`

लुम्बिनी प्रदेशको खर्च ६६ प्रतिशत मात्र

भैरहवा । चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६ दशमलव १४ प्रतिशत खर्च गरेको छ। प्रदेश सरकारले चालु आवमा चालुतर्फ रु १७ अर्ब २२ करोड २७ लाख ९९ हजार विनियोजन गरेकामा रु १० अर्ब ७४ करोड २७ लाख ९३ हजार तीन सय ५५ खर्च भएको छ।

पुँजीगततर्फ रु २३ अर्ब २५ करोड ६९ लाख एक हजार विनियोजन भएकामा रु १६ अर्ब तीन करोड सात लाख १७ हजार आठ सय ४७ खर्च भएको प्रदेश कोष नियन्त्रक दीपक ज्ञवालीले जानकारी दिए। प्रदेश सरकारले आव २०८०/८१ मा रु ४० अर्ब ४७ करोड ९७ लाख विनियोजन गरेको थियो।

विनियोजन भएकोमध्ये ६६ दशमलव १४ प्रतिशत अर्थात रु २६ करोड ७७ करोड ३५ लाख ११ हजार दुई सय तीन मात्र खर्च गरेको कोष नियन्त्रक ज्ञवालीले बताए।

उनका अनुसार चालु आवमा चालु खर्चभन्दा पुँजीगत खर्च बढी भएको छ। सबैभन्दा बढी खर्च खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले ७७ दशमलव ४० प्रतिशत गरेको छभने सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १६ दशमलव ६९ प्रतिशत मात्र खर्च गरेको छ।

पुँजीगत खर्चतर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नौ दशमलव शून्य नौ प्रतिशत मात्र खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार लुम्बिनी प्रदेशको प्रदेशसभाका लागि रु ३३ करोड ८८ लाख ३८ हजार बजेट रहेकामा सोको ६६ दशमलव ३४ प्रतिशत मात्र खर्च भएको छ।

प्रदेश लोक सेवा आयोगको रु १० करोड बजेटको ६९ दशमलव ५३ प्रतिशत, अर्थ मन्त्रालयको रु छ करोड ५१ लाख १५ हजार सात सय ३६ बजेटमध्ये ५० प्रतिशत खर्च गरेका कोष नियन्त्रक ज्ञवालीले जानकारी दिए।

उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको रु ७२ करोड पाँच लाख ५८ हजार नौ सय ३१ मध्ये ४७ दशमलव १० प्रतिशत, कृषि तथा भूमि व्यवस्था मन्त्रालयको रु एक अर्ब २२ करोड ९१ लाख ८१ हजार तीन सय १४ मध्ये ६२ दशमलव ७४ प्रतिशत खर्च भएको देखिन्छ।

गृह मन्त्रालयले विनियोजित रकममध्ये ६२ दशमलव १० प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ६२ दशमलव ७९ प्रतिशत, भौतिक पूर्वाधार मन्त्रालयले ७० दशमलव ०६ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ५४ दशमलव ३९ प्रतिशत खर्च गरेका छन्।

‘स्वास्थ्य मन्त्रालयले ७३ दशमलव ४९ प्रतिशत, प्रदेश योजना आयोगले ४१ दशमलव ९७ प्रतिशत खर्च गरेका छन्। विविधमा चार लाख ४० हजार छुट्याइएकोमा सोको शून्य दशमलव ०३ प्रतिशत मात्र खर्च भएको तथ्यांकबाट देखिन्छ,’ उनले भने।

स्थानीय तह वित्त हस्तान्तरणतर्फ रु तीन अर्ब ३७ करोड १० लाख ५६ हजार द्ुई सय ४२ रुपैया बजेटमध्ये ९३ दशमलव ९१ प्रतिशत खर्च भएको छ। बजेट निर्माण अनुसार स्रोत प्राप्ति नहँुदा कठिनाइ भएको प्रदेश लेखा नियन्त्रक ज्ञवालीको भनाइ छ।

‘सञ्चित कोषलाई ऋणात्मक गर्न नमिल्ने भएकाले हामीले असारको अन्तिमतिर आएर अनिवार्य दायित्वका तलब भत्ता, संघीय सशर्त खर्च बाहेकको अन्य रकम रोक्नुपर्ने अवस्था आएको छ,’ ज्ञवालीले भने।

उनका अनुसार यो वर्षको करिब रु दुई अर्बको दायित्व भुक्तानी अर्को आर्थिक वर्षका लागि सरेको छ।

संघीय सरकारको बजेटमा करिब ९० प्रतिशत भर पर्दा प्रदेश सरकार ऋणात्मक अवस्थामा गएको प्रदेश कोष नियन्त्रक ज्ञवालीको भनाइ छ। समानीकरण अनुदान उपलब्ध गराउने भनिएको रकममध्ये ७४ दशमलव ११ प्रतिशत मात्र उपलब्ध गराइएको थियो। रु आठ अर्ब १४ करोड समानीकरण अनुदानअन्तर्गत प्राप्त हुनुपर्नेमा रु छ अर्ब तीन करोड मात्र आएको थियो।

‘करिब रु दुई अर्ब १० करोड बराबरको समानीकरण अनुदान बापतको रकम उपलब्ध भएन,’ कोष नियन्त्रक ज्ञवालीले भने, ‘अन्तिम किस्ता नदिएकाले सो बराबरको रकम चालु आर्थिक वर्षको भुक्तानी रोक्नुपर्ने अवस्था आएको हो।’

कर्णाली राजमार्ग पुनः अवरुद्ध

मुगु । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूल्ठूला ढुङ्गा झरेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

डिभिजन कार्यालयका जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार अहिले सडक खुलाउने काम भइरहेको छ । सडक अवरुद्ध भएपछि यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

यसअघि पनि कर्णाली राजमार्ग पहिरोका कारण चार दिन अवरुद्ध भएको थियो । 

नवनियुक्त उपप्रधानमन्त्री सिंह र पौडेलद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंह र उप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।

प्रधानमन्त्रीद्वारा २२ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री,  दुई उपप्रधानमन्त्री र १९ मन्त्रीलाई  पद तथा गोपनीयताको शपथ गराएका छन् ।

नवनियुक्त मन्त्रीहरुले सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री डा आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि सोही समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसपछि उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ लिएका थिए । 

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, डा बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् ।

ओलीलाई आइतबार राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।

२८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए ।

त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका थिए ।

प्रदीप पौडेल स्वास्थ्यमन्त्री बन्ने

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल स्वास्थ्यमन्त्री बन्ने भएका छन् । कांग्रेसको शेखर-गगन समूहले स्वास्थ्यमन्त्रीमा पौडेलको नाम सिफारिस गरेको हो ।

त्यस्तै पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीको नाम सिफारिस भएको छ । त्यस्तै शेखर-गगन समूहबाट यसअघि नै तेजुलाल चौधरीको नाम सफारिस भइसकेको छ ।

मिसन २०२६ राखेपको मुख्य कार्यक्रम हो : सदस्य सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण राखेपको मुख्य कार्यक्रम भएको बताएका छन् ।

राखेपले जापानमा हुने २० औं एसियाली खेलकुदलाई लक्षित गरी सञ्चालन गरेको मिसन– २०२६ अन्तर्गत आ.व. २०८०/०८१ को राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सम्पन्न भएको जानकारी गराउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

‘मिसन– २०२६ परिषद्को विभिन्न कार्यक्रम मध्येको मुख्य कार्यक्रम हो । अर्को आ.व. मा पनि यसलाई निरन्तरता दिइने छ । चाँडै प्रशिक्षण सुरु गर्छौं । त्यसै यसलाई म समापन भन्दिन । यो समिक्षा कार्यक्रम हो ।’ सदस्य–सचिव घिसिङले भने– ‘मैले सदस्य–सचिवको पदभार ग्रहण गरेकै दिन दुई वटा फाइल सदर गरेको थियो । पहिलो खेलकुद विमालेख कार्यन्वयनमा ल्याउने फाइल थियो । दोश्रो राष्ट्रिय टिमको तयारी नियमित र दीर्घायु रुपमा अगाडि बढाउनु पर्छ भन्ने थियो । यी दुवै योजना पूरा भएको छ ।’

सदस्य–सचिव घिसिङले राष्ट्रिय टिम तयारीका लागि प्रस्ताव गरेको भन्दा बजेट कम आएपनि चालू आ.व. को भन्दा बढी बजेट आएको जानकारी गराए ।

‘प्रशिक्षणका लागि बजेट कम भएपनि चालू आ.व. को तुलनामा यो पटक बढी बजेट विनियोजन भएको छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा फिजिकल फिट्नेस सेन्टर बनाउन यसै हप्तामा टेन्डर आह्वान हुँदैछ । यसका लागि ७ करोड बजेट विनियोजन भएको छ । यो मिसन– २०२६ कै लागि हो । त्यसैगरी वैज्ञानिक प्रशिक्षणलाई ध्यानमा राखी स्पोर्ट्स साइन्स ल्याबका लागि सामाग्री खरिद गर्न ४ करोड बजेट विनियोजन भएको छ । यो पनि मिसन– २०२६ कै लागि हो । अन्य शीर्षकबाट राष्ट्रिय टिम तयारीका लागि बजेट व्यवस्थापन गर्न सकिन्छ ।’

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सबै खेलाडी, प्रशिक्षक र संघका पदाधिकारीले २० औं एसियाली खेलकुदमा पदक नै अन्तिम लक्ष्य हो भनी अगाडि बढ्नु पर्ने बताए ।

राखेपले २०८० साल माघ १५ देखि मिसन– २०२६ अन्तर्गत पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङलाई समावेश गरी राष्ट्रिय टिमको विशेष प्रशिक्षण सुरु गरेको थियो । दोश्रो चरणमा २०८१ साल जेठ ६ गतेदेखि महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स थप्दै खेल संख्या १० पुर्याइएको थियो । जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन– २०२६ को सुरुआत गरिएको हो ।

नेपाली खेलकुदको इतिहासमा कुनैपनि एसियाली खेलकुद सम्पन्न भएको लगत्तै आगामी संस्करणका लागि यति लामो समयको तयारी सुरु गरिएको पहिलो पटक हो ।

कार्यक्रममा राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, राखेपका सदस्य पेमा डोल्मा लामा, प्रकाशकुमार कुसारी, विना श्रेष्ठ, अञ्जना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, विशेष प्रशिक्षणमा रहेका खेलका राष्ट्रिय संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनालाई

काठमाडौं । कोपा–अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा कोलम्बियालाइ १–० गोलले हराउदै अर्जन्टिनाले उपाधि जितेको हो ।

अमेरिकाको मियामीस्थित होर्ड रक स्टेडियममा खेलको ११२औं मिनेटमा अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले गोल गर्दै अर्जेन्टिनालाई उपाधी दिलाएका हुन् ।

खेल हेर्न टिकट नपाएका दर्शकको होहल्लाका कारण खेल निर्धारित समयभन्दा एक घण्टा १५ मिनेट ढिलो सुरु भएको थियो ।

६८औं मिनेटमा लिओनल मेसी चोटका कारण मैदानबाट बाहिरिएका थिए । १९९४ पछि कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले लगातार तीन उपाधि जितेको हो । २०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि समेत जितेको थियो ।

फाइनलमा गोल गर्ने मार्टिनेजले प्रतियोगिता अवधिभर पाँच गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बनेका छन् ।

कांंग्रेसबाट को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ । नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । कांग्रेसले प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्री बनाउने भएको छ ।

कांग्रेसका प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालय, आरजु राणा परराष्ट्रमन्त्री, दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् । केही मन्त्रीकाबारेमा भने कांग्रेसमा छलफल चलिरहेको छ ।

याङ्ग्री र इन्द्रावतीमा आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

सिन्धुपाल्चोक । याङ्ग्री तथा इन्द्रावती नदीमा गएराति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्याएको छ ।

सात दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पुर्याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । साथै खाल्डेखोलादेखि तिपेनीसम्म सडकसमेत अवरुद्ध भएको छ ।

यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनसमेत चल्न नपाउँदा बिरामीसमेत मारमा परेका उनले बताए । त्यस्तै चिन्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्ग्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताए । याङ्ग्री तथा इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ ।

चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ ।

मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको ‘बेलिबृज’ पनि जोखिममा परेको छ । त्यस्तै मेलम्चीमा नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल समेत बाढीको जोखिममा बताइएको छ । यसैगरी अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोलामा रहेको ‘बेलिबृज’ बाढीले बगाएको छ ।

सिमलताल पहिरोः थप दुई शवको पहिचान

चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार आइतबार साँझ भेटिएका ती शवको अहिले पहिचान खुलेको हो ।

