्थामा भए/नभएको जाँच गरेको मौसमविद् डा कँडेलले जानकारी दिइन्।

यसका साथै दोधारा चाँदनी नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र स्थानीयसँग छलफल गरिएको उनले बताइन्।

‘असार २३ र २४ गतेका दिन २४ घण्टाको अवधिमा छ सय २४ मिलीमिटर अर्थात् अहिलेसम्मकै सर्वाधिक वर्षा रेकर्ड हुँदा यति धेरै हुनसक्छ र भनेर त्यसमा सरोकारवालाले चासो देखाउनुभयो। त्यसपछि थप अध्ययनका लागि स्थलगत अध्ययनका लागि आएका हौँ’, वरिष्ठ मौसमविद् कँडेलले भनिन्।

दोधारास्थित वर्षा मापन केन्द्रका उपकरणको जाँच गरिएको र त्यसको नतिजा आउन केही समय लाग्ने उनको भनाइ छ।

टोलीले आज कञ्चनपुरको हनुमाननगर र सुन्दरपुर केन्द्रमा रहेको वर्षा मापन केन्द्रको पनि अध्ययन गर्ने कार्यक्रम छ।

यही असार २३ र २४ गतेको वर्षाले नेपालमा हालसम्म भएको वर्षाको रेकर्ड तोडेको थियो।

दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा चौबीस घण्टाको अवधिमा रेकर्ड भएको छ सय २४ मिलीमिटर वर्षा नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै भएको कँडेलले बताइन्।

असार २३-२४ गतेको २४ घण्टा अवधिमै कञ्चनपुरका हनुमाननगर र सुन्दरपुर स्टेसनमा पनि अति भारी वर्षा रेकर्ड भएको थियो।

हनुमाननगरमा ५ सय ७३ दशमलव ६ र सुन्दरपुरमा ५ सय ५६ दशमलव ४ मिलीमिटर वर्षा मापन भएको थियो।

उक्त टोलीमा विभागका वरिष्ठ मौसमविद् कँडेलसँगै मौसमविद् शान्ति कँडेल, सुदर्शन हुमागाईं, सञ्जय शाह र दीनानाथ भण्डारी सहभागी छन्।

प्रधानमन्त्रीद्वारा प्रस्तुत विश्वासको मतको प्रस्ताव अस्वीकृत, प्रचण्ड पदमुक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

प्रधानमन्त्री दाहालद्वारा नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम प्रस्तुत प्रस्तावमाथि शुक्रबार बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव अस्वीकृत भएको जानकारी गराएका थिए ।

मतदानमा कुल दुई सय ५८ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसदको गरी जम्मा ६३ मत परेको थियो भने विपक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनता समाजवादी पार्टीलगायत दलका गरी एक सय ९४ मत खसेको थियो ।

मतदानमा एक सदस्य तटस्थ रहेका थिए । प्रधानमन्त्रीको विश्वासको मत अस्वीकृत भएसँगै संविधानबमोजिम नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । योसँगै प्रचण्ड सरकार १९ महिनामा ढलेको छ ।

उनी २०७९ पुस १० मा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि प्रचण्डले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिएका थिए।

प्रतिनिधिसभाका २७० जना सांसदमध्ये २६८ जनाले विश्वासको मत दिएका थिए। दुईजना सांसदले विपक्षमा मतदान गरेका थिए । अब कांग्रेस र एमालेको गठबन्धनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा प्रधानमन्त्री बन्नेछन् ।

चारदेखि ११ दिनको यात्रा, १३ वटा गन्तव्यस्थल

गण्डकी । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल) मा चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा गन्तव्यस्थल (आइटिनरी) सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा प्रचारात्मक पर्चा (ब्रोसर) तयार गर्दै सङ्घले चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा आइटिनरी सार्वजनिक गरेको संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिए ।

जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएको अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै १३ वटा आइटिनरी सार्वजनिक गरिएको अध्यक्ष गुरुङले बताए ।

यहाँको संस्कार, संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी यस पदमार्गको प्रवर्द्धन र विकासका लागि पहल थालिएको उनको भनाइ छ ।

गुरुङहरूको प्राचीन बस्ती ताङतिङबाट करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलो लेक–थुर्जु–दूध पोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रूपमा विकास गर्न खोजिएको अध्यक्ष गुरुङले बताए ।

उक्त पदमार्गमा पदयात्रा गर्न चाहने स्वदेशी एवं विदेशी पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले मन्त्रालयको सहयोगमा ब्रोसर तयार गरिएको बताउँदै उनले पर्यटकको इच्छा र समयअनुसार पदयात्रा गर्न सक्नेगरी विभिन्न १३ वटा आइटिनरी तय गरिएको जानकारी दिए ।

सङ्घले नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पदमार्ग क्षेत्रका मादी, क्होलासोँथर, मस्र्याङ्दी र चामे गाउँपालिकाको सहयोगमा गत जेठ २१ देखि ३० गतेसम्म उक्त क्षेत्रमा १० दिने पदयात्रा अन्वेषण एवं प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको थियो । नक्साङ्कनसँगै पदयात्रा पर्यटनको विकासका लागि आवश्यक विषयको अध्ययन एवं अनुसन्धानसमेत गरिएको गुरुङले बताए ।

गुरुङ समुदायको मौलिक संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ अघि बढाउन लागिएको यो पदमार्गले परापूर्वकालमा भोटमा नुन लिन जाने संस्कृतिलाई पनि जीवन्त राख्ने विश्वास लिइएको सङ्घका महासचिव तुल गुरुङले बताए ।

कास्कीको लमजुङ हुँदै मनाङसम्म जोडिने यस पदमार्ग क्षेत्रमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गका रूपमा चासो र चर्चा कमाएको थियो ।

पदमार्गमार्फत माथिल्लो भेगमा क्याम्पिङस्थलको विकाससँगै तल्लो भेगका गाउँका सामुदायिक घरबासलाई जोड्ने सङ्घको योजना छ । पदमार्गले पसगाउँ, भाचोक, याङजाकोट, तान्तिङ, सिक्लेसलगायत स्थानका सामुदायिक घरबासलाई पनि जोड्ने छ ।

पदमार्गको नक्साङ्कन कार्य भइरहेको बताउँदै संस्थापक अध्यक्ष गुरुङले चालु आर्थिक वर्षभित्रमा नक्साङ्कन कार्यलाई पूर्णता दिइसक्ने योजना रहेकोे जानकारी दिए ।

कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक नगरेर नागरिकलाई झुक्याउन खोजियोः मुख्य सचेतक पाण्डे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र तत्कालीन सत्तासाझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दुई दलबीच भएको भनिएको सहमति सार्वजनिक नगर्दा अन्योलता सिर्जना भएको बताएका छन् । 


प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै मुख्य सचेतक पाण्डेले  दुई ठूला दलबीच भएको सहमति सार्वजनिक नहुँदा नागरिकमा अन्योलता उत्पन्न भएको बताए ।


सुशासन कायम गर्ने, पुँजीगत खर्च वृद्धि र उत्पादन वृद्धिमा सरकारले पहल लिइरहेको उल्लेख गर्दै उनले कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक नगरेर नागरिकलाई झुक्याउन खोजिएको आरोप लगाए ।


“पहिला नै भएको सहमति सार्वजनिक गर्नु पथ्र्यो, यसरी नेपाली जनतालाई झुक्याउन पाइँदैन, सत्ता साझेदारीसँगै संविधान संशोधनको विषय सार्वजनिक भएको छ । दुई दलबीच भएको भनिएको सम्झौता किन सार्वजनिक नगरेको ?”, सचेतक पाण्डेले प्रश्न गने । राष्ट्रिय सहमतिका लागि सबै दलसँग छलफल हुनुपर्नेमा एक वा दुई दलले सत्ता साझेदारी गर्दैमा राष्ट्रिय सहमति हुन नसक्ने उनले धारणा राखे ।


