`

परराष्ट्रमन्त्रीलाई भारतीय, पाकिस्तानी समकक्षीद्वारा बधाई

काठमाडौँ – भारतका बाह्य मामिलामन्त्री डा सुव्रमन्यम जयशङ्करले नेपाली कांग्रेसकी नेत्री डा.आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु भनेका छन् ।

यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा. राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उनीसँग काम गर्न आफू तयार रहेको बताएका छन् यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

सुन प्रतितोला नौ सयले बढ्यो

काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु नौ सयले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । सोमबार प्रतितोला रु एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४७ हजार आठ सय निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४७ हजार एक सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ७५ निर्धारण भएको छ ।

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीद्वारा शुभकामना

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हाल्नुभएकामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन उहाँसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताउनुभएको छ ।

यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री ओलीको कार्यकालमा द्विपक्षीय सहयोगका साथै क्षेत्रीय सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास प्रधानमन्त्री शहबाजले व्यक्त गर्नुभएको छ ।

जनतामा छाएको निराशालाई आशामा बदल्न सरकारले आर्थिक अराजकताविरुद्ध काम गर्नुपर्छ

काठमाडौं । कांग्रेस–एमाले नेतृत्वमा नयाँ सरकार गठन भएसँगै राजनीतिक दलका नेता, बुद्धिजीबी, तथा राजनीतिक विश्लेषकहरुले सरकारलाई खबरदारी गरेका छन् । विद्यमान चुनौती सामना गर्दै जनताले आशा गरेका सबै सम्भावनालाई मूर्तरूप दिन उनीहरुले सरकारलाई खबरदारी गरेका हुन् । सत्तारुढ दलका नेताले सरकारलाई जनतामा छाएको निराशालाई आशामा बदल्न सुझाव दिएका छन् भने प्रतिपक्षमा रहेका दलका नेताले सुशासनका लागि निर्मम हुन सुझाव दिएका छन् । त्यस्तै बुद्धिजीबी र राजनीतिक विश्लेषकले भने सरकारलाई व्यंग्य गर्दै खबरदारी गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सामाजिक संजालमा लेख्छन्, ‘शपथग्रहण गरिरहँदा प्रधानमन्त्री र मन्त्रीहरूले त्रिशूलीमा दुई बससँगै हराएका नागरिकको स्मृति गर्नुपर्छ, हाम्रो दायित्वबोध राम्रोसँग हुनसक्नेछ ! चुनौती चिर्दै नागरिक पंक्तिमा आशा भर्नुछ । सहकार्य भन्नू ‘पुराना प्रश्न’ को तिलांजली होइन । दृढ ढंगले उठाउने छौं । आज शपथको दिन केवल शुभकामना !’

अर्का कांग्रेस नेता डा.मीनेन्द्र रिजाल विद्यमान चुनौती सामना गर्दै जनताले आशा गरेका सबै सम्भावनालाई मूर्तरूप दिन सरकारलाई सुझाव दिएका छन् । उनी लेख्छन्, ‘नेपाली काङ्ग्रेस र नेकपा एमालेको सहमतिमा केपी. शर्मा ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई हार्दिक बधाई । विधमान चुनौती सामना गर्दै हामीले आशा गरेका सबै सम्भावनालाई मूर्तरूप दिन सफलता मिलोस, यही शुभकामना छ।’

तर माओवादी केन्द्रका नेता लेखनाथ न्यौपाने उही पुराना अनुहारबाट सफलता हातपर्नेमा आशंका व्यक्त गर्छन् । उनी भन्छन्, ‘उही अनुहार, उही असफलता र बदनामी । एउटै व्यक्ति जो सरदर योग्यता/योगदान भएका वा कमजोर/विवादित अथवा अलोकप्रिय/बदनामहरु पटक पटक उही जिम्मेवारी/पदमा जान्छन् वा जान किन मरिहत्ते गर्छन् ? यस्ता हर्कतले राज्य, समाज र नागरिकमाथि नकारात्मक प्रभाव यति गहिरोगरी परेको छ कि हर नागरिकमा निराशा र पलायनता एंव राज्य असफलतातिर गएको प्रष्ट छैन र ? यसको उपचार पार्टी संचालनको संस्कृति, नयाँ कानुनको प्रावधान साथै समाजमा सही र गलत छुट्याउन सक्ने स्वतन्त्र चेतना निर्माणबाट सम्भव हुन् कि ! लुतोसँगै समाज र राज्यका खराबीहरु अगुल्टोमा झोसेर फाल्न सके…!’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुशासनका विषयमा सरकारसँग सहकार्य गर्न तयार रहेको तर भ्रष्टाचारका मुद्दामा भने निर्मम ढंगले प्रस्तुत हुने बताउँछन् । उनी लेख्छन्, ‘नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीज्यू सहित सम्पूर्ण मन्त्रिमण्डललाई सफल कार्यकालको शुभकामना । हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौं भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौं।’

राजनीतिक विश्लेषक मुमाराम खनाल यो सरकारबाट ‘स्थिरता र सुशासन’को आशा गर्न नहुने बताउँछन् । उनी भन्छन्, यो सरकारको ‘स्थिरता र सुशासन’ त घाममा सुकाए हुन्छ। तर यसभन्दा अगाडि जनमत नभएका एक्काइसे/बत्तिसे दलका झुट, निकम्पापन र हिरोपन्थी राजनीतिक बचपनबाट कमसेकम कर्मचारीतन्त्रले अलिकति भएपनि मर्यादाको महसुस गरेको छ। उचित जनमत बिना सरकारमा जानु भनेको निम्तो बिनाको भतेर खानुजस्तै हो।’

नागरिक अगुवा दमननाथ ढुंगाना देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण र संविधानको पुनरावलोकनको काम थाल्न सरकारलाई सुझाव दिन्छन् । उनी भन्छन्, ‘ओलीजीको प्रधानमन्त्रीत्वको नेपाली कांग्रेस सम्मिलित नयाँ ऐतिहासिक सरकारलाई बधाई त दिने तर कुन शब्दमा दिने ? पहिलो देशमा व्याप्त आर्थिक अराजकता तथा भ्रष्टाचारविरुद्ध युद्ध छेड्न सफल होस् । दोश्रो संविधानको पुनरावलोकन थालोस् ।’

अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडा चाहिँ हिजो सत्तापक्षमा रहेका दललाई अहिले विपक्षमा पुगेपछि विपक्षको नाटक नगर्न सल्लाह दिन्छन् । उनको सुझाव छ, ‘लोकतन्त्रमा विपक्षी धैर्यता ठूलो गुण र सौन्दर्य हो । बेलायतमा लेवर पार्टी १४ वर्षमा शानदार जितसहित सत्तामा फर्कियो । भारतमा कांग्रेस ११ वर्षदेखि विपक्षमा छ, अझै कति वर्ष रहन पर्ने हो । यहाँ वर्ष त के महिनामै आत्तिएर मर्छन् । सरकारमा नलिइएका वा घोक्राइएकाहरुले विपक्षको नाटक नगरे कै राम्रो ।’

बुद्धिजीबी तथा पूर्वराजदूत निलाम्बर आचार्य सरकार सफल हुने वा नहुने भन्ने विषय उसको कार्यसंचालनमा भरपर्ने बताउँछन् । उनी भन्छन्, ‘अस्थिर र परिणामहीन सरकारहरूको शृंखलामा यो अर्को सरकार हुने हो । अथवा सार्थकरूपले फरक हुने हो सरकारकै कार्य सञ्चालनमा भरपर्छ । म तटस्थ छैन सरकारले आइपर्ने बिघ्नबाधा पार गर्न सकोस् सरकार सफल होस् भन्ने चाहन्छु ।’

किन हराउँदैछ लुतो फ्याक्ने चलन ?

– प्राडा तीर्थप्रसाद मिश्र ।

बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो । यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन् । नेपालीहरूले श्रावण महिनालाई अत्यन्तै पवित्र महिनाका रूपमा लिने गरेका छन्, यस्ता अनेकौँ दृष्टान्त छन् । साना–ठूला गरी धेरै चाडपर्व यस महिनामा मनाइन्छन् भने अन्य चाडबाडको प्रारम्भ पनि श्रावणबाटै हुने गर्दछ । यसै दिनदेखि सूर्य कर्कट राशिमा प्रवेश गरेर उत्तरायणबाट दक्षिणायण लाग्ने हुँदा यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । यसै दिन नेपाली समाजमा लुतो फ्याँक्ने चलन चलेपछि यसलाई लुते सङ्क्रान्ति पनि भन्न थालियो ।

सबै चाडपर्व, रीतिरिवाज, परम्परा आदि तत्कालीन समयको इतिहास बुझ्न सहयोगी हुन्छन् । कतिपय चाडपर्व, उत्सव मनोरञ्जनसँग सम्बन्धित थिए भने कतिपय स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने खालका छन् । यी कतिपय पर्वमा जनश्रुति एवं धार्मिक कथा गाथा जोडिँदा नयाँ पुस्तालाई अपेक्षाकृत रूपमा आकर्षण गर्न नसकिएको हो । धर्म र पापका दृष्टान्त दिएर सत्कर्ममा सबै अग्रसर होउन् भन्ने प्रयोजनले हो, अन्धभक्त बनाउन किमार्थ होइन । आज हिन्दू धर्मका कतिपय ग्रन्थहरूको मूल मर्म विपरीत कथा गाथा प्रचारप्रसार हुँदा भोलिका पुस्तामा संस्कृति र परम्पराप्रति अनास्था पैदा हुने र उत्साह हराउने सम्भावना छ । यसै कारण होला लुतो फ्याक्ने प्रचलन हराउँदै गएको छ । लुतो फ्याक्ने प्रचलनलाई सुक्ष्म दृष्टिले हेरेमा यो मनोरञ्जनको माध्यम हो, स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने माध्यम हो । नेपालको कृषिप्रधान युगको संस्कृति हो, तत्कालीन समाजको जनविश्वास पनि हो ।

नेपाली समाजमा साउने र माघे सङ्क्रान्तिलाई परिवार मिलन समारोहका रूपमा लिने गरिएको छ । साउने सङ्क्रान्तिमा चेलीबेटी तथा ज्वाइँ वा अन्य पाहुनालाई आमन्त्रण गरी आफ्नो गच्छेअनुसारको परिकार तयार गरी भोजन गराउने चलन छ । विगतमा यी दुवै सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने गरिएको कुरा इतिहासले बताउँछ । लुतो फ्याक्ने चलन सिधा स्वास्थ्यसँग जोडिएको संस्कार हो । खेतीपातीमा धमाधम हुँदा केटाकेटीको स्वास्थ्यमा उति ध्यान पुगेको देखिँदैन । हिलो र फोहोरमा हिँडडुल गर्दा लुतो लाग्ने गर्दथ्यो ।

रोगव्याधीलगायतका समस्या सरुवारोगसम्बन्धी जनचेतनाको कमीले गर्दा हुने हो तर कुनै अनिष्ट प्रकृतिका कारण रोगव्याधी आएको हो भन्ने तत्कालीन जनविश्वास थियो । त्यतिबेला सिमेभूमे, भूतप्रेत तथा पिसाच आदिको कुदृष्टिले रोग लागेको विश्वास व्याप्त थियो । यस्तो विश्वास धामीझाँक्री, झारफुके तथा जान्ने जस्ताले जगाइदिएका थिए । तर पनि आहारविहारमा नियन्त्रण नहुँदा रोग लागेको हो भन्ने चेत भने हाम्रा पुर्खामा थियो । त्यसैले सचेतना गराउने उद्देश्यले पनि यो लुतो फ्याक्ने संस्कार विकसित भएको अनुमान गर्न सकिन्छ ।