सनाखत हुनेमा भरतपुर –२२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपत छन् । ती भेटिएका शवमध्ये सात वटाको सनाखत भएको छ भने अन्य चार शवको सनाखत हुन बाँकी रहेको छ ।

आइतबार पहिचान खुलेकामा भारतको विहार बेतिया जिल्ला पश्चिम सम्पारण–२२ का ४० वर्षीय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगरपालिका–१ का २२ वर्षीय विकाश परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको विहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह थिए ।

यही असार २८ गते बिहान ३ः३० बजेको समयमा नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए ।

ती बसमा सवार यात्रुको पहिचान शव भेटिने क्रम जारी रहेको प्रहरी प्रमुख रिमालले बताउनुभयो । घटनास्थल र यसका आसपासमा बस र यात्रुको खोजी जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी जारी राखेका छन् ।

एमालेले लगायो मन्त्रीको टुंगो

काठमाडौं । नेकपा एमालेले मन्त्रीको टुंगो लगाएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

उपमहासचिव पृथ्वीसुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि मन्त्री, मानवीर राई रक्षा मन्त्री, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री, विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि, बलराम अधिकारी अधिकारी भूमि व्यवस्था र दामोदर भण्डारी उद्योग मन्त्री बन्नेछन् । आइतबार प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।

नवनियुक्त प्रधानमन्त्री ओलीले गर्नुपर्ने सात काम

डा. गोविन्दशरण उपाध्याय ।
ओलीजी, चौथोपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ, तपाईंको लागि यो पद र काम नौला छैनन् । जनताले नेतासँग सुशासनको आशा गर्न छाडेका छन् । साथै, कुनै पनि भ्रष्ट्राचारजन्य अभियोग र अभियुक्तहरू दण्डित हुने छैनन्, यो तत्थ्य पनि जनताले बुझेका छन्, यहाँ पनि आशा छैन । तर जीवनको चौथो आयाममा “प्रगतिशील राजनीति“ गर्ने तपाईंजस्ता पाका नेताबाट आशा गर्ने ठाउँ छन्, त्यो पनि तपाईंहरूले बुझेमात्र । यहाँ सबै बुझेर पनि बूझ पचाउनेहरूको शक्ति चल्छ – सत्य यही हो । त्यै पनि तपाईंको सरकार बन्ने छ र यो सरकार तपाईंकै हुनेछ । सक्नुहुन्छ भने निम्न कामको आरम्भ गर्नुस् ।

(१) स्थानीय सरकारलाई बलियो बनाउनुस् र नेता व्यवस्थापकका लागि निर्माण गरिएको प्रदेश–संरचनालाई आर्यघाटमा सेलाउनुस् । यसको लागि के–कस्ता काम गर्नुपर्छ, तपाईंहरू र तपाईले बुझ्नु भएकै छ ।

(२) सामानुपातिक व्यवस्थामा सांसद बनाउने वैधानिक व्यवस्था  खारेज गर्नुस् र संसदलाई प्रत्यक्ष निर्वाचनबाट आएका प्रतिनिधिको थलो बनाउनु होस् । आसेपासे, झोलेआदि सबैका लागि (क्षमा गर्नुस्) राष्ट्रिय सभामा लाने व्यबस्था गरे हुन्छ । छिमेकी भारतमा यस्तै अभ्यास छ, असजिलो मान्नु पर्दैन ।

(३) संविधानले जातिवादको पुनस्थापना गरेको छ । जनताले जातिको कुरा गर्दा दण्डित हुनु पर्ने तर नेता र सरकारले संविधानमा फलाना जातिहरूका लागि विशेष व्यवस्था गरेर घृणावादीहरूलाई प्रोत्साहित गरेको छ । समस्या छुवाछुतको हो, जातिको होइन । जातिवाद खारेज गर्न पहल गर्नुस्, छुवाछुत मान्ने र गर्नेलाई हदैसम्मको दण्ड दिने व्यवस्था गर्नुस् ।

(४) आदिवासी–जनजाति, मधेसी वा दलित भएकै आधारमा नेपालका रैथाने बाहुनक्षेत्रीहरूप्रति विष–वमन गरेर यहाँका मौलिक संस्कृति, सभ्यता र नागरिकहरू विरुद्ध घृणा फैलाउने विरुद्ध हदैसम्मको कानुनी व्यवस्था  गर्नुस् । यो देश नेपालका हरेक नागरिक को हो, कसैले कसैलाई शरणार्थी भन्ने छुट छैन । झन् जातिवाद नमानेर वर्गवाद मान्ने प्रगतिशीलहरूका लागि त छैन नै ।

(५) ‘झोलावाद’को अन्त्य गर्न पहल गर्नुस् तर तपाईंबाट अन्त्य हुँदैन तर भविष्यमा तपाईंको काम मध्ये असल काम भनेर इतिहास लेखिने छ । झोलावादको अन्त्य हुँदासाथ शिक्षा, न्याय, स्वास्थ्यआदि क्षेत्रमा नपत्याउँदो सुधार आउने छ ।

(६) सक्नुहुन्छ भने स्वदेशी उद्योग र उद्योगपतिलाई प्रोत्साहन दिन कानुन बनाउनु होस् । यसको अर्थ, विदेशी उद्योगपतिहरूलाई वेवास्ता गर्नुस् भनेको होइन । मैले सुनेअनुसार मध्यपूर्वका देशहरूमा जोसुकैले लगानी गर्न सक्छ तर तेहाका नागरिकको ५१% भागिदारी हुनैपर्छ ।

(७) अहिलेका प्रमुख समस्याहरूमा झोलावाद, घृणावाद तथा धर्मपरिवर्तन गराएर देशको मौलिकता समाप्त पार्ने शक्तिहरू नै हुन् । देशको मौलिक संस्कृति नष्ट हुँदै गर्दा तपाईंको मुटु पोल्नुपर्छ । केही गर्न पर्दैन, आफ्नो सरकारलाई कानुन कार्यान्यवन गर्न निर्देशन दिनुस् ।

धेरै सुझाव बाँकी छन् तर जनताको सुझाव भन्दा विदेशीहरूको सुझावमा चल्ने सरकारहरू बोक्दै आएको अनुभव गरेका हामी जनताको कुरा सुन्नुपर्छ जस्तो लाग्छ भने तपाईंलाई बधाई दिनुपर्छ । अन्यथा, तपाईंको एउटा कार्यकाल थपिंयो, तपाईंलाई फाइदा भयो, जनतालाई ‘रूखमा बेल पाक्यो, कौवालाई हर्ष न विस्मात् ।’
स्वस्तिअस्तु

स्पेनलाई चौथो पटक युरोकपको उपाधि

काठमाडौँ । स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो ।

खेल स्पेनले २–१ ले आफ्नो पक्षमा पार्यो । निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा मिकेल ओयार्जाबालले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए । मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो । खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । तर ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए ।

निर्धारित समयमा खेल बराबरीतर्फ अघि बढिरहेको थियो बेला ८६औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै स्पेनले खेल जित्यो र चौथो पटक युरो च्याम्पियन बन्यो ।

स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ ।

इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ । यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।

स्पेनले युरो २०२४ मा खेलेको सबै ७ खेल जित्यो । समूह चरणमा इंग्ल्याण्डले क्रोएसियालाई ३–० तथा इटली र अल्वानियालाई समान १–०ले पराजित गर्दै क्लिनसिट राखेको थियो ।

यस्तै अन्तिम १६ मा युरोको नवप्रवेशी जर्जियालाई ४–१ ले पराजित गरेको स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनी, सेमिफाइनलमा फ्रान्स तथा फाइनलमा इंग्ल्याण्डलाई समान २–१ को नतिजामा पराजित गरेको हो । स्पेनले प्रतियोगिताभर कुल १५ गोल गर्दा ४ गोल बेहोरेको थियो ।

इन्द्रावतीमा आएको बाढीले झोलुंगेपुल बगायो

मेलम्ची । इन्द्रावती  नदीमा गएराति आएको बाढीले झोलुंगेपुल बगाएको छ । बाढीले चिन्डे जतन झोलुङ्गे पुल बगाएको हो । त्यस्तै बाढीले खेतसमेत बगाएको छ त्यस्तै ।

इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची–तिपेनी – भोताङ सडक विभिन्न ठाउँमा अबरुद्ध भएको छ भने क्षति समेत गरेको छ । वैकल्पिक सडक नहुँदा स्थानीयलाई समस्या भएको स्थानीय सपना खड्काले जानकारी दिइन् ।

पोखरा महानगरपालिकाको बजेट पारित

कास्की । पोखरा महानगरपालिकाको आगामी आर्थिक २०८१/८२ को बजेट कार्यक्रम आइतबार पारित भएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले गत असार १० गते १५ औँ नगरसभामा प्रस्तुत गरेको बजेट कार्यक्रम नगरसभामा छलफलपछि सुझाव सहित पारित भएको हो । 

महानगरले आगामी आर्थिक वर्षका लागि  सात अर्ब ५१ करोड ३२ लाख ८३ हजार बजेट ल्याएको थियो । उपप्रमुख गुरुङले नगरसभामा दफावार छलफलपछि बजेट कार्यक्रम पारित भएको जानकारी दिइन्

नगरसभामा बजेट पेस भएपछि यही असार २९ र ३० गते छलफल भएको हो । यसैगरी नगरसभाले आर्थिक ऐन २०८१ र विनियोजन विधेयकलगायत सभामा पेस गरिएका प्रस्तावहरू सर्वसम्मतिले पास गरेको छ । 

महानगरको आगामी बजेटका स्रोतहरुमा सङ्घीय सरकार अनुदानबाट चार अर्ब २० करोड २२ लाख एक हजार, प्रदेश सरकार अनुदानबाट  नौ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट एक अर्ब ५५ करोड ५१ लाख ४० हजार रहेको छ ।

सङ्घीय राजस्व बाडँफाँटबाट  ३८ करोड ३३ लाख ७५ हजार र प्रदेश राजस्व बाँडफाँट नौ करोड ७२ लाख २० हजार, स्थानीय राजस्व बाँडफाँटबाट  एक अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट  ५४ लाख २४ हजार प्राप्त हुने अनुुमान गरिएको छ । 

महानगरपालिकाले बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य श्रृङ्खला सबलीकरण र बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन समाज र कार्बन तटस्थतालाई प्राथमिकतामा राखेको छ ।

सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरणप्रति संवेदनशील र जिम्मेवार समाजको निर्माण, नवउद्यम (स्टार्टअप) प्रवर्द्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वस्थ्य र उत्पादनशील जनशक्ति तयारका साथै वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरणमा जोड दिएको छ ।

ताराखोलामा असारेको रमझम

गण्डकी  । मगर बाहुल्य भएको बागलुङको ताराखोला संस्कृतिले धनी छ । बर्सेनि असारको तेस्रो मङ्गलबारदेखि यहाँ ‘असारे’ मेलाको छुट्टै रौनक चल्छ । ‘असारे’ त्यहाँ बसोबास गर्ने तरामीमगरको पुस्तैनी मेला हो । रैथाने मेला असारेलाई खुसी साट्ने, मीठो–मसिनो खाने, प्रकृति र देवीदेवता पूज्ने पर्वका रुपमा लिइन्छ ।

मेला आयोजक असारे युवा क्लबका अध्यक्ष ओमबहादुर रोकाले असारे मेलाका अवसरमा विविध सांस्कृतिक कार्यक्रम र खेल प्रतियोगिता राखिएको जानकारी दिए ।

मौलिक गीतनाच र झाँकी मेलाका विशेष आकर्षण हुन् । मेलामा पुरुष तथा महिला भलिबल, प्रौढ पुरुष भलिबल, धनुषवाण, स्लो बाइक रेस, भाले छुने, रस्साकस्सी, छेलो, सामूहिक नृत्यलगायतका प्रतियोगिता सञ्चालन भइरहेको क्लबले जनाएको छ ।

नयाँ पुस्ताले ‘असारे मेला’का रुपमा संस्कृतिको जगेर्ना गरेपनि जनबोलीमा भने ‘असारे’ भनेर प्रचलित रहेको अध्यक्ष रोकाले बताए। बर्खाको खेतीपाती भ्याएर विश्राम लिन असारे बस्ने गरिएको मगर समुदायका बूढापाका बताउँछन् । आराम र मनोरञ्जनका लागि ‘असारे मेला’ सुरु भएको विश्वास गरिन्छ । संस्कृतिकर्मी झकबहादुर घर्तीका अनुसार डोल्पाको ताराभोटबाट आएका पूर्वजले असारेको चलन बसालेका थिए ।

असारको उजेली पक्ष पारेर असार मनाउने परम्परा रहेको उनको भनाइ छ । मेलाका अवसरमा पूजाआजासहित बली पनि चढाउने गरिन्छ ।