“दुई दलबीच पहिला नै सहमति भएको थियो भन्ने देखिएको छ । त्यो आजसम्म पनि सार्वजनिक गरिएको छैन । के थियो त्यो सहमति ? किन लुकाइएको ? सहमतिमा के भएको छ, त्यो जनताले हेर्न नपाउने ? सांसदले सुन्न नपाउने ? दुई दलबीच  भएको सहमति आजसम्म सार्वजनिक नगरी किन गोप्य राखिएको ?”, मुख्य सचेतक पाण्डेले प्रश्न गरे । 


वर्तमान सरकारले जनसरोकारका सवाल सम्बोधनगरी सुशासनको अभियान तीव्र बनाएसँगै राजनीतिक समीकरण फेरबदल भएको सचेतक पाण्डेले बताए । वर्तमान सरकारले नक्कली भुटानी शरणार्थी, ललिता निवास तथा सुनको अवैध तस्करी प्रकरणमा  दृढताका साथ कारबाही अघि बढाएको उनले जानकारी दिए । 


जनताको त्याग र बलिदानको जगमा निर्मित संविधान संशोधन गरेर पश्चगतमनतर्फ फर्कने खतरा बढेको उल्लेख गर्दैै मुख्य सचेतक पाण्डेले संविधान संशोधन गरेर जनताको अधिकार कटौती गरिए सदन र सडकबाट प्रतिरोध गरिने बताए । “सदनबाट विश्वास पाए पनि नपाए पनि सहिद र बेपत्ताका साथै नेपाली जनताको सपना साकार पार्न माओवादी पार्टी निरन्तर लडिरनेछ”, उनले भने ।


वर्तमान सरकारले सम्पादन गरेका कामका सम्बन्धमा प्रधानमन्त्री दाहालले गरेको सम्बोधनको समर्थन गर्दै मुख्य सचेतक पाण्डेले विश्वासको मतका पक्षमा मतदान गर्न आह्वान गरे । सरकारले सुरुवातदेखि नै सुशासन, समृद्धि र सामाजिक न्यायको मूल मन्त्रलाई आत्मसात् गरेर सकारात्मक कामको थालनी गरेको उनले स्पष्ट पारे । मुख्य सचेतक पाण्डेले संविधानको रक्षा गरेर अघि बढ्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे ।

बेचन झा र प्रतिक थापाको पक्राउबाहेक एमाले-कांग्रेस सहमतिको अर्को कारण छैनः गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनुसन्धानको घेरामा परेपछि नेकपा एमाले र कांग्रेसले रातारात सहमति गरेको आरोप लगाएका छन् ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लामिछानेले अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुगेपछिसंविधानको  याद आएको भन्दै कटाक्ष गरेका हुन् । उनले केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्को कारण नभएको जिकिर गरे ।

उनले विपद्को बेला जनता बचाउनका लागि सत्तामै बसेको स्पष्ट पारे । उनले प्रश्न गरे, ‘हामीलाई आशंका छ एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी पुग्यो ? रातारात संविधानको चिन्ता कसरी भयो ? जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो संविधानको याद आयो ?’

गृहमन्त्री लामिछानेले दुई चारजना नेतालाई बाहेक सहमतिको जानकारी अरु कसैलाई नभएको भन्दै मध्यरातमा व्यापारीको घरमा बसेर गरिएको सहमति राष्ट्रिय सहमति कदापी नहुने बताए ।

उनले भने, ‘सदनमा जोडतोडका साथ सहमतिको कुरा चल्यो । तर दुःखका साथ भन्नुपर्छ । एक दुई जना नेता बाहेक सहमति भएको अरु कुनै नेतालाई थाहा छैन । बिना जानकारीको सहमति न राष्ट्रलाई थाहा छ न देश, जनता र आफ्ना दलका नेतालाई थाहा छ ।’

उनले आफूलाई सहकारी प्रकरणमा दोषी ठहर गरी जेल हाल्न चुनौती दिए । उनले सहकारी छानबिन समितिमा अब त बहुमत पुग्यो होला भन्दै आफूलाई दोषी ठहर गर्न चुनौती दिए । उनले दोषी भए आफू जेल जान तयार रहेको समेत बताए । उनले आफ्नो कार्यकालमा एक मात्र उद्घाटन बाँकेमा जेलको गरेको भन्दै जेलमा बस्न तयार रहेको बताए ।

फाइल खोलेर सरकार ढल्यो भनेर गलत भाष्य सृजना नगर्न गृहमन्त्रीलाई सांसद शाहीको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारका फाइल खोलेर सरकार ढल्यो भनेर गलत भाष्य सृजना नगर्न आग्रह गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद शाहीले गृहमन्त्री रवि लामिछानेलाई इंगित गर्दै फाइल खोलेर सरकार ढल्यो भनेर गलत भाष्य सृजना नगर्न आग्रह गरेका हुन् ।

उनले ठूला नेताहरू मिलेर नै सरकार ढलेकाले त्यसलाई विषयान्तर नगर्न आग्रह गरे । उनले भने, ‘ठूला नेताबीच सर्त नमिल्या हुनाले सरकार ढल्यो भने त भइहाल्यो नि । फाइल खोलेर एउटा मान्छे जेल हालेको छैन । कहाँ फाइल छ । न निर्मला पन्तको हत्यारा पक्राउ गरेको छ। न त जीबी राई पक्राउ परेका छन्। न सहकारी ठगीका दोषी जेल गएका छन्। फाइल खोलेर सरकार ढल्यो भनेर गलत भाष्य सृजना नगर्नुहोस्।’

सांसद शाहीले जातीय छुवाछूतविरुद्धको कानुन राजाको पालामा नै बनेको उल्लेख गर्दै अहिलेका राजनीतिक दलले यसको श्रेय लिएर जातजातिलाई भड्काउन नहुनेमा जोड दिए ।

उनले भने, ‘रुकुमपश्चिममा नवराज विकको हत्या गणतन्त्रपछि नै भएको हो, राजाको पालामा होइन । अब फेरि राजनीतिक कारणले मुलुक युद्धमा नधकेलियोस्, जातजातिका नाममा राजनीति नगरियोस् ।’

तनहुँमा ‘चैते–५’ को बीउ उत्पादन सुरु

दमौली । बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामा ‘चैते–५’ जातको मूल बीउ उत्पादन थालिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लामा नयाँ जात चैते–५ को बीउ उत्पादन सुरु गरेको हो ।

कृषकलाई चैते धानखेतीतर्फ आकर्षित गर्न चालु आर्थिक वर्षमा करिब पाँच हेक्टर क्षेत्रफलमा तीन सय केजी चैते–५ को मूल बीउ उत्पादन सुरु गरिएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए ।

जिल्लामा चैते धानखेतीतर्फ किसानको आकर्षण घट्दा उत्पादन घटेकाले चैते धान प्रवर्द्धन कार्यक्रम लागू गरी जिल्लामा बीउ उत्पादन सुरु गरिएको उनले बताए ।

‘चैते–५ को उन्नत बीउ छ हजार केजी खरिद गरी तीन सय केजी उत्पादन सुरु भएको छ । बीउ उत्पादन भएपछि आगामी वर्षदेखि चैते धानको बीउ बाहिरबाट ल्याउनुपर्दैन’, लामिछानेले भने ।

उनका अनुसार चैते–५ धान चाँडो पाक्ने, मसिनो दाना हुने, खानामा मिठो, बढी उत्पादन दिने तथा रोग कीरा सहन सक्ने खालको प्रजाति हो । यो जातको बोट मध्यम उचाइको हुने भएकाले सामान्यतयाः सिँचाइ सुविधा भएको मलिलो जग्गामा यसको खेती गर्न सकिने उनले बताए ।

पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान घट्दो अवस्थामा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पुरानो बीउ प्रयोग गरिएकाले पनि धान उत्पादन घट्दो क्रममा रहेको भन्दै नयाँ जातको धानको बीउ रोप्नुपर्ने केन्द्रका प्रमुख लामिछानेले बताए ।

विसं २०६० मा ३५ हजार सात सय ८६ मेट्रिक टन वर्षे धान उत्पादन भएकामा विसं २०७९ मा ३३ हजार दुई सय ८० मेट्रिक टन धान उत्पादन भएको छ । त्यतिबेला १२ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती हुने गरेकामा अहिले घटेर आठ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यसअवधिमा वर्षे धानखेती गर्ने क्षेत्रफल चार हजार २० हेक्टर क्षेत्रफल घटेको छ भने दुई हजार पाँच सय छ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ ।

