`

अफगानिस्तानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु

उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएको शनिबार प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ ।

प्रान्तको डान्ड घोरी जिल्लामा शनिबार एक सैन्य गाडी यात्रु कारसँग ठोक्किदा घातक दुर्घटना भएको हो । त्यसैगरी, प्रान्तको राजधानी पुल–ए–खुमरी सहरको हुसेनखैल क्षेत्रमा राति मोटरसाइकल र गाडी ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

अफगानिस्तानमा सडकको खराब अवस्था, लापरवाह ड्राइभिङ, कठिन भौगोलिक अवस्था , तीव्र गतिलगायतका कारण सवारी दुर्घटनाहरू सामान्य छन् ।

कर्णालीका १० जिल्लामा धमाधम निर्माण हुँदै विद्यालयका भौतिक संरचना

काँक्रेविहार । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’अन्तर्गत १० जिल्लाका ७९ स्थानीय तहमा रहेका विद्यालयको भौतिक संरचना निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको छ ।

आठवटा स्थानीय तह रहेको जुम्लामा चार पालिकामा भवन निर्माण भएका छन्भनेरूकुम पश्चिममा छ पालिकामा छवटा चारकोठे भवन निर्माण सम्पन्न भएका छन् । कालीकोटका नौवटै पालिकामा विद्यालय भवन निर्माण गर्न चार करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

डोल्पामा आठ पालिकामा विनियोजित बजेटअनुसारको काम भएको सामाजिक विकास कार्यालयका प्रमुख धनबहादुर शाहीले जानकारी दिए । सुर्खेतको नौ पालिकामा विद्यालय भवन निर्माणको काम गर्ने योजना रहेकामा सात पालिकामा काम पूरा भएको छ ।

यसैगरी, सल्ल्यानका ११ वटा पालिकामा ११ विद्यालय भवन, जाजरकोटका सात पालिकामा र मुगुका चार पालिकामा क्रमशः एक–एक ओटा विद्यालय भवन निर्माण सम्पन्न भएका छन् ।

दैलेखका ११ स्थानीय तहमा ११ वटा चारकोठे भवन बनाउन प्रारम्भ भएको छ । यो वर्ष दैलेखमा विद्यालय निर्माण गर्न पाँच करोड ५० लाख रुपैयाँ विनियोजन भएको उक्त मन्त्रालयले जनाएको छ ।

सिमलताल पहिरोमा बेपत्ताको खोजी गर्न १५० जनाको सशस्त्र प्रहरीको टोली परिचालन

काठमाडौँ । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् । 

त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन गरी बेपत्ता यात्रु खोज्ने काम भइरहेको  सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । खोजी कार्यमा सशस्त्र प्रहरीका साथै नेपाली सेना र नेपाल प्रहरी पनि खटिइएका छन् । 

सशस्त्र प्रहरीले दुर्घटनास्थल सिमलतालमा प्रहरी निरीक्षकको नेतृत्वमा २५, चनौली इलाकामा नं १७ गणका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११, गोलाघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ‘र्याफ्याटिङ बोट’ सहित १५, देवघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० र भरतपुरको पुल्चोकस्थित नारायणी नदी किनारमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा नौ जना परिचालित भएका छन् । 

त्रिशूली नदीमा पानीको मात्रा अत्यधिक र पानी धमिलो भए पनि खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनारा क्यामेरालगायत उपकरणको प्रयोग गरी बेपत्ता यात्रुको खोजी जारी राखेका छन् । 

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा दुई  बसका बेपत्ता यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारीका अनुसार भेटिएका शवमध्ये तीनको पहिचान खुलेको छ ।

माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको विहार प्रान्तको सीतामणिस्थित बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । 

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ र वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ तथा  काठामाडौँतर्फ आइरहेको बसमा २७ यात्रु बेपत्ता भएका अनुमान गरिएको छ ।

तटबन्ध नहुँदा सन्थाल बस्ती डुबानको जोखिममा

झापा । माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ । वर्षायाममा माई नदी उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले उनीहरू सधैँ पिरोलिने गरेका छन् ।

माई नदी कटानले सन्थाल बस्ती तीनपटक स्थानान्तरण भइसकेको छ, अब पनि डुबान भयो भने आफ्नो जमिन नै बाँकी नरहने ६५ वर्षीय गोपाल टुटो बताउँछन् ।

‘सयौं वर्षदेखि यहीँ बसोबास गर्दै आएका छौँ, कटानले गर्दा माई नदी किनारमै बास हुनपुगेको छ, उत्तरतिर कालो बादल मडारिएको देख्नेबित्तिकै हाम्रो बस्तीमा त्रासको स्थिति सिर्जना हुन्छ’, उनले भने ।

सुखाबथानबाट टप्पुसम्मको करिब एक हजार आठ सय मिटर तटबन्ध निर्माण गर्न सकेमा सन्थाल बस्तीलाई सुरक्षित राख्न सकिने झापा गाउँपालिका–२ का वडाध्यक्ष हिमालकुमार चम्लागाईँ बताउँछन् ।

‘यो क्षेत्रमा तटबन्ध निर्माण गर्न गाउँपालिका, जनताको तटबन्ध कार्यक्रम, गृह मन्त्रालय दैवी प्रकोप व्यवस्थापनलगायत निकायमा पहल गरे पनि सुनुवाइ भएको छैन’, वडाध्यक्ष चम्लागाई भन्छन् ।

गत साता माई नदीको बढीले तीन घर विस्थापित भए भने पूरै सन्थाल बस्ती डुबानमा परेको थियो । बाढीबाट थप क्षति हुन नदिन सुरक्षा निकायको सहयोगमा व्यवस्थापन गरिएको थियो ।

सुखाबथान सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष रञ्जन टुटोका अनुसार गत साताको जस्तै वा थोरै बढी नदीमा बाढी आउने हो भने सन्थाल बस्तीका ५१ परिवारका दुई सय ७५ जना वस्थापित हुनेछन् ।

सन्थाल बस्तीभन्दा तल र माथि तटबन्ध भए पनि बीचमा तटबन्ध नहुँदा बाढीबाट बस्ती प्रभावित हुने उच्च जोखिम रहेको वडाध्यक्ष चाम्लागाई बताउँछन् । पालिकासँग पर्याप्त बजेट नहुँदा तटबन्ध निर्माण गर्न नसकेको उनले बताए ।

स्वर्णिम वाग्लेको सचिवालयबाट कुट्ने धम्की आएको मुकुल ढकालको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. मुकुल ढकालले आफूलाई उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट भौतिक आक्रमण गर्ने धम्की आएको बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत ढकालले शनिबार राति वाग्लेको सचिवालयबाट फोन गरी कुट्ने धम्की आएको बताएका छन् । उनले आफ्नो सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरेका छन् ।

उनले भनेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’… लगायत अनेक भनेकाले हिजै राति इलाकाको डिएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’

शनिबार राति एक टेलिभिजनसँगको अन्तर्वार्तामा मुकुलले ‘नेपाललाई भारतकै एउटा राज्य बनाउने प्रस्ताव राख्ने र रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने समझदारी गर्न आफूलाई खटाइएको’ दाबी गरेका थिए ।

कोपा अमेरिका फुटबलमा क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ हराउँदै उरुग्वे विजयी

काठमाडौं । कोपा अमेरिका फुटबलमा उरुग्वे विजयी भएको छ । आइतबार बिहान भएको खेलमा क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै उरुग्वे तेस्रो भएको हो ।

खेल निर्धारित ९० मिनेट २–२ गोलको बराबरी भएपछि पेनाल्टीमा पुगेको थियो । क्यानडाका इस्माइल कोन र जोनाथन डेभिड तथा उरुग्वेका रोड्रिगो बेन्टाङ्कर र लुइस सुवारेजले समान एक गोल गरेपछि बराबरी भयो ।

तर पेनाल्टीमा क्यानडा पराजित भयो । क्यानडा बुधवार भएको पहिलो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनासँग २–० गोलले र उरुग्वे बिहीवार भएको दोस्रो सेमिफाइनलमा कोलम्बियासँग १–० ले पराजित भएको थियो । कोपा अमेरिका फुटबलको उपाधिका लागि भोलि बिहान अर्जेन्टिना र कोलम्बिया खेल्नेछन् ।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

बीबीसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। पेन्सिलभेनियाको बटलरमा एक र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको हो। ट्रम्प बटलरमा मञ्चमा बोल्दै गर्दा गोली चलेको थियो । ट्रम्पले दाहिने कानको माथिल्लो भागमा गोली लागेको छ ।

ट्रम्पले आफूलाई दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताए । ट्रम्पले युनाइटेड स्टेट्स सेक्रेट सर्भिस र सबै कानून प्रवर्तन अधिकारीहरूलाई धन्यवाद दिएका छन्।

घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रेस ब्रिफिङ गरेका छन्। उनले अमेरिकामा यस्तो हिंसाको कुनै ठाउँ नभएको बताए। बाइडेनले ट्रम्पलाई सम्पर्क गर्ने प्रयास गरे पनि ट्रम्प अहिले डाक्टरहरूसँग रहेको भन्दै कुराकानी हुन नसकेको बताए ।

क्यानको बोर्ड बैठकमा पारसको कसैले राजीनामा मागेको छैनः अध्यक्ष चन्द(भिडियोसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले क्यानका सचिव पारस खड्काको कसैले राजीनामा नमागेको बताएका छन् ।

‘नेपाल वान एचडी’सँग कुरा गर्दै अध्यक्ष चन्दले क्यानको बोर्ड बैठकमा कसैले पनि पारसको राजीनामा नमागेको बताएका हुन् । उनले भने,‘पारस खड्काले काम गर्न खोजेको छ । काम गर्ने वातावरण दिने हो । एक वर्ष भएको छैन किन राजीनामा दिने ? चुनाव लड्ने फेरि ?’