अघिल्लो दिन गहुँ, चामलको रोटी खाने र भोलिपल्ट मङ्गलबार (असारेको पहिलो दिन) बूढापाकाले लठ्ठो बाट्ने, युवाले पिङ राख्ने चलन छ । असारेलाई साँचेर कुल घरमा राखिएको जमरालाई त्यही पिङ्मा चढाउने र बाचा बाँध्ने गरिएको संस्कृतिकर्मी घर्तीले बताए । यसपालिको असारे मेला सोमबारसम्म चल्ने क्लबका अध्यक्ष रोकाले बताए ।

भलिबलको फाइनल स्पर्धासहित समापन समारोह आयोजना गरी यस वर्षको असारेलाई बिदाइ गरिने उनले सुनाए । गाउँलेले उक्त मेलालाई ‘असारे बस्ने’ भनेर पनि चिन्छन् । असारे बसेका बेला खेतीपातीको काम गर्न नहुने मान्यता छ । वर्षात्मा बाढीपहिराजस्ता प्रकोप नहोस्, रोगव्यादी नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै प्रकृति पूज्ने चलन रहेको संस्कृतिकर्मी घर्तीले बताए। मुखियाको घर (हेम्थो घर)को बारीमा रहेको थानमा राँगाको बली दिने गरिएको उनको भनाइ ।

“पहिलेपहिले यहाँ आउँदा बालबालिका हराउने गरेको र पछि ढुङ्गामा बली चढाएर पूजा गर्न थालेपछि हराउन छाडेको भन्ने धार्मिक विश्वास छ”, उनले भने ।

विसं १७६६/०६७ तिर डोल्पाबाट बसाइँ सरेर आएका तरामीमगरले थातथलो बसाएको ताराखोला गाउँपालिका–४ र ५ मा असारे विशेष रुपमा मनाइन्छ । बली र पूजापाठ वडा नं ४ को तारागाउँमा हुने गरेपनि मेला भने ५ को करिमेलामा चल्छ । असारेलाई ताराखोलावासीले आफ्नो मौलिक संस्कृति मान्छन् ।

बर्खे झरीकोसमेत पर्वाह नगरी मानिसहरु हर्षोल्लासपूर्वक असारेमा रमाउँछन् । तारागाउँमा रहेको थानमा पूजाआजापछि करिमेलामा साँस्कृतिक कार्यक्रम तथा खेलकुदको आयोजना हुने क्लबले जनाएको छ ।

तीन सय वर्षअघिदेखि असारेको थिती बसेको स्थानीयवासीको विश्वास छ । असारे ताराखोलाको ऐतिहासिक र साँस्कृतिक महत्वको मेला भएको ताराखोला गाउँपालिकाका पूर्वअध्यक्ष प्रकाश घर्तीले बताए । मेलामा युवायुवती पिङ खेल्ने, मिठा परिकार खाने, असारे गीत तथा नाचमा रमाउने गर्छन् ।

खेतीपातीपछि आराम गर्ने, आफन्त र मित्रजनसँग भेटघाट हुने अवसरका रुपमासमेत असारे मेलालाई लिइन्छ । पछिल्लो समय मेलाको स्वरुप केही फेरिँदै गएको छ । धार्मिक आस्था, मान्यता र परम्परासँगै मेलालाई नयाँपन दिन थालिएको हो ।

मेला धार्मिक, सांस्कृतिक मान्यतासँग पनि जोडिएको छ । मेला भर्न हिल, अर्गल, हटिया, हरिचौर, तमान, खुङ्गा म्याग्दीको रुम, निस्कोट, किमचौरलगायतका ठाउँबाट सर्वसाधारण आउँछन् ।

ताराखोला गाउँपालिका–२ अर्गल, वडा नं ३ हिल, वडा नं १ अमरभूमिलगायतका गाउँमा पनि बर्खे मेला आयोजना गर्ने गरिएको छ । हिलमा साउने सङ्क्रान्तिमा मेला लाग्छ ।

पाल्पाको अर्गली र डोल्पाको ताराभोटबाट बसाइँसराइ गरी आएका मगरका पूर्वजले ताराखोलाका विभिन्न गाउँमा गाउँमा मेलापर्वको चलन बसालेका हुन् । भदौरे सिस्नो खोस्ने पर्व, कात्तिकको भुस पोल्ने पर्व, माघे सङ्क्रान्ति, श्रीपञ्चमीलगायत पर्वलाई ताराखोलाका मगर समुदायले विशेष रुपमा मान्दै आएको छन् ।

न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न उच्च अदालतको आदेश

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको काम निरन्तर गर्न पाउने भएको छ ।

महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको थियो ।

यसरी रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुरु गर्ने बाटो खुलेको हो ।

सडकलाई पैदलमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो ।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

रिट निवेदनमा महानगरपालिकाले, आफ्नो क्षेत्रभित्रको वडा नं. २२, २३ र २४ अन्तर्गत पर्ने न्युरोड बजार क्षेत्रमा आ. व. २०८०/०८१ को आर्थिक वजेटबाट फुटपाथ (सडक पेटी) विस्तार गर्ने योजना अनुरुपको कार्य सञ्चालन गर्ने सन्दर्भमा विपक्षी सडक डिभिजन कार्यालयले जेठ १२ बाट अवरोध सृजना गरी सडक पेटी निर्माण गर्न नदिने व्यहोराको पत्राचार एवं भौतिक रुपमा हस्तक्षेप गरेको उल्लेख गर्दै उपचारको र तत्काल अन्तरिम आदेश माग गरेको थियो ।

रिट निवेदनमा महानगरपालिकाकातर्फबाट कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले वहस गरेका थिए । सडक डिभिजन कार्यालयकातर्फबाट उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता गणेश पौडेल, सोही कार्यालयबाट अनुमति प्राप्त गरी वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल र अधिवक्ता आशिष अधिकारीले वहस गरेका थिए ।

आदेश जारी भइसकेपछिको प्रतिक्रिया दिँदै महानगरपालिकाका कानुनी सल्लाहकार अर्याल भन्छन्, ‘महानगरपालिकाले गरेको काम सही र डिभिजन सडक कार्यालयले गरेको पत्राचार तथा कार्य अवैध थियो भन्ने प्रमाणित भएको छ । महानगरपालिकाले सुरु गरेको फुटपाथ निर्माणको कामलाई निरन्तरता दिन बाटो खुला भएको छ ।’

‘दोहोरो सुनुवाई पश्चात भएको आदेशले स्थानीय तहलाई संविधानको धारा ५६, ५७ र २१४ ले दिएको संवैधानिक अधिकार प्रयोग गर्न सहज भएको छ ।’ कानुन तथा मानव अधिकार विभागका प्रमुख आचार्यले भने, ‘आदेश संविधानको सम्मान पनि हो ।’

अदालतले दिएको आदेशमा भनिएको छ, ‘संविधानको व्यवस्था, कानुनका प्रावधान, सडक नीति र मापदण्ड समेतलाई दृष्टिगत गर्दा निवेदक महानगरपालिकाले सञ्चालन गर्न लागेको फुटपाथ (सडक पेटी) विस्तार सम्बन्धी योजना सञ्चालन एवं सम्पन्न गर्न रोक लगाउने गरी विपक्षी सडक डिभिजन कार्यालय काठमाडौँबाट निवेदक काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयका नाममा प्रेषित गरेको मिति २०८१/०२/१३ च. नं. १८०८ र मिति २०८१/०२/१६ को च. नं. १८३० को पत्र प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरि दिएको छ ।’

‘राज्य शक्तिको बाँडफाँडको सम्बन्धमा नेपालको संविधानको धारा ५७ ले व्यवस्था गरी उपधारा (१) ले संघको र उपधारा (४) ले स्थानीय तहको एकल अधिकारको सूचीको बारेमा अलग अलग प्रवन्ध गरेको पाइन्छ । सो व्यवस्थाअन्तर्गत अनुसुची ५ को क्र. सं. २० मा राष्ट्रिय यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापन सम्बन्धी अधिकार संघलाई रहने र अनुसूची ८ को क्र. सं. ११ मा स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाई समेतका अधिकार स्थानीय तहमा रहने भनी व्यवस्था गरेको देखिन्छ ।’ आदेशमा उल्लेख छ ।

‘नेपालको संविधान लागू भए पश्चात सार्वजनिक सडक ऐन २०३१ मिति २०७५ फागुन १९ मा संशोधन भई दफा ३ (ख) थप गरी सोमा सडक बर्गीकरणको व्यवस्था राखेको देखिन्छ । उक्त प्रावधानले सडकलाई राष्ट्रिय लोकमार्ग, प्रदेश लोकमार्ग, स्थानीय, ग्रामीण तथा सहरी सडक भनी वर्गीकरण गरेको पाइयो । यसैगरी भौतिक योजना तथा निर्माण मन्त्रालय, राष्ट्रिय यातायात नीति २०५८ को बुँदा नं. ७.१.४ ले सहरी सडकको परिभाषा गरी सडकको निर्माण मर्मत सम्भार समेतको कार्य गर्ने जिम्मेवारी स्थानीय तहमा रहने भनी उल्लेख गरेको देखियो ।’ आदेशमा भनिएको छ, ‘यस अघिको आदेशानुसार प्राप्त भएका आयोजना वर्गीकरण सम्बन्धी मापदण्ड २०८०, संघ प्रदेश तथा स्थानीय तहको एकल तथा साझा अधिकार सूचीको बाँडफाँड र विस्तृतीकरणले सडक सम्बद्ध विषयवस्तुका हकमा गरेको प्रबन्ध एवं निवेदकले विपक्षीलाई मिति २०८० असोज ४ गते फुटपाथ विस्तार गर्ने सम्बन्धमा लेखेको पत्र र सो को जवाफ निवेदकलाई प्रेषित नगरी विपक्षी अनुउत्तरित अवस्थामा रहेको पाइयो ।’

आयोजना वर्गीकरण सम्बन्धी मापदण्ड २०८० बमोजिम राष्ट्रिय लोकमार्ग संघीय सरकारको, प्रदेश लोकमार्ग र दुई वा दुईभन्दा बढी स्थानीय तह जोड्ने सडकहरु प्रदेशले र सबै किसिमका स्थानीय सडक स्थानीय तहको जिम्मामा रहने व्यवस्था छ ।

आदेशले, नेपाल सरकार (मन्त्री परिषद) बाट जारी भएको उक्त मापदण्ड नेपालको संविधान, संघीय संसदबाट जारी भएको स्थानीय सरकार सञ्चालन ऐन २०७४, संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) २०७७, नेपाल सरकार (मन्त्री परिषद) बाट जारी भएको तीन तहका सरकारहरुको अधिकारको बाँडफाँड सम्बन्धी कार्य विस्तृतीकरण प्रतिवेदन २०७३ र नेपाल सरकार (मन्त्री परिषद) ले २०७६ सालमा तोकेको राष्ट्रिय लोकमार्ग, प्रदेश लोकमार्ग र स्थानीय सडकसमेतलाई कार्यान्वयनमा बाटो खुला गरेको छ ।

यस आदेशले देशभरका सबै स्थानीय तह (७५३) र सवै प्रदेश सरकार (७ वटा) लाई सडक अधिकार प्रचलन तथा व्यवस्थापन गर्न मार्ग प्रशस्त भएको छ । यसबाट अन्ततः संघीय शासन प्रणाली सबल हुने देखिन्छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको प्रतिक्रियाः सबैमा सम्मान, सबैलाई धन्यवाद !