‘विसं २०६० मा ११ हजार सात सय ८० मेट्रिक टन चैते धान उत्पादन भएकामा विसं २०७९ मा सात हजार नौ सय ३८ मेट्रिक टन चैत धान उत्पादन भएको छ’, केन्द्रका प्रमुख लामिछानेले भने, ‘तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेकामा अहिले घटेर एक हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा मात्रै चैत धान उत्पादन हुने गरेको छ ।यसअवधिमा चैते धानखेती गर्ने क्षेत्रफल एक हजार नौ सय १० हेक्टर क्षेत्रफल घटेको छ भने तीन हजार आठ सय ४२ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ ।’

कार्यालयले चालु आर्थिक वर्षमा चैते धान प्रवर्द्धन कार्यक्रमका लागि एक करोड ४० लाख बजेट विनियोजन गरेको थियो । विभिन्न १२ सहकारीमार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ । यो कार्यक्रमका लागि एक करोड चार लाख ९५ हजार खर्च भएको छ । यो कार्यक्रमबाट पाँच सय ३४ घरधुरी लाभान्वित भएका छन् ।

कार्यक्रममार्फत ५६ वटा मिनीटिलर खरिद, एकवटा रिपर हेड, पाँच केज हुइल, तीनवटा धान काट्ने मेसिन, १२ धान चुट्ने मेसिन, एक सय १८ स्प्रेयर, चार सय ४५ त्रिपाल, १८ डिजिटल तराजुलगायत सामग्री खरिद गरी वितरण गरिएको केन्द्रका प्रमुख लामिछानेले जानकारी दिए । 

इजरायली सेना पछि हटेपछि गाजाशहरमा ६० भन्दाबढी शव फेला

इजरायलको पूर्वी शहर शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला परेका इजरायलको सरकारी समाचार संस्था वाफाले जनाएको छ ।

वाफाका अनुसार इजरायली हवाई आक्रमण र स्थलगत कारबाहीले शुजैयामा ८५ प्रतिशतभन्दा बढी आवासीय भवनध्वस्त भएका छन् ।

रिपोर्टमा भनिएको छ, “सम्पूर्ण आवासीय भवनहरू भत्केका छन् । सडकहरू भत्केका छन् र यस क्षेत्रभरिका अन्य महत्वपूर्ण पूर्वाधार लक्षित गरिएको छ ।”

यसैबीच इजरायली सेनाले तेल अल–हवा क्षेत्र र गाजा शहरका अन्य केही स्थानमा आक्रमण जारी राखेको जनाएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले विज्ञप्ति जारी गर्दै इजरायली सेनाले शुजैया क्षेत्रमा आफ्नो अभियान पूरा गरेको जनाएको छ ।

कारबाहीको अन्तिम दिन इजरायली सेनाले धेरै भूमिगत सुरुङ मार्गध्वस्त पार्नुका साथै सुरुङभित्र हातहतियार, ल्यापटप र सञ्चार उपकरण फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।

आईडीएफले उक्त क्षेत्रमा ‘आतङ्कवादी र आतङ्कवादी संरचना’ हरूको उपस्थिति रहेको सङ्केत गर्ने गुप्तचर रिपोर्टहरूको आधारमा अभियान सञ्चालन गरेको बताएको छ र आक्रमण अघि ‘नागरिकहरूको क्षति कम गर्न’ धेरै कदमहरू चालेको बताएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलको दक्षिणी सीमाबाट गरिएको हमासको आक्रमणमा कम्तीमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।

गत २४ घण्टामा इजरायली सेनाको कारबाहीमा थप ५० जनाको मृत्युभएको र अन्य ५४ जना घाइते भएको उल्लेख गरिएको छ ।

सन् २०२३ को अक्टोबरको सुरुमा प्यालेस्टाइन–इजरायल द्वन्द्व सुरु भएयता मृत्यु हुने प्यालेष्टिनीको सङ्ख्या ३८ हजार ३४५ पुगेको र ८८ हजार २९५ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बाइडेनले जेलेन्स्कीलाई पुटिनको रुपमा परिचय गराएपछि…

अमेरिकी राष्ट्रपति जो बाइडेनले नाटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गल्तीले रूसी नेता भ्लादिमिर पुटिनको रूपमा परिचय गराएका छन् ।

यद्यपि, ८१ वर्षीय राष्ट्रपतिले तुरुन्तै आफूलाई सच्याएका थिए । राष्ट्रपति जेलेन्स्कीले यसको प्रतिक्रियामा आफू पुटिनजस्तो नभई एक ‘असल’ युक्रनी नेता भएको बताए ।

दुई हप्ता अघि डोनाल्ड ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शनपछि बाइडेनको उमेर र मानसिक तीक्ष्णताको बारेमा चिन्ता बढेको छ ।

“अब म यसलाई दृढ सङ्कल्प भएका युक्रेनका राष्ट्रपति पुटिनलाई हस्तान्तरण गर्न चाहन्छु,” बाइडेनले वासिङ्टनमा शिखर सम्मेलनमा नाटो–युक्रेन सम्झौताको घोषणामा भनेका थिए । राष्ट्रपति बाइडेन तुरुन्तै आफूलाई सच्याउँदै भने, “राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति पुटिनलाई पराजय गर्नुहुनेछ । म पुटिनलाई हराउनमा यति केन्द्रित छु । हामीले यसको चिन्ता गर्नुपर्छ ।”

बाइडेनका रिपब्लिकन प्रतिद्वन्द्वीहरूले केही मिनेटभित्रै उक्त क्लिप प्रसारण गर्न थालेका हुन् ।

दैनिक आठ सय महिलाको गर्भावस्था र प्रसवका समयमा मृत्यु हुने गरेको राष्ट्रसंघ प्रमुखको भनाइ

विश्वभर हरेक दिन लगभग आठसय महिलाको गर्भावस्था र प्रसवको समयमा अनावश्यक मृत्यु हुने गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन् ।

गुटेर्रेसले हरेक वर्ष जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवसमा आफ्नो सन्देशमा यो तथ्याङ्कको खुलासा गरेका हुन् ।

यो वर्ष जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी) कार्यक्रमको ३० औँ वार्षिकोत्सवमा प्रतिज्ञाहरूलाई वास्तविकतामा परिणत गर्ने प्रयास र लगानीलाई गति दिने सङ्कल्प गर्ने वर्ष पनि हुनुपर्ने संयुक्त राष्ट्रसङ्घका प्रमुखले बताए ।

कार्यक्रम स्वीकृत भए पछिको दशकहरूमा भएको प्रगतिलाई उल्लेख गर्दै गुटेर्रेसले पहिलेभन्दा धेरै महिलाहरूले आधुनिक गर्भनिरोधकमा पहुँच भएकाले मातृ मृत्यु सन् २००० बाट ३४ प्रतिशतले घटेको छ ।

महिला आन्दोलन र नागरिक समाज परिवर्तन ल्याउन महत्वपूर्ण रहेको पनि उनले बताए ।

एक्काइसौँ शताब्दीमा पनि लगभग ८०० महिलाहरू हरेक दिन गर्भावस्था तथा प्रसवको समयमा मृत्यु हुनु अपमानजनक अवस्था हो र यसरी ज्यान गुमाउनेको सङ्ख्या विकासोन्मुख देशहरूमा अझै धेरै रहेको गुटेर्रेसले बताए ।

केही स्थानहरूमा, महिलाजनित विकृतिले जोखिम ल्याउनेजस्ता महत्त्वपूर्ण बिषयहरूमा सुधार आएको उनले उल्लेख गरे ।

युक्रेनलाई आवश्यक रहेसम्म फ्रान्सको सहयोग रहने राष्ट्रपति म्याक्रोँको भनाइ

फ्रान्सले ‘आवश्यक हुँदासम्म’ युक्रेनलाई समर्थन जारी राख्ने राष्ट्रपति म्याक्रोँले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) सम्मेलनमा छलफल भएका बिषयबस्तुमा प्रभावकारीरूपमा प्रस्तुति दिएको र फ्रान्सले युक्रेनलाई दिँदै आएको समर्थनमा आगामी दिनमा पनि कत्ति पनि कमी नआउने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले बताएका छन् ।