त्यस्तै उनले नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक मोन्टी देसाइलाई कारबाही गर्ने कुरा पनि हल्लाको विषय मात्र भएको बताए । उनले मोन्टी देसाइसँग सुझाव माग गर्ने बैठकमा कुरा भएको बताए । यसबारेमा मिडियाहरुले गलत भ्रम छरेको बताए ।

उनले भने,‘कहिले सन्दीप लामिछानेलाई टीममा राखेन भन्छ, ऊ टीममा छ, १५ जनामै थियो । सुविधा अर्को कुरा हो । कहिले डाक्टर भएन । २५ जनामा फलानो हाल्यो भन्छ, बदनाम गर्ने काम भयो । यसले के दिन्छ ?’ उनले जर्सी अमेरिका लगेर बिक्री गरेको विषय पनि झुट भएको बताए ।

त्रिशूलीले बगायो सृष्टिको जापान जाने सपना

बारा । बाराको कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता छिन् ।

रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उनी परिवारको सहारा थिइन् ।

जागीरे भए पनि उनी सन्तुष्ट थिइनन्, त्यसैले थप कमाइका लागि विदेश जान भनेर उनी परीक्षाका लागि काठमाडौँ जाँदै थिइन् । तर काठमाडौ नपुग्दै त्रिशूलीमै बेपत्ता भइन् । योसँगै उनको परिवारको सपनासमेत त्यही अस्ताएको छ ।

सृष्टिका बुबा जगदीशप्रसाद यादवले जापान जान परीक्षा दिन काठमाडौँ गएकी छोरी शुक्रबार बससँगै त्रिशूलीमा बेपत्ता भएको बताए । दुई दिनदेखि दुर्घटनास्थलमा रहेका उनी भन्छन्,’छोरी काठमाडौँ गएको १० बजे राति कुरा गरेर बुबा म काठमाडौँ जाँदैछु, परीक्षा दिएर भाइसँग भेट गरेर फर्किन्छु, त्यहाँ पुगेपछि म हजुरसँग कुरा गर्छु भन्थि तर त्यअघि नै त्रिशूली अस्ताइन् ।’

छोरीको शवको पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किरानामा भौतारिरहेका छन् । ‘छोरोको सपना पूरा भएन, उसँगै हाम्रो सपना पनि त्रिश्रलीले बगायो तर अब अन्तिम इच्छा छ छोरीको शव भेटाएर आफ्नो संस्कारअनुसार दाहसंस्कार गर्न पाइयोस्’, उनको भनाइ छ ।

सूचना प्रविधि क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिन सक्नेगरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने बताएका छन् ।

शनिबार आयोजित सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारमा दु्रततर रूपमा विकास भइरहेको सूचना प्रविधिबाट उनीहरूले यथेष्ट लाभ लिइरहेका दृष्टान्त पेस गर्दै नेपालले पनि सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए ।

उनले भने, “विश्वका अरु देशमा जस्तै नेपालमा पनि पछिल्ला वर्ष सूचना प्रविधिका क्षेत्रमा दू्रत विकास भइरहेको छ र यसमा नेपालको युवा वर्ग अहिले पनि निकै नै ठूलो सङ्ख्यामा यस क्षेत्रमा लागिरहेकाले देशमा सूचना प्रविधि उद्योगको विकास र विस्तार गरी यसको सेवा निर्यातबाट हामीले लाभ लिन सक्नुपर्दछ ।”

युवा जनसङ्ख्या धेरै भएको देश नेपालमा अहिले ठूलो सङ्ख्याका युवाहरू सूचना प्रविधि विषयको पठनपाठन तथा उद्यमशीलताको विकासमा लागिरहेकाले नेपालमा सूचना प्रविधि उद्योगको विकास गरी यसबाट सेवा निर्यातको अधिक सम्भावना रहेको उनको तर्क थियो ।

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा घोषणा गरी हरेक प्रदेशमा सूचना प्रविधि पार्क निर्माण गर्ने, १५ लाख रोजगारी सिर्जना गर्ने र हरेक वर्ष नेपालबाट कम्तीमा पनि तीन खर्ब बराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य लिएको प्रसङ्ग उल्लेख गर्दै यसका लागि यसैबमोजिमको लगानीको वातावरण राज्यले निर्माण गनुपर्नेमा जोड दिए ।

सूचना प्रविधि अहिलेको समाजको जीवत पद्धति नै भइसकेकाले संसारले पनि यसैबमोजिम अङ्गीकार गरिरहेका र नेपाल पनि यसबाट अछुतो नरहेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ढकालले भने, “नेपालमा पनि मेडिकल, इन्जिनियरिङ तथा वित्तीय क्षेत्र हुँदै धेरै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै गएको छ । आगामी दिनमा यसको विकास र विस्तार गरी सूचना प्रविधिमा आधारित समाज र औद्योगिक विकासको नीतिबाट राज्य अघि बढ्नुपर्छ ।”

उनले नेपालमा रहेको यस क्षेत्रको सम्भावनाअनुसारको लगानीको वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै यस सम्भावनायुक्त क्षेत्रमा लगानी गरी मुनाफा आर्जन गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालमा अहिले पनि करिब पाँच सय सूचना प्रविधिसम्बन्धी कम्पनी रहेका जानकारी दिँदै राज्यले उचित नीति अख्तियार गर्यो र लगानीको सहज वातावरणको सुनिश्चितता गर्यो भने योभन्दा कैयौँ गुणा बढी कम्पनीहरू केही समयमै स्थापना भई सञ्चालनमा आउने पनि बताए ।

कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि भारी वर्षाको चेतावनी दिएको छ । शनिबार साँझ मौसम बुलेटिन जारी गरी महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गरेको हो ।

महाशाखाले कोसी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु आग्रह गरिएको छ ।

आँबुखैरेनी अस्पतालले आगामी वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने

दमौली । तनहुँको आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ। दुई वर्षअगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए।

गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रिया कक्षका लागि आवश्यक बत्ती, शय्या र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको छ। क्षेत्रीले भने, ‘केही थप औजार उपकरण, रक्तसञ्चार सेवा र व्यवस्थापन भएपछि आगामी आर्थिक वर्षको सुरुमै शल्यक्रिया सेवा सुरु गर्नेछौँ।’

लामो समयको प्रयासपश्चात अस्पतालमा अब शल्यक्रिया सेवा सुरु हुने चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। उनले भने, ‘अस्पतालमा शल्यक्रिया सुरु गर्ने लामो समयको प्रयासले अब सार्थकता पाउँदैछ।’ अस्पतालले प्रसूति, हर्निया, एपेन्डिक्स, हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको उनले जानकारी दिए।

चार प्रकारका शल्यक्रियाका लागि जनशक्ति रहे पनि उपकरण अभावमा सेवा सुरु गर्न ढिलाइ भएको चुमानले बताए। उनले भन्ने, ‘अस्पतालमा हामीसँग तत्काल शल्यक्रिया सेवा सुरु गर्न जनशक्ति तयारी अवस्थामा छ, तर उपकरण अभावले सेवा सुरु गर्न सकेका थिएनौं।’

विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकी स्तरोन्न, बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामना गाउँपालिकाका जनतालाई सेवा दिइरहेको छ।

अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रवाह भइरहेको छ। अस्पतालमा एकजना एमडिजीपी, तीनजना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन्।

गाउँपालिकाले वडा कार्यालय भवन, गाउँपालिकाको सभाहल मै अस्पताल सञ्चालन गरेको हो। गाउँपालिकाले यस क्षेत्रमा ट्रमा अस्पताल बनाउने लक्ष्य राखेको छ।

आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसयमा सार्वजनिक र मित्रता माध्यमिक विद्यालयको समेत गरी करिब दुई सय रोपनी जग्गामा अस्पताल बनाउन सकिने अध्यक्ष चुनामले बताए।

उनले भने, ‘तनहुँको दमौलीबाट पूर्व लागेपछि ५० किमी दूरीमा एउटा पनि सरकारी अस्पताल छैन, कुनै दुर्घटना भयो भने उपचारका लागि चितवन वा काठमाडौँ दौडिनुपर्छ। राष्ट्रिय ट्रमा सेन्टरमा रहेका आवासीय चिकित्सक ल्याउन सकिए धेरै जनाको ज्यान बचाउन सकिन्छ।’

‘माइली’ मा कुसुम शर्मा अनुबन्धित

काठमाडौं । रुना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित भएकी छिन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्ममा कुसुमले अभिनय गर्न लागेकी हुन् । मोडल कुसुम गायक प्रकाश सपुतको गीत सकम्बरीबाट चर्चामा आएकी हुन् ।

फिल्म युनिटले कुसुमको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा उनलाई कालो चस्मामा गम्भीर भावमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।

कुसुमको अनुबन्धसँगै फिल्मका लागि कलाकारको लाइनअप पुरा भएको छ । यसअघि फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन अनुबन्धित भइसकेका छन् ।

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए । फिल्म शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, संवाद तथा राजेन्द्र बजगाईंको संगीत रहनेछ ।

राष्ट्र निर्माण र राष्ट्रियताको जगेर्नामा भूतपूर्व सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्णः महामन्त्री राणा