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेपछि प्रधानमन्त्री ओलीले सामाजिक संजालमार्फत सबैलाई सबैलाई सम्मान र धन्यवाद दिएका हुन् ।

उनले लेखेका छन्, ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !’ ओलीको सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ हुँदैछ । ।

कांग्रेसलाई नौ र एमालेलाई आठ मन्त्रालय, मन्त्रीको टुंगो लाग्न बाँकी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालयको बाँडफाँट टुंगिएको छ । शीर्ष नेताहरुको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिने छन् ।

एमालेले अर्थसहित ८ मन्त्रालय र कांग्रेसले गृहसहित ९ वटा मन्त्रालय लिने सहमति भएको छ । एमालेका भागमा अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ ।

यस्तै, कांग्रेसले गृह, रक्षा, परराष्ट्र, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन र वन मन्त्रालय पाउने भएको छ । मन्त्रीको टुंगो भने सोमबार लाग्ने भएको छ।

कांग्रेस उपप्रधानमन्त्री दिएर प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने छ भने एमालेले उपप्रधानसहित उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्री बनाउने भएको छ । सरकारमा सहभागी हुने साना दलका लागि कुन मन्त्रालय दिने भन्ने बिषयमा भने टुंगो लागेको छैन ।

केपी ओली चौथो पटक प्रधानमन्त्री नियुक्त

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही आइतबार अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा संसदको बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रबार नै दाबी पेस गरेका थिए ।

प्रधानमन्त्री ओलीको शपथ सोमबार विहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।  यो ओलीको चौथो कार्यकाल हो । यसअघि ओली २०७२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०७४ मा आमचुनावपछि प्रधानमन्त्री बनेका उनी २०७८ मा फेरि प्रधानमन्त्री बनेका थिए ।

सांसदहरुलाई प्रधानमन्त्री नियुक्त नहुँदै शपथ समारोहमा सहभागी हुन शीतलनिवासको निम्तो

काठमाडौँ । प्रधानमन्त्री नियुक्त नहुँदै राष्ट्रपति कार्यालय शीतलनिवासले प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन सांसदहरूलाई निमन्त्रण पठाएको छ ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त नहुँदै सोमबार बिहान ११ बजे हुने प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन संसद् सचिवालयमार्फत सांसदहरूलाई निम्तो पठाएको हो ।

नेपाली कांग्रेस–नेकपा एमालेको सहमतिअनुसार राष्ट्रपतिले आज एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री नियुक्त गर्दैछन् ।

मन्त्रीका लागि शेखर-गगन समूहबाट चार जनाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसको शेखर-गगन समूहले मन्त्री बन्ने नेताको नाम टुंगो लगाएको छ । समूहको आइतबार बसेको बैठकले हृदयराम थानी, रामनाथ अधिकारी प्रदीप पौडेल र तेजुलाल चौधरीको नाम सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेको हो । यो समूहबाट मन्त्रीका लागि धेरै नेताहरु आकांक्षी थिए ।

पुरानो घर सजाएर पर्यटक लोभ्याउँदै

गण्डकी । फेवाताल सिरानको हर्पन खोला तरेर थोरै उकालो चढेपछि आइपुग्छ निरबाने गाउँ । प्रकृतिको काखमा सजिएको निरबाने आफैमा चित्रमय लाग्छ । ताल, हिमाल, खोलानाला र वनपाखा त्यहाँका आकर्षण हुन् । त्यही गाउँको बीचमा छ ५३ वर्ष पुरानो एउटा ढुङ्गेनी घर । जहाँ ३८ वर्षीय लक्ष्मण पराजुली सपरिवार बस्छन् ।

विसं २०६८ तिरको कुरा हो । वैदेशिक रोजगारीका लागि उनी दुबई पुगे । नौ वर्ष उतै बिताए । काम र कमाई ठिकै थियो । एक्कासि उनले दुबई त्यागेर घर फर्कने निधो गरे ।

“बाह्र घण्टा कामको बोझ र तनाव सहन कठिन भएपछि गाउँमै केही गर्ने सोच लिएर स्वदेश फर्के”, उनले भने, “गाउँ आएपछि बुबाले बनाएको पुरानो घरलाई प्रबलीकरण गरेर क्याम्पिङ र ‘होमस्टे’ व्यवसाय सुरु गरेँ ।”

विसं २०७६ मा नेपाल फर्किएका पराजुलीले सोही वर्षदेखि पर्यटन व्यवसायमा हात हाले । सुरुमा विदेशी पर्यटकलाई लक्षित गरी क्याम्पिङ सेवा सुरु गरे । “खर्चिला र सौखिन पर्यटक बस लिएर क्याम्पिङका लागि हामीकहाँ आउँथे, कोभिड महामारीपछि त्यसमा कमी आयो अनि होमस्टेतिर लागेँ,” उनले सुनाए । होमस्टे पनि उनले कोभिडकालमै सुरु गरे ।

विसं २०७८ देखि सञ्चालनमा आएको घरबास (होमस्टे) अहिले आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय बनेको छ । ‘ढुङ्गे घर लेक भ्यू क्याम्पिङ एन्ड होमस्टे’ सेवामार्फत उनले पाहुनालाई लोभ्याइरहेका छन् । विसं २०२८ मा उनका बुबा गोविन्द पराजुलीले बनाएको ढुङ्गा, माटो र काठको घर जीर्ण भइसकेको थियो । पराजुलीका बुबाआमा बेँसीमा रहेको नयाँ घरमा बस्न थालेका थिए।

उनी विदेशबाट फर्केपछि त्यही पुरानो घरको संरक्षण र साजसज्जातिर लागे । करिब आठ लाख खर्चेर घरलाई पुरानै स्वरुपमा मर्मतसुधार गरेको पराजुलीको भनाइ छ । घरमा उतिबेलै बनेका झ्यालढोका छन् । पाली र छानो ढुङ्गाकै छ ।

आँगनमा पनि ढुङ्गा ओछ्याइएको छ । रङ्गरोगन पनि पहाडे शैलीको छ । त्यहाँ पुग्दा विशुद्ध गाउँले परिवेश भेटिन्छ । बढीजसो घरबास (होमस्टे) को आतिथ्यता रुचाउने पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

पाहुनालाई घरको भान्छामा जे पाक्छ त्यही खुवाउने गरिएको पराजुलीले बताए । रैथाने जातको चामल, मकै, बारीमै उब्जेको तरकारी, यामअनुसार निउरो, तामा, च्याउलगायत परिकार बनाउने गरिएको उनको भनाइ छ ।

माछामासुमा पनि स्थानीय जात प्रयोग गर्ने गरिएको उनले बताए । होमस्टेमा सादा खानासहित एक रात बिताएको प्रतिव्यक्ति एक हजार एक सय र मासुखानासहित एक हजार तीन सय तोकिएको छ ।

उक्त प्याकेजमा बिहानको खाजा पनि समावेश छ । अतिरिक्त सेवा लिएमा भने छुट्टै पैसा तिर्नुपर्छ । पारिवारिक वातावरण हुने भएकाले होमस्टेमा पर्यटक लोभिने गर्छन् । “पर्यटकीय याममा त व्यवसायमा भ्याइनभ्याइ हुन्छ, वनभोजका लागि यहाँ आउने पनि उत्तिकै हुन्छन्”, पराजुलीले भने, “वनभोजका लागि आवश्यक पर्ने सबै बन्दोबस्त हामीले नै उपलब्ध गराउँछौँ, कतिपयलाई ठाउँ मात्र भाडामा दिने गरेका छौँ ।” फेवाताल, माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमशृङ्खला नजिकबाट अवलोकन गर्न पाइने हुँदा उक्त स्थललाई पर्यटकले रुचाउने गरेका हुन् ।

पोखरा महानगरपालिका–२३ मा अवस्थित निरबाने फेवा किनारको हल्लनचोकबाट २५ मिनेटको मोटर यात्रामा पुग्न सकिन्छ । पदयात्रा गर्न रुचाउनेहरु पनि फेवाताललाई देब्रे पारेर खपौदी, पामे हुँदै निरबाने पुग्न सक्छन् । पर्यटकले सहरको कोलाहल छलेर छिनभरमै प्रकृतिको आनन्द लिन सक्छन् । पराजुलीले होमस्टेको क्षमता विस्तार गर्ने योजना बनाएका छन् । अहिले दैनिक २० जना पाहुना राख्ने क्षमता रहेको उनले बताए ।

“सुरुमा परीक्षण गरी हेरौँ भनेर होमस्टे सुरु गरेको थिएँ, बर्सेनि व्यवसाय झन्भन्दा झन् राम्रो भएपछि यसलाई विस्तार गर्ने सोचमा छु”, उनले भने, “आफू जन्मेको घरमा सपरिवार बसेर व्यवसायमा रमाइरहेको छु, जुन लगावले यसमा जोडिए, त्यसमा सन्तुष्ट छु ।” व्यवसायमा परिवारका सबै सदस्य खट्छन् । उनका अनुसार अहिलेसम्म बाहिरी कर्मचारी राख्नुपरेको छैन ।

युवाहरुको विदेश पलायन तीव्र बनिरहेका बेला छोरा गाउँ फर्केर घरको चहलपहल बढाएकामा बुबा गोविन्द पनि मख्ख छन् । बूढेसकालमा सपरिवारसँगै हुन पाउनु पनि खुसीको कुरा रहेको उनले बताए ।

“ २५ ज्यालामा कर्मी लगाएर बनाएको घर हो, यही घरलाई अहिले छोराले जोगाएर राखेको छ, सबैले मन पर पराएका छन्”, उनले विगत सम्झे, “बिरमकुनाबाट दसमा ढुङ्गा बोकाएर छानो छाएको हो ।”

नेपालमा केही हुँदैन भन्ने भाष्य निर्माण गर्न खोजिएका बेला पराजुली विदेशबाट आफ्नै थातथलो फर्केर जीवनमा आशा जगाइरहेका छन् । उनी गाउँका अरू युवाका लागि प्रेरणा बनिरहेका छन् ।

पछिल्लो समय पर्यटन क्षेत्रमा होमस्टे सेवा लोकप्रिय छ । सामुदायिक मात्र नभएर व्यक्तिगत लगानीमा पनि होमस्टे सेवा सञ्चालन हुन थालेका छन् । घरबासमार्फ ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सरकारी निकायले पनि तत्परता देखाएका छन् । ‘एक निर्वाचन क्षेत्र, एक नमूना घरबास’ कार्यक्रमअन्तर्गत यस वर्ष गण्डकी प्रदेशका ३३ सामुदायिक होमस्टेले सरकारी अनुदान पाएका छन् ।

गण्डकी प्रदेश सरकारले तीस घरबासलाई १२ लाख र तीनवटालाई १० लाखका दरले अनुदान दिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन शाखा प्रमुख डम्मर जिसीका अनुसार अनुदानका लागि ८९ सामुदायिक घरबासले प्रस्ताव पेस गरेका थिए ।

पहिलो चरणमा प्रस्ताव परेका ६५ मध्ये १७, दोस्रो चरणमा २१ प्रस्तावमध्ये १३ र तस्रो चरणमा तीन प्रस्ताव आएकामा तीनवटै छनोटमा परेको उनले जानकारी दिए । प्रतिस्पर्धाका आधारमा एक प्रदेश निर्वाचन क्षेत्रमा एउटा मात्र घरबास छनोट गरिएको हो ।

स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सृजना र मौलिक संस्कृतिको जगेर्नामा केन्द्रित भएका घरबासले अनुदानमा प्राथमिकता पाएको पर्यटन शाखा प्रमुख जिसीले बताए ।

अनुदान रकमबाट ग्रामीण पर्यटन प्रवद्र्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, कोसेली घर, पुस्तकालय, सांस्कृतिक सङ्ग्रहालय, उद्यान, पदमार्गलगायत पूर्वाधारमा खर्च गर्न पाउने मापदण्ड तोकिएको थियो । गाउँले परिवेश, पारिवारिक वातावरण, खानामा स्थानीय परिकार, मौलिक संस्कृति, रहनसहन र पर्यटकीय गन्तव्यस्थलको घुमफिर आदि घरबासका आकर्षण हुन् ।

नवलपरासीको सरावलमा १२ सय बिघा धानखेती डुबानमा

नवलपरासी । लगातारको वर्षाका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६ र ७ मा एक हजार दुई सय बिघा धानखेती डुुबानमा परेको छ । लगातार चार दिनसम्म परेको पानीले धानखेती डुबानमा परेको हो ।

चार दिनसम्म अविरल वर्षा हुँदा खेतमा पानी नघट्नुका साथै रोपाइँ गरेको धान पनि नष्ट भएको गाउँपालिकाका कृषि प्राविधिक कूलदीपनारायण मिश्राले जानकारी दिए । उनका अनुसार गत वर्ष पनि वर्षाले शङ्करपुर, मधवलिया, भुजहवा बुडनतवापुरका किसानको खेतीमा क्षति भएको थियो ।

झरही खोला र धनेवा खोला दीर्घकालीन रुपमा समाधान नहुुँदा यहाँका मुख्य खाद्यभण्डार भनिने शङ्करपुर, खडवना, मधवलिया, भुजहवा हिउँदमा सुुक्खा र वर्षयाममा प्रत्येक वर्ष डुबानको चपेटामा पर्ने गरेका छन् सरावल–७ निवासी धर्मनाथ कुुश्वाहाले बताए ।

झरही र धनेवा खोलामा बाढी आएकाले खोला वरपरका किसानको धानखेती डुबानमा परेको स्थानीय उपेन्द्र हरिजनले बताए । खोलामा तटबन्ध बनाउनेतर्फ ध्यान नपुुग्दा मधवलिया, शङ्कपुर, भुजहवाका हजारौँ कृषकले बर्सेनि ठूलो क्षतिको सामना गर्नुु परिरहेको उनको भनाइ छ ।

‘मलखाद र जोताइ गर्नका लागि ऋण कर्जा लिएर धान रोपेको अहिले वर्षायाममा डुबान लागेपछि ऋण कहाँबाट तिर्ने चिन्ता लागेको छ’, उनले भने ।

