`

यार्सा खोज्नेक्रममा ज्यान गुमाएकाहरूका आश्रितलाई सहयोग

मुगु । यार्सा खोज्न मुगुका विभिन्न पाटनमा पुगेका बेला लेक लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।

गैरसरकारी संस्था टेवाले यार्सा खोज्न गएका बेला बिरामी भएका २७ तथा ज्यान गुमाएका चारजनाका परिवारलाई दैनिक उपभोग्य सामग्रीका साथै लत्ताकपडा प्रदान गरेको हो ।

टेवाको मुगुस्थित साझेदार संस्था महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहीका अनुसार ५० केजी चामल, एक केजी दाल, एक लिटर खानेतेल, चार केजी नुन, चिउरा, सिरक, डसना, तन्ना, सिरानी प्रदान गरिएको हो । मृतकका परिवारलाई सोही परिमाणमा ती सामग्रीका साथै प्रतिपरिवार नगद रु १२ हजार प्रदान गरिएको छ ।

यो याममा यार्सा पाटनमा छायानाथ रारा नगरपालिका–१० का एकजना र वडा नं १२ का तीनजना युवाको मृत्यु भएको छ । एक याममा एक परिवारले यार्सा बेचेर कम्तीमा रु तीन लाखसम्म आम्दानी गर्ने गर्छन् । पन्ध्रदेखि २० दिनसम्म यार्सा टिपेर वर्षभरिको खर्च जुटाउनुपर्ने भएकाले घर नै खाली गरेर गाउँगाउँबाट युवायुवती यार्सा पाटन पुग्ने गरेका छन् ।

यार्सा पाटनमा मृत्यु भएका तथा बिरामी परेका परिवारले अहिलेसम्म कहीँकतैबाट सहयोग नपाएको छायानाथ रारा नगरपालिका– १० की सिर्जना कुमाइले बताए । टेवाबाट प्राप्त सहयोगका निम्ति उनले आभार व्यक्त गरे । 

मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली

बाँके । मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राहीले करिब ६५ फिट उचाइको ताजिया स्थापना गरेका छन् । यो वर्ष राहीले करिब एक लाख रुपैयाँमा भारतको आलीनगरबाट ताजिया खरिद गरेर ल्याएका हुन् । नेपालगञ्जसम्म ल्याउन ढुवानी र जडान गर्दा करिब ६० हजार थप खर्च भएको उनले बताए ।

नेपालगञ्जको गणेशपुर चोकमा पनि विगत सात वर्षदेखि बच्चा राहीको नेतृत्वमा अग्लो ताजिया राख्ने गरिएको छ । यो वर्ष पनि ६० देखि ७० फिटसम्म अग्लो ताजिया राखिएको राहीले बताए । “यो हाम्रो परम्परा बनेको छ, सात–आठजनाले पैसा लगाउँछौँ, टोलका सबैजसोले सहयोग गर्नुहुन्छ”, राहीले भने, “अग्लो ताजिया ‘फिट’ भएपछि मनमा शान्ति र खुसीयाली हुने गरेको छ ।”

राहीले जस्तै बाँकेका अन्य मुसलमान समुदायका व्यक्तिले पनि आफ्नो गच्छेअनुसारको ताजिया घरमा स्थापना गरेका छन् । चाँदबाबुले केही वर्षयता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गर्दै आएका छन् । राहीले चन्दा अथवा दानबाट नभई आफ्नो निजी रकम खर्च गरेर अग्लो ताजिया राख्ने गरेको बताए ।

बाँकेमा मात्रै एक करोडभन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रूपमा आज घर नजिकै रहेका कर्बलामा विसर्जन गर्छन् । नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ–आफ्नो घर अगाडि ताजिया राखेर पूजाआजा गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ ।

आफ्नो आर्थिक हैसियतअनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिस्पर्धा देखिएको मौलाना अब्दुल जब्बार मञ्जरीले बताए । उनले सानो–ठूलो जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताए ।

हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावको रूपमा विकसित हुँदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको उनले बताए ।

पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् ।

बाँकेमा बसोबास गर्ने विभिन्न धर्म समुदायले मिलेर धार्मिक सद्भाव र सामाजिक एकताका रूपमा मोहर्रम पर्वलाई मनाइरहेको मोहर्रम तथा कर्बला संरक्षण समिति नेपालगञ्जका महासचिव मोहम्मद हारुन हलवाईले जानकारी दिए । यो पर्व सबैले मिलेर मनाउने तथा सबैले ताजिया (इमाम हसन र हुसैनको समाधिको प्रतीक) राख्ने हुँदा यसलाई सद्भाव र एकताको पर्व मानिन्छ ।

गएराति घरघरमा राखिएकोे ताजिया आज जुलुससहित सेलाउने कार्यक्रम रहेको मोहर्रम तथा कर्बला संरक्षण समितिका महासचिव हलवाईले जानकारी दिए । हजरत हुसैन र हसनको सहादतको सम्झनामा अरबी क्यालेण्डरअनुसार मोहर्रम महिनाको पहिलो १० दिन विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा उनीहरूकै सम्झनामा कागज र काठबाट बनाइएका ताजिया राख्ने परम्परा छ ।

प्रचण्डले ‘समाजवादी मोर्चा’ को नाममा ढोक्सा थाप्न सुरु गरेको बाबुरामको आरोप

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष प्रचण्डले सत्ताबाट बाहिरिएलगत्तै ‘समाजवादी मोर्चा’ को नाममा ढोक्सा थाप्न सुरु गरेको आरोप लगाएका छन् ।

बुधबार सामाजिक संजालमार्फत भट्टराईले सडकमा पछारिएपछि प्रचण्डले ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा थाप्न सुरु गरेको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘अहिले उहाँहरू सडकमा पछारिनु भएको छ! ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा÷ढडिया थापेर केही भुरा माछा पर्छन् कि भनेर यताउति हेरिरहनु भएको छ ! केही नभेटेपछि फेरि उही आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजिरहनु भएको छ।’

भट्टराईले सत्तामा हुँदा अर्को पार्टीको सांसदलाई आफ्नो पार्टीको सांसदमा प्रस्तुत गरेकोमा अदालतले झापड दिएको बताए ।

उनले भने, ‘पहिले सत्तामा छँदा उहाँहरूलाई सांसद संख्या पुर्याउनु थियो । अर्को पार्टीबाट निर्वाचन लडेको र जितेको (ऐनको प्रावधान अनुसार नै साझा चुनावचिन्ह लिएको) मान्छेलाई जबर्जस्ती आफ्नो पार्टीको सांसदको रूपमा प्रस्तुत गर्नुभयो । हामीले स्वीकार्यौं ! (भलै गण्डकी प्रदेशको केसमा सर्वोच्च अदालतले जुन दलको उम्मेदवार हो सोही दलको सांसद रहने अन्तरिम आदेश दिइसकेको छ!) दल त्याग गरिसकेको मान्छेलाई हामीले कानून बमोजिम सबै प्रक्रिया पुर्याएर पार्टीबाट विदा गर्यौं! निर्वाचन आयोगले त्यसलाई स्वीकारेर अभिलेखीकरण गरिसकेको छ । निवर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूले अदालतको आदेश र निर्वाचन आयोगको निर्णय मान्नुपर्दैन ? उहाँहरू संविधान र कानून भन्दा माथि हो ¬? राजनीतिमा नैतिकता र मूल्यमान्यता भन्ने केही जिनिस हुँदैन ? सत्ता नै सबै थोक हो ? यसरी आउँछ ‘समाजवाद’ ?’

सिमलताल घटना अध्ययन गर्न गठित कार्यदलले घटनास्थल पुगेर थाल्यो काम

काठमाडौँ । असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ ।

गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।

दश दिनको कार्यादेश दिइएको कार्यदलले बुधबार घटनास्थल पुगेर अध्ययन थालेको कार्यदलका सदस्य नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार अहिले घटनास्थलको अध्ययन भइरहेको छ ।

रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शङ्कर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी छन् ।

आवश्यक घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासनलगायतसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने कार्यदलले जनाएको छ ।

बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने अरु सबै बेपत्ता भएका थिए । अहिलेसम्म १७ जनाको शव फेला परेको छ । अन्य यात्रुको अवस्था अज्ञात छ ।

अदालतको आदेशपछि न्युरोड क्षेत्र फुटपाथ निर्माणको काम पुनः सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्र फुटपाथ निर्माणको काम पुनः सुरु गरेको छ । उच्च अदालत पाटनले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको हो ।

यसअघि डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि पुनः निर्माणको काम सुरु गरेको हो ।

सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो ।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

रिट निवेदनमा महानगरपालिकाले, आफ्नो क्षेत्रभित्रको वडा नम्बर २२, २३ र २४ अन्तर्गत पर्ने न्युरोड बजार क्षेत्रमा आर्थिक वर्ष २०८०/०८१ को आर्थिक वजेटबाट फुटपाथ (सडक पेटी) विस्तार गर्ने योजना अनुरुपको कार्य सञ्चालन गर्ने सन्दर्भमा विपक्षी सडक डिभिजन कार्यालयले जेठ १२ बाट अवरोध सृजना गरी सडक पेटी निर्माण गर्न नदिने व्यहोराको पत्राचार एवं भौतिक रुपमा हस्तक्षेप गरेको उल्लेख गर्दै उपचारको र तत्काल अन्तरिम आदेश माग गरेको थियो ।

अदालतले दिएको आदेशमा भनिएको छ, ‘संविधानको व्यवस्था, कानुनका प्रावधान, सडक नीति र मापदण्ड समेतलाई दृष्टिगत गर्दा निवेदक महानगरपालिकाले सञ्चालन गर्न लागेको फुटपाथ (सडक पेटी) विस्तार सम्बन्धी योजना सञ्चालन एवं सम्पन्न गर्न रोक लगाउने गरी विपक्षी सडक डिभिजन कार्यालय काठमाडौँबाट निवेदक काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयका नाममा प्रेषित गरेको मिति २०८१/०२/१३ च. नं. १८०८ र मिति २०८१/०२/१६ को च. नं. १८३० को पत्र प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरि दिएको छ ।’

सडक डिभिजनले महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो । अहिले धमाधम सडक खन्ने काम भइरहेको छ ।

तस्बिरमा त्रिपुरासुन्दरी


डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी मन्दिर । यो मन्दिर धान कुट्ने ओखलबाट उत्पति भएको धार्मिक मान्यता रहेको छ ।