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले राष्ट्र निर्माण र राष्ट्रियताको जगेर्नामा भूतपूर्व सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्ण रहने बताएका छन् । राप्रपाको आन्दोलनमा समेत अवकाशप्राप्त सैनिकहरुको अनुभव, ज्ञान र सीप निर्णायक रहनेमा जोड दिएका छन् ।

‘पूर्वसुरक्षाकर्मीहरु देशका खम्बा हुन् । यही यथार्थलाई मनन् गर्दै पार्टीले संचालन गरेको आन्दोलनमा पूर्वसुरक्षाकर्मीहरुको सक्रिय र सिर्जनशील योगदान हामीले आश गरेका छौं । विकृति र विसंगति अन्त्य गरेर देश र समाजलाई सही बाटोमा ल्याउन राप्रपाले आन्दोलन जारी राखेको छ,’ राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख राणाले शनिबार भने ।

‘राजसंस्था र हिन्दूराष्ट्र स्थापना गर्ने आन्दोलनमा पूर्वसुरक्षाकर्मीहरुको प्राविधिक ज्ञान र सीप निर्णायक हुनेमा दुइ मत छैन । पात्र र प्रणाली दुवै असफल भएको सन्दर्भमा सेवानिवृत सुरक्षाकर्मीको निष्ठा र इमान्दारीले दुरगामी महत्व राख्नेछ,’ उनले भने ।

राप्रपा केन्द्रीय कार्यालयमा राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनद्वारा आयोजित कार्यक्रममा नेपाली सेनाका तीनजना अवकाशप्राप्त मेजरसहित १५ जनाले पार्टी प्रवेश गरेका थिए ।

राप्रपामा प्रवेश गर्नेहरुमा अप्रा मेजर शंकर श्रेष्ठ, अप्रा मेजर प्रकाश गुरुङ, अप्रा मेजर तारा खत्रीलगायत मोहनबहादुर अधिकारी, कृष्णबहादुर श्रेष्ठ, बालकृष्ण ढकाल, माधव सिग्देल, उपेन्द्र कुँवर, राजाराम थापा, गणेश थापा, पदम क्षेत्री, प्रविण धरेल र कृष्णबहादुर तामाङ थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङले देशले परिवर्तन मागेको र यो परिवेशमा पूर्वसुरक्षाकर्मीको भूमिका महत्वपूर्ण रहने बताए ।

एकपटकको सैनिक सदाका लागि सैनिक हुने बताउँदै राप्रपासम्वद्ध सैनिक संगठन अध्यक्ष प्रकाशजंग कार्कीले राष्ट्र, धर्म र सँस्कृतिको पक्षमा सदैव संघर्षशील रहने बताए । ‘सेवामा होस वा सेवा निवृत्त भएको अवस्थामा, सेनाको मुट र मनमा सत्यको बास हुन्छ । यस अर्थमा माटोको रक्षामा हामी सदा लडिरहने छौं,’ उनले भने ।

आइतबारका लागि बोलाइको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबारका लागि सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले सूचनामार्फत जानकारी गराएको छ ।

यसैगरी आइतबार दिउँसो १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

युक्रेनी ड्रोन आक्रमणपछि रूसी इन्धन डिपोमा आगलागी

युक्रेनी ड्रोन आक्रमणपछि रुसको रोस्तोभ क्षेत्रमा शनिबार एउटा इन्धन डिपोमा आगलागी भएको यसका गभर्नर भासिली गोलुबेभले बताएका छन् ।

गोलुबेभले ड्रोन आक्रमणपछि सिमल्यान्स्की जिल्लाको पेट्रोल रिफाइनरीमा आगलागी हुँदा कुनै हताहत नभएको उल्लेख गरेका छन् ।

यो क्षेत्र फ्रन्ट लाइनबाट सयौँ किलोमिटर टाढा छ । यसैबीच रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले चार युक्रेनी ड्रोन खसालेको घोषणा गरेको छ । दुईवटा रोस्तोभमा, एउटा युक्रेनसँग जोडिएको बेलगोरोड क्षेत्रमा र अर्को उत्तरमा रहेको कुर्स्कमा छन् ।

मस्को र किभ दुवैले ड्रोन प्रयोग गरेका छन्, जसमा फेब्रअरी २०२२ मा सुरु भएको द्वन्द्वमा सयौँ किलोमिटर फैलिएको दायरासहित ठुलो सेल्फ–डिटोनेटिङ क्राफ्ट समावेश छ ।

जासुसीको आरोप फिर्ता लिन क्रेमलिनलाई अष्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले मस्कोका लागि जासुसीको आरोपमा ब्रिस्बेनस्थित दम्पतीको गिरफ्तारीमा रुसी आलोचनालाई अस्वीकार गर्दै क्रेमलिनलाई फिर्ता लिन आग्रह गरेका छन् ।

मस्कोलाई विश्वभरि जासुसीमा सङ्लग्न भएको आरोप लगाउँदै अल्बनिजले रुससँग कुनै विश्वसनीयता नभएको बताए ।

अस्ट्रेलियाली प्रहरीले शुक्रबार ४० वर्षीया महिला र उनका–६२ वर्षीय पतिलाई रूसी पासपोर्ट वहाक–जासुसी अपराधको तयारी गरेको आरोप लगाएको भन्दै रूसी दूतावासले गरेको आलोचनाको जवाफ दिँदै अल्बनिजले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सामाजिक सञ्जाल एक्सको पोस्टमा, क्यानबेरामा रहेको रूसी दूतावासले गिरफ्तारी र मिडिया कभरेज “अस्ट्रेलियामा रूसी विरोधी पागलपनको अर्को लहर सुरु गर्ने उद्देश्यले” भएको जनाएको छ ।

दूतावासले स्थितिमा अष्ट्रेलियाली अधिकारीबाट आधिकारिक लिखित जानकारी अनुरोध गरेको जनाएको छ ।

बिहीबार ब्रिस्बेनमा आफ्नै घरमा पक्राउ परेका दम्पतीलाई अष्ट्रेलियाली सेनाबाट राष्ट्रिय सुरक्षासम्बन्धी सामग्री प्राप्त गरेको आरोप लगाइएको छ । दोषी ठहरिएमा उनीहरूले १५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने हुन्छ ।

अभियुक्त महिला अस्ट्रेलियन डिफेन्स फोर्समा निजी र त्यहाँ धेरै वर्षदेखि सूचना प्रणाली टेक्निसियनको रूपमा काम गरिरहेको अस्ट्रेलियाली प्रहरीले जनाएको छ ।

उनले कथित रूपमा सेनाबाट लामो अवधिको बिदाको समयमा रुसको गैर–घोषित यात्रा गरेका थिए ।
रुसमा हुँदा, उनले आफ्ना पति, (एक स्व–रोजगार मजदुर)लाई अष्ट्रेलियामा आफ्नो आधिकारिक खातामा कसरी लग इन गर्ने भनेर बताएको उल्लेख छ ।

डा. शिव सुवेदीको ‘म त तिम्रो हैन’ सार्वजनिक

काठमाडौं – गीतकार डा. शिव सुवेदीको नयाँ गीत ‘म तिम्रो हैन ’ सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक समारोहका बिच पूर्व कानुन तथा संघीय मामिला मन्त्री पदमकुमार गिरी र लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

गीतकार सुवेदीको गीत ‘घाम जस्तो चम्किलो हुँदैन’ बोलको गीत १७ वर्षअघि गिरीले नै सार्वजनिक गरेका थिए।
पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियू सभापतिका रुपमा आफूले उक्त गीत सार्वजनिक गरेको पूर्वमन्त्री गिरीले कार्यक्रममा स्मरण गरे।
उनले भने, ‘घाम जस्तो चम्किलो हुँदैन भन्ने गीत जन-जनको मुखमा झुन्डिएको थियो। गीत-संगीतमा उहाँको सक्रियता र निरन्तरतालाई मैले नजिकबाट नियालेको छु। उहाँ निकै नै प्रतिभाशाली व्यक्ति हुनुहुन्छ।’

प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले डा. सुवेदीका गीतले लोक तथा दोहोरी क्षेत्रको गरिमा कायम राखेको बताइन्। युट्युबमा भ्युज बढाउन मौलिकता, कला र संस्कृतिमाथि नै धावा बोल्ने क्रम चलिरहेका बेला यस्ता गीत आउनु सुखद् रहेको बताइन्।उनले भनिन, ‘कसैले गरिदेला भनेर बस्ने होइन, आफ्नो तर्फबाट एक्सनमा उत्रिने हो, संस्थागत रूपमा हामी लागिरहेका छौं।’

स्वीजरल्याण्डबाट भूकम्प विषयमा विद्यावरिधि गरेका गीतकार सुवेदीले गीतसंगीतको क्षेत्र बिर्सिने चिन्ता लागिरहेको बेला नयाँ लोकगीत आउँदा खुशी लागेको उनले बताइन्।

गीतकार आनन्द अधिकारीले गीतमाथि समीक्षा गर्दै यो गीतमा गहिरो साहित्य, बिम्ब र स्पष्ट दर्शन भेटेको बताए। ‘लोक संगीत मुटु हो, शास्त्रीय गीत दिमागबाट बन्छ, लोकगीत मुटुबाट आउँछ’ उनले भने।

कार्यक्रममा गीतको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो। उक्त गीतमा कुलेन्द्र वि.क र शान्तिश्री परियारको स्वर रहेको छ भने मौसम हिमालीले निर्देशन गरेको म्यूजिक भिडियोमा सनम कठायत, लोमस शर्मा र लालना चिमोरियाले अभिनय गरेका छन्।
भूकम्प विद्यामा विद्यावारिधी गरेका सुवेदीले आफ्नै युट्युब च्यानलमार्फत ‘म त तिम्रो हैन’ ल्याएका हुन्।

लोसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ ।

पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।

सोही बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ ।

बैठकले पहिराका कारण त्रिशूली नदीमा खसेर बेपत्ता भएको दुईवटा बसको खोजी चुस्त बनाउन सरकारको ध्यानाकर्षणसमेत गराएको उनले जानकारी दिए ।

पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्ने गृहकार्यमा कांग्रेस-एमाले 

काठमाडौँ । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दैछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । 

नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।

राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरिसकेका छन् । 

चौथो पटक प्रधानमन्त्री हुन लागेका अध्यक्ष ओलीलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गर्ने प्रबल सम्भावना रहेको दुवै दलका दोस्रो तहका केही नेताहरुले बताएका छन् ।

एमालेका प्रमुख सचेतक महेश वर्तौलाले राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि आइतबारै पद तथा गोपनीयताको शपथ लिने तयारी भएको जानकारी दिए । पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन् । 

यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन् । लोकतन्त्र प्राप्तिको सङ्घर्षमा लागेका उनले लामो समय निरङ्कुश पञ्चायती शासन व्यवस्थामा कारबास भोगेका छन् ।

‘डिजिटल ठमेल’ निर्माणलाई अगाडि बढाउने शर्मा र अधिकारीका चुनावी एजेण्डा

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई ‘डिजिटल ठमेल’का रुपमा अगाडि बढाइने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को यही असार ३१ गते हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा अध्यक्षका प्रत्यासी भविश्वर शर्मा समूहको ‘उम्मेदवार परिचयात्मक’ कार्यक्रममा अध्यक्षका उम्मेदवार शर्माले ठमेललाई डिजिटल रुपमा अगाडि बढाउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताए ।

“हामीले स्थानीय सरकारसँगको सहकार्यमा ठमेलभित्रका देखिएका समस्या समाधान गरे पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित ठमेललाई प्रविधिको विकाससँग जोड्न नसकेकाले डिजिटल ठमेललाई प्राथमिकतामा राखेका छौँ”, उनले भने ।

अध्यक्ष शर्माले आफू निर्वाचित भएर डिजिटल ठमेललाई पहिलो प्राथमिकतामा राखी पर्यटन विकास परिषद्को आफ्नो वेबसाइटमार्फत सम्पूर्ण व्यवसायी तथा घरधनीको तथ्याङ्क सङ्कलन गरी स्वदेशी तथा विदेशी पर्यटकले आफूलाई चाहिने जानकारी सहजै प्राप्त गर्नसक्ने बनाउन लागिएको बताए ।

ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरिने, शान्ति सुरक्षालाई व्यवस्थापन गरिने, ट्राफिक तथा फोहर व्यवस्थापन, तार तथा सडकबत्ती व्यवस्थापन, घरबेटी र व्यवसायीबीच सुमधुर सम्बन्ध राखिने उनले बताए ।

अध्यक्षका अर्का उम्मेदवार धुव्र अधिकारीले विगत कार्यसमितिले अगाडि सारेका सकारात्मक योजनालाई पूरा गर्न आफूले उम्मेदवारी दिन लागेको बताए । उनले व्यवस्थित ठमेल निर्माणका लागि यहाँभित्रका घरबेटी र व्यवसायीबीच सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे । सफा, सुन्दर र सुरक्षित ठमेल आफ्नो सङ्कल्प भएको अधिकारीले बताए ।

उक्त निर्वाचनमा दुवै समूहबाट उपाध्यक्ष पदका लागि सहदेव (विमल) धमला, राजीव पाण्डे, चेतनाथ पुडासैनी र श्रीकृष्ण थपलिया, महासचिवमा बद्रीप्रसाद तिमल्सिना र सोजेशमान मालाकारले उम्मेदवारी दिएका छन् । सचिवमा पुण्यराम लागेजु र दिलीप (मिलन) कँडेल, कोषाध्यक्षमा प्रकाश थपलियाको उम्मेदवारी परेको छ ।

सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पूर्णप्रसाद चौलागाईं, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा, रञ्जयमान प्रधान, नवीन तामाङ, सुदर्शन खनाल, जनकसिंह तामाङ, बद्रीप्रसाद अर्याल र लालबाबु चौधरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत उमादेवी प्रसाईंले जानकारी दिए ।

परिषद्को २९औँ साधारणसभा तथा निर्वाचनका लागि एक हजार एक सय ९३ जनाले मताधिकार प्रयोग गर्न पाउनेछन् ।

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माण प्रभावित

दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम प्रभावित भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणको काम वन क्षेत्रका कारण प्रभावित भएको हो ।

वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृति नपाउँदा प्रसारण लाइन निर्माण कार्य प्रभावित भएको आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

प्रसारण लाइन निर्माणका लागि रुख कटान गर्न सरकारका तर्फबाट स्वीकृति प्राप्त भइसके पनि स्थानीयस्तरमा सहमति नहुँदा प्रसारण लाइन निर्माणको काम प्रभावित भएको उनको भनाइ छ ।

तनहुँतर्फको भागमा समस्या नरहे पनि चितवनतर्फ समस्या रहेकाले समस्या समाधान गर्नेतर्फ आयोजना लागिरहेको भण्डारीले बताए । प्रसारण लाइन निर्माणको काम हालसम्म ७३ दशमलव पाँच प्रतिशत सकिएको छ ।

प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये हालसम्म ७७ टावरको जग हाल्ने र ६९ टावर जडान कार्य सम्पन्न भइसकेको छ । तीन टावरको जग हाल्ने कार्य जारी रहेको बताउँदै भण्डारीले २० वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार दुई स्थानमा जग संरक्षणको काम भइरहेको छ । केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ ।

प्रसारण लाइन निर्माणको काम सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद थप गरिएको थियो । प्रसारण लाइन निर्माणको अवधि विसं २०८१ पुस ४ गतेसम्म रहेको छ ।

प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ ।

आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो ।

प्याकेज–१ को हालसम्मको प्रगति ३३ दशमलव दुई प्रतिशत भएको छ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गतेखरिद सम्झौता भएको थियो ।

निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ बाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरण जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको हालसम्म ५६ प्रतिशत प्रगति भएको छ ।

नारायणीमा भेटिएको शव बेपत्ता बसका यात्रु भएको पुष्टि

भरतपुर  । चितवनको भरतपुर महानगरपालिका–२८ स्थित नारायणी नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिए ।

“नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ”, प्रहरी नायब उपरीक्षक रिजालले भने । उनका अनुसार अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

साह नेपालमा बसेर काम गर्दै आएका ऋषिका दाइ सत्यपाल साहले बताए । सत्यपालले शनिबार बिहान फेला परेको शव भाइ ऋषिपलको रहेको पुष्टि गरे । भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौँको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स चढेका थिए । 

काठमाडौँबाट रौतहटको गौरतर्फ आउँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा बेपत्ता भएको थियो । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । 

भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खसेको थियो । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । 

एन्जल वीरगञ्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए । दुवै बसमा गरी करिब ६५ यात्री रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिए ।

बेपत्ता बस तथा यात्रीको आज बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ ।

प्रादेशिक सन्तुलन र समावेशिता कायम गरी मन्त्री चयन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले समावेशिता र प्रादेशिक सन्तुलन कायम गरी मन्त्री चयन गर्ने भएको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री बन्न दुई आधार तय गर्ने निर्णय गरेको हो ।

कांग्रेका प्रवक्ता डा. प्रकाशरण महतले समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी मन्त्री चयन गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।

 असार १७ गतेको भएको सहमतिअनुरूप कांग्रेस ओली नेतृत्वको सरकारमा सहभागी हुने प्रवक्ता महतको भनाइ छ । कांग्रेस र एमालेको समर्थनमा अध्यक्ष ओलीले शुक्रबार नै प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वान गरेपछि संसदका दुई ठूला दल कांग्रेस र एमालेले शुक्रबार राति राष्ट्रपति कार्यालय पुगेर ओली नेतृत्वको सरकार गठनका लागि दाबी पेस गरेका हुन् ।

राष्ट्रपतिले आइतबार ओलीलाई प्रधानमन्त्री नियुक्तिको तयारी गरेका छन् । प्रधानमन्त्री नियुक्तिसँगै भोलि नै शपथ लिएर सानो आकारको मन्त्रीमण्डल बनाउने ओलीले तयारी गरेका छन् ।

सुदूरपश्चिका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन कांग्रेस-एमालेको सुझाव

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आफ्नो पदबाट राजीनामा दिन नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नागरिक उन्मुक्ति पार्टीले संयुक्त रुपमा आग्रह गरेका छन् ।

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परिसकेकाले तत्काल पदबाट राजीनामा दिन ती पार्टीका संसदीय दलका नेताले संयुक्तरुपमा माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले तत्काल राजीनामा दिँदा नयाँ सरकार गठन र बजेट ल्याउन सहज हुने बताए ।

उनले भने, “अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले पद ओगटेर बस्नु उचित हुँदैन ।” पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्मा, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई राजीनामा गर्न आग्रह गरे ।

संघमा नयाँ सत्तासमीकरण परिवर्तन भएसँगै एमाले प्रदेशका मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन यही असार २३ गते फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री अल्पमतमा परेका हुन् ।

एमालेले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ल्याएको बजेट पारित हुने वा नहुने भन्नेमा अन्योल देखिएको छ । बजेट माथिको छलफल प्रदेशसभामा अझै सुरु हुन सकेको छैन ।