म्याक्रोँले भने, “वासिङ्टनमा जारी नाटोको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन ‘जिम्मेवारपूर्ण र सावधानीपूर्वक’ प्रस्तुत हुनुभएको थियो ।” नाटोलाई दिने सहयोगको सम्बन्धमा फ्रान्स आफ्नो अडानबाट पछि नहटेको र समर्थन जारी रहन उनले बताए ।

म्याक्रोँले पत्रकारसँग भने, “हिजो रात्रिभोजमा राष्ट्रपति बाइडेनसँग वार्ता गर्ने मौका मिल्यो । मैले मुद्दाहरूका बिषयमा सधैँजसो स्पष्ट र प्रभावकारीरूपमा प्रस्तुत भएको अमेरिकी राष्ट्रपतिको रूपमा मैले उहाँलाई पाएँ ।”

फ्रान्सेली राष्ट्रपतिलाई बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसी समकक्षी भ्लादिमिर पुटिनको रूपमा परिचय गराउनुभएको बारे पनि प्रश्न गरिएको थियो । म्याक्रोँले भने, “हामी सबै कहिलेकाहीँ चिप्लिन्छौँ । यस्तो अनुधव मसँग पनि छ भोलिका दिनमा फेरि हुन सक्छ ।”

दुई हप्ता अघि डोनाल्ड ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शनपछि राष्ट्रपति बाइडेनबाट भएको यो गल्तीले उनको उमेर र मानसिक तीक्ष्णताको बारेमा डेमोक्र्याटिक पक्षधर नेताहरूबीच थप चिन्ता बढाएको छ । सो अवसरमा फ्रान्सले ‘आवश्यक हुँदासम्म’ युक्रेनलाई समर्थन जारी राख्ने राष्ट्रपति म्याक्रोँले बताएका थिए ।

प्रचण्डलाई योगेश भट्टराईको सुझावः अब विद्रोहको कुरा नगर्नुस्

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई अब विद्रोह र प्रतिरोधको कुरा नगर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सचिव भट्टराईले अब विद्रोहको सम्भावना नरहेको बताएका हुन् । उनले सदनबाटै सबै समस्याको समाधान खोज्नुपर्ने बताए ।

प्रधानमन्त्रीले संविधान संशोधन गर्दा जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित, महिलाहरुको अधिकार कटौती नगर्न चेतावनी दिएका थिए ।

भट्टराईले भने, ‘तपाईँ कहाँ जानुहुन्छ ? प्रतिरोध गर्नुहुन्छ ? विद्रोह हुन्छ ? अब सम्भव छैन त्यो बाटो छैन, तपाईं पनि यही हलभित्रै हो । जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित, महिला आज झल्झली प्रधानमन्त्रीलाई याद भयो । तपाईंका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? तपाईंको लागि हतियार बोकेका तमाम दलित युवा कहाँ छन्, खोज्नभो ?’

उनले संविधान संशोधनमार्फत अग्रगमनको बाटोमा जाने बताए । उनले भने, ‘सम्पूर्ण नेपालीलाई हामी विश्वस्त गर्न चाहन्छौं संविधानको पुनरावलोकन, संविधान संशोधन २०७२ सालको संविधानको अग्रगमनको लागि हो । पश्चगमनको लागि होइन, पछाडि फर्किनका लागि होइन ।’

उनले प्रचण्डलाई आफूलाई अनुकुल हुँदा एउटा र प्रतिकूल हुँदा अर्को व्याख्या नगर्न चेतावनी दिए । सचिव भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली १२ बुँदे सम्झौताका मस्यौदाकार रहेको नबिर्सन आग्रह गरे।

उनले भने,’एमाले अध्यक्ष केपी शर्मा ओली १२ बुँदे सम्झौताका मस्यौदाकार हुनुहुन्थ्यो। एक जना मस्यौदाकार एमालेको तर्फबाट उहाँ हो । शेरबहादुर देउवा पनि थुनामा हुनुहुन्थ्यो १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्नु भएको होइन र ?’

संविधान निर्माण र राजनीतिमा माओवादीको योगदान भएकाले नै संसदमा माओवादी भएको बताउँदै उनले ठूला ठूला हिंसात्मक आन्दोलन विलय भएको स्मरण गर्न आग्रह गरे ।

सिमलताल बस दुर्घटनाका घाइते भन्छन्-तीनजना पौडिएर बाँच्यौं

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनीहरू बिहीबार साँझ ७ः३० वजे काठमाडौँबाट रौतहट गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार थिए । तीमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताए । ‘बसमा हामी ३० देखि ३५ जना थियौँ । त्यसमध्ये तीनजना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निक्सियौँ, पौडिएर बाँच्न सफल भयौँ ।’

खाना खाएर बस चढेको एक घण्टापछि बस दुर्घटना भएको उनले सुनाए । ‘हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्नेसमेत थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्र सबै थाहा पायौँ’, उनले थपे, ‘बस पानीमा धेरै मुनी पुगेको थियो । हामी झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भयौँ ।’ टाउँकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उपचार गररेर फर्किँदै गरेका गरुडा–९ रौतहटका जुगेश्वर राय यादवले आफ्नो परिवारका चारजना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको सुनाए । बसमा उनका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाती सवार थिए । काठमाडौँमा उपचार गरेर घर फर्कँदै गर्दा उनको परिवारका पाँचजना दुर्घटनामा परेका हुन् ।

‘काठमाडौँमा छ दिनसम्म उपचार गरेर फर्किँदै थियौँ । एक्कासी नसोचेको घटना घट्यो । पाँचपटक बस ठक्कर खाएर बल्ल नदीमा पुगेको थियो’,उनले स्मरण गरे,’पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए । अरूको अवस्था के होला, अहिलेसम्म थाहा छैन । बसको चालक र सहचालक पनि त्यही डुब्नुभयो ।’

बस पहिरोमा पर्नुअघि आधा घण्टा जति जाम परेको भन्दै उनले सुनाए,’जाम खुलेसँगै विस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा खसेको हो । बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भए, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ ।’ उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ताको डिस्चार्ज भएको छ । सामान्य अवस्थामा रहेका उनको उपचारपछि डिस्चार्ज गरिएको हो । हाल बेपत्ता बसको खोजिकार्य जारी छ । नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजी र सवार यात्रुको उद्धारमा लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । 

अब संसदले प्रचण्डलाई सशक्त प्रतिपक्षी नेताका रुपमा पाउनेभोः रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले एक ठाउँमा आएको बताएको बताएको छ ।

शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथिको प्रस्तावमाथिको छलफलमा भाग लिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले तीन तीन महिनामा विश्वासको मत लिने अवस्था रोक्न नयाँ सहमति गरिएको स्पष्ट पारे ।

उनले सरकारमा बसेर फाइल खोल्छु भनेर स्टन्ट मात्र गरिएको भन्दै सुशासन कायम गर्न नसकेकाले सुशासन दिने काम गर्न नयाँ सहमति गरिएको बताए ।

उनले भने,’रोष्टममा उभिँदा साथीहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने बडेबडे भाषण गरेको मैले सुनेको छु तर, व्यवहारमा भाषणबाहेक केही देखिएको छैन। स्टण्डको राजनीतिबाहेक केहि भएन। अर्कालाई धम्क्याउन, तर्साउनका लागि यी विषयहरु उठे तर यथार्थमा केही भएन। मुलुकमा कानुन बमोजिम भ्रष्टाचार नियन्त्रण गर्ने हो, कानुन बमोजिम सुशासन कायम गर्ने हो, त्यसमा सहमति भएको हो।’

उनले अग्रमनका लागि संविधान संशोधन गर्ने स्पष्ट पारे । प्रमुख सचेतक लेखकले नेपालको राजनीतिमा कांग्रेस रहेसम्म समावेशिता कमजोर नहुने दाबी गरे ।