झरही खोला र धनेवा खोलाको पानीले बर्सेनि यो क्षेत्र डुबान हुने गरेको भन्दै आगामी आर्थिक वर्षमा डुबान नियन्त्रण गर्न तटबन्धका लागि बजेट विनियोजन गरेको सरावल गाउँपालिकाका अध्यक्ष सुुखाडीप्रसाद चौधरीले जानकारी दिए । खोला क्षेत्रमा तटबन्ध निर्माण गरेपछि बाढी र डुबानबाट हुने क्षति कम हुने उनको भनाइ छ ।

त्रिशूलीमा बेपत्ता बसको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउने तयारी

भरतपुर ।  गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् ।

सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित यहाँ आएका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दुतावाससँग कुरा भइरहेको जानकारी दिए ।

उनले बेपत्ताको खोजी गर्न सरकारले प्रविधिसहितका पाँच सय सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको बताए  । “यातायात व्यवसायीसँगसमेत छलफल गरेर खोजीलाई कसरी तदारुकता दिन सकिन्छ भनेर लागेका छौँ,” उनले भने, “अहिलेसम्म पाँचवटा शव फेला परिसकेको छ ।” 

उनले पानीको सतह घट्दै गएपछि आधुनिक उपकरण प्रयोग गरेर खोजीलाई तीव्रता दिइने बताए । सचिव अर्यालसहित प्रहरी महाननिरीक्षक वसन्त कुँवरलगायतको सुरक्षा टोलीले आजै दुर्घटनास्थलको स्थलगत निरीक्षण गर्ने जनाइएको छ । 

यही असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–२९ नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नंको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । नदीमा बेपत्ता ६५ यात्रुमध्ये अहिलेसम्म पाँचजनाको मात्र शव फेला परेको छ ।

मौद्रिक नीतिमा राष्ट्र बैङ्कलाई यस्ता छन् तीन निजी क्षेत्रको सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । साउन पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति ल्याइसक्ने तयारीमा राष्ट्र बैङ्क लागिरहँदा निजी क्षेत्रका छाता संस्थाहरुले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विभिन्न सुझाव दिइसकेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत संस्थाहरुले मौद्रिक नीतिबाट सम्बोधन गरिनुपर्ने विषयमा राष्ट्र बैङ्कलाई सुझाव दिइसकेका हुन् ।

मुख्यगरी, अहिले बाह्य क्षेत्र सन्तुलनमा रहेको, बैङ्क वित्तीय संस्थामा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको जस्ता सकारात्मक सूचकहरु वित्तीय क्षेत्रमा रहे पनि समग्र बजार माग घटेको, बैङ्क वित्तीय संस्थाबाट कर्जा प्रवाह हुन नसकेको, खराब कर्जा बढेको, पुँजीकोष व्यवस्थापनमा चाप रहेकोजस्ता समस्या विद्यमान छ ।

सरकारले आगामी आर्थिक वर्षको  बजेटमा राखेको छ प्रतिशतको आर्थिक वृद्धिदर र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीति कायम गर्न सघाउ पुग्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्ने देखिन्छ । निजी क्षेत्रले पनि सरकारले लिएको वित्त नीतिलाई सघाउ पु–याउने र समग्र अर्थतन्त्रमा देखिएको शिथिलता चिर्नेगरी मौद्रिक नीति आउनुपर्ने सुझाव दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले यही असार २५ गते आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै राष्ट्र बैङ्कलाई सुझाव दिएको थियो । महासङ्घका तर्फबाट सुझाव दिँदै अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्क वित्तीय संस्थामा पर्याप्त तरलता रहे पनि कर्जा विस्तार हुन नसकेको विद्यमान परिस्थितिमा बजार माग बढाउन र उद्योगको उत्पादन क्षमता विस्तार गर्न सहज हुनेगरी मौद्रिक नीति आउनुपर्नेमा जोड दिएका थिए ।

उत्पादनमूलक उद्योगको क्षमता बढाउने र व्यापारिक प्रयोजनको भन्दा औद्योगिक प्रयोजनको कर्जा व्याजदर कम गर्ने विषय कार्यान्वयन गर्न मौद्रिक नीतिमा केही व्यवस्था ल्याइनुपर्ने सुझाव महासङ्घको छ ।

बजार मागमा आएको सङ्कुचनका कारण उद्योगहरुको ऋण तिर्ने क्षमता कम भएकाले त्यसलाई सम्बोधन गरिनुपर्ने र लगानीलाई प्रोत्साहन गर्ने नीति आउनुपर्ने माग महासङ्घको छ ।

पर्यटन तत्काल प्रतिफल दिने क्षेत्र भएकाले यो व्यवसायलाई प्रवर्द्धन गर्ने तथा कर्जा प्रवाह सहज र सुलभ गरिनुपर्ने सुझाव पनि महासङ्घले दिएको छ ।

गत वर्षभन्दा कर्जाको ब्याजदर घटे तापनि निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको, नगद प्रवाहमा समस्या भएको, न्यून उत्पादन, निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजना स्थगन भइरहेकोलगायत समस्या रहेकाले पुराना लगानीकर्ताले लगानी बढाउने र नयाँ व्यवसायीले नयाँ लगानी गर्ने वातावरण आवश्यक रहेको महासङ्घले जनाएको छ ।

बजारमा माग सृजनाका लागि सानो कर्जा सुविधा विस्तार गर्न बैङ्क वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरिनुपर्ने तथा सहकारी र लघुवित्तमा आएका समस्याले रकम प्रवाह घटेका कारण यो विषयलाई मौद्रिक नीतिले समेट्नुपर्ने सुझाव महासङ्घले दिएको छ ।

त्यस्तै, उद्योग व्यवसाय बन्द गर्नुपरेमा साँवाब्याजको किस्ता तिर्ने प्रतिबद्धता भएका उद्योगहरु बन्द गर्न पाउने व्यवस्था गरी सहज कर्जा राफसाफको व्यवस्था गर्न महासङ्घले राष्ट्र बैङ्कसँग आग्रह गरेको छ ।

विगतमा फरक परिस्थितिमा ल्याइएका नीतिहरु अहिलेको अवस्थामा सान्दर्भिक भए–नभएको मूल्याङ्कन गरिनुपर्ने सुझाव महासङ्घको छ । आयात निरुत्साहित गर्ने, कर्जा नियन्त्रण गर्ने नीतिको असर अहिलेसम्म देखिएकाले त्यसलाई सुधार गरिनुपर्ने र चालु पुँजी कर्जासम्बन्धी व्यवस्था सहज बनाउन सकिनेबारे राष्ट्र बैङ्कले पुनर्विचार गर्नुपर्ने महासङ्घको भनाइ छ ।

उद्योगी–व्यवसायीहरुको अर्को संस्था नेपाल उद्योग परिसङ्घले नीतिगत र संरचनागत सुधारलाई ध्यानमा राखेर आगामी मौद्रिक नीति ल्याउन बैङ्कलाई आग्रह गरेको छ ।

गत शुक्रबार परिसङ्घका तर्फबाट नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिँदै आर्थिक गतिविधिमा महिनौँदेखि कायम शिथिलता र उद्योग–व्यवसायको उत्पादन तथा कारोबारमा मन्दीको बहुआयामिक प्रभावलाई ध्यानमा राख्दै मौद्रिक नीति ल्याउन सुझाव दिएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका लक्ष्यहरु हासिल गर्न सघाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने आवश्यकता परिसङ्घले औँल्याएको छ ।

निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्नुपर्ने र यसबाट नयाँ रोजगारी सृजना तथा बजार मागमा वृद्धिमार्फत अर्थतन्त्र पुनरुत्थानमा सहयोगी हुनेगरी मौद्रिक नीति आउनुपर्ने परिसङ्घको भनाइ छ ।

परिसङ्घले प्रमुख मौद्रिक उपायहरु, समष्टिगत विवेकपूर्ण मौद्रिक उपायहरु र संरचनागत सुधारका विषयमा राष्ट्र बैङ्कलाई सुझाव दिएको छ । राष्ट्र बैङ्कले नीतिगत दर घटाउँदासमेत बैङ्क ब्याजदरमा त्यो प्रतिबिम्बित हुन नसकेको, बरु उल्टै बैङ्क ब्याजदर घट्नुको साटो बैङ्कहरुले बढाएको देखिएको अवस्थामा बैङ्क ब्याजदरलाई अनुशासित गर्न सक्ने गरी नीतिगत दरलाई प्रभावकारी बनाउनुपर्ने सुझाव परिसङ्घको छ ।

वैधानिक तरलता अनुपात (एसएलआर) लचिलो हुनुपर्ने, अन्तर्राष्ट्रिय अभ्यासअनुरुप हुनेगरी आधार दरको उन्नत विकल्पमा जानुपर्ने, राष्ट्र बैङ्कले हाल लागू गरेको शून्य दशमलव पाँच प्रतिशत काउन्टर साइक्लिकल क्यापिटल बफर (सिसिबी) स्थगन गर्नुपर्ने, निर्देशित क्षेत्रको लगानी सीमा घटाउनुपर्नेलगायत सुझाव परिसङ्घले दिएको छ ।

जोखिम व्यवस्थापन तथा वित्तीय स्थायित्वका लागि खराब कर्जाको हकमा नोक्सानी व्यवस्थामा केही कडाइ गर्नु स्वाभाविक भए पनि किस्ता नियमित भएका असल कर्जाको हकमा कम कायम गर्नु व्यावहारिक हुने परिसङ्घले जनाएको छ । असल कर्जाको हकमा हाल रहेको एक दशमलव दुई प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई एक प्रतिशत कायम गर्नुपर्ने परिसङ्घको सुझाव छ ।

ऋणीको आय तथा कर्जा भुक्तानी योग्यता र धितोका आधारमा बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्ने हुँदा शत्प्रतिशतभन्दा माथि कुनै पनि कर्जाको जोखिम भार कायम गर्न नहुने र यदि कुनै कर्जालाई अधिक जोखिमको वर्गमा राखी जोखिम भार सय प्रतिशतभन्दा बढी तोकिएमा सोको बलियो कारण खुलाई पारदर्शिता सुनिश्चित हुने व्यवस्था गर्न राष्ट्र बैङ्कलाई परिसङ्घले सुझाव दिएको हो ।

परिसङ्घले मौद्रिक नीति बनाउन राष्ट्र बैङ्कभित्र छुट्टै मौद्रिक नीति समिति गठन गर्न, सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न, निष्क्रिय कर्जाको वर्गीकरण तथा त्यसअन्तर्गत समूहको कर्जाका सम्बन्धमा गरिएका सम्पूर्ण नयाँ प्रावधानहरु खारेज गर्न, चालु पुँजी कर्जाको प्रावधान तत्काललाई स्थगन गर्न, मुद्दति र बचत निक्षेपमा विद्यमान अधिकतम र न्यूनतम ब्याजदर अन्तर (बढीमा पाँच प्रतिशत) को व्यवस्था हटाउन, ब्याजदरमा पुनरावलोकन गर्दा अघिल्लो महिना प्रकाशित दरमा १० प्रतिशतभन्दा धेरैले र एकपटकभन्दा बढी घटाउन वा बढाउन नपाउने व्यवस्था हटाउनुपर्नेलगायत सुझाव दिएको छ ।

त्यस्तै, निजी क्षेत्रको अर्को संस्था नेपाल चेम्बर अफ कमर्सले गत शुक्रबार एक औपचारिक कार्यक्रममार्फत मौद्रिक नीतिमा समावेश गरिनुपर्ने विषयबारे राष्ट्र बैङ्कलाई सुझाव दिइसकेको छ ।

उच्च आर्थिक वृद्धिका लागि स्थायी रुपमा एकल अङ्कको ब्याजदर कायम हुने नीति लिनुपर्ने, बैङ्क दर तथा नीतिगत दरहरु क्रमशः घटाउँदै लैजानुपर्ने, मुद्दति खाता र बचत खाताका फरक सीमामा विगतझैँ खुला राख्नुपर्नेलगायत सुझाव राष्ट्र बैङ्कलाई दिएको छ ।

आर्थिक मन्दीबाट उन्मुक्ति नपाउन्जेलसम्ममा उद्यमी–व्यवसायीहरुलाई चालु पुँजीको उपलब्धता सरल र सहज तवरले हुनुपर्ने एवं चालुपुँजी कर्जा मार्गदर्शनलाई स्थगित गर्नुपर्नेलगायत सुझाव चेम्बर अफ कमर्सबाट आएका छन् ।

५२ अंकले बढ्यो शेयर बजार

काठमाडौँ ।  यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आइतबार नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ को विन्दुमा कायम भएको छ । 