तस्बिरः रामचन्द्र न्यौपाने/रासस

काममा ढिलासुस्ती गर्ने चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालोचूचीमा राखेको छ । बुधबार सूचना जारी गर्दै कार्यालयले काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

कालोसूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। ।

बीएस भैरवशक्ति निर्माण सेवा डोटी, मस्टा जबीडी कन्डक्टसन इन्जिनियरिङ काठमाडौँसहितका निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिऔं, खादा माला प्रयोग नगरौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभेच्छुकलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन आग्रह गरेका छन् । खादामा माला बोकेर बधाई दिन आउने लर्को लाग्न थालेपछि प्रधानमन्त्री ओलीले बुधबार सामाजिक संजालमार्फत प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘शुभ प्रभात ! विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु।’

बैङ्ककको एक होटलको कोठामा ६ जनाको शव फेला

थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले मध्य बैङ्ककको एक लक्जरी होटलको कोठामा ६ जना विदेशी नागरिक मृत पाइएको बताएका छन् । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ ।

“सङ्घर्षको कुनै सङ्केत थिएन”, प्रधानमन्त्री श्रेथाले पथुम वान जिल्लाको ग्रान्ड हयात इरावन होटलमा पत्रकार सम्मेलनमा भने, “उनीहरूले केही खाएका थिए कि भन्नेबारे हामीले शव परीक्षण गर्न आवश्यक छ ।” उनले उनीहरूको मृत्यु चोरीसँग सम्बन्धित थियो र गोलीबारी भएको थियो भन्ने हल्लालाई खारेज गरे ।

प्रधानमन्त्रीका अनुसार मृतक छ जना भियतनामी थिए । तीमध्ये दुई जनासँग दोहोरो अमेरिकी राष्ट्रियता थियो ।

सफाई कर्मचारी पाँचौँ तलामा कोठा बनाउन आइपुग्दा शव प्राप्त भएको र प्रहरीलेसाँझ साढे चार बजे सूचना पाएको थियो । केही समयपछि प्रधानमन्त्री श्रेथा घटनास्थलमा पुगेका छन् । उनले उक्त घटनामा सातौँ भियतनामी संलग्न रहेको आशङ्का गरे ।

बैङ्ककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङले अतिथिहरू दिउँसो होटलबाट चेकआउट गर्न असफल भएको बताए । “कर्मचारीहरूले शव फेला पारे र उनीहले होटलका अधिकारीहरूलाई र त्यसपछि पुनः प्रहरीलाई सूचित गरे”, उनले भने ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै सङ्केत पाइएको छैन । उनले सबैले विषाक्त पदार्थ सेवन गरेको हुनसक्ने अनुमान गरेका छन् । “हामीलाई उद्देश्य पत्ता लगाउन आवश्यक छ”, उनले भने,“उनीहरूले आत्महत्या गरेको नभई अन्यको हत्याबाट मरेको प्रमाणित गर्नुछ ।”

डेडिकेटेड फिडर एवं ट्रकलाइनसम्बन्धी विवाद समाधान गर्न प्रधानमन्त्रीसँग व्यवसायीको माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँगको मंगलबारको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रवर्द्धन एवं विस्तारविना देशको विकास सम्भव नभएको बताउँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति सरकारले लिने स्पष्ट पारेका हुन् ।

महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको महासंघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

निजी क्षेत्रविना अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकारले उद्यमी तथा व्यवसायीलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए । उक्त भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको पनि उपस्थिति रहेको थियो ।

भेटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताए । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्रको विस्तारबाट मात्रै सुधार सम्भव रहेको प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष ढकालले बताएका थिए ।

सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रुपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्फत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालको भनाइ थियो ।

अध्यक्ष ढकालको नेतृत्वमा पुगेको महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष निजी क्षेत्रलाई राज्यको मर्यादा क्रममा समावेश गर्नेलगायतका गैरमौद्रिक प्रोत्साहन सरकारले दिनसक्ने भन्दै अनुरोध गरेका थिए ।

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबाट पूर्वाधारमा हुने लगानीलाई कुनै प्रकारले निरुत्साहित गर्न नहुनेमा जोड दिँदै आर्थिक वर्षको सुरुमा नयाँ सरकार बनेको हुँदा पुँजीगत खर्च बढाउन विशेष पहल आवश्यक रहेको बताए ।

त्यसअवसरमा सो प्रतिनिधिमण्डलले उद्यम व्यवसाय सम्बद्ध नियामक निकायले एकआपसमा समन्वय बढाइ लगानी प्रोत्साहन गर्नेगरी कार्य सम्पादन गर्नु आवश्यक रहेको तथा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै बाह्य क्षेत्र सन्तुलित भएका कारण सुधार तत्काल सम्भव भएको जानकारी प्रधानमन्त्रीसमक्ष गराएको थियो ।

हाल अर्थतन्त्र सम्बद्ध निकायबीचमा समन्वयको अभाव रहेको बताउँदै अर्थतन्त्रमा सुधारका लागि प्रधानमन्त्री नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको सो प्रतिनिधिमण्डलले जनाएको थियो ।

निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रकलाइनसम्बन्धी विवाद तत्काल समाधान गरी उद्यमी व्यवसायीलाई निर्वाध र सहज रुपमा काम गर्नसक्ने वातावरण निर्माण गर्न, सहकारी र लघुवित्तमा देखिएको समस्याका कारण ग्रामीण भेग, साना सहर र साना उद्यमीसम्म रकम पुग्न नसकेको हुँदा त्यहाँ सहज वित्तिय पहुँचका लागि विशेष पहल गर्न पनि सो प्रतिनिधिमण्डलले माग गरेको थियो ।

अध्यक्ष ढकालको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलमा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छासहित वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरु रहेको महासंघले जनाएको छ । 

‘खुस्मा’को ‘खुसीका फूल बटुलेर’

काठमाडौँ । फिल्म ‘खुस्मा’को ‘खुसीका फूल बटुलेर’ बोलको पहिलो गीत सार्वजनिक भएको छ। एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको गीतका रचनाकार राम अविरल विष्ट हुन्।

गीतमा गायक योगीले नै संगीत भरेका छन् । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार उपासना सिंह ठकुरी र धीरज मगरको प्रेम कथा र रोमान्टिक अभिनय देख्न सकिन्छ। सुरेन्द्र राईको कोरियोग्राफीमा बनेको भिडियो पूर्वी रुकुम आसपास छायांकन गरिएको छ ।

फिल्मका लेखक तथा निर्देशक अशोक थापामगर हुन्। यो उनको डेब्यु फिल्म हो। फिल्म असोज ३ गते प्रदर्शन हुनेछ। फिल्ममा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

दीपक बज्राचार्यले छायांकन गरेको फिल्मका निर्माता वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर हुन्। एम मिडियाको ब्यानरमा निर्माण भएको फिल्मको गीत केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक गरिएको हो।

उपत्यकाका नदी किनारका रहेका सुकुम्बासीलाई विकल्प दिएर हटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका रहेका सुकुम्बासी बस्तीलाई विकल्प दिएर हटाउन आदेश दिएको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले ३ पुस २०८० मा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै वास्तविक सुकुम्बासीको स्थानान्तरण गरेर नदी किनारका सरकारी जग्गा खाली गर्न आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘प्रदूषण नियन्त्रणकै सन्दर्भमा नदी किनारामा वसोवास गरेका व्यक्तिहरुको सरकारी जग्गा अतिक्रमण गरी वस्ने कुनै हक नहुने भए पनि वाध्यतामा परी विकल्प नभई वसेका वास्तविक सुकुम्वासीहरुको पहिचान गरी स्थानान्तरणको लागि हाल इचङ्गनारायणमा बनेको आवासमा स्थानान्तरण गर्ने, सो सुविधाले नपुग्ने भई त्यहाँ व्यवस्थापन गर्न नसकिने भएमा आवश्यक संख्यामा अन्यत्र आवासको व्यवस्था गर्ने, ती स्थानहरुमा जान नचाहने तत्काल वैकल्पिक व्यवस्था नभएका वास्तविक सुकुम्वासी परिवारहरुको हकमा नेपालको संविधानको धारा ३७(१)ले प्रत्याभूत गरेको बसोवासको हकलाई समेत मध्यनगर गरी स्थानान्तरणको सहजीकरणको लागि तत्काल राहतको रुपमा नगद प्रदान गरी अतिक्रमण हटाउने।’

नदी क्षेत्रका सार्वजनिक जग्गालाई पार्क, हरियाली क्षेत्र, खेलकुदसहित खुला क्षेत्र कायम गर्नु आवश्यक देखिएकाले खुला क्षेत्र नै कायम गर्ने, सरकार वा कुनै संस्था वा स्मृति प्रतिष्ठानको प्रयोजन वा अन्य प्रयोजनका लागि जग्गा हस्तान्तरण नगर्न र नगराउन पनि अदालतले परमादेश जारी गरेको छ ।

सार्वजनिक जग्गा र नदी किनारको जग्गा निर्धारण गर्न २०२१/०२२ सालतिर तयार भएको सर्भे नक्सालाई आधार मान्ने साथै वर्षाको बाढीमा नदीको डुबानमा पर्ने जग्गामा भएका अतिक्रमण र गैरकानुनी जग्गा दर्ताबारे छानबिन गरी मालपोत ऐन २०३४ को दफा २४ बमोजिम निर्णय गरी सार्वजनिक जग्गाको संरक्षण गर्न र गराउन पनि सर्वोच्चले परमादेश जारी गरेको छ ।

https://drive.google.com/file/d/1X_5TEMN4SCXOAxGyVEZ7JY6zt6uq93U1/preview

अफगानिस्तानमा वर्षा र बाढीका कारण ४० जनाको मृत्यु

पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङख््य ४० पुग्नुका साथै घाइतेको सङ्ख्या ३४७ पुगेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयका प्रवक्ता सराफत जमान अमरखिलले बताए । दुर्घटनामा हताहतको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

सोमबार दिउँसो अचानक आएको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुख रोड जिल्ला र पाकिस्तानको सिमानामा रहेको प्रान्तका छिमेकी क्षेत्रहरूमा ठुलो मृत्यु र आर्थिक क्षति पुरÞ्याएको छ ।

त्यसैगरी, सोमबार बिहान पूर्वी अफगानिस्तानको कुनार प्रान्तको अधिकांश भाग आकस्मिक बाढीले बगाउदा पाँच जनाको मृत्यु भएको छ ।

भारी वर्षा र बाढीले मे देखि युद्धग्रस्त देशमा ४०० भन्दा बढीको ज्यान लिएको छ भने हजारौंलाई घरबार विहीन बनाएको छ ।

एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलोन मस्कको दावी

टेक अर्बपति तथा टेस्लाका सीईओ एलोन मस्कले मङ्गलबार आफ्नो सामाजिक सञ्जाल एक्स प्रयोगमा रेकर्ड उच्च’ पुगेको दाबी गरेका छन् ।

एक्सले एकै दिनमा “विश्वव्यापी रूपमा ४१७ अर्ब प्रयोगकर्ता–प्रतिसेकेन्डको कुल अनुभव गरेको मस्कले बताउनु भएको छ । सामाजिक सञ्जाल एक्सको एक पोस्टमा, मस्कले एक्स प्रयोगले हिजो विश्वव्यापी रूपमा ४१७ बिलियन प्रयोगकर्ता प्रतिसेकेन्डको साथ अर्को रेकर्ड उच्च राखेको उल्लेख गरेका छन् ।

उनका अनुसार संयुक्त राज्य अमेरिका मा, प्रयोगकर्ता एकै दिनमा ९३ बी ३२ यु सेकेन्ड पुगेको जनाउदै यो अघिल्लो रेकर्ड भन्दा ७६बीले एकै दिनमा बढी भएको उल्लेख गरेका छन् ।
गत मार्चको एक्स तथाङ्कले २५० मिलियन मानिसहरूले हरेक दिन औसतमा ३० मिनेट एक्स प्रयोग गर्ने दाबी गरिएको थियो ।

पोष्टमा प्रत्येक महिना ५५० मिलियन मानिसहरूले ग्लोबल टाउन स्क्वायर भ्रमण गर्छन् भने औसतमा, प्रयोगकर्ताले एक्समा दिनको ३० मिनेट खर्च गर्ने भनिएको छ ।

अक्टोबर २०२२ मा, मस्कले ४४ अर्ब अमेरिकी डलरको सम्झौतामा प्रभावशाली सामाजिक मिडिया प्लेटफर्म–ट्विटरको स्वामित्व लिएका थिए ।

पछिल्लो समयमा, मस्कले शीर्ष कार्यकारीलाई बर्खास्त गरी, कम्पनीका आधा कर्मचारी हटाएर, खाता पुनः स्थापनाको समीक्षा गर्न सामग्री मोडरेशन काउन्सिल गठन गरी प्लेटफर्मको सदस्यता सेवालाई सुधार गरेका छन् ।

टेस्ला र स्पेसएक्सका सीईओ एलोन मस्कले पदभार सम्हालेपछि कम्पनीमा धेरै परिवर्तन भएका छन्, जसमध्ये केही विवादास्पद समेत भएका छन् ।

विवादास्पद निर्णयसँगै, ट्विटरले विज्ञापन राजस्वको ठुलो मात्रा गुमाउन थाले पछि मस्कले ट्विटर ब्लूको रूपमा भुक्तान गरिएको प्रमाणिकरणहरू सुरु गरे ।

मस्कले जुलाई २०२३ मा ट्विटरसँग सम्बन्धित प्रसिद्ध निलो चरालाई प्रतिस्थापन गर्दै गर्मीमा प्लेटफर्मलाई एक्सको रूपमा पुनः ब्रान्ड गरे ।

प्लेटफर्म संलग्नता बढाउन, मस्कले २०२४ मार्च –२८ मा दुई हजार ५०० भन्दा बढी प्रमाणित ग्राहक अनुयायी भएको एक्स खातालाई प्रिमियम सुविधामा निःशुल्क पहुँच प्रदान गर्ने घोषणा गरे । जसबाट पाँच हजार भन्दा बढी अनुयायी अनुयायी भएको एक्स खातालाई सिमित लागतमा प्रिमियम सुविधा छ ।

ओमानमा तटीय क्षेत्रमा तेल ट्याङ्कर पल्टिँदा चालक दलका १६ सदस्य बेपत्ता

कोमोरियन–ध्वजासहितको एक तेल ट्याङ्कर सोमबार ओमान नजिक पल्टिँदा बेपत्ता भएका चालक दलका १६ सदस्यको खोजी जारी रहेको सल्तनतको सामुद्रिक सुरक्षा केन्द्र (एमएससी) ले बताएको छ ।


ओमानको रक्षा मन्त्रालयद्वारा सञ्चालित एमएससीले जहाज पल्टिनुको कारण बताएको छैन । सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा भनिएको छ, “एउटा कोमोरोस ध्वजाङ्कित तेल ट्याङ्कर सोमबार रास मद्रकाहबाट २५ माइल दक्षिणपूर्वमा डुक्मको बन्दरगाह सहर नजिकै पल्टियो ।”


धेरै विवरण उल्लेख नगरी पोस्टमा खोज र उद्धार कार्यहरू सम्बन्धित अधिकारीहरूबाट सुरु गरिएको बताइएको छ । 


विज्ञप्तिमा एमएससीले जहाजको पहिचान प्रेस्टिज फाल्कनका रूपमा पहिचान गर्दै जहाजमा १३ भारतीय र तीन श्रीलङ्कालीसहित १६ जना चालक दलका सदस्य रहेको बताएको छ । “जहाजका चालक दल सदस्यहरू अझै बेपत्ता छन्, खोजी जारी छ”, विज्ञप्तिमा भनिएको छ । 


सिपिङ वेबसाइट ःबचष्लभतचबााष्अ.अयm का अनुसार जहाज यमनी बन्दरगाह सहर अदनतर्फ गइरहेको थियो । 

के छ न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनामा ?

काठमाडौं ।  न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) मंगलबार सार्वजनिक गरिएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले योजना सार्वजनिक गर्दै न्यायपालिका सुधारका लागि स्पष्ट खाका योजनामा समेटिएको बताए।

‘न्यायपालिकाको मुख्य काम स्वच्छ, निष्पक्ष, छिटोछरितो न्याय नै हो, न्यायमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी छ, सुशासन, जवाफदेहीता र न्यायको समग्र सुधार पाचौँ पञ्चवर्षीय योजनाले गर्नेछ।’


सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक सुधारका लागि मुद्दाको सङ्ख्या नै कम गर्नुपर्ने र जनताले आशा गर्ने गरी नतिजामुखी तरिकाले काम गर्नुपर्नेमा जोड दिए। ‘न्यायिक सुधार गर्नका लागि मुख्य गरी मुद्दाको सङ्ख्या घटाउनुपर्छ, त्यसमा परिणाम नै दिनुपर्छ’, उनले भने, ‘पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयन गर्न सकिने खालको छ, योजनाले सुधारको सपना बोकेको छ।’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान र कानुनबमोजिम काम कारबाही गर्नुपर्नेमा जोड दिए। उनले कानुन निर्माण र कानुनका व्याख्या गर्दा जनतालाई न्याय पर्ने गरी गर्नुपर्ने उल्लेख गरे।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायिक सुधारका लागि कानुन व्यवसायी पनि एउटा सरोकारवाला पक्ष भएको र न्यायपालिकाको काममा सम्पूर्ण कानुन व्यवसायी सहयोग गर्न तयार रहेको बताए।


प्रविधिमा आधारित पञ्चवर्षीय योजना
न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाले सूचना प्रविधिमा आधारित आधुनिक एवम् सुदृढ न्यायपालिकाको मार्गचित्र कोर्ने योजना अघि सारेको छ। मुद्दाको कार्यबोझ बढी भएका अदालतको विशेष व्यवस्थापन, मानव संशोधन विकास र परिचालन, सुशासन प्रवद्र्धन र जवाफेहीता तथा सेवाग्राहीको सुविधा र जनआस्था अभिवृद्धिलाई केन्द्रविन्दुमा राखिएको छ। साथै योजनाको अनुगमन र मूल्याङ्कनमा प्रविधिको प्रयोगमा जोड दिइने योजनामा उल्लेख छ।


मुद्दा फर्स्योटमा तीव्रता दिने
योजनाले मुद्दा फर्स्योटमा तीव्रता दिने लक्ष्य राखेको छ। सर्वोच्च अदालतमा २०८३ असार मसान्तसम्ममा पाँचवर्ष नाघेका सबै मुद्दा तथा रिट फर्छ्यौट गर्ने, २०८५ असार मसान्तसम्ममा तीन वर्ष नाघेका सबै मुद्दा तथा रिट फर्छ्यौट गर्ने, २०८६ असार मसान्तमा सर्वोच्च अदालतमा दुईवर्ष नाघेका मुद्दा तथा रिट नरहने अवस्थामा पुर्‍याउने लक्ष्य निर्धारण गरिएको छ ।

त्यसैगरी, मुद्दाको समग्र लगतको वार्षिक कम्तीमा ५० प्रतिशत फर्स्योट गर्ने लक्ष्यसमेत निर्धारण गरिएको छ। उच्च अदालत र जिल्ला अदालतमा २०७७ सालदेखि मुद्दा व्यवस्थापन पद्धति लागू छ। सरल मार्ग समूहमा रहने मुद्दा तथा रिट निवेदन छ महिनाभित्र फर्स्योट गर्ने योजना छ।

सामान्य मार्ग समूहमा रहने मुद्दा तथा रिट निवेदन एक वर्षभित्र फर्छ्यौट गर्ने, विशेष मार्ग समूहमा रहने मुद्दा तथा रिट निवेदन १८ महिनाभित्र फर्स्योट गर्ने र योजना लागू हुँदा १८ महिना नाघेका मुद्दा तथा रिट निवेदन २०८२ असार मसान्तसम्म फर्स्योट गरी शून्यमा ल्याउने लक्ष्य निर्धारण गरिएको छ।

योजनामा मेलमिलापतर्फ सबै तहका अदालतमा मिलापत्र हुनसक्ने प्रकृतिका मुद्दामध्ये ५० प्रतिशतमा मेलमिलापबाट विवादको समाधान गर्ने लक्ष्य राखिएको छ। फैसलाको तयारीतर्फ सबै अदालतमा कानुनको म्यादभित्र फैसलारअन्तिम आदेश तयार गर्ने र योजना लागू हुँदा तयार गर्न बाँकी फैसलारआदेश २०८१ पुससम्म तयार गर्ने लक्ष्य निर्धारण गरिएको छ।