उनले प्रधानमन्त्री प्रचण्ड पीडामा भएकाले थप टिप्पणी गरेर पीडा नदिने बताए । उनले प्रधानमन्त्री प्रचण्ड रोष्टममा उभिँदा प्रमुख प्रतिपक्षी दलको ठीक नेताका रुपमा आफूले देखेको बताए ।

उनले भने, ‘आज सम्माननीय प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा रोष्टममा उभिँदा प्रमुख प्रतिपक्षी दलको ठीक नेताका रुपमा देखिसकेको हुँदा अब संसदमा प्रतिपक्ष कमजोर हुन्न कि भन्ने लाग्छ ।’

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँः प्रधानमन्त्री(पूर्णपाठ)

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोका दिएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्रीले ओलीले असार १७ गते स्वर्ग र नर्क सँगै जाने, २०८४ को चुनाव सँगै लड्ने भनेर धोका दिएको बताएका हुन् । उनले एमाले अध्यक्ष ओलीको कला तारिफयोग्य भएको बताए ।

उनले भने, ‘केही मान्छेहरू कहिल्यै कुण्ठा र प्रतिशोधबाट निस्किन सक्दैनन् भनेर मैले हिसाब गरिनँ, समयले मान्छेलाई सुधार्छ भन्ने विश्वास गरेँ । म लामालामा मीठा र भरोसापूर्ण संवादहरूबाट अल्मल्याइएँ । स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ । म यसको नैतिक जिम्मेवारी लिन तयार छु । नयाँ सत्ता समीकरण बनाइरहेका साथीहरूलाई मेरो यत्ति भन्नु छ, तपाईहरूको आपसी अनुभव अप्रिय नहोस् । कसैमाथि धोका नहोस् । मेरो शुभकामना छ ।’

उनले ओलीको षड्यन्त्र बुझ्न नसक्दा आफू अहिले १० पुसमा कांग्रेस सभापति शेरबहादुर देउवाको जस्तै अवस्थामा पुगेको बताए ।

उनले भने, ‘मलाई कस्तो लाग्छ भने मैले कांग्रेससँग गठबन्धन छाडेर एमालेसँग प्रधानमन्त्री हुँदा कांग्रेस अध्यक्षको मनोविज्ञान जे अनुभूत गरेँ, आज मेरो उहाँको जस्तै स्थिति छ । झुक्याइएँ म, यसको नैतिक जिम्मेवारी लिन तयार छु ।’

तदर्थ सरकार सञ्चालन गर्ने कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्नेगरी तदर्थ सरकार सञ्चालन गर्न आफूलाई कुनै रूचि नभएको प्रष्ट पारेका छन् ।

प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा विगतको राजनीतिक घटनाक्रम स्मरण गर्दै उहाँले त्यस्तो बताएका हुन् ।

“नैतिक प्रश्न उठ्नेगरी तदर्थ सरकार चलाउन मलाई कुनै रूचि थिएन र छैन”, प्रधानमन्त्रीले भने, “प्राविधिक तयारीका लागि समय आवश्यक हुँदैनथ्यो भने म भोलिपल्टै पनि विश्वासको मतका लागि तयार थिएँ । त्यसैले दश दिनभित्रै विश्वासको मत लिने जानकारी सदनलाई गराएँ ।”

देश बाढीपहिराको चपेटामा परेकाले सरकार चौबिसै घण्टा उद्धार र राहतका काममा लागिरहेका बेला सरकारलाई प्रभावहीन बनाउन प्रयास भएको उल्लेख गर्दै उनले नेकपा (एमाले) ले विश्वासको मत फिर्ता लिएपछि दीर्घकालीन असरका निर्णय र कुनै पनि नियुक्ति नगरिएको स्पष्ट पारे ।

विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको बताउँदै उनले भने, “मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म विल्कुल चिन्तित छैन र थिएन ।”

पछिल्ला घटनाक्रमबाट आफू चिन्तित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संसद्को पहिलो र दोस्रो ठूलो दल विश्वासले नजोडिएका टिप्पणी गरे ।

“सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार बनाउँदैनन् । संसारभरिका इतिहासका अनुभवले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरङ्कुशता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् । त्यसैले सामान्यतः यस्तो अभ्यास हुँदैन । हामीलाई पनि त्यही चिन्ता छ”, उनले भने ।

बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्ति सन्तुलन नै खलबलियोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको सफलता नै सरकार ढाल्ने आधार बनेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्रीले आफूले भ्रष्टाचार गर्नेहरूसँग कुनै सम्झौता नगरी सुशासन स्थापित गर्ने काम गरेको दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दा, ललिता निवास, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्दा भ्रष्टाचार गर्नेहरू डराएको बताए ।

प्रधानमन्त्री प्रचण्डले बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्ति सन्तुलन नै खल्बलिएको बताए । त्यही वर्गले पहिलो र दोस्रो ठूलो दल मिलाएको जिकिर गरे ।

उनले भने, ‘त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो, एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरु भयो, अर्को समूह डरायो । भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरु भयो, अर्को समूह डरायो । बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खल्बलिएजस्तो भयो । त्यही वर्गले देशको पहिलो र दोस्रो ठूलो दल मिलायो ।’

उनले आफूले सुशासनको सङ्कल्प गरेको उल्लेख गर्दै जनताले आफ्नो शक्ति देखाउने समय आएको बताए । उनले कुनै यति, ओम्नी र गिरिबन्धुहरूको कलंक नबोकी पनि सरकार चलउन सकिन्छ भन्ने उदाहरण पेस गरेको बताए ।

उनले भने, ‘देशको एउटा विशेष वर्ग कानूनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास गर्यो । कुनै यति, कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको बोझ र कलङ्क नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेश गर्यो ।’

बाढीपहिरोमा परी एक सय एक जनाको मृत्यु

काठमाडौँ ।  देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् ।

गत जेठ २८ गते बिहान ९ बजेदेखि शुक्रबार असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी  दिए ।

उनले भने, “जेठ २८ गते बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु, एक सय आठ जना घाइते र छ जना बेपत्ता भएका छन् ।”

यसैगरी बाढीपहिरो तथा विपद्का कारण काठमाडौँमा एक जना, कोशी प्रदेशमा १९, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा छ, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनागरी जम्मा एक सय एक जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्यु भएकाहरुमध्ये बाढीबाट २७, पहिरामा परी ५० र चट्याङ्बाट २३ जनाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए । अविरल वर्षाकै कारण हालम्म एक सय आठ जना घाइते भएका तथा छ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामा कोशी प्रदेशमा दुईजना, बागमती प्रदेशमा दुईजना, गण्डकीमा एकजना तथा सुदूरपश्चिम प्रदेशमा एकजनागरी छ जना रहेका छन् ।

बाढीपहिरो तथा विपद्का कारण काठमाडौँ तीन, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा सात जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १५ जना तथा सुदूरपश्चिम प्रदेशमा ११ जनागरी जम्मा एक सय आठ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढीपहिरोबाट अहिलेसम्म ४१ लाख २० हजार बराबरको क्षति भएको तथा उद्धारका लागि पाँच सय एक जना प्रहरी परिचालन भएका प्रवक्ता कार्कीले जानकारी दिए । 

यसैगरी देशव्यापी रूपमा तीनवटै सुरक्षा निकायबीचको समन्वय र सहकार्यसहित प्रभावित क्षेत्रमा परिचालित भई खोज तथा उद्धार कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

देश माफियाको हातमा जान लाग्योः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई डर र भयले जोडेको बताएका छन् । शुक्रबार सदनमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्रीले कांग्रेस र एमालेलाई विश्वासले नभई डर र भयले जोडेको बताएका हुन् ।

प्रधानमन्त्रले कांग्रेस र एमालेलाई सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले जोडेको बताए । उनले आफूले सुशासनका लागि काम गर्नु नै सरकार ढाल्ने आधार बनेको भन्दै देश माफियाको हातमा जान लागेको बताए ।

उनले देश माफियाको हातमा जान लागेको भन्दै त्यसविरुद्ध उत्रिन जनतालाई आग्रह गरेका छन् । उनले भने, ‘फेरि देश माफियाकै हातमा जान लाग्यो । जनता जाग्नुस्, अब जनता जाग्ने बेला भयो ।’

उनले दुई दल मिलेर सरकारमात्र बनाउने मात्र नभइ रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा गरेको बताए ।

उनले भने, ‘उहाँहरु अत्यन्त रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा गर्दै हुनुहुन्छ। लामो संघर्ष र ठूलो बलिदानबाट जनताले प्राप्त गरेका अधिकार खोस्ने जमर्को गर्दै हुनुहुन्छ। तपाईंहरूको यात्रा प्रतिगमनतिर हो भन्ने कुरा तपाईहरूको सहमतिको तरिका, सहमति गरेको ठाउँ र सहमतिको समयबाट आम जनताले बोध गरिसकेका छन् । नियत सफा भए पहिलो र दोश्रो दल मिल्न अँध्यारो बन्द कोठा चाहिन्छ ? झूटमुट र कुतर्कको सहारा र मध्यरात चाहिन्छ?’