आज तीन सय नौ कम्पनीको दुई करोड २० लाख ४७ हजार तीन सय २७ कित्ता शेयर ९६ हजार दुई सय ७४ पटक खरिदबिक्री हुँदा सात अर्ब ६२ करोड चार लाख ९८ हजार पाँच सय २० बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै बैङ्किङ तीन दशमलव ७४ र जलविद्युत् समूह तीन दशमलव ३० प्रतिशतले बढेको छ । 

विकास बैङ्क एक दशमलव २०, वित्त एक दशमलव ३३, होटल तथा पर्यटन एक दशमलव ०७, लगानी एक दशमलव ३० र जीवन बीमा समूह दुई दशमलव ०५ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन दुई दशमलव ६६, लघुवित्त शून्य दशमलव ८२, म्युचुअल फन्ड एक दशमलव ७४, निर्जीवन बीमा एक दशमलव २६, व्यापार दुई दशमलव २१ र अन्य समूह एक दशमलव ९९ प्रतिशतले बढेको छ ।

रिदी पावर कम्पनी लिमिटेड र माण्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा पाँच दशमलव १२ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स लिमिटेडको रु २४ करोड २७ लाख ५८ हजार पाँच सय ७२ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै ग्लोबल आइएमई लिमिटेड प्रमोटर शेयर २० लाख ७५ हजार एक सय दुई कित्ता शेयर किनबेच भएको छ ।

प्रधानमन्त्रीद्वारा शैक्षिक क्यालेन्डर लागू गरेकामा त्रिविका पदाधिकारीलाई धन्यवाद

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक क्यालेन्डर लागू गरेकामा विश्वविद्यालयका पदाधिकारीलाई धन्यवाद दिएका छन् ।

आइतबार प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राध्यापक डा केशरजङ्ग बराल, रजिष्ट्रार डा केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा खड्ग केसीसँग भेट गर्दै प्रधानमन्त्री दाहालले धन्यवाद दिएका हुन् । त्यसक्रममा प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम कार्यकारी परिषद्बाट पारित गरेकामा धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले भने, “विश्वविद्यालयमा गुणात्मक सुधार ल्याए मात्रै मुलुकमा सकारात्मक परिवर्तन महसुस गर्न सकिन्छ । त्रिविमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति, शैक्षिक क्यालेन्डरलगायत क्षेत्रमा महत्वपूर्ण सुधार आएको छ । यसले राम्रो सन्देश दिएको छ । भविष्यमा समेत यी प्रयासहरू लागू हुनेछन् भन्ने विश्वास व्यक्त गर्दछु ।”

भेटमा त्रिविका पदाधिकारीले प्रधानमन्त्री दाहालको कार्यकालमा शिक्षा क्षेत्र र विश्वविद्यालय सुधारमा ऐतिहासिक कामहरू भएको भन्दै त्रिवि सुधारमा आफूहरू पूर्ण समर्पणभावका साथ खटिने बताएका थिए ।

उपत्यकाबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका १३ मोटरसाइकल र आठवटा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले उपत्यकाको सिंहदरबार, कपन, रामहिटी, गौशाला, नयाँबसपार्क, बालाजु, टोखा, मालिगाउँ, रानीवन, गौरीघाट, बौद्ध, बुद्धनगर, कालीमाटी, मैतिदेवी र चुनदेवीलगायत विभिन्न स्थानबाट हराएका सवारीसाधन फेला पारेर बुझाइएको जानकारी दिए।

हराएका सवारीसाधन खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा  फेला परेका प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा चार सय १७ सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । 

अवैध रुपमा नेपाल भित्रिएका १७ सवारीसाधनलाई भन्सार कार्यालयमा बुझाइएको खड्काले जानकारी दिनुभयो । ट्राफिकले चालु आवमा सवारीसाधन चोरी गर्ने ४१ जनालाई पक्राउ गरी कारबाहीका लागि प्रहरीकामा बुझाएको छ । 

सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गर्ने तथा मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सरकार परिवर्तनसँगै त्रिवि सभा स्थगित

काठमाडौँ । सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिए ।

यही असार ३१ गते सोमबार त्रिविसभाको बैठक डाकिएको थियो । उक्त सभाका लागि प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत नपाइसकेको अवस्थामा स्वतः पदमुक्त भएपछि र नयाँ प्रधानमन्त्री नियुक्त भइनसकेको अवस्थामा सभा गर्न समस्या भएको हो । 

यसअघि त्रिविका कुलपति एवम् प्रधानमन्त्रीले त्रिविसभा असार ३१ गते गर्ने निर्णय गरेका थिए ।

इजरायलसँगको वार्ताबाट बाहिरिएको हमासको भनाइ

प्यालेस्टिनी लडाकू समूह इजरायली ‘नरसंहार’ र वार्तामा उसको मनोवृत्तिका कारण गाजा युद्धसम्बन्धी युद्धविरामका लागि आयोजना गरिएको वार्ताबाट पछि हटेको हमासका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

हमासका अर्का एक अधिकारीले हमासका सैन्य नेता मोहम्मद देइफलाई लक्षित गरी आक्रमण गरे पनि उनी ‘सकुशल’ रहेको र इजरायलले गाजाको दक्षिणी शिविरमा व्यापक गोलाबारी गरिरहेको बताएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले शिविरमा भएको आक्रमणमा परी ९२ जनाको मृत्यु भएको जनाएको छ ।

हमासका राजनीतिक नेता इस्माइल हनियाले अन्तर्राष्ट्रिय मध्यस्थकर्ता कतार र इजिप्टलाई अमेरिकी राष्ट्रपति जो बाइडनले मे महिनामा पहिलो पटक अघि सारेको युद्धविराम योजनामा वार्ता समाप्त भएको बताए ।

युद्धविराम योजनामा सम्झौताको पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणमा लिइएका अधिकांश बन्धकहरूको आदानप्रदानसहित छ हप्ताको युद्धविराम हुने थियो ।

हनियाले भने, “हमासले इजरायली गम्भीरताको कमी, ढिलासुस्ती र अवरोधको निरन्तर नीति र निहत्था नागरिकविरुद्ध जारी नरसंहारका कारण वार्ता रोक्नेछ ।”

हमासले सम्झौतामा पुग्न र आक्रामकता अन्त्य गर्न ठूलो लचकता देखाएको छ र जब इजरायल सरकारले युद्धविराम सम्झौता र कब्जा कैदी आदानप्रदान सम्झौतामा पुग्न गम्भीरता देखाउँछ तब वार्ता पुनः सुरु गर्न तयार छ ।

हनियाले शनिबार अबेर एक वक्तव्य जारी गर्दै आफूले मध्यस्थकर्ता र अन्य देशलाई फोन गरेर आक्रमण रोक्न इजरायललाई दबाब दिन आग्रह गरेको बताए ।

इजरायलले अक्टोबर ७ मा भएको आक्रमणको ‘मास्टरमाइन्ड’ मध्येका एक मानिएको देइफ दक्षिणी गाजाको अल–मावासी शिविरमा भएको आक्रमणको निशानामा रहेको बताएको छ ।

तर हमासले भने देइफ शिविरमा रहेको पुष्टि नगरी उहाँ जीवित रहेको र काम गरिरहेको बताएको छ ।

’कमान्डर मोहम्मद देइफले इजेदिन अल–कासम ब्रिगेड र प्रतिरोध अभियानको प्रत्यक्ष रेखदेख गरिरहनुभएको छ,” हमासको सशस्त्र शाखालाई उदृत गर्दै ती अधिकारीले भने ।

गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी करिब एक हजार २०० जनाको मृत्यु भएको इजरायलद्वारा पुष्टि गरेको तथ्याङ्कमा उल्लेख छ ।

हमास लडाकूले २५१ बन्धकलाई कब्जामा लिएकामा करिब १०० जना रिहा भइसकेको, ११६ जना गाजामा रहेको र ४२ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

हमास आक्रमणको बदलामा इजरायलले जवाफी कारबाही सुरू गरेको र गाजामा कम्तीमा ३८ हजार ४४३ जनाको मृत्यु भएको हमासको नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

आफ्नो कार्यकालमा ऊर्जा क्षेत्रमा गुणात्मक र उल्लेखनीय प्रगति भएको उर्जामन्त्रीको दाबी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको बताएका छन् ।

उनको बिदाइका लागि आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले दीर्घकालीन विद्युत् व्यापार सम्झौता र आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सहमति आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको बताए ।

मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा भएको उपलब्धिले मुलुकको समृद्धिका लागि मार्ग प्रशस्त गरेको र त्यसले अर्थतन्त्रलाई समेत सबल बनाउने विश्वास व्यक्त गरे ।

नेपालको विकास प्रक्रियालाई गति दिने तथा आर्थिक समृद्धिको आधार स्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई गति दिने र रोकिएका काम यस अवधिमा सम्पन्न भएकामा खुसी व्यक्त गरे ।

ढल्केबर इनरुवा चार सय केभी प्रसारण लाइन, डेढ दर्जन बढी सबस्टेसन तथा प्रसारण लाइन सम्पन्न भएको जानकारी दिँदै मन्त्री बस्नेतले अन्य केही कार्यक्रम यसबीचमा सम्पन्न भएका बताए । ऊर्जा मिश्रण अवधारणाअनुसार आठ सय मेगावाट क्षमताको सौर्य परियोजना अगाडि बढाइएको र त्यसलाई प्रतिस्पर्धाका आधारमा अगाडि बढाउन लागिएको उनको भनाइ छ ।

राष्ट्रिय गौरवका आयोजनालाई गति दिने, सञ्चालनमा रहेका सिँचाइ आयोजनाको क्षमता विस्तार तथा थप १० लाख हेक्टर क्षेत्रमा सिँचाइ पुर्याउने लक्ष्यका साथ काम अगाडि बढाइएको र त्यसले आगामी केही वर्षमा परिणाम देखिने मन्त्री बस्नेतले उल्लेख गरे ।

उनले सामूहिक भावनाका साथ काम गर्ने तथा गराउन प्रयत्न गरिएको उल्लेख गर्दै ऊर्जा विकास कार्ययोजना, माथिल्लो अरुण, दूधकोशी जस्ता आयोजना अगाडि बढाउन अन्तिम चरणमा पुर्याइएका बताए ।

मन्त्री बस्नेतले आगामी दिनमा फरक भूमिकामा रहे पनि आफूले अगाडि बढाएका कामलाई गति दिन साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले मन्त्री बस्नेतको कार्यकालमा भएका काम कारबाही उल्लेखनीय र रणनीतिक महत्वका रहेका तथा यसले समग्र क्षेत्रको विकासमा महत्व राख्ने बताए । 

झापामा हात्तीको आक्रमणबाट चार घरमा क्षति 

झापा । झापा जिल्लाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ । राति आएका चारवटा हात्तीले चार घरमा क्षति पुर्याएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले हात्तीले ती घरमा क्षति पुर्याउँदा तीन लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए ।

हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै घरभित्र अन्नपातसमेत नष्ट गरेको उनले बताए ।

बिर्तामोड–७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले अस्थायी प्रहरी चौकी गारामनीमा हात्ती बस्ती पसेर स्थानीयको घरमा क्षति पुर्याएको विषयमा जानकारी गराइएको बताए । घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

ठमेलबाट २० करोड बराबरको कोकिनसहित मलेसियन नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आइतबार ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो ।

प्रहरीले भादिभालोका साथबाट पाँच किलो आठ सय २० ग्राम कोकिनजस्तो देखिने पदार्थ बरामद गरेको छ । प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलनमार्फत बरामद गरिएको लागुऔषधसहित महिलालाई सार्वजनिक गरेको हो । 

ती महिलाले छवटा विद्यालय झोलामा ‘फल्स बटम’ बनाई उक्त पदार्थ थाइल्यान्डको बैङ्कक हुँदै नेपाल भित्राएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । बरामद गरिएको लागुऔषधको अन्दाजी मूल्य  २० करोड ३७ लाख हुने प्रहरीले जनाएको छ ।

उक्त होटलमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । ती महिला मलेसियाबाट १२ जुलाई २०२४ मा लाओस पुगेको, लाओसबाट १३ जुलाईमा थाइल्यान्डको बैङ्कक हुँदै राति ११ः२५ बजे काठमाडौँ आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निजका साथबाट यही जुलाई १९ मा काठमाडौँबाट मलेसिया फर्कने हवाई टिकट फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलाले लाओस वा थाइल्यान्डबाट कोकिन ल्याएको प्रहरीको आशङ्का छ । कोकिन पठाउने लाओस वा थाइल्यान्डमा रहेको र पाउने भारतमा रहेको अनुमान गरिएको छ । ती महिलाले ‘मेडियटर’को काम गरेको अर्को व्यक्ति भारतबाट काठमाडौं  लिन आएको हुनसक्ने प्रहरीको भनाइ छ ।