नयाँ गठन हुने सरकारले सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नगरेर अध्यादेशमार्फत अर्को बजेट ल्याउने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धाँमीले बताए। प्रदेश सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक हुन्छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।

प्यालेस्टिनी भूमिमा इजरायली कब्जाबारे राय दिन राष्ट्रसघीय अदालतको आदेश

अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) ले प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जाको कानुनी परिणामको बारेमा जुलाई–१९ मा सल्लाहकार राय दिने घोषणा गरेको छ ।

हेगस्थित आईसीजेको सिट पिस प्यालेसमा जुलाई –१९मा सार्वजनिक सत्र हुनेछ, जहाँ अदालतका अध्यक्ष न्यायाधीश नवाफ सलामले सल्लाहकार राय पेस गर्नेछन् ।

फेब्रअरीमा आइसीजेमा सार्वजनिक सुनुवाइका क्रममा प्यालेस्टाइन, ४९ संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरू लगायत तीनवटा अन्तर्राष्ट्रिय संस्थाहरूले मौखिक बयानहरू प्रस्तुत गरेका थिए ।

सुनुवाइमा, प्यालेस्टाइनी संयुक्त राष्ट्रका दूत रियाद मन्सुरले आईसीजेलाई प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जालाई अवैध घोषणा गर्न आग्रह गर्नु भएको थियो । फैसलाले कब्जाको तत्काल अन्त्ये, न्यायपूर्ण र स्थायी शान्ति“ को स्थापनाको लागि मार्ग प्रशस्त गर्ने कुरामा जोड दिएको छ ।

सुनुवाइमा भाग नलिई, इजरायली प्रधानमन्त्रीको कार्यालयले सुनुवाइको वैधतालाई अस्वीकार गरी एक बयान जारी गर्दै इजरायलको स्वतन्त्रता र आत्मरक्षाको अधिकारलाई अझ कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ ।

चीनद्वारा बालबालिका लक्षित हानिकारक सामग्रीमाथि अनलाइन कारबाही सुरु

चीनले बालबालिकाका लागि हानिकारक मानिने सामग्री भिडियो एप र सामाजिक सञ्जाल प्लेटफर्मलाई लक्षित गर्दै आफ्नो कडा नियन्त्रित इन्टरनेटमा नयाँ कारबाहीको घोषणा गरेको छ ।

सत्तारूढ कम्युनिस्ट पार्टीले घरेलु वेबलाई कडाइका साथ नियमन गरी अश्लील, तथा राजनीतिक रूपमा विध्वंसक मानिने सामग्रीलाई सेन्सर गर्ने भएको छ ।

यसले समय–समयमा अनलाइन प्रभावकर्ता देखि गेमिङ र सपिङ प्लेटफर्मसम्मका विशिष्ट क्षेत्रहरूमा कडाई गरेको छ ।
शनिबार एक विज्ञप्तिमा, देशको इन्टरनेट वाचडगले इन्टरनेटमा नाबालिगको सुरक्षालाई प्रभावकारी रूपमा सुदृढ पार्न र स्वस्थ, सुरक्षित अनलाइन वातावरण सिर्जना गर्न दुई महिनाको ‘क्लियर एन्ड ब्राइट’ अभियान सुरु गरिरहेको बताएको छ ।

यस कदमले छोटो–भिडियो र लाइभ स्ट्रिमिङ प्लेटफर्महरू, सामाजिक मिडिया साइटहरू, अनलाइन सपिङ प्लेटफर्महरू, एप स्टोरहरू, बच्चाहरूका लागि स्मार्ट उपकरणहरू र नाबालिगहरूका लागि अनलाइन नियन्त्रणसँग सम्बन्धित “प्रमुख समस्याहरू समाधान गर्ने चीनको साइबरस्पेस प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसले विद्यालय बदमाशीलाई प्रोत्सान गर्ने भिडियोहरू प्रसारण गर्ने, क्लासिक बच्चाहरूको कार्टुन र गीतहरूमा ‘हिंसात्मक र घृणित’ सामग्री थप्ने, र कम उमेरका ‘इन्टरनेट सेलिब्रेटी बच्चाहरू’ बाट नाफा कमाउने जस्ता विविध व्यवहारलाई लक्षित गर्दछ ।

यसले ई–कमर्स प्लेटफर्मबाट अश्लील र यौन सूचक उत्पादनहरू उन्मूलन गर्ने लक्ष्य सहित बच्चाहरूलाई ‘हानिकारक मित्रता’ मार्फत दुर्भावनापूर्ण रूपमा बनाइएको अनलाइन शब्दजाल र अश्लील तर्फ आकर्षित गर्ने जानकारी पनि दिन्छ ।
नाबालिगहरूका लागि विशेष समस्याको नयाँ अभिव्यक्तिमा नजिकबाट ध्यान दिई संयुक्त रूपमा राम्रो अनलाइन इकोलोजीलाई समर्थन गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ ।

चिनियाँ बालबालिकाहरूले गर्मीको स्कुलको छुट्टी सुरु गर्दा र हालैका वर्षहरूमा यस्तै थुप्रै अभियानहरू पछ्याउँदा पछिल्लो अभियान आएको हो ।

सेन्सरहरूले अप्रिलमा अर्को ‘क्लियर एन्ड ब्राइट’ अभियान सुरु गरेपछि धेरै प्रसिद्ध प्रभावकर्तालाई अवरुद्ध गरेका छन् जसले आकर्षक व्यक्तित्वहरूले जानाजानी पैसाले भरिएको असाधारण जीवनशैली प्रदर्शन गर्दछ ।

सरकारले १८ वर्ष मुनिका बालबालिकाहरूले अनलाइन गेम खेल्ने समय पनि गम्भीर रूपमा कटौती गरेको छ । पहिले ई–कमर्स प्लेटफर्महरूमा आफूले अवांछनीय ठानेका उत्पादनबाट बेच्ने प्रशिक्षण दिएको छ, जस्तै सफ्टवेयर जसले आधिकारिक इन्टरनेट नियन्त्रणहरू स्कार्ट गर्दछ ।

रुसलाई सहयो गरी युद्धलाई बढावा दिएको भन्ने नाटोको आरोपप्रति उत्तर कोरियाको निन्दा

उत्तर कोरियाले हालै सम्पन्न नाटो शिखर सम्मेलनमा प्योङयाङले रुसमा हतियार निर्यात गर्ने गरेको आरोपको कडा निन्दा गरेको राज्यको सरकारी सञ्चारमाध्यमले शनिबार जनाएको छ।

यस हप्ता सम्पन्न सम्मेलनको संयुक्त घोषणामा नाटो नेताहरूले मस्कोलाई प्रत्यक्ष सैन्य समर्थन प्रदान गरेर युक्रेन र रुसको युद्धलाई बढावा दिएको भन्दै उत्तर कोरियाको निन्दा गरेका थिए ।

प्योङयाङले मस्कोमा हतियार ढुवानी गरिरहेको आरोपलाई बारम्बार अस्वीकार गरेको छ । तर गत जुनमा आक्रमणको समयमा एकअर्कालाई सैन्य सहायतामा प्रदान गर्ने सम्झौतामा नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेका थिए ।

विदेश मन्त्रालयले नाटोको उक्त आरोप अस्विकार गर्दै कडा रुपले प्रतिकार गरेको प्योङयाङको कोरियन केन्द्रीय समाचार समितिले शनिबार जनाएको छ ।

मन्त्रालयको प्रवक्तालाई उदृत गर्दै समितिले उक्त घोषणाले “विश्वव्यापी स्तरमा नयाँ शीतयुद्ध र सैन्य द्वन्दलाई उक्साउने“ बताएको छ ।

सिमलताल दुर्घटनामा बेपत्ता बसका एक यात्रुको शव फेला

काठमाडौं । नारायणगढ/मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएका यात्रुमध्ये एक पुरुषको शव भेटिएको छ। भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा उनको शव भेटिएको हो।

चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमई बैँकको ऋषि पल साह नामको एटिएम कार्ड पनि भेटिएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ। उनको साथमा रहेको रासन कार्डको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ ।

शव भेटिएको स्थान बस खसेको भन्दा झण्डै ५० किलोमिटर तल भेटिएको ह‍ो।

भानुजयन्तीका अवसरमा साहित्यकारद्वय राई र ठकुरी सम्मानित

काठमाडौँ । सभामुख देवराज घिमिरेले दुई सय ११औँ भानुजयन्तीका अवसरमा दुईजना साहित्यकारलाई सम्मान गरेका छन् ।  


नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा प्रा डा नोवलकिशोर राई र माया ठकुरीलाई सम्मान गरिएको हो । नेपाली साहित्यमा विशिष्ट योगदान गरेबापत उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई बग्गीमा राखेर नगर परिक्रमा गराइको थियो ।


त्यसअघि प्रज्ञा–प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्त आर्चायको प्रतिमामा माल्यार्पण गरिएको थियो । 


भानुजयन्ती कै अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, नेपाल स्काउट र विभिन्न विद्यालयका विद्यार्थी, साहित्यकार, बुद्धिजीवीको सहभागितामा प्रज्ञा भवनबाट शोभायात्रा आयोजना गरिएको थियो । 


उक्त शोभायात्रा बागबजार–रत्नपार्क–शान्तिवाटिका–दरबार हाईस्कुलस्थित भानुभक्तकोप्रतिस्थल हुँदै पुनःप्रज्ञा भवन पुगेर सभामा परिणत भएको थियो ।

बालिकाहरूको किन छिटो हुन्छ महिनावारी ?