उनले आफू सरकारमा नभए पनि नक्कली भूटानी शरणार्थी प्रकरणसहितका काण्डको कसरी पटाक्षेप हुन्छ भनेर निगरानी गरिरहने बताए ।

संविधानलाई कमजोर बनाउन दिइँन्न : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट निर्मित संविधानमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन नदिने स्पष्ट पारेका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा  विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको भन्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए ।

‘यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन’, प्रधानमन्त्री दाहालले भने, ‘उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनको जगमा बनेको यो संविधानलाई सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइने छ ।’

अल्पमतमा परेपछि संसद विघटन गर्न बानी परेकाहरूले नैतिकताको पाठ सिकाएः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेकाहरूले नै आफूलाई नैतिकताको पाठ सिकाएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै अल्पमतमा पर्दा संसद विघटन गर्न बानी परेकाहरूले आफूलाई नैतिकताको पाठ सिकाउन आवश्यक नरहेको बताएका हुन् ।

उनले संविधान निर्माणमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने बताए । उनले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए ।

उनले भने, ‘यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन । यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।’

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्वीप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

रास्वपा संसदीय दलको आजको बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा आज प्रस्तुत गर्ने विश्वासको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रमुख सचेतक सन्तोष परियारले
जानकारी दिए ।

रास्वपाले पार्टीका सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न निर्देशन दिएको छ ।

बाढी पहिरोले गरेको धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले बाढीपहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दैवी विपत्तिबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै ६० जना यात्री बेपत्ता भएको खबरले आफू मर्माहत भएको बताएका छन् र

बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारीलाई व्यवस्थित तुल्याउन, उद्धार र रातहका निम्ति सहकार्य र समन्वय गर्न सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

गोरखा । गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ध्रुवप्रसाद घिमिरेले जानकारी दिए ।

आज बिहान ३ बजेदेखि नै पहिरोले सडक अवरुद्ध भएको हो । “साना–साना पहिरोसमेत ठाउँ–ठाउँमा खसेकाले बाटो खुलाउन समस्या भइरहेको छ”, उनले भने, “नगरपालिकाले बिहानैदेखि उपकरण प्रयोग गरेर पहिरो हटाइरहेको छ ।”

आँबुखैरेनीतर्फबाट पनि पहिरो हटाउनका लागि सडक विभाग तनहुँबाट झिकाउने प्रयास भइरहेको उनले बताए । सो सडकखण्डको स्याउली बजार तथा इँटाभट्टा नजिक सडक माथिबाट पहिरो खसेको छन् ।

गोरखा पृथ्वी राजमार्ग हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सम्पूर्ण सवारी साधन पूर्ण रुपमा ठप्प भएको छ । रासस

त्रिशुलीमा बेपत्ता भएको गणपति डिलक्स बसमा काठमाडौंबाट चढेका थिए २७ यात्रु(सूचीसहित)

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता गणपति डिलक्सको बसमा काठमाडौंबाट २७ यात्रु चढेको खुलेको छ ।

काठमाडौंस्थित गणपति बसका टिकट बुकिङ काउन्टरकाअनुसार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए ।

बीचमा दुई यात्रु चढेको बताइएको छ । बस चालक किशोर कुमार चौधरीले थिए । बसका तीन जना यात्रुले भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।

यी हुन् बसमा सवार यात्रु

विश्वको जनसङ्ख्या ८ अर्ब २० करोड

बीबीसी । संयुक्त राष्ट्रसङ्घको एक नयाँ प्रतिवेदनका अनुसार विश्वको जनसङ्ख्या ८ अर्ब २० करोडबाट १० अर्ब ३० करोड पुग्ने अनुमान गरिएको छ । विश्व जनसङ्ख्या दिवसका अवसरमा बिहीबार सार्वजनिक भएको ‘वर्ल्ड पपुलेशन प्रस्पेक्ट्स’ले पृथ्वीमा मान्छेको सङ्ख्या ‘सन् २०८० को दशकको मध्यसम्म सर्वोच्च बिन्दुमा पुगेर बिस्तारै कम हुँदै जाने’ प्रक्षेपण गरेको छ ।

उक्त प्रतिवेदनमा हाल जन्मिएका मानिसहरू औसतमा ७३.३ वर्षको उमेरसम्म बाँच्ने पनि प्रक्षेपण गरिएको छ। यो उमेर सन् १९९५ को भन्दा ८.४ वर्ष धेरै हो । आधा शताब्दीभन्दा बढी समयदेखि संयुक्त राष्ट्रसङ्घले सदस्य राष्ट्रहरूको राष्ट्रिय जनगणनाको तथ्याङ्क, जन्म र मृत्यु दर तथा अन्य जनसाङ्ख्यिक सर्वेक्षणका आधारमा विश्वको जनसङ्ख्याको अनुमान गर्दै आएको छ ।

सन् २०२४ को ‘वर्ल्ड पपुलेशन प्रस्पेक्ट्स’ले ‘चारमध्ये एक जनाको बसोबास जनसङ्ख्याको आकार सर्वोच्च बिन्दुमा पुगिसकेको देशमा रहेको’ उल्लेख गरेको छ ।

तर १२६ देश तथा क्षेत्रहरूमा भने आगामी तीन दशकसम्म जनसङ्ख्या वृद्धि देखिनेछ। यसमा भारत, इन्डोनेशिया, पाकिस्तान र अमेरिकाजस्ता विश्वकै धेरै जनसङ्ख्या रहेका देशहरू छन् ।

नापी सर्वेक्षक र लेखापढी व्यवसायी चार लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित नापी कार्यालयका सर्वेक्षकलाई चार लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियारले सर्वेक्षक संजिव कुमार यादव र लेखापढी व्यवसायी रामबाबु भुजेललाई सेवाग्राहीबाट लिएको चार लाख रकमसहित बिहीबार पक्राउ गरेको जनाएको छ ।

अख्तियारले दुवैलाई घुस लिइसकेको अवस्थामा रकमसहित ललितपुर महानगरको वडा नं. १२ हनुमानस्थान, लगनखेलमा रहेको आर.बि. सेन्टरबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

साल्पासिलिछो गाउँपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान

भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले कृषि तथा प्राविधिक शिक्षामा जोड दिन प्रत्येक वर्ष छ जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको हो ।

यो कार्यक्रमअन्तर्गत एक वर्षमा छ जना विद्यार्थीलाई निःशुल्क कृषि तथा अन्य प्राविधिक शिक्षा प्रदान गरिने गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए। विद्यार्थीहरूलाई सानो उमेरमा कृषि तथा प्रविधिसम्बन्धी प्रयोगात्मक ज्ञान प्रदान गर्ने लक्ष्यले यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष राईले बताए ।

कृषि तथा प्रविधि क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यले ‘अध्यक्ष प्राविधिक शिक्षा सहायता कार्यक्रम’ सञ्चालनको लागि बजेट विनियोजना गरेको उनको भनाइ छ । “हामीले विद्यार्थीलाई प्राविधिकसँगै व्यवहारिक ज्ञान दिन आवश्यक छ”, अध्यक्ष कुलुङले भने, “उनीहरूलाई प्राविधिक शिक्षा दिने लक्ष्यले विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने व्यवस्था मिलाएका छौँ । गाउँपालिकाले यहाँ नै प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।”