“ती महिला पाँच/छपटक नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले भने, “काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएको देखिएको छ, यसबारेमा अनुसन्धान भइरहेको छ ।” पक्राउ परेकी महिला मलेसियाको भाषा मात्र बोल्ने भएकाले थप अनुसन्धानमा जटिलता थपिएको उनको भनाइ छ ।

ती महिलाले कोकिन काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर भारत पठाउन लागेको आशङ्का गरिएको छ ।  कोकिन लिन आउने व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ ।

अहिले ठूलो परिणामको लागुऔषधसँगै पक्राउ परेकी ती महिलाले यसअघि पनि पटकपटक नेपाल आउँदा लागुपदार्थको ओसारपसार गर्ने गरेको हुनसक्ने निष्कर्षसहित अनुसन्धानलाई व्यापक बनाइएको प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले बताए । 

ट्रम्पमाथि भएको आक्रमणको विश्व समुदायद्वारा विरोध

अमेरिकी रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली आक्रमणलाई लिएर विश्व समुदायले विरोध जनाएको छ । पेन्सिल्भेनिआमा आयोजित रिपब्लिकन पार्टीको र्यालीमा गोली प्रहार हुँदा उनी आइतबार घाइते भएका हुन् ।

विश्वका नेताहरूले आक्रमणको घटनाले आफूहरू स्तब्ध भएको प्रतिक्रिया व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले हत्या प्रयासका क्रममा घाइते भएका अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको कडा शब्दमा निन्दा गर्नुभएको उनले प्रवक्ताले बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपति बाराक ओबामा र बिल क्लिन्टनलगायत अमेरिकी राजनीतिज्ञहरूले आक्रमणको निन्दा गर्दै राजनीतिमा हिंसाका लागि कुनै स्थान नभएको बताएका छन् ।

युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले पनि उक्त आक्रमणको निन्दा गरेका छन् । “एक पटक फेरि, हामीले राजनीतिक प्रतिनिधिविरुद्धको हिंसा देखिरहेका छौं,” उनले भने ।

बेलायती प्रधानमन्त्री कीएर स्टार्मरले आइतबार अमेरिकी रिपब्लिकन पार्टीको चुनाबी र्यालीमा भएको दृश्य देखेर आफू स्तब्ध भएको बताए । “कुनै पनि प्रकारको राजनीतिक हिंसा हाम्रो समाजमा अस्वीकार्य छ,” उनले बताए ।

यसैबीच, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोँले आइतबार पूर्व अमेरिकी राष्ट्रपतिको हत्याको प्रयासलाई ‘त्रासदीप्ुर्ण घटना’ भन्दै ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको विरोध गर्दै राजनीति र लोकतन्त्रमा हिंसाको कुनै स्थान हुननहुने बताएका छन् । उनले भने, “अमेरिकी उपराष्ट्रपति ट्रम्पमाथि भएको आक्रमण दुःखद् घटना हो । राजनीति र लोकतन्त्रमा हिंसाको कुनै स्थान हुँदैन ।”

त्यसैगरी, चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी रिपब्लिकन पार्टीका नेता तथा नया राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार ट्रम्पमाथि भएको गोली आक्रमणप्रति प्रतिक्रिया दिँदै घटनाको निन्दा गरेका छन् । उनले घाइते ट्रम्पप्रति सहानुभूति प्रकट गर्नुभएको चीनको विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“हामी लोकतन्त्रलाई चुनौती दिने कुनै पनि प्रकारको हिंसाको विरुद्धमा दृढ रहनुपर्छ,” जापानी प्रधानमन्त्री फुमियो किशिदाले पनि राजनीतिक आक्रमणको विरुद्धमा प्रतिक्रिया जनाएका छन् ।

इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले पेन्सिलभेनियाको घटना दुःखद् भएको र यसबारे आफूले जानकारी प्राप्त गरिराखेको बताएका छन् । साथै, ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले ट्रम्पमाथि भएको आक्रमणको ‘लोकतन्त्र र राजनीतिक संवादका सबै समर्थकहरूले कडा निन्दा गर्नुपर्ने’ बताएका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले पूर्व अमेरिकी राष्ट्रपति सुरक्षित भएकोमा राहत व्यक्त गर्दै ट्रम्पको चुनावी कार्यक्रममा भएको डरलाग्दो दृश्यहरू देखेर स्तब्ध भएको बताएका छन् । “यो अष्ट्रेलिया र अमेरिकीहरूले साझा रुपमा अनुशरण गर्ने लोकतान्त्रिक मूल्यमान्यता र स्वतन्त्रतामाथिको अक्षम्य आक्रमण हो,” अल्बनिजले भने ।

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस लक्सनले ‘कुनै पनि देशले यस्तो राजनीतिक हिंसाको सामना गर्नु हुँदैन’ भन्दै आक्रमणको निन्दा गरेका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ट्रम्पमाथि भएको आक्रमणले आफू र पत्नी सारालाई स्तब्ध बनाएको बताए । “हामी उहाँको सुरक्षा र शीघ्र स्वास्थ्य लाभका लागि प्रार्थना गर्दछौँ,” नेतान्याहूले भने ।
यसैबीच अर्बपति एलन मस्कले ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै आक्रमणको विरोध गर्दै प्रतिक्रिया जनाएका छन् ।

संयुक्त राज्य अमेरिकामा राष्ट्रपति, पूर्वराष्ट्रपति र उम्मेदवारहरूको कडा सुरक्षाबीच यसअघि पनि राजनीतिक हिंसाका घटनाहरू भएका छन् ।

सन् १९६३ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो भने सन् १९६८ मा उनका भाइ बबी केनेडीको गोली हानी हत्या गरिएको थियो । तत्कालिन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन सन् १९८१ मा हत्याको प्रयासमा गरिएको यस्तै आक्रमणमा बाँच्न सफल भएका थिए ।

बस दुर्घटनामा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको सिमलतालमा बस दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

उनले आइतबार तीनवटै सुरक्षा अङ्गका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा बोलाएर यस्तो निर्देशन दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले त्यसअवसरमा उनीहरुसँग दुर्घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिनुका साथै सबै उपायको अवलम्बन गरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

सिमलताललगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई उनले धन्यवाद दिएका छन् । 

प्रधानमन्त्री दाहालले सो अवसरमा सिमलताललगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे ।

राजनीतिक परिस्थिति जेजस्तो भए पनि देशको स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित तथा अविछिन्न रुपमा जनताको सेवामा लागि पर्न उनले आग्रह गरे । 

खुल्यो शनिबारदेखि अवरुद्ध कर्णाली करिडोर

 मान्म (कालीकोट) । पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ ।

करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका-८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो ।

शनिबार बिहानदेखि अवरुद्ध भएको राजमार्ग प्रहरी, स्थानीय र जनप्रतिनिधिको पहलमा पहिरो पन्छाएर आज बिहानदेखि नियमित सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी दिए ।

‘लेदोसहित आएको पहिरोले शनिबारदेखि राजमार्ग अवरुद्ध भएको थियो’, उनले भने, ‘डोजर लगाएर प्रहरी र स्थानीयको पहलमा आज पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका हुन् ।’

कर्णाली करिडोरमा वर्षायाममा बाढीपहिराको निकै जोखिम हुने भएकाले उक्त राजमार्ग भएर सञ्चालित सवारीसाधनलाई राति सञ्चालनमा रोक लगाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

शिक्षाको उज्यालो खोज्दै हजुरआमाहरु

 काठमाडौँ । बूढानीलण्ठ नगरपालिका-१२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुगिन् । उनी ओखलढुङ्गाको रातमाटेमा जन्मिएकी हुन् । सानोमा उनी विद्यालय टेक्नै पाइनन् ।

‘छोरी मान्छेको जात अरुको घर जाने हो किन पढ्नुपर्‍यो भन्ने चलन थियो’, उनले भनिन्, ‘पढ्ने उमेर घाँसपात मेलापात गर्दैमा बित्यो । बिहेपछि छोराछोरी हुर्काउँदै ठिक्क भइयो ।’

उनका चार सन्तानमध्ये जेठी छोरी राष्ट्रिय वाणिज्य बैङ्कमा जागिरे छन् । कान्छी छोरी र जेठो छोरो अष्ट्रेलिया छन् । कान्छो इन्जिनीयरिङ अध्ययनरत छन् । उनको श्रीमानको पेशा शिक्षण हो । पढाइ नहुँदा नीराले जीवनमा धेरै हन्डर भोग्नुपर्‍यो । श्रीमानको कमाइमा मात्र कति भर पर्नु भनेर छोराछोरी हुर्काउँदै उनले चप्पल उद्योगमा चार वर्ष काम गरिन् ।

नाम लेख्न नजान्दा सबै ठाउँमा ल्याप्चे लगाउनुपर्थ्यो । ‘अरु सबै लेखपढ गर्न जान्ने थिए । म मात्रै अनपढ । अनपढ हुनु भनेको त मान्छे नै नहुनु जत्तिकै पो रहेछ’, उनले भने ।

एक वर्षअघिको कुरा हो । छिमेकी दिदी कलम कापी बोकेर साँझमा घर फर्कँदै गरेको देखिन्। ती दिदीलाई सोध्दा बालकुमारी माध्यमिक विद्यालयमा पढेर आएको सुनाइन् । वयस्क उमेरका मान्छेलाई दैनिक दुई घण्टा पढाइ हुने खबर सुनेपछि उनी भोलिपल्टैदेखि जान तयार भइन् ।

पढ्न गएको पहिलो दिन उनी कक्षा कोठामै रोइन् । ‘सबै पढ्न लेख्न जान्ने देखेँ, मलाई क, ख पनि नआउने’, पहिलो दिन सम्झिँदै भनिन्, ‘मेरो जिन्दगी त बेकार नै रहेछ भन्ने लाग्यो अनि म त रोएँ ।’ लगातार एक वर्ष कक्षा धाइसकेपछि उनको जीवनमा अहिले उज्यालो छाएको छ ।

हिजोआज उनलाई दिउँसोको धरधन्दा सकिनेबित्तिकै कापी कलम बोकेर स्कुल जाने हतारो हुन्छ । बेलुकी चारदेखि छ बजेसम्म सञ्चालन हुने कक्षामा सक्रिय भएर पढ्छिन् ।

नाम लेख्न, सामान्य लेखपढ गर्न, कतै बाहिर निस्किदा साइनबोर्डहरु पढ्न मज्जाले आउँछ उनलाई । घरायसी किनमेल गर्दा जोड, घटाउ, गुणन, भाग गर्न अरुलाई सोध्नु पर्दैन । ‘अहिले त फेसबुक पनि चलाउन जान्ने भएकी छु’, मुसुक्क हाँस्दै उनले भनिन्, ‘पढ्ने हुटहुटी यस्तो जागेर आयो कि एसइईसम्मै पढ्ने रहर लागेको छ ।’

कपनकै स्थायी बासिन्दा गङ्गा ढुङ्गानाको कपाल फुलिसके । उमेरले ६३ औं वसन्त टेकिसक्यो । नातिले यसपाली एसइई पास गर्‍यो । उनी पनि नीराकी सहपाठी हुन् ।

सिन्धुपाल्चोक माइत भएकी उनको बिहे नौ वर्षमै भयो । ‘विद्यालय जाने र पढ्ने कुरा थाहा पाउनु त परै जाओस् । बिहे के हो भन्ने थाहा नहुने उमेरमै बिहे भयो’, उनले ती दिन सम्झिइन्, ‘छोरी मान्छेको जात बिहे गरेर अरुको घर जाने र छोराछोरी जन्माउने मात्रै होला जस्तो लाग्थ्यो ।’

उमेर बढ्दै जाँदा थाहा भयो पढाइको महत्व । साइनबोर्ड पढ्न नजान्दा काठमाडौँमै पटकपटक हराउनुपर्‍यो । कुनै गाडी चढ्न खोज्दा कता जाने हो भनेर सोध्नुपर्ने बाध्यता । उनका पाँच नातिनातिना हुर्किसके । उनी पनि एक वर्षदेखि बालकुमारी माविमै सञ्चालित अनौपचारिक शिक्षा कक्षामा पढिरहेकी छिन् ।

छोरी मान्छेले पढ्यो भने पोइला जान्छन् भन्ने सुनकी उनी बुढेसकालमा पढ्न पाउँदा औधी खुसी छिन् । कक्षा दुईसम्मको किताब पढ्न सक्ने भएकी छिन् उनी । ‘पढाइ भन्ने कुरा नमरेसम्म काम लाग्ने रहेछ । पढ्नु जान्नुको मज्जा बुझेपछि पढाइ छोड्नै मन छैन’, उनी भन्छिन् ।