नयाँ अनुसन्धानले संयुक्त राज्य अमेरिकामा किशोरीहरूमा कम उमेरमै महिनावारी सुरु हुन थालेको देखाएको छ। दूषित वायुलाई त्यसका लागि जिम्मेवार ठानिएको छ। कैयौँ दशकदेखि वैज्ञानिकहरू अघिल्लो पुस्ताभन्दा कम उमेरमा बालिकाहरू किशोरी बनेको भन्दै चिन्तित हुँदै आएका छन्।

पहिलो पटक ‘रजोदर्शन’ भएपछि बालिकाहरूको स्तनको विकास हुने अनि किशोरावस्थामा देखिने परिवर्तन चाँडोचाँडो देखा पर्ने उनीहरू बताउँछन्। एक शताब्दीअघिका अमेरिकी किशोरीसँग तुलना गर्दा अहिलेका किशोरीमा झन्डै चार वर्ष चाँडै महिनावारी सुरु हुने आकलन गरिएको छ।

मे महिनामा प्रकाशित नयाँ तथ्याङ्कका अनुसार सन् १९५० देखि १९६९ मा जन्मिएका महिलामा १२.५ वर्षको उमेरमा महिनावारी हुने गरेको थियो। तर सन् २००० को दशकको प्रारम्भमा जन्मिएकाहरूको महिनावारी हुने उमेर औसतमा ११.९ वर्ष कायम भयो।

त्यही प्रवृत्ति संसारका अन्य देशमा पनि थियो। दक्षिण कोरियाका वैज्ञानिकहरूले समयअगावै किशोरावस्थामा पुगेको लक्षण देखिएका बालिकाबारे एउटा चिन्ताजनक तथ्याङ्क प्रस्तुत गरेका थिए। स्तनको विकास वा आठ वर्षको उमेरभन्दा अगावै रजस्वला हुने महिलाको सङ्ख्या सन् २००८ देखि सन् २०२० सम्ममा १६ गुनाले बढेको उनीहरूको भनाइ छ।

‘हामीले त्यसरी कम उमेरमै यौवन सुरु हुने अवस्था कमजोर सामाजिक र आर्थिक हैसियत भएका समूहहरू अनि जातीय अल्पसङ्ख्यक समूहहरूमा पाएका छौँ,’ एट्लान्टास्थित इमोरी यूनिभर्सिटीमा प्राध्यापन गर्ने अड्री ग्यास्किन भन्छिन्।’यसले दीर्घकालीन स्वास्थ्यमा महत्त्वपूर्ण असर पारिरहेको छ।’

प्रजनन स्वास्थ्यमा कस्तो असर

गास्किनजस्ता अनुसन्धानकर्ताहरू चाँडै किशोरावस्था सुरु हुँदा वयस्क उमेरमा दीर्घकालीन प्रभाव पर्न सक्ने चिन्ता व्यक्त गर्छन्। प्रारम्भिक तथ्याङ्कहरूले यसले प्रजनन गर्न सक्ने समयावधि घटाइदिने सङ्केत गरेका छन्। विशेष गरी चाँडै रजोनिवृत्ति भएका महिलामा उक्त अवधि कम हुन सक्ने पाइएको छ। चाँडै किशोरावस्था देखा परेका महिलालाई स्तन र डिम्बाशयको क्यान्सरदेखि मोटोपन र टाइप टू मधुमेह र मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम रहेको पाइएको थियो।

वैज्ञानिकहरूले यस्तो परिवर्तन हुनुको कारण खोजिरहेका छन्। तर बर्क्लीस्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्रा ब्रेन्डा एस्कनाजीका अनुसार ‘ईस्ट्रजन’जस्ता यौन होर्मोनसँग शरीरका कोशिकाहरू लामो समयसम्म सम्पर्कमा आउँदा ‘ट्यूमर’ बन्न सक्ने जोखिम पनि बढ्छ। किनभने होर्मोनले कोशिकाको वृद्धिलाई प्रेरित गर्छ।

‘कतिपयले यस्ता होर्मोनसँग लामो अवधि सम्पर्कमा रहँदा त्यसले प्रजनन अङ्गसँग सम्बन्धित क्यान्सरको जोखिम बढाउन सक्छ।’ त्यसपछि त्यसबाट विभिन्न खालका सामाजिक परिणाम पनि निम्तिन सक्छन्।

एस्कनाजी चाँडै किशोरावस्थामा प्रवेश गर्ने बालिकाहरूको चाँडै यौनिक क्रियाशीलता पनि प्रारम्भ हुन सक्ने बताउँछिन्। ‘संयुक्त राज्य अमेरिकामा एउटा भयावह अवस्था छ किनभने त्यहाँ गर्भपतन गैरकानुनी बनेको छ र गर्भनिरोधक साधनहरू पनि सहजै उपलब्ध छैनन्,’ उनले भनिन्। तर किन बालिकाहरूको हुने विकासको गति यसरी ह्वात्तै बढेको होला त?

मोटोपन र वायुप्रदूषण

शरीरमा हुने दुई मुख्य सञ्चारसञ्जालले किशोरावस्था आरम्भ गराउँछन्। ती सञ्जाल ‘हाइपोथल्यामिक-पिट्यूइटरी-अड्रीनल’ (एचपीए) एक्सिस र ‘हाइपोथल्यामिक-पिट्यूइटरी-गोन्याडल’ (एचपीजी) एक्सिस हुन्। ती दुईले मस्तिष्कको ‘हाइपोथ्यालमस’ भनिने भाग र होर्मोन उत्पादन गर्ने विभिन्न ग्रन्थिलाई जोड्छन्। हाइपोथ्यालमसले भोकजस्ता शारीरिक क्रिया र तापक्रम नियन्त्रणजस्ता गतिविधिलाई नियमन गर्छ।

गास्किन्सका अनुसार १० देखि २० वर्षअघिसम्म पनि वैज्ञानिकहरूले चाँडै किशोरावस्था देखा पर्नुमा बाल्यकालमा हुने मोटोपन दोषी रहेको ठान्ने गरेका थिए। चिल्लो उत्पादन गर्ने ‘एडिपोकाइन’ भनिने कोशिकाहरूले उत्पादन गर्ने प्रोटीनहरूले एचपीए एक्सिस र एचपीजी एक्सिसलाई उत्तेजित पार्ने ठानिन्थ्यो। ‘हालै मात्र विज्ञहरूले ‘होइन, त्यसले सबै कुरा भन्दैन। अरू पनि कारणहरू हुनुपर्छ’ भन्न थालेका छन्।’

बरु विगत तीन वर्षका कैयौँ अध्ययनहरूले अन्य कारण र त्यसमा पनि अझ आश्चर्यजनक ढङ्गले वायुप्रदूषणलाई प्रमुख कारण भएको औँल्याएका छन्।

अधिकांश त्यस्ता अनुसन्धानहरू दक्षिण कोरियाका वैज्ञानिकहरूले गरेका छन्। दक्षिण कोरियाका सोल, बुसान र इन्चोन विश्वका सर्वाधिक १०० प्रदूषित सहरमध्ये पर्ने ‘आईक्यूएअर इन्डेक्स’ले जनाएको छ। हालै सोलस्थित इह्वा विमिन्स यूनिभर्सिटीले प्रकाशित गरेको एउटा समीक्षात्मक वैज्ञानिक आलेखमा प्रदूषण गराउने विभिन्न तत्त्वहरूसँग सम्पर्क हुनु र अपरिपक्व उमेरमै किशोरावस्था आरम्भ भएको स्थिति बारम्बार देखा परेको औँल्याइएको छ।

सल्फर डाइअक्साइड, नाइट्रोन डाइअक्साइड, कार्बन मनोक्साइड र ओजोनजस्ता विषालु ग्यास यसका लागि मुख्य रूपमा जिम्मेवार छन्। यी सबै ग्यास सवारीसाधनबाट वा उद्योगबाट निस्किने फोहोरबाट उत्सर्जित हुन्छन्।

सन् २०२२ मा पोलन्डका एक वैज्ञानिकले १,२५७ महिलाबाट सङ्कलित तथ्याङ्कका आधारमा गरेको अध्ययनले नाइट्रोजन ग्याससँग बढी सम्पर्क रहनु र ११ वर्षभन्दा अघिको उमेरमा रजस्वला हुनुबीच सम्बन्ध रहेको पाएको थियो। कोइलाबाट सञ्चालित उद्योगहरूका कारण पोलन्डमा वायुको गुणस्तर कमजोर रहेको ठानिन्छ।

सम्भवतः त्योभन्दा पनि बढी चिन्ताको विषय ‘पार्टिक्युलेट म्याटर’ (पीएम) भनिने आँखाले देख्न नसकिने सूक्ष्मकण हो। भौतिक संरचना निर्माणस्थल, डढेलो, ऊर्जा उत्पादन केन्द्र, सवारीसाधनका इन्जिन र धुलाम्मे कच्ची बाटोबाट यस्ता कणहरू निस्किन्छन्।

अक्टोबर २०२३ मा गास्किन्स र उनका सहकर्मीहरूले आमाको कोख र बाल्यकालमा धेरै परिमाणमा पीएम२.५ र पीएम१० को सम्पर्कमा पुगेका किशोरीहरूमा कम उमेरमा नै रजस्वला हुने सम्भावना रहेको देखाएका थिए।

‘पीएम २.५ का कणहरू रक्तप्रवाहमा सजिलै प्रवेश गर्छन्,’ गास्किन्सले भनिन्, ‘तपाईँले सास फेर्दा ती कण फोक्सोमा प्रवेश गर्छन्।’ ‘तर ठूला कणहरूजस्तो गरेर ती छानिँदैनन् र शरीरका विभिन्न अङ्गमा पुग्छन्। हामीले केही पीएम२.५ कणहरू सालनाल, भ्रूणका तन्तुहरू, डिम्बाशय सबैतिर थुप्रिएको देखेका छौँ।’