फैसला कार्यान्वयनतर्फ देवानी तथा फौजदारी मुद्दामा फैसला अन्तिम भई कायम भएको लगतबमोजिम फैसला कार्यान्वयनसम्बन्धी निवेदन छ महिनाभित्र फर्स्योट गर्ने उल्लेख छ। फौजदारी मुद्दामा फैसला अन्तिम भई कायम भएको कैद, जरिवाना, सरकारी बिगो र अपराधपीडितलाई भराउनुपर्ने क्षतिपूर्ति प्रत्येक वर्ष कम्तीमा सो वर्ष कायम हुने लगत असुल गर्ने, फौजदारी मुद्दाको योजना लागू हुँदा बाँकी रहेको लगतमध्ये प्रत्येक वर्ष १० प्रतिशत कम गरी योजना अवधिमा ५० प्रतिशत बक्र्यौता कम गर्ने लक्ष्य निर्धारण भएको छ।

मुद्दा व्यवस्थापन तथा न्याय सम्पादनलाई प्रभावकारी बनाउने
मुद्दा व्यवस्थापन तथा न्याय सम्पादनलाई प्रभावकारी बनाउन क्षेत्राधिकारसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा सुधार गर्ने, पुराना बक्यौता मुद्दा फर्छ्यौटसम्बन्धी विशेष कार्ययोजना निर्माण र कार्यान्वयन, संवैधानिक इजलासको प्रभावकारी व्यवस्थापन, मुद्दामा अङ्ग पुगेको बेहोरा सुनिश्चित गरी पेसी चढाउने विद्युतीय पद्धतिको विकास, इजलास तथा सुनुवाइ व्यवस्थापन, मुद्दाको प्रक्रियागत एकरूपता र सहजताका लागि मापदण्डको निर्माण समेतका कार्यक्रम समावेश गरिएको छ। कार्यबोझ बढी भएका अदालतको व्यवस्थापनलाई योजनाले विशेष प्राथमिकतामा राखी त्यस्ता अदालतमा बजेटलगायतको स्रोतसाधन र जनशक्तिको पर्याप्त व्यवस्थापन गर्ने समेतका कार्यक्रम निर्धारण गरिएको छ।

छिटोछरितो, प्रभावकारी, पारदर्शी र अनुमानयोग्य बनाउने उद्देश्यले जिल्ला, उच्च अदालतका नियमावली र दिग्दर्शनमा सुधार तथा सफ्टवेयरमा परिमार्जन, पद्धति कार्यान्वयन गर्न अदालतमा आवश्यक कम्प्युटर, प्रिन्टर, स्क्यानर, इन्टरनेट ब्याण्डबीथ, पावर ब्याकअपलगायतका पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन, सरोकारवालाको सहयोग परिचालन, जनशक्तिको क्षमता अभिवृद्धिलगायतका कार्यक्रम समावेश गरिएको छ।

मुद्दा सम्पादनमा गुणस्तरीयता अभिवृद्धि गर्दै अदालतमा उपयुक्त कार्य वातावरण निर्माण, न्यायाधीशबीच विधि शास्त्रीय विकास तथा अनुभवको आदानप्रदान समेतका कार्यक्रम निर्धारण गरिएको छ।

साथै फैसला लेखन र तयारीमा शीघ्रताका दिनका लागि जनशक्तिको व्यवस्थापन र परिचालनलगायतको कार्य वातावरण निर्माण गर्ने, फैसला लेखनसम्बन्धी तालिम, प्रोत्साहन र उत्प्रेरणा तथा योजना लागू हुँदा बाँकी रहेका फैसलाको तयारीका लागि विशेष कार्यक्रमसहितको जनशक्ति परिचालन समेतका कार्यक्रम निर्धारण गरिएको छ।

त्यस्तै, मेलमिलाप पद्धतिलाई सुदृढ बनाउन पद्धतिगत सुधारका क्षेत्रको पहिचान गने, प्रवद्र्धनात्मक कार्यक्रमको सञ्चालन गर्ने, मेलमिलाप केन्द्रको सुधार र विस्तार गर्ने, मेलमिलापकर्ताको विशेषज्ञता र व्यावसायिकतासम्बन्धी नीति निर्माण र मेलमिलापको प्रभावकारी अनुगमन लगायतका कार्यक्रम रहेका छन्।

मुख्य प्राथमिकतामा सुशासन र जनआस्था
पाँचौँ पञ्चवर्षीय योजनामा सुशासन र जनआस्थालाई प्राथमिकतामा राखी विभिन्न रणनीतिक कार्यक्रम प्रस्ताव गरिएको छ। न्यायपालिकाको स्वतन्त्रता, स्वायत्तता तथा न्यायिक सुशासनसम्बन्धी मूल्य मान्यताको प्रवद्र्धनका लागि अवधारणागत, नीतिगत तथा कार्यान्वयन तहमा गर्नुपर्ने सुधारका क्षेत्रको पहिचान गरी सम्बोधन गर्ने कार्यक्रम समावेश गरिएको छ।

मुद्दा फर्छ्यौटमा सूचना प्रविधिको प्रयोग
सार्वजनिक सेवा प्रवाहलाई सरल, व्यवस्थित, पारदर्शी, मितव्ययी र प्रभावकारी बनाउन सूचना प्रविधिलाई महत्वपूर्ण औजारका रुपमा स्थापित गर्ने उल्लेख छ। सूचना प्रविधिको माध्यमबाट न्यायिक काम कारबाहीलाई व्यवस्थित, पारदर्शी एवम् अनुमानयोग्य बनाइ समग्र न्याय सम्पादनको प्रभावकारिता र न्यायमा सहज पहुँच अभिवृद्धि गर्ने प्रयासलाई थप प्रोत्साहन गर्ने रहेको छ।

न्यायपालिकामा सूचना प्रविधिको विकास र दीगो व्यवस्थापनका लागि, सूचना प्रविधिसम्बन्धी दीर्घकालीन नीति बनाउने, अदालतमा कोर्टरुम प्रविधिको प्रयोगका लागि पूर्वाधारको विकास गर्ने, मुद्दाको अनलाइन दर्ता गरी अभिलेखको विद्युतीय विकासको रणनीति पनि उल्लेख छ।

मानव संशोधन तथा भौतिक पूर्वाधार
रणनीतिक योजनामा मानव संशाधन र भौतिक पूर्वाधार सङ्गठनको उद्देश्य प्राप्तिका लागि अपरिहार्य पक्ष रहेको हुँदा योजनामा मानव संशोधन विकासका लागि दीर्घकालीन नीतिको तर्जुमा गरिने उल्लेख छ।

न्यायपालिकामा कार्यरत जनशक्तिको व्यवस्थापन, परिचालन तथा उत्प्रेरणासम्बन्धी नीति निर्माण, न्यायाधीशलगायत न्यायिक जनशक्ति निर्माण, स्वास्थ्य उपचार, बिमालगायतका नीति निर्माण गरिने उल्लेख छ। जनशक्तिको क्षमता अभिवृद्धिलगायतका कार्यक्रम समावेश, भौतिक पूर्वाधार निर्माण र सुधार, कम्प्युटरलगायतका उपकरणको व्यवस्थापनसम्बन्धी विभिन्न कार्यक्रम समावेश गर्ने योजना पनि समेटिएको छ।

योजना तर्जुमा समूहका संयोजक उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवरले न्यायापालिकाको चौँथो पञ्चवर्षीय रणनीतिक योजनाको प्रगति समीक्षा गरी न्यायपालिकाले पाँचौँ पञ्चवर्षीय योजना बनाएको र न्यायिक सुधारको राम्रो योजना भएको बताए। उक्त योजनामा निर्धारित कार्यक्रम कार्यान्वयनका लागि पाँच वर्षमा  २६ अर्ब २२ करोड ७२ लाख २० हजार बजेट आवश्यक भएको अनुमान गरिएको उनको भनाइ छ। 

लोक-संस्कृति र साहित्यिले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउछः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोक-संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताएका छन् ।

धर्मराज–सावित्री थापा प्रतिष्ठानद्वारा मंगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित जनकविकेशरी धर्मराज थापाको १००औँ जन्मजयन्ती तथा पुरस्कार वितरणका अवजसरमा उनले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहेको विचार व्यक्त गरे ।

“लोक कलाकार तथा लोक–संस्कृतिकर्मी राष्ट्रका गहना हुन्, लोक–साहित्यकार, संस्कृतिविद् र कलाकारको चेतना राष्ट्रको चेतना हो, सिर्जनाको उपलब्धि राजनीतिक चेतनाभन्दा माथि उठ्छ”, उनले भने ।

नेपाल विभिन्न जातजाति, भाषाभाषी, संस्कृति तथा भौगोलिक विविधतायुक्त देश हो भन्दै राष्ट्रपति पौडेलले विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भाव हाम्रो विशेषता हो भने ।

“हाम्रो भाषा, संस्कृति, साहित्य, इतिहास र परम्परा हाम्रा अमूल्य निधि हुन्, यसैको विकास, संरक्षण र प्रवद्र्धनसँगै नेपालको राष्ट्रिय एकतालाई अझै सुदृढ र जीवन्त बनाएर नेपालीपनको मौलिक परिचय दिनु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने ।

नेपाली लोकजीवन, मनोभावना र नेपाली माटोको मर्मलाई गीत, संगीत र साहित्यका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिमा जनकविकेशरी धर्मराज थापाको विशिष्ट योगदान रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली लोकसाहित्यको अध्ययन, अन्वेषण, संरक्षण र प्रवद्र्धनमा उनको योगदान नेपाल र नेपालीले कहिल्यै विर्सने छैनन् भने । यस्ता कार्यक्रमले आफ्नो साधनामा समर्पित प्रतिभालाई समाज र राष्ट्रको विकासमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।

त्यस अवसरमा संस्कृति पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले नेपालको संस्कृति नेपाली समाजको प्राण भएको बताए । उनले धर्मराज थापाका गीतले नेपालको भाषा र लोक संस्कृतिको प्रवद्र्धनका सार्थ नेपाली लोक संस्कृतिलाई विश्वभर पहिचानमा टेवा पुगेको बताए ।

“गायक थापाका गीतले राष्ट्रभावका साथ नेपालको त्यो बेलाको कृषिमा आधारित अर्थतन्त्र र नेपाली राष्ट्रवादको व्याख्या गरिएको छ । जसले विश्वभरका नेपालीहरूलाई समेटेको छ’’, मन्त्री पाण्डेले भने ।

उक्त अवसरमा वरिष्ठ साहित्यकार वैरागी काँईलाले गायक थापाले राष्ट्रभावलाई केन्द्रमा लोक गीत र लोक साहित्यको पहिचान र प्रवद्र्धनमा महत्वपुर्ण योगदान गरेको बताए ।

संस्कृतिविद् डा जगमान गुरुङले नेपाली समाज र संस्कृतिमा सामाजिक सद्भाव रहेको भन्दै नेपालको भाषा र संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