लुतो फ्याक्ने प्रचलन कहिले कसरी सुरु भयो यकिन गर्न भने सकिएको छैन तर यो प्रचलन खस साम्राज्यबाट सुरु भयो भन्ने अनुमान गर्न सकिन्छ । कालान्तरमा सोही साम्राज्य विखण्डन हुन गई बाइसी र चौबीसी राज्यहरू भए । खस भाषीहरूको बसाइँसराइ गर्दै पुगेको स्थानमा अरू पर्व जस्तै यो पर्व पनि पुगेको अनुमान गर्न सकिन्छ । हाल प्रचलित अनेकौँ पर्व चाडपर्वहरूको जननी खस साम्राज्य नै थियो । खस साम्राज्यले नेपालको इतिहास र संस्कृतिमा पुर्याएको योगदान बुझ्न पनि यो लुते पर्व सहयोगी भएको छ । आजसम्म पनि यसै कारणले होला सुदूरपश्चिम प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइन्छ ।

श्रावण १ गते पारिवारिक पूर्णमिलन समारोहको कार्यक्रम बिहान दिउँसो हुने गर्दछ भने बेलुका कन्दारकको पूजा आराधना गरी लुतो फ्याक्ने क्रिया गरिन्थ्यो । विशेषगरी केटाकेटीहरू वनजङ्गलमा गई भलायोको पात, उन्यौ, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनो, धसिङ्गरेको बोट, तीतेपाती, कुरिलो, सिउँडी, सिस्नो, पानीअमला जस्ता वनस्पति सङ्कलन गरेर घर ल्याउँछन् । यसैगरी मौसम अनुसारका फलफूलहरू निबुवा, अम्बा, आरुबखडा, आलुचा, आरु, जुनार, सुन्तला, संखत्रो, नासपातीजस्ता फलफूल जम्मा गर्ने र आँगनमा तुलसीको मोठनजिक बासका साना साना कप्टेराका खुट्टा बनाई मण्डप बनाइन्छ । सो मण्डपको छेउछेउमा धान र चमरा सहित मकैको बोट उठाएर राखिन्छ । मण्डपमा केराको पात बिछ्याएर सङ्कलन गरिएका वनस्पति र फलफूल सजाइन्छ । त्यसै मण्डपमा पाँचमुठा राँको र १० ओटा अगुल्टा राखी धोईपखाली गरेका ढुङ्गाका प्रतिमामा पूजा गर्ने चलन छ । झमक्क साँझ परेपछि कन्दारकको पूजाआजा गरिन्छ । कतै कतै त निबुवा जस्तै अमिला फललाई जनावरको आकार बनाई बलि पनि दिने गरिन्छ । कन्दारकको पूजा सकिएपछि राँको बाली अगुल्टोमा आगो सल्काई १० दिशामा फालिन्छ ।

कन्दारकको पूजापछि अगुल्टो फाल्दा मूलढोका लगाउने, नाङ्लो ठटाउने, ढिकी कुट्ने, जाँतो पिस्ने, दमाहा बजाउने, शङ्ख फुक्ने र घण्टा बजाउने गरिन्छ । अगुल्टो फाल्दा लुतो भागिजा, अर्को गाउँमा सरिजा भनेर कराउने गरिन्छ । रातमा सुत्ने बेलामा हातखुट्टामा तेल लगाई तिउरी दलिन्थ्यो ।  तिउरी लेपन गरी हातखुट्टालाई हल्का बाँधेमा तिउरी रङ गाढा हुन्थ्यो, मेहन्दीको जस्तै ।

विसं २०१५ अघिसम्म जिल्लाजिल्लामा सरकारी स्तरबाटै गर्ने गरिन्थ्यो । धनकुटा जिल्लाको निशानस्थानमा सबै अड्डाका प्रमुखसहित बडाहाकिमको उपस्थिति हुन्थ्यो । माथि उल्लिखित विधिद्वारा राजपुरोहितको निर्देशनमा पूजाआजा हुने र मूलकर्ता बडाहाकिम वा उनले तोकेको अधिकारी हुने चलन थियो । कन्दारकको पूजा आराधनापश्चात् १० दिशामा अगुल्टो फाल्दै लुतो फालिन्थ्यो । यो बढाइ सकेपछि गाउँघरमा लुतो फाल्ने कार्य प्रारम्भ हुन्थ्यो । त्यतिबेला लुतो फाल्ने दिनदेखि तीन दिनसम्म गोरु जोत्नु हुँदैन भन्ने मान्यता थियो ।

कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरलगायत केही धार्मिक स्थलमा सामूहिक रूपमा लुतो फाल्ने कार्यक्रम चलेको देखिन्छ । यस्ता प्रकारका मौलिक संस्कार अब सहरबाट प्रायः लोप भइसके भने पनि हुन्छ तर गाउँघर विशेषगरी कर्णाली क्षेत्रमा यो परम्परा अहिले पनि कायमै रहेको छ । बर्खामा हिलो फोहोरबाट रक्तविकार उत्पन्न भई घाउखटिरा जस्ता छालामा देखिने र देखिन सक्ने रोगबाट मुक्ति पाउन यो संस्कार चलेको अनुभव हुन्छ । रोगव्याधि आदि विभिन्न अदृश्य शक्तिको उपासना गर्दा ठीक हुन्छ भन्ने जनविश्वासको आधारमा कन्दारकको पूजाआजा गर्ने चलन चलेको थियो । लुतो फाल्ने उत्सवको महत्त्व र गरिमा विषयमा चिन्तन मनन् नहुँदा र यसको उपादेयताको विषयमा भावी पुस्तालाई जानकारी गराउन नसक्दा यस्ता कतिपय संस्कार–परम्परा लोप हुने स्थितिमा छन् । लुतो फाल्ने उत्सव नेपालको समाज, संस्कृति, इतिहास र जनविश्वाससँग गाँसिएको छ भन्ने जानकारी गराउन आवश्यक छ ।

यस पर्वलाई सचेतना दिवसका रूपमा पनि लिन सकिन्छ । सफा हुनाले छालाको रोग लाग्दैन भन्ने सन्देश यस पर्वले दिएको छ । यसैगरी विभिन्न जङ्गली झारपात तथा रुख–लहरा सञ्जीवनी बुटी हुन् । तिनको संरक्षण गर्नुपर्छ भन्ने चेतना पनि यस लुते सङ्क्रान्तिले जगाएको छ । आयुर्वेद उपचार पद्धतिमा यस्ता वनसम्पदाको ठूलो महत्त्व छ तर हामीले यस्ता पद्धतिप्रतिको अविश्वास वा आधुनिक चिकित्साप्रतिको मोहका कारणले यस्ता वनस्पति चिन्न सकेका छैनौँ । यी प्राकृतिक विधि लोप हुने स्थितिमा छन् । तिउरी लगाउँदा हिलोले खाएका हात खुट्टालाई फाइदा हुन्छ भन्ने कुरा नै धेरैले बिर्सिसकेका छन् । तिउरी लगाउँदा सर्पले नटोक्ने र विभिन्न छालाका रोगबाट बच्न सकिने जनविश्वासका साथ कर्णाली क्षेत्रको ग्रामीण भेगमा यो चलन अहिले पनि चलिरहेको पाइन्छ । अनिकाललगायतका प्राकृतिक प्रकोप झेल्न नपरोस् भन्ने आशयले पनि यो लुते पर्वको चलन चलेको भनाइ पनि छ ।

साउने सङ्क्रान्तिको दिन दिउँसो खरानीमा कपडा पकाएर धुने चलनबाट त्यतिबेलाको सामाजिक स्थिति बुझ्न सकिन्छ । त्यो बेला साबुन, पाउडर जस्ता लुगा सफा गर्न प्रयोग हुने वस्तुको अभाव हुने हुँदा स्थानीय तवरबाटमा नै उपलब्ध हुने वस्तुको प्रयोग गरिन्थ्यो । लुते सङ्क्रान्तिदेखि तीन दिनसम्म गोरु जोत्न हुँदैन भन्नुको तात्पर्य ती पाल्तु जनावरलाई आराम दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु हो । बर्खाभरि खेतबारी जोतेका गोरुहरू थाकेका हुन्छन्, आराम चाहिन्छ भन्नको लागि यो चलन चलाएका हुन सक्छ । यस्ता पशुको हेरचाह र संरक्षण गर्नुपर्छ भन्ने चेत हाम्रा पुर्खालाई थियो ।

यस दिन बलेको अगुल्टोलाई चारै दिशामा फाल्दा अमुक गाउँको नामै उच्चारण गरी लैजा भन्ने गरिन्थ्यो । यसबाट त्यो समयमा एकअर्को गाउँप्रतिको आक्रोश व्यक्त हुन्थ्यो । गाउँ गाउँबीच आपसी सम्बन्ध सदैव सौहार्दपूर्ण थिएन । एकले अर्कोलाई दबाउन खोज्ने तत्कालीन परिस्थिति थियो । यसैकारण यो पर्वमा अगुल्टो फाल्दा अर्को छिमेकी राज्यप्रतिको द्वेष प्रकट गर्ने एक संस्कार नै बन्न पुग्यो । यसैगरी बर्खाभरि खेती किसानीको सिलसिलामा भएका रिसराग विसङ्गति जस्ता समाजमा देखिएका लुतो पनि यस संस्कार सम्पन्न गर्दा हराउने विश्वास थियो । वास्तवमा यस्तै सामाजिक परम्पराबाट सामाजमा सामूहिक एकता र सहकार्यको भावना उत्पन्न भएको हो ।

हाम्रा प्रत्येक पर्व र संस्कारभित्र अनेकौँ रहस्य लुकेका छन् । लुते फाल्ने पर्व मनोरञ्जन गराउन, जनचेतना जगाउन, उपलब्ध सामग्रीकै महत्त्व र उपादेयता देखाई प्रयोग गर्न तथा सामाजिक सद्भाव कायम गर्ने एउटा संस्कार हो । यस्ता संस्कारलाई भावी पुस्तासम्म पुर्याउन सकिएमा हाम्रो संस्कृति र मौलिकताको संरक्षणमा सहयोग पुग्दछ ।

(लेखक संस्कृतिविद् हुनुहुन्छ)

सुनसान देवघाटधाम

साउनको पहिलो दिन साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाममा मङ्गलबार देखिएको सुनसान । सङ्क्रान्तिका दिन बिहानैदेखि यहाँ भक्तजन आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ । बाढी पहिरोको एवं दुर्घटनाका कारण यस वर्ष भक्तजनहरुको उपस्थिती न्यून भएको हो ।

तस्बिर/सनद अधिकारी/रासस

सरकारलाई मेरो कुनै सल्लाह वा सहयोगको आवश्यकता महसुस भएमा तयार छुः नारायणकाजी श्रेष्ठ

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिँदै सरकारका काममा सहयोग गर्न आफू तयार रहेको बताएका छन् ।