घरभित्र सङ्कलन गरिएका वायुका नमुनामा फेला परेका कणहरूको विश्लेषण गरिएको अध्ययनमा ती कणमा विभिन्न होर्मोनसँग अन्तरक्रिया गर्न सक्ने क्षमता भएको देखिएको थियो।

मुख्यतः शरीरको विकासमा भूमिका खेल्ने एन्ड्रजन र ईस्ट्रजनमा तिनले अन्तरक्रिया गर्ने र किशोरावस्था आरम्भ गराउन ‘चेन रियाक्शन’ अर्थात् शृङ्खलाबद्ध प्रतिक्रिया गराउने ठानिन्छ। अपरिपक्व समयमै त्यसरी शारीरिक विकास हुनुमा अन्य कारण पनि हुन सक्छन्।

पर्यावरणमा पुगेका घातक रासायनिक तत्त्वहरू कसरी शरीरमा प्रवेश गर्छन् र होर्मोनमा परिवर्तन हुने गरी तिनले दूरगामी प्रभाव पार्छन् भन्ने कुराको एउटा उदाहरण पीएम२.५ र अरू प्रदूषकहरूसँग सम्बन्ध भएको प्रमाण रहेको गास्किन्स बताउँछिन्।

‘किशोरावस्थामा पुग्नुअघिका बालिकाहरू रोचक समूह हुन्। व्यक्तिगत स्याहारका सामग्रीहरूले पनि रासायनिक तत्त्वहरूसँगको सम्पर्कका कारण होर्मोनको प्रक्रियालाई अवरुद्ध पार्छन्,’ गास्किन्स भन्छिन्। ‘अनि कैयौँ कम्पनीहरू सक्रिय रूपमा आफ्ना उत्पादनको बिक्री बढाउन उक्त उमेर समूहलाई लक्षित गर्दै छन्।’

एस्कनाजीले बदलिँदो विश्व र यसमा आएका परिवर्तनले बालबालिकाको विकासलाई कसरी प्रभावित गरेका छन् भन्नेबारे अझै भन्न नसकिने बताए। हामीलाई ‘माइक्रोप्लास्टिक’ र जलवायु परिवर्तनजस्ता विषयसँगको जटिल सम्बन्धबारे पनि धेरै कुरा थाहा छैन।

‘हामीले ठूलो समस्याको सानो अंश मात्रै देखे जस्तो मलाई लाग्छ,’ उनले भने। ‘अझ तातो जलवायुले मासिक धर्मलाई कसरी असर गर्छ वा किशोरीहरू चाँडै हुर्किनुमा सामाजिक कारणहरूले कस्तो भूमिका खेलेका हुन्छन् भन्ने हामीलाई थाहा छैन।’  ‘तर यो प्रवृत्ति वास्तविक हो र पर्यावरणमा हुने रासायनिक तत्त्वहरू, मोटोपन र मनोसामाजिक विषयजस्ता सबै कुरा जोडिएर आउँदा तिनले संयुक्त रूपमा पहिलो पटक रजोदर्शन हुने उमेर घटाउन भूमिका निर्वाह गरेका हुन सक्छन्।’

डेभिड कक्स
बीबीसी

भू–क्षय रोक्न गण्डकीमा १६६ योजना निर्माण

म्याग्दी ।  म्याग्दीसहित गण्डकी प्रदेशका पाँच जिल्ला कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत आर्थिक वर्ष २०८०/८१ मा एक सय ६६ योजना निर्माण गरिएका छन् । 

म्याग्दीमा १९, बागलुङमा ४७, मुस्ताङमा नौ, पर्वतमा ४५ र स्याङ्जामा ५३ वटा नदी, बाढी र पहिरो नियन्त्रणसम्बन्धी योजना निर्माण भएको कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिए ।

“पुँजीगत शीर्षकमा एक सय ७३ वटा योजनाका लागि रु आठ करोड ९१ लाख ५० हजार बजेट विनियोजन भएकामा सातवटाबाहेक सबै कार्यान्वयन भए”, उनले भने । ती आयोजनाबाट तीन हजार परिवार लाभान्वित भएका छन् ।

      उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन गर्न  आठ करोड २७ लाख सात हजार खर्च भएको कार्यालय प्रमुख पौडेलले बताए । पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा ग्याबियन पर्खाल, तटबन्ध निर्माण गर्ने, भलबाढी तर्काउने नाली निर्माण, खोल्सी संरक्षण, पोखरी निर्माण र मर्मतसम्बन्धी काम भएको छ ।

समग्रमा ९५ प्रतिशत भौतिक र ८८ दशमलव ९४ प्रतिशत वित्तीय प्रगति भएको उनले जानकारी दिए । चौध वटा पानीका मुहान संरक्षण र १३ वटा पोखरी निर्माण तथा मर्मतसम्भार गरिएका छन् । कार्यालयअन्तर्गतका नर्सरीमा ६५ हजार घाँसका बिरुवा उत्पादन गरी कृषकलाई वितरण गरिएको छ । 

म्याग्दीको मालिका गाउँपालिकामा दरबाङ, फूलबारी, खोप्टी, चिउरीबोट, मङ्गलाको पीपलबोट, ताराखेत, थापाचौर, सिद्धथान, रघुगङ्गाको दर्मीजा तातोपानी कुण्ड, सिजलगाउँ बाहुनबारी, धौलागिरि गाउँपालिकाको पन्थोक भूमेथान, बेनी नगरपालिकाको चिप्लेटी बस्ती र ढोल्थान दरवार संरक्षण योजना निर्माण भएको कार्यालयका सवइञ्जिनियर देवान विकले बताए ।  

यसैगरी बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको मुहान संरक्षण, रघुगङ्गा–२ बुझबुझेमा पोखरी निर्माण र बेनपा–२ खबरामा सिम्ले पोखरी मर्मत भएको छ । आगामी आर्थिक वर्षका लागि म्याग्दीका १६ वटा योजनाका लागि  ७९ हजार बजेट विनियोजन भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

आर्थिक वर्ष कूल  १२ करोड ९० लाख बजेट प्राप्त गरेको कार्यालयमार्फत कार्यान्वयन हुने पर्वतमा ५१, बागलुङमा ४६, स्याङ्जामा ३८ र मुस्ताङमा आठ योजना छनोट भएका छन् । 

मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ । शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाबी पेस भइसकेको छ ।

राष्ट्रपति पौडेलले आइतबारसम्मको समय दिएर संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री दाबी गर्न आह्वान गरेपनि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले शुक्रबार बेलुका नै दाबी पेस गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछन् । आइतबारै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी रहेकाले कांग्रेसले आज मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको हो ।

सिरहामा सर्पले डस्दा महिलाको मृत्यु

सिरहा । सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो ।

चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो । उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई चाहर्वा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि कर्जन्हा अस्पताल लगिएको थियो ।

त्रिशूलीमा बेपत्ता बसको वाटर ड्रोनमार्फत खोजी गरिँदै

काठमाडौं । भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता बसको ड्रोनमार्फत खोजिने भएको छ । पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजीकार्य सुरु भएको छ ।

र्‍याफ्टबोटमा जडान गरेर पानीभित्रका बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नौ गोताखोरसहित २५ जना र १७ नम्बर गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ३५ जनाको सुरक्षा फौज खोजीकार्यमा परिचालित भएको छ ।

नेपाली सेना र नेपाल प्रहरी पनि खोजीकार्यमा परिचालित रहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको वाग्मती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।

३२ सिटको जादु अंकले किन खायो हावा ?

ऋषि कट्टेल ।
आज मलाई दाहालको ३२ सिटको जादु अंक र आफूलाई कसैले हटाउन नसक्ने अभिव्यक्तिले हावा खानलागेको देखेपछि २०६३को जनआन्दोलनको वेला ज्ञानेन्द्र र उनका मतियारहरुले गरेको तर्कको सम्झना आयो । ज्ञानेन्द्र हुकुमी शासन चलाउँदै थिए । हामी जेलमा थियौं । माओवादी युद्धमा थियो । युद्धविराम गरेर शान्ति वार्ताको वातावरण बनाउँदै थियो । अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु प्रारम्भमा विभाजित थिए । युरोपियन युनियन र भारत माओवादीसँग वार्ता गर्ने र राजाको हुकुमी शासनको विरोधी थिए । अमेरिका भने माओवादीलाई राजासँग सातदल मिलेर सैन्य तागतका साथ समाप्त गर्ने पक्षमा थियो । चीन पनि राजाको विरुद्ध थिएन । नेपालको राजनीतिक दलहरु भित्र पनि लोकतन्त्रको लागि राजा भन्दा माओवादी खतरनाक छ भन्ने जनमत बलियै थियो ।

आन्दोलन धिमा गतिमा चलिरहेको थियो । अमेरिकी मन्त्री उसको मिसन लिएर सातदललाई खास गरि गिरिजाप्रसादलाई सम्झाउन नेपाल आयो । तर गिरिजाप्रसादले राजाको निरंकुशता स्वीकार नगर्न भन्दै अमेरिकालाई यस्तो गलतबाटो अबलम्वन नगर्न चेतावनी नै दिए ।र्