प्रा डा प्राध्यापक अभि सुवेदीले लोक साहित्य र संस्कृतिलाई विश्वभर पु¥याउन महत्वपुर्ण योगदान रहेको बताए । प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले नेपाली वाङ्मयको उत्थान प्रवद्र्धनका साथै स्रष्टाको सम्मानमा प्रतिष्ठानले भूमिका खेल्दै आएको बताए ।

सो अवसरमा राष्ट्रपति पौडेलले ५० हजार राशिको धर्मराज सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार २०८० साहित्यकार वैरागी काँइला र धर्मराज सावित्री थापा लोकगीत सङ्गीत पुरस्कार एलपी जोशीलाई प्रदान गरे । 

अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोली विजयी

काठमाडौं । एसीसी महिला एशिया कपका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तेस्रो तथा अन्तिम अभ्यास खेलमा विजयी भएको छ ।

मंगलबार भएको खेलमा नेपालले श्रीलङ्का बोर्ड महिला विकास टोलीलाई २ रनले हरायो । नेपालले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का टोलीले २० ओभरमा १ सय १० रनमात्र बनाउन सक्यो ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो । नेपालकी रुबिना क्षेत्रीले ३७ र विन्दु रावलले २० रन बनाइन् ।

श्रीलङ्का टोलीकी डी थेनाकले २ विकेट लिइन् । यसअघि नेपाली टोली पहिलो अभ्यास खेलमा ३३ रन र दोस्रो अभ्यास खेलमा ४ विकेटले पराजित भएको थियो ।

एशिया कप आगामी शुक्रबारदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र यूएई खेल्नेछन् । नेपाल रहेको समूह ‘ए’ मा भारत र पाकिस्तान पनि छन् । यस्तै समूह ‘बी’ मा, बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्यान्ड छन् ।

सरकार परिवर्तन सामान्य घटना हो, देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकताः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् ।

पार्टीको सिन्धुपाल्चोक जिल्ला कमिटीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएका बताए ।

‘सरकार परिवर्तन हुनु ठूलो कुरा होइन, सरकार समय–समयमा परिवर्तन भइरहन्छ । अहिलेको परिवर्तनले नागरिकमा नयाँ आशा र भरोसा जगाएको छ’, उनले भने ।

सरकारले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित गर्ने उनको भनाइ थियो ।

उनले मुलुकको विकास, सुशासन कायम गर्दै आमजनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि पनि आफू प्रधानमन्त्री हुँदा इमान्दारीका साथ काम गरेको उल्लेख गदै एमाले अध्यक्ष ओलीले यसपटक पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याए ।

प्रधानमन्त्री ओलीले मनसुनका कारण मुलुकका केही स्थानमा बाढीपहिरोबाट सडक, पुल भत्केका र जनधनको क्षति भएको वास्तविकता सुनाउँदै देशको भौगोलिक स्थितिले पनि यस्ता विपद्बाट जोगिन कठिनाइ भएको बताए ।

मन्त्रिपरिषद्को पहिलो बैठकले पनि दैवीविपत्ति जोखिम न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री ओलीले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका सम्बन्धमा गृहमन्त्रीले पनि प्राथमिकतामा साथ काम गरिरहेको उल्लेख गरे ।

उनले जाजरकोट भूकम्पपीडितको आवास निर्माणका लागि किस्ता रकम उपलब्ध गराउन पनि सरकार सकारात्मक रहेको बताए ।

ओलीले एक वर्षभित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा अलपत्र पर्ने अवस्था आउन नदिने उल्लेख गर्दै भने, ‘बालबालिका भविष्यका कर्णधार हुन् तिनलाई फस्टाउन दिनुपर्छ ।’ प्रधानमन्त्रीले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा तीन सय दिनभित्र प्यारापिट र फ्लड लाइटको व्यवस्था गरिने बताए ।

त्रिशूलीमा बेपत्ता बसका चालक जवाहीरको परिवारमा परेको पीडा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिएर रुँदै आइरहेकी छन् । उनका पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर बेपत्ता भएको खबर सुनेसँगै प्रतिमाको अवस्था भने झन्झन् नाजुक बन्दै गइरहेको छ । 

“छोराले चलाएको बस बगाएको खबर सुनेदेखि परिवारका सबै सदस्य विक्षिप्त छन् । त्यसमा पनि बुहारीको स्वास्थ्य अवस्था साह्रै्र खराब भइरहेको छ,” जवाहीरका ६६ वर्षे पिता भगवान् महतोले गहभरि आँसु खसाल्दै भने, “बुहारी भक्कानिएर रुने, कराउने गरिरहेकी छन् । उनको स्वास्थ अवस्था बिग्रिएकाले घरमै डाक्टर बोलाएर उपचार गराउँदै आएका छौंँ ।”  

जवाहीरकी पत्नी प्रतिमा अहिले कोहीसँग पनि दोहोरो कुराकानी गर्न सक्ने अवस्थामा छैनन् । “त्यस दिनदेखि मुखमा अन्न, पानी परेको छैन । स्लाइनपानीकै भरमा कतिन्जेल बचाउन सकिएला ? बुहारीको स्वास्थ अवस्था बिगँ्रदै गइरहेको छ,” उनले भने ।

जवाहीरका पत्नी प्रतिमा मात्रै होइन, जवाहीरका बुबा, आमा, छोराछोरी, आफन्त इष्टमित्र र छिमेकीहरुको समेत आँखा ओभाएका छैनन् । “जवाहीर घरकै आडभरोसा थियो । उसले बस चलाएर नै घरखर्च चलाउँदै आइरहेको थियो,” बुबा भगवानले भने, “छोरा त्रिशूलीको पहिरोमा परेर हराइरहेको छ । मलाई बुढ्यौलीले छोइसक्यो । अब यी ससाना नाति–नातिनालाई कसले पालनपोषण र रेखदेख गर्ला भन्ने चिन्ताले सताइरहेको छ ।”

पहिरोमा परेर आफ्नो माइलो छोरा हराइरहेकामा आमा फुलेनादेवीको रुदाँरुँदै आँखा सुन्निएको छ । आफ्नो छोराका बारेमा अहिलेसम्म कुनै पनि खबर थाहा नपाउँदा निकै चिन्तित भएको बताए । “बिहीबार बेलुकापख छोरासँग खासै धेरै कुराकानी भएन । त्यो दिन छोरा बुबासँग मात्रै कुराकानी गरेर बिदा भएर बस चलाउन गए”, उनले भने, “अहिलेसम्म छोराको न त श्वास नै पाउन सकेका छौँ, न त लास नै पाउन सकेका छौंँ । पहिरोमा छोरो हराएदेखि मेरो मन बेचैन छ ।” 

उनले आफ्नो छोरा पहिरोमा हराएपछि सान्त्वना दिनका लागि एञ्जल बसका प्रतिनिधि, स्थानीय नेता, सांसद तथा अन्य कोही पनि नआउँदा दुःख झनै बढेको बताए । “छोराले फर्निचर चलाउने भन्दै ५० लाखभन्दा धेरै कर्जा लिएको छ,” उनले भने, “छोरा नै नरहेपछि कर्जा कसरी तिर्ने भन्ने पीरले अर्काे चिन्ता थपिरहेको छ ।” 

बुबाका अनुसार जवाहीर डेढ दशकदेखि सवारीसाधन चलाउँदै आएका थिए । जवाहीरले एञ्जल डिलक्स बस चलाउन थालेको पनि चार–पाँच वर्ष भइसकेको छ । उनले प्रायः रात्रिबस चलाउँदै आइरहेका थिए ।

जवाहीरका दुई छोरा र एक छोरी रहेका छन् । जेठी छोरी प्रिती कक्षा आठमा अध्ययनरत छिन् भने जेठो छोरा कक्षा ४ र कान्छो छोरा बिटु युकेजीमा अध्ययनरत छन् । १३ वर्षीय छोरी प्रिती महतोले आफ्नो बुबाको जतिसक्दो छिटो उद्धार गरिदिन अनुनय गरिरहेकी छन् । “बुबालाई जतिसक्दो छिटो पानीबाट निकालिदिनूस् । अरू हामीलाई केही चाहिएको छैन,” उनले भनिन् । 

जवाहीरका कान्छो भाइ मुन्ना महतो अहिले हराइरहेका दाजुको खोजीमा नारायणगढ–चितवनमा खटिरहेका छन् । मंगलबार दिउँसोसम्म जवाहीरको अवस्था पत्ता लाग्न सकिरहेको छैन । हराइरहेका जवाहीरका दिदी सुशीलादेवी महतोले भाइ पहिरोमा हराएसँगै परिवारको खुसी खोसिएको बताइन् ।

भगवानका चार छोरा र एक छोरी छन् । तीमध्ये पहिरोमा परेर हराइरहेका जवाहीर माइलो छोरा हुन् । जेठो सुनिल कतारमा र साइलो हिरालाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् भने कान्छो मुन्ना नेपालमा नै छन् । 

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बस चालकसहित १९ नेपाली र आठ भारतीय नागरिक सवार रहेका थिए ।  जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार एञ्जल बसमा २७ जना यात्रु रहेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले एञ्जल बसमा सवारमध्ये अहिलेसम्म तीन जनाको शव भेटिएर परिवारका सदस्यले सनाखत गरेको बताए । उनले भने, “अहिले हामीले बेपत्ताहरुको खोजी कार्यलाई तीव्र पारिरहेका छौँ ।”

चितवन मेडिकल कलेजद्वारा एकवर्षमा पाँच करोड रुपैयाँ बराबरको निःशुल्क सेवा

चितवन ।  चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा  पाँच करोड ६१ लाख ८ हजार चार सय १३ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ ।

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिकसहित स्थानीय तहबाट सिफारिस भइआएका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिएको स्पष्ट गरेको छ ।

अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले सामाजिक उत्तरदायित्व बहन गरी अस्पतालले गरिब, असहाय, ज्येष्ठ नागरिक र स्थानीय निकायबाट सिफारिस भई आउने बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको जानकारी दिए ।

उनले भने, “आर्थिक हैसियत कमजोर भएका, परिवारका सदस्य एवं आफन्तजन नभएका असहाय गरिब र वृद्धवृद्धाले पनि निर्बाध रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मूल्यमान्यताअनुरुप निःशुल्क रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइएको हो, सेवा विस्तारसहित आसपासका जिल्लामा समेत स्वास्थ्य शिविर तथा शाखा सञ्चालन गरी सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गरी आमजनताको विश्वास जित्ने लक्ष्यका साथ अस्पताल अघि बढिरहेको छ ।”