खास गरेर यो कार्यक्रमअन्तर्गत कृषि र भेटेनेनरी क्षेत्रलाई जोड दिने अध्यक्ष कुलुङको भनाइ छ । उत्पादनको राम्रो सम्भावना भएका क्षेत्रलाई समेटेर कृषकलाई प्रोत्साहनको कार्यक्रमसमेत सञ्चालन भइरहेको अध्यक्ष कुलुङले बताए । दक्ष कृषि प्राविधिकको अभावमा किसानलाई कुनै समस्या नहोस् भन्नको लागि गाउँपालिकाले जनशक्ति व्यवस्थापनमा जोड दिएको उनको भनाइछ । कृषकलाई सहज रूपमा कृषिसम्बन्धी सहायता प्रदान गर्न छ वटै वडामा कृषि प्राविधिक राख्ने व्यवस्था मिलाएको अध्यक्ष कुलुङको भनाइ छ ।

गाउँपालिकाले किसानले उत्पादन गरेका वस्तुलाई खरिद गरेर बजारीकरण, भण्डारण तथा बिक्री वितरण गर्ने लक्ष्यले कृषि कोसेली घर निर्माण गर्न लागेको अध्यक्ष कुलुङले बताए । किसानले उत्पादन गरेका कृषि उपजलाई गाउँपालिकाले खरिद गरेर बजारीकरणको जिम्मासमेत लिने अध्यक्ष कुलुङको भनाइ छ ।

गाउँपालिकासँगको सहकार्यमा प्रदेश सरकारको रु ३५ लाख लागतमा यहाँ कोसेली घर निर्माण हुने उनको भनाइ छ । “कृषकको कृषि उत्पादनको खरिदसँगै बजारीकरणको जिम्मा गाउँपालिकाले लिने लक्ष्यका साथ काम गरिरहेका छौँ”, अध्यक्ष कुलुङले भने, “कृषकले फलाएका उत्पादनलाई कोसेली घरमा भण्डारण गरेर प्याकेजिङ, लेवलिङ ब्रान्डिङलगायतका काम गरेर बजार पठाउँछौँ । यसले किसानको बजारीकरणको समस्या हल गर्नमा केही टेवा पुग्न भन्ने हाम्रो लक्ष्य हो ।”

कृषिमा थप सहजता थप्दै विद्यार्थीमा कृषिको ज्ञान प्रदान गर्ने लक्ष्यले यहाँका बाह्र वटा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्ले बताए । यो कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आधुनिक कृषि प्रणालीको विषयमा ज्ञान प्रदान गरिँदै आएको उनको भनाइ छ ।

“विद्यार्थीमा कृषिको ज्ञान प्रदान गर्नको लागि बाह्र वटा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, प्रशासकीय अधिकृत काफ्ले भने, “यसले विद्यार्थीमा परम्परागत र आधुनिक कृषि प्रविधिको विषयमा जानकारी लिन सहज हुनेछ । मुख्य रूपमा हामीले कृषिको उत्पादन र बजारीकरणमा जोड दिएका छौँ ।”

यसरी खोज्दैछ गोताखोरको टोलीले त्रिशुलीमा बेपत्ता बस…

चितवन । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा शुक्रबार विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ । अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् । हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए ।

शुक्रबार बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौँ र वीरगञ्जमा गाडी नम्बर र चलानीको बारेमा बुझ्ने काम भइरहेको छ । यद्यपि वास्तविक विवरण प्राप्त नभइसकेको उनले जानकारी दिए ।

तस्बिरः सशस्त्र प्रहरी बल

पहिरोले बगाएर त्रिशुलीमा बस बेपत्ता भएको स्थान(फोटोफिचर)

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् ।

उनका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।

उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए । अहिले सुरक्षाकर्मीले घटनास्थलमा ती बसको खोजी गरिरहेका छन् ।
तस्बिरः सशस्त्र प्रहरी बल

युक्रेनलाई सैन्य सहायता दिने नेटोको घोषणा

बीबीसी । अमेरिकाको वाशिङ्टन डीसीमा आयोजित बैठकमा नेटो गठबन्धनका नेताहरूले चार करोड अमेरिकी डलर बराबरको सैन्य सहायता किएभलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पश्चिमा मुलुकहरूको सैन्य गठबन्धन उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्यराष्ट्रहरूले युक्रेनलाई भविष्यमा उक्त गठबन्धनको सदस्य बन्न ‘अपरिवर्तनीय मार्ग’ खोल्ने आश्वासन पनि दिएका छन् । सदस्यताका लागि औपचारिक समयसीमा भने निर्धारण गरिएको छैन ।

यद्यपि नेटोका ३२ सदस्यराष्ट्रले युक्रेनलाई उसको युद्धमा आफ्नो अटल समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् । पदावधि सकिन लागेका महासचिव जेन्स स्टोल्टन्बर्गले प्रस्तुत गरेका संयुक्त वक्तव्यमा आगामी वर्षमा नेटोले युक्रेनलाई गर्ने त्यस्तो सैन्य सहयोगको उल्लेख गरिएको छ ।

त्यस्तो सैन्य सहयोगमा एफ १६ लडाकु जेट र हवाई आक्रमण प्रतिरक्षा प्रणालीहरू पनि पर्ने छन् । स्टोल्टन्बर्गले युक्रेनलाई गरिने सहयोग कुनै दानदातव्य नभई नेटोको आफ्नै सुरक्षा चासोको रक्षार्थ भएको बताएका छन् ।

नेटोको सम्मेलको मुख्य अजेन्डा ’युक्रेन युद्ध’ थियो। सबै सदस्यराष्ट्रहरूले सहमति जनाएको वक्तव्यमा अहिले रुस नै ‘सबैभन्दा महत्त्वपूर्ण एवं प्रत्यक्ष सुरक्षा खतरा’ रहेको उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अमेरिकामा निर्मित एफ–१६ लडाकु विमानहरूलाई डेन्मार्क तथा द नेदरल्यान्ड्सबाट युक्रेन पठाइने प्रक्रिया थालिएको बताए ।

युक्रेनले उक्त अत्याधुनिक विमान पाउन लागेको यो पहिलो पटक हो। किएभले लामो समयदेखि यसको माग गर्दै आएको थियो। ब्लिङ्कनले बैठकमा ती विमान यही ग्रीष्म याममा प्रयोगमा आउने बताए ।

समीक्षा अधिकारीको ‘आगो’

काठमाडौं । गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘आगो’ सार्वजनिक भएको छ । गीतमा रमेश बिजीको शब्द, रमेशराज भट्टराईको संगीत छ। यसलाई विश्वास नेपालले एरेन्ज गरेका छन् ।

भिडियोमा आश्मा विश्वकर्मा फिचर्ड छिन् । शान थापाको निर्देशनमा तयार भिडियोमा राजीव समरको कोरियोग्राफी छ । यसमा अर्जुन तिवारी र टिमको छायाँकन, मिलन विश्वकर्माको सम्पादन छ ।

https://youtube.com/watch?v=Y_eKve1lbOM%3Fsi%3DywLyvI-bPPh9tAkd

निशु श्रीपालीको ‘सिमसिमे पानी’

काठमाडौँ । मनसुन मौसमलाई उत्सव मनाउँदै मोडल निशु श्रीपालीद्वारा अभिनित ‘सिमसिमे पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

कोहलपुर घर भएकी श्रीपालीको यो पहिलो म्युजिक भिडियो हो । नृत्य र मोडलिङ क्षेत्रमा करिअर बनाउने उदेश्यका साथ युट्युबमार्फत म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । म्युजिक भिडियोमा श्रीपालीसँगै रमेश नेप्किङको अभिनय छ । साथै गीतमा अर्जुन बराइली र चन्द्र सुनार स्वर रहेको छ ।

निरज रासकोटीले म्युजिक भिडियोको सङ्गीत संयोजन र एरेन्ज गरेका छन् भने रासकोटीले नै निर्देशन र सम्पादन गरेका छन् । धीरज खड्काको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा दुई प्रेमीको वर्षातमा हुने रोमाञ्चक भाव कथा शैलीमा प्रस्तुत गरिएको छ ।