ज्ञानेन्द्र चारकुरामा ढुक्क थिए । त्याबेला भारतमा विजेपी सरकार थियो । यो सरकार राजाको लागि सहज थियो । अमेरिका माओवादीलाई आतंककारी घोषणा गरेर दमनको पक्षमा थियो । देशका राजनीतिक दलहरु बदनाम थिए । त्यसैले नेपाली जनमत पनि आफ्नै पक्षमा छ भन्नेमा उनी ढुक्क थिए । र चौथो कुरा सातदल र माओवादीबीच यति धेरै शत्रुता छ उनीहरु आफ्नो विरुद्ध एक ठाउँमा आउनै सक्दैनन् । त्यसकारण उनी सातदल र माओवादी दुवैलाई दमन गरेर शासन गरिरहेका थिए ।

त्यसैबेला भारतमा अर्लिइलेक्सन भयो । भाजपा हार्यो । कांग्रेस वाम सरकारमा आए जो राजाको निरंकुशतन्त्रको विरुद्धमा थिए । इयू र भारत मिलिसकेपछि अमेरिका समेत त्यही लाइनमा आउन बाध्य भयो । मालिकसँगै वार्ता गर्छु भन्दै हिँडेको माओवादीलाई अब भारतमा बसेर युद्ध चलाइराख्ने अवस्था रहेन । यस्तो परिस्थितिले सातदल र माओवादीबीच सहकार्य भयो । जुन आन्दोलनले निरंकुश राजतन्त्र मात्र फालेन राजतन्त्रनै समाप्त पार्यो ।

यो प्रसंग यसमानेमा उठाइएको हो की दहाल पनि ज्ञानेन्द्रकै सिको सिकेर ३२ सिटे जादुको गफ लगाइरहेका थिए । उनले पनि सायद त्यही अनुमान लगाएका थिए कि भारतमा बलियो मोदी सरकार छ । आफूले मोदीसँग दलीय सम्बन्ध नै स्थापित गरेकोले उसको दृढ समर्थन रहनेछ । कांग्रेस एमालेलाई भ्रष्टाचारको डण्डा चलाएर तह लगाउने जसरी ज्ञानेन्द्रले शाही आयो बनाएर गिरिजाहरुलाई तह लगाउने सोचेका थिए । अनि कांग्रेस एमाले मिल्नै सक्दैनन् । यही आडमा उथलपुथल ल्याएर सरकारमा पाँचै वर्ष वस्ने उनले फरमान जारी गरेका थिए ।

उनको फरमान फेल खायो । मोदी आफैं कमजोर भए । उसले नेपालमा कांग्रेसले जस्तो हस्तक्षेपकारी भूमिका निभाउन सक्दैन । मोदीसँगको सम्बन्धले चिढिएको कांग्रेस शक्तिमा आयो । आफैंले पालेर सत्तामा पुर्याएको पात्रले आफ्नो विरोधी भाजपासँग गरेको गठजोडको बदला लिने ठाउँमा पुग्यो । हिन्दूवादी मोदीसँगको गठजोड पश्चिमाहरुलाई पाच्य भएन । माओवादीलाई आतंकवादीको सूचीबाट हटाइनसकेको अमेरिका सक्रिय बन्यो । नेपाली सत्तामा आफ्नो प्रभुत्व बनाउने अवसरको प्रयोग गर्यो र काग्रेस एमाले गठवन्धन बन्यो । दाहालको ३२ सिटे जादुले हावा खायो । अब दाहाललाई ज्ञानेन्द्रको बाटोमा पुर्याउँछन् वा संसदीय क्षेत्रमा एमालेलाई र संसदवाद विरुद्ध संघर्ष गरिरहेका क्रान्तिकारीहरुलाई काउन्टर दिन पालिराख्छन् त्यो भने हेर्न बाँकी नै छ ।

प्रधानमन्त्रीमा ओलीको दाबी पेस

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै शुक्रबार राति दाबी पेस गरेका हुन् ।

प्रधानमन्त्रीमा दाबी पेस गर्न ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए । ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो ।

संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

ओलीलाई प्रधानमन्त्री बनाउने दाबी पेस गर्न कांग्रेस र एमाले शीतलनिवास पुग्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै नेकपा एमाले र नेपाली कांग्रेस बहुमतको दाबी पेस गर्न अहिले शीतलनिवास जाँदै छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै बहुमतको दाबी पेस गर्न लागिएको एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिए । राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि दाबी पेस गर्ने समय दिएका छन् । उनले संविधानको धारा ७६ (२) अनुरुप दाबी पेसका लागि आह्वान गरेका छन् ।

राष्ट्रपतिद्वारा धारा ७६ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् ।

 कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।

कुलबहादुरलाई राति घरमा नबस्न छिमेकीले सल्लाह दिएका थिए

कास्की । कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राति देवर कुलबहादुरलाई भनेकी थिइन्,‘आज हामी सुत्नु हुँदैन । झ्याल ढोका खुला राखेर बस्नुपर्दछ ,पहिरो आयो भने भागौँला ।’

सासुआमा ८५ वर्षीया लक्षिमा राधिकाको घरमा खाना खाएर सुत्न देवरको घर गएकी थिइन्। साँझ छोरीज्वाइँ आएकाले राधिका पनि घरसँगै जोडिएको देवरको घर गइन् ।

सासुआमा ८५ वर्षीया लक्षिमा पिँढीमा बसेका थिए । अन्य सबै जना घरमा एउटै कोठामा थिए । राति १० बजेतिर राधिका देवरको घरबाट फर्किएको १२ मिनेट पनि भएको थिएन । उनी र श्रीमान् सुवर्ण कोठामा बसेर मोबाइल फोन चलाउँदै थिए । भूकम्प जस्तो भयो । दुवै जना डरले कोठाबाट बाहिर निस्किए ।

राधिका डरले पल्लो घरतिर भागिन् । श्रीमान् सुवर्ण भाइको परिवारलाई बचाउँछु भनेर जाँदा टिनले छाएको ढुङ्गा माटोले बनेको एकतले घर पहिराले पुरिसकेको थियो ।

पहिरोले कुलबहादुर सहित आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना, २० वर्षीया छोरी प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियारलाई एकै ठाउँमा पुरेको थिए । पहिरोमा परेर उद्धारका लागि पुगेका छिमेकी राधिका परियारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुलबहादुरका १७ वर्षीय छोरा पवन भने हुत्तिएर बाँच्न सफल भए । पवनलाई छिमेकीले उद्धार गरी अस्पताल लगेका थिए । घरमाथि अघिल्लो दिन नै सानो पहिरो खसेको थियो । जमिन धेरै भिरालो नभएकाले थप पहिरो नजाला भन्ने अनुमान गरे पनि पानी निरन्तर परिरहेकाले त्रासले रातभर नसुत्ने योजनामा दुवै परिवार थिए ।

‘अस्ति सानो पहिरो खसेको थियो । अब तल आउँदैन होला भन्ने भयो । आयो भने भाग्ने भनेर बसेका पनि थियौँ ।’ राधिकाले भनिन् उनकाअनुसार कुलबहादुरका ज्वाइँ र कान्छी छोरी राति छाता ओढेर घर माथितिर हेर्न गएका थिए । माथि सामान्य रहेकाले चिन्ता नगर्न ज्वाइँले भनेपछि उनीहरु आफ्नो घर फर्किएका थिए ।

‘माथि हेरेर आएपछि ज्वाइँले भगवानले हाम्रो रक्षा गर्नुहुन्छ । पहिरो आउँदैन भन्नुभयो । तर मैले लापरबाही गर्नुहुँदैन, आज सुत्नु हुँदैन भनेर हिँडेको केही समयमै गुर्र घरमाथि पहिरो खस्यो ।’ उनले भनिन् । कुलबहादुरलाई पहिराको त्रास भए पनि घरमा पाहुना आएकाले घर छाड्न नमानेको उनले बताइन् ।

पहिराले राधिकाको घरको एक कोठामा पनि क्षति पुगेको छ । अर्को कोठामा बसेकाले उनी पहिराबाट जोगिएकी हुन् । राधिकाको सुत्ने कोठा पहिराले पुरिएको हो । गए राति आफू अर्को कोठामा गएर बसेकाले बाँच्न सफल भएको राधिकाले बताइन् । पहिराबाट आफू जोगिए पनि देवरको पूरै परिवार सखाप भएकाले उनी विक्षिप्त छिन् ।

‘जापान भएकी छोरीले अब कसरी आफूलाई सम्हाल्ली । कसरी खबर गर्नु, कस्तो दिन भोग्नु पर्‍यो ।’ राधिकाले आँखाबाट आँसु झार्दै भनिन् ।

स्थानीयका अनुसार कुलबहादुरलाई पहिराको जोखिम रहेकाले घरमा नबस्न सल्लाह दिइएको थियो । छिमेकीहरूले वैकल्पिक व्यवस्था गर्न भनेका थिए । अर्को विकल्प नभएकाले कुलबहादुरको परिवारले घर छाडेन । पहिराको त्रासमा भने बसेको थियो ।

पोखरा–१९ का वडा सदस्य विकास आचार्यले बिहीबार साँझ बजेतिर कुलबहादुरलाई खाना घरमै खाए पनि बास नबस्न आग्रह गरेको बताए ।

उनले भने ,’पानी परिरहेको छ, पहिराको जोखिम छ आजलाई खाना पकाएर खाए पनि रात नबस्नु हामी अर्को व्यवस्था गर्छौँ भनेर निस्केको थिएँ, त्यसै गर्नुपर्ला भन्नुभएको पनि थियो । राति ठूलो आवाज सुनेर बाहिर निस्कँदा अरूलाई पहिराले पुरिसकेको रहेछ । छोरालाई मात्र जोगाउन सफल भयौँ ।’