अस्पतालले दिएको निःशुल्क सुविधाबाहेक गत आर्थिक वर्षमा सङ्घीय सरकारले दिएको एक लाखसम्मको छुट लिने बिरामी सङ्ख्या नौ सय ९२, निःशुल्क डाइलासिस सेवा ६ हजार दुई सय ३१ र भरतपुर महानगरका महिलाहरुको निःशुल्क परीक्षण कार्यक्रमअन्तर्गत चार हजार तीन सय ९५ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ ।

यसैगरी, नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमअन्तर्गत गत वर्ष एक हजार ५५ गर्भवती महिलालाई निःशुल्क प्रसूति सेवासहित बाटो खर्चसमेत उपलब्ध गराएको प्रशासक देवकोटाले बताए ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार अस्पतालमा गत आर्थिक वर्षमा दुई हजार चार सय ९६ जटिल प्रकृतिका शल्यक्रिया भएका छन्भने ठूलो सङ्ख्यामा मध्यम र सानातिना शल्यक्रिया भएका छन् । अस्पतालले २० भन्दा बढी अति विशिष्टीकृत सेवा दिँदै आएको छ । 

लम्सालले आर्थिक वर्ष २०८१/८२ देखि स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालनमा ल्याइएको जानकारी दिए । चितवनवासीसहित बाहिर जिल्लाका बिरामीको मागलाई ध्यानमा राख्दै बीमा बोर्डसँग आग्रह गरेर पुनः स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डले चितवन मेडिकल कलेज (सिएमसी) सहित १० वटा मेडिकल कलेजलाई आजदेखि लागू हुने गरी बीमा कार्यक्रम सञ्चालन स्वीकृति दिएसँगै अस्पतालले बीमा कार्यक्रम सुरु गरेको हो । 

अस्पतालले गत आर्थिक वर्षमा बहिरङ्ग सेवामा एक लाख ८४ हजार २८ जनालाई सेवा दिएको छ । जसमा नयाँ बिरामी ५९ हजार पाँच सय ५१ रहेका छन्भने एक लाख सात हजार तीन सय ९९ जना ‘फलोअप’ बिरामी रहेका छन् । यसै अवधिमा १७ हजार ७८ जनालाई आकस्मिक सेवा उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

नयाँ सरकार गठनपछि स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा राजनीतिक स्थायित्वको आशा बढेको र यसबाट नेपालका सानादेखि ठूला लगानीकर्ता, नेपालको बजार एवं उद्योगीहरुमा उत्साह बढेको बताएका छन् ।

अध्यक्ष ढकालले नेपालमा स्वदेशी तथा विदेशी लगानी बढ्न नसक्नुको एउटा प्रमुख कारण राजनीतिक तथा नीतिगत अस्थिरता रहेको उल्लेख गर्दै नयाँ बनेको सरकारले नेपालमा राजनीतिक तथा नीतिगत स्थायित्व दिने र लगानीकर्तामा आत्मविश्वास बढ्न गई मुलुकमा आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको बताए ।

“कोभिड महामारीपछि विभिन्न कारणले हाम्रो अर्थतन्त्र शिथिल बनेको छ । यसमा राज्यका विभिन्न निकायले लिएको नीतिका बाबजुद राजनीतिक अस्थिरता पनि एउटा प्रमुख कारण हो । यो सरकारले स्थायित्वको सुनिश्चितता दिएपछि आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्न सक्छ र यसबाट अर्थतन्त्र चलायमान बन्न सहयोग पुग्नसक्छ,” ढकालले भने ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएको र  सोमबार सबै मन्त्रालय समेटी मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् ।

अध्यक्ष ढकालले तीन पटकसम्म मुलुकको नेतृत्व गरिसक्नुभएका, निजी क्षेत्रमैत्री र विशिष्ट निर्णय क्षमताका कारण प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीकालमा निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरुत्थानमा सहज हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले पहिलो दिन नै मन्त्रीहरुलाई दिएको निर्देशनले निजी क्षेत्रलगायत समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह भएको आफूले लिएको ढकालले उल्लेख गरे ।

“सरकार गठन प्रक्रियामा लामो समय लाग्ने र गठबन्धन दलहरुबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा समय लाग्ने गरेको हाम्रो विगत छ तर प्रधानमन्त्री ओलीले पहिलो दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिएर सकारात्मक सन्देश दिनुभएको छ । यसबाट पनि अब सरकारी काममा चुस्तता आउनाका साथै लगानीकर्ताहरुमा स्थायित्वको सन्देश प्रवाह भएको अपेक्षा गरिएको छ”,  उनले भने ।

अर्थ मन्त्रालयमा यसअघि पनि पटक–पटक अर्थमन्त्रालय सम्हालिसकेका अनुभवी र बजारको रोजाइमा रहेका अर्थमन्त्री विष्णु पौडेलको आगमनलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको उनले बताए । 

अध्यक्ष ढकालले भने, “अहिले मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा छ । सरकार, निजी क्षेत्र र अन्य सरोकारवाला निकायको निरन्तरको प्रयासबाट बिस्तारै आफ्नो लयमा फर्किन लागेको मुलुकको अर्थतन्त्रले अनुभवी अर्थमन्त्री खोजेको समयमा विष्णु पौडेलको नेतृत्वले यस क्षेत्रमा पनि सकारात्मक सन्देश प्रवाह गरेको छ ।”  

“अर्थमन्त्रीका रुपमा विष्णु पौडेल एक अनुभवी व्यक्ति हुनुहुन्छ । उहाँले आफूलाई एक सफल अर्थमन्त्रीका रुपमा स्थापित गरिसक्नुभएको छ । अहिलेको अर्थतन्त्रका चुनौतीहरु सामना गर्न उहाँ एक सक्षम व्यक्ति हो भन्ने हामीलाई लागेको छ”, उनले भने ।

नेपालको समग्र निजी क्षेत्र अर्थमन्त्रीसँग सहकार्य गरेर अर्थतन्त्रमा देखिएको अहिलेको समस्या समाधान गर्न सधैँ तयार रहेको पनि अध्यक्ष ढकालको भनाइ थियो । 

७० अंकले बढ्यो नेप्से

काठमाडौं । शेयर बजार नेप्से उच्च अङ्कले बढेको छ । सोमबार १७ अङ्कले घटेको शेयर बजार नेप्से मंगलबार ७० दशमलव १८ अङ्कले बढेर २ हजार ३ सय १० दशमलव ५९ विन्दुमा पुगेको छ । शेयर बजार २६ महिनायताकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि २०७९ साल वैशाख २९ गते शेयर बजार २ हजार ३ सय ५० दशमलव ४२ विन्दुमा पुगेको थियो । आज म्युचल फन्ड समूह बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सिन्धु विकास बैंक, वरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत्, मन्दाकिनी हाइड्रोपावर र सिकलेस हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन ३ वटा कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज ३ सय १५ वटा कम्पनीका २ करोड ५८ लाख कित्ता शेयर ९ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम ६ महिनायताकै उच्च हो । यसअघि गएको माघ ३ गते ९ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको थियो ।

राष्ट्रपतिद्वारा संसदका दुवै सदनबाट पारित तीन विधेयक प्रमाणीकरण

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदका दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् ।  

राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन् । 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।   

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् । 


प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत पोखरेलले दिएको राजीनामा राष्ट्रपतिले मंगलबार स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मुस्ताङमा एक वर्षमा भित्रिए चार लाख २७ हजार पर्यटक

म्याग्दी ।  मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएका हुन् । 


घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटक तथ्याङ्क तथा विवरण राख्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले २०८० साउनदेखि २०८१ असार महिनासम्म ७४ हजार तीन सय ७४ वटा सवारी साधनमार्फत चार लाख २७ हजार दुई सय ७१ जना पर्यटक भित्रिएका जानकारी दिए । 


तीन लाख १८ हजार आठ सय १४ जना आन्तरिक, ९९ हजार दुई ७६ जना सार्क राष्ट्रका र नौ हजार एक सय ७१ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भ्रमणमा आएका उनले बताए । 


आर्थिक वर्ष २०७९/८० मा ६२ हजार तीन सय ४० वटा सवारी साधनमार्फत तीन लाख ७९ हजार सात सय ६७ जना पर्यटक मुस्ताङ आएका थिए । जसमध्ये आन्तरिक पर्यटक तीन लाख तीन हजार आठ सय जना र विदेशी ७५ हजार नौ सय ६७ जना रहेका थिए । 


सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वप्रसिद्ध सञ्चार माध्यमले संसारका उत्कृष्ट दश गन्तव्यमा समेट्नु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका कारण पर्यटक आगमन बढेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए । 


मुस्ताङ भित्रिने विदेशी पर्यटकको ठूलो सङ्ख्या भारतीयको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थल छन् । 


सार्कमुलुक बाहिरका पर्यटकको सङ्ख्या भने घट्दै गएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक कालोपत्र योजना निर्माण सम्पन्न हुने हो भने पर्यटक आगमन अझै बढ्ने उनले बताए ।

धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली

महेन्द्रनगर (धनुषा) । धनुषा जिल्ला अदालतले मंगलबारदेखि स्वचालित पेसी प्रणाली लागू गरेको छ ।   अदालतले जनकपुरधाममा मंगलबार   आयोजना गरेको पत्रकार सम्मेलनमा शीघ्र न्याय सम्पादनका कार्य पूरा गर्न स्वचालित पेसी प्रणाली लागू गरिएको न्यायाधीश चुडामान खड्काले बताए ।

यसअघि, सर्वोच्च तथा उच्च अदालतमा स्वचालित पेसी प्रणाली लागू भइसकेको छ । साथै आजदेखि  पारिवारिक इजलास सञ्चालन भएको उनले बताए ।

अदालतले पुराना मुद्दा चालु आर्थिक वर्षभित्रमा फछ्र्याैट गरेर अर्को आर्थिक वर्षमा त्यसलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । धनुषा जिल्ला अदालतमा आव २०८०/८१ मा जिम्मेवारी सरेर आएकामध्ये तीन हजार एक सय ८४ र नयाँ दर्ता भएकामध्ये एक हजार नौ सय ९१ मुद्दा फछ्र्याैट भएका छन् । 

जिल्ला अदालतमा सबैभन्दा बढी देवानी मुद्दाअन्तर्गत लेनदेन मुद्दा फछ्र्यौट गर्न बाँकी छ । लेनदेन मुद्दाको सङ्ख्या एक हजार आठ सय २७, अंश मुद्दा एक हजार ९९ र बैङ्किङ कसुरसम्बन्धी एक सय १० मुद्दा परेका छन् ।