२३ वर्षीया मोडल श्रीपालीले पहिलो म्युजिक भिडियोको प्रभाव बढेपछि तीज गीतमा समेत भिडियो बनाउने अवसर आएको बताइन् । उनले तीजकै लक्षित शान्ति श्री परियारको तीज गीतमा म्युजिक भिडियो बनाउन लागेको बताइन् । “तीजका लागि थुपै्र अन्य म्युजिक भिडियोमा अभिनय गर्ने अवसर आएका छन्”, उनले भनिन्, “यसले मेरो अभिनय रुचि बढाउन हौसला मिलेको छ ।”

https://youtube.com/watch?v=784l4PDMbMs%3Fsi%3DrnXVyVWCqu-9M5GD

स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन, साउन १ देखि लागू हुने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ । 

बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताए । उनकाअनुसार सुविधाको नयाँ थैली आगामी साउन १ गतेदेखि लागू गरिनेछ । 

उनले लामो समयदेखि एउटै दरमा उपलब्ध सेवासुविधालाई समयानुकूल परिमार्जन गरिएको बताए । यसअघि आंशिक रुपमा परिमार्जन गरिए पनि यसपटक भने सबै सेवासुविधाको दर परिमार्जन गरिएको हो । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि रहेका छन् । 

अस्पताल टिकट  ५० रुपैयाँ तोकिएको छ । शय्याको प्रतिदिन दुई सय ५० रुपैयाँ राखिएको छ । यसअघि साधारण शय्याको दुई सय रुपैयाँ थियो ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार पाँच सय बराबरको योगदानका आधारमा एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ । 

यस्तै थप प्रतिसदस्य  सात सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा  दुई लाख रुपैयाँसम्म तोकिएको छ ।

बीमा कार्यक्रममा कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार छ सय ७६ जना र कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना (२६ दशमलव ५४ प्रतिशत) रहेको छ । 

दक्षिण कोरियाको ६५ वर्ष भन्दामाथि उमेरको जनसङ्ख्या एक करोड भन्दाबढी

दक्षिण कोरियाको ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्या एक करोड नाघेको गृह मन्त्रालयले बिहीबार जनाएको छ ।

दक्षिण कोरियामा कूल जनसङ्ख्याको पाँच करोड १२ लाख ६९ हजारको १९.५१ प्रतिशत जनसङ्ख्या ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहको रहेको मन्त्रालयले प्ष्टि गरेको छ ।

सन् २०१३ जनवरीमा ११.७९ प्रतिशत रहेको वृद्धवृद्धाको अनुपात सन् २०१७ जनवरीमा १३.६० प्रतिशत, सन् २०१९ डिसेम्बरमा १५.४८ प्रतिशत र सन् २०२२ अप्रिलमा १७.४५ प्रतिशत पुगेको छ ।

दक्षिण कोरिया ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका २० प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको देशलाई सम्बोधन गर्ने अति वृद्ध समाजको नजिक पुगेको छ ।

यहाँ ६५ वर्ष वा सोभन्दा माथिका पुरुषको सङ्ख्या ४४ लाख २७ हजार ६८२ रहेको छ भने महिलाको सङ्ख्या ५५ लाख ७२ हजार ३८० रहेको छ ।

सियोल महानगरीय क्षेत्रमा बसोबास गर्ने वृद्धहरू ४४ लाख ९० हजार पुगेको छ भने नगरभन्दा बाहिरी क्षेत्रमा ५५ लाख १० हजार रहेका तथ्याङ्कले देखाएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा मुख्यमन्त्री सोडारीकी पत्नी गीता दोषी ठहर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन् ।

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

उनले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी शिक्षकको जागिर खाएको दाबीसहित अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीपछि अख्तियारले अदालतमा मुद्दा दायर गरेको थियो ।

गीता धनगढी–९ स्थित शिव माविमा शिक्षिका थिइन् । उनले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पास गरेको प्रमाणपत्र पेश गरेको बताइएको छ । नक्कली प्रमाण पत्रका दोषीले कम्तीमा ६ महिनादेखि १ वर्षसम्म जेल बस्नुपर्ने प्रावधान छ।

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागु गर्ने निर्णय तत्कालका लागि स्थगन

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागु गर्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकलेसामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र तत्काल अनिवार्य नगर्ने गरी गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय भएकोमा मुलुक विभिन्न स्थानहरूमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि पत्र आवश्यक नपर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।’

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य भनेपछि विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा बृद्धबृद्धा सेवा लिन पुगेका थिए । सरकारको यो निर्णयको विरोध भएको थियो ।

त्यस्तै विभिन्न राजनीतिक दलले पनि सरकारलाई यो निर्णय बाध्यकारी नगर्न र समय थप गर्न आग्रह गरेका थिए । सरकारले पहिलो चरणमा देशका २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा बनाउनुपर्ने बताएको थियो ।

त्यस्तै बैठकले बेपत्ता पारिएको छानबिन आयोग र सत्तनिरुपण तथा मेलमिलाप आयोगको कार्य अवधि थप गर्न बाधा अड्काउ पूरक आदेश जारी गर्ने निर्णय गरेको छ । आयोगको म्याद २०८२ साल असार मसान्तसम्म थप गर्न पूरक आदेश जारी गरी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

बस्ती पस्दैछ बलान नदीको बाढी

सिरहा । सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बस्तीमा पस्ने गरेको छ । चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन् । वर्षातमा नदी आसपासका सिरहा र सप्तरीका कयौँ बस्ती डुबानमा पर्ने गरेका छन् ।

‘जमिनको लालपुर्जा छ, तर जमिन छैन । दशकौँदेखि गरिखाने जमिन बाढीले बगायो’, लहान नगरपालिका—२३ बसनपुरका गङ्गाप्रसाद यादवले भने । यादवको करिब १५ वर्षअघिसम्म तीन बिघा खेत थियो । बलान नदीले उर्वर जमिन बर्सेनि कटान गरेपछि अहिले उनको बिचल्ली भएको छ । आठ कठ्ठा आँपको बगैँचा रहेको जग्गा पछिल्लो दुई दिनमा बाढीले कटान गर्यो ।

बाढीले जग्गा कटान गरेपछि सञ्जयकुमार यादवको अवस्था पनि गङ्गाप्रसादको जस्तै छ । बाढीले १० बिघा जमिन कटान गरेको उनको भनाइ छ ।

बाढीले बाँकी रहेको घर जग्गा बगाउने उनले चिन्ता व्यक्त गरे । सञ्जय र गङ्गाप्रसादको जस्तै बलान नदी तटीय क्षेत्रका सयौँं परिवारको बिचल्नी छ । इटहर्वा, भगवानपुर, तिलेबोनालगायत गाउँ बलान नदीको बाढीको चपेटामा छन् ।

लहान नगरपालिका–३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिका–३ र ४ अन्तर्गत परिहारपुर, इटहर्वा, सिम्राहा, सखुवा, तिलेबोना तथा भगवानपुर गाउँपालिका–१, ३ र ४ वडामा पर्ने भगवानपुर, लालपुर, कल्याणपुर, सिनुरिया र मरिकटोल बाढी, डुबान र कटानको जोखिममा रहेका सखुवानन्कारकट्टी गाउँपालिकाका–४ का हरिलाल यदवले जानकारी दिए ।

बाढीले बसनपुरमा २२ बिघा, भगवतीपुर मौजीमा ५१ बिघा र सिम्राहा मौजीमा ८४ बिघा उर्वर खेत कटान गरिसकेको छ । चुरे दोहनका कारण नदीले धार परिवर्तन गरेको स्थानीय बताउँछन् । ‘जमिन कटानपछि बाढी गाउँ पस्ने गरेको छ’, स्थानीय मुशहरु यादवले भने ।

बलान नदी नियन्त्रणका लागि पहल भएपनि कटानको समस्या समाधान हुन नसकेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । ‘नगरपालिकाले चालु आर्थिक वर्षमा मात्र ५० लाखको तारजाली र ढुङ्गा बिछ्याएको छ, तर समस्या उस्तै छ’, उनले भने ।