काठमाडौँ महानगरपालिका-६ बौद्ध बस्नुहुने ४४ वर्षीया निरु पराजुलीसँग पढाइलेखाइ नहुँदाका मर्मस्पर्शी घटना छन् । लेखपढ नभए पनि गीत गाउन, कविता भन्नमा उनको सानैदेखि रुची थियो ।

विसं २०५५ मा धादिङको एउटा साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर पाइन् । उक्त कार्यक्रममा कविता भन्ने पालो आयो उनको । मञ्चमा जाँदा खै त कविता ? भनेर सोधियो । उनले मलाई लेख्न आउँदैन मुखैले भन्छु भन्दा अवसर दिइएन । उनले आयोजकसँग धेरै अनुरोध गरेपछि कविता वाचन गर्न पाइन् । उनको मौखिक कवितालाई निर्णायकले लेख्य रुपमा उतार्‍यो र पुरस्कृत गर्‍यो ।

‘पढ्न लेख्न जान्नैपर्ने रहेछ भन्ने महत्व मैले त्यसैबेला महशुस गरेँ’, उनले भनिन्, ‘लेख्नै नजान्नेको कविता पनि पुरस्कृत भयो भनेर धेरैले कुरा काटे । त्यहाँदेखि मलाई पढाइको भोक जागेको हो । तर, पढ्ने अवसर पाइएन ।’

काभ्रेको कोशीपारि धुसेनीमा जन्मिएकी उनलाई बुबाआमाले पढ्नै नदिएको भने होइन । चार दिदीबहिनीमा साहिंली निरुले त्यतिबेला पढ्ने मन गरिनन् ।

उनकी जेठी छोरी बेलायतमा छिन् । कान्छीको बिहे भइसक्यो । छोरो सानै छ । सुरुमा विकल्प महिला शिक्षा ज्ञान केन्द्रमा पढ्न थालेकी उनी पनि एक वर्षदेखि बालकुमारी माविमा सञ्चालित सन्ध्याकालीन अनौपचारिक कक्षामा सहभागी भएकी हुन् ।

अहिले गीत, कविता आफ्नै डायरीमा लेख्छिन् । सामान्य अङ्ग्रेजी लेख्न, पढ्न आउँछ । मोबाइलमा फेसबुक चलाउन सक्छिन् । ‘पढ्न जानेपछि जो कोहीको अगाडि बोल्न डर नलाग्ने रहेछ’, उनको अनुभव छ, ‘मनमा लागेका सबै कुरा गीत कविताको माध्यमबाट लेख्नु सजिलो हुने रहेछ ।’

उमेरले तीन बिसा (६० वर्ष) नाघ्ने तरखर गरिसक्यो देवकी ढकालको । तर, उनीमा पढ्ने जोश भने १६ वर्षे झैँ छ । ‘पढ्ने कुरा सम्झिँदा त भर्खर १५ कटेकी छु जस्तो लाग्छ’, जोशिलो हुँदै उनले भनिन्, ‘मलाई त कम्तिमा एसइई पास गर्न पाए कस्तो हुन्थ्यो भन्ने पो लाग्दैछ ।’

सिन्धुपाल्चोकको सिन्धुकोट सिन्धुमसुरे माइत भएकी देवकीको लाखेपोखरीमा बिहे भयो । पछि काठमाडौँ आएकी उनको स्थायी बसोबास बुढानीलकण्ठ नगरपालिका–१२ मा छ । श्रीमान बितिसकेपछि उनी एक्लो जस्तो भएकी थिइन् । एक वर्षदेखि अनौपचारिक शिक्षामा कक्षा लिइरहेकी उनी कक्षाकै ‘ट्यालेन्ट’ मध्येकी एक हुन् ।

अहिले उनलाई सामान्य लेखपढ, हिसाब गर्न आउँछ । अस्पतालमा शय्या नं हेर्न, बैङ्कमा भौचर भर्न आफैँ सक्ने भएकी छिन् । कुन रुटको बस कता जान्छ भन्ने हेर्ने बित्तिकै थाहा पाउँछिन् । ‘मलाई त पनातिसँगै भए पनि एसइई दिउँ जस्तो लाग्दैछ’, उनले भनिन् ।

अनौपचारिक शिक्षाको अवधारणा राम्रो भए पनि यसलाई थप व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ । अहिले कक्षा सञ्चालन भइरहेको विद्यालयमा कक्षाकोठा साँघुरो छ ।बेलोबलामा सबैजना कक्षामा अट्नै गाह्रै हुन्छ । भर्खरै पढ्न आउने र एक वर्षदेखि पढिसकेका एकै ठाउँमा हुँदा पढाइको तालमेल नमिल्ने उनको गुनासो छ ।

तेह्र वर्षको उमेरमा बिहे गरेर २०५४ को स्थानीय निकाय निर्वाचनमा वडा सदस्य निर्वाचित भएकी देवकीलाई पढ्नु भनेको जीवनलाई अँध्यारोबाट उज्यालोतर्फ लैजानु रहेछ भन्ने लागेको छ ।

‘पढ्नलाई उमेरले नछेक्ने रहेछ । लेखपढ नगरी मरेको भए त स्वर्ग पनि गइन्न थियो कि जस्तो लाग्न थालेको छ’, उनी भन्छन् ।

उल्लिखित पात्रहरुभन्दा जेठी छिन् गोमा आचार्य । कपनमै बस्ने आचार्य ६९ वर्षकी भइन् । उनी पनि नीरा, गङ्गा, निरु र देवकीकै सहपाठी हुन् । १२ वर्षको उमेरमा बिहे गरेकी उनी २०४५ सालमा काठमाडौँ आएकी हुन् ।

एक वर्षअघि कखरा पढ्न थालेकी उनले औँठाछापबाट मुक्ति पाएकी छिन् । ‘अर्को सालदेखि त भत्ता पाउँछु भनेका छन् । सबै कागजात बुझाइसकेँ’, उनले भनिन्, ‘अब भत्ता बुझ्ने बेला ल्याप्चे गर्नुपर्दैन, नाम लेख्न सक्छु ।’

सोलुखुम्बुको नेचासल्यानमा जन्मिएर ओखलढुङ्गाको च्यानम बिहे गरेकी दुर्गा अधिकारी ५३ वर्षकी भइन् । सानोमा दाजुले पढेपछि हुन्छ भन्ने लागेर उनी स्कुल गइनन् । १७ वर्षमा बिहे भएको उनले त्यसपछि मात्र पढाइको महत्व बुझिन् । उनी सानो हुँदा कक्षा चारसम्म विद्यालय गएकी हुन् । त्यतिखेर पाटीमा माटो दलेर सिटाले लेख्नुपर्थ्यो । पढाइमा खासै ध्यान दिइनन् ।

अहिले दुर्गाले अनौपचारिक शिक्षाको कक्षा लिइरहेकी छिन् । एक वर्षमा जोड, घटाउ, गुणन, भाग गर्न सक्ने भइन् । ए, बी, सी, डी जानिन् । मोबाइल चलाउन सिक्दै छिन् । ‘नातिनातिनासँगै स्कुल जाउँ कि भनेको थिएँ तर त्यतिखेर जान सकिएन’, उनले भनिन्, ‘अहिले पढ्न पाउँदा खुसी छु । तर, हामीले पढे अनुसार कक्षा चढ्दै जाने भए हुन्थ्यो ।’

बालकुमारी मावि फैँकामा उनीहरुजस्ता ४५ जना वयस्क र वृद्धा उमेरका महिला अनौपचारिक शिक्षाअन्तर्गत वडाले सञ्चालन गर्दै आएको कक्षामा पढ्छिन् ।

उनीहरुलाई ‘निरन्तर शिक्षा तह-१’ पुस्तक पढाउने गरेको स्वयंसेवी शिक्षिका रीता सिलवालले बताइन् । उक्त पुस्तकमा कक्षा एकदेखि दुई सम्मका विद्यार्थीले पढ्नेस्तरका नेपाली, अङ्ग्रेजी र गणितका पाठ्यसामग्री समावेश छन् ।

सामान्य लेखपढसमेत नभएका धेरै गृहिणी महिलाहरु कक्षामा आउन चाहेको उनको भनाइ छ । ‘यदि दिउँसो ११ बजेदेखि ३ बजेभित्र कक्षा सञ्चालन गर्ने हो भने कपनमै एक सय ५० जति गृहिणीहरु पढ्न आउँछन्’, उनले भनिन्, ‘तर हामीसँग त्यति सङ्ख्यामा पढाउने कक्षा कोठा र पढाउने जनशक्ति छैन ।’

बूढानीलकण्ठ-१२ मा अनौपचारिक शिक्षा कक्षा २०७० सालदेखि सुरु भएको हो । त्यतिखेर वडा नं १० मा बिन्दा गौतम, सावित्री भट्टराईलगायतका महिलामैत्री भन्ने एउटा मञ्च थियो । सोही मञ्चको नेतृत्वमा अनौपचारिक शिक्षा कक्षा सञ्चालन भएको हो ।

तत्कालीन वडा नागरिक मञ्चका संयोजक शम्भुप्रसाद भट्टराईले २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नं १२ मा अध्यक्ष निर्वाचित भएपछि यो कक्षा सञ्चालनलाई निरन्तरता दिने बताए। ‘यो कक्षा तीनवटै वडामा लोकप्रिय भएपछि नगरपालिकाको सबै वडामा सञ्चालन गर्ने कि भन्ने छलफल भइरहेको छ’, उनले भनिन्, ‘हामीले वार्षिक दुई लाख ५० हजार बजेट विनियोजन गरेर तीनवटा वडामा कक्षा चलाइरहेका छौँ ।’

नगरपालिकाको नगर सुशासन समितिका संयोजकसमेत रहेका भट्टराईले अनौपचारिक शिक्षा कक्षा जुनजुन विद्यालयमा सञ्चालन भइरहेका छन्, सोही विद्यालयसँग समन्वयगरी पढाइअनुसार कक्षा चढाउँदै लैजाने तयारी गरिरहेको बताए ।

अहिले तीन वटा वडामा दुईजना स्वयम्सेवी शिक्षिकाहरुले पढाउँदै आएका छन् । उनीहरुलाई मासिक आठ हजार तलब सुविधा वडाले उपलब्ध गराएको छ । विविध कारणले सानोमा विद्यालय जान नपाएका गृहिणी महिलाहरु यी कक्षाका लक्षित समूह हुन् ।

‘शिक्षा त्यस्तो शक्तिशाली हतियार हो, जसको माध्यमबाट तपाईं संसार बदल्न सक्नुहुन्छ’, भन्ने दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको भनाइ झैँ शिक्षाप्रति उनीहरुले देखाएको उत्साहले पक्कै समाज रुपान्तरणमा सहयोग गर्नेछ ।

यदि म मन्त्री भएर कतै तपाईंहरुलाई अनुसन्धान गर्न अप्ठेरो थियो भने आजैदेखि सुरु गर्नुस्ः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्री भएका कारण आफूमाथि अनुसन्धान गर्न समस्या भएको भए आजैदेखि अनुसन्धान सुरु गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

गृह मन्त्रालयबाट बाहिरिँदै गर्दा आइतबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले मन्त्री भएको कारण आफूमाथि अनुसन्धान गर्न केही अप्ठ्यारो परेको भए आजैदेखि अनुसन्धान सुरु गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘मेरो विषयमा धेरै कुरा उठेका छन् । हिजो पनि उठेका छन् । पत्रपत्रिकामा यहाँ छन् फाइल त्यहाँ छन् फाइल भनेर आएका छन् । मेरो फाइल कहाँ रहेछ भनेर कतै भनेको छैन । यदि म मन्त्री भएर कतै तपाइँहरुलाई म माथि अनुसन्धान गर्न अप्ठेरो थियो भने आजैबाट अनुसन्धान गर्नुस् । मैले सदनबाट पनि भनेको छु कि गृहमन्त्री नै दोषी छ भने मन्त्रालयबाटै हत्कडी लगाउनुस् भनेर बोलेको छु । द्धैध चरित्र राखेर एउटा नेता धेरै माथि जान सक्दैन ।’

त्यस्तै उनले आफ्नो कार्यकालमा बनेका आधारहरू नभत्काउन अब बन्ने नयाँ सरकारलाई आग्रह गरे । उनले भने, ‘कतिपय छानबिनका क्रममा थिए, फरार अभियुक्त पक्राउ परेका थिए। कयौँ कुराहरू बाहिर आएका थिए, सरकार परिवर्तनसँगै सामसुम छ । खबरदारी गर्ने निकाय नहुँदा, विशेषगरी भागबन्डामा गाँजिएको हाम्रो समाजमा शान्ति, सुव्यवस्था र अनुसन्धानमा कुनै प्रभाव नपरोस् ।’

उनले आफू प्रतिपक्षमा बसेर यी घटनाहरूलाई नजिकबाट नियालिरहने बताए।