बाँकेमा अतिक्रमित सरकारी जग्गामा ‘हाइटेक नर्सरी’

जानकी (बाँके) । बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा द्वन्द्वकालमा तत्कालीन माओवादीले अतिक्रमण गरी बनाएको बस्तीमा अहिले ‘हाइटेक नर्सरी’ निर्माण गरिएको छ । डेढ बिगाहा सरकारी जग्गालाई अतिक्रमण गरी तत्कालीन माओवादीले मुक्त कम्लहरीको बस्ती बसाएको थियो । 

उक्त जग्गालाई यही आर्थिक वर्षमा प्रदेश सरकारका तर्फबाट पूर्व सामाजिक विकासमन्त्री नमूना केसी, सोही वडाका वडाध्यक्षलगायत विभिन्न राजनीतिक दलका नेता र प्रहरी प्रशासनको रोहवरमा फुकुवा गरी ३० लाख ३४ हजारको लागतमा डिभिजन वन कार्यालय बाँकेले हाइटेक नर्सरी निमार्ण गरेको शम्शेरगञ्ज सब डिभिजन वन कार्यालय बाँकेका प्रमुख सुशील सुवेदीले बताए ।

उनका अनुसार उक्त जग्गामा भएको सरकारी रेञ्ज पोष्ट र कटान गरिएका काठका घाटगद्दीलाई तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कब्जा गरी आठ घर मुक्तकम्लरीको बस्ती बसाइएको थियो ।

पन्ध्रौँ वर्षपछि कब्जा फुकुवा गरीएको उक्त सरकारी जग्गामा निर्माण गरिएको हाइटेक नर्सरीमा ‘जर्मिनेसन’ र ‘ग्रिनहाउस’ गरी दुईओटा ‘च्याम्बर’ बनाइएको सब डिभिजन वन कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए । 

प्रमुख सुवेदीका अनुसार जर्मिनेसन च्याम्बरमा तीन भाग र ग्रिन हाउस च्याम्बरमा चार भाग बनाएर उक्त नर्सरीमा ३० देखि ४० हजार बिरुवा उमार्न सकिन्छ ।

नर्सरी निर्माण हालै सम्पन्न भएकाले त्यहाँ बिरुवा उमार्न मिल्दैन । त्यसैले त्यहाँ सार्नका लागि सब डिभिजनकै क्षेत्र भित्रको जग्गामा १६ हजारभन्दा बढी बिरुवा उमारिएको सुवेदीले बताए ।

‘यो हाइटेक नर्सरीको निर्माण हालै सम्पन्न भएकाले यहाँ यो वर्ष बिरुवा उमार्न सकिएन,’ उनले भने, “यहाँ उमार्न नसकिए पनि यहाँ हुर्किएको बिरुवा सार्न मिल्ने भएको हुनाले हामीले आफ्नै कार्यालयको नर्सरीमा १६ हजारभन्दा बढीको बिरुवा उमारेका छौँ ।’ 
उक्त नर्सरीमा साल, सेतो चन्दन, सुगन्ध कोकिला, पारिजात, कागती, अम्बालगायत १६ हजारभन्दा बढी विभिन्न प्रजातिका बिरुवा सार्ने तयारी भएको छ ।

परराष्ट्रमन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा परराष्ट्रमन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।

भेटमा नेपाल–भारत सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्री राणाले जानकारी दिइन् । आजै भारतीय राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग पनि भेटवार्ता गरेका थिए ।

भारत प्रशासित कश्मीरमा झडप हुँदा पाँच सुरक्षाकर्मीको मृत्यु

भारत प्रशासित जम्मू–कश्मीरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएको एकजना प्रहरी अधिकारीले बताएका छन् । सुरक्षा स्रोतका अनुसार आक्रमणकारीहरुले आक्रमणमा रणनीतिक परिवर्तन ल्याएका छन् ।

मुस्लिम बहुल कश्मीर सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै भारत र पाकिस्तानबीच विभाजित भएको छ र प्रत्येक पक्षले यसलाई पूर्ण रूपमा दावी गर्दछ।

विद्रोही समूहहरूले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन्।

यस घटनाले यस वर्ष विवादित हिमालय क्षेत्रको भारतीय पक्षमा मारिएका सैनिक र प्रहरीको सङ्ख्या १७ पुगेको छ।

भारतीय सेना सुरक्षा बलले सोमबार साँझ जम्मू क्षेत्रको राजधानी श्रीनगरबाट करिब एक सय ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको डोडा जङ्गलमा अपरेसन सुरु गरेको बताएको छ।

‘प्रारम्भिक गोली हानाहानका क्रममा घाइते भएका चार जना सैनिकको मृत्यु भएको थियो । घाइते भएका थप एकजना प्रहरी अधिकारी पनि पछि मृत्यु भयो । अन्य दुई सैनिकलाई अस्पतालमा भर्ना गरिएको छ’, एक प्रहरी अधिकारीले भने ।

युक्रेन युद्ध अन्त्यको पहल गर्न भारतलाई अमेरिकाको आग्रह

मस्को र किएभबिच चलिरहेको द्वन्द्वका बीच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्यको पहल गर्न आग्रह गरेको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले आयोजित पत्रकार सम्मेलनमा दिल्ली–मस्कोको बलियो सम्बन्धलाई उल्लेख गर्नुका साथै पुटिनलाई संयुक्त राष्ट्रको बडापत्रको सम्मान गर्न आग्रह गरे ।

‘रुससँग भारतको लामो समयदेखि सम्बन्ध रहेको हामी सबैलाई थाहा छ । हामीले भारतलाई रुससँगको त्यो लामो समयदेखि रहेको सम्बन्धलाई चलिरहेको द्वन्द्व अन्त्य गर्नका लागि उपयोग गर्न आग्रह गर्दछौ । साथै राष्ट्रपति पुटिनलाई युद्धको अन्त्य गर्दै न्यायपूर्ण, स्थायी शान्ति खोज्न आग्रह गर्न भारतलाई प्रोत्साहित गरेका छौं।’

हालै मस्कोको आधिकारिक भ्रमणमा आउनुभएका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ताका क्रममा प्रधानमन्त्री मोदीले भावी पुस्ताका लागि शान्ति ‘सबैभन्दा महत्त्वपूर्ण’ रहेको बताएका थिए । उनले युद्धको मैदानमा कुनै समाधान नभएको र बम, बन्दुक र गोलीको बीचमा शान्ति वार्ता सफल नहुने बताउदै द्वन्द्व अन्त्य गर्न आग्रह पनि गरेका थिए ।

नवनियुक्त महिलामन्त्रीद्वारा पदभार ग्रहण

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आज पदभार सम्हालेका छन् ।  पदभार सम्हालेसँगै उनले महिला, बालाबालिका तथा ज्येष्ठ नागरिकको विकासका लागि पूर्ण निष्ठाका साथ  काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरेर बढीभन्दा बढी परिणाममुखी कार्य गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै उनले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कर्मचारीको साथ र सहयोगबिना मन्त्रीको एक्लो प्रयासबाट लक्ष्य हासिल हुँदैन ।’


यसअघि उनी वन तथा वातावरणमन्त्री भएका थिए । विसं २०४७ देखि राजनीतिमा सक्रिय उनी जनता समाजवादी पार्टीमा आबद्ध छन् ।


उनी २०७९ सालमा सप्तरी क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । सप्तरीको हनुमाननगर कङ्कालीनी–९ मा आमा कौशल्या देवी र बुबा भोलाप्रसाद साहुको कोखबाट २००५ सालमा सुडीको जन्म भएको हो ।

मुस्ताङका छ स्थानमा पर्यटन पूर्वाधार निर्माण

म्याग्दी । मुस्ताङका छ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ। गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनामार्फत दुई किलोमिटर पदमार्ग निर्माण भएको हो।

कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले  ८० लाख बजेट विनियोजन भएका छवटा योजना कार्यान्वयन भएको जानकारी दिए।

‘मुस्ताङमा पर्यटकको बसाइ लम्ब्याउन र धार्मिक पर्यटकीयस्थलको सौन्दर्यीकरण तथा मर्मतमा बजेट परिचालन भएको छ,’ उनले भने।

घरपझोङ गाउँपालिका–२ मा पर्ने मार्फा गाउँमा रु ३० लाख बजेटबाट हिसरुङ गुम्बा र स्याउ उद्यान जोड्ने ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग निर्माणका साथै सौन्दर्यकरण गरिएको छ। मार्फा गाउँको शिरमा रहेको स्याउ उद्यान जाने पदमार्गको डिलमा बत्ती जडान गरेर रातको समयमा झलमल्ल देखिने बनाइएको छ।

बेनी–जोमसोम सडक निर्माणपछि विस्थापित भएको पदमार्गको विकल्पमा थासाङ गाउँपालिकाको पहिरोथाप्ला हुँदै कुञ्जो–लेते जाने भिरमा पदमार्ग निर्माण भएको छ। घासापारिको कालीगण्डकी तिरको भिरमा पहाड प्वाल पारेर रड राखी पर्खाल उठाएर करिब पाँच सय मिटर पदमार्ग बनाइएको हो।

थासाङ गाउँपालिकाको कालोपानीदेखि थुले हुँदै स्याकुभ्रासम्म लोपोन्मुख वन्यजन्तु तथा डाफे, मुनाल, चिर कालिज अवलोकन गर्ने साइकलमार्ग बनाइएको छ। रु १० लाख बजेटबाट ढलान, सोलिङ र ग्राभेल गरेर छ सय मिटर साइकलमार्ग निर्माण भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए।

रु १० लाख बजेटबाट जोमसोम विमानस्थलमा निर्माण भएको भवनमा पर्यटक सूचना केन्द्र सञ्चालनको तयारी भएको छ। रु १०/१० लाख बजेटबाट लोमान्थाङ गाउँपालिका–३ को थिङ्गरमा माने निर्माण, लोमान्थाङदेखि ढिकी जाने दुई सय मिटर पदमार्ग र नाख्पा गुम्बाको मर्मत गरिएको कार्यालय प्रमुख पौडेलले बताए।

आर्थिक वर्ष २०८१/८२ मा ११ वटा पर्यटकीय पूर्वाधार योजनाका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मुस्ताङमा रु दुई करोड १५ लाख बजेट बिनियोजन गरेको छ। रासस

अफगानिस्तानमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु ३४ घाईते

अफगानिस्तानमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् । मङ्गलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रु बस खोलामा खसी दुर्घटना भएको प्रान्तीय प्रहरी प्रवक्ता मावलवी शिर अहमद बुरहानीले जानकारी दिए ।