सामाजिक संजालमार्फत श्रेष्ठले गृह र परराष्ट्र मन्त्रालयमा केही महत्वपुर्ण सुधारका कार्यहरु थालिएका र गुणात्मक सुधारका लागि गम्भीर गृहकार्यको प्रक्रिया अघि बढाइएको भन्दै त्यसमा सहयोग गर्न आफू तत्पर रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु र कार्यकालको सफलताको कामना गर्दछु । उहाँको मन्त्रिपरिषदका अन्य सदस्यहरुलाई पनि बधाई तथा सफलताको शुभकामना । यसबीचमा मैले सरकारमा रहेर इमान्दारीताकासाथ पूर्ण समर्पित भएर देश र जनताको पक्षमा काम गर्न कोसिस गरें । यसक्रममा हासिल भएका केही महत्वपूर्ण परिणामहरु सबैको जानकारीमा रहेकै छन् । गृह र परराष्ट्र मन्त्रालयमा केही महत्वपूर्ण सुधारका कार्यहरु थालिएका छन् र गुणात्मक सुधारका लागि गम्भीर गृहकार्यको प्रक्रिया अघि बढाइएको छ । यी कार्यहरुलाई निरन्तरता दिँदै निष्कर्षमा पुर्याउन सकिएमा राष्ट्र र जनताको आजको आवश्यकता र अपेक्षा पूरा गर्ने सन्दर्भमा महत्वपूर्ण उपलब्धी हासिल हुने निश्चित छ । त्यसैले म वर्तमान सरकार र सम्बन्धित मन्त्रीज्यूहरुलाई यसतर्फ गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । यसक्रमा देश र जनताको पक्षमा मेरो कुनै सल्लाह वा सहयोगको आवश्यकता महसुस भएमा त्यसका लागि सधैं तयार रहेको कुरा जानकारी गराउन चाहन्छु ।’

उनले सरकार बाहिर रहँदा पनि सबै सकारात्मक पक्षहरुसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले भनेका छन्, ‘म यस अवसरमा मलाई सरकारमा रहेर काम गर्ने अवसर प्रदान गर्नु हुने हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष क . प्रचण्ड र सिङ्गो पार्टीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै सरकारमा रहेर देश र जनताको पक्षमा कृयाशील रहँदा मलाई सहयोग र प्रोत्साहन गर्नुहुने सबैमा आभार तथा कृतज्ञता प्रकट गर्दछु । सरकार बाहिर रहदा पनि म सबै सकारात्मक पक्षहरुसंग हातेमालो गर्दै देश र जनताको पक्षमा पूर्ण निष्ठाका साथ कार्यरत प्रतिबद्धता व्यक्त गर्दछु ।’

चार लाख घुस र ४५ लाखको चेकसहित दुई कृषि प्राविधिक अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५४ लाख भन्दाबढी नगद र चेकसहित दुई कृषि प्राविधिकलाई नियन्त्रणमा लिएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक(अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीले कृषि समूहको बिल भुक्तानी गर्दा सेवाग्राहीसँग कमिसन लिएको अख्तियारको दाबी छ ।

अख्तियारको टोलीले मोहन सिंह धामी र अशोक सिंह धामीलाई सेवाग्राहीबाट ४ लाख १२ हजार नगद घुस लिइसकेको अवस्थामा र ४५ लाख ६० हजारको ५ थान चेक र अशोक सिंह धामीको नाममा काटिएको दुई लाख पचास हजारका दुई वटा गरी पाँच लाखको चेकसहित कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बोराडाडीबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

विमानस्थललाई हेरेर लगानी गरेका पोखराका पर्यटन व्यवसायी निराश

गण्डकी । उद्घाटन भएको डेढ वर्ष बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान हुन सकेको छैन । झण्डै  २२ अर्ब ऋणमा बनेको  विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यलाई आर्थिक भार मात्र थपिएको छैन विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवसायीसमेत मारमा परेका छन् । 

पर्यटकीय राजधानी पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा अहिले निराश बनेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल बनेपछि पोखराको पर्यटनमा झण्डै एक खर्ब लगानी थपिएको बताए ।

“पोखराको पर्यटन क्षेत्रमा करिब ६ खर्बको लगानी रहेको अनुमान छ, अहिले पनि तारे होटल धमाधम बनिरहेका छन्, विमानस्थललाई हेरेर लगानी गरेका होटल व्यवसायी अहिले समस्यामा निराश छन्”, उनले भने, “सरकारले जतिसक्दो चाँडो पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरोस् भन्ने हाम्रो माग छ ।” 

पोखरा र सिङ्गो गण्डकी प्रदेशको समृद्धिको आधार मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सके पर्यटकीय राजधानी पोखराले पर्यटनमा ठूलो फड्को मार्ने अध्यक्ष श्रेष्ठले बताए ।

पर्यटन व्यवसायी गोपी भट्टराईले विमानस्थल बनेको लामो समयसम्म अन्तर्राष्ट्रिय उडानका लागि सरकारले पहल गर्न नसकेका दुःख व्यक्त गरे । 

“विमानस्थल बन्दा पोखरेलीहरु हर्षित र उत्साहित भएका थियौँ तर डेढ वर्ष बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा हामी निराश छौँ”, उनले भने, “छिमेकी देश चीन र भारतसम्म उडान सेवा सुरु गर्न सकेपनि पोखरामा उल्लेख्य पर्यटक भित्राउन सकिन्छ ।” उनका अनुसार पोखरामा रहेको एक हजार दुई सयभन्दा बढी होटलमा दैनिक ४० हजार पर्यटक राख्न सक्ने क्षमता छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले विमानस्थल बनाउने ५० वर्षदेखिको पोखरेलीको सपना पूरा भएपनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुःखद् भएको बताए । सरकारले शीघ्र कुटनीतिक पहल सुरु गरेर अन्तरदेशीय उडान सुरु गर्नुपर्ने उनको सुझाव छ । 

अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलबारे अनेक टिकाटिप्पणी हुन थालेको भन्दै उनले विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ढिलाइ गर्न नहुने बताए । पोखराबाट अन्तर्राष्ट्रिय उडान नभएसम्म पर्यटकीय राजधानीका रुपमा पोखराले यथोचित लाभ लिन नसक्ने उनले उल्लेख गरे ।

गत हप्ता विमास्थलको अनुगमनका लागि आएको संसदीय उपसमितिसमक्ष परिषद्ले अन्तर्राष्ट्रिय उडानका लागि सम्बन्धमा मागपत्र बुझाएको थियो ।

सरकाको नीतिअनुसार उचित सहुलियत (प्याकेज) घोषणा गरी नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गरिएको परिषद्का अध्यक्ष श्रेष्ठले बताए । पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सबाट सुरु गर्नुपर्ने उनको सुझाव थियो । 

उक्त मागपत्रमा पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक नीति, नियममा सहजीकरण गर्नुपर्ने, भारत र चीनका मुख्य सहरमा उडान गर्न राष्ट्रियस्तरका हवाई कम्पनीलाई अनुमति दिनुपर्नेलगायतका विषय समेटिएको छ । 

प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उक्त संसदीय उपसमितिले गत सोमबार विमानस्थल र रिठ्ठेपानी डाँडाको स्थलगत अनुगमन गरेको थियो । विमानस्थल निर्माणका क्रममा त्रुटि तथा अनियमितता भएको हुनसक्ने भन्दै सार्वजनिक लेखा समितिमा परेको उजुरीका आधारमा गठित उक्त अनियमिताका विषयमा छानविन प्रकृया अगाडि बढाइ कोही दोषी देखिए कारबाहीको दायरामा ल्याउने भएको छ । 

अन्तर्राष्ट्रिय उडान हुन नसक्नुका कारण खोजी गरी पोखराबाट अन्तर्राष्ट्रिय उडान सेवा सञ्चालनका लागिसमेत उपसमितिले पहल गर्ने जनाइएको छ ।

अध्ययनका क्रममा विमानस्थलमा भएको आर्थिक लगानी, विमानस्थल निर्माणको आवश्यकता र औचित्य, निर्माणमा भएका त्रुटि, विमानस्थल नियमित सञ्चालनका चुनौती, भावी कार्ययोजनालगायतका विषयमा छलफल गरिएको थियो । उक्त टोलीले विमानस्थल निर्माणका क्रममा काटिएको रिठ्ठेपानी डाँडाको पनि स्थलगत अनुगमन गरेको थियो । 

हवाई मार्गबाट देशका ठूला सहरसँग जोडिएको पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा भने उडान हुन नसकेको हो । वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँ, भरतपुर, भैरहवालगायतका गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् । 

सन् २०२३ को जनवरी १ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थलको उद्घाटन गरेका थिए । 

मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान निर्माण गरिने

काठमाडौँ  । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको  मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शपथ लिएपछि सिंहरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहालीपछि भएकोे बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री ओलीकोे सचिवालयले जनाएको छ ।

रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि फ्ल्ड लाइट र आवश्यक संरचना बनाउने निर्णय गरिएको छ । उक्त कामका लागि तीन सय दिनको समयसीमा निर्धारण गरिएको छ ।

बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय गरेको छ ।

सिमलताल पहिरोमा बेपत्ता बसका नौ यात्रुको शव नवलपुरमा फेला

नवलपुर । चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले आज मात्रै जिल्लामा चारवटा शव भेटिएको जानकारी दिए ।

नवलपुरमा हालसम्म भेटिएका नौ शवमध्ये पाँचको पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको पौडेलले जानकारी दिए । सोमबार यहाँ चारवटा शव भेटिएका थिए, ती शवको पहिचान हुन सकेको छैन । शव पहिरोमा परेर बेपत्ता भएका यात्रुको हुनसक्ने भन्दै सोहीअनुसार अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।

आज बिहान गण्डक ब्यारेज पुलमा भेटिएका दुई शवमध्ये एउटा करिब १९ वर्षीया महिला र अर्को करिब ३० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ । यस्तै आजै मध्यविन्दु–२ भुताहास्थित नारायणी नदीको टापुमा भेटिएको शव करिब ४५ वर्षीय पुरुषको तथा विनयी त्रिवेणी गाउँपालिका–७ गण्डक ब्यारेजको पुलमा करिब १३ वर्षीय बालकको रहेको पौडेलले जानकारी दिए ।

जिल्लाको गैँडाकोट–७ गैरीमा भेटिएका दुईवटा शवमध्ये एउटा सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमित कसुर माझी र अर्को चितवनको माडी–१ का २२ वर्षीय विकास परियारको भएको पौडेलले बताए । माझीको शव बुवा रवीन्द्र कुसर माझीले तथा परियारको शव दाजु विजय परिवारले पहिचान गरेका थिए।

माझी काठमाडौँबाट रौतहट जाने गणपति डिलक्सको बागमती प्रदेश ०३–००१ख– २४९५ र परियार वीरगञ्जबाट काडमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ख– १५१६ नम्बरको बसमा सवार यात्रु भएको जनाइएको छ ।

शनिबार गैँडाकोट–७ गैरीमा भेटिएको अर्को शव भारतको बिहार राज्यस्थित बेतियाका ३० वर्षीय सजाद अन्सारी भएको पौडेलले जानकारी दिए । अन्सारी वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बसमा सवार यात्रु भएको उनले बताए ।

यस्तै आइतबार साँझ जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेजको गण्डक नहरमा भेटिएका दुवै शवको सोमबार बिहान पहिचान भएको छ । गण्डक नहरमा भेटिएकामध्ये एउटा चितवनको भरतपुर–२२ का २३ वर्षीय सुदीप विक रहेको बुवा सोमबहादुर विकले पहिचान गरेका थिए ।

सुदीप वीरगञ्ज जाँदै गरेको एन्जल डिलक्सका यात्रु हुन् । यसैगरी अर्को शव रौटहटको जमुनामाई गाउँपालिका–४ का १७ वर्षीय राहुम मियाको भएको उनका बुवा इस्लम मियाले पहिचान गरेका छन् । मिया गणपति डिलक्समा काठमाडौँबाट गौर जाँदै थिए ।

पहिरामा परी बेपत्ता भएकामध्ये चितवनतर्फ भारतको सीतामाडी बर्गिनियाका २८ वर्षीय ऋषिपाल साह, भारतकै सीतामाडी बेतियाका ३० वर्षीय जयप्रकाश ठाकुर रहेका छन् । आइतबार नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा भेटिएको शव बाराको साविक विश्रामपुर गाविस–४ का ४३ वर्षीय परमानन्द पण्डितको भएको र अर्का करिब ३५ वर्षीय पुरुषको पहिचान हुन नसकेको जनाइएको छ ।

हालसम्म तीनवटा जिल्लामा भेटिएका १३ वटा शवमध्ये पाँचवटा शवको पहिचान हुन सकेको छैन । पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।

सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तिमा २४ जना र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा २७ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ । बसमा सवार यात्रुमध्ये तीनजना त्रिशूली नदीमा पौडी खेलेर बाँँच्न सफल भएका थिए ।

पर्यटन नीति संशोधनका लागि कार्यदल गठन

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि विद्यमान पर्यटन नीतिलाई समयानुकूल बनाइने बताएका छन् ।

मन्त्रालयमा सोमबार पदबहाली गर्दै मन्त्री पाण्डेले नयाँ पर्यटन नीतिमार्फत पर्यटन क्षेत्रका सम्भावनाको उजागर गर्दै बढीभन्दा बढी पर्यटक आकर्षण गर्न योजनाबद्ध कार्यक्रम अघि बढाइने विश्वास व्यक्त गरे ।

“नेपालको पर्यटन क्षेत्रलाई कसरी प्रभावकारी विकास गर्न सकिन्छ भनेर हालको पर्यटन नीतिलाई परिमार्जन गर्न मन्त्रालयले गम्भीरतापूर्वक अध्ययन गर्नेछ”, पर्यटनमन्त्री पाण्डेले भने, “आज मात्रै मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । कार्यदलले गहनतापूर्वक अध्ययन गर्नेछ । म आफू पनि विशेष चासोका साथ सूक्ष्मतापूर्वक ध्यान दिएर नीति बनाइनेछ ।”

उनले पर्यटन नीतिको मार्गदर्शनबमोजिम आवश्यक कार्ययोजना बनाएर अघि बढ्ने बताए । पर्यटनमन्त्री पाण्डेले कोरोना महामारी, राजनीतिक अस्थिरताकाबीच मुलुकको पर्यटन पुरानै लयमा फर्किएको तथा विसं २०८४ सम्म राजनीतिक स्थिरतातर्फ अघि बढेकाले उक्त अवधिमा पर्यटनको विकासमा केन्द्रित हुने बताए ।

उनले सन् २०२३ देखि २०३२ को अवधिलाई भ्रमण दशकका रुपमा कार्यान्वयन गर्दै बढीभन्दा बढी पर्यटक आकर्षण गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री पाण्डेले स्थायी सरकारका रुपमा रहेको कर्मचारी संयन्त्रको साथ सहयोग प्राप्त गर्दै आफ्नो कार्यकालमा पर्यटन मन्त्रालयले लिनुपर्ने लक्ष्यलाई गन्तव्यमा पुर्याउनेमा विश्वास व्यक्त गरे ।

पर्यटनमन्त्री पाण्डेले संस्कृति देशको प्राण हो भन्दै यसको संरक्षण विकासका लागि सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिए । उनले जनताको निराशालाई चिर्दै आशामा बदल्न दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएको भन्दै प्रधानमन्त्री र मन्त्री भएर दल, परिवार, नातावाद र भूगोलको हितमात्रै नभई जनताका पक्षमा इमान्दारीताकासाथ काम गरिनुपर्ने खाँचो औँल्याए ।

पर्यटन नीति संशोधनका लागि कार्यदल

पर्यटन नीतिलाई समयसापेक्ष बनाउन पर्यटन मन्त्रालयका सहसचिव हेमराज तामाङको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ ।  कार्यदलले तीन महिनामा प्रतिवेदन तयार गरी मन्त्रालयलाई बुझाउनेछ । पर्यटनमन्त्रीले आफ्नो पहिलो निर्णयका रुपमा पर्यटन नीति, २०६५ लाई समयसापेक्ष बनाउन अध्ययन र सुझाव दिन गठित कार्यदल गठनसम्बन्धी निर्णयमा हस्ताक्षर गरे ।

पर्यटन क्षेत्रको विकास सम्वद्र्धन, प्रवद्र्धन र त्यस क्षेत्रलाई सुदृढ गर्नेगरी पर्यटन नीति बनाउनेगरी अध्ययन गर्ने र तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल बनाइएको जानकारी दिए ।

मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि रणनीतिका साथ अघि बढ्ने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सेवालाई प्रभावकारी बनाउन सिर्जनशील ढङ्गले सक्रियताका साथ लाग्नेमा उनले विश्वास व्यक्त गरे ।

उक्त अवसरमा सङ्घीय संरचनाअनुरुप मुलुकको पर्यटनलाई समयसापेक्ष बनाउन पर्यटन ऐनलाई समयसापेक्ष परिमार्जन गर्न लागिएको मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले बताए । मन्त्रालयका सहसचिव हेमराज तामाङले मन्त्रालयअन्तर्गतका निकाय र गतिविधिबारे सङ्क्षिप्त जानकारी गराएका थिए ।

मुलुकको ४१औँ पर्यटनमन्त्री

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे मुलुकको ४१औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री भएका थिए । त्यसयता मुलुकले ४१ जना पर्यटनमन्त्री पाइसकेको छ ।

खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकता राख्न नवनियुक्त मन्त्री चौधरीको निर्देशन

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले आगामी पेरिस ओलम्पिक, २०२४ का लागि छनोट भएका खेलाडीहरुको सहभागिता व्यवस्थित गर्ने उल्लेख गरे ।

उनले भने, “पेरिसमा हुने ओलम्पिक प्रतियोगितामा छनोट भएका खेलाडीहरूको प्रशिक्षण र सहभागीतालाई व्यवस्थित गर्न निर्देशन दिन्छु ।” साथै आगामी मंसिरमा कर्णालीमा हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न निर्देशन दिए । उनले युवा स्वरोजगारलाई व्यवस्थापन गर्न नेपाली युवाहरूलाई स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग समन्वय गरेर नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री चौधरीले वर्षाका कारण देशभर भएका विपद्का घटनामा नेपाल स्काउटका स्वयंसेवक तथा खेलाडीलाई परिचालित भएर तत्काल राहत तथा उद्धारमा खटिन निर्देशन दिए ।

उनले खेल सङ्घमा देखिएको विवादलाई टुङ्ग्याएर खेल क्षेत्रमा सकारात्मक सन्देशका लागि पहल गर्ने प्रतिबद्धता जनाए । “विभिन्न खेल सङ्घमा देखिएका विवादलाई समयमै टुङ्ग्याएर खेल क्षेत्र एकजुट छ भन्ने सन्देश दिन जरूरी छ”, उनले भने, “त्यसको पहल गर्न राष्ट्रिय खेलकुद परिषद्लाई विशेष निर्देशन दिन्छु ।”

राष्ट्रिय खेलकुद परिषद्मा प्राविधिक जनशक्तिको अभाव भएको विषयमा आफू जानकार रहेका कारण यसमा पनि आफ्नो विशेष पहल रहने उनको भनाइ थियो ।

बुबा सतौन चाधरी र आमा नैनवत्ति चौधरीको कोखबाट विस २०१९ असोज १४ गते सप्तरीको खडक नगरपालिका–८ स्थित महिया टोलमा जन्मिएका मन्त्री चौधरी २०७९ मा सप्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचन सांसद छन् । विसं २०७३ मा उनी खेलकुद राज्यमन्त्री भएका थिए । मन्त्री चौधरी भलिबलका खेलाडीसमेत थिए ।

विसं २०३६ सालदेखि नेविसङ्घमा आबद्ध उनी २०४६ सालमा महासमिति सदस्य थिए । उनी २०५२ सालबाट राजनीतिक दलमा आबद्ध भएका थिए । चौधरी विसं २०७० को दोस्रो संविधानसभा सदस्य तथा २०७४ सालमा प्रतिनिधिसभा सदस्य भएका थिए ।

मन्त्री अधिकारीद्वारा कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर

काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले घोषणा गरेको कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा पदवहालीपछि उनले कृषि दशक सफल बनाउन आवश्यक लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् ।

त्यस अवसरमा मन्त्री अधिकारीले कृषि क्षेत्रको विकास भएमा मात्र मुलुकको विकासमा ठूलो सहयोग पुग्ने भएकाले सोहीअनुसार क्रियाशील हुन सम्बद्ध कर्मचारीलाई निर्देशन दिएका छन् ।

गाउँमात्र नभई खेतीयोग्य तराईका फाँटसमेत बाँझो भएकाले त्यहाँ उत्पादन गराउन मन्त्रालय लागिपर्ने उनको भनाइ छ । “सांसद हुनुअघिसम्म आफूले खाने अन्न आफैँ उत्पादन गर्थेँ, गोलभेँडा, धान, मकै, कोदो उत्पादन गर्ने तरिका मलाई पनि थाहा छ । अब हरेक नेपालीलाई आफ्नो खेतीयोग्य जमिनको उपयोग गर्न अभिप्रेरित गर्नुपर्नेछ । यसकार्यमा मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने खाँचो छ । हामी सबै मिलेर यसमा काम गर्नुपर्छ”, मन्त्री अधिकारीले भने ।

प्रजातान्त्रिक आन्दोलनमा लाग्दा पटकपटक जेल पर्नुभएका अधिकारी नेपाली कांग्रेस धादिङको सभापतिसमेत हुन् । उनी विसं २०७९ को संसदीय निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।

धादिङको सुनौलाबजार नेवारपानीमा विसं २०१८ भदौ १८ गते जन्मिएका अधिकारी २०३६ सालको जनमत सङ्ग्रह, २०४२ को सत्याग्रहमा कांग्रेसका तर्फबाट सक्रियरूपमा सहभागी भएका थिए ।

पञ्चायतविरुद्धको आन्दोलन गर्दा उनी विसं २०४५ वैशाख ६ गते गिरफ्तार भएका थिए । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि राजनीतिमा थप सक्रिय भएका उनी आठौँ महाधिवेशनमा पार्टीको जिल्ला सहसचिव निर्वाचित थिए ।

मन्त्री अधिकारी विसं २०५३ को नवौँ महाधिवेशनमा जिल्ला सभापतिको प्रत्यासी भएका थिए । पछि सभापतिमा निर्वाचित दामन पाख्रिनको विसं २०५४ कात्तिक २६ गते निधन भएपछि अधिकारीलाई नै बाँकी अवधिका लागि जिम्मेवारी दिइएको थियो ।

पहिलोपटक विसं २०५६ को आमनिर्वाचनमा धादिङ क्षेत्र नं २ बाट सांसद निर्वाचित उनी धादिङ कांग्रेसको २०५५, २०५७, २०६२, २०६७ र २०७८ सालमा गरी पाँचपटक सभापति निर्वाचित भए । विसं २०६४ र २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पराजित भएका अधिकारी २०७९ मङ्सिरको संसदीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खेमप्रसाद लोहनीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

पदभार ग्रहणका लागि मन्त्रालय जानुअघि उनलाई धर्नामा बसेका कृषि प्राविधिकले आफ्ना समस्याका बारेमा जानकारी गराएका थिए ।

कर्मचारीका समस्या सुनेपछि मन्त्री अधिकारीले यस विषयमा अध्ययन गरी उपयुक्त निर्णय लिने प्रतिबद्धता व्यक्त गरे । पदभार ग्रहणका क्रममा आयोजित कार्यक्रममा मन्त्रालयका सचिवद्वय डा दीपक खराल र डा राजेन्द्रप्रसाद मिश्रले भए गरेका गतिविधिबारेमा मन्त्री अधिकारीलाई जानकारी गराएका थिए ।

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानमा लाग्नेछुः मन्त्री यादव

काठमाडौँ । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याको दिगो समाधान गर्न लागिपर्ने बताएका छन् ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदवहालीपछि मन्त्री यादवले मेलम्चीमा देखिएको चुनौती समाधान गरेर बाह्रै महिना खानेपानी उपलब्ध गराउने गरी काम गर्ने बताए ।

‘मेलम्ची खानेपानी आयोजना यतिबेला बन्द छ, अब बाहै्र महिना, २४ घण्टा मेलम्चीको पानी ल्याउने गरी काम गर्नुपर्नेछ’, उनले भने, ‘खानेपानीको क्षेत्रमा बजेट कम भयो भनेर नआत्तिनुस् बजेट व्यवस्थापन गर्नेछु, सबै मिलेर खानेपानी समस्या समाधानमा लागौँँ ।’

जलवायु परिवर्तनलगायतका कारणले जमिनमुनी पानीको सतह घट्ने, पानीको स्रोत सुक्नेलगायत समस्या देखिन थालेको भन्दै मन्त्री यादवले सबै मिलेर उल्लेखित समस्या समाधानका उपाय खोजिनुपर्नेमा जोड दिए ।

‘उपत्यकामा मात्रै होइन, खानेपानीको समस्या तराईलगायत अन्य क्षेत्रमा पनि बढ्न थालेको छ । अब मेलम्चीलगायत अन्य खानेपानी आयोजना तर्जुमा गरेर जनतामा पानीको सहज पहुँच पुर्याउन लागिपर्ने छु ।’

व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्छुः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवगठित सरकारले राजनीतिक स्थिरता, व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

सोमबार सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा पदबहालीपछि सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री सिंहले अस्थिरताबाट गुज्रिरहेको राष्ट्रिय राजनीतिलाई स्थिरता र स्थायित्व प्रदान गर्न संसदमा रहेका ठूला दुई दलबीचको सहमतिमा सरकार गठन भएको प्रतिक्रिया दिए ।

उपप्रधानमन्त्री सिंहले भने, “मन्त्रालयको काम, कर्तव्य र अधिकारको सीमाभित्र रही नेपालका सहरलाई जनताको चाहनाअनुरुप आधुनिक, सुविधाजनक र व्यवस्थित गर्नेतर्फ काम अघि बढाइने छ ।”

विगतमा जनअपेक्षाअनुरुप काम भएन भन्ने गुनासालाई अन्त्य गर्न ठूला दल मिलेर बनेको वर्तमान सरकारले विशेष ध्यान दिने उल्लेख गर्दै उनले जनहितका काम र सेवाप्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । उनी मन्त्रालय पुग्दा सचिव मणिराम गेलाललगायत कर्मचारीले स्वागत गरेका थिए ।

‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’को समस्या समाधान गर्छुः उर्जामन्त्री खड्का

काठमाडौँ ।  मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आएका दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्री खड्काले आजै सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पुगेर पदभार ग्रहण गरे ।

पदभार ग्रहण गर्दै मन्त्री खड्काले ‘ऊर्जा जलस्रोत तथा सिँचाइका क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि गर्नुपर्ने कार्य र त्यो कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न एक कार्यदल गठन गरिएको प्रस्ताव’मा हस्ताक्षर गरे । 

कार्यदलको संयोजकमा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल छन् । कार्यदलको सदस्यहरुमा मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक, विद्युत् विकास विभागका महानिर्देशक, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक छन् । ऊर्जा नीति शाखाका सिनियर डिभिजनल इन्जिनियर सदस्य सचिव रहनेछन् । 

पदभार ग्रहण गर्दै मन्त्री खडकाले सबै नेपालीको घरमा विद्युत् सेवा पुर्याउने लक्ष्यका साथ काम गर्ने विश्वास दिलाए । उनले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सरकारको निर्णय कार्यान्वयन गराउने प्रतिबद्धता जनाए । उनले ‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’का सम्बन्धमा देखिएको समस्या समाधान गर्ने बताए ।

“म भर्खर आएको छु । केही दिन अध्ययन गर्छु र उपयुक्त निकासका लागि आवश्यक निर्णय गर्छु”, मन्त्री खडकाले भने । विसं २०२८ असार १५ गते आमा युगकमारी र बुबा द्रोणबहादुर खड्काको माइलो सुपुत्रको रुपमा सङ्खुवासभाको साविक आँखिभूई गाउँपञ्चायतमा उनको जन्म भएको हो । मानविकी तथा समाजशास्त्र सङ्कायमा स्नातकोत्तर उनले २०४२ सालमा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका हुन् ।

स्वदेशी वस्तु प्रयोगसम्बन्धी कार्यविधि मन्त्रिपरिषदमा लैजाने उद्योगमन्त्री भण्डारीको निर्णय

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने पहिलो निर्णय गरेका छन् ।

सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रस्ताव पारित भएमा नेपाली उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

मन्त्री भण्डारीले उद्योग मन्त्रालयले प्रदान गर्ने सेवा र यस क्षेत्रको विकासका लागि नेतृत्व तहबाट आफूले सम्पूर्ण सहयोग गर्ने भन्दै कर्मचारीलाई दत्तचित्त भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।

यसअघिको सरकारमा पनि उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री थिए । भण्डारी योसहित चारपटक मन्त्री बनेका हुन्  ।

जनतालाई न्याय मिल्ने गरी कानुन निर्माणमा लाग्छुः कानुनमन्त्री चौरसिया

काठमाडौँ ।  नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पदबहाली गरेका छन् । पदबहालीपश्चात् उनले जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्ने बताए ।

“कानुन बनाउने मन्त्रालय भएकाले विधेयकहरु कति छन्, हामीले बनाउनुपर्ने कानुनहरु कति छन्, ती सबै कुराको ख्याल गरी जनतालाई न्याय मिल्ने गरी कानुन बनाउँछौँ”, मन्त्री चौरसियाले भने ।

आमा लक्ष्मीदेवी र बाबु हरिकिशोरको सन्तानका रुपमा उनको जन्म पर्सामा २०२१ माघ १५ गते भएको हो । मधेस प्रदेशको पर्सा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौरसियाले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । उनी २०५६ सालमा पनि पर्सा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेता चौरसिया संविधानसभाको पहिलो निर्वाचनमा पर्सा क्षेत्र नं ३ बाट निर्वाचित भएका  थिए । उनीसँग सार्वजनिक लेखा समिति र राष्ट्रिय हित संरक्षण समितिमा काम गरेको अनुभव छ । उहाँ २०६२÷६३ को जनआन्दोलनमा पटकपटक थुनामा परेका थिए । त्यसक्रममा नेता चौरसिया करिब चार महिना वीरगन्ज कारागारमा बसेका थिए । उनी हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत हुन्  ।

रुसी सेनामा भर्ना भएका नेपाली युवाको उद्धारका लागि थप पहल गर्ने परराष्ट्रमन्त्री राणाको प्रतिबद्धता

काठमाडौँ । नव नियुक्त पररष्ट्र मन्त्री डा आरजु राणाले नेपाल असंलग्न आन्दोलन र पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएको बताएकी छन् । 

सोमबार मन्त्रालयमा पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल भूपरिवेष्ठित र दुई ठूला छिमेकी मुलुकबीचमा रहेको उल्लेख गर्दै सबैसँग सन्तुलित सम्बन्ध कायम गरी अघि बढ्नुपर्ने बताइन् ।

उनले भनिन्, “पूर्वजहरुको योगदानका कारण मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रता इतिहासदेखि नै सुरक्षित रहेको छ, यसलाई अक्षुण्ण राख्नुपर्ने हामी सबैको दायित्व हो ।”

मुलुकको समृद्धिका लागि पनि परराष्ट्र मन्त्रालयको ठूलो भूमिका रहेको उल्लेख गर्दै उनले  आर्थिक कूटनीतिमार्फत त्यसमा कसरी योगदान गर्ने भन्ने बारेमा काम गर्ने बताइन् । नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र प्रतिबद्धता गरेको तथा त्यसको कार्यान्वयनबाट आर्थिक कूटनीतिलाई अघि बढाउन योगदान गर्न सकिनेमा उनले जोड दिइन् ।

नेपाल बाहिर बस्ने नेपालीका लागि धेरै काम गर्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री डा राणाले भने, “विदेशमा बस्ने नेपालीका लागि अझ राम्रो सेवा कसरी गर्ने भनेर थप काम गर्नेछौँ ।” उनले सुशासन कायम गर्न, नीतिको प्रभावकारी कार्यान्वयन गर्न र परिणाममुखी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिइन् । 

मन्त्री राणाले रुसी सेनामा भर्ना हुन गएका र अप्ठ्यारोमा परेका नेपाली युवाको उद्धार तथा इजरायलमा हमासको आक्रमणको क्रममा वेपत्ता भएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपाल सरकारबाट यसअघि पनि पहल भएको र आफ्नो कार्यकालमा पनि थप पहल गर्ने बताइन् ।

उनले पदबहालीका क्रममा विभिन्न मुलुकका राष्ट्रिय दिवस तथा नेपालसँगका सम्बन्धबारे पठाउनुपर्ने सन्देशलाई व्यवस्थापन गर्नेसम्बन्धी मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गरिन् ।

नयाँ मन्त्रीमण्डललाई शुभकामना दिँदै रविले भने-भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारसँग सुशासनका विषयमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।

सोमबार सामाजिक संजालमार्फत सभापति लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुलाई शुभकामना दिँदै सुशासनका विषयमा सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘नवनियुक्त प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसहित सम्पुर्ण मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना । हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौं भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौं।’

गृहमन्त्रीद्वारा सिमलताल बस दुर्घटना अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बस र यात्रु बेपत्ता घटनाको अध्ययन गर्न कार्यदल गठन गरेका छन् ।

सोमबार गृहमन्त्रीमा नियुक्ति भएका लेखकले राष्ट्रपतिसमक्ष सपथग्रहण गरेपछि पदभार सम्हाल्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदललाई १० दिन समय दिइएको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । ६५ यात्रुमध्ये केहीको मात्रै शव भेटिएको छ भने अन्य यात्रु र बसको अवस्था अझै अज्ञात नै छ ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिने प्रक्रियाको कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे संसद्को कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने र बैठकले कार्यसूची तयार गरी बैठकमा प्रस्तुत गर्ने बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

मुख्यमन्त्री जम्मकट्टेलको मन्त्रिपरिषद्मा एमालेका तर्फबाट समावेश पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि उनी अल्पमतमा परेका छन् । मुख्यमन्त्री जम्कट्टेलको नेतृत्वमा रहेको सरकारमा अहिले माओवादीको दुई, एकीकृत समाजवादीको तीन र हाम्रो नेपाली पार्टीको एक गरी आठ जना मन्त्री छन् ।

हामीलाई स्टन्ट गर्ने छुट छैनः श्रममन्त्री भण्डारी

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै  मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्  । उनी यसअघिको सरकारमा पनि विसं २०७९  चैत १२ गते श्रममन्त्री नियुक्त भएका थिए ।

विभिन्न समयमा मन्त्री बन्दै आएका उनी १३ औँ पटक मन्त्री बनेका हुन् । पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताए ।
      
“वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिनेछु”, उनले भने ।

मन्त्री भण्डारीले देशभित्र रोजगारको सुनिश्चिता गर्दै वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउनमा जोड दिने उल्लेख गरे । 

“अहिले जुन स्थितिमा यो सरकार आएको छ, चुनौतीहरु छन् । यस अवस्थामा हामीले कुनै किसिमका नाटक र स्टन्ट गर्ने छुट छैन”, उनले भने, “हामीले इमान्दारिता र  अध्ययन नगरी, प्रतिफल दिन नसक्ने काम गर्यौँ भने त्यो हाम्रो असफलता हुन्छ ।”

चीनको कूल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि

चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले वृद्धि भएको सोमबार सार्वजनिक राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले देखाएको छ ।

चीनको जिडिपी पहिलो अर्धवार्षिक अवधिमा ६१.६८ ट्रिलियन युआन अर्थात् करिब ८.६५ ट्रिलियन अमेरिकी डलर पुगेको एनबीएसको तथ्याङ्कले देखाएको छ ।

एनबीएसका अनुसार दोस्रो त्रैमासिकमा, देशको जीडीपी वार्षिक ४.७ प्रतिशतले बढेको छ ।

समग्रमा, राष्ट्रिय अर्थतन्त्र पहिलो अर्धवार्षिकमा स्थिर रहेकोजनाउँदै नीतिगत प्रोत्साहन, बाह्य मागमा पुनरुत्थान र नयाँ गुणस्तरको उत्पादक शक्तिको विकासलाई उदृत गर्दै जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

एनबीएसका अनुसार दोस्रो उद्योगले पहिलो अर्धवार्षिकमा वर्षमा ५.८ प्रतिशत प्राथमिक उद्योगमा ३.५ प्रतिशत र सेवा क्षेत्रमा ४.६ प्रतिशतले वृद्धि भएको छ ।

दोस्रो त्रैमासिकमा भने चीनको अर्थतन्त्र ०.७ प्रतिशतले बढेको छ ।

राष्ट्रपतिमा पुनः प्रतिस्पर्धा गर्दै पेरूका पूर्वराष्ट्रपति फुजिमोरी

पेरूका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी सन् २०२६ मा हुने दक्षिण अमेरिकी मुलुकको निर्वाचनमा सहभागी हुने उनकी छोरीले घोषणा गरेकी छन् ।

दक्षिण अमेरिकी देशको प्रमुख दक्षिणपन्थी पार्टीका नेता केइको फुजिमोरीले भनिन्, “मेरो बुबा र मैले कुराकानी गरेका छौं र उहाँले राष्ट्रपतिपदको उम्मेदवार बन्ने निर्णय गर्नुभएको छ ।”

सन् १९९० देखि सन् २००० सम्म पेरूका राष्ट्रपति बनेका ८५ वर्षीय फुजिमोरीले पेरूको माओवादी छापामार समूह शाइनिङ पाथलाई पराजित गर्न सैन्य अभियानको नेतृत्व गर्दै कडा शासन गरेका थिए ।

उनलार्ई विद्रोहीहरूलाई दवाएर नवउदारवादी नीतिमार्फत आर्थिक वृद्धिलाई गति दिएको नेताका रूपमा उनी निकटस्थ समूहले स्मरण गर्ने गरेको छ ।

तर पेरूको शाइनिङ पाथलगायतका कतिपय बामपन्थी दलले उनलााई निर्दयी, अधिनायकवादी शासन शैली अपनाएको एक भूतपूर्व राष्ट्रपतिका रूपमा उनको आलोचना गर्ने गरेका छन् ।

सन् १९९१ र सन् १९९२ मा सेनाको डेथ स्क्वाडले गरेको नरसंहारको आरोपमा उनलाई सन् २००९ मा जेल सजाय भएको थियो । शाइनिङ पाथविरूद्धको अभियानका क्रममा उनको नेतृत्व रहेका समय एक बच्चासहित २५ जना मारिएका कारण उनलगायत केही अधिकारीलाई फरक फरक जेल सजाय भएको थियो ।

फुजिमोरी दोषी ठहरिएका कारण चुनावमा भाग लिन पाउँछन् वा पाउँदैनन् भन्ने स्पष्ट छैन । उनलाई गत वर्ष मानवीय कारण देखाउँदै गत बर्ष रिहा गरिएको थियो ।

पेरूको संवैधानिक अदालतका पूर्व न्यायाधीश अर्नेस्टो ब्लुमले प्रसारणकर्ता क्यानाल एनसँग भने, “मानवीय कारणले उहाँलाई माफी दिइएको हो, तर यसको अर्थ उहाँको आपराध वा सजाय पूरा भएको वा खारेज भएको भन्ने होइन ।”

फुजिमोरीले सन् २०१८ मा चिकित्सकले उनको फोक्सोमा ट्यूमर भएको पत्ता लगाएको जानकारी गराएका थिए ।

गत महिना घरमा लडेर कम्मर भाँचिएपछि उनलाई सघन उपचार कक्षमा राखी उपचार गरिएको खुलासा भएको थियो ।

दक्षिणपन्थी पपुलर फोर्स पार्टीको नेतृत्व गरिरहेकी केइको फुजिमोरीले हालै आफ्ना पिता जिब्रोको ट्युमरबाट पीडित भएको बनाएको थियो ।

पदभार ग्रहण गर्न पुगेका प्रधानमन्त्री ओलीलाई यसरी गरियो सिंहदरबारमा स्वागत(फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदभार ग्रहण गरेका छन् । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्रीले पदभार ग्रहण गरेका हुन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री कार्यालयमा भव्य स्वागत गरिएको छ । तीन वर्षअघि प्रधानमन्त्रीबाट हट्नुपर्दा ओलीले आफू फेरि शानदार रूपमा सिंहदरबार आउने उद्घोष गरेका थिए ।

त्यसको तीन वर्षपछि कांग्रेससहितको समर्थनमा ओली प्रधानमन्त्री बनेर सिंहदरबार प्रवेश गरेका छन् ।

सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक बन्दैनः अर्थमन्त्री पौडेल

काठमाडौँ ।  नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन् । 

सोमबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गरे । उनले बजेट कार्यान्वयनमा कुनै समस्या देखिएमा त्यसलाई प्रक्रियागत रुपमा संशोधन गर्न सकिने बताए ।

“सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन । यदि बाधा देखियो भने कसरी फुकाउने भनेर कानुनी र संवैधानिक व्यवस्था छन् । सोही अनुसार संशोधन प्रक्रियामा जान्छौंँ”, अर्थमन्त्री पौडेलले भने ।

संसदका दुई ठूला दलसहितको संयुक्त सरकार बनेपछि राजनीतिक स्थिरताको सन्देश दिएको बताउँदै उनले स्थायी सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे ।

“अहिलेको निराशा चिर्ने र आशा जगाउने गरी सरकार अगाडि बढ्छ । उत्पादन र रोजगारीमा केन्द्रित भएर अघि बढ्ने छौँ, यसका लागि सबै क्षेत्रले परिवर्तित सन्दर्भमा सहयोग गर्ने अपेक्षा गरेको छु”, पौडेलले भने, “शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा रहेकाले यो क्षेत्र सन्तुलित ढङ्गले अघि बढोस् भन्ने चाहना छ ।”

अर्थमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेसँगै पौडेलले विकास वित्तका क्षेत्र पहिचानका लागि अध्ययन गरिनेसम्बन्धी पहिलो निर्णय गरेका छन् ।

मन्त्री पौडेलको उपप्रधानमन्त्रीका रुपमा तेस्रो र अर्थमन्त्रीका रुपमा चौथो कार्यकाल हो । उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

विसं २०५१ मा पहिलोपटक सांसद बनेका पौडेल विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य थिए  । उनले  संविधान अभिलेख अध्ययन तथा निक्र्योल समिति सभापति (२०७०) काम गरेका थिए ।

नवनियुक्त अर्थमन्त्री पौडेलले यसअघि विसं २०५३ मा युवा खेलकुद तथा संस्कृतिमन्त्री, विसं २०६५ मा जलस्रोतमन्त्री र विसं २०६७ मा रक्षामन्त्रीका रुपमा काम गरिसकेका छन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले २०३५ देखि २०४६ सालसम्म भूमिगत जीवन बिताएका थिए । उनले २०३७ सालमा तीन वर्ष जेल र तीन हजार जरिवाना सजाय गरिएकोमा ४५ दिनमा जेल विद्रोह गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेताका रूपमा परिचित उपप्रधानमन्त्री पौडेल चार दशकदेखि राजनीतिमा सक्रिय छन् । उनी अहिले एमालेको उपाध्यक्षको जिम्मेवारी छन् ।

१७ अंकले घट्यो नेप्से

काठमाडौं । सोमबार शेरयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । आइतबार उच्च अङ्कले बढेको शेयर बजार नेप्से सोमबार १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सिभिल बैंकको डिबेन्चर २०८८ र मान्डु जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

बजार घटे पनि आज कारोबार रकम भने उल्लेख्य बढेर छ महिनायताकै उच्च भएको छ । आज तीन सय २२ वटा कम्पनीका दुई करोड ५० लाख कित्ता शेयर आठ अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएको छ । यसअघि गएको माघ २ गते आठ अर्ब दुई करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

हलेसीमा ‘पर्यटक सहायता प्रहरी कक्ष’ स्थापना

खोटाङ । त्रिधार्मिकस्थल हलेसीमा पर्यटकलाई आवश्यक जानकारी दिने उद्देश्यले पर्यटक प्रहरी सहायता कक्ष (डेस्क) स्थापना गरिएको छ ।
हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समन्वय, सहजीकरण, सुरक्षालगायत सहयोग गर्न सहायता कक्ष स्थापना गरिएको हो ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको व्यवस्थापनमा प्रदेश प्रहरीबाट तालिम लिएर दक्ष जनशक्तिसहित पर्यटक प्रहरी सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । उनका अनुसार डेस्कमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा तीनजना प्रहरी खटाइएको छ ।

डेस्कमा खटिएका प्रहरीले पर्यटकीयस्थलमा गस्ती तथा पेट्रोलिङ गर्ने, पर्यटकका लागि आवश्यक सूचना आदानप्रदान गर्ने, पर्यटकको सुरक्षा गर्ने, समस्यामा परेमा सहयोग र समन्वय गर्ने खड्काको भनाइ छ ।

पर्यटकबाट आएका उजुरी, निवेदनमाथि छानबिन तथा कारबाही गर्ने, अनुमति बिना पथप्रदर्शन गर्नेलाई कारबाहीलगायत काम उक्त सहायता कक्षमार्फत गरिने उनले जानकारी दिए ।

“पर्यटकका बारेमा फौजदारी अपराधसम्बन्धी कुनै जानकारी आएमा सोबारे सम्बन्धित दूतावाससँग सम्पर्क गरेर स्थानीय प्रहरीमार्फत आवश्यक कारबाही गर्ने, होटल तथा ट्राभल, टेकिङ र र्याफ्टिङ एजेन्सीको निरीक्षण, समझदारी, अध्ययन गरी प्रतिवेदन तयार गर्ने, पर्यटकीय क्षेत्रमा कुनै अभद्र व्यवहार, अश्लिल तथा अवाञ्छित क्रियाकलाप गर्नेलाई नियन्त्रणमा लिई कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने काम गरिनेछ”, प्रहरी नायब उपरीक्षक खड्काले भने ।

दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने हलेसीमा पर्यटक सहायता प्रहरी डेस्क स्थापना गरिएसँगै शान्ति, सुरक्षा थप प्रभावकारी र व्यवस्थित भएको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिए । धार्मिक पर्यटकीयस्थल हलेसीमा हरेक वर्षको साउनमा महिनाभर बोलबम मेला लाग्ने गरेको छ ।

दैनिक हजारौँको सङ्ख्यामा भक्तजन, दर्शनार्थी तथा पर्यटकको सहभागी हुने मेलालाई व्यवस्थित गर्नसमेत डेस्कले सहयोग गर्ने प्रनाउ खड्काको भनाइ छ ।

बोलबममा विशेषगरी भारतीय नागरिक यहाँ आउने गरेका समितिले जनाएको छ । मेलालाई व्यवस्थित गर्न नगरपालिकाको तर्फबाट स्वयम्सेवक परिचालन गरिने हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

त्रिधार्मिकस्थल हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज, बोलबमलगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ । मेला भर्नका लागि नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी यहाँ आउने गरेका छन् ।

राजधानी काठमाडौँसँगै तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएकाले हलेसी आउने दर्शनार्थीको सङ्ख्या वृद्धि हुँदै गएको स्थानीयले बताएका छन् । यहाँ लाग्ने मेलामा अप्रिय घटना हुन नदिन तथा मेलालाई व्यवस्थित गर्न सदरमुकाम दिक्तेलबाट सुरक्षाकर्मीको टोलीसमेत परिचालन हुँदै आएको छ ।

धार्मिक रुपमा मात्र नभई प्राकृतिक रुपले पनि विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

चट्टानैचट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्धार, स्वर्गद्धारलगायत विभिन्न द्धारहरू अवस्थित छन् ।

प्राकृतिक भू–बनोटको हिसाबले पनि नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । घनाजङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार रहेको पर्यटक बताउँछन् ।

प्रधानमन्त्री ओलीद्वारा शीर्ष नेताको तस्बिरमा माल्यार्पण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका तीन शीर्ष नेताको तस्बिरमा माल्यार्पण गरेका छन् ।

सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालय पुगि उनले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारी तथा पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको तस्बिरमा माल्यापर्ण गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै पार्टी कार्यालय पुग्नुभएका नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानविर राई र सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री रामकुमार गुप्तासमेतले उहाँहरुको तस्बिरमा माल्यार्पण गरेका थिए ।

माल्यार्पणपछि प्रधानमन्त्री ओलीलाई एमालेका नेता तथा कार्यकर्ताले पुष्पगुच्छा, खादासहित बधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेललगायत पार्टीका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई बधाई दिएका थिए । त्यसअघि प्रधानमन्त्री ओलीले लैनचौरस्थित सहिदहरुको शालिकमा माल्यार्पण गरेका थिए ।

एकीकृत स्वास्थ्य प्रणाली सुदृढ बनाउन मेरो जोड रहनेछः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले  रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । 
पदभार ग्रहणपछि मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै क्यान्सर रोगबाट धेरै नेपाली जनता पीडित रहेको उल्लेख गर्दै यसको नियन्त्रण तथा रोकथामका पक्षमा जोड दिने बताए । उनले एकीकृत स्वास्थ्य प्रणालीलाई सुदृढ र व्यवस्थित बनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने प्रतिबद्धता व्यक्त गरे । 


‘काम गर्ने ठाउँमा आएको छु । विज्ञहरुसँग आवश्यक सुझाव लिएर अगाडि बढ्छु’, मन्त्री पौडेलले भने, ‘एकीकृत स्वास्थ्य प्रणाली सुदृढ बनाउन मेरो जोड रहनेछ ।’ मन्त्री पौडेलले छिटोछरितो ढङ्गबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ आफू कन्द्रित रहने उल्लेख गरे ।  

मन्त्री पौडेलको राजनीतिक यात्रा

नवनियुक्त स्वास्थ्य मन्त्री पौडेलको जन्म २०३१ चैत १४ गते आमा दुर्गादेवी र बुवा डिल्लीरमण पौडेलको सन्तानको रुपमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा भएको हो । नेपाल विद्यार्थी सङ्घमा आवद्ध हुँदै २०४६ सालको जनआन्दोलनमा सक्रिय उहाँ २०५३ सालमा अमृत साइन्स क्याम्पसको स्ववियू सभापति निर्वाचित भएका थिए ।


लामो समय शैक्षिक परिवर्तनको पक्षमा रही विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै उनी २०६४ सालमा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सभापति भएका थिए । समाजशास्त्रमा स्नातकोत्तर पौडेल हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन् ।


उनी २०७९ को संसदीय निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । विसं २०६२/६३ को जनआन्दोलनका क्रममा उनले जेल सजायसमेत भोगेका थिए ।

प्रचण्ड भन्छन्-साढे १८ महिना देश र जनताको सेवामा समर्पित भएँ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्ने क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

सोमबार केपी ओलीले प्रधानमन्त्रीको शपथ लिएपछि सामाजिक संजालमार्फत अध्यक्ष प्रचण्डले सरकार सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका हुन् । उनले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झन्डै साढे १८ महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिलेको उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘तेस्रो पटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिल्यो। मेरो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्नुहुने माननीय मन्त्रीज्यूहरू, सङ्घीय संसदका माननीय सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीज्यूहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टीम, निजी क्षेत्र, कानुन व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी, सामाजिक संघसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरआवासीय नेपालीहरू लगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गर्दछु।’

पर्वतमा एचआइभीका सङ्क्रमित बढ्दै, क्षयरोगका घट्दै

पर्वत । सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा प्रभावकारी हुन सकेको छैन । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा पर्वतमा क्षयरोगका ५५, एचआइभी एड्सका १३ र कुष्ठरोगका छ जना नयाँ बिरामी थपिएका छन् ।

चालु आवको सुरुदेखि हालसम्म उक्त सङ्ख्यामा नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए । उनका अनुसार अनुसार आव २०७९/८० मा क्षयरोगका कूल ७७ जना नयाँ बिरामी फेला परेकामा चालु आवमा उक्त यो सङ्ख्या घटेर ५५ मा झरेको हो ।

थपिएका बिरामीमध्ये मोदी गाउँपालिकामा छ, जलजला र महाशिला गाउँपालिकामा दुईरदुई, कुश्मा नगरपालिकामा १५, फलेवास नगरपालिकामा चार, बिहादी गाउँपालिकामा पाँच र पैयुँ गाउँपालिकामा २१ जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

क्षयरोगको सङ्क्रमणले फोक्सोलाई असर गर्ने र यो हावाका माध्यमबाट सर्ने भएकाले बिरामीले खोक्दा, हाछ्युँ गर्दा वा थुक्दा ध्यान पुर्याउनुपर्ने शर्माले बताए । उनका अनुसार यसको कुनै पनि शङ्का भएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्दछ ।

जिल्लामा भेटिएका सङ्क्रमितलाई नियमित रूपमा औषधि सेवन गराइएको भन्दै शर्माले लगातार छ महिनासम्म औषधि खाए रोग पूर्ण रूपमा निको हुने जानकारी दिए ।

“स्वास्थ्य संस्थामा औषधि निःशुल्क पाइन्छ, तर लापरबाही गरेर बिचमा औषधि छाड्ने वा भाग्ने गरेमा निको हुदैन । यस्तो अवस्थामा अरूलाई रोग सारेमा अरूलाई पनि औषधिले काम नगर्ने गरी सङ्क्रमण फैलिने जोखिम हुने भएकाले सङ्क्रमितले नियमित औषधि सेवन गर्न अनुरोध गर्दछौँ”, उनले भने ।

जिल्लामा अघिल्लो आर्थिक वर्षसम्म एक सय १२ जनामा एचआइभी एड्सको सङ्क्रमण रहेकामा चालु आवमा १३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिललामा सङ्क्रमितको सङ्ख्या एक सय २५ पुगेको छ । थपिएकामध्ये जलजला गाउँपालिकामा एक, कुश्मा नगरपालिकामा पाँच, फलेवास नगरपालिकाका चार र पैयुँ गाउँपालिकामा तीन जना छन् ।

एचआइभीको लक्षण देखिएका कोही पनि खुलेर नआउने भन्दै पुष्टि भएकाहरूलाई घरमा लगेर औषधि दिने गरिएको कार्यालयका प्रमुख शर्माले बताए । विभिन्न सङ्घसंस्थाले पनि एचआइभी एड्सको न्यूनीकरणमा काम गर्दै आएका छन् ।

यसैगरी यसवर्ष मोदी गाउँपालिकामा एक, जलजला गाउँपालिकामा चार र फलेवास नगरपालिकामा एक जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् ।

आव २०७९र८० मा मात्रै जिल्लामा १५ जना कुष्ठरोगका बिरामी फेला परेकामा अहिले यो सङ्ख्या केही घटेको पाइएको शर्माले जानकारी दिए । कुष्ठरोगको औषधि पनि सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएकाले सबैले नियमित औषधि सेवन गर्नुपर्नेमा उनले जोड दिए । 

उदिपुर पहिरो रोकथाम गरिँदै

लमजुङ । सङ्घीय सरकारको ११ करोड १९ लाख बजेटमा उदिपुर देउरालीडाँडा पहिरो रोकथाम सुरु गरिएको छ । डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि पर्खाल निर्माण सुरु गरिएको हो ।

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी किरण पोखरलेले हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । हालसम्म टेवा, पर्खाल, ग्याबिन जाली लगाइएको र मस्र्याङ्दी नदीमा ‘माइक्रो पाइल’ निर्माण भइरहेको उनले बताए ।

उनका अनुसार मस्र्याङ्दी नदीबाट सडकसम्म एक सय मिटर उचाइ र ८० मिटर लम्बाइको ग्याबिन जाली लगाइएको छ । अब तीन सय मिटर सडक कालोपत्र र सडकमाथि ८० मिटर उचाइ, ७० मिटर लम्बाइको पहिरो ‘नेलिङ’ गर्ने काम बाँकी रहेको उनको भनाइ छ ।

फेवा कन्ट्रक्सन प्राइभेट लिमिटेड कास्कीले उक्त योजना ठेक्का लिएको छ । कार्यालयका अनुसार सो कम्पनीले विसं २०७९ चैत १० गते सम्झौता तथा चैत १७ गतेदेखि काम थालेको योजना आगामी पुस २९ गतेसम्ममा सम्पन्न गर्ने सम्झैता म्याद छ । मौसमले साथ दिएमा निर्धारित समयमा काम सम्पन्न हुने बताइएको छ ।

सो स्थानमा विसंं २०७८ असार १ गते र विसं २०७९ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो । सडक बगाएपछि लामो समयसम्म वैकिल्पक रुपमा नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने ट्र्याक खोलेर सवारी सञ्चालन भएको थियो ।

४२ किलोमिटर लामो यस सडकको ठुलो पहिरोको रुपमा उदिपुर रहेको छ । यो सडक हुँदै बेँसीसहरबाट डुम्रे तनहुँ, काठमाडौँ, पोखरा, चितवन र बेँसीसहर साथै हिमाली जिल्ला मनाङ जाने यात्रुहरु यात्रा गर्ने गर्दछन् । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं।२०२९ मा खन्न सुरु गरिएको यो सडक बेँसीसहरसम्म ४२ किलोमिटरसम्म जोड्न १५ वर्ष लागेको थियो ।

विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो । चार वर्षमा ४२ किलोमिटर सडक कालोपत्र भएको थियो । त्यसयता सडक स्तरोन्नति र मर्मत हुनुको सट्टा बर्सेनि जाने पहिरोले सडक अवरुद्ध हुँदा यात्रुले हैरानी भोग्दै आएका थिए । 

हाइकिङसँग जोडिदै गर्लाङ सामुदायिक घरबास

गण्डकी  । पोखरा महानगरपालिका–१६ स्थित गर्लाङ सामुदायिक होमस्टेलाई हाइकिङमार्फत प्रवर्द्धनको प्रयास थालिएको छ ।

पर्यटकीय सम्भावनायुक्त गर्लाङलाई एक दिवसीय हाइकिङका माध्यमबाट जोड्न हाइकर्स क्लब नेपालले आफ्नो ४९औँ शृङ्खला गर्लाङमा सम्पन्न गरेको छ ।

प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङमार्फत प्रवर्द्धन गरिरहेको क्लबले यस शृङ्खलालाई गर्लाङमा पुर्‍याएको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए ।

“हाइकर्स क्बल नेपालले पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गरिरहेको छ”, उनले भने, “पोखरामा रही विभिन्न सेवा, पेसा र व्यवसायमा आवद्ध व्यक्तिलाई हामीले हाइकिङका माध्यमबाट पर्यटकीय गन्तव्यमा पुर्याउने गरेका छौंँ ।”

विभिन्न उमेर समूहका व्यक्ति एकसाथ हाइकिङमा सहभागी हुने गरेको बताउँदै उनले हरेक गन्तव्यमा पर्यटकीय प्रवर्द्धन भइरहेको बताए । प्रकृति र संस्कृतिले सम्पन्न गर्लाङ गाउँमाथिबाट देखिने दृश्यले जो कोही लोभिने बताउँदै उनले हरिपाउबाट पोखरा बजार नेपालको झण्डा आकारमा देख्न सकिने जानकारी दिए ।

गर्लाङमा कोरोना महामारी पूर्व घरबास सञ्चालनमा आएको थियो । लगत्तै भएको बन्दाबन्दी (लकडाउन) पछि घरबासले अपेक्षित गति लिन सकेको थिएन ।

पछिल्लो समय विस्तारै आकर्षण बढ्न थालेको गर्लाङ सामुदायिक होमस्टेका सदस्य चन्द्रा गुरुङले बताए । उनका अनुसार यहाँका पाँचवटा घरमा घरबास सञ्चालनमा छन् ।

हरेक दिन २० देखि २५ जनासम्म पाहुनालाई घरबासमा राख्न सकिने उनको भनाइ छ । गर्लाङ आउने पर्यटकले स्थानीय स्वादका खानासँगै प्रकृति र संस्कृतिमा रमाउन पाउने गुरुङले बताए । यहाँबाट हिमशृङ्खलासहित पोखराको दृश्यावलोकन गर्न गाउँमाथि रहेको झुप्राङकोट उपयुक्त गन्तव्य मानिन्छ ।

जोगिमणिबाट करिब एक घण्टा पैदलबाट देवीथान, जैमुरे, भूतेदेवी थान, विमरे हुँदै गर्लाङ पुुग्न सकिन्छ । त्यस्तै ढिँकीडाँडाबाट थुम सम्म सवारीमा पुगेर थोरै पैदल हिँडेर पनि गर्लाङ पुग्न सकिन्छ । पोखरा महानगरपालिका–१६ का पर्यटकीय गन्तव्यमध्ये गर्लाङ एक भएको वडा सदस्य रामचन्द्र आचार्य बताउँछन् ।

“हाइकर्स क्लबले आयोजना गरेको हाइकिङले यहाँको पर्यटन प्रवर्द्धन हुने हाम्रो विश्वास छ”, उनले भने, “यस किसिमका प्रवर्द्धनात्मक गतिविधिले पछि परेका गन्तव्यको प्रवर्द्धन र विकास हुन्छ ।”

स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मूलनाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ गरिँदै आएको क्लबका उपाध्यक्ष ज्योति हमालले बताए । पोखराबाट नजिक रहेर प्रचारप्रसार नभएको होमस्टेको प्रचार गर्न गर्लाङ सामुदायिक होमस्टे छनोट गरिएको उनले जानकारी दिए ।

क्लबका कोषाध्यक्ष टीका आचार्यले हाइकर्स क्बल नेपालले सदस्यता वृद्धि अभियान थालेको बताए । उनका अनुसार क्लबको साधारण सदस्यका लागि पाँच सय र आजीवन सदस्यको लागि तीन हजार लिने गरिएको छ ।

हाइकिङमा सहभागी हुन क्लबको सदस्य नहुनेले पनि पाउने उनले बताए । सदस्यता नलिएका सहभागीका हकमा अतिरिक्त ५० रुपैया थप बुझाउनु् पर्ने निर्णय क्लबले गरेको छ ।

पोखरा र आसपासमा विगत छ वर्षदेखि नियमित सञ्चालित हाइकिङमा हालसम्म १० देखि ७६ वर्ष उमेर समूहका नेपाली तथा विदेशी नागरिकसमेत गरी हजारौँ सहभागी भइसकेका छन् । क्लबका सचिव मधु अधिकारीले हाइकिङका माध्यमबाट हरेक शृङ्खलामा नयाँ गन्तव्यको प्रवर्द्धन गरिँदै आएको बताए । 

आक्रमण मेरो हत्या गर्ने अभिप्रायले गरिएको थियोः पूर्वराष्ट्रपति ट्रम्प

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क पोस्ट’ सँगको कुराकानीमा शनिबारको आक्रमणमा ‘आफू मारिने सम्भावना’ बाट उम्केको बताएका छन् ।

रिपब्लिकन नेसनल कन्भेन्सनमा भाग लिन मिल्वौकी जाने क्रममा आफ्नो विमानमा सवार ट्रम्पले ‘न्यूयोर्क पोस्ट’ लाई दिएको अन्तर्वार्तामा आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रसंशा गर्दै भने, ‘सायद, म यहाँ हुने थिइन, म मरेको हुन्थेँ होला ।’

उनले आफ्नो दाहिने कानमा सेतो पट्टी बाँधेर सुनाएको यो ‘अति वास्तविक अनुभव’ भएको पत्रिकाले उल्लेख गरेको छ ।

शनिबार एक चुनावी र्यालीमा सहभागी हुने क्रममा बन्दुकधारीले प्रहार गरेको गोलीले ७८ वर्षीय ट्रम्पको कानमा लछार्दै गएको थियो । आक्रमणबाट उहाँको अनुहार रगताम्य भएको, एक जना पैदलयात्रीको मृत्यु भएको र अन्य दुई जना घाइते भएका थिए ।

ट्रम्पले र्यालीलाई सम्बोधन गर्ने क्रममा अवैध आप्रवासीसम्बन्धी चार्ट पढ्नका लागि आफ्नो टाउको दायाँतिर नझुकेको भए आफ्नो मृत्यु हुने बताएका थिए ।

उनले भने, ‘घटनापछि धेरैले भनिरहेका छन् कि “भाग्यले वा भगवानको कृपाले म अझै पनि जीवित छु ।’ गोली प्रहार गर्ने आक्रमणकारीलाई तत्काल ‘सफाया’ गरेकामा उनले गुप्तचर सेवाका एजेन्टको प्रशंसा गरे ।

उनले भने, ‘उनीहरूले आक्रमणकारीलाई आँखाको बीचमा एउटा गोली प्रहार गरी आफूलाई भीडबाट बाहिर निकालिएको मलाई बताइएको छ ।’

‘उनीहरूले उत्कृष्ट काम गरे,’ उनले भने, ‘यो हामी सबैका लागि अवास्तविक छ ।”

सिक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई घेरा हालेर भीडबाट निकाल्दै गर्दा मुठ्ठी उठाएको तस्बिर संसारभरका पत्रिकाको फ्रन्ट पेजमा छापिएको थियो । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

‘धेरै मानिसहरूले यो आफूले देखेको सबैभन्दा प्रतिष्ठित तस्वीर भएको बताउँछन्,’ पूर्व राष्ट्रपतिले न्यूयोर्क पोस्टसँग भने, ‘उनीहरूले सही भनेका हुन् । आक्रमणबाट म बाँच्न सफल भएको छु । सामान्यतया पत्रपत्रिकामा यस्तो चर्चा एक जीवित व्यक्तिका लागि विरलै हुने गर्छ ।’

प्रधानमन्त्री नियुक्त भएकोमा ओलीलाई मोदीको बधाई

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएकोमा केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका हुन् ।

उनले दुई देशबीचको मित्रतालाई थप बलियो बनाउन नजिकबाट काम गर्न आफू तयार रहेको बताएका छन्। दुई मुलुकका जनताको प्रगति र समृद्धिका लागि दुवै पक्षलाई लाभ हुनेगरी काम गर्नुपर्नेमा उनको जोड छ। प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वास व्यक्त गरेका छन् ।

Congratulations @kpsharmaoli on your appointment as the Prime Minister of Nepal. Look forward to working closely to further strengthen the deep bonds of friendship between our two countries and to further expand our mutually beneficial cooperation for the progress and prosperity…

— Narendra Modi (@narendramodi) July 15, 2024

प्रधानमन्त्रीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरू दीपक अधिकारी खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले उत्प्रेषणयुक्त परमादेश माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमाथि सुनुवाइका लागि साउन ६ गते पेसी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् । रिटमा संविधानको धारा ७६(२) बमोजिम सरकारले विश्वासको मत नपाएको अवस्थामा सरकार गठनका लागि राष्ट्रपतिले संविधानको धारा ७६(३) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुपर्ने उल्लेख गरिएको छ ।

रिटमा भनिएको छ, ‘उपधारा (२) का अनुसार बनेको बहुमतको सरकारले विश्वासको मत पाउन सकेन भने उपधारा ३ अनुसार ठूलो दलका नेता प्रधानमन्त्री हुने हो । अब राष्ट्रपतिले ७६(३) बमोजिम सरकार गठन गर्न संसदमा सबैभन्दा बढी सांसद संख्या भएको, दललाई मात्र सरकार गठनका लागि आह्वान गर्नु पर्नेमा संवैधानिक व्यवस्थाविपरित विपरित उपधारा (२) अनुसारको सरकार गठनको अव्हान गर्ने गर्नु भएको निर्णय सोको धारमा जारी पत्र, नियुक्ति र सपथ समेत यससँग सम्बन्धित सम्पूर्ण निर्णय उत्प्रेषणको आदेशले बदर गरी संविधानको धारा ७६ (३) बमोजिम सरकार गठनको लागी आव्हान गर्नु गराउनु भनी विपक्षीका नाममा परमादेशको आदेश जारी गरी पाउँ ।’

देशभर ६७.३ प्रतिशत रोपाइँ

काठमाडौँ  । हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६.७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । यो हप्ता पानी परेकाले गत हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो ।

असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको थिएन । चौथो हप्तापछि वर्षा निरन्तर भएको थियो ।