मङ्गबार बिहान खिन्जान जिल्लामा लापरवाही पूर्वक गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमामा तीन बालबालिका, दुई महिला तथा १२ जना पुरुष रहेको अधिकारीले बताएका छन् ।

उनीहरुका अनुसार महिला र बालबालिका सहित ३४ जना घाइते भएका छन् जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

जुलाई–४ मा पश्चिमी हेरात प्रान्तमा भएको यस्तै दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने अन्य १५ जना घाइते भएका थिए ।

मङ्गोलियामा पानीजन्य दुर्घटनामा २४ जनाको मृत्यु

मङ्गोलियामा नादम भनेर चिनिने राष्ट्रिय बिदाको समयमा पानी सम्बन्धी दुर्घटनामा कम्तीमा २४ जनाको ज्यान गएको मङ्गोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (नेमा) ले जनाएको छ ।

कुस्ती, धनुर्विद्या र घोडा दौड जस्ता परम्परागत खेलहरूका लागि प्रसिद्ध नादम जुलाई –११ देखि जुलाई –१५ सम्म वार्षिक रूपमा मनाउने आधिकारिक बिदा हो ।

पीडितमध्ये बाइस जना वयस्कका साथै दुई जना बालबालिको रहेको एजेन्सीले विज्ञप्ति मार्फत जनाएको छ ।

आइतबार पश्चिमी प्रान्त बयान–उल्गीको उलानखुस सुमको ग्रिन लेकमा पाँच जनाको डुबेर मृत्यु भएको छ । तीमध्ये एकजना पौडी खेल्ने क्रममा डुबेका थिए भने अरूको उसलाई बचाउने प्रयासमा मृत्यु भएको थियो ।

मङेलिया भरका प्रमुख नदीहरूमा पानीको स्तर ४० सेन्टिमिटरसम्म चेतावनी स्तर नाघेको एजेन्सीले जनाएको छ । जनतालाई पानीसँग सम्बन्धित दुर्घटनाबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

संखुवासभामा पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

किमाथाङ्का, (सङ्खुवासभा) । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए ।

पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए ।

ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

सरकारको आय व्यय निर्धारित लक्ष्यको तुलनामा निकै कम, ७४ प्रतिशत राजश्व असुली, ८० प्रतिशत बजेट खर्च

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ ।

गत आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा कूल १४ खर्ब आठ अर्ब ७६ करोड ४५ लाख बराबर मात्रै खर्च भएको छ ।

चालु शीर्षकमा गत आर्थिक वर्षका लागि ११ खर्ब ४१ अर्ब ७८ लाख ४१ हजार बराबर बजेट विनियोजन भएकोमा लक्ष्यको ८३ दशमलव ४१ प्रतिशत अर्थात् नौ खर्ब ५२ अर्ब ४१ करोड ५१ लाख बराबर खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख विनियोजन भएकोमा लक्ष्यको ६३ दशमलव ४७ प्रतिशत अर्थात् एक खर्ब ९१ अर्ब ७१ करोड ७८ लाख बराबर मात्रै खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकको बजेट खर्च ८६ दशमलव ०७ प्रतिशत छ । गत आर्थिक वर्षका लागि वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकोमा दुई खर्ब ६४ अर्ब ६३ करोड १६ लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सरकारले गत आर्थिक वर्षका लागि कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । तर वार्षिक लक्ष्यको ७४ दशमलव २९ प्रतिशत अर्थात् १० खर्ब ९३ अर्ब ९७ करोड ५९ लाख बराबर मात्रै राजस्व असुली भएको छ । सङ्कलित राजस्वमध्ये कर राजस्व लक्ष्यको ७२ दशमलव ३५ र गैरकर राजस्व लक्ष्यको ९७ दशमलव ६८ प्रतिशत बराबर असुली भएको छ ।

गत आर्थिक वर्षका लागि सरकारले १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख बराबर कर राजस्व उठाउने लक्ष्य राखेकोमा नौ खर्ब ४४ अर्ब ५५ लाख ४८ हजार बराबर मात्रै असुली भएको छ ।

त्यस्तै, गैरकरतर्फ एक खर्ब १७ अर्ब छ करोड २१ लाख उठाउने लक्ष्य राखिएकोमा एक खर्ब १४ अर्ब ३४ करोड १६ लाख बराबर मात्रै असुली भएको छ ।

गत आर्थिक वर्षमा वैदेशिक अनुदानतर्फ सरकारी लक्ष्यको तुलनामा वास्तविक प्राप्ति निकै कम छ । गत आवमा कूल ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले २२ दशमलव ४८ प्रतिशत अर्थात् ११ अर्ब २२ करोड ६४ लाख बराबर मात्रै अनुदान लिन सकेको देखिएको हो ।

दुई पटक संशोधन गर्दासमेत लक्ष्य भेटिएन

आयव्यय अनुमान दुई पटक संशोधन गर्दा पनि सरकारले लक्ष्य भेटाउन सकेन । सरकारले पहिलो पटक अर्धवार्षिक समीक्षामार्फत् र दोस्रोपटक गत आर्थिक वर्षको बजेट ल्याउँदा आयव्यय अनुमान संशोधन गरेको थियो ।

गत जेठ १५ गते निवर्तमान अर्थमन्त्री वर्षमान पुनले सरकारी आयव्यवको अनुमान दोस्रोपटक संशोधन गर्दै १५ खर्ब ३० अर्ब ३५ करोड अर्थात् विनियोजनको ८७ दशमलव चार प्रतिशत हुने गरी संशोधित अनुमान प्रस्तुत गरेका थिए ।

कूल सरकारी खर्चमध्ये चालु खर्च १० खर्ब ६७ अर्ब ४९ करोड अर्थात् विनियोजनको ९३ दशमलव पाँच प्रतिशत, पुँजीगततर्फ रु दुई खर्ब १५ अर्ब ३० करोड अर्थात् यो शीर्षकमा विनियोजनको ७१ दशमलव तीन प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ४७ अर्ब ५५ करोड अर्थात् विनियोजनको ८० दशमलव पाँच प्रतिशत खर्च हुने गरी संशोधित अनुमान गरिएको थियो ।

त्यस्तै, दोस्रोपटक संशोधनपछि गत आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब बराबर राजस्व उठाउने लक्ष्य सरकारले तय गरेको थियो । त्यसअघि सरकारले गत आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै गत माघमा पहिलो पटक राजस्व र खर्चको अनुमान घटाएको थियो ।

गत आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएकोमा अर्धवार्षिक समीक्षामार्फत् सुरू विनियोजनको ८७ दशमलव ३८ प्रतिशत अर्थात् १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च हुने संशोधित अनुमान गरिएको थियो ।

अर्धवार्षिक समीक्षामार्फत् सुरुवाती विनियोजनको तुलनामा चालु शीर्षकमा ८८ दशमलव ८४, पुँजीगत शीर्षकमा ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्था शीर्षकमा ८७ दशमलव ३९ प्रतिशत खर्च हुने गरी पहिलोपटक संशोधित अनुमान गरिएको थियो ।

अर्धवार्षिक समीक्षामार्फत् आयव्ययको अनुमान घटाएर चालुतर्फ १० खर्ब सात अर्ब ४५ करोड ४६ लाख अर्थात् सुरुवाती विनियोजनको ८८ दशमलव २४ प्रतिशत, पुँजीगततर्फ दुई खर्ब ५४ अर्ब १३ करोड १९ लाख अर्थात सुरुवाती विनियोजनको ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ६८ अर्ब ६७ करोड ९७ लाख अर्थात सुरुवाती विनियोजनको ८७ दशमलव ३९ प्रतिशत खर्च हुने अनुमान गरिएको थियो ।

उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उनीहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।

उक्त मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताए ।

मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको उक्त मन्त्रालयका सचिव मणिराम गेलालले राससलाई बताए। भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो । दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा छलफल भएको सचिव गेलालले जानकारी दिए ।

सिमलताल पहिरोमा बेपत्ता बसका १५ यात्रुको शव फेला

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ । 


सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार मंगलबार बिहान ९ः३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ । दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ ।


भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको सनाखत भएको छ । 


यसैगरी चिवनको माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको सनाखत भएको छ । 


उनीहरुको शव आफन्तले बुझिलगेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । छ पुरुष एक महिला गरी सात जनाको शव अझै सनाखत हुन सकेको छैन । उनीहरुको शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी ब्यारेज क्षेत्रमा फेला परेका हुन् । 


गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो । 


वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ तथा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।


टिकट नकाटी बसमा यात्रा गरेका यात्रीका आफन्तजनले दुर्घटनापछि प्रहरीमा आफन्तको विवरण उपलब्ध गराएका थिए । दुई बसमा ६५ यात्रु सवार रहेको खुलेको छ । 


काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता उपचारपश्चात घर फर्केका छन् भने रौतहटकै देवाही बनाही नगरपालिका–१० का नन्दन दासको उपचार भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता थापाले जानकारी दिए


 भारतीय सीमावर्ती जिल्लामा समन्वय
चितवन । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ ।


 भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तरप्रदेशको महाराजगञ्ज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिकका डिएमसँग समन्वय गरिएको हो ।


यादवले आफूले पश्चिम चम्पारण र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का प्रमुख जिल्ला अधिकारीले महाराजगञ्जका डिएमसँग समन्वय गरिरहेको बताए । 


नदीमा शव भेटिएमा जानकारी दिन दुवै डिएमलाई आग्रह गरिएको यादवले जानकारी दिए । उनका अनुसार हालसम्म शव भेटिएको कुनै जानकारी आएको छैन । गण्डक ब्यारेजसम्म शव पुगेपछि त्यहाँबाट पारिसमेत जान सक्ने भएकाले समन्वय गरिएको उनले बताए ।


सीमा जोडिएका जिल्लासँग समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार भए पनि पत्राचार गर्नुपरेमा परराष्ट्र मन्त्रालयमार्फत जानुपर्ने भएकाले तत्कालका लागि मौखिकरुपमा कुराकानी गरिरहेको उनले बताए । त्रिशूली नदी नारायणीमा मिसिएर त्रिवेणी हुँदै भारततर्फ बगेको छ । नदीमा बाढी आइरहेकाले शव भारत पुग्न सक्ने अनुमान गरिएको हो ।  


यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको वाग्मति प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो । 


उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म १५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । घटनाको विषयमा अध्ययन गर्न गृहमन्त्रालयले सोमबार गठन गरेको कार्यदलले बुधबार स्थलगत रुपमा अध्ययन गर्ने भएको